`

गृहमन्त्री लेखकसँग एसएसबीका महानिर्देशकको भेट, सीमा सुरक्षाबारे छलफल

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ ।

आइतबार सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)का बीच दुई देशको सीमा सुरक्षाका क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा भइरहेको कामका विषयमा छलफल भएको थियो ।

भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागुऔषधको अवैध कारोबार र ओसारपसार तथा मानव बेचबिखन नियन्त्रणका साथै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग र सहकार्य गर्न जोड दिए ।

गृहमन्त्री लेखकले जनताले कष्ट नपाउनेगरी सौहार्दपूर्ण वातावरणमा शान्तिसुरक्षा र अपराध नियन्त्रणतर्फ दुवैतर्पmको ध्यान जानुपर्नेमा जोड दिँदै गृहमन्त्री लेखकले नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्ने नागरिकहरुलाई मर्यादित व्यवहार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिए।

“नेपाल–भारतबीच सदियौं पुरानो सम्बन्ध रहिआएको छ”, गृहमन्त्री लेखकले भने, “सीमासुरक्षा बलका काम कारबाहीले दुई देशबीचको सम्बन्ध थप बलियो हुनेमा विश्वस्त छु, सहयोग र सहकार्य गरी सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणसहित सीमा आवतजावतका क्रममा सम्मानजनक व्यवहार गरी दुवै देशका जनताको विश्वास जितौँ ।”

भेटवार्ताका अवसरमा गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय एसएसबीका महानिर्देशक अमृत मोहनप्रसादससहित उच्च अधिकारीको सहभागिता थियो ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्चस्तरीय टोली काठमाडौँ आएको हो ।

रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुर नगरपालिको मेयरमा उम्मेदवारी नदिने भएको छ । रास्वपा काठमाडौं संयोजक प्रदीप विष्टले नगरपालिका मेयरको उम्मेदवारी नदिने बताए ।

यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भएको थियो । तर, रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको छ । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उमेदवारी दर्ताको कार्यक्रम भइरहेको छ ।

आणविक शक्ति सम्पन्न भारतद्वारा आफ्नो पहिलो हाइपरसोनिक मिसाइल प्रक्षेपण

नयाँदिल्ली । आणविक शक्ति सम्पन्न भारतले आफ्नो पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको छ । प्रतिद्वन्द्वी चीनले आफ्नो नवीनतम सैन्य उड्डयन शक्ति प्रदर्शन गरेको केही दिनपछि उच्च प्रविधियुक्त शक्तिशाली हतियारको प्रचार गर्दै रक्षा मन्त्री राजनाथ सिंहले आइतबार यस सफलताका लागि योगदान पुर्याउने भारतीय टोलीको उच्च प्रशंसा गरेका छन् ।

हाइपरसोनिक्स प्रविधि मिसाइल प्रविधिको नयाँ आविस्कार हो । तिनीहरू ब्यालिस्टिक मिसाइलभन्दा कम उड्छन् तर पत्ता लगाउन गाह्रो हुन्छ । हाइपरसोनिक्स मिसाइल लक्ष्यहरूमा छिटो पुग्न सक्दछन्, र मध्य–उडानमा लक्ष्य परिवर्तन गर्न आदेश दिन पनि सकिन्छ ।

संयुक्त राज्य अमेरिका, रुस, चीन र उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरिसकेका छन्।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले लामो दूरीको हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेर भारतले ठूलो उपलब्धि हासिल गरेको बताए ।

छिमेकी प्रतिद्वन्द्वी चीनले ‘जे–३५ए स्टेल्थ फाइटर जेट’ र ‘अट्याक ड्रोन’ प्रदर्शन गरेर ‘एयर शोमा’ आफ्नो विस्तारित उड्डयन क्षमता प्रदर्शन गरेको केही दिनपछि यो परीक्षण उडान भएको हो । चीनका अनुसार यसमा ब्यालेस्टिक क्षेप्यास्त्र र हाइपरसोनिक ग्लाइड मिसाइललाई रोक्न बनाइएको ‘हेडक्वार्टर–१९’ सतहबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्र प्रणालीको सुरुवात पनि समावेश छ ।

उक्त हाइपरसोनिक हतियार शनिबार पूर्वी तटको अब्दुल कलाम टापुमा खसेको भारतको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले सार्वजनिक गरेको श्रव्यदृश्यमा देखिएको थियो । उक्त श्रव्यदृश्यमा रातको आकाशमा एउटा पातलो क्षेप्यास्त्र विस्फोट भएको देखिएको छ ।

“यो ऐतिहासिक क्षण हो र यो महत्वपूर्ण उपलब्धिले हाम्रो देशलाई यस्ता महत्वपूर्ण र उन्नत सैन्य प्रविधिको क्षमता भएका चुनिन्दा राष्ट्रहरूको समूहमा राखेको छ,” सिंहले भने । क्षेप्यास्त्रको बारेमा थप विवरण दिइएको छैन ।

नयाँ दिल्लीले हालैका वर्षहरूमा संयुक्त राज्य अमेरिका, जापान र अष्ट्रेलियासँग क्वाड गठबन्धनसहित पश्चिमी देशहरूसँग रक्षा सहयोगलाई गहिरो बनाएको छ।

अर्बौं डलरको सम्झौतालाई लिएर अमेरिकी प्रतिबन्धको चेतावनीका बावजुद मस्कोको एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलगायत रूसी सैन्य सामग्रीको पनि भारत प्रमुख क्रेता हो ।

बङ्गलादेशको सेनालाई प्रदत्त न्यायिक अधिकार थप दुई महिनाका लागि बिस्तार

ढाका । बङ्गलादेशको अन्तरिम सरकारले पूर्वनेता शेख हसिनालाई अपदस्थ गर्ने अगस्टमा भएको आन्दोलनपछि सशस्त्र बललाई प्रदान गरिएकोे न्यायिक अधिकारलाई विस्तार गरेको छ ।

नोभेम्बर १५ मा जारी गरिएको सरकारी आदेशमा सशस्त्र बललाई पक्राउ गर्नेलगायतका दैनिक क्रियाकलापमा संलग्न हुन पाउने अधिकार थप दुई महिनाका लागि बिस्तार गरिएको हो ।

सेनाका प्रवक्ता सामी उद–दौला चौधरीले आइतबार भने, “सरकारले दिएको आदेशलाई हामीले पालना गर्नेछौँ ।”

पूर्व प्रधानमन्त्री शेख हसिनाले गत अगस्ट ५ मा भारत पलायन हुनुअघि विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनलाई दबाउन प्रहरीलाई आदेश दिएकी थिइन् ।

उनको १५ वर्षे शासनकालमा विपक्षीहरूलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्नबाट रोक्ने घटनाहरू भएका आरोप लागेका थिए ।

हसिनाका भारत पलायनपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको कामचलाउ सरकारलाई लोकतान्त्रिक सुधार लागू गर्ने र निर्वाचन गराउने जिम्मेवारी दिइएको छ ।

धेरै मानिसहरूले प्रहरीमाथिको विश्वास गुमाइसकेकाले सुरक्षा पुनस्र्थापित गर्न सेनाको प्रयोग गरिएको थियो ।

उच्च अदालतका वकिल इमाम हसन तारिकले क्याप्टेन वा सोभन्दा माथिको दर्जाका अधिकारीलाई मात्र पक्राउ गर्न अनुमति दिइएको बताएका छन् ।

तटरक्षक बल र सीमा सुरक्षा एकाइलाई समेट्ने गरी अधिकार विस्तार गरिएको छ ।

कीर्तिपुरको मेयरमा नेपाल समाजवादी पार्टीबाट महर्जनको उमेदवारी दर्ता

काठमाडौं । नेपाल समाजवादी पार्टीको तर्फबाट काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा दिलकुमार महर्जनले उमेदवारी दर्ता गराएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट महर्जनले आइतबार मनोनयनपत्र दर्ता गराएका हुन् । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ ।

सौराहामा आठ देशका चिकित्सक र नर्सद्वारा ‘क्रिटिकल केयर’ मेडिसिन सम्बन्धी अनुभव आदानप्रदान

चितवन । पर्यटकीय क्षेत्र सौराहामा रहेर नेपालसहित विभिन्न देशका चिकित्सक र नर्सहरुले ‘क्रिटिकल केयर’ मेडिसिन सम्बन्धी कार्यशालामा अनुभव आदानप्रदान गरेका छन् ।

क्रिटिकल केयरमा काम गर्ने चिकित्सकहरुको संस्था ‘नेपलिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ र ‘क्रिटिकल केयर नर्स एशोसिएसन अफ नेपाल’को आयोजनामा भएको कार्यशालामा उनीहरुले बृहत छलफल गरेका हुन् ।

सोसाइटीको छैठौं अन्तर्राष्ट्रिय सम्मेलन र एसोसिएसनको तेस्रो राष्ट्रिय सम्मेलनमा उपस्थित भएका चिकित्सक नर्सहरुले कार्यपत्र प्रस्तुत गर्दै त्यसमाथि छलफल गरेका हुन् । सोसाइटीका अध्यक्ष प्राडा शितल अधिकारीका अनुसार कार्यशालामा नेपालसहित भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, न्यूजिल्याण्ड र बेलायतमा सघन उपचार कक्षमा कार्यरत चिकित्सक नर्सहरुको सहभागिता रहेको थियो ।

कार्यशालामा ६५० प्रतिनिधि रहेको जनाउँदै अधिकारीले आयोजकसहित यो सङ्ख्या ७५० हाराहारी पुगेको बताए । उनीहरुले शुक्रबार र शनिबार सौराहामा रहेर छलफल गरेका थिए ।

सोसाइटीका कार्यशाला संयोजन गरेका डा हेमराज पनेरुका अनुसार दुई दिनमा ६० चिकित्सकको र ४० नर्सहरुका कार्यपत्र प्रस्तुत गरी ती कार्यपत्रमाथि छलफल गरिएको थियो । पनेरुले छलफलका क्रममा सरकारका तर्फबाट गर्नुपर्ने नीतिका बारेमा समेत सुझाव दिनसक्ने गरी निष्कर्ष तयार पारेको बताए ।

एसोसिएसनका तर्फबाट कार्यशाला संयोजन गरेकी परिस्मा ताम्राकारले छलफलमा आफूहरुले आर्जन गरेका प्राविधिक र व्यवहारिक ज्ञानलाई एक अर्कोमा आदानप्रदान गर्न सहयोगी बनेको बतााइन् । यो कार्यशालाबाट फर्किएपछि जो कोहीलाई काममा उर्जा मिल्ने उनको भनाइ छ ।

अत्यन्तै संवेदनशील ठाउँमा रहेर काम गर्नुपर्ने भएकाले समय समयमा यस्ता कार्यक्रम आयोजना गरेर सीप र दक्षता अभिवृद्धि गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा सोसाइटी र एसोसिएसनका विभिन्न तहमा रहेका अधिकारी, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि, सामाजिक सङ्घ–संस्थाका प्रतिनिधिले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एवं नेपाल मेडिकल कलेजका प्रिन्सिपल प्राडा मोदनाथ मरहठ्ठाले अत्यन्तै संवेदनशील ठाउँमा रहेर काम गर्नुपर्ने जनशक्तिको यो खालको अन्तक्र्रियाले नेपालको उपचार पद्धतिमा टेवा पुग्ने बताए ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले सघन उपचार कक्षको उपचारमा चिकित्सक र नर्सको उत्तिकै भूमिका हुने भन्दै यो कार्यक्रमले नेपालका चिकित्सक र नर्सलाई थप परिस्किृत गर्दै लैजान सहयोग पुग्ने बताए ।

कतारलाई आफ्नो देशमा रहेको हमासको कार्यालय बन्द गर्न अमेरिकी दबाव

बीबीसी । कतार सरकारले इजरायल र हमासबीच शान्ति सम्झौता गराउने आफ्नो प्रयास वार्तामा बस्ने दुवै पक्षको अनिच्छाका कारण रद्द गरेको जनाएको छ । दोहालाई आफ्नो देशमा रहेको हमासको कार्यालय बन्द गर्न अमेरिकी दबाव आइरहेको भनिएका विवरण समेत सार्वजनिक भएका छन् ।

कतारको विदेश मन्त्रालयले इजरायल र हमासबीच शान्ति सम्झौताको मध्यस्थता गर्ने प्रयास स्थगित गरेको जनाएको छ । तर उसले दोहामा हमासको कार्यालय बन्द गर्ने भनिएका खबरलाई खारेज गरेको छ ।

त्यसयता इजरायल सरकारले कतारप्रति रोष व्यक्त गर्दै उसले हमासलाई साथ दिइरहेको र आतङ्कवादी समूहलाई मलजल गरेको आरोप लगाएको छ । कतारले मध्यपूर्वमा आफूलाई शान्ति स्थापकको पहिचान बनाएको भएपनि उसलाई वर्तमान इजरायल–हमास द्वन्द्वमा युद्धविरामका लागि मध्यस्थता गर्न सकस परिरहेको छ ।

कतार पर्सिअन खाडीमा अवस्थित ११,६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको एउटा सानो देश हो । तर यसले ठूलो परिमाणमा प्राकृतिक ग्यास निर्यात गर्छ र यो प्रतिव्यक्ति आय धेरै हुने संसारको छैटौँ देश हो ।

त्यहाँको सरकारले आफूलाई अन्तर्राष्ट्रिय शान्ति स्थापकको भूमिकामा उभ्याउँदै पछिल्लो दुई दशकमा मध्यपूर्व, युरोप र अफ्रिकाका युद्धरत पक्षबीच कैयौँ युद्धविराम र शान्ति सम्झौताका लागि मध्यस्थता गरेको छ ।

सन् २०२३ को नोभेम्बरमा उसले इजरायल र हमासबीच एक अस्थायी युद्धविरामका लागि वार्ता गराएको थियो । त्यसक्रममा १०५ जना इजरायली बन्धक २४० जना प्यालेस्टिनी बन्दीहरूसँग साटफेर गरिएका थिए ।

सन् २०२० मा कतारले तालिबान र अमेरिकाबीच एउटा शान्ति सम्झौता मध्यस्थता गर्दै अफगानिस्तानमा दुई दशक चलेको युद्ध अन्त्य हुने अवस्था बनाएको थियो । त्यससँगै अमेरिका र उसका साझेदार देशहरू त्यहाँबाट फर्किए र तालिबानले उक्त देशमा आफ्नो शासनसत्ता सुरु गर्यो ।

सन् २०२३ मा कतारले अमेरिका र इरानबीच एउटा बन्दी साटासाट सम्झौता गर्नमा समेत मध्यस्थता गरेको थियो । सोही वर्ष उसले रुस र युक्रेनबीच दुई देशबीचको जारी युद्धमा युक्रेनबाट रुस लगिएका बालबालिकालाई फिर्ता ल्याउने वार्ताको मध्यस्थता गरेको थियो ।

सन् २०२२ मा कतारले चाड सरकार र ४० विपक्षी समूहहरूबीच युद्धविराम गराउन मध्यस्थता गर्यो । अनि सन् २०१० मा उसले सुडान सरकार र त्यहाँको पश्चिमी प्रान्त डार्फरका सशस्त्र समूहबीच शान्ति सम्झौता गराएको थियो ।

एक विद्यार्थीको चक्कु प्रहारबाट चीनमा ८ जनाको मृत्यु

बीबीसी । पूर्वी चीनको एक विद्यालय बाहिर छुरा प्रहारको घटनामा आठ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । वुसी यिक्सिङ आर्ट्स एन्ड क्राफ्ट्स भोकेस्नल टेक्निकल कलेजबाहिर भएको चक्कु प्रहारको घटनामा आठ जनाको मृत्यु भएको हो ।

स्थानीय समयअनुसार शनिबार उक्त घटना भएको हो । चक्कु प्रहार गर्ने २१ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । ती युवक परीक्षामा असफल र आफ्नो इन्टर्नशिपको तलबबाट दुःखी रहेका प्रहरीले जनाएको छ ।

उनले प्रहरीसमक्ष ‘बिना हिचकिचाहट’ आफ्नो अपराध स्वीकार गरेका छन् । गत सोमबार दक्षिणी सहर झुहाईको एक स्टेडियममा चालकले भीडमा कार कुदाउँमा कम्तीमा ३५ जनाको मृत्यु भएको थियो ।

माओवादी र एकीकृत समाजवादीबीच काठमाडौंमा चुनावी तालमेल गर्ने सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तहको उपनिर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । सहमतिपत्रमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् ।

दुई दलबीच काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौं महानगरपालिका वडा नं १६ को अध्यक्षमा तालमेल गर्ने सहमति भएको हो ।

सहमतिअनुसार कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनलाई नेकपा एकीकृत समाजवादीले सघाउनेछ भने काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ ।

रोशी गाउँपालिकाद्वारा बाढीपहिरो पीडितका लागि दुई करोड ८० लाख बजेट विनियोजन

काभ्रे । काभ्रेको रोशी गाउँपालिकाले बाढीपीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । जाडोयाम सुरु भइसकेकाले गाउँपालिकाले तत्काल बाढीपीडितलाई सहयोग गर्न गाउँसभाको विशेष अधिवेशनले बजेट व्यवस्थापन गरेको हो ।

गाउँसभाको १५औँ अधिवेशनले विपद्कोषमा  दुई करोड ८० लाख, विनियोजन गर्दै आवश्यकताअनुसार पीडितलाई प्रदान गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । सहायता रकम क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने छ ।

उक्त पालिकामा बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको थियो भने चार सय ८२ घरमा पूर्ण र आठ सय ८३ घरमा आंशिक क्षति भएको थियो । यसैगरी, दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा पनि क्षति भएको थियो ।

बाढीले एक सय ६० खानेपानी आयोजना, एउटा पक्की पुल, छ सय ४७ विद्यालय, चार स्वास्थ्य केन्द्र, १० शय्याको अस्पताल, चिस्यान केन्द्र र औद्योगिक ग्राममा नोक्सानी भएको थियो ।

पहिरो नियन्त्रणपछि फर्किए विस्थापित गाउँ

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ वि.सं. २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा अविरल वर्षाले सिङ्गो गाउँ नै पहिरोको जोखिममा पर्यो । पहिरोले गाउँ नै भासिने अवस्था आएपछि खारुङका केही परिवार विस्थापित भएर कोही चितवन, कोही गोरखाबजार र कोही छेवेटारलगायतका ठाउँमा बसाइँ सरे ।

पहिराले सिङ्गो गाउँ नै जोखिममा परेपछि गाउँपालिकाले भू तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सहयोगमा पहिरो नियन्त्रणका काम अघि बढाएसँगै यहाँ पहिरो नियन्त्रणमा आएको छ । पहिरो नियन्त्रणमा आएसँगै बाध्यताले गाउँ छाडेका पुरानै थाकथलोमा फर्किन थालेको स्थानीयवासी सुकबहादुर तामाङले बताए । “पहिरोले गाउँले सबै तितरवितर भएका थिए”, उनले भने, ‘अहिले पहिरो नियन्त्रणमा आएपछि गाउँ छाडेकाहरू पनि फर्किन थालेका छन्, यो वर्षदेखि बल्ल अलि ढुक्क भएको छ ।”


जोखिमयुक्त ठाउँमा ‘ग्याविन वाल’सहित अम्रिसो, उतिस, रानी खनायोलगायत वृक्षरोपण गरेर पहिरो नियन्त्रण गरिएको एफएओका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ लीलाजङ्ग गुरुङले जानकारी दिए । पहिरो नियन्त्रण भएपछि गाउँ छाडेर बसाइँ गरेकाहरू अहिले गाउँमै फर्किएको उहाँको भनाइ छ । अहिलेसम्म पहिरोले विस्थापित भएका छ घरपरिवार गाउँ फर्किसकेको गुरुङले जानकारी दिएका छन् ।

“पहिरोले गाउँ नै लैजान थालेपछि परिवार नै गाउँ छाडेर बसाइँ सरेका थियौँ । नजिक बस्ने ठाउँ थिएन, घरवरपर जताततै पहिरोको त्रासले झण्डै चार वर्ष चितवनमा गएर बसे पनि पहिरो रोकिएपछि गाउँ फर्किएका छौँ”, पहिरोबाट विस्थापित भएका स्थानीय शेरबहादुर गुरुङले भने। पहिरो नियन्त्रण भएसँगै गाउँमा ढुक्कले बस्नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

पहिरो नियन्त्रणका लागि वृक्षरोपण गरेका क्षेत्रमा गाउँलेहरूले पशुवस्तु चरनमा समेत पूर्ण रूपमा रोक लगाएका छन् । पहिरो नियन्त्रणका लागि लगाइएको अम्रिसोबाट समूह बनाएर आयआर्जन गर्ने लक्ष्यसमेत लिएको उनको भनाइ छ । गाउँमा अहिले पहिरोको पूर्वसूचना दिन पूर्णचेतावनी प्रणाली जडान भएकाले स्थानीयले सुरक्षित महसुस गर्न थालेका छन् ।

मैत्रीपूर्ण खेलमा अफगानिस्तानमाथि नेपालको जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । शनिबार राति ताजिकिस्तानको दुशान्बेमा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० ले पराजित गरेको हो ।

नेपालको जितमा फरवार्ड जिलेस्पी जंग कार्की र डिफेन्डर रोहित चन्दले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

तर, दोस्रो हाफमा सानदार प्रर्दर्शन गर्दै जित हासिल गरेको हो । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोलले पराजित भएको थियो।

प्रचण्डलाई ‘चाइना कार्ड’ अभिव्यक्ति फिर्ता लिँदै माफी माग्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘चाइना कार्ड’ बारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदी माफी माग्न आग्रह गरेको छ ।

एमालेको परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले शनिवार विज्ञप्ति जारी गरी प्रचण्डले भारतीय अखबार ‘द हिन्दु’सँगको अन्तर्वार्तामा गरेको टिप्पणीको घोर भर्त्सना गर्दै टिप्पणी फिर्ता गर्न र जनतासँग माफी माग्न आग्रह गरेका हुन् र प्रचण्डले प्रधानमन्त्री ओली र सरकारका बारेमा गरेको टिप्पणीमा चाइना कार्ड शब्द प्रयोग गरेका थिए ।

एमालेले प्रचण्डको उक्त अभिव्यक्ति आधारहीन, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम हित तथा परराष्ट्र नीतिमा ‘गम्भीर’ क्षति पुरयाउने खालको रहेको उल्लेख गरेको छ ।

त्यस्तो टिप्पणीले नेपालले सार्वभौम राष्ट्रका रूपमा आफैँ निर्णय लिन पाउने स्वतन्त्रताको अपमान गर्ने एमालेको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाललाई कुनै पनि परराष्ट्रको अनुमोदन आवश्यक छैन । प्रधानमन्त्रीको चीन भ्रमण नेपालले पालना गरेको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिविम्ब हो, न कि ‘कार्ड कूटनीति’को हिस्सा, जस्तो भ्रामक रूपमा दाबी गरिएको छ ।’

मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको छः महासचिव पोखरेल

भक्तपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको बताएका छन् ।
नेकपा एमाले सूर्यवनायक नगर कमिटीको दोश्रो नगर अधिवेशनको  शनिबार उद्घाटन गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास–निर्माणका काममा तल्लीन भएको बताएका हुन् ।
उनले भने, ‘नेकपा एमालेको नेतृत्वमा सरकार भएपनि पनि एकल निर्णय र एजेण्डा बाकेर हिड्न पाएको छैन, साझा एजेण्डामा सरकार सञ्चालन भइरहेको छ  ।’

राज्य र जनता मिलेर देश बनाउनुपर्नेमा जोड दिँदै उनले राजनीतिक स्थायित्व भएमा देशलाई समृद्धिको मार्गमा डोर्याउन धेरै समय नलाग्ने बताए ।

त्यस अवसरमा नेकपा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई, पोलिटव्यूरो सदस्य  महेश बस्नेत, केन्द्रीय सदस्यहरु सोमप्रसाद मिश्र, निर्मल भट्टराई, तुलसा दाहाल, गोविन्द दुवाल, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापाले ‘एमालेको मिसन ०८४ अभियान’लाई सफल पार्न सबै नेता, कार्यकर्ता एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । 

इजरायली निकासी आदेशपछि दक्षिण बेरुतमा पुनः इजरायली आक्रमण

बेरुत । इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय पछि लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा शनिबार पुनः आक्रमण भएको एएफपिटिभीले जनाएको छ ।

इजरायलले हिजबुल्लाहको गढ रहेको सहरको दक्षिणी उपनगरहरूमा मङ्गलबारदेखि निरन्तर आक्रमण गरेको जनाउदै एएफपिटिभीले शनिबार बिहान उक्त क्षेत्रका भवनहरूबाट धुवाँ उडेको देखाइएको छ ।

आक्रमणको केही समयअघि, इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्सको पोष्टमा हारेट ह्रीक उपनगरका बासिन्दाहरूलाई उक्त क्षेत्र खाली गर्न आह्वान गर्नु भएको थियो ।

पोष्टमा अरबी भाषामा “तपाईँ हिजबुल्लाहका सुविधाहरु नजिक हुनुहुन्छ, यसको बिरूद्ध इजरायली सेनाले सिग्र आक्रमण गर्नेछ“, भन्दै कम्तिमा ५०० मिटर टाढा जान आग्रह गरिएको थियो ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी –एनएनए) ले “इजरायलले“ तीनवटा हवाई आक्रमण गरेको र हारेट ह्रीक नजिकै भएको आक्रमणले त्यस क्षेत्रका भवनहरू ध्वस्त पारेको जनाएको छ ।

पछिल्लो समयमा दक्षिण बेरुतमा भएको बारम्बारको इजरायली हवाई आक्रमणले यस क्षेत्रबाट नागरिकहरूको ठूलो पलायन निम्त्याएको छ ।

दक्षिणी लेबनानमा, इजरायलले शुक्रबार राति र शनिबार बिहान धेरै आक्रमणहरू गरेको एनएनएले जनाएको छ ।

यसै गरी हिजबुल्लाहले रातारात, उत्तरी इजरायलमा सेनाको मुख्यालयलाई लक्षित गरी दुईवटा रकेट आक्रमण गरेको दाबी गरेको छ ।

गत सेप्टेम्बर–२३ देखि, इजरायलले लेबनानमा हवाई आक्रमण बढाएको छ, भने हिजबुल्लाहले स्थलगत सेना तैथान गरेकोे छ ।

लेबनानी अधिकारीहरूका अनुसार गत वर्षको अक्टोबरमा हिजबुल्लाह र इजरायल विच आक्रमण सुरु भए देखि तीन हजार ४४० भन्दा बढी मानिसहरुको मृत्यु भएको छ ।

द्वन्द्वले लेबनानमा पाँच अर्ब डलर भन्दा बढी आर्थिक नोक्सान पुर्याउनुका साथै संरचनात्मक क्षति अर्बौ भन्दा बढी भएको विश्व बैङ्कले जनाएको छ ।

अफगानिस्तानमा सवारी दुर्घटनामा आठ जनाको मृत्यु

अफगानिस्तान । उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रुबाहक गाडी खस्दा महिला तथा बालबालिकासहित आठ जनाको मृत्यु भएको छ ।

उक्त गाडी शुक्रबार राती प्रान्तीय राजधानी फैजाबाद सहरतर्फ गइरहेको बेला दुर्घटना ग्रस्त भएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक जबिहुल्लाह अमिरीले जानकारी दिए ।

अमिरीका अनुसार स्थानीय तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगी शवहरू निकाल्न खोजिरहेका थिए ।

मृतकमध्ये एक जना चालक र अन्य तीन महिला तथा चार बालबालिकालगायतका मानिसहरु रहेका उनले बताए ।

गण्डकी प्रदेस महोत्सव :जातीय परम्परागत घर अवलोककर्ताको रोजाइमा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेस महोत्सव–२०८१ मा जातीय संस्कृति संरक्षणको प्रयास गरिएको छ । महोत्सवमा नवलपुरमा रहेका विभिन्न आदिवासी जनजातिहरुको मौलिक संस्कृति संरक्षण गर्न उनीहरुको परम्परागत घर नै बनाएर महोत्सव पुग्नेलाई सांस्कृतिक बोध गराइएको छ ।

महोत्सवमा थारु, मगर, गुरुङ, तामाङ र चेपाङ जातिको घर निर्माण गरी उनीहरुले प्रयोग गर्ने परम्परागत घरायसी उपकरण प्रदर्शनीसँगै मौलिक खाना प्रदर्शनी गरिएको छ । गत कात्तिक २६ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा चेपाङ जातिको सांस्कृतिक घरसँगै उनीहरुको पोसाक, उनीहरुको खाद्यान्न बनतरुल, गिठा, भ्याकुर, पिँडालु र स्याखु राखिएको छ । त्यस्तै, मगर जातिको सांस्कृतिक घरमा उनीहरुले प्रयोग गर्ने औजारहरु न्हाङली (नाङ्ग्लो), पिराँखु (पेरुङ्गो), खुर्पा ट्याक, खँचरी, मुजुरा, जाँतो, ओदान, ढिकी राखिएको छ। त्यसैगरी, मगर जातिको पर्वहरुमा खाइने मासको बटुक त्यहीँ पकाउँदै आगन्तुकहरुको स्वागत गर्ने गरिएको नेपाल मगर सङ्घ गैँडाकोट नगर अध्यक्ष मस्राङ्गी मगरले बताए ।

महोत्सवको सांस्कृतिक समितिका संयोजक समेत रहेका मगरले जनजातिहरुको संस्कृति लोप हुँदै गएकाले नयाँ पुस्तालाई यसबारे बुझाउन तथा संरक्षणका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन महोत्सवमा सांस्कृतिक घरहरु राखिएको बताए । जातीय सांस्कृतिक घरसँगै ती जातिहरुले प्रयोग गर्ने परम्परागत सामग्री उपलब्ध भएसम्म राखिएको उनको भनाइ छ । ‘नयाँ पुस्ताले चासो नदिँदा आदिवासी जानजातिहरुको संस्कृति हराउँदै गइरहेको छ’ उनले भने, ‘हाम्रो प्रयासले नयाँ पुस्तालाई संरक्षणप्रति जागरण आउनसक्छ भने अन्य समुदायका व्यक्तिहरुलाई हाम्रो संस्कृति बुझ्न सहज हुन्छ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले आफूहरु आर्थिक उपार्जनसँगै संस्कृति संरक्षणप्रति पनि सचेत रहेको बताए । ‘जाजातिहरुको सांस्कृतिक घरमा अवलोकनसँगै उनीहरुको संस्कृतिबारे र प्रयोग गर्ने सामग्रीको बारेमा समेत जानकारी लिन पाइन्छ’ उनले भने, ‘जातीय खानाहरुसमेत सांस्कृतिक घरमा राखिएकाले फरक फरक संस्कृति एकैठाउँमा बुझ्न पाउने वातावरणसमेत बनेको छ ।’ सांस्कृतिक घरमा ती जातिले खाने परम्परागत खाद्यान्नहरु प्रदर्शन तथा बिक्रीका लागि समेत राखिएको उनले जानकारी दिए ।

‘थारुको सांस्कृतिक घरमा घोँङी, चिचर, हाँसका परिकार, ढिकर (चामलको पिठोलाई पानीको वाफमा उसिनेर पकाइने एकप्रकारको रोटी) प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ’, अध्यक्ष भट्टचनले भने, ‘त्यहाँ उनीहरुले माछा मार्न प्रयोग गर्ने ढडीया, जाल, ढिकी, जाँतो, हलो, जुवा, नारा लगायतका परम्परागत औजारहरु समेत राखिएका छन् ।’ पाँच वटै जातिका घरमा उनीहरुले प्रयोग गर्ने परम्परागत तर, लोपोन्मुख सामग्रीहरु प्रदर्शन गरिइएको छ ।

अध्यक्ष भट्टचनले जातजातिहरुको मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेका कारण यसको संरक्षणका लागि महोत्सवमा सांस्कृतिक घरहरु निर्माण गरिएको बताए । ‘परम्परागत बस्ती र संस्कृतिबारे अहिलेका पुस्तालाई जानकारी नै छैन’, उनले भने, ‘उनीहरुलाई हाम्रो जातजातिको सांस्कृतिक कुराहरुसहित भेषभूषा, रहनसहनबारे जानकारी गराउने उद्देश्यले लोपोन्मुख जातिलाई समेटर यस्तो घर निर्माण गरिएको हो ।’ मेला महोत्सवमा सांस्कृतिक घर निर्माण गरिँदा सबै समुदायलाई जातजातिको संस्कृति बारे जानकार र सचेत गराउन तथा संस्कृति पुस्ता हस्तान्तरणको लागि समेत महत्वपूर्ण हुने भट्टचनले बताए ।

महोत्सवको सांस्कृतिक समिति संयोजक मगरले नेपालको तराईदेखि पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई समेटेर महोत्सवमा सांस्कृतिक घर निर्माण गरिएको बताए । पहाडका गुरुङ, मगर तामाङ, भावर क्षेत्रका चेपाङ तथा तराईका थारु समुदायका कला, संस्कृति र उनीहरुको रहनसहन झल्किने सांस्कृतिक घरले इतिहासलाई जीवन्त राख्नुका साथै महोत्सवमा आकर्षण समेत बढाएको मगरले बताए । अहिलेका युवा पुस्ताले सुन्ने गरेको तर पहिले प्रयोगमा आउने गिठा, भ्याकुरको स्वाद लिन र संस्कृतिबारे प्रत्यक्ष अवलोकन गरेर बुझ्नका लागि सांस्कृतिक घरमा दर्शकहरु आउने गरेको उनले बताए ।

आदिवासी जनजाति महासङ्घ गैँडाकोटका पूर्वनगर अध्यक्ष ललितबहादुर गुरुङले जनजातिको मात्रै नभएर क्षेत्री, ब्राह्मण समुदायका सांस्कृतिक घरहरु समेत मेला महोत्सवमा राख्नुपर्ने बताए । ‘क्षेत्री, ब्राह्मण समुदायको समेत आफ्नै खालको कला र संस्कृति हुन्छ, ती लोप हुने अवस्थामा पुगेका छन् ।’ आफ्नो कला र संस्कृति सबैलाई प्यारो हुने उल्लेख गर्दै मेला महोत्सवमा राखिने सांस्कृतिक पहिचानले एकअर्काको संस्कृति बुझ्न तथा नेपालीहरुको बीचमा भाइचाराको सम्बन्ध प्रगाढ बनाउन अझ मद्दत पुग्ने पूर्व अध्यक्ष गुरुङको भनाइ छ ।

अन्यत्रबाट आएर नवलपुरमा बसोबास गर्दै आएका जातजतिको पहिचान र उनीहरुको मौलिकताका लागि सांस्कृतिक घर निर्माणमा पहल गरेको उनले बताए । आफूहरुको संस्कृति लोप हुने अवस्थामा पुगेका कारण हरेक दर्शकले देखुन् र जान्न पाउन् भन्नकै लागि महोत्सवमा सांस्कृतिक घरसँगै उनीहरुको रहनसहन झल्किने परम्परागत औजार तथा खाद्यान्नहरु राखिएको गुरुङको भनाइ छ । यस महोत्सवमा प्रवेश गर्ने जो कोहीको आँखा प्रवेशद्वारसँगै रहेको सांस्कृतिक घरमा गएर ठोक्किने गरी सुरुमै निर्माण गरिएकाले पनि चासोका साथ यसलाई लिइएको छ ।

निकै कलात्मक तरिकाले निर्माण गरिएका घरहरुको छानो खरले छाएका छन् । बाँसले बेरिएको घरमा माटोले लिपपोत गरेर भित्तामा जातीय संस्कृति झल्किने विभिन्न कला र आकृति कोरिएको देख्न पाइन्छ । महोत्सवमा सांस्कृतिक घर निर्माणका लागि तिनै जातिका कालीगढहरु प्रयोग गरिएको थियो । चितवनको भरतपुरमा महोत्सव हेर्न आएका युवा रामप्रसाद खनालले महोत्सवमा रहेका सांस्कृतिक घरले जनजातिको कला र संस्कृतिबारे नजिकबाट बुझ्न आफूलाई मद्दत गरेको बताए ।

‘भावर क्षेत्रमा बसोबास गर्ने चेपाङको बारेमा धेरै सुनेको थिएँ, उनीहरुले खाने कन्दमुलको बारेमा सुनेको थिएँ, तर देख्न पाएको थिइनँ’, खनालले भने, ‘गण्डकी प्रदेश महोत्सवमा आएर चेपाङसहित अन्य जातिको जातीय पहिचानको बारेमा प्रत्यक्षरुपमा देख्न र बुझ्न पाएँ ।’ महोत्सवमा उहाँले जनजातिको परम्परागत घरसँगै उनीहरुको मौलिकता झल्किने खाना तथा संस्कृति राखिनु संस्कृति संरक्षणको राम्रो प्रयास भएको बताए ।

कास्कीको पोखराबाट यस महोत्सवमा पुगेकी सुजाता कुँवरले जीवनमा कहिल्यै अनुभव नगरेको ढिकर, घोँङी देख्न र चाख्न पाउँदा रमाइलो लागेको बताइन् । ‘हाम्रो मौलिकता झल्किने सामग्रीहरुले हाम्रो इतिहास, कला र संस्कृतिबारे बुझ्न त मद्दत गरेकै हुन्छ’, उनले भनिन्, ‘त्यसका साथ साथै आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका सँगै संस्कृति संरक्षणमा समेत महत्वपूर्ण टेवा पुर्‍याएको हुन्छ ।’ संस्कृति बुझ्न र उनीहरुले प्रयोग गर्ने परिकार पकाएको र पकाउने तरिकाबारे बुझ्दा खानाका पारखीहरुका लागि फाइदा पुग्ने उहाँको भनाइ छ। 

धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्नेमा जोड दिएका छन् ।

बौद्ध विहार संघ ललितपुरको शनिबार अक्षश्वर महाविहारमा आयोजित ४९औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ कार्यक्रममा उनले धर्म निरपेक्ष हाम्रो मुलुकमा सबैलाई स्वतन्त्रतापूर्वक आफ्नो आस्थाअनुसार धर्ममा लाग्ने अधिकार रहेको तर यसलाई राजनीतिका रूपमा स्वीकार्य गर्न नसकिने दोहोर्‍याए ।

प्रधानमन्त्रीले धार्मिक सहिष्णुता कायम गर्दै अहिंसा, शान्ति र एकताका साथ धार्मिक अभ्यास गर्नुपर्ने बताउँदै भने, ‘बुद्ध धर्म र उनका विचारलाई राजनीतिका लागि दुरुपयोग गर्नुहुँदैन । बुद्धको दर्शन नै शान्ति, अहिंसा र मानवताका लागि हो । कुनै जीवको हिंसा नगर भन्ने बुद्धवादको सार हो । बुद्ध धर्मका शिष्यहरू नै यस धर्मका रक्षक हुन् । हामीले बुद्धवादलाई युवाहरूमाझ फैलाउनुपर्छ । त्यसका लागि म मेरो तर्फबाट सक्दो काम गर्छु । यस धर्ममा करुण, स्नेह र मानवीयता छ । निःस्वार्थपन छ । त्यसैले यसलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कुरालाई निषेध गर्नुपर्छ ।’

पाँच वर्षअघि भियतनाममा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आफूले भाग लिएको र त्यस्ता सम्मेलन संयुक्त राष्ट्रसंघको आयोजनामा नेपालमा गर्ने कुराकानी भएका बेला कोभिड महामारीले असर गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीमा आफूले पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण गराएको स्मरण गरे।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले बुद्धका शिक्षा र दर्शनलाई प्रचार र प्रवर्द्धनमा योगदान दिने लोटस रिसर्च सेन्टर र डुण्डुबहादुर बज्राचार्यलाई सम्मान गरे ।

बौद्ध विहार संघ ललितपुरका अध्यक्ष नानीकाजी शाक्यले पुर्खाहरूले सृजना गरेको बौद्ध धर्मसम्बन्धी सम्पदाले पर्यटन प्रवर्द्धनमा उल्लेख्य योगदान दिएको बताए । बौद्ध विहार संघको स्थापना २०३२ साल मङ्सिर १ गते भएको हो ।

भ्रष्टाचारको विरोध गर्नेहरुलाई सरकारले दबाउन खोज्योः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीहरुलाई रक्षा गर्ने भएको आरोप लगाएका छन् ।

माओवादी काभ्रे–काठमाडौं सम्पर्क समितिको भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचारको विरोध गर्नेहरुलाई सरकारले केही न केही बहानामा दबाउन खोजेको आरोप लगाएका हुन् ।

उनले भने, ‘भ्रष्टाचारीहरुलाई जोगाउनकै लागि अप्राकृतिक ढंगले पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएका छन् । यहाँसम्म आउँदा उनीहरुको उद्देश्य सुशासन होइन, भ्रष्टाचारीहरुलाई रक्षा गर्ने र त्यसका विरोध गर्नेहरुलाई कुनै न कुनै रुपले दमन गर्नेतिर केन्द्रित छन् ।’

उनले कांग्रेस र एमाले जस्ता संसदवादीसँग मिल्दा फोहोर आएकोले पखाल्न पनि नयाँ आन्दोलनमा जानुपर्ने बताए । उनले अहिले सरकारबाट बाहिरिएपछि माओवादीलाई चुनौतीसँगै अवसर प्राप्त भएको बताए ।

रुकुम पश्चिममा बस दुर्घटना हुँदा नौ जना घाइते

त्रिवेणी (रुकुम पश्चिम) । काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।


प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना हुँदा धादिङ खाग्री गाउँपालिका–१ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, सोही गाउँपालिका–६ का २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट–९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका–७ का २६ वर्षीय प्रकाश मगराठी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । 


अन्य घाइतेमा आठबिसकोट–११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका–८ का ४५ वर्षिया भीमकुमारी चँदारा, उनका १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका–५ का २८ वर्षीय आकाश काफ्ने र जाजरकोट नलगाड–१२ की २५ वर्षिया किसङकुमारी विक रहेका छन् । 


घाइते सबै अहिले नगर अस्पताल राडीमा उपचार भइरहको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।

किमाथाङ्का भन्सार कार्यालयमा छैनन् कर्मचारी

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी नै छैनन् ।

नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन् । भन्सार कार्यालयमा कर्मचारीविहीन हुँदा भोट खोलावासीले सास्ती पाएका छन् ।

किमाथाङ्का भन्सार कार्यालय गत कात्तिक ७ गतेदेखि एक जना कार्यालय सहयोगीको भरमा छाडिएको छ । भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि कार्यालय सहयोगीको भरमा छ ।

उत्तरी क्षेत्र किमाथाङ्कामा विसं २०३५ मा भन्सार कार्यालय स्थापना भएको थियो । द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा रहेको छ ।

भन्सार कार्यालय अहिले कोष तथा लेखा नियन्त्रकको कार्यालय भवनमा राखिएको छ । उता किमाथाङ्का सीमा भन्सार कार्यालयले करिब २३ वर्षदेखि सदरमुकाम खाँदबारीमै राखेका कारण सेवाग्राहीले सास्ती पाइरहेका छन् ।

किमाथाङ्का सीमा भन्सारको कामका लागि तीन–चार दिनको पैदल यात्रा तय गरेर सेवाग्राहीले राजस्व बुझाउन सदरमुकाम खाँदबारी नै आउनुपर्ने बाध्यता रहेको छ । भन्सार कार्यालय सदरमुकाममै भएपछि सेवा झन्झटिलो भएको हो ।

उत्तरी क्षेत्र किमाथाङ्का नाका गत जेठ १२ गते सञ्चालनमा आए पनि भन्सार कार्यालय नहुँदा भोट खोलावासीले सास्ती पाएका छन् ।

भन्सार कार्यालयले गत वर्ष रु ७५ हजार ५५७ राजस्व सङ्कलन भएको थियो । जेठ १२ गते नाका सञ्चालनमा आएपछि किमाथाङ्का भन्सार कार्यालयले एक लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

किमाथाङ्का नाकाबाट खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलोक्ट्रोनिक, जुडिबुटीलगायत सामान आयात–निर्यात गर्दा तीन–चार दिन पैदल हिँडेर सरदरमुकाम खाँदबारी आउनुपर्ने बाध्यता छ ।

किमाथाङ्कावासी सीमापारीको चाँगा, देन्दाङ बजारमा सिमापासका आधारमा चिनियाँ बजारमार्फत सामान आयात गर्दै आएका छन् ।

किमाथाङ्का सीमा भन्सार नाकामा ८० प्रतिशतभन्दा बढी चौरीको पुच्छर आयात हुने गरेको छ । खाँदबारीदेखि किमाथाङ्काको दूरी एक सय ६२ किमि छ ।

जनकपुरधामबाट विश्व हिन्दूपरिषद्को अगुवाईमा विवाह पञ्चमीका लागि तिलकसहित अयोध्या पठाइयो निम्तो

जनकपुरधाम । विवाहपञ्चमी महोत्सवमा सीताको ससुराली भारतको अयोध्यामा जन्तीलाई निम्तो दिनका लागि जनकपुरधामबाट विश्व हिन्दुपरिषद्को अगुवाईमा तिलकसहित निमन्त्रणापत्र लिएर पठाइएको छ।

भगवान् सीतारामको विवाहलाई लिएर ५ सयको सङ्ख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि निमन्त्रण पत्रसहित अयोध्याका लागि आज प्रस्थान गरेका छन् ।

तिलक लिएर जाने टोलीलाई मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाइ गरेका छन् । मुख्यमन्त्री सिंह मङ्सिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम छ । तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाइमा राम मन्दिर ट्रस्टका चम्पत रायलाई हस्तान्तरण गरिनेछ ।

मुख्यमन्त्री सिंहले तिलक उत्सव भव्यताका साथ सम्पन्न हुनेमा विश्वस्त रहेको बताएका छन् । प्रत्येक पाँच वर्षमा अयोध्याबाट जन्ती आउने र त्यसका लागि मधेश प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। त्रेता युगदेखि कायम सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा उनको जोड थियो ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले नेपाल र भारतबिचको प्राचीन सम्बन्ध रहेको र यो सम्बन्ध कहिल्यै कमजोर हुनु नहुने बताए ।
जानकी मन्दिरले पहिलोपटक परम्परालाई भंग गर्दै विश्व हिन्दु परिषद्को अगुवाईमा तिलक पठाएको छ । विगतमा ठाकुर हजामले तिलकसहित निमन्त्रणा लिएर अयोध्या जाने परम्परा थियो ।

विवाहपञ्चमी यही मंसिर २१ गते जनकपुरधाममा प्रत्येक वर्ष झैँ यसपटक पनि धुमधामसाथ सात दिवसीय कार्यक्रम गरी मनाइने छ ।

डढेलोको खतराका कारण दक्षिणपूर्वी अस्ट्रेलियाका सहरहरू खाली गर्न आदेश

सिड्नी । दक्षिणपूर्वी अस्ट्रेलियाली सहरका बासिन्दाहरूलाई सम्भावित डढेलो (बुशफायर) को जेखिमका कारण वासस्थान खाली गर्न आदेश दिइएको छ ।
दक्षिणपूर्वी राज्य भिक्टोरियाका अधिकारीहरूले शनिबार अष्ट्रेलियाका पश्चिमी र दक्षिणपश्चिमी समुदायहरूका लागि आपतकालीन चेतावनी जारी गरेका छन् ।

अधिकारीहरुले चेतावनीमा जेखिम न्युनिकरणको सुरक्षित विकल्प निकासी भएको उल्लेख गर्दै अवस्था धेरै बिग्रन सक्ने र यहि बसेमा आपतकालीन सेवासमेत प्रवाह गर्न नसक्ने तथा गम्भीर चोटपटकसहित मृत्युको जोखिम हुन सक्ने जनाएका छन् ।

मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी आगलागीको खतरा रहेको पूर्वानुमान गरेको छ ।

मेलबर्नबाट करिब एक सय किलोमिटर पश्चिममा रहेको सानो भिक्टोरियन सहर डेरेलमा लागेको आगोसँग लड्न २० वटा भन्दा बढी फायर ट्रकहरू तैनाथ गरिएको जनाइएको छ ।

अधिकारीहरूले शनिबार उत्तरपश्चिम भिक्टोरियामा आगो पूर्ण प्रतिबन्धको घोषणा गरी मुलुकभर सतर्कता अपनाउन सल्लाह दिएका छन् ।

भिक्टोरियाको धेरै भागमा भने भारी वर्षाको पूर्वानुमानका साथ आइतबार अवस्था सहज हुने अपेक्षा गरिएको छ ।

‘डोरी’मा अञ्जना अनुबन्ध

काठमाडौं । अभिनेत्री अञ्जना बराइली चलचित्र ‘डोरी’मा अनुबन्ध भएकी छन् । चलचित्रमा अञ्जनालाई अनुबन्ध गरिएको निर्देशक अरुण लामाले बताए । लामाका अनुसार यो चलचित्रमा अञ्जनाको प्रमुख भूमिका रहनेछ । चलचित्र मंसिर दोस्रो साताबाट छायाँकन थाल्ने योजना छ ।

अञ्जनासँगै यस चलचित्रमा अभिनेता प्रकाश घिमिरे पनि अनुबन्ध भएका छन् । जी सेभेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा यसअघि कलाकारहरू प्रवीण खतिवडा, शिशिर वाङ्देल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन र वीरेन्द्र सिंह कुशवाहा अनुबन्ध भइसकेका छन् ।

चलचित्रमा हाँसो, त्रास र असफलतासहितको संघर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने निर्देशक लामाले बताए । चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । यतिबेला अञ्जनाले अभिनय गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले तेस्रो हप्तामा पनि दर्शकको भरपुर साथ पाइरहेको छ ।

रूसद्वारा अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध

मस्को । रूसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रूसी सरकारले जनाएको छ ।
स्रोतका अनुसार प्रतिबन्धहरू अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थाहरूसँग विदेशी व्यापार सम्झौता अन्तर्गत लागू हुने छन् । प्राविधिक र निर्यात नियन्त्रणको लागि संघीय सेवाले जारी गरेको इजाजतपत्र अन्तर्गत वितरण गर्न अनुमति दिइने छ ।

प्रतिबन्धले युरेनियमको लागि रूसमा निर्भर अमेरिकाको आणविक उर्जा आपूर्तिमा अभाव खडा गर्ने आकंलन गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाईडेनले गत मे महिनामा हस्ताक्षर गरेको सन् २०४० सम्म रूसी युरेनियम आयातमा प्रतिबन्ध लगाउने अमेरिकी कानून पछि यो कदम चालेको जनाइएको छ ।

अमेरिकी तथ्याङ्क अनुसार यस वर्ष रुसी युरेनियमको कुल खरिद ५७४ मिलियन डलर पुगेको छ जुन अघिल्लो बर्षको तुलनामा लगभग ३२ प्रतिशतले कम हो ।

इमान्दारीपूर्वक करका लक्ष्य पूरा गर्न कर्मचारीहरुलाई अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीले कार्य सम्पादन कमजोर बनाउन नहुने बताए ।

उनले भने,’विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक छैनन् । गत आर्थिक वर्षको तुलनामा अहिले प्रगति कमजोर देखिएको छ । तोकिएको कार्य सम्पादनमा थप गम्भीर भएर लाग्नुहोस् ।’

असामान्य अवस्थामा सामान्य तरिकाको काम गराइले लक्षित राजस्व सङ्कलन हुन नसक्ने जनाउँदै अर्थमन्त्री पौडेलले कर प्रशासनलाई आधुनिकीकरण गर्ने, लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, करको दायरा विस्तार गर्ने, कर प्रशासनसँग जोडिएका काममा समय र लागत घटाउने गरी काम गर्नुपर्ने बताए ।

अनिवार्य प्रकृतिका दायित्व बढ्दै गएको, सार्वजनिक ऋणको आकार ठूलो हुँदै गएको र साँवा ब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको अवस्थामा आन्तरिक राजश्वको दायरा बढाएर लक्ष्यअनुसार उपलब्धी हासिल गर्नसक्नुपर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।

राज्यलाई कर तिर्नु भनेको हरेक नागरिकको कर्तव्य मात्र नभई गौरवको विषय रहेको उनको भनाइ छ । “करदाता र कर प्रशासनबीच सोहार्दपूर्ण वातावरण बनाउन आवश्यक छ । कर प्रशासनले करदातालाई अनुचित ढङ्गले दुःख दिनु हुँदैन”, उनले भने ।

कार्यक्रममा अर्थसचिव डा रामप्रसाद घिमिरेले मुलुकको समग्र अर्थतन्त्र चलायमान बनाउने र सहज लगानीको वातावरण तयार पार्न सके करको दायरा आफै बढ्ने बताए । राजस्व प्रशासनलाई कसरी सुधार गर्ने भनेर सरकारले काम गरिरहेको उनको भनाई छ ।

उनले भने, ‘हाम्रो जिम्मेवारी कर सङ्कलनसँगै आर्थिक क्रियाकलापसमेत चलायमान बनाउनु हो । मुलुकभित्र लगानीको वातावरण बनाउन सके कर आफै बढ्छ ।’

अहिले नेपालको अर्थतन्त्रमा केही सुस्तता देखिए पनि खराब अवस्थामा भने नरहेको दाबी अर्थसचिव घिमिरेको छ । ‘हामीले अर्थतन्त्र खराब छ भन्ने भाष्य बनाउन हुन्न । हाम्रो रफ्तार पर्याप्त छैन तर, हिनताबोध गर्नुपर्ने अवस्था छैन’, उनले भने, ‘तरलता सहज अवस्थामा भएपनि लगानी र आर्थिक क्रियाकलाप विस्तार हुन सकेका छैनन् । निजी क्षेत्रको लगानी विस्तार हुन सकेन भने सरकारको लगानी मात्रले अर्थतन्त्र सुधार हुन सक्दैन ।’

निजी क्षेत्र कसरी चलायमान हुन्छ र लगानी बढ्छ भन्ने कुरामा पर्याप्त छलफल भएको अर्थसचिव घिमिरेले बताए ।

राजस्व सचिव दिनेश कुमार घिमिरेले निजी क्षेत्रका समस्या सुन्न कर प्रशासन तयार रहेको बताए । अहिले बजारमा समग्र मागमा सङ्कुचन आएकोमा त्यसलाई सुधार गर्ने प्रतिद्धता उनले जनाए । त्यस्तै, राजस्व क्षेत्र सुधारका लागि नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने राजस्व सचिव घिमिरेको भनाई छ ।

व्यक्तिगत आयकरतर्फ गत आर्थिक वर्ष सबैभन्दा बढी कर तिरेका व्यवसायी राजबहादुर शाहले राजनीतिक अस्थिरताका कारण मुलुकमा लगानीका लागि उचित वातावरण तयार हुन नसकेको बताए । हरेक वर्ष देशभित्र नयाँ उद्योग खुल्नु पर्नेमा पछिल्ला वर्षहरुमा क्रमशः उद्योगहरु बन्द हुँदै गएको पनि उनको भनाइ छ ।

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

काठमाडौं ।  विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाउन पुगेको छ ।

विश्व म्याराथनकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) काे २५औँ वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दाबेदारी प्रस्तुत गरेको थियाे । नर्वेले ८५ मत पाउँदा नेपालका तर्फबाट नेपालगन्ज म्याराथनले ६७ मत प्राप्त गर्न सफल भयाे ।

भियतनामकाे हनाेइमा जारी २४औँ वर्ल्ड कंग्रेसका दाैरान शनिबार भएको मतदान प्रक्रियाबाट सन् २०२६ मा हुने २५औँ वर्ल्ड कंग्रेस नर्वेमा हुने निर्णय गरियो । ‘१० मिनेटको भिडियो प्रस्तुतिले सबैलाई नेपालप्रति लाेभ्यायाे,’ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने, ‘अन्तर्राष्ट्रिय समुदायमा केही लबिङ पनि जरुरी हुँदाेरहेछ, त्यसमा हामी चुक्याैँ ।’

नर्वेले आसन्न कंग्रेस आयोजनाकाे अवसर पाए पनि सभाहलमा नेपालले धेरैको सहानुभूति बटुल्न सफल भएको ठकुरीले बताए । ‘नेपाललाई विश्वमञ्चमा नाेटिस गराउन सफल भइयाे, यसमा खुसी लागेको छ,’ ठकुरीले भने, ‘प्रयास गर्नेले नै जित्ने हाे, हामी एक कदमअघि बढेका छाैँ, सबैको मायाले याे ऊर्जा मिलेकाे हाे, नेपालगन्ज म्याराथन सम्बद्ध सबैप्रति कृतज्ञ छु ।’

संसारमै लाेकप्रिय इभेन्ट म्याराथनलाई आधिकारिकता दिने साझा संस्था एम्स हाे । एम्समा आवद्ध हरेक देशका म्याराथन आयाेजकहरू यतिबेला हनाेइमा जम्मा भएका छन् । चार दिने कंग्रेसमा नेपालबाट यसपटक नेपालगन्ज म्याराथन र पाेखरा म्याराथनले सहभागिता जनाएका छन् । धारा नेपालगन्ज म्याराथनकाे दशाैँ संस्करण २२ मंसिरमा हुँदै छ ।

स्थानीय तह उपनिर्वाचनः आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन

काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको मनोनय दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यलय स्थापन भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता अर्यालले जानकारी दिनुभयो । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा दोलखाको गौरीशङ्कर गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले जानकारी दिए ।

दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।

पुरुषले कार्यभार सम्हालेका स्थानीय तहमा महिला उम्मेदवार

आयोगले २०७९ सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेका स्थानीय तहको रिक्त पदमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिएको छ ।

आयोगको निर्देशनअनुसार जिल्ला समन्वय समिति कैलाली, जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख, दोलखाको गौरीशङ्कर, हुम्लाको सर्केगाड, बाजुराको स्वामीकार्तिक खापर र रुकुम पूर्वका पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदमा महिलाको मात्र उम्मेदवारी दर्ता हुनेछ ।

आसन्न स्थानीय तह उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले निर्देशन दिइसकेको छ । आयोगले २१ वर्ष उमेर पूरा भएको, उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा कुनै कानूनले अयोग्य नभएको उम्मेदवारको मात्र मनोयन दर्ता गर्न निर्देशन दिएको हो ।

आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ बमोजिम अयोग्य भएको व्यक्ति, गैरनेपाली नागरिक वा नेपालको नागरिक नभएको व्यक्ति र नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिलाई स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार मनोनयन नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

यसैगरी कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति, निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति उम्मेदवार बन्न नपाउने आयोगले जनाएको छ ।

भ्रष्टाचार, जबरर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्मकैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्तिको मनोनयत दर्ता हुने छैन ।

सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति, जातीय भेदभाव तथा छुवाछूत, बोक्सी वा बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।

कानुनबमोजिम कालोसूचीमा रहेको व्यक्ति कालोसूचीमा रहेको अवधिभर, कुनै कसूरमा कैदमा बसेको व्यक्ति कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको र प्रचलित कानूनले अयोग्य भएको व्यक्तिको मनोयन दर्ता नहुने आयोगले स्पष्ट पारेको छ । जिल्ला समन्वय समितिको उपनिर्वाचनको हकमा प्रचलित कानून बमोजिम निलम्बनमा रहेका पदाधिकारी उक्त अवधिभर उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

निर्वाचन आयोगले उम्मेदवारको मनोयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ । नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले रु चार लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले रु तीन लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले रु ५० हजारसम्म खर्च गर्न सक्नेछ ।

महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले रु तीन लाख, नगरपालिका वडाध्यक्ष पदका उम्मेदवारले रु दुई लाख र गाउँपालिकाका वडाध्यक्षले रु एक लाख ५० हजार खर्च गर्न सक्नेछ । उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् ।

भारतमा अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु

नयाँदिल्ली । भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार शुक्रबार राति करिब १०ः३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसियुमा आगलागी भएको थियो ।

घटनास्थलको फुटेजमा वार्डभित्र जलेको विस्तरा तथा पर्खालहरू देखिएका थिए भने आक्रोशित परिवारहरू अस्पताल बाहिर पर्खिरहेका थिए । यसै गरी आगलागीबाट उद्धार गरिएका बच्चाहरूलाई सुरक्षित ठाउँमा राखिएको थियो ।

आगलागीको घटनामा दश जना शिशुको दुखद मृत्यु भएको उत्तर प्रदेशका उप मुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारहरूलाई बताए । उनका अनुसार सातवटा शवको पहिचान भइसकेको छ भने तीन वटा शवको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

आगलागीको कारणबारे अनुसन्धान गरि जिम्मेवारहरू विरुद्ध कडा कारबाही गरिने पाठकले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी अविनाश कुमारले युनिटमा विद्युतीय सर्टसर्किटका कारण आगलागी भएको बताए ।

गम्भीर घाइतेहरूलाई चिकित्सा सेवा प्रदान गरिरहेको प्रमुख जिल्ला अधिकारी अविनाश कुमारलाई उदृत गरी हिन्दुस्तान टाइम्सले जनाएको छ ।

स्थानीय सञ्चार माध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै वातावरणमा अक्सिजनको स्तर बढाउन प्रयोग गरिने मेसिनरीको टुक्रामा आगलागी भएको जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स मार्फत बालबालिकाको मृत्युलाई ’हृदयविदारक’ घटना भन्दै निर्दोष सन्तान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोकाकुल परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्दै सम्बन्धित अधिकारीहरूलाई राहत र उद्धार कार्य गर्न निर्देशन दिएका छन् ।

अदृश्य पुरुषहरू

विश्वव्यापी स्तरमै अपेक्षा गरिएभन्दा तीव्र रूपमा प्रजननदरमा ह्रास आएको छ। चीनमा हालसम्मकै तल्लो स्तरको जन्मदर देखिएको छ। ल्याटिन अमेरिकी देशहरूमा पनि आधिकारिक जन्मसङ्ख्या पूर्वानुमानभन्दा निकै कम देखिएको छ।

मध्यपूर्व र उत्तरी अफ्रिकामा समेत नाटकीय रूपमा जन्मदरमा गिरावट आएको छ। मानिसहरूले कम सन्तान जन्माएका कारण यस्तो भएको हो। संसारका लगभग हरेक देशमा बहुसङ्ख्यक मानिसहरूका सन्तान छैनन्।

सन्तान नजन्माउनुका कारण

धेरैका निम्ति ‘सन्तान नहुनु’ एउटा छनौट हो। अन्यका निम्ति यो जैविक समस्या हो। अन्य कैयौँका निम्ति यो फेरि अर्कै हो– विभिन्न कारकहरूको संयोगले गर्दा कुनै सन्तान बच्चा चाहेको भए पनि व्यक्तिले त्यो प्राप्त गर्न सक्दैन। समाजशास्त्रीहरू त्यसलाई ‘सामाजिक नि:सन्तानपन’ भन्छन्।

हालैको एउटा शोधले पुरुषहरूले र त्यसमा पनि विशेष गरी न्यून आय भएका पुरुषहरूले चाहेर पनि सन्तान प्राप्त गर्ने सम्भावना नहुने देखाएको छ। सन् २०२१ मा नर्वेमा गरिएको एउटा अध्ययनले पुरुष नि:सन्तानपनको दर अध्ययनमा सहभागीहरूको आयका आधारमा विभाजन गर्दा सबैभन्दा कम आय भएका पाँच प्रतिशत मानिसमा सबैभन्दा धेरै अर्थात् ७२ प्रतिशत रहेको निष्कर्ष निकाल्यो।

सबैभन्दा बढी कमाउनेहरूमा यो दर केवल ११ प्रतिशत मात्र भएको देखायो। यो अन्तर ३० वर्षमा लगभग २० प्रतिशतले फराकिलो भएको पाइयो। तीसको दशकमा चल्दै गर्दा रोबिन ह्याड्लीलाई असाध्यै बाबु बन्न मन लागेको थियो। विश्वविद्यालय नगए पनि उनी उत्तरी इङ्ल्यान्डस्थित एउटा विश्वविद्यालयमा प्राविधिक फोटोग्राफरका रूपमा काम गर्थे। बीसको दशकमा विवाह गरेका उनी श्रीमतीसँग सम्बन्धविच्छेद हुनुअघिसम्म सन्तानका निम्ति प्रयत्नरत थिए।

धितोको किस्ता तिर्न सङ्घर्ष गर्नुपरेका कारण उनलाई नयाँ सम्बन्ध विकास गर्न कठिन भयो। साथीभाइ तथा सहकर्मीहरू बाबु बनेपछि उनलाई केही गुमाएजस्तो लाग्यो। ‘केटाकेटीको बर्थ–डे कार्ड वा उनीहरूका सामग्रीहरूले तपाईँ के होइन वा के हुनुपर्थ्यो भन्ने स्मरण गराउँदो रहेछ। त्योसँग दु:ख जोडिएको हुन्छ,’ उनी भन्छन्।

स्वयंको अनुभवले उनलाई पुरुष नि:सन्तानपनबारे पुस्तक लेख्न प्रेरित गर्‍यो। त्यो लेख्दा उनले आफूमाथि ‘सन्तानोत्पादनलाई प्रभावित पार्ने सबैजसो कारणहरू; अर्थशास्त्र, जीवशास्त्र, घटनाक्रमको समय तथा सम्बन्धको छनौट’ले असर पारेको महसुस गरे। सँगसँगै उनले आफूले अध्ययन गरेका धेरैजसो उमेर तथा सन्तानोत्पादनसम्बन्धी अनुसन्धानहरूमा नि:सन्तान पुरुषहरूको उल्लेख नभएको पाए। उनका अनुसार राष्ट्रिय तथ्याङ्कहरूमा पनि त्यस्तै स्थिति थियो।

‘सामाजिक नि:सन्तानपन’को उदय

सामाजिक नि:सन्तानपनका पछाडि बच्चा जन्माउन आवश्यक पर्ने स्रोतको अभावदेखि सही समयमा सही व्यक्तिलाई नभेट्नुजस्ता विभिन्न कारणहरू छन्। तर फिन्ल्यान्डको पप्युलेशन रिसर्च इन्स्टिच्यूटकी समाजशास्त्री र जनसङ्ख्याविद् अन्ना रोट्किर्च त्यसको जरो अन्तै भएको ठान्छिन्। उनले युरोप र फिन्ल्यान्डमा २० वर्षभन्दा बढी समयदेखि सन्तानोत्पादन अभिप्रायको अध्ययन गरेकी छन्। उनले बालबालिकालाई हेर्ने दृष्टिकोणमा पनि गहिरो परिवर्तन आएको देखेकी छन्।

एसियाबाहिर फिन्ल्यान्ड विश्वमै सबैभन्दा बढी नि:सन्तानपन दर भएको देश हो। तर सन् १९९० को दशक र सन् २००० को पूर्वार्धमा यसले विश्वकै अग्रणी बालमैत्री नीतिहरूका माध्यमले घट्दो प्रजननदरसँग लडेर खुसियाली मनायो। फिन्ल्यान्डमा आमाबाबुले प्रशस्त बिदा पाउँछन्, शिशुको हेरचाह गर्न धेरै खर्च लाग्दैन र महिला–पुरुष दुवैले घरायसी काममा समान हिस्सेदारी लिन्छन्। तर सन् २०१० यता फिन्ल्यान्डको प्रजननदर झन्डै तीन गुनाले घटेको छ।

प्राध्यापक रोट्किर्चका विचारमा विवाह तथा सन्तानोत्पादनलाई एक समय आधारशिलाका रूपमा हेरिन्थ्यो। वयस्क जीवनमा प्रवेश गर्दै गर्दा त्यसो गर्ने चलन थियो। तर अहिले यसलाई जीवनका अन्य लक्ष्यहरू पूरा भएपछि अन्तिममा गर्ने कार्यजसरी लिने गरिन्छ। ‘सबै विभिन्न वर्गका मानिसहरूले सन्तानले जीवनमा अनिश्चितता बढाउने ठान्ने गरेको देखिन्छ,’ उनी भन्छिन्।

उनले फिन्ल्यान्डमा धनी महिलाहरू अनिच्छुक रूपमा नि:सन्तान हुने सम्भावना कम रहेको र कम आय भएका पुरुषहरू चाहँदाचाहँदै पनि सन्तानविहीन हुने सम्भावना रहेको पाइन्। यो पहिले हेरी ठूलो परिवर्तन हो। पहिले गरिब परिवारका मानिस वयस्कतातर्फ पहिले प्रवेश गर्थे, पढाइ छाड्थे, काम थाल्थे र युवावयमै परिवार अघि बढाउँथे।

पुरुषत्वमाथिको सङ्कट

पुरुषहरूका हकमा आर्थिक अनिश्चितताले चर्को प्रभाव पार्छ, जसले उनीहरूको सन्तान प्राप्त गर्ने सम्भावनालाई झनै कम बनाइदिन्छ। यसलाई समाजशास्त्रीहरूले ‘छनौटको प्रभाव’ भनेका छन्, जसमा महिलाहरूले जीवनसाथी रोज्दा आफूसरह वा आफूभन्दा माथिल्लो सामाजिक हैसियतको व्यक्ति हेर्छन्।

‘म बौद्धिक तथा आत्मविश्वासको कोणबाट आफू मैदानबाहिर पुगिरहेको थिएँ भन्ने देख्न सक्छु,’ रोबिन ह्याड्ली आफ्नो तीसको दशकमा टुटेको सम्बन्धबारे भन्छन्, “यसो सोच्दा छनौटको प्रभाव एउटा कारक हुन सक्छ।’ झन्डै ४० नजिक पुगेपछि उनले अहिलेकी श्रीमतीलाई भेटे, जसले उनलाई विश्वविद्यालय गएर विद्यावारिधि हासिल गर्न सघाइन्। ‘उनी नभएको भए म अहिले जहाँ छु त्यहाँ हुँदैनथेँ।’ समयक्रममा उनीहरूले सन्तानका बारेमा सोचे, तर ४० कटिसकेकाले धेरै ढिला भइसकेको थियो।

संसारभरका देशहरूमध्ये ७० प्रतिशतमा पुरुषले भन्दा महिलाहरूले शिक्षाको क्षेत्रमा राम्रो गरिराखेका छन्। येल विश्वविद्यालयकी समाजशास्त्री मार्सिआ इनहर्न यसले ‘सम्बन्धमा अन्तर’ (मेटिङ ग्याप) बढाएको बताउँछिन्। यसले गर्दा विश्वविद्यालयको डिग्री नहुने युरोपेली पुरुषहरू नि:सन्तानको समूहमा पर्ने गरेका छन्।

अदृश्य पुरुषहरू

धेरै देशहरूमा पुरुष प्रजनन क्षमतासँग सम्बन्धित व्यवस्थित तथ्याङ्क छैन किनभने उनीहरूले जन्मदर्ता गर्दा आमाको प्रजनन इतिहासमात्र लिन्छन्। यसको अर्थ नि:सन्तान पुरुषहरूको निश्चित मान्यताप्राप्त ‘श्रेणी’ छैन भन्ने हो। तथापि केही नर्डिक देशहरूले दुवैको तथ्याङ्क लिन्छन्। एउटा नर्वेली अध्ययनले धनी र गरिब पुरुषहरूबीचको सन्तानप्राप्तिमा ठूलो असमानता पहिचान भएको पत्ता लगाएको छ, जसमा असङ्ख्य पुरुषहरू ‘पछि छुटेका’ छन्।

भिन्सेन्ट स्ट्राबले अक्स्फोर्ड विश्वविद्यालयमा पुरुष स्वास्थ्य र प्रजननबारे अध्ययन गरेका छन्। जन्मदर घटेको सन्दर्भमा पुरुषको भूमिकालाई प्रायश: नजरअन्दाज गरिएको उनी बताउँछन्। उनी प्रजनन क्षमतामा गिरावट आउनुमा ‘पुरुष अस्वस्थता’को भूमिकाबारे रुचि राख्छन्। त्यो भनेको युवा पुरुषहरूले महसुस गर्ने एक प्रकारको भ्रम हो जुन महिलाहरू सशक्त हुँदै जाँदा पुरुषत्वबारे उनीहरूको अपेक्षा बदलिन्छ भन्ने सोचसँग सम्बन्धित छ।

यसलाई ‘पुरुषत्वको सङ्कट’ का रूपमा पनि लिने गरिएको छ, एन्ड्रयू टेटजस्ता दक्षिणपन्थी नारीवाद विरोधी व्यक्तित्वको उदयले पनि त्यो देखाउँछ। ‘धेरै नपढेका पुरुषहरूले विगतका दशकहरूमा भन्दा धेरै खराब प्रदर्शन गरेका छन्,’ स्ट्रबले भने।

धेरै उच्च र मध्यम आय भएका देशहरूमा प्राविधिक विकासले मानिसले गर्ने कामहरूलाई कम मूल्यवान र अधिक असुरक्षित बनाइदिएको छ, जसले विश्वविद्यालयका डिग्री भएकाहरू र नभएकाहरूबीचको खाडललाई फराकिलो बनाएको छ। यसले ‘मेटिङ ग्याप’ पनि फराकिलो पारेको छ र यसले पुरुषको स्वास्थ्यमा पनि महत्त्वपूर्ण प्रभाव पारेको छ।

‘विश्वव्यापी रूपमा लागुपदार्थको दुरुपयोग बढ्दै गएको छ र यसको प्रभाव प्रजनन गर्ने उमेरका पुरुषहरूमा सबैभन्दा बढी छ, चाहे त्यो अफ्रिका, दक्षिण अमेरिका तथा मध्य अमेरिकामा किन नहोस्।’ यी सबैले सामाजिक र जैविक प्रजनन क्षमतामा प्रभाव पार्छन्। ‘मेरो विचारमा सन्तानोत्पादन र यी सामाजिक र सांस्कृतिक परिवर्तनहरूबीचको कडी छुटिराखेको छ,’ उनी भन्छन्।

यसले पुरुषहरूको शारीरिक र मानसिक स्वास्थ्यमा आधारभूत प्रभाव पार्न सक्छ। स्ट्रब भन्छन्, ‘सम्बन्धमा रहेका पुरुषहरूको तुलनामा एकल पुरुषहरूको स्वास्थ्य खराब हुन्छ।’

के गर्न सकिन्छ?

स्ट्रब र ह्याडलीले सन्तानोत्पादनसम्बन्धी चर्चा लगभग पूर्णतया: महिलाकेन्द्रित भएको देखेका छन् र यसलाई सम्बोधन गर्न बनाइएका नीतिहरू पनि अधुरा पाएका छन्। स्ट्रबका विचारमा हामीले सन्तानोत्पादनको कुरा गर्दा पुरुषको स्वास्थ्यबारे पनि ध्यान केन्द्रित गर्नुपर्छ र बाबुले सन्तानको हेरचाह गर्दाका फाइदाबारे चर्चा गर्नुपर्छ।

‘युरोपेली सङ्घमा सयमध्ये एकजा पुरुषले शिशुको हेरचाहका निम्ति आफ्नो करिअरलाई विराम दिन्छन्, महिलाको हरेक तीनमध्ये एउटामा त्यस्तो हुन्छ,’ उनी भन्छन्। शिशुको पालनपोषण गर्नु पुरुष स्वास्थ्यका निम्ति राम्रो छ भन्ने प्रशस्त प्रमाणहरूका बावजुद यस्तो भइरहेको छ।

सन्तानविहीन महिलाहरूको सङ्गठन ‘नुन्का मड्रेस’ (नेभर मदर्स) मार्फत् इजबेलले मेक्सिकोमा ठूला अन्तर्राष्ट्रिय ब्याङ्कका केही प्रतिनिधिहरूसँग भेटिन्। उनीहरूले इजबेललाई भर्खरै बाबु बनेकाहरूलाई छ हप्ता बिदा दिँदा समेत कोही बिदा नबसेको बताए।

‘उनीहरूलाई यो छोरीमान्छेको काम हो भन्ने लाग्छ। ल्याटिन अमेरिकी पुरुषहरू त्यसरी सोच्छन्,’ उनी भन्छिन्। ‘हामीलाई राम्रो तथ्याङ्क चाहिन्छ,’ रोबिन ह्याड्ली भन्छन्। पुरुषको प्रजनन क्षमताको अभिलेख नराख्दासम्म यसलाई पूर्ण रूपमा बुझ्न सकिँदैन वा यसले तिनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने थाहा पाउन सकिँदैन।

प्रजननको चर्चामा पुरुषहरूको अदृश्यता अभिलेखभन्दा परसम्म फैलिएको छ। युवा महिलाहरूबीच उनीहरूको घट्दो प्रजनन क्षमताबारे सचेतना बढ्दै गर्दा पुरुष युवाबीच यसको चर्चा पनि हुँदैन।

पुरुषहरूमा पनि ‘जैविक घडी’ हुने बताउने ह्याड्ली अनुसन्धानतर्फ सङ्केत गर्दै ३५ वर्षपछि शुक्राणुको प्रभावकारितामा कमी आउने बताउँछन्। यी अदृश्य समूहलाई दृश्यमा ल्याउनु सामाजिक नि:सन्तानपनसँग जुध्ने एउटा उपाय हुन सक्छ। शिशुको पालनपोषणको परिभाषालाई व्यापक बनाएर पनि त्यसो गर्न सकिन्छ।

नि:सन्तानपनबारे टिप्पणी गर्ने सबै अनुसन्धानकर्ताहरू सन्तान नभएका मानिसहरूले केटाकेटी हुर्काउन महत्त्वपूर्ण भूमिका खेल्न सक्नेतर्फ जोड दिन्छन्। यसलाई ‘एलोप्यारेन्टिङ’ भनिने रोट्किर्च बताउँछिन्। मानव विकासका क्रममा एउटा शिशुको हेरचाहका निम्ति एक दर्जनभन्दा बढी हेरचाहकर्ताहरू हुने गर्थे।

डाक्टर ह्याड्लीले आफ्नो अनुसन्धानका क्रममा कुरा गरेका निःसन्तान पुरुषहरूमध्ये एकले आफूले स्थानीय फुटबल क्लबमा नियमित भेट्ने एउटा परिवारको कुरा सुनाए। ती व्यक्तिका अनुसार, स्कूलको एउटा कार्यका निम्ति दुईजना भर्खरका बालकहरूलाई हजुरबुवा–हजुरआमा चाहिएछ। तर तिनीहरूसँग कोही पनि थिएनन्।

त्यसपछि ती व्यक्तिले केटाहरूको हजुरबुवाको भूमिका निर्वाह गरेछन्। वर्षौँपछि ती व्यक्तिलाई फुटबल मैदानमा देख्दा उनीहरू ‘नमस्ते हजुरबा’ भन्ने गर्थे। त्यस्तो सम्मान पाउँदा राम्रो लाग्यो, उनले भने। प्राध्यापक रोट्किर्च भन्छिन्, ‘मेरो विचारमा अधिकांश सन्तानविहीन व्यक्तिहरू यस प्रकारका हेरचाहमा सामेल छन्, बस् त्यो देखिँदैन मात्र।’ ‘त्यो जन्मदर्ताको ढड्डामा पनि देखिँदैन, तर वास्तवमै महत्त्वपूर्ण छ।’

स्टेफनी हेगार्टी
बीबीसी ।