`

विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्छः राष्ट्रपति पौडेल

बाकु, (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धताहरु पूरा गर्न सबै विकसित मुलुकहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग बिहीबार भएको भेटवार्तामा यस्तो आग्रह गरेका हुन् ।

‘जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्वता छ, विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगावै सन् २०४५ सम्म नेपालले शून्य कार्वन उत्सर्जनको उपलब्धि हासिल गर्ने लक्ष्य राखेकाले हामी सबै विकसित मुलुकहरुलाई जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरु पूरा गर्न आग्रह गर्दछौंँ’, राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

राष्ट्रपति पौडेलले नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो प्रभाव बेहोरी रहेको बताए । उनले हिमालमा भएको हिउँ पग्लिरहेको, तल्लो तटीय क्षेत्रका जनसङ्ख्यालाई स्वच्छ खानेपानीको स्रोत घटीरहेको एवं जलवायु परिवर्तनबाट सृजित प्राकृतिक विपद्बाट हरेक वर्ष ठूलो जनधनको क्षति भइरहेको जानकारी दिँदै यसवर्ष पनि बेमौसमी भारी वर्षाका कारण नेपालले देशव्यापी जनधनको ठूलो क्षति व्यहोर्नुपरेको स्मरण गरे ।

‘सरकारले हरेक वर्ष बजेटको ठूलो हिस्सा जलवायुबाट प्रभावित जनसङ्ख्याका लागि खर्च गर्नु परिरहेको छ’, राष्ट्रपति पौडेलले भने । पर्वतीय भू–बनोट तथा भू–परिवेष्ठित अवस्थितिका कारण हामीबीच भौगोलिक समानता मात्र नभइ पर्वतीय मुलुकले सामना गर्नुपरेका संरचनागत चुनौती र असरहरु पनि समान रहेको उल्लेख गर्दै उनले भने, ‘जलवायु परिवर्तन विश्वको साझा विषय हो, पर्वतीय भू–भाग रहेको हाम्रा दुवै मुलुकले जलवायु परिवर्तनका खराब असरहरू सामना गर्नुपरिरहेको छ, नेपालले पर्वतीय मुलुकहरुले सामना गर्नुपरेका विषयलाई कोपलगायत मञ्चहरुमा उठाउँदै आएकाले यसमा अजरबैजानी सरकारको ऐक्यबद्धताका लागि आग्रह गर्न चाहन्छु ।’

सन् १९९१ मा स्वतन्त्र भएपछि अजरबैजानले हासिल गरेको बृहत् विकास र आर्थिक रूपान्तरणको राष्ट्रपति पौडेलले प्रशंसा गरे । उनले राजनीतिक परिवर्तनपछि नेपाल हाल आर्थिक विकासको बाटोमा अघि बढिरहेको र सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको बताए ।

‘आर्थिक रूपान्तरण र विकासबिना हामीले हासिल गरेका राजनीतिक उपलब्धि संस्थागत गर्न सकिँदैन’, राष्ट्रपति पौडेलले भने । उनले अजरबैजानका समकक्षी अलियेफको सक्षम नेतृत्वमा आयोजना भइरहेको कोप–२९ को पूर्ण सफलताका लागि बधाई दिँदै सम्मेलनले पारित गर्ने घोषणापत्रले नेपाल जस्ता अत्यन्त न्यून कार्वन उत्सर्जन गर्ने तर जलवायु परिवर्वनको ठूलो असर व्यहोरिरहेका मुलुकको हकहित संरक्षण गर्ने विश्वास व्यक्त गरे । उनले नेपालमा कृषि, पर्यटन र जलस्रोतका क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

भेटवार्तामा अजरबैजानका राष्ट्रपति अलियेभले आफू अझै एक वर्ष कोपको अध्यक्ष रहने सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नजिक गरेर काम गर्ने बताएको सल्लाहाकार पोखरेलले जानकारी दिए । राष्ट्रपति अलियेफले नेपालले प्रस्ताव गर्ने क्षेत्रमा लगानी गर्न आफ्नो देश सकारात्मक रहेको बताए ।

सन् १९९५ मा नेपाल र अजरबैजानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुवै देशले संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा दीगो विकास तथा जलवायु परिवर्तन जस्ता साझा चासोका विषयमा सहकार्य गरिरहेका छन् ।

राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई मङ्गलबार सम्बोधन गरेका थिए । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो ।

राष्ट्रपति पौडेलले किर्गिस्तानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र÷सरकार प्रमुखहरूसँग गर्नुभएको सामूहिक भेटघाट कार्यक्रममा समेत उनी सहभागी भएका थिए ।

यही कात्तिक २६ गतेदेखि सुरु भएको सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ । सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै सोमबार गणतन्त्र अजरबैजानको राजधानी सहर बाकु आइपुगेका हुन् । अजरबैजानका समकक्षीसँगको भेटपछि राष्ट्रपति पौडेल स्वदेश फर्कने क्रममा आजै बाकुबाट कतारको दोहाका लागि प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेल शुक्रबार बिहान काठमाडौँ पुग्ने कार्यतालिका छ ।

प्रथम नेपाल चिकित्सक सङ्घ खेलकुद प्रतियोगिता हुने

काठमाडौँ । नेपाल चिकित्सक सङ्घको आयोजनामा प्रथम नेपाल चिकित्सक सङ्घ (एनएमए) खेलकुद प्रतियोगिता हुने भएको छ ।

एनएमएका महासचिव डा सञ्जीव तिवारीले बिहीबार विज्ञप्ति जारी गरी चितवनको भरतपुरस्थित कासी खेल तथा मनोरञ्जन केन्द्रमा उक्त प्रतियोगिता हुन लागेको जानकारी दिए ।

यही कात्तिक ३० र मङ्सिर १ गते हुने उक्त प्रतियोगितामा फुटसल, भलिबल, बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन, चेस तथा पौडीलगायतका खेल हुनेछन् ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले देशभरका युवा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यस्त दिनचर्याबाट केही राहत महसुस गराउन तथा मनोरञ्जनका लागि प्रोत्साहित गर्न उक्त प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिताले चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यकौशलतामा सहयोग पुग्ने सङ्घले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सङ्घले अनुरोध गरेको छ ।

नेप्सेमा १० अर्ब ३२ करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार सात सय ४८ दशमलव ७८ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३३ अङ्कले उकालो लागेर चार सय ८६ दशमलव शुन्य तीनमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा सात उपसमूहको शेयर मूल्य भने उकालो लागेको हो ।

कूल दुई करोड १६ लाख ६० हजार छ सय ३९ कित्ता शेयर रु १० अर्ब ३२ करोड तीन लाख ३१ हजार चार सय ३६ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार, गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ । न्यादी ग्रुप पावर नौ दशमलव ७९ र माछापुच्छ्रे बैंकको लगानीकर्ताले नौ दशमलव ५६ प्रतिशतले कमाएका छन् ।

यस्तै, रावा इनर्जी नौ दशमलव १२, कुर्थली कुखरी स्मल हाइड्रोपावर सात दशमलव ३२, पिपल्स हाइड्रोपावर छ दशमलव ०८, सुपर माई हाइड्रोपावर चार दशमलव ९२ र समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले चार दशमलव ३६ प्रतिशतले गुमाएका छन् । 

जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट

चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ। जाडो मौसममा बालबालिकादेखि बृद्ध बृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो।

केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टिकृत सेवा अभाव हुँदा बिरामीहरु काठमाण्डौं केन्द्रीत हुने गर्दथे। पछिल्ला दिनहरुमा विशिष्टिकृत सेवा राजधानी बाहिर पनि उपलब्ध हुन थालेपछि निमोनियाका कारण अकालमा ज्यान जाने क्रम घटेको छ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा दिंदै आएका प्रा.डा. शीतल अधिकारी चिसो मौसममा अन्य समयमा भन्दा बढी निमोनिया हुन सक्ने बताउँछन्।

उनी भन्छन् “चिसोले निमोनिया बनाउने भन्दा पनि चिसो वातावरणमा निमोनिया हुन सक्छ। इन्फ्लुएन्जा भाइरस चिसोमा सक्रिय हुने भएकाले निमोनिया हुने सम्भावना बढी हुन्छ।”

रुघा, खोकी, ज्वरो आउनेबित्तिकै बोलीचालीको भाषामा निमोनिया लाग्यो भनिने भए पनि त्यो निमोनिया नभएको उनको भनाई छ। उनले भने “निमोनियामा साधारणतया एक्सरे गरेर हेर्‍ यो भने फोक्सोमा सेतो दाग देखिन्छ त्यो निमोनिया हो।”

निमोनिया फोक्सोमा हुने एक प्रकारको संक्रमण भएको भन्दै उनले कोभिडको बेलामा भाइरसले निमोनिया बनाएको बताए। सामान्यतया धेरैजनालाई हुने इन्फ्लुएन्जा भाइरसले गर्दा निमोनिया हुने भन्दै अन्य ब्याक्टेरियाले गर्दा पनि निमोनिया हुने उनले सुनाए। उनले भने “मधुमेह नियन्त्रणमा नभएको वा रोगसँग लड्ने क्षमता कम भएको व्यक्तिहरूलाई यो बाहेक फङ्गस (ढुसी) ले पनि निमोनिया गराउँछ।” फोक्सोमा संक्रमण भएपछि खोकी लाग्ने, ज्वरो आउने र छाती दुख्ने गर्दछ।

साधारण भाषामा निमोनिया भनेको फोक्सो पाक्ने समस्या भएको भन्दै उनले भने “फोक्सोको एक भाग अथवा पुरै भाग पाक्ने हो। त्यसको वरिपरि पानी जम्ने र त्यो इन्फेक्टेड भयो भने पीप जस्तो हुन्छ।”

निमोनियाको दुई प्रकृति रहेको छ। ब्याक्टेरियल निमोनिया अर्थात् भाइरस निमोनियाको समयमै उपचार भयो भने खासै खतहरू बस्दैन। तर कुनै–कुनै निमोनिया जस्तैः कोभिड निमोनिया निको भएपनि फोक्सोमा खतहरु देखिएको उनले जानकारी दिए।

समयमा उपचार भयो र अन्य जटिलताहरु जस्तो पीप बनेन भने साधारणतया निमोनिया निको हुने रोग अन्तर्गत पर्ने उनको भनाई छ। उनले भन्छन् “रोगसँग लड्ने क्षमता, समयमै सही एन्टिबायोटिकको प्रयोग र बिरामीको केयर कस्तो छ भन्ने अवस्थाले निमोनिया निको हुने वा नहुने भन्ने कुरामा भर पर्दछ।”

साधारणतया निमोनिया हुने कारणमा भाइरस र ब्याक्टेरिया नै मुख्य कारण हुन्। धेरैजसो बिरामीलाई इन्फ्लुएन्जा, कोभिड र श्वासप्रश्वासमा असर गर्ने भाइरस नै हो। त्यस्तै ब्याक्टेरियाका कारणले हुने निमोनियामा सामान्तया स्ट्रेप्टोकोकस निमोनिया हो। यो धेरैजसो भीडभाडमा जाँदा हुने निमोनियामा पर्दछ।

निमोनियाबाट बच्नको लागि भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, रुघा लागिरहेको व्यक्तिको अगाडि नजान, खोक्दा, हाच्छ्यु गर्दा सर्ने भएकाले कोभिडको बेलामा प्रयोग गरेका मापदण्डहरु प्रयोग गर्न उनले सुझाव दिए। अहिले निमोनियाको भ्याक्सिन समेत पाईने उनले बताए।

समयमै उपचार गरेमा प्रायःजसो निमोनिया निको हुन्छ। रोगसँग लड्ने क्षमता कम भएको अवस्थामा सबैजना निको हुँदैनन्। करिब १० प्रतिशतलाई निको पार्न नसकिने उनी बताउँछन्।

उनले भने “पानी धेरै जमेको छ, निमोनिया ठूलो छ र कहिलेकाहीँ खकारहरु ननिस्केर भएको निमोनिया छ भने त्यो जटिल नै हुन्छ।”

नागढुंगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने

काठमाडौँ  । नागढुङगा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ।

नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ।

सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुन जनाएको छ।

उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ। यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ।

सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ।

मुस्ताङको स्याउ : बढ्दो माग, पुरयाउन धौधौ

गण्डकी । मुस्ताङको स्याउ बिक्रि हुने मुख्य बजार पोखरा हो । पोखरामा मुस्ताङको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै खपथ हुने गरेको छ ।

पछिल्लो समयमा मुस्ताङमा बढ्दो पर्यटकको आगमनले त्यहाँबाट कोसेलीका रुपमा स्याउ बिक्रीसमेत हुने भएकाले यसको बजारका लागि भने कुनै समस्या नरहेको विगत लामो समययता स्याउको व्यावसायिक खेती गर्दै आएका ‘टुकुचे स्याउ नर्सरी’का सञ्चालक राजन शेर्पा बताउँछन् ।

पोखराका साथै यहाँको स्याउ काठमाडौँसहित देशका अन्य बजारमा पनि खपत हुने गरेको छ । “उत्पादन गर्न सके स्याउ बिक्री गर्न बजारको समस्या छैन”, शेर्पाले भने, “यहाँ उत्पादन भएको स्याउ थोक मूल्यमा ठेकेदारले नै खरिद गरेर लैजाने गरेका छन् ।”

विगतमा परम्परागतरुपमा स्याउखेती गरिँदै आएकामा पछिल्लो समय नवीनतम प्रविधिमा आधारित हाइडेन्सिटी स्याउ बगैँचा कार्यक्रमका कारण उत्पादन बढेको किसान बताउँछन् ।

“नर्सरीमा नेदरल्याण्ड्सबाट ल्याएको हाइडेन्सिटी प्रजातिको स्याउका बिरुवा उत्पादन गरेका छौँ”, शेर्पा भन्छन्, “उत्पादित बिरुवा उपल्लो डोल्पा, रुकुम, रोल्पालगायतका स्थानसम्म पुगेको छ ।” बर्सेनि १८ हजारसम्म स्याउका बिरुवा बिक्रीवितरण गरिरहेको उनले बताए ।

मुस्ताङको मुख्य फलफूलखेतीका रूपमा रहेको स्याउको व्यावसायिक खेती २०२२ पछि मात्र सुरु भएकोे पाइन्छ । विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालय, फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको काश्मीरबाट स्याउका बिरुवा ल्याएर मुस्ताङमा वितरण गरेको थियो ।

स्थानीयवासीका अनुसार तत्कालीन समयमा प्रत्येक घरमा स्याउका तीन÷तीन बिरुवा वितरण गरिएको थियो । त्यसयता स्याउको व्यावसायिक खेतीले बर्सेनि गति लिएको छ । स्थानीयवासीले स्याउको व्यापारसँगै यसबाट रक्सीसमेत बनाउन थालेका छन् ।

मुस्ताङमा पछिल्ला वर्षमा स्याउ खेतीतर्फ किसानको आकर्षण बढिरहेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले जानकारी दिए । राजेशका अनुुसार मुस्ताङमा कूल आठ सय ९० हेक्टर क्षेत्रफलमा स्याउको खेती भइरहेकामा ६ सय १६ हेक्टरमा स्याउको उत्पादन भइरहेको छ । जिल्लामा गत वर्ष रु ९१ करोड ८६ लाखको स्याउ बिक्री भएकामा त्यसको ९० प्रतिशत जिल्ला बाहिर बिक्री भएको थियो ।

जिल्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसयस, रिचा रेड डेलिसियस, फुजी जस्ता स्थानीय जातका स्याउका साथै उन्नत जातका माला मेमा, रेड डेलिसियस किङरोट, फुजी के कु फुब्रिक्स, गोल्डेन मेमा डेलिसियस स्याउको खेती गरिएको छ । पछिल्ला वर्षमा स्याउको उत्पादन ३० देखि ३५ प्रतिशतले वृद्धि भएको प्रमुख राजेश गुरुङ बताउँछन्

“पछिल्लो समय किसान उच्च घनत्व प्रविधिमा स्याउ लगाउन आकर्षित बनेका छन्”, उनले भने । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, शीतोष्ण बागबानी विकास केन्द्रमार्फत तथा स्थानीय तहको समन्वयमा यसमा लाग्ने रोगकिरा व्यवस्थापनलाई प्राथमिकता दिएपछि स्याउको उत्पादन बढ्दै गएको प्रमुख गुरुङको भनाइ छ ।

स्थानीय जातको स्याउले लगाएको सात र आठ वर्षमा मात्र फल दिने गर्दछ भने हाइडेन्सिटी प्रविधिबाट लगाइएको बिरुवाले दुई तीन वर्षपछि नै फल दिने गरेका कारण यसतर्फ किसानको आकर्षण बढेको हो । सामान्यतः स्याउ चैत र वैशाखमा फुल्ने, जेठमा फल लाग्ने गर्दछ भने भदौको दोस्रो सातापछि पाक्ने र बजारमा जाने क्रम सुरु हुन्छ ।

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत काठमाडौंमा

काठमाडौं । युवा मामिला सम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउर काठमाडौं आएकी छन् । विशेष दूत एबी बिहीबार काठमाडौं आएकी काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

विशेष दूत फिनकेनाउरले नेपाल भ्रमणको क्रममा नेपाली युवा नेतृत्वकर्तासँग भेटघाट गर्ने र लोकतन्त्र र नागरिक संलग्नता प्रवर्द्धन गर्ने युवा केन्द्रित कार्यक्रमहरूमा सहभागी हुनेछिन् ।

उनको यो भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई प्रगाढ बनाउनका साथै युवाहरूलाई लोकतान्त्रिक भविष्य र समृद्ध नेपाल निर्माणका लागि मद्दत गर्न सहयोग गर्ने दूतावासले जनाएको छ ।

इजरायलद्वारा दक्षिणी बेरुतमा आक्रमण

बेरुत । इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिणी उपनगरमा रहेका हिजबुल्लाहको गढका रूपमा मानिएका केही भाग खाली गर्न दिएको निर्देशन पछि बिहीबार उक्त क्षेत्रमा हवाई आक्रमण गरेकोे छ ।

एएफपिटिभीले आक्रमणस्थलको तस्बिरसहित इजरायली आक्रमण र ध्वस्त संरचनालाई टेलिभिजनबाट प्रशारण गरेको छ ।

सेप्टेम्बरमा इजरायलले इरान समर्थित जिहादी समूह हिजबुल्लाहविरुद्ध आफ्नो अभियान तीव्र बनाएसँगै पछिल्लो आक्रमणपछि यस क्षेत्रमा धेरै क्षति पुगेको छ ।

आक्रमण हुनुभन्दा केही समय अघि इजरायलले उक्त क्षेत्रका बासिन्दाहरूलाई आफ्नो घर तथा वासस्थान खाली गर्न चेतावनी दिएको थियो ।

सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समार्फत जारी विज्ञप्तिमा भनिएको छ, “तपाईँहरू हिजबुल्लाहको प्रभाव क्षेत्रनजिकै अवस्थित हुनुहुन्छ भने सावधानी अपनाउनु होला । इजरायली सेनाले निकट भविष्यमा उक्त क्षेत्रमा आक्रमण गर्दैछ ।”

विज्ञप्तिमा शौइफत अल–ओमरोसिया र घोबीरी क्षेत्रका भवनहरू पहिचान गर्ने नक्सासमेत समावेश गरिएको थियो ।

उसागी आँधीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी

मनिला । फिलिपिन्सले उसागी नाम दिइएको बिनाशकारी आँधीको चेतावनीपछि बिहीबार प्रभावित क्षेत्रका हजारौं मानिसहरूलाई खाली र सुरक्षित क्षेत्रमा सारेको छ । आँधीको प्रभाव यसपहिले नै अर्को आँधीबाट प्रभावित उत्तरतर्फ अघि बढ्दै गएपछि आँधीबेहरीको चेतावनी जारी गरिएको हो ।

प्रति घण्टा १८५ किलोमिटर सम्मको निरन्तर हावासँगै उसागी आँधी लुजनको मुख्य टापुमा अवतरण गर्ने सम्भावना रहेको जनाइएको छ ।

बिनाशकारी मौसमी लहरले यसअघि नै १५९ जनाको ज्यान लिएको छ भने राष्ट्रसङ्घलाई प्रभावित क्षेत्रहरूका लागि तीन करोड २० लाख ९० हजार अमेरिकी डलर सहयोगको प्रस्ताव अन्तर्राष्ट्रिय समुदायसँग गरेको छ ।

राष्ट्रिय मौसम विभागका अनुसार आँधीले हल्का सामग्रीको संरचनामा लगभग पूर्ण क्षति पुर्याउन सक्छ ।

भारी वर्षा र तीन मिटरसम्मको सम्भावित कडा छालहरूको पूर्वानुमान गरी आँधीको चेतावनी उच्च चरणमा लागु गरिएको छ ।

कागायन प्रान्तमा आँधीले अवतरण गर्ने अपेक्षा गरिएकाले बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् ।

कागायनका नागरिक सुरक्षा प्रमुख रूएली राप्सिङले स्थानीय सरकारहरूले ४० हजार मानिसहरूलाई आश्रयमा लैजाने बताएका छन् ।

उसागीपछि, उष्णकटिबन्धीय आँधी म्यान–यीले पनि यस सप्ताहन्तमा राजधानी मनिला वरपर फिलिपिन्सको जनसङ्ख्याको केन्द्रमा प्रहार गर्ने पूर्वानुमान गरिएको छ ।

“आँधीहरू आउने क्रम जारी रहेको बताउँदै समुदायहरूले आघातबाट निको हुने प्रयास गरेसँगै, अर्को उष्णकटिबन्धीय आँधीले फिलिपिन्सलाई फेरि प्रभावित गरिरहेको संयुक्त राष्ट्रसङ्घ फिलिपिन्सका मानवीय संयोजक गुस्ताभो गोन्जालेजले बताए ।

हालैको एक अध्ययनले एसिया–प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनका कारण आँधीबेहरीको असर तटीयरेखामा तीव्र र लामो समयसम्म रहने गरेको देखाएको छ ।

सर्वोच्चमा रास्वपाका नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पार्टी सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेका बेला अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अवरोध गर्न खोजेको दाबी मुद्दा दर्ता गराएका हुन् । रिटमा रास्वपाका सांसदहरू डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतमलगायतलाई विपक्षी बनाइएको छ ।

रिटको मङ्सिर तीन गतेको लागि पेसी तोकिएको छ । यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको थियो । त्यसविरुद्ध भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएका थिए ।

उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपीठ बदर गरेसँगै मुद्दा दर्ता भएको हो । रिटमा रास्वपाका नेताहरुलले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ ।

सहकारी ठगी प्रकरणमा सभापति लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाका नेताहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।

नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो, मंसिरभित्र पुनः काम सुरु नभए ठेक्का तोडिने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सांसद, जनप्रतिनिधिलगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताए । 

विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको निर्माण कम्पनीलाई काम लगाउन उचित हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्ने बताए ।

‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक कदम चाल्नुपर्ने अवस्थामा पुगेका छौँ ।’

नवलपरासी (सुस्ता पूर्व) का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । चाइना स्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो ।

सो सडक खण्डको हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको बताइएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमी व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी थिए ।

भौतिक मन्त्री दाहालले निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्ममा काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराए ।

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुकुम्बासी समस्या समाधान गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

ज्वालामुखी विस्फोटका कारण अवरुद्ध बालीका उडान सेवा पुनः सञ्चालनमा

जकार्ता ।  ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएको विमान कम्पनीहरूले बिहीबार जनाएका छन्।

विगत दुई हप्तादेखि भएको ज्वालामुखी विस्फोटका कारण कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै हजारौंलाई सुरक्षित स्थानमा सारिएको थियो।

मौसम ‘सुध्रिएको’ अवस्थालाई उल्लेख गर्दै क्वान्टास र जेटस्टारले बालीमा आफ्नो सेवा पुनः सुरु गरेको विज्ञप्तिमार्फत जनाएका छन्।

एयरएशियाले बिहीबारदेखि बाली जाने उडानहरू पुनः सुरु गर्ने जनाएको छ भने अस्ट्रेलियाले आफ्नो वेबसाइटमा उडानहरू पुनः सुरु गर्ने बताएको छ।

यसैबीच, सिङ्गापुरको स्कुट एयरलाइन्सले लेवोटोबी लाकी–लाकीको ज्वालामुखी गतिविधिको कारण सिङ्गापुरबाट बाली र सुराबायाका लागि उडानहरू पुनर्निर्धारित गरेको जनाएको छ।

विमानस्थललका महाप्रबन्धक अहमद स्योगी साहाबले माउन्ट लेवोटोबी लाकी–लाकीबाट ज्वालामुखीको खरानी बुधबार साँझदेखि विमानस्थलबाट टाढा गइरहेको बताउनु भएको छ।

ज्वालामुखी विज्ञान विभागका अनुसार लेवोटोबी बिहीबार पुनः विस्फोट हुदाँ यसको खाडलबाट बाक्लो खरानी स्तम्भ र लाभा बगिरहेको देखिएको थियो।

विमानस्थलको इन्स्टाग्राम अनुसार ज्वालामुखी नजिकैको लाबुआन बाजोको पर्यटक स्थलमा रहेको विमानस्थल बिहीबार पुनः खोलिएको छ।

‘पूर्णबहादुरको सारङ्गी’ ले १४ दिनमा कमायो २७ करोड

काठमाडौँ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ ।

निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा रु २७ करोड सङ्कलन गरेको जानकारी दिए ।

उनले भने,’हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृतिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शकसम्म जानकारी पुगेमा उहाँले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ ।’

उनले चलचित्रले मङ्गलबारसम्म रु २५ करोड तीन लाख र बुधबार रु दुई करोडको हाराहारीमा व्यापार गरेको बताए । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ ।

निर्माता पौडेलले आजदेखि पूर्वबाट सुरु हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिए ।

‘हामी गाईघाटबाट भ्रमण सुरु गर्दैछौँ, ग्रामीण भेगका चलचित्र भवनमा पुगेर त्यहाँका दर्शकलाई धन्यवाद दिनेछौँ, उहाँहरुको मायाले हामी मात्र नभइ नयाँ निर्मातालाई पनि हौसला मिलेको छ,’ निर्माता पौडेलले भने ।

उक्त भ्रमणमा निर्माता पौडेलसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत छन् ।

यो चलचित्रले एकै दिन रु तीन करोड ८९ लाखको व्यापार गर्दै एक दिनमा सर्वाधिक कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा चार सय ६५ भन्दा बढी सो पाएको रेकर्डसमेत बनाएको छ ।

यसअगाडि चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’ ले रु २३ करोड ५० लाखको व्यापार गरेको बताइएको छ ।

गगन थापालाई रवीन्द्र मिश्रको १२ बुँदे खुलापत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले कांग्रेस महामन्त्री गगन थापालाई खुलापत्र लेखेका छन् ।

बिहीबार सामाजिक संजालमार्फत मिश्रले महामन्त्री थापालाई १२ बुँदामा समेटेर खुलापत्र लेखेका हुन् । उनले ’मध्य दक्षिणपन्थी’ धारबाट कांग्रेसलाई पूर्णतः ’प्रचण्डमार्गी मध्य–बामपन्थी’ धारमा आँखा चिम्लेर रूपान्तरण गरेकोलगायतका विभिन्न आरोप लगाएका छन् ।

यस्तो छ मिश्रको पत्र

१. तपाईंजत्तिको राजनीतिकर्मीले यति पतित राजनीति भएको देशमा राजनीतिक नियुक्तिको त्यति जोडदाररूपमा बचाऊ गरेको सुन्दा अत्यन्तै, अत्यन्तै दु:खी छु।

२. तपाईंले ‘थुप्रै अरू democracy को अभ्यास भएका ठाऊँ’ भनेर ‘असल प्रजातन्त्र’को अभ्यास भएको देशको उदाहरण दिन चाहानुभएको हो भने, तपाईंले बुझ्न जरूरी छ कि ती देशका राजनीतिकर्मीमा हाम्रा देशका राजनीतिकर्मी भन्दा इमान र क्षमता एक हजार गुणा बढी हुन्छ।

३. ‘असल प्रजातन्त्र’ भएको देशमा राजनीतिक नियुक्ति नै भएको हो भने पनि, अपवादलाई छोडेर, नियुक्ति पाउनेहरू इमान र विधिको एउटा तहबाट तल जाँदैनन्। त्यसै ती देश सुशासनयुक्त विकशित देश बनेका होइनन्। नेपालजस्ता देशका नागरिक मरिहत्ते गरेर जान खोज्ने देश बनेका होइनन्।

४. तपाईंहरूले बनाएको ‘[प्रचण्ड]को संविधान २०७२’ ले नै सर्वोच्च अदालत लगायतका संवैधानिक निकायमा राजनीतिक भागबण्डालाई सुनिश्चित गरिदिएको छ। तपाईंहरूले बनाएको कानूनले सरकारी वेतनधारी र पेशाकर्मीहरूको ‘दलीय’ भातृ संगठनलाई सुनिश्चित गरिदिएको छ।

५. तपाईंले राजनीतिक नियुक्तिको जसरी र जुन तर्क दिएर गर्वका साथ बचाऊ गर्नुभयो त्यसबाट तपाईं किन कर्मचारीतन्त्र/विश्वविद्यालयलाई राजनीतिकरण गर्न हुँदैन भन्नुहुन्छ तर सरकारी वेतनधारीको दलीय भातृ संगठन भङ्ग गर्नुपर्छ भन्नु हुँदैन भन्नेमा म प्रष्ट भएँ।

६. तपाईंले ‘असल प्रजातन्त्र’ भएको देशको उदाहरण दिन खोज्नुभएको हो भने मलाई बताइदिनोस्, संसारमा त्यस्तो कुन देश छ जसले एउटा मन्त्रालयमा ७ वटा युनियनको बोर्ड झुण्डाएर प्रगति गरेको होस्?

७. तपाईंहरूको राजनीतिले अपवादबाहेकका पत्रकारलाई त हरेक पार्टीको टोपी-संगठन बनाउन वाध्य पारिदियो र पत्रकारिताको आधारभूत मुल्य-मान्यताबाट विमुख बनाइदियो। अनि राजनीतिरूपमा नियुक्त अन्य उच्च पदाधिकारीले नियुक्तिपछि राजनीतिक टोपी फुकाल्छन् भन्ने अपेक्षा गर्ने?

८. तपाईंले भनेजस्तो नेपालको लोकतन्त्र ‘कतिपय ठाऊँमा’ मात्र चुकेको भए तपाईंले ‘दोबाटोमा लोकतन्त्र’ नामक बहसमा भागै लिन पर्ने थिएन र बहस गराउने कैलाश शिरोहियाले ‘लोकतन्त्रको आधारशीला खतरामा छ’ भन्नै पर्ने थिएन। चुकेको ‘कतिपय ठाऊँमा’ होइन। चुकेको ‘अधिकांश ठाऊँमा’ हो, त्यसैले आज यो स्थिति आयो।

९. तर आज यो स्थिति आयो भन्दा, तपाईं उदाहरण दिनुहुन्छ लोकतन्त्र विग्रेका पाकिस्तान, बंगलादेश, श्रीलङ्का जस्तो देशको। तपाईंको न्यूनतम मापदण्ड नै ‘तल’ भएपछि तपाईंबाट ‘उचाइ’ कसरी अपेक्षा गर्ने?

१०. सारांशमा, तपाईंहरूले नेपाली कांग्रेसलाई समाजवादका केही अंश अवलम्बन गरेको ‘मध्य दक्षिणपन्थी’ धारबाट जब पूर्णत: ‘प्रचण्डमार्गी मध्य-बामपन्थी’ धारमा आँखा चिम्लेर रूपान्तरण गर्नुभयो, यो देश सम्हालि नसक्नु हिसाबले क्षयिकृत भएर गएको छ।

११. यो देश अस्तित्वको संकट (Existential Crisis) उन्मुख छ। भावी पुस्ताको भविष्य बर्बाद छ। भावी पुस्ता भन्नाले तपाईं र मेरा छोराछोरी भनेको होइन। उनीहरू त राम्रो स्कूल जान्छन्/गए। राम्रो विश्वविद्यालयमा पढ्छन्/पढे। मैले यो देशको संभवत: ९० प्रतिशत छोराछोरीको कुरा गरेको। देश र भावी पुस्ताको बारेमा सोच्ने कि नसोच्ने?

१२. तपाईंहरूको ‘राजनीतिक Sunk Cost Fallacy’ बाट बाहिर ननिस्किने जिद्दी र हठले यो देश नै सिद्याउने भयो। विचार गर्नुहोला। भोली देश भड्खालोमा पर्यो भने ‘३० वर्षे पञ्चायति शासनकालले गर्दा यस्तो स्थिति आयो’ नभन्नुहोला। बाँकी तपाईंको मर्जी!

साँच्चिकै शुभचिन्तक
रविन्द्र  मिश्र

https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Frabin.mishra%2Fvideos%2F890311936564264%2F&show_text=false&width=267&t=0

परराष्ट्रमन्त्री राणाको स्वागतका लागि फूलमालासहित उपस्थित हुन डडेल्धुरा कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले परराष्ट्रमन्त्री डा. आरजु राणा गृहजिल्ला आउँदा फूलमालासहित स्वागतका लागि उपस्थित हुन आग्रह गरेको छ ।

पार्टीका डडेल्धुरा जिल्ला सभापति भीमबहादुर साउदले विज्ञप्ति जारी गरी शुक्रबार दिउँसो परराष्ट्रमन्त्री राणा डडेल्धुरा आउने कार्यक्रम रहेकाले स्वागतका लागि फूलमालासहित उस्थित हुन आग्रह गरेका हुन् । परराष्ट्र मन्त्री राणालाई डडेल्धुरा बसपार्कमा भेला भएर स्वागत गर्ने कार्यक्रम छ।

रोशी गाउँपालिकाले विपद्प्रभावितको पुनःस्थापना एवं पुनर्बासका लागि विशेष बजेटको व्यवस्था गर्ने

काभ्रे । रोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि बजेट व्यवस्थापन गर्न गाउँसभाको बिशेष अधिवेशन आह्वान गरेको छ ।

जाडोयाम सुरु भैसकेकाले गाउँपालिकाले आफैं पुनर्बासको योजना तयार गरेर तत्काल बाढीपहिरो प्रभावितलाई ‘न्यानो’ प्रदान गर्न छुट्टै बजेट ब्यवस्थापन गर्न गाउँसभाको बिशेष अधिवेशन आह्वान गरेको जनाएको छ ।

गत असोज दोस्रो साताको अविरल बर्षाका कारण बाढीपहिरोले जनधनको क्षति पुर्याएपछि १५औं अधिबेशनले चालु आर्थिक बर्षको योजनाका लागि बिनियोजित बजेटबाट केही प्रतिशत कटौती गरी विपद् ब्यवस्थापन गर्न विशेष सभाको आह्वान गरिएको गाउँपालिकाले जनाएको छ ।

विपद् प्रभावित परिवारका लागि राहत, पुनःस्थापन एवं पुनर्बासका कार्यक्रम सञ्चालन गर्न बिशेष अधिबेशन बोलाइएको अध्यक्ष दिनेश लामाले बताए । “बिशेष अधिबेशनमार्फत केही साधारण योजना कटौती एवं केही योजनाको केही प्रतिशत कटौती गर्न लागेका हौँ”, उनले भने ।

गाउँपालिकलो शुक्रबार गाउँसभाको बिशेष अधिवेशन आह्वान गरेको हो । कार्यालयले बागमती प्रदेशको गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धि ऐन–२०७५, को दफा ३ को उपदफा १ बमोजिम गाउँसभाको बिशेष अधिवेशन आह्वान गरेको जनाएको छ । अधिवेशन सकिएलगत्तै विपद व्यवस्थापनका लागि योजना तयार गरिने अध्यक्ष लामाले बताए ।

उक्त गाउँपालिकामा बाढीपहिरोले १२ जनाको अकालमा निधन भएको थियो । कार्यालयका अनुसार बाढीपहिरोबाट चार सय ८२ परि पूर्णरुपमा तथा आठ सय ८३ घर आंशिक रुपमा क्षति पुगेको थियो । यस्तै दुई हजार पाँच् सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको जनाइएको छ । यसैगरि एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, छ ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो ।

बाढीपहिरोले भर्खरै निर्माण सम्पन्न भएको डम्फू उद्यान, १० शैय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको छ ।

कार्यालयले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाडाकुँडा वितरण तथा बाढीपहिरोबाट पूर्णरुपमा घर क्षति भई मृतक तथा समस्यामा परेका एक सय १० परिवारलाई प्रारम्भिक नगद तथा अन्य राहत उपलब्ध गराइएको तथा बाढीपहिरोका परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले किरिया खर्च वापत रु ५० हजार थप गरी नगद राहत हस्तान्तरण गरेको जनाएको छ । 

तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य बिहीबार तोलामा दुई हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन बिहीबारका लागि एक लाख ६० हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार नौ सय ४० रुपैयाँ मा कारोबार भएको चाँदी बिहीबारका लागि भने एक हजार नौ सय पाँच रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको छ ।

बाढीपीडितलाई कर्मचारी महासंघद्वारा सात लाख ७७ हजार सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि सात लाख सतहत्तर हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

महासंघले बिहीबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सात लाख सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासंघ र संगठनका पदाधिकारीहरूले चेक हस्तान्तरण गरेका हुन् ।

यो सहयोग संकलनमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको महत्त्वपूर्ण भूमिका रहेको महासंघले जानकारी गराएको थियो ।

सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रसेवासँगै जनताले भोग्नुपरेको विपत्तिमा कर्मचारीहरूले सहयोग संकलन गरेकोमा धन्यवाद दिए ।

प्राकृतिक विपत्तिले सिर्जना गरेको संकट समाधानका लागि सरकारमा हुँदा पनि नहुँदा पनि आफ्नो पार्टी निरन्तर अग्र मोर्चामा रहेर काम गरेको उल्लेख गर्दै उनले पार्टीनिकट शुभेच्छुक संगठनहरुले पनि यसमा योगदान गर्दा पार्टीलाई थप ऊर्जा प्राप्त हुने बताए ।

यस पटकको बाढीपहिरोको बेलामा आफ्नो पार्टीले सबैभन्दा पहिले पहलकदमी लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रभावित स्थलमा निरन्तर खटेर उद्धार, राहत र पुनर्स्थापनामा लाग्ने सबैलाई धन्यवाद पनि दिए ।

राहत र पुनर्स्थापनाका कामले अझै गति नलिएको उल्लेख गर्दै उनले दुई वर्षअघिका भूकम्पपीडितदेखि अहिलेका बाढीपहिरो पीडित सबैलाई पुरानै अवस्थामा फर्काउन सबै लाग्नुपर्ने र त्यसमा कर्मचारीहरूले आफ्नो कार्यक्षेत्रबाट बढी योगदान गर्नुपर्ने बताए ।

एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न निर्देशन दिएकी छन् ।

बिहीबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाको निरीक्षणका क्रममा मन्त्री भट्टराईले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन निर्देशन दिएकी हुन् ।

त्यसक्रममा मन्त्री भट्टराइले चिकित्सा शिक्षा आयोग, मान्यता तथा समकक्षता, छात्रवृत्ति र वैदेशिक सम्बधनमा सञ्चालित विद्यालय सम्बद्ध काम गर्ने शाखाको निरीक्षण गरी कार्यप्रवाह, समस्या र चुनौतीबारे जानकारी समेत लिएकी थिइन् ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँगको अन्तरक्रियामा मन्त्री भट्टराइले अनुसन्धानलाई वास्तविक बनाई अनुसन्धानका उपलब्धिलाई कार्यान्वयन गर्नका निम्ति योजनासहित अन्तर निकाय समन्वय गर्न सुझाव दिइन् ।

उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेका श्रब्यदृश्य सामग्रीलाई विद्यार्थीको सहज पहुँचमा पुर्याई विशेषतः कक्षा १० र १२को उपलब्धि सुधार गर्न सक्रिय हुन सबैलाई सचेत गराइन् । प्राप्त स्रोत साधनबाट छिटो छरितो सेवा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमति पत्र (NOC) र छात्रवृत्तिसम्बन्धी कामप्रति सन्तुष्टि व्यक्त गर्दै जनसेवामा समर्पित हुन कर्मचारीलाई आग्रह गरिन् ।

जाडो छल्न आगन्तुक चरा चितवनमा

चितवन । जाडो मौसमसँगै विभिन्न देशबाट जाडो छल्न चरा चितवन आउने क्रम शुरू भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुसलगायत देशबाट चराहरू आएका हुन् ।

नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन् । उनले भने, ‘अहिले नदी किनारमा आगन्तुक चार देख्न थालिएको छ । योसँगै चराहरू हेर्नका लागि आउने पर्यटकसमेत आइरहेका छन् ।’

चखेवा, जलेवा, कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँसलगायत चराहरू आएको उनले बताए । नेपालमा आउने पर्यटकमध्ये चार प्रतिशत पर्यटक चरा हेर्न आउने गरेको उनको भनाइ छ ।

विभिन्न देशमा जाडो बढेसँगै हिउँ पर्ने र नदीहरू हिउँले ढाकिने हुँदा आहाराको खोजीमा चरा आउने गरेको उनले जानकारी दिए । यो समयमा एक सय ५० देखि एक सय ६० प्रजातीका चार यहाँ आउने गरेको उनको भनाइ छ ।

‘अहिले आएका चराहरूले बच्चा कोरल्ने काम गर्दैनन् । गर्मी मौसम शुरू भएसँगै यी फर्कने गर्दन्’ उनले भने । तराईको कोशी टापुदेखि कर्णालीसम्म पानीमा आश्रित चरा नेपाल आउने गरेको उनले जानकारी दिए ।

अहिले हाँस प्रजातिका चराहरू आइसकेको जनाउँदै उनले अन्य चराहरू पनि आउने क्रम जारी रहेको बताए ।

आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पक्की पुल निर्माण

त्रिशूली । विसंं २०२० सालमा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो ।

विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारी साधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको छ ।

एघार मिटर चौडा भएको दुई ‘लेन’को पुल निर्माणको लागि सरकारको रु आठ करोड लगानी भएको छ । ‘डिजाइन एण्ड बिल्ड मोडल’ अन्तर्गत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएभन्दा अधिक भारवहन क्षमता भएको पुल निर्माणकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । नवनिर्मित पुलबाट यातायातका साधन सञ्चालन भएका छन् ।

यसअघिको ट्रस ब्रिज आठ मेट्रिक टन क्षमताको एक लेनको थियो । यो पुलको भारवहन क्षमता ३५ मेट्रिक टन छ ।

ट्रम्प र बाइडेनबीच ह्वाइटहाउसमा भेटवार्ता

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ ।

दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएपछि ह्वाइट हाउस पुगेका ट्रम्पलाई बाइडेनले सौहार्द रूपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन् । भेटमा बाइडेनले ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका थिए ।

बाइडेनले भने, ‘हामी सहज रूपमा सत्ता हस्तान्तरणको आशा गर्दछौँ । तपाईंलाई त्यसमा कुनै कठिनाई नपुगोस् भन्ने हाम्रो चाहना छ ।’

जवाफमा ट्रम्पले सहज रूपमा सत्ता हस्तान्तरण हुनु राम्रो भएको बताएका थिए ।

उद्योगीहरुलाई मंसिर १२ गतेभित्र बक्यौता बुझाउन प्राधिकरणको समय सीमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उद्योगीहरुलाई डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेबापतको महसुल मंसिर १२ गतेभित्र बुझाउन आग्रह गरेको छ ।

बिहीबार सूचना जारी गरी प्राधिकरणले मंसिर १२ भित्र महसुलको बक्यौता बुझाउन उद्योगीलाई आग्रह गरेको हो । मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठक र प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ को बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको भन्दै प्राधिकरणले तोकिएको समयभित्र बक्यौता बुझाउन आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, ‘वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा आईआई र टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला । उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन (मंसिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनु होला ।’

तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभए नियमानुसार प्रक्रिया अगाडि बड्ने प्राधिकरणले चेतावनी दिएको छ ।

भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट खेल्ने

काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सबाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले धवनलाई टोलीमा अनुबन्ध गरेको हो ।

कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट सबै फरम्याटको क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गराएको हो । धवनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलिसकेका छन् ।

कर्णाली याक्समा ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक छन् । मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका तीव्रगतिका बलर सोमपाल कामी छन्। प्रतियोगिता मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ।

मधेशका मेलामा कुस्तीको ‘क्रेज’

सिरहा  । सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी मेला’मा पहलमानबीच हुने कुस्ती खेलको ‘क्रेज’ बढ्दै गएको छ। मङ्गलबारदेखि सुरु भएको खेल हेर्न यहाँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ।

मेलामा आयोजित कुस्ती प्रतियोगिताको दोस्रो दिनसम्ममा नेपाल र भारतका विभिन्न ठाउँबाट पहलवान सहभागी भएका मेला समितिका अध्यक्ष रामअधार यादवले बताए। उनले भने, “मेलालाई भव्य बनाउनका लागि विगतमा जस्तै यसपाली पनि नेपाल र भारतका नाम चलेका पहलवानको कुस्ती, मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम भइरहेका छन्।”

प्रत्येक वर्ष हरिबोधिनी एकादशीदेखि तीनदिनसम्म लाग्ने कमलदह मेलामा सिरहा, सप्तरी, धनुषा एवम् भारतको विभिन्न राज्यबाट श्रद्धालु भक्तजन आउने गर्दछन्। मेलामा अत्यधिक भीड हुने भएकाले शान्ति सुरक्षाका लागि सुरक्षा निकाय, स्थानीय स्वयंसेवक पनि खटिएको मेला समितिका अध्यक्ष यादवको भनाइ छ।

पौराणिक एवं धार्मिक महत्त्व बोकेको कमल फूलको नामले परिचित कमलदहमा स्नान गरेर पूजापाठ गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ। यहाँ स्नान एवम् पूजापाठ गर्न हरिबोधिनी एकादशीका साथै तीनै दिन भक्तजन तथा दर्शनार्थी आउने गर्दछन्।

प्रत्येक वर्ष लाग्ने यस मेलाले ऐतिहासिक तथा धार्मिकस्थल कमलदहको संरक्षण सम्बर्द्धनसँगै पर्यटकीय क्षेत्र बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको मिर्चैया नगरपालिका प्रमुख श्रवणकुमार यादवले बताए। मेलामा कुस्तीप्रेमीले यस खेललाई उत्सवकै रूपमा लिने गरेकाले यसको संरक्षण र सम्बर्द्धनमा नगरले विशेष महत्त्व दिएको उनको भनाइ छ।

‘ह्रस्व दीर्घ’ को ‘भगवान नै आमा हुन्’

काठमाडौं । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । फिल्मको ‘भगवान नै आमा हुन्’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा सत्यराज आचार्यले स्वर दिएका छन् । गीतमा आमाको महिमा वर्णन गरिएको छ। गीतमा बाबुल गिरीको शब्द रचना र संगीत छ । सन्तानका लागि एक आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव गीतमा प्रस्तुत गरिएको छ ।

भिडियोमा अभिनेत्री बिपना थापालाई आमाको रूपमा चित्रित गरिएको छ। नीता फिल्मस्को प्रस्तुति, चन्द्र पन्त निर्देशित फिल्ममा नेपाली र भारतीय कलाकारहरूको अभिनय छ । फिल्म नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा आगामी शुक्रबार रिलिज हुँदैछ ।

मैत्रीपूर्ण खेलमा नेपाल ताजकिस्तानसँग चार शून्यले पराजित

काठमाडौं । ताजकिस्तानमा भएको थ्री नेसन्स मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु टोलीसँग फराकिलो अन्तरले पराजित भएको छ ।

बुधबार राति ताजकिस्तानको दुसान्वी सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल ताजकिस्तानसँग ४–० को फराकिलो अन्तरले पराजित भएको हो ।

ताजिकिस्तानलाई जित दिलाउन अलिशेर ड्जहालिलोभ र शेर्भोनी माबात्शोएभले समान एक/एक गोल गरे । खेलको १९ औं मिनेटमा शेर्भोनीले गोल गर्दै ताजिकिस्तानलाई शुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा अलिशेरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

४५ औं मिनेटमा शेर्भोनीले व्यक्तिगत दोस्रो गोल गर्दै ताजिकिस्तानलाई पहिलो हाफमा ३–० गोलको अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा अलिशेरले गोल गर्दै ताजिकिस्तानलाई ४–० गोलको स्थितिमा ल्याएका थिए । अब नेपालले दोस्रो खेल मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ ।

उमा कुङफु सङ्घको अध्यक्षमा राई चयन

काठमाडौँ । नेपाल उमा कुङफु सङ्घको बुधबार सम्पन्न पाँचौँ साधारणसभाले सञ्जितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । यसअघि उनी केन्द्रीय कार्यसमितिको उपाध्यक्ष थिए ।

राईले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण र एक कास्यपदक जितेका छन् । सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स खेलमा उहाँले एक स्वर्ण र एक कास्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो । राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई संस्करणमा राईले दुई स्वर्ण जित्नुभएको छ ।

भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरि सकेका राईले विभिन्न घरेलु प्रतियोगितामा पनि मुख्य निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा रमेश महर्जन, सिद्धार्थ लामा तामाङ, मुन्नी सुवेदी तामाङ, राजदिस नेम्कुल, भूपेन्द्र गुरुङ र अनिमेशलाल श्रेष्ठ चयन हुनुभयो । त्यस्तै कमल मगर महासचिव, कृष्णकुमार मगर सचिव र सूर्य तामाङ कोषाध्यक्ष पदमा चयन भएका छन् । त्यसैगरी गुना गुरुङ, रत्न थापा राणा, रोजी श्रेष्ठ, शेरबहादुर गुरुङ र सुजन कक्षपति सदस्यमा चयन भए ।

साधारण सभामा नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स सङ्घका अध्यक्ष सुदीप पण्डित क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

यी हुन् उपनिर्वाचनमा रास्वपाका उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचनमा १७ जना उम्मेदवार छनोट गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि १७ उम्मेदवार छनोट गरेको हो । रास्वपाले प्रारम्भिक निर्वाचन (प्राइमरी) मार्फत उम्मेदवार टुंग्याउने घोषणा गर्दै आन्तरिक निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

जस अनुसार बुधबारसम्म सबै ठाउँमा उम्मेदवार चयन/निर्वाचित गर्ने कार्यतालिका बनाएको थियो। तर, रास्वपाले बुधबार अबेर सार्वजनिक गरेको विवरण अनुसार अधिकांश ठाउँमा उम्मेदवार टुंग्याउने प्रक्रियामा रहेको उल्लेख गरिएको छ। १६ मंसिरमा दुई ४४ पदका लागि उपनिर्वाचन हुँदैछ ।

काठमाडौँ–तराई द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष

काठमाडौं । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदैले समयमै पूरा हुने विश्वास लिएको छ । समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा रहेको संसदीय टोलीले बुधबार गरेको अनुगमनबाट सोचेभन्दा राम्रो प्रगति हासिल भएको निष्कर्ष निकालेको हो ।

        समिति सभापति रामहरि खतिवडाले द्रुतमार्गको काम द्रुततर गतिमा भइरहेको प्रतिक्रिया दिए । उनले भने, “नेपाली सेना अहोरात्र खटेर आयोजना सम्पन्न गर्ने दिशामा अघि बढिहरकोे छ । केही व्यवधान छन् भने त्यसलाई छलफलका माध्यमबाट समाधान गर्न सकिन्छ । सन्तोषजनक रुपमा काम भएको छ । सेनालाई धन्यवाद दिन चाहन्छौँ ।”

विकास निर्माणका लागि सबैले द्रुतगतिमा काम गर्ने हो भने मुलुक समृद्ध हुन धेरै समय नलाग्ने बताउँदै सभापति खतिवडाले भने, “यहाँको प्राविधिक टोलीको काम हेर्दा सुरुङ निर्माण गर्न नेपाली सेनासक्षम हुने देखिएछ । गौरवका आयोजना समयमै सम्पन्न गर्न पाइएमा मुलुकले ठूलो लाभ लिन सक्छ ।”

उनले राष्ट्रिय गौरवको सर्वाधिक महत्त्वको सो आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकारले आवश्यक साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

द्रुतमार्ग २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनालाई विभिन्न १३ वटा प्योकजमा छुट्याएर निर्माण काम भइरहेको छ । प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको कूल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ ।

       द्रुतमार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर फराकिलो हुनेछ । आयोजनाअन्तर्गत ललितपुरमा नौ, काठमाडौँमा चार दशमलव छ, मकवानपुर ४९ दशमलव ७७ र बारामा सात दशमलव सात दशमलव छ किमी सडक रहनेछ ।

द्रुतमार्गमा १० दशमलव ३०९ किमी लम्बाइको छ वटा सुरुङ रहनेछ । सो सडकमा विभिन्न स्थानमा कूल १२ दशमलव ८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक÷एक वटा इनटरचेञ्ज र ट्राल प्लाजा निर्माण गरिनेछ ।

        मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए । एसियाली मापदण्डका आधारमा निर्माण भइरहेको सो सडक आयोजनाको कूल लागत  दुई खर्ब ११ अर्ब  ९३ करोड लागत रहेको छ ।  सो आयोजनामा हालसम्म ६४ अर्ब ६२ करोड खर्च भइसकेको छ ।

        सांसद चित्रबहादुर केसीले काठमाडौँमा बसेर गरिएको अन्दाजभन्दा सडक निर्माणमा भएको प्रगति भिन्न रहेको प्रतिक्रिया दिए । “फास्ट ट्र्याकबारे पढ्थेँ, राज्यव्यवस्था समितिमा पनि कुराकानी हुन्थ्यो, काठमाडौँमा बसेर जे अन्दाज गरेका थिएँ, त्योभन्दा अहिले यहाँ आउँदा बेग्लै देखेँ”, उनले भने, “धेरै राम्रो काम भएको छ, बाँकी काम पूरा गरौँ, त्यसलाई समयमा सम्पन्न गर्न आफ्नोतर्फबाट सक्दो कोसिस गर्छु ।”