`

नुवाकोटमा मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

त्रिशूली (नुवाकोट) । नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो ।

दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको ग्रिनसिटी अस्पताल उनको काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले उनको खोजी भइरहेको उनले बताए ।

कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी

म्याग्दी । पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुने च्याङ्ग्राको भुवा आयात घटाउन उद्योगीहरूले डोल्पामा स्रोतको पहिचान गरेका छन् ।

डोल्पाको छार्काताङसेन गाउँपालिकामा पुगेर बिहीबार काठमाडौँ फर्किएको नेपाल पश्मिना उद्योग सङ्घको टोलीले म्याग्दीको बेनीमा पत्रकारसँगको भेटघाटका क्रममा त्यहाँ पनि सङ्कलन केन्द्र बनाएर भुवा लैजाने तयारी गरेको जानकारी दिए ।

सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले छार्काताङसेनमा पालिएका च्याङ्ग्राको भुवालाई पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्देश्यले स्थलगत भ्रमण, किसानसँग छलफल र नमूना सङ्कलन गरिएको जानकारी दिए।

“डोल्पामा प्रशस्त च्याङ्ग्रापालन भए पनि बजार नपाउने नभएकाले धेरै किसानले भुवा निकाल्ने गरेका छैनन् । निकालेको भुवा पनि चिनियाँ बजारमा जाने गरेको छ”, उनले भने, “पछिल्लो तीन वर्षयता मुस्ताङबाट भुवा सङ्कलन गरेर लैजाँदै आएका छौँ । डोल्पाको पनि भुवा थपियो भने कच्चा पदार्थको आयात कम हुन्छ ।”

डोल्पामा भुवाको सम्भाव्यता अध्ययनका लागि अध्यक्ष लामिछानेको नेतृत्वमा सङ्घका सचिव गीता श्रेष्ठ, कार्यकारी निर्देशक सृजना भट्ट, सल्लाहकार भीम शेरचन, उद्योगी किन्चु श्रेष्ठ र नेपाल फाइवर प्रोसेसिङ प्रालिका सञ्चालक छिरिङवाङदी गुरुङको टोली छार्का गएको थियो ।

कात्तिक ८ गते जोमसोमबाट डोल्पा गएको टोलीले छार्काका च्याङ्ग्रा फार्म अवलोकन, भुवाको नमूना सङ्कलन र किसान र जनप्रतिनिधिसँग छलफल गरेर फर्किएको हो । छार्काताङसेन गाउँपालिकाका उपाध्यक्ष कर्मा डुण्ढुकले भुवाको बजार सुनिश्चित गर्न, सङ्कलन गर्ने सीप र प्रविधि सिकाउन र सङ्कलन केन्द्र बनाउन प्रस्ताव गरेका थिए ।

मुस्ताङ हुँदै छार्का सडक सञ्जालमा जोडिन लागेको र बजार नजिक पर्ने भएकाले भुवा बिक्री गर्न पनि सजिलो हुने उनले बताए । समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको छार्काका करिब एक सय घर किसानले ३० हजारभन्दा बढी च्याङ्ग्रा पालेका छन् ।

वैशाख, जेठ र असार च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । बजारको सुनिश्चितता नभएकाले भुवा ननिकाल्ने भएकाले च्याङ्ग्राको शरीरबाटै झरेर खेर जाने गरेको छार्काका किसान कुन्साङ नामग्यालले बताए । भुवाले बजार पाएमा च्याङ्ग्रापालक किसानले अतिरिक्त आम्दानी गर्न पाउने उनले बताए ।

भुवाको नमूनाको गुणस्तर परीक्षण गरेपछि उपयुक्त देखिएमा किसानलाई भुवा सङ्कलन गर्ने आधुनिक सीप सिकाउने, प्रविधि हस्तान्तरण गर्ने र सङ्कलन केन्द्र स्थापना गरेर खरिद गरिने सङ्घका सचिव गीता श्रेष्ठले बताइन् ।

सङ्घको समन्वयमा मुस्ताङबाट २०७९ मा रु एक करोड ३४ लाख मूल्यको दुई हजार किलोग्राम, २०८० मा रु ९० लाखको भुवा खरिद भएको थियो । यस वर्ष प्रतिकिलो रु चार हजार पाँच सयका दरले एक हजार छ सय किलोग्राम भुवा खरिद गरेर लोमान्थाङको सङ्कलन केन्द्रमा राखिएको छ ।

च्याङग्राको भुवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । डोल्पामा चौरीको भुवालाई पनि कच्चा पदार्थका रूपमा प्रयोग गर्न अध्ययन भएको छ । प्राकृतिक रूपमा विरलै उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गरेर बनाएको धागो कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चा पदार्थ आयात घटाउन स्वदेशकै किसानबाट च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी किच्नु श्रेष्ठले बताए ।

हङकङ सुपर सिक्सेसमा इंग्ल्यान्डमाथि नेपालको जित

काठमाडौं । इङ्ल्यान्डलाई हराउँदै ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै ऐतिहासिक जित निकालेको हो ।

इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरको खेलमा १० बल बाँकी हुँदै भेट्टायो । नेपालले चार ओभर दुई बलमा लक्ष्य पुरा गर्यो । नेपालका कप्तान सन्दीप जोराले ५० रन बनाए ।

यस्तै रसिद खानले अविजित २१ र लोकश बलले अविजित २० रन बनाए । त्यसअघि मिसन रोड ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले शनिबार अस्ट्रेलियासँग खेल्नेछ ।

अहिलेको पुस्तामा पनि लोकप्रिय छन् तिहारका यी गीत

काठमाडौँ । उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ। घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन्। कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीत पनि समेटिएको छ।

‘स्वर्ग’ मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीतले तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ। पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ। अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्लको अभिनय रहेको यस गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन्। यादव खरेलको रचना गरेको सो गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गरेका छन्।

‘दियो बाली साँझको’ पनि गीत उत्तिकै लोकप्रिय छ। चलचित्र ‘चिनो’ मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गरेका छन्। कुशुम गजमेरले शब्द रचना तथा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेको सो गीतमा गायिका आशा भोस्लेले स्वर दिएका छन्। निर्देशक तुलसी घिमिरेले चलचित्र तिहारको गीत र प्रसङ्गलाई कथावस्तुअनुसार नै प्रस्तुत गरेका छन्।

मनिला सोताङले गाएको चलचित्र ‘अन्याय’ मा समावेश ‘अधरमा आज उनकै छ’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो। गीतकार रत्नशमशेर थापाले शब्द रचना गरेको उक्त गीतमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेका छन्। अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायतका कलाकारहरू प्रस्तुत हुनुभएको सो गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्छ।

चलचित्र ‘विजय पराजय’ मा समावेश ‘निधारमा लार्काएर सप्तरङ्गी टीका’, चलचित्र ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’लगायतका गीतहरू नै तिहारमा देउसीभैलोसँगै सबैको रोजाइमा पर्ने गरेका छन्। नेपाली संस्कृतिलाई समेटेर यी गीतहरू अझै लोकप्रिय हुनुको कारण प्रसङ्ग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको सङ्गीतकार तथा गायक कर्णराज गिरीले बताए।

उनले भने, ‘ती समयमा कथामै गीत र चाडपर्वको प्रसङ्ग थियो। गीतिसङग्रहको तुलनामा चलचित्रका गीतहरू बढी प्रचार हुने गरेका छन् । त्यहिँ कारण तिहार मात्र नभई दसैँ, होलीलगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेका छन्।’

गायक गिरीले उल्लेखित गीतहरू चाडपर्वमा मात्र गुञ्जिने र लागत खर्च बढी हुने भएकाले नयाँ चलचित्रमा देख्न नपाइएको हुनसक्ने बताए। पछिल्लो समय चाडपर्व लक्षित गीतसङ्गीत नबन्ने गरेका होइनन्। तर, सङख्या निकै न्यून छ। पछिल्लो समय बनेका गीतसङगीतले माथि उल्लेखितलाई विस्थापित गर्न सकेको छैन। पुराना गीतको मिठास दर्शक तथा स्रोताको मनमा बसेको उनको भनाइ छ।

‘नयाँ गीतमा चाडपर्वको माहोल, संस्कृति र मिठास कम देखिएको हुन् सक्छ। मेरो रोजाईमा पनि तिहारका पुरानै गीत पर्ने गरेका छन्। नयाँ गीत चाडपर्वलाई लक्षित गर्दै तयार गर्ने निकै कम छन्’, गायक गिरीले भने।

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले बिहीबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि  एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । 

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा  ०.२५ र डिजेलमा १.०४ पैसाले ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

अबको पत्रकारिता प्रविधिमैत्री र रचनात्मक हुनुपर्छः अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यहीन र एकपक्षीय सूचना सम्प्रेषणले पत्रकारितामाथि धावा बोलेको टिप्पणी गरेका छन् ।

पत्रकारिताको आवरणमा गलत क्रियाकलाप रोक्न काउन्सिलले तदारुकता देखाइरहेको उनले बताए ।
शुक्रबारदेखि विविध मातृभाषामा समाचार दिन थालेको एक अनलाइनलाई शुभकामना दिने क्रममा अध्यक्ष बस्नेतले अबको पत्रकारिता प्रविधिमैत्री र रचनात्मक हुनुपर्नेमा जोड दिए ।

उनले भने, ’आजको डिजिटल दुनियाँमा प्रविधिमैत्री र सबैले अपनत्व लिने माध्यम भएमात्र पत्रकारिता फस्टाउँछ । समाचारका प्रस्तुतिमा फरकपन ल्याउनुपर्छ । तथ्य र आधारहीन, एकपक्षीय र हावादारी प्रस्तुतिले पत्रकारितामाथि धावा बोलेको छ । यसलाई रोक्न विश्वसनीय र रचनात्मक पत्रकारिताको खाँचो छ । अबको पत्रकारिताको धार यसतर्फ केन्द्रित हुनैपर्छ ।’

प्रेस काउन्सिलले तीन महिना यता रचनात्मक र समाधानमुखी पत्रकारितालाई सबै समाचार कक्षमा लागू गराउन विशेष अभियान थालेको छ ।

मिडियाको दुरुपयोग गर्दै आधारहीन, अश्लील र एकपक्षीय सामाग्री प्रकाशन गर्ने युट्युबसहित विभिन्न माध्यममाथि कडा निगरानी गर्दै आएको छ ।

काउन्सिलले युट्युब व्यवस्थापनसम्बन्धी बेग्लै कार्यविधि बनाई नियमन गर्दै आएको छ । दशैं अघि मात्रै काउन्सिलले ४३ वटा युट्युबलाई कारवाही गरेको थियो ।

रारा विमानास्थलको टर्मिनल भवन निर्माण अन्तिम चरणमा

मुगु । रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ, रङ्गरोगनबाहेक भवन निर्माणको सबै काम सकिएसँगै टर्मिनल भवन अन्तिम चरणमा पुगेको हो ।

भवन निर्माणको निर्धारित समयावधिमा काम सम्पन्न नभएपछि पटकपटक गरी चारपटक म्याद थप गरिएको बताउँदै विमानस्थलस्थित टर्मिनल बिल्डिङ एन्ड कन्ट्रोल टावरका आयोजना प्रमुख महेश नेपालीले हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

विसं २०७६ असोज १६ गते नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत एरोड्रम इन्जिनियरिङ विभाग र ओम बुद्ध इन्टरनेसनल प्रालिबीच ट्रमिनल भवन निर्माणका लागि सम्झौता भई सोही वर्षको कात्तिक १ गतेदेखि काम थालिएको थियो । विभिन्न बहाना बनाउँदै पहिलो सम्झौता अवधिको तीन वर्षमा काम सम्पन्न नभएपछि हालसम्म चारपटक म्याद गरिएको आयोजना प्रमुख नेपालीले बताए ।

निर्माण कम्पनीका प्रतिनिधि विवेक श्रेष्ठका अनुसार मौसमले साथ नदिएको अवस्थामा बाहेक करिब ३० दिनभित्र बाँकी काम सम्पन्न गरी भवन हस्तान्तरण गर्नेगरी काम भइरहेको जानकारी दिए । भौगोलिक कठिनाइ, यातायातको असुविधा, विभिन्न समयमा वर्षाले बाटो अवरुद्ध हुनु, दक्ष कामदारको अभावलगायत कारणले निर्माण समय सम्पन्न गर्न नसकिएको उनले स्वीकारे ।

विमानास्थलको टर्मिनल भवन निर्माणको वर्तमान, प्रगति र ढिलाइबारे जानकारी लिन बुधबार जिल्ला समन्वय समितिका संयोजक मञ्जनबहादुर कार्कीको संयोजकत्व कर्णाली प्रदेशका सांसदद्वय जितबहादुर मल्ल र मङ्गलबहादुर शाही, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका साथै जनपथ, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, पत्रकार र नागरिक अगुवाको उपस्थितिमा निर्माणाधीन भवनको निरीक्षण गरिएको थियो ।

निरीक्षणपछि भवन यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिएको जिल्ला समन्वय समितिका प्रमुख कार्कीले बताए । वर्षाले विमानास्थलको मुनितिर क्षति पुगी पहिरोको जोखिममा परेकाले उक्त समस्या समाधानका लागि सरोकार भएका निकायमा आवश्यक पहल र समन्वय गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिए ।

सुविधासम्पन्न ट्रमिनल भवन, यात्री सहायता कक्ष र प्रतीक्षालय नहुँदा विमानस्थलबाट बाहिरिने र भित्रिने यात्रीले चर्को घाम लाग्दा, झरी, हिउँ पर्दा तथा जाडोयाममा सास्ती भोग्दै आएका छन् । नागरिक उड्डयन कार्यालयले लामो समयदेखि काठको टहराबाट ‘एयर ट्राफिक कन्ट्रोल’को कार्य गर्दै आइएको जनाएको छ । 

फिलिपिन्समा विद्रोही लडाकुबीच भएको लडाइँमा कम्तीमा ११ जनाको मृत्यु

मनिला । दक्षिणी फिलिपिन्समा सशस्त्र विद्रोही समूहका लडाकु कमान्ड युनिटहरूबीच भएको विवाद तथा लडाइँमा कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

फिलिपिन्सको विद्रोही समूह मोरो इस्लामिक लिबरेसन फ्रन्ट (एमआइएलएफ)का सदस्यहरूबीच मागुइन्दानाओ डेल सुर प्रान्तको दुर्गम गाउँमा बुधबार दिउँसो भएको झडपमा उनीहरूको मृत्यु भएको फिलिपिन्सको सेना र प्रहरीले जनाएको छ ।

एक स्थानीय अधिकारीले लामो समयदेखि सशस्त्र लडाइँ चलिरहेको यस क्षेत्रमा मृतकको संख्या १९ पुगिसकेको बताएका छन् ।

प्रान्तीय उद्धार अधिकारी अम्बोलोडोका अनुसार उक्त गाउँ वरिपरि बसोबास गर्ने दुई हजार बासिन्दा लडाइँका क्रममा ज्यान बचाउन निकासी केन्द्र तथा अन्य आफन्तहरूकोमा आश्रय लिन बाध्य भएका छन् ।

दशकौँदेखि क्याथोलिक बहुल फिलिपिन्स मुस्लिम नेतृत्वको पृथकतावादी विद्रोहसहित हिंसात्मक विद्रोहबाट ग्रस्त छ । विद्रोहमा एक लाखभन्दा बढी मानिसले अकालमै मृत्यु वरण गरेका छन् ।

सन् २०१४ मा मनिलाले एमआइएलएफसँग हस्ताक्षर गरेको शान्ति सम्झौतामा यसका सदस्यहरूको बन्दुक र हतियारहरू निस्क्रिय पार्नुपर्ने सर्त समावेश छ ।

सेनाले बिहीबार एक विज्ञप्तिमार्फत झडपका क्रममा भएको शान्ति प्रक्रियाको उल्लङघनको विरोध गर्न–सम्झौताको सल्लाहकार निकायसम्बन्धी समन्वय समितिलाई पत्रचार गरेको थियो ।

फिलिपिन्स सेनाको ९०औँ इन्फेन्ट्री बटालियनले पनि बिहीबार एमआइएलएफ एड हॉक जोइन्ट एक्सन समूहका सदस्यसँग यस क्षेत्रमा लडाकू समूहबीच प्रतिशोध रोक्नका लागि हस्तक्षेपबारे छलफल गर्न संवाद गरेको विज्ञप्तिमा उल्लेख छ । 

उत्तर कोरियाले आइसिबिएम प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा तनावबारे चीनद्वारा चिन्ता व्यक्त

चीनले बिहीबार कोरियाली प्रायद्वीपको स्थितिप्रति ‘चिन्ता’ व्यक्त गरेको छ । प्योङयाङले आफ्नो आणविक निवारण बलियो बनाउन सबैभन्दा शक्तिशाली क्षेप्यास्त्रमध्ये एकको परीक्षण गरेको बताएपछि चीनले चिन्ता व्यक्त गरेको हो । 
रुसमा सैनिक पठाएको आरोप लागेपछि उत्तर कोरियाको यो पहिलो हतियार परीक्षण थियो ।

‘अहिलेसम्मको प्रारम्भिक मूल्याङ्कनअनुसार प्योङयाङले नयाँ ठोस चालित लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको हुनसक्छ’, दक्षिण कोरियाली सेनाले भनेको छ ।

बेइजिङको विदेश मन्त्रालयले बिहीबार कोरियाली प्रायद्वीपमा भएका घटनाक्रमप्रति चिन्तित रहेको बताएको छ ।

‘चीनले प्रायद्वीपमा शान्ति र स्थिरता कायम राख्ने र प्रायद्वीप मुद्दाको राजनीतिक समाधानको प्रक्रियालाई बढावा दिने कुरा सबै पक्षको साझा हितमा रहेको लगातार मान्दै आएको छ’, मन्त्रालयका प्रवक्ता लिन जियनले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने, ‘सबै पक्षले यस लक्ष्यतर्फ प्रयास गर्नेछन् भन्ने हामी आशा गर्दछौँ।’

यो प्रक्षेपण अमेरिकी र दक्षिण कोरियाली रक्षा प्रमुखहरूले प्योङयाङलाई रुसबाट आफ्ना सैनिकहरू फिर्ता बोलाउन आह्वान गरेको केही घण्टापछि भएको हो । उनीहरूले रुसी वर्दीमा रहेका उत्तर कोरियाली सैनिकहरू युक्रेनविरुद्ध सम्भावित कारबाहीका लागि तैनाथ गरिएको चेतावनी दिएका थिए ।

चीन उत्तर कोरियाको लामो समयदेखिको मित्रराष्ट्र हो । उत्तर कोरिया कूटनीतिक र आर्थिक समर्थनका लागि बेइजिङमा धेरै निर्भर छ । बेइजिङ र सोल पनि प्रमुख व्यापारिक साझेदारहरू हुन् ।

कुम्भकर्ण हिमालको फोहर संकलन

 ताप्लेजुङ । ताप्लेजुङमा रहेको कम्भकर्ण (फक्ताङलुङ) हिमालको आधार शिविर क्षेत्रमा फोहर संकलन गरिएको छ । फक्ताङलुङ गाउँपालिका–६ का महेन्द्र आधारभूत विद्यालयका शिक्षकहरुले हिमालमा भएको फोहर संकलन गरेका हुन् ।

कुम्भकर्ण हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमाल हो । यसको मनमोहक दृश्य र जैविक विविधता पर्यटकहरूको प्रमुख आकर्षण बनेको छ । हिमालको आधार शिविरमा फोहरका थुप्रै समस्या देखिएका थिए ।

यस समस्याको समाधान गर्न महेन्द्र आधारभूत विद्यालयका शिक्षकहरूले फोहर संकलन गरेको हुन् । विद्यालयका शिक्षक र शिक्षिकाहरूले फोहर सङ्कलनका लागि एक अभियान सञ्चालन गर्नुभएको निमित्त प्रधानाध्यापक विवश केदेमले बताए ।

केदेमका अनुसार फोहोर सङ्कलन गर्ने यो प्रयास हिमालको सौन्दर्य र जैविक विविधता संरक्षण गर्नका लागि अत्यन्त महत्त्वपूर्ण थियो । यस अभियानमा कुम्भकर्ण हिमालको आधार शिविरमा पुगेका शिक्षकले पर्यटक र तीर्थयात्रीद्वारा छरिएको फोहर संकलन गरेको बताए ।

शिक्षक अभिशेक लिम्बूका अनुसार विभिन्न प्रकारका फोहर प्लास्टिक, खाद्य वस्तुका खोल, कपडा आदि चार बोरा संकलन गरिएको थियो । कुम्भकर्ण हिमालमा फोहरको समस्या सौन्दर्यको ह्रास हो, तर यसले स्थानीय पारिस्थितिकी प्रणालीमा पनि गम्भीर असर पुर्याउने भएकाले फोहर सङ्कलन गरेको शिक्षिका सुशन तामाङले बताए ।

तामाङका अनुसार पर्यटकहरूले आफ्नो भ्रमणका क्रममा फोहर छोड्दा यसले प्राकृतिक वातावरणमा प्रदूषण दीर्घकालीन रूपमा हिमालको जैविक विविधता र स्थानीय जीवनशैलीमा नकारात्मक प्रभाव पार्न सक्छ ।

तिहारमा पटका पट्काउँदा प्रदूषण

काठमाडौँ  । वातावरणविद्हरुले उज्यालोको पर्वका रुपमा रहेको तिहार (दीपावली) मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन्।

पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड तथा धुलोका कणहरू वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन्।

वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासहरूले हावा प्रदूषित बनाउने र यसले श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउन नहुने बताए। ‘दीपावालीमा धेरैजसो बालबालिका पटका पट्काउन संलग्न हुने गर्छन्, पटकाका नजिक उनीहरु बस्छन्। यसले उनीहरुको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ,’ उनले भने, ‘पटका पट्काउँदा आउने ठूलो आवाजले जनावरहरूमा तनाव पैदा गर्नाका साथै मानिसहरूको मानसिक स्वास्थ्यमा पनि असर पुर्‍याउन सक्छ।’

जलवायु परिवर्तनविद् मञ्जित ढकालले पटका पटकाउँदा निस्कने आवाजले ध्वनि र धुवाँले वायु प्रदूषण बढ्ने भएकाले बढी सतर्कता अपनाउनाका साथै सरोकार भएका निकायले पटका पट्काउन नियन्त्रण गर्नुपर्नेमा जोड दिए।

‘पछिल्लो समय नेपालमा पटका पट्काउने दर केही कम भएको छ। दीपावलीमा भारतमा बढी पटका पट्काउँदा वायु प्रदूषण हुने भन्दै भारत सरकारले नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै आएको छ,’ उनले भने, ‘प्रदूषण रोक्नका लागि पटका पट्काउन पनि नियन्त्रण गर्न आवश्यक छ।’

जलवायु परिवर्तनविद् ढकालले पटकामा हानिकारक रसायनहरू हुने भएकाले माटो र पानी प्रदूषित बनाउने, वातावरणको सन्तुलन बिगार्ने भन्दै पर्यावरणमैत्री दियो बालेर शान्त रूपमा पर्व मनाउन सकिने बताए।

पटकाबाट निस्कने विषाक्ता धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, कलेजो, फोक्सो, मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या हुनसक्ने भन्दै सतर्कता अपनाउन जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन्।

पटका पट्काउँदा निस्कने ठूलो आवाजले मानसिक तनाव, निद्रा नलाग्ने, उच्च रक्तचापको जोखिम बढाउने, कानमा स्थायी क्षति पुर्‍याउन सक्ने भएका सावधानी अपनाउन जनश्वास्थ्यविद्हरुले आग्रह गरेका हुन्।

‘एयर क्वालिटी इन्डेक्स’ले भारतको दिल्लीमा दीपावलीको कारण प्रदूषण बढेको जनाएको छ। आज दिउँसोसम्मको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ८४ रहेको छ। अहिले दिल्ली विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत छ।

भन्सार विभागका प्रवक्ता मुक्तिप्रसाद श्रेष्ठले नेपाल–भारत खुला सिमाना रहेकाले भन्सार छलेर गैरकानुनी रुपमा पटका नेपालमा ल्याउने गरिएको बताए। चाडपर्वमा भारततर्फबाट सामान किनमेल गर्ने बढी हुने भएकाले पनि सिमाना गैरकानुनी रुपमा पटका नेपालमा भित्रिने गरेको उनको भनाइ छ।

मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विस्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था गरेको छ। उक्त व्यवस्थामा भनिएको छ,’कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका सर्त र बन्देज विपरीत हुने गरी कुनै पनि किसिमका विस्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन।’

विस्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ को उपदफा २ को (क) मा कडा विस्फोटक पदार्थ भए १० वर्षसम्म कैद र रु एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ। सोही उपदफाको (ख) मा नरम विस्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म र (ग) मा सामान्य विस्फोटक पदार्थ भए तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ।

निर्माण सुरु भएको आठ वर्षपछि प्यूठानको दम्ती सब–स्टेसन सञ्चालन

स्वर्गद्वारी (प्यूठान) । निर्माण सुरु भएको आठ वर्षपछि प्यूठानको दम्ती सब–स्टेसन सञ्चालनमा आएको छ । सांसद सूर्यबहादुर थापाले सब–स्टेसनको बुधबार उद्घाटन गर्नुभएको हो ।

विसं २०७२ देखि निर्माण सुरु गरेर अलपत्र छाडिएको सब–स्टेसन सञ्चालनमा आएको हो । नेपाल विद्युुत् प्राधिकरण प्यूठान वितरण केन्द्रद्वारा आयोजित सब–स्टेसन सञ्चालन कार्यक्रममा सांसद थापाले सब–स्टेसन सञ्चालनले जिल्लाभित्रको विद्युत् अनियमित हुने समस्या हट्ने विश्वास व्यक्त गरे । 

सबैको तदारुकता र सहकार्यले अलपत्र अवस्थामा रहेको सब–स्टेसन छोटो समयमै सञ्चालन भएको भन्दै सांसद थापाले विकास निर्माणका लागि बजेट सुनिश्चितता जस्तै कार्यान्वयनको पाटो महत्वपूर्ण हुने बताए ।

उनले मङ्सिरभरिमा नौवाहिनीको वडा नं १ र गौमुखी गाउँपालिका–३ रजवाराको आधा भागमा विद्युतीकरण नभएकाले विद्युतीकरण गर्नु आफूसहित सबैको पहिलो प्राथमिकता रहनुपर्नेमा जोड दिए ।

नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्र प्रमुख महेन्द्रकुमार दासका अनुसार सब–स्टेसन सञ्चालनमा आएसँगै विद्युत् वितरण र विद्युतीय जोखिमले हुने क्षति न्यूनीकरण गर्न मद्दत पुग्नेछ । सब–स्टेसनको निर्माण २०७२ असार ४ गते आरके विश्वनाथ जेभीले  सात करोड ४२ लाख ६७ हजार दुई सय ३९ मा सब–स्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरेर काम गरेको थियो । 

लाइन तान्नका लागि श्री त्रिपुरेश्वर जय दुर्गे जेभीले पाँच करोड ३६ लाख ६० हजार ६ सय ८२ मा २०७४ जेठ १७ गते ठेक्का सम्झौता गरेको थियो । काम सुरु गर्ने हराउने, नियामक निकायले सक्रियता देखाउँदा काम गरेजस्तो गर्ने हुँदा ९० प्रतिशत काम सम्पन्न गरी ठेकेदार कम्पनी सम्पर्कविहीन भएको वितरण केन्द्र प्रमुख दासले बताए ।

इन्द्रचोकमा तिहारको किनमेलको भीड(फोटोफिचर)

काठमाडौँको इन्द्रचोकमा बिहीबार तिहारको किनमेल गर्दै सर्वसाधारण नागरिक ।

तस्बिर : प्रदीपराज वन्त/रासस

नेपालगन्जमा डेङ्गु सङ्क्रमणको उच्च जोखिम

बाँके । नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुवात गरिएको छ ।

बाँके जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

“नेपालगन्ज डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान सुरु गरेका छौँ”, उनले भने, “उपमहानगरका सबै वडामा लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने कार्य भइरहेको छ ।”

नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट डेङ्गु तथा कीटजन्य रोग सार्ने लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुआत गरेको उनको भनाइ छ ।

उपमहानगरका २३ वटै वडामा अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत लामखुट्टेको बासस्थान हुने पानी जमेको टायर, खाल्डाखुल्डी सरसफाइ गरी लार्भाको नष्ट गर्ने कार्य गरिने चन्दले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले डेङ्गु रोग सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुवात गरेको उल्लेख गर्दै यो अभियानमा साथ र सहयोगका लागि नगरबासिन्दालाई समेत अनुरोध गरे ।

नेपालगन्ज बसपार्क क्षेत्र डेङ्गु रोग सङ्क्रमणको केन्द्रविन्दु हुनसक्ने भएकाले अभियानको सुरुवात बसपार्कबाटै गरिएको नगरप्रमुख बिष्टले बताए ।

बसपार्क क्षेत्रमा रहेका ग्यारेज, यातायात व्यवसायी र मजदुरहरुलाई प्रयागविहीन भएका टायर जथाभावी नछोड्न उनले अनुरोध गरे । डेङ्गु रोग सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनाका साथै सो बारेमा समुदायमा सचेतना फैलाउने काम पनि भइरहेको नगरप्रमुख बिष्टले बताए । 

तिहार बिदालगत्तै खेलाडीलाई पुरस्कार प्रदान गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्रीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराएका हुन् । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही  तीन लाख रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।

विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टोलीको बङ्गलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गर्दै आगामी सातौँ संस्करणमा हामी जित्छौँ भन्ने मर्मका साथ लाग्न आग्रह गरे ।

‘विजेता भइएन भन्दैमा दुःख नमानौँ । तेञ्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौँ पटकमा सर्वाेच्च शिखर सगरमाथा पुग्न सफल भएका थिए । आगामी यस्ता खेलमा हामीले जित्ने प्रयासलाई अघि बढाउनुुपर्छ ।’

प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रङ्गशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी गराए । त्यस अवसरमा खेलाडीहरुले खेल सकिएको भोलिपल्टै खेलमाथिको प्रतिक्रियासहित आगामी दिनमा पूर्वाधार विकासका प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकामा खुसी व्यक्त गरेका थिए ।

तिहारमा झिनियाँसँगै तयारी रोटीको माग उच्च

गलकोट । बागलुङ जिल्लामा तिहारको समयमा पछिल्लो समय झिनियाँ रोटीसँगै अन्य तयारी रोटीको खरिद बिक्री हुन थालेको छ । तिहारमा बढी प्रयोगमा आउने परिकारका रुपमा मानिएको झिनियाँ र चिनी रोटीसहित विभिन्न रोटीका परिकारको माग उच्च रहेको छ ।

झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछी यसअघि घरमा बनाउने रोटीका परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेका छन् । अहिले तिहार सुरु भएसँगै बागलुङ बजारका विभिन्न महिला उद्यमीले उत्पादन गरेका रोटीका परिकार खरिद गर्नेको घुइँचो लाग्ने गरेको हो ।

बागलुङ नगरपालिका–२ स्थित मरेपिपलमा झिनियाँसहित सात प्रकारका परिकार बनाउँदै आएकी मिरा श्रेष्ठले तिहार सुरु भएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायत परिकारको माग उच्च भएको बताइन् ।

एघार वर्षदेखि व्यावसायिक रुपमा रोटीका परिकार बनाएर बिक्री गर्दै आएकी उनले अन्य समयमाभन्दा तिहारमा बढी बिक्री हुने उल्लेख गरिन् । हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा बढी प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ ।

‘पहिला झिनियाँको मात्रै व्यापार हुन्थ्यो, पछिल्लो समय झिनियाँमा रङ्ग मिसाउन छोडेपछि सेतो झिनियाँ मात्रै बिक्री गर्छौँ । चिनी तथा फिनी, तयारी सेल रोटीको माग उच्च छ । तयारी रोटी बनाउन झन्झटिलो हुने भएकाले बजारबाट खरिद गरेर लैजाने प्रचलन बढेको पाइएको छ’, श्रेष्ठले भनिन्, ‘यस पटक चिनी, फिनी र सेल रोटीको माग बढी छ ।’

तिहारको समयमा झिनियाँको माग बढ्न थालेपछी श्रेष्ठसहित यहाँका अन्य घरेलु उद्यमी महिलालाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । महिला उद्यमी श्रेष्ठले यस पटक सेतो झिनियाँ बजारमा ल्याएको बताउँदै रङ्ग मिसाएका परिकार बिक्री गर्न पालिकाले रोक लगाएपछि रङ्ग मिसाउन बन्द गरिएको उनले उल्लेख गरिन्।

श्रेष्ठले दसैँतिहारको समयमा मात्रै तयारी रोटी बिक्री गरेर चारदेखि छ लाख आम्दानी हुने जानकारी दिइन्। तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहेपनि अन्य पूजाआजा र चाडपर्वमा पनि माग हुने गरेको उनले बताइन् ।

युक्रेनको खार्किभमा पुनः रूसी हमला, दुईजनाको मृत्यु, ३४ घाइते

युक्रेनी सहर खार्किभमा भएको रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको स्थानीय गभर्नरले बताएका छन् ।  

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार हवाई आक्रमणको माध्यमबाट रूसले प्रहार गरेको शक्तिशाली हतियार प्रमुख उत्तरपूर्वी शहर खार्किभको एक भवनमा ठोक्किएको थियो । 

गभर्नर ओलेग सिनेगोबोभले पछिल्लो आक्रमणमा एक बालक र एक वयस्कको मृत्यु भएको पुष्टि गर्दै केही मानिसरू अझै ‘भग्नावशेषमुनि फसेको हुन सक्ने’ बताए ।  

खार्किभ रूसी सीमाबाट करिब ३० किलोमिटर टाढा अवस्थित छ । यो साढे दुई वर्षको युद्धमा रूसी आक्रमणले ध्वस्त भएको छ ।

यसै सन्दर्भमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधबार साँझ आफ्ना पश्चिमी सहयोगीहरूलाई हमलाको प्रतिक्रियामा कार्य गर्न आह्वान गरेका छन् । उनले टेलिग्राममार्फत प्रतिक्रियात्मक कार्य गर्न ढिलाइ भएमा युक्रेनविरुद्ध सयौँ रूसी हमलाले युक्रेनी जनताको जीवन सङ्कटमा पर्ने बताए ।  

जेलेन्स्कीले पश्चिमी देशहरूलाई युक्रेनलाई प्रभावकारी र राम्रो सुरक्षाका साथै लामो दूरीका हतियारहरू उपलब्ध गराउन आग्रह गरेका छन् ।

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सोल । उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबै भन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरू मध्ये एकको परीक्षण गरेको बताएका छन् । उत्तर कोरियाली नेता किम जोङलाई रुसमा सैनिक पठाएको आरोप लगाएयता उनको पहिलो हतियार परीक्षण हो ।

परमाणु–सशस्त्र उत्तर कोरियाले आगामी हप्ता हुने अमेरिकी चुनावअघि अर्को अन्तर-महाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम) को परीक्षण वा परमाणु परीक्षणसमेत गर्न सक्ने थियो भनी सोलले एक दिनअघि चेतावनी दिएको थियो ।

यो प्रक्षेपण अमेरिकी र दक्षिण कोरियाली रक्षा प्रमुखहरूले प्योङयाङलाई आफ्ना सैनिकहरूलाई रुसबाट फिर्ता बोलाउन आह्वान गरेको केही घण्टा पछि भएको हो । उनीहरूले उत्तर कोरियाली सैनिकहरू रुसी वर्दीमा युक्रेन विरुद्ध सम्भावित कारबाहीका लागि तैनाथ गरिएको चेतावनी दिएका थिए ।

“अहिलेसम्मको प्रारम्भिक मूल्यांकन अनुसार प्योङयाङले नयाँ ठोस चालित लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको हुनसक्छ”, सोलको सेनाले भने । क्षेप्यास्त्र उच्च प्रक्षेपवक्रमा अर्थात् बाहिर नभई माथितिर प्रक्षेपण गरिएपछि करिब एक हजार किलोमिटर उडेको थियो ।

प्रक्षेपण गर्न छिटो र पत्ता लगाउन तथा पहिले नै नष्ट गर्न कठिन उन्नत ठोस–चालित क्षेप्यास्त्रहरूको विकास किमको लामो समयदेखिको लक्ष्य रहेको छ ।

उत्तर कोरियाले प्रतिबन्ध–विपरीत प्रक्षेपणको बचाउ गर्दै यसलाई ‘हाम्रो प्रतिक्रियाबारे प्रतिद्वन्द्वीहरूलाई सूचित गर्ने उद्देश्य पूरा गर्ने एउटा उपयुक्त सैन्य कार्य भनेको सरकारी कोरियन सेन्ट्रल न्युज एजेन्सीले किमलाई उद्धृत गर्दै बताएको छ ।

परीक्षणले उत्तर कोरियाको रणनीतिक क्षेप्यास्त्र क्षमताको हालैका रेकर्डहरू अपडेट गरेको बताइएको छ । किमले आफ्नो देशले आफ्नो परमाणु शक्तिहरू बलियो बनाउने आफ्नो लाइन कहिल्यै परिवर्तन नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

टोकियोले ‘आइसिबिएम वर्गको’ क्षेप्यास्त्र उत्तरले पहिले परीक्षण गरेको कुनै पनि भन्दा लामो समयसम्म उडेको बताएको छ । यो करिब ८६ मिनेट हवामा रहेको र सात हजार किलोमिटरको उचाइसम्म पुगेको थियो ।

“यसको उडान उचाई हामीले देखेको सबैभन्दा उच्च थियो भन्ने हामीले अनुमान गरेका छौँ”, जापानी रक्षामन्त्री जेन नाकातानीले पत्रकारहरूलाई भने ।

वासिङ्टनले यो प्रक्षेपणलाई ‘संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का धेरै प्रस्तावको स्पष्ट उल्लंघन’ भनेर निन्दा गरेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता शन सावेटले एक वक्तव्यमा बताए ।

प्रमुख क्षेत्रीय सहयोगीहरू सोल, वासिङ्टन र टोकियोले अमेरिकी रणनीतिक सम्पत्तिहरू समावेश गरेर संयुक्त सैन्य अभ्यासहरूद्वारा जवाफ दिने सोलले बताएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति युक सुक येओलले पनि देशले उत्तर कोरियामाथि ‘नयाँ स्वतन्त्र प्रतिबन्धहरू लगाउने’ र साझेदारहरू र संयुक्त राष्ट्रसंघसँग मिलेर प्योङयाङको ‘सुरक्षा परिषद् प्रस्तावहरूको नियमित उल्लंघन’ लाई दण्डित गर्न काम गर्ने बताए ।

कमला कि ह्यारिस ? राजनीति, लिङ्ग र जातिको सन्दर्भमा सन्तुलन कसरी कायम गर्ने ?

वासिङ्टन । नाममा के छ र ? कमला ह्यारिसका लागि यो आफ्नो अधिकार स्थापित गर्ने, अप्रत्यक्ष रूपमा आफ्नो पहिचानको उत्सव मनाउने र उनका ह्वाइट हाउस प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पका आक्रमणहरूलाई कुण्ठित पार्ने माध्यम हो ।

पूर्व रिपब्लिकन राष्ट्रपतिले आफ्ना र्यालीहरूमा ह्यारिसलाई उनको पहिलो नामले सम्बोधन गर्न जारी राखेका छन् । यो पूर्व डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार जो बाइडेनलाई ‘बाइडेन’ वा कहिलेकाहीँ ‘स्लिपी जो’ भनेर सम्बोधन गर्ने तरिकाभन्दा फरक छ ।

अठहत्तर वर्षीय अर्बपति ट्रम्पले जुलाईको अन्त्यमा एउटा र्यालीमा ‘उनको नाम भन्ने धेरै तरिका छन्’ भन्दै ‘कमला’ को उच्चारण बिगार्ने विन्दु पनि बनाएका छन् । “मैले भनेँ, चिन्ता नगर्नुहोस् । मैले के भन्छु त्यसको कुनै महत्त्व छैन । मैले गलत उच्चारण गरेँ भने मलाई केही फरक पर्दैन”, उनले भने ।

सतही रूपमा यो अपमानजनक उपनामहरूका लागि प्रसिद्ध एक राजनीतिज्ञको अर्को आक्रमण मात्र हो । तर एक महिला र रङ्गीन व्यक्तिको सन्दर्भमा ह्यारिसलाई उनको पहिलो नामले सम्बोधन गर्ने र त्यसलाई बिगार्ने ट्रम्पको जिद्दीले अझ विषाक्त स्वर लिन्छ ।

कोलोराडो स्टेट विश्वविद्यालयका सञ्चार प्राध्यापक कारिन भास्बी एन्डरसन भन्छन्, “महिला नेतृत्वकर्ताहरूलाई उनीहरूको पहिलो नामले सम्बोधन गर्नु प्रायः उनीहरूको अधिकारलाई कमजोर पार्न गरिन्छ ।”

उच्चारणको सवालमा ट्रम्पले ह्यारिसलाई ‘अन्य’ बनाउने प्रयास गरिरहेका छन् र आफ्ना समर्थकहरूलाई उनका बुबा जमैकाबाट र आमा भारतबाट आप्रवासी भएको याद दिलाउँदै छन् भन्ने केहीको विश्वास छ ।

आप्रवासीहरूविरुद्ध विशेषगरी बढ्दो लैङ्गिक विभाजन भएको चुनावमा जातिवादी र हिंसात्मक वाक्यांश प्रयोग गर्ने एक राष्ट्रपति उम्मेदवारद्वारा सिर्जना गरिँदा यो छाप अझ तीखो हुन्छ ।

एन्डरसन भन्छन्, “ट्रम्पले प्रायः हास्यास्पद प्रभावका लागि उहाँको नाम गलत उच्चारण गर्नु उल्लेखनीय छ । यसले दक्षिण एसियाली वंशको एक कालो महिला राष्ट्रपतिका लागि दौडिनु हाँसोको पात्र हो भन्ने कुरालाई अप्रत्यक्ष रूपमा सङ्केत गर्दछ”, एन्डरसनले भने, “तर उहाँले केवल गलत उच्चारण गर्न मात्र नभर्ई उहाँले आफ्नै नाम कसरी उच्चारण गर्ने भन्ने थाहा नभएको दाबी गर्नु पनि रोचक छ । यो चरम पुरुषवादी व्याख्या हो ।”

– ला–ला–ला–ला –

तथापि आफ्नो पहिलो नामको उत्सव मनाउने र यसको उच्चारण कसरी गर्ने भन्ने कुरामा जोड दिँदै ह्यारिसले ट्रम्पका आक्रमणहरूलाई उल्टाएकी छिन् ।

जब बाइडेनले जुलाईमा दौडबाट हटेर ह्यारिसलाई समर्थन गरे, अभियान टोलीको एक्स (ट्विटर) को खाता ‘बाइडेन एचक्यू’ बाट तुरुन्तै ‘कमला एचक्यू’ मा परिवर्तन भयो ।

र्यालीहरूमा ‘कमला’ का बोर्डहरूले उनका उपराष्ट्रपति उम्मेदवार टिम वाल्जलाई जनाउने ‘ह्यारिस वाल्ज’ पोस्टरहरूसँगै हल्लाइन्छन् ।

ह्यारिसले पृष्ठभूमिमा प्रकाशित ह्वाइट हाउससहित एक महत्त्वपूर्ण सम्बोधन गदाँ वासिङ्टनमा मङ्गलबार साँझ दशौं हजार मानिसले त्यो नाम जप्दै थिए । यसले क्षणको गम्भीरता र लगभग स्नेहपूर्ण स्वरबीचको भिन्नता सिर्जना ग¥यो ।

उच्चारणको सवालमा ६० वर्षीया उपराष्ट्रपतिका दुई भतिजीले अगस्टमा डेमोक्रेटिक राष्ट्रिय सम्मेलनमा एमी–विजेता अभिनेत्री केरी वासिङ्टनको सहयोगमा यो कसरी गर्ने भनेर बताउन मञ्च लिएका थिए ।

एक पक्षले ‘कमा’ – ‘वाक्यमा कमा जस्तै’ जप्दै र अर्कोले ‘ला’ – ‘ला–ला–ला–ला–ला जस्तै’ जवाफ दिँदै तीन जनाले भीडलाई विभाजित गरे ।

केही ह्यारिस अभियानका बोर्डहरूमा उच्चारणप्रति एक चतुर सन्दर्भ ‘एलए’ समेत लेखिएको छ । ह्यारिसको पहिलो नामको अर्को संस्करण उनका सौतेनी छोराछोरी एला र कोल एम्होफले दिएको उपनाम ‘मोमाला’ पनि छ ।

– म्याडम राष्ट्रपति –

बाइडेनको दौडबाट हट्ने नाटकीय निर्णयपछि ह्यारिस ढिलो र कम प्रसिद्धिका साथ प्रवेश गरे । आफ्नो पहिलो नामले आफूलाई चिनाउनु यो अन्तर पुर्ने विभिन्न रणनीतिमध्ये एक हो ।

यो एक चाल हो । यसलाई अमेरिकी राजनीतिज्ञहरूले आफ्नो सार्वजनिक व्यक्तित्व निर्माण गर्न प्रायः प्रयोग गरेका छन् ।

प्रगतिशील अमेरिकी सिनेटर बर्नी स्यान्डर्सलाई प्रायः उनको पहिलो नामले चिनिन्छ । यातायातमन्त्री पिट बुटिजिजलाई इन्डियानाको साउथ बेन्डमा उनको पूर्व पदको सन्दर्भमा व्यापक रूपमा ‘मेयर पिट’ का रूपमा चिनिन्छ ।

कमलाको रूपमा परिचित हुनुले ह्यारिसलाई आफ्नो असामान्य पृष्ठभूमि र उनको राष्ट्रपतित्वको सम्भावित ऐतिहासिक प्रकृतिको सङ्केतहरू छर्न पनि अनुमति दिन्छ ।

“उहाँलाई आफू एक महिला वा एक कालो र दक्षिण एसियाली महिला हुनुको स्पष्ट सम्झना गराउन आवश्यक छैन”, रट्गर्स विश्वविद्यालयकी राजनीति विज्ञान प्राध्यापक केली डिट्मार भन्छिन्, “उहाँले राजनीतिक अभियानमा पहिचानको एक किसिमको दृष्टिकोण प्रतिनिधित्व गर्नुहुन्छ जुन… स्पष्ट हुन आवश्यक छैन ।”

पुरुषवादी व्याख्याको सवालमा पहिलो पटक फर्स्ट जेन्टलम्यान बन्ने आशा राख्ने ह्यारिसका पति डग एम्होफसँग सटीक जवाफ थियो ।

“श्री ट्रम्प, मलाई थाहा छ तपाईंलाई उनको नाम उच्चारण गर्न धेरै समस्या छ”, अगस्टमा एक अभियान कार्यक्रममा एम्होफले भने, “यहाँ राम्रो खबर छ । चुनावपछि तपाईंले उनलाई केवल म्याडम राष्ट्रपति भन्न सक्नुहुन्छ ।” 

राष्ट्रपतीय अभियानबारे अमेरिकीहरू चिन्तित र निराश

वासिङ्टन । धेरैजसो अमेरिकीले चुनाव दिनतर्फ बढ्दा धेरै भावनाहरू महसुस गरिरहेका छन्, तर उत्साह तीमध्ये एक होइन ।

एपी–एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको नयाँ सर्वेक्षणअनुसार करिब १० मध्ये सात अमेरिकीले सन् २०२४ को राष्ट्रपतीय अभियानबारे चिन्तित वा निराश महसुस गरिरहेको र त्यति नै अनुपातले चासो राखेको बताएका छन् । केवल एक तिहाइले मात्र उत्साहित महसुस गरेको बताएका छन् ।

अभियानको अन्तिम हप्तामा २०२४ को राष्ट्रपतीय प्रतिस्पर्धामाथि व्यापक अनिश्चितताको भावना छाएको छ । हालैका सर्वेक्षणहरूअनुसार राष्ट्रियस्तरमा र प्रमुख स्विङ राज्यहरूमा प्रतिस्पर्धा कडा छ । त्यहाँ न त डेमोक्रेट कमला ह्यारिस न त रिपब्लिकन डोनाल्ड ट्रम्पले कुनै मापनयोग्य फाइदा देखाएका छन् ।

साथै उम्मेदवारहरूले एक अर्काको विपरीत समापन तर्कहरू प्रस्तुत गरेका छन् । ह्यारिसले ट्रम्प बदलाको भावना र आफ्नै व्यक्तिगत आवश्यकताहरूमा मग्न रहेको तर्क गरेका छन् भने ट्रम्पले आइतबार राति एक र्यालीमा ह्यारिसलाई ‘आफ्नो बाटोमा सबै कुरा नष्ट गरेकी रेल दुर्घटना’ भनेर सम्बोधन गरे ।

केही समूह घातक महामारीको बीचमा भएको चार वर्षअघिको चनावभन्दा अझै बढी चिन्तित छन् । सन् २०२० मा एपी–एनओआरसी सर्वेक्षणले करिब दुई–तिहाइ अमेरिकी चुनावबारे चिन्तित रहेको पाएको थियो । यो नयाँ नतिजाबाट तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता छैन तर पार्टी समर्थकहरूका लागि चिन्ता केही बढी छ ।

लगभग १० मध्ये आठ डेमोक्रेटले अहिले चिन्तित महसुस गरिरहेको बताएका छन् । यो अघिल्लो चुनावमा लगभग तीन–चौथाइबाट केही बढेको हो । लगभग दुई–तिहाइ रिपब्लिकन चिन्तित छन् र यो सन् २०२० मा करिब १० मध्ये छ को तुलनामा मध्यम वृद्धि हो ।

त्यसको विपरीत स्वतन्त्रहरूमा अर्थपूर्ण परिवर्तन भएको छैन । उनीहरूले डेमोक्रेट वा रिपब्लिकनहरूको तुलनामा कम चिन्ता महसुस गरिरहेका छन् । लगभग आधाले चिन्तित रहेको बताएका छन् । यो सन् २०२० को नतिजासँग मिल्दोजुल्दो छ ।

विगतका चुनाव चक्रहरूको तुलनामा अन्य भावनाहरू बढी तीव्र भएका छन् र यसमा उत्साह पनि समावेश छ । लगभग एक–तिहाइ अमेरिकीले सन् २०२४ को अभियानबारे उत्साहित महसुस गरिरहेको बताएका छन् । यो सन् २०१६ को चुनावको लगभग एक–चौथाइबाट बढेको हो । तर बहुमत अमेरिकीले यस वर्षको दौडबारे उत्साहित नभएको बताएका छन् ।

यद्यपि एउटा कुरा भने लगभग स्थिर रहेको छ र त्यो हो अभियानप्रति अमेरिकीहरूको निराशाको स्तर । करिब १० मध्ये सात अमेरिकीले निराश शब्दले उनीहरूको भावनात्मक अवस्था वर्णन गर्ने बताएका छन् । यो सन् २०२० सँग मिल्दोजुल्दो छ ।

तथापि ती अमेरिकीहरूका लागि क्षितिजमा उज्यालो छ– चाँडै चुनाव सकिनेछ । 

‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’

म्याग्दी । रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् ।


म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आउनुभएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीको भेडाबाख्राको सुरक्षा कुकुरले गरेका छन् ।

५४ वर्षदेखि भेडापालन गर्दै आउनुभएका ६८ वर्षीय भण्डारीले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि सातवटा ‘भोटे कुकुर’ पालेको बताए । घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने किसानका उदाहरण छन् ढोरपाटनका रनबहादुर र भगवतीका नन्दबहादुर ।


कुकुर नभएका भेडाबाख्रा, च्याङ्ग्रा, चौँरी, गाईभैँसीको गोठ नै हुँदैनन् । महिनौँसम्म एक्लै जङ्गलमा बस्ने गोठालाको साथी बनेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याललगायत जङ्गली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन् ।

राति, साँझ र बिहान गोठको वरपर रुगेर पहरा दिने कुकुरले जङ्गली जनावर र चोर आएको थाहा पाएपछि चर्को स्वरमा भुकेर सङ्केत गर्ने, लखेट्ने तथा भिडेर किसानलाई सहयोग गर्ने अन्नपूर्ण गाउँपालिका–१ दोवाका नेत्रप्रसाद राम्जालीले बताए ।

“कुकुरबिनाको गोठालाको कल्पना नै गर्न सकिँदैन,” ३२ वर्षदेखि गोठाला गर्दै आएका ७२ वर्षीय रनबहादुरले भने, “पशुहरु जङ्गलमा चराउन लैजाँदा उनीहरुको पछिपछि डुल्ने कुकुरले अप्ठ्यारो भिरमा जान दिँदैनन् । साँझ पर्न लाग्यो भने खेदेर गोठमा फर्काउँछ । चितुवा, ब्वाँसो, स्याल देखेपछि भुकेर सूचना दिन्छ । आक्रमण गर्न आउने जङ्गली जनावरलाई भगाउँछन् ।”

कुकुरको सहयोगविना गोठाला एक्लैले सयौँको सङ्ख्यामा रहेका गाई, भैँसी, भेडाबाख्रा, च्याङ्ग्राको रेखदेख गर्न नसक्ने भएकाले कुकुरलाई गोठालाको बफादार सहयोगी मान्ने गरिएको रनबहादुरले बताए ।

म्याग्दी, मुस्ताङ र ढोरपाटनका गोठालाहरुले तीस किलोग्रामभन्दा बढी तौल हुने, अग्ला र ठूला शरीर भएका देख्दै डरलाग्दा कम्तीमा दुईवटा भोटे कुकुर पालेका हुन्छन् । यस्ता कुकुरको छाउरालाई नै प्रतिगोटा १० हजारभन्दा बढी मूल्य पर्छ । आफ्ना मालिकलाई माया गर्ने, जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकीलाई सजिलो र सुरक्षति बनाएको कृषक राम्जालीले बताए।

बिहान र बेलुका पीठोको खोलेका साथै भेडाको दूध र मासु पनि गोठमा पालिने कुकुरका खाना हुन् । एक ठाउँमा दशदेखि १५ दिन गोठ राखेर वरपरका खर्क र जङ्गलको घाँस खुवाएपछि अर्को ठाउँमा सार्ने चलन छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाभर दुई सयभन्दा बढी गोठमा २० हजारको सङ्ख्यामा बरुवाल र भ्याङलुङ जातका भेडा पालिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तोसुकै अवस्थामा पनि कर्मशील हुन प्रेरित गरेको उल्लेख गरेका छन्। महाकवि देवकोटाको ११६ औँ जन्मजयन्तिको अवसरमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले देवकोटालाई नेपालीले सधैँ सम्झिरहने बताएका छन्।

महाकविप्रति सम्मान प्रकट गर्दै सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीले लेखेका छन्, ‘आज देवकोटा जयन्ती, हार्दिक श्रद्धा, हार्दिक सम्मान महाकवि देवकोटा, तपाईँलाई सधैँ सधैँ सम्झिरहने छौँ।’

महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी कविता हरफले जस्तोसुकै अवस्थामा पनि कर्मशील भइरहन प्रेरित गर्छ भन्दै देवकोटाका कविताका केही अंश प्रधानमन्त्री ओलीले यसरी उदृत गरेका छन्।

विलासको लालस दास छैन म ।
मीठो छ मेरो रसिलो परिश्रम ।।
प्रयासको पत्थरमा नदीसरि ।
बहन्छु हाँसी म तरङ्गले भरी ।।
म पोखरी झैँ उही ठाउँ जम्दिनँ ।
छ शुद्ध यो जीवनको सबै कण ।।

महाकवि देवकोटाको जन्म विसं १०६६ कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।

नगरवासीलाई सहुलियत शुल्कमा फूल उपलब्ध

त्रिशूली । विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ । पहिलोपटक परीक्षणका रुपमा सुरु गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत शुल्कमा बिक्री सुरु गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार वडा नं ५ स्थित माझीटार र वडा नं ९ स्थित कोलनीमा रहेको नगरपालिकको नौ रोपनी खाली जग्गामा सयपत्री र मखमली लगाइएको थियो । उक्त फूल तिहारका अवसरमा नगरवासीलाई सहुलियत शुल्कमा बिक्री गरिएको हो ।

नगरप्रमुख राजन श्रेष्ठले भने, ‘भाइटिकाको दिनसम्म बिक्रीको प्रबन्ध मिलाएका छौँ ।’ मखमली फूल प्रतिकिलो तीन सय ५० र सयपत्री प्रतिकिलो रु दुई सय शुल्क तोकिएको छ ।

उक्त शुल्क हाल बजारमा कारोबार भइरहेको शुल्कभन्दा कम भएकाले फूलको माग धेरै भएको कृषि शाखाप्रमुख मदनराज न्यौपानेले जानकारी दिए। बजारमा हाल सयपत्री फूल प्रतिकिलो दुई सय ५० र मखमली चार सयमा कारोबार भइरहेको छ ।

नगरपालिकाले प्लास्टिकजन्य फूल तथा मालाको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएकाले फूलको माग उच्च भएको हो । लामो समयदेखि बाँझो रहेको जग्गामा नगरपालिका आफैँले फूलखेती गरी नगरवासीलाई समेत फूल खेतीप्रति आकर्षित गर्ने लक्ष्य लिएको छ ।

नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सम्बा फ्रान्स प्रस्थान

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल समाप्त भएसँगै नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी(साम्बा) व्यावसायिक फुटबल खेल्न बिहीबार फ्रान्स प्रस्थान गरेकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशसँग नेपाल २–१ ले गोलअन्तरले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । योसँगै बङ्गलादेशले भने साफ च्याम्पियसिपमा दोस्रोपटक उपाधि जित्न सफल भएको हो ।

यसअघि सन् २०२२ मा नेपालमा आयोजित उक्त च्याम्पियनसिपको फाइनल खेलमा नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । साफ च्याम्पियनसिपको फाइनलमा नेपालको भने यो छैटौँ पराजय हो ।

फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग ‘प्रिमियरा लिग’ मा इए अभान्ट गुएग्यापबाट खेलिरहेकी सावित्रा राष्ट्रिय टोलीबाट साफ च्याम्पियनसिप खेल्न नेपाल आएकी थिइन् । साफ च्याम्पियनसिपमा उनले समूह चरणको पहिलो भूटानविरुद्धको खेल गुमाएकी थिइन् भने माल्दिभ्सविरुद्धको खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले उनलाई आराम दिएका थिए ।

सवित्राले समूह चरणको अन्तिम खेलमा श्रीलङ्का र सेमिफाइनलमा भारतविरुद्धको खेलमा समान एक÷एक गोल गरेकी थिइन् । यस साफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएसँगै नेपाली टोलीका मुख्य प्रशिक्षक तामाङले बुधबार नै आफ्नो पदबाट राजीनामा दिएका छन् । 

सेनाको भैरवबहान गुल्ममा यसरी मनाइयो कुकुर तिहार(फोटोफिचर)

कुकुर पूजा अर्थात यम पञ्चकको दोस्रो दिन बिहीबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित भैरवबहान गुल्ममा तालिम प्राप्त कुकुरलाई पूजा गरिएको छ ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

अर्थतन्त्रमा उज्यालोको किरण

-उद्धव सिलवाल
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको भदौ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रका बाह्य सूचकाङ्कहरुमा तिहारको झिलीमिली जस्तै उज्यालो रहेको देखाएको छ । अहिले बजारमा तिहारको उज्यालोले प्रवेश पाए जस्तै अर्थतन्त्रका बाह्य सूचकाङ्कहरुमा पनि उज्यालोपन देखिएको हो । आयातमा भएको कमी र बढ्दो विप्रेषणको कारण रु २१ खर्ब ५२ अर्ब बराबरको विदेशी मुद्रा सञ्चितिमा रहेको छ । विदेशी मुद्रा सञ्चितिको आकार चालु आवको बजेटभन्दा बढी रहेको छ । जबकि चालु आवको बजेटको आकार रु १८ खर्ब ६० अर्ब ३० करोड छ । यसले अर्थतन्त्रको बाह्य सूचक एकदमै मजबुत रहेको देखाउँछ । 

विदेशी दातृ निकायहरुले विदेशी विनिमय सञ्चिति बढेको कारण लगानी बढाउन सक्ने देखिएको छ । सञ्चितिमा रहेको विदेशी मुद्रा वैदेशिक भ्रमण र अध्ययनका लागि जाने विद्यार्थीले लैजानेबाहेक उपादनमूलक क्षेत्रमा प्रवाह गर्न सकेमा अझै सुधार आउने थियो । अहिले चालु खाता रु ४९ अर्ब ६९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु २३ अर्ब ९७ करोडले मात्रै बचतमा रहेको थियो । अहिलेको सञ्चितिले १६.८ महिनाको वस्तु र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैङ्कले जनाएको छ । भदौसम्ममा विप्रेषण १५.२ प्रतिशतले वृद्धि भई रु दुई  खर्ब ६३ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्ष भदौ मसान्तसम्म शोधानान्तर स्थिति रु ५५ अर्ब १० करोड बचत रहेकामा चालु आवमा रु एक खर्ब एक अर्ब ७७ करोडले बचतमा रहेको छ । यी कुराहरुले अर्थतन्त्रको बाह्य सूचकाङ्क राम्रो रहेको देखाउँछ ।

तर, आन्तरिक अर्थतन्त्र पनि बाह्य अर्थतन्त्र जस्तै बनाउनु पर्ने खाँचो देखिएको छ । रोजगारीमा आएको सङ्कुचन, केन्द्रीय बैंकले सार्वजनिक गरेभन्दा बढी रहेको मूल्य, खस्कदो आयजस्ता कारणले गर्दा आन्तरिक अर्थतन्त्र केही कमजोर रहेको देखिन्छ । उत्पादन पर्याप्त बढाउन नसक्दा निर्यात व्यापारमा त्यही अनुपातमा सुधार आउन सकिरहेको छैन । चालु खाता बचत, बढ्दो विप्रेषण, बैंकिङ क्षेत्रमा थुप्रिएको तरलताले ‘लिक्युडिटी ट्रयाप’ को अवस्था सिर्जना गरेको छ । प्रचुर मात्रामा तरलता भए पनि लगानीको वातावरण सोचेजस्तो हुन सकेको छैन । 

चालु आवको दुई महिनामा पनि पुँजीगत खर्चभन्दा साधारण खर्चकै बाहुल्यता रहेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढे पनि निजी क्षेत्रमा कर्जा प्रवाह बढ्न सकेको छैन । निजी क्षेत्र अझै पनि लगानीको लागि पर्ख र हेरको अवस्थामा रहेको छ । सोही कारण निजी क्षेत्रले कर्जा नलगेपछि बैंक तथा वित्तीय संस्थाले सेयर कर्जालाई बढाएका हुन् । भदौसम्मको तथ्याङ्कअनुसार सेयर धितो कर्जा अर्थात् मार्जिन प्रकृतिको कर्जा ९९ अर्ब ७६ करोड पुगेको छ । 

शेयर जस्तै गत वर्षको त्रयमासिक अवधिको तुलनमा चालु आवको सोही अवधिमा घरजग्गा कारोबार १७ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । हाल देशभर बैकिङ क्षेत्रको रु तीन खर्ब घरजग्गामा ऋण लगानी रहेको छ । यो भन्दा बढी व्यवसायीको लगानी छ । यी दुवै गरेर घरजग्गामा रु आठ खर्ब लगानी पुगिसक्दा पनि कारोबारमा सुधार आउन सकिरहेको छैन । यी कुराहरुलाई मध्यनजर गरी अर्थतन्त्रलाई अझ चलायमान बनाउन र देशलाई विकासको दीर्घकालीन बाटोमा लैजान आर्थिक विशेषज्ञता, नवीन सोच एवं  साहसमा जोड दिनु पर्ने देखिएको छ । 

सन् २०२० मा विश्व अर्थतन्त्रमा आएको आर्थिक शिथिलता, रोजगारीका अवसरमा हस, गरिबी तथा असमानता, पेट्रोलियम पदार्थको उत्पादनमा देखिएको असन्तुलनजस्ता कारणबाट मानिसको दैनिक जीवनमा समेत समस्या देखिएको थियो । अहिले पनि फेरि त्यस्तै अवस्थाको सुरुआत हुन थालेको आभास हुन थालेको छ । बाह्य सूचकाङ्कले जस्तै आन्तरिक सूचकाङ्कले साथ दिएमा यस्ता कुराहरु हट्ने थियो । 

हामीकहाँ आर्थिक दृष्टिले पुँजीवादी खुला बजार अर्थतन्त्रको अभ्यास भइरहेको छ । योसँगै समाजवादी अर्थतन्त्र भएको छिमेकी मुलुक रहेको कारण नेपालको आर्थिक प्रणालीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । यसले पनि आयात दर उच्च बनाउन केही भूमिका खेलेको छ । कृषिमा आधारित अर्थतन्त्र भए पनि उत्पादकत्वमा सुधार आउन सकेको छैन । प्राकृतिक साधन तथा स्रोतको पहिचान र उपयोग हुन नसक्दा उत्पादकत्वमा उल्लेखनीय सुधार आउन नसकेको हो । हामीकहाँ अझै पनि ७० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित रहेको अनुमान छ । 

विश्वव्यापी रूपमा हेर्ने हो सन् १९९१ मा कृषि क्षेत्रमा कार्यरत सङ्ख्या ४४ प्रतिशत रहेको थियो । अहिले यो झरेर २८ प्रतिशतमा खुम्चिएको छ । यसले कृषितर्फ आकर्षण घट्दै गइरहेको देखाउँछ । हामी कहाँ पुरानो उखान उत्तम खेती, मध्यम व्यापार र निकृष्ट नोकरी भन्ने रहेको थियो । तर, यो उखान अहिले त्यति उपयुक्त नहुन सक्छ । किनकी खेतीपाती र व्यापारभन्दा पनि नोकरीतर्फ आकर्षण बढेको कारण स्वदेशमा नोकरी नपाउनेहरु विदेशमा गएर काम गर्न थालेका छन् । तर पनि जुन देशमा कृषि रोजगारी कम छ, त्यस देशको विकास बढी भएको देखिएको छ । तर, हामी कहाँ ७० प्रतिशत कृषि रोजगारीमा रहे पनि खाद्यान्नमा अझै पनि परनिर्भरताकै अवस्था रहेको छ । परनिर्भरता हटाउनको लागि माथि भनिएजस्तै कृषिमा परम्परागत प्रवृतिलाई विस्थापित गरी कृषि यान्त्रिकीकरण गर्नुपर्ने खाँचो देखिएको छ । 

नेपालको संविधान २०७२ ले मुलुककको अर्थतन्त्रलाई समाजवाद उन्मुख अर्थतन्त्रको रूपमा विकास गर्ने आर्थिक उद्देश्य राखेको छ । समाजवादले देशमा रहेको सम्पूर्ण उत्पादनका स्रोत, साधनहरु व्यक्ति विशेषको नियन्त्रणमा नभएर समाजको नियन्त्रणमा हुनुलाई जनाउँछ । उत्पादनको स्रोत, साधनहरु व्यक्ति विशेषको नियन्त्रणमा नरहेर समाजको नियन्त्रणमा रहँदा उत्पादनबाट आउने नाफामा श्रमिकहरुको समान पहुँच हुन गई समाजमा धनी र गरिबबीचको खाडल मेटिन्छ भन्ने मान्यता समाजवादमा रहेको छ । 

श्रीमद्भागवद् गीताको १६ अध्यायको श्लोक १६ मा आसुरी व्यक्तिले धन आर्जनमा पापपूर्ण बाटो अपनाउने र अवैध तरिकाले इन्द्रिय तृप्तिको लागि कालोबजारी गर्ने उल्लेख छ । हामीकहाँ पनि बजार मूल्य बढाउनुमा अतृप्त धन आर्जन नै मुख्य तत्वको रूपमा रहेको छ । खाद्यान्नमा परनिर्भरताको कारण देशभित्र उत्पादन कम हुन थालेको छ । श्रीलङ्का, अफगानिस्तान, लेबनान, इथियोपिया, सोमालिया, केन्या, इजिप्ट, दक्षिण सुडान, यमनलगायतका देशमा खाद्यान्नमा दबाबको अवस्था कायमै रहेको छ । बढी खाद्यान्न निर्यात गर्ने देशहरुले ‘खाद्य राष्ट्रवाद’ (फुड नेसनालिजम) लाई प्राथामिकतामा राख्न थालेका छन् । 

आम्दानीको तुलनामा खर्च मात्रै बढ्न थालेपछि उपभोक्ताको जीवनयापन असहज हुन थालेको छ । वस्तु र सेवाको मूल्य महँगो (इन्फ्लेसन) हुन थालेको अहिलेको अवस्थामा वस्तु तथा सेवाको परिणाम घटाएर बेच्ने पद्धतिको अभ्यास शुरु भएकोसम्म देखिन आएको छ । यसले बजारमा मागभन्दा आपूर्ति कम हुन गई मूल्य बढाउन सहयोग पुर्याइरहेको छ । 

राजनीतक विश्लेषक हरि रोकाले वैकल्पिक अर्थतन्त्र नामक पुस्तकमा जीवनयापनका लागि पुँजी निर्माण हुन नसक्दा ग्रामीण वा सहरी क्षेत्रका आम नागरिकको जीवस्तर नराम्ररी प्रभावित भएकोे उल्लेख गर्नु भएको छ । पुँजी निर्माणमा सक्रियतापूर्वक जनसङ्ख्यामाथि हुने वातावरण नबन्दा राष्ट्रिय पुँजी निर्माणमा समेत आघात पुगेको उहाँको पुस्तकमा लेखिएको छ । यसले अर्थतन्त्रको बाह्य सूचक मात्रै मजबुत हुँदैमा आम नागरिकको जीवनस्तरमा आमूल परिवर्तन आउन सक्दैन भन्ने देखाउँछ । बजेटले अर्थतन्त्रमा सिर्जना भएको गतिशीतला, पुनरुत्थान, निजी क्षेत्रको उत्साहप्रद लगानीबाट छ प्रतिशतको आर्थिक वृद्धिदर र ५.५ प्रतिशतको मुद्रास्फीर्तिलाई बाञ्छित सीमाभित्र राख्ने घोषणा गरेको छ । यसलाई व्यवहारमा ल्याउन आन्तरिक उत्पादनमा वृद्धि, रोजगारी सिर्जना, उद्योग कलकारखाना पूर्णरूपमा चल्ने वातावरण सिर्जना गर्न सकेमा तिहारको चमक जस्तै अर्थतन्त्रमा उज्यालोपन आउने थियो ।

(लेखक आर्थिक पत्रकार हुनुहुन्छ)

सुनको मूल्य हालसम्मकै महँगो, तोलाको एक लाख ७१ हजार

काठमाडौँ । सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा बिहीबार भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ ।

बुधबार प्रतितोला  दुई हजार दुई सयले वृद्धि भई  एक लाख ७० हजार सात सयमा कारोबार भएको छापावाला सुन बिहीबारका लागि भने एक लाख ७१ हजार निर्धारण भएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला  तीन सय रुपैयाँले वृद्धि भएको हो ।

यस्तै चाँदीको मूल्य तोलामा  ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला  दुई हजार एक सय २० मा कारोबार भएको चाँदी आजका लागि  दुई हजार ९० रुपैयाँ निर्धारण भएको छ ।

नेपाल प्रहरीका डीआईजीद्वय गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस


काठमाडौं । नेपाल प्रहरीका दुई जना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

राजेन्द्र तामाङद्वारा महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन् । बुधबार भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालादेशसँग पराजित भएपछि प्रशिक्षक तामाङले राजीनामाको घोषणा गरेका हुन् । बुधबार दशरथ रंगशालामा भएको खेलमा २–१ ले नेपाललाई हराउँदै बंगलादेशले उपाधि जितेको हो ।

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से घटेको छ । बुधबार नेप्से १४ दशमलव ४३ अङ्कले घटेर दुई हजार ६ सय ७७ दशमलव ६२ विन्दुमा झरेको छ ।

आज होटल, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, फाइनान्स, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज जानकी फाइनान्स र लाइफ इन्सुरेन्स कर्पाेरेशन नेपाल कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त, मिड सोलु हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्बभन्दा धेरैको शेयर कारोबार भएकोमा आज तीन सय पाँच वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर पाँच अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएका छन् ।
आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

तिहारमा उपत्यकाको सुरक्षामा प्रहरीको उच्च निगरानी, पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ ।  गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन् ।


नेपाल प्रहरीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी पनि बढाइसकेको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी गर्ने जानकारी  दिए । आगलागी, नाचगान, देउसीभैलो र जुवातासका कारण हुने हारजित र झैझगडा, मदिरा खाएर रातीमा होहल्ला गरेर समाजलाई नै प्रभावित पार्ने तथा आपराधिक घटना हुनसक्नेतर्फ मध्यनजर गरी सुरक्षामा उच्च निगरानी गरिएको उनले बताए । 


देशैभरका जिल्लाका सुरक्षा समतिको बैठक बसेर जिल्लाको शान्तिसुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी भैलोको समय तोक्ने, हूल हुज्जत गर्ने समूहको निगरानी गर्ने,  मादक पदार्थ खाएर सवारीमा हिँड्ने हुनाले सडक जाँचलाई थप सदृढ पारिएको प्रहरीले जनाएको छ ।


प्रवक्ता कार्कीले भने, “पटाका र पटाकाजन्य पदार्थ विस्फोटक पदार्थका रुपमा रहेकाले कसैले पड्कायो हामी पनि पड्काउँ न त भन्ने हुनसक्छ, यो गतिविधि विस्फोटक पदार्थसम्बन्धी कसुरमा कारबाही हुन्छ । ओसारपसार भण्डारण बिक्री वितरण र प्रयोग सबैमा प्रतिबन्ध छ । तीन महिनादेखि १ वर्षसम्मको कैद सजायसम्म हुनसक्छ, क्षतिको क्षतिपूर्ति पनि भराइन्छ, त्यसैले यसमा भुलेर पनि कोही संलग्न हुनुहुँदैन ।”


अर्काे सामाजिक सञ्जालमा उच्छृङ्खल कुराहरु राख्ने विषयमा पनि प्रहरीले अनुगमन बढाएको छ । उनले भने, “प्रहरीलाई के थाहा हुन्छ र भन्ने उद्देश्यले विगतमा गरेको पाइयो । फौजदारी कसुर हुने भएकाले समयमै ध्यान दिनु हुन अनुरोध छ । हामी तपाईंहरुको तिहार शान्तिपूर्ण होस् भनेर खटिएका छौँ, शान्तिपूर्ण रुपमा तिहार मनाउन अनुरोध गर्छु ।”


उनका अनुसार तिहारमा प्राविधिक रुपमा निगरानी बढाइएको छ । भिडियो, साामाजिक सञ्जला, सिसिटिभीसहित सादा पोशाकमा प्रहरी परिचालन गरेर सुरक्षा निगरानी गरिरहको पनि प्रहरीले जनाएको छ । 


सवारी चालकको अवस्था हेर्ने र कारबाही भइरहेको छ । दसैँअघि नै सुरक्षा योजना सार्वजनिक गरिएको थियो । त्यही कार्यान्वयनमा रहेको छ । यसअघि नै सामाजिक सञ्जालबाट पनि सार्वजनिक आह्वान गरिएको छ । यसपालि तिहारमा ४८ हजारको हाराहारीमा प्रहरी परिचालन गरिएको बताउँदै प्रवक्ता कार्कीले कोही प्रहरीलाई बिदामा नपठाइने बताए ।


“किरिया, बिरामीलगायत अत्यावश्यक काममा बिदामा पठाइन्छ, सामान्य अवस्थामा कोही प्रहरी बिदामा बस्दैनन्, सबै तिहार सुरक्षामा हुन्छन्, यो स्पष्ट निर्देशन नै छ”, उनले भने ।


यसपालि दसैँमा भन्दा केही यातायात सहज रहेको तर कच्ची सडक, निर्माणाधीन सडक भएकाले जोखिम रहेको छ । ती सडकहरुमा समेत निगरानी बढाइएको र सुरक्षा टोली नै परिचालन गरेर यातायात सहज पारिने जनाइएको छ ।


जथाभावी लापरबाहीपूर्ण तरिकाले, नशाको तालमा गाडी चलाउने अवस्थालाई पूर्णरुपमा निस्तेज पार्न सूक्ष्म निगरानी पनि भइरहेको छ । जुवा र जुवाजन्य गतिविधिमा कडा निगरानी गरिएको छ । गैरकानुनी गतिविधि गरेर हिरासतमा पुग्दा र अपराध मुद्दा लागेर तिहार नै नमिठो हुने हो की, कानुनी कारबाहीमा परिने हो कि, यसतर्फ ध्यान दिन कार्कीले अनुरोध गरेका छन् ।
बढी भाडा लिने अवस्थाको अन्त्य गर्न पनि निगरानी गरिएको र त्यस्ता गतिविधि भए तत्काल प्रहरीमा खबर गर्न अनुरोध पनि गरिएको छ । सोही अनुसार ट्राफिक प्रहरी समेत परिचालित भएका छन् ।


उपत्यका सुरक्षामा उच्च निगरानी 


काठमाडौँ उपत्यका प्रहरीले उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का लागि एकीकृत रुपमा सुरक्षा योजना लागू गरी निगरानी बढाइएको छ ।


काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले यसपाली दसैँ अघि लागू गरिएको चाडपर्व लक्षित सुरक्षा योजना लाभदायी देखिएको बताए ।


उनले भने, “आपराधिक घटना र दुर्घटनाबाट हुने क्षति कम भएको छ । तिहारमा पनि सोही अनुसारको सुरक्षा निगरानी गरिएको छ । संयुक्त सुरक्षा योजना लागू गरिएको छ  ।” 


विस्फोटक पदार्थ भित्रिन नदिन उपत्यका भित्रिने नाकामा जाँचमा कडाइ, देउसीभैलोमा निगरानी स्थानीय प्रशासनसँग समन्वय गरेर ठाउँ जोखिम हेरेर सुरक्षाकर्मी परिचालन भएका छन् । जुवातास, अवैध मदिरा उत्पादन बिक्री रोक्न प्रहरी पूर्ण रुपमा परिचालन गरिएको छ । 


केही अघि मात्रै पटाका भित्राउने दुई जनालाई मुद्दा चलाइएको र उनीहरुबाट तीन बोरा पटाका बरामद गरिएको घिमिरेले बताए । उपत्यकामा ५ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालित रहेको र आवश्यकता अनुसार रिजर्भ फोर्स तयार गरेर राखिएको पनि उनले बताए ।


काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् । 


उनले जुवातास, लड्गुरबुर्जा खेल्ने÷खेलाउने, भुइँचम्पा, पटका, आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसार पसार, विक्री वितरण गर्ने जस्ता कार्य नगर्न÷नगराउन पनि अनुरोध गरेका छन् । उनले देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले सञ्चालन गर्न सार्वजनिक आह्वान नै गरेका छन् ।


यस्तै अन्य जिल्लाले पनि सुरक्षा अवस्थालाई ध्यानमा राखेर आवश्यक निर्देशन र अनुरोध सार्वजनकि गरी तिहारलाई शान्तिपूर्ण बनाउन अनुरोध गरेका गृह मन्त्रालयले जानकारी दिएको छ । 


उपत्यका ट्राफिकको ठाउँठाउँमा जाँच अभियान 


काठमाडौँ उपत्यका ट्रफिक प्रहरीले चाडबाड लक्षित गरेरएक हजार पाँच सय ट्राफिक प्रहरी परिचालन गरी निगरानी गरिरहेको छ । १४ स्थानमा यात्रु सहायता कक्षा स्थापना गरिएको छ । ट्राफिक कम्युनिकेसन एप बनाइएको छ । त्यसमार्फत लामो दूरीमा दुईजना चालक राखेको छ कि छैन भनेर उपत्यकाको नाकामै निगारनी गर्न थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।


उनका अनुसार त्यही एपमा प्रहरीले फोटो खिचेर हालेपछि ट्र्याक गर्न सकिनेछ । लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) परीक्षणमा जनशक्ति थपेर कडाइ गरिएको छ । 


क्युआरटी र टिआरएस टोली परिचालन गरिएको छ, यो करिडोर व्यवस्थापनका लागि भएको उनले बताए । उपत्यका भित्रिने १० नाकाहरुमा विशेष जाँच गर्न थालिएको छ ।


प्रहरी नायब महानिरीक्षक  भरतबहादुर बोहराकै कमाण्डमा २५ जना सहभागी कमाण्ड पोष्ट नै स्थापना गरी ट्राफिक व्यवस्थापनको काम गरिरहेको छ । 


जस्तोसुकै घटनाको ‘रेष्पोन्स’ दिनका लागि उक्त कमाण्ड पोष्ट निर्माण गरिएको हो । नियमित अनुगमन जारी रहेको तथा सम्मानजन व्यवहारमाथि समेत निगारनी भइरहेको उनले बताए 


यातायात सहज पार्ने प्रयास


तिहारमा घर जाने यात्रुका कारण केही दिनदेखि यातायातमा समेत चाप बढेको छ । तर पनि दसैँमा जस्तो सास्ती खेप्न भने नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । 


“सडकको जोखिमपूर्ण अवस्था कायम हुँदाहुँदै पनि हामीले यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउनका लागि अहिले सवारी साधान थप गरेका छौँ, यसपालि ढुक्कले तिहार मनाउन जान पाउने वातावरण निर्माण गरेका छौँ”, उनले भने ।


दैनिक रुपमै यात्रुहरुले टिकट काटेर जानसक्ने अवस्था रहेको पनि उपाध्यक्ष सिटौलाले बताए । उनले भने, “अग्रिम बुक गर्नुपर्ने बाध्यता छैन तर अग्रिम बुक गर्दा यातायात सिट व्यवस्थापनमा भने सहज हुनेछ ।” भाइटीकाकै दिनसम्म कोही यात्रुलाई अलपत्र पार्ने अवस्थामा यातायात व्यवसायी नरहेको उनले बताए ।

वैद्यखानालाई स्वास्थ्यमन्त्रीको आग्रहः उत्पादन बढाउनूहोस्, बजारको जिम्मा मन्त्रालयले लिन्छ

काठमाडौँ  ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाएका छन् । 

बुधबार समितिको वार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले समितिलाई तत्काल उत्पादन वृद्धि गर्न सुझाव दिँदै औषधि बिक्रीका लागि व्यवस्थित वातावरण बनाउन मन्त्रालय तयार रहेको बताए । देशभरका सबै स्थानीय तहमा स्वदेशी आयुर्वेद औषधि बिक्री वितरणको व्यवस्थापन मिलाई विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न सकिने उनको धारणा थियो ।   

“वैद्यखानाले आत्मनिर्भर मात्र नभई निर्यात गर्नसक्ने गरी क्षमता बढाउनुपर्छ । उत्पादन वृद्धि भयो भने आयात बन्द गर्ने काम हामी गर्छौं”, मन्त्री पौडेलले भने । उनले समितिले आफैँ उत्पादन वृद्धि गरेर कमाउनुको विकल्प नभएको भन्दै आफ्नै आम्दानीको सुनिश्चितता भएमा समितिको आर्थिक स्थिति सहज हुँदै जाने उल्लेख गरे ।

“समितिले उत्पादन बढाउँदै आर्थिक स्तार सुधारको पहल गरेमा सरकारले औषधि बिक्रीमा समन्वय र सहयोग गर्नेछ । यसबाट समितिको काम निरन्तर हुनुका साथै कर्मचारीलाई सेवासुविधा उपलब्ध गराउन पनि सरकारलाई सहज हुनेछ । सधैँ नोक्सानमा सञ्चालित संस्थालाई निरन्तरता दिन सरकारलाई पनि सहज नहुने भएकाले सबैको साथ र सहयोगीबाट समस्या समाधान गर्दै जानुको विकल्प छैन”, मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले मौलिकता, संस्कृति र पहिचानका लागि वैद्यखानाको विशेष महत्व रहेको उल्लेख गरे ।  “वैद्यखाना नेपालको मौलिक विधिबाट सञ्चालित संस्था हो । यसमा हाम्रो मौलिकतासँगै आध्यात्मा र इतिहास जोडिएको छ । यो हाम्रो संस्कृति र परम्परा पनि हो । अहिले समितिको उत्पादन घट्दो छ, यो पनि बन्द हुने स्थिति भयो भने हाम्रो मौलिकता समाप्त हुन्छ”, उनले भने । मौलिकता र संस्कृति जर्गेना गर्न पनि उत्पादन वृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले वैद्यखानाले आफ्नो कार्यक्षमताको समीक्षा गर्दै अघि बढ्न चाहेमा मन्त्रालय सकारात्मक रहेको जानकारी दिए । नेपाल आयुर्वेद चिकित्सा सङ्घका अध्यक्ष डा श्यामबाबु यादवले वैद्यखानामा दरबन्दी थप्न र कर्मचारीको वृद्धि विकासमा ध्यान दिन मन्त्रालयको ध्यानाकर्षण गराए । सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष प्रा डा ठाकुरप्रसाद दुवाडीले वर्षिकोत्सवको शुभकामना आदानप्रदान गर्दै आर्थिक रुपले समितिलाई सशक्त बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

राजा प्रताप मल्लको पालामा हनुमानढोकामा स्थापना भएको वैद्यखाना त्यसपछि थापाथली दरबार हुँदै सिंहदरबारमा स्थानान्तरण भएर २०५२ सालदेखि विकास समितिअन्र्तगत सञ्चालित हुँदै आएको छ ।

लोकतन्त्र र शान्ति पुनःबहालीका लागि तुलाधरको अतुलनीय योगदानः प्रधानमन्त्री ओली

काठमाडौं । नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत योगदान पुर्‍याएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ ।

नेपाल भाषाका साहित्यकारकारुपमा निरङ्कुश शासनकाविरुद्ध तथा स्थापनाका लागि साहित्य सिर्जना गरी जनता माझ जागरण ल्याउन उनले पुर्‍याएको योगदानको चर्चा गरिएको हो ।

‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’द्वारा मंगलबार काठमाडौँको शङ्खधर उद्यानमा आयोजित छैठौँ स्मृतिसभामा मानवअधिकार, शान्ति, मातृभाषा तथा साहित्यकारकारुपमा योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरियो ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुआयामिक व्यक्तित्वका धनी पद्मरत्न साहित्यकार, प्रहसन, हास्य व्यङ्ग्यकार तथा जनप्रिय नेताका रुपमा स्थापित रहेका बताए।

उनले भने, ‘हाम्रो अत्यन्तै आदरणीय मित्र पद्मरत्नजी कला, संस्कृति, साहित्य र राजनीति आन्दोलनका क्षेत्रबाट बोलेर वा लेखेर प्रस्तुत गरेका राम्रा र सही विचार हामी सबै मिलेर अघि बढाउनुपर्छ ।’

आन्दोलन र जेलमा मात्र होइन मन्त्री र विभिन्न मोर्चामा रही सहकार्य गरेको घटना सुनाउँदै प्रधानमन्त्री ओलीले आन्दोलनलाई सफलतामा पुर्‍याउने र विटमार्ने सम्मको यात्राको सहकार्य गरेको नेपाली राजनीतिज्ञ तथा अग्रज व्यक्तिका रुपमा पद्मरत्न रहेका बताए।

त्यसअवसरमा तुलाधरकी छोरी सुम्निमा तुलाधरले पद्मरत्न आफ्ना पिता मात्र नभइ नेपाली जनताको मुक्तिका निम्ति अग्रसर नेताकारुपमा रहेका स्मरण गरे। पद्मरत्न लुमन्ति गुथिका अध्यक्ष डा केशवमान शाक्यले प्रजातन्त्रको पुनःबहालीको जनआन्दोलनमा प्रजातान्त्रिक र वामपन्थी शक्तिलाई एउटै मोर्चामा रहन उनले गरेको योगदानको स्मरण गरे।

नेपाल भाषाको साहित्य लेखनमा नाटक र प्रहसन विधामा विशिष्ट योगदान पुर्‍याएका तुलाधर नेपाल जनजाति महासङ्घका सभापतिसमेत रहे। दश वर्ष माओवादी सशस्त्र द्वन्दका बखत माओवादीलाई शान्ति वार्तामा ल्याउन सहजकर्ताका भूमिका खेलेका तुलाधरको २०७५ कात्तिक १८ गते निधन भएको थियो ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका उनको जन्म १९९७ माघ २९ गते काठमाडौँमा भएको हो । त्यस अवसरमा नेपाली साहित्यका धरोहर साहित्यकार कवी दुर्गालाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

अझै फेरिएन नारायणी रङ्गशालाको स्वरुप

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका सुनिल राउत कुर्मीले घर नजिकै रहेको नारायणी रङ्गशालाबाट फुटबल खेलेर हुर्किए । सोही रङ्गशालामा खेलेको खेल कौशलले उनीलाई २०६०/६१ सालमा त १९ वर्षमुनिको राष्ट्रिय फुटबल टोलीको सदस्य भएर पनि खेल्ने अवसर जुरायो । तर अहिले कुर्मीलाई आफैँलाई खेलाडी गराउन प्रेरित गरेको रङ्गशालाको जीर्ण अवस्था देखेर मन भतभती पोल्ने गरेको सुनाए ।

“यही रङ्गशालामा फुटबल खेलेर हुर्कियौँ । तर,अहिले रङ्गशालाको जीर्ण अवस्था देखेर भने उदेक लाग्ने गर्छ,” उनले भने, “रङ्गशाला बेहाल हुनुमा राष्ट्रिय खेलकुद परिषद्देखि स्थानीय सबै दोषी छन् । रङ्गशालाको पूर्वाधार निर्माण गरेर मात्रै हुँदैन । नियमित रेखदेख र संरक्षणको अभावकै कारणले अहिले बेहाल अवस्थामा आइपुगेको हो ।”

कुर्मीले यही रङ्गशालामा हुँदै आएको विशाल गोल्ड कपदेखि अन्य विभिन्न फुटबल प्रतियोगितामा पनि सरिक भए । कुर्मी अहिले नारायणी रङ्गशालासँगै रहेको गौतम माध्यमिक विद्यालयको खेलकुद प्रशिक्षकको रुपमा कार्यरत छन् । “नारायणी रङ्गशाला अहिले पहिलोजस्तो रहेन । रङ्गशालाको तीनैतर्फका प्याराफिट भत्किएर धराप जस्तै भएका छन् । फुटबल खेल्ने मैदान पानी जमेर पौडी पोखरी जस्तै भएको छ,” उनले भने, “रङ्गशालाको उचित  संरक्षण र संवद्र्धन नहुँदा नयाँ पुस्ताका खेलाडी उत्पादनमा खडेरी परेको छ ।”

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालापछिकै दोस्रो धेरै दर्शक अट्ने रङ्गशालाका रुपमा २०३८ सालमा नारायणी रङ्गशाला निर्माण गरिएको थियो । २०४२ सालमा तेस्रो राष्ट्रिय खेलकुद हुँदा नारायणी रङ्गशाला तयार भएर सोही रङ्गशालामा सो प्रतियोगिता आयोजना गरिएको थियो ।  सुरुआती चरणमा १५ हजार दर्शक क्षमताको विकास गरिएको थियो । तराई–मधेश क्षेत्रकै ठूलो रङ्गशाला विगतमा राष्ट्रिय खेलकुद प्रतियोगितादेखि अन्य स्थानीयस्तरका विभिन्न गोल्डकप प्रतियोगिता पनि भएका थिए । पछिल्लो समय रङ्गशाला परिसरका प्याराफिटका भौतिक पूर्वाधार जीर्ण र चिराचिरा भएपछि भने खेलुकदका गतिविधि खासै हुन सकिरहेका छैनन् ।

रङ्गशालाको तीनतर्फको प्याराफिटका पूर्वाधार जीर्ण रहेका छन् भने हालै निर्माण गरिएको दक्षिणतर्फको प्याराफिट राम्रो अवस्थामा भए पनि रङ्गशालाको मैदानको अवस्था भने अझै दयनीय छ । मैदानभरि घाँसले ढाकेको छ भने वर्षायाममा पानी जम्ने पोखरी हुने गर्छ । नियमित मर्मतसम्भार र जीर्णाेद्धारको अभावमा रङ्गशाला जीर्ण बन्दै गएको हो । रङ्गशाला १८ विघा क्षेत्रफलमा फैलिएको छ ।

वीरगञ्ज, महानगरपालिका, मधेश प्रदेश सरकार तथा सङ्घीय सरकारको यस रङ्गशालालाई व्यवस्थित गर्नेतर्फ ध्यान पुग्न नसकेको स्थानीयको भनाइ छ । अखिल नेपाल फुटबल सङ्घ पर्साका अध्यक्ष रोशन गुप्ता नारायणी रङ्गशाला जीर्ण भएर खण्डहर भएको बताए । ‘‘सुविधासम्पन्न मैदान भए पो नयाँ खेलाडी नयाँ जोश र जाँगरसहित खेल्न आउने थिए,’’ उनले भने,‘‘मैदान नै बेहाल भएपछि कसको पो नजर पर्ने रैछ र !’’

रङ्गशालाको भौतिक संरचना भत्किएसँगै राष्ट्रिय खेलकुद परिषद्ले करिब एक दशकअघि रङ्गशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार पारेको थियो । सो डिपिआरअनुसार रङ्गशाला पुनर्निर्माणका लागि साढे दुई अर्बभन्दा धेरै रकम लाग्ने  बताइएको थियो । सरकारले रङ्गशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन नगर्दा रङ्गशाला दिन प्रतिदिन जीर्ण बन्दै गएको छ ।

अध्यक्ष गुप्ताले नारायणी रङ्गशाला व्यवस्थित नहुँदा पर्साका फुटबलका गतिविधिमा असर पारेको बताउँछन् । उनले भने,‘‘वीरगञ्जको आदर्शनगरमा एउटै मैदानमा फुटबल र क्रिकेट गराउनुपर्ने बाध्यता रहेको छ ।’’ नारायणी रङ्गशाला यसअघि मध्यमाञ्चल खेलकुद विकास समिति मातहत पर्ने गथ्र्याे । तर, मुलुक सङ्घीयतामा गइसकेपछि समिति अस्तित्वमा छैन । नयाँ प्रावधानअनुसार मधेश प्रदेश परिषद् बनाउनुपर्नेमा अहिलेसम्म कानुनको अभावमा रङ्गशाला राष्ट्रिय खेलुकद परिषद् मातहत नै पर्ने गर्छ ।

राखेपका अधिकृत मोहम्मद जेउल इस्लामले नारायणी रङ्गशालाको संरक्षण र रेखदेखमा स्थानीयबासी र सरकारी निकाय दुवैका कमीकमजोरी रहेको बताए । ‘‘वीरगञ्जका स्थानीयवासीले रङ्गशालामा निर्माण गरिएका फलामका रड काटेर लैजानेसम्मको हर्कत गरेका छन्,’’ उनले भने,‘‘अब सबैले आआफ्नो कमीकमजोरीलाई सच्चाएर रङ्गशालालाई व्यवस्थित गराउनेतर्फ अग्रसर हुने बेला आएको छ ।’’

राखेपका अधिकृत इस्लामले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नारायणी रङ्गशालाको पुर्ननिर्माणका लागि दातृ निकायसँग पहलकदमी गर्ने प्रयास गरिरहेको बताए । ‘‘खेलकुद मन्त्री केही समयअघि रङ्गशालाको स्थलगत अवलोकन गर्न आउनुभएको थियो । उहाँले दातृ निकायसँग समन्वय गरेर पुनर्निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ,’’, उनले भने,‘‘सबैको पहलकदमीको कारणले अबको केही समयभित्रै नारायणी रङ्गशाला निर्माणले प्रथामिकता पाउला कि भन्ने आशा जगाएको छ ।’’

सङ्घीय सरकारका प्रायः सबैजसो खेलकुद मन्त्रीले यस रङ्गशालाको स्थलगत निरीक्षण गरेका छन् । भ्रमणको क्रममा उनीहरुले नारायणी रङ्गशालाको पूर्वाधार निर्माण आफ्नो प्रथामिकतामा रहेको बताउने गर्छन् तर आवश्यक बजेट व्यवस्थापन नहुँदा यसको स्तरोन्नति हुन सकेको छैन ।

वीरगञ्ज क्रिकेट मैदानको हालत पनि उस्तै

नारायणी रङ्गशाला परिसरभित्रै रहेको वीरगञ्ज क्रिकेट मैदानको पनि अवस्था उस्तै छ । चार विघा १८ कठ्ठा १५ धुर क्षेत्रफलमा फैलिएको क्रिकेट मैदान पनि मुआब्जा र संरक्षणको अभावले बेहाल अवस्थामा रहेको छ । पर्सा जिल्ला क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले पनि वीरगञ्ज क्रिकेट मैदान मुआब्जा विवाद र बजेट अभावकै कारणले संरक्षण गर्न नसकिएको गुनासो गर्छन् ।

“चार कट्ठा जग्गाको मुआब्जाको प्रक्रिया अघि बढाउन नसक्दा क्रिकेट मैदानलाई संरक्षण र रेखदेख गर्न सकिरहेका छैनौंँ,’’ उनले भने, ‘‘मुआब्जाको लागि आर्थिक स्रोत र आवश्यक प्रक्रिया अघि नबढ्दा पनि तारजाली गरेर व्यवस्थित गर्न सकिरहेका छैनौँ ।” वर्षायाममा फुटबल र क्रिकेट मैदानमा दुवैतर्फ व्यवस्थित ढङ्गले पानीको निकास नहुँदा पनि समस्या यथावत् नै छ । अहिले वीरगञ्ज क्रिकेट मैदानको ‘पिच’ निर्माणको काम भने अघि बढाइएको छ ।

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौँ  ।  तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, ‘दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।’

तिहारमा दाजुभाइलाई कस्ता खानेकुरा दिने ?

-डा. अरुणा उप्रेती
नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ। यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबीच विभिन्न उपहार पनि लिनेदिने पर्वका रूपमा पनि लिने गरिन्छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो- तिहार। दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाईका परिकार खुवाउने, टीका लगाउने, पूजा गर्ने र त्यसपछि दाजुभाइले पनि दिदीबहिनीलाई स्नेहपूर्वक उपहार दिने एकदमै राम्रो चलन हो। यो चलन जोगाउनुपर्छ। तर यो पर्व मनाउँदै गर्दा विभिन्न मसला र भोजन दाजुभाइलाई दिँदा त्यस्तो भोजन कस्तो तरिकाले बनाइएको र कस्तो तेल प्रयोग गरिएको छ भनेर विचारचाहिँ गर्नुपर्छ।

तेलको गुणस्तरले भोजनको गुणस्तरमा पनि असर पार्ने हुँदा आफूले प्रेमपूर्वक दिएको खानेकुराले कुनै असर नगरोस् भन्ने कुरामा ध्यान दिन आवश्यक छ। बारम्बार एउटै तेलको प्रयोग गर्दा त्यसमा नराम्रो खालको चिल्लो उत्पन्न हुन्छ। त्यसले मुटु र कलेजोलाई हानि पुर्‍याउँछ। यस्तो खाना खाएपछि दाजुभाइलाई समस्या उत्पन्न हुनसक्छ। त्यसमाथि पनि मधुमेह, उच्च रक्तचापको समस्या भएका व्यक्तिहरूमा झन् समस्या थपिन सक्छ। त्यसैले दिदीबहिनीले सबैलाई स्वस्थकर हुने घरमा बनाइएका खानेकुराको बढी प्रयोग गरे दाजुभाइलाई ‘माया’ गरेको ठहरिन्छ।

तिहार पर्व मनाइरहँदा सन्तुलित र स्वस्थ खानेकुरातर्फ ध्यान दिन जरुरी छ। यो बेलामा विभिन्न तरिकाले बनाएका बढी मासु खाँदा स्वास्थ्यमा समस्या पनि आउन सक्छ। धेरै चिल्लो, मसला र पिरो राखेर पकाएको मासु स्वादिष्ट त हुन्छ। भात, रोटी, चिउरासँग त्यो स्वादिष्ट मासु खाएर पेट टन्न हुँदा पनि जिब्रो अघाएन र जिब्रोले स्वाद खोज्यो भन्दै पुनः थपेर खाँदा पेटको स्वास्थमा असर गर्छ। जिब्रोको स्वादका आधारमा यसरी मासु र धेरै परिकार तथा अन्य खानेकुरा खाँदा स्वास्थ्यमा अनेक समस्या आउन सक्छन्। त्यसैले संयमित भएर भोजन गर्नुपर्छ।

पर्वका बेला कहिलेकाहीँ धेरै स्वादिष्ट मसलेदार मासु खाएको खण्डमा बिहान टन्न खाएमा दिउँसो खाजा नखाँदा पेटलाई आराम हुन्छ। पेट अटसमटस हुने गरी मासु खाँदा झाडापखाला लाग्ने, पेट दुख्ने समस्या निम्तिन सक्छ। मासुमा रेशादार तत्त्व हुँदैन। त्यसैले मासुसँगै हरियो सागसब्जी, दही, गेडागुडी, दाल फलफुल अनिवार्य रूपमा मिलाएर शरीरलाई चाहिने मात्रा सेवन गरेर सन्तुलित आहार खाँदा स्वस्थ बन्न सकिन्छ। यस्तो साधारण कुराको ज्ञान राखेर दिदीबहिनीले दाजुभाइलाई कसरी स्वस्थ बनाउने पनि विचार गर्नुपर्छ।

पहिला नेपालीलाई मासु खानका लागि दसैँ, तिहारजस्ता चाडपर्व नै कुर्नपर्थ्यो। आजभन्दा ४४/४५ वर्षअघि दसैँ, तिहारमा मासुभात, मासु चिउरा, मिठाई खान पाइन्छ भनेर खुसी भइन्थ्यो । यही बेलामा मात्रै मन लागे जति मासु खान पाइन्थ्यो । अरुबेलामा त एक पाउ ल्याएर परिवारले खाने भएर होला, दसैँ, तिहारका बेला धेरै मासु खाने चलन थियो। अहिले मासु खान दसैँ, तिहारजस्ता चाडपर्वमा पर्खिनु पर्दैन। दैनिक जीवनमा पनि हप्तामा एक/दुईचोटि मासु प्रायः धेरै परिवारमा पाक्छ। मासु मात्रै लगातार खाने अनि दाल, गेडागुडी, हरियो सागसब्जीलाई बेवास्ता गर्दा कब्जियतको समस्या हुन्छ। शरीरलाई चाहिने प्रोटिन तत्त्व प्राप्त गर्न सबै खानेकुरा मिलाएर खानुपर्छ।


चाडपर्वका बेला मासु बढी खाने तर अन्य स्वस्थकर खानेकुरालाई बेवास्ता गर्दा मधुमेह, युरिक एसिड, अत्यधिक मोटोपन, ग्यास्ट्रिक भएकाहरूलाई झन् समस्या पर्छ। विदेशतिर काँचो मासु काटेर डिपफ्रिजमा राख्छन् र आफूलाई चाहिएका बेला निकालेर पकाउँछन्। हामीकहाँ चाँहि धेरै मासु एकैपटक पकाएर फ्रिजमा राख्ने, त्यसपछि पुनः खाने बेला सबै निकालेर एकैचोटि तताउने, चाहिएको खाने अनि फेरि फ्रिजमा राख्ने गरिन्छ।

यसरी फ्रिजमा राख्दै, बाहिर निकाल्दै खाने अनि फेरि फ्रिजमा राख्ने गर्दा मासुमा भएको पौष्टिक तत्त्व र गुणस्तर घट्छ। खानामा विषालु तत्त्व उत्पन्न पनि हुनसक्छ। धेरै मासु एकैचोटि ल्याएर डिपफ्रिजमा काँचो मासु राख्ने, जति चाहिन्छ, त्यति मात्रै निकालेर पकाउने गर्नुपर्छ। सकेसम्म जुनसुकै खानेकुरा फ्रिजमा राखेको २४ घण्टादेखि ४८ घण्टाभित्र खानुपर्छ। अहिले नसर्ने रोगको बिगबिगी बढेकाले दाजुभाइको स्वास्थ्यमा राम्रो फाइदा गर्ने भोजन दिनुपर्छ।

यदि कोही दाजुभाइ शाकाहारी छन् भने उनीलाई दही, दूध, पनिर, च्याउ, तोफु, फापर, विभिन्न थरिको रोटी, ढिँडो, चिउराका परिकार आदि खानेकुरा मिलाएर भोजन गराउँदा स्वाद र स्वास्थ्य दुवै पाइन्छ। तिहारमा चाडपर्वमा मिठाई कोसेली लैजान त बन्द नै गर्नुपर्छ। मैले त घरमा आउने पाहुनालाई ‘मिठाई ल्याउँदा पनि नल्याउनुहोस्’ भनेको छु। म पनि अरुकोमा जाँदा फलफूल नै लैजान्छु। फलफूल लैजान सजिलो पनि छ। अलि सम्मान गर्ने व्यक्तिको घरमा जाँदा काजु लैजान्छु। गाउँबाट ल्याएको तामा, कोदो, फापर लैजान्छु। तिहारमा म कहिल्यै मिठाई किन्दिनँ। अरूलाई उपहार दिँदा पनि दिन्नँ।

तिहारमा रमाइलो गरेर मनाइरहँदा स्वास्थ्य अवस्थालाई चाहिँ ध्यानमा राख्नुपर्छ। यो बेला चिल्लो धेरै खायो भने बिरामी परिन्छ। त्यसको असर दीर्घकालीन रूपमा पनि पर्न सक्छ। पाँच/छ फिटको शरीरका लागि तीन/चार इन्चको जिब्रोले ‘कन्ट्रोल’ गर्न नसक्दा समस्या पर्छ।

दाजुभाइले पनि आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खानपिन गर्नुपर्छ। यो बेला मासु तरकारी, दालभात, विभिन्न किसिमका परिकार खाइन्छ। भोजनले पेट भर्ने मात्र होइन, यो आनन्द पनि जोडिएको छ। पेट भर्ने घर परिवारसँग पाहुनालाई सँगै खाँदा छुट्टै आनन्द आउँछ। तर यस्तो बेला खानेकुरामा एकदमै विचार गर्नुपर्छ।

दाजुभाइलाई पाहुना बोलाएको बेला विशेषगरी मासु एकदमै चिल्लो र मसलादार साथै हेर्दा राम्रो लाग्ने गरी बनाइन्छ। तर यस्तो मासु धेरै खाँदा स्वास्थ्यमा असर गर्छ भन्ने कुरा बुझ्नुपर्छ। स्वास्थ्यलाई नराम्रो असर पर्ने कुरा सकेसम्म दाजुभाइलाई पर्वका बेला दिनु हुँदैन। मासु र भात पकाएर खाँदा पेट भरिए पनि मुख भरिएको छैन भनेर खाइन्छ।

पर्वका बेला धेरै चिल्लो, गुलियो पदार्थ चिसो पेयपदार्थ, मिठाई खाँदा शरीरमा विशेषगरी कलेजोमा बोसो जम्ने समस्या हुन्छ। त्यही कारणले पनि चाडपर्वमा मासुदेखि मिठाईसम्म चिसो पेयपदार्थदेखि अन्य पेय पदार्थहरूसम्म सेवन गर्दा धेरै विचार गर्नुपर्छ। जुन वस्तुले स्वास्थ्यमा राम्रो असर पार्छ, त्यही खानुपर्दछ। तिहारका बेला ‘ड्राइफुड्स्’का विभिन्न प्रकार जस्तैः काजु किसमिस, बदाम, ओखरको प्रयोग गरेर परिकार बनाउन सकिन्छ। यिनीहरू एकदमै स्वास्थ्यवर्द्धक खानेकुरा हुन्। तर यी खानेकुराको प्रयोग एकैपटक धेरै गर्नु भने हुँदैन।

अलिअलि थोरैथोरै हरेक दिन खाने गरेमा स्वास्थ्यमा सकारात्मक असर पर्छ। भाइमसलामा शरीरलाई चाहिने पौष्टिक तत्त्व प्रशस्त मात्रामा पाइन्छ। यस्तो खानेकुराको प्रयोग हामीले हलुवा, खिरमा मिसाएर पनि खान सकिन्छ। यसको प्रयोगले खानेकुरा मीठो र स्वस्थकर हुन्छ।

भाइमसलाहरू महँगो हुन्छ। काजु, ओखर आदि थोरैथोरै धेरै प्रकारका खानेकुरा बनाएर खाए पनि पुग्छ सकिन्छ। सस्तो बदामलाई गरिबको काजु भनिन्छ, तिहारमा ‘बदाम’ प्रयोग गरेर विभिन्न परिकार बनाउन सकिन्छ। यो बेलामा दाजुभाइलाई बाहिरबाट ल्याइएका खानेकुरा दिनुभन्दा घरमा नै बनाइएका विभिन्न प्रकारका खानेकुरा स्वस्थकर हुन्छ। बाहिरबाट ल्याइएका प्याकेटका खानेकुरा उपहार दिँदा दाजुभाइको स्वास्थ्यलाई झन् नकारात्मक असर पार्छ। यस्ता खानेकुरा ल्याएर दाजुभाइलाई ‘माया गरेको’ नठाने हुन्छ।

हामीले तिहार पर्व दाजुभाइको दीर्घायु र सुस्वास्थ्यका लागि मनाउँछौँ। त्यसैले उनीहरूको स्वास्थ्यको ख्याल राख्नु दिदीबहिनीको कर्तव्य हो। अहिले उपहारमा पनि अनेक फलफूलको जुस होइन, स्थानीय फलफूल नै दिनुपर्छ। बट्टाको फलफूलको जुसले शरीरमा धेरै बेफाइदा गर्छ। बट्टाको जुसहरूमा एकदमै धेरै चिनीको मात्रा हुन्छ। अहिलेको समयमा चिनीको प्रयोगले मानिसहरूलाई विभिन्न किसिमका समस्या आइपरेका छन्।

त्यसमाथि यदि कसैका दाजुभाइ मधुमेहका बिरामी छन् भने त झनै समस्या हुन्छ। त्यसकारणले बारीमा, पसलमा सजिलै पाइने अम्बा, सुन्तला, अमला हलुवाबेदजस्ता खानेकुराले दाजुभाइको तिहार विशेष बनाऔँ। खानेकुरा घरमा दाल, भात, तरकारी, माछामासु बनाउँदा पनि चिल्लो, पिरो कम गरी बनाउनु पर्छ। स्वादको लागि टमाटर, लप्सी, तिल, सिलाम, आलस, आलुको अचार बनाउन सकिन्छ। अचार खाँदा यसमा हालेको अमिलोमा भिटामीन ‘सी’ हुन्छ, त्यसले रोगसँग लड्ने शक्ति बढाउँछ। सरल र सहज रूपमा पाइने खानेकुराको प्रयोग गरेर पनि तिहार विशेष बनाउन सक्छौँ।

चाडपर्व भन्दैमा खानेकुरा अव्यवस्थित रूपमा खानु हुँदैन। खानेकुराको व्यवस्थापन र उचित आहार स्वस्थ जीवनशैलीको प्रतीक हो। चिल्लो, पिरो, अमिलो तथा हरेक प्रकारका खानेकुरालाई व्यवस्थापन गर्न सकिन्छ। हरेक खानेकुरा समयमा खानाले स्वास्थ्य भई चाड मनाउन सकिन्छ। रमाइलो गर्ने हो तर स्वास्थ्यको ख्याल गर्दै गरेका हरेक कुरा हाम्रा लागि लाभदायक हुने गदर्छन्। चाडबाड मनाउँदै गर्दा खानेकुराले आफन्ती तथा दाजुभाइको स्वास्थ्यमा क्षति गर्न हुँदैन।

(लेखक पोषणविद् हुन्) 

क्यानाडामा आदिवासी बालबालिका बेपत्ताबारे थप अनुसन्धान आवश्यक

ओटावा । क्यानडाको आवासीय विद्यालयबाट आदिवासी बालबालिकाको मृत्यु र बेपत्ता भएको घटनाको थप अनुसन्धान गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने एक प्रतिवेदनले जनाएको छ ।

सन् २०२१ मा सयौं संदिग्ध चिहानस्थलहरू फेला परेपछि गरिएको राष्ट्रव्यापी अनुसन्धानको मङ्गलबार जारी गरिएको प्रतिवेदनले आदिवासी बालबालिकाको मृत्यु र बेपत्ता भएको घटनाको थप अनुसन्धान गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।

आदिवासीलाई जबरजस्ती आत्मसात गर्न एक शताब्दीभन्दा पहिले स्थापना गरिएका पूर्व आवसीय विद्यालय नजिकैका चिहानहरूको खोजले क्यानाडालीलाई स्तब्ध बनाएको छ ।

सन् १८३१ देखि १९९६ को बिचमा अनुमानित एक लाख ५० हजार बालबालिकालाई विद्यालयमा पठाइएको थियो। तीमध्ये धेरैजना घर फर्किएका थिएनन् ।

चिहानहरू फेला परेपछि उक्त घटनाको अनुसन्धानका लागि एक विशेष वार्ताकार, किम्बर्ली मुर्रेलाई ओटावाले तुरुन्तै नियुक्त गरेको थियो ।

मङ्गलबार आफ्नो प्रतिवदेनमा मुर्रेले थप अनुसन्धानका लागि २० वर्षको जनादेशसहित आदिवासी नेतृत्वको स्वतन्त्र आयोग गठन गर्न आह्वान गरेका छन् ।

उनले क्यानाडालाई यस घटनाको अपराधीको संज्ञा दिँदै यस्तो आयोगलाई समर्थन गर्ने देशको दायित्व रहेको बताए ।

मुर्रेले आदिवासी बालबालिका जबरजस्ती बेपत्ता र मृत्युको घटना अन्तर्राष्ट्रिय आपराधिक अदालतमा पठाइनुपर्नेलगायत देशले बहन गर्नुपर्ने अन्य ४२ दायित्वहरू सूचीबद्ध गरेका छन् ।

अन्तिम प्रतिवेदनले सरकार र चर्चले विद्यालयमा बालबालिकाको मृत्युको योजना बनाएको प्रारम्भिक निष्कर्ष दोहोर्याएको थियो ।

क्यानडाका न्यायमन्त्री आरिफ विरानीले प्रतिवेदनलाई आवासीय विद्यालयहरूले निम्त्याएको आघातलाई सम्बोधन गर्न चलिरहेको प्रयासको क्रममा एउटा कोसेढुङ्गाको रुपमा व्याख्या गरेका छन् ।

आदिवासी एल्डर फ्रेड म्याकग्रेगरले प्रतिवेदनको निष्कर्षले आवासीय विद्यालयबाट बचेका मानिसलाई उपचार प्राप्त हुनसक्ने आशा व्यक्त गरे ।

“हामी यहाँ इतिहास हौँ”, उनले भने, “क्यानाडामा कानूनको शासनको अभाव छ भन्ने हामी यो प्रतिवेदनबाट बुझ्न सक्छौँ ।”

राष्ट्रसङ्घका महासचिवद्वारा युएनडब्लुएलाई प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन नेतान्याहुलाई पत्राचार

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सी युएनडब्लुएलाई प्रतिवन्ध लगाउने कानुनको विरोध गर्दै पत्राचार गरेका छन्।

इजरायली संसदले अनुमोदन गरेको उक्त कानुनले राष्ट्रसङ्घीय निकायलाई इजरायलमा सञ्चालनको प्रतिबन्ध लगाई इजरायली अधिकारीसँग सञ्चार तथा समन्वय गर्नबाट रोकेको छ। यसले गाजाका प्रभावित क्षेत्रमा सञ्चालित मानवीय सहायतालगायतको काम समाप्त गर्न सक्छ।

इजरायल लामो समयदेखि युएनआरडब्लुएसँग मतभेदमा रहेको छ। गत अक्टोबरमा गाजामा युद्ध सुरु गर्ने हमास हमलामा युएनआरडब्लुए केही कर्मचारीहरू संलग्न रहेको आरोप लगाएको छ । प्रतिबन्ध तीन महिनाभित्र सुरु हुने बताइएको छ।

पत्रमार्फत गुटेर्रेसले गाजा र वेस्ट बैङ्कका प्यालेस्टिनीका लागि कानूनले ‘विनाशकारी परिणाम’ निम्त्याउन सक्ने बताउदै प्रभावितलाई आवश्यक सहायता प्रदान गर्न युएनआरडब्लुएको उचित विकल्प नभएको बताएका छन्।

गुटेर्रेसले इजरायललाई विनाशकारी परिणाम रोक्न र युएनआरडब्लुएलाई पूर्वी जेरुसेलम लगायतका प्यालेस्टिनी क्षेत्रमा अन्तर्राष्ट्रिय कानून अन्तर्गतका दायित्व र गतिविधि जारी राख्न अनुमति दिन आग्रह गरेका छन्।

गुटेर्रेसले अन्तर्राष्ट्रिय कानून अन्तर्गत कब्जा गर्ने शक्तिले कब्जा गरिएको क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सहयोग गर्ने सहमतिको कार्यान्वयन गर्नुपर्ने तर्कसमेत गरेका छन्। इजरायलले प्यालेस्टिनी क्षेत्रका आवश्यकता पूरा गर्ने स्थितिमा नहुँदासम्म युएनआरडब्लुएलगायत अन्य मानवीय निकायमार्फत हुने गतिविधिलाई अनुमति दिने दायित्व रहेको उल्लेख गरेका छन्।

विद्युतीय सवारी साधनमा ईयूको अतिरिक्त शुल्क स्वीकार्य छैन

बेइजिङ । चीनमा निर्मित विद्युतीय कारमा युरोपेली सङ्घ (इयू) को भारी नयाँ करसँग सहमत वा स्वीकार नगरेको चीनले बताएको छ ।

बेइजिङको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले भने, “चीन यस निर्णयसँग सहमत छैन र स्वीकार गर्दैन र विश्व व्यापार संगठनको विवाद समाधान संयन्त्र अन्तर्गत उजुरी दर्ता गरेको छ।” चीनले चिनियाँ कम्पनीहरूको वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न सबै आवश्यक उपायहरू लिनेछ।”

बेइजिङको राज्य अनुदानले युरोपेली अटोमेकरहरूलाई अनुचित तरिकाले कमजोर बनाएको निष्कर्ष निकाल्दै युरोपेली सङ्घले मङ्गलबार चीनमा निर्मित विद्युतीय कारहरूमा थप कर लगाउने निर्णय गरेको थियो।

थप कर आगामी पाँच बर्षका लागि लगाइने छ। टेस्लाजस्ता विदेशी समूहले चीनमा निर्माण गरेका सवारी साधनमा पनि विभिन्न दरमा अतिरिक्त शुल्क लागू हुन्छ।

नयाँ नीति अनुसार चिनियाँ कार कम्पनी जिलीले १८.८ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्नेछ भने एसएआईसीले सबैभन्दा बढी ३५।३ प्रतिशत कर तिर्नुपर्ने छ ।

चीनबाट विद्युतीय सवारी साधनको आयातमा हाल कायम रहेको १० प्रतिशतभन्दा माथि कर लाग्नेछ ।

प्रवक्ताले भने, “चिनियाँ विद्युतीय सवारी साधनमा इयूको अनुदान विरोधी अनुसन्धानमा धेरै अनुचित र गैर–अनुपालन पक्षहरू रहेको चीनले बारम्बार जोड दिँदै आएको छ र यसले संरक्षणवादी अभ्यासहरूको प्रतिनिधित्व गर्दछ।

“इयूले व्यापार तनावको वृद्धिबाट बच्न रचनात्मक दृष्टिकोण अपनाउनेछ र दुवै पक्षलाई स्वीकार्य समाधानमा छिटो पुग्न चीनसँग सहकार्य गर्नेछ।”

बेइजिङले चीनमा आयात हुने केही डेरी र सुँगुरको मासुजन्य पदार्थमा इयूले दिएको अनुदानबारे पनि अनुसन्धान सुरु गरेको छ ।

चीन र इयूबीचको व्यापार तनाव विद्युतीय कारहरूमा मात्र सीमित छैन । ब्रसेल्सले सौर्य प्यानल र हावाबाट चल्ने टर्बाइनहरूको लागि चिनियाँ अनुदानहरूको पनि अनुसन्धान गरिरहेको छ।

चिनियाँ विद्युतीय कारमा भारी कर लगाउने निर्णय इयूसँगै क्यानडा र संयुक्त राज्य अमेरिकाले पनि गरेका छन् ।

क्यानडा र अमेरिकाले हालैका महिनाहरूमा चिनियाँ विद्युतीय कार आयातमा १०० प्रतिशतको उच्च कर लगाएका छन्। 

चुनावमा धक्का लागेपछि जापानको सत्तारूढ गठबन्धनप्रतिको समर्थनमा थप कमी

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाको पार्टीले १५ वर्षयताकै सबैभन्दा खराब चुनावी नतिजा भोगेपछि बुधबार गरिएको नयाँ सर्वेक्षणले सत्तारुढ गठबन्धनप्रतिको समर्थन अझ कम भएको देखाएको छ।

योमिउरी शिम्बुन दैनिकले गरेको सर्वेक्षणअनुसार सरकारको समर्थन ३४ प्रतिशतमा झरेको छ भने विरोध दर ५१ प्रतिशतमा झरेको छ ।

अक्टोबर १ मा पदभार ग्रहण गरेपछिको प्रारम्भिक दिनहरूमा इशिबाको मन्त्रीमण्डललाई ५१ प्रतिशत समर्थन गरेको पाइएको थियो भने ३२ प्रतिशतले समर्थन नगरेको पाइएको थियो ।

क्योदो न्यूजले मङ्गलबार सार्वजनिक गरेको अर्को सर्वेक्षणमा ५३ प्रतिशतले लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) र कोमेइतोको सत्तारुढ गठबन्धन सत्तामा रहिरहोस् भन्ने नचाहेको देखिएको थियो।

सन् २००९ मा तीन वर्षका लागि सत्ताबाट बाहिरिएको गठबन्धनलाई आइतबारको मध्यावधि निर्वाचनमा पहिलो पटक बहुमत गुमेको थियो ।

इशिबाले अल्पमतको प्रशासन सञ्चालन गर्ने र संसदमार्फत कानुन बनाउन अन्य दलको स्वीकृति लिने सङ्केत दिइसकेका छन् ।

डेमोक्र्याटिक पार्टी फर द पिपुल (डिपिपी) का प्रमुखले गठबन्धन सरकारमा एलडिपीमा सामेल हुने सम्भावनालाई अस्वीकार गरेपछि मङ्गलबार अबेर यो अपेक्षा लाई बल मिलेको थियो । डिपिपीको संसद्मा २८ सिट रहेको छ ।

डीपीपीका प्रमुख युइचिरो तामाकीले एक पत्रकार सम्मेलनमा भने, “हामी हाम्रा नीतिहरू लागु गर्न हाम्रो सबै समर्थन दिनेछौं तर गठबन्धनमा सामेल हुनेछैनौं।

यद्यपि, इशिबाले अझै पनि मध्यमार्गी डिपिपीसहित अन्य पार्टीहरूलाई नोभेम्बर ११ मा हुने मतदानमा प्रधानमन्त्री रहनका लागि संसदीय अनुमोदन प्राप्त गर्न आग्रह गरिरहेका छन् ।

विश्लेषकहरूका अनुसार इशिबा प्रशासन डिपिपीले मध्यावधि चुनावमा चलाएको कर कटौती र प्रोत्साहन खर्चको नारामा सहमत हुन सक्छ ।

चुनावमा अघिल्लो ९६ बाट बढेर १४८ सीट पुर्याउन सफल संवैधानिक डेमोक्र्याटिक पार्टी (सीडीपी) का प्रमुख योशिहिको नोडाले पनि प्रधानमन्त्री बन्ने सम्भावना छ ।