`

‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’

पाँचथर । फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहाँका दुई छोरासहित १३ परिवार गाउँलेको खेतबारी बगाएको छ । गत असोज १२ गते बिहानको पहिरोले तिम्सिनाको परिवारसहित यी सबै घरपरिवार फालेलुङ गाउँपालिकाको सेवा केन्द्र थकेपुङमा बसेर हालै भर्खरै घर फर्किएका छन् ।

असोज ९ गतेदेखि नै वर्षा हुनाका साथै हेंवा खोलामा आएको बाढीले असोज १२ गते बिहान गाउँ नै हल्लाइरहेको थियो । सोही विहान जमिन धाँजा फाट्न थालेका कारण गाउँलेहरु सचेत भए । बिहान गाईवस्तु सार्नलाई किलो काट्दै गर्दा गाउँपालिकाबाट नेपाल प्रहरी आएर घुर्चिएर लगेकाले आफू बचेको तिम्सिना बताउँछन् । “गाउँले आएर गाईवस्तु सारिदिएछन्”, उनले भने ।

वर्षा र पहिरो त रोकियो तर, गाउँमा बस्न सक्ने अवस्था भने छैन् । लुङपिन्ताङमा सबैतिर धाँजा फाटेका छन् । कसैको घर लच्किएका छन्, कसैको खेतबारी । “एकछिन हिउँदभरि मात्रै हो, बर्खामा यहाँ बस्न सकिँदैन्”, सरकारले केही गरिदेओस् भन्ने आशा गर्दै तिम्सिनाले भने, “हेरौँ अब सरकारले के गर्छ ? यहाँ बस्न सक्ने अवस्था छैन । डर त लाग्छ नि, अन्यत्र सर्ने ठाउँ छैन ।”

पूर्वी पहाडमा विसं २०२५ सालमा बाढीपहिरो आएको बूढापाका बताउँछन् । ७३ वर्षका तिम्सिनाले सो बाढीपहिरो प्रत्यक्ष देखे । अहिले सडकको छेउमा रहेको घर नजिकैबाट उक्त पहिरो गएको तर अहिलेजस्तो धेरै क्षति नभएको तिम्सिनाको सम्झना छ । “मेरो पालि (मतान) बगाएको थियो”, उनले भने, “यस पटक गाउँ केही नरहने गरी पहिरो झर्यो ।”

पहिरोले दिएको पीडा यति मात्रै छैन । तिम्सिना दम्पतीसँगै रहेका छोराका १० र ४ वर्षका बालबच्चा थिए । बूढेसकालमा बोलाउने र मन भुलाउने नातिनातिनी पहिरोपछि झापा झरेका छन् । “जाने कुरै थिएन । फेरि पहिरो आयो भने साना भागेर बचाउन कठिन हुने भएपछि बुहारीले झापा लिएर गइन्”, तिम्सिनाले भने, “छोरो चाहिँ विदेशमा छ ।”

सोही वडाको शीतलपाटीको अवस्था झनै भयावह छ । हेंवा खोला नजिकैको यस गाउँमा १० परिवारको बसोबास छ । यहाँ यत्रतत्रमा पहिरो झरेको छ । सबैका घर लच्किएका छन् । कसैका भत्किएका छन् । पाक्न लागेको बालीनालीमा क्षतविक्षत भएको छ । घरमुनि सामुन्नेमा देखिने हेंवा खोलाले धेरै जमिन खण्डहर बनाएको छ । वर्षा रोकिएपछि गाउँ फर्किएका गाउँलेहरु अर्को बर्खामा कहाँ गएर ज्यान जोगाउने भन्ने पीरमा देखिन्छन् ।

यहाँकी नरमाया लिम्बूको घर र खेतबारी फरक–फरक ठाउँमा छन् । पहिरोले खेतबारी सबै बगाएपछि अब के खानेभन्ने पीरलो लिम्बूमाथि आइलागेको छ । श्रीमान्को निधनपछि आमाछोरा बस्दै आएका लिम्बूको पाक्न लागेको धानखेत पहिरोले बगाएको छ । “हामी त धेरै पीडित भयौँ, वडामा गएर निवेदन दिएका छौँ”, लिम्बूले भनिन्, “केही त सहयोग पाइएला कि ।”

फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङका अनुसार सबै वडामा गरेर ७० घरमा पूर्ण क्षति भएको छ भने दुई सय ९३ घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोले फालेलुङमा भौतिक तथा कृषि क्षेत्रमा अत्यधिक क्षति भएको उनले बताए। यहाँका अधिकांश विस्थापित घर फर्किन थालेका छन् । तर कतिपय विस्थापित भने यहाँबाट बसाइँ सर्न थालेका छन् ।

अध्यक्ष थाम्सुहाङले भने, “सबैलाई केही समय नआत्तिन आग्रह गर्दै आएको छु । तर गाउँ विरक्तलाग्दो भएपछि कसको मन अडिनु र ?” अत्यधिक प्रभावित बस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

काठमाडौँ । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी दिए । उनकाअनुसार ती उमेर समूहका करिब १६ लाख ८८ हजार किशोरीले एचपिभी खोप लगाइने छ ।

डा गौतमले खोप अभियान आगामी माघमा करिब १५ दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने जानकारी दिए । उनले नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठूलो अभियान हुने बताए ।

“विद्यालयमा रहेका किशोरीलाई विद्यालयमा खोप केन्द्र बनाएर ‘एचपिभी’ खोप लगाउने छौँ”, उनले भने, “विद्यालय बाहिर रहेका किशोरिलाई भने स्वास्थ्य संस्थामा गएर खोप लगाउने गरी तयारी गरेका छौँ ।”

यसअघि सरकारले सात प्रदेशका एक–एक वटा सङ्घीय अस्पतालमा डेमोष्ट्रेसन (नमूना) का रुपमा ‘एचपिभी’ खोप नौ हजार नौ सय ९९ किशोरीलाई लगाएको थियो । 

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु हुने गरेकाले पाठेघरको मुखको क्यान्सरबाट किशोरीलाई बचाउन अभियान सञ्चालन गर्न लागिएको खोप शाखाका प्रमुख डा गौतमले उल्लेख गरे । सरकारले निःशुल्क उपलब्ध गराउन थालेको भन्दै उक्त खोप बाहिर लगाउँदा करिब ६ हजार रुपैयाँ पर्ने जानकारी दिए ।

एचपिभी खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’(गाभी) को सहयोगमा सरकारले खरिद गरेको हो । खोप शाखाका प्रमुख डा गौतमले अर्को वर्षदेखि एचपिभीलाई नियमित खोप अभियानअन्तर्गत राखिने जानकारी दिए । खोप एक पटक लगाएरपछि जीवनभरका लागि काम गर्ने भएकाले खोप अभियानमा सहभागी हुन किशोरीसहित अभिभावनलाई उनले आग्रह गरे ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ‘ह्युमन प्यापिलोमा’ नामक भाइरसको सङ्क्रमण रहेकाले यसको विरुद्ध खोप लगाउनुपर्ने बताए । 

उनले कलिलो उमेरमा विवाह गर्ने, उमेर नपुगी बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, छोटो अन्तरालमा लगातार बच्चा जन्माउने, धेरै धूमपान तथा मद्यपान गर्ने, यौनाङ्गको सरसफाइमा ध्यान नदिनेलगायत कारणले ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण हुने भएकाले यसबारे आवश्यक सावधानी अपनाउनुपर्ने बताए । डा शाहीले खोप ९९ प्रतिशत प्रभावकारी रहेकाले सबै किशोरीलाई अभियानमा सहभागी भई खोप लगाउन आग्रह गरे ।

नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

देश किन र कसरी डुब्यो सिंहदरबार वैद्यखाना हेर्दा थाहा हुन्छः मेयर साह

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

बुधबार राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मेयर साहले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना बोकेको संस्था अहिले आफैँ थला पर्नु सोचनीय विषय भएको बताए ।

‘अहिले देश किन र कसरी डुब्यो, समस्या के हो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ’, मेयर साहले भने, ‘९० प्रतिशत सरकारी उद्योग कि त भाडामा दिइन्छ, भाडामा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ ।’

सरकारद्वारा सञ्चालित उद्योग कलकारखाना घाटामा जानाका कारण उल्लेख गर्दै उनले वैद्यखानालाई धराशयी पर्न नदिन सामूहिक पहलको आवश्यकता औँल्याए ।

‘आयुर्वेदिक उपचार पद्धति हाम्रो संस्कार र संस्कृति हो, जसरी हामीले सनातन धर्मलाई मान्छौँ त्यसरी नै मान्दै आएको विषय हो’, उनले भने ।

मेयर  साहले आफू वैद्यखाना परिसरमा हुर्केको आफ्नो बाल्यकालको स्मरण गर्दै यस संस्थाकोे व्यवस्थित सञ्चालन र विकासका लागि सरोकारवाला सबैको ध्यानाकर्षण गराए ।

‘पहिले यही ठाउँमा धेरै स्थान खाली थियो, औषधि उत्पादन धेरै हुन्थ्यो, अहिले जताततै भवन छन्, औषधि उत्पादन चाहिँ कम छ’, नउले भने, ‘२०५८/५९ सालमा यहाँको बजेट  पाँच करोड थियो, अहिले एक करोड छ ।’

चीनसँग सीमा जोडिएको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा

गण्डकी । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ ।

कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे ।  कार्यालय सञ्चालनले अब भने यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने विश्वास लिइएको छ । 

कोरोला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरेको हो । अध्यागमन कार्यालय सञ्चालनको लागि सरकारले कोरला नाकासम्म विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइनको विस्तार गर्नुका साथै नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइलको सेवा पुर्याइसकेको छ ।

कोरोला नाकामा चीनले आफ्नोतर्फ भन्सार कार्यालयका साथै अन्य आवश्यक पूर्वाधार निर्माण गरिसकेको छ ।  गृहमन्त्री रमेश लेखकले बुधबार कार्यालयको शुभारम्भ गर्दै अध्यागमन कार्यालय सञ्चालनसँगै चीनसँगको द्विपक्षीय सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।

  उनले दुईदेशका नागरिक आवतजावतसँगै द्विपक्षीय व्यापार अभिवृद्धिका लागि अध्यागमन कार्यालय महत्वपूर्ण हुने बताए ।

समुद्र सतहदेखि चार हजार छ सय ५० मिटर उचाइमा रहेको यो नाकाको गत वर्ष कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रुपमा उद्घाटन गरिएको थियो । 

गण्डकी प्रदेशको उत्तरी भूूभागमा अवस्थित कोरला नाका सञ्चालनमा आएसँगै प्रदेशकै दक्षिणी नाका भारतसँग जोडिने त्रिवेणी रहेका कारण व्यापार प्रवद्र्धन, पर्यटन विस्तार आदिका लागि यो बहुउपयोगी बन्ने विश्वास लिइएको छ । दुुई ठूला छिमेकी राष्ट्रसँग जोडिएको गण्डकी प्रदेशको समृद्धिमा यो नाका सञ्चालन कोषे ढुङ्गा सावित हुने विश्वास लिइएको छ ।

काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपको फाइनल खेल तीन स्थानबाट प्रत्यक्ष प्रशारण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा प्रत्यक्ष देखाउने महानगरले जानकारी दिएको छ ।

महानगरले भनेको छ, ‘यो खेल हेर्न धेरै दर्शकहरुलाई चाहना छ । तर, खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसकारण, हामीले खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउँदैछौँ । खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जानुहुन फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गर्दछौँ ।’

खेल आज साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।

धार्मिक पर्यटकको नयाँ गन्तव्य सराङकोटको पञ्चमुखी गणेश मूर्ति

पोखरा ।  हिमशृङ्खला र सूर्योदयको मनमोहक दृश्यले वर्षौँदेखि पर्यटकलाई आकर्षित गर्दै आएको पोखरा–१८ स्थित सराङकोट अब नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदैछ। उक्त क्षेत्रमा निर्माणाधीन ६१ फिट अग्लो पञ्चमुखी गणेश मूर्तिले पर्यटन प्रवर्द्धनमा नयाँ आकर्षण थप्न थालेको हो।

अन्नपूर्ण, धवलागिरि र माछापुच्छ्रे हिमालको दृश्यावलोकन तथा सूर्योदय र सूर्यास्तको दृश्यमा रमाउने पर्यटकका लागि सराङकोट विशेष गन्तव्य हो। पछिल्ला दिनमा थपिएका पूर्वाधार र धार्मिक संरचनाले प्राकृतिक सौन्दर्यसँगै धार्मिक पर्यटकलाई लोभ्याएको छ।

सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले ५६ रोपनी जमिनमा उक्त पूर्वाधार बनाइएको हो। रु ४० करोड लगानीमा बृहत् सराङकोट धार्मिक पर्यटन गुरुयोजनामा निर्माण भइरहेको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए।

समितिले गुरुयोजना सफल बनाउन र आर्थिक स्रोतका लागि विभिन्न समयमा पाँच महायज्ञ लगाएर रु सात करोड आर्थिक स्रोत जुटाउन सफल भएको थियो। तीनै तहका सरकारको रु चार करोड ५० लाख लगानी यस क्षेत्रमा भएको छ।

पोखरा महानगरले मात्र रु तीन करोड बढी सहयोग गरेको छ। व्यावसायिक प्रतिष्ठान, सङ्घसंस्था, स्थानीयको सहयोग उत्तिकै जारी रहेको छ। निर्माण भइरहेको गणेश मूर्तिका लागि निर्माण संयोजक रहनुभएका अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङले आर्थिक स्रोत जुटाएर निर्माणकार्य अगाडि बढाए। रु सात करोडमा गणेश मूर्ति र सहस्रधारा निर्माणमा खर्च हुने अनुमान गरिएको छ।

हालसम्म यहाँको पूर्वाधारमा रु २२ करोड बढी लगानी भइसकेको छ। मूर्तिको संरचना दक्षिण भारतीय कालिगढहरूद्वारा निर्माण गरिएको हो। उक्त क्षेत्रमा गणेश मूर्तिसँगै कैलाशेश्वर शिवमन्दिर, एक सय आठ शिवलिङ्ग, सहस्रधारा, भैरव मन्दिर, चण्डीमन्दिर, भीमकाली मन्दिर, धार्मिक सभाहल, ऐतिहासिक प्रवेशद्वार, व्यवस्थित शौचालय, एक भ्यूटावर रहेका छन्।

जिसीका अनुसार सराङकोटको नामाकरण शाहवंशीय राजाले हतियार भण्डारण गर्ने ठाउँका रूपमा प्रयोग गरेको ऐतिहासिक पृष्ठभूमिसँग सम्बन्धित छ। यसैगरी तत्कालीन सेना र प्रहरीले त्यहाँ सराङ खेलको तालिम लिने भएकाले यस स्थानलाई सराङकोट भनिन थालियो।

समितिका सदस्य कृष्ण थापाले ऐतिहासिक र धार्मिक महत्व बोकेको यस क्षेत्रका निर्माणाधीन पूर्वाधारले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले भने, ‘भूमेकाली मन्दिरको पौराणिक धार्मिक महत्वले यहाँ धेरै भक्तजनलाई आकर्षित गर्दै आएको छ, विशेषगरी पोखरा र आसपासका क्षेत्रबाट दर्शन गर्न भक्तजन आउँछन्, अहिले शिव र गणेश मन्दिरको निर्माणले हिन्दू धर्मावलम्बीका लागि थप आस्था र आकर्षण थप्नेछ।’ पर्यटकीय आकर्षण सराङकोट पोखरा आउने पर्यटकको पहिलो रोजाइमा पर्ने उनले बताए।

विभिन्न सङ्घसंस्थाको समन्वयमा कार्यान्वयन भएको यस परियोजनालाई ‘शिव पञ्चमुखी गणेशधाम’ भनेर नामकरण गरिनेछ, जसले धार्मिक र सांस्कृतिक पर्यटनको नयाँ गन्तव्यका रूपमा यस क्षेत्रलाई स्थापित गर्ने लक्ष्य राखेको छ।

देशमा पहिलोपटक निर्माण भइरहेको पञ्चमुखी गणेश मूर्तिले धार्मिक पर्यटनमा नयाँ अवसर सृजना गर्दै पोखराको पर्यटनमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गर्छन् सनातन धर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजु। ‘प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र धार्मिक आस्थाको सङ्गमका रूपमा रहेको सराङकोट भारतलगायत अन्य देशका हिन्दू तीर्थयात्रीका लागि आकर्षक गन्तव्य हुनसक्छ’, अध्यक्ष माकाजुले भने।

हिन्दू धर्ममा विशेषगरी पञ्चमुखी गणेशको दर्शनले विघ्नबाधा हटाई समृद्धि र सिद्धी प्राप्त हुने विश्वास रहेको र दक्षिण भारतीय पर्यटकबीच गणेश भगवान्को ठूलो आस्था भएकाले यसको प्रचारप्रसारमा पनि जोड दिनुपर्ने उनको सुझाव छ।

यस क्षेत्रमा विस्तार भएका पूर्वाधारले पोखरा र सराङकोटका पर्यटन प्रवर्द्धनलाई सघाउ पुर्याउने विश्वास व्यक्त गर्छन् सराङकोट माउण्टेन लजका कार्यकारी निर्देशक एवं नेपाल पर्यटन बोर्डका पूर्वसदस्य विप्लव पौडेल।

उनी भन्छन्, ‘सराङकोट आफैमा पर्यटकीय गन्तब्य हो, पछिल्लो समय शिव मन्दिर, गणेश मूर्ती लगायतकापुर्वाधारहरुले यहाँको पर्यटनलाई थप चलायमान बनाउने आशा गर्न सकिन्छ’, कार्यकारी निर्देशक पौडेलले भने, ‘पर्यटनको प्रवर्द्धनले स्थानीय व्यवसायमा प्रभाव पार्ने र विशेषगरी होटल र होमस्टे व्यवसायको विस्तार गर्न पनि यसले थप अवसर सृजना गर्दछ।’ उनले विकाससँगै आउने चुनौतीहरूका विषयमा पनि ध्यान दिन आग्रह गरे।

उनले थपे, ‘धार्मिक पर्यटकलाई आकर्षित गर्ने पूर्वाधारको दिगो व्यवस्थापन र संरक्षण हुनुपर्छ, वातावरणीय संरक्षण र व्यवस्थित यातायातमा पनि उत्तिकै ध्यान दिन जरुरी छ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धार्मिक र आध्यात्मिक पूर्वाधारमार्फत पोखरालाई बहुआयामिक पर्यटन थलोका रूपमा विकास गर्न पहल भइरहेको बताए।

उनले भने, ‘हिमालय शृङ्खला, फेवाताल, र पोखरा उपत्यकाको अनुपम दृश्यले आकर्षित गर्ने यस क्षेत्रले पछिल्लो समय पञ्चमुखी गणेश मूर्ति, शिवमन्दिर र भ्यूटावरजस्ता संरचनाको विकाससँगै पर्यटकीय महत्व थप्दैछ।’

सराङकोट केवल सूर्योदय अवलोकनको गन्तव्यमात्र नभई धार्मिक र सांस्कृतिक पर्यटनको केन्द्र बन्नेमा आफू विश्वस्त उनले रहेको बताए।

उनले सराङकोटको प्राकृतिक सौन्दर्य, धार्मिक, ऐतिहासिक सांस्कृतिक धरोहरको संयोजनले दिगो पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। ‘हिमालको मनोरम दृश्यसँगै धार्मिकस्थलहरूको दर्शनले पर्यटकलाई नयाँ अनुभव दिलाउने र पोखरामा उनीहरूको बसाइ लम्ब्याउन सहयोग पुग्नेछ,’ उनले भने।

पर्यटकीय राजधानीका रूपमा परिचित पोखरामा नयाँ गन्तव्यको विकास अत्यावश्यक भएको उल्लेख गर्दै आचार्यले महानगरपालिकाले यस अभियानमा निरन्तर लगानी गरिरहेको जानकारी दिए। सराङकोट क्षेत्रमा मात्र महानगरले रु तीन करोडभन्दा बढी लगानी गरिसकेको उनले बताए। 

बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । बुधबार बिहान बसेको सुनुवाइ समितिको बैठकले लम्सालको नाम अनुमोदन गरेको हो ।

उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ सकिएसँगै बुधबार उनको नाम अनुमोदन भएको हो । अब उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।

तनहुँको सयपत्री कतार निर्यात

तनहुँ  । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो ।

कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटार महिलाहरुलाई फूल टिप्न व्यस्त छन् । समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त छन् ।

समूहले गतवर्षदेखि सयपत्री कतार निकासी गर्न थालेको हो । गतवर्ष दुई लाख पचास बराबरको सयपत्री निकासी गरिएको जानकारी दिँदै अध्यक्ष गुरुङले यो वर्ष  ८ लाख बराबरको फूल निर्यात गर्ने लक्ष्य रहेको बताइन्।

आँधीमूल महिला समूह र याञ्चोक महिला समूह एकआपसमा गाभिएर फूलखेती प्रारम्भ भएको हो । गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराए पछि महिलाहरु व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएका आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए।

समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ । ‘आज र भोलि आँबुखैरेनी गाउँपालिकाभित्रका १२ स्थानमा बिक्री स्थल बनाइनेछ’, महिला सशक्तीकरण पालिकाको प्राथमिकता भएको बताउँदै उनले भने, ‘केही माला तयार गरी कोल्डस्टोरमा राखिएको छ ।’ फूलखेतीबाट समूहमा आबद्ध महिला आर्थिक रूपमा पनि सक्षम भएका छन् । 

‘विद्युत प्राधिकरणमा सरकार जे गर्न खोज्दै छ, हाम्रो खबरदारी छ’

पुष्पकमल दाहाल ।

मलाई आज विशेष गर्वको महसुस भएको छ । जम्मा चार दिनको तयारी मुख्यतः बागमती प्रदेशसँग सम्बन्धित, विशेष प्रदेश र समपर्क समन्वय प्रदेशको संयुक्त आयोजना र तयारीमा तपाईहरुको यो अपार उपस्थितिको निम्ति म तपाईहरु सबैप्रति पार्टी र मेरो तर्फ आभार व्यक्त गर्न चाहन्छु । हृदयदेखि अभिवादन गर्न चाहन्छु ।

भनिन्छ, विहानले दिउँसोको संकेत गर्दछ । यो खबरदारी सभाको सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेको छ । म सरकारलाई गम्भीर रुपले दिन चुनौती दिन चाहन्छु । कमरेडहरु र मित्रहरु । म विषयमा जानुभन्दा अगाडि गत महिना आएको अविरल वर्षाबाट नेपालमा जुन अपूरणीय क्षति भयो, यसप्रति दुःख व्यक्त गर्दै विपतमा ज्यान गुमाउने सबैमा श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु । शोक सन्तप्त परिवारप्रति म हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।

हिजो मात्रै मैले मकवानपुरको सिस्नेरीमा छ जना होनहार बालकहरू (जो खेलका माध्यमबाट देशको भविष्य सजाउने भन्ने मनोविज्ञानका साथ प्रशिक्षणमा गएका थिए)का परिवारसँग भेट गरेको छु । सरकारलाई खबरदारी भन्न चाहन्छु– हिजोको लापरवाही फेरि नदोहोरियोस् । उद्धार, राहत र पुनस्र्थापनाको कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाइयोस् । यो एतिहासिक खबरदारी सभामार्फत युगान्तकारी परिवर्तनको निम्ति आफ्नो प्राणको आहुति दिने सहिद र बेपत्ता योद्धाहरु सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । घाइते, अपाङ्ग र सबै सहिद तथा बेपत्ता योद्धा परिवारप्रति पार्टी र मेरो तर्फबाट हार्दिक सम्मान गर्न चाहन्छु ।

यो खबरदारी सभा हो । तपाईहरुलाई पक्कै पनि थाहा छ, मैले अन्तिमपटक विश्वासको मत लिँदै गर्दा मैले भनेको थिएँ, प्रतिनिधि सभामा यो सरकार नयाँ बनेकोमा मलाई र हाम्रो दललाई कुनै चिन्ता छैन । सरकार नयाँ बन्यो भन्ने चिन्ता होइन तर यो सरकार केका निम्ति बन्यो र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनकाविरुद्ध बन्यो । यो सरकार भ्रष्टाचारीहरु बचाउन बन्यो र यो सरकार रातको अँध्यारोमा आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर जालझेल र षड्यन्त्रको तरिकाले बन्यो । यो सरकार दलालहरुका घरघरमा गएर रातको १२ बजे बन्यो ।

अप्राकृतिक संसर्गबाट बन्यो । हाम्रो चिन्ता त्यहाँ छ भनेर मैले भनेको थिएँ । हामीले प्रतिनिधि सभामा जे व्यक्त गरेका थियौं, आज सय दिन बित्दा त्यो पुष्टि भएको छ । सरकार आफैंले पुष्टि गरेको छ । खबरदारी सभा राख्ने बित्तिकै तपाई हामीले देख्यौं, सत्तापक्षमा भएका राजनीतिक दलहरुलाई एक ठाउँमा ल्याएर सडकबाट सरकार परिवर्तन गर्न खोजे, त्यसो गर्न संविधान विरोधी हुन्छ भन्ने होहल्ला गरेको पनि देख्यौं । मैलै प्रतिनिधिसभा भनेको थिएँ, तपाईहरुको सरकार पूरै अवधि चलोस् । अब हामी तपाईहरूको सरकार ढाल्नको लागि मुख्य काम त्यसलाई बनाउने छैनौं । सरकार पूरै चलोस् तर मैले साथसाथै भनेको थिएँ, तपाईहरु जसरी भ्रष्टाचारीहरुको रक्षाको निम्ति सुशासनका विपक्षमा बिचौलियाहरुको पक्षमा जाँदै हुनुहुन्छ । तपाईहरु आफै कुहिएर झर्नुहुनेछ । हामीलाई दोष दिन पाउनुहुने छैन । अहिले हामीले सरकार ढाल्नका लागि यो खबरदारी सभा गरेको पनि होइन् । हामीलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति हामीले के गर्नुपछ भन्ने राम्रोलाई गहिरो गरी बोध छ ।

बरु हामीले यो खबरदारी सभाको घोषणा गर्नेबित्तिकै सत्ता पक्षमा जुन आतंक देखापर्यो, सरकार आजै ढल्छ, भोलि नै ढल्छ तर हामीले त्यसो भनेका छैनौं । खबरदार तपाईहरुको सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानुहोला । अझ बढी भ्रष्टाचारीहरूको संरक्षणतिर नजानुहोला । हामी यो खबरदारी तपाईहरुलाई भन्न चाहन्छौं ।
संघीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको संविधान माओवादी केन्द्रको मुख्य त्याग, बलिदान र उसको संर्घषको जगमा बनेको छ । यसमा कही कतैबाट आघात नहोस् भन्ने कुरामा हामी सबभन्दा बढी गम्भीर र जिम्मेवार छौं ।
त्यसकारण हामीले यो खबरदारी सभा नगर्ने हो, सरकारको बेथिति र भ्रष्टाचारका गतिविधिको विरोध नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ ।

अराजकतावादी प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरूले टाउको उठाउने खतरा पैदा हुन्छ । त्यसकारण हामीले संविधानको रक्षाको निम्ति, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति र यो देशका जनताले जे जति उपलब्धि संविधानसभाबाट प्राप्त गरेका छन्, त्यसको रक्षा र अझ त्यसको सकारात्मक परिमार्जन समाजवादको निम्ति गर्न हामीले आन्दोलनमा जान जरुरी ठानेका छौं ।

हामीले खबरदारीमा जान जरुरी ठानेका हौं । तपाईहरुमा यो भ्रम छकि माओवादीले अहिले नै सडकबाट सरकार फेर्न हतारो गरेको छ । तपाईहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुहोस् । हामीले के समीक्षा गरेका छौं भने तपाईहरु जस्ता दलाल पुँजीपति बिचौलिया र भ्रष्टहरूको प्रतिनिधिका रुपमा जो पार्टीहरु रहनुभएको छ, हामीले केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती गर्यौं । हामीले तपाईहरुसँग समीकरण गरेर गल्ती गर्यौं । तपाईहरुको रोग हामीलाई सर्यो भन्ने चिन्ता छ । हामी गम्भीर आत्मसमीक्षामा छौं । त्यसकारण तपाईहरु हामीसँग ढुक्क भए हुन्छ, अब तपाईहरुसँग समीकरण गरौं, हामीलाई मन्त्री बनाइदिनुस्, प्रधानमन्त्री बनाइदिनुस् भनेर आउने छैनौं ।

म त बरु तपाईंहरुलाई धन्यवाद दिन चाहन्छु, हामी अलिअलि बिग्रिन थालेका थियौं । हामी अलिअलि जनताबाट कट्न थालेका थियौं । अलिअलि प्रतिक्रियावादीसँग हिँड्दाहिँड्दा हामी पनि उस्तै उस्तै हुने हो कि भन्ने खतरा पैदा भएको थियो । तपाईहरुले हामीलाई बेलैमा निकाल्दिनु भयो र जनतातर्फ फर्कादिनुभयो । त्यसकारण हामीले तपाईहरुलाई धन्यवाद भनिराखेका छौं । तपाईहरुले मेरो यो भनाइलाई हल्का रुपले नलिनु होला । मैले निकै गम्भीर रुपले भनेको छु । हामीले पार्टी केन्द्रमा गम्भीर आत्मसमीक्षा गरेका छौं ।

यस्ता भ्रष्ट पार्टी, यस्ता भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी पनि कता कता के हो के हो भन्ने जनतालाई परेको थियो । अब हामी जनतातिर फर्केर आत्मालोचना गर्दै आत्मसमीक्षा गर्दै जनतासँग भन्ने छौं, हामी जाली फटाहसँगको संगतले अलिअलि बिग्रियौं । हामी सच्चिएर तपाईहरुको मुक्ति नहुँदासम्म हामी संर्घष गर्ने छौं भन्न पाएका छौं ।
हामीले भ्रष्टाचारका विरुद्ध सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा युगान्तकारी काम इमान्दारपूर्वक गर्दै थियौं । नेपालको इतिहासमा युगान्तकारी केही कामका रेकर्ड सबभन्दा माथिल्लो तहमा हामीले पुर्याएकै थियौं । चाहे भारतसँगका हाम्रा विद्युतसँग सम्बन्धित सम्झौताहरु हुन् । या सीमासँग सम्बन्धित सम्झौता र सहमति होउन । चीनसँग क्रस बोर्डर ट्रान्समिसन लाइनदेखि आठवटा परम्परागत नाका खोल्ने र एग्रो टेक्निकल पार्क बनाउने सहमतिसम्म हेर्दा केही ऐतिहासिक र युगान्तकारी सहमति चाइनासँग पनि भएको थियो । बडो राम्रो सम्बन्ध छिमेकीसँग हाम्रो परराष्ट्र नीति, हाम्रो स्वतन्त्रता, आत्मनिर्भरता राष्ट्रिय स्वाधिनतालाई सुदृढ गदै अगाडि बढेको थियो ।

हाम्रो नेतृत्वको सरकारले संयुक्त राष्ट्रसंघको महासभामा गरेका सम्बोधनहरु या खाद्यसँग सम्बन्धित इटालीको रोममा गरिएको सम्बोधन या जलवायु परिवर्तन सम्बोधन या हस्तक्षेपहरु इतिहासमा रेकर्ड बनेका छन् । नेपालको इजत, सम्मान र प्रतिष्ठा दुनियाँमा धेरै माथि पुगेको छ । हामी निष्कलङ्क रुपले सरकार चलाउँदै थियांै । अर्थतन्त्रका गम्भीर समस्याहरू समाधान गर्न एकपछि अर्को कदम चाल्दै यसलाई देशको पक्षमा लयमा फर्काउन कोशिस गरिँदै थियो।
राणा साशनको अन्त्यपछि सुशासनको पक्षमा कुनै क्रान्तिकारी कदम चालेको छ भने माओवादी केन्द्रको नेतृत्वको सरकारले चाल्यो । यो कसैले इतिहासमा मेटाएर मेटिने छैन । यो एतिहासिक रेकर्ड कायम भई नै सक्यो । यिनै रेकर्डहरुको बीचमा काग्रेस एमालेका साथीहरु बडो अप्राकृतिक, अपरादर्शी र जालझेलपूर्ण ढंगले आउनुभयो । यहाँ सबैले बुझ्नुभएको छ ।

अघिल्लो दिन राति हस्ताक्षर गरेर सरकार बनाइसक्ने निर्णय गरेपछि भोलिपल्ट बिहान चार घण्टा मसँग कुरा गरेर कांग्रेस जस्तो भ्रष्ट पार्टीसँग म मिल्छु त ? मैले जति कसले भोगेको छ, बुझेको छ कांग्रेस जस्तो भ्रष्टाचारी विदेशी दलाललाई ? तपाई र हामी अब मरे पनि सँगै, बाँचे पनि सँगै यस्तो जालीझेली कुरा गरियो । हामी त कल्पना पनि गर्न सक्दैनौं । यस्तो संस्कार त हाम्रो रगत र नशामा नै छैन । त्यस्तो जालझेल र सडयन्त्रबाट बनेको सरकारबाट जनताले के आश गर्ने ?
मलाई खुशी र गर्व के छ भने मैले, हाम्रो पाटी र हाम्रा नेताहरुले जनतालाई धेरै भन्न परेन, जनताले आफै बुझ्नुभयो । यो सरकार भ्रष्टाचारीहरुलाई बचाउन बनेको हो, जुन दिन दुई जना फरार अभियुक्तहरु पक्राउ परे रातारात सरकार परिवर्तन गर्ने खेल भयो । यिनहरु कालेकाले मिलेर खाउ भाले हुन भन्ने कुरा जनताले बझ्यो।

हामी अहिले खबरदारी मात्रै भनेका छौं, तपाईहरुलाई गलत्याउने भनेका पनि छैनौ, गर्दैनौ पनि । तर तपाईहरुले हाम्रो कुरालाई अस्ति बुझाएको ज्ञापनपत्रका मुद्दाहरु, जनताको मुद्दाहरुलाई, अविरल वर्षाबाट भएको जनधनको क्षति, राहत र पुनःस्थापनाको कामलाई अघि बढाउनुभएन, भ्रष्टाचारीहरुलाई जोगाउने षड्यन्त्रपूर्वक गरिएका क्रियाकलापलाई रोक्नुभएन, हामीले शिक्षामा सुरु गरेको मेरिटोक्रेसी, स्वास्थ्यको सुधारमा गरेको तमाम काम उल्टाउने काम गरेमा स्थिति सोचेजस्तो हुने छैन ।

हामीले विद्युत प्राधिकरणमा नियुक्त गरेका योग्य अधिकारीलाई हटाउने प्रयास भइरहेको छ । आम नेपालीलाई अब छर्लङ्ग थाहा छ, लोडसेडिङको भयानक अन्धकार युगबाट नेपाललाई उज्यालो युगमा कसले ल्यायो ? माओवादी केन्द्रले होइन ? यो अहिलेको सरकारलाई यो आँखाको कसिङ्गर भएको छ । विद्युत प्राधिकरण, कुलमान घिसिङ, माओवादी, प्रचण्ड, जनार्दन नारायणकाजी श्रेष्ठ भनेपछि उनीहरुलाई आतंक हुने गरेको छ ।आज भोलि उहाँहरुले के भन्नुहुन्छ भने जबसम्म यो माओवादी रहिराख्छ, प्रचण्ड रहिराख्छ, हामीले सुख पाउने भएनौं । त्यसैले यो माओवादी सिध्याउनुपर्छ भनेर रातदिन लाग्नुभएको छ । माओवादीलाई फुटाउन सकिन्छ कि ? अरु नेतृत्वलाई कसरी बदनाम गर्न सकिन्छ भन्ने षड्यन्त्र उहाँले चलाइराख्नु भएको छ ।

जनतालाई भने विस्तारै माओवादी बलियो भएन भने हामी बर्बाद हुन्छौं भन्ने बोध हुँदै गएको छ । त्यसकारण माओवादी बलियो हुनैपर्छ भन्ने जनतामा परेको छ । प्रतिक्रियावादीलाई कसरी माओवादी कमजोर पार्ने भन्ने छटपटि छ भने जनतालाई एकपटक माओवादीलाई नै बलियो बनाउनुपर्छ भन्ने चिन्ता भएको देखेको छु । म सम्पूर्ण नेपालीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईहरुको भावनाप्रति इमान्दार भएर अन्तिम समयसम्म हामी जनताको हक अधिकार र मुक्तिको निम्ति लगिराख्नेछौं ।

हामीले पहिले नै भनेका छौं, अब हामी चुनाव तपाईहरु जस्ता बेइमान र भ्रष्ट बिचौलियाका प्रतिनिधि पार्टीसँग मिलेर लड्ने छैनौं । जति ल्याए पनि एक्लै लड्ने छौं । हामीले ६४ मा एक्लै लडेको हो र देशको सबैभन्दा ठूलो पार्टी भएको हो । हामीले बीचमा केही गल्ती गर्यौं । जनतासँग सम्बन्ध जति बलियो बनाउनुपथ्र्यो, सकेनौं । हामी त्यो गल्ती सच्याउन चाहन्छौं ।
हामी जनतातिर फर्किन चाहन्छौं । अस्ति चितवनमा भएको बेपत्ता योद्धा कमरेड दण्डपाढाी न्यौपानेको स्मृति कार्यक्रममा कमरेड विप्लबले हामी एकता गर्छौं, ८४लाई ६४ बनाएर देखाउछौ भनेर उद्घोष गर्नुभयो । माओवादी फेरि एक हुन्छ र बनाइन्छ र एक्लै चुनाव लडेर कांग्रेस र एमाले जस्ता बेइमान र भ्रष्ट पार्टीहरुलाई उचित सजगाय जनताकै तहबाट दिइन्छ।

हिजो सामन्ती निरंकुशताकाविरुद्ध, राजतन्त्रकाविरुद्ध हामीले जनयुद्धका माध्यमबाट जनमुक्ति सेना खडा गरेर देशका सबै उत्पीडित वर्ग, जाति क्षेत्र, लिङ्ग समुदाय सबैलाई जगाएर एउटा नयाँ राजनीतिक आन्दोलनका साथ देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्यायौं । मलाई अहिले पनि के विश्वास छ भने अर्को एउटा नयाँ अभियान (त्यो सशस्त्र होइन्) चलाइने छ, त्यो जनक्रान्तिको माध्यमबाट जसलाई ग्रिन रिभलुसन भन्छन् आजकल ।

माओवादीले गरेको खबरदारी सभामा त जनताको यत्रो उपस्थिति रहेको छ भने भोलि हामीले विरोध सभा भनेर देशैभरिबाट जनता ल्यायौं भने त्यो एउटा नयाँ क्रान्ति हुनेछ । त्यो क्रान्तिबाट अहिलेका सबै बिचौलिया, दलालह र भ्रष्टहरूको शासन अन्त्य हुनेछ र जनताको वास्तविक साशन स्थापना हुनेछ । त्यसको निम्ति मैले विभिन्न ठाउँमा भनेको छु म थाकेको छैन । हाम्रा नेताहरू कोही पनि थाकेका छैनन् । हाम्रा कार्यकर्ता र हाम्रा समर्थक थाकेका छैनन् ।
जब माओवादी जनतातिर फर्किन्छ, मलाई विश्वास छ जनताले फेरि आफ्ना छोराछोरीहरुलाई माया गर्नेछन् । आफ्ना छोराछोरीहरुलाई माफी दिनेछन् । र फेरि यही पार्टीको नेतृत्वमा एउटा नयाँ अभियानमा जानेछन् । मैले अब जनताका छोराछोरीलाई बन्दुक बाँड्नु छैन, उत्पादनको औजारका औजार बाँडेर, देशमा अर्थतन्त्रलाई नयाँ गति दिएर नेपाली युवालाई देशभित्रै रोजगारीका अनगिसन्त अवसर सृजना गर्ने सपना पूरा गर्नुपर्ने छ । हामीले पार्टीको हेटौडा महाधिवेशनबाट उत्पादन ब्रिगेडको परिकल्पना गरे पनि लागु गर्न सकेनौं, अहिले म त्यसको समीक्षा गर्दैछु ।

अब युवाहरुलाई उत्पादनका औजारसहित उत्पादनको एउटा नयाँ सेना बनाएर दलालहरुको भ्रष्टाचार र बेइमानी अनि विदेशीको हैकम र हस्तक्षेपको अन्त्य गर्ने एउटा नयाँ अभियान चलाउने आँट गर्दैछौं । मैले भन्ने गरेको छु, मलाई अहिले फरक जोश आइरहेको छ । हुन त म ७० वर्ष भएँ तर ७० पुगे जस्तै लाग्दैन । म फेरि एउटा क्रान्तिको नेतृत्व गर्नसक्छु भन्ने आँट छ । म आफूले हेर्दाहेर्दै यत्रो ठूलो परिर्वन बिचलनतिर जालाकि भन्ने सबैभन्दा ठूलो डर छ । त्यसो भएको हुनाले हामी एउटा नयाँ आन्दोलन, नयाँ अभियानमार्फत उपलब्धिको रक्षा मात्रै होइन थप उपलब्धि हासिल गर्न सक्नेछौं भन्ने विश्वास लिएको छु ।

भ्रष्टाचारको कुरा गर्दा हाम्रो सिस्टमलाई सोच्नुपर्ने हुन्छ । जबसम्म हाम्रो देशमा चुनाव लड्नको लागि करोडौं खर्च गर्ने सिस्टम रहन्छ, भ्रष्टाचार रोकिँदैन । केही मान्छेलाई कारबाही गर्दैमा सिस्टम गलत भयो भने भ्रष्टाचार त्यहीबाट जन्मिराख्छ । त्यसकारण जनताद्वारा निर्वाचित कार्यकारी प्रमुख भयो र उसले विज्ञहरुलाई मन्त्री बनाउने व्यवस्था भयो भने भ्रष्टाचारको अन्त्य त्यहीबाट गर्न सकिन्छ । निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाइयो भने त्यहाँ भ्रष्टाचार हुँदैन ।
अर्थतन्त्रको स्थिति के भएको छ अहिले ? दिन प्रतिदिन ओरालो लागिरहेको छ । हामीले उकालो लगाउँदै लगेका थियौं । अहिले ओरालो लागेको छ । त्यो जनता, व्यापारी व्यावसायीले भोगिराखेका छन् । त्यसकारण हामीले सरकारलाई हामीले धेरै भन्नु पर्दैन, जनताले राम्रोसँग बुझेका छन् ।

मलाई एउटा आरोप थियो, यो भाटभटेनी भन्ने प्रचण्डको हो । दुईचार वर्ष अगाडिदेखि म होइन भन्छु, पत्याउने कसैले होइन, प्रचण्डकै हो भन्याछन् हिड्याछन् मान्छेहरु । अब हाम्रो सरकारले छोपेर मुद्दा चलाउँदा पनि यो प्रचण्डकै हो भनेका थिए मान्छेहरुले । म हैरान थिएँ, यो के गरी कसरी क्लियर गर्ने होला भनेर । अहिले केपीजीले क्लियर गर्दिनुभयो, धन्यवाद केपी जी । त्यसको सेयरहोल्डर त तपाई पो रहेछ । भ्रष्टाचारी त तपाई पो रहेछ भनेर तपाईले नै क्यिर गरिदिनुभयो मैले बोल्नै परेन ।

अब आजभोलि एउटा समाचार सुन्छु । मलाई अनौठो लाग्छ । मैले केहीदिन अगाडि एउटा कार्यक्रममा रबिन्द्र मिश्रसँग भेट भयो, त्यो कार्यक्रममा उनले तपाईसँग भेट्न चाहान्छु भने र मैले हुन्छ भनें । अब मैले उनलाई भेट्नै नहुने त कुरा होइन। हिजोको पत्रकार, अहिलेको राजनीति गर्ने मान्छे । मैले उनलाई के भेटेको थिएँ, प्रचण्डले ज्ञानेन्द्र शाहलाई भेट्यो भन्ने स्याल हुँइया छ ।

एकथरिले यही भेट्यो भन्ने र एकथरिले झापा गएको बेला भेट्यो भने । हिजो एक जना वरिष्ठ पत्रकारले ज्ञानेन्द्र शाहलार्ई भेट्यो प्रचण्डले भनेर लेखिदिनुभएछ । म यस्ता भ्रामक झुटा बैमानीपूर्ण प्रचार गर्नेहरुप्रति खेद प्रकट गर्दछु, भत्र्सना गर्न चाहान्छु । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति फेरि एउटा क्रान्ति गर्छु भनेर अगाडि बढ्या छ, उसलाई बदनाम गर्न ज्ञानेन्द्र भट्यो भनियो, यो सबै झुट हो ।

हामीले चाँहे मिटरब्याज पीडितका कुरा गरौं, चाहे नागरिकताविहिन नेपाली नागरिकलाई नागरिकता दिने कुरा । सामाजिक सुरक्षा कोषमा आबद्धका निम्ति नीति नियम बनाउने कुरा गरौं । हामी लगातार यसमा अगाडि बढि नै राख्यौं । अहिले कताकता फेरि एकथरीले के भन्छन् भने यो खबरदारी सभा प्रचण्डले किन राखेको रे भने रवि लामिछानेलाई मुद्दाबाट बचाउन भनेर प्रचार भएको छ । हामीले बडो प्रष्ट हिजो पनि भनेका थियौं, दोषी कोही बच्न हुँदैन, निर्दोष कोही फस्न हुँदैन ।

हामीले हिजो भ्रष्टाचारविरुद्धको अभियानमा त्यही हो भनेको र हामी अहिले पनि भन्छौं, सबै सहकारी पीडितहरुले न्याय पाउनुपर्दछ । लघुवित्त पीडितहरूले न्याय पाउनुर्दछ । मैले सरकारमा हुँदा सहकारी पीडितहरुको पक्षमा न्याय दिनको लागि पचासौं बैठक सिंहदरबारमा राखेको छु । सहकारी ठगहरुलाई कारबाही गर्नुपर्छ भन्ने कुरामा हामी कहिकतै अन्योलमा थिएनौं । मैले भनेको यति मात्रै हो, जतिबेला संसदमा सहकारीसँग सम्बन्धित बहस चल्यो, मैले छानविन समिति बनाउन उचित हुन्छ भन्ने कुरा राखेको हो ।

तपाईहरुलाई थाहा होस्, त्यतिबेला रवि लामिछानेको कुरा चलिराख्या थियो । रवि लामिछानेसँग कुरा गर्दा रवि लामिछानेलाई पनि समिति बनाएर छानबिन गर्नु उचित हुन्छ, तपाईं दोषी हो भने तपाईले कारबाही भोग्न तयार हुनुपर्छ । तपाई दोषी होइन भने तपाई उन्मुक्ति पाउनुपर्छ, डराउनुपर्ने कारण छैन भन्या हो मैले । त्यहीअनुसार रबिले पनि बनोस् भनेको हो । बरु बन्न हुँदैन भन्ने केपी ओलीजी हो । रबिलाई हरहालतमा बचाउनैपर्छ भन्ने हिजो केपी ओली हो । तर अहिले सरकारले फरक रवैया अपनाएको छ । यसमा हाम्रो आपत्ति छ ।

अस्ति हामीले ज्ञापनपत्र बुझाउँदा पनि सरकारलाई भन्यौं । त्यही प्रतिवेदनमा नाम उल्लेख भएका अझ गम्भीर गल्तीको नाम उल्लेख भएका एमाले र कांग्रेसका नेता किन पक्राउ गिरिएन ? राजनीतिक पूर्वाग्रहले प्रतिपक्षलाई मात्रै गिरफ्तार गर्ने तरिका जो छ, सरकारको बेठिक छ । हामीले भनेकै हो ।

तपाईहरुलाई पक्कै याद होला, प्रचण्ड र प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीका विरुद्ध कारबाही गर्दा यदि भ्रष्टाचारको मुद्दामा प्रचण्डै देखापर्यो भने त्यसलाई पनि गिरफ्तार गर भन्या हो मैले । यहाँ त्यतिबेलाको गृहमन्त्री र म सँगै सिआबीसँग बसेर तपाईहरुले माओवादीको मान्छे पर्यो भनेर बचाउन पर्दैन । अरुको कुरा छोड्दिनु, प्रचण्ड देखापर्यो भने पनि पक्रिनु भन्ने मान्छेले आज कसैलाई बचाउन सभा गर्नुपर्छ ?

हाम्रो पार्टीलाई र मलाई केमा गर्व छ भने केही सकारात्मक र राम्रा कामका कारणले र एमाले कांग्रेसका नकारात्मक कामका कारणले जनताले एकचोटी माओवादीलाई फेरि हेर्नपर्ने ठान्यो । हामीलाई गर्व छ । हामी खुशी छौं । जनतालाई हामी विशेष रुपले बधाई भन्न चाहन्छौं ।

हामीलाई केही धुलोमैलो लागेकै थियो । यो हामीभित्रको धुलो मैलो पखाल्ने अवसर हो । हामीलाई एउटा मौका चाहिएको छ । माओवादी बलियो भएन भने अहिले तपाई हामीले देखेका छौं । मध्यपूर्वमा एउटा लडाईको विष्फोटक स्थिति छ । मान्छेहरुले तेस्रो विश्वयुद्ध सुरु भैसक्यो समेत भनेका छन् ।

कोहीले छिट्टै अब तेस्रो विश्वयुद्ध हुन्छ भन्न थालेका छन् । त्यो स्थिति एकातिर छ भने नेपालको भूराजनीतिक स्थितिका कारणले यदि हामी नेपाली जनता सजग, संगठित र जागरुक भएनौं, हामी आन्दोलित भएनौं भने राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता दिनप्रतिदिन खतारामा पर्ने स्थिति छ । नयाँ शीयुद्धको इपिसेन्टर केन्द्रविन्दु नेपाल त हुने होकी भन्ने चिन्ता पैदा भएको छ ।

यहाँ अघि कुरा आयो स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) अमेरिकाको सुरक्षासँग सम्बन्धित एउटा ठूलो रणनति मानिएको छ र हामी नेपालले त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सक्दैन भन्दैआएका छौं । यसमा सैद्धान्तिक सम्झौता हिजो आजकै प्रधानमन्त्री भएको बेलामा उहाँकै प्रतिनिधि परराष्ट्रमन्त्री भएको बेलामा भएको थियो । हिजो अमेरिकाका केही मिडियाहरुमा नेपालले २०१९ मै सम्झौता गरेको थियो भनेर समाचारहरु आएका छन् । त्यसकारण हामी सबै सजग हुन जरुरी छ ।
तपाई हामी सजग हुँदा नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा हुन सक्छ । यस सन्दर्भमा माओवादी केन्द्रले सबै देशभक्त, वामपन्थीहरु सबैलाई एकताबद्ध गर्ने र सबभन्दा पहिले माओवादीलाई नै एकताबद्ध गर्ने एउटा संकल्प लिएको छ । हामी नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न चाहन्छौं। म यसको निम्ति अपील गर्न चाहान्छु ।

म अर्को कुरा के भन्न चाहन्छु भने अर्थतन्त्र र उद्योगका सम्बन्धमा मैले पछिल्लो प्रधानमन्त्रीत्वकालमा हेटौंडा कपडा उद्योग, गोरखकाली टायर उद्योग, बुटवल धागो कारखाना, विराटनर जुट मिललगायतका रुग्ण र बन्द भएका उद्योगहरुलाई पुनः सञ्चालनका लागि दजनौं बैठक गरेर प्रक्रिया अगाडि बढ्दै थियो । तर, अहिलेको सरकारले बाँकी रहेका सार्वजनिक संस्थान र उद्योगहरुलाई पनि निजिकरण गर्ने निर्णय गरेको छ । बिचौलियाहरुलाई बेच्दै छ । म यहीबाट फेरि भन्न चाहन्छु, एउटा पनि सार्वजनिक संस्था बिचौलियालाई बेच्ने काम भयो भने त्यो नेपाली जनतालाई सैह्य हुनेछैन ।

म प्रधानमन्त्रीजीको बारेमा मैले केहि भन्न चाहान्न । तपाईहरुलाई थाहा नै छ । प्रधानमन्त्रीजीको एकदमै खास स्वभाव छ, एकदमै खास । अरुले ‘गर्नुहुन्न’ भनेपछि त्यही नगरी नहुने । कहीँ न कहीँ स्थिति भत्काउनै पर्ने, नियम मिच्नै पर्ने, शक्तिको दुरुपयोग गर्नैपर्ने । कसै न कसैलाई होच्याउनैपर्ने, अपमानित गर्नैपर्ने । प्रतिशोध र संसद विघटनको धङ्धङीबाट पनि उहाँ अझै ब्यूझनुभएको छैन । खासमा व्युँझने र आत्मसमीक्षा गर्ने उहाँको चरित्र नै होइन ।

अपराध पनि उहाँ उत्सवका रुपमा गर्नुहुन्छ । उहाँको शैली, चरित्र, व्यवहार र सोच केहीले पनि लोकतन्त्रको प्रतिनिधित्व गर्दैन । बाढीपहिरोमा देखिन्न सरकार । प्राकृतिक विपत्तिमा देखिन्न । कहाँ देखिन्छ ? दल विभाजन गर्न, उपसभामुख हटाउन, कुलमानहरु हटाउन । आजकल कसैले सोध्दा पनि सोध्दैन–कहाँ पुग्यो भुटानी शरणार्थी काण्ड ? कहाँ पुग्यो बाँसवारीको जग्गा काण्ड ? कहाँ पुग्यो गिरिबन्धु काण्ड ? कहाँ पुग्यो वालमन्दिर काण्ड ? किनकि सबैलाई थाहा छ, यो काण्ड खोतल्न होइन, काण्ड मिलाउन आएको सरकार हो ।

विद्युत प्राधिकरणमा सरकार जे गर्न खोज्दै छ, हाम्रो खबरदारी छ । भूटानी शरणार्थी काण्डलाई जता पुर्याउन र इमान्दार प्रहरीलाई जसरी दण्डित गर्न खोज्दै हुनुहुन्छ, हाम्रो खबरदारी छ । विश्वविद्यालयमा मेरिटोक्रेसी मिच्दै हुनुहुन्छ, हाम्रो खबरदारी छ । गिरिबन्धुलगायतका नीतिगत भ्रष्टाचारहरुमा रफु भर्दै हुनुहुन्छ, हाम्रो खबरदारी छ । अहिलेकै प्रधानमन्त्रीे हिजो प्रधानमन्त्री हुँदा बनाएका वैदेशिक श्रमका मापदण्ड कसका लागि किन उल्ट्याउँदै हुनुहुन्छ, हाम्रो खबरदारी छ । नत्र, संसद र सडकमा तपाइँहरुले त्यो प्रतिरोध देख्नुपर्नेछ जसको तपाईहरुले कल्पना गर्नुभएको छैन । हामी चाहन्छौं, त्यस्तो गर्न नपरोस्, त्यस्तो नहोस् । आज हामी यो खबरदारी गर्न सडकमा छौं कि देश कांग्रेस एमालेको विर्ता होइन । संख्याको प्राविधिक बलमा जस्तासुकै अपराध गरे पनि हुन्छ भन्ने कसैलाई लागेको भए तिनले त्यो भन्दामाथि जनताको अदालत छ भन्ने नबिर्सुन् । अब भनिरहनु पर्दैन, सरकारका पछाडि विचौलिया छ ।

सरकारका पछाडि माफिया छ । सरकारका पछाडि देशको दोहन गरिरहेको अपराधिक समूह छ । नक्कली भूटानी शरणार्थी काण्ड सामसुम पारियो । संसारले हेरेको छ यो घटनालाई । यसमा एकले अर्कालाई चोख्याएर कांग्रेस र एमालेले मुलुकको विश्वसनियता समाप्त पार्ने भए । त्यसकारण चाहिने भयो खबरदारी । चाहिने ठाउँमा कहीँ छैन सरकार । नचाहिने ठाउँमा जताततै छ ।

सरकारलाई केले चलाएको छ ? विचौलियाहरुको दबाब र प्रभावले । पछिल्लो निर्णय सुन्नुभयो होला, बचेखुलेका उद्योगहरु पनि अब सरकारले निजीकरणका नाममा स्वार्थ समूहहरुलाई सुम्पिँदै छ । जथाभावी नगर, जवाफ माग्ने हामी छौं । संसदको रोष्टममा मात्र होइन, परिआए सडकमा ल्याएर पनि जवाफ माग्नेछौं । तिमीहरुलाई के लाग्छ, माओवादी मर्यो भन्ने लाग्छ ? जे गरे पनि हुन्छ भन्ने लाग्छ ? जवाफ दिन पर्दैन भन्ने लाग्छ ? संसदको रोष्टममा भद्र तरिकाले मागिन्छ तिमीहरुसँग जवाफ । धेरै अभद्र भयौं भने सडकमै घिसारेर, सडकमै अभद्र तरिकाले मागिन्छ जवाफ ।

टिनको छानोमाथि उभिएको एउटा परिवारले काठमाडौंको मुटुमा चार घण्टासम्म उद्धार पाएन । यिनीहरुको सरकारले यो सय दिनमा ७० नम्बर ल्यायो रे ! मैले भनेको होइन, यिनीहरु आफैंले भनेको हो । अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर कस्तो होला ? मैले निरन्तर भन्दै आएको छु, संसदको पहिलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो दल एमालेलाई विश्वास, आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको छ ।
केपी जीले बेलाबेलामा भन्ने गर्नहुन्छ दुई तिहाई छ हामीसँग । तपाईले दुई तिहाईको कुरा गरेको विल्कुल सुहाउँदैन । नेकपा एक्लैको दुई तिहाई भएको बेला प्रधानमन्त्री हुँदा आफ्नै दुईतिहाईमा बञ्चरो हान्ने नेताले कांग्रेसको बैशाखीको दुईतिहाईको धाक दिन मिल्छ ? आफ्नै दुई तिहाई हुँदा त संविधान मिचेर संसद विघटन गर्ने र त्यो दुईतिहाईलाई प्रहार गर्नेले कांग्रेसको बुई चडेर मेरो दुई तिहाई छ भनेको छ, कति लाजमर्दो ?

त्यसकारण संख्या होइन सत्य ठुलो कुरा हो । संख्या होइन जनता ठूलो कुरा हो । हामी सत्य र जनताको पक्षमा छौं । हाम्रो जीत हुन्छ । छोटो समयको सूचनामा खबरदारीसभामा देखिएको अपार उपस्थिति र उत्साहले हामीलाई एउटा नयाँ उर्जा दिएको छ, एउटा नयाँ आन्दोनको निम्ति, एउटा नयाँ अभियानको निम्ति ।

हामी हतारोमा छैनौं । तर जनतासँग मिलेर एउटा नयाँ अभियानमार्फत समाजवादको आधार, समाजवादी क्रान्तिको आधार तयार पार्ने संकल्पमा छौं । यसलाई कसैले खेलाची नठानोस् । म तपाईहरु सबैलाई यही अपिल गर्न चाहन्छु ।
अब खबरदारीसभालाई देशका सबै पालिकामा, देशका सबै वडामा हामी कार्यक्रम बनाएर पुर्याउने छौं । अन्तिममा जरुरी पर्यो र सरकारले निउ खोज्यो भने संसदभित्र विशेष अधिवेशनको माग गर्नेछौं । विशेष अधिवेशन माग गर्नसक्ने संख्या विपक्षीहरुसँग छ । त्यो माग्ने छौं र संवैधानिक तरिकाले उनीहरुका विरुद्धमा संर्घषमा जानेछौं । दिन उनीहरुले हाम्रो कुरालाई गम्भिर रुपले लिएनन् भने यो खबरदारी सभा विशाल विरोध सभा र आन्दोलनमा परिणत हुने छ । अब हेक्का राख्ने जिम्मा सरकार कै हो ।
धन्यवाद । अभिवादन ।

(नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्तिक १० गते काठमाडौंमा भएको खबरदारीसभालाई गरेको सम्बोधन)

बुधबार बिदा हुन लागेकी राणा एआईजीमा बढुवा, राति नै लगाइयो फूली

काठमाडौं । प्रहरी नायव महानिरीक्षक(डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)पदमा पदोन्नति भएका किरण राणा र डा. सुन्दरप्रसाद ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

मंगलबार साँझ बसेको बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बैठकको निर्णयलगत्तै मंगलबार राति प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

राणा प्रहरी सेवाबाट बुधबार अवकास हुँदैछिन् । बिहीबार उमेर हदका कारण अवकास हुने राणालाई कात्तिक ४ गते बढुवा समितिले एआईजीमा सिफारिस गरेको थियो ।

बुटवलबाट २९ तोला सुनसहित दुईजना पक्राउ

बुटवल । प्रहरीले साढे २९ तोला सुनसहित रुपन्देहीको बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार सोमबार राति १० बजेको समयमा पश्चिमबाट पूर्व जाँदै गरेको लु.२ ख.६५४२ नम्बरको बसमा खानतलासी गर्दा ४९ लाख ५४ हजार मूल्य बराबरको २९ तोला ५८ लाल सुनसहित दुई जनालाई पक्राउ गरिएको हो ।

राजश्व छली गरी अवैध रुपमा सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा बसका कण्डक्टर कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३३ का अकबर अलि मिया र अर्घाखाँचीका सन्तोष सुनार सुनसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अघिकारी लक्ष्मी खनालले जानकारी दिए । उनीहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको छ ।

भूमि आयोग गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले भूमि समस्या समाधानका लागि आयोग गठन गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आयोगको उपाध्यक्षमा जाजरकोटका सनत कार्की, सदस्यहरुमा महेत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं, विज्ञतर्फ सदस्य सिन्धुपाल्चोकाका डा. जगतबहादुर बस्नेत, कैलालीका टेक बहादुर शाह, दार्चुलाका गोवर्दन कोली र तनहुँकी आरती भण्डारी रहेका छन् ।

त्यस्तै बैठकले नेपाल प्रहरीको डीआईजी किरण राणा र प्राविधिकतर्फ डा. सुन्दर प्रसाद ह्योजुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

असन बजारमा लाग्यो तिहार(फोटोफिचर)

काठमाडौं । तिहार सुरु भएसँगै काठमाडौंका मुख्य बजारहरूमा किनमेलका लागि सर्वसाधारणहरूको भीड बढेको छ ।

काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड, महाबौद्धलगायत क्षेत्रमा तिहारका लागि आवश्यक पर्ने भाइ मसला, फूलका माला, झिलिमिली बत्ती, खाद्यान्न, कपडा, गरगहना, भाँडाकुँडा लगायतका माला, भाइ मसला लगायत सामग्री किन्नेहरूको भीड बढेको हो ।

तस्बिरः सुरज घिमिरे/रासस

चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण गर्ने समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससंग सम्बन्धित उद्योगी व्यवसायीबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ ।

चेम्बर अध्यक्ष कमलेस कुमार अग्रवाल सहितका पदाधिकारीसमक्ष युनान प्रान्तमा विभिन्न व्यवसायिक क्षेत्रको नेतृत्व गर्दै आएका उद्यमी व्यवसायीहरूले लगानी र व्यापार सहजीकरणबारे छलफल गरेका थिए ।

खासगरी उद्योग, व्यापार र सेवा क्षेत्रमा सम्भाव्य लगानीका क्षेत्रहरूको पहिचान र दुई पक्षीय हित प्रर्वद्धन गर्न सकिने खालको प्रस्ताव ल्याउन अध्यक्ष अग्रवालले चिनियाँ व्यवसायी समक्ष आग्रह गरे ।

पूर्वाधार निर्माण, रियल स्टेट, व्यापार वृद्धि, चिया, औद्योगिक विकास एवं सांस्कृतिक क्षेत्रमा दुई पक्षीय लगानी र व्यापार साझेदारीका विभिन्न विकल्पबारे दुई देशका निजी क्षेत्रबीच महत्वपूर्ण छलफल भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चेम्बर अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरे । नेपालमा लगानीको वातावरण एवं प्रतफल सुनिश्चितताका लागि चेम्बरले पहल गर्ने समेत अध्यक्ष अग्रवालले प्रतिवद्धता जनाए ।

अरु सहकारी ठगीका आरोपीलाई बचाइराख्दा रविलाई हिरासतमा राख्नुको औचित्य छैनः उपसभापति वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सरकार रवि लामिछानेलाई सिध्याउने खेलमा लागेका आरोप लगाएका छन् ।

सहकारी ठगीमा पक्राउ परेका पार्टी सभापति लामिछानेलाई हिरासतमुक्त गराउन बालुवाटार भएको विरोध प्रदर्शनमा उनले सरकार दल फुटाउने विधेयक ल्याएर साना दल फुटाउने र लामिछानेलाई सिध्याउने रणनीतिमा लागिपरेको आरोप लगाएका हुन् ।

उनले स्वतन्त्र छानबिन आयोग बनाएर सबै भ्रष्टहरुको छानबिन आफूहरुले गर्ने दाबी गरे । उनले अरु सहकारी ठगीको आरोपीहरुलाई सरकारले बचाइराख्दा रविलाई हिरासतमा राख्नु कुनै औचित्य नरहेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ र ऋषिकेश पोखरेल जस्तालाई पनि आरोप लागेको छ । तर सरकारले उनीहरुलाई बचाइराखेको छ । जीबी राईका सल्लाहकार आज राष्ट्रपतिका सल्लाहकार छन् । उहाँहरूलाई चाहिँ उन्मुक्ति दिने, स्वतन्त्र हिड्न दिने तर रविलाई हिरासतमा राख्नु औचित्य छैन । अभिलम्ब उहाँ रिहा हुनुपर्छ ।’

रुबी खान र सरकारबीच तीन बुँदे सहमति

काठमाडौँ । निर्मला कुर्मी बेपत्ता प्रकरणमा आन्दोलनरत अधिकारकर्मी र गृह मन्त्रालय बीच सहमति भएको छ । निर्मला कुर्मी अपहरण शरीर बन्धक तथा कर्तब्य ज्यान सम्बन्धि जाहेरीको विषयलाई लिएर गत साउन २५ गते देखि आन्दोलनरत रुबी खान सहितको समूह र गृह मन्त्रालयका प्रतिनिधिबीच मंगलबार तीन बुँदे सहमति भएको हो ।

निर्मला कुर्मीको अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी जाहेरी सँग सम्बन्धित अनुसन्धान सम्बन्धमा गृह मन्त्रालय र आन्दोलनरत पक्ष बीच मिति २०८१ आषाढ १० गते भएको सहमतिको बुँदा नं. १ बमोजिम शीघ्र निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई पत्राचार गर्दे सहमति भएको हो ।

विगतमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूलाई थप अनुसन्धानको लागि आवश्यकता अनुसार प्रहरी प्रधान कार्यालयले तत्काल काजमा खटाईनेछ ।

निर्मला कुर्मी बेपत्ता प्रकरणमा अनुसन्धानको विषयलाई लिएर सरकारले खानसँग यसअघि चार पटक सहमति गरिसकेको छ । तर अदालतसम्म मुद्दा नपुर्याएको भन्दै उनीहरु फेरि आन्दोलित भएका थिए । उनीहरुले सोमबार र मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामासमेत धर्ना दिँदै ध्यानकर्षणपत्र बुझाएका थिए ।

निर्मला कुर्मी बेपत्ता प्रकरणमा कांग्रेस लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मी संलग्न रहेको उनीहरुले बताउँदै आएका छन् । गृह मन्त्रालयले बनाएको जाँचबुझ समितिले पनि उनको भूमिका शंकास्पद रहेको बताएको छ । तर, प्रहरीले अनुसन्धानमा गम्भीरता नदेखाएको भन्दै रुबी खानको समूह असन्तुष्ट बनेको छ ।

नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवद्र्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने उल्लेख गर्दै त्यसनिम्ति सक्रिय भएर लाग्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायत सम्बन्धित निकायहरुसँग अनुरोध गरेका छन् ।

केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले नवीकरणीय ऊर्जाको विकासका लागि त्यससम्बन्धी विधेयक यथाशीघ्र पारित गर्नुपर्ने पक्षमा आफू रहेको बताए । उनले संसद्को आगामी अधिवेशनमा उक्त विधेयकलाई प्राथमिकताका साथ प्रस्तुत गरिने बताए ।

ऊर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसलाई पूरा गर्न केन्द्रको भूमिका महत्वपूर्ण हुने बताए ।

मन्त्री खड्काले नवीकरणीय ऊर्जा विकासको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नवीकरणीय ऊर्जाका माध्यमबाट विद्युत् नभएका स्थानमा उज्यालो पु¥याउन केन्द्रले निर्वाह गरेको भूमिकाको सराहना गरे । उनले विद्युत्मा पहुँच नभएका ग्रामीण इलाकामा नवीकरणीय ऊर्जा उत्पादन गर्न केन्द्रलाई सुझाव दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा सौर्य प्यानलका माध्यमबाट ऊर्जा उत्पादन भएको जानकारी दिए ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले स्थापनाकालदेखि नै केन्द्रले अहोरात्र काम गरी हालसम्म ४० हजार दुई सय ५३ किलोवाट लघु तथा साना जलविद्युत् आयोजना निर्माण गरेको जानकारी दिए । केन्द्रले हालसम्म देशका ३६ लाख ५० हजार घरमा नवीकरणीय ऊर्जा सेवा प्रवाह गरेको उनले बताए ।

देशभर नवीकरणीय ऊर्जाको क्षेत्रमा पाँच सयभन्दा बढी कम्पनी क्रियाशील रहेका छन्भने ती कम्पनीमा ४० हजारभन्दा बढीले रोजगारी पाएका छन् । वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुले रक्तदान गरेका थिए । 

साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट एन्फा आफैंले बिक्री गर्ने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशबीच बुधबार हुने साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलको टिकट आफैंले बिक्री गर्ने भएको छ ।

एन्फाले यसअघि सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेष्ट टिकट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै अनलाइन टिकट बिक्री बन्द गरेको र माउन्ट एभरेष्टसँग सम्झौता पनि रद्द गरेको जानकारी दिएको छ ।

१५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढीलाई प्रवेश दिएको पाइएपछि एन्फाले हस्तक्षेप गरेको छ । अब टिकट बुधबार बिहान ८ बजेदेखि जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी गेटबाट बिक्री हुने भएको छ ।

एन्फाले फाइनल खेलको अधिकतम १० हजार टिकट विक्री गर्ने जनाएको छ। एन्फाले एक व्यक्तिलाई भिआइपीतर्फको २ र साधारण तर्फको ५ टिकट मात्र किन्न पाउने बताएको छ ।

एन्फाका अनुसार अब फाइनलको टिकट अनलाइन टिकट बिक्री नहुने भएको छ साथै एन्फाले यसअघि अनलाइन खरिद गरेकाको पैसा फिर्ता गर्ने जनाएको छ । रंगशालामा भिआइपीतर्फको एक हजार र साधारणतर्फ ५०० रुपैयाँ टिकट दर तोकिएको छ। फाइनल खेल बुधबार साँझ ६ः३० बजेदेखि दशरथ रंगशालामा हुँदै छ।

नेप्सेमा उच्च अंकको बृद्धि, ६ अर्ब १२ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । सोमबार २७ अङ्कले बढेको नेप्से मंगलबार ४६ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्सुरेन्स र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन निफ्रा ऊर्जा ऋणपत्रको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो पाँच अर्ब ३४ करोडको शेयर कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर ६ अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीको २४ करोड रुपैयाँको शेयर किनबेच भयो ।

पर्वतको पर्यटकीयस्थल हम्पालमा विद्युतीकरण

पर्वत । धार्मिक एवम् पर्यटकीयस्थल कालाञ्जर हम्पाल लेकमा विद्युतीकरण गरिएको छ । जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित जलजला गाउँपालिका–५ र ६ को सिमानामा रहेको यस क्षेत्रमा सोमबार विद्युत् जडान गरिएको हो ।

जलजला र मोदी गाउँपालिकाको संयुक्त लगानी तथा नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रको प्राविधिक सहयोगमा विद्युत् जडान गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।

जलजला गाउँपालिकाका उपाध्यक्ष आचार्यले बत्ती बालेर विद्युतीकरणको शुभारम्भ गरेका हुन्। हम्पाल क्षेत्रको अन्य भागमा पनि विद्युतीकरण भइरहेको उनले बताए ।

समुद्री सतहदेखि तीनहजार तीन सय मिटरको उचाइमा अवस्थित कालञ्जर हम्पाल क्षेत्र धार्मिक एवं प्राकृतिक रुपमा सुन्दर पर्यटकीयस्थलको रुपमा परिचित छ । पछिल्लो समय यहाँ पर्यटन पूर्वाधारसमेत निर्माण गर्न थालिएको छ । हम्पाल क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सङ्घीय, प्रदेश र गाउँपालिकाले संयुक्त रुपमा पूर्वाधार निर्माण थालेका हुन् ।

पर्यटकका लागि आश्रयस्थल, भ्यूप्वाइन्ट, खानेपानी, शौचालय निर्माण र सडक स्तरोन्नति गरिएको हो । विद्युत् सुविधा पुगेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि हुने यहाँ होटल सञ्चालन गर्दै आएका टीकाबहादुर पुनले बताए । “विद्युत नहुँदा पर्यटक बास बस्न मान्दैन थिए, अब हम्पालमै पर्यटकलाई बास राख्न सकिन्छ”, उनले भने ।

हम्पाल र जलजलालाई पर्यटकीयस्थलका रुपमा विकास गर्न करिब एक अर्ब लागत अनुमानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले हम्पाल लेकमा भ्यूप्वाइन्ट, शौचालय, सन्त बस्ने कुटी निर्माण गरेको थियो । सङ्घ र प्रदेशबाट विनियोजित २०/२० लाखबाट उक्त पूर्वाधार निर्माण भएका हुन् ।

यसैगरी गत आवमा निर्माणधीन भवन बनाउन गाउँपालिकाबाट १४ लाख ५० हजार विनियोजन गरी भवनलाई पूर्णता दिइएको पालिकाका इन्जिनियर सुनिल बाँनियाले जानकारी दिए ।

यहाँबाट हिमशृङ्खला, सूर्योदय, सूर्यास्त र मनोरम पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ । धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे मनास्लुलगायत १६ भन्दा बढी हिमालका साथै पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ सम्मको भूगोल अवलोकन गर्न सकिन्छ ।

यस क्षेत्रमा नीरमसी, पाँचऔँलो सतुवालगायत बहुमूल्य जडीबुटीका साथै कालो मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षी पाइन्छ । लालीगुराँसको जङ्गल रहेको हम्पालमा ठूलो मैदान छ । सोही मैदान सम्याएर तलाउ बनाउने योजना गाउँपालिकाको छ । मोदी गाउँपालिकाले पनि यहाँ पदमार्ग र पर्यटकीय पूर्वाधार निर्माण थालेको छ । 

जापानको फुकुशिमा नजिकैको परमाणु रिएक्टर पुनः सञ्चालन हुने

टोकियो ।  । सुनामी–प्रतिरोधी पर्खाल अपग्रेड गरिएको एक जापानी परमाणु रिएक्टर क्षतिग्रस्त फुकुशिमा संयन्त्र नजिकैको क्षेत्रमा पुनः सञ्चालन हुने भएको यसका सञ्चालकले बताएका छन् ।

जापानले सन् २०११ को फुकुशिमा विपत्तिपछि आफ्ना सबै ५४ रिएक्टर बन्द गरेको थियो तर त्यसयता ३३ मध्ये १२ वटा सञ्चालनयोग्य एकाइ पुनः सञ्चालनमा ल्याएको छ । यद्यपि पूर्वी र उत्तरी क्षेत्रमा कुनै पनि छैनन् ।

तोहोकु इलेक्ट्रिक पावर कम्पनीका अनुसार फुकुशिमा प्रिफेक्चरसँग जोडिएको उत्तरपूर्वी मियागी क्षेत्रको ओनागावा संयन्त्रको एकाइ नम्बर दुई मङ्गलबार १३औँ एकाइ बन्ने भएको छ ।

उत्सर्जन कटौती गर्न, जीवाश्म इन्धनको महँगो आयात घटाउन र कृत्रिम बौद्धिकता ९एआई० का लागि डाटा सेन्टरहरूको ऊर्जा माग पूरा गर्न जापान परमाणु ऊर्जातर्फ फर्किँदै छ ।

“परमाणु ऊर्जा नवीकरणीय ऊर्जासँगै महत्त्वपूर्ण कार्बनमुक्त ऊर्जा स्रोत हो र हाम्रो नीति सुरक्षा सुनिश्चित गर्ने सर्तमा यसको अधिकतम प्रयोग गर्ने हो”, सरकारका वरिष्ठ प्रवक्ता योशिमासा हायाशीले मङ्गलबार पत्रकारहरूलाई भने ।

सन् २०११ को भूकम्प र सुनामीले करिब १८ हजारको ज्यान लिएको थियो भने बिजुलीका लाइनहरू काटिदिएको थियो र फुकुशिमा दाइचीमा ब्याकअप जेनेरेटरहरू डुबाउँदा तीन वटा रिएक्टर पग्लिएका थिए ।

त्यसयता सुरक्षा र नियामक मापदण्डहरू कडा बनाइएको छ र सन् २०२० मा पुनः सञ्चालनका लागि स्वीकृति पाएको ओनागावा संयन्त्रले आफ्नो सुनामी–प्रतिरोधी पर्खालको उचाइ समुद्र सतहबाट २९ मिटरसम्म बढाएको छ । यो उचाइ जापानमा सबैभन्दा अग्लो मध्ये एक हो ।

पुनः सञ्चालनले पग्लिएपछि पहिलो पटक बोइलिङ वाटर रिएक्टर (बिडब्लुआर) – फुकुशिमामा प्रयोग गरिएको समान मोडल – पुनः सञ्चालनमा आउने अवस्था पनि निर्माण गरेको छ ।

“कार्बनमुक्त ऊर्जा स्रोतहरूद्वारा सञ्चालित हाम्रो राष्ट्रको आर्थिक वृद्धिको दृष्टिकोणबाट परमाणु रिएक्टरहरू पुनः सञ्चालन गर्ने महत्त्व बढ्दै छ”, हायाशीले भने ।

हालको योजनाअनुसार जापानले सन् २०३० सम्म आफ्नो विद्युत्को २० देखि २२ प्रतिशत परमाणु ऊर्जाबाट प्राप्त गर्ने लक्ष्य राखेको छ । यो अहिले १० प्रतिशतभन्दा निकै कम छ ।

जापानले नवीकरणीय ऊर्जाको हिस्सा करिब २० प्रतिशतबाट बढाएर ३६ देखि ३८ प्रतिशत पु¥याउन र जीवाश्म इन्धनको हिस्सा अहिलेको करिब दुई–तिहाइबाट घटाएर ४१ प्रतिशत पुर्याउन चाहन्छ । 

युक्रेनको खार्किभमा भएको रूसी हमलामा चार जनाको मृत्यु

युक्रेन । युक्रेनको दोस्रो सहर खार्किभको आवासीय क्वार्टरमा मङ्गलबार भएको रूसी हमलामा कम्तीमा चार जनाको मृत्यु भएको खार्किभका मेयर “इगोर टेरेखोभले बताएका छन् ।

उनले टेलिग्राममार्फत घटनाको जानकारी गराउदै हमलामा मानविय क्षती हुनुका साथै घरहरू क्षतीग्रत भएको उल्लेख गरेका छन् ।

खार्किभ रूसी सीमाबाट करिब ३० किलोमिटर टाढा अवस्थित छ जसलाई साढे दुई वर्षको युद्धमा रूसी हवाई आक्रमणले ध्वस्त पारेको छ ।

सोमबार भएको रूसी हमलाले डेरजप्रोम भवनलाई क्षति पुर्याएको थियो जुन सोभियत युगको प्रारम्भिक आधुनिकतावादी भवन हो ।

स्रोतका अनुसार आक्रमणमा कम्तीमा छ जना घाइते भएका छन् भने एउटा स्वास्थ्य संस्थामा पनि क्षति पुगेको छ ।

तनहुँको म्यादेमा एकीकृत घुम्ती शिविरबाट आठ हजार नागरिक लाभान्वित

तनहुँ  । म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा आठ हजार बढी नागरिकले सेवा लिएका छन् । गाउँपालिकाले गत असोज ६ देखि यही कात्तिक १२ सम्म सञ्चालन गरेको शिविर सञ्चालन गरेको थियो ।

शिविरमार्फत स्वास्थ्य, कृषि, पशु सेवा, पञ्जीकरण, उद्योग व्यवसाय दर्ता तथा नवीकरण, राजस्व सङ्कलनलगायत सेवा प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए। पालिकाभित्रका विभिन्न वडाका टोलटोलमा पुगेर सेवा दिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाको सेवा टोलटोलमा पुर्‍याएर स्थानीय सरकारको आभास दिइएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। ‘नागरिकको आवश्यकताका आधारमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आएका छौँ’, श्रेष्ठले भने, ‘गाउँपालिकाले दिएको सेवाले आमनागरिक लाभान्वित बनुन् ।’

शिविर अन्तर्गत स्तन क्यान्सर, पाठेघरको क्यान्सर, आँखा शिविर पनि सञ्चालन गरिसकेको उनले बताए। जनताको समस्या बुझ्न र समाधानका लागि एकीकृत घुम्ती शिविर फलदायी बनेको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए।

‘जनताको समस्या सुन्न टोल–टोलमा जाने पालिकाको कार्यले जनताप्रति पालिका उत्तरदायी बनेको आभास आम नागरिकले महसुस गर्न थालेका छन्,’ उनले भने।

विपद्ले लम्बिए काभ्रेका निर्माणाधीन बृहत् खानेपानी आयोजना

काभ्रे । काभ्रेपलाञ्चोकमा दुई स्थानीय तहमा सञ्चालित बृहत् खानेपानी आयोजनामा गत महिनाको बाढीपहिरोले ठूलो क्षति पुर्‍यायो । गत असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीपहिराले तेमाल गाउँपालिका र पाँचखाल नगरपालिकामा सञ्चालित निर्माणाधीन खानेपानी आयोजनामा क्षति पुगेपछि समयमै सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसक्ने हुँदा तोकिएको समयमा स्थानीय नागरिकले खानेपानी उपभोग गर्नबाट वञ्चित बन्न पुगेका हुन् ।

तेमालमा ५५ हजार स्थानीयका लागि सञ्चालित खानेपानी आयोजनाको प्रारम्भिक मूल्याङ्कनअनुसार आठ करोडका संरचनामा क्षति पुगेको जनाइएको छ । उपभोक्ता समितिका अनुसार खानेपानीको स्रोतका रुपमा रहेका मुहान क्षेत्र सुनकोशी नदी किनारमा एउटा मुख्य ट्याङ्की पूर्ण रुपमा पुरिएको छ ।

समितिका अध्यक्ष सङ्ग्रामजित लामाले लिफ्टिङका लागि राखिएको एक ट्रान्सफर्मर, तीन गार्ड घर, बिजुलीका १५ वटा खम्बा, चारवटा वितरण ट्याङ्कीमा क्षति पुगेको छभने एक हजार तीन सय मिटर जिआईका मुख्य पाइपलाइनमा क्षतिग्रस्त भएको तथा बिजुलीका संरचना सबै ध्वस्त भएको जानकारी दिए । उनका अनुसार विभिन्न बस्तीमा लगिएका पाइपलाइनमा पनि क्षति पुगेको छ ।

सो आयोजना पुनःनिर्माण एवं मर्मत–सुधार गर्नका लागि आयोजनासँग बजेट प्राप्तिका लागि प्रशासनिक कार्य सुरु गरिएको लामाले बताए । ‘प्राविधिकसहित प्रत्येक संरचनाको क्षति मूल्यांकन गर्ने कार्य भर्खरै सुरु गरेका छौँ, यकिन क्षति विवरण भने आउन बाँकी नै छ’, उनले भने।

आयोजना सम्पन्न गर्न थपिएको समयसीमामा लक्षित समुदायमा पानी वितरण गर्ने सम्पूर्ण तयारी भइसकेको अवस्थामा बाढीपहिराले आयेजनामा क्षति पुगेको लामाको भनाइ छ । लामाले गत साउनमा सक्नुपर्ने आयोजना केही प्राविधिक कारण असोजसम्म लम्बिएको थियो ।

उनले भने, ‘विपद्ले झन् तहसनहस बनाइदियो, अब कहिलेसम्म बनाइसक्ने हो, आधिकारिक मूल्याङ्कनपछि मात्रै थाहा हुनेछ ।’

गत वर्षको चैतमै समयसीमाभित्र उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउने लक्ष्य लिइए पनि निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै काम रोकेपछि गत साउनसम्म लम्ब्याइएको थियो । खानेपानी मन्त्रालयबाट करिब रु पाँच करोड भुक्तानी नपाएको जनाउँदै कम्पनीले महिनौँदेखि निर्माणको काममा आलटाल गरेको उपभोक्ता समितिले जनाएको छ । उक्त आयोजना आठ वर्षअघि कालिका–सिएबी जेभी नामक निर्माण कम्पनीले २०७८ मा सक्ने गरी ठेक्का लिएको थियो ।

यसअघि आयोजनालाई कोरोनाको दुई लहर र २०८० साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्‍याउँदा सो आयोजना करिब एक वर्ष धकेलिएको थियो । लामाले आयोजनाको ९९ प्रतिशत काम सकिएको बताए । उनकका अनुसार आयोजनाको पानी प्रशोधनको काम भएको छभने पहिलो चरणमा करिब तीन हजार पाँच सय उपभोक्तालाई घरमा पानी पुर्‍याइसकिएको थियो ।

उनका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको, मुख्य पाइपलाइन र शाखा लाइनमा पाइप बिछ्याउने तथा घरघरमा धाराका सामग्री वितरण कार्यसमेत सकिएको थियो । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ ।

यस आयोजनाले नमोबुद्ध नगरपालिका–५ कोट तेमाल र कालीमाटीका करिब नौ सय घर तथा रोशी गाउँपालिका–७ कटुञ्जेस्थित एक सय १० घरपरिवार समेटेको छ । तेमाल क्षेत्रका नौ हजार तीन सय १० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । पाइपको मुख्य लाइनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो खनेर बिछ्याउनुपर्ने सम्झौताअनुसार काम भएको थियो ।

आयोजनाका लागि पाँच करोड बराबरको जनश्रमदान भएको लामाले बताए । आयोजनाको छुट भएका केही निर्माणको काम गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट गत पुसमा १० करोड ३४ लाख ४१ हजार उपलब्ध भए पनि थप निर्माणको काम भएको छ ।

याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका निर्माण गरिएको दुई मुख्य ट्याङ्कीमा भने क्षति नपुगेको लामाले बताए । लिफ्टिङ प्रविधिको उक्त आयोजनाको मुहान सुनकोशी नदी किनारमा छ । गत वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेँसीका कटान गरेको थियो ।

त्यससँगै गत साउन १७ र १९ गतेको बाढीले क्षति पुर्‍याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कीको जोखिमलाई सुरक्षित गरिएको छ । लामाका अनुसार बाढीले त्यतिबेला आयोजनाको रु ६० लाखभन्दा बढी क्षति पुर्‍याएको थियो भने करोडौँका संरचनालाई जोखिम पुर्‍याएको थियो ।

तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौ वडा, नमोबुद्धको तीन वडा तथा रोशी गाउँपालिकाको ७ नं वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् । विसं २०७२ असारमा सम्झौता भएको आयोजनाको काम २०७८ मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो । खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका थिए ।

यसैगरी, गत असोज तेस्रो साता पाँचखालका उपभोक्ताले आ–आफ्ना धारामा खानेपानी पाउने थिए, तर यस वर्षको बाढीपहिरोले आयोजनामा क्षति पुर्‍यएपछि केही महिना धकेलिएको छ । पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगिसकेको थियो ।

उपभोक्ता समितिले असोज २३ गते पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढीपहिरोले विफल बनाएको हो । पाँचखालका छ हजार परिवारको साढे ३१ हजार नागरिकले घरघरमा स्वच्छ पिउने पानी पाउने आयोजना हो ।

बाढीपहिरोले आयोजनाको मुहान क्षेत्रमा डुबान गर्नाका साथै करिब ७५ मिटर घेरा पर्खाल भत्काएर लेदो जमेको छभने ४८ स्थानमा करिब तीन मिटर वितरण पाइप, १२ वटा बिजुली पोल, खानेपानीको करिब दुई किलोमिटर हाइटेन्सन तार तथा केही संरचनामा क्षति पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाका परामर्शदाता अशोक अधिकारीका अनुसार प्रारम्भिक मूल्यांकनले आयोजनाको रु एक करोड ७० लाख क्षति पुगेको जानकारी दिए। उनले मुहानका मुख्यलगायत कलेक्सन ट्यांकी तथा उक्त क्षेत्रमा जमेको लेदो सफाइ र अन्य भौतिक क्षति मर्मत गर्न करिब चार महिना लाग्नेछ ।

यसैबीच, खानेपानी उपभोक्ता समितिले आयोजनाको अनुगमन निरीक्षण गरी क्षतिग्रस्त संरचना तत्काल बनाउन आयोजना तथा ठेकेदार कम्पनीलाई आग्रह गरेको छ । समितिका अध्यक्ष कुमार लामिछानेले तीन महिनाको अवधिमा आयोजनाको क्षति मर्मत एवं बाँकी काम सम्पन्न गर्न आयोजनालाई आग्रह गरिएको बताए।

‘असोजमै खानेपानी वितरण गर्ने योजना बाढी, पहिरोले विफल बनाइदियो, अब निरन्तर काम गरी तीन महिनामा उपभोक्ताको घरमा पानी पुर्‍याउने गरी लाग्न आयोजना र निर्माण कम्पनीलाई आग्रह गरेका छौँ’, उनले भने । निर्माणाधीन यस आयोजनाको भौतिकतर्फ करिब ९७ दशमलब ४० प्रतिशत सम्पन्न भएको जनाइएको छ । लामिछानेका अनुसार हाल योजनाको कार्य अन्तिम चरणमा पुग्दा परीक्षणबाट प्रतिसेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ ।

यस्तै, प्रतिघण्टा तीन लाख दुई हजार चार सय पानी तान्न सहज ढङ्गबाट सकिने र आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्न सकिने प्रमाणित भएको लामिछानेले बताए। लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो ।

यस्तै, आयोजनाअन्तर्गत सुनकोशी नदी किनारमा छवटा इनार, चार/चार लाख लिटर क्षमताको दुई पानी संकलन ट्यांकी, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्याङ्की, दश नयाँ वितरण ट्याङ्की, छ ब्रेक प्रेसर ट्याङ्की तथा १५ वटा पालेघरलगायत आवश्यक बिजुलीका सामग्री र पाइपलाइनको काम सम्पन्न भएको जनाइएको छ ।

कुल छ हजार ३७ धारामध्ये हालसम्म पाँच हजार पाँच सय धारा जडान, उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्रका सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ । हाल आयोजनाको २४ पानी तान्ने पम्प जडान, सात बिजुलीको ट्रान्सफर्मर जडान, खोलादेखि पानी सङ्कलन केन्द्रसम्मको हाइटेन्सन लाइन विस्तारको काम सम्पन्न भइसकेको छ ।

सहरी खानेपानी तथा सरसफाइ आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच २०७७ असार १५ गते २०७९ माघ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढीका कारण आयोजनाको पूर्वाधारमा क्षति पुर्याएका कारण लम्बिएको हो ।

यी कारणले पहिलोपटक १० महिना र दोस्रोपटक चार महिना गरी आयोजना सम्पन्न गर्न १४ महिनाको समय थप गरिएको थियो । पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो ।

 एक अर्ब ४७ करोड ४३ लाख ६० हजारको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिका–२, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरधुरीका हाललाई ३१ हजार चार सय १५ नागरिक लाभान्वित हुनेछन् ।

आगामी सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ । आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै कुल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख पाँच हजार तीन सय परिवारले प्रतिपरिवार रु १८ हजारका दरले रकम बुझाएका छन् ।

यस्तै, आयोजनाका लागि सम्झौताअनुसार दुई सय १४ उपभोक्ताले सहकारी संस्थाबाट समेत ऋण लिई खानेपानीका लागि रकम बुझाएका थिए ।

यसैबीच, गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको जनाइएको छ । हालसम्म प्राप्त क्षतिको विवरणअनुसार काभ्रेपलाञ्चोकमा मात्र रु एक अर्बको क्षति पुगेको खानेपानी तथा सरसफाइ ३ नं डिभिजन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका अनुसार बाढीपहिरोले एक सयभन्दा बढी निर्माणाधीनलगायतका खानेपानी आयोजनामा क्षति पुगेको हो ।

जिल्लामा सञ्चालनमा रहेका दुई र निर्माणाधीन अवस्थाका सात योजनामा क्षति पुगेको जनाइएको छ । कार्यालयका निमित्त प्रमुख इन्जिनियर दिलीप कुमारका अनुसार बाढीपहिरोले काभ्रेपलाञ्चोकमा एक सयभन्दा बढी लिफ्ट तथा ग्राभिटी खानेपानी आयोजनामा क्षति पुगेको छ ।

उनले अझै बाढीपहिरोका कारण क्षति पुगेका खानेपानी आयोजनाको तथ्याङ्क आउने क्रम जारी रहेको बताए। उनका अनुसार सबै स्थानीय तहलाई खानेपानी आयोजनामा पुगेको क्षतिको विवरण पठाउन टेलिफोन तथा पत्रको माध्यमबाट अनुरोध गरिएको छ ।

कार्यालयले काभ्रेपलाञ्चोकको भुम्लु बृहत् खानेपानी, कटुन्जे लिफ्टिङ, सीताघारी खानेपानी, रोशी औद्योगिक ग्राम र कालढुङ्गा बजार व्यवस्थित खानेपानी आयोजना, भूमिडाँडा बृहत् खानेपानी आयोजना, भदौरेछाप–फेट्टार–मुकुटार–सिहाले, बकुलछार–फलाङ्गे बृहत् खानेपानी, इन्द्रावती कोलाचौर लिफ्ट खानेपानी, भुम्लु सपिङ खानेपानीलगायत योजनाको क्षतिको विवरण प्राप्त भएको जनाएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद श्रेष्ठले बाढीपहिरोबाट काभ्रेपलाञ्चोकको सञ्चालनमा रहेको तिमाल बृहत् (सुक्खा क्षेत्र) खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुग्दा आठ हजार तीन सय ७३ घरपरिवार र चौँरीखोला–ढोकेडाँडा खानेपानी आयोजनामा क्षति हुँदा एक हजार नौ सय तीन घरपरिवार खानेपानीको सुविधाबाट वञ्चित भएको जानकारी दिए।

उनका अनुसार बाढीपहिरोबाट जिल्लामा निर्माणाधीन भकुन्डेबेँसी–खनालथोक–खाक्सी–दाप्चा क्षेत्र बृहत् खानेपानी, काशीखण्ड बृहत् खानेपानी, नमोबुद्ध बृहत् खानेपानी, पनौती बसपार्क गुणस्तर खानेपानी, सुनकोशी कोशीदेखा खानेपानी गुणस्तर सुधार आयोजना, साँगा बृहत् खानेपानी आयोजना र पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजनामा क्षति पुगेको छ ।

यसैगरी, बाढीपहिरोबाट खानेपानी आयोजनाको पाइपलाइन, सम्पवेल, विद्युत् ट्रान्सफर्मर, पाइपलाइन, पानी संकलन ट्याङ्कीलगायतमा क्षति भएको विवरण प्राप्त भएको कार्यालयले जनाएको छ ।

बाढीपहिरोका कारण सञ्चालनमा रहेको धुलिखेल खानेपानी, निर्माणाधीन पाँचखाल बृहत् खानेपानी आयोजना तथा सञ्चालनको अन्तिम तयारीमा पुगेको काभ्रे उपत्यका (तीन नगर समेटिएको) एकीकृत खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ ।

उक्त एकीकृत खानेपानीको मात्रै रु १० करोडभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ ।

बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन आग्रह

नेपालगञ्ज । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिक र प्राविधिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरेका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै उनले किसानसँग नजिक भएर उत्पादन वृद्धि गर्नेगरी काम गर्न निर्देशन दिए।


मन्त्री अधिकारीले भने, ‘कृषि वैज्ञानिक र प्राविधिकहरु कृषि कर्म गर्ने किसानका अभिभावक हुन्, त्यसैले उनीहरुसँग निरन्तर साक्षात्कार गर्नुहोस् र किसानलाई प्रविधिसँग जोड्न सहजीकरण गर्नुस् ।’

मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुघार गर्न प्रयास गरेको जानकारी दिँदै नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का समस्या चाँडोभन्दा चाँडो व्यवस्थापन गरिने उल्लेख गरे ।


उनले नार्क आफैँमा ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था भएर पनि लथालिङ्ग र विचलित अवस्थामा पुग्नु दुःखद भएको टिप्पणी गर्दै आत्मालोचना, आत्ममूल्यांकन र आत्मसमीक्षा गरेर आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन कर्मचारीलाई आग्रह गरे।

कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा. समीद अहमदले हाल दुई स्थान ठाकुरबाबा–३ मिर्चैया बर्दिया र शिवराज–३ सोनवर्षा कपिलवस्तुमा अनुसन्धान केन्द्र विस्तार गरिएको जानकारी दिए ।

निर्देशक अहमदका अनुसार आर्थिक वर्ष २०७९-८० देखि निर्देशनालयले लमही–२ केरुनिया दाङमा नार्क प्रविधि गाउँ सञ्चालन गरिएको छ । उनले जनशक्तिको चरम अभाव ब्यहोरिरहेको जानकारी गराए ।

खजुरामा रहेको कोसेबाली अनुसन्धान कार्यक्रमको पनि मन्त्री अधिकारीले निरीक्षण गरे। कार्यक्रम संयोजक डा अनिल पोख्रेलले कोशेबाली कार्यक्रमबारे जानकारी गराएका थिए । मन्त्री अधिकारीले नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरको पनि अवलोकन गरे।

आयोजना प्रमुख दिलीप चौधरीले आयोजनाका बारेमा जानकारी गराएका थिए । उनले किसानको दूधको बक्यौताबारे जिज्ञासा राखेका थिए ।

सरकारले कानुन विपरीतका क्रियाकलाप मौलाउन दिँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन् ।

मंगलबार सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप मौलाउन नदिइने स्पष्ट गरेका हुन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रतिष्ठान, मातातीर्थमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्लगायत अन्य परिस्थितिलाई सामना गर्दै मुलुकको शान्ति स्थापना कार्यमा तैनाथ हुन लागेकामा सहभागी प्रहरी अधिकृतलाई शुभकामना दिँदै बललाई प्रभावकारी बनाउन र सुविधा बढाउने विषयमा कानुनमा आवश्यक संशोधनको तयारी भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षालाई सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता, उचाइ र कामलाई अझ माथि उठाउन शुभकामना दिए ।

समारोहमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उपस्थिति थिए । तालिमबाट ४५ प्रशिक्षार्थी सफल भई कार्यक्षेत्रमा खटिन तयार भएका छन् ।

भक्तपुरको खरिपाटीमा बस दुर्घटना, १० जना घाइते

भक्तपुर ।  भक्तपुरको खरिपाटीस्थित घुमाउनेमा बस दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् । 

नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नम्बरको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए । घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले बताए ।

दुर्घटनाका प्रत्यक्षदर्शी गोकर्ण पुरीले बस दुर्घटनामा घाइतेको आफूहरुले उद्धार गरी एम्बुलेन्समा हालेर भक्तपुर अस्पताल पठाएको र अगाडि बस्ने दुईजनाको अवस्था भने गम्भीर रहेको जानकारी दिए । बस खम्बामा ठोक्किएर दुर्घटना हुँदा विद्युतको खम्बासमेत भाँचिएको उनले जानकारी दिए । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार अभियुक्त कतारबाट पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार अभियुक्त कतारबाट पक्राउ परेका छन् । भोजपुरको साविक युँ गाविस–५ ठेगाना भएका गजेन्द्र वान्तवा राई पक्राउ परेका हुन् ।

एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न मंगलबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

झापा मेचीनगर नगरपालिका–११ धाईजन बस्ने ४८ वर्षीया शर्मिला तामाङको हत्यामा संलग्न रही वारदात पश्चात फरार रहेका शर्मिलाका श्रीमान् गजेन्द्र वान्तावालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत असोज १ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलावारी झापाबाट खटि आएका प्रहरीलाई बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।

इजरायलद्वारा युएनआरडब्लुए प्रतिबन्धित कानून पारित

इजरायल । इजरायली संसदले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) लाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानून पारित गरेको सिएनएनले जनाएको छ ।

संसदमा सोमबार यो विधेयकमा मतदान गरिएको थियो, विधेयकको पक्षमा ९२ र विपक्षमा १० मत परेको थियो । 

सिएनएनका अनुसार यो कानूनले औपचारिक रूपमा युएनआरडब्लुएलाई गाजा र प्यालेस्टिनी नियन्त्रित पश्चिम किनारका केही भागमा काम नरोके पनि उक्त क्षेत्रमा एजेन्सीको क्षमतालाई सीमित गर्दछ । 

गत वर्ष अक्टोबरमा हमासले गरेको आक्रमणपछि सहयोगका क्रममा युएनआरडब्लुएले इजरायलबाट निरन्तर आलोचनाको सामना गरिरहेको छ ।

सोमबार क्यानाडा, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, जापान, दक्षिण कोरिया र बेलायतका विदेश मन्त्रीहरूले गाजामा बढ्दै गएको मानवीय सङकटबारे चिन्ता व्यक्त गर्दै इजरायललाई प्रस्तावित कानून रोक्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

“युएनआरडब्लुएले गाजा, पूर्वी जेरुसेलम, पश्चिम किनार र क्षेत्रमा प्यालेस्टिनी शरणार्थीलाई आवश्यक जीवन रक्षक मानवीय सहायता र आधारभूत सेवाहरू प्रदान गर्दछ”,  विज्ञप्तिमा उल्लेख छ ।

पहिले नै गम्भीर र द्रुत रूपमा बिग्रिँदै गएको मानवीय अवस्था विशेषगरी उत्तरी गाजामा विनाशकारी नतिजाले असम्भव नभएको खण्डमा पश्चिम किनारलाई गम्भीर रूपमा अवरोध गर्ने विज्ञप्तिमा बताइएको छ । 

विधेयक पारित हुनुअघि नै राष्ट्रसङ्घले खाना, आश्रय र स्वास्थ्य सेवामा पूर्ण रोक लगाइएको गाजामा करिब छ लाख बालबालिका जोखिममा पर्ने भविष्यवाणी गरेको थियो ।

प्रतिबन्धले इजरायलले कब्जा गरेको क्षेत्रमा युएनआरडब्लुएको अपरेसनमा बाधा पुर्याउने अनुमान गरिएको छ । 

उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको अमेरिकाको दाबी

वासिङ्टन । वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ ।

सोलले मङ्गलबार चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको छ । सोलले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले मस्कोलाई किएभविरुद्ध लड्न हतियार पठाएको आरोप लगाउँदै आएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि प्योङयाङले ठूलो सङ्ख्यामा सैनिक तैनाथ गर्न थालेको सोलको आरोप छ ।

उत्तर कोरियाले सैनिक पठाएको अस्वीकार गरेको छ । यद्यपि गत हप्ता सरकारी मिडियामा पहिलो टिप्पणीमा उत्तर कोरियाली उपविदेशमन्त्रीले यस्तो तैनाथी भएमा यो अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले उत्तर कोरियाले ‘चाँडै’ रुसी भूमिमा १२ हजारसम्म सैनिक पठाउन सक्ने चेतावनी दिएका छन्।

जबकि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस तैनाथीलाई ‘अत्यन्त खतरनाक’ भन्दै आलोचना गरेका छन् । पेन्टागनकी उप प्रेस सचिव साब्रिना सिंहले पत्रकारहरूलाई बताएअनुसार उत्तर कोरियाले पूर्वी रुसमा तालिमका लागि कूल १० हजार सैनिक पठाएको छ र यसले सम्भवतः आगामी केही हप्तामा युक्रेन नजिक रुसी सेनालाई बढाउनेछन् ।

नाटो प्रमुख मार्क रुटले यो तैनाथी ‘रुसको युद्धको खतरनाक विस्तार’ हो, र यो ‘पुटिनको बढ्दो निराशाको सङ्केत’ भएको बताए ।

रुटका अनुसार द्वन्द्व सुरु भएयता छ लाखभन्दा बढी रुसी सैनिक मारिएका वा घाइते भएका छन् र क्रेमलिन विदेशी समर्थन बिना आक्रमण जारी राख्न असमर्थ छ ।

दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूसँगको ब्रिफिङपछि ब्रसेल्समा उनले उत्तर कोरियाली सैन्य एकाइहरू रुसको पश्चिमी कुर्स्क क्षेत्रमा तैनाथ गरिएको बताए ।

भारतीय मन्दिरमा पटाका विस्फोट हुँदा १५० भन्दाबढी घाइते

मुम्बई ।  भारतको एक मन्दिरमा पटाका प्रदर्शनी भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले मङ्गलबार बताएको छ ।

प्रहरीले घटनामा दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतीय पत्रपत्रिकाहरूले पोस्ट गरेका भिडियोहरूमा देखाएअनुसार सोमबार साँझ दक्षिणी राज्य केरलाको नीलेश्वरमस्थित एउटा हिन्दू मन्दिर वरिपरि सयौँ मानिसहरू आतसबाजी हेर्न भेला भएका थिए ।

भिडियोमा एउटा भवन भित्रबाट चर्को आवाज सुनिन्छ र एक शक्तिशाली आगोको गोला आकाशमा माथि उठ्छ ।

“करिब आठ जनाको अवस्था गम्भीर छ र करिब एक सय ५४ जना घाइते भएको रिपोर्ट छ, तीमध्ये ९७ जना अस्पतालमा भर्ना छन्”, स्थानीय प्रहरी प्रमुख शिल्पा द्यवैयाले भने, “उनीहरूले पटाका भण्डारण गरिएको ठाउँ नजिकै पटाका फुटाए ।”

द्यवैयाले फुटेका पटाकाका झिल्काहरू भण्डारण गरिएको पटाकासम्म पुगेको बताए । भारतीय सञ्चारमाध्यमहरूले अधिकारीहरूलाई उद्धृत गर्दै बाक्लो भीडमा रहेका मानिसहरूको अनुहार र हातमा जलन भएको बताएका छन् ।

स्थानीय सरकारी अधिकारी के. इन्बासेखरले पटाका प्रदर्शनीका लागि कुनै अनुमति नदिइएको बताए । द हिन्दू पत्रिकाले मन्दिरका अध्यक्ष र सचिवलाई हिरासतमा लिइएको जनाएको छ ।

भारतमा धार्मिक जमघटहरूमा सुरक्षा कमजोरी र भीड व्यवस्थापनमा कमीका कारण घातक घटनाहरूको दुःखद इतिहास छ । सन् २०१६ मा हिन्दू नयाँ वर्षको अवसरमा एक मन्दिरमा प्रतिबन्धित पटाका प्रदर्शनीमा भएको ठूलो विस्फोटमा कम्तीमा एक सय १२ जनाको मृत्यु भएको थियो ।

भारत यस हप्ताको अन्त्यमा हिन्दू चाड दीपावलीको अवसरमा हुने प्रमुख आतसबाजी मौसमका लागि तयार हुँदैछ । यो भव्य र रङ्गीन चाडले हिन्दू देवी लक्ष्मीको पूजा गर्छ र अँध्यारोमाथि उज्यालोको विजयको प्रतीक मान्छ ।

पटाकाले हानिकारक तीतो धुवाँ फैलाउँछ । राजधानी नयाँदिल्लीले खतरनाक वायु प्रदूषण रोक्न पटाकामा प्रतिबन्ध लगाएको छ ।

हिन्दू भक्तजनहरूको पटाकाप्रतिको बलियो धार्मिक भावनाका कारण प्रहरी प्रायः उल्लङ्घनकर्ताहरू विरुद्ध कारबाही गर्न अनिच्छुक हुन्छन् ।

रवि रिहाइको माग गर्दै बालुवाटार क्षेत्रमा रास्वपाको प्रदर्शन

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले बालुवाटारमा प्रदर्शन गरेको छ । मंगलबार रास्वपाका नेता कार्यकर्ताले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरीले रास्वपाका केही नेतालाई पक्राउ गरेको छ ।

निषेधित क्षेत्र तोड्न लागेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले पार्टी सभापति लामिछानेलाई रिहाई गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

सहकारी ठगीमा पक्राउ गरी प्रहरीले लामिछानेलाई पोखरा लगेपछि रास्वपाले केही दिन पोखरामा प्रदर्शन गरेको थियो । पोखरापछि रास्वपाले काठमाडौ केन्द्रित प्रदर्शन सुरु गरेको हो ।

ट्रयाक खोलिएको करिब २० वर्षपछि नुवाकोटको विदुरहुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र सुरु

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–८ स्थित राइसिंबाट म्यागङ गाउँपालिका–३ गोगने हुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र गरिने भएको छ।

बागमती मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले राईसिंमा आयोजित कार्यक्रममा कालोपत्रको शुभारम्भ गरे।

ट्रयाक खोलिएको करिब २० वर्षपछि सुरु भएको कालोपत्र कार्यले दुई जिल्लाका ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोड्दै कृषि उब्जनीको बजारीकरणमार्फत अर्थतन्त्र बलियो बनाउन उल्लेख्य योगदान पुग्ने सो अवसरमा मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरे।

‘अहिले विदुर–८ राईसिंबाट विदुर–१३ हर्कपुर हुँदै गोगनेसम्म १० किलोमिटर सडकमध्ये चालु आर्थिक वर्षमा चार किमी कालोपत्र गर्न लागिएको छ’, उनले भने, ‘बाँकी रहने थप छ किमीसहित गोगने हुँदै धादिङको खनियाबास गाउँपालिकासम्म आगामी आर्थिक वर्षमा बजेट सुनिश्चित गरिने छ।’

गत जेठ १८ गते भएको सम्झौताअनुसार चार किमी सडक विस्तारका लागि रु १४ करोड ६१ लाखमा निर्माण कम्पनीले जिम्मेवारी पाएको छ। सो कार्य उक्त कम्पनीले १८ महिनाभित्र सम्पन्न गनुपर्ने उल्लेख छ।

बहुवर्षीय ठेक्का भएकाले चालु आवमा रु आठ करोड बजेट विनियोजन भएको छ भने बाँकी रकमसहित तोकिएको गन्तव्यसम्म पुर्याउन अपुग रकम अर्को वर्ष विनियोजन हुने पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख रोशन पाठकले जानकारी दिए।

‘राईसिं–हर्कपुर–गोगने सडकखण्ड’लाई धादिङको खनियाबास जोडेर धादिङका विकटमा पर्ने पालिका र नुवाकोटको म्यागङ गाउँपालिकाका ५० हजारभन्दा बढी स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख रहेको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए।

हाल उक्त कच्ची सडकमा यात्रुबाहक सवारीसाधन हिँडाउन जोखिमको कारण कठिनाइ भएकाले सडक कालोपत्रपश्चात गाउँगाउँका बस्तीमा गाडी चलाउन, कृषि उब्जनीलाई बजार पुर्याउन र दैनिक उपभोग्य सामग्री गाउँ लैजान उक्त सडक निकै लाभदायक हुने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

बझाङमा ९५ जना एचआइभी सङ्क्रमित औषधि सेवन गर्दै

चैनपुर (बझाङ) । बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ ।

सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित केदारस्यूँ गाउँपालिकामा भेटिएका छन् । तथ्याङ्कानुसार केदारस्यूँ गाउँपालिकामा १९, थलारामा १८, छबिसपाथिभेरामा १३, बुङ्गल नगरपालिकामा ११, दुर्गाथली गाउँपालिकामा नौ, बित्थडचिर गाउँपालिकामा आठ जनाले औषधि सेवन गरिरहेको ग्लोबल फण्ड एचआइभी/टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृतप्रसाद पण्डितले जानकारी दिए ।

उनका अनुसार जयपृथ्वी नगरपालिकामा आठ, मष्टामा तीन, खप्तडछान्नामा तीन, तलकोटमा दुई जना एचआइभी सङ्क्रमितले औषधि सेवन गरिरहेको उनले बताए। “जिल्लामा देखिएको तथ्याङ्कानुसार सबै जिल्लामा छैनन्”, उनले भने, “कतिपय सङ्क्रमित जिल्ला बाहिर गएर नियमित औषधि सेवन गरिरहनुभएको छ ।”

तथ्याङ्कअनुसार चालु आवको चार महिनामा आठ जना नयाँ सङ्क्रमित देखिएका छन् । जिल्लामा १५ हजार नौ सय ४६ जनाको एचआइभी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको पण्डितले जानकारी दिए।

परियोजना संयोजक लोकेन्द्र पन्तले सङ्क्रमित भएका बिरामीको नियमित उपचारका साथै सीमान्तकृत समुदायका व्यक्तिलाई संस्थाले सहयोग गरिरहेको बताए । उनले भने, “समुदायमा पछाडि परेका, पारिएका, भूमिहीन वर्ग, बालबालिका, दलित, जनजाति महिला/पुरुषलाई शैक्षिक, सामाजिक र आर्थिक रूपमा समान अवसर दिलाइ क्षमता अभिवृद्धि तथा अन्य सामाजिक सुधारात्मक कार्यमा सुधार ल्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।”

उनले जिल्लामा कार्यक्रम लागू भएका पालिका तथा समुदायमा एचआइभी जाँच, यौन शिक्षा, क्षयरोग स्क्रिनिङ र अस्थायी साधन वितरण गर्दै आएको बताए ।

आम्दानीको स्रोत बन्दै सिन्कामारी रोटी

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँमा बस्दै आएकी रानीलाक बुढा हिजोआज सिन्कामारी रोटी बेच्नमा व्यस्त छिन् । उनले विगत दुई वर्षदेखि तिहार लक्षित सिन्कामारी रोटी बिक्री गर्दै आएकी छिन् ।

विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी हिजोआज घोराही बजारसँगै नजिकका गाउँमा समेत बिक्री हुने गरेको छ । उनी रोटी डोकोमा बोकेर बिक्री गर्दै हिँड्छिन्।

“खाली समय बसेरै खेर फाल्नुभन्दा व्यवसाय पनि भएको छ, अनि समयको सदुपयोग पनि”, उनले भनिन्, “तिहारलाई लक्षित यो व्यवसायबाट हुने आम्दानीले सन्तुष्ट छु ।”

गत वर्षको तिहारमा मात्र तीन दिदीबहिनी मिलेर दुई लाख बढीको रोटी बिक्री गरेको बुढाले बताइन् । यो वर्ष अझ धेरै आम्दानी गर्ने उनको लक्ष्य छ । उनले केही दिनयता दैनिक सातदेखि आठ हजार सम्मको रोटी बिक्री गर्दै आएकी छिन् ।

हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाका रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा सिन्कामारी रोटीको धेरै खपत हुनेगर्छ । यो रोटी चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर बनाउने गरिन्छ । बनाउन झन्झटिलो भए पनि सिन्कामारीको व्यापार राम्रो रहेको उनको अनुभव छ ।

कतिपय ग्राहक घरमै किन्न आउने भएकाले बजारको समस्या नभएको उनको भनाइ छ । उनले एक दर्जन रोटी दुई सय ५० का दरले बिक्री गर्दै आएकी छिन् । उनीसँगै जिल्लामा तिहार लक्षित सिन्कामारी रोटी बनाएर बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

ढोरपाटनको ‘भ्यू प्वाइन्ट’ जलजला

म्याग्दी । घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण ।

म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ ।

परिवारसहित गत हप्ता ढोरपाटन घुम्न गएका बेनीका मिलन खत्रीको टोली हिमशृङ्खला अवलोकनका लागि जलजलामा पुगेर फर्किए । “शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदोरहेछ”, उनले भने, “समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गरायो ।”

समुद्री सतहबाट तीन हजार चार सय २० मिटर उचाइमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता हो ।

जलजलामा रहेको ‘गोठस्टे’का सञ्चालक फुलबहादुर विश्वकर्माले दैनिकजसो पर्यटकहरू आउने गरेका बताए । “ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटक हिमालको दृश्यावलोकनका लागि जलजला आउने गर्नुहुन्छ”, उनले भने, “दसैँ–तिहारको बिदा र घुमघामको अनुकूल मौसम भएकाले पर्यटकलाई बसोबासको व्यवस्था मिलाउन धौधौ भएको छ ।”

गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ती, होटल र रेष्टुरेन्ट छैन । म्याग्दीको लुलाङका विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आएका छन्। च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैँसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैँ बन्दोबस्तीको सामान लगेर जानुपर्छ । हिजोआज दैनिक २० देखि ५० जनासम्म पर्यटक आउने गरेका विकले बताए ।

ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । पैदलयात्रा गर्न पाँचदेखि छ घण्टा लाग्छ । बेनीबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना हुँदै खोरियासम्म गाडी र त्यहाँदेखि पाँच घण्टा उकालो यात्रा गरेपछि जलजला पुगिन्छ ।

जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । ढोरपाटन सिकार आरक्षका रेञ्जर सुवेदीले जलजला ढोरपाटन घुम्न आउनेहरूका लागि ‘भ्यू प्वाइन्ट’का रूपमा विकास भएको बताए । उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म पाँच हजार दुई सय चार जना पर्यटकले ढोरपाटन भ्रमण गरेका छन् ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जलजलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणका साथै प्रचारप्रसारमा जोड दिएको बताए । बागलुङतर्फबाट सडकले जोडिएको जलजलामा म्याग्दीतर्फबाट जिल्लाकै प्राथमिकताप्राप्त आयोजना सञ्चालन भएको उनले बताए ।

राप्रपाले कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयरका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा राप्रपाले मेयरमा पार्टीकातर्फबाट महर्जनलाई उम्मेदवार बनाएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

त्यस्तै राप्रपाले वडा नम्बर १ को वडा अध्यक्षका लागि सुरेन्द्र उप्रेती र वडा नम्बर ४ को वडा अध्यक्षका लागि विशेष बस्नेतलाई उम्मेदवार घोषणा गरेको छ ।

आज आयोजित कार्यक्रममा युवाहरूको ठूलो संख्या राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेको छ । अध्यक्ष लिङ्देनले आजै चुनावी प्रचार कार्यालय पनि उद्घाटन गरेका छन् ।

काठमाडौं महानगरभित्र प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध, स्वदेशीफूल बिक्रीका लागि तोकिए ४६ स्थान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न यसवर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्री वितरण प्रबन्ध गरेको छ । प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको मेयर बालेन साहले जानकारी दिएका छन् ।

गएको वर्ष पनि महानगरले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्ने स्थान मिलाएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो । गएको वर्षको सिकाइ र अभ्यासबाट यसवर्ष फूल बिक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुने मेयर साहले बताए । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ ।

स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्ने महानगरले जनाएको छ ।


यी हुन् फूल बिक्रीका लागि तोकिएका ४६ स्थान

१) आरती पार्टी प्यालेस, माछा पोखरी
२) बुद्ध मल, माछा पोखरी
३) बालाजु भाटभटेनी, माछा पोखरी,
४) भ्याली कोल्ड स्टोर, बालाजु
५) सामुदायिक भवन, बालाजु
६) धर्म चक्र पार्क, स्वयम्भू
७) स्वयम्भू मार्ट
८) भाटभटेनी, कलंकी
९) कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०) एस. एन. एस., कलंकी
११) एन. बि. टि. सि., कलंकी
१२) नेपा व्याङ्क्वेट, खुशिँवु
१३) बिग मार्ट, कालधारा, पकनाजोल
१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५) काठमाडौँ मल, सुन्धारा
१६) सिभिल मल, सुन्धारा
१७) सिटिसि मल, सुन्धारा
१८) रञ्जना मल, नयाँ सडक
१९) विग मार्ट कम्प्लेक्स, अनामनगर
२०) एटि कम्प्लेक्स, न्यू प्लाजा
२१) भाटभटेनी, अनामनगर
२२) आइटी प्लाजा, कमलादी
२३) संकटा चोक, टेवहाल
२४) के. एल. टावर, चाबहिल
२५) वि एन्ड एसएम, बौद्ध
२६) भर्गो जापान, शंखमुल
२७) आइप्लेक्स, बानेश्वर
२८) एनबि सेन्टर, नयाँ बानेश्वर
२९) फोनिक्स टावर, बत्तीसपुतली
३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१) बिगमार्ट, शंखमुल
३२) बिबिएसएम, कोटेश्वर
३३) सिफल चौर, सिफल
३४) केटिएम पार्टी प्यालेस,
३५) निराकल कम्प्लेक्स, शंखमुल
३६) एसि कम्प्लेक्स, चाबहिल
३७) भाटभटेनी, कोटेश्वर
३८) भाटभटेनी, नक्साल
३९) विग मार्ग, बालुवाटार
४०) सेल्स बेरी, महाराजगञ्ज
४१) भाटभटेनी, महाराजगञ्ज
४२) कोइराला मार्ट, सामाखुशी
४३) विग मार्ट, सामाखुशी
४४) सिटी सेन्टर, कमलपोखरी
४५) ल्होत्से मल, बालाजु
४६) सासा ब्याङकेट सोह्रखुट्टे

‘बीबीसी मास्टर सेफ विजेता’ कक्षा कोठामा भेटिएपछि…

काठमाडौँ । आफूले किताबमा पढेका व्यक्ति ‘बीबीसी मास्टर सेफ विजेता’ सेफ सन्तोष साह आफ्नै कक्षा कोठामा भेटिएपछि जनप्रभात माध्यमिक विद्यालयको कक्षा कोठामा भेला भएका विद्यार्थीहरुले व्यवहारिक सिकाइ गर्न पाएका छन् ।

महानगरपालिकाले दशैँ तिहारका बिचमा हुने छुट्टीका समयमा शैक्षिक नतिजा सुधारका लागि आयोजना गरेको ‘फेस्टिभल क्याम्पको’, उत्प्रेरणात्मक कक्षा ‘प्रभावशाली व्यक्तित्वसँग साक्षात्कार’ कार्यक्रममा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्न उनी विद्यालयमा पुगेका थिए । उनीसँगै ‘द ग्रेट व्रिटिस वेक अफ’ प्रतियोगिताको २०२४ का विजेता सेफ नारायण श्रेष्ठ पनि थिए । उनीहरु दुवै जनाले शिक्षा, सिप र नतिजा प्राप्त गर्न आफूले गरेका प्रयासका सृङ्खला सुनाउँदै, विद्यार्थीहरुलाई वृत्ति विकासको आधारभूत आयामका बारेमा जानकारी गराएका थिए ।

कक्षामा उनीहरुका कुरा विद्यार्थीहरुले ध्यानपूर्वक सुने । त्यसपछिको अन्तरक्रियामा सोध्न मन लागेको कुरा सोधे । आफूले सोधेका प्रश्नको जवाफ पाएपछि प्रतिक्रिया दिँदै उनीहरुले भने, ‘किताबमा पानामा पढ्नु पर्ने व्यक्ति आफ्नै कक्षा कोठामा आएपछि हामीले अक्षर पढ्नु नपर्ने भयो । वास्तविक ज्ञान प्राप्त गर्न पायौँ । कितावमा लेखिएभन्दा धेरै जान्न र बुझ्न पायौँ । यो हाम्रा लागि ठूलो अवसर हो । हामी भाग्यमानी पनि हौ किनभने हामीजस्तै कक्षा १० मा पढ्ने सबै विद्यार्थीले यस्तो अवसर पाउन सकेका छैनन् ।’

कक्षामा साहले भने, ‘किताब (परीक्षा)मा असफल भएर केही हुँदैन । जीवनमा भने असफल हुनुहुँदैन । मेरो अनुभव यही हो । म पढाइमा उति तेज थिइन । यति भएर पनि मैले खाना बनाउने कलाको विश्व स्तरीय प्रतिस्पर्धामा उत्कृष्ट स्थान प्राप्त गर्न सकेँ ।’ साहले भने, ‘यसो भनेर तपाईँहरुलाई किताब नपढ्नोस् भनेको होइन । असफल भए पनि हुन्छ भनेको होइन । कहिलेकाहीँ सोचेको जस्तो नतिजा नआउन सक्छ । कुनै एउटा विषयले आफूलाई कमजोर छु कि जस्तो अनुभूति गराउन सक्छ । यसबाट निराश हुनुहुँदैन, निरन्तर प्रयासले सफल हुन सकिन्छ, भन्न खोजेको हो । कुनै विषयमा आफूलाई कमजोर महसुस भएको छ भने त्यो कमजोरीलाई महत्व नदिनु भन्न खोजेको हो । तपाईँसँग एउटा विषयमा कमजोरी हुन सक्छ । जीवनलाई उच्च स्थानमा पुर्याउने अन्य क्षमता हुन सक्छन् । त्यो सामथ्र्य भएको गुण चिन्नु, भन्न खोजेको हो ।’

आफ्नो बाल्यकाल र त्यसबेलाको अभावको कथा सुनाउँदै उनले भने, ‘मैले ११ वर्ष उमेरमा चप्पल लगाउन पाएको हो । यति भनेपछि मैले प्राथमिक शिक्षा प्राप्त गर्ने बेला कस्ता अवसर पाएँ भन्ने थप उदाहरण दिनै पर्दैन । तपाईँहरुलाई आफू जेमा कमजोर छु जस्तो लाग्छ । त्यसलाई छाडिदिनु । जेमा बलियो छु जस्तो लाग्छ, त्यसलाई दृढताका साथ अगाडि बढाउनु । लक्ष्यमा पुग्न कठिन छैन ।’

सेफ सन्तोष साहकाबारेमा कक्षा १० को अंग्रेजी विषयको पाठ्यपुस्तकमा रिडिङ एक्टिभिटिज (पठन क्रियाकलाप)अन्तर्गत ‘यु इन्स्पायर अदर्स वाइ लर्निङ्, नट वाइ टिचिङ्’ शीर्षकमा प्रश्नोत्तर राखिएको छ । यसमा उनको जन्मस्थान सिराहादेखि संयुक्त राज्य वेलायतको लण्डनमा आयोजना भएको ‘मास्टर सेफः द प्रफेसनल्स २०२०’ मा प्राप्त उपाधिसम्मको यात्रा र सफलता, नेपाली खानाका परिकारको व्यापारिक सम्भावनाका विषय राखिएका छन् ।

अन्तरक्रियाका क्रममा सेफ श्रेष्ठले ठूलो ठाउँमा पुग्न सानो ठाउँबाट यात्रा थाल्नु पर्ने बताउँदै भने, ‘म २०१४ मा होटल पोर्टर (होटलमा भाँडा माझ्ने) कामका लागि दुवइ गएको थिएँ । त्यसको १ वर्षपछि पोर्टरकै रुपमा कतार गएँ । म भाँडा माझ्ने काममा गए पनि बाल्यकाल देखि नै पेस्टी बनाउनमा म केही गर्न सक्छु भन्ने थियो । मलाई यो एकदम राम्रो लाग्थ्यो । मैले नेपालमा पढ्न पाइन । यदि पढ्न पाएको भए, यस अघि नै प्रतिस्पर्धामा भाग लिन पाउँथे । मैले २०१५ मा पहिलो पटक केक बनाएको हो । त्यसपछि प्रतिस्पर्धामा पुग्न करिब ९ वर्ष लाग्यो ।’

उनले, आफ्नो सफलताको यात्रा सुनाउँदै, लक्ष्य प्राप्त गर्न समय लाग्न सक्ने बताउँदै, अहिलेको अहिले ठूलो ठाउँमा पुग्नेभन्दा सानो ठाउँबाट काम थालेर सिक्दै ठुलो ठाउँमा पुग्न उत्प्रेरित गरे ।

महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पढाइप्रति रुचि जगाउन र विद्यालय परिसरमा प्राप्त नहुने अवसरमा अभ्यस्त गराउन ‘फेस्टिभल क्याम्प’ अन्तर्गत यसरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । ११ वटा स्रोत केन्द्रसहित १६ वटा विद्यालयमा क्याम्पअन्तर्गतका क्रियाकलाप सञ्चालन भइरहेका छन् । सहरी योजना आयोगका सहायकविज्ञ सस्मित पोखरेल भन्छन्, ‘टाढाबाट देखेको व्यक्तिहरुसँग भेट्दा, अन्तरक्रिया गर्दा, उहाँहरुबाटै प्रशिक्षणमा सहभागी हुन पाउँदा उनीहरुले भविष्यको लक्ष्य निर्धारण गर्न फराकिलो बाटो भेटेको महसुस गरेका छौँ । यसलाई जाडो विदाका समयमा पनि निरन्तरता दिनेछौँ ।’

एयर इन्डियाको जहाजमा विष्फोटक पदार्थ नभएको पुष्टि

काठमाडौँ । एयर इन्डियाको जहाजमा कुनै पनि विष्फोटक पदार्थ नभेटिएको विमानस्थल प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी प्रमुख एसएसपी डम्बरबहादुर बिकले यात्रु, लगेज र जहाजको जाँच गर्दा कुनै पनि खतराजन्य बस्तु फेला नपरेको जानकारी दिए ।

भारतमा रहेको एयर इन्डियाको मुख्यालयमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पठाइएको बमको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीले दिउँसो साढे ३ बजेदेखि जाँच थालेका थिए ।

तर केही नभेटिएपछि केहीबेरमा जहाज दिल्ली उड्दैछ । उक्त जहाजमा ५५ नेपालीसहित १ सय ५८ यात्रु रहेका छन् । उक्त जहाज सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको थियो भने ३ः५० बजे उड्ने तयारी भइरहेको बेलामा बम राखिएको सूचना आएको हो ।

यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको थियो । तर, उक्त जहाजमा साढे तीन घण्टा सर्च गरेपछि गलत सूचना रहेको पुष्टि भएको थियो ।