पोखरामा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा १२ सय सहभागी


पोखरा । तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौड प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा भएको प्रतियोगिताको शनिबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत चेन सङले शुभारम्भ गरे ।
प्रतियोगितामा ६४ चिनियाँ धावकसहित १२ सय भन्दाबढी धावक सहभागी भएका हिमालय टुरिजम फोरमका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए । प्रतियोगितामा भाग लिन चीनको कुनमिङबाट धावकसहित १ सय २० सदस्यीय टोली लिएर सिचुवान एयरलाइन्सको जहाज पोखरा आएको थियो ।
खुला समूहगत दौड, महिला तथा पुरुष च्यालेन्ज इन्डिभिजुअल दौड, छात्र/छात्रा विद्यार्थी दौड र ह्याप्पी रन समूह गरी चार विधामा प्रतिष्पर्धा सुरु भएको हो । कूल ५० किलोमिटरको पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर राष्ट्र बैंक चोक, ड्याम साइड, छोरेपाटन, फुस्रेखोला, रामदी, मट्टीखान, देउराली, फेदीखोला, दमगडे स्कूल, साल्मेडाँडा, रामकोट, कुुविण्डे, उल्लेरी, थाप्ले, टाइगर हिल, काब्रे, पुम्दीभुम्दी, तालपारी, द बीच रेष्टुरेण्ट हुँदै पुनःबाराहीघाट आएर पूरा हुनेछ ।
उनका अनुुसार प्रतियोगिताको टिम समूहमा ५० किमी, च्यालेञ्ज व्यक्तिगत समूहमा ५० किमी, विद्यार्थी दौडमा पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुनेछ । टिम समूहका विजेताले चार लाख ५८ हजार, उपविजेताले तीन लाख ४३ हजार तथा तेस्रो हुनेले दुुई लाख २९ हजार दुई सय पुरस्कार पाउनेछन् ।
त्यस्तै चौथो र पाँचौँ स्थान प्राप्त गर्नेले क्रमशः एक लाख ५२ हजार आठ सय र ९५ हजार पाँच सय पुरस्कार प्राप्त गर्ने गरिने पहारीले जानकारी दिए । च्यालेन्ज व्यक्तिगततर्फ विजेता महिला र पुरुषले समान एक लाख ५२ हजार आठ सय पाउनेछन् भने उपविजेताले एक लाख १४ हजार पाउने छन् ।
त्यस्तै तेस्रो स्थान प्राप्त गर्नेले ७६ हजार चार सय पाउनेछन् । प्रतियोगितामा चौथोदेखि सातौँ स्थान प्राप्त गर्ने महिला तथा पुरुषलाई ३८ हजार दुई सय प्रदान गरिनेछ भने आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीलाई १९ हजार एक सय नगद प्रदान गरिनेछ ।
विद्यार्थीतर्फको प्रतिस्पर्धामा विजेताले ३० हजार जित्ने छन् भने उपविजेताले २५ हजार र तेस्रो स्थान प्राप्त गर्नेले २० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा चौथोदेखि छैठौँ स्थान प्राप्त गर्नेका लागि १०/१० हजार प्रदान गरिनेछ ।
ह्याप्पी रन समूहमा दौड पूरा गर्ने सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिने छ । यी सबै विधाका प्रतियागिताको पुरस्कारका लागि १९ लाख ३८ हजार एक सय पुरस्कार रहेको पहारीले जानकारी दिए ।
खेलकुदका माध्यमबाट दुुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनका प्रतियोगिता आयोजना गरिएको हो ।







