`

मधेस-पहाडको कथा र सौन्दर्यमा ‘केटी हराएको सूचना’

काठमाडौँ । वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’लगायत निर्देशन गरेर परिचित निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका छन्। झन्डै ३२ वर्षपछि चलचित्रकर्ममा फर्किएका निर्देशक गौचनले पहाडी समुदायको केटा र मधेसी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताए।

‘म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थेँ। किनकि पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आएका छन्। जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु’, उनले भने।

निर्देशक गौचनले सामाजिक सञ्जालबाट भेटिएका दुई पात्रबीच यात्रामा निस्किँदा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेको बताए। उनले चलचित्रका अधिकांश दृश्य अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठमै केन्द्रित रहेको बताए।

‘चलचित्रमा दुई पात्रको फरक भूगोल र मनोविज्ञानलाई देखाउन खोजेको हुँ, त्यही भएर अधिकांश दृश्यमा उहाँहरू नै हुनुहुन्छ। यो हाम्रो अहिलेको समयको कथा हो, जहाँ समाजभन्दा बढी सामाजिक सञ्जालमा रमाउने प्रचलन बढिरहेको छ। चलचित्रले हामीलाई आफूभित्रको खुसी खोज्न प्रेरित गर्छ’, निर्देशक गौचनले भने।

चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा छन्। अभिनेता हुसेनले यसपटक आफूले शून्यतामा रहेर अभिनय गरेको बताए।

उनले भने, ‘हामीलाई काम गर्ने प्रस्ताव आउँदा भूमिकाबारे भनिन्छ, त्यसलाई निर्देशक र लेखकको सहयोगमा तयार गरिन्छ। म आफैँ तराईको भएकाले आफ्नो पात्रलाई तयार गरेको थिएँ तर निर्देशक गौचनले मलाई ‘न्युट्रल’ बस्न सुझाव दिनुभयो। त्यसकारण यो रामको पात्र एकदमै सरल र जीवन्त देखिएको छ। यो मेरो लागि नयाँ अनुभव पनि हो।’

अभिनेत्री श्रेष्ठले यस चलचित्रमा गरिएको काम आफ्नो लागि अहिलेसम्म कै उत्कृष्ट रहेको बताइन्।

‘मेरो पात्र निर्माणसँगै छायाङ्कनमा पाएको स्पष्टता र सरलता अहिलेसम्मकै उत्कृष्ट अनुभव रह्यो। यो हामीले नजरअन्दाज गरिरहेको एउटा विषय हो’, उनले भनिन्।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गरेका छन्।

विश्वकप लिग–२ क्रिकेटमा अमेरिकासँग नेपाल पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो ।

अमेरिकाले दिएको दुई सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४४ रनमा समेटियो । नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडेका हुन् ।

नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले २९ रन जोडे । त्यसपछि कुशल मल्लले ५४ बलमा एक चौका र एक छक्कासहित ३३ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल एक, गुल्सन झा १२ तथा आरिफ शेख २१ रन बनाउँदै आउट भए ।

त्यसपछि सोमपाल कामीले २७ बलमा चार चौका र दुई छक्कासहित ४६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा एक चौका र एक छक्कासहित ३१ रन बनाए । करण केसीले पाँच तथा सन्दीप लामिछानेले दुई रन बनाए ।

अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक चार विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्लीले समान दुई/दुई तथा जसदीप सिंह र हरमित सिंहले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८१ रनको योगफल बनाएको थियो ।

अमेरिकाका लागि साइतेजा मकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ८७ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिएका हुन् । त्यस्तै कप्तान मोनाङ्क पटेलले ८१ बलमा पाँच चौका र एक छक्कासहित ६७ रन जोडे । ओपनर शयान जहानजिगर १० र आरोन जोन्स २६ रनमा आउट भए । हरमित सिंहले ४४ बलमा तीन चौका र तीन छक्कासहित ५९ रनको योगदान गरे ।

नेपालका गुल्सन झाले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए । त्यस्तै कुशल भुर्तेलले एक विकेट झारे । नेपालल लिग–२ मा ११ खेलमा दुईमा जित र आठमा हारसहित पाँच अ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ ।

त्यस्तै अमेरिका १२ खेलमा आठमा जितसहित १६ अङ्कका साथ शीर्षस्थानमा छ । क्यानडा १२ खेलमा १६ अङ्कका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । अब नेपालले भोलि स्कटल्याण्डसँग खेल्नेछ ।

भक्तपुरमा यसरी गरियो सामूहिक म्हः पूजा(फोटोफिचर)

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि– ७ नगदेशमा सामूहिक म्हः पूजा गरिएको छ । शनिबार ज्यापू महागुथी नेपा,उपकार साकोस र नृत्यनाथ बासुरी खलद्वारा सामूहिक म्हः पूजा गरिएको हो ।

सामूहिक म्हः पूजालाई अब हरेक वर्ष निरन्तरता दिने पनि आयोजकले बताएको छ । म्हः पूजापछि सुकुल भोजको आयोजना गरिएको थियो । म्हः पूजा गर्दा सुख प्राप्त हुने मान्यता रहेको छ ।

तस्बिर : चन्द्रकला क्षेत्री/रासस

पाकिस्तानको लाहोरमा डब्लूएचओको सीमाभन्दा ४० गुणा बढी प्रदूषण

लाहोर  । पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले स्वीकार गरेको भन्दा करिब ४० गुणा बढी भएको आइक्यू एयरको तथ्याङ्कले देखाएको छ ।

डब्लूएचओले अस्वास्थ्यकर मानेको २४ घण्टाको अवधिमा घातक पीएम २.५ प्रदूषकको स्तर ६१० पुगेको छ। प्रदूषकहरूको दायरा मापन गर्ने वायु गुणस्तर सूचकाङ्कले प्रदुषकहरूका दायरा १०६७ मा पुगेको जनाएको छ ।

लाहोरका वरिष्ठ वातावरण संरक्षण अधिकारी जहाँगीर अनवरले एएफपीसँग भन्नुभयो, “हामी कहिल्यै पनि एक हजारको दायरा भन्दा माथि पुगेका थिएनौँ।”निम्न स्तरको डिजेल धुवाँ, मौसमी कृषि जलनबाट निस्कने धुवाँ र जाडोको चिसोपनले गर्दा लाहोरलाई केही दिनदेखि धुवाँधुलो, कुहिरो र प्रदूषकको मिश्रणले ढाकेको छ।

प्रान्तीय वातावरण संरक्षण निकायले बुधबार शहरका चार ‘हट स्पट’मा नयाँ प्रतिबन्धको घोषणा गरेको छ ।मुख्य प्रदुषकको श्रोतका रूपमा लिइने ‘टू स्ट्रोक’ इन्जिनबाट चल्ने टुक–टुक, फिल्टर बिना बारबेक्यू सेवा चलाउने रेस्टुरेन्टहरू प्रतिबन्धित भएका छन्।

सरकारी कार्यालय र निजी कम्पनीका आधाभन्दा बढी कर्मचारी सोमबारदेखि घरबाटै काम गर्ने भएका छन् । निर्माण कार्य रोकिएको छ र सडक किनारामा खुला आकासमा पकाइने स्ट्रिट फुड किनबेचलाई राति ८ बजेपछि बन्द गर्नुपर्नेछ।

इरान र इरानका सहयोगीमाथि आक्रमणको बदला लिने खमेनीको प्रतिवद्धता

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले इजरायल र यसको सहयोगी अमेरिकाले तेहरान (इरानको राजधानी) र यसका समर्थक समूहलाई लक्ष्य गरी शनिबार गरेको आक्रमणको बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

खामेनीले तेहरानमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै अमेरिका र जियोनिस्ट शासन दुवैले इरान, इरानी समर्थकविरुद्ध गरेका क्रियाकलापको जवाफी प्रतिक्रिया पाउने बताएका हुन्।

तेहरान समर्थित सशस्त्र समूहमा यमनको हुथी विद्रोही, लेबनानको हेजबुल्लाह आन्दोलन र प्यालेस्टिनी इस्लामवादी समूह हमासलगायत समावेश छन्।

गत सेप्टेम्बर २३ मा इजरायलले द्वन्द्व बढाउनुअघि सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि हेजबुल्लाह र इजरायलले लगभग एक वर्षसम्म सीमापार हमला गरे।

खामेनीले आफ्नो भाषणमा लडाँइमा मारिएका सैनिकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै इजरायलको सामना गर्ने उनीहरूको प्रयास नबिर्सिने बताएका छन्।

अमेरिकाले शुक्रबार मध्य पूर्वमा अतिरिक्त सैन्य सम्पत्तिहरू तैनाथ गर्ने घोषणा गरेको छ। जसमा ब्यालिस्टिक मिसाइल रक्षा र लामो दूरीको बी-५२ लडाकु विमानहरू समावेश छन्।

खामेनीले इरानले “सैन्य, हतियार वा राजनीतिक कार्यको सन्दर्भमा इरानी राष्ट्रलाई तयार पार्न गर्नुपर्ने सबै क्रियाकलाप गरिरहेको बताएका छन्।

यसैगरी रिभोलुसनरी गार्डका प्रवक्ता अली मोहम्मद नैनीले पनि इरानले इजरायललाई “निर्णायक“ जवाफ दिने बताएको फार्स समाचार एजेन्सीले जनाएको छ।

देउसी भैलोबाट ३२ लाख सङ्कलन

म्याग्दी । म्याग्दीको मालिका-७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा रु. ३२ लाख ४४ हजार संकलन भएको छ । तीन दिनको अवधिमा सो रकम संकलन भएको हो ।

विद्यालय स्थापना गर्न किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासीले स्वस्फूर्तरुपमा उक्त रकम सहयोग गरेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले जानकारी दिए ।

उनका अनुसार अक्षयकोष स्थापना गर्न बिम गाउँका सात टोलका बासिन्दाले न्यूनतम रु. २९ हजारदेखि अधिकतम रु. १३ लाख १९ हजारसम्म दान गरेका छन् ।

यही कात्तिक १४ गतेदेखि १६ गतेसम्म गाउँमा सञ्चालन गरिएको देउसी भैलोमा मालिका-७ बिमको तल्लोगाउँ टोलबाट रु. १३ लाख सहयोग प्राप्त भएको छ ।

त्यसैगरी बिमबाङ टोलबाट रु. ११ लाख, डाँडागाउँ टोलबाट रु. पाँच लाख, ढुनोट टोलबाट रु. एक लाख ७७ हजार, नौमाने टोलबाट रु. ४३ हजार, अर्कला टोलबाट रु. ३० हजार र इल्पु टोलबाट रु. दुई हजार सहयोग जुटेको हो । आज देउसी भैलो कार्यक्रम समापन गरिएको छ ।

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरेनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने भेटिए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य गर्बुजाले बताए ।

स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो

स्पेन ।। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताएका छन् ।

भ्यालेन्सिया र वरपरका क्षेत्रमा गरी बाढीका कारण २११ जनाको मृत्यु भएको पुष्टि भएसँगै प्रधानमन्त्री साञ्चेजले थप सेना र प्रहरीलाई बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पठाउने घोषणा गरेका हुन् । दशकौँ यताकै सबै भन्दा घातक यस प्रकारको विपत्तिका कारण पानीमा डुबेका शहरहरू र भत्किएका पूर्वाधारहरूबाट जीवित व्यक्तिहरू भेट्टाउने आशा क्षीण भएको छ ।

सान्चेजले एक टेलिभिजन सम्बोधनमा यो विपत्ति युरोपमा यस शताब्दीको दोस्रो सबै भन्दा घातक बाढी भएको र राहत कार्यका लागि सुरक्षा बलमा ठूलो वृद्धि भएको घोषणा गरेका छन् । भ्यालेन्सिया क्षेत्रका नेताले थप पाँच हजार सैनिकका लागि गरेको अनुरोधलाई सरकारले स्वीकार गरेको र थप सैनिक र प्रहरी तैनाथ गर्ने जानकारी दिएको सान्चेजले बताएका छन् ।

उनले भने, “केही दिनदेखि खाद्यान्न, पानी र बिजुलीबाट वञ्चित भएका ध्वस्त शहर र गाउँहरूमा सुव्यवस्था पुनर्स्थापित गर्नु र सहायता वितरण गर्नु प्राथमिकताको विषय हो।” अधिकारीहरू बाढी आउनु भन्दा पहिले चेतावनी प्रणालीको पर्याप्तताको कारण आलोचनामा परेका छन् भने केही पीडित बासिन्दाहरूले विपत्तिको प्रतिक्रिया धेरै ढिलो भएको गुनासो गरेका छन् ।

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह

–वासुदेव पौडेल
गण्डकी । लामो समयको प्रतिक्षापछि अन्ततः हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ । लामो समयदेखि चासो र चर्चामा उक्त नाका गत बुधबारदेखि सञ्चालनमा ल्याइएको हो ।

कार्यालय उद्घाटनका लागि गृहमन्त्री रमेश लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सुरक्षा निकायका नेतृत्वसहित कोरला पुगेका थिए । सोही दिन मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नं १ छोसेरस्थित नेचुङमा नवनिर्मित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवन पनि उद्घाटन गरियो ।

सो अवसरमा मन्त्री लेखकले वर्तमान सरकार गठन भएको १०८ दिनमा कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गर्न सकिएको बताए । सरकारले सय दिन समयवधिमा नै कार्यालयको उद्घाटन गर्ने तयारी गरेको थियो । मन्त्री लेखकले यस नाकाबाट यस अघि दुुई देशका नागरिक मात्र प्रवेश पत्रका आधारमा आवतजावत गर्नुुपर्ने बाध्यता अन्त्य हुँदै यस नाकाबाट चीन र चीनबाट नेपाल आवतजावत गर्नका लागि भिसा सेवा प्रारम्भ भएको बताए ।

अध्यागमन कार्यालय सञ्चालन सरकारको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले आगामी दिनमा यसको सहज सञ्चालनका लागि पूर्वाधार विकासका साथै सेवा विस्तारमा जोड दिइने विश्वास दिलाए ।

कोरला नाका मुस्ताङका लागि मात्रै नभई गण्डकी प्रदेशकै ‘लाइफ लाइन’ भएको उल्लेख गर्दै मन्त्री लेखकले यस नाकालाई नेपालकै महत्वपूर्ण नाकाका रुपमा विकास गरिने बताए । नेपाल र चीनबीच व्यापार, पर्यटन, धार्मिक पर्यटन लगायतको गन्तव्यका रुपमा यसको विकास हुने उनले विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नाकाको सुव्यवस्थित सञ्चालनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । नाकालाई नै लक्षित गरी पोखरा हुँदै म्याग्दी भएर आउने सडक खण्डको स्तरोन्नति तथा विकासका कुरालाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ छ । नाका गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण बन्ने उनले विश्वास व्यक्त गरे ।

कोरला नाका सञ्चालनमा ल्याउनुपर्ने विषय उठीरहेका अवस्थामा गण्डकी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा अध्यागमन कार्यालय सञ्चालनका लागि ५० लाख रुपैयाँ बजेट बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कोरलामा छ कोठे ‘एसवाई प्यानल’ को भवन निर्माण गरिएको हो ।

नेपालतर्फ पूर्वाधार निर्माण कार्य अघि नबढे पनि चीनले भने आफ्नोतर्फ पूर्वाधार निर्माणका धेरै काम सम्पन्न गरिसकेको छ । चीनले कोरला नाकामा आफ्नोतर्फबाट धेरै अत्याधुनिक किसिमका संरचना निर्माण गरिसकेका अवस्थामा नेपालले गरेको अध्यागमन कार्यालयको उद्घाटन लगायतका कामलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।

कोरला नाकामा अध्यागमन कार्यालय देख्दा सामान्य भए पनि यहाँबाट सबै किसिमका सुविधा प्राप्त हुुने जनाइएको छ। मन्त्री लेखकले सामान्य भवनसहितको संरचना निर्माण भए पनि यहाँबाट अध्यागमन कार्यालयबाट पाउने सबै किसिमका सुविधा उपलब्ध हुने बताउँदै अनलाइन प्रणालीबाट सेवा प्रवाह हुने जानकारी गराए ।

गृहमन्त्री लेखकले लोमान्थाङ गाउँपालिका वडा नं १ छोसेर स्थित नेचुङमा नवनिर्मित २ तलाको ५५ कोठे वातावरणमैत्री प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) भवन पनि उद्घाटन गरेका थिए ।

सीमा सुरक्षाका साथै सीमाक्षेत्रमा हुने अवाञ्छित गतिविधि, सम्भावित अपराध तथा चोरी शिकारी र स्थानीय नागरिकको सुरक्षार्थ खट्नका लागि सहयोग पुुगोस् भन्ने उद्देश्यका साथ उक्त भवन निर्माण गरिएको हो । अध्यागमन कार्यालय सञ्चालनसँगै यहाँका स्थानीयवासी भने उत्साहित भएका छन् ।

अध्यागमन कार्यालय शुभारम्भ हुनुले जिल्लावासीमा उत्साह थपेको नेपाल पत्रकार महासङ्घ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली बताए । कार्यालय सञ्चालनसँगै यसको प्रभावकारी व्यवस्थापन हुने मुस्ताङवासीको विश्वास रहेको उनको भनाइ छ ।

मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म पास लिएर व्यापार गर्नका लागि नियमित रूपमा आवतजावत गर्दै आएका छन् । हाल पास लिएका व्यक्ति बिहान ९.०० बजे चीनतर्फ छिरेपछि दिउँसो ३.०० बजे मात्र फर्कनु पर्छ ।

नाका क्षेत्रको समग्र भौतिक पूर्वाधार विकासका लागि भन्सार, अध्यागमनलगायत सुख्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टको भौतिक पूर्वाधार निर्माण गर्न एक हजार रोपनी जग्गा सरकारका नाममा लालपुर्जा बनिसकेको छ ।

नाकामा पूर्वाधार निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का लागि एक करोड रुपैयाँ विनियोजन भई दुई वर्ष अघिनै काम अघि बढाइएको थियो ।

उक्त स्थानमा भौगर्भिक परीक्षण तथा माटो परीक्षणलगायत कार्य भैसकेको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताए । बीओपी र अध्यागमन कार्यालय उद्घाटनका अवसरमा गृहमन्त्री लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दामोहरकुण्ड पुगी त्यहाँको स्थलगत अवलोकन गरे ।

हिन्दुहरूको महत्त्वपूर्ण तीर्थस्थलका रुपमा रहेको दामोदर कुण्ड क्षेत्रको प्रवर्द्धन र विकासलाई लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले प्राथमिकतामा राखेको छ । गाउँपालिकाले दामेदर कुण्ड क्षेत्रमा धर्मशाला निर्माण गरिसकेको गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए ।

उक्त क्षेत्रमा टेलिफोन सुविधा गम्भीर समस्या रहेको बताउँदै उनले विद्युत् सेवा पनि नपुगेको बताए । मुस्ताङको याराघारा भन्ने स्थानबाट पदयात्रीहरू तीन दिनको पदयात्रामार्फत दामोदरकुण्ड पुग्न सक्ने बताउँदै उनले उक्त मार्गस्थित पाच्र्या खोलामा पुल राख्नु आवश्यक रहेको बताए ।

अध्यक्ष  नेपाल नेतृत्वको प्रतिनिधिमण्डल भेनेजुयला प्रस्थान

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल शनिबार भेनेजुयला प्रस्थान गरेका छन् । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए । उनलाई बिदाई गर्न पार्टी नेता तथा कार्यकर्ता त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए ।

अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ । 

हङकङ सिक्सेसः नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । नेपाल हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको छ ।

शनिबार दिउँसो भएको खेलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल ८३ रनमा अलआउट भयो । हारसँगै नेपालको यात्रा क्वार्टरफाइनलमा समाप्त भएको छ ।

नेपालका लागि राशिद खानले अर्धशतक बनाए पनि जितको लागि पर्याप्त हुन सकेन । उनले १८ बलमा १ चौका र ८ छक्का प्रहार गर्दै ५५ जोडे । अन्य खेलाडी श्रीलंकाका तीव्र गतिका बलरसामू टिक्न सकेनन् ।

नारायण जोशीले १३ रन बनाए । विवेक यादवले ५ र लोकेश बमले २ रन बनाए । कप्तान सन्दीप जोरा डकआउट भए । प्रतिश जिसी पनि डकआउट भए ।

श्रीलंकाका लागि लाहिरु समाराकून र थारिन्दु रथनायकेले २÷२ तथा धनन्जय लक्ष र लिहुरु मधुशंकाले १/१ विकेट लिए । पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरै ६ ओभर खेलेर २ विकेटको क्षतिमा १२३ रन बनायो ।

श्रीलंकाका लागि सन्दुन विराक्कोडीले ५० र कप्तान लिहुरु मधुशंकाले अविजित ३१ रन बनाए । नेपालका लागि प्रतिश जिसी र नारायण जोशीले १÷१ विकेट लिए । यसअघि नेपालले इंग्ल्याण्ड र अष्ट्रेलियालाई पराजित गरेको थियो ।

लेबनानबाट इजरायलमा भएको आक्रमणबाट १९ घाइते

जेरुसेलम । इजरायली सेनाले लेबनानबाट मध्य इजरायलतर्फ तीन प्रक्षेपण गरिएको बताएको छ । इजरायलको शारोन क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा १९ जना घाइते भएका प्रहरीले  जानकारी दिएको छ।

इजरायली प्रहरीले १९मध्ये चार जनाको ‘मध्यम अवस्था’ रहेको र सबैलाई उपचारका लागि अस्पताल लगिएको थप जानकारी दिएको छ ।

इजरायलको मागेन डेभिड अडोम (एमडिए) आपत्कालीन चिकित्सा सेवाले यसअघि केन्द्रीय शहर तिरामा भएको आक्रमणमा ‘छर्राले घाइते भएका २० वर्षीय एक पुरुष’ सहित केही व्यत्ति घाइते भएको जनाएको थियो।

इजरायली विदेश मन्त्रालयले सामाजिक सञ्जालमा पोस्ट गरेका भिडियोहरूमा एउटा भवनबाट सडकमा आगो र धुवाँ फैलिएको र आपत्कालीन टोलीहरू घटनास्थलमा जम्मा भएको देखाइएको छ।

“यो इजरायलको अरब शहर तिरामा हिजबुल्लाहको रकेट प्रत्यक्ष आक्रमणको परिणाम हो, आक्रमणमा १९ नागरिक घाइते भएका छन्”, मन्त्रालयले पोस्टमा भनेको छ, “हिजबुल्लाह समाप्त नभएसम्म हामी विश्राम गर्न सक्दैनौँ र गर्ने छैनौँ ।”

इजरायली सेनाले टेलिग्राममा लेबनानबाट दागिएका तीन प्रक्षेपणमध्ये केही रोकेको जनाएको छ।

मुख्यतया तल अभिवबाट २५ किलोमिटर उत्तरपूर्वमा रहेको अरब बाहुल्य शहर तिरा कब्जा गरिएको पश्चिम किनारको सीमा नजिक अवस्थित छ।

गाजा पट्टीमा भइरहेको युद्ध लेबनानसम्म फैलिएको छ । यहाँ इजरायलले प्यालेस्टिनी समूह हमासको सहयोगी हिजबुल्लाहविरुद्ध हवाई आक्रमण गरिरहेको छ।

इजरायली तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७मा हमासले इजरायलमा गरेको घातक आक्रमणपछि हिजबुल्लाहसँगको सीमापार गोलीबारी आदानप्रदान सुरु भएयता इजरायली पक्षमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।

बिहीबार लेबनानबाट गरिएको रकेट आक्रमणमा उत्तरी इजरायलको मेतुलामा चार थाई किसानसहित सात जनाको मृत्यु भएको थियो ।

एएफपीले सङ्कलन गरेको इजरायली आधिकारिक तथ्याङ्कअनुसार हमासको अक्टोबरको आक्रमणमा धेरैजसो नागरिक गरी एक हजार दुई सय छ जनाको मृत्यु भएको थियो।

इजरायलको जवाफी कारबाहीमा गाजामा ४३ हजार दुई सय ५९ प्यालेस्टिनीको मृत्यु भएको छ, । तीमध्ये धेरैजसो नागरिक छन् । यो तथ्याङ्क हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयको हो र यसलाई संयुक्त राष्ट्रसङ्घले विश्वसनीय मानेको छ।

भारी वर्षाका कारण जापानमा २ लाख मानिस प्रभावित

टोकियो । उष्णकटिबन्धीय आँधीको अवशेष देशभर फैलिएको बेला पहिरो र बाढीको चेतावनी दिँदै अधिकारीहरूले पश्चिमी जापानका करिब दुई लाख मानिसलाई शनिबार स्थानान्तरण गर्न आग्रह गरेका छन्।

जापान मौसम विज्ञान एजेन्सीले न्यानो, आर्द्र हावा… ले पश्चिमी जापानमा गर्जनसहितको भारी वर्षा गराइरहेको छ बताएकोछ । एजेन्सीले यसको आंशिक कारण कोङ–रे हो भनेको छ । यो आँधीबाट उष्णकटिबन्धीय न्यून चापीय प्रणालीमा स्तरवृद्धि भएको थियो।


मात्सुयामा शहरका एक अधिकारीका अनुसार ‘शहरले उच्चतम स्तरको चेतावनी जारी गर्दै यसका १० जिल्लाका एक लाख ८९ हजार पाँच सय ५२ बासिन्दालाई स्थानान्तरण गर्न र तत्काल सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।’


स्थानान्तरण अनिवार्य नभए पनि जापानको उच्चतम स्तरको चेतावनी सामान्यतया कुनै प्रकारको विपत्ति पहिले नै घटिसकेको अत्यन्त सम्भावना हुँदा जारी गरिन्छ।


मौसमविद्हरूले शनिबार पश्चिमी जापान र आइतबार पूर्वी जापानमा पहिरो र बाढीले प्रभाव पार्न सक्ने चेतावनी दिएका छन् ।


वर्षाका कारण टोक्यो र दक्षिणी फुकुओका क्षेत्रबीचको शिनकानसेन बुलेट रेल बिहान छोटो समयका लागि रोकिएको थियो र पछि ढिला तालिकामा पुनः सञ्चालन भएको थियो ।


कोङ–रे बिहीबार ताइवानमा ठोक्किएको थियो । यो दशकौँयताकै ताइवानमा आएको सबैभन्दा ठूलो आँधीमध्ये एक थियो। यसले कम्तीमा दुई जनाको ज्यान लियो र दशौँ हजार घरधुरीमा बिजुली आपूर्ति अवरुद्ध पार्यो।


वैज्ञानिकहरूका अनुसार मानव–प्रेरित जलवायु परिवर्तनले भारी वर्षाले पार्ने जोखिमलाई बढाइरहेको छ ।

बाढीपहिरो पीडितलाई ‘फूल र बत्तीको झिलिमिली’ लागेन

काभ्रे । तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमङ्गको पर्वका रूपमा लिने गरिन्छ । समाजमा सबैसँगको सद्भाव र मनोरञ्जनको पर्वका रूपमा लिने गरेको तिहारलाई सबैले उत्सव र मनोरञ्जनका रूपमा मनाइरहेका छन् ।

काभ्रेपलाञ्चोकका अधिकांश परिवारले भने यस वर्षको तिहारलाई हर्षका रूपमा मनाउन पाएका छैनन् । गत असोजको १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोले घरबार सबै बगाएपछि यहाँका अधिकांशको घरआँगनमा फूल र बत्तीको झिलिमिली नभई मनभरि पीडा मात्र छाएको छ ।

मनभरि पीडा बोकेर तिहार मनाउन नसकिएको पनौती नगरपालिका–१२ माथिल्लो राशी बजारका भवानी केसीले बताइन्। यसअघि घर नजिकै रहेको खोल्सामा कलकल बगिरहेको खोल्साको पानी अनि वरिपरि हरियाली वातावरणमा सुन्दर रहेको बस्तीमा एक्कासी गएको बाढीपहिरोले घरखेत सबै बगाएपछि बगर बीचमा ढलिरहेको घर देख्दा पीडाले मनमा सताइरहने उनले बताइन् ।

घरआँगनमा तिहारको लागि रोपेको सयपत्री फूलको बगैँचासहित घर अहिले बाढीले खण्डहर बनाएको बगरमा परिणत भएको छ । “यहाँ बस्ने ठाउँ छैन, खेती गरेको धान बगाएर थोरै बाँकी थियो, त्यही जोगाउन भनेर आएकी हुँ”, भवानीले भनिन्, “अहिले बनेपामा कोठा लिएर बस्दै आएका छौँ ।”

राजेन्द्र श्रेष्ठले भित्र्याइसकेको धान र मकै सबै बगाएपछि कोठा लिएर बस्नु परेको बताए । “बस्ने बाँस, खाने गाँस र पिउने पानी छैन”, उनले भने, “दसैँ पनि अर्काको घरमा बितायौँ, तिहार पनि त्यसै हुने भयो ।” वडा कार्यालयले पीडितको विवरण सङ्कलन गरेर लगेको भन्दै उनले यथाशीघ्र बासस्थानको व्यवस्थापन हुने विश्वास व्यक्त गरे ।

घरगोठ दुवै बगाएपछि पनौतीमा डेरा गरी बस्दै आएकी पनौती–१२ पचारेका सुमिना श्रेष्ठले वडा र नगरबाट केही राहत पाइएको बताउँदै उक्त राहत चाडपर्व मनाउन पर्याप्त नभएको उल्लेख गरिन्। बाढीले भएको जग्गाजमिन सबै बगाएको भन्दै राज्यले जग्गाको नाप, नक्सा छुट्याएर दिएमा आफ्नै टहरा बनाएर बस्ने उनले बताइन् ।

शिरखोलका अमरबहादुर केसीको बाढीले बगाएर घर र शौचालयको भाग थोरै मात्रै बाँकी रहेको देखाउँदै पाक्दै गरेको धान भित्र्याउन नपाउँदै करिब नौ मुरी धान फल्ने खेतसहित बगाएको बताए ।

रोशी बजारका शङ्कर तामाङ भने खर्च जुटाएर बाढीले बगाएको घर निर्माण गर्न खोलाबाट ढुङ्गा ओसार्ने काममा व्यस्त छन् । ढुङ्गा माटोले बनेको आफ्नो दुई तले घर खोलाले बगाएर बगर बनाएपछि अहिले उनी घर निर्माणमा व्यस्त भएका छन् । घर नै नभएपछि चाडपर्व खुसीले मनाउने अवस्था नरहेको उनले बताए ।

“घर बनाउन पैसा छैन, छ जनाको परिवारको जीविकोपार्जन गर्नु छ । दूध बेचेर आम्दानी गर्ने भैँसी बाढीले बगायो । अहिले ज्यालामजदूरी गरी अरूको घरमा बस्न बाध्य छौँ”, तामाङले भने।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले सुरक्षित रूपमा बसोबासको व्यवस्थापन गर्न आवश्यक रहेकाले त्यसका लागि सङ्घीय सरकारले सहयोग नगरी सम्भव नभएका आवश्यक सहयोगका लागि पहल गरिरहेको बताए ।

जिल्लाको विकट डाँडापारिस्थित बागमती खोलाको बाढीले सबै बगाएपछि खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्तीका बासिन्दा बगाएको बस्तीमाथि त्रिपालको आश्रय लिएर बस्दै आएका छन् ।

अस्थायी बासस्थान निर्माणका लागि क्षतिको विवरण आवश्यक पर्ने भएकाले प्रहरी विवरण सङ्कलन गरिरहेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए। क्षतिको सम्पूर्ण विवरण सङ्कलन भएपछि राहत र पुनः स्थापना प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

रोशी गाउँपालिकाको नार्के र कालढुङ्गामा पनि रोशी खोलामा गएको बाढीले बस्ती बगाएपछि यहाँका नागरिकलाई पनि चाडपर्वको रौनकले छाएको छैन, कसैलाई पनि ‘फूल र बत्तिको झिलिमिली’ लागेको छैन । जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोले घर बगाएर बिचल्लीमा परेका परिवारले सुरक्षित बासस्थानको अभावमा खुसीले चाडपर्व मनाउन पाएका छैनन् ।

१९ भारतीयसहित चार सय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

बीबीसी । युक्रेनविरुद्ध जारी युद्धमा रुसलाई सघाउ पुर्याएको आरोपमा अमेरिकाले १९ वटा भारतीय कम्पनीसहित विभिन्न देशका करिब ४०० कम्पनी एवं व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले एउटा वक्तव्य जारी गर्दै उसका विदेश मन्त्रालय, अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयले ती व्यक्ति तथा कम्पनीहरूमाथि अक्टोबर ३० देखि प्रतिबन्ध लगाइएको जनाएको हो । अमेरिकी भूमिमा एकजना शिख नेता गुरपतवन्त सिंह पन्नूको हत्या षड्यन्त्रमा एक भारतीय नागरिकको भूमिकालाई लिएर वाशिङ्गटन र दिल्लीबीच तनाव सिर्जना भएकै बेला पछिल्लो प्रतिबन्धको खबर आएको छ ।

प्रतिबन्धमा पर्नेमा भारतका साथै चीन, मलेशिया, थाईल्यान्ड, टर्की र संयुक्त अरब एमिरेट्सलगायत देशका छन् । अमेरिकाका अनुसार प्रतिबन्ध लगाइएका कम्पनीहरूले युक्रेनविरुद्धको लडाइँमा रुसले प्रयोग गर्ने विभिन्न सामग्री उपलब्ध गराउँदै आएका छन् । त्यसमा माइक्रो इलेक्ट्रोनिक्स र कम्प्युटर न्यूमेरीकल कन्ट्रोल लगायतका सामान छन् ।

ती सामानको पहिचान अमेरिकी वाणिज्य मन्त्रालयको उद्योग तथा सुरक्षा ब्यूरोका साथै बेलायत, जापान र युरोपेली सङ्घले गरेको बताइएको छ । अमेरिकाले भारतीय कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको चाहिँ यो पहिलो पटक होइन । यसअघि रुसी सेनालाई सघाएको आरोपमा सन् २०२३ को नोभेम्बरमा अमेरिकाले एउटा भारतीय कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धमा पर्नेमा भारतका एसेन्ड एभिएशन इन्डिया प्रालि, मास्क ट्रान्स, टीएसएमडी ग्लोबल प्रालि र फुट्रवो कम्पनी लगायतका समावेश छन् । एसेन्ड एभिएशन इन्डिया प्रालिले सन् २०२३ को मार्चदेखि सन् २०२४ को मार्चसम्म रुसी कम्पनीहरूलाई ७०० खेप सामान पठाएको अमेरिकाले जनाएको छ ।

अमेरिकाका अनुसार मास्क ट्रान्स कम्पनीले सन् २०२३ को एप्रिलदेखि सन् २०२४ को अप्रिलसम्म करिब साढे दुई करोड भारु बराबरका उड्डयनसम्बन्धी सामान पठाएको पाइएको छ ।

अमेरिकी प्रतिबन्धमा पर्ने भारतीय नागरिकहरूमा विवेककुमार मिश्रा र सुधीर कुमार छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार विवेककुमार मिश्रा र सुधीर कुमार एसेन्ड एभिएशनका सहनिर्देशक एवं आंशिक शेयरधनी हुन् ।

एसेन्ड एभिएशनको वेबसाइटमा उल्लेख गरिएअनुसार उक्त कम्पनी दिल्लीमा रहेको छ र अन्तर्राष्ट्रिय स्तरमा त्यसले हवाई उद्योगका स्पेअर पार्ट्सका साथै लुब्रिकेन्ट आपूर्ति गर्ने गर्छ ।

ओली सरकारले एकसय दिनमा राम्रो काम गरेको देउवाको दाबी

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले एकसय दिनमा राम्रो काम गरेको बताएका छन् ।

शनिबार भक्तपुरमा शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

सरकारको आलोचना हुनु स्वाभाविक रहेको भन्दै उनले आलोचनालाई पनि गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने बताए ।

उनले भने, ‘सय दिन बल्ल पुगेको छ ओलीजीको प्रधानमन्त्री कार्यकालको । यहाँ मात्र होइन जहाँ पनि सय दिनको कामको सम्बन्धमा आलोचना सबै हुन्छ । हामी सरकार भएको कारण मैले उहाँलाई भनेको होइन साच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ । अझै यस्तै राम्रो काम गर्नुहुने छ ।’

सभापति देउवाले यो देश ठूला दुई देशको बीचमा रहेकाले प्रधानमन्त्री ओली सबै कुरा ध्यानमा राखेर हरेक क्रियाकलापहरू गर्न सक्षम हुने बताए ।

भारतलाई आर्थिक वर्ष २०३० सम्म ६.५ प्रतिशत जिभिए वृद्धि कायम राख्न वार्षिक एक करोड नयाँ रोजगारी आवश्यक

नयाँदिल्ली । भारतलाई आर्थिक वर्ष २०२५ देखि वित्तीय वर्ष २०३० सम्म वार्षिक औसत ६.५ प्रतिशत जिभिए (कूल मूल्य वृद्धि) वृद्धि कायम राख्न वार्षिक करिब एक करोड नयाँ रोजगारी आवश्यक पर्ने गोल्डम्यान स्याक्सको प्रतिवेदनले जनाएको छ ।

किफायती आवास विकासलाई प्रोत्साहन दिनाले रियल इस्टेट क्षेत्रलाई उत्प्रेरित गर्न सक्दा यसले निर्माण क्षेत्रमा ८० प्रतिशतभन्दा बढी श्रमशक्तिलाई रोजगारी दिन्छ । यसले विभिन्न सीप स्तरमा रोजगारी सृजनामा महत्त्वपूर्ण वृद्धि गर्नेछ ।


टियर–२ र टियर–३ शहरहरूमा आइटी हब र साना शहरहरूमा ग्लोबल क्यापाबिलिटी सेन्टर (जिसिसी) स्थापना गर्नाले टियर–१ शहरी केन्द्रहरूमा दबाब कम गर्नेछ र कम सेवा पुगेका क्षेत्रहरूमा रोजगारीका अवसरहरू बढाउनेछ ।

टेक्सटाइल, खाद्य प्रशोधन र फर्निचर जस्ता श्रम–प्रधान उत्पादन क्षेत्रहरूतर्फ वित्तीय प्रोत्साहन सार्नाले न्यूनदेखि मध्यम सीप भएका कामदारहरूका लागि रोजगारी सृजनामा सहयोग पुग्न सक्छ ।

सरकारको उत्पादन–सम्बद्ध प्रोत्साहन (पिएलआई) योजनाहरूले मुख्यतया पूँजी–प्रधान उद्योगहरूलाई फाइदा पुर्‍याएको भए पनि टेक्सटाइल, जुत्ता, खेलौना र छालाका सामानहरू सहित श्रम–प्रधान क्षेत्रहरूतर्फ उत्साहजनक स्थानान्तरण भएको गोल्डम्यान स्याक्सले बताएको छ ।

उत्पादन क्षेत्रका करिब ६७ प्रतिशत रोजगारीहरू श्रम–प्रधान क्षेत्रहरूमा रहेकाले यो दृष्टिकोणले भारतको उत्पादन क्षेत्रलाई व्यापक रोजगारीका लक्ष्यहरूलाई जोड्ने लक्ष्य राख्छ ।

विगत दुई दशकमा भारतले लगभग १९ करोड ६० लाख रोजगारी थपेको छ । त्यसमध्ये दुई–तिहाइ पछिल्लो दशकमा सृजना भएका थिए । कृषिबाट निर्माण र सेवा क्षेत्रमा कामदारहरू स्थानान्तरण भएसँगै महत्त्वपूर्ण परिवर्तनहरू भएका छन् ।

निर्माण क्षेत्र भारतमा रोजगारीको प्रमुख चालक रहेको छ । यसले कूल रोजगारीको लगभग १३ प्रतिशत ओगटेको छ । रियल इस्टेट र पूर्वाधारमा लगानीले रोजगारी सृजना गर्नुका साथै न्यूनदेखि मध्यम आय भएका घरपरिवारको आयस्तरमा सकारात्मक प्रभाव पारेको छ ।

त्यस्तै कूल रोजगारीको करिब ३४ प्रतिशत योगदान दिने सेवा क्षेत्र उल्लेख्य रूपमा विस्तार भएको छ । खुद्रा विक्रेताहरूका लागि अनलाइन प्लेटफर्ममा स्थानान्तरण भएसँगै इन्भेन्टरी व्यवस्थापन, प्याकेजिङ र डेलिभरी सेवा जस्ता क्षेत्रमा नयाँ भूमिकाहरू सृजना भएकाले विशेषगरी खुद्रा व्यापार क्षेत्रले डिजिटल रूपान्तरणबाट फाइदा लिएको छ ।

भारतको श्रमशक्ति सहभागिता दर (एलएफपिआर) आर्थिक वर्ष २०१८ को ५० प्रतिशतबाट आर्थिक वर्ष २०२४ मा ६० प्रतिशत पुगेको छ । यो मुख्यतया ग्रामीण क्षेत्रमा महिला सहभागिताले गर्दा भएको हो ।

यो वृद्धिमा योगदान पुर्‍याउने कारकहरूमा सुधारिएको मापन अभ्यासहरू, महिलाहरूलाई लक्षित गरेर ऋण योजनाहरूमार्फत बढेको वित्तीय समावेशीकरण र साना तथा लघु उद्यमहरूमा विस्तारित अवसरहरू समावेश छन् ।

ट्रम्प र ह्यारिस स्विङ स्टेट मतका लागि लड्दै गर्दा वयानबाजीमा भिड्दै

अमेरिका । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र निर्वाचन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले शुक्रबार महत्त्वपूर्ण राज्यहरूमा एक–अर्कामाथि आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

उनीहरू अस्थिर राष्ट्रपतीय दौडको अन्तिम दिनहरूमा एक नाटकीय स्प्लिट–स्क्रिन छविका रूपमा रहेको विस्कन्सिनको सबैभन्दा ठूलो शहरमा प्रतिस्पर्धी र्यालीहरूका लागि भेला भए ।

निर्वाचन हुने दिन नोभेम्बर ५ अघि राजनीतिक ताप उच्च विन्दुमा पुग्दै गर्दा ट्रम्पले ह्यारिसका एक उच्च–प्रोफाइल रिपब्लिकन समर्थकलाई लक्षित गरेको हिंसात्मक वाक प्रहारको आलोचनाको सामना गरे । यसका लागि ह्यारिसले उनको आक्रामक आक्रमणको आलोचना गरे ।

मङ्गलबारको मतदानअघि सात करोडभन्दा बढी अमेरिकीले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० को कूल मतको ४५ प्रतिशत हो । जनमत सर्वेक्षणले ट्रम्प र ह्यारिस बराबरीमा दौडिरहेको देखाउँछ । सात स्विङ स्टेटमा कसले जित्छ त्यसमा विजय निर्भर गर्छ ।

दुवैले पूरा दिन अभियान कार्यक्रमहरू गरे । ह्यारिसले विस्कन्सिनमा र्यालीहरू र युनियन हलको भ्रमण गरिन् भने ट्रम्पले छिमेकी महत्त्वपूर्ण राज्य मिशिगनमा मत माग्न प्रचार गरे ।

“हामीले विगत चार वर्षदेखि लड्दै आएका सबै कुरा अब आउने चार दिनमा निर्भर गर्छ”, ट्रम्पले मिशिगनस्थित वारेनमा समर्थकहरूलाई भने ।

शुक्रबार पछि प्रतिद्वन्द्वीहरूले मिल्भौकीमा केही माइल टाढा र्याली गरे । यहाँ ट्रम्पले गर्जिँदै भने, “म तपाईंहरूको पैसा चाहन्न, म तपाईंहरूको मत चाहन्छु ।”

पूर्वराष्ट्रपति ट्रम्पले उही स्थानलाई सम्बोधन गरिरहनुभएको थियो जहाँ उनले गर्मीयाममा रिपब्लिकन पार्टीको मनोनयन जितेका थिए र पेन्सिल्भेनियामा हत्या प्रयासबाट बचेको केही दिनपछि विजयी स्वीकृति भाषण दिएका थिए ।

राष्ट्रपति जो बाइडेनले आफ्नो घट्दो मानसिक क्षमताको चिन्ताका बीच प्रतिस्पर्धा छोडेपछि जुलाईमा मात्र चुनावी दौडमा प्रवेश गरेकी ह्यारिस उच्च–ऊर्जा कार्यक्रमहरूको शृङ्ंखलामा पछिल्लो पटक स्टार र्यापर कार्डी बीसँग मञ्चमा सामेल भइन् ।

अमेरिकाकी सम्भावित पहिलो महिला राष्ट्रपतिका बारेमा बोल्दै कार्डी बीले भीडलाई सोधे, “के हामी इतिहास बनाउन तयार छौँ ?”

यसअघि ह्यारिसले आफ्ना एक प्रमुख रिपब्लिकन आलोचकको बारेमा छलफल गर्दा ‘हिंसात्मक वाक प्रहार’ प्रयोग गरेकामा ट्रम्पको भत्सर्ना गरे ।

ट्रम्पले ‘पूर्वप्रतिनिधि लिज चेनीमाथि राइफल तान्नुपर्ने सुझाव दिनुभएको छ”, ह्यारिसले विस्कन्सिनस्थित मयाडिसनमा पत्रकारहरूलाई भने, “यो अयोग्य हुनैपर्छ । जो कोही… जसले त्यस्तो हिंसात्मक वाक प्रहार प्रयोग गर्छ, स्पष्ट रूपमा राष्ट्रपति बन्न अयोग्य र अनुपयुक्त छ ।”

राष्ट्रपति पौडेलबाट गाई पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले आज गाई पूजा गरेका छन् । कात्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने परम्परा रहेको छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिए । 


श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ । तिहार अर्थात् यमपञ्चकअन्तर्गत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।

सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्छ : प्रधानमन्त्री ओली

पाटन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन्। नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा नेपाल भाषा मंका खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा शनिबार पाटन मङ्गलबजारमा आयोजित’न्हूदँ नेपाल संवत् ११४५’ को सांस्कृतिक कार्यक्रममा उनले नेपाल संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘नेपाल मण्डलको संस्कृति संसारको मौलिक संस्कृति हो, ऋणमोचन गरिदिएको अवसरमा चलेको यो संवत् हाम्रो आफ्नो मौलिक संवत् हो, नेवार सभ्यता र संस्कृति महत्वपूर्ण छ, हाम्रा सबै भाषा संस्कृतिलाई हामीले बचाउनुपर्छ।’

आफू २०२७ सालमा काठमाडौँ आएपछि यहाँकै स्थानीय बासिन्दा भएको छु भन्दै उनले यहाँको भाषा, संस्कृति प्रति प्रेम रहेको बताए।

‘मैले नेवारी परिवारमा विवाह गरेँ, तर मलाई नेवारी बोल्न आएन, तर मलाई नेपाल भाषा बोल्न नआएपछि यसभाषा प्रति मेरो प्रेम छ, नेपालका सबै भाषा, संस्कृति बचाउनुपर्छ’, उनले भने।

माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्ययक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्दै यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। उनले हाम्रो परम्परालाई ऐतिहासिक रुपमा कायम गर्नुपर्नेमा जोड दिए।

सांसद प्रेमबहादुर महर्जनले नेपाल भाषालाई विद्यालय तहमा पठनपाठनमा नेपाल भाषालाई देशैभर ऐच्छिक भाषाका रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै यसका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्।

बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री प्रेमभक्त महर्जन नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रभावकारी बनाउन तिनै तहका सरकारले समन्वयमा काम गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा तण्डुकार समाजका अध्यक्ष शिवराम तण्डुकार राष्ट्रिय विभूति शङ्खधर शाखाले नेपाल मण्डलका विपन्न जनताको ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको उल्लेख गरे।

विसं २०५६ मङ्सिर २ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति मान्यता दिएको थियो। त्यस्तै, पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिँदै सरकारी कामकाजमा प्रयोगमा ल्याउने निर्णय गरी कार्यान्वयनमा ल्याएको हो। नेपाल संवत्का अवसरमा आज देशैभर विभिन्न कार्यक्रम गरी उत्सव र हर्षोल्लास मनाइँदैछ।

बरहथवा बजारको किराना पसलमा आगलागी

सर्लाही । सर्लाहीको बरहथवा बजारको एक किराना पसलमा आगलागी भएको छ । बरहथवा नगरपालिका–७ स्थित किसुन दासको घरमा नरेश साहद्वारा सञ्चालित किराना पसलमा गए राति आगलागी भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

उनले आगलागीबाट विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा समेत क्षति पुगेको बताए ।

आगलागीबाट के कति क्षति भयो भन्ने आँकल भइरहेको बताइएको छ । किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको प्रनाउ थापाले जानकारी दिए ।

गएराति सुरु भएको आगलागी आज बिहान मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी, स्थानीय र हरिवन नगरपालिकाको बारुणयन्त्रका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन ।

यसैबीच धनकौल गाउँपालिका–४ मा लक्ष्मीपूजा गरिएको मैनबत्तीबाट आगलागी हुँदा स्थानीय जितु रायको काठले बनेको जलेर क्षति पुगेको छ । आगलागीबाट कोठाभित्र रहेको दराज, टिभी, कपडा, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभिनयमा नयाँ परिचय खोजिरहेका विजय

काठमाडौँ । झण्डै ६ महिनाअघि अभिनेता विजय बरालको फोनमा चलचित्रको प्रस्ताव बोकेको फोन आयो । एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य कुरा हो तर त्यो दिन आएको फोन सामान्य भन्दा केही फरक थियो ।

चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहेका विजयका लागि त्यो फोनमा आएको प्रस्ताव फरक थियो । उनलाई कुनै सहायक भूमिका लागि नभई शीर्षक भूमिकाको प्रस्ताव गरिएको थियो । चलचित्रको नाम थियो– पूर्ण बहादुरको सारङ्गी ।

प्रस्तावले विजय सुरुमा त अन्योलमा परे । केही दोधारको अवस्था भयो उनलाई । झण्डै दुई सातासम्म उनले प्रस्तावमाथि कुनै ठोस निर्णय गरेनन् । आफैँलाई मन्थन गरे ? आफूभित्रको अभिनेतालाई प्रश्न गरे ।

‘‘चलचित्रको प्रस्ताव आएको दिन म ठ्याक्कै अन्योलमा परेँ । किनकी साइड रोलकै लागि मात्र रोजाइमा पर्ने मलाई यस्तो प्रस्ताव बिरलै हुने गर्छ । दुई सातासम्म कुनै निर्णय गरिन’’, उनले सम्झना गर्दै भने, ‘‘यो प्रस्तावले एक किसिमको ऊर्जा पनि दियो । एउटा समय पनि भयो, अनुभव पनि भयो । अब अनुभवले पनि यस्ता भूमिका गर्नसक्छु भन्ने आँट जुटाएँ । त्यो बेलाको अवस्था एकदम शून्य थियो के गर्ने भनेर । खुशीसहितको शुन्यता ।’

यति भन्दैगर्दा उनी आफ्नो कलाकार बन्ने सपना बुनिएका स्कूले जीवन र सोही सपना पछ्याउँदै काठमाडौँ आएको समयस्मृतिमा पुगे । विजयका अनुसार काठमाडौँ छिर्दा उनीसँग अभिनयका बारेमा केही भ्रममिश्रित सपनाहरू थिए । काठमाडौं आउँदा उनलाई लाग्थ्यो उनी त्यो बेलाका चर्चित हास्य कलाकारभन्दा उम्दा बनेर निस्कनेछन्, कडा बन्नेछन् ।

सर्लाहीको लालबन्दीका विजय आफ्नो स्कूले जीवनमा त्यो बेलाका चर्चित नेताहरूको आवाजको नक्कलहरू गर्थे । कक्षा आठमा उनले पहिलोपटक आफ्नो क्षमता सार्वजनिकरुपमा पस्किए । त्यतिबेला उनले आवाजहरूको नक्कलसँगै आफ्नै गाउँठाउँका चर्चित हास्य कलाकार नारद खतिवडाको हास्यरस मिश्रित ‘ढोका खोल न पोस्टेकी आमा ढोका खोल न हो’ बोलको गीतमा हास्यप्रधान नृत्य समेत गरेका थिए । चर्चित नेताको आवाजको नक्कल र साथमा हास्यप्रधान नृत्य हेरेपछि शिक्षक र साथीभाइहरूले उनको धेरै प्रशंसा गरे ।

‘‘मेरो नाच (आवाजको नक्कल देखेर साथीहरूले ओहो ! राम्रो गरिस् भनेर हौस्याए । त्यही चिजलाई मैले अभिनय ठानें किनकी गाउँतिर यसैलाई अभिनय मानिन्थ्यो । साथीहरूको तारिफले मलाई अभिनयतर्फ थप आकर्षित बनाइदियो । मलाई ती तारिफहरूले मैले गर्न सक्नेरहेछु भन्ने आत्मविश्वास बढायो’, उनले पूराना दिनहरू ताजा गर्दै सुनाए । जब उनी रङ्गमञ्चतर्फ मोडिए तब उनले आफ्नो पहिलोको सोचलाई निक्कै कमजोर भएको पाए । उनलाई अभिनय एउटा पोखरी होइन महासागर रहेछ भन्ने लाग्यो ।

‘‘जब क्यारीकेचर गर्न छोडेर रङ्गमञ्चमा गएँ, अभिनयको चिन्तन र प्रक्रिया नै फरक देखें । त्यसपछि मैले राम्रो कलाकार बन्ने सोचेँ ।’’, केही गम्भीर हुँदै उनले भने । उनी आफ्नो चेत खुलेको कुरालाई यसरी व्याख्या गर्छन् । ‘‘पहिले म हरेक चिजलाई सामान्य सोच्थेँ, मैले जत्तिको कसले गर्न सक्छ र ठान्थेँ । तर जब अभिनयको आयतनमा छिरेंँ तब अभिनय अर्कै चिन्तनको विषय रहेछ, आध्यात्मिक रहेछ भन्ने थाहा पाएँ । सोच र गहिराइमा पुगेर गर्दा फरक चिज निस्कने विषय भएको बुझेंँ ।’’

भारतमा ४५ दिनको अभिनय कार्यशाला पुगेपछि आफ्नो कला चेत खुलेको उनी बताउँछन् । त्यो कार्यशाला उनका लागि जीवनको कोशेढुङ्गा हुनपुग्यो । त्यहाँ भारतको राम्रा नाटक निर्देशकमा पर्ने एमके रैनाबाट उनी प्रशिक्षित भए ।

‘‘ओहो म त अभिनयलाई सामान्य हिसाबले लिइराखेको थिएँ । यहाँ त हरेक दिन यो कुरा नि पढाइरहेको छ, सबै दृष्टिकोणबाट अभिनयलाई देखाइरहिएको छ पढाइरहिएको छ । समाजको दृष्टिकोणबाट पनि हेरिरहिएको छ । सबै प्रकारबाट दृष्टिगोचर गर्दा त अर्कै चिज रहेछ अभिनय । त्यहाँबाट बल्ल मेरो चेत खुल्यो’’, उनले भने ।

बीचमा उनको कलाकार हुने सपना हल्लिएजस्तो पनि भयो । उनको बुबा बैंकको जागिरे । कुनै दिन बैंकमा जागिर खानुपर्छ भनेर विजयले व्यवस्थापन पढिराखेका थिए । यद्यपि बुबाले भने उनीलाई यही बन्नुपर्छ भनेका थिएनन् । बुबाले केही नभनेको भए पनि हजुरबुबाले भने सहज जीवनयापनका लागि घरको जेठो नातिले बाबुले झैं बैंकको जागिर खानुपर्छ भनेर हौस्याइरहन्थे । हजुरबुबा विजयलाई भन्थे–‘‘जागिर गर है जागिर गर, पछि गाह्रो हुन्छ । बाले यसरी पालेका छन् । तैले पनि पाल्नुपर्छ, जे भए पनि घरको जेठो नाति होस् ।’’

उनले व्यवस्थापन सङ्कायको पढाइलाई निरन्तरता दिदैं आफ्नो अभिनयलाई रङ्गमञ्चमा सक्रिय भएर निरन्तरता दिइराखे । यो समयमा कयौं नाटक गरिसक्दा पनि विजयका बाबुले छोरा कलाकार बनेको थाहा पाएका थिएनन् । उनले पहिलो चलचित्रका रुपमा ‘छड्के’ गरे पनि बुबाले थाहा पाएनन् तर ‘कबड्डी’ चलचित्र गरेपछि भने थाहा पाए । उनी छोराको कामबाट खुशी भए ।

अभिनयमा लागेपछि विजयले घरबाट आफ्नो खर्च मगाउनु परेको छैन । ‘‘बुबालाई लामो समयसँग म कलाकारितामा लागेको छु भन्ने थाहै थिएन । नाटक गरिरहँदा खास उनले थाहा पाएनन् । पहिलो चलचित्र छड्के मा अभिनय गर्दा पनि उहाँलाई म कलाकार बनेको पत्तो भएन । उहाँले कबड्डी गरेपछि मात्र म कलाकार बनेको थाहा पाउनुभयो’, बरालले भने ।

‘कबड्डी’ पछि उनी त्यसका तीन श्रृङ्खलासहित दर्जनौं चलचित्रमा अभिनेता बनिसकेका छन् भने आजको मितिमा उनी नेपाली सिने जगतको चिरपरिचित अनुहार बनिसकेका छन् ।

उनले अधिकांश सहायक भूमिका नै गरे । सबैभन्दा बढी चर्चा उनले ‘कबड्डी’ चलचित्रको श्रृङ्खलाबाट बटुलेका छन् । उनी सो चलचित्रको ‘बिके’ पात्रबाट नेपाली दर्शकमाझ परिचित छन् । ‘कबड्डी’ शृङ्खलाको जबरजस्त सफलताका कारण हास्यप्रधान भूमिकामा व्यस्त भइराखेका विजयलाई ‘पूर्ण बहादुरको सारंगी’ चलचित्रले गम्भीर भूमिकामा पनि उत्तिकै दक्ष अभिनेताको परिचय पाउने अवसर दिएको बताउँछन् ।

यो चलचित्रमा उनी एकल बाबुको पात्र भूमिकामा देखिदैछन् । उनी पुनः ‘पूर्ण बहादुरको सारङ्गी’कै प्रसङ्गमा फर्किए । सहायक भूमिका उनलाई सजिलो लाग्छ । तर यो चलचित्रको भूमिका फरक र गम्भिर छ । शीर्षक भूमिका नै भएकाले चलचित्रको सम्पूर्ण भार उनीमाथि नै छ । यसका लागि धेरै मिहेनत परेको सुनाउँछन् ।

चलचित्रको ‘पूर्ण बहादुर गन्धर्व’ पात्र बन्न झण्डै १० दिन तयारी गरे । यो १० दिनमा उनले गन्धर्वको हाउभाउ, अनुहारको भाव र बोल्ने शैली अध्ययन गरे । उनले सारङ्गी बजाउन, हातको हर्कत र सारङ्गी बजाउने शैली पनि सिके । पर्दामा ‘पूर्ण बहादुर गन्धर्व’ नै हो भन्ना लागि आफूले यस्तो गरेको उनको भनाइ छ ।

‘‘हामीजस्ता दोस्रो रोजाइका कलाकारकाका लागि यो आयतनको भूमिका बिरलै प्राप्त हुन्छ । यसलाई म जतिसक्दो उत्कृष्ट बनाउन चाहन्थे । त्यसैले मैले यसका लागि पर्दामा जत्तिसक्दो आफूलाई गन्धर्वका रुपमा स्वीकार्य गराउने गरी मिहेनत गरेको छु । पोस्टर, ट्रेलरबाट मैले राम्रो प्रतिक्रिया पाएको छु’, उनले भने ।

आज उनी स्वयं आफू कसैको छोरा त छन् नै त्योसँगै आफू पनि एक सन्तानको बाबु बनिसकेका छन् । यसको अनुभवलाई पनि उनले पर्दामा प्रयोग गरेका छन् । अनुभव पनि अभिनयका लागि एकदमै महत्वपूर्ण हुने उनी बताउँछन् । ‘‘यसले पात्रको मनोदशा, अवस्था बुझ्न धेरै सजिलो पर्छ’’, उनले भने ।

उनी आफू बाबु हुनु वा छोरा हुनुको वर्तमान अनुभवलाई यसरी व्यक्त गर्छन् । ‘‘अहिले म बुबाको भाव बुझ्छु । एक समय मेरो बुबा मेरा लागि हिरो हुनुहुन्थ्यो । अहिले पनि हिरो नै हो । कहिले कहिले कुनै परिस्थितिमा केही भन्दा तनाव दिनुभयो कि जस्तो नि लाग्थ्यो । अहिले मेरो छोरो भयो । उसले मेरो छात्तीमा ढुक्ढुकाउँदै बाबा–बाबा भन्छ र आफ्नी आमालाई देखाउँछ । उसका लागि म आज हिरो जस्तै भएको छु । म पुग्ने बित्तिकै मेरो बाबा आयो भनेर पुलकित हुने गर्छ । मेरो बुबाको सवालमा पनि त्यही नै थियो’’, उनले भने ।

आज बुबाको सबै भावना उनलाई महशुस हुन्छ । उनी भन्छन्, ‘‘बाबु बाबु नै हुनेरहेछन्, जसले आफ्ना भावनाहरू व्यक्त गर्दैन तर उसको भित्र केही न केही हुन्छ–हुन्छ । बरालका अनुसार छोराको लागि बाबुले सपना देखेको हुन्छन् र छोराले पनि बाबुका लागि सपना देख्नुपर्छ ।’’

उनी बुबा घुमघाममा रुचि राख्छन् । त्यसैले विजय धेरै कुरा पूरा गर्न नसके पनि घुम्ने कुरालाई आफैँ बुझ्दै पूरा गर्ने प्रयास गर्न लागिरहेका छन् । बुबालाई आजकल गहिरिएर बुझ्न थालेदेखि विजयले बाबुहरूले सन्तानसँग आफ्ना व्यक्तिगत रहरहरू मुख खोलेर भनिनहाल्ने गरेको थाहा पाएका छन् । ‘‘मैले केही समय उहाँका रहरहरू सोध्दा उहाँले यस्तो जवाफ दिनुभयो, तँलाई हामीले बच्चामा सोद्थ्यौं र ?’’, विजयले आफ्ना बाबुले भनेको कुरा सम्झिए ।

‘‘उहाँको जवाफले बाबुहरू चाहीँ आफ्नो सन्तानले नसोधी केही दिओस् भन्ने चाहाना राख्नुहुँदो रहेछ, भलै उहाँहरू त्यसका लागि आफैँ सक्षम हुनुहोस् । बाबुहरूले कहिले पनि म दुःखी छु भन्नु हुँदैन तर अपेक्षा चाहीँ भइराख्ने रहेछ’’, विजयले भने, ‘‘यो कुरा हामीले बुझ्ने हो भने बडा गज्जब हुने रहेछ । नबुझ्दा दुःख मान्नुहुँदो रहेछ । तर दुःख लागेको कुरा पनि व्यक्त नगर्ने बानी हुँदोरहेछ । अब चाहीँ बुबाका इच्छालाई सोचेर सम्झेर पूरा गर्ने बाटोमा लागेको छु । बाबुको भावनाहरू कस्तो हुन्छ मैले बुझ्न थालिसकेको छु ।’’

आफ्नो चलचित्रले छोराहरूमा यही भावना जागृत गराउन उनको विश्वास छ । ‘बाबुहरू आफ्नो पूरानो सम्झनामा पुग्नुहुनेछ भने छोराहरूले भने एकचोटी बाबुसँग कुरा गर्नुपर्छ भनेर सोच्नुहुनेछ । बाबु बितिसकेकाहरूका लागि यो चलचित्र हेरेपछि दुःख पनि लाग्नेछ’’, उनले भने, ‘‘बाबुहरूलाई पाँच मिनेट भने पनि समय दिनुपर्नेछ भन्ने लाग्नेछ । बाबुसँग सम्बन्ध खुलेर जान्छ । हामीले थाहा पाएर पनि रोकेको भावनालाई प्रस्फुटन गराउनेछ ।’’

चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेको चलचित्र कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । यो चलचित्रप्रति विजय एउटा कलाकारका रुपमा निक्कै आशावादी छन् । ‘पूर्ण बहादुरको सारङ्गी’बाट गम्भीर अभिनेताको नयाँ परिचय स्थापित हुने उनको आशा छ ।

नेपाल संवत र म्हः पूजाका मौलिक विशेषता छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको मौलिक र महत्वर्पूण पर्व भएको बताएका छन्।

नेपाल संवत्को नयाँ वर्ष तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाल संवत् र म्हः पूजा दुवैको आफ्नै विशेषता रहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले नेपाल संवत् सुरुवात गर्ने राष्ट्रिय विभूति शङ्खधर साख्वाप्रति सम्मान पनि व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल संवत्को नयाँ वर्ष, नेपाल संवत् ११४५ को आज पहिलो दिन, यसका सुरुआतकर्ता विभूति शङ्खधर साख्वाप्रति हार्दिक सम्मान, आज नेवार समुदायमा म्हः पूजा गरिन्छ, यसले आफूप्रति गौरवबोध बढाउँछ, नेपाल संवत् ११४५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सबैलाई शुभकामना।’

पाकिस्तानका पत्रकारहरूका लागि सन् २०२४ सबैभन्दा घातक वर्ष

फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ ले वर्ष २०२४ लाई पाकिस्तानका लागि सबैभन्दा घातक वर्षहरूमध्ये एक बताएको छ । यस वर्ष सरकारले पत्रकारहरूलाई बचाउन कम प्रयास गरेको थियो ।

मिडिया अनुगमन संस्था फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ अनुसार युट्युबरसहित ६ मिडियाकर्मीको मृत्यु र ५७ वटा उल्लङ्घन दर्ता गरिएका छन् ।

रिपोर्टअनुसार सन् २०२३ अक्टोबरदेखि सन् २०२४ अगस्टसम्म पत्रकार र डिजिटल मिडियाकर्मीका गरी पाँच वटा हत्या भएका छन् । पत्रकारहरूमाथि ११ वटा हत्या प्रयास गरिएकाले यो रिपोर्ट चिन्ताजक थियो ।

“सिन्धु संरक्षण विधेयक र सङ्घीय संरक्षण ऐन जारी गरिएको भए पनि दुवै सङ्घीय र सिन्धु सरकार यी कानून लागू गर्न असफल रहँदा यसले पत्रकारहरूलाई असुरक्षित बनाएको छ”, फ्रिडम नेटवर्कका कार्यकारी निर्देशक इक्बाल खत्तकले भने, “पत्रकार संरक्षणका विशेष कानुनहरू लागू गर्ने राजनीतिक इच्छाशक्ति र संसाधनहरूको अभावले पाकिस्तानमा पत्रकारहरूका लागि स्थिति खतरनाक बनेको छ ।”

सिन्धु सबैभन्दा बढी उल्लङ्घनहरूको सूचीमा रहेको रिपोर्टले देखाएको छ । सिन्धुमा ५७ मध्ये २१ वटा मुद्दा र तीन वटा हत्या दर्ता भएका छन् । त्यसपछि पञ्जाब र इस्लामाबाद आउँछन् । पञ्जाबमा १३ र इस्लामाबादमा १२ मुद्दा दर्ता भएका छन् । खैबर पख्तुनख्वामा सात र बलुचिस्तानमा दुई मुद्दा छन् ।

टेलिभिजन पत्रकारहरूले ३० वटा उल्लङ्घनका मुद्दा भोगेका छन् । यसमा ५३ प्रतिशत पत्रकार समावेश छन् । प्रिन्ट मिडियाले ३५ प्रतिशत र डिजिटल मिडियाले १० प्रतिशत मुद्दा भोग्नुपरेको छ । रेडियो पत्रकारहरूले उल्लङ्घनहरूविरुद्ध दुई प्रतिशत मुद्दा भोगेका छन् ।

प्रतिवेदनले महिला पत्रकारहरूविरुद्ध उल्लङ्घनहरू पनि निर्धारण गरेको छ ।

पाकिस्तानमा मिडिया स्वतन्त्रतालाई संरक्षण गर्न दण्ड मुक्तिको सामना गर्नु आवश्यक रहेको रिपोर्टले जोड दिएको छ । हरेक महिना औसतमा छ वटा पत्रकार विरुद्धका उल्लङ्घन रिपोर्ट हुन्छन् । सङ्घीय सरकारले पत्रकार सुरक्षाका लागि गरेका झुटा प्रतिबद्धताहरूपछि असफल हुनु चिन्ताजनक छ ।

स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या दुईसय नाघ्यो

स्पेन । बुधबारदेखि स्पेनमा आएको बाढीमा मृत्यु हुनेहरूको सङ्ख्या दुई सय पाँच पुगेको छ । सरकारले बाँच्नेहरूको खोजीका लागि थप सैनिक परिचालन गरेको छ ।

मङ्गलबारदेखि आएको बाढीले सवारी साधन बगाउने, पुल भत्काउने र शहरहरूलाई फोहरमा डुबाउँदा स्पेनमा दशकौँदेखि सबैभन्दा ठूलो विनाशकारी क्षति पुर्याएको छ ।

सबैभन्दा धेरै प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा आपतकालीन सेवा समन्वय गर्ने संस्थाले त्यस क्षेत्रमा मात्र दुई सय दुई जनाको मृत्यु पुष्टि गरेको छ । छिमेकी काष्टिला–ला मान्चा र अन्दालुसिया क्षेत्रका अधिकारीहरूले पहिले नै तीन जनाको मृत्युको घोषणा गरिसकेका छन् ।

ड्रोन र कुकुरहरू सहित उद्धारकर्ताहरू पानीमा हिँडँदै र भग्नावशेषमा मलबामा खोजी गर्दै छन् । सरकारी अधिकारीहरूका अनुसार अझै धेरै व्यक्तिहरू बेपत्ता छन् ।

सरकारले पहिले नै एक हजार दुई सय सैनिक परिचालन गरिसकेको अवस्थामा अर्को पाँच सय सैनिक थप गर्न लागेको छ ।

बाढी सुरु भएको तीन दिनसम्म केही क्षेत्रहरू खानेपानी, खाद्यान्न र बिजुलीबाट वञ्चित छन् । धेरै सडक र रेल मार्गहरू अझै पनि अवरुद्ध हुँदा मृत्यु सङ्ख्या बढ्ने डर छ ।

चिभा शहरकी मेयर अम्पारो फोर्टले भने, “औद्योगिक क्षेत्रमा अझै पनि गाडीहरूको थुप्रो छ । धेरै गाडी खाली होलान् तर केहीमा मानिसहरू छन् भन्नेमा हामी निश्चित छौँ ।”

राष्ट्रिय मौसम सेवा एइमेटका अनुसार भ्यालेन्सिया शहर पश्चिमतर्फको चिभा शहरमा मङ्गलबार मात्र आठ घण्टामा चार सय ९१ मिलिमिटर वर्षा भयो । यो करिब एक वर्षको वर्षासँग बराबर हुन्छ ।

लेबनानमा स्वास्थ्य सेवामा बढ्दै गएको आक्रमणबारे डब्लुएचओद्वारा चिन्ता व्यक्त

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हिजुबल्लाहविरुद्धको युद्धमा इजरायली आक्रमणले लेबनानका स्वास्थ्यकर्मी र सुविधाहरूमा पारेको प्रभावबारे गहिरो चिन्ता व्यक्त गरेको छ ।

“हामी लेबनानमा स्वास्थ्यकर्मी र सुविधाहरूमाथि बढ्दै गएको आक्रमणबारे गहिरो चिन्तित छौँ, तथ्याङ्कहरू वास्तवमै अचम्मित पार्ने खालका छन् । यस्ता आक्रमणहरूमा एक सय दुई जनाको मृत्यु भएको छ, ८३ जना घाइते भएका छन्”, डब्लुएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने ।

डब्लुएचओले स्वास्थ्य सेवामाथिको आक्रमणको अभिलेख राख्छ तर दोष कसैलाई लगाउँदैन ।

“समग्रमा हामीले ५५ वटा आक्रमणको पुष्टि गरेका छौँ तर धेरै कर्मचारी ड्युटी बाहिर हुँदा पनि मारिएका र घाइते भएकाले स्वास्थ्य मन्त्रालयले यो सङ्ख्या धेरै बढी रहेको जनाएको छ, स्वास्थ्य प्रणालीहरू पहिले नै धेरै तनावमा भएकाले यो महत्त्वपूर्ण छ”, ह्यारिसले भने, “स्वास्थ्यकर्मीहरू पहिले नै अत्यधिक काम गर्न बाध्य छन् र विस्थापित छन् । त्यसैले हामी स्वास्थ्यकर्मीहरूलाई त्यस्तो समयमा गुमाइरहेका छौँ जतिबेला उनीहरूको सबैभन्दा बढी आवश्यकता छ ।”

“हामी फेरि, फेरि र फेरि जोड दिइरहेका छौँ कि स्वास्थ्य सेवा लक्ष्य होइन; स्वास्थ्यकर्मीहरू लक्ष्य होइनन्”, उनले भने, “स्वास्थ्य प्रणालीमाथि निरन्तर आक्रमणका कारण सबैजना आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सङ्घर्षरत छन् र स्वास्थ्य प्रणाली पहिले नै ठूलो दबाबमा थियो ।”

ह्यारिसले यो देशको आर्थिक अवस्था र अस्पतालका जेनेरेटर चलाउन इन्धन प्राप्त गर्ने चुनौतीका कारण भएको बताए ।

“लेबनानमा सबैका लागि स्वास्थ्य सेवामा पहुँच एउटा वास्तविक सङ्घर्ष हो तर निश्चय नै जहाँ अस्पतालहरूमा आक्रमण भएका छन्, त्यस्ता क्षेत्रहरूमा यो अझ ठूलो सङ्घर्ष हो”, उनले भने, “अस्पतालहरू घाइतेहरूले भरिएका छन् र प्रणालीले विशाल बोझ बोकिरहेको छ ।”

हमासको समर्थनमा हिजबुल्लाहले गरेको भनिएको करिब एक वर्षको आक्रमण–प्रत्याक्रमणपछि सेप्टेम्बर २३ देखि लेबनानमा लडाइँ बढेपछि एएफपीले स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका आधारमा गरेको गणनाअनुसार लेबनानमा कम्तीमा एक हजार आठ सय २९ जनाको मृत्यु भएको छ ।

बिहीबार लेबनानबाट भएको सीमापार गोलीबारीमा चार थाई नागरिकसहित इजरायलमा सात जनाको मृत्यु भएको थियो । इजरायली सेनाले सेप्टेम्बर ३० मा स्थल कारबाही सुरु भएयता लेबनानमा ३७ सैनिकको मृत्यु भएको जनाएको छ ।

ताजिकिस्तानमा हुने त्रिदेशीय मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा

काठमाडौँ । ताजिकिस्तानमा हुने त्रिदेशीय कपका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । राष्ट्रिय फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार किरणकुमार लिम्बूको कप्तानमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

कात्तिक २८ गते नेपालले पहिलो खेल ताजिकिस्तान र मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ । अखिल नेपाल फुटबल संघले एक साताअघि नवीन न्यौपानेले राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकको जिम्मा दिएको थियो ।

 नेपाली टोली

गोलकिपर : किरणकुमार लिम्बू(कप्तान), दीप कार्की, विशाल सुनार

डिफेन्डर : अभिषेक लिम्बू, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डेय, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदीप पौड्याल, अन्जल महर्जन

मिडफिल्डर : रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन्द राई, भरत खवास, उत्सव राई, मनीष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ

फरवार्ड : जिलेस्पी जंग कार्की, अन्जन विष्ट, निराजन धामी

तेक्वान्दो टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं। आईटीएफ तेक्वान्दो विश्वकप–२०२४ मा सहभागी हुन नेपाली टोली शुक्रबार उज्वेकिस्तान प्रस्थान गरेको छ।

आजदेखि यही कात्तिक २३ गतेसम्म हुने उक्त प्रतियोगिताको पुरुष ५८ किलोमुनि तौलमा सुरेन्द्र अदै तथा ५२ किलोमुनि तौलमा खगेन्द्र घर्ती मगरले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने छन्।

यस्तै महिला ५७ किलोमुनि तौलमा नविना विश्वकर्मा र ५२ किलोमुनि तौलमा वसन्ती डाँगीले प्रतिस्पर्धा गर्नेछन्। टोली प्रमुखमा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापा मगर र प्रशिक्षकमा होमबहादुर सुनार रहेका छन्। महासचिव मगरसहित विक्रम बाठा मगरले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन्।

टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।

एमालेद्वारा कीर्तिपुरको मेयरको उम्मेदवारमा  मानन्धर सिफारिस

काठमाडौँ । नेकपा (एमाले)ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । 

एमाले कीर्तिपुर नगर कमिटीको शुक्रबार बसेको बैठकले मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिए । मानन्धर एमाले केन्द्रीय सदस्यसमेत हुन् । 

नगर कमिटीबाट सिफारिस भई आएको नामलाई जिल्ला कमिटीले अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले नै उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ ।

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त पद रिक्त भएको हो । उपनिर्वाचन आगामी मङ्सिर १६ गते हुने तय भएको छ ।

चन्द्रागिरिमा फेरि पोखिए प्रधानमन्त्री ओलीका काव्यिक भावना…

प्रकाश सिलवाल, काठमाडौं ।  तिहार बिदाको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्याह्न परिवारसहित चन्द्रागिरि डाँडोमा पुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरीका जङ्गललाई हुस्सुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन । स्वदेशी र विदेशी यात्रीहरु आफ्नै लयमा चन्द्रागिरि पहाड, चन्द्रागिरि रिसोर्ट र भालेश्वर महादेवको परिसरमा घुमिरहेका थिए ।

यही बीचमा त्यहाँ पुगेका प्रधानमन्त्री ओलीले भालेश्वर महादेवको दर्शन र केही यात्रुको आग्रहमा तस्वीर खिचाएपछि काठमाडौं उपत्यका देखिने छेउतिर राखिएको कुर्सी र टेबलमा बसेर डायरी र कलम समाए । नजिकै रहेका सुरक्षाकर्मी र सहभागीले आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्न लागेको भन्ने ठाने पनि प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्के ।

‘चन्द्रागिरि प्रेमको प्रतीक
सतीदेवी भाल पतन
सर्वाेत्तम प्रेमकथा !’’

साथमै रहेका प्रथम महिला राधिका शाक्य र सचिवालयको टोलीलाई प्रधानमन्त्री ओलीले यही रचनालाई वाचन गरेर सुनाए । चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले तत्कालै प्रतिक्रिया दिने, ‘सम्माननीयज्यू प्रायः चन्द्रागिरि आउँदा केही न केही लेख्नुहुन्छ । हामी धन्य छौँ ।’

राजनीतिका साथै कला, साहित्य र सङ्गीतलाई सक्दो समय दिने र अध्ययनमा त्यत्तिकै रुचि राख्ने नेताका रूपमा परिचित प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले धेरै पटक सार्वजनिक रूपमा भन्ने गरेका छन्, ‘म कवि/साहित्यकार होइन ।’ तर उनलाई गहिराइका साथ बुझ्नेहरु भन्छन्, ‘उहाँमा सृजनात्मक चेत उच्च छ । समय मिल्ने हो भने उहाँको लेखनी जम्न सक्छ । उहाँका अभिव्यक्तिमा दार्शनिकता, साहित्यिक भाव र असीमित हास्यरस पाइन्छ ।’

सायद त्यही भएर होला, समय मिल्ने बित्तिकै प्रधानमन्त्री ओलीलाई रचनागर्भको हुटहुटीले तानिहाल्छ । यसअघि तत्कालीन समयमा पनि प्रधानमन्त्री रहेका ओलीले २०७५ असार ३० गते चन्द्रागिरिमा मदन भण्डारी फाउण्डेसनअन्तर्गतको कला साहित्य प्रतिष्ठानले आयोजना गरेको तीनदिने हिमवतखण्ड कला साहित्य सम्मेलनको समापनका अवसरमा सोही स्थलमा बसेर बिना शीषर्कको कविता लेखेका थिए ।

‘परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र ?
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ ।
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लह–लह खेत बारी, झपक्क कान्ला र आली
सपनामा भए पनि देख्न पाउँ
चन्द्रागिरिको डाँडामा आएर सपनामा
भावी सन्तती मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ
मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ ।’

त्यतिमात्र होइन त्यसपछि २०७८ भदौ ४ गते ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सवमा चन्द्रागिरि पुगेर एमाले अध्यक्ष ओलीले लेख्नुुभएको अर्काे कविताका अंशहरू यस्ता थिए–

‘कतै इतिहास, कतै परम्परा
गौरव कतै, कतै पौरख
यहीँ चन्द्रागिरिका डाँडाहरूतिर
सतिदेवी बोकेर काँधमा शोकमग्न शिवजी
यहीँ बाटो भौँतारिएका थिए
जहाँ सतिदेवीको बाल अर्थात् निधार खस्यो
यहीँ चन्द्रागिरि हुँदै ३२ सय वर्ष अगाडि
चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए
त्यहाँ आवाद गर्न, थानकोट मातातीर्थ
यहीँ पृथ्वीनारायणले जुँगामा ताउ लगाएका थिए
लोभिँदै नजर फ्याँकेर उपत्यकातिर
नजिकै फाखेलको गाउँमा देवकोटाले
मानवताको बिगुल फुकेका थिए…।’

प्रधानमन्त्री ओलीले फर्कने समयमा चन्द्रागिरि हिल्स रिसोर्टको आगन्तुक पुस्तकमा पनि आफ्ना भावनाहरू अभिव्यक्त गरेका थिए । उनले लेखेका छन्, ‘काम गर्नेलाई नेपालमा अवसर छ । काम नगरेर कुरा मात्र गर्नेहरूलाई झन् अवसरै अवसर छ । गर्नेलाई अवसर छ भन्ने कुराको दृष्टान्तमध्ये एउटा गतिलो उदाहरण चन्द्रागिरि हिल्स र चन्द्रप्रसाद ढकाल । चन्द्रागिरि हिल्स आइयो । हेर्नसम्म हेरियो । फूर्सदले मनोरञ्जन लिइयो ।’ 

कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्योः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको बाधक तत्वका रूपमा कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको बताएका छन् ।

पार्टी निकट जनसांस्कृतिक महासङ्घद्वारा शुक्रबार आयोजित सांस्कृतिक कार्यक्रममा उनले भ्रष्टीकरण अन्त्य नभएसम्म मुलुकमा विकास तथा जनताको समस्या समाधान हुन नसक्ने बताए ।

अहिले कम्युनिष्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘सामूहिक हित र वर्गीय हितका लागि स्थापित कम्युनिष्ट पार्टीमा स्वार्थी प्रवृत्ति बढ्दै गएको छ । भ्रष्टीकरण बढ्दै गएको छ । यो नै प्रमुख समस्या हो ।’

अध्यक्ष नेपालले पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएको बताउँदै सच्चा कम्युनिष्ट एकताबद्व भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

उनले मुलुकमा दण्डहिनता र असल नेतृत्वको अभावमा जनतामा आएको नैराश्यताको अन्त्य गर्न कम्युनिष्ट पार्टीले विगतका गरेका कमीकमजोरी स्विकारेर एकीकृत हुनपर्ने विचार व्यक्त गरे ।

दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले मुलुकको आर्थिक विकास तथा सामाजिक रुपान्तरणका लागि मौलिक कला संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । हरेक समुदायले आफ्नो मौलिक, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।

ह्यारिसले महिलामाथि टिप्पणी गरेको भन्दै ट्रम्पको आलोचना

लस भेगास । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले २१ औँ शताब्दीको अमेरिकामा महिला विरोधी भावनाको कुनै स्थान नरहेको भन्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् ।

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ह्यारिस डेमोक्र्याटिक पार्टीको तर्फबाट र ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

निर्वाचन मिति (नोभेम्बर ५) नजिकिँदै गर्दा दुबै उम्मेदवारले एकअर्काका कमजोरी खोतल्दै आरोपप्रत्यारोप लगाउने क्रम जारी छ ।

उनीहरूले ह्वाइट हाउसको लागि आफ्नो अति प्रतिस्पर्धात्मके दौडलाई अति प्रतिस्पर्धा हुने देखिएका पश्चिमी राज्यहरूमा केन्द्रित गरेका छन् ।

उनीहरूले आप्रवासनको सवालमा आफ्ना धारणा राख्दै नोभेम्बर ५ मा मतदान समाप्त हुनुभन्दा पाँच दिन अघि शुक्रबार ल्याटिनोहरूलाई रिझाउने प्रयास गरेका छन् ।

पश्चिमका तीनमध्ये एक राज्यमा ट्रम्पले सीमावर्ती राज्य न्यू मेक्सिकोमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै आप्रवासीले अमेरिकाभरि नै हिंसात्मक हत्याको अभियान चलाइरहेको बताएका छन् । उनले भने, “संयुक्त राज्य अमेरिकामा आप्रवासी अपराधको लहरको कुनै प्रमाण छैन।”

डेमोक्र्याटिक उपराष्ट्रपति र रिपब्लिकन पूर्व राष्ट्रपतिले चुनावको निर्णायक हुने अपेक्षा गरिएका सात राज्यहरूमा एक अर्कालाई लखेट्दै गर्दा, ह्यारिसले लस भेगासमा सयौँ ख्यातिप्राप्त व्यक्तिहरू सहभागी भएको चुनावी प्रदर्शनमा थप उत्साहित सन्देश दिएका छन् । र्यालीमा उनलाई पप मेभेन जेनिफर लोपेजले परिचय दिएका थिए ।

ह्यारिसले बुधबार एक vमा अमेरिकी महिलाहरूलाई ’संरक्षण’ गर्न चाहेको भन्दै ट्रम्पको टिप्पणीलाई लिएर उनको आलोचना गरेका थिए । उनले महिलाको प्रतिकुल उक्त टिप्पणीलाई ‘सबैका लागि अपमानजनक’ भनेका थिए ।

लस भेगासमा उनले आफ्नो जीवनको बारेमा निर्णय गर्न अमेरिकी महिला सक्षम रहेको भन्दै ट्रम्पलाई ’महिलाको स्वतन्त्रता वा महिलाको बौद्धिकतालाई सम्मान नगर्ने व्यक्तिको रूपमा संज्ञा दिएका थिए।

उनले पूर्वराष्ट्रपति ट्रम्पलाई सङ्केत गर्दै भने, “हामीलाई थाहा छ, यदि उहाँ निर्वाचित भएमा उहाँले राष्ट्रव्यापी गर्भपतनमा प्रतिबन्ध लगाउनुहुनेछ, जन्म नियन्त्रणको पहुँचमा प्रतिबन्ध लगाउनुहुनेछ, आईभीएफ उपचारलाई जोखिममा पार्नुहुनेछ।”

सन् २०२२ मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संघीय अधिकार अन्त्य गरेपछि प्रजनन अधिकारका लागि डेमोक्र्याटिक पार्टीले आवाज उठाएको छ र ट्रम्पका लागि पहाड (एक प्रकारको समस्या) को काम गरेको छ ।

यस वर्षको चुनावका लागि गरिएको मतदानले व्यापक लैङ्गिक अन्तर देखाउँछ । महिला मतदाताहरू ह्यारिसतर्फ झुकेका छन्, र ट्रम्पले पुरुषहरूबाट बढी समर्थन प्राप्त गरेका छन् । गर्भपतनको मुद्दाले परिणाममा निर्णायक भूमिका खेल्न सक्छ।

डेमोक्रयाट नेता बाराक ओबामा, हिलारी क्लिन्टन र ह्यारिसविरुद्ध ट्रम्पकोे प्रदर्शनमा उनीहरूप्रतिको अपमानको प्रवाह देखिन्थ्यो।

“उहाँको नीतिले उच्च मूल्यको बारेमा मतदाताहरूको चिन्ताको बावजुद हाम्रो अर्थव्यवस्थालाई क्षति पुर्याएको छ,” ट्रम्पले भने।

दक्षिणपन्थी उत्तेजक टकर कार्लसनसँगको अन्तर्वार्तामा ट्रम्पले उपराष्ट्रपतिलाई डुङ्गाजस्तै मूर्ख भएको संज्ञा दिँदै ‘आउनुस् दिमागी परीक्षण’ गरौँ भनेका थिए ।

कार्लसनले कुनै समय एक सहकर्मीलाई सन्देश पठाउँदै उनी ट्रम्पलाई घृणा गर्ने जानकारी गराएक थिए तरअहिले उनले पूर्व राष्ट्रपतिलाई एक शानदार परिचय दिँदै गर्वका साथ आफुले ट्रम्पको पक्षमा मतदान गर्ने बताएका छन् ।

अन्तवार्ताका क्रममा बाइडन–ह्यारिस प्रशासनको आप्रवासन नीतिले सीमावर्ती राज्य एरिजोनालाई आफ्नो पक्षमा फर्काउनेमा ट्रम्पको विश्वास छ । 

पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सात जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बलोचिस्तान प्रान्तको मस्टुङ शहरमा राष्ट्रव्यापी खोप अभियानमा सहभागी स्वास्थ्यकर्मीको सुरक्षाका लागि भ्यानमा यात्रा गरिरहेका अधिकारीहरूलाई लक्षित गरी बम विस्फोट गराइएको प्रहरीले जनाएको छ।

विस्फोटको जिम्मेवारी तत्काल कुनै पनि समूहले लिएको छैन। पाकिस्तान र छिमेकी अफगानिस्तानमा अहिले पनि पोलियोको प्रकोप कायमै रहेको छ र खोप टोलीलाई सुरक्षा बलविरुद्ध लड्दै आएका लडाकुहरूले बारम्बार निशाना बनाउने गरेका छन्।

युक्रेन युद्धमा ‘विजय’ नभएसम्म रूसको साथमा रहने उत्तर कोरियाको घोषणा

मस्को । युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले मस्कोमा घोषण गरेका छन् । यस अघिनै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिएको छ ।

अमेरिका र दक्षिण कोरिया ले दश हजार उत्तर कोरियाली सैनिकहरू रूसमा प्रशिक्षण लिइरहेको उनीहरु र रूसको पक्षमा लडाँइमा सहभागी हुने बताउदै आएका छन् ।

वासिङ्टन र सियोलले उत्तर कोरियालाई आफ्नो सेना फिर्ता लिन चेतावनी दिएका छन् भने केही सेना कुर्स्क सीमा क्षेत्रमा पुगेको अमेरिकी गुप्तचरले जनाएको छ ।

विजयसम्म सधैँ रुसी सेनासँग दृढतापूर्वक उभिने विदेश मन्त्री चो सोन हुईले रूसी समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा घोषणा गरेका हुन् ।

उहाँले उत्तर कोरियालाई राष्ट्रपति भ्लादिमिर पुटिनको “बुद्धिमानी नेतृत्व“ मा कुनै शङ्का नभएको र प्योङयाङसँग आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेको बताउदै सम्बन्ध सक्षम बनाएको उल्लेख गरेका छन् ।

उनले उत्तर कोरियाले आणविक हतियारको विकास जारी राख्ने वाचा गरेका छन् भने प्योङयाङले सैन्य सहयोगको बदलामा रूसबाट आणविक प्रविधि चाहेको आशङ्का गरिएको छ ।

रूसी विदेशमन्त्री लाभ्रोभले दुई देशका ‘सेना र विशेष सेवाहरू’ बीचको ‘घनिष्ठ सम्बन्ध’ को प्रशंसा गर्नु भएको छ भने युक्रेनमा उत्तर कोरियाको सहयोगका लागि रूस आभारी’ रहेको बताएका छन् ।

सन् २०२२ फेब्रुअरी मा सुरु भएको रूस युक्रेन आक्रमणले पश्चिमसँगको सम्बन्ध तोडेको छ भने उत्तर कोरिया र इरान रूसको समर्थकका रूपमा देखा परेका छन् । लाभ्रोभले पुटिनको जुलाईको प्योङयाङ भ्रमणले सम्बन्धको “नयाँ चरण“ सुरु गरेको बताएका छन् ।

लक्ष्मीपूजाको दिन विद्युतको माग गत बर्षभन्दा एक सय ६४ मेगावाट बढी

काठमाडौं ।  यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार छ सय दुई मेगावाट बराबर रहेको छ। लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६.२५ बजे उक्त पिक डिमाण्ड रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड एक हजार चार सय ३८ मेगावाट थियो ।

गत वर्षकोभन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड एक सय ६४ मेगावाट बढी हो । तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत्गृहबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।

देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको दुई सय ५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ ।

गत वर्ष लक्ष्मीपूजा पिक समयमा पाँच सय १७ मेगावाट मात्र निर्यात गरिएको थियो । यस वर्ष बाढीपहिरोले क्षतिपुग्दा चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब दुई सय मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द छ।

यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको हो।लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग एक हजार आठ सय ५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड एक हजार नौ सय ५५ मेगावाट थियो।यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड तीन सय ९० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष तीन सय ६६ मेगावाट थियो।

ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य रतन ऐन, कार्यकारी निर्देशक कुलमान घिसिङ, ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोली लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन बिहीबार स्यूचाटारस्थित भार प्रेषण केन्द्रको नियन्त्रण कक्षमा खटिएका थिए।

कार्यकारी निर्देशक घिसिङले बिगतमा लोडसेडिङको अवस्थामा लक्ष्मीपूजाको दिनको विद्युत् मागलाई पिक डिमाण्ड मान्ने गरिएकोमा अहिले त्यस्तो अवस्था नरहेको बताए।कार्यकारी निर्देशक घिसिङले भने,’आठ वर्षअघि लक्ष्मीपूजाको दिनको विद्युत् माग व्यवस्थापनका लागि आयात हुने गरेकोमा केही वर्षदेखि आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको हो, बाढीपहिरोले जलविद्युत आयोजना र प्रसारण लाइनमा क्षति नपुर्याएको भए यो वर्ष लक्ष्मीपूजाको दिन झण्डै एक हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्थामा हुन्थ्यौं ।’

उनले लोडसेडिङ अन्त्य भई निरन्तर विद्युत् आपूर्ति हुनथालेपछि र विद्युतीकरण व्यापक रुपमा गरिएपछि हरेक वर्ष देशभित्रको विद्युत् माग बढिरहेको बताए।

प्राधिकरणले तत्कालीन समयमा भइरहेको लोडसेडिङलाई २०७३ सालको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रुपमा अन्त्यको सुरुवात गरेको थियो। परीक्षण सफल हुँदै गएपछि २०७५ साल वैशाखबाट देशलाई पूर्ण रुपमा लोडसेडिङमुक्त घोषणा गरिएको थियो । अहिले मुलुक लोडसेडिङबाटमुक्त मात्र छैन देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् निर्यात भइरहेको छ । विद्युत्को खूद आयातकर्ताबाट गत आर्थिक वर्षबाट नेपाल खूद निर्याकर्ता बनेको छ।

लक्ष्मीपूजाको विद्युत् माग व्यवस्थापनका लागि जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०६ मेगावाट विद्युत उत्पादन क्षमता भएता पनि प्राधिकरकणले पिक समयमा ६२ मेगावाटमा मात्र चलाएको थियो।

प्राधिकरणका स्वामित्वका अन्य विद्युत्गृहहरुबाट ६२ मेगावाट, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत्गृहहरुबाट ९० मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरुबाट १३०४ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो।

विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ। प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो । रासस

अनुमति विना निजी टेलिफोन संवाद बाहिर ल्याउनेमाथि कानुनी कारबाहीमा जान्छुः उपसभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले अनुमति विना आफ्नो निजी टेलिफोन संवाद विना अनुमति बाहिर ल्याएको भन्दै कानुनी कारबाहीमा जाने चेतावनी दिएका छन् ।

सामाजिक संजालमार्फत अर्यालले जासुसी तरिकाले बदनियतका साथ संवाद बाहिर ल्याएको भन्दै कानुनी कारबाहीमा जाने चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘मैले मेरो निजी टेलिफोनबाट को सँग, के–के संवाद गरे र गर्दैछु भन्ने सूचना प्राप्त गर्नको लागि नियतवश नियोजित ढङ्गले गैर–कानुनी र अनधिकृत रूपले मेरो अनुमति र स्वकृति बेगर जासुसी तरिकाले बदनियतका साथ वैयक्तिक गोपनीयता माथि दखल पुर्याएको हुँदा निजलाई कानुनी कारबाही गरियोस्। कानुनी प्रक्रियामा जाने नै छु। बिना अनुमति अरूको सूचना सामाजिक सञ्जालमा राखेर मुलुकी अपराध–संहिता २०७४ प्रतिकूल कार्य गरिएको छ। सोही ऐनको दफा २९३ मा अर्काको कुरा सुन्न र ध्वनीअंकन गर्न नहुने, दफा २९७ मा टेलिफोनमा गरेको कुरा सुन्न नहुने र दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था छ।’

उनले सभापतिको अनुपस्थितमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु आफ्नो जिम्मेवारी भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘केही दिन यता प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेतासँग मैले गरेको भेटघाटलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको पक्राउ आवश्यक थियो वा त्यो राजनीतिक प्रतिशोधपूर्ण कदम थियो? यो बहसको विषय बनिरहँदा सभापति कानुनी लडाइँमा हुनुहुन्छ। र उहाँले कानुनी प्रक्रियाबाटै न्याय पाउनेमा हामी विश्वस्त छौँ। सभापतिको अनुपस्थितमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु हाम्रो जिम्मेवारी नै हो। जिम्मेवारी पूरा गर्दा एक पक्षीय ढङ्गबाट गलत मनसायका साथ गरिएको प्रचारप्रति दुःखित छु।’

सभापति लामिछाने पक्राउ परेपछि उपसभापति अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए । उनले परराष्ट्रमन्त्री आरजु राणालाई भेट्न समय मिलाउन भन्दै म्यासेज गरेको भन्दै सामाजिक सञ्जालमा उनले आलोचना भइरहेको छ ।

भक्तपुरका नेवार समुदायको आज म्हः पूजा, भोलि भाइटीका मनाउने

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् ।

भक्तपुर नगरपालकाले नगरवासीलाई आज साँझ ५.१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउने निर्णय गरेपछि नगरक्षेत्रका नेवार समुदायले आज म्हःपूजा र भोलि भाइटीका गर्ने भएका हुन् । 

नगरपालिकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले भने कात्तिक १७ गते मनाउने निर्णय गर्दै नगरवासीलाई आह्वान गरेको हो ।

नुवाकोटमा अन्तरविद्यालय देउसीभैलो प्रतियोगिता

नुवाकोट । तिहारको मौलिक संस्कृति बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)दुप्चेश्वर गाउँ कमिटीले सूर्यमती नदीको किनार समुन्द्रटारमा गाउँपालिकाभित्रका छ विद्यालय सहभागी गराई प्रतियोगिता आयोजना गरेको हो । विद्यालयले विद्यार्थीलाई नै देउसीभैलोको गीत सृजना गर्न लगाएर प्रस्तुति दिन लगाएका थिए ।

प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका-५ को महादेव माविका प्रमिता तामाङले नेतृत्व गरेको समूह प्रथम भई नगद रु २० हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगतामा दोस्रो भएको बच्छलादेवी माविले रु १५ हजार र तेस्रो भएको रूक्मणि माविले रु १० हजार नगद पुस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा सहभागी भएका अन्य तीन विद्यालय सरस्वती मावि, कल्याण मावि र दुप्चेश्वर माविले रु पाँच हजार सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा चर्चित कलाकार दामोदर खतिवडाको संयोजकत्वमा तीन सदस्यीय निर्णायकमण्डल गठन गरिएको थियो ।

प्रतियोगितामा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डेले बालबालिकाका लागि प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण योगदान पुगेको बताए । उनले संस्कार र संस्कृतिको जगेर्नासँगै विद्यार्थीले आफ्नो क्षमताको प्रदर्शन गर्ने मञ्च सृजना गरेर रचनात्मक काम गरेको भन्दै आयोजकलाई धन्यवाद दिए । उनले निर्वाचनहरूमा राजनीतिक रूपमा प्रतिस्पर्धा हुने भए पनि संस्कृतिको जगेर्ना र स्थानीय विकासका लागि सबै दलले हातेमालो गर्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले संस्कृति संरक्षणका लागि सबैले मिलेर काम गर्नुपर्ने बताए ।

नेकपा एमाले बागमती प्रदेश कमिटीका सचिवालय सदस्य बलराम आचार्यले विद्यार्थीलाई राजनीतिक दलको झण्डा बोकाउनुको साटो यस्तै रचनात्मक कार्यक्रम गरेर व्यावहारिक रूपमा सबल बनाउनुपर्ने बताए ।

नेपाली काँग्रेसकी नेत्री एवं गाउँपालिकाको पूर्वउपाध्यक्ष अञ्जु आचार्यले प्रतियोगिताको सराहना गर्दै अन्य दलहरूले समेत यसबाट सिकेर काम गर्नुपर्ने सुझाव दिइन् ।

यातायात कार्यालयद्वारा दुई करोड १४ लाख राजस्व सङ्कलन

राजविराज । सप्तरीको राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा दुई करोड बढी राजस्व सङ्कलन गरेको छ ।

सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा दुई करोड १४ लाख छ हजार एक सय २० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए ।

सवारीसाधन करबाट एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दनीबाट ६५ हजार नौ सय १० र सवारी दर्ता किताबापत २५ लाख ४३ हजार एक सय ८५ राजस्व सङ्कलन भएको छ ।

सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०/८१ मा १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ राजस्व सङ्कलन भएको थियोभने २०७९/८० मा सात करोड ५६ लाख २५ हजार चार सय ७५सङ्कलन भएको थियो ।

कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही

गलकोट ।  दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन्। निर्माण कम्पनीको लापरवाहीले उक्त सडकको काम पूरा नभएको हो।

कम्पनीलाई काम पूरा गर्न चौथोपटक अवधि थपिएको भए पनि हाल निर्माण कम्पनी सम्पर्कविहीन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए।

जैमिनी नगरपालिकाको मेरुदण्डका रूपमा रहेको कुश्मिसेरा–राङ्खानी–बरेङ सडकमा निर्माण व्यवसायीबाट चरम लापरवाही भएको र तिहारपछि पनि काममा नफर्किए ठेक्का रद्दका लागि दबाब दिने शर्माले बताए।

पूर्वाधार विकास कार्यालयसँग २०७६ असोजमा दुई वर्षमा कालोपत्र गर्नेगरी शर्मा क्याराभानसँग ठेक्का सम्झौता भएको थियो।

जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई गुल्मीको शान्तिपुरसँग जोड्न २१ किमी सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो।

निर्माण व्यवसायीलाई अन्तिम पटकलाई आगामी असारसम्म म्याद थपिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाले बताए।

कटिङ, नाली निर्माण तथा पर्खाललगायत काम सम्पन्न भए पनि सडक कालोपत्र नहुँदा सास्ती भएको हो।

‘२४ करोड ५८ लाखमा दुई वर्षमा काम पूरा गर्नेगरी ठेक्का सम्झौता भएको थियो,’ देवकोटाले भने, ‘तिहारपछि पुनः पत्र पठाउँछौँ, काममा नफर्किए कारबाहीको प्रक्रिया थालिन्छ।’

रविलगायत सबैबाट भए गरिएका अपचलनहरू माफी मिनाहा दिइँदा के नै बिग्रिने हो र ?

जेपी गुप्ता ।
बाँच्नेले त संसार हेर्छन्। मरेर जानेलाई कसले सम्झेका छन् र ? नेपालमा अदालतसंग ‘बैतनिक वकिल राखेर इजलाशमा संवाद गर्नु’ र ‘आफ्नो कुरा नमानेमा अदालतलाई नै ठेगान लाउन सक्ने संसदीय उपक्रम चलाउने हैसियतवाला दलका नेता’ मार्फत संवाद गर्नु– कुन माध्यम प्रभावशाली हुन्छ त रविका लागि ? सवाल त जीवन रक्षाको हैन र ?
एक समय रविले काँग्रेससँग मिल्न खोजेकै हो । एमालेसँग मिलेकै हो । नागरिकता सम्बन्धि मुद्दा परेको बेला एमाले पार्टीले रविको प्रतिरक्षा गरेकै हो । परिस्थिति फेरियो, अहिले प्रचण्डजी उनको प्रतिरक्षामा उत्रेका छन् । उनि चक्रव्यूहमा परिसकेपछि, त्यहीबेला ओलीजी अमेरिकामा रहेको समय यहाँबाट रविले अपील गर्दै भनेकै हो कि– ‘नेपाल आउनुस्, संवाद गरौं!’ कुरो मिलेन । अहिले थुनाबाट भएपनि संवादको प्रयास हुनु के गलत छ ?

स्वर्णिम वाग्ले र मनिष झाहरू काँग्रेसबाट बाहिरिएका हुन् । कोही एमालेबाट बाहिरिएका होलान् । यस्ताहरूको उक्साहटमा परि जिल्ला सरकारी वकिल अनि जिल्ला न्यायाधीशहरूबाट न्याय पाउने भर परेर रविले यत्रो उदीयमान राजनीतिक जीवनको हत्या गर्नु हुँदैन । अहिले रविले नेताहरूसँग संवाद थालेको ठिक हो । हाल मुलुकमा कारगर सिद्ध भैसकेको ‘व्यवहारिक राजनीतिको प्रारम्भिक रूप’ हो यो र यस्तो संवाद ।सबैले गरिआएकै हो । यसो नगरिएको भए लोकमान सिंहको थुनामा परेर प्रचण्ड सकिन्थे । उनी भारत भ्रमणमा रहँदै लोकमानको निर्णयको चाल पाएर देउवासँग मिलेर तक्षण महाभियोग दर्ता नगराएको भए डिल्लीबजार कारागार भित्रको गुम्बामा बसेर क्रान्तिको कथा लेखिरहेका हुन्थे ।

ओलीले प्ररायुसंघका युवा नेताहरूलाई अख्तियार पठाएर माओवादी शिविरमा भएका भ्रष्टाचारको छानबिनका लागि निवेदन उजुरी दर्ता गराएको बिर्सनु भयो ? प्रचण्ड लोकमानबाट जोगिए पनि ओलीजीले आफूले नियुक्त गरेका अख्तियार प्रमुखलाई सदुपयोग गरेर प्रचण्डलाई नउठ्ने गरि ठिंग्याउने थिए ।केही अघि यिनै रवि संसदमा रन्किदै– ‘अब वाईडबडी तथा मानव तस्करी आदि सबै फायल खोल्ने’ भनेको हैन ? कसरी बिर्सिनु ? त्यसपछि रामेश्वर थापाको घरमा मध्यस्ततामा ओली नेतृत्वको नयाँ सरकारको जन्म भएको हैन र ? रामेश्वर थापाको आत्मकथ्यको लोकार्पणको दिन अनुग्रहित देउवाको करूण भावना यतिकै फुटेको थिएन नि । अघिल्लो पटक ओलीले प्रचण्डलाई प्रधानमन्त्री नमानेको भए ओलीकाविरूद्घ दशौं मुद्दा खडा हुने थिएन र ? याद गर्नुस् त ? यसै पटक देउवाजीले सविनय ओलीलाई प्रधानमन्त्री नबनाएको भए प्रचण्डले देउवाको दशैं तिहार सक्ने थिएनन् र ? आरजू म्याडम स्वयंले स्वीकारेको हैन र यस तथ्यलाई ? पब्लिक डोमिनमा छ हेर्नुस् । देउवाले पनि सके ओली सरलाई गिँड्ने थिए ।

वालकृष्ण खाँणजी देउवाका सारथी थिए । कुनी कहाँ के मिलेन, राजनीति नै बर्वाद भयो । तर के कृष्ण सिटौलाले डाफर आदि केशमा आफ्नो ज्यान जोगाएनन् त ? राजा ज्ञानेन्द्रले शाही सत्ताको बेला सूर्यनाथलाई प्रयोग गरि कतिलाई सोत्तर पारे, अनि कतिलाई आत्मसमर्पण पछि जोगाई दिए, ति भाग्यमानी तालमेलीहरूले त मुद्दा पनि मिलाए, बक्सिसमा मन्त्री पद पनि पाए । तिनीहरूको नाम यहाँ लेख्नु पर्छ र ! नबिर्सनुस्, यो मुलुक आफन्तहरूको रगतको बहालमा लडेको श्रीपेचलाई तलबारको टुप्पोबाट उठाएर शिरमा पहिरिएर पन्जा छाप लेखाएर श्री ३ को पगरी पाउने जंगबहादुरलाई आदर्श मान्नेहरूको मुलुक हो ।

सहकारीको रकम हिनामिना भएको छ । रवि दोषी पनि होलान् । एनसेलले तिर्नु पर्ने राजस्व, विद्युत महसुलमा खर्बौंको मिनाहा, बैंक ब्याजमा अर्बौं अर्बौंको छुट, राष्ट्रिय गौरवका आयोजनाहरूलाई कहिल्यै समयमा सम्पन्न हुन नदिने गरि भेरिएशनमा भेरिएशन थप्दै खर्बौं खर्बको भार जनता उपर थोपर्दा कसैले चुइँक्क पनि नबोल्ने मुलुकमा रवि लगायत सबैबाट भए गरिएका अपचलनहरू माफी मिनाहा दिइँदा के नै बिग्रिने हो र ?

न्यायालयलाई निसाफको मन्दिर मानेर बयान दिदै जाने हो भने रविको अबको बाँकी जीवन अड्डा सार हुँदै बयान दिँदैमा यिनहरूले सकिदिन्छन् । एउटा जाबो फुली थपि माग्नका लागि जघन्य भन्दा जघन्य अपराधहरूलाई नामेट गरि दिने प्रहरीका हाकिमहरू भएको मुलुकमा, सकल प्रमाणहरूको पोकाका पोका फाइलहरू पर सारेर फैसलामा कविका पंक्तिहरू लेखेर अर्बौ अर्बका राजस्व असुली नगर्न न्याय गर्न नहच्किने न्यायाधीशहरूले रविलाई रेटनु परे थोपा रगत पनि भूइँमा टप्किन दिँदैनन् । के गर्नु त रविले ? अदालतको भर परेर ब्रम्हनालमा पुग्नु त !

‘ट्रयाक टु’ न्याय भनेकै सडकमा जे भैरहेको छ, त्यसलाई अगाडी पछाडी पार्दै नेताहरूसँग मिल्नु हो । फालिएको उ बेलाको राजाले राजदण्ड मुठ्याउन राजतन्त्र फालिएको सबै दोष थुपारेका प्रचण्डसँग मिल्न आज तम्सेका छन् । शेरबहादुर देउवा समक्ष ठकुरी–ठकुरीको भाइचारा प्रस्ताव गरिरहेका छन् । भारतलाई दोष दिन्छन् अनि योगी आदित्यनाथको पाउमा पर्छन् भने विचरा रवि तथा उनका मानिसहरूले गगन थापाहरूसँग थुतुनो बजाएर के पाउँछन् त ?
अनिकालमा जिऊ जोगाऊ है राजा रवि ! यिनले निमिट्यान्न् पार्लान् नि ! अहिले ज्यान जोगाउने तिर लाग सर ! बिन्तीपत्र लेखेर हुन्छ कि ढोगेर हुन्छ, यसबाट उम्कियौं भने चुनाव लडन पाउँछौ, नामांकन पत्र भर्दा यी सब वृतान्त लेख्नु पर्दैन । मुलुकमा तिम्रो मतदाता यत्रतत्र छन् । पोखरा, बुटवल, चितवन, काठमाण्डूको यस जनमतलाई निरास किन बनाउनु सर !