बाइडनद्वारा फौजदारी मुद्दा खेपिरहेका आफ्ना छोरालाई क्षमादान


बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक क्षमादान दिएका छन् ।
एक विज्ञप्तिमा राष्ट्रपतिले आफ्ना छोरालाई ‘एक्ल्याइएको’ भन्दै बाइडनले उनका मुद्दालाई ‘न्यायको एक गर्भपात’ भन्ने संज्ञा दिएका छन् । उनले भने,’मैले कार्यालय सम्हालेको दिनदेखि मैले न्याय मन्त्रालयको निर्णय प्रक्रियामा दखल पुर्याउँदिनँ भनेको थिएँ र मेरो छोराको अलग्गै रूपमा र अनुचित रूपमा अभियोजन भइरहँदासमेत मैले आफ्नो वचन कायम राखेँ ।’
राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले यस क्षमादानलाई न्यायको दुरूपयोग र गर्भपात बताए । हन्टर बाइडन सेप्टेम्बरको सुरुमा कर मामिलामा दोषी ठहरिएका थिए। त्यसैगरी जून महिनामा उनी गैरकानुनी रूपमा बन्दुक किनेको र आफ्नो लागूऔषध प्रयोगबारे झुटो बोलेकोमा दोषी ठहरिएका थिए ।
त्यससँगै उनी अपराधमा दोषी ठहरिने पहिलो बहालवाला राष्ट्रपतिका सन्तान बनेका थिए । राष्ट्रपतिले यसअघि आफ्नो छोरालाई क्षमादान नदिने बताए पनि अहिले पूर्ण र निसर्त क्षमादान जारी गरेका हुन् ।
गत सेप्टेम्बरमा मात्र ह्वाइटहाउसका प्रेस सेक्रेटरीले बाइडनले आफ्ना छोरालाई क्षमादान नदिने जनाएका थिए । तर आइतबार साँझ बाइडनले आफूले न्याय प्रणालीमा विश्वास गर्दा गर्दै पनि ‘राजनीतिले यस प्रक्रियालाई सङ्क्रमित पारिदिएको र त्यसले न्यायको गर्भपात गराएको’ बताए ।
त्यसको प्रतिक्रियामा जारी गरिएको विज्ञप्तिमा हन्टर बाइडनले दुर्व्यसनीका आफ्ना अँध्यारा दिनमा आफूले गरेको गल्तीलाई राजनीतिक खेलमा आफ्नो परिवारलाई ‘सार्वजनिक रूपमा शोषण र अपमानित’ गर्न प्रयोग गरिएको जनाएका छन् ।
उनले भने, ‘मलाई आजको दिन दिइएको क्षमादानलाई मैले कहिल्यै हलुका रूपमा लिनेछैन र अझै बिरामी र पीडामा रहेकालाई सहयोग गर्नमा मैले पुनर्स्थापित गरेको जीवन समर्पित गर्नेछु ।’
सेप्टेम्बरमा हन्टर सङ्घीय कर अपचलनमा दोषी ठहर भएका थिए, त्यसको सजाय तोक्न बाँकी छ त्यसमा उनलाई १७ वर्ष सम्मको जेल सजाय हुन सक्ने बताइन्छ । जून महिनामा बन्दुक खरिदसम्बन्धी अर्को अभियोगमा उनलाई २५ वर्षसम्मको सजाय हुन सक्ने बताइएको थियो । ती मुद्दामा सजाय तोक्ने दिन १२ र १६ डिसेम्बरमा तय गरिएको थियो ।