`

टीकापुरमा ३८ वर्षपछि विमान उडान

जानकी। कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका-१ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ ।

आज टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको ९एन एबीयू नं र तारा एयरको ९एन/एईभी नं को विमान परीक्षण उडान गरिएको हो ।

संस्कृती प्रयटन तथा नागरिक उडड्यनराज्यमन्त्री अरुणकुमार चौधरीले तिहार लगत्तै नियमित विमान सञ्चालन गरिने बताए । उनका अनुसार नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा गरिनेछ ।

स्वर्गीय गृहमन्त्री खड्गबहादुर सिंहले वि सं २०४१ सालमा विमानस्थल सञ्चालनमा ल्याएका थिए । तीन वर्षसम्म नियमित सञ्चालनमा आएको विमानस्थल वि सं २०५२ पछिको द्वन्द्वकाल शुरू भएसँगै नियमित विमान सेवा रोकिएको थियो ।

झण्डै १८ बिघा जग्गामा निर्माण गरिएको उक्त विमानस्थलमा झण्डै चार दशक लाग्दै गर्दा उक्त विमान स्थलमा नियमित उडानका लागि आज नेपाल वायुसेवा निगम र तारा एयरको विमानले परीक्षण उडान गरेको छ ।

परीक्षणका लागि टीकापुर विमानस्थलमा नेपाल ऐरलायेन्सको विमानलाई लिएर क्याप्टेन मनिष विष्ट, उज्जवल सिलवाल सहित म्यानेजर ज्ञानेन्द्र भूल इन्जिनियर सम्राट प्रधान, सुरेन्द्रप्रसाद यादव, युवराज रिजाल, एयरहोस्टेज डिम्पल भट्टराई एटिसी राजु महतोसहित १२ जनाको टोली आएको थियो ।

राष्ट्रिय सुरक्षा परिषदको बैठक मध्यपूर्व द्वन्द्वको समीक्षा

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा गरेको छ।

परिषद्को उक्त ३५औँ बैठकमा मध्यपूर्वमा बढिरहेको द्वन्द्वले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती तथा त्यहाँ रहेका नेपालीको सुरक्षा र अपनाउनुपर्ने भावी रणनीतिबारे छलफल भएको थियो।

अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रम विशेषगरी राष्ट्रिय सुरक्षामा आउन सक्ने विधि चुनौतीबारे छलफल भएको परिषद्का सदस्यसचिव रामेश्वर दङ्गालले जानकारी दिए।

बैठकमा सैनिक ऐनको व्यवस्थाबमोजिम नेपाली सेनाका लागि आव २०८१/८२ मा खरिद गरिने हातहतियार, खरखजाना तथा अन्य सैन्य सरसामग्री खरिद गर्न नीतिगत स्वीकृतिका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बैठकले परिषद्को बैठक सञ्चालन कार्यविधि २०८१ स्वीकृत गरेको छ। बैठकमा गृह र रक्षामन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति एवं रक्षा सचिव सहभागी थिए।

मीनबहादुरको जग्गादानविरुद्धको मुद्दामा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले दानमा नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गा विवाद मुद्दामा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले दुवै पक्षलाई छलफलमासमेत बोलाएको छ ।

अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतसमेतले दायर गरेको रिट गत बुधबार सर्वोच्चले दर्ता गरेको थियो । बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका थिए ।

उनले रिटमा भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानूनको मर्मविपरीत भएको जिकिर गरेका थिए ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर–२, मैत्रीनगरमा नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन १० रोपनी १४ आना जग्गा दिएको घोषणा गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्यास समेत गरेका थिए ।

त्रिभुवन विमानस्थलबाट नयाँदिल्ली उड्ने लागेको एयर इन्डियाको जहाजमा बम राखेको सूचना आएपछि अनुसन्धान हुँदै

काठमाडौं । काठमाडौंबाट नयाँदिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएपछि प्रहरी जाँच सुरु गरेको छ ।

एयर इन्डियाको कार्यालयबाट विमानमा बम रहेको खबर आएको हो । उक्त जहाजमा ५५ नेपालीसहित १ सय ५८ यात्रु रहेका छन् । उक्त जहाज सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको थियो भने ३ः५० बजे उड्ने तयारी भइरहेको बेलामा बम राखिएको सूचना आएको हो ।

यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको थियो । तर, उक्त जहाजमा साढे तीन घण्टा सर्च गरेपछि गलत सूचना रहेको पुष्टि भएको थियो ।

‘बा’ हिँडेको बाटो हिँडेर फर्किए छोरा माथिएस

 म्याग्दी । सन् १९५० जुन ३ नेपालमात्रै होइन, विश्वका ८ हजार मिटर अग्ला हिमाल आरोहणका लागि एउटा ‘प्याराडाइम सिफ्ट’को क्षण थियो । त्यही दिन फ्रान्सेली आरोही मौरिस हर्जोगले नेपालको अन्नपूर्ण प्रथम (८०९१ मिटर)को सफल आरोहण गरेका थिए ।

त्यो क्षण नै विश्व आरोहण इतिहासमा ८ हजार मिटर अग्ला हिमाल आरोहणको पहिलो सफलता थियो । अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरो माथिएस हर्जोग बुवा हिँडेको बाटो पछ्याउँदै नेपाल आएका छन् ।

७५ वर्ष अघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर पहिलो अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्किएका छन् । गत शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आएका हर्जोग शनिबार आफ्ना बुबा मौरिसका पदचाप पछ्याउँदै अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए ।

बुबा हिँडेको बाटो हेर्न र हिँड्न अन्नपूर्ण क्षेत्रमा आएका माथिएसले प्राकृतिक सुन्दरताले भरिपूर्ण अन्नपूर्ण प्रथम हिमालको विश्वभर प्रचारप्रसार गर्न अनुरोध गरे । माथिएसले अन्नपूर्ण र मौरिस हर्जोग पदमार्गलाई विश्वभर चिनाउन आफूले सक्दो पहल गर्ने बताए ।

माथिएसलाई उद्धृत गर्दै उनीसँगै अन्नपूर्ण आधारशिविर गएका मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले भने, ‘जेठो हिमाल भनेर चिनिने अन्नपूर्ण अहिले गुमनाम जस्तै छ । अन्नपूर्णको पर्यटकीय सम्भावनाका बारेमा विश्वभर प्रचारप्रसार गर्नुपर्दछ । मौरिस हर्जोग पदमार्ग, आधार क्षेत्र लगायतका स्थानहरुमा पर्यटन पूर्वाधार निर्माण गरेर विश्वभरका पर्यटकलाई यस क्षेत्रमा ल्याउनुपर्दछ ।’

अभियान्ता गुरुङका अनुसार माथिएसले आधार शिविरस्थित पञ्चकुण्ड ताल नजिक राखिएको पिता मौरिसको सालिकमा माल्यार्पण गर्नुका साथै सामूहिक तस्बिर पनि खिचे । उनले आधार शिविर पुगेर केही बेर ध्यान पनि गरेको गुरुङले सुनाए ।

गुरुङले भने, ‘पदयात्राका क्रममा माथिएसले ७५ वर्ष पहिला आफ्ना पिता हिँडेको मार्ग देखेर चकित हुनुभयो । अहिले जस्तो उवेला पदमार्ग थिएन । भिरपहराको बाटो हुँदै मौरिस यही बाटो भएर अन्नपूर्ण हिमाल आरोहण गर्नुभएको बारेमा हामीले उहाँलाई जानकारी गराएपछि माथिएस दङ्ग पर्नुभयो ।’

सन् २०२५ जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा माथिएसले ८२ वर्षीय आमासहित सम्पूर्ण परिवार अन्नपूर्णको पदयात्रामा आउने प्रतिबद्धता व्यक्त गरेको गुरुङले बताए । बुबाले लेखेको ‘द अन्नपूर्ण’ किताबलाई नेपालीलगायत अन्य भाषाहरुमा पनि अनुवाद गरेर प्रकाशित गर्ने माथिएसले बताए ।

हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण समेत गरेको छ भने आधार शिविरमा रहेको पञ्चकुण्ड ताल नजिक मौरिसको सालिकसमेत राखेको छ । माथिएसको अन्नपूर्ण क्षेत्रको भ्रमणले यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको पालिका अध्यक्ष भरतकुमार पुनले बताए ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तब्यका रुपमा विकास भएको छ ।

धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्नुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका छन् ।

सोमबार राष्ट्र बैंकका कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले जनतालाई सरकार भएको महसुस हुनुपर्ने र विधिको शासनका कुनै सम्झौता गर्दै भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका हुन् ।

उनले सहकारीको बचत ठगी गर्नेहरूको सम्पत्ति बेचेर भए पनि सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नुपर्ने बताए । महामन्त्री थापाले सहकारी प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गर्नुपर्ने भन्दै संसदीय छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

उनले सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका सांसद ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई सुझाव दिएका छन् । जुनसुकै दलका नेता भएपनि अनुसन्धानमा गल्ती देखिए कारबाही गर्न सरकार पछि हट्न नहुने उनले बताए ।

उपसभापति गुरुङ ललितपुरको महालक्ष्मीस्थानस्थित एक सहकारीको बचत हिनामिनामा जोडिएका छन् ।  एमाले सांसद पोखरेल पत्नी मोरङको एक सहकारीको बचत हिनामिनामा तानिएकी छन् ।

सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै

ढोरपाटन (बागलुङ) । बागलुङको काठेखोलाका सीमान्तकृत महिला तथा युवालाई घरबास (होम–स्टे)मार्फत रोजगारसँग जोड्न थालिएको छ ।

गाउँपालिका वडा नं ३, ५, ७ र ८ का करिब एक सय महिला तथा युवालाई रोजगारसँग जोड्न थालिएको हो । यहाँ गाउँपालिकासँगको साझादेरीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको व्यवस्थापनमा रोजगारी सिर्जनाका लागि कार्यक्रम सञ्चालन भइरहेको छ ।

बसाइँसराइले उजाडिन थालेको गाउँमा घरबासमार्फत रोजगारी सिर्जना हुन थालेपछि स्थानीय उत्साहित भएका छन् । पर्यटकीय सम्भावना बोकेका वडा नं ३ को धम्जा देउराली, ५ को बिहुँ, ७ को बौर र ८ को लेखानी गाउँका स्थानीयलाई घरबास सञ्चालनका लागि प्रेरित गरी रोजगार सिर्जना गर्न थालेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।

उनले बसाइँसराइले सुनसान बन्दै गएपछि घरबास सञ्चालनपछि धेरैलाई गाउँ फर्काउन सकिने अपेक्षा लिएको बताए । अध्यक्ष थापाले भने, “गाउँपालिकाले बसाइँसराइ रोक्नका लागि रोजगार सिर्जना गर्ने योजना बनाएको थियो, हाम्रो योजनालाई गैरसरकारी संस्थाले पनि सहयोग गर्नुभयो, सोहीअनुसार यसवर्ष चार वडामा घरबास सञ्चालन गरेका छौँ, गाउँमै बसेर केही गर्न चाहने युवा र महिलालाई यसले ठूलो मद्दत गरेको छ, अन्य वडामा पनि सुरु गर्ने योजना छ ।”

हाल पालिकाका चार स्थानमा सामुदायिक एग्रो घरबास सञ्चालन गरेको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनकी कार्यक्रम प्रबन्धक ममिता पुनले जानकारी दिइन् । घरबास सञ्चालकलाई पाक कला, घरबास व्यवस्थापन, स्थानीय उत्पादनको प्रशोधन र प्याकेजिङ तालिम दिएको उनले बताइन् ।

“घरबास सञ्चालनका लागि हामीले सञ्चालकलाई तालिम दिएका छौँ, गाउँमै जैविक उत्पादनका लागि प्लास्टिक टनेल, प्याकेजिङ मेसिन, तरकारीको बीउ र ड्राइमेसिन उपलब्ध गराएका छौँ”, पुनले भनिन्,“सहयोग पाएपछि धेरै दाजुभाइ दिदीबहिनी उत्साहित भएर लाग्नुभएको छ, उहाँहरूलाई आयआर्जनसँग जोड्नका लागि निरन्तर सहयोग गर्दै जाने छौँ ।”

बौर सामुदायिक होमस्टेका अध्यक्ष होमबहादुर पुनले गाउँपालिका र संघसंस्थाबाट पाएको सहयोगले आफूहरूलाई उत्पादनमा लाग्न प्रेरणा मिलेको बताए । संस्थाले दिएको तालिमले समुदायलाई एकताबद्ध भएर व्यावसायिक बन्न सिकाएको उनको भनाइ छ । हालै स्थापना गरेको घरबासलाई अब प्रचारप्रसार गर्ने र पाहुना भित्र्याउन तर्फ लाग्ने पुनले बताए । 

बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ । कालोपत्रका लागि बिडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता २०८१ मङ्सिरमा सकिँदै छ । तर सडकको प्रगति भने जम्मा ५० प्रतिशत मात्रै रहेको छ ।

निर्माण कम्पनीलाई पटक–पटक ताकेदा गर्दासमेत कामले गति लिन नसकेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ । दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि बल्ल आधा मात्रै काम भएको आयोजनाले जनाएको छ । बलेवा–मालढुङ्गा खण्डको गलुवामा गएको पहिरोले ट्रयाक बगाउँदा करिडोर निर्माणलेसमेत गति लिन नसकेको हो ।

म्याद सकिनै लाग्दा आधा मात्रै काम भएको कालीगण्डकी करिडोर आयोजना कार्यालयका पाल्पाका सूचना अधिकारी अरुण खत्रीले बताउनुभयो । उहाँका अनुसार बलेवा–हर्मिचौरको ४४ किलोमिटर सडक सम्झौता अगावै काम सक्नेगरी कालोपत्र भइरहदा छोटो खण्डको रुपमा रहेको बलेवा–मालढुङ्गा सडकको १० किमि सडकले तीव्रता पाउन नसेकेको हो ।

‘सम्झौता नथपे काम सकिने अवस्था देखिँदैन, मङ्सिरमा सम्झौता सकिन्छ, भौतिक प्रगति बल्ल ४८ प्रतिशत पुगेको छ, म्याद नथपि काम नसकिने देखियो’, सूचना अधिकारी खत्रीले भने, ‘छ महिना म्याद थपेर निर्माण कम्पनीलाई ताकेता गर्ने हो । चालु आवमै काम सक्ने गरी निर्देशन दिएका छौँ ।’

सूचना अधिकारी खत्रीका अनुसार १० किलोमिटर दूरी रहेको उक्त खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको थियो । सम्झौता अनुसार दुई वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरिसक्नुपर्नेमा आधा मात्रै काम गरेपछि स्पष्टिकरणसहित म्याद थप्ने तयारी आयोजनाको छ । असार मसान्तसम्म कालोपत्र गर्नेगरी कामले तीव्रता दिन थालिएको निर्माण कम्पनी बिडारी कन्ट्रक्सनले जनाएको छ । निर्माण व्यवसायी धुव्र बिडारीले सुरुमा निर्माणले तीव्रता पाए पनि समयमै भुक्तानी नपाउँदा समस्या भएको जानकारी दिए।

“पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ । अब कामले तीव्रता पाउँछ, छ महिनाको म्याद मागेका छौँ, असार मसान्तभित्र काम सक्ने लक्ष्य छ”, उनले भने।

बागलुङ खण्डको ५४ किलोमिटर सडकमा कालोपत्र गर्न आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्र्भट र ग्याबिन जाली लगायतका पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको भए पनि ४४ किमि सडक कालोपत्रको चरणमा पुग्दा १० किमि सडकमा ढिलाइ भएको हो । करिडोरका कारण कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउनसक्ने सम्भावना छ ।

कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्र सम्पन्न गर्ने गरी ठेक्का लगाएको थियो ।

कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ ।

करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपालको उत्तरी सीमा चीनको कोरला र दक्षिणी सीमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइन्छ ।

शेयर बजार २७ अङ्कले बढ्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । आइतबार ९ अंकले घटेको नेप्से सोमबार भने २७ दशमलव ४१ अङ्कले बढेर दुई हजार ६ सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज जानकी फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ ।

आज तीन सय सात वटा कम्पनीका एक करोड चार लाख कित्ता शेयर पाँच अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ३३ करोड रुपैयाँको शेयर किनबेच भयो ।

ऊर्जा विकासमा सहजीकरण गर्न निजी क्षेत्रको माग

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रको ऊर्जा विकासका लागि सहजीकरण गर्न ऊर्जामन्त्री दीपक खड्का समक्ष माग गरेका छन् ।

इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भेटेर सरकारले राखेको ऊर्जा विकासका लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न माग गरेका हुन् ।

अध्यक्ष कार्कीले आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाले जलविद्युत् आयोजनालाई दिनुपर्ने ऋण प्रवाह गर्न नसक्नु, भारतबाट विस्फोटक पदार्थ आयातमा अनौपचारिक रोक लगाउनु, वन तथा वातावरण मन्त्रालयले रुख कटानको स्वीकृति नै नदिनु, सरकारी जग्गा प्राप्तिमा हदबन्दीलगायतका झमेलाले आयोजना समयमै बनाउन नसकिएको उल्लेख गर्दै विद्युत् उत्पादनको अन्तिम मितिको म्याद बढाउन आग्रह गरे।

इप्पानले जलविद्युत् आयोजनाको अध्ययनमा लामो समय लाग्ने र कतिपय आयोजना अध्ययन गर्दागर्दै सम्भाव्य नहुने हुँदा आयोजना सबै हिसाबले सम्भाव्य भएर उत्पादन अनुमतिपत्र प्राप्त गरेपछि मात्रै उद्योग विभागमा दर्ता गर्ने व्यवस्था गरिदिनसमेत मन्त्रीसमक्ष आग्रह गरेको छ । यसैगरी, आयोजनाको प्रकृति र क्षमता अनुसार वित्तीय व्यवस्थापनको समय तोकिदिनसमेत माग गरेको छ ।

भेटमा मन्त्री खड्काले सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पूरा गर्न निजी क्षेत्रको साथ र सहयोग महत्वपूर्ण रहेको बताए।

‘मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले निजी क्षेत्रलाई सँगै लिएर अगाडि बढ्न चाहेको छ, निजी क्षेत्रको ऊर्जा विकासमा देखिएको समस्या समाधान गर्न सरकार लाग्छ,’ उनले भने।

मन्त्री खड्काले विद्युत् उत्पादनका लागि लाइसेन्स लिएर बस्ने तर आयोजनालाई अगाडि नबढाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै काम नगर्ने आयोजनाको लाइसेन्स खारेज गर्नुपर्ने बताए। उनले बाढीपहिरोबाट क्षति पुगेका आयोजनाको बारेमा अध्ययन गरेर निर्णय गरिने बताए।

सरकार भ्रष्टाचारकाबारेमा शून्य सहनशीलताको नीति अपनाउनेमा प्रष्ट छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन् ।

सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण/नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा प्रष्ट रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्न भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेक प्रस्तुत गरिएको बताएका हुन् ।

‘प्रस्तुत विधयेक चाँडोभन्दा चाँडो समितिबाट टुङ्गो लगाएर आगामी अधिवेशनमा पूर्णता दिने कुरामा समितिले काम गरिदेओस् भन्ने सरकारका तर्फबाट आग्रह छ’, गृहमन्त्री लेखकले भने,’यी विधयेक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानुन बनाउनुपर्छ ।’

विधेयकलाई आउँदो अधिवेशबाट पुर्ण रुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुङ्गोमा पुर्याएर सङ्घीय संसद्को अधिवेशनमा प्रस्तुत गर्न उनले आग्रह गरे ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐनसम्बन्धी ऐनलाई समसामयिक रुपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएका छन्’, उनले भने, “जुन सम्मानित समितिमा विचाराधीन छ ।’

गृहमन्त्री लेखकले भ्रष्टाचारलाई न्यूनीकरण गरेर यसमा शून्य सहनशीलताको नीति अवलम्बन गरेर मुलुकमा सुशासनको प्रत्याभूति गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

‘यी विधयेकहरु पूर्ववर्ती सरकारबाट प्रस्तुत भएका भए पनि सरकार भनेको अविछिन्न उत्तराधिकारी हो, सरकार अलग/अलग हुँदैन’, उनले भने ।

इजिप्टद्वारा गाजामा दुई दिने युद्धविरामको प्रस्ताव

कायरो । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले इजरायल र हमासबीच एक वर्षभन्दा लामो युद्धपछि ‘पूर्ण युद्धविराम’ हासिल गर्ने उद्देश्यले गाजामा दुई दिने युद्धविराम र बन्धक आदानप्रदानको प्रस्ताव गरेका छन् ।

प्रस्तावमा गाजामा बन्धक बनाइएका चार जना इजरायली कैदी र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीबीच आदानप्रदान गर्ने र त्यसपछि १० दिनभित्र युद्धविरामका लागि थप वार्ता गरिने सिसीले कायरोमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

उनले यो योजना औपचारिक रुपमा इजरायल वा हमाससमक्ष प्रस्तुत गरिएको हो वा होइन भन्नेबारे भने केही बताएका छैनन् ।

इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्ध युद्ध लडिरहेको र आफ्नो प्रमुख शत्रु इरानमाथि हवाई आक्रमण सुरु गरेको अवस्था र प्यालेस्टिनी भूभागमा कब्जा जमाइरहेको बेला सिसीको यो भनाइ सार्वजनिक भएको हो ।

इरानी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणको दोस्रो पटक इजरायलले बदला लिएको शनिबारको आक्रमणले संयमित हुन विश्वव्यापी आह्वान गरेको छ ।

इरानको अनुरोधमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक सोमबार बस्ने छ र तेहरानले चार सैनिकको ज्यान जाने गरी भएको आक्रमणको निन्दा गर्न आग्रह गरेको छ ।

इरानी नेताहरूले आक्रमणले सीमित क्षति मात्र पुर्याएको भन्दै स्वदेश (इरान) मा युद्धमा आफ्नो उपस्थितिलाई कम महत्व दिएका छन् ।

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो मन्त्रीमण्डललाई इरान युद्ध नचाहेको तर उपयुक्त जवाफ दिने बताएका छन् ।

तेहरानका विदेशमन्त्री अब्बास अरागचीका अनुसार तेहरानले आक्रमण हुनुभन्दा केही घण्टाअघि नै ‘सङ्केत’ प्राप्त गरेको थियो । यसअघि, अमेरिकी समाचार साइट एक्जिओसले इजरायलले ‘व्यापक तनाव बढ्न नदिन’ चेतावनी दिएको जनाएको थियो ।

इजरायलको आक्रमणमा इरानको ऊर्जा पूर्वाधारमा नलागेपछि व्यापारीहरूले राहत महसुस गरेका छन् भने तेलको मूल्य सोमबार पाँच प्रतिशतसम्म घटेको छ।

इजरायलले तेहरानसमर्थित लडाकू नेता र एक इरानी कमाण्डरको हत्या गरेको बदलामा इरानद्वारा अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले इरानमाथि आक्रमण गरेको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो अभियान ‘सटीक र शक्तिशाली रहेको र यसले आफ्ना सबै उद्देश्य हासिल गरेको’ बताएका छन् ।

नेतन्याहूले अक्टोबर ७ मा हमासको आक्रमणको स्मरणार्थ जेरुसेलममा आयोजित स्मृति सभामा बोल्दै गर्दा मृतकका आफन्तको चिच्याहटपछि उहाँले सम्बोधनलाई केही समय रोक्नुपरेको थियो ।

इजरायली प्रधानमन्त्रीमाथि गाजामा रहेका बन्दीहरुको रिहाईका लागि पहल गर्न स्वदेश तथा विदेशबाट व्यापक दबाब परेको छ तर उनले आफ्नो हमासविरोधी अभियान तत्काल नरोकिने बताएका छन् ।

गाजामा नागरिकको अवस्था ‘असहनीय’: महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ। गाजा पट्टीको उत्तरी भागमा चलिरहेको तीव्र इजरायली सैन्य कारबाहीमा भएको नरसंहार तथा विनाशले संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेर्रेस ‘स्तब्ध’ भएको उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उत्तरी गाजाका प्यालेस्टिनी नागरिकहरूको अवस्था असहनीय रहेको विज्ञप्तिमा उल्लेख छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला केही हप्तामा गाजामा सयौँ मानिस मारिएका छन्, भने ६० हजारभन्दा बढी विस्थापित भएका छन् ।

गाजामा इजरायलको सैन्य कारबाहीले विनाश र अभावले जबल्या, बेत लाहिया र बेत हानुन वरपरका प्यालेस्टिनीको जीवनको अवस्था अस्थिर बनाइरहेको र द्वन्द्व अन्तर्राष्ट्रिय कानूनको बर्खिलापमा जारी रहेको गुर्टेरेसले बताएका छन् ।

उनले द्वन्द्वरत पक्षहरूले मानवीय कार्यकर्ता तथा अग्रपङ्तीमा रहेर मानवीय सहयोगमा खटिएका व्यक्तिको सम्मान र सुरक्षा गर्नुपर्ने बताएका छन् ।

गुटेर्रेसले तत्काल युद्धविराम, सबै बन्धकको बिना शर्त रिहाइ र अन्तर्राष्ट्रिय कानुन अन्तर्गतको जवाफदेहिताका लागि समेत आह्वान गरेका छन् । 

ड्रागनखेतीमा जमेका तरहराका लाहुरे

धरान (सुनसरी)  २८ वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । 

एक्काइस वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको बिरुवाले यसरी फल दिन्छ भन्ने उनले सोचेका पनि थिएनन् । ड्रागन फलको त्यही बिरुवाबाट  अहिले उनी यसको व्यावसायिकखेतीमा क्रियाशील छन् । सुरुमा त उनलाई थाहा थिएन, यो फल यत्ति महङ्गो र स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेर । 

अन्य फलको तुलनामा यसको मूल्य निकै रहेकाले उनी यसतर्फ आकर्षित बनेका हुन् । व्यवसाय सुरु गर्दा स्थानीय बजारहरुमा पनि प्रतिकेजी  एक हजार दुई सयमा बिक्री वितरण हुने थाहा पाएपछि उनी निकै हौसिएका थिए । अहिले उनलाई आफूले उत्पादन गरेको ड्रागन फलको बजारीकरणमा कुनै समस्या छैन । भाटभटेनी सुपरमार्केसँग समन्वय गरी बिक्री गर्ने गरेका छन् ।

  केही वर्षअघि रामधुनी नगरपालिका–७ रानीपोखरीमा किनेको एक बिघा जग्गा त्यत्तिकै उपयोगविहीन नै थियो । त्यही जग्गामा दुई सयवटा ड्रागनको बिरुवा लगाएर खेती सुरु गर्ने निधो गरे । सुरुमा त उनलाई धेरैले गलत निर्णय गरेको भन्दै आलोचना पनि नगरेका होइनन् तर उनी आफ्नो योजनामा प्रस्ट थिए । त्यतिबेला पूर्वमा ड्रागनखेती गर्नेको सङ्ख्या थोरै मात्र थियो । कोहीकोहीले घरको छत र बारीमा दुई/चार बोट मात्रै लगाएका थिए । 

अन्य फलफूल वर्षमा एकपटक मात्र उत्पादन गर्न सकिन्छ भने ड्रागन फल वर्षमा १० पटकसम्म फलाउन सकिन्छ । उनले भने, ‘‘राम्रो उत्पादनसंँगै आम्दानी पनि राम्रो हुने गरेको छ । अहिले वार्षिक  ५० लाख सजिलै आम्दानी हुने गरेको छ भने खेतीमा मल, कर्मचारी खर्च सबैगरी वार्षिक  १२ लाख जति खर्च हुने गरेको उनले बताए ।

फलसँगै उनले बिरुवा बिक्री गरेर पनि राम्रो आम्दानी हुने गरेको उनले बताए । बिरुवा मात्र बेचेर उनले वर्षमा  दुई लाख भन्दाबढीको आम्दानी गर्दै आएका छन् ।

पूर्वमा ड्रागनखेती गर्ने ८० प्रतिशतभन्दा बढी किसानले यहीँबाट बिरुवा खरिद गरेर लाने गरेको उनको भनाइ छ । कुनै समय भने बिरुवाको माग अत्यधिक भएकाले बिक्रीका लागि बिरुवा माग पूरा गर्न नसक्ने अवस्था हुने गरेको उनले सुनाए ।

सुरुवाती समयमा त उनले फलबाट भन्दा धेरै बिरुवा बिक्री गरेर आम्दानी गरेका थिए । उनले भने, “पहिले बिरुवा एक बोटको दुई सयदेखि  चार सयसम्म बिक्री गर्ने गरेकामा अहिले भने प्रतिबिरुवा  ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।

फल भने खुद्रामा अहिले  चार रुपैयाँमा बिक्री गर्दै आएका छन् भने थोकमा  तीन सय ५० रुपैयाँमा बिक्री हुने गरेको उनले बताए । व्यावसायिक रुपमा ड्रागनखेती गर्न थालेपछि उनले तर्जुमा ड्राइगन फ्रुट कृषि फार्म नै दर्ता गरेका छन् । उनको फार्ममा प्रत्यक्ष अप्रत्यक्ष धेरैले रोजगारी पनि पाएका छन् । 

उनको देखासिकी गरी अहिले धेरै युवाले ड्रागनखेती गर्न थालेका छन् । सुनसरीको तरहरामा जन्मिएका भारतीय पूर्वलाहुरे कृष्णकुमार घले १७ वर्ष भारतीय सेनामा बिताएपछि २०७४ सालमा निवृत्त भई नेपाल फर्किएका थिए ।

उनले नेपाल फर्केपछि बाँकी समय किन त्यत्तिकै खेर फाल्ने भन्ने सोचले व्यवसाय गर्ने निधो गरे । सुरुमा उनले सुनसरीको रामधुनी नगरपालिका–७ रानीपोखरीमा कागतीखेती सुरु गरे, दुई वर्षजति कागतीखेतीमै बित्यो ।  

पछि कागतीखेतीबाट भने जस्तो राम्रो आम्दानी हुन नसकेपछि पूरै एक विघा जग्गामा सुरु गरेको कागतीखेती सबै डोजर लगाएर सबै हटाए ।

उनले भने, ‘‘कागतीखेतीबाट त्यति नराम्रो नै चाहीँ भएको हैन तर जति आम्दानी हुन्छ ।’ भनेर सुरु गरेको कागतीखेती त्यति आम्दानी नभएपछि नजिकै रहेको आफ्नै काका कृपाश्वर घलेको ड्रागन खेती देखेर त्यहीँबाट प्रेरित भएर  ड्रागनखेती सुरु गरेको बताए । उनले २०७५ फागुनमा तमु कृष्ण बहुद्देश्यीय कृषि फार्म दर्ता गरेर एक बिघाको पूरै जमिनमा ड्रागनखेती सुरु गरेको बताए ।

  कागतीखेतीको तुलनामा अहिले ड्रागनखेतीबाट राम्रो आम्दानी भइरहेकोे उनले बताए । वार्षिक ४० लाख भन्दाबढी आम्दानी हुन्छ भने  १० लाख जति खेतीमा मल, काम गर्ने कर्मचारीलाई सालरी सबै खाना पानी गरेर वार्षिक खर्च हुने गरेको उनले बताए ।

ड्रागनखेती सुरु गरेपछि आर्थिक रुपमा सबै व्यवस्थित हुँदै गयो, जब ड्रागनखेती सुरु गरे आफैँलाई पनि राम्रो भएको छ भने ड्रागन व्यापार गर्ने किसान र व्यापारीका लागि पनि एउटा आकर्षक कृषि फार्मको केन्द्रका रुपमा विस्थापित भएको उनले बताए ।

उत्पादन भएको फल बिक्रीका लागि समस्या छैन, पूर्वी पहाडी भेगका व्यापारीहरु ड्रागन खरिद गर्नका लागि फार्ममा पुग्ने गरेका छन् भने स्थानीय बजारका व्यापारीहरु पनि खरिदका लागि फार्ममै पुग्ने गरेको उनले बताए ।

बिक्रीका लागि धेरैजसो इटहरी, धरान, विराटनगरमा मात्र नभई काठमाडौं, पोखरासम्म बिक्रीका लागि पठाउने गरेको बताए । यो फलफूल फुल्न सुरु गरेको ४५ दिनमा फल पाक्ने हुँदा वार्षिक रुपमा सजिलैसँग १६ देखि २० मेट्रिक टनसम्म उत्पादन हुने गरेको उनले बताए । 

अहिले सुनसरीको रामधुनी नगरपालिका–७ मा मात्र १० घरधुरीभन्दा बढीले ड्रागनखेती गर्दै आएका छन् । विदेशबाट फर्केका युवाहरुले पछिल्लो समय ड्रागनखेतीतर्फ आकर्षित भएका छन् । कतिपय विदेश पलायन हुन लागेका युवाहरुले पनि आफ्नै देशमा व्यवसाय गरे आम्दानी गर्न सकिने रहेछ भन्ने प्रेरणा उनीबाट लिएका छन् ।

तिलगङ्गा आँखा प्रतिष्ठानले ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा सुरु गर्ने

काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानले ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ । सोमबार आयोजित एक दिने विशेष एस्थेटिक अकुलोप्लाष्टि कार्यशालामा प्रतिष्ठानका कार्यकारी निर्देशक डा सन्दुक रूइतले नेपालमा यसको सम्भावना राम्रो रहेको र छिट्टै नै विभिन्न सुविधासहित सेवा सुरू गरिने जानकारी दिए ।

यो सुविधा तिलगङ्गा प्रतिष्ठान तथा तिलगङ्गा सिटि आइ सेन्टर, चुच्चेपाटीमा निकट भविष्यमा सुरु हुने उनले बताए । डा रूइतका अनुसार ‘एस्थेटिक अकुलोप्लाष्टि’ भन्नाले आँखारोग उपचारको यस्तो विषय हो जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ । शल्यक्रिया वा अन्य उपचार पद्धतिबाट अनुहारमा सौन्दर्य ल्याउन मद्दत गर्ने भएकाले यसप्रतिको चासो जनमानसमा बढ्दो छ ।

हाल तिलगङ्गामा डेडो आँखाको समस्या, आँखा डिल तथा अनुहारको मांशपेशी फरफराउने समस्या, अत्यधिक आँशु आउने समस्या, थाइराइडबाट हुने आँखाको लिडको समस्याको उपचार ‘बोटक्स इन्जेक्सन’बाट निवारण भइराखेको छ । यस कार्यशालापश्चात् थप सेवा जस्तै बोटक्सबाट अनुहार तथा घाँटीको चाउरीपनलगायत अन्य आँखा समस्याको उपचार गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

कार्यशालामा एस्थेटिक अकुलोप्लाष्टिका तीन अन्तर्राष्ट्रिय विज्ञहरू फिलिपिन्सका डा इभेट सान्टियागो, मलेसियाका डा एलिस गोह र सिङ्गापुरका डा स्टेफेनीइ योङले कार्यशालामा कार्यपत्र प्रस्तुत गरे ।

फिलिपिन्सकी डा सान्टियागोले अनुभवीबाट मात्र यस्तो सेवा लिनुपर्ने बताइन् । उनले भनिन्,“बोटक्स गर्दा भएको गल्तीले अनुहार नै बिग्रिएका पनि छन् । सकेसम्म बेलैमा छालाको ध्यान दिनु राम्रो हुन्छ ।”

कार्यशालामा देशभरका विभिन्न स्थानबाट आँखा रोग विशेषज्ञ र आवासीय चिकित्सकको सहभागिता रहेको छ ।

दमौलीमा डेङ्गी नियन्त्रण गर्न घरदैलो अभियान

दमौली । डेङ्गी सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि चेतना जगाउन सदरमुकाम दमौलीमा आजदेखि घरदैलो अभियान सुरु गरिएको छ । चिसो मौसम बढ्दै जाँदा पनि डेङ्गी सङ्क्रमण नघटेपछि व्यास नगरपालिका स्वास्थ्य शाखाले बजार क्षेत्रमा घरदैलो अभियान सुरु गरेको हो ।

डेङ्गी नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका बारेमा नगरवासीलाई जानकारी गराउने उद्देश्यसहित घरदैलो अभियान सुरु गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए।

उनले भने, ‘तनहुँमा सबैभन्दा बढी व्यास नगरपालिकामा डेङ्गी सङ्क्रमित छन् । नियन्त्रण गर्न घरदैलो अभियान सुरु गरिएको हो ।’

प्रमुख सोतीका अनुसार डेङ्गी नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजौँ र नष्ट गरौँ अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । उनले भने, ‘लामखुट्टेको बासस्थान खोजेर र नष्ट गर्न सक्यौँ भने यसको नियन्त्रण गर्न सकिन्छ । लामखुट्टेले बासस्थान बनाउन सक्ने सम्भावित ठाउँको पहिचान गरी त्यस्ता ठाउँको नष्ट गर्छौँ।’

दमौली बजारमा डेङ्गी सङ्क्रमित थपिने क्रम बढ्दो अवस्थामा रहेकाले चेतना जगाउन अभियान सञ्चालन गर्न आवश्यक भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताए। जिल्लाभर चार हजार सात सय ११ डेङ्गी सङ्क्रमित रहेकामा व्यास नगरपालिकामा मात्रै एक हजार सात सय १५ छन् ।

यस्तै शुक्लागण्डकी नगरपालिकामा आठ सय २०, भिमाद नगरपालिकामा ८३, भानु नगरपालिकामा ४४, म्याग्दे गाउँपालिकामा ४५, बन्दीपुर गाउँपालिकामा एक सय ८६, आँबुखैरेनी गाउँपालिकामा एक हजार ६ सय ९८, ऋषिङ गाउँपालिकामा चार, घिरिङ गाउँपालिकामा ६, देवघाट गाउँपालिकामा ८० र अन्य जिल्ला घर भएका ३० जनामा डेङ्गी सङ्क्रमण भएको छ ।

दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, खाना खान रुची नलाग्नु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनुलगायत डेङ्गीका लक्षण हुन् ।

डा बरालका अनुसार पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्नु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

व्यापारिक सम्बन्ध बिस्तारका लागि स्पेनी प्रधानमन्त्री सान्चेज भारत भ्रमणमा

नयाँदिल्ली । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा स्वागत गेका छन् ।

यसअघि स्पेनी प्रधानमन्त्रीका रूपमा होजे लुइस रोद्रिगेज झपातेरोले भारत भ्रमण गरेका थिए भने प्रधानमन्त्री साञ्चेजले १८ बर्षपछि स्पेनी प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गरेका छन् ।

भारतको रक्षा मन्त्रालयले सन् २०२१ मा एयरबस डिफेन्स एन्ड स्पेसबाट ५६ कार्गो र सेनाको लागि सी २९५ विमानका लागि २.५ अर्ब डलरको सम्झौता गरेको थियो ।

गुजरात राज्यको वडोदरामा टाटा एडभान्स सिस्टम्स र एयरबसको सहकार्यमा निर्माण गरिएको सैन्य विमान कारखानाको उद्घाटन गर्न जाँदै गर्दा सुन्तला रङ्गको सयपत्री फुलको मालाले सजिएको गाडीबाट स्वागतका लागि सडक किनारामा उभिएका भारतीयको आथित्यतालाई दुवै देशका नेताले हात हल्लाएर स्वीकारेका थिए।

स्पेनको सेभिलमा १६ वटा विमानको निर्माण (एसेम्बल) गरिने बताइएकामा पहिलो विमानको डेलिभरी गत वर्ष गरिएको थियो भने बाँकी ४० वटा विमान भारतमा निर्माण हुनेछन् ।

वडोदरामा रहेको भारतीय विमान निर्माण प्लान्टले सन् २०२६ मा पहिलो ‘मेड इन इन्डिया’ सी२९५ विमान निर्माण सम्पन्न गर्नेछ ।

“यो कारखानाले भारत–स्पेन सम्बन्धलाई मात्र बलियो बनाउने छैन, ‘मेक इन इन्डिया एन्ड मेड फर द वल्र्ड’ मिसनलाई पनि मजबुत बनाउनेछ,” मोदीले भने ।

यसले विश्वव्यापी एयरोस्पेस उत्पादनमा एक विश्वसनीय साझेदारको रूपमा भारतको स्थितिलाई पनि बलियो बनाउने उनको दावी रहेको छ ।

सान्चेजले एयरबसले भारतको रक्षा र अन्तरिक्ष उद्योगमा नयाँ अध्याय कोरेको बताए ।

“यो परियोजनाले हाम्रो औद्योगिक सम्बन्धलाई मजबुत बनाउँछ र भरपर्दो र रणनीतिक साझेदारको रूपमा हाम्रो देशको गहिरो प्रतिबद्धतालाई अन्तर्निहित गर्दछ,” साञ्चेजले भने । यसले स्पेनी रक्षा उद्योगको क्षमता पनि देखाउँछ।

भारतले सन् २०२३ मा ९.९ अर्ब अमेरिकी डलर को व्यापार गरेकोमा ७.१७ अर्ब डलरको निर्यात गरेको छ भने २.७४ अर्ब डलरको आयात गरेको छ ।

स्पेन, भारतमा २८० भन्दा बढी स्पेनी कम्पनीसहित १६ औँ ठूलो विदेशी लगानीकर्ता हो र स्पेनले निर्माण, फार्मेसी, ऊर्जा, साथै रेलवे उद्योगमा पनि भारतमा लगानी बढाउन उत्सुक रहेको छ ।

स्पेनको जहाज निर्माण कम्पनी नाभान्टियाका अधिकारीहरू पनडुब्बीसहित सम्भावित सम्झौताहरूको लागि भारत भ्रमणमा साञ्चेजको भ्रमण दलमा सहभागी रहेका छन् ।

मोदीले सन् २०१७ मा स्पेनको भ्रमण गर्नुभएको थियो भनेसन् २०१८ र २०२१ मा जी–२० शिखर सम्मेलनमा सान्चेजसँग वार्ता गरेका थिए ।

गत महिना चीनको भ्रमण गरेका सान्चेज एसियामा बेइजिङ र नयाँदिल्ली दुवैसँगको सम्बन्धलाई मजबुत बनाउन चाहन्छन् ।

स्पेनी प्रधानमन्त्री साञ्चेजले मङ्गलबार भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बईको भ्रमण गर्ने कार्यक्रम रहेको छ । मुम्बईमा रहँदा उनले स्थानीय औद्योगिक प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

बझाङको भोपूरमा जिप दुर्घटना, चारजना घाइते

चैनपुर (बझाङ) । बझाङमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।  तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जिप भोपूरमा दुर्घटना भएको हो ।

सात जना यात्रु चढेको उक्त जिप तीव्र गतीका कारण सडकमै पल्टिएको हो । दुर्घटनामा घाइते हुनेहरुमा जिप चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै

-राजु सिलवाल

विश्व कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले गत बसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको तस्बिर अङ्कित टिसर्ट प्रदर्शन गरेका थिए । गोलकिपर सुब्बाको जीवनीमा आधारित ‘एन्जिला’ नामक चलचित्रको प्रवद्र्धनका सिलसिलामा उक्त टिसर्ट सगरमाथा लगिएको थियो ।  आगामी माघ ११ गतेदेखि सार्वजनिक हुने उक्त चलचित्रमा प्रसिद्ध अभिनेता दयाहाङ राईलगायतका कलाकारसँग गोलकिपर सुब्बाले मुख्य पात्र बनेर अभिनय गरेकी छिन् । चलचित्रको पोष्टरमा गोलकिपर सुब्बाले बल समाइरहेको तस्बिर छापिएको छ । 


हिजो काठमाडौँको दशरथ रङ्गशालामा उनै गोलकिपर सुब्बा कप्तान रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँग खेलेको सातौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमी फाइनल खेल कुनै चलचित्र प्रदर्शनभन्दा कम भएन । खेलमा प्रतिस्पर्धा, तनाव, विवादास्पद अवस्था, रोमाञ्चकारी क्षण तथा सुखद अनुभूतिजस्ता अनुभव दर्शकहरुले गरेका थिए । राति अबेरसम्म फुटबल प्रतियोगिता हेरेपछि नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाट अवकाश प्राप्त पूर्वप्रधानाध्यापक दीपक कपालीले नेपाल र भारतबीचको फुटबल प्रतियोगिता कुनै चलचित्र हेरेजस्तै रोमाञ्चकारी लागेको टिप्पणी गरेका छन् । 


लिग चरणमा समूह विजेता बनेपछि चिर प्रतिस्र्धी भारतसँगको प्रतिस्पर्धालाई नेपाली दर्शकहरुले निकै महत्व दिएका थिए । घरेलु मैदानमा हजारौँ नेपाली फुटबलप्रेमीहरुको उपस्थितिमा खेल्न पाउनु नेपाली फुटबल खेलाडीहरुका लागि महत्वपूर्ण अवसर थियो । नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक राजेन्द्र तामाङले सन् २०२२ मै भारतलाई नेपालले हराए पनि प्रतिस्पर्धीसँग सतर्क भएर खेल्नुपर्ने बताएका थिए । उनी नेपालको टिममा दक्षिण तथा मध्यएसियाकै उत्कृष्ट स्ट्राइकर भएकामा ढुक्क थिए । भारतीय प्रशिक्षक सन्तोषकुमार कष्यप भने सधैँ खाली रङ्गशालामा खेल्ने गरेका महिला खेलाडीहरुले आज भरिभराउ रङ्गशालामा खेल्न पाएकामा खुसी देखिन्थे । विगतमा महिला फुटबल प्रतियोगिताहरुमा दर्शकहरुको उपस्थिति कमै हुने गरेको थियो । तर करिब १५ हजार दर्शक क्षमताको दशरथ रङ्गशाला हिजो खचाखच भरिएको थियो । यसबाहेक टेलिभिजन प्रसारण तथा सामाजिक माध्यम युट्युबका माध्यमबाट पनि लाखौँ फुटबलप्रेमीहरुले यो खेल हेरेका थिए । 


महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता पाँचपटक जितिसकेको भारत तथा उक्त प्रतियोगितामा पाँचपटक नै उपविजेता बनेको नेपालबीचको हिजोको फुटबल खेल पूर्वाद्र्ध अवधिमा प्रतिस्पर्धात्मक रुपले अघि बढेको थियो । दुवै पक्षबाट गोल आफ्नो पक्षमा गर्ने प्रयास गरेता पनि सफलता भने मिलिरहेको थिएन । यस अवधिमा भारतीय खेलाडीहरुले बढी फल खेलेको देखिएको थियो ।


भूटानी रेफ्रीको निर्णय 


मध्यान्तरपछिको ५१औँ मिनेटमा भूटानी रेफ्री ओम चोकीले नेपालकी स्ट्राइकर रेखा पौडेललाई दोहोरो पहेँलो कार्डसहित रातो कार्ड देखाएर मैदानबाट बाहिर निकालेपछि खेल तनावपूर्ण हुन सुरु भएको थियो । रेखा नेपाली फुटबल टिमकी पहिलो रोजाइकी स्ट्राइकर हुन् । यसपालिको प्रतियोगितामा उनले नेपाली खेलाडीहरुमध्ये सर्वाधिक सात गोल गरिसकेकी थिइन् । युएईमा क्लबमा आबद्ध भई व्यावसायिक खेल खेलिरहेकी उनलाई निकाल्ने रेफ्रीको निर्णयपछि दर्शकहरु आक्रोशित बनेका थिए । त्यसपछि रङ्गशालामा सुरक्षाकर्मीहरु बढाइएको थियो । स्ट्राइकर रेखा पौडेलले अब नेपालले बङ्गलादेशसँग खेल्ने फाइनल खेल गुमाउनेछिन् । 


रेखालाई मैदानबाट निकालिएपछि खेल केही बेर अवरुद्ध बनेको थियो । १० खेलाडीमा सीमित नेपाली पक्षलाई ७२औँ मिनेट भारतीय टिमकी सङ्गीता बासफोरले गोल गरेकी थिइन् । त्यसको लगत्तै नेपाली पक्षका तर्फबाट प्रिती राईले गोल गरे पनि रेफ्री ओम चोकीले मान्यता नदिएपछि खेल पुनः करिब एक घण्टा १५ मिनेट रोकिएको थियो । यसअघि दशरथ रङ्गशालामा यसरी लामो अवधिसम्म खेल रोकिएको उदाहरण छैन । जाडोयाममा रातिको समयमा लामो समयसम्म खेल रोकिए पनि फुटबलप्रेमीहरु आ–आफ्नो स्थानमा नै रहिरहेका थिए । रेफ्री चोकीले सुरुमा गोल भएको सङ्केत गरे तापनि सहायक रेफ्री र फोर्थ अफिसियलको सङ्केतअनुसार गोललाई मान्यता नदिएपछि विवाद बढेको थियो । नेपाली खेलाडीहरुले खेल्न नमानेपछि उनीहरुलाई मनाउन फुटबल पदाधिकारीहरुले धेरै प्रयास गरेका थिए । नेपाली टिमले खेल पुनः सुरु नगरे कारबाही गर्न सकिनेसम्मको जानकारी साफ च्याम्पियनसिपका सम्बन्धित अफिसियलहरुले दिएपछि नेपाली टिम पुनः खेल्न मञ्जुर भएको नेपाली प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिएका छन् । 


खेल पुनः सञ्चालन भएलगत्तै नेपाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले गोल फर्काई आफ्नो टिमलाई बराबरीको स्थितिमा लग्न सफल भएकी थिइन् । दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये मानिएकी उनले गोल गरेर मुलुकको शिर उँचो त बनाइन् तर गोल गरेको जोसमा मैदान बाहिर निस्किएर टिसर्ट खोलेकामा रेफ्री चोकीबाट पहेँलो कार्ड ब्यहोर्न बाध्य बनिन् । खेलको निर्धारित समयमा एक–एक गोल भई बराबरीमा टुङ्गिएपछि समय नथपेर गराइएको ‘टाइब्रेकर’मा नेपालले भारतलाई दुई गोलका विरुद्ध चार गोलले पराजित गरी फाइनलको ढोका खोलेको थियो । 


टाइब्रेकरका लागि दुवै पक्षले गोलकिपर समेत परिवर्तन गरेका थिए । भर्खरै मैदान प्रवेश गरेकी नेपाली गोलकिपर अन्जना रानामगरले दुईवटा पेनाल्टी बचाएर मुलुकलाई जिताउन महत्वपूर्ण भूमिका निभाएकी थिइन् । साँझ ६ बजेर ३० मिनेट जाँदा सुरु भएको उक्त फुटबल तीन घण्टाभन्दा बढी चलेको थियो । खेल समाप्त हुँदा रातिको झन्डै १० बजिसक्दा पनि पनि दर्शकहरु प्यारापिटको सिटबाट नउठेर नेपाली टिमको जितमा खुसियाली मनाइरहेका थिए ।  


भूटानसँगको त्यो बराबरी 


सातौँ साफ महिला च्याम्पियनमा नेपालको पहिलो खेलनै बिग्रेको थियो । विगतमा पराजीत गर्दै आएको भुटानलाई कुनै गोल गर्न नसकी पराजीत गर्न नसकेकामा नेपाली टिमले आलोचना पनि ब्यहोर्नुपरेको थियो । नेपाललाई भूटानी टिम भारी साबित हुन पुगी लिग खेल गोलरहित अवस्थामै टुङ्गिएको थियो । सो खेलमा नेपाली खेलाडीहरुले टिममा खेल नखेली व्यक्तिगत खेलेकाले गोलरहित खेल ब्यहोर्नुपरेको स्वयम् नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले पत्रकारहरुलाई बताएका थिए । 


विगतको तुलनामा भूटानले खेलमा सुधार गर्दै गएको कुरामा कुनै शङ्का छैन तापनि नेपाल र भूटानबीचको खेलमा नेपाली खेलाडीहरु वास्तवमै स्वार्थी भएको देखिएको थियो । प्रशिक्षक तामाङ खेलाडीहरु स्वयम्ले गोल बन्ने गरेर नायक बन्ने होडमा लागेको  स्पष्ट पारेका थिए । 

गोलको वर्षा 

सातौँ महिला साफ च्याम्पियनसीपको लिग चरणमा नेपालले माल्दिभ्स विरुद्धको खेलमा गोलको वर्षा नै गरेको थियो । नेपालले माल्दिभ्सलाई शून्यका विरुद्ध ११ गोलले पराजित गरेको थियो । रेखा पौडेलले पाँच गोल, प्रिती राईले तीन गोल तथा सविता रानामगर, अमिशा कार्की र अनिता केसीले एक/एक गोल गरेका थिए । खेलाडी रेखा पौडेल युएईमा व्यावसायिक फुटबल खेलिरहेको अवस्थामा राष्ट्रिय टिमबाट आबद्ध हुन स्वदेश फर्की टिममा सामेल भएकी थिइन् । 


यसअघिका महिला साफ च्याम्पियनसिपका प्रतियोगिताहरुमा पनि नेपालले माल्दिभ्स, पाकिस्तान जस्ता देशलाई अत्यधिक गोल गरेको थियो । नेपालले लिग चरणमै श्रीलङ्कालाई शून्यका विरुद्ध छ गोलले हराएको थियो । यस खेलमा रेखा पौडेलले दुई गोल गरेकी थिइन् भने सविता रानामगर, सावित्रा भण्डारी, अमिशा कार्की र रश्मीकुमारी घिसिङले एक/एक गोल गरी नेपालीलाई लिगको समूह विजेताका रुपमा सेमी फाइनलमा प्रवेश गराउन योगदान गरेका थिए । 

भोकै तयारी 

यो प्रतियोगिताको सिलसिलामा आफू एक हप्ता रोएरै तनावमा बसेको नेपाली टिमकी अग्रपङ्क्तिकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ ले बताएकी छिन् । भूटान विरुद्धको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि टिमकी स्कोकर सावित्राको अनुपस्थितिलाई पनि कारण मानिएको थियो । उनी फ्रान्समा स्थानीय क्लबका तर्फबाट फ्रान्सेली लिग खेल्न गएकी थिइन् । उनले त्यहाँ पनि गोल गरेकी थिइन् । उनी फ्रान्सदेखि नेपालमा साफ च्याम्पियनसिप खेल्न आएकी थिइन् । माल्दिभ्स विरुद्धको खेलको अघिल्लो राति मात्र उनी काठमाडौँ आइपुगेको अवस्थामा पनि उनलाई प्रशिक्षकले तयारी अवस्थामा राखेका थिए । दक्षिण एसियाकै उच्चकोटीकी स्कोरर मानिएकी साम्बाले सन् २०१६ को साफ च्याम्पियनसिपमा कूल १२ गोल गरेर प्रतियोगिताकै धेरै खेलाडी बन्न सफल भएकी थिइन् । 


फ्रान्सबाट स्वदेश फर्कने क्रममा विमानमा खानेकुरा नखाएर जुस मात्र पिएर आएको अवस्थामा पनि प्रशिक्षक तामाङले साम्बालाई खेलको उत्तराद्र्ध अवस्थामा मैदानमा उतार्ने लक्ष्यले बेन्चमा राखेका थिए । तर नेपालका तर्फबाट माल्दिभ्सविरुद्ध मध्यान्तरअघि नै चार गोल भइसकेपछि उनलाई मैदानमा उतार्ने अवस्था आएन । भारत विरुद्धको महत्वपूर्ण खेलमा ‘प्लेयर अफ द म्याच’को उपाधि सावित्रा भण्डारीले पाएकी थिइन् । उनले दर्शकहरुको अपार मायाका कारण नै नेपाली महिला फुटबल टिमले सफलता प्राप्त गरेको धारणा व्यक्त गरेकी छिन् । 


अब बुधबार बङ्गलादेश विरुद्धको फाइनलमा सावित्रासहितका नेपाली महिला फुटबल टिमसँग आबद्ध खेलाडीहरुले साफ च्याम्पियनसिप उपाधि पहिलोपटक मुलुकलाई दिलाउन अझ उत्कृष्ट योगदान दिने अपेक्षा नेपाली फुटबलप्रेमीहरुले गरेका छन् । गत छैटौँ महिला साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशसँग एक गोलका विरुद्ध तीन गोलले पराजय भोग्नु परेको पीडा नेपाली महिला खेलाडीहरुले भुलेका छैनन् ।


(लेखक खेल पत्रकार हुनुहुन्छ)

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् ।

उनले पार्टीका केन्द्रीय सदस्य डा गोपाल दहित प्रमुख रहेको विभागमा विधानको व्यवस्थाबमोजिम सोमबार सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विभागमा रामनारायण कठरिया महतो, रामदत्त जोशी (लेकुडा), हेमलाल पाण्डे, दीपकराज तिमिल्सिना, ठाकुरप्रसाद भुसाल, श्यामकुमार बुढा, उपेन्द्रराज सिग्देल, श्रवणराज मैनाली, सीतादेवी सापकोटा (फुयाल) र प्रह्लादकुमार कामतलाई मनोनीत गरिएको हो ।

चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने जापानी प्रधानमन्त्रीको भनाइ

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याएपनि सरकारको नेतृत्वमा रहिरहने प्रतिबद्धता जनाएका छन् ।

इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेको केही दिनपछि अक्टुबर २७ का लागि निर्वाचनको घोषणा गरेका थिए ।

सन् १९५५ देखि जापानमा शासन गरिरहेको उनको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का चुनाबमा निकै कमजोर नतिजा देखिएको छ ।

एलडिपी नेतृत्वको गठबन्धनले बहुमत गुमाउने अनुमान गरिएसँगै इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाएका हुन् ।

“म जापान र जापानी जनताको रक्षा गर्दै आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु,” इशिबाले पत्रकारसँग भने ।

सबैभन्दा ठूलो चुनावी कारक पार्टीका जिम्मेवार नेताको नै आर्थिक अनियमिततासँग जोडिएका मुद्दामा सम्लग्नता देखिनु र यसबाट जनतामा एलडिपीप्रति ‘शङ्का, अविश्वास र क्रोध’ सिर्जना हुनु नै रहेको बताइएको छ ।

“म पैसा र राजनीतिको विषयमा आधारभूत सुधार गर्नेछु,” इशिबाले पत्रकारहरूसँग भने, “मतदाताहरूले पार्टीमाथि ‘कठोर निर्णय’ दिएका छन्।

राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

चितवन । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन् ।

नेपाली कांग्रेस चितवनले सोमबार भरतपुरमा आयोजना गरेको दिपावली विशेष कार्यक्रममा सिंहले राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताए । सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समिकरण बनेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री सिंहले भने, ‘विधिको शासन कायम गर्नेतर्फ हाम्रो प्रयास रहन्छ ।’

फरक प्रसङगमा उनले कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौँ । पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो’, उपप्रधानमन्त्री सिंहले भने ।

नेपाली कांग्रेसको नेतृत्वबाट जारी सङ्घीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्मअनुसार त्यसलाई अक्षरशः पालना गरेर त्यसको आधारमा राजनीतिक स्थायित्व कामय गर्दै विकासलाई सँगै लैजानुपर्ने उनले उल्लेख गरे ।

शुक्लाफाँटामा घरपायक चिकित्सकीय सेवा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-४ असैनास्थित पिपलाडी स्वास्थ्य चौकीमा चिकित्सकको व्यवस्था गरिएपछि स्वास्थ्य परीक्षण गराउनेको सङख्या बढेको छ ।

स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टका अनुसार आव ०८०/८१ को असार मसान्तसम्म १० हजार नौ सय ७० बिरामीले सेवा लिएका छन् । तीमध्ये महिला सात हजार चार सय ९१ र पुरुष तीन हजार चार सय ७९ रहेका छन् ।

उपचारका लागि स्वास्थ्य चौकी पुग्ने ज्येष्ठ नागरिकको सङ्ख्या मात्रै एक हजार छ सय सात रहेको छ । सुरक्षित रूपमा प्रसूति गराउनेको सङ्ख्या एक सय ३८ रहेको छ । गर्भपतन सेवा एक सय १० जना, औलो परीक्षण दुई सय १८ ले लिएका छन् ।

चालु आवको साउनदेखि असोज महिनासम्मको अवधिमा स्वास्थ्य चौकीबाट तीन हजार पाँच सय ३१ बिरामीले सेवा लिएका छन् । “चिकित्सक नहुँदा विगतमा वर्षमा दुई हजारको हाराहारीमा बिरामी आउने गरेका थिए”, स्वास्थ्य चौकी प्रमुख भट्टले भने, चिकित्सको व्यवस्थाले बिरामीको सङ्ख्या बढेको छ ।”

घरदैलोमै चिकित्सकीय सेवा पाएपछि स्थानीय बासिन्दालाई टाढाको महेन्द्रनगर, धनगढी र निकटवर्ती भारतीय सहरमा उपचारका लागि पुग्नुपर्ने झन्झट हटेर गएको शुक्लाफाँटा-४ वडाध्यक्ष कमल ठकुल्लाले बताए । स्वास्थ्य चौकीमा नगरपालिकाको आन्तरिक स्रोतबाट तलब व्यहार्ने गरी चिकित्सको व्यवस्था गरिएको उनले उल्लेख गरे ।

भाइरल ज्वरो भएर स्वास्थ्य चौकी पुगेका कलावती चौधरीले चिकित्सको सल्लाहमा औषधि सेवन गर्दा ज्वरो ठिक भएको बताए ।

“पहिला चिकित्सक नहुँदा निजी मेडिकलमा पुगेर उपचार गराउनुपर्ने अवस्था थियो”, उनले भने, “चिकित्सकको व्यवस्थाले टाढा जानुपरेको छैन, पैसाको पनि बचत भएको छ”, स्वास्थ्य चौकीमा चार वर्षदेखि निरन्तर रूपमा चिकित्सकीय परामर्श सेवा उपलब्ध हुँदै आएको छ ।

“औषधिको सेवन गरी ठिक हुने बिरामीलाई चिकित्सकले स्वास्थ्य चौकीमा उपलब्ध निःशुल्क रूपमा उपलब्ध हुने औषधिका सिफारिस गर्दै आएका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी रमेशराज भण्डारीले बताए ।

स्वास्थ्य चौकीमा उपलब्ध नहुने औषधिका लागि बाह्य क्षेत्रबाट खरिदका लागि चिकित्सकले परामर्श दिने गरेको उनको भनाइ रहेको छ । जटिल प्रकृतिका शल्यक्रिया गर्नुपर्ने बिरामीलाई मात्रै बाह्य क्षेत्रमा उपचारका लागि रिफर गरिन्छ । स्वास्थ्य चौकीमा इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवा उपलब्ध छ ।

योसँगै चौबिस घण्टे प्रसूति सेवा, सुरक्षित गर्भपतन सेवा, खोप सेवा, पोषण सेवा, सुरक्षित मातृत्व सेवा, एन्टी रेबिज भ्याक्सिन सेवा, चिकित्सकीय सेवा, ग्रामीण अल्ट्रासाउण्ड सेवा, एम्बुलेन्स सेवा, क्षयरोग, कुष्ठरोगलगायतका महामारी नियन्त्रण तथा रोकथाम सेवा र दैनिक बिरामी जाँच सेवा उपलब्ध रहेको छ ।

संखुवासभामा अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

किमाथाङ्का (सङ्खुवासभा)  । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो)  ९० हजार पुगेको छ ।

झण्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो । अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले हाल अलैँचीको मूल्य प्रतिमन रु ९० हजार रहेको जानकारी दिए ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो । उत्पादन कम माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए ।

गत वर्ष रु ६०/६५ हजार कारोबार भएको थियो । अलैँची उत्पादनमा गिरावट भएका कारण पनि मूल्य वृद्धि भएको व्यवसायी श्रेष्ठले बताए । ग्रेडिङ राम्रो भएको अलैँची रु ९० हजार र ग्रेडिङ नभएको नर्मल अलैँची रु ८७ हजार कारोबार भइरहेको व्यवसायीको भनाइ छ ।

पछिल्लो समय भारत, पाकिस्तानलगायतको देशमा अलैँची निर्यात हुन थालेपछि मूल्यसमेत बढेको छ । जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सिजनको सुरुआतदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।

मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चिनले अध्ययन सुरु गरेको व्यवसायी बताउँछन् । अन्ठान्नब्बे प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ । अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् ।

सङ्खुवासभामा दुई हजार आठसय ७१ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो ।

अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पादन घट्नुका साथै बोटसमेत डढ्ने गरेको कृषकको गुनासो छ । यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ ।

पार्टीको तानाशाही शैलीविरुद्ध उत्रिन भीम रावलको आह्वान

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टीकरण सोधिएकोप्रति रावलले सोमबार सामाजिक संजालमार्फत असन्तुष्टि जनाएका हुन् ।

रावलले पार्टीको तानाशाही शैलीविरुद्ध न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूलाई विरोध र प्रतिवादमा उत्रन समेत आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘एमालेको जबज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नगरी पदको दुरूपयोग गर्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टिकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ट व्यक्तिहरूले विरोध र प्रतिवाद गरौं!’

दाङमा बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवानले गरे आत्महत्या

दाङ । दाङमा बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर प्रहरीको हिरासतमै मृत फेला परेका छन् ।

नाबालिका बलात्कार आरोपमा वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा रहेका प्रहरी जवान पचभैया सोमबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, डीएसपी ईश्वर थापाले जानकारी दिएका छन् । उनी वडा प्रहरी कार्यालयको हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

उनले आत्महत्या गरेको अनुमान गरिएको छ । दसैँ बेला पिङ खेल्न गएकी नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि प्रहरी जवान पचभैया केही दिनअघि पक्राउ परेका थिए ।

प्राधिकरणले उद्योगको लाइन काटेपछि सरकारका जिम्मेवार व्यक्ति र उद्योगीहरुको प्रतिक्रियाले आश्चर्यचकित तुल्याएको छ

वर्षमान पुन ।

अधिकांश सार्वजनिक संस्थान धारासायी अवस्थामा रहेका बेला नेपाल विद्युत प्राधिकरणलाई हामीले मुलुककै शान र गर्व गर्न लायक संस्था बनाएका छौं । यो मन नपराउने तत्वहरुले पटकपटक प्राधिकरणलाई कमजोर र धारासायी बनाउने असफल प्रयास गर्दै आएका छन् । योपटक पनि त्यही प्रयासको नयाँ संस्करणका रुपमा घटनाक्रमहरु सतहमा आएका छन् । पूर्वऊर्जामन्त्री÷अर्थमन्त्री, प्रमुख प्रतिपक्षी दलको जिम्मेवार सदस्य र जनप्रतिनिधिका हैसियतले जनचासोको यति गम्भीर र अहम् सवालमा मौन बस्नु उचित नहुने ठानेर आफ्ना धारणा सार्वजनिक गरेको छु । डेडिकेटेड र ट्रंक लाइनको विद्युत सुविधा लिएका उद्योगीहरुले बाँकी महसुल नतिरेका कारण नेपाल विद्युत प्राधिकरणले लाइन काटेपछि सरकारका जिम्मेवार व्यक्ति र उद्योगीहरुको प्रतिक्रियाले मलाई आश्चर्यचकित तुल्याएको छ ।

बक्यौता महसुल तिर्ने कि नतिर्ने भन्ने विवाद नै व्यर्थ र अनुचित छ । विवादबारे बुझ्न त्यसको सुरुवात कसरी भएको थियो भन्ने पृष्ठभूमिमा जान जरुरी छ । त्यसबारे केही चर्चा गरौं । डेडिकेटेड र ट्रंक लाइनको सुविधा प्रयोग गरिएको अवधिलाई तीन चरण मानिएको छ । पहिलो महसुल निर्धारणका लागि अधिकारप्राप्त निकाय (तत्कालीन महसुल निर्धारण आयोग) बाट स्वीकृत नगराई नेपाल विद्युत प्राधिकरणले लागू गरेको प्रिमियम अवधि (०७२ असारदेखि ०७२ पुससम्म), दोश्रो ०७२ माघमा अधिकार प्राप्त निकायले महसुल निर्धारण गरेपछि ०७५ वैशाखसम्म (लोडसेडिङ अन्त्य हुनुअघिको अवधि) र, तेश्रो लोडसेडिङ अन्त्य (०७५ वैशाख पछि ०७७) सम्मको अवधिको विवाद हो । म आफैं ऊर्जामन्त्री (सञ्चालक समिति अध्यक्ष) भएका बेला ०७५ सालमा डेडिकेटेड र ट्रंक लाइन विवाद अध्ययन गर्न समिति बनाएको थिएँ । समितिले विवादित भनिएको अवधिमा विद्युत सेवा उपयोग गरेर पनि बिलिङ नभएका ग्राहकहरुको टाइमस् अफ डे (टीओडी) मिटरसमेत अध्ययन गरी बिलिङ गरेको थियो । उसले प्राधिकरणले गरेको बिलिङ सही रहेको ठहर गरेको स्मरणीय नै छ ।

सञ्चालक समितिले गठन गरेको समितिबाट डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुलको बिलिङ नभएको फेला पारेपछि बिल जारी गरिएको थियो । महसुल तिर्न उद्योगहरुले अस्वीकार गरेपछि प्राधिकरणले लाइन काटन् थाल्यो । त्यसपछि तत्कालीन ऊर्जामन्त्री (म स्वयं), अर्थमन्त्री डा.युवराज खतिवडा र उद्योगमन्त्री लेखराज भट्टसँगको समन्वयमा हालका सम्माननीय प्रधानमन्त्रीज्यू प्रधानमन्त्री भएकै बेला मन्त्रिपरिषदले विवाद समाधानको उपाय सुझाउन तत्कालीन ऊर्जा सचिव दिनेश घिमिरेको संयोजकत्वमा,अर्थसचिव राजन खनाल,उद्योग सचिव यमकुमारी खतिवडा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मिलित समिति गठन गरेको थियो ।

उक्त समितिले पनि विवाद नरहेको अवधिको महसुल तिर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रिपरिषद्ले पारित गरी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई पठाएको स्मरण गराउन चाहन्छु । तत्कालीन विद्युत महसुल निर्धारण आयोगले २०७३ असारमा २० घण्टाभन्दा बढी विद्युत उपभोग गर्ने ग्राहकलाई डेडिकेटेड सरह बिलिङ गर्न प्राधिकरणलाई निर्देशन दिएको पृष्ठभूमिलाई समेत बिर्सन मिल्दैन ।

अर्को स्मरणीय कुरा के छ भने अधिकांश उद्योगीहरु महसुल नतिर्न अदालत गएका थिए । पाटन उच्च अदालत, बुटवल उच्च अदालत र सर्वोच्च अदालतले समेत केहीलाई बाहेक प्राधिकरणले तोके बमोजिम महसुल तिर्न आदेश दिइसकेको विषयलाई किन ओझेलमा पार्न खोजिएको छ ? प्रधानमन्त्री र विभागीयमन्त्री स्वयंले सम्मानित अदालको आदेश कार्यान्वयन पर्नुपर्नेमा उल्टै प्राधिकरण र त्यसको नेतृत्वमाथि अनुचित दबाब दिने, आरोपित गर्ने र पदच्युतसम्मको तयारी गर्ने कुरा आपत्तिजनक छ । आयोगले महसुल निर्धारण नगर्दासम्मको अवधिको हकमा सम्मानित सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहेकाले अदालतको फैसला बमोजिम हुनेछ । बाँकी ०७२ माघ यताको अवधि विवादको अवधि होइन, त्यो अवधिको महसुल विद्युत प्रयोगकर्ताले तिर्नैपर्छ । जम्मा ४९ वटा उद्योगले जरिवानासहित ८ अर्ब ७ करोड तिर्नुपर्नेमा ७ वटाले अन्तरिम आदेश लिएका छन् । दुईवटा सरकारी उद्योग (हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट) छन् । बाँकी ४० मध्ये ६ वटाले किस्ताबन्दीमा महसुल तिर्दै आएका छन् । हाल लाइन काटिएका ३४ उद्योग हुन् । जसमध्ये पनि लाइन काटेपछि पाँच उद्योगले बक्यौता तिरेको जानकारीमा आएको छ । अब तिर्न बाँकी २९ उद्योग हुन् ।

अर्को विषय पनि स्पष्ट हुन जरुरी के छ भने डेडिकेटेड र ट्रंक लाइनको विद्युत उपयोग गर्ने उद्योगहरुको संख्या हाल अर्घेल्याईं गरिरहेकाहरुभन्दा धेरै ठूलो छ । मेरो जानकारीमा भएसम्म २ सय ३० औद्योगिक ग्राहकले डेडिकेटेड र ६७ वटाले ट्रंक लाइन सुविधा प्रयोग गरेका थिए । जसमध्ये १ सय ८४ वटामाथि थप ६० प्रतिशत प्रिमियम महसुल लगाइएको थियो । म सरकारलाई र महसुल नतिर्ने अडानमा रहेका उद्योगीहरुलाई प्रश्न गर्न चाहन्छु कि डेडिकेटेड र ट्रंक लाइनबापतको महसुल तिरिसकेका १ सय ५५ वटा उद्योगबारे तपाईंहरुको धारणा के छ ? के उनीहरुले तिरेको महसुल सरकारले फिर्ता गर्ने हो ? यदि २९ वटा उद्योगलाई छुट दिने हो र यसअघि महसुल तिरेका सबैको पैसा फिर्ता हुनुपर्छ भन्ने आवाज उठ्यो भने त्यसबारे सरकारले के गर्छ ?

पूर्वऊर्जामन्त्री/अर्थमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभा सदस्यका हैसियतले उद्योगीहरुलाई मेरो आग्रह के छ भने बिना अर्घेल्याईं तोकिएको महसुल तिर्नुस् । एकैपटक सक्नुहुन्न भने नियमानुसार किस्ताबन्दीको सुविधा प्रयोग गर्नुस् । सर्वसाधारणले १८ घण्टासम्म लोडसेडिङ खेपेका बेला उद्योगमा २४सै घण्टा डेडिकेटेड र ट्रंक लाइनको नाममा ३ सय १५ मेगावाट विद्युत उपयोग गरेको कुरा उद्योगीहरु वा अहिले सरकारमा बसेकाहरुले कदापी बिर्सन मिल्दैन । प्राधिकरणको विनियमावलीले अतिरिक्त समयमा विद्युत प्रयोग गर्नेले महसुल नतिरे चोरीमा कारबाही गर्नेसम्मको व्यवस्था गरेको छ । त्यो व्यस्था महसुल तिर्न अटेरी गर्ने उद्योगहरुका लागि आकर्षित हुन सक्छ । १८ घण्टा लोडसेडिङको पीडा खेपेका जनता तपाईंहरुका विरुद्ध उत्रिए भने त्यसको परिणाम के हुन्छ भन्ने सोच्नुभएको छ ?

निजी क्षेत्रमाथि सरकारले अनावश्यक हस्तक्षेप गर्दा र निजी क्षेत्रको मनोबल गिराउने गतिविधि भएका बेला त्यसको प्रतिवाद गर्दै आएको छु । मुलुकको आर्थिक विकासका लागि राज्य र निजी क्षेत्रबीच हातेमालो हुनैपर्छ । तर, निजी क्षेत्र भनेको विद्युत महसुल तिर्दिन भन्ने सानो समूह मात्र हो भन्ने भ्रममा पर्न र पार्न खोजिनु हुँदैन । नेपालको जलविद्युत क्षेत्रमा राज्यको भन्दा ठूलो लगानी निजी क्षेत्रले गरेको छ । सामान्य आम्दानी गर्ने मजदुर÷किसान र सर्वसाधारणले खाई नखाई जलविद्युतमा सेयर लगानी गरेका छन् । हो त्यही विद्युतको महसुल नतिर्नेहरुको संरक्षण गर्दा खर्बौं ऋण लिएर लगानी गरेको निजी क्षेत्र र गाँस काटेर सय÷सय रुपैयाँ लगानी गरेका गरिब जनताको लगानी डुबाउन खोज्नेहरुलाई जनताले किमार्थ छुट दिने छैनन् ।

जग्गा विवादले सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन परियोजना प्रभावित

झापा । नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रीनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ । निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन स्थानीय व्यक्तिहरुबाट विसं २०७४ मा मेचीनगर नगरपालिकाको वडा नं. १३ मा २३ बिघा तीन कठ्ठा १३ धुर जग्गा खरिद गरेको थियो ।

निगमले छ वर्षअघि खरिद गरेको जग्गा गतवर्ष नाप जाँच गर्दा दुई बिघा अपुग भएको थियो । खरिद गरेको क्षेत्रफल पुर्‍याउनका लागि निगमले नापी र प्रशासनको सहयोग लिएर छत्रबहादुर र उनको परिवारले भोगचलन गरिरहेको दुई बिगाहामा घेराबेरा गरेपछि जग्गा विवाद सुरु भएको हो ।

दुई बिघा जग्गा थप नगरी आफ्नो क्षेत्रफल नपुग्ने निगमको भनाइ छ भने बिक्री गरेको श्रेस्ता बाहिर गएर निगमले घेराबेरा गरेपछि आफ्नो जग्गा गुमेको कार्की परिवारको गुनासो छ ।

निगमले पाँच बिघा १५ कठ्ठा जग्गा स्थानीय छत्रबहादुर कार्की र उहाँको परिवारका सदस्यहरुबाट खरिद गरेको थियो । कार्की परिवारले आफूले नबेचेको जग्गा पाँच वर्षपछि कब्जा गरेको भनेर निगम विरुद्ध झापा जिल्ला अदालतमा विसं २०८० फागुन २० गते मुद्दा दर्ता गरेको थियो ।

मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै गत चैत ६ गते जिल्ला न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले विवादमा परेको कित्ता नं. १४० र १२६६ को जग्गामा कुनै संरचना नबनाउनु भनेर निषेधाज्ञा आदेश जारी गरिसकेको छ ।

अदालतले निषेधाज्ञा जारी गरेका कारण निगमले त्यसपछि परियोजनाका काम अघि बढाएको छैन । परियोजनाअघि बढाउन खटिएका निगमका सञ्चालक समितिका सदस्यहरु र कर्मचारी मुद्दा तथा जग्गा नापजाँचको प्रक्रियामा व्यस्त छन् ।

नेपाल आयल निगमका सञ्चालक समिति सदस्य वीरेन्द्रबहादुर चन्दले राष्ट्रिय गौरवको आयोजना भएकाले परियोजनामा कुनै पक्षबाट पनि बाधा पुर्‍याउन नहुने धारणा राख्छन् । ‘जग्गाको विवाद दुई बिघामा मात्र हो, त्यस बाहेकका जग्गामा आवश्यक संरचना बनाउन र परियोजनाको काम अघि बढाउन बाधा हुनु हुँदैन’, उनले भने ।

निगमका सहायक प्रबन्धक कपिलदेव भट्टले परियोजनास्थलमा सुरक्षा गार्ड बस्ने सानो संरचना मात्र बनाइएको र परियोजनाको प्रमुख चयन गर्न बाँकी रहेको जानकारी दिए । हाल निगमले परियोजनाका लागि चार जना सुरक्षा गार्ड र एक जना ओभरसियरलाई ज्यालादारीमा काम लगाएको छ ।

उनले सम्झौता बमोजिम इन्डियन आयल कर्पोरेसनले भारतको सिलिगुडीदेखि नेपालको चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र चारआलीमा १९ हजार पाँच सय किलोलिटर भण्डारण क्षमताको ‘स्मार्ट भर्टिकल ट्याङ्की’ र अत्याधुनिक ग्रीन टर्मिनल निर्माण गर्ने बताए ।

‘पाइपलाइन, ट्याङ्की र टर्मिनलको सम्पूर्ण लागत भारतीय पक्षले नै व्यहोर्ने छ’, सहायक प्रबन्धक भट्टले भने, ‘नेपाली पक्षले काँकरभिट्टादेखि चारआलीसम्मको पाइपलाइन स्थल र चारआलीस्थित भण्डारण स्थलको जग्गा व्यस्थापन र समन्वय गर्नुपर्ने छ ।’ ग्रीनफिल्ड टर्मिनलमा उच्चस्तरीय ल्याबसहितको अग्निसमन उपकरण जडित स्वचालित प्रणाली हुने र यसको निर्माण आगामी चार वर्ष छ महिनामा पूरा गरिने लक्ष्य रहेको उनले जानकारी दिए ।

परियोजनास्थल रहेको मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले हाल अदालतमा विचाराधीन रहेको जग्गा विवादको समाधान भएपछि राष्ट्रिय गौरवको परियोजनाको निर्माण द्रूत गतिमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

‘निगमले किनेको दुई बिघा जग्गा हराएको देखिन्छ, कहाँ छ भनेर नापजाँच भइरहेको छ’, वडाध्यक्ष सिग्देलले भने, ‘अदालतबाटै नापजाँचको आदेश भएकाले जग्गा विवादको समाधान पनि अदालतबाटै आउने छ ।’

अदालतमा मुद्दा दायर गर्ने मेचीनगर–१३ निवासी छत्रबहादुर कार्कीले आफूले निगमलाई बिक्री गरेको जग्गा कुनै हालतमा अपुग नरहेको जिकीर गर्दै यदि कूल क्षेत्रफलमा अपुग रहेको भए निगमलाई जग्गा बिक्री गर्ने अरु १० जना बिक्रेताको जग्गाको कित्ता नापजाँच हुनुपर्ने माग गरे ।

‘निगमको नपुगे नपुगोस् भन्ने हाम्रो भनाइ कदापी होइन’, उनले भने, ‘अरु १० जनाले पनि निगमलाई जग्गा बेचेका थिए । अरुले हडपेको भए त्यसको जिम्मा मैले लिन सक्दिन । तर, निगमले मैले बेच्दै नबेचेको कित्ताबाट जबरजस्ती जग्गा अतिक्रमण गरेर घेराबेरा गरेपछि आपत्ति जनाउँदै अदालतको ढोकामा पुगेको हुँ ।’

बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट निवेदन खारेज गर्ने फैसला सुनाएको छ ।

न्यायाधीश डा कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले आइतबार रिट निवेदन खारेजीको फैसला गरेको हो । अदालतले उक्त रिट निवेदन खारेज गरेसँगै सो आयोजना अघि बढाउने बाटो खुलेको छ ।

सो आयोजनाविरुद्ध विसं २०७८ असारमा सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । अदालतले रिट निवेदन खारेज गर्दै केही विषयमा निर्देशनात्मक आदेश गरेको छ । फैसलाको लिखित पाठ आउन बाँकी छ ।

पेनाल्टी शुटआउटमा भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

काठमाडौँ  । नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ । आइतबार राति सम्पन्न खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।  

मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको छ । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको हो ।

नेपाल अहिले १० खेलाडीमा सीमित बन्यो । रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए । दोस्रो हाफमा भारतकी सङ्गीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता लिइन् । भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले लगत्तै गोल गरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । तनावका कारण खेल लामो समयसम्म खेल रोकिएको थियो ।

खेल पुनः सुरु भए लगत्तै नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा पुर्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा नेपालले चार तथा भारतले दुईवटा मात्र गोल गर्न सक्यो । नेपालले अब फाइनल खेल बङ्गलादेशसँग खेल्ने छ । दशरथ रङ्गशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको हो । 

अदालतको अवहेलना गर्ने मनसाय थिएनः बार अध्यक्ष घिमिरे

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै आफ्नो अभिव्यक्तिबाट अदालतको अवहेलना गर्ने मनसाय नभएको बताएका छन् ।


न्यायाधीशद्वय कुमार रेग्मी र डा कुमार चुडालको संयुक्त इजलासल यही कात्तिक १ गते अध्यक्ष घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सूचना पाएको मितिले सात दिनभित्र आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।


नेपाल बार एसोसिएसनका अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी गोविन्दप्रसाद घिमिरले अदालतको अवहेलनासम्बन्धी प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथिको सुनुवाइपछि अदालतले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको थियो ।


‘बारका अध्यक्षले अदालतको जनआस्था अभिवृद्धिमा र स्वतन्त्र न्यायपालिकाको रक्षार्थ रक्षाकवचकै रूपमा अग्रपङ्क्तिमा रही सदा कार्य गर्दै आएको अवस्थामा अदालतको अवहेलना गर्ने कार्य गरेको भन्ने परिकल्पनासम्म पनि गर्न सकिदैँन’, लिखित जवाफमा भनिएको छ, ‘न्याय परिषद्बाट हुने निर्णयले संविधानको भावना र आत्मा नमरोस् र न्यायिक जवाफदेहिताको सिद्धान्तलाई शिरोपर गरोस् भन्ने मेरो अभिप्राय हो, मेरो अभिव्यक्तिलाई गलत अर्थ नलगाइयोस् भन्ने मेरो आग्रह छ ।’


नेपाल बार एसोसिएसन हरहमेशा न्यायपालिकाको रक्षाकवच बनेर आफ्नो भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै बार–बेन्च एकै रथका दुई पाङ्ग्रा भएको र एकले अर्काको अहित चिताई काम गर्छन् भन्ने कल्पना गर्न नसकिने लिखित जवाफमा उल्लेख छ ।


लिखित जवाफमा भनिएको छ, ‘न्यायाधीश नियुक्ति स्वच्छ, निष्पक्ष र पारदर्शी हुनुपर्छ, यसले अदालतप्रति सारा नेपालीको जनआस्था अभिवृद्धि गर्नमा सहयोगी हुनुपर्दछ भन्ने मेरो सदाशयता रहेको छ ।’


बारको जायज सरोकारको बेवास्ता गर्दै सर्वोच्च अदालतमा रिक्त ६ न्यायाधीशमध्ये दुई  न्यायाधीश मात्र नियुक्ति सिफारिस गरेको विषयमा व्यापक जनसरोकार रहेकामा काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनको एक कार्यक्रममा बारको अध्यक्षको हैसियतले प्रमुख अतिथिका रूपमा राखेको धारणा र व्यक्त गरेको अभिव्यक्तिमा लेनदेन तथा हिसाबकिताब मिलाउन भनिएको विषय न्यायाधीश नियुक्तिमा विगत देखिका विभिन्न खालका प्रभावको हिसाब किताब र लेनदेनको सन्दर्भमा रहेको जनसरोकारको विषय उल्लेख गर्न खोजेको स्पष्ट पार्न चाहेको समेत उल्लेख छ ।

खोकना क्षेत्रको समस्या समाधान भए काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम समयसीमाभित्रै सम्पन्न हुने

अञ्जली थापा, हेटौँडा । काठमाडौँ–तराई मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरसँग सीमा क्षेत्र जोडिएको ललितपुरको प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना–बुङ्मतीमा समस्या समाधान भए थप गरिएको समयसीमाभित्र नै द्रुतमार्गको काम सम्पन्न हुने नेपाली सेनाले जनाएको छ । प्रवक्ता सहायक रथी एवं सूचना अधिकारी गौरवकुमार केसीले विविध कारणले समस्या भएर समयसीमासभित्र सम्पन्न हुन नसकेको उक्त आयोजना अब भने थप समयमै सक्नेगरी काम भइरहेको बताए ।

उनले हाल ११ नं प्याकेज नै मुख्य चुनौती र समस्याका रुपमा रहेको बताए । ‘हामीलाई काम अगाडि बढाउन खोकनाले समस्या भएको छ, समस्या समाधान नभएकाले ठेक्का र खरिद प्रक्रियामा जान सकिएको छैन’, प्रवक्ता केसीले भने,’हुन त समस्या समाधानका लागि मन्त्रीज्यूकै संयोजकत्वमा समिति बनेको छ, यद्यपि स्थानीयदेखि सबैले यसमा सहयोग गरेर हामीलाई काम गर्नसक्ने वातावरण बनाइदिन जरुरी रहेको छ ।’

उनले रूख कटान र जग्गा अधिकरणसँग सम्बन्धित समस्या समाधान हुँदै गएको, प्रतिशतको आधारमा भौतिक र वित्तीय प्रगति थोरै देखिए पनि कामको स्थलगत प्रगति भने बढी रहेको बताए । प्रवक्ता केसीले हालसम्म ३६ दशमलव ४२ प्रतिशत काम पूरा भएको र भुक्तानी समस्या समाधान तथा अन्य व्यवस्थापकीय काम भएमा एक वर्षभित्र सबै कार्यसम्पन्न गर्न सकिने बताए ।

उनका अनुसार प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना–बुङ्मतीमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका साथै द्रुतमार्गको सुरु विन्दु र सवारी आवागमन व्यवस्थापनको निर्णय बाँकी रहेकाले खरिद प्रक्रियासमेत हुनसकेको छैन ।

यद्यपि काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति भने ३८ दशमलब ५५ प्रतिशत रहेको जनाइएको छ । आयोजनाको समष्टिगत कार्ययोजनाअन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ ।

दश दशमलव तीन सय नौ किलोमिटरको ६ वटा सुरुङमार्ग 

आयोजनाअन्तर्गत छ वटा सुरुङमार्गको कुल लम्बाइ १० दशमलव ३०९ किलोमिटर रहेको छ । नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरुङमार्गको प्याकेज नं १ अन्तर्गत महादेवटार सुरुङको दायाँ टनेलतर्फ तीन हजार ३५५ मिटर लम्बाइमध्ये दुई हजार २९ मिटर अर्थात् ६१ प्रतिशत खन्ने काम सम्पन्न भएको छ ।

बायाँ टनेलतर्फ तीन हजार ३८६ मिटरमध्ये दुई हजार २८८ मिटर अर्थात् ६८ प्रतिशत खन्ने काम सकिएको नेपाली सेनाले जनाएको छ ।

यसैगरी, प्याकेज नं २ अन्तर्गत धोद्रे सुरुङमार्गको बायाँ टनेलको एक हजार छ सय ९१ मिटर लम्बाइमध्ये एक हजार छ सय ४२ अर्थात् ९५ प्रतिशत र निजगढबाट काठमाडौँतर्फ जाने दायाँ टनेलको एक हजार छ सय ५३ मिटर लामो सुरुङ ११ जेठमा छिचोलिएको थियो ।

प्याकेज नं ३ अन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेका लामो जोडी सुरुङमध्ये निजगढबाट काठमाडौँतर्फ रहेको एक हजार छ सय १२ मिटर लामो सुरुङ असारमा र काठमाडौँबाट निजगढतर्फ जाने एक हजार छ सय ३३ मिटर लामो सुरुङ जेठमा छिचोलिसकेको बताइएको छ ।

प्याकेज नं ४ अन्तर्गत एक हजार मिटर लामो देवीचौर सुरुङ र प्याकेज नं ५ अन्तर्गतको तीन सय ९० मिटर लामो सिसौटार सुरुङ निर्माणका लागि खरिद सम्झौता सम्पन्न भई डिजाइनका क्रममा रहेको नेपाली सेनाले जनाएको छ । यस्तै, प्याकेज नं छ अन्तर्गतको दुई हजार दुई सय ५० मिटर लामो चन्द्रामभीर सुरुङको पोर्टल तयारी कार्य भइरहेको बताइएको छ ।

आयोजनाअन्तर्गत ८९ वटा पुल 

आयोजनाका ८९ स्थानमा रहेका पुलमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएको नेपाली सेनाका प्रवक्ता केसीले बताउनुभएको छ । हालसम्म मकवानपुरको राजदमार इलाकामा पाँचवटा पुलको निर्माण सम्पन्न भएकोे उनले बताए । अन्य स्थानमा ८१ मिटरसम्म उचाइ रहेका विभिन्न प्रकृतिका पुलको संरचना निर्माण भइरहेको केसीको भनाइ छ ।

हाल निर्माणाधीन दु्रतमार्गको सब—बेस, बायो इन्जिनियरिङ, रोडका साइडामा पर्खाल लगाउने, सर्भिस रोड निर्माणलगायत कार्य जारीरहेको नेपाली सेनाले जनाएको छ । प्रस्थान विन्दु खोकना र अन्तिम विन्दु निजगढ रहेको आयोजनाको कुल लम्बाइ ७० दशमलव नौ सय ७७ किलोमिटर रहेको छ ।

विसं २०७४ मा चार वर्षभित्र कार्यसम्पन्न गर्नेगरी तत्कालीन सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । तर सो समयमा काम पूरा नभइ २०८०/८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखियो, यो समयमा पनि कार्यसम्पन्न नहुने अवस्था आएपछि २०८३ सालसम्मको म्याद थपिएको जनाइएको छ ।

सुरुवातमा  एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि हाल लागत बढेर दुई खर्ब ११ अर्ब ९३ करोड पुगेको जनाइएको छ । चीनका ६ वटा फरक–फरक कम्पनीलाई दिइएको ठेक्कामा नेपाली निर्माण व्यवसायीको समेत सहकार्य छ ।

द्रुतमार्ग सम्पन्न भए तराईबाट काठमाडौँसम्मको दूरी ४ घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ । नेपाली सेनाका प्रवक्ता केसीले अब तोकिएको समयमा कार्यसम्पन्न गर्न सबै पक्षबाट समन्वय र समस्या समाधानको पहल जरुरी रहेकामा जोड दिए ।

१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।

आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

मन्त्री पौडेलको सचिवालयका अनुसार मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ । राज्यको सामर्थ्यका आधारमा धेरै धनराशी खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ। यसैअन्तर्गत मन्त्री पौडेलले आफू मन्त्रालयमा पदबहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए।

हाल यो व्यवस्था बालबालिकाबाट सुरू गर्न लागिएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल हुने मृत्यु मध्ये दुई तिहाइभन्दा बढी ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ। त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गत इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्यांकमा छ ।

नेपालमा सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको पाइएको छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ। ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत पनि गरेका थिए। सरकारले हरेक व्यक्तिलाई उपचारका लागि दिने रकमबाट अपुग रकम मन्त्रालयको आन्तरिक स्रोतबाट उपचार खर्चको व्यवस्थापन गरी उपचार गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन

लुक्ला (सोलुखुम्बु) । ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ ।

आइतबार सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिए ।

मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्याउने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उनले बताए । उनका अनुसार कूल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ ।

अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत रहने अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार अवार्ड वितरण गर्न सम्बन्धित विषयविज्ञ सम्मिलित एक मूल्याङ्कन एवं छनोट समिति गठन भइसकेको छ ।

उनले पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा परिरहेकाले यसले पर्यटन क्षेत्रमा पनि असर गरिरहेकाले बताउँदै यस विषयमा विश्व समूदायको ध्यानाकर्षण गराउन कालापत्थरमा पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

“पाँच हजार छ सय ५३ मिटरको उचाइमा आयोजित यो सम्भवतः पहिलो पत्रकार सम्मेलन हो, यहाँबाट हामीले विश्वलाई जलवायु परिवर्तनको अवस्थाबारे बुझाउने अपेक्षा गरेका छौँ”, अध्यक्ष लामाले भने ।

कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन)ले जलवायु परिवर्तनले सबैभन्दा बढी हिमाली क्षेत्र प्रभावित भएको उल्लेख गर्दै हिमाल बचाउनका लागि ढिला गर्न नहुनेमा जोड दिए ।

“जलवायु परिवर्तनबाट विशेष गरी मुलुकको पर्यटन क्षेत्रमा ठूलो असर परिरहेको छ, हिमालबाट हिउँ हराउन थालेको छ, सेता हिमाल काला पहाडमा परिणत हुन थालेका छन् । यो क्षेत्रलाई बचाउन सकिएन भने पर्यटन क्षेत्रलाई बचाउन सकिँदैन, आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत यो सन्देश हामी विश्व समुदायलाई दिन चाहन्छौँ”, उनले भने ।

प्रबन्ध निर्र्देशक मोक्तानले जलवायु परिवर्तनको असरका कारण सदियौँदेखि जमेका हिमतालहरु फुट्ने क्रम सुरु भएको, अधिक र न्यून वर्षा हुन थालेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद् बढ्ने क्रममा रहेको उल्लेख गरे ।

लुक्लाका पर्यटन व्यवसायी, समाजसेवी तथा स्टार युथ क्लबको केन्द्रीय अध्यक्ष एवं समाजसेवी नाम्गेल शेर्पाले जलवायु परिवर्तनबाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताए । उनले भने, “गत वर्षको कात्तिकमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही क्षेत्रमा आएर जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएको थियो । यस वर्ष हामी खुम्बुवासीले यसबारे आवाज उठाएका छौँ ।”

पत्रकार सम्मेलनमा उपस्थित आरोही मिङ्मा तेञ्जी शेर्पाले आफू १७ वर्षदेखि हिमालमा काम गरिरहेको बताउँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा असर देखिन थालेको उल्लेख गरे ।

“मैले सन् २००७ मा काम सुरु गर्दा र अहिलेको अवस्थामा धेरै फरक देख्न सकिन्छ । जलवायु परिवर्तनका कारण मौसम अस्थिर भएको छ । केही समयअघि खुम्बु क्षेत्रको थामेमा ठूलो विपद् आयो, पहिले हिउँमा आरोहण गर्ने गरेकामा अहिले ढुङ्गा र माटोमाथि आरोहण गर्नुपरेको छ । तसर्थ हिमाल जोगाउन र जलवायु परिवर्तनका असर न्यूनीकरणमा हातोमालो गर्न विश्व समुदायको ध्यानाकर्षण हुन जरुरी छ”, उनले भने ।

वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा दोर्जी शेर्पा र पर्यटन व्यवसायी एवं आरोही मिङ्मा शेर्पासँगको सहकार्यमा एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टले अवार्ड आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कम्पनीले हालसम्म स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । हालसम्म कम्पनीले जापान, मालदिभ्स, दुबईमा कार्यक्रम गरिसकेको छ ।

आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, ११ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार रहेको बताएका छन् ।

औषधिको उचित मूल्य तथा गुणस्तरवृद्धिका लागि सुझाव दिन गठित समितिका पदाधिकारीसँग मन्त्रालयमा आइतबार भएको छलफलमा मन्त्री पौडेलले आमउपभोक्तालाई उचित मूल्यमा कसरी औषधि वितरण गर्न सकिन्छ सोसम्बन्धी अध्ययन गरी आवश्यक सुझाव दिन समितिका पदाधिकारीलाई आग्रह गरे ।

उनले औषधिको मूल्य लामो समयदेखि समायोजन नभए पनि अहिले मूल्यवृद्धि गर्नेपर्ने अवस्था नभएको उल्लेख गरे ।

“ग्यास र तेलको मूल्य बढ्यो भनेर औषधिको पनि बढाउनुपर्छ भन्ने होइन । औषधि नागरिकको जीवनसँग जोडिएको विषय भएकाले सरकारले मूल्य समायोजना गर्न खोजेको हो”, मन्त्री पौडेलले भने, “नागरिकलाई सकेसम्म सस्तो मूल्यमा औषधि उपलब्ध गराउने गरी मूल्य समायोजन हुनेछ । यसका लागि सरकार थप दायित्व निर्वाह गर्न तयार छ ।”

औषधिको मूल्यसूचीबारे आफूले जानकारी राखेको भन्दै मन्त्री पौडेलले उत्पादन र बिक्री सूचीमा केही मात्रामा मूल्य घटाउन सकिने धारणा राखे । उनले मूल्य समायोजना गर्दा पनि व्यवसायीले मुनाफा राखेर अहिलेको भन्दा कम मूल्यमा अत्यावश्यक औषधि बिक्री गर्नसक्ने विश्वास व्यक्त गरे ।

“उत्पादक, बिक्रेताले कानुनभित्र रहेर तोकिएको मापदण्ड अनुसार मुनाफा लिनुपर्छ । यसले आमउपभोक्तालाई पनि सहज हुनेछ र केही पनि मर्कामा पर्ने छैनन्”, मन्त्री पौडेलले भने । अध्धयन गर्न गठित समितिले मूल्य समायोजन, गुणस्तर, व्यावसायिकता र अन्य व्यावहारिक पक्षलाई पनि समेटेर प्रतिवेदन तयार पार्नुपर्नेमा उनले जोड दिए ।

स्वास्थ्यमन्त्री पौडेलले औषधि खर्चका कारण नागरिक गरिबीको रेखामा पर्न नहुने धारणा राख्दै वैज्ञानिक र तथ्यपरक हिसाबले मूल्य समायोजनमार्फत समस्या समाधानको विकल्प निकाल्ने गरी सुझाव आउने अपेक्षा व्यक्त गरे ।

“सरकारी तथ्याङ्कले करिब पाँच लाख नागरिक औषधि खर्चका कारण गरिबीमा परेका छन् भन्ने देखाउँछ”, उनले भने, “समितिले औषधिको मूल्यका विषयमा तथ्यपरक र वैज्ञानिक अनुसन्धानबाट समायोजनाको ढाँचा बनाएर सबैलाई सकारात्मक प्रभाव पार्ने गरी सुझाव दिनुपर्छ, यसलाई मन्त्रालयले यथाशीघ्र कार्यान्वयन गर्नेछ ।”

गत बिहीबार सरकारको एकसय दिनको प्रगति सार्वजनिक गर्ने क्रममा मन्त्री पौडेलले औषधिको मूल्य घट्नेगरी समायोजन हुने घोषणा गरेका थिए । त्यसको दुईदिनअघि गत मङ्गलबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद् डा पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको उडान निलम्बित

काठमाडौँ ।  उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।

थाइल्याण्डबाट काठमाडौँ आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो । करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको छ । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ ।

सूचना अधिकारी भूलले थाई एयर एसियाको उक्त विमानको शनिबारसमम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको जानकारी दिए ।

‘विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउछ’, उनले भने, ‘यात्रुको सुरक्षा र मानवीयताको कारणले आजको उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको हो । अब, तत्कालको लागि नेपालको सम्पूर्ण अनुमति रद्द गरिएको छ । जिएसए पनि रद्द भएको छ ।’

विशेष चार्टर्ड उडान अनुमति पाएको विमानले काठमाडौँबाट आजै यात्रुलिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएको छ । थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो ।

प्राधिकरणले आजदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो ।

प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एयर एसियाले गत असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनःउडान सुरु गरेको थियो ।

काटिएको लाइन तत्काल जडान गरी व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन ऊर्जा र उद्योगमन्त्रीसँग उद्योगीको आग्रह

काठमाडौँ । उद्योगी, व्यवसायीले नेपाल विद्युत प्राधिकरणले उद्योगको लाइन काटेकोप्रति दुःख जनाउँदै काटिएको लाइन तत्काल जडान गरी सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह गरेका छन् ।

उद्योगी व्यवसायीले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्त रुपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल जडान गर्न पहल गर्नुपर्ने माग गरेका हुन् ।

भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले विद्युत् प्राधिकरणले पटकपटक विद्युत् लाइन काटेर उद्योगीमाथि अन्याय गरेको बताए । उनले प्राधिकरणले विद्युत् महसुलसम्बन्धी प्रमाण दिए आफूहरुले शुल्क तिर्ने उल्लेख गरे ।

ऊर्जामन्त्री खड्काले उद्योगमा विद्युत् कटौती भएको विषयमा ऊर्जा मन्त्रालय, विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरणलगायत सरोकार भएका निकायसँग छलफल गरी यथाशीघ्र समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाए । उनले उद्योगीले प्रयोग गरेको लाइनबापतको रकम तिर्नुपर्ने भन्दै प्राधिकरणले पनि लाइन काट्न नहुने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युतको बारेमा लाल आयोगले अध्ययन गरिसकेकाले आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताए । उनले मुलुकको अर्थतन्त्र मन्दीमा रहेका बेला उद्योगको लाइन काट्दा थप समस्या उत्पन्न हुनसक्ने भएकाले यथाशीघ्र समस्याको समाधान गर्न विभागीय मन्त्रालय लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिवद्धय सुरेश आचार्य र सरिता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीलगायत मन्त्रालयका उच्च पदस्थ अधिकारी एवं उद्योगी व्यवसायीको सहभागिता थियो । 

ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनमा हेरुन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने स्पष्ट पारेका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गर्दै राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु राष्ट्रिय सुरक्षाको किल्ला भएको बताएका हुन् ।

उनले भने, ‘अहिले अनेक नाममा राष्ट्रिय सुरक्षाको किल्लामा हमला गर्न खोजिएको छ । हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाडने संकल्पका साथ अघि बढ्का छौँ । सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन ।’

प्रचण्डले हतियार बिसाएका मात्रै हौँ भनेर दिएको धम्कीप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले माटामुनी लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झुठो प्रचार गरेर धम्की नदिन आग्रह गरे ।

उनले भने, ‘भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्ने सक्छन् सचेत जनतालाई थाहा छ कि हामी कति लोकप्रिय हौँ भन्ने । ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनमा हेरुन् ।’

उनले लोकतन्त्र भनेको छाडातन्त्र नभएको बताउँदै नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छाैँ भन्नु छाडातन्त्र भएकाले त्यस्ता क्रियाकलाप सैह्य नहुने बताए । उनले राष्ट्रका लागि आवश्यक परे पूर्व सुरक्षाकर्मी एकता र अनुशासनका साथ खट्नुपर्ने र नयाँ पुस्तालाई प्रेरणा दिनुपर्ने बताए ।

मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो

भोजपुर । सरकारबाट सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्रका रुपमा स्थापित हुन थालेको छ । पूर्वी क्षेत्रको एकमात्र सहज र सरल पदमार्गका रुपमा लिइने यो क्षेत्रमा पर्यटकको अवागमन बढेको हो ।

छोटो समयमा यो पदमार्गमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेपछि टेम्केमैयुङ गाउँपालिकाले यसको थप विकास तथा विस्तारमा जोड दिएको छ । यहाँ आउने पयर्टकलाई सहजता थप्नका लागि गर्नुपर्ने काम तथा यो पदमार्गको पछिल्लो अवस्थाका विषयमा जानकारी लिने उद्देश्यले सरोकारवाला पक्षले स्थलगत रुपमा अनुगमन गरेका छन् ।

यो समयमा पयर्टकको चाप बढ्न थालेपछि उनीहरुलाई यात्राको क्रममा कुनै समस्या नहोस् भन्नका लागि यो पदमार्गको दुई हजार तीन सय ५१ मिटर उचाइ रहेको चखेवाभञ्ज्याङदेखि जिल्लाको सबैभन्दा अग्लो चार हजार एक सय ५३ मिटर उचाइमा रहेको सिलिचुङ चुचुरोसम्मको स्थलगत अनुगमन गरिएको हो ।

मुन्दुम पदमार्गको थप विकास तथा यहाँ घुम्न आउने पर्यटकलाई सहजताका लागि गर्नुपर्ने कामको अध्ययन, अनुसन्धानका लागि कार्यक्रम तयार गरेर स्थलगत रुपमा पदयायात्रामार्फत अनुगमन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

“मुन्दुम ट्रेल पर्यटकको रोजाइको गन्तव्यका रुपमा स्थापित भइरहेको छ”, अध्यक्ष बस्नेतले भने, “गाउँपालिकाले यहाँको थप विकास तथा विस्तारमा जोड दिइरहेको छ, यहाँ आउने पर्यटकलाई थप सहजता थप्नका लागि गर्नुपर्ने कामको विषयमा जानकारी लिन सरोकारवाला पक्षसहित चखेवाबाट सिलिचुङ चुचुरोसम्म स्थलगत अनुगमन गरेका छौँ, अब यात्राको क्रममा देखिएको समस्याका समाधानमा जोड दिन्छौँ ।”

सो गाउँपालिका प्राकृतिक रुपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । मुन्दुम पदमार्गको यात्राका क्रममा पदयात्रीलाई पर्नसक्ने समस्याको खोजी तथा यो पदमार्गलाई थप व्यवस्थित बनाउन स्थलगत रुपमा अनुगमन गरिएको उपाध्यक्ष राईले जानकारी दिइन् । स्थलगत अनुगमनका क्रममा देखिएका समस्याको समाधानमा गाउँपालिकाले क्रमिक रुपमा काम गर्ने उनको भनाइ छ ।

मुन्दुम पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर चखेवामा पर्यटन सूचना केन्द्रसमेत निर्माण गरिएको उनले जानकारी दिइन् । यो सूचना केन्द्रबाट पर्यटकलाई पदमार्गको विषेशता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राका विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताइन् ।

“यो पदमार्ग घुम्न आउने पर्यटकलाई सहज आवगनका लागि काम गरिरहेका छौँ”, उपाध्यक्ष राईले भनिन्, “गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर काम गरिरहेको अवस्था छ, यो पदमार्गलाई थप व्यवस्थित बनाउन गर्न सकिने कामको पहिचान गर्न स्थलगत रुपमा अनुगमन गरेका छौँ ।”

अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराईका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए । यहाँको प्राकृतिक सौन्दर्यताको उजागरसँगै प्रचारप्रसारको क्षेत्रमा गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको उनले जानकारी दिए।

पदमार्गको आसपासमा निर्माण भएका किरातको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने प्रशासकीय अधिकृत पौडेलले बताए ।

“यो मार्ग छोटो समयमा पर्यटकको रोजाइको गन्तव्य बन्न सफल भएको छ”, प्रशासकीय अधिकृत पौडेलले भने, “यहाँ पर्यटकलाई आकर्षित गर्ने धेरै क्षेत्रहरु छन्, गाउँपालिकाले यसको थप विकाससँगै प्रचारप्रसारमा जोड दिएको अवस्था छ ।” उकालोओरालो हुँदै फैलिएको यो पदमार्गको यात्राका क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला एकसाथ हेर्न सकिने पर्यटन व्यवसायी विवेक कुलुङले जानकारी दिए ।

यो पदमार्गमा बढीमात्रामा भदौ, असोज, कात्तिक र मङ्सिर महिनामा पर्यटक आउने स्थानीयको भनाइ छ । प्राकृतिक सुन्दरताले मनमोहक दृश्यावलोकन गर्न, हावापानीका हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको टेम्कमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । बर्सेनि यो पदमार्गको भ्रमण गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

किरात राईहरुको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किरात राईहरुको ‘मुन्दुम’ संस्कारबाट राखिएको छ । रासस

बंगलादेश साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुग्न सफल भएको हो ।

बंगलादेशलाई जिताउन तोहुरा खातुनले ह्याट्रिक गर्दा, सविना खातुनले २ गोल गरिन् । यसैगरी ऋतु पोर्ना चक्मा र शिउली अजिमले एक एक गोल थपेका थिए । सातौं मिनेटमा ऋतुले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । त्यसपछि लगातार भुटानमाथि दबाब बनाएको बंगलादेशले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

१५ औं मिनेटमा तोहुराले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि बंगलादेश २–० ले अघि बढेको थियो । २५ औं मिनेटमा बंगलादेशले तेस्रो गोल गरेको थियो । बंगलादेशकी सविनाले व्यक्तिगत पहिलो गोल गरेकी थिइन् । ३४ औं मिनेटमा तोहुराले ब्यक्तिगत दोस्रो गोल डिबक्स बाहिरबाट गरेकी थिइन् ।

३७ औं मिनेटमा सविनाले पनि व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश पहिलो हाफमै फराकिलो अग्रतामा अघि बढेको थियो । ४१ औं मिनेटमा भुटानका लागि डेकी ल्हाजोमले गोल गरेर अन्तर ५–१ मा झारिन् ।

पहिलो हाफमा ५ गोल गर्दा १ गोल ब्यहोरेको बंगलादेशले दोस्रो हाफमा अरु २ गोल थपेको थियो । ५८ औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गर्न सफल भइन् ।

उनले ह्याट्रिक पूरा गर्दा बंगलादेश ६–१ ले अघि बढेको थियो । ७२ औं मिनेटमा, बंगलादेशकी शिउली अजिमले गोल गरेपछि बंगलादेश ७–१ गोल अन्तरले विजयी हुँदै फाइनलमा पुग्न सफल भयो । आजै हुने दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने छ ।