कुलमान भन्छन्-उद्योगीले १५ दिनभित्र महसुल तिरेनन् भने फेरि लाइन काट्छौं


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उद्योगीले अबको १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइन बक्यौता नबुझाए प्राधिकरण फेरि लाइन काट्ने प्रक्रियामा जाने बताएको छ ।
बुधबार पत्रकार सम्मेलन गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र उद्योगीहरुले बक्यौता नतिरे प्राधिकरण फेरि लाइन काट्ने प्रक्रियामा जाने बताएका हुन् ।
उनले सरकारले पनि १५ दिनभित्र बक्यौता असुलउपर गर्न निर्देशन दिइसकेकाले प्राधिकरण त्यसैअनुरुप अघि बढ्ने बताए ।
उनले भने, ‘हामीले गरेको बिल अनुसारको महसुल उद्योगीहरुले १५ दिनभित्र तिरेनन् भने हामी आफ्नो प्रक्रियामा फेरि लाग्नेछौ ।’
उनले यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र विद्युत नियमन आयोगको निर्देशन अनसुार तीन महिना उद्योगीलाई सुविधा दिएको बताए । उनले अब सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणको मात्र चासोको विषय नरहेकाले यो सर्वसाधारण सरोकारवालाको चासोको विषयसमेत भएको बताए ।
उनले अब लाइन काट्ने र जोड्ने गर्नुभन्दा पनि दिर्घकालीन रुपमा समस्याको समाधान गर्नुपर्ने बताए । उनले भने, ‘अब प्राधिकरण लाइन काट्दै बक्यौता उठाउने बाटोतिर जाँदैन । हामीले अब लाइन काट्नेतिर नलागौँ भनेका छौँ । अहिले यो समस्या समाधानको अन्तिम चरणमा आइसकेको थियो। हामीले यस पटक पनि नेपाल सरकारको निर्देशन पालना गरेका छौँ।’
सरकारको निर्देशनपछि प्राधिकरणले लाइन काटेका उद्योगको बुधबार सबैमा लाइन जोडिसकेको छ ।