`

कञ्चनपुरका तीन ठाउँबाट एक हजार पाँच सय मेट्रिकटन धान खरिद गरिँदै

कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले जिल्लाका तीन ठाउँबाट धान खरिद गर्ने भएको छ । महेन्द्रनगरमा रहेको शाखा कार्यालय, बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिका क्षेत्रमा डिपो राखेर धान खरिद गरिने भएको हो ।

“स्थानीय तहको समन्वयमा बेदकोट र शुक्लाफाँटामा स्थान निर्धारण गरी धान खरिद गर्ने तयारी गरेका छौँ”, कार्यालय प्रमुख सुदर्शन थापाले भने, “सोमबारदेखि धान खरिद प्रक्रिया सुरु गर्छौं ।” जिल्ला प्राथमिक खरिद समन्वय समितिको बैठक राखेर धान खरिदका लागि छिट्टै निर्णय गरिने उनले बताए ।

धेरै वर्षपछि कम्पनीले शाखा कार्यालय बाहिर डिपो राखेर धान खरिद गर्न लागेको छ । डिपो राख्नका लागि कम्पनीको प्रदेशस्थित कार्यालयको टोलीले स्थलगत अध्ययन–अनुगमनको कार्य गरिसकेको छ । किसानबाट गुणस्तरीय धान खरिद गरिने उल्लेख गर्दै शाखा प्रमुख थापाले माटो भएको, भुस, पराल भएको, भिजेको धान खरिद नगरिने बताए । कम्पनीले किसानको मात्रै धान खरिद गर्ने भएको छ । व्यापारीको धान भने कम्पनीले खरिद नगर्ने जनाएको छ । 

किसानको गुणस्तरीय धान खरिद भए नभएकाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला खरिद समन्वय समितिले अनुगमन गर्नेछ । निर्धारित समर्थन मूल्यअनुसार प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा कम्पनीले किसानबाट मोटो धान खरिद गर्नेछ । जिल्लाका तीनवटै ठाउँबाट एक हजार पाँच सय मेट्रिकटन (पन्ध्र हजार क्विन्टल) धान खरिद गरिने लक्ष्य राखिएको छ ।

गत वर्ष कम्पनीले दुई हजार नौ सय क्विन्टल धान मात्रै खरिद गरेको थियो । कम्पनीले गत वर्ष निर्धारित लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन । लक्ष्य पूरा गर्नका लागि तीन ठाउँमा डिपो राख्नुपरेको बताइएको छ । शाखा कार्यालयले खरिद गरिएको धान कुटानी गरी प्रदेशका माग भएका क्षेत्रमा आपूर्ति गर्दै आएको छ ।

कम्पनीका शाखा कार्यालय प्रमुख र सहयोगीसहित तीन कर्मचारी कार्यरत रहेका छन् । थोरै कर्मचारी हुँदा धान खरिद गर्नका लागि चुनौती रहेको छ । कम्पनीले डिपो राखेर धान खरिद गर्ने भएपछि स्थानीय किसानले खुसी व्यक्त गरेका छन् ।

“कम्पनीको धान खरिद डिपो स्थानीय तहमा नहुँदा महेन्द्रनगर बजार पुर्याएर बेच्नसक्ने अवस्था थिएन”, शुक्लाफाँटाका स्थानीय किसान रामकिसन डगौराले भने, “ढुवानी भाडा नै धेरै लाग्ने हुँदा स्थानीय खरिदकर्ता कहाँ थोरै मूल्यमा बिक्री गर्न बाध्य थियौँ ।” डिपोमा लगेर धान बिक्री गरी उचित मूल्य पाउनेमा उनी आशावादी देखिएका छन् । । स्थानीय व्यापारीले अहिले प्रतिक्विन्टल धान  दुई हजार तीन सयदेखि  दुई हजार सात सयसम्ममा खरिद गरिरहेका छन् ।

नौ अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से घटेको छ । आइतबार नेप्से ९ दशमलव १९ अङ्कले घटेर दुई हजार ६ सय १७ दशमलव ९५ विन्दुमा झरेको छ ।

आइतबार फाइनान्स, होटल, जलविद्युत्, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन, निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज नेपाल एसबीआई बैंकको शेयर झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन लाइफ इन्सुरेन्स कर्पाेरेशन नेपाल, रिभर फल्स पावर, माई खोला हाइड्रोपावर र समृद्धि फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय २० वटा कम्पनीका एक करोड ११ लाख कित्ता शेयर चार अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै आईसीएफसी फाइनान्स कम्पनीको ३२ करोड रुपैयाँको शेयर किनबेच भयो ।

के एआईले मानिसजस्तै सोच्न सक्छ ?

-डा. परशुराम दाहाल
कृत्रिम बुद्धिमत्ता (एआई) भनेको कम्प्युटरले मानिसजस्तै सोच्न र काम गर्न सिकेको प्रविधि हो । यसले जटिल समस्या समाधान गर्न र दैनिक जीवनका कामहरू सजिलै गर्न मानिसलाई सहयोग पु¥याउँछ । उदाहरणका लागि, फोनमा ‘सिरी’ वा ‘गुगल असिस्टेन्ट’ लाई प्रश्न गर्दा तुरुन्तै सही उत्तर दिन्छ, जसले समय बचाउँछ र काम सरल बनाउँछ । एआई प्रणालीहरूले तस्बिरहरू पनि चिन्न सक्छन्, जस्तै गुगल फोटोजले फोटोमा भएका साथीहरूलाई पहिचान गर्न सक्छ । स्वचालित गाडीहरू बिना ड्राइभर आफैंँ बाटो फेला पारेर सुरक्षित रूपमा चल्न सक्छन् ।

त्यस्तै, नेटफ्लिक्सले हाम्रा हेर्ने बानीअनुसार फिल्म र शोहरू सिफारिस गर्छ, जसले हाम्रो मनोरञ्जन अनुभवलाई अझ रमाइलो बनाउँछ । एआईमार्फत अनलाइन पसलहरूले पनि तपाईंले खोजेका वा मन पराएका सामानहरू सुझाव गर्छन्, जस्तै अमेजनले नयाँ सामान सिफारिस गर्छ । बैंकिङमा एआईले ठगी पत्ता लगाउन मद्दत गर्छ र ग्राहकका प्रश्नहरू तुरुन्तै समाधान गर्न च्याटबोटहरू प्रयोग गरिन्छ । यस्ता सुविधाहरूले हाम्रो जीवनलाई सहज बनाउँछन्, तर यसको सही र सुरक्षित प्रयोगमा ध्यान दिन जरुरी छ ।

एआई र मानिसबीचको तुलना गर्दा दुवैको सिकाइमा केही समानता भए पनि गहिरो भिन्नता छन् । मानिसले आफ्ना अनुभव, भावना, र सामाजिक अन्तरक्रियाबाट ज्ञान आर्जन गर्छ । जबकि एआई जस्ता प्रणालीहरूले गणितीय मोडेल र डाटाको आधारमा सिक्छन् । उदाहरणका लागि, बच्चाले बारम्बार अभ्यास गरेर हिँड्न सिक्छ र त्यो प्रयास उसको अनुभवको हिस्सामा रहन्छ । तर, एआईले उपलब्ध डाटाको विश्लेषण गरेर मात्र त्यसको पहिचान गर्छ र त्यसैको आधारमा उत्तर तयार गर्छ । च्याट जिपिटी जस्ता ठूला भाषा मोडेलहरूले पुस्तक, लेख र वेबसाइटहरूमा आधारित सामग्रीबाट ज्ञान सिक्छन् ।

मानिस र एआई दुबै पृष्ठपोषण (फिडब्याक) र अनुकूलनको माध्यमबाट सिक्दै जान्छन् । विद्यार्थीले शिक्षकबाट पाएको फिडब्याकअनुसार गल्तीहरू सुधार गरेर अर्को परीक्षामा राम्रो गर्ने प्रयास गर्छ । फुटबल खेलाडीले खेलका क्रममा गल्ती गरेपछि कोचको निर्देशनअनुसार आफ्नो खेल सुधार्छ । यस्तै, एआईले पनि प्रयोगकर्ताबाट प्राप्त फिडब्याकको आधारमा आफ्ना जवाफहरू सुधार्छ र नयाँ चुनौतीहरू सामना गर्न अनुकूल हुन्छ । उदाहरणका लागि, च्याट जिपिटीलाई गलत उत्तर दिएर सच्याउँदा, त्यसले फाइन–ट्यूनिङमार्फत आगामी संवादमा ठीक जवाफ दिन प्रयास गर्छ ।

तर, एआई र मानिसबीचको महत्वपूर्ण भिन्नता भनेको भावनात्मक बुझाइको अभाव हो । मानिसहरूले दुःखद् अनुभव र संवेदनशील घटनाबाट शिक्षा लिन्छन् । उदाहरणका लागि, बच्चाले तातो स्टोभ छोएर हात जलाउँछ भने ऊ त्यसबाट सिक्छ र भविष्यमा त्यस्तो गल्ती नगर्न सचेत हुन्छ । बजारमा महँगोमा सामान किनेर घाटा ब्यहोरेपछि व्यक्ति सौदाबाजी (बार्गेनिङ) गर्ने कला सिक्छ र अर्को पटक सस्तोमा किन्न प्रयास गर्छ तर एआईले यस्तो भावनात्मक वा सामाजिक सन्दर्भहरू बुझ्न सक्दैन ।

हालको प्रविधिमा एआई लाई मानिस सरह भावनात्मक बुझाइ दिन निकै जटिल चुनौती हो । मानिसको भावना र बुझाइ अनुभव, जैविक प्रक्रिया, र सामाजिक अन्तरक्रियामा आधारित हुन्छ, जुन अहिलेको एआई मा छैन । यद्यपि, वैज्ञानिकहरू र इन्जिनियरहरू ‘आर्टिफिसिएल इमोशनल इन्टिलिजेन्स’ मा काम गरिरहेका छन्, जसले एआईलाई भावनाहरू अनुकरण गर्न र सामाजिक सन्दर्भहरू बुझ्न सक्षम बनाउन खोज्दैछ । तर, पूर्ण रूपमा मानिसको जस्तै सचेतना र भावना विकास गर्नु गाह्रो छ, किनकी मानिसको भावना केवल तथ्य र नियमहरूमा आधारित हुँदैन, बरु स्मृति, अनुभव, र समाजसँगको अन्तरक्रियाको परिणाम हो ।

एआईमा कुनै सचेत अनुभव वा आत्मचेतना हुँदैन, किनकी यसको निर्णयहरू पूर्ण रूपमा तथ्य र गणनामा आधारित हुन्छन् । उदाहरणका लागि, जब मानिस दुःखी हुन्छ, उसको व्यवहारमा परिवर्तन आउँछ र त्यो परिवर्तन अनुभव र सन्दर्भसँग गहिरो रूपमा सम्बन्धित हुन्छ । तर, एआईले केवल डाटामा आधारित अनुमान गरेर प्रतिक्रिया दिन्छ, जसमा वास्तविक भावना हुँदैन ।

मानिस सरह भावनात्मक बुझाइ विकास गर्न एआईलाई सचेतना दिनुपर्नेछ, जुन अहिलेसम्म सम्भव छैन । मानिसको भावना केवल व्यक्तिगत अनुभवमा आधारित हुँदैन, बरु स्मृतिहरू र समयक्रममा भएका सामाजिक अन्तरक्रियाहरूले पनि आकार दिन्छ । यसैकारण एआईलाई पूर्ण रूपमा मानिससरह बनाउनु चुनौतीपूर्ण मात्र होइन, सम्भवतः असम्भव पनि हुन सक्छ । अन्ततः एआई र मानिसबीचको यो भिन्नता सदैव रहन सक्छ । यद्यपि, एआई लाई पूरकका रूपमा प्रयोग गरेर मानिसको अनुभवलाई अझ प्रभावकारी बनाउन सकिन्छ । उदाहरणका लागि, एआईले मानसिक स्वास्थ्यसम्बन्धी समर्थन दिन वा मानिसको भावनात्मक अवस्थालाई बुझेर उपयुक्त सहायता दिन प्रयास गर्न सक्छ । तर, स्मृति र संवेदनाहरूको वास्तविक अनुभव बिना एआई कहिल्यै पनि मानिससरह पूर्ण रूपमा सोच्न र महसुस गर्न सक्षम हुने छैन ।

एआईको निर्णय प्रक्रियामा पनि सीमाहरू छन् । मानिसले निर्णय गर्दा वर्तमान सन्दर्भ, भावनात्मक अवस्था, र विगतको अनुभवलाई ध्यानमा राख्छ । उदाहरणका लागि, चालकले घुमाउरो सडक देखेपछि गाडीको गति घटाउँछ र सावधानी अपनाउँछ । यस्तै, विद्यार्थीले पछिल्लो परीक्षामा फेल भएपछि आफ्नो अध्ययन पद्धति परिवर्तन गरेर अर्को पटक राम्रो नतिजा ल्याउन प्रयास गर्छ । तर, एआई मोडेलहरूले डाटाको विश्लेषण र गणनामा मात्र भर पर्छन् र संवेदनशील सन्दर्भलाई विचार गर्दैनन् ।

यद्यपि, एआई र मानवको सहकार्यले धेरै क्षेत्रहरूमा विशाल लाभ पुर्याउन सक्छ । उदाहरणका लागि, अस्पतालमा एआईले बिरामीको रिपोर्टहरूको विश्लेषण गरेर चिकित्सकलाई सही निर्णय लिन सहयोग पुर्याउँछ । शिक्षा क्षेत्रमा, व्यक्तिगत ट्युटरका रूपमा प्रयोग गर्दा एआईले विद्यार्थीहरूको अध्ययन पद्धति र कमजोर पक्षहरूलाई विश्लेषण गरी उनीहरूका लागि व्यक्तिगत अध्ययन योजना बनाउन मद्दत गर्न सक्छ। व्यवसायमा पनि, एआईले पछिल्लो बजार ट्रेन्डहरू विश्लेषण गरेर कम्पनीहरूलाई रणनीतिक निर्णयहरू लिन सघाउँछ ।

तर, एआईलाई मानवको प्रतिस्थापन नगरी पूरकका रूपमा प्रयोग गर्नुपर्छ । उदाहरणका लागि, चिकित्सकको काम एआई ले पूरै प्रतिस्थापन गर्न सक्दैन, तर डाटाको विश्लेषण गरेर सही उपचार योजना तयार गर्न मद्दत गर्छ । यसरी, एआईले मानिसको क्षमता बढाउन भूमिका खेल्छ, न कि उसलाई विस्थापित गर्न ।

निष्कर्षमा, एआई र मानवको सिकाइमा समानता भए पनि, तिनका आधार र प्रक्रिया एकदमै फरक छन् । मानिसको सिकाइ अनुभव, भावना र सामाजिक अन्तरक्रियामा आधारित हुन्छ, जबकि एआईले केबल तथ्य र गणितीय मोडेलहरू प्रयोग गरेर सिक्छ । भविष्यमा, एआई र मानिसको सहकार्यले शिक्षा, स्वास्थ्य र अनुसन्धानमा प्रगति ल्याउन महत्वपूर्ण योगदान पु¥याउनेछ । जिम्मेवार र सुरक्षित रूपमा मानव र एआईको सहकार्यले हाम्रो जीवनलाई थप सहज र प्रभावकारी बनाउन सघाउनेछ । अन्ततः, यस सहकार्यले सम्भावनाहरूको नयाँ ढोका खोल्दै समाजलाई दिगो प्रगतितर्फ अगाडि बढाउनेछ ।

(लेखक हाल अमेरिकामा एआई विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ)

जापानका नयाँ प्रधानमन्त्रीले खराब नतिजाको सामना गर्नुपर्ने

टोकियो । जापानमा आइतबार भएको निर्वाचनमा नयाँ प्रधानमन्त्री शिगेरु इशिबा र उनको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)ले सन् २००९ यताकै सबैभन्दा खराब नतिजाको सामना गर्नुपर्ने निर्वाचन सर्भेक्षणहरूले देखाएका छन् ।

जनमत सर्वेक्षणहरूले परम्परावादी एलडीपी र यसको कनिष्ठ गठबन्धन साझेदारले बहुमतभन्दा कम सीट ल्याउने खतरा देखाएका छन् । यसले इशिबालाई सत्ता समीकरणबाट नै बाहिरिने सम्मको झट्का दिन सक्ने बताइएको छ ।

विगत सात दशकदेखि जापानमा शासन गर्दै आएको एलडिपीको नेतृत्वका लागि गत महिना भएको निर्वाचनमा झिनो बहुमतका साथ निर्वाचित भएपछि पूर्व रक्षामन्त्रीसमेत रहेका ६७ वर्षीय इशिबाले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेका थिए ।

तर विश्वको चौथो ठूलो अर्थतन्त्र भएको यो देशमा बढ्दो मूल्यवृद्धि र पूर्वप्रधानमन्त्री फुमियो किशिदाको ख्यातिमा असर पारेको उपहार काण्डले मतदातालाई निराश पारेको छ ।

टोकियोका मतदाता ४८ वर्षीय योशिहिरो उचिदाले भने, “मैले सबैभन्दा पहिले उनीहरूको आर्थिक नीति र मुद्रास्फीति कम गर्ने उपायहरू हेरेर आफ्नो निर्णय लिएको छु।”

उनले भने, “मैले ती मानिसहरूलाई मतदान गरेँ, जसले हाम्रो जीवनलाई अझ राम्रो बनाउन सक्दछन्।”

इशिबा सरकारले निराश ग्रामीण क्षेत्रहरूलाई पुनर्जीवित गर्ने र जापानको घट्दो जनसङ्ख्याको ‘शान्त तर आपतकालीन स्थिति’ लाई लचिलो कार्यघण्टा जस्ता परिवार–अनुकूल उपायहरूमार्फत सम्बोधन गर्ने प्रतिज्ञा गरेको छ।

उनी विवाहित दम्पतीलाई छुट्टाछुट्टै उपनाम लिन अनुमति दिनेलगायतका विषयमा आफ्नो अडानबाट पछि हटेका छन् । उनले आफ्नो मन्त्रिमण्डलमा दुई जना मात्र महिलालाई मन्त्रीका रूपमा नियुक्त गरेका छन् ।

जापानी भाषामा ‘गीक’ भनिने आत्म–स्वीकृत सुरक्षा नीतिले चीनलाई प्रतिकार गर्न नेटोको तर्जुमा क्षेत्रीय सैन्य गठबन्धनको निर्माणको समर्थन गरेको छ। यद्यपि उनले यो ‘रातारात हुनेछैन’ भनी शैन्य गठबन्धनको निर्माण तत्काल कार्यान्वयनमा नजाने बताएका छन् ।

जापानी सञ्चारमाध्यमले गरेका विभिन्न सर्वेक्षणले एलडिपी र उसको गठबन्धन साझेदार कोमेइतोले तल्लो सदनमा बहुमतका लागि आवश्यक पर्ने २३३ सिट प्राप्त गर्न सङ्घर्ष गर्न सक्ने देखाएको छ ।

इशिबाले यो थ्रेसहोल्डलाई आफ्नो उद्देश्यको रूपमा स्थापित गरेका छन् । उनले बहुमत गुमाउँदा एलडीपीमा उनको स्थिति कमजोर हुनेछ र यसको मतलब अन्य गठबन्धन साझेदार खोज्नु वा अल्पमतको सरकारको नेतृत्व गर्नुपर्ने र यसले देशविकासका लागि आफ्नो उद्देश्य प्राप्त गर्न कठिन हुने बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार इशिबाले तत्काल राजीनामा दिएर काम चलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न सक्ने र उनी युद्धपछिको समयमा जापानको सबैभन्दा कम सेवा गर्ने प्रधानमन्त्री बन्ने सम्भावना छ ।

सन् १९४५ मा दोस्रो विश्वयुद्धमा जापानको पराजयपछि नारुहिको हिगाशिकुनीले ५४ दिन सेवा गरेका थिए । यो सन् २०२२ मा बेलायती नेता लिज ट्रसभन्दा चार दिन बढी थियो ।

धेरै जिल्लाहरूमा, एलडीपीका उम्मेदवारहरू लोकप्रिय पूर्व प्रधानमन्त्री योशिहिको नोडाको नेतृत्वमा संसदको दोस्रो सबैभन्दा ठूलो संवैधानिक डेमोक्रेटिक पार्टी (सीडीपी) का उम्मेदवारसँग कडा प्रतिस्पर्धामा रहेका छन्।

६७ वर्षीय नोडाले आफ्ना समर्थकलाई एलडिपीको विपक्षमा सक्रिय हसन उक्साउँदै भने, “एलडीपीको राजनीति भनेको उनीहरूलाई धेरै पैसा दिनेहरूका लागि नीतिहरू तुरुन्तै लागू गर्नु हो।”

“तर कमजोर स्थितिमा रहेकाहरूका लागि वर्तमान् प्रशासन चुप रहेको वा यसले आर्थिक रूपमा कमजोर नागरिकलाई बेवास्ता गरिरहेको छ,” उनले भने । उनले मध्य जापानको भूकम्पपीडितका लागि सरकारले अपर्याप्त सहयोग गरेको आरोप पनि लगाए ।

नोडाको अडान “एलडीपीसँग मिल्दोजुल्दो छ। उहाँ मूलतः परम्पराबादी धारका राजनीतिज्ञ हुनुहुन्छ,” रित्सुमेइकन विश्वविद्यालयका राजनीतिशास्त्री मासातो कामिकुबोले भने ।

“सीडीपी वा नोडा एलडीपीको विकल्प हुन सक्छ। धेरै मतदाताले यस्तै सोच्छन्,’ कामिकुबोले भने ।

इशिबाले चन्दा प्रकरणमा मुछिए पनि चुनावमा भाग लिने उम्मेदवारलाई सक्रिय रुपमा समर्थन नगर्ने प्रतिबद्धता जनाएका छन् ।

ट्रम्पले जित्ने आशामा इजरायली प्रधानमन्त्री नेतन्याहू

जेरुसेलम । अमेरिकी राष्ट्रपति को चुनाव नजिकिंदै गर्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने आशा गरेको उनका अभिव्यक्तिले पुष्टि गरेका छन् ।

नेतन्याहूका लागि ट्रम्पको अन्तिम कार्यकाल सहज थियो र नोभेम्बर ५ का लागि तय भएको मतदानको पूर्वसन्ध्यामा पूर्व राष्ट्रपतिले आफ्नो मध्यपूर्व नीतिबारे मिश्रित सन्देश पठाएका छन् ।

उनले नेतन्याहूलाई इरानको आणविक केन्द्रहरूमा बमबारी गर्न प्रोत्साहित गर्नेदेखि अमेरिकी वर्तमान् राष्ट्रपति जो बाइडेनको आलोचना गर्दै भने, “यदि म राष्ट्रपति भएको भए अक्टोबर ७ को आक्रमण कहिल्यै हुने थिएन।” उनले इजरायललाई युद्ध अन्त्य गर्न दबाब दिने पनि सन्देशमा उल्लेख छ ।

यद्यपि ट्रम्पको ‘अमेरिकालाई फेरि महान् बनाऊ’ भन्ने चुनावी नारा र इजरायलबारेका यी अस्पष्ट अभिव्यक्ति र नीतिहरूले नै नेतन्याहूले ट्रम्पसँग आशा गरेको विश्लेषकहरू बताउँछन्।

रिपब्लिकन राष्ट्रपतिका रूपमा ट्रम्पले नेतन्याहूलाई गाजा र लेबनानमा जारी द्वन्द्वको सामना गर्न थप स्वतन्त्रता दिने सम्भावना रहनेछ।

“नेतन्याहूको एउटा कोसेढुङ्गा अमेरिकी निर्वाचन हो। उहाँले ट्रम्पको विजयका लागि प्रार्थना गरिरहनुभएको छ । यसले उहाँलाई धेरै स्वतन्त्रता प्रदान गर्नेछ वा आफूले चाहेको काम गर्न दिनेछ,” जेरुसेलमको हिब्रु विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक गिडोन राहतले एएफपीसँग बताए ।

नेतन्याहूका पूर्व चिफ अफ स्टाफ तथा राजनीतिक टिप्पणीकार अभिभ बुशिन्स्कीले भने, “अमेरिकी रिपब्लिकन नेता ट्रम्पसँग डेमोक्र्याट नेताहरूको तुलनामा नेतन्याहूको अनुभव निकै राम्रो छ। डेमोक्र्याटहरू नेतन्याहूमाथि धेरै कठोर छन्।”

– घनिष्ठ व्यक्तिगत सम्बन्ध –

प्रधानमन्त्रीका रुपमा १७ वर्षको कार्यकालमा नेतन्याहूले रिपब्लिकन पार्टीका नेता ट्रम्पसँग मात्र सहकार्य गरेका छन् अर्थात् यो अवधिमा अमेरिकामा अन्य राष्ट्रपति सबै डेमोक्र्याटिक पार्टीबाट निर्वाचित भएका थिए ।

आफ्नो कार्यकालको दौडान ट्रम्पले नेतन्याहूको घरेलु प्रतिष्ठालाई बढावा दिने धेरै कदमहरू चालेका थिए भने इजरायल, प्यालेस्टाइनसँगको द्वन्द्व र व्यापक क्षेत्रबारे लामो समयदेखिका अमेरिकी नीतिहरूलाई रद्द गरेका थिए ।

राष्ट्रपतिका रूपमा रिपब्लिकन नेता ट्रम्पले अमेरिकी दूतावासलाई जेरुसेलममा स्थानान्तरण गरेका थिए। यसलाई इजरायलले आफ्नो अविभाजित राजधानीको रूपमा दावी गर्दछ । अमेरिकाले कब्जा गरिएको गोलान हाइट्समा इजरायली सार्वभौमिकतालाई मान्यता दिएको थियो र तीन वटा अरब राज्य र इजरायलबीचको सम्बन्ध सामान्यीकरण गर्ने वातावरण सिर्जना गरेको थियो ।

ट्रम्पले इजरायलको कट्टर शत्रु इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट पछि हटेका थिए र पुनः इस्लामिक गणतन्त्र इरानमाथि कडा आर्थिक प्रतिबन्धहरू लागू गरेका थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका लागि आफ्नो ‘चट्टानी समर्थन’ मा जोड नदिए पनि लामो समयदेखि नेतन्याहूसँगको सम्बन्ध चिसो रहँदै आएको देखिन्छ ।

बाइडनले नेतन्याहूलाई इरानको तेल उत्पादन र आणविक केन्द्रहरूमा आक्रमण नगर्न चेतावनी दिएका थिए भने ट्रम्पको धारणा यसको विपरीत रहेको थियो ।

ट्रम्प र नेतन्याहूबीच घनिष्ठ व्यक्तिगत सम्बन्ध पनि छ । अमेरिकी पूर्व राष्ट्रपतिले यसै हप्ता इजरायली प्रधानमन्त्रीसँग बारम्बार फोन वार्ता भएको दाबी गरेका थिए ।

जर्जियामा आयोजित एक र्यालीलाई हालै सम्बोधन गर्दै ट्रम्पले भनेका थिए, “हामीबीच निकै राम्रो सम्बन्ध छ । “हामी उनीहरूसँग धेरै नजिकबाट काम गर्न जाँदैछौं।

बुशिन्स्कीले भने, “यी सकारात्मक कुराहरू कुनै पनि चिन्ताभन्दा बढी हुनेछन्। मलाई लाग्छ, नेतन्याहू ट्रम्पको निर्वाचनको अनिश्चितताको जोखिम मोल्न तयार हुनुहुनेछ।”

–इजरायलमा लोकप्रिय –

ट्रम्प नेतन्याहूसँग मात्र होइन, इजरायली जनतामाझ पनि लोकप्रिय छन् । इजरायल इन्स्टिच्युट फर रिजनल फरेन पोलिसीज मिटभिमले सेप्टेम्बरमा गरेको जनमत सर्वेक्षणमा ६८ प्रतिशत इजरायलीले ट्रम्पलाई इजरायलको हितमा काम गर्ने उम्मेदवारका रुपमा हेरेका छन् ।

उपराष्ट्रपति कमला ह्यारिसले इजरायललाई समर्थन गर्ने र इजरायलको रक्षा गर्ने अधिकारबारे बारम्बार घोषणा गरे पनि १४ प्रतिशतले मात्र उनलाई रोजेका थिए ।

संयुक्त राज्य अमेरिकाका लागि पूर्व इजरायली कूटनीतिज्ञ तथा मिटविमको निर्देशक समितिका सदस्य नादाव तामिरले भने, “इजरायलमा, संयुक्त राज्य अमेरिका बाहिर अन्य कुनै पनि उदार लोकतन्त्रभन्दा ट्रम्प ह्यारिसभन्दा बढी लोकप्रिय हुनुहुन्छ।” यद्यपि, तामिरले नयाँ ट्रम्प प्रशासन आश्चर्यजनक हुन सक्ने बताए।

उनले भने, “पूर्व राष्ट्रपति ट्रम्प अलगाववादी हुनुहुन्छ र अमेरिकालाई स्वतन्त्र विश्व वा अन्तर्राष्ट्रिय गठबन्धनको नेता बनाउन चाहनुहुन्न । उहाँले आफूलाई यस सम्बन्धमा समान विचार भएका रिपब्लिकनको भीड र विचारलाई पार्टीमा बढी स्थान दिएको पाइन्छ ।”

– ‘अविश्वास’ –

प्यालेस्टिनी राजनीतिशास्त्री तथा सर्वेक्षणकर्ता खलिल शिकाकीका अनुसार प्यालेस्टिनीहरूमा कुनै पनि उम्मेदवारका लागि खासै उत्साह छैन ।

’प्यालेस्टाइनीहरूले दुवै उम्मेदवारलाई अविश्वास गर्छन् र उनीहरूबीच खासै भिन्नता देख्दैनन्,” शिकाकीले भने ।

हमासका एक अधिकारी ताहेर अल–नुनुले एएफपीसँग कुरा गर्दै अमेरिकी प्रशासनले इजरायलको पक्षमा प्यलेष्टिनीविरूद्ध पक्षपातपूर्ण व्यवहार गर्दै आएको बताए ।

विस्थापित भई सडकमा जीवन बिताइरहेका प्यालेस्टिनीहरूले जसले जिते पनि आफ्नो इलाकामा जीवन सुधार नहुने बताएका छन्।

“अमेरिकी चुनावले हाम्रो राजनीतिक वास्तविकतामा सकारात्मक प्रभाव पार्छ भन्ने मलाई विश्वास छैन,” पश्चिम किनारास्थित बिरजित युनिभर्सिटीकी २१ वर्षीया छात्रा लीन बासेमले भने ।

साउण्ड इञ्जिनियर ४२ वर्षीय हसन अनवरले पनि इजरायलको समर्थनमा अमेरिकी नीति पूर्णरुपमा स्पष्ट भएको र उनीहरूले प्यालेष्टिनीलाई हेर्ने आँखामा कुनै भिन्नता छ भन्ने आफूलाई विश्वास नभएको बताए । 

एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ

चैनपुर (बझाङ) । गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए । धेरैले वर्षमा दुई पटक फल्ने फलभन्दै खुसियाली मनाए भने केहीले भने बोट मर्ने बेला भएको हुनसक्ने टिप्पणी गरे ।

अहिले दुई साता भइसकेको छ, स्याउ हलक्कै बढेर फलमा आकार देखिन थालेको छ । “दुई सातामा अस्वभाविक तरिकाले बढेको स्याउले सबैलाई अचम्मै बनायो”, खप्तडछान्ना गाउँपालिका–५ का पिठातोलाका स्याउ किसान हरिप्रसाद जोशीले भने, “अहिलेसम्म स्याउको आकार देखिए पनि स्वाद भने आएको छैन ।” यस्तो बेमौसमी स्याउ आफूले कहिल्यै नदेखेको उनले बताए ।

जोशीले भने, “गत चैतमा टुसाउँन सुरु भएको स्याउ फूलेर, फलेर असारमा सकियो । त्यसपछिका तीन महिना बोटमा पात मात्रै रहन्छ । अहिले तीन महिनापछि भने स्याउ सिधैँ लटरम्म फलेको देखियो ।”

पाँच वर्षअघि कृषि ज्ञान केन्द्रबाट ल्याएर रोपेको स्याउ असारमा रूखमा कुहिएको उनले बताए । उनले भने, “यो वर्ष फलेको स्याउ असारमा कुहिएर बोट मर्ने अवस्थामा छन् । फल फुटेर खेर गयो । त्यो बेला कृषि विज्ञले घामपानी नमिलेर समस्या देखिएको बताएका थिए ।” अहिले बेमौसममा स्याउ लटरम्म फलेका जोशीले बताए ।

लामो समय भारत बसेर दसैँ बिदामा घर आएका खप्तडछान्ना–५ का देवप्रसाद शर्माले भने, “कात्तिकमा नयाँ स्याउ फलेको, सुनेको, देखेको पहिलो पटक हो ।” लामो समय स्याउ बगैँचामा काम गरेको अनुभव सुनाउँदै ६६ वर्षीय शर्माले अहिले आश्चर्यमा परेको उल्लेख गरे । अहिले हुर्किरहेको स्याउ मौसममा आएको परिवर्तनका कारण हुनसक्ने उनले धारणा राखे ।

“एकपटक भारतको उत्तर प्रदेशमा पनि मौसम फेरबदल भएको भन्दै मौसम अनुकूलका स्याउका बोट रोपिएको थियो । यहाँ पनि त्यस्तै बोट रोप्नुपर्ने अवस्था आएको हो कि?”, शर्माले प्रश्न गरे । अहिले मौसम उपयुक्त नभएकाले फलेका स्याउ बोटमै सुक्नसक्ने आशङ्का व्यक्त गरे ।

“हाम्रो ठाउँको उचाइ दुई हजार मिटरको हाराहारीमा छ”, शर्माले भने, “यहाँ पाकेको स्याउ भदौको अन्तिमतिर निकालिन्थ्यो । असोजसम्म पात झरेर बोट नाङगै हुन्थे । अहिले पात झर्ने छाँटकाँट छैन । फल पनि हुर्किरहेका छन् ।” चिसो बढिरहेकाले तुसारोले फल र बोट सुक्नसक्ने उनले चिन्ता व्यक्त गरे ।

सोही ठाउँमा दीपक जोशीले पनि स्याउ एकै वर्षमा दुई पटक फल्नु अनौठो भएको बताए । उनले भने, “यसअघि मौसममा फलेका फल कुहिएर सकियो । तापक्रम बढेर यस्तो समस्या आएको हुनसक्छ । अन्य ठाउँमा जलवायु परिवर्तनको असरबारे समाचार सुनिन्थे । यहाँ आँखै अगाडि देखियो । यो पनि जलवायु परिवर्तनको असरले भएको होला ।”

खप्तडछान्ना गाउँपालिकाका कृषि अधिकृत भूमिराज खत्रीले स्याउमा मात्रै नभई हरेक बालीनाली, फलफूल तथा तरकारीमा जलवायु परिवर्तनको असर देखा पर्न थालेको बताए । उनले भने, “बेसिजनमा स्याउ फल्नु भनेको तापक्रम वृद्धि भएकाले हो । पहिलेपहिले यो समयसम्म निकै जाडो बढिसकेको हुन्थ्यो । आजभोलि अझै गर्मी घटेको छैन ।”

गर्मीका कारण फेरि पालुवा पलाएर स्याउ फूलेको र फलेको हुनसक्ने कृषि अधिकृत खत्रीले बताए । “पहिले यो समयमा छान्ना क्षेत्रमै मान्छे ढाक्ने हिउँ पर्दथ्यो । अहिले हिउँ देखिँदैन । तापक्रम धेरै बढेकाले हिमालमा पनि हिउँ पर्न कम हुँदै गएको छ । यसले कृषि उत्पादनमा समस्या देखिन थालेको छ”, उनले भने।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले मौसम फेरबदल हुँदा बेसिजनमा स्याउका बोटमा फल लागेको बताए । उनले भने, “जलवायु परिवर्तनले कृषिमा असर पारेको भन्ने सबैको चिन्ता छ । त्यसमा पनि स्याउले आराम गर्ने समयमा फल दिनु भनेको निकै सङ्कटको अवस्था हो ।”

प्रमुख विष्टले असोजरकात्तिकको समय फल दिइसकेपछि पात झरेर स्याउ, नास्पाती, ओखर, आरु, मेल, पाँकरजस्ता बो बिरुवाले आराम गर्ने बेला भएको भन्दै यो समयमा फल दिन थालेपछि अनुसन्धान गर्नुपर्ने बताए । “अनुसन्धान गर्दा जलवायु परिवर्तन वा अन्य कारण पनि देखिन सक्छन् । अहिले भने यो समस्या तापक्रम वृद्धिले भएको अनुमान गरेका छौँ”, उनले भने । 

कालीगण्डकीमा पक्की पुल निर्माण सम्पन्न

बलेवा (बागलुङ) । कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने उक्त पुल बनाउन थालिएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको हो ।

पोखराबाट पर्वतको फलेबास हुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकअन्तर्गत कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुसी भएका छन् ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने मार्ग तथा पोखराबाट गलकोट जाने वैकल्पिक मार्गका रुपमा यो सडक पाँच वर्षअघि सूचीकृत भएको थियो ।

पोखराबाट गलकोटसम्मको सडक तयार हुँदा कालीगण्डकी नदी वारपार गर्न बन्दै गरेको पुल सात वर्षपछि सम्पन्न भएको हो । निर्धारित समयमा काम सक्न प्राविधिक र भौगोलिक कारण कारक बन्दा पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।

रसुवा÷श्री गीता÷फेवा संयुक्त निर्माण कम्पनीले विसं २०७३ असोज ९ गते सम्झौता गरेको ठेक्काको काम ढिला गरी सकिएको हो । उक्त पुलको पूर्वतर्फको खण्डमा सडकले जोड्न बाँकी छ । “पहरो परेकाले झन्डै ५० मिटर सडक नयाँ बनाउनुपर्ने छ । यो सडक बनेपछि मङ्सिरभित्र मोटर गुड्नेछ”, ठेकेदार कम्पनीका प्रतिनिधि नीलकुमार राईले भने ।

पश्चिम किनारमा कालीगण्डकी करिढोर कालोपत्र हुँदै गरेको र पूर्वी किनारमा कुश्मा फलेबास सडक कालोपत्र भइसकेकाले यो पुल तत्कालै प्रयोगमा आउने उनले बताए ।

“पुल निर्माण सकिएको छ । अब लिङ्क रोडको काम एक महिनामा सक्छौँ”, राईले भने, “भुक्तानीका लागि डिजाइन परिवर्तन भएको पत्र पाएका छैनौँ ।” नदीमा पायल फाउन्डेसनबिना पुलको पिलर ठड्याउन नसकेपछि सडक विभागले डिजाइन परिवर्तन गरेको थियो । सोही अनुसारको भुक्तानी स्वीकृति नभएको बताउँदै डिजाइन परिवर्तन गर्नुपरेकाले तीन पटकसम्म म्याद थप्नुपरेको उनले जानकारी दिए ।

जैमनी नगरपालिका–१ जैमिनीधामबाठ पर्वतको फलेवास नगरपालिकाको देवीस्थान जोड्ने एकसय मिटर लामो मोटरेबल पुल सम्पन्न भएपछि स्थानीयलाई आवागमनमा सहज हुने भएको छ । “यो पुलले पोखरासम्म जाने नयाँ मार्गको ढोका खोलेको छ”, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, “यहाँका बासिन्दालाई अब पोखरा जान करिब ३० किमी दूरी छोटो पर्छ ।” मध्यपहाडी लोकमार्गबाट करिडोर हुँदै पोखरा पुग्ने विकल्पका रुपमा यो मार्ग प्रयोगमा आउने उनले बताए ।

गत असारमा अन्तिम म्याद थप भए पनि मङ्सिरसम्ममा काम सकेर हस्तान्तरण हुनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । पुलको भौतिकतर्फ ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको भन्दै वित्तीयतर्फ भने ८६ प्रतिशत मात्रै भुक्तानी भएको उनले बताए ।

प्रसिद्ध जैमिनीधामबाट पर्वतको फलेबास–कार्कीनेटा, स्याङ्जाको पुतलीखेत हुँदै पोखरा जोड्ने यो वैकल्पिक र छोटो मार्ग हो । १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ को लागतमा यो पुलको सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

काठमाडौं ।  बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबियालाई पराजित गरेको छ।

बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटी हल ‘बी’ मा ९ देखि १३ औं स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरबियालाई ४–१ ले पराजित गर्‍यो। जितसँगै नेपालले सोमबार ९ देखि ११ औं स्थानका लागि युगान्डा वानसँग खेल्ने छ।

यो खेल जितेमा नेपालले पुनः ९ देखि १० औं स्थानका लागि खेल्ने अवसर पाउने छ । नतिजा अनुकुल नआएमा नेपाल ११ औं स्थानमा रहने छ ।

महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङल्यान्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईंसंग प्रतिस्पर्धा गरेको थियो । नेपाल इङल्यान्डसंग ४–३, अजरवैजानसंग ५–२, इटालीसंग ५–२ र चाइनिज ताइपेईंसंग ७–० ले पराजित भएको थियो । महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेली रहेका छन् ।

महिलामा नेपालले सिंगल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्ने छ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिंगल्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

पञ्चकन्या र चुलाचुली सेमिफाइनलमा

सङ्खुवासभा ।  चुलाचुली क्लब धनकुटा र पञ्चकन्या क्लब अरुणभ्याल्ली फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा चुलाचुली क्लब धनकुटाले लोहोरुङ क्लबलाई पेनाल्टीमा ३–१ ले हरायो ।

निर्धारित समयको खेल बराबरी भएपछि नतिजा पेनाल्टी सुटआउटमा आएको थियो । दोस्रो खेल पञ्चकन्याले बेलबारी क्लब मोरङलाई १–० ले हरायो ।

यसअघि क्वार्टरफाइनलमा विजयी हुँदै सेकाहा क्लब र सभापोखरी क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।

आइतबार हुने सेमिफाइन्लमा सेकाहा क्लब र चुलाचुली क्लब धनकुटा तथा सभापोखरी र पञ्चकन्याबिच प्रतिस्पर्धा हुनेछ ।

जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र हुँदैछ : नेता निधि

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान मधेस प्रदेश सरकारको मधेस–प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

आइतबार बिहान जनकपुरधाम विमानस्थलमा कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । । उनले भने, “म गृहमन्त्री हुँदा सरकारसँग निर्णय गराएर प्रदेश मातहत ल्याउनुपर्ने गरी प्रक्रिया अगाडि बढाएको थिएँ र सो क्रममा जिल्ला प्रशासन कार्यालय धनुषाको मातहत चुरोट कारखानालाई ल्याइएको छ ।”

सरकारले पुनःजनकपुर चुरोट कारखानालाई निजीकरण गरिरहेको कुरा आफूले दुई तीन दिनदेखि सुन्दै आएको जानकारी दिँदै उनले भने, “यो आपत्तिजनक कार्य मात्र होइन यो सङ्घीय विरोधी कदम पनि हो ।”

सङ्घीय उद्योगमन्त्रीसँग आफूले यसबारे छलफल गरेको चर्चा गर्दै नेता निधिले भने, “उद्योगमन्त्रीले आफूलाई कारखाना निजीकरण होइन लाइसेन्स नवीकरण गर्नमात्र लागिएको बताउनुभएको छ ।”

जनकपुर चुरोट कारखानालाई आफू गृहमन्त्री भएकै बेला निर्णय गराएर मधेस प्रदेशको मातहत ल्याइसकेको बताउँदै नेता निधिले यदि सरकारले यस्तो निर्णय गरेमा विरोध गर्ने चेतावनी समेत दिए । उनले मधेस प्रदेश भवन नै नरहने गरी षड्यन्त्रको गन्ध आफूले पाएकाले यसका लागि सबै सतर्क रहन आग्रहसमेत गरे ।

“जनकपुर चुरोट कारखानाको जति पनि सम्पत्ति छ त्यो मधेस प्रदेश सरकारको हो यसमा कुनै दुई मत नरहेकाले निजीकरण अथवा कुनै प्रकारको षडयन्त्र भए यसलाई सङ्घीयता विरोधी कदम भन्दै हामी आन्दोलनमा उत्रिनेछौँ”, उनले प्रष्ट पारे । रासस

पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

राम थापा, गण्डकी । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’ का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार अभावमा सुनसान बनेको हो ।

बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पा जिल्लालाई समेटेर विसं २०६८ मा ‘गुरिल्ला ट्रेक’को पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायको पहलमा विसं २०७२ मा उक्त पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गरेका थिए ।

ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटन विकासको प्रचुर सम्भावना बोकेको भएपनि प्रचारप्रसार र प्रवर्द्धन नहुँदा उक्त पदमार्ग ओझेलमा परेको बताए । ‘पुराना र चल्तीका पदमार्ग नासिँदै गएको स्थितिमा गुरिल्ला ट्रेक वैकल्पिक पदमार्गका रुपमा विकास गर्नु जरुरी छ’, उनले भने, ‘यो ट्रेक गण्डकी र लुम्बिनी प्रदेशको पर्यटन विकासमा कोशेढुङ्गा बन्न सक्छ ।’

देशको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रलाई जोडेर यस क्षेत्रको प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा चिनाउनु पर्नेमा अध्यक्ष आचार्यले जोड दिए ।

टानसहित पर्यटन सम्बद्ध सङ्घसंस्थाले सुरुसुरुमा केही प्रवर्द्धनात्मक काम गरेपनि पछिल्लो समय कुनै पनि पर्यटकीय गतिविधि यस क्षेत्रमा हुन सकेका छैनन् । ‘लामो दूरी भएकाले यो ट्रेक खर्चिलो पनि छ, व्यवस्थित पूर्वाधारलगायत पर्यटकलाई चाहिने सेवासुविधा नहुँदा हामीले पर्यटक पठाउन सक्ने अवस्था छैन’, उनले भने ।

पहिलो पटक उक्त पदमार्ग पहिचान गर्ने टोलीमध्येका सदस्य सुरेन्द्र रानाले ‘गुरिल्ला ट्रेक’ राज्यको प्राथमिकता पर्न नसकेको बताए । महिनौँ लगाएर पदमार्ग पहिचान गरी उतिबेलै ‘गाइडबुक’ (जानकारी पुस्तक) र ‘म्याप’ (नक्सा) तयार पारिएको उनले उल्लेख गरे ।

‘यो पदमार्ग संरक्षण र प्रवर्द्धनमा सरोकार भएका निकायले विशेष पहल गर्नु जरुरी छ, यसमा राज्यका निकायले पनि सहकार्य गर्नुपर्छ । व्यवस्थित पूर्वाधार बनाउन सबै एकजुट हुनुपर्छ’, रानाले भने । सरकारले चालु आर्थिक वर्षको बजेटमा उक्त पदमार्ग पर्यटकीय कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेपछि केही आशा भने जागेको उनले बताए ।

पर्यटक पथ प्रदर्शक दिवस गुरुङले प्रकृतिमय भूगोल, ऐतिहासिक महत्वका स्थल, जैविक विविधता, मगर जातिका सघन बस्ती, रैथाने कला, संस्कृति, रहनसहन, रीतिथितीलगायत पदमार्गका विशेषता रहेका बताए । ‘गुरिल्ला ट्रेकको ‘ब्राण्डिङ’ गरी पूर्वाधार निर्माणमा जोड दिनुपर्छ’, उनले भने, ‘नाम चलेका पदमार्ग छोटिँदै र मासिँदै गएका बेला यो पदमार्गबाट नेपालको पर्यटन क्षेत्रमा लाभ लिन सक्छ ।’

सो पदमार्गमा पर्यटकीय पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश सरकार र स्थानीय तहले लगानी बढाउनुपर्नेमा पथप्रदर्शक गुरुङले जोड दिए । ‘पदमार्ग भनेको पहिले मानिसले हिँडेकै बाटोमा हिँड्ने भन्ने हो, नयाँ पदमार्ग बनाउँदा पनि मौलिकताको ख्याल गरी कंक्रिटको प्रयोग गर्नुभएन’, उनले भने, ‘पदमार्ग पहिचान भइसकेपछि ठाउँठाउँमा सूचनापाटी, चिया÷खाजाघर, विश्रामस्थल, होटललगायत पूर्वाधारको व्यवस्था गर्नुपर्छ ।’

पथ प्रदर्शक गुरुङले गत वर्ष ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गरेको बताए । ‘अरुमा भन्दा बेग्लै अनुभव यस पदमार्गमा गरेको थिए । पूर्वाधार विकास गरी सुविधासम्पन्न बनाउन सके उक्त पदमार्ग पर्यटन विकासमा सहयोगी हुने विश्वास लिएको छु’, उनले भने । उनका अनुसार छोटो, मध्यम र लामो दूरीबाट ‘गुरिल्ला ट्रेक’ मा यात्रा गर्न सकिन्छ ।

सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर टुङ्गिन्छ ।

करिब १९ दिनमा गर्न सकिने मध्यम दूरीको पदयात्रा बेनी, दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटतिर जोडिन्छ । मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुग्न सकिन्छ । सबैभन्दा लामो २७ दिनको पदयात्राले भने पश्चिम रुकुमलाई समेत समेट्छ ।

ढोरपाटनबाट पेल्मा, मैकोट, पश्चिम रुकुमको अर्चल, रुकुमकोट, पूर्वी रुकुमको तक्सेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर पदयात्रालाई टुङ्गाउन सकिन्छ ।

बागलुङको ढोरपाटन, रोल्पाको सुलीचौरलगायत ठाउँबाट पनि छोटो र लामो दूरीमा उक्त ट्रेकको यात्रा गर्न सकिन्छ । बागलुङको बुर्तिबाङ, ढोरपाटन हुँदै गरिने पदयात्रा आठ-दश दिनमा टुङ्गाउन सकिन्छ । समय र अन्य व्यवस्थापकीय तयारीलाई हेरेर जुनसुकै मार्ग प्रयोग गरेर ‘गुरिल्ला ट्रेक’मा जान सकिन्छ ।

पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न ‘गुरिल्ला ट्रेक’ को अवधारणा ल्याइएको थियो । अस्तित्वमा आएको दशक बितिसक्दा पनि सोचेजसरी यो पदमार्गको विकास भने हुन सकेको छैन ।

‘गुरिल्ला ट्रेक’ पर्यटन सम्बद्ध सङ्घसंस्थाको पनि उपेक्षामा परिरहेको स्थानीयवासीको गुनासो छ । चालु आवमा सङ्घ सरकारको बजेट विनियोजन गरेकाले केही आशा जगाएको स्थानीय बताउँछन् ।

पूर्वाधार सम्पन्न बनाएर विश्व पर्यटन बजारमा ‘ब्राण्डिङ’ गर्न सके यो पदमार्ग गण्डकी र लुम्बिनी प्रदेशको आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने पर्यटक पथप्रदर्शक गुरुङले बताए । यो पदमार्गमा माओवादी जनयुद्धका चिनारी र अवशेषको पनि अनुभव बटुल्न पाइने उनले जानकारी दिए ।

‘छापामार हिँड्ने बाटो, सेल्टर, तालिम केन्द्र, बङ्कर, माओवादी नेताका बैठकस्थललगायत अवलोकन गर्न सकिन्छ’, उनले भने, ‘अन्नपूर्ण हिमशृङ्खलादेखि, धवलागिरि, गुर्जा, पुथा, चुरेनलगायत हिमालको दृश्यले पनि पदयात्रालाई रोमाञ्चकता प्रदान गर्छ ।’ गुरुङका अनुसार बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको ढोरपाटन सिकार आरक्ष यो पदमार्गको प्रमुख आकर्षण हो ।

‘गुरिल्ला ट्रेकबारे पुस्तक पनि प्रकाशित छ, गुगल नक्सा पनि उपलब्ध छ’, उनले भने, ‘अरु पदमार्गको भन्दा बेग्लै अनुभवका लागि पर्यटकले गुरिल्ला ट्रेक रोज्न सक्छन्, साहसिक र रोमाञ्चक यात्रा रुचाउनेका लागि यो उपयुक्त गन्तव्य हो ।’ अग्ला पहाड, भीरपाखा, खोला र खोँच हुँदै हिँड्नुपर्ने भएकाले गुरिल्ला पदयात्रामा निस्कदाँ सोही किसिमको बन्दोबस्ती मिलाउनु पर्ने गुरुङले बतए । ‘गुरिल्ला ट्रेक’ मा पर्यटक आकर्षित गर्न सके यस क्षेत्रका एतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर र सम्पदा उजागर हुने उनको भनाइ छ ।

विगतमा युद्धबाट गुज्रेका ग्रामिण बस्ती, त्यहाँको जनजीवन र संस्कृतिको अनुभव दिलाउन आन्तरिक तथा बाह्य पर्यटकलाई ‘गुरिल्ला ट्रेक’मा आकर्षित गर्न सकिने उनले बताए । ‘१० वर्षे जनयुद्धका बारेमा बुझ्न र अध्ययनका लागि यो पदमार्ग पाठशाला हुन सक्छ’, उनले भने, ‘मगर जातिको सघन बसोबास रहेकाले तिनको भाषा, संस्कृतिको खोज तथा अनुसन्धान गर्ने थलोका रुपमा पनि यो क्षेत्रलाई विकास गर्न सकिन्छ ।’ 

आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या एकसय नाघ्यो

मनिला । फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको संख्या १०० पुगेको उद्धारकर्मीले आइतबार बताएका छन् ।

आँधीपछि आत्तिएर तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ । गत अक्टोबर २४ मा फिलिपिन्समा आएको ‘ट्रामी’ यस वर्षको सबैभन्दा घातक आँधीमध्ये एक थियो ।

राष्ट्रिय विपद् निकायका अनुसार भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् भने कम्तीमा ३६ जना हराइरहेका छन् ।

सबैभन्दा बढी प्रभावित बिकोल क्षेत्रमा प्रहरीले ३८ जनाको डुबेर मृत्यु भएको जनाएको छ । बिकोलका क्षेत्रीय प्रहरी निर्देशक आन्द्रे डिजोनले एएफपीसँग भने, “हामीलाई अझै पनि धेरै फोन आइरहेका छन् र हामी सकेसम्म धेरै मानिसहरूलाई बचाउने प्रयास गरिरहेका छौँ ।”

डिजोनले यस क्षेत्रको क्यामारिन सुर प्रान्तका ‘धेरै बासिन्दाहरू’ अझै पनि आफ्नो घरको छत र माथिल्लो तलामा फसेको बताए ।

मनिलाको दक्षिणमा पर्ने बाटांगासमा मृत्यु हुनेको संख्या ५५ पुगेको प्रान्तीय प्रहरी प्रमुख ज्याकिन्टो मालिनाओले एएफपीलाई जानकारी दिए । क्याभिट प्रान्तमा डुबेर दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एएफपीको आधिकारिक प्रहरी र विपद् निकाय स्रोतका अनुसार अन्य प्रान्तमा थप पाँचजनाको शव फेला परेपछि मृतकको संख्या १०० पुगेको छ ।

नागरिक सुरक्षा कार्यालयका एडगर पोसाडासले एएफपीसँग भने, “आगामी दिनमा अझै धेरै मानिसको मृत्यु भएको जानकारी आउने सम्भावना छ किनभने उद्धारकर्ताहरू पहिलेभन्दा फरक स्थानमा उद्धारका लागि पुगेका छन् ।

प्रहरी, तटरक्षक र मरिन डाइभिङ टोलीले आइतबार पनि बाटांगासको तालमा हामफालेका भनिएका सात परिवारको खोजी गरिरहेका छन् ।

प्रान्तीय प्रहरी प्रमुख मालिनाओले भने, “पहाडको पानीले बालेटे सहरमा रहेको उनीहरूको घरमा पहिरो र बाढी ल्याएपछि घर भत्किने डरमा आत्तिएर तालमा हाम फालेका थिए । बटांगासमा अधिकांशको मृत्यु वर्षाका कारण आएको पहिरोका कारण भएको बताइएको छ ।

माटो, ढुंगा र ढलेका रूखको थुप्रोबाट २० जनाभन्दा बढीको शव निकालिएको छ भने कम्तीमा २० जना अझै हराइरहेको प्रहरीले जनाएको छ । मालिनाओले भने, “सबै शव नभेटिएसम्म हामी खोजी जारी राख्नेछौँ ।”

उत्तरी फिलिपिन्सको विभिन्न भागमा आएको बाढीका कारण करिब पाँच लाख ६० हजार मानिस विस्थापित भएको राष्ट्रिय विपद् निकायले आइतबार जनाएको छ ।

प्रत्येक वर्ष करिब २० वटा ठूला आँधीबेहरीले फिलिपिन्स र यसको वरपरका घर र पूर्वाधारमा क्षति पु¥याउने गरेको छ भने दर्जनौँ मानिसको ज्यान लिने गरेको छ ।

एसिया–प्रशान्त क्षेत्रका आँधीबेहरीहरू समुद्र तटको नजिक बढ्दै गएको र जलवायु परिवर्तनका कारण जमिनमा अझ तीव्र र लामो समयसम्म टिक्ने आँधी आउने हालै गरिएको एक अध्ययनले देखाएको छ । 

भारतीय एयरलाइन्समा बम पड्काउने निरन्तरका चेतावनीपछि प्रशासनद्वारा कारबाहीको चेतावनी

नयाँदिल्ली । । भारतले यस महिना भारतीय एयरलाइन्समा बम राखिएको सयौँ चेतावनीले हवाई यात्रालाई प्रभावित बनाएको बताउँदै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई ‘परिणामी कारबाही’ गर्ने चेतावनी दिएको छ ।

बमको चेतावनीपछि भारतीय विमानहरू गन्तव्यबाट क्यानाडा र जर्मनीतर्फ जान बाध्य भएका थिएभने र विमानलाई लडाकु विमानले बेलायत र सिंगापुरमाथिको आकाशमा पहरा दिएका थिए ।


सरकारले चेतावनीको सङ्ख्यामा देखिएको वृद्धि ‘अनियन्त्रित र जोखिमपूर्ण’ रहेको बताएको छ । यदि उनीहरूले ‘गलत सूचना पठाउने कार्यलाई तुरुन्तै रोकेनन्’ भने प्रशासनले सामाजिक सञ्जाललाई ‘कानूनमा व्यवस्था भएअनुसार कारबाही’ गर्ने चेतावनी दिएको छ ।

‘एयरलाइन्समा बम पड्काउने चेतावनीजस्ता दुर्भावनापूर्ण कार्यका घटनाहरूले सार्वजनिक व्यवस्था र राज्यको सुरक्षामा खतरा निम्त्याउन सक्छ,’ प्रशासनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘यस्ता भ्रामक चेतावनीको सङ्ख्याको वृद्धिले नागरिकको उडान र सुरक्षासम्बन्धी मनोबललाई असर गर्नुका साथै देशको आर्थिक सुरक्षालाई पनि अस्थिर बनाउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) समाचार संस्थाका अनुसार अक्टोबरको मध्यदेखि अहिलेसम्म कम्तीमा २७५ वटा विमानमा बम विस्फोटको धम्की दिइएको छ । अन्य भारतीय सञ्चारमाध्यमका अनुसार यो सङ्ख्या ४०० को हाराहारीमा हुन सक्छ ।

‘कुनै पनि तेस्रो पक्ष जानकारीको लागि दायित्वको छूट पाएका त्यस्ता मध्यस्थहरूले दायित्वहरू पालना गरेनन् भने उनीहरूसँगको सम्झौता लागू हुने छैन,’ विज्ञप्तिमा भनिएको छ।

आर्थिक सुरक्षा

नागरिक उड्डयन अधिकारीले एक्स (ट्विटर)मा पोस्ट गरिएका खतराको चेतावनीका सन्देशले प्रत्येक उडानहरू जाँच गर्नुपरेको बताएका छन् । चेतावनीले सेवा जोखिमयुक्त भएको भावना फैलिनुका साथै यसबाट प्रत्यक्षरूपमा कम्पनी र परोक्षरूपमा राज्यलाई आर्थिक क्षति पुर्याएको उनीहरूको बुझाई रहेको छ ।

सरकारी चेतावनीमा कुनै पनि सामाजिक सञ्जाल कम्पनीको नाम उल्लेख गरिएको छैन, तर सूचना प्रविधि मन्त्रालयको परामर्श सूचनालाई उदृत गरिएको छ।

सूचना मन्त्रालयले भनेको छ, ‘सामाजिक सञ्जाल प्लेटफर्ममा ‘फरवार्डिङ/रि–शेयरिङ/रि–पोस्टिङ/रि–ट्वीटिङ’ को विकल्प उपलब्ध भएका कारण यस्ता भ्रामक बमको चेतावनीसहितका सन्देशको फैलावट र अनियन्त्रित वृद्धि देखिएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कम्पनीहरूले देशको एकता, अखण्डता, सार्वभौमिकता, सुरक्षा वा आर्थिक सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने कुनै पनि अपराधको रिपोर्ट गर्नु पर्दछ र अनुसन्धानमा सहयोग पुर्याउन सरकारी निकायहरूसँग द्रूत सहयोग गर्नुपर्दछ।’

सरकारले उड्डयन र विमान सुरक्षा कानूनमा आमूल परिवर्तन गर्न र त्यस्ता धम्कीलाई गम्भीर वा ‘संज्ञेय’ अपराधको दोषी बनाउन ‘विधायिकी कदम’ बारे छलफल गरिरहेको बताएको छ ।

लोकतान्त्रिक मुलुकका रूपमा चिनिने भारत सामाजिक सञ्जालका सामग्री हटाउन सरकारले गर्ने अनुरोधका आधारमा हेर्दा विश्वका शीर्ष पाँच मुलुकमध्ये एउटा हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको आलोचना गर्ने ट्वीट र एकाउन्टहरू हटाउने आदेशलाई चुनौती दिएका कारा गत वर्ष भारतीय अदालतले एक्सलाई ६१ हजार अमेरिकी डलर जरिवाना गरेको थियो । 

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच सहकार्य गर्ने समझदारी

काठमाडौं ।सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेसनल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धको समझदारीपत्र आदान–प्रदान गरिएको छ।

ललितपुरमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनबीच आइतबार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त र दक्षिण कोरियाको जोनबुक नेसनल युनिभर्सिटीका अध्यक्ष डा. ओ बोङ याङबीच हस्ताक्षर भएको पाँचबुँदे समझदारीपत्र आदान–प्रदान गरिएको हो।

शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि दुई विश्वविद्यालयबिच यो समझदारीपत्रमा हस्ताक्षर गरिएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा पन्तले जानकारी गराएका छन्।

जसमा विश्वविद्यालयको फ्याकल्टी, प्राध्यापक र अनुसन्धानकर्ताहरू आदान–प्रदान गर्ने, सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक विश्वविद्यालयका विद्यार्थीहरू आदानप्रदान गर्ने, दुवै विश्वविद्यालयबिच शैक्षिक सामग्री तथा सूचना आदान–प्रदान गर्ने, संयुक्त रूपमा अनुसन्धान सञ्चालन गर्ने, प्राज्ञिक बैठक तथा सेमिनारहरू आयोजना गर्ने पाँचबुँदे समझदारी भएको हो।

सन् १९४७ मा स्थापना भएको जोनबुक विश्वविद्यालयका प्राडा ह्याक योङ किमले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित २१ जनाको विद्यावारिधिका लागि सुपरभाइज गरेका छन् । समझदारीपत्र आदानप्रदान गर्दै उनले नेपाली विद्यार्थीहरूको अनुसन्धान कार्यमा सहयोग गर्ने औपचारिक समझदारी भएकोमा खुसी व्यक्त गरेका छन् ।

सन् २०१० मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयले पछिल्लो समय अनुसन्धान र अन्वेषणमा जोड दिँदै विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक पहुँचका लागि काम गर्दै आएको छ । नेपाल मटेरियल साइन्स सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनलाई पनि सुदूरपश्चिम विश्वविद्यालय सहआयोजकको रूपमा रहेको छ ।

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यसम्बन्धी १६ देशका वैज्ञानिकहरू सहभागी भएर काठमाडौमा आयोजित गोष्ठीको समापनमा मन्त्री पाण्डेले उनलाई सम्मान गरेका हुन् ।

उक्त गोष्ठीमा जलवाय परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधान लगायतका विषयका साथै पर्यटन प्रवद्र्धनका क्षेत्रमा गुणस्तरीय छलफल भएकोमा कृतज्ञता व्यक्त गरे ।

मन्त्री पाण्डे नेपाल र चीन बीच यस्ता आदन–प्रदानको धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ नेपाल आएको अभिलेखले रहेको र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुुर्याएको उल्लेख गरे ।

उनले सुदूरपश्चिम विश्वविद्यालयलाई नेपालको विकासको अनुसन्धानको केन्द्रको रूपमा विकसित गर्न चिनियाँ विश्वविद्यालय र सरकारलाई जोड्ने पुलको रूपमा पनि सहयोग गरिदिनु अनुरोध गरे ।

उनले कोरियाली एवम् चिनिया नागरिक लगायत अन्य सहभागीलाई नेपालको प्राकृतिक र सांस्कृति रुपमा सम्पन्न मुलुक भएकाले नेपाल घुम्न आउनसमेत अनुरोध गरे ।

कार्यक्रममा विङडिङले नेपालीहरू निकै आत्मीय रहेको भन्दौ भएकाले नेपाली विदयार्थीलाई आफूमाताहतमा अध्ययन अनुसन्धानमा लगाउन नपाएको उल्लेख गरे ।

उनले उनीहरूलाई आफूसँग जोडिन दिनसमेत आगह गरे । प्राध्यापक विङडयानमातहतमा ११४ जना विद्यार्थीले विद्यावारिधि गरिहेका छन् ।

नेपालमा पहिलो पटक ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलन आयोजना

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन सुरु भएको छ । आइतबारदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । अध्यक्ष थबेले सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने उद्देश्य रहेको बताए । उनले सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“नेपालमा पहिलो एआई सम्मेलन हुन लागेको छ । यसबाट सरकार तथा युवावर्गलाई एआईका सम्बन्धमा जानकारी गराउने छौँ”, अध्यक्ष थबेले भने, “सूचना प्रविधिका क्षेत्रमा पनि नेपाललाई अगाडि बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ ।” उनका अनुसार सम्मेलनमा नेपाली र विदेशी गरी करिब एक हजार जना सहभागी हुनेछन् । 

विभिन्न १० वटा समूहगत विषयमा छलफल गरिने सङ्घका महासचिव सुमन पुरीले जानकारी दिए । उनका अनुसार ती छलफलमा विदेशबाट आएका एआईका विज्ञहरुलेसमेत सहभागिता जनाउने छन् । युरोपियन युनियन, जापान, उत्तर कोरिया, बेलायतलगायत देशबाट विज्ञसहितका प्रतिनिधि आएका उनले बताए ।

आफ्नो छवि कायम राख्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले सबै एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् ।

गैरआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आइतबार आयोजित गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताए ।

‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनिसकेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । सबै मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ’, उनले भने ।

गैरआवासीय नेपाली सङ्घको छविलाई कायम राखी सङ्गठनलाई एकताबद्ध राख्दै साझा हितका लागि काम अनुरोध गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारका तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप हुँदैन, निष्पक्ष भई स्वतन्त्र रुपमा काम गर्नुहोस्, सहयोग गर्न सरकार तयार छ ।’

उनले भने, ‘म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । त्यसैगरी सभामुख, प्रधानन्यायाधीशजस्ता पद साझा हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।’

आफू सन् १९९९ मा मस्को जाँदा डा उपेन्द्र महतोसँग गैरआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन कुनै कञ्जुस्याइँ नगर्ने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले जिम्मेवार नेताबाट हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनी धम्कीपूर्ण भाषा प्रयोग हुनथाल्नु देश र जनताका लागि दुःखद् भएको प्रसङ्ग उल्लेख गरे ।

रवि लामिछानेमाथि दुर्व्यवहार भएको छैनः कास्की प्रहरी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको भन्ने आरोपको खण्डन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार विज्ञप्ति जारी गरेर भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ ।’

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परी अहिले प्रहरी हिरासतमा छन् । उनका समर्थकले उनीमािथ इजलासमै दुर्व्यवहार भएको र अपशब्द प्रयोग गरिएको भन्दै विरोध गर्दै आएका छन् ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तारण गरे ।

विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।

बैंकका अक्ष्यक्ष ढकालले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरु, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गमा खुसी साट्दै हार्दिक आभार व्यक्त गरे ।

ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरुलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ ।

ग्लोबल फाइनान्सले २०२४ को लागि हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नविनतम् सेवाहरु प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैंक” को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरु प्रदान गर्न प्रोत्साहित गर्नेछ ।

यस अघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म यस अवार्डसहित बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा १ हजार ४ सय रूपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो ।

आइतबार छापावाल सुन तोलाको १ लाख ६७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि कार्तिक ८ गते छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा १५ रूपैयाँले बढेर २ हजार ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित

बागमती । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए ।

स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको बताउँदै उनले पालिकाको निर्णय विपरीत गर्नेलाई कारबाही हुने चेतावनी दिए ।

बारामा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या

बारा । बारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या भएको छ । शनिबार साँझ महागढीमाइ नगरापालिका–१ नैकाटोलका ५० वर्षीय श्रीनारायण यादवको बेलुका हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाका अनुसार श्रीनारायण यादव घरनजिकको पसलबाट फर्किँदै गर्दा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो । यस घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

काठमाडौँ वर्ल्ड स्कुल बन्यो काभ्रे–भक्तपुर ‘हाफकोर्ट’ बास्केटवलको विजेता

भक्तपुर । काठमाडौँ वल्र्ड स्कुल भक्तपुर जिल्लाकै सर्वाधिक राशीको भक्तपुर–काभ्रे जिल्लास्तरीय हाफकोर्ट बास्केटवल प्रतियोगिताको विजेता बनेको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ७ मा भएको प्रतियोगितामा काठमाडौँ वल्र्ड स्कुल विजेता बनेको हो ।

काभ्रे र भक्तपुरका गरी जम्मा १८ टीमले सहभागिता जनाएको प्रतियोगितामा आयोजक टीम उपविजेता बनेको छ । ११–१० को अन्तरले काठमाडौँ वल्र्ड स्कुल विजेता बनेको हो । विजेताले ५० हजार तथा उपविजेताले २० हजार नगदको साथमा शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिता सम्पन्न भएसँगै प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा तथा विशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख इश्वर बहादुर थापाले विजेतालाई नगद, शिल्ड तथा प्रमाणपत्र वितरण गरे । ‘स्वस्थ युवा, स्वस्थ समाज’ निर्माण गर्ने महत्वपूर्ण अभियानका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।

‘सवल राष्ट्र निर्माणको लागि स्वस्थ युवा, स्वस्थ युवाको लागि खेलकुद’ भन्ने मान्यतालाई आत्मसात् गर्दै मन्त्री थापाले ‘स्वास्थ्यका लागि खेलकुदमात्र नभई अब राष्ट्रका लागि खेलकुद’ हुनुपर्नेमा जोड दिए । खेलकुदलाई उत्पादन, रोजगारसँगै आर्थिक समृद्धिको आधारसँग जोड्ने अभियान चलाउनुपर्ने उल्लेख गर्दै मन्त्री थापाले खेलकुद स्वास्थ्यको ‘जीवन र जगत’ तथा ‘सामाजिक एकता र सद्भाव’को लागि भएको धारणा राखे ।
खेलकुद परिभाषाको लागि नभई परिवर्तन र मानिसको जीवन पद्धतिको रुपमा रहेको उल्लेख गर्दै मन्त्री थापाले खेलकुदकै माध्यमबाट विकास र समृद्धिको अभियानलाई तिव्र गतिमा लैजान सकिने बताए ।

भक्तपुरका विकास र समृद्धिको धरोहरको रुपमा रहनुभएका पूर्वमन्त्री महेश बस्नेतले जिल्लामा ल्याएको विकासका लहरले भक्तपुरको मुहार फेरिएको स्मरण गरे । बस्नेतले थालेकाा आयोजनाहरु सम्पन्न गराएरै छाड्ने उद्घोषसमेत गरे ।

दोलखा केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति साढे ११ बजे लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ प्रकाशन

काठमाडौं  । वैदिक अनुसन्धान गुठी (वाग्)ले नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ को प्रकाशन गरेको छ । गुठीले शुद्धस्वरुपमा वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेदसंहिताका ४० अध्याय प्रकाशन गरेको हो ।

वैदिक सनातन धर्म, दर्शन, संस्कार, संस्कृति, संस्कृतसंबद्ध ग्रन्थहरूको संरक्षण तथा प्रवद्र्धन, प्राचीन तथा अर्वाचीन ग्रन्थको अध्ययन, अनुसन्धान, सम्पादन, व्याख्या, विश्लेषण, अनुवाद तथा प्रकाशन, वैदिक वाङ्मयको प्रविधिमैत्री पाठ्यक्रम, पाठ्यपुस्तक र श्रव्यदृश्य पाठ्यसामग्री निर्माण, गुरुकुल एवं आश्रम सञ्चालन गरी संस्कृत, संस्कार र संस्कृतिको अध्ययन, अध्यापन र प्रचार–प्रसार, वैदिक वाङ्मयप्रति आस्थावान् व्यक्तिलाई जागरुक बनाई विशेषज्ञ उत्पादनको एकाइ निर्माण गर्ने उद्देश्यले एक वर्षअघि स्थापना भएको गुठीको यो पहिलो प्रकाशन हो ।

वेदपाठको नियमसहित समावेश गरिएको ग्रन्थको सम्पादन गुठीको संस्थापक अध्यक्षसमेत रहेका युवा सन्त डा स्वामी केशवानन्द गिरिले गरेका हुन् । दुईदेखि चार जनासम्म ब्राह्मणले वेद पाठ गर्दा कति, कति अध्यायसम्म विभाजन गरी गर्ने भन्ने जानकारी समेत यो पत्रे वेदमा दिइएको छ । पुस्तकमा वेद पाठका नियमसहित वेदाध्यायीको नियम र आचरण, वर्ण एवं वर्णोच्चारणका नियम, वेद पाठ विधिलगायत विषय पनि समावेश गरेर सहज बनाइएको छ ।

पुस्तकमा वेदको महत्व, वेदको विभाजन, शुक्ल यजुर्वेद नाम रहनुमा कारण, यजुर्वेदको शाखा, वाजसनेयि माध्यन्दिन संहिता, काण्व संहिता, शुक्लयजुर्वेद माध्यन्दिन संहिताको विषयवस्तु, चार वेदको संक्षिप्त विवरण, वेदका अङ्गहरु, शुक्लयजुर्वेद माध्यन्दिन संहिताको विवरणलगायत विषयसमेत समावेश गरिएको छ । विधिअनुसार वेद पाठ गर्न चाहनेका लागि पुस्तक सहयोगी हुने देखिन्छ ।

कागेश्वरी मनोहरा–६ निवासी मुरारिप्रसाद फुयाँल एवं उहाँकी धर्मपत्नी सुशीला फुयाँलको सहयोगमा यो ग्रन्थ एक हजार एक प्रति छपाइ गरिएको हो । नेपाली कागज र सामान्य कागज गरी दुई थरी पुस्तक प्रकाशन गरिएको छ ।

कपडाको वासासहितको पुस्तक गुठीको कार्यालय गौरीघाट र पशुपतिनाथ मन्दिरस्थित शङ्कराचार्य मठमा पाउन सकिन्छ । नेपाली कागजमा प्रकाशन गरिएको पुस्तकको रु ११ हजार १११ र सामान्य कागजमा प्रकाशन गरिएको पुस्तकको मूल्य रु एक हजार १११ तोकिएको छ । पुस्तक बिक्रीबाट प्राप्त स्रोत वैदिक क्षेत्रका बारेमा गुठीले गर्ने अध्ययन, अनुसन्धामा खर्च गरिने जनाइएको छ ।

अघि बढ्यो ‘बिगो निर्धारणसम्बन्धी निर्देशिका’ निर्माण प्रक्रिया

काठमाडौँ । सरकारवादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गर्दा बिगो निर्धाणसम्बन्धी काम कारबाहीरको प्रक्रियामा एकरुपता कायम गरी वस्तुनिष्ठ बनाउन सरकारले ‘बिगो निर्धारणसम्बन्धी निर्देशिका २०८१’ निर्माण प्रक्रिया अघि बढाएको छ । 

महान्यायाधिवक्ताको कार्यालयले मुलुकी फौजदारी कार्यवधि संहिता २०७४ को  दफा १९७ को उपदफा (१) को खण्ड (क) ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिका निर्माण प्रक्रिया अघि बढाएको हो । महान्यायाधिवक्ता रमेश बडाल उक्त निर्देशिकाको प्रारम्भिक मस्यौदा निर्माण गरी अहिले सुझाव लिने क्रममा रहेको बताउँछन् ।  


प्रारम्भिक मस्यौदामाथि पहिलो चरणमा कानुन व्यवसायीहरुसँग छलफल गरी सुझाव लिइएको र अब न्यायाधीश, अदालतका स्रेस्तेदार, तहसिलदार, जिल्ला सरकारी वकिल तथा जिल्ला प्रहरीका अनुसन्धान अधिकृतहरुसँग छलफल गर्ने तयारी गरिएको कार्यालयले जानकारी दिएको छ ।


सरकारले फौजदारी संहिता संसोधनको चरणमा अघि बढेकाले त्यो अघि नै यो निर्देशिका जारी गर्ने गरी काम अघि बढेको पनि कार्यालयको भनाइ छ ।


“संहितामामै केही कुरा समावेश गर्न सके कानुनकै अङ्ग बन्न सक्ने हुँदा यसलाई सक्दो छिटो अघि बढाउन प्रयासरत छौँ”, महान्यायाधिवक्ता बडालले भने, “अहिले सरकारवादी हुने मुद्दाको अनुसन्धान र अभियोजनका लागि मात्रै बन्न लागेको निर्देशिकाका केही भाग ऐनमै समावेश हुनसक्यो भने न्याय निरुपणमै योगदान पुग्नसक्छ ।”


बिगो निर्धारण गर्दा लिनुपर्ने आधार 


निर्देशिकाको मस्यौदामा बिगो निर्धारण गर्दा लिनुपर्ने आधारहरु तोकिएका छन् । मस्यौदामा धनमाल वा वस्तुको हकमा खरिद गरिएको बिल भरपाइ अनुसारको वास्तविक मूल्य राख्नुपर्ने तर खरिद मूल्यभन्दा हालको मूल्य बढी भएमा हालको बजार मूल्य (बजार मूल्य भन्नाले वस्तुको अन्तिम उपभोक्ता मूल्य) राख्नुपर्ने उल्लेख छ ।  


कारोबार भएको आधारमा बिगो निर्धारण गर्दा बैंक स्टेटमेन्ट, अनलाइन पेमेन्ट वा अन्य विधुतीय ट्रान्जेक्सन वा चेक भुक्तानी वा पासबुक वा लिखत, सम्झौता, करार, आदिबाट खुल्ने रकम वा मूल्यलाई आधार लिनुपर्ने छ ।


बिगो निर्धारणका सम्बन्धमा प्रचलित कानूनमा छुट्टै व्यवस्था वा मापदण्ड तोकेको भए सो बमोजिम कायम हुन आउने वास्तविक मूल्य, शंकित व्यक्तिले कसुरबाट आर्जन गरेको पुष्टि हुने वास्तविक रकम वा सम्पत्ति वा सो सम्पत्ति वा रकम एकरुपबाट अर्को रुपमा रुपान्तरण वा हस्तान्तरण गरी बढे बढाएको सम्पत्ति, कुनै वस्तुको मूल्याङ्कन गरेर वा अभौतिक सम्पत्ति जस्तै ट्रेडमार्क वा अन्य वौद्धिक सम्पत्तिको रकम यकिन गर्नुपर्दा मूल्याङ्कनकर्ता निकाय वा मूल्याङ्कनकर्ता (भ्यालुयटर)बाट निर्धारण गरिएको मूल्यलाई आधार मान्नुपर्ने छ ।


उपचारसम्बन्धी वा यस्तै अन्य विषयको स्वास्थ्य परीक्षण प्रतिवेदन, शल्यक्रिया र औषधी खरिद गर्दाको खर्च, बेड चार्ज, यातायात खर्चजस्ता खर्च विवरण प्रमाणको पर्याप्तता भएकामा सोही भरपाईका आधारमा बिगो दाबी निर्धारण गर्नुपर्ने तथा महान्यायाधिवक्ताले समयसमयमा निर्देशन दिई थप गरेको आधार अनुरुप निर्धारण हुने मूल्यलाई आधार लिनुपर्ने प्रारम्भिक मस्यौदामा उल्लेख गरिएको छ । 

अनुसन्धानकर्ताले अवलम्बन गर्नुपर्ने 

बिगो निर्धारण गर्दा अनुसन्धानकर्ताले प्रारम्भिक अनुसन्धानकै क्रममा वस्तुनिष्ठ बिगो निर्धारण कार्यको थालनी गर्नुपर्ने निर्देशिकाको मस्यौदामा उल्लेख छ ।  


यस्तै जाहेरी, सूचना वा प्रतिवेदन परी अनुसन्धानको क्रममा बिगो यकिन गर्दा विवरण, तथ्य, प्रमाण जाहेरवाला, सूचक वा प्रतिवेदकबाट माग गर्ने, क्षतिमा आधारित बिगो निर्धारण गर्नुपर्ने अवस्थामा घटनास्थल, खानतलासी समेतका मुचुल्का तयार गरी क्षतिको विवरण उल्लेख गर्ने, बिगो निर्धारणका लागि प्राप्त भएका प्रमाणको आधारमा सरकारी वकिल समक्ष प्रतिवेदन पेश गर्ने र सरकारी वकीलले निर्देशन दिएकोमा सोको पालना गर्ने उल्लेख छ । 


यस्तै कसूरको सम्बन्धमा शंकित व्यक्तिको बयान गराउँदा बिगो यकिन गर्न जाहेरी व्यहोरामा खुलाइएको बिगोको सम्वन्धमा समेत छुट्टै प्रश्न सोध्ने, अनुसन्धान अधिकारीले अनुसन्धानको सन्दर्भमा आवश्यकता अनुसार बिगो निर्धारणका लागि कुनै विशेषज्ञ, मूल्याङ्कनकर्ता वा सो सम्बन्धी कार्य गर्ने कुनै संस्थाको राय लिने तथा अनुसन्धान प्रतिवेदन सम्बन्धित सरकारी वकील कार्यालयमा पठाउँदा प्रत्येक प्रतिवादीबाट असुल गर्नुपर्ने बिगो यकिन गरिएको अङ्क तथा सोको आधार खुलाउनु पर्ने उल्लेख रहेकोछ ।


अभियोजनकर्ताले अवलम्बन गर्नुपर्ने प्रक्रिया 

यस्तै अभियोजनकर्ताले अबलम्बन गर्नुपर्ने विषयसमेत निर्देशिकाको मस्यौदामा स्पष्ट रुपमा राखिएको छ । उक्त निर्देशिकाको मस्यौदामा म्याद थपको क्रममा अनुसन्धान गर्ने निकायबाट सरकारी वकिलले अभियोजन कार्ययोजना बमोजिमको प्राथमिक कार्यअन्तर्गत वस्तुनिष्ठ बिगो निर्धारणको आधार तय गर्ने र प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा वस्तुनिष्ठ बिगो निर्धारणसम्बन्धी विषय उल्लेख नभएमा सो सम्बन्धमा स्पष्ट निर्देशन दिने उल्लेख गरिएको छ ।


यस्तै अनुसन्धान अधिकारीले यकिन बिगो निर्धारण गर्न नसकी सरकारी वकीलको राय सल्लाह माग गरेकोमा सरकारी वकीलले बिगो निर्धारण संयन्त्रमार्फत यकिन भई आएको बिगो निर्धारण समेतका आधारमा राय सल्लाह दिनुपर्ने र बिगो निर्धारण गरी अभियोजन गर्दा दफा ९ बमोजिम अभियोजन गर्ने उल्लेख छ ।

रास्वपाले आन्दोलन जारी राख्ने, उपाध्यक्ष अर्यालको संयोजकत्वमा मूल समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीले आन्दोलन संचालन गर्न पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा मूल समिति गठन गरेको छ ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले अर्यालको संयोजकत्वमा सात प्रदेश सभापतिसहितको आन्दोलन संचालन मूल समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरिएको भन्दै विनाशर्त रिहाइ गर्न माग गरेको छ ।

खबरदारी सभा सरकार ढाल्न होइन, लोकतान्त्रिक गणतन्त्र बचाउन होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्न यो खबरदारी सभा नगरेको बताएका छन् ।

शनिबार पार्टीले काठमाडौमा आयोजना गरेको खबरदारीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खबरदारीसभा लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गरिएको बताएका हुन् । उनले बरु आफूहरुले खबरदारीसभा गर्ने भनेपछि सत्तापक्षमा आतंक मच्चिएको बताए ।

उनले भने, ‘यो खबरदारीसभा घोषणापछि सत्तापक्षमा आतंक मच्चिएको छ । खबरदार ! सरकार ढल्छ भन्ने डरले बेथितितिर नजानु भ्रष्टारीको संरक्षणमा नलाग्नु । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि खबरदारीसभा गरेको हो । प्रतिगमनकारीले टाउको उठाउन लागेकाले आफूहरु सडकमा आएको हो ।’

उनले दलाल र बिचौलियाको घरमा मध्यरातमा बनेको सरकारले सय दिन नपुग्दै आफूलाई प्रमाणित गरेको आरोप लगाए । उनले भने, ‘यो सरकार बनेकोमा हामी र हाम्रो दललाई कुनै चिन्ता छैन । यो सरकार रातको अँध्यारोमा आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर जाल झेल र षडयन्त्रबाट बन्यो । यो सरकार दलालहरूको घर घरमा गएर रातको १२ बजे बन्यो । सय दिन पुग्दा नपुग्दै हामीले प्रतिनिधिसभामा जे चिन्ता गरेका थियौँ, त्यो सरकारले प्रमाणित गरेको छ ।’

उनले कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेकामा आफूलाई पश्चाताप भइरहेको बताए । उनले भने, ‘कांग्रेस र एमलोसँग सहकार्य गरेर गल्ती गरेको महसुस गर्यौं । हामीहरु विग्रिन थालेका थियौं, तर तपाईंहरुले बेलैमा निकालेर जनतातिर फर्काइदिनुभयो त्यसका लाविग धन्यवाद । यसलाई हल्का रुपमा नलिनु । भ्रष्ट पार्टीहरु र नेताहरुसँग लागेर माओवादी के हो भन्ने जनतालाई लागेको थियो । अब सच्चिन चाहन्छौं तपाइँहरुको सेवामा लाग्छौं भनेर जनतालाई भन्न पाएका छौं ।’

उनले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा इमान्दारीताका साथ काम गर्दागर्दै हटाइएको बताए । उनले भने, छिमेकीसँगको सम्बन्धनलाई इतिहासमा माथिल्लो स्तरमा पुर्याएका थियौं ।’

उनले आफूहरुले सुरु गरेको भ्रष्टाचार नियन्त्रणको कदमलाई उल्टाउने प्रयास नगर्न चेतावनी दिए । उनले भने, ‘ उहाँहरु अहिले भ्रष्टाचार नियन्त्रणको कदमलाई उल्टाउने काम गर्दै हुनुहुन्छ । अँध्यारो युगबाट नेपाललाई उज्यालो युगमा ल्याउनेलाई सरकारले हटाउन खोजेको छ । म प्रधानमन्त्री हुँदा जनार्दन शर्माको प्रस्तावमा नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्यायौं । जसले अँध्यारो नेपाललाई उज्यालो बनायो । तर अहिलेको सरकारलाई कुलमान, प्रचण्ड, नारायाणकाजी, जनार्दन शर्माको नाम सुनेपछि आतंक मच्चिने गरेको छ ।’

उनले आफू र माओवादी नथाकेको बताए । उनले अब जनताका छोराछोरीलाई बन्दुक बाँड्नु नरहेको बताए । उनले अब नेपाली युवालाई स्वदेशमै रोजगारी सृजनाका लागि उत्पादनका औजारसहित नयाँ अभियान चलाउने बताए । उनले आफूसँग अझै अर्को क्रान्तिको नेतृत्व गर्ने आँट रहेको बताए । उनले आफूहरु रवि लामिछानेको बचाउमा नलागेको बताए । उनले सहकारी ठगीमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताए ।

उनले भने,‘आफूले संसदमा सहकारी ठगी सम्बन्धी संसदीय समिति बनाऔं भन्दै हुँदैन भन्ने केपी ओली हो । मैलै नै हो समिति बनाऔं भनेको हो । समितिको प्रतिवेदनमा नाम उल्लेख भएका अरु दलका मानिस पनि समातिउन् भन्ने हाम्रो माग हो । दोषी कसैलाई बचाउनुपर्छ भन्ने पक्षमा छैनौं ।’

भ्रष्टाचारीसँग जग्गा दान लिनेले सुशासनको कुरा नगर्दा हुन्छः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार नसच्चिए आफूहरु खबरदारीसभामा सीमित नहुने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले सरकार गैरजिम्मेवारी तरिकाले अघि बढे जुनसुकै कदम चाल्न बाध्न हुने चेतावनी दिएका हुन् ।

उनले सरकार भ्रष्टारीको संरक्षक भएको भन्दै आपत्ति जनाए । ललिता निवासको जग्गा प्रकरणमा अदालतबाट दोषी ठहर भएका र राजश्व छलीमा दोषी ठहर भएका व्यक्तिबाट जग्गा दान लिनेहरुले सुशासनका कुरा गर्नु व्यर्थ हुने बताए ।

आफूहरुले सहकारी ठगीमा संलग्नलाई कारबाही गर्न आफूहरुले अवरोध नगरेको भन्दै उनले अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएको उल्लेख गरे ।

श्रेष्ठले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) स्वीकार गर्न सहमति जनाएको कुरा बाहिर आएको भन्दै त्यो आफूहरुलाई स्वीकार्य नभएको बताए ।

अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी

इलाम । इलाम जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन् ।

इलाम नगरपालिका–५ बिब्ल्याँटेका चिया व्यवसायी शरद सुब्बाले यसवर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेकामा उत्पादनमा कमी आएकाले एक हजार पाँच सय किलो चिया मात्र उपलब्ध गराउने सकिने बताए।

‘सुइरोबाट बनाइने तयारी चियाको माग विदेशी बजारमा बढी छ’, उनले भने, ‘उहाँहरुले पहिला नै रकम पठाएर आवश्यकताअनुसार ‘बुकिङ’ गर्नुहुन्छ । उत्पादनमा कमी आएकाले मागअनुसार निर्यात गर्न सकिरहेका छैनौँ ।’

कोरोना महामारीका बेलादेखि निर्यात रोकिएको चियाको अन्तर्राष्ट्रिय बजार विस्तारै चलायमान बन्दै गएको सुब्बाले बताए। यस वर्ष तेस्रो मुलुकबाट तयारी चियाको माग बढी आएको उनले जानकारी दिए।

यहाँको तीनजुरे चिया कारखानाले यस वर्ष ‘गोल्डेन ब्याल्क’, ‘ग्रीन टी’लगायत फरक स्वाद र गुणस्तरका २० क्विन्टल तयारी चिया फ्रान्स पठाएको कारखानाका व्यवस्थापक दिनेश श्रेष्ठले जानकारी दिए। गत वर्ष एक हजार तीन सय किलो तयारी चिया उत्पादन भएको थियो ।

गत वर्ष चीनमा आयोजित अन्तर्राष्ट्रिय टी एक्पोमा तीनजुरे ‘ग्रान्ड गोल्ड’ विधिमा पुरस्कार पाउन सफल भएको उल्लेख गर्दै व्यवस्थापक श्रेष्ठले यस वर्ष अन्तर्राष्ट्रिय बजारको माग पनि बढेको बताए।

यस वर्ष ग्रीनहिल चिया उद्योगले आठ हजार तयारी किलो चिया भारतसहित तेस्रो मुलुकमा निर्यात गरेको उद्योगका सञ्चालक टङ्क दाहालले जानकारी दिए।

‘मागअनुसारको गुणस्तरीय चियाको परिमाण दिन सकिएको छैन’, उनले भने, ‘यो वर्ष हरियोपत्ती गत वर्षभन्दा कम उत्पादन भएकाले आवश्यकता र मागअनुसार तयारी चिया निर्यात गर्न सकिएको छैन ।’

ग्रिनहिलमा गत वर्ष ५५ हजार किलो तयारी चिया उत्पादन भएको जनाउँदै यस वर्ष ४० देखि ४२ हजार किलोमात्र उत्पादन हुने अनुमान गरिएको सञ्चालक दाहालले बताए।

झापास्थित मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा रु तीन अर्ब १६ करोड ३८ लाखको तयारी चिया यहाँबाट निकासी भएको थियो । एक करोड ३४ लाख ३३ हजार आठ सय ५८ किलो चिया निकासी भएको कार्यालयले जनाएको छ ।

नेपालमा उत्पादन हुने चियामध्ये १० प्रतिशत मुलुकभित्रै खपत हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी भारत जाने गरेको बोर्डका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए । मौसममा आएको परिवर्तनले गत वर्षको तुलनामा यस वर्ष हरियो चिया उत्पादनमा कमी आएको उनले बताए।

बोर्डले अर्गानिक चिया उत्पादन बढाउन किसानलाई तालिमसहित प्राविधिक सहयोग गर्दै प्रोत्साहन वृद्धि गर्ने कार्यक्रम ल्याउने योजना बनाइरहेको अधिकारीले जानकारी दिए।

‘गत वर्ष एक हजार तीन सय किसानका गोठ सुधार गरेका छौँ । गोठ सुधारसँगै गोबरबाट बनेको मलको उचित व्यवस्थापनमा किसानलाई सहयोग गरिरहेका छौँ’, उनले भने, ‘चिया निर्यातमा अनुदानका कार्यक्रम सञ्चालन भइरहेका छन् ।’

पहिले अन्तर्राष्ट्रिय बजारमा चियाको माग कम हुने गरेकामा अहिले प्रचारप्रसारका कारण माग बढ्दै गएको कृषि विकास अधिकृत अधिकारीले जानकारी दिए। तोस्रो मुलुकका व्यापारीले चियाको उचित मूल्य दिएसँगै यहाँका व्यापारी तथा किसान पनि प्रोत्साहित भएकाले आगामी दिनमा उत्पादन वृद्धि हुने उनले विश्वास व्यक्त गरे।

इलाममा आठ हजार आठ सय ७६ किसान चियाखेतीमा आश्रित छन् । जिल्लाको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चियाखेती हुँदै आएको छ ।

राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१/८२ को पहिलो तीन महिनामा रु एक अर्ब ८६ करोड ७५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु एक अर्ब ५७ करोड ८९ लाख राजस्व सङ्कलन भएको छ ।

यही साउनदेखि असोज महिनासम्मको अवधिमा अन्तःशुल्कतर्फ रु एक अर्ब ४१ लाख, आयकरतर्फ रु २० करोड ४४ लाख, मूल्यअभिवृद्धि करतर्फ रु १८ करोड ८५ लाख, स्वास्थ्य जोखिम करतर्फ रु १५ करोड ९९ लाख, ब्याजकरतर्फ रु एक करोड ८१ लाख र बहालकर तर्फ रु ३६ लाख राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताए ।

यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को अवधिको तुलनामा बढी राजस्व सङ्कलन भएको हो । अघिल्लो आव २०८०/८१ को पहिलो तीन महिनामा रु एक अर्ब ८८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ७५ प्रतिशत अर्थात् रु एक अर्ब ४१ करोड राजस्व सङ्कलन भएको थियो । प्रमुख सुवेदीका अनुसार चालु आव २०८१/८२ मा रु आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ ।

सो कार्यालयमा आयकरतर्फ ३२ हजार आठ सय ९८, मूल्य अभिवृद्धितर्फ पाँच हजार आठ सय चार, अन्तःशुल्कतर्फ एक हजार पाँच सय ८३, विथहोल्डतर्फ सात सय पाँच र व्यक्तिगततर्फका ७९ हजार चार सय ४४ करदाता रहेका छन् । पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु र नियमित बजार अनुगमन हुनुजस्ता कारणले अघिल्लो वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सुधार आएको प्रमुख सुवेदीको भनाइ छ ।

कार्यालयबाट व्यवसायी करदाता प्रमाणपत्र (प्यानं) लिएकामध्ये धेरैजसो करदाताले लामो समयदेखि वार्षिक आय विवरण नबुझाएपछि कार्यालयले त्यस्ता करदाताको अभिलेख तयार पारेर कारबाही अघि बढाएको हो ।

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरैजसो रु ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन् । साथै ती करदाताको नामावलीसहित आय विवरण बुझाउनका लागि पहल गरिदिन मकवानपुर जिल्लाका १० वटै पालिकालाई पत्राचार गरिएको प्रमुख सुवेदीले बताए ।

व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपय करदाताको मृत्यु भएको, कतिपय वैदेशिक रोजगारीमा गएको र कतिपयले व्यवसायी बिक्री गरिसकेको कारणले पनि समयमा आय विवरण नबुझाउने करदाताको सङ्ख्या बढी देखिएको हुनसक्ने उनको कथन छ ।

यस्तै सो कार्यालयले लामो समयदेखि कर नबुझाउने करदातामाथि समेत कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख सुवेदीले बताए ।

कोप–२९मा हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्तरुपमा उठाउँछौंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप–२९) हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्तरुपमा उठाइने बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयले शनिबार आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई कोप सम्मेलनमा अझ सशक्त रूपमा उठाउन तयारी भएको बताएका हुन् ।

प्रधानमन्त्रीले नेपालमा हिमालहरूले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको सन्दर्भमा विश्वमा भएको कार्बन उत्सर्जनका कारणबाट हिमाल जोगाउनु र नेपालले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु विश्वको हितमा हुने बताए ।

उनले भने, ‘हिउँ पर्ने ठाउँमा बाटो खोल्नुपर्यो भने नुन छरेर बाटो खोल्नुपर्ने हुन्छ । जब बाटाहरु नुन छरेर खोलिन्छ तब एकैचोटि एसिड र नुन परेपछि हिमाल कसरी रहन्छ ? त्यसपछि सेता हिमाल काला भइहाल्छन् । त्यही भएर जलवायु सम्बन्धी कर्तव्य निभाउन सकेका छैनौं तर हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ । विश्व कल्याणका लगि भए पनि हिमालको बारेमा चासो दिनुपर्ने छ ।’

उनले नेपालले लगभग अन्तर्राष्ट्रिय फोरमहरुमा जलवायु सम्बन्धी लिड गरिरहेको बताए । उनले सबैभन्दा बढी सरकोरावाला, सबैभन्दा बढी प्रभावित र सबैभन्दा बढी असर पार्ने र असरलाई रोक्ने भूगोल नै नेपाल भएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकले जलवायु परिवर्तनमा नेपालको स्पष्ट अडान र दृष्टिकोणलाई कोप–२९ मा राख्न गरी तयारी गर्ने निर्णय गरेको थियो । कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने कार्यक्रम छ ।

डोटीमा किबीखेती विस्तार गरिँदै

डोटी । जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ । दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा ‘हिउँदे फलफूल क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार थालिएको हो ।

किबीका बोटबाट २५ वर्षभन्दा लामो समयसम्म आम्दानी लिन सकिने भएकाले यहाँका किसानलाई यसतर्फ आकर्षित गर्न ‘किबी क्षेत्र’ र ‘हिउँदे फलफूल क्षेत्र’ विस्तार कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए।

दिपायल सिलगढी नगरपालिका–६ का हेमबहादुर मल्लले नौ वर्ष पहिले नौ वटा किबीका बोट लगाएका थिए । तत्कालीन समयमा हालको कृषि ज्ञान केन्द्रको सहयोगमा किबीखेतीको सुरुआत गरेको उनले बताए । दुई रोपनी क्षेत्रफलमा नौ बोट लगाएर खेती सुरु गरेको बताउँदै उनले अहिले खेती विस्तार गरी ४० बोट पुर्‍याएको जानकारी दिए ।

सुरुका चार वर्ष किबी हुर्काउन समय लागेको भन्दै मल्लले त्यसपछि उत्पदान दिन सुरु भएको बताए। हाल किबी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुन थालेको उनले जानकारी दिए ।

सुरुमा लगाएका प्रतिबोटमा वार्षिक रु ३० देखि ४० हजारको किबी फल्ने गरेको मल्लले बताउनुभयो । “जिल्लामा पहिलो पटक किबीखेती गरेकोले बजारको समस्या थियो । बिक्री गर्नु पहिले एक/दुई दाना चखाएपछि मात्र खरिद गर्नुहुन्थ्यो”, उनले भने, “अहिले भने माग बाहिरी जिल्लाबाट पनि आउने गरेको छ । उपभोक्ताले घरमै आएर खरिद गर्ने भएकाले बजारको समस्या छैन ।”

किबीखेती गर्दा काँटछाँट र मलजलमा बढी ध्यान दिनुपर्ने मल्लले उल्लेख गरे । काँटछाँटसम्बन्धी ज्ञान नभएमा उत्पादनमा कमी आउने भन्दै ज्ञान केन्द्रले यससम्बन्धी तालिम दिनुका साथै आवश्यक समन्वय गरिरहेकाले किसानलाई खेती गर्न सहज भएको उनको बुझाइ छ । आगामी दिनमा एक सय बोट थप गर्ने योजना रहेको उनले जानकारी दिए ।

जोरायल गाउँपालिका–१ गैराका भास्कर भट्टले पाँच सयबढी बोट लगाएर किबीखेती गरिरहेका छन् । सात वर्ष पहिले सामाजिक सञ्जाल युट्युबमा भिडियो हेरेर किबीखेतीप्रति आकर्षित भएको बताउँदै उनले ६५ बोटबाट खेती सुरु गरेको जानकारी दिए ।

तत्कालीन समयमा कृषि ज्ञान केन्द्रको सहयोगमा ५५ बोट र बाँकी आफ्नो लगानीमा खेती गर्न थालेको भट्टले अनुभव सुनाए । यस वर्षदेखि किबी बिक्री हुने उनले बताए । उनले भने, “बारीमा चार क्विन्टल किबी छ, बिक्रीका लागि धनगढीस्थित भाटभटेनीसँग समन्वय भएको छ । यहाँबाट पनि १०/१५ किलोका दरमा माग भइरहेकाले बिक्रीमा समस्या नहुने विश्वास लिएको छु ।”

अर्को वर्षदेखि ५०–६० क्विन्टल किबी फल्ने भट्टले बताए। उनले किबीखेती गरिएको क्षेत्रभित्र विभिन्न किसिमका तरकारी पनि फलाएका छन् ।

मल्ल र भट्ट जस्तै डोटीमा किबीखेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा एक हजारभन्दा बढी किबीका बोट रहेका भन्दै चार वटा फार्म सञ्चालन भइरहेका केन्द्रका प्रमुख अवस्थीले जानकारी दिए ।

जिल्लामा उत्पादित किबीका लागि बजारको समस्या नभएको बताउँदै भण्डारण गर्नुपर्ने अवस्था आएमा डडेल्धुरामा रहेको चिस्यान केन्द्रमा राखिने उनले उल्लेख गरे । केन्द्रले किसानलाई बिरुवा काँटछाँटसम्बन्धी तालिम दिने, औजार उपलब्ध गराउने, बजारीकरणमा समन्वयनलगायत सहयोग गरिरहेको छ ।

युक्रेनमा पुनः रूसी आक्रमण, पाँच जनाको मृत्यु

युक्रने । युक्रेनमा शनिबार भएको रूसी क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार आक्रमणमा डिनिप्रो सहरमा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो भने किभ र वरपरको क्षेत्रमा भएको आक्रमणमा एक किशोर र अर्का एक व्यक्तिको मृत्यु भएको थियो ।

डिनिप्रो सहरमा भएको आक्रमणमा परी १९ जना घाइते भएको तथा उक्त स्थानका भवनहरू क्षतिग्रस्त भएको मध्य डिनिप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर सेर्गी लिसाकले बताए ।

लिसाकले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरूमा उद्धारकर्ताहरू भग्नाबशेषमा उद्धारको काम गरिरहेको र अस्पतालको कोठाको झ्याल उडेकोे देखाइएको छ । उहाँका अनुसार आठ जना घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

रूसले निरन्तर रुपमा किभसहित युक्रेनी सहरहरूमा घातक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ । मस्कोले ऊर्जा पूर्वाधार केन्द्रित आक्रमण बढाउदा किभले आफ्ना सहयोगीहरूबाट अझ बढी हवाई सुरक्षाको माग्दै आएको छ ।

इजरायलमाथि थप आक्रमण नगर्न इरानलाई अमेरिकाको आग्रह

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ।

‘हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि द्वन्द्व यो चक्र थप वृद्धि नगरी अन्त्य गर्न सकियोस्’, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सीन साभेटले पत्रकारहरूलाई भने।

इजरायली सेनाले शनिबार इरानविरुद्ध सैन्य आधार र मिसाइल उत्पादन केन्द्रलगायत अन्य क्षेत्रहरूमा आक्रमण गरेको छ।

‘उनीहरूको प्रतिक्रिया आत्मरक्षाको अभ्यास थियो र इजरायलले जनसङ्ख्या भएका क्षेत्रहरुलाई असर नगर्ने गरी केवल सैन्य लक्ष्यहरू केन्द्रित आक्रमण गरेको थियो’, उनले बताए।

इजरायलले इरानमा गरेको अक्रमणमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नरहेको कुरामा जोड दिँदै साभेटले भने, ‘मध्यपूर्व क्षेत्रमा तनाव कम गर्नु हाम्रो उद्देश्य हो।’

अस्ट्रेलियामा विमान दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको सिड्नीदेखि दक्षिणपश्चिम क्षेत्रमा शनिबार भएको विमान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिड्नीको बाहिरी दक्षिणपश्चिममा दुईवटा हल्का विमानहरू ठोक्किएर दुर्घटना ग्रस्त भएका थिए ।

सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखी दुर्घटनाग्रस्त क्षेत्रबाट टाढा रहन आग्रह गर्दै थप जानकारीको लागि अनुसन्धान भईरहेको एनएसडब्लु प्रहरीले उल्लेख गरेको छ ।

घटनास्थलमा एनएसडब्लु प्रहरी, अग्नि नियन्त्रक र एनएसडब्लु एम्बुलेन्स उपस्थित रहेको जनाइएको छ ।

अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरोले दुर्घटनाको कारणबारे थप अनुसन्धान गर्ने एनएसडब्लु प्रहरीले जनाएको छ ।

सहकारी ठगीमा संलग्न सत्तापक्ष र विपक्ष नहेरि सबैलाई कारबाहीको दायरामा ल्याउँछौंः सञ्चारमन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका  समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर रहेको बताएका छन् ।

पार्टीको लमजुङ जिल्ला कमिटीद्वारा दसैँ, तिहार, नेपाल संवत्, छठका अवसरमा बेँसीसहर नगरपालिका–८ मा शनिबार बिहान आयोजित कार्यक्रममा उनले सरकारले बाढीपहिरो पीडित, सहकारीपीडित, कृषक, व्यवसायी, निर्माण व्यवसायीलगायत सबै पेसाकर्मीलाई सहयोग पुग्नेगरी सरकारले काम गरिरहेको बताए ।

बाढीपहिरोबाट अतिप्रभावित पालिकालाई  एक करोड, मध्यम क्षति भएकालाई  ६० लाख प्रदान गर्ने निर्णय सरकारले गरेको जानकारी दिँदै उनले अस्थायी बासको व्यवस्था पनि सरकारले गर्ने बताए ।

मन्त्री गुरुङले ३० लाख दूध किसानमध्ये १५ लाख किसानका समस्या समाधान गर्नेदेखि निर्माण व्यवसायीलाई भुक्तानी दिनेसम्मका काम सरकारले प्राथमिकताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वर्तमान सरकार गठन भएयता आफूहरुले मुलुकको अर्थतन्त्रमा सुधार गर्न हरसम्भव प्रयास गरिरहेको, प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा छिमेकीहरुसँगको सम्बन्ध विस्तारमा विशेष जोड दिएको, देशलाई विश्व बैंक, एसियाली विकास बैंकका साथै युरोपेली बैंकहरुले पनि वातावरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा खुला हृदयले सहयोग गरिरहेका सञ्चारमन्त्री गुरुङले बताए । 

सहकारीको रकम ठगीमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याइने र ठगीको अभियोगमा अनुसन्धानका निम्ति प्रहरीको नियन्त्रणमा रहेका सबैलाई कानुनअनुसार कारबाही हुने उनले बताए ।

ऐनकानुन विपरीत गर्ने सबैलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारमन्त्री गुरुङले सत्तापक्ष र विपक्ष नहेरिने, कसैको दबाब र प्रभावमा सरकार नपर्ने प्रष्ट पारे ।

‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सरकारले नीति तर्जुमा गर्न लागेको छ । यो जमाना आइटी र सूचनाको हो, सञ्चार मन्त्रालयले नागरिक एपमार्फत सबै काम गर्नेछ । फोरजी सेवाको काम ८० प्रतिशत पूरा भएको छ । राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट स्वदेशमा नै छाप्ने योजना छ’, विदेशमा छापिँदै आएको हुलाक टिकट हाल स्वदेशमा नै छापिने गरेको जानकारी दिँदै उनले भने । 

कांग्रेसको चाहना पनि चुनावी सरकारको नेतृत्व होः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अगामी निर्वाचनमा तयारीबिना सत्ता साझेदार दल नेकपा एमालेजस्तो संगठित संस्थासँग भिडेर जान कठिन हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कोइरालाले एक्लाएक्लै चुनाव लड्ने रणनीति पार्टीले लिएको उल्लेख गर्दै यसका लागि आवश्यक तयारीमा लाग्न जरुरी रहेको बताएका हुन् ।

उनले राजनीतिक दलहरुमा समेत आफ्नो मान्छेलाई टिकट बाँड्ने प्रचलन रहेको कारण समस्या भइरहेको बताए ।

उनले भने, ‘अहिले सबै पार्टीहरु एक्लाएक्लै चुनाव लड्ने भनिरहेका छन् । हामीले त झन भनिनै रहेका छौं यो राजनीतिक दलहरुको रणनीतिक चाल हो । एक्लाएक्लै लड्ने हो भने हामीले तयारी त गर्नुपर्यो नि । तयारी गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो भनाई हो ।’

त्यस्तै, उनले एमाले र कांग्रेस प्रमुख प्रतिस्पर्धी दल भएपनि राजनीतिक स्थिरताका लागि मिलेर सरकार चलाउनुपरेको बताए । सहमति अुनसार सुरुवाती दुई वर्ष सरकारको नेतृत्व ओलीले गर्ने र आगामी निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गर्ने बताए ।

उनले भने, ‘उहाँहरुबीचको सहमति अनुसार दुईवर्ष केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । त्यसपछि शेरबहादुरजीले चुनाव गराएर जाने कुरा छ । कांग्रेसको चाहना पनि त्यही हो । तर, हामीहरुको प्रतिस्पर्धीं एमाले हो, सहकार्य पनि एमालेसँगै गर्नुपरेको छ । हामीलाई अफ्ठ्यारो त्यहाँ परेको छ । सरकारमा बसेकाहरुले सहकार्य गरुन् त बाहिर हामीहरु छौं । हामीहरुले प्रतिस्पर्धीको रोल पनि खेल्नुपर्छ । होइन भने एमालेजस्तो संगठित संस्थासँग भिडेर जान गाह्रो हुन्छ ।’

सरकारविरुद्ध काठमाडौंमा माओवादी केन्द्रको प्रदर्शन(फोटोफिचर)

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ । सरकारविरुद्ध खबरदारी गर्न काठमाडौंको कान्तिपथबाट माओवादीको प्रदर्शन शुरू गरेको हो ।

सुन्धाराबाट बागबजार हुँदै भृकुटीमण्डप पुगेर उक्त जुलुस खबरदारी सभामा परिणत हुने माओवादी केन्द्रले जनाएको छ । पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी सभा गर्न लागेको हो ।

सरकारले गलत काम गरेको भन्दै त्यसको विरोध गर्न माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

अफगान महिला र बालिकाको अवस्थाप्रति समिति चिन्तित

काठमाडौँ । अफगानिस्तानका महिला तथा बालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै महिला विभेद उन्मुलनसम्बन्धी राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यू) ले उनीहरुको शिक्षा, रोजगारी, आवागमन, सार्वजनिकस्थलमा उपस्थितिलगायत आधारभूत मानव अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ ।

सिइडिएडब्ल्यूका सदस्य एवं अफगानिस्तान मामिला प्रमुख बन्दना राणाले शुक्रबार जेनेभास्थित राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को प्रधान कार्यालयमा भएको बैठकमा महिला हकअधिकारका सम्बन्धमा सिइडिएडब्ल्यू निर्धारण गरेका मान्यताको पालना गर्न अफगान सरकार तथा नागरिक समाजलाई निर्देशन दिएकी छन् ।

लैङ्गिक अधिकार सुनिश्चित गर्ने हिंसा एवं त्रासरहित वातावरणमा महिला तथा बालबालिकाको पठनपाठन एवं रोजगारीको अधिकार प्रत्याभूत गर्न र विगतमा व्यक्त प्रतिबद्धता पालना गर्न समितिले निर्देशन दिएको हो ।

समितिले अफगानिस्तानसम्बन्धी चौथो आवधिक प्रतिवेदन तयारी थालेको र त्यसबाट महिला तथा बालिकाहरुको वास्तविक स्थितिबारे जानकारी हासिल गर्न मद्दत पुग्ने विश्वास समितिले व्यक्त गरेको छ ।