`

इंग्ल्याण्डसँग आयरल्याण्ड ५–० गोल अन्तरले पराजित

काठमाडौँ । युइएफए नेसन्स लिगमा इंग्ल्याण्डले फराकिलो जित निकालेको छ । सोमबार विहान घरेलु मैदान बेम्ब्लीमा १० खेलाडीमा समेटिएको रिपब्लिक अफ आयरल्याण्डलाई ५–० गोल अन्तरले पराजित गरेको हो । युरो २०२४ को उपविजेता इंग्ल्याण्डले प्रशिक्षक ली कास्लीको अन्तिम खेल सम्झनलायक बनायो । अब इंग्ल्याण्डको प्रशिक्षणको रुपमा थोमस टुचेल रहने छन् ।

पहिलो हाफमा आयरल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्याण्डलाई रोकेको थियो । तर, दोस्रो हाफको सुरुमै ५१औं लियाम स्केल्सले जुड बेलिंघमलाई रोक्दा फाउल गरेपछि रातो कार्ड पाउँदा आयरल्याण्ड १० खेलाडीमा समेटियो । त्यतिबेला इंग्ल्याण्डले पेनाल्टीको अवसर पनि पायो । कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाए ।

५५औं मिनेटमा इंग्ल्याण्डले अग्रता दोब्बर बनाउन सफल भयो । टिनो लिभ्रामेन्टोको डिफ्लेक्टेड क्रसमा आएको बल एन्टोनी गोर्डनले भली प्रहार गर्दै करियरको पहिलो अन्तर्राष्ट्रिय गोल गरे ।

यसैगरी ५८ औं मिनेटमा कर्नरबाट आएको बललाई कोनर गालाघरले पनि पहिलो गोल गर्दा इंग्ल्याण्ड ३–० ले अघि बढेको थियो । ज्यारोड बोवेनले मैदान प्रवेश गरेलगत्तै ७५ औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डको अग्रता थप मजबुत बनाएका थिए ।

टेलर हार्वुड–बेलिसले पनि आफ्नो डेब्यू खेलमा जुड बेलिङ्घमको क्रसमा हेड गर्दै ७९ औं मिनेटमा टिमका लागि पाँचौं गोल गरेका थिए । जितसँगै इंग्ल्याण्ड समूह बीको २ मा १५ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

रुसमाथि लामो दुरीको हतियार प्रयोग गर्न युक्रेनलाई अमेरिकी अनुमति

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि लामो दुरीको हतियार प्रयोग गर्न युक्रेनलाई अनुमति दिएका छन् । रुसलाई सहयोग गर्न उत्तर कोरियाली सेना त्यहाँ पुगेपछि अमेरिकाले लामो दुरीको हतियार प्रयोग गर्न युक्रेनलाई अनुमति दिएको हो ।

दक्षिणी रुसी क्षेत्र कस्र्कमा अहिले ५० हजार उत्तर कोरियाली सैनिक रहेको अनुमान गरिएको छ । सोही स्थानमा गत वर्ष युक्रेनले प्रत्याक्रमण स्वरूप आक्रमण सुरु गरेको थियो ।

अमेरिकाको यो सन्देश आर्मी टेक्टिकल मिसाइल सिस्टम प्रयोग गर्नका लागि हो । बाइडेनले यो मिसाइल फेब्रुअरी महिनामा तयार पारीसकेका थिए। अप्रिल महिनामा यो युक्रेनलाई हस्तान्तरण गरिएको हो।

जेलेन्सकीले पहिलेदेखि नै युद्धमा एउटा मोमेन्टमकै लागि पनि सो हतियार रुसी भूमिका प्रयोग गर्न अनुमति खोजिरहेका थिए । रुसले आइतबार युक्रेनमाथि ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

आक्रमणलाई अधिकारीहरूले पछिल्ला महिनाहरूको सबैभन्दा ठूलो भनी वर्णन गरेका छन् । जाडोअघि मस्कोले युक्रेनको विद्युत् उत्पादन क्षमतालाई तहसनहस पार्ने मनसाय राखेको बारे चिन्ता बढिरहेको बेला यो आक्रमण भएको हो ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार रुसले युक्रेनभर ठूलो मात्रामा कूल एक सय २० क्षेप्यास्त्र र ९० ड्रोन प्रक्षेपण गरेको छ । उनले विभिन्न प्रकारका ड्रोनहरू प्रयोग गरिएको र यसमा इरान–निर्मित शाहेदहरूका साथै क्रुज, ब्यालिस्टिक र विमान–प्रक्षेपित ब्यालिस्टिक क्षेप्यास्त्रहरू समावेश रहेको जानकारी दिए ।

स्थानीय तहका ४२ पदका लागि चार सय सात जनाको उम्मेदवारी दर्ता

काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, दुई सय ९३ पुरूष र एक अन्य गरी जम्मा तीन सय २३ जनाको मनोयन पत्र दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।

धनुषामा सबैभन्दा धेरै तथा रुकुम पूर्वमा र बझाङ जिल्लामा सबैभन्दा कम उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–२ र बझाङको सुर्मा गाउँपालिका–४ को वडा अध्यक्ष पदमा तीन÷तीन जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ ।

स्थानीय तह उपनिर्वाचनका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवं शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोयनपत्र दर्ता भएको आयोगका सहसचिव पोखरेलले जानकारी दिइन् ।

यही मङ्सिर ३ गते विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यही मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा २६ स्थानमा मात्र उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचन हुने ४२ मध्ये २६ स्थानमा मात्र उम्मेदवार उठाएको छ ।

ओखलढुंगा, सप्तरी रौतहट, रुकुम पूर्व, रुकुम पश्चिम, बाजुरा, बझाङ, डोल्पा, दार्चुला, कैलाली जिल्लाहरुमा हुने उपनिर्वाचनमा रास्वपाले उम्मेदवार नउठाएको हो । रास्वपाले उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ताको समय थियो ।

नेपालद्वारा कर्नाटक १२१ रनले पराजित

काठमाडौं । यू–१९ एसियाकपको तयारीमा रहेको नेपालले भारतको कर्नाटक यू–१९ लाई १२१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा जित निकालेसँगै नेपालले ५ खेलको सिरिजमा २–१ को अग्रता पनि लिन सफल भएको छ । जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएको कर्नाटकले ४०.२ ओभरमा सबै विकेट गुमाएर १६१ रनमा समेटिन पुग्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८२ रनको बलियो योगफल तयार पारेको थियो । २८३ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको कर्णाटकको मध्यम सुरुवात गरेको थियो । कर्नाटकले ४०.२ ओभरमा सवै विकेट गुमाएर १६१ रनमात्रै बनाउन सक्यो ।

अभिनेता दयाहाङ राई विराटनगर किंग्सको ब्राण्ड एम्बेसडर

काठमाडौं । विराटनगर किंग्सको गुडविलले चर्चित अभिनेता दयाहाङ राईलाई आगामी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषणा गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राईलाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो । ब्राण्ड एम्बेसेडरको रूपमा विराटनगर किङ्ग्समा आबद्ध भई राईले नेपाली खेलकुदमा पनि आफ्नो उपस्थिति जनाएका हुन् ।

उनले यो टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए । साथै उनले क्रिकेटले गर्दा नेपाली खेलहरुलाई नजिकबाट बुझेको बताए । उनले खेलले नै हामी सबैलाई ठूलो धैर्यता सिकाएको बताए । नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुससम्म चल्नेछ ।

नर्सिङ शिक्षामा सहज भर्नाका विषयमा प्रधानमन्त्री ओलीको चासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आइतबार चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको  छलफलमा सरकारी मेडिकल कलेजमा क्षमता भएबमोजिम विद्यार्थीको सिट सङ्ख्या निर्धारण तथा निजी मेडिकल कलेजमा तोकेबमोजिम शुल्क र छात्रवृत्ति व्यवस्थापन गर्न राय परामर्श गरिएको थियो ।

स्वदेशभित्रै सहज र गुणस्तरीय रूपमा चिकित्सा शिक्षा उपलब्ध गराउन तथा उत्पादित दक्ष जनशक्तिलाई स्वास्थ्य संस्थामा रोजगारीको वातावरण सृजना गरी मुलुकको समृद्धिमा कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।

यस्तै नर्सिङ शिक्षामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त सबै संस्थामा सहज भर्नाका विषयमा प्रधानमन्त्री ओलीले चासो दिएका थिए । उनले आयोगको बैठक छिट्टै राखेर आवश्यक निर्णय लिने र चिकित्सा शिक्षामा सहजताका लागि विद्यमान ऐन–नियममा सामयिक संशोधनको गृहकार्य गर्ने विषयमा परामर्श गरेका थिए ।

“हामीले राष्ट्रिय स्वार्थ र न्यायोचित कुरालाई हेर्नुपर्छ । देशको समृद्धिमा कसरी लाभ पुुग्छ भन्ने कुरालाई केन्द्रमा राख्नुपर्छ”,  प्रधानमन्त्री ओलीले भने, “कुनै लहड, स्वार्थ वा नेपालका विद्यार्थी विदेशमा पढ्न जान बाध्य बनाउने गलत स्वार्थमा लाग्नु हुँदैन ।”

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १२ मा विद्यार्थीको पढाइ र अभ्यासका लागि मेडिकलतर्फ कम्तीमा तीन सय तथा डेन्टल र नर्सिङतर्फ एक सय शय्याको अस्पताल सञ्चालन नभएसम्म सम्बन्धित विषयको कुनै पनि कार्यक्रम सञ्चालन नगर्ने भन्ने व्यवस्थाका कारण नर्सिङ शिक्षा सञ्चालनमा असहजता देखिँदै आएको छ । आयोग र परिषद्को वार्षिक क्यालेन्डरमा एकरुपतामा ल्याउन पनि कठिनाइ हुँदै आएको छ ।

आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झाले अब बस्ने आयोगको बैठकबाट सात नयाँ संस्थालाई आशयपत्र र २८ संस्थालाई विद्यार्थीको कोटा निर्धारणलगायत कार्यसूूची हुने अवगत गराए । आयोगले चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुगमन, प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थाको विद्यार्थी सिट सङ्ख्या र शिक्षण शुल्क निर्धारणसम्बन्धी कार्यहरु गर्दै आएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले आजै काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको विवाद मिलाउने सम्बन्धमा विश्वविद्यालयका पूर्वउपलकुलपतिहरु डा सुरेशराज शर्मा, डा रामकण्ठ मकाजु श्रेष्ठलगायतसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीले दुवै संस्था अन्तर्राष्ट्रियस्तरमा समेत ख्यातिप्राप्त भएकाले एकापसमा मिलेर जाँदा उचित हुने भएकाले आपसी गृहकार्य गरी समाधानको उपाय ल्याउन यसअघिको सिनेट बैठकमा निर्देशन दिएका थिए । उक्त विवाद मिलाउन नेपाल सरकारका प्रतिनिधि, दुवै संस्थाका पदाधिकारी र जनप्रतिनिधि रहेको कार्यदल गठन गरिएको छ । कार्यदलको प्रतिवेदन प्राप्त भएपछि विश्वविद्यालयको सिनेट बैठकमा प्रस्तुत गरिनेछ ।

रवि लाछिानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।

गोर्खा मिडिया नेटवर्कमा रहँदा काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सहकारीको बचत अपचलन प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित २४ जनाविरुद्ध यसअघि नै पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र तत्कालीन उपाध्यक्ष रहेका जोशी हाल कास्की प्रहरीको हिरासतमा छन् । दुवैजनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको अनुसन्धान भइरहेको छ ।

सिकलसेल रोगको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  छुट्टै  वार्ड स्थापना

काठमाडौँ । सिकलसेल उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड स्थापना गरिएको छ । आइतबारदेखि प्रतिष्ठानमा भर्ना हुनेका लागि १० शय्या र दिवा उपचारका लागि पाँच शय्या सहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले जानकारी दिए ।

यो सँगै थारू समुदायको प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया रोगको उपचारका लागि नै स्थापना गरिएको वार्डको सङ्ख्या दुई पुगेको छ ।

यसअघि नेपालगञ्जको भेरी अस्पतालमा यो रोगको उपचारका लागि वार्ड स्थापना गरिएको थियो । वंशाणुगत रोग सिकलसेल थारू समुदायको प्रमुख स्वास्थ्य समस्याका रूपमा रहँदै आएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सिकलसेलबाट समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित छन् । यसअघि दिउँसो मात्र उपचार गर्ने गरिएकामा अब अन्य समयमा पनि प्रतिष्ठानबाट उपचार सहज हुने उपकुलपति डा लामिछानेले बताए ।  

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत कात्तिक २० गते मन्त्रिस्तरीय निर्णय गर्दै भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गर्न लगाएका थिए । सिकलसेलको औषधिसमेत निःशुल्क उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।

पोखराका प्रेमप्रसादको एकीकृत कृषि

गण्डकी ।  पोखरा महानगरपालिका–२४ लौरुकका किसान प्रेम अधिकारीका फार्ममा उत्पादन भएका कृषिजन्य वस्तु लेकसाइड आसपासमा खरिद गर्नेको घुइँचो हुन्छ। बजार पुर्‍याइएका तरकारी बिक्री हुँदैन की भन्ने उनलाई चिन्ता लाग्दैन।

प्रेमप्रसादले बजारमा जितिरहेको विश्वास उनको एकीकृत कृषिप्रतिको लगाब र मेहनत हो। पहिचान अर्गानिक कृषि फार्म सञ्चालन गरिहेका अधिकारीले फार्ममा एकीकृत रूपमा पशुपालसँगै तरकारीखेती पनि गरिरहेका छन्। गोठमा भैँसीपालन गरिहेका अधिकारीले दैनिक ४५ लिटर दूध बेचिरहेका छन् भने तिनै भैँसीको मलले चारवटा टनेलमा विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी लगाएका छन्।

सुरुमा गाउँका स्थानीयकोसमेत दूध सङ्कलन गरी सात सय लिटरसम्म बजारमा बिक्री गर्न लैजाने गरेको अधिकारीले बताए। फार्ममा पालिएका भैँसीको मल आफ्नै तरकारीखेतीमा प्रयोग गरी अर्गानिक उत्पादनमा जोड दिएको उनको भनाइ छ।

उनले भने, ‘विषादिरहित मल प्रयोग भएकाले उत्पादित तरकारीको माग पनि बजारमा बढी छ।’

आफ्नो जीवनकालमा विभिन्न अनुभव पनि सँगालेको बताउँदै अधिकारीले सन् २००० देखि २००५ सम्म कतारमा वैदेशिक रोजगारी गरेको जानकारी दिए। त्यसयता लेकसाइडमा होटेल सञ्चालन गरेका उनले २०७२ सालको भूकम्पपछि कृषितर्फ लागेको जानकारी दिए।

अर्गानिक खेतीका लागि चाहिने मल गोठबाट उपलब्ध हुने गरेको भन्दै अधिकारीले गोठमा अहिले १८ वटा भैँसी रहेका उल्लेख गरे। लोकल कुखुरापालन पनि गरिरहेका उनले बजारको माग अनुसार कृषिजन्य उत्पादन पुर्‍याउन नसकेको बताए। आफैँ बजारीकरणमा लाग्नुका साथै र परिवारका सदस्यले पनि सहयोग गर्दा काम गर्न सहज भएको अधिकारीको भनाइ छ।

व्यावसायिक कृषिमा परिवारजनबाट सहयोग पाएको बताउँदै उनले एकीकृत कृषिबाट जोकोही लाभान्वित हुनसक्ने अनुभव सुनाए। परिवारको सहयोगसँगै उहाँले अन्य दुई जनालाई दैनिक ज्यालादारीमा रोजगारीसमेत दिँदै आएका छन्।

‘मेरो व्यावसायिक कृषिमा श्रीमती, छोराछोरी, आमा सबैको निरन्तर साथ र सहयोग छ’, उनले भने, ‘एकीकृत रूपमा पशुपालन र तरकारीखेती गरेकाले उपभोक्तालाई शुद्ध प्राङ्गारिक उत्पादन पुर्‍याउन सकेको छु।’

उत्पादित वस्तुको बजार लेकसाइड रहेको बताउँदै अधिकारीले धेरै उत्पादन हुँदा पोखरा महानगरपालिकाद्वारा सञ्चालित कृषि एम्बुलेन्स सहयोगी बन्ने उल्लेख गरे। सुरुमा रु १० लाखबाट व्यावसायिक कृषिमा लगानी सुरु गरेको जनाउँदै उनले त्यसयता टनेल निर्माण, गोठलगायत पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगेको बताए। उत्पादित वस्तुको सहज बजारीकरणका साथै आम्दानी पनि प्रशस्तै भइरहेकाले सन्तुष्ट रहेको उनको भनाइ छ।

अघिल्लो वर्ष रु एक लाखको साग, रु एक लाखको काँक्रो बिक्री गरेको अधिकारीले जानकारी दिए। धनियाँ, गोलभेडालगायत उत्पादनबाट पनि सोहीअनुसार फाइदा भएको उनले अनुभव सुनाए। गत वर्ष राँगा बिक्रीबाट सबै खर्च कटाएर रु एक लाख ५० हजार आम्दानी भएको उहाँले जानकारी दिए।

अधिकारीले गरेका एकीकृत कृषि अरुका लागि पनि अनुकरणीय भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए।

‘पशुपालनसँगै तरकारीजन्य उत्पादन गर्दै आउनुभएका अधिकारीले एकीकृत रूपमा कृषिकर्म गर्नुभएको छ’, उनले भने, ‘घरमा पशु पालन भएकाले खेतबारीमा पशुमल प्रयोग भएकाले अर्गानिक तरकारी उत्पादनमा सहयोग पुगेको छ।’

‘हाम्रो परिवेशमा एउटै किसानको सयौंँ रोपनी जग्गा हुने अवस्था पनि छैन’, कडरियाले भने, ‘थोरै जग्गामा अधिकतम लाभ लिन अब अधिकारीले जस्तै अरुले पनि एकीकृत कृषि प्रणाली अपनाउनु जरुरी छ।’ 

तनहुँको बन्दीपुरस्थित गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ यात्रु घाइते

दमौली (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आज दिउँसो दुई वटा बस ठोक्किदा २९ यात्रु घाइते भएका छन् ।

गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस एक आपसमा ठक्कर खाँदा २९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

बसमा च्यापिएका यात्रुलाई मुग्लिन पोखरा सडक योजनाको डोजरको सहयोगमा उद्धार गरिएको छ । हाल घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वसभामुख ढुङ्गानाको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल रहेका परिवारमा समवेदना प्रकट गरेका हुन् ।

‘पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनले मर्माहत भएको छु, राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता, नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुङ्गानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान सधै स्मरण हुनेछ, प्रिय ढुङ्गानाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु’, राष्ट्रपतिले भनेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुङ्गानाको योगदान विशिष्ट रहेको स्मरण गरेको उनका  प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार दिउँसो १ः३० बजे उनको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी रास्वपाले आन्दोलन घोषणा गरेको हो ।

पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।

झाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन हुने जानकारी दिए । रास्वपाको दोस्रो चरणको आन्दोलनमा सहकारीपीडित र मिटरब्याजपीडितलाई न्याय दिनुपर्ने विषयसमेत समेटिएको छ ।

त्यस्तै रास्वपाले उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने मागसमेत गरेको छ । पार्टी सभापति लामिछाने पक्राको विरोधमा रास्वपाले दिनहुँ विरोध प्रदर्शन गर्दै आएको छ ।

उसले लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने माग गर्दै आएको छ । प्रहरीले भने लामिछानेविरुद्ध सहकारी ठगीकासाथै सम्पत्ति शुद्धीकरण र संगठित अपराधमासमेत अनुसन्धान गरिरहेको छ ।

ट्रम्पको विजयले रुससँगको युद्ध छिटो अन्त्य हुनेमा युक्रेनी राष्ट्रपति जेलेन्स्की आशावादी

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्प विजयी भएसँगै अब रुससँगको युद्ध अन्यथा अवस्थामा भन्दा ‘छिटो अन्त्य’ हुने कुरामा आफू ढुक्क रहेको बताएका छन् ।

अमेरिकी चुनावमा ट्रम्पको विजयपछि आफूहरूबीच फोनमा कुराकानी हुँदा ‘रचनात्मक संवाद’ भएको उनको दाबी छ । रुससँगको वार्ताका लागि ट्रम्पले कुनै माग राखेनराखेकोबारे केही नबताए पनि ट्रम्पले युद्धबारे युक्रेनको अडानभन्दा विपरीत हुने गरी कुनै कुरा गरेको आफूले नसुनेको जेलेन्स्कीले बताए ।

ट्रम्पले युद्धको अन्त्य आफ्नो प्राथमिकतामा रहेको बारम्बार बताएका छन्। सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि सुरु गरेको आक्रमणपछि सुरु भएको युद्धमा किएभलाई सैन्य सहायताका रूपमा दिइएको अमेरिकी स्रोतसाधन नाश भएको उनको भनाइ छ ।

केही महिनाअघि अमेरिकाको संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टटिभ्सले युक्रेनलाई ६१ अर्ब अमेरिकी डलरबराबरको सैन्य सहायता प्याकेज दिन स्वीकृति दिएको थियो ।

अमेरिका युक्रेनलाई सबैभन्दा धेरै हातहतियार उपलब्ध गराउने देश पनि हो। युद्ध सुरु भएदेखि सन् २०२४ को जुनसम्ममा युक्रेनलाई उसले ५५.५ अर्ब अमेरिकी डलरबराबरको हातहतियार तथा उपरकण उपलब्ध गराएको जर्मन अनुसन्धान संस्था कील इन्स्टिच्यूट अफ वर्ल्ड ईकनमिक्सले जनाएको छ ।

आफ्ना चुनावी अभियानहरूमा रिपब्लिकन उम्मेदवार ट्रम्पले ‘एक दिनमै’ युद्ध अन्त्य गरिदिने कुरा बारम्बार दोहोर्याएका थिए । तर युद्ध अन्त्य गर्ने उनको रणनीति के हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

यद्यपि त्यसैप्रति आशावादी हुँदै जेलेन्स्कीले एक युक्रेनी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा भनेका छन्, ‘अब ह्वाइट हाउसको नेतृत्व गर्ने टोलीको नीतिले छिटो युद्ध अन्त्य गर्ने कुरा निश्चित छ। यो उनीहरूको दृष्टिकोण र उनीहरूले आफ्ना नागरिकप्रति गरेको वाचा हो।’

साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न

काठमाडौँ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गरेको छ ।

इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगी (साइबर इनेबल्ड फ्रड) का विषयमा तयार पारेको प्रतिवेदन सरकारसमक्ष पेस गरी आइतबार सार्वजनिक गरिएको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १० को खण्ड (क) मा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानीसम्बन्धी कसूरको प्रकार कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारवाहीसम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंकमार्फत नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र यस्तो ठगीमार्फत प्राप्त सम्पत्तिको शुद्धीकरणमा प्रयोग गरिने पद्धतिको चर्चा गरिएको छ । साथै प्रतिवेदनमा ती ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेषण गरिएको छ । 

प्रतिवेदनमा सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका साइबर प्रविधिमा आधारित ठगीसम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत रूपमा विश्लेषण गरिएको छ । उक्त विश्लेषणबाट यस प्रकारको शङ्कास्पद कारोबारमा १८ देखि २४ वर्ष उमेर समूहका व्यक्ति र पेसामा ‘विद्यार्थी’ उल्लेख गरेका व्यक्तिहरू सबैभन्दा बढी संलग्न रहेको देखिएको छ ।

यसैगरी, अधिकांश शड़कास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको तीन महिनाभित्र शङ्कास्पद कारोबार भएको पाइएको छ । साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा उपहार तथा तथा पार्सल ठगी, सामाजिक सञ्जालका माध्यामबाट हुने ठगी, अनलाईन व्यापारसम्बन्धी झुटा प्लेटफर्म, ओटिपी फ्रड, लट्री फ्रडलगायतका तरिकाको प्रयोग भएको पाइएको छ ।

प्रतिवेदनको निष्कर्षका आधारमा साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक संस्था, कानुन कार्यान्वयन गर्ने निकाय अनुसन्धानकारी निकाय र नियामक तथा सुपरिवेक्षकीय निकायलाई आवश्यक सुझावहरू सिफारिस गरिएको छ । साथै यस्तो ठगी न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय जगतमा भएका प्रयासका बारेमा समेत चर्चा गरिएको छ ।

दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।  सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् । 

‘विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु’, प्रधानमन्त्रीले भनेका छन् ।

बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार दिउँसो १ः३० बजे ढुंगानाको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका  ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । 

हुस्सु र कुहिरोले केही दिनदेखि अधिकांश विमानस्थलमा हवाई उडान प्रभावित

सिबी अधिकारी, काठमाडौं । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ । 

पछिल्लो एक सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सु र कुहिरोले उडान प्रभावित भएको छ । गत बिहीबार थाइल्याण्डको बैंककबाट आएको थाइ एयर एसियाको विमान भैरहवा माथिको आकाशमा करिब एक घण्टा फन्को लगाउने ‘होल्ड’ भएको थियो । केही दिनयता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुदाँ अन्तर्राष्ट्रिय उडान प्रभावित भइरहेका छन् । 

बिहानका लागि निर्धारित उडान ‘डिले’ हुने गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बिहान हुस्सु र कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भइरहेको छ । बिहानका उडान डिले भइरहेका छन् । केही दिनयता बिहान ११ र १२ बजेपछि मात्रै आकाश राम्ररी खुलेर उडान तथा अवतरण भइरहेको उनले बताए ।
      
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि केही दिनयता बिहान हुस्सु लाग्ने गरेकाले उडान सामान्य प्रभावित भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार जाडो समय भएकाले पनि बिहानको समय हुस्सु बढिरहेको छ । केहि दिनअघिदेखि बिहान समस्या रहे पनि मध्यान्ह आकाश खुल्दै जानेक्रम चलिरहेको छ । 

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बिहान हुस्सु र कतिपय स्थानमा कुहिरो लागेकाले भिजिबिलिटी कमजोर भइरहेको जानकारी दिए । उनका अनुसार देशका पूर्वी र मध्य तराई क्षेत्रमा बाक्लो हुस्सु तथा कतिपय स्थानमा कुहिरो लाग्ने गरेकाले हवाई उडानमा समस्या भइरहेको छ । तुलनात्मक रुपमा पश्चिम तराईका विमानस्थलमा यो समस्या कम छ । बिहान चाँडै आकाश खुल्ने गरेको छ ।
      
मौसमविद् अधिकारीका अनुसार विश्वव्यापी मापदण्डअनुसार एक किलोमिटरभन्दा कम भिजिबिलिटी भएको अवस्थालाई कुहिरो भनिन्छ । एकदेखि पाँच किलोमिटरसम्मको पारदर्शितालाई हुस्सु भन्ने गरिएको छ । अहिले तराई क्षेत्रमा हुस्सु र कुहिरोले बढी समस्या भइरहेको छ । तराईका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।
      
“अहिले पहाडी र हिमाली क्षेत्रमा पारदर्शिता राम्रो देखिन्छ, नौदेखि १० किलोमिटर पारदर्शिता छ, तर तराईमा हुस्सु, कुहिरोले लाग्दा बढी समस्या देखिएको छ, तराईका धेरै स्थानहरुमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ”, मौसमविद् अधिकारीले भने । तत्कालै वर्षाको सम्भावना नरहेको र लामो समयदेखि वायुमण्डल प्रदूषण भएका कारण पनि हुस्सु र तुँवालो लाग्ने गरेको उनले उल्लेख गरे ।
      
पछिल्ला दिनमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीले उडान प्रभावित बनिरहेको यात्रुलाई विभिन्न माध्यमबाट जानकारी गराइरहेका छन् । विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, नेपालगञ्ज, धनगढी, सुर्खेत, लुम्लिङ्टारलगायत विमानस्थलमा निर्धारित समयमा उडान हुन सकिरहेको छैन । काठमाडौँ बाहिरका विमानस्थल समयमै खुल्न नसक्दा काठमाडौँ विमानस्थलको उडान तालिकासमेत प्रभावित बनेको छ ।
      
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँको भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडानमा समस्या नरहे पनि अन्य विमानस्थलको उडान प्रभावित भइरहेको छ ।

भैरहवा र सिमरा विमानस्थलमा उडान भर्खरै खुलेको छ । आज बिहान झापाको चन्द्रगढी विमानस्थलबाहेक तराई क्षेत्रका सबैजसो विमानस्थल बन्द रहेको र अहिले भिजिबिलिटीमा सुधार आएपछि क्रमशः विराटनर, जनकपुर, सिमरा, भैरहवा विमानस्थल खुलेको प्रवक्ता शेर्पाले जानकारी दिए । 

उनका अनुसार सबैभन्दा ढिला खुलेका भैरहवा र सिमरा विमानस्थल हो । गौतमबुद्ध विमानस्थल आज मध्याह्न १२ः५० मा खुलेको छ । काठमाडौँ बाहिरका गन्तव्यमा उडान डिले भइरहेका छन् । विमानस्थल बिहान ढिला खुलेकाले उडानहरु डिले भइरहेका हुन् । “उडान नियमित भइरहकेका छन् तर निर्धारित समयमा हुनसकेका छैनन्”, प्रवक्ता शेर्पाले भने ।
      
काठमाडौँमा पनि बिहानीपख हुस्सु लाग्ने गरेकाले हवाई उडान सामान्य प्रभावित बनिरहेको छ । अहिले काठमाडौँको आकाशमा भिजिबिलिटी छ किलोमिटर छ । आज बिहान ६ देखि १० बजेसम्म न्यूनतम पारदर्शिता तीन हजार ५०५ सय मिटर रहेको थियो । बिहान ६ देखि १० बजेको समयमा हुस्सु थियो ।
      
देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाउँदै महाशाखाले कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

नेप्सेमा ११ अर्ब ७२ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबारको दिन  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आइतबार परिसूचक चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न कम्पनीका तीन सय २६ कम्पनीको दुई करोड ४४ लाख २६ हजार नौ सय कित्ता शेयर एक लाख १३ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार नौ सय चार बराबरको कारोबार भएको छ ।

आज बैंकिङ शून्य दशमलव २१, वित्त एक दशमलव ६३, उत्पादन तथा प्रशोधन एक दशमलव १३ र निर्जीवन बीमा समूह शून्य दशमलव ६९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक दुई दशमलव २१ प्रतिशतले बढेको छ । 

त्यस्तै, विकास बैंक शून्य दशमलव ६२, जलविद्युत् शून्य दशमलव ८५, लगानी शून्य दशमलव १७, जीवन बीमा शून्य दशमलव २१, लघुवित्त एक दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव २९, व्यापार शून्य दशमलव २४ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ ।

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने समृद्धि फाइनान्स कम्पनी लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ४५ करोड १७ लाख १० हजार तीन सय ७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै १२ लाख ४२ हजार तीन सय ८९ कित्ता शेयर किनबेच भएको छ ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको उनका भाञ्जा सुरज भट्टराईले जानकारी दिए ।

ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख भएका थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका पनि खेलेका थिए ।

उनी २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए।

ग्राहक सेवामा सुधार गर्न नेपाल टेलिकममा रोबोट सेवा सुरु

काठमाडौँ । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आइतबार ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिए ।

उनका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउँछन् । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो । ‘अब भने रोबोटले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौँ’, उनले भने, “सामान्य सोधपुछदेखि एनटिसी सेवाका ६ सय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्नेछन् ।’

रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको प्रमुख पन्थीले जानकारी दिए । रोबोटले सेवाग्राहीका एनटिसीका विषयमा सोधिएका प्रश्नका जवाफ दिनेछ ।

साथै कुन सेवा लिन कुन शाखामा जाने नक्सा विवरण पनि रोबोटले दिनेछ । प्रमुख पन्थीले विदेशीलाईसमेत सुविधा दिने उद्देश्यले रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको बताए ।

हाइटीमा सामूहिक हिंसाका कारण चार दिनमा २० हजारभन्दा बढी विस्थापित

अमेरिका । हैटीको राजधानी पोर्ट–ओ–प्रिन्समा चार दिनमा २० हजारभन्दा बढी मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घको एक निकायले जनाएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका हाइटी प्रमुख ग्रेगोइर गुडस्टीनले भने, “पोर्ट–ओ–प्रिन्सको अलगावले लामो समयदेखि गम्भीर मानवीय स्थितिलाई बढावा दिइरहेको छ।”

“सहायता प्रदान गर्ने हाम्रो क्षमता यसको सीमासम्म फैलिएको छ। तत्काल अन्तर्राष्ट्रिय सहयोग बिना यो पीडा अझ विकराल हुनेछ,” गुडस्टीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आइओएमका अनुसार हालै बसाइँ सर्न बाध्य भएका करिब २० हजारमध्ये करिब १७ हजार मानिस पहिलेदेखि नै अस्थायी आवासमा थिए र धेरै पटक विस्थापित भइसकेका छन् ।

“सन् २०२३ को अगष्टदेखि हाइटीमा यति ठूलो सङ्ख्यामा विस्थापन भएको देखिएको थिएन,” आप्रवासन एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हाइटीका प्रधानमन्त्री एलिक्स डिडिएर फिल्स–एमेले निवर्तमान प्रधानमन्त्री गैरी कोनिलेको स्थानमा सोमबार सपथ लिएक छन् ।

पोर्ट–ओ–प्रिन्समा हिंसात्मक अपराध उच्च छ, शहरको लगभग ८० प्रतिशत नियन्त्रण गरेका सशस्त्र गिरोहहरूले नियमित रूपमा नागरिकहरूलाई लक्षित गर्छन् । यद्यपि, कोनिले नेतृत्वको अन्तर्राष्ट्रिय बललाई हाइटीको प्रहरीलाई सुव्यवस्था बहाल गर्न मद्दत गर्न तैनाथ गरिएको छ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका अनुसार यस वर्ष सामूहिक हिंसाका कारण करिब चार हजार व्यक्तिको मृत्यु भएको छ ।

पोर्ट–ओ–प्रिन्समा पुग्ने वा प्रस्थान गर्ने तीन वटा जेटलाइनरमा गोली चलेपछि संयुक्त राज्य अमेरिकाले एक महिनाका लागि सबै नागरिक उडानमा प्रतिबन्ध लगाएपछि हाइटीले गत हप्ता बाँकी विश्वसँग ठूलो सम्बन्ध गुमाएको थियो।

इजरायली हवाई आक्रमणमा गाजामा २० जनाको मृत्यु

गाजा । गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । गाजाको नागरिक सुरक्षा निकायले आइतबार इजरायली हवाई आक्रमणमा चार महिला र तीन बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको जनाएको छ । मध्य गाजाको बुरेज शरणार्थी शिविरमा भएको आक्रमणमा परी १० जनाको मृत्यु भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बसालले जानकारी दिए ।

शिविरको एक घरमा भएको अर्को आक्रमणमा परी कम्तीमा एक महिलाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन् । दक्षिणी शहर राफामा आइतबार बिहान इजरायली ड्रोनले आक्रमण गरिएको र यसका कारण कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएको बासलले बताए ।

मध्य गाजाको नुसिरात शिविरको पश्चिममा रहेको एक घरमा रातभर भएको आक्रमणमा परी तीन महिला र एक बालकसहित अन्य चार जनाको मृत्यु भएको उनले बताए।

गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार १३ महिनाभन्दा बढी चलेको युद्धमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४३ हजार ७९९ पुगेको जनाएको छ । मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ र यसलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा परी एक हजार २०६ जनाको मृत्यु भएको एएफपीलाई उपलब्ध गराइएको इजरायली तथ्याङ्कमा उल्लेख छ ।

ठेक्का लागेको पाँच वर्षमा पनि भएन सडक कालोपत्र

म्याग्दी । बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन ।

रणनीतिक महत्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते म्याग्दीको रणनीतिक महत्वको निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति करिब ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ । म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा असहज भएको छ । ‘कालोपत्र गर्ने भनेर दुई वर्षअघि सम्माएर ‘सबबेस’ हालेर छाडेका थिए,’ मङ्गला–२ का श्रीराम पौडेलले भने, ‘कालोपत्र नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै धुलोका कारण स्थानीयलाई सास्ती भएको छ ।’

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत जिल्लास्थित पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित यो सडक आयोजनाका निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गरेपनि बेवास्ता गरेका कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । ‘रणवाङ–तोलावाङ–ढाँडखर्क खण्डको चार किमिमा सबबेस राखिसकेको निर्माण व्यवसायीले कार्यतालिका पेस गरेका छन् । बेस, कोट राखेर कालोपत्र गर्न भने ढिलाइ गरिरहेका छन्,’ उनले भने, ‘फोन सम्पर्क नभएपछि निर्माण कम्पनीका सञ्चालकलाई पत्र काटेर ताकेता गरेका छौँ ।’

ठेकेदारले निर्माण सामग्रीको व्यवस्थापन, मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक निर्माणमा ढिलाइ भएको बताइएको छ । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । पहिलो प्रभावित बाहेक रणवाङबाट ढाँडखर्कसम्म सडक फराकिलो बनाएर नाली र पर्खाल निर्माण सकिएको निर्माण कम्पनीका सञ्चालक चन्द्र थकालीले बताए । नदीजन्य निर्माण सामग्री नपाउँदा समयमा काम गर्न समस्या भएको उनको भनाइ छ ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले यसलाई रणनीति महत्वका रूपमा मानिएको हो ।

बेनीबाट सिमसम्म १२ दशमलव पाँच किमी तीन वर्षअघि कालोपत्र भएको थियो । सिम–पानाबगर खण्डको चार किमी गत जेठमा काम सकिएको छ । गण्डकी प्रदेशसभाका सांसद रेशम जुग्जालीले सहजीरण र समन्वय गरेपनि निर्माण कम्पनीले विभिन्न बाहना बनाएर सडक कालोपत्र गर्न ढिलाइ गरेको बताए । ‘गत आर्थिक वर्षमा काम सम्पन्न पुग्नेगरि पाँच करोड बजेट विनियोजन भएको थियो,’ उनले भने, ‘चालु आवमा पनि रु एक करोड ५० लाख विनियोजन भएको छ ।’

अब पनि काम सुरु नगरे निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरी स्थानीय र प्रदेश सरकारले आवश्यक विकल्प खोज्नु जरुरी रहेको उनको भनाइ छ ।

माओवादीबाट कीर्तिपुरको मेयरमा महर्जनको उम्मेदवारी दर्ता

काठमाडौं । काठमडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि महर्जनले आइतबार मनोनयन दर्ता गराएका हुन् ।

कीर्तिपुरमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल गरेर जाने सहमति भएको छ । माओवादीलाई कीर्तिपुरमा एकीकृत समाजवादीले सघाउने र काठमाडौं महानगरको वडा नम्बर १६ को वडा अध्यक्षमा एकीकृत समाजवादीलाई माओवादीले सघाउने सहमति भएको छ ।

एकीकृत समाजवादीले काठमाडौंको वडा नम्बर १६ मा मीनबहादुर मानन्धरलाई उम्मेदवार बनाएको छ ।

वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

वीरगञ्ज  । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताए ।

चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उनले राजस्व सङ्कलन पनि घटेको उल्लेख गरे ।

चालु आवको साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व सङ्कलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिए ।

कार्यालयले गत आवको चार महिनामा १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार राजस्व सङ्कलन गरेको थियो । गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा २० करोड चार लाख ५६ हजारले राजस्व सङ्कलनमा कमी आएको छ ।

एमालेबाट कीर्तिपुरको मेयरमा सुरेन्द्र मानन्धरको उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट सुरेन्द्र मानन्धरले उम्मेदवारी दिएका छन् । आइतबार उम्मेदवारी दिन नेकपा एमालेका नेता, कार्यकर्ता गाजाबाजासहित निर्वाचन कार्यालयमा पुगेका थिए ।

त्यस्तै कीर्तिपुरको वडा नम्बर १ मा हर्ष मर्हजन र वडा नम्बर ४ मा बद्री बुढाथोकीले उम्मेदारी दिएका छन् । यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि आज मनोनयन पत्र दर्ताको समय तोकिएको छ ।

राप्रपाबाट कीर्तिपुरको मेयरमा ध्रुव महर्जनको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कीर्तिपुरको मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै सोही नगरपालिकाको वडा नम्बर १ मा सुरेन्द्रप्रसाद उप्रेती र वडा नम्बर ४ को अध्यक्षमा विजेश बस्नेतले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि आज मनोनयन दर्ता गरिँदैछ ।

कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई आगामी बिहीबार नेपाली सेनाको ‘मानार्थ महारथी’को सम्मान प्रदान गर्दैछन् । नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलले सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भारतीय स्थल सेनाध्यक्ष नेपालको पाँच दिवसीय भ्रमणमा यही मङ्सिर ५ गते काठमाडौँ आउने कार्यक्रम छ । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई ‘मानार्थ महारथी’को दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ ।

‘नेपाल–भारत सैनिक कूटनीति उदाहरणीय’: हिमालय थापा, पूर्वउपरथी

नेपाल र भारतबीच सैनिक सम्बन्ध प्रगाढ छ । यसको संवेदनशीलता र महत्व राजनीतिभन्दा अलग छ । यो सम्बन्ध धेरैअघिदेखिकै हो । पहिलो र दोस्रो विश्वयुद्धदेखि नै नेपाली युवाले गोर्खा सैनिकमा भर्ना भई योगदान दिइरहेका छन् । द्वन्द्वका हिसाबले चुनौती देखिएका ठाउँमा साहासिक र व्यावसायिक विश्वास आर्जन गरेका गोर्खा सैनिक खटाउँदै आएको देखिन्छ । विगतमा भारतीय सेनाले नेपाली सेनाको सङ्गठन पुनःसंरचनामा सघाएदेखि नै दुई देशबीचको सैनिक सम्बन्ध प्रगाढ हुँदै गएको छ । दुई सङ्गठनबीच सम्बन्धमा कहिल्यै चिसोपन देखिन्न ।

विसं २०७२ को भूकम्प भएलगत्तै खोजी, उद्धार र राहतका लागि हेलिकप्टरसहितको जनशक्तिको सहयोग नेपाललाई प्राप्त भएको थियो । दुवै देशका सेना प्रमुखलाई एकअर्को मुलुकले मनार्थ महारथी दिने चलन अनुपम छ । विगतका नाकाबन्दी खुलाउने विषयमा पनि भारतीय सेनाले नेपाललाई सहयोग गरेकै हो । राजनीतिक क्षेत्रबाट कुनै प्रश्न उठेमा सैनिक कूटनीतिका माध्यमद्वारा सम्बोधन गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा त्यसलाई लिन सकिन्छ । नेपाल–भारतबीचको सम्बन्ध बहुआयामिक छ । नेपाल र भारतबीच सैनिक तहमा स्थापित सम्बन्ध सैनिक कूटनीतिका क्षेत्रमा संसारकै लागि एउटा सशक्त उदाहरण बनिरहेको छ ।

‘सैनिक सङ्गठनबीचको सहयोग आपसमा फलदायी’ : गौरवकुमार केसी, प्रवक्ता, नेपाली सेना

नेपाली सेनाका प्रधान सेनापति र भारतीय स्थल सेनाध्यक्षमा नियुक्ति भएपछि सेनाप्रमुखका हैसियतले एक–अर्को देशको औपचारिक भ्रमण गर्ने पुरानो प्रचलन र संस्कृति जस्तै बनेको छ । सोही सिलसिलामा भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी यही मङ्सिर ५ गतेदेखि नेपाल भ्रमणमा आउन लागेका छन् । नेपाल र भारतबीच भ्रमणका क्रममा एकअर्का मुलुकले मानार्थ महारथी प्रदान गर्ने विशिष्टखाले परम्परा छ । यो प्रचलन अविछिन्नरुपमा चलिआएको छ ।

नेपाल र भारतबीच सैनिक सम्बन्ध मात्र नभई समानखाले सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक र भौगोलिक अवस्थाले पनि जनस्तरमा समेत गहिरो र विशिष्ट सम्बन्ध छ । यसले एकअर्काबीचमा सहयोग, सम्बन्ध र सम्पर्क बलियो तुल्याएको छ । दुवै राष्ट्रका सैनिक सैनिक सङ्गठनबीच विभिन्न तहमा तालिम, अभ्यास र भ्रमण आदान प्रदान निरन्तर हुँदै आएका छन् । नेपाली फौज भारतमा र भारतीय फौज नेपालमा आई गरिँदै आइएको संयुक्त अभ्यासले विश्वमा विकास भइरहेको सैनिक रणनीति तथा अनुभव र ज्ञान साटासाटमा योगदान पुर्याएको छ ।

अर्कातर्फ भारतीय सेनामा ठूलै सङ्ख्यामा नेपाली युवा कार्यरत रहनुले पनि जनस्तरमा समेत एक खाले आत्मियता छ । यसले नेपाल र भारतबीच जनस्तरमा समेत विशिष्ट तथा माथिल्लोस्तरको सम्बन्ध कायम राख्न मलजल गरेको छ । सैनिक सङ्गठनबीच हुने सहयोग, समन्वय, भ्रमण, तालिम, अभ्यास र अन्य गतिविधिले दुवै देशबीचको सम्बन्धलाई फलदायी तुल्याएको छ । प्राकृतिक विपत्ति र प्रकोपका समयमा तत्क्षणमै सहयोग प्राप्त भइरहेको छ ।

‘मानार्थ महारथी’ उपाधि छिमेकीबीचको असल अभ्यास’: रामचन्द्र खत्री, पूर्वसैनिक सहचारी, नयाँदिल्ली

भारतीय सेनाको प्राथमिकता ठूला तथा शक्तिशाली देश पर्नेभए तापनि नेपालको विकास र समृद्धि तथा नेपाली सैनिकको क्षमता अभिवृद्धिलाई भारतले उत्तिकै प्राथमिकतामा राखेको छ । दक्षिण एशियाकै पुरानो सङ्गठन नेपाली सेना अन्तर्राष्ट्रियस्तरमा जानकार, साहासिक, व्यावसायिक र अनुशासित भन्ने छिमेकीको बुझाइ रहेको छ । भारतले हरतरहले नेपाली सेनालाई सहयोग गर्न तयार देखिन्छ ।

सैनिक सम्बन्ध, ‘मिलिटरी डिप्लोमेसी’ वा सैनिक कूटनीतिक जुन भाषा प्रयोग गरे पनि प्रत्येक देशका सेनाको पहिलो कर्तव्य भनेको राष्ट्रियहित तथा स्वाधीनताको संरक्षण र सम्वद्र्धन नै हो । देशको प्रमुख राष्ट्रिय सुरक्षा अङ्ग सेनालाई परराष्ट्र नीति, सैनिक कूटनीति र राष्ट्रिय सुरक्षा नीतिले दिएको कार्य जिम्मेवारीलाई पूरा गर्ने मुख्य ध्येय हुन्छ ।

सैनिक सहचारीको जिम्मेवारीमा नयाँदिल्लीमा रहँदा भारतीय सेना र नेपाली सेनाबीच सैनिक सम्बन्धलाई सुदृढ तुल्याउनमै भूमिका केन्द्रित रह्यो । कमीकमजोरीलाई हटाउँदै सैनिक सम्बन्धलाई बलियो तुल्याउने विषयमा खबर आदानप्रदान, सम्पर्क स्थापना र समन्वय गर्ने कार्य निरन्तर भयो । कूटनीति, सैनिक, सूचना र आर्थिक राष्ट्रिय हितका महत्वपूर्ण आयाममध्ये सुरक्षा त्यतिकै महत्वपूर्ण पक्ष हो । त्यसआधारमा नेपाल र भारतका सैनिक सङ्गठनले आफ्ना ढङ्गले सम्बन्धलाई अघि बढाइरहेको अवस्था छ ।

मुलुकको परराष्ट्र नीतिमा पनि राष्ट्रिय सुरक्षालाई सम्वद्र्धन र प्रवद्र्धन गर्ने भनेको छ भने राष्ट्रिय सुरक्षा नीतिले सैनिक कूटनीतिलाई मिल्दोरुपमा संरक्षण गर्ने भन्ने उल्लेख छ । नेपाल र भारतका फौजले सैनिक कूटनीतिका माध्यमबाट जुनसुकै समस्या र उठेका प्रश्न हल गर्न सकिन्छ भन्ने विगतका विभिन्न घटनाबाट पुष्टि भइसकेको छ ।

यसैबीच सैनिक सहचारीलाई सङ्गठनले बेग्लै कार्यादेश दिएको छ । दिल्लीमा रहनेलाई भारतीय सेनाले प्राथमिकतामा राख्दै अन्य सुरक्षा फौजसँग पनि सन्तुलित रुपमा सम्बन्ध कायम गर्नुपर्ने दायित्व रहन्छ ।

नेपाल र भारतबीच सन् १९५० पछि एकअर्को देशका सैनिक प्रमुखलाई मानार्थ महारथीबाट विभूषित गर्ने परम्परा छ । नयाँदिल्लीमा विभिन्न देशका कूटनीतिक नियोगमा ६० भन्दाबढी सैनिक सहचारी छन् । उनीहरुले नेपाल र भारतका सेना प्रमुखलाई प्रदान गरिँदै आएको ‘मानार्थ महारथी’ लाई छिमेकीबीचको असल अभ्यासका रुपमा हेर्ने गरेको पाइन्छ ।

यस्ता प्रचलनलाई अरु देशले पनि आत्मसात् गरिनुपर्ने उनीहरुको भनाइ थियो । छिमेकीबीचमा अटल सैनिक सम्बन्ध विस्तारमा यस्तो संस्कृतिको ठूलो भूमिका रहन्छ । दुवै देशले मानार्थका विषयलाई उत्तिकै महत्व दिँदै आएका छन् । भारतीय सेनाले भौतिक पूर्वाधारका अतिरिक्त तालिम, अभ्यास, प्रविधि हस्तान्तरण र स्वास्थ्य क्षेत्रमा समेत नेपाली सेनालाई सहयोग गरिरहेको छ ।

आपसी सहमतिमा नेपाली सेनालाई क्षमता अभिवृद्धिका लागि तालिम र भौतिक सामग्री बेग्लै विधिद्वारा उपलब्ध गराउँदै आएको छ । नेपाली सेनालाई आवश्यकपर्ने सैन्य रणकौशल (ट्याक्टिकल), ‘अप्रेशनल’ र रणनीतिक तहका व्यवसायिक तालिममध्ये राष्ट्रिय प्रतिरक्षा तालिम (एनडिसी) मा भारतले उपलब्ध गराउने ‘कोटा’मा नेपाललाई प्राथमिकता दिँदै आएको छ । नेपाल र भारतीय सेनाबीचको सहकार्यलाई अघि बढाउने सन्दर्भमा दुवै मुलुकबीच नियमित बैठक हुँदै आएका छन् ।

गुणस्तरमै नियमित एक–अर्का देशमा हुँदै आएको ‘अभ्यास सूर्यकिरण’ले पछिल्ला वर्षमा सैनिक सङ्गठनबीचको सम्बन्ध सुदृढ तुल्याउन कोशेढुङ्गाको काम गरेको छ । दुवै देशका सेना सम्मिलित ‘माउण्ट एभरेष्ट आरोहण’ पनि विगतमा भएको थियो । नेपालमा विभिन्न तहका लागि सञ्चालित संयुक्त राष्ट्र सङ्घीय शान्ति कार्य, आर्मी कमाण्ड तथा स्टाफ कलेज, अधिकृत आधार, माउण्टेन बारफेयर, जङ्गल बारफेयर र प्यारा बेसिक तालिममा भारतीयसहित १५ भन्दाबढी देशका सैनिक सम्मिलित हुँदै आएका छन् ।

दुवै सेनालाई चाहिने तालिम र अरु आवश्यक सामग्री व्यवस्थापन गर्न बेग्लै नीतिगत व्यवस्था बनाउनुपर्ने तथा पूर्वसैनिक प्रमुखबीच निरन्तर छलफल, भेटघाट र भ्रमण आदानप्रदान गर्न बलियो प्रणाली बेलाबखत अभाव खड्केको छ । यस्ता क्रियाकलापले दुवै सङ्गठनबीच विश्वास र सहयोगका लागि योगदान पुर्याउँछ ।

(नेपाल–भारत सैनिक सम्बन्ध र एकअर्का देशका सेना प्रमुखलाई प्रदान गरिने ‘मानार्थ महारथी’ उपाधिका सन्दर्भमा केन्द्रित रही नेपाली सेनाका प्रवक्ता केसी, पूर्वउपरथी थापा र सहायकरथी खत्रीसँग राससले गरेको कुराकानीमा आधारित)

समुद्री सतहमुनि रहेको बाकुबाट सर्वाेच्च शिखर सगरमाथाको सन्देशः ‘हिमालको हिउँ जोगाऔँ’

अजरबैजान । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) यही कात्तिक २६ गतेदेखि अजरबैजानको राजधानी बाकुमा जारी छ ।

बाकु सहर समुन्द्री सतहबाट २८ मिटर (९२ फिट) तल अवस्थित छ । यो समुद्री सतहबाट विश्वकै सबैभन्दा तल्लो सतहमा रहेको राजधानी सहर हो । यही सहरबाट समुद्री सतहदेखि आठ हजार आठ सय ४८ मिटर उचाइको विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको देश नेपालले हिमालको हिउँ जोगाउनका लागि पहल गर्न विश्वको ध्यानाकर्षण गराएको छ ।

सम्मेलनमा नेपालले जलवायुसम्बन्धी आफ्नो चासो, हित र आवश्यकताका मुद्दाबारे प्राथमिकता साथ आवाज बुलन्द गरिरहेको छ । नेपालले खासगरी विभिन्न उच्चस्तरीय बैठक, छलफल र वार्तामा पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायुले पारेका असरलाई प्राथमिकतासाथ उठाइरहेको छ ।

यही मङ्सिर ७ गतेसम्म चल्ने कोप–२९ सम्मेलन कात्तिक २६ गते भव्य समारोहका बीच उद्घाटन भएको थियो । कात्तिक २७ र २८ गते भएको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरुले जलवायु परिवर्तनका बारेमा चिन्ता र चासो व्यक्त गर्दै सिर्जित समस्या साझा नीति तथा कार्यक्रमसहित एकीकृत रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गरेका थिए । उनले आफ्नो सम्बोधनमा विश्व तापमानमा भएको वृद्धिका कारण हिमालको हिउँ पग्लिनेक्रम बढेको उल्लेख गर्दै त्यसलाई जोगाउनका लागि कार्बन बढी उत्सर्जन गर्ने विकसित र ठूला राष्ट्रले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै नेपालले कात्तिक २८ गते सम्मेलनमा छुट्टै उच्चस्तरीय कार्यक्रम गरी जलवायुको असरले निम्त्याएका प्राकृतिक विपद्का बारेमा विश्वको ध्यानाकर्षण गराएको थियो । विभिन्न देशका राष्ट्रपति, मन्त्री र उच्च अधिकारी सहभागी उक्त कार्यक्रममा पनि नेपालका तर्फबाट राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण अर्बौं मानिसको खानेपानीको स्रोतका रुपमा रहेको हिमाल प्रभावित भई तल्लो तटीय क्षेत्रमा पनि असर पारेकामा विश्व समुदायको ध्यानाकर्षण गरेका थिए ।

उक्त कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनसँगै विश्व तापमानमा भएको वृद्धिले विशेषगरी हिमाल तथा हिमाली मुलुक बढी प्रवाहित भएको र त्यसबाट समग्र विश्व प्रभावित हुने धारणा व्यक्त गर्दै हिमाल तथा पर्वतीय क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यान जानुपर्नेमा जोड दिए ।

कोप–२९ सम्मेलनको पाँचौँ दिन कोपको अध्यक्ष मण्डलले आयोजना गरेको उच्चस्तरीय कार्यक्रममा नेपालले हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनले गरेका असरबारे सशक्त रुपमा ध्यानाकर्षण गराएको थियो ।

वनमन्त्री शाही सहभागी उक्त कार्यक्रमा उनका तर्फबाट वनसचिव डा. दीपककुमार खरालले पर्वतीय क्षेत्रको महत्व र हिमालमा जलवायु परिवर्तनले गरेका असर तथा गर्नुपर्ने कामकाबारेमा ध्यानाकर्षण गराएका थिए । सम्मेलनमा निर्णयको छलफलका लागि एजेण्डा तय गर्ने कोपको अध्यक्षको समूहले राखेको बैठकमा यसरी हिमालका मुद्दा पहिलो पटक छलफल भएको हो ।

नेपालले बैठकमा यसरी हिमालका विषय प्रत्येक कोपमा छलफल होस् भनी माग राखेको थियो । नेपालको उक्त प्रस्तावमा भूटान, ताञ्जानियालगायत राष्ट्रले समर्थन गरेका थिए । यो छलफलले यस सम्मेलनको निर्णयमा हिमालका मुद्दाका सन्दर्भमा केही हुने अपेक्षा गरिएको मन्त्री शाहीका जलवायु सल्लाहकार मञ्जित ढकालले जानकारी दिए ।

राष्ट्रपति पौडेल स्वेदश फर्किएपछि नेपालको नेतृत्व गरेका वनमन्त्री शाहीले सम्मेलनमा भएका हरेक बैठक, छलफल र भेटवार्तामा आफूले हिमालका मुद्दालाई नछुटाएको उल्लेख गरे । साथै उनले कोप–२९ सम्मेलनको पूर्वसन्ध्यामा मन्त्रालयले ‘साथसाथै’ संस्थाको सहकार्यमा कर्णालीको रारामा दुईदिने जलवायुसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको बताए । जलवायुले हिमाली क्षेत्रका स्थानीयको जनजीवनमा पारेको असरसम्बन्धी जारी गरिएको ‘रारा घोषणा पत्र’का विषयमा कोप–२९ सम्मेलनमा उठाइएको उनले जानकारी दिए ।

कोप–२९ मा जलवायु परिवर्तनको चेतना जगाउन र युएनएफसीसीसी वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई अगाडि बढाउन नेपालले विभिन्न प्रयास जारी राखेको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए । साथै उनले हिमाली क्षेत्रमा जलवायु सङ्कट बढ्दै गइरहेको सन्दर्भमा विश्व समुदायबाट पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधन तत्काल हुन जरुरी रहेको बताए ।

सहसचिव डा. ढुङ्गानाका अनुसार कोप–२९ सम्मेलनमा अनुकूलन, हानिनोक्सानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण, क्षमता विकास, अल्पविकसित राष्ट्रहरुको विषय, जलवायु प्रतिकार्य कार्यान्यवनको प्रभाव, पेरिस सम्झौताको दफा ६ सहित सो सम्झौतामा उल्लिखित वैश्विक मापन, महासन्धीको दीर्घकालीन विश्वव्यापी लक्ष्यको प्रगति, ‘जस्ट ट्राञ्जिसन’सम्बन्धी कार्यक्रम, न्यूनीकरणसम्बन्धी ‘वर्क प्रोग्राम’, लैङ्गिक र जलवायु परिवर्तनलगायत विषयमा छलफल भइरहेको छ ।

कोप–२८ को निर्णयमा पहिलो पटक हिमालका मुद्दा स्वीकार
गत वर्ष युएईको दुबईमा सम्पन्न कोप–२८ का दस्तावेजमा पहिलो पटक जलवायुले हिमालमा पारेका असरका बारेमा समावेश गरिएको थियो ।

हिमाली मुलुक नेपालले खासगरी सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको कोप–१५ देखि नै जलवायु परिवर्तनले हिमाली पारिस्थितिकीय प्रणालीमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै आएको वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलले बताए ।

त्यसयताका अधिकांश सम्मेलनमा नेपालले प्राथमिकताका साथ हिमालका मुद्दा उठाउँदै आएको छ । सहसचिव पौडेलले अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपालले गरेको छलफल, वार्ता र पैरवीका कारण हिमालका मुद्दा स्थापित हुँदै गएकोसमेत बताए ।

पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरे तापनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर एक दशमलव आठ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको वन मन्त्रालयका अर्का सहसचिव डा. महेश्वर ढकालले बताए । साथै उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाइ हिम भण्डारहरू पग्लिने अनुमान गरिएको छ ।

विगतका तीन–चार दशकको तथ्याङ्क हेर्दा हिमालमा प्रतिदशक शून्य दशमलव शून्य पाँच डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । यसको असरले खासगरी हिमनदी पग्लिने क्रम तीव्र बढिरहेको छ । विश्व तापमान वृद्धिले सन् १९८० देखि २०१० सम्मको अवधिमा करिब २५ प्रतिशत हिमनदीको क्षेत्रफल घटेको देखिएको छ । यसैगरी हाल नेपालमा सम्भावित जोखिमा रहेका तालको सङ्ख्या २१ रहेको छ । चीनको तिब्बतका २५ र भारतको एउटा हिमताल फुट्दा तिनको असर नेपालमा पनि पर्नेछ । नेपालमा दुई हजार ७० हिमताल छन् ।

पर्वतीय मुद्दालाई विश्व मञ्चमा उजागर गर्ने उद्देश्यले यसअघि नेपाल सरकारले सन् २०२४ मे २२ र २३ मा काठमाडौंमा ‘हिमाल, मानव र जलवायु’सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादको आयोजना गरेको सहसचिव डा. ढकालले जानकारी दिए । जलवायु परिवर्तनको चेतना जगाउन र युएनएफसीसीसी वार्ता प्रक्रियामा पर्वतीय एजेण्डालाई अगाडि बढाउन गरिएको ‘हिमाल, मानव र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवाद’ले नेपालसहित विश्वभरका दुई सय ५० भन्दाबढी प्रतिनिधिबीच छलफल भएको थियो ।

उक्त संवादले हिमाली क्षेत्रमा जलवायु सङ्कट बढ्दै गइरहेका सन्दर्भमा पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधन तत्काल हुन जरुरी रहेकामा जोड दिँदै घोषणापत्र निकालेको थियो ।

आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा

डडेल्धुरा । अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिने भएकाले पछिल्लो सयम यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो ।

सूर्योदय र सूर्यास्तका साथै सदमुकाम अमरगढी नगरपालिका, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाका अधिकांश भू–भागको दृश्यावलोकन गर्न दैनिक सयभन्दा बढी आन्तरीक पर्यटक पुग्ने गरेका छन् ।

डडेल्धुरा–बैतडी राजमार्गको पश्चिम खण्डसँगै जोडिएको कस्याडाँडाले धार्मिक एवं ऐतिहासिक महत्व बोकेको छ । डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको सुर्कालबाट १५ मिनेट पैदल उकालो चढ्दा कस्याडाँडा पुग्न सकिन्छ । जिल्लाको सबैभन्दा अग्लो डाँडामध्ये यसलाई प्राचीन, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको डाँडाका रूपमा मानिने स्थानीय बताउँछन् ।

डोड्याली राजा नागी मल्लसहित लेगी समैजी, शिखर, शैलेश्वर महादेव, भूमिराज, उग्रतारा भगवती माताको धार्मिक क्षेत्रका रूपमा पनि कस्यालाई लिने गरिन्छ । यो डाँडा समुद्री सतहबाट छ हजार पाँच सय फिट उचाइमा अवस्थित छ ।

भारतमा बस्दै आएका अजयमेरु–३ का महेश ऐरले घर आएको मौकामा यहाँ पुगेको भन्दै कस्याडाँडा घुम्नै पर्ने रमणीय स्थानका रूपमा रहेको बताए । “पहिला यहाँ आउन पाएको थिएन, यो ठाउँ निकै रमाइलो रहेछ”, उनले भने, “यहाँबाट सूर्योदय र सूर्यास्तको रमणीय दृश्य राम्रोसँग हेर्न सकिन्छ ।”

आलितालका मीना साउँदले पनि साथीभाइसँग रमाइलो गर्न कस्याडाँडा पुगेको बताए । रमाइलो र नजिकैको पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको कमीले ओझेलमा परेको उनले प्रतिक्रिया दिए ।

डडेल्धुरा बजारबाट हिँड्दै पनि पुग्न सकिने यो ठाउँमा बैतडी, डोटीलगायत सुदूरपश्मिका आन्तरिक पर्यटकका लागि नजिकको सुन्दर गन्तव्य बन्न सक्ने साउँदले उल्लेख गरे । उनले भने, “यहाँ पुग्ने बाटो पनि व्यवस्थित छ, स्थानीय सरकारले यसको प्रवर्द्धन गर्न सके स्थानयिको आयस्तर वृद्धि हुनुका साथै रोजगारीका अवसर पनि सृजना हुने छन् ।”

पहिला सुनसानजस्तै रहेको यो ठाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ–सात वर्ष भयो । अहिले दिनमा एक सयको हाराहारीमा आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका स्थानीय अटोचालक धौलि दमाइँले बताए । उनका अनुसार यहाँ आउने अधिकांशले आफैँले खानेकुरा बोकेर आउँछन् । यहाँ नजिक बस्ती र होटल नरहेकाले खानापिनमा समस्या हुने भन्दै उनले यसलाई थप व्यवस्थित बनाउँदै नजिक होटल सञ्चालन भएका पर्यटकीय गतिविधि बढ्ने उनले उल्लेख गरे ।

पछिल्लो समयमा स्थानीयसहित अमरगढी–७ को ब्राइट भिजन क्लबले कस्या टाकुरो (डाँडा) को पर्यटकीय सम्भावनाका बारेमा प्रचारप्रसार गरेपछि अमरगढी नगरपालिकाकोे सहयोगमा भ्यूप्वाइन्ट, दृश्यावलोकन स्तम्भ, डाँडाको टुप्पोसम्म पुग्ने पैदल बाटो, बस्ने ठाउँलगायत पूर्वाधार निर्माण भएका छन् ।

कस्याडाँडामाथि भ्यूटावर निर्माण गरी आन्तरिक एवं बाह्य पर्यटक भित्रयाउन सके आर्थिक गतिविधि चलायमान हुने क्लबका अध्यक्ष दीपकराज भट्टराईले विश्वास व्यक्त गरे ।

नागरिक अगुवा सिद्धराज पाठकका अनुसार कस्याडाँडा र आसपासका क्षेत्रमा आन्तरिक पर्यटकका लागि आकर्षक स्थल निर्माण भएका छन् । होटलसहित अन्य पूर्वाधार निर्माण गरी आर्थिक र व्यावसायिक रूपमा यसलाई प्रवर्द्धन गर्न स्थानीय सरकारले नीति बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । यहाँबाट महाभारत पर्वत शृङ्खलासहित डोटी, आछाम, बैतडी र भारतको केही भूभाग देख्न सकिने उनले जानकारी दिए ।

डडेल्धुराबाट कस्याडाँडा पुग्न पक्की बाटो बनेको छ । कस्याडाँडा सदरमुकाम भन्दा १२ किलोमिटर उत्तरतर्फ महाकाली राजमार्गसँगै जोडिएको छ । हिँडेर जाँदा करिब तीन घण्टा र मोटरसाइकल वा गाडीमा जाँदा २५ देखि ३० मिनेटमा पुगिन्छ ।

कस्याडाँडाको इतिहास

कस्याडाँडामाथि ठूलो मैदान रहेको भन्दै यो प्राचीनकालमा निर्माण भएको आफूले सुन्दै आएको अमरगढी–७ का ६२ वर्षीय केशव भण्डारीले बताए । “सुनेको आधारमा यहाँ एउटा बुढी महिला पछिसम्म बस्थिन् । यसको बारेमा कुनै सत्यता वा अभिलेख भने छैन । अमरगढी–६, ७ र ८ का बुढापाकाले सुनाउने कुराका आधारमा कस्याडाँडामा राजकोट थियो”, उनले भने ।

अहिले यहाँ कुनै कोटको संरचना नरहेको स्थानीय महेश भट्टराईले बताए । “यस डाँडाको इतिहास दुई हजार पाँचसय वर्षभन्दा पुरानो हो । गाउँ पुरिँदा यहाँ कैयौँले ज्यान गुमाउनु परेकाले सुरुमा यसलाई काल अर्थात् सुर्काल भनिन्थ्यो”, उनले भने ।

यससँगै डाँडाबाट करिब एक हजार पाँचसय मिटर तल ढुङ्गाको ओखल पनि देखिन्छ । उक्त स्थानलाई अहिले ओखलढुङ्गा भन्ने गरिएको भट्टराईले बताए । ओखलढुङ्गाको पूर्वउत्तरमा डाँडु खोला छ । इतिहासका बारेमा अध्ययन र अनुसन्धान गरी तथ्य पत्ता लगाउन उनले स्थानीर सरकार र सरोकार भएका निकायलाई आग्रह गरे ।

यहाँको तथ्य अध्ययन गरी पर्यटन प्रवर्द्धन गर्न सके कस्याडाँडालाई सुदूरपश्चिम क्षेत्रकै रमणीय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय जानकार बताउँछन् ।