`

एलन मस्क ‘सरकारी दक्षता विभाग’को प्रमुख नियुक्त

बीबीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्कलाई जिम्मेवारी दिने भएका छन् । कार्यभार सम्हानुअघि नै जिम्मेवारी दिने व्यक्तिहरुको सूची सार्वजनिक गर्दै आएका ट्रम्पले नयाँ विभाग गठन गर्दै मस्क र पूर्व राष्ट्रपतीय रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीलाई जिम्मेवारी दिएका हुन् ।

ट्रम्पले सरकारी खर्च घटाउने र कर्मचारीहरुमाथि निगरानी गर्ने उद्देश्यले ‘सरकारी दक्षता विभाग’ नै बनाएका छन् । त्यसैको नेतृत्व मस्क र रामास्वामीलाई सुम्पिएका हुन् ।

यो विभागले अनावश्यक नियमहरु परिमार्जन र हटाउन, फजुल खर्चमा कटौती गर्दै संघीय निकायहरुलाई पुनर्संरचना गर्न भूमिका खेल्ने छ । मस्क र रामास्वामीले २०२६ को जुलाई ४ सम्ममा आफ्नो जिम्मेवारी पूरा गर्ने बताएका छन् । ४ जुलाई २०२६ मा अमेरिकाले २५० औं वार्षिकोत्सव मनाउँदै छ ।

चुनावकै बेला विभिन्न कुराहरुको पुनर्संरचना गर्ने बताएका ट्रम्पले यो विभाग अमेरिकी जनताका लागि ‘उपहार’ हुने बताएका छन् । एलन मस्क टेस्ला, स्पेसएक्स र एक्स (पूर्व ट्विटर) का प्रमुख हुन् ।

उनी ट्रम्पको चुनावी अभियानमा खुलेरै लागेका थिए भने विवेक रामास्वामी एक औषधि कम्पनीका संस्थापक र उद्यमी हुन् । उनले ट्रम्पको राष्ट्रपतीय अभियानमा समर्थन जनाउँदै आफू चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

फेसबुक पेज प्रेस काउन्सिलको निगरानीमा, मर्यादित नबने कारवाहीको चेतावनी

काठमाडौं । प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपील जारी गरेको छ ।

नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मङ्गलबार विशेष अपील जारी गरको हो ।

सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।
सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालको पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाई कार्यान्वयन गरिरहेको उल्लेख छ ।

सञ्चार माध्यमअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल एवम् फेसबुक पेज)बाट सम्प्रेषित सामग्रीका सम्बन्धमा उजुरी आएमा वा स्वअनुगमनबाट देखिएमा त्यस्ता सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको व्यवस्था बमोजिम नै कारबाही भइरहेको र अन्य सामाजिक सञ्जालबाट अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अन्धविश्वासलाई प्रश्रय दिने, अशिष्ट÷अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण भएको देखिएमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गर्ने गरिएको काउन्सिलले जनाएको छ ।

पछिल्लो समय कतिपय सामाजिक सञ्जाल (युट्युब÷फेसबुक पेज) बाट प्रचलित कानुनअनुसार दर्ता भइ स्थापित सञ्चार माध्यमप्रति वितृष्णा फैलाउने गरी गलत भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा जनाइएको छ ।

सञ्चार माध्यमको विश्वास नगर्न, अहिले सामाजिक सञ्जाल नै आधिकारिक माध्यम हुन् भन्ने जस्ता भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ, त्यसमा उल्लेख छ ।

सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको काउन्सिलको विशेष अनुगमनबाट देखिएको छ । सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा अन्योल समेत सिर्जना गरेको छ । काउन्सिलले यस्ता गतिविधिलाई गम्भीररूपमा लिइ समस्या समाधानका लागि राज्यका निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको काउन्सिलले जनाएको छ ।

मिडियाको आवरणमा रहेका पेज, ग्रुपसहितमा आबद्ध व्यक्तिहरूले विज्ञापनका लागि अनावश्यक दबाब दिने, अन्य ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा वा विज्ञापन दिन अस्वीकार गरेमा त्यस संस्था, कम्पनी एवम् व्यक्तिको बारेमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोपहरू लगाई मिथ्या सूचना प्रकाशन÷प्रसारण गर्ने गरेको भनी गुनासाहरू प्राप्त भइरहेका छन् । यस्ता गतिविधिहरुलाई तत्काल रोक्न प्रेस काउन्सिल सम्बद्ध सबैलाई सचेत गराउन चाहन्छ, विज्ञप्तिमा भनिएको छ ।
सामाजिक सञ्जालले सत्य, तथ्य एवम् सन्तुलित सुचना प्रवाह गर्न सके मात्र यसप्रति जनविश्वास बढ्छ ।
’कुनै सुचना प्रकाशित गर्नुअघि विश्वसनीयताको परीक्षण गर्नुपर्दछ । आफूले सम्प्रेषण गरेका सामग्रीउपर हुने विचार वा कमेन्टहरूबाट सिर्जित परिस्थितिको सार्वजनिक एवम् कानुनी जवाफदेहिता पनि स्वयम् सञ्चार माध्यम एवम् सम्वद्ध सामाजिक सञ्जालको हुनेतर्फ काउन्सिलले सजग समेत गराएको छ ।

आधिकारिक र विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुन्छ । सामाजिक सञ्जालहरु पनि त्यसैका लागि सदुपयोग गर्न सके अहिले देखिएका कतिपय भ्रमहरु आफै हट्दै जानेछन्,’ काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको धारणा छ ।

प्रेस काउन्सिलले लागु गरेको कार्यविधिमा आमसञ्चार माध्यमले झैं सामाजिक सञ्जाल (युट्युब च्यानल तथा फेसबुक पेजहरु)ले सञ्चालक र कार्यालय ठेगानासहित पूर्ण विवरण खुलाउनुपर्ने प्रष्ट उल्लेख गरेको छ । कानुनी प्रक्रिया पूरा नगरी चलाएका सञ्जालबाट सम्प्रेषित सामग्रीबाट प्रचलित कानुन उल्लङ्घन भए आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।

विज्ञप्तिमा सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै संविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आम सञ्चारमाध्यमको प्रतिवद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवम्क्रियाशील भएको उल्लेख छ ।
सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजलाई प्रचलित कानुन र आचासंहिताको पालना गरी सुचना सम्प्रेषण गर्न सम्बद्ध सबैमा काउन्सिल आग्रह समेत गरेको छ ।
साथै मिडियाको दुरुपयोग गर्ने, भ्रम छर्ने, विज्ञापनलगायत ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा धम्की दिने, तथ्यहीन सामग्री प्रकाशन/प्रसारण गर्नेजस्ता गैरपेशागत आचरण प्रस्तुत नगर्न, नगराउन समेत विज्ञप्तिमार्फत् काउन्सिलले विशेष अपील गरेको छ ।

रास्वपा नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता हुने भएको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार रास्वापका  सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया चलिरहँदा अदालतका गतिविधिविरुद्ध आन्दोलन गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले दिएकोे अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश दिएको हो ।

यसअघि सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेलले सो निवेदन दरपिठ (दर्ता गर्न अस्वीकार) गरेका थिए । अधिवक्ता भट्टराईले त्यसविरुद्ध यही कात्तिक २१ गते इजलाससमक्ष निवेदन दिएका थिए । निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपिठ बदर गर्दै दर्ता गर्न आदेश गरेको हो ।

निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको उल्लेख छ ।निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त मर्हजन, तोषिमा कार्की, असिम शाह, गणेश पराजुली, सोबिता गौतमलगायतलाई विपक्षी बनाइएको छ ।

कारले पैदलयात्रीलाई ठक्कर दिँदा चीनमा ३५ जनाको मृत्यु, ४३ घाइते

बेइजिङ । दक्षिणी चीनको झुहाई शहरमा सोमबार साँझ एउटा कारले पैदल यात्रीहरुलाई ठक्कर दिँदा ३५ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ ।

सोमबार नै यो घटनाको जानकारी दिइएको थियो । तर त्यस बेला प्रहरीले केही मानिसहरू घाइते भएको मात्र बताएका थिए भने सामाजिक सञ्जालबाट घटनाका भिडियोहरू हटाइएको देखिन्थ्यो ।

तर मङ्गलबार प्रहरीले झुहाई खेलकुद केन्द्रमा ‘गम्भीर र दुर्भावनापूर्ण आक्रमण’ भएको र मृतकको सङ्ख्या ३५ पुगेको खुलासा गरेको छ ।

फान उपनामले चिनिने ६२ वर्षीय चालकले ‘एउटा सानो एसयुभी गेटबाट भित्र चलाएर शहरको खेलकुद केन्द्रमा प्रवेश गरी खेलकुद केन्द्रको भित्री सडकमा व्यायाम गरिरहेका मानिसहरूलाई ठक्कर दिएको’ प्रहरीले विज्ञप्तिमा जनाएको छ ।

प्रहरीले फानलाई आफ्नो कारमा चक्कुले आफैँलाई काटिरहेको अवस्थामा फेला पारी ‘तत्काल रोकेर उपचारका लागि अस्पताल पठाएको’ थियो ।

उनी हाल घाँटी र शरीरका अन्य भागमा आफैँले गरेको चोटका कारण कोमामा छन् र ‘सोधपुछका लागि असक्षम’ रहेको प्रहरीले बताएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचारका लागि ‘सम्पूर्ण प्रयास’ गर्न आग्रह गरे र ‘कानून बमोजिम अपराधीलाई दण्डित गर्न माग’ गरेको सरकारी सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

बेइजिङको नागरिक र सैन्य एयरोस्पेस क्षेत्र प्रदर्शन गर्ने चीनको सबैभन्दा ठूलो एयर शो यही शहरमा आयोजना भइरहेको छ ।

जापान मानव तस्करी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई थप सात दिन थुनामा राख्न अनुमति

काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप सात दिन थुनामा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई थप ७ दिन थुनामा राखेर राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

जापान मानव तस्करीको आरोपमा पूर्वमन्त्री अधिकारी, दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, महेश पाण्डे, वीरबहादुर सुनार, जुगल रिजाल, गुड्डी राई र नविन राई हिरासतमा छन् ।

कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेका थिए । तर, उनीहरूलाई जापानको अध्यागमनले टोकियो विमानस्थलबाट डिपोर्ट गरेको थियो ।

उनीहरूलाई बिचौलियाहरु धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजालले पठाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

आइतबार पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो । यो घटनामा मंगलबार थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई छन् ।

उनीहरुले जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको पाइएको प्रहरीले जानकारी दिएको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते र मानव तस्करीको कसुरमा अनुसन्धान गरिरहेको छ ।

समस्याग्रस्त सिभिल सहकारीका १६ सय पीडितद्वारा सात अर्ब बचत फिर्ताको माग

काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब सात अर्ब बचत माग गरेका छन् ।

बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीडितका लागि माग दाबीको निवेदन दिन जारी गरेको ३५ दिने सूचना सोमबार सकिएको थियो ।

सोमबार एक हजार ६०० पीडितले सात अर्ब दाबी गरेको समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रभात अधिकारीले जानकारी दिए ।

सिभिल सहकारीलाई बागमती प्रदेश सरकारले २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरेको थियो । प्रदेश सहकारी ऐन, २०७६ अनुसार सिभिललाई समस्याग्रस्त घोषणा गरेको थियो ।

सिभिललाई समस्याग्रस्त घोषणा गरेपछि प्रदेश सरकारले २०८० पुस २२ गते समिति गठन गरेको थियो । समितिमा हाल अध्यक्षसहित तीन सदस्य छन् । बाँकी तीन सदस्य भने पदपूर्ति हुन बाँकी रहेको जनाइएको छ ।

सहकारीका अध्यक्ष इच्छाराज तामाङ अहिले पनि जेलमा छन् । तामाङले सहकारीबाट सात अर्ब ऋण लिएको कागजातबाट देखिएको अध्यक्ष अधिकारीले बताए । समितिले अनामनगरमा कार्यालय खोली गत असारदेखि काम सुरु गरेको छ । बागमती प्रदेश सरकारले यही कात्तिक ११ गते कीर्तिपुरको दर्शन सहकारीलाई पनि समस्याग्रस्त घोषणा गरेको छ ।

उद्योगमा काटिएको विद्युत लाइन जोड्ने प्राधिकरण बोर्ड बैठकको निर्णय

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति (बोर्ड) ले उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार बसेको बोर्ड बैठकले कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वयन गर्दै काटिएका उद्योगमा तत्काल बिजुली जोड्ने निर्णय गरेको बोर्डका अध्यक्ष एवम् ऊर्जामन्त्री दीपक खड्काले जानकारी दिए ।

यसअघि प्राधिकरणले गत कात्तिक आठ गते बक्यौता विवाद रहेका सबै उद्योगको लाइन काटिदिएको थियो

मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।

‘१५ दिनभित्र टाइम अफ डे (टिओडी) मिटरका आधारमा बक्यौता असुलउपर गर्ने मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने निर्णय भएको छ,’ मन्त्री खड्काले भने ।

उनले प्राधिकरणले विद्युत् प्रयोग गरेवापत बिल दिनुपर्ने र व्यवसायीले सोअनुसार रकम तिर्नुपर्ने बताए । ‘बिल दिन सकेन भने प्राधिकरणका कर्मचारीमाथि कारबाही हुन्छ, तिर्नुपर्ने पैसा तिरेन भने व्यवसायीमाथि कारबाही हुन्छ,’ मन्त्री खड्काको भनाइ छ ।

तर, सोमबार नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले मन्त्रिपरिषद्को निर्णयको विरोध गरेका थिए । उनीहरूले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रकम नबुझाएरै लाइन जोडिए संघर्ष गर्ने चेतावनी दिएका थिए । तर सरकारले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिएको थियो ।

पूर्वमन्त्री अधिकारी जोडिएको जापान मानव तस्करी प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको जापानमा मानव तस्करी प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।

प्रहरीले जापानबाट डिपोर्ट भएकाहरूलाई नक्कली कागजात बनाइदिने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ पर्नेमा खोटाङका नवीन राई र गुड्डी राई छन् । यससँगै यो घटनामा पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ । उनीहरुले खोटाङको ऐशेलुखर्क गाउँपालिका वडा नम्बर–२ का वडा सदस्य र कोशीकाको कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र बनाइदिएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका नौजनाविरुद्ध प्रहरीले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

गौतमबुद्ध विमानस्थलबाट कतार एयरले थाल्यो व्यावसायिक उडान

काठमाडौँ । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि व्यावसायिक उडान सुरु गरेको छ । 

दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० मंगलबार अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध विमानस्थलले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले एयर बस ३३० बाट गौतमबुद्ध विमानस्थलमा कतार एयरवेजले पहिलोपटक व्यावसायिक उडान गरेको बताए ।

कतार एयरवेजले अब नियमित रुपमा दोहा–भैरहवा–काठमाडौँ–दोहा ‘रुट’मा एक उडान गर्नेछ । उक्त विमान कम्पनीले आगामी मङ्सिर १५ गतेसम्म गौतमबुद्ध विमानस्थलमा उडानको अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतार एयरसँगै गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको सङ्ख्या पाँच पुगेको छ । 

यसअघि उक्त विमानस्थलमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एसिया र जजिराले सेवा प्रारम्भ गरिसकेका छन् ।

नेप्से परिसूचक ओरालो लाग्दा सात अर्ब ८५ करोडको कारोबार

काठमाडौँ । अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भने ओरालो लागेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक मंगलबार भने ११ दशमलव २४ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४८ दशमलव ९६ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९३ अङ्कले ओरालो लागेर चार सय ८८ दशमलव ७८ मा सीमित भएको छ । कारोबार भएकाक १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । कूल एक करोड ६७ लाख ८६ हजार नौ सय ३४ कित्ता शेयर रु सात अर्ब ८५ करोड ९७ लाख ४० हजार सात सय ९८ मूल्यमा खरिदबिक्री भएको छ ।

नेप्सेका अनुसार गुराँस लघुवित्त, मेछ्याङ हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । वेस्ट फाइनान्स नौ दशमलव ९९, एनएलजी इन्स्योरेन्स कम्पनी नौ दशमलव ९९ र समृद्धि फाइनान्सका लगानीकर्ताले नौ दशमलव ६१ प्रतिशतले कमाएका छन् । गुडविल फाइनान्स नौ दशमलव ३६,आँखु खोला जलविद्युत् कम्पनी चार दशमलव ९१,माछापुच्छ«े बैङ्क चार दशमलव ५९,अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी तीन दशमलव ७१ र हिमालय बैङ्कको बन्डका लगानीकर्ताले तीन दशमलव ४८ प्रतिशतले गुमाएका छन् ।

श्रीलङ्काको बामपन्थी दल संसदमा बहुमत ल्याउने कसरतमा

कोलम्बो । श्रीलङ्काका नयाँ वामपन्थी नेताले बिहीबार हुने निर्वाचनमा आफ्ना तीन संसदीय सिटलाई सदनको बहुमतमा पुर्याउने प्रयास गर्दै गर्दा बलियो समर्थन प्राप्त हुने देखिएको छ ।

कार्ल माक्र्स र चे ग्वेभारालाई आफ्नो नायकका रूपमा लिने ५५ वर्षीय राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई देशको सबैभन्दा ठूलो र सबैभन्दा प्रभावशाली निजी क्षेत्रको व्यापार र उद्योग निकायको समर्थन छ।

सन् २०२२ मा देशको आर्थिक मन्दीलाई लिएर सिर्जना भएको जनआक्रोशका कारण दिसानायकेले सेप्टेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा बहुमत प्राप्त गरेका थिए ।

सिलोन चेम्बर अफ कमर्स (सीसीसी) ले आर्थिक पुनरुत्थानका लागि आफ्ना प्रस्तावहरू पिपुल्स लिबरेशन फ्रन्ट (जेभीपी) को समाजवादी एजेन्डासँग मेल खाने बताएको छ।

देशले डिसानायकेको नेतृत्वमा चीन वा भियतनामको आर्थिक मोडेलहरू पछ्याउन सक्ने व्यवसायीहरूले अनुमान गरेका छन् ।

अस्ट्रेलियास्थित भूराजनीतिक जोखिम विश्लेषण फर्म ट्रेसिंकका इमरान फुरकानले भने, “पहिलो कार्यकालमा पूर्ण लोकतान्त्रिक व्यवस्थाको मामिलामा भियतनामभन्दा जेभिपीले धेरै राम्रो नीति अख्तियार गर्नेछ ।”

उनले भने, “लामो समयदेखि साम्यवादी रहेको भियतनामको तुलनामा श्रीलङ्कामा प्रजातन्त्रको गहिरो जरा गडेको छ ।”

बिहीबारको संसदीय चुनावमा दिसानायकेको पार्टीले सहजै जित हासिल गर्ने र त्यसपछि उहाँका दक्षिणपन्थी पूर्ववर्ती रनिल विक्रमासिङ्घेले सुरु गरेको अलोकप्रिय मितव्ययिताका उपायहरू सहित सुधारहरू अघि बढाउने फुरकानले विश्वास व्यक्त गरेका छन् ।

ट्रम्प पुनः निर्वाचित भएपनि जलवायु परिवर्तनको असर न्यून गर्ने प्रयासले निरन्तरता पाउने

पेरिस सम्झौताबाट बाहिरिने प्रतिबद्धता जनाएका डोनाल्ड ट्रम्प पुनः निर्वाचित भए पनि जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी कदमले निरन्तरता पाउने संयुक्त राष्ट्रसङ्घका अधिकारीले बताएका छन् ।

“जलवायु परिवर्तनसम्बन्धी कदम ‘बलियो छ र रहिरहनेछ’,” संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख सिमोन स्टिएलले मङ्गलबार बताए ।

“तपाईंहरूमध्ये धेरैले विगत हप्ताहरूमा राजनीतिक घटनाहरूको जलवायु प्रभावहरूको बारेमा रिपोर्ट गर्दै हुनुहुन्छ। म यति मात्र भन्छुः हाम्रो अभियान सशक्त छ र रहिरहनेछ,” उनले भने ।

सन् २०१५ को ऐतिहासिक पेरिस सम्झौताबाट अमेरिका पछि हटेपछि वार्ताको टेबुलको महत्वाकाङ्क्षालाई कमजोर पार्न सक्ने चिन्ताका साथ ट्रम्पको चुनावी जितले अजरबैजानको कार्यसूचीमा व्यापक अन्योल छाएको विश्लेषकहरूले जनाएका छन् ।

स्टिएलले जलवायुमा विश्वव्यापी ऐक्यबद्धता देखाउन बैठकको आह्वान रहेको दोहोर्याउँदै भने, “विश्वव्यापी तापमान वृद्धिबाट बच्नका लागि विश्वव्यापी सहयोग नै एक मात्र उपाय हो ।”

विकासशील देशहरूलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न र जीवाश्म ईन्धनबाट आफ्नो अर्थव्यवस्थालाई मुक्त गर्न मद्दत गर्न सहयोगको वृद्धिमा केन्द्रित रहेको छ । अहिले रकम तिरिरहेका धनी देशहरूको सानो समूहले दाताहरूको सङ्ख्या विस्तार भएको हेर्न चाहन्छन् र वार्षिक १०० अर्ब डलरको वर्तमान प्रतिज्ञालाई दस गुणा बढाउने आह्वानको विरोध गरिरहेका छन्।

धेरै मुलुकले घरेलु जनतालाई जलवायु नियन्त्रणभन्दा मुद्रास्फीति र सुस्त अर्थव्यवस्थाको बारेमा बढी चिन्तित भएको बताएका छन्। तर स्टिलले भने यी दुईको सम्बन्ध रहेको दाबी गरे ।

उनले भने, “जलवायु सङ्कट तीव्र गतिमा प्रमुख अर्थतन्त्रको तगारो बन्दै गइरहेको छ । समस्या नियन्त्रणका लागि कुनै कदम नचालेमा ‘हरेक देश र प्रत्येक घरपरिवार अहिलेको भन्दा पनि बढी प्रभावित बन्नेछन् ।”

“जलवायु नियन्त्रण वैश्विक मुद्रास्फीति बीमा हो,”उनले भने ।

धर्मका नाममा राजनीति हुनु हुँदैनः प्रधानमन्त्रीओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति हुन नहुने बताएका छन् ।

प्रधानमन्त्री निवासमा मंगलबार जैनश्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले धर्म निरपेक्ष हाम्रो मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीति हुन नहुने बताएका हुन् । 

‘नेपालमा एकातिर हिन्दूू राज्य हुनुुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर इसाई धर्म विस्तारका नाममा गरिबीको दुरुपयोग गरिएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छौं । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुुता र सङ्कीर्णता राख्नुु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छाैं ।’

त्यस अवसरमा आचार्य महाश्रमणका शिष्यहरु रमेशकुमार र रत्नकुमारले समाजमा नैतिकता, सद्भावना, मानवता, नशामुक्त समाज निर्माणका साथै शान्तिका लागि आफूूहरुले गरेका कामबारे प्रधानमन्त्रीलाई जानकारी दिएका थिए । 

रूबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी

वासिङ्टन । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।

नाम उल्लेख नगरिकन विभिन्न तीन जनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘आफ्नो उपराष्ट्रपति पदको उम्मेदवारको रूपमा चयन गरेका रूवियोलाई ट्रम्पले विदेशमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । यो निर्णय अन्तिम होइन ।’

जर्मनीका लागि पूर्वराजदूत रिक ग्रेनेलसँगै रुबियोलाई अमेरिकी कूटनीतिको नेतृत्व गर्ने अग्रपङ्क्तिका व्यक्तिका रूपमा गत हप्तादेखि चर्चा गरिएको छ ।

रुबियोले गत साता सीएनएनसँग भनेका थिए, ‘म जहिले पनि यो देशको सेवा गर्न इच्छुक छु।’

क्युबाको विरासत बोकेका कट्टर पन्थी सांसदको मनोनयनले ट्रम्पसँगको सम्बन्धमा उल्लेखनीय परिवर्तन ल्याउनेछ । सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दिने क्रममा रुबियोले ट्रम्पलाई ‘ठग कलाकार’ र ’अहिलेसम्मकै सबैभन्दा अश्लील व्यक्ति’ भनेका थिए ।

मियामीमा क्युबाली आप्रवासीको कोखबाट जन्मिएका उनले सन् १९९३ मा फ्लोरिडा विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका थिए ।

सन् २०१० मा बाराक ओबामा राष्ट्रपतिमा निर्वाचित भएपछि रिपब्लिकनहरूको अति दक्षिणपन्थी दल टी पार्टीले उनको चुनावी अभियानलाई बढावा दिँदै उनी अमेरिकी सिनेटमा निर्वाचित भएका थिए ।

जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने

टोकियो ।  जापानले सन् २०३० को दशकको सुरुमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन कार निर्माताहरूलाई प्रोत्साहित गर्ने योजना अघि सारेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उद्योग मन्त्रालयले उपसमितिको बैठकमा सार्वजनिक गरेको नयाँ लक्ष्यले तेल थोक बिक्रेताहरूलाई आर्थिक वर्ष २०३० सम्ममा १० प्रतिशतसम्म बायोएथेनल मिश्रित पेट्रोल आपूर्ति सुरु गर्न आग्रह गर्ने लक्ष्य राखेको छ। मन्त्रालयले यो परिवर्तनलाई कानुनमार्फत अनिवार्य बनाउनेबारे पनि सोचिरहेको बताइएको छ।

‘यसबाहेक, मन्त्रालयले अर्को ग्रिष्म ऋतुसम्ममा अन्तिम रूप दिने अपेक्षा गरिएको एक कार्य योजना तयार गरिरहेको छ र बायोएथेनल–मिश्रित इन्धनहरू समायोजित गर्न ग्यास स्टेसनहरूमा आवश्यक तयारीका लागि सहयोग गर्नेछ,’ रिपोर्टमा भनिएको छ।

मकै र उखुबाट बनेको बायोएथेनलले प्रकाश संश्लेषणको क्रममा कार्बनडाइअक्साइड सोस्छ। यो प्राकृतिक प्रक्रियाले बायोएथेनोल–मिश्रित इन्धन जलाउँदा उत्पन्न कार्बनडाइअक्साइड उत्सर्जनलाई नियन्त्रण गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

कोप–२९ नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर हो : राष्ट्रपति पौडेल

अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको शिखर सम्मेलन कोप–२९ मा नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर भएकाले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

कोप–२९ मा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकुमा रहेका राष्ट्रपति पौडेलले यहाँस्थित ट्रेन्ड न्यूज एजेन्सीसँगको कुराकानीका क्रममा जलवायु परिवर्तनका कारण नेपाल जस्ता मुलुकले ठूलो समस्या भोग्नु परेको र विश्वले यस विषयमा विशेष ध्यान दिनुपर्ने बताए।

‘जसरी बढ्दो जलवायु परिवर्तनका कारण मानव सभ्यता, संस्कृति र पृथ्वीलाई नै चुनौती दिइरहेको छ, यसले हामीलाई इतिहासको महत्वपर्ण मोडमा ल्याएको छ’, राष्ट्रपति पौडेलले भने, ‘अवस्था यति गम्भीर छ कि संयुक्त राष्ट्रसङ्घले विद्यमान जलवायु सङ्कट समाधानका लागि उपयुक्त उपाय अवलम्बन गर्न असफल भयौँ भने यस शताब्दीको अन्त्यसम्म तापक्रम तीन दशमलव १० डिग्री सेल्सियससम्म वृद्धि हुन सक्ने चेतावनी दिएको छ।’

राष्ट्रपति पौडेलले विश्व नै जलवायुसम्बन्धी समस्यामा परेको र यी समस्या समाधानका लागि हामी सबै एकजुट हुनको विकल्प नभएको उल्लेख गरे। उनले कोप प्रेसिडेन्सी ट्रोइकाले तयार पारेको मार्गचित्रमा सहकार्यका लागि नेपाल तयार रहेको तथा हरित विश्वको अवधारणामा आफ्नो ऐक्यबद्धता रहेको समेत स्पष्ट पारे। साथै बाकुमा आयोजना भएको यस सम्मेलनलाई सफल पार्न नेपालको पूर्ण सहयोग रहने उनको भनाइ थियो।

कोप–२९ का प्राथमिकता

राष्ट्रपति पौडेलले कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रुपमा लिएको बताए। ‘म यस सम्मेलनमा जलवायुजन्य विपत्तिसँग सम्बन्धित विभिन्न मुद्दामा नेपालको पक्षलाई सशक्त रुपमा प्रस्तुत गर्नेछु र कोपबाट प्राविधिक तथा अनुकूलन उपाय समेत खोजी गर्नेछु’, अन्तर्वार्ताका क्रममा उनले भने, ‘जलवायुसम्बन्धी देखिएका मुद्दामा गहिरो छलफल आवश्यक छ, किनभने यस्तै समस्याका कारण नेपाल केही समय अघि अनपेक्षित र अधिक वर्षाका कारण निकै प्रभावित भएको छ । उक्त प्राकृतिक विपत्तिका कारण दुई सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको छ।’

राष्ट्रपति पौडेलले उक्त प्राकृतिक विपत्तिका कारण कम विकसित र भूपरिवेष्ठित मुलुकले लाखौँ डलरको क्षति बेहोर्नु परेको समेत उल्लेख गरे। उनले विश्वव्यापी रुपमा बढ्दो तापक्रमका कारण हिमालको हिउँ पग्लने क्रम तीव्र गतिमा बढेको र सेता हिमाल काला पहाडमा परिणत हुँदै गएकामा चिन्ता व्यक्त गरे।

‘हिमनदी फुट्न थालेका छन्, जसले प्राकृतिक रुपमा ठूलो विनाश ल्याएको छ, हिमालभन्दा मुनी बसोबास गरिरहेका मानिसहरुमा यसले गम्भीर खतरा उत्पन्न गराएको छ’, उनले भने, ‘जलवायु परिवर्तनका कारण हिमाल र पहाडमा देखिएको सङ्कट विश्वव्यापी मुद्दा हो। यो नेपाल जस्ता मुलुकको मात्रै नभइ सबैको समस्या हो।’

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण स्वच्छ पानीको स्रोत सुक्दै गएको बताए। ‘स्वच्छ पानीको स्रोत हिमाल भएका कारण नेपाल भाग्यशाली मुलुक हो, जलवायुसम्बन्धी असर हिमालमा ठूलो छ, जलवायु परिवर्तनप्रति उच्च जोखिमको दृष्टिले पनि नेपाल हरित जलवायु कोषको विशेष हकदार रहेको म स्पष्ट पार्न चाहन्छु’, उनले भने। जलवायुसम्बन्धी चुनौतीको सामना गर्न नेपालले सीमित स्रोतका बाबजुद पनि उल्लेख्य प्रयास गरिरहेको उनको भनाइ थियो।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपालले सन् २०४५ सम्म कार्बन तटस्थता हासिल गर्ने र सन् २०५० सम्ममा कार्बन उत्सर्जनमा कमी ल्याउने लक्ष्यका साथ काम गरिरहेको उल्लेख गरे। त्यसैगरी, नेपालले सन् २०३० सम्म वनको क्षेत्रफल ४५ प्रतिशतसम्म पुर्‍याउने लक्ष्य लिएकामा उक्त लक्ष्य हासिल भइसकेको बताए।

‘म यस सम्मेलनमा जलवायुजन्य विपत्तिसँग सम्बन्धित मुद्दाहरुमा हाम्रा पक्षलाई दृढतापूर्वक प्रस्तुत गर्नेछु र जलवायु वित्त सहयोग तथा प्राविधिक ज्ञानका लागि उपयक्त उपायको खोजी गर्नेछु’, राष्ट्रपति पौडेलले भने। उनले जलवायुसम्बन्धी समस्यासँग जुध्नका लागि नेपाललाई पर्याप्त आर्थिक सहयोग आवश्यक रहेको र कोषको परिचालन नेपाल जस्ता राष्ट्रहरुमा उचित तवरले बिना कुनै अवरोध वितरण हुनुपर्नेमा समेत जोड दिए।

जलवायु वित्तको सुनिश्चितता

राष्ट्रपति पौडेलले साना तथा सीमित स्रोत भएका राष्ट्रहरु जो जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएका छन् उनीहरु जलवायु न्यायका लागि हकदार भएको समेत उल्लेख गरेका छन्।

‘साना राष्ट्रहरूले कार्बन उत्सर्जनमा कम जिम्मेवार हुँदा पनि बढी प्रभावित भइरहेको अवस्था छ, उदाहरणका लागि नेपालले हरितगृह ग्यास उत्सर्जनमा ठूलो योगदान नगरे पनि जलवायु परिवर्तनका कारण सबैभन्दा बढी प्रभावित हुने मुलुकमा पर्‍याे। जलवायु जोखिमको मापदण्डमा पनि प्रभावित हुने देशमा नेपाल १०औँ स्थानमा छ’, उनले भने।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर राष्ट्रिय जीवनमा देखिन थालेको बताए। जलवायुसम्बन्धी असरका कारण कृषिजन्य वस्तुको उत्पादनमा ह्रास आउनु, आन्तरिक बसाइसराइ, स्वच्छ पानी स्रोत सुक्दै जानु, जैविक विविधतामा असर पर्नु, रणनीतिक पूर्वाधारमा क्षति पुग्नु, उब्जाउ जमिनको माटो क्षतिकरण हुनुका साथै प्रत्येक वर्ष मानव जीवनको क्षति भइरहेको उनको भनाइ थियो।

उनले नेपाल र अन्य कम विकसित तथा आइल्याण्ड राष्ट्रले जलवायु वित्त प्रणालीमा आफ्ना मुद्दाहरु प्राथमिकताका साथ उठान गर्नु अत्यावश्यक भइसकेको समेत स्मरण गराए। ‘जलवायु कोष वितरण प्रणाली सजिलो, विवेकपूर्ण र छिटो हुनुपर्छ, कोष अनुदानका रुपमा वा राष्ट्रिय बजेटरी प्रणालीमार्फत वितरण गर्नुपर्छ। हानी तथा क्षतिपूर्ति कोष बढाउनु पनि आवश्यक छ ताकी पीडित विकासोन्मुख राष्ट्रहरुले थप कष्ट भोग्नु नपरोस’, उनले भने।

राष्ट्रपति पौडेलले पहाडी र समुन्द्रको पारिस्थितिकी प्रणालीको सम्बन्ध जोड्न आवश्यक रहेको उल्लेख गरे। उनले हिमनदी पग्लदै जाँदा यसको असर तलसम्म पर्ने भएकाले कम विकसित मुलुक र विकासिल साना आइल्याण्ड राष्ट्रलाई संस्थागत रुपमै जोड्ने आवश्यक भएको बताए। उनले कम विकसित मुलुक र विकासशिल साना आइल्याण्ड राष्ट्रहरु एकजुट हुने हो भने जलवायु परिवर्तनसम्बन्धी मुद्दामा लड्न सजिलो हुने बताए।

जलवायु वित्त कार्य कोष

राष्ट्रपति पौडेलले अजरबैजानले जलवायु वित्त कार्य कोष स्थापना गर्ने प्रस्तावबारे सकारात्मक प्रतिक्रिया जनाउँदै यो आवश्यक रहेकामा जोड दिए। ‘कोषहरुको प्रभावकारी वितरण हाम्रो लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण छ, हामी कोष प्रणाली सरल र असुरक्षित राष्ट्रहरुको प्राथमिकताका आधारमा सजिलै पहुँच योग्य होस् भन्ने चाहन्छौँ’, उनले भने।

नवीकरणीय ऊर्जाको विकासमा सहकार्यको सम्भावना

राष्ट्रपति पौडेलले नवीकरणीय ऊर्जा विकासमा नेपाल र अजरबैजानबीच द्विपक्षीय सहकार्यका सम्बन्धमा सम्भावना रहेको बताए।

‘दुवै मुलुकले आफ्ना प्राकृतिक स्रोत दोहन नगरी नवीकरणीय ऊर्जाको विकासका सम्बन्धमा आफ्ना अनुभव आदानप्रदान गर्न सक्नछन्’, उनले भने, ‘नेपालले पनि क्लिन ऊर्जा उत्पादन र विकासमा राम्रो काम गरिरहेको छ। हामी अजरबैजानसँग आफ्ना अनुभव साट्न तयार छौँ ।’

अजरबैजानले चुनढुङ्गा, तामा, जस्ता, फलामलगायतका प्राकृतिक स्रोत उपयोगको कटौतीमा उल्लेख्य सफलता प्राप्त गरेकाले उक्त अनुभव नेपालका लागि फाइदाजनक हुने राष्ट्रपति पौडेलको भनाइ थियो। यसप्रकारको द्विपक्षीय सम्बन्धले सीप र प्रविधि हस्तान्तरण मात्रै नभइ दुई देशको सम्बन्धलाई अझ बलियो बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे डिल्लीबजार कारागार चलान

काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर गण्डकी प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे जेल चलान भएका छन् । मंगलबार बिहान पक्राउ परेका मनाङेलाई दिउँसो जिल्ला अदालत पेश गरेकोमा अदालतले उनलाई डिल्लीबजार कारागार पठाउन आदेश दिएको हो ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको ज्यान मुद्दाको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।

यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका कारण फैसलापछि मनाङेले बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ ।

सर्वोच्चबाट पनि दोषी ठहर भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मनाङेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रेलाई तरबार हानेर हात छिनाइदिएको थियो ।

सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य बने भने पटक–पटक मन्त्री बनेका थिए ।

रास्वपाले भन्यो- सभापति हतास हुनुभएको छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछाने अडिग, अटल र अविचलित भएर आफूविरुद्ध भएको अन्यायविरुद्धको कानुनी लडाईंमा लड्ने प्रष्ट पारेको छ ।

मंगलबार हिरासतमा लामिछानेसँग गरिएको अनौपचारिक संवादका आधारमा केन्द्रीय समितिले सन्देश जारी गर्दै रास्वपाले यस्तो बताएको हो ।

रास्वापाले जारी गरेको सन्देशमा भनिएको छ, ‘हिरासतको जीवन सहज कसैका लागि पनि सहज हुँदैन। तर सभापतिसँगको हरेक भेटमा हामी सबैले महसुस गरेको एउटा कुरा के हो भने उहाँ हतास हुनुभएको छैन । सभापतिसँगको हरेक भेटमा हामी सबैले महसुस गरेको एउटा कुरा के हो भने उहाँ हतास हुनुभएको छैन। राणाशासन मुर्दावाद भनेर यो देशमा जनताको पक्षमा आवाज बुलन्द गरेका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द एवं विभिन्न कालखण्डका सङ्घर्षमा लड्नुभएका दर्जनौं सहिदहरुको स्मरणले मलाई निष्ठाभाव र निडर हुने ताकत दिएको छ । आज यस घडीमा नेपाल, न्याय र लोकतन्त्र माथि विश्वास राख्ने हामी सबैले आक्रोशका साथ भन्नैपर्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्यायको चक्रव्युहमा फसाइएको छ । यो त्यस्तो बिन्दु हो कि यहाँ राज्यको डरलाग्दो, निकृष्ट प्रतिशोध छ भनेर सायद अब कसैलाई पनि बुझाइराख्नु पर्दैन ।’

पूजाको उत्कृष्ट प्रदर्शनमा कुवेतविरुद्ध नेपालको जित

काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ । मंगलबार यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा भएको खेलमा क्याप्टेन पूजा महतोले दुबै ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको जित सुनिश्चित गरिन् ।

उनले कुवेतविरुद्ध शतक प्रहार गरिन् । पूजा १९ वर्षमुनिको महिला टोलीका लागि अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो खेलाडी बनिन् । २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमा अलआउट भयो ।

कुवेतका लागि जिफा जिलानीले ३६ रन बनाइन् । अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पूरै ओभर खेलेर २ विकेटको क्षतिमा २१३ रन बनाएको थियो ।

नेपालका लागि पूजाले शतक प्रहार गरिन् । पूजाले ६९ बलमा अविजित १३० रन बनाइन् । उनले ५७ बलमा १२ चौका प्रहार गर्दै शतक पूरा गरिन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो ।

नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो । प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । यु १९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

यी हुन् कोपमा नेपालका अपेक्षा

बाकु । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको (कोप–२९) यही सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको छ । आगामी मङ्सिर ७ गतेसम्म चल्ने उक्त कोप सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति रामचन्द्र पौडेल सोमबार बाकु पुगिसकेका छन् ।


कोप–२९ मा पर्वतीय मुद्दाका विषयमा प्राथमिकताका साथ छलफल हुने, जलवायु बित्त बढाउन विकासशील मुलुकहरु सहमतिमा आउने, पेरिस सम्झौता कार्यान्वयनका लागि सकारात्मक प्रतिक्रिया प्राप्त हुने, कार्वन व्यापारका लागि विश्वबजार सुनिश्चित हुने, अनुकूलन तथा जलवायु न्यूनीकरण र जलवायुजन्य हानि नोक्सानीका लागि आवश्यकता पर्ने वित्तीय व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

विगतका सम्मेलनमा जस्तै कोप–२९ मा पनि नेपालले जलवायुका कारण पर्वतीय क्षेत्रमा परेका समस्या न्यूनीकरणका लागि पहल गर्ने र पर्वतीय क्षेत्रका सुरक्षाका लागि आवाज उठाउने तयारी गरिरहेको छ । सम्मेलनमा भाग लिने क्रममा अजरबैजानको बाकुमा रहनुभएका राष्ट्रपति पौडेलले यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


एक सय ९२ भन्दा बढी मुलुकका राष्ट्र तथा सरकारप्रमुखदेखि उच्च पदस्थ अधिकारीसामु उनले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ । सचिवालयका अनुसार राष्ट्रपति पौडेलले कोप सम्मेलनमा जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरणहरू समेत प्रस्तुत गर्दै छन् ।

राष्ट्रपति पौडेलका वन तथा वातावरण सल्लाकार डा. प्रमेश्वर पोखरेल जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधानका लागि स्पष्ट मार्गचित्रसहित विश्वको ध्यानाकर्षण गर्न कोप सफल हुने बताउँछन् ।

यसैगरी जलवायुजन्य परिस्थितिले सिर्जना गरेका विपद्जन्य घटनाका विभिन्न उदाहरण कोपमा प्रस्तुत गरिने कार्यक्रम रहेको जानकारी दिँदै वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गाना भन्छन्, “बेमौसमी विपद्, थामेको हिमपहिरो, विपद्जन्य घटनाहरु हामी कोपमा प्रस्तुत गर्नेछौं । जलवायुजन्य हानी नोक्सानीका लागि बित्तीय पहुँचबारे पैरवी गरी विश्वको ध्यान नेपालतर्फ आकर्षित गर्न अधिकतम प्रयास गर्नेछौँ ।”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा कृष्णहरि पुस्करले नेपालले कार्वन उत्सर्जन गराउनमा नगन्य भूमिका खेले पनि विकसित मुलुकहरुले उत्सर्जन गराएको कार्वनडाईअक्साईडले निम्त्याएको जलवायुजन्य समस्या नेपालजस्ता मुलुकले खेप्नुपरेको उल्लेख गर्दै जलवायु वित्तमा सहज पहुँच र जलवायु न्याय कोपमा सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

जलवायुविद् मञ्जित ढकालले विश्वव्यापीरूपमा बढ्दो जलवायु प्रभावहरू र नेपालमा भएका विनाशकारी बाढी–पहिरोजस्ता जलवायु परिवर्तनले सिर्जित गरेका विपद्का कारण तत्काल जलवायु कार्यको आवश्यकता अझ स्पष्ट बनाएको तथा यस विषयमा व्यापक छलफल हुने अपेक्षा गरेका छन्।

“कोप–२९ मा नयाँ जलवायु वित्त लक्ष्य अपनाउनका लागि नेपालले जोडदार माग गरेको छ । विश्वव्यापी तापक्रम वृद्धिलाई १।५ डिग्री सेल्सियसभन्दा तल सीमित राख्ने स्पष्ट मार्गनिर्देशनको आवश्यकता उठाएको छ,” उनले भने, “पर्वतीय प्राथमिकतासँग सम्बन्धित छलफलहरूमा नेपाल सक्रियरूपमा सहभागी छ । पहाडी क्षेत्रमा देखिएको जलवायु परिवर्तनका प्रभावलाई सम्बोधन गर्ने उद्देश्यका साथ नेपालको तर्फबाट विशेष छलफलका लागि माग गर्ने तयारी भइरहेको छ ।”

त्यस्तै जलवायु व्यवस्थापनविद् डा धर्मराज उप्रेती जलवायु न्यायका सिद्धान्तमा आधारित जलवायु वित्त परिचालन हुनुपर्ने बताउँछन् ।

कोपका लागि तय गरिएका यी हुन् मुख्य ६ एजेन्डा

जलवायुजन्य जोखिम न्यूनीकरण गर्न र मुलुकको समग्र हितका लागि मुख्य ६ एजेन्डालाई उच्च प्रथामिता दिई नेपाली प्रतिनिधिहरु कोपमा उपस्थित भएका छन् । वन तथा वातावरण मन्त्रालयका अनुसार जलवायु वित्त, जलवायुजन्य हानी नोक्सानी न्यूनीकरण, कार्वन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा, प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिताका ६ विषयगत कार्यपत्र तयार गरिएका छन् ।

“नेपालको राष्ट्रिय स्थितिपत्र तयार गरी कोपमा ल्याइसकेका छौँ, यसमा राष्ट्रिय अवधारणापत्र, जलवायु अनुकूलन, जलवायु वित्त, कृषि र खाद्य प्रणाली, स्वास्थ्य र जलवायु परिवर्तन, ऊर्जा सङ्क्रमण, दक्षता, पानी तथा जलवायुजन्य कार्य, जलवायुका लागि प्रकृतिलगायतका विषयवस्तुहरु समावेश गरिएका छन्,” वन तथा वातावरण मन्त्रालयका सहसचिव डा बुद्धि पौडेलले भने ।

गत वर्ष युनाइटेड अरब इमिरेट्स ९युएई० को दुबईमा सम्पन्न कोप–२८ मा स्थापना गरिएको जलवायुजन्य हानी–नोक्सानीसम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका पक्षमा नेपालका तर्फबाट दबाब दिने तयारी भइरहेको वन तथा वातावरण मन्त्रालयले स्पष्ट गरेको छ ।

वाग्मती प्रदेशमा फेरि फुटाइयो मन्त्रालय

हेटौंडा । वाग्मती प्रदेश सरकारले फेरि मन्त्रालयको संख्या थपेको छ । बिनाविभागीय मन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्नका लागि बहादुरसिंह लामा नेतृत्वको सरकारले मन्त्रालय फुटाएर संख्या थप गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी नयाँ मन्त्रालय बनाउने निर्णय गरेको हो । अब सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय वाग्मती प्रदेशमा नयाँ बनेको छ । यस मन्त्रालयको जिम्मेवारी श्रेष्ठलाई दिने बताइएको छ ।

अब वाग्मती प्रदेशमा मन्त्रालयको संख्या १४ पुगेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । श्रेष्ठले मुख्यमन्त्री लामासँगै साउन ९ गते शपथ ग्रहण गरेका थिए । तर उनी हालसम्म बिनाविभागीय मन्त्रीका रूपमा रहेका छन् ।

लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौ‌ं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुन नहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन समाजका सबै वर्गको सहयोग आवश्यक भएकामा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको आज उद्‌घाटन गर्दै उनले ‘मुलुकका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध गर्ने सोच हटेको छैन । यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धिमा समेत नकारात्मक असर पार्छ ।’

विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पूँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्नेमा उनले जोड दिएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

उनले गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक भएको बताए ।

नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ । यूएईको सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनायो । नेपालकी कप्तान पूजा महतोले कीर्तिमानी शतक बनाइन् ।

५७ बलमा शतक बनाएकी पूजा ६९ बलमा १ सय ३० रन जोड्दै नटआउट रहिन् । पूजा १९ वर्षमुनिको महिला टोलीका लागि अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो खेलाडी बनिन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो ।

नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो । प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । यु १९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

आगामी निर्वाचन अगावै संविधान संशोधन हुन्छः महासचिव पोखरेल

मोरङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचन अघि संविधान संशोधन हुनसक्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने बताए ।

उनले प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने बताए । उनले संविधान संशोधनका निम्ति केन्द्रदेखि स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिने स्पष्ट गरे ।

महासचिव पोखरेलले राष्ट्र निर्माणको उद्देश्यका साथ एमाले र कांग्रेसबीच सहकार्य भएको तथा सरकारका काम प्रभावकारी ढङ्गले सम्पादन गर्न द्विदलीय संयन्त्र गठन भएको जानकारी दिए ।

रविलाई पोखराबाट लगियो बुटवल

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेलाई रुपन्देही ल्याइएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका क्रममा रहेका उनलाई मंगलबार श्री एयरलाइन्सको जहाजबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।

त्यहाँबाट सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगिएको छ । सभापति लामिछानेलाई रुपन्देही लगिएपछि रास्वपाले मंगलबार भैरहवामा विरोध कार्यक्रम गरेको छ। भैरहवाको लुम्बिनी गेटमा बिहान साढे ११ बजेदेखि प्रदर्शन भएको थियो ।

प्रहरीले प्रदर्शनकारीकै बीचबाट रविलाई भ्यानमा हालेर लगेको हो । रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । रविलाई कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो।

चलचित्र ‘कार्साङ’को जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक

काठमाडौं। चलचित्र ‘कार्साङ’को जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक भएको छ। निर्माणपक्षले मंगलबार जिुतको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका जितुले झोला घुँडामा अड्याएका छन्। हातमा कचौरो बोकेका छन्।

कचौरामा जाँड रहेको अनुमान लगाउन सकिन्छ। पृष्ठभूमिमा रहेका घर, पहाड, कुहिरो हेर्दा उनी कुनै लेकाली गाउँका स्थानीय हुन् भन्ने पुष्टि हुन्छ । पोस्टरमा ‘मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा’ लेखिएको छ ।

यसअघि दयाहाङ राईको क्यारेक्टर लुक्स सार्वजनिक गरेको ‘कार्साङ’ले विस्तारै प्रचार सुरु गरेको छ। यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ्’ पुस २६ गते प्रदर्शन हुँदैछ ।

शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ।

तराई–मधेश एकीकृत प्राधिकरण स्थापना आवश्यक छः अध्यक्ष थापा

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको दुईदिने तराई–मधेश राष्ट्रिय सम्मेलनले ‘तराई–मधेश एकीकृत प्राधिकरण’ स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । तराई–मधेशको उत्थान र जनताको आर्थिकस्तर उकास्न उक्त प्राधिकरण स्थापना आवश्यक रहेको राप्रपाको ठहर छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज आयोजित पत्रकार सम्मेलनमा तराई–मधेशका २१ जिल्लाका जनताको उत्थान र आर्थिकस्तरमा सुदृढीकरण गर्न एकीकृत प्राधिकरण स्थापना गर्नुपर्ने निर्णय सम्मेलनले गरेको जानकारी दिए ।

‘‘मधेशको जनसङ्ख्या मुलुककै आधाभन्दा धेरै छ । तर, यहाँका जनताको आर्थिकस्तर र उत्थान हुन सकिरहेको छैन,’’ उनले भने, ‘‘पार्टीको राष्ट्रिय सम्मेलनले प्राधिकरण स्थापना गरेर जनजीविकालाई सुधार्नुपर्ने निर्णय गरेको छ ।’’

अध्यक्ष थापाले हाल तराई–मधेशको विकासका लागि नगन्य बजेट विनियोजन हुँदै आइरहेको बताए । आगामी दिनमा जनसङ्ख्याका आधारमा बजेट विनियोजन हुनुपर्ने उनको धारणा छ ।

सम्मेलनले तराई मधेशको सांस्कृतिक विविधतालाई अझ विस्तार गर्न मैथिली, भोजपुरी, अवधि र थारु भाषाको संरक्षण र सम्वर्द्धका लागि मातृभाषा संरक्षण आयोग गठन गर्नुपर्ने निर्णय पनि गरेको छ । अध्यक्ष थापाले तराई–मधेश मुलुककै अन्नभण्डार भएकाले यहाँको कृषि र सिँचाइको एकीकृत योजना अघि बढाउने निर्णय गरेको जानकारी दिए ।

त्यसैगरी राप्रपा नेपालको राष्ट्रिय सम्मेलनले आगामी पुसमा सुनसरीको चतराधामदेखि त्रिवेणीधामसम्म पार्टीको जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सम्मेलनमा दुई सयबढी पार्टी प्रतिनिधिको सहभागिता रहेको थियो ।

वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन्ः प्रवक्ता महत

बागलुङ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताएका छन् ।

नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित काम गर्नुपर्नेमा जोड दिए ।

देशमा जति नयाँ पार्टी खुले पनि पुरानै पार्टीले मुलुक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनको भनाइ थियो । विसं २०४६ को परिवर्तनपछि देशमा विकास निर्माणका कार्यले गति लिएका बताउँदै पूर्वअर्थमन्त्री डा महतले नेपाली कांग्रेस आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने विचार व्यक्त गरे ।

‘पार्टीको सुदृढीकरणका लागि सम्पूर्ण कार्यकर्ता एकताबद्ध हुनुपर्छ’, उनले भने । स्थानीय तहबाटै नेता तथा कार्यकर्ताबीच एकता हुनुपर्नेमा जोड दिँदै उनले व्यक्तिभन्दा माथि पार्टीलाई राख्नुपर्ने बताए ।

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

फुङ्लिङ । पछिल्ला वर्षमा ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । आठ हजार पाँच सय ८६ मिटरको सो हिमाल विश्वकै तेस्रो अग्लो हो । आन्तरिक तथा बाह्य पर्यटक दुवैको उपस्थितिले यस क्षेत्रको पर्यटन व्यवसायमा नयाँ उचाइ थपेको छ ।

वर्षभरि कञ्चनजङ्घा क्षेत्रमा दुई मुख्य पर्यटकीय मौसम छन् । पहिलो याम चैत, वैशाख र जेठमा हुन्छ भने दोस्रो भदौदेखि मङ्सिरसम्म चल्छ । यस वर्षको भदौदेखि सुरु भएको याममा हालसम्म करिब सात सय ५० विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा पुगेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा जाँचचौकी (चेकपोष्ट) कार्यालयको तथ्याङ्क छ । आन्तरिक पर्यटकको सङ्ख्या भने विदेशी पर्यटकको दोब्बर रहेको स्थानीय व्यवसायी बताउँछन् ।

परिषद्का पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार यसपटकको भ्रमणमा मुख्यतया फ्रान्स, अष्ट्रेलिया, जर्मनी र अमेरिकाजस्ता देशबाट पर्यटक आएका छन् । गत वर्षका तुलनामा यस वर्ष अझ बढी पर्यटक आएका छन्, यसले स्थानीय व्यवसायीलाई पनि उत्साहित बनाएको पर्यटन व्यवसायी पेमा शेर्पाले बताए।

कञ्चनजङ्घा भ्रमणमा आन्तरिक पर्यटकको सङ्ख्या पनि बढिरहेको छ । दसैँतिहारका समयमा आन्तरिक पर्यटकको ठूलो उपस्थिति देखिएको छ । दसैँतिहारका बेला विशेषगरी स्थानीय र नेपाली पर्यटकले परिवारसहित कञ्चनजङ्घा आधार शिविरको यात्रा गर्दछन् । होटल व्यवसायी सेराप शेर्पाका अनुसार चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजङ्घा क्षेत्रका होटल र लज पूर्ण रूपमा भरिएका थिए ।

सदरमुकाम फुङ्लिङका होटल सञ्चालक विमल भण्डारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा २० प्रतिशत वृद्धि भएको छ । उनले भने, “कञ्चनजङ्घा भ्रमणका लागि आएका पर्यटकले हाम्रो होटल व्यवसायलाई चलायमान बनाएको छ ।”

कञ्चनजङ्घा क्षेत्रमा बढेको पर्यटक आगमनले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ । होटल, रेस्टुराँ, ट्रेकिङ गाइड, पोर्टर र हस्तकला व्यवसायमा उल्लेखनीय वृद्धि भएको छ । फुङ्लिङसहित आधार शिविर क्षेत्रमा सञ्चालित होेटलमा पर्यटकको बाक्लो उपस्थिति देखिन्छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार यसपटकको सिजनमा होटलका आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

पर्यटन व्यवसायी फुपुछोहाङ शेर्पाका अनुसार कञ्चनजङ्घा पर्यटक आगमनले ट्रेकिङ गाइड र पोर्टर पनि लाभान्वित भएका छन् । त्यस्तै यातायात व्यवसायीसमेत लाभान्वित भएका छन् । मौसम प्रतिकूल नभएसम्म गाइड र पोर्टरले राम्रो आम्दानी गर्ने अवसर पाउँछन् । पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार विदेशी पर्यटक प्रायः लामो अवधि बस्ने हुँदा गाइड, पोर्टर र टेन्सनको माग पनि बढेको छ ।

कञ्चनजङ्घा क्षेत्रलाई विश्वकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन विभिन्न संरक्षण तथा प्रवर्द्धन गतिविधि चलाइएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवर्द्धनमा काम गरिरहेको छ । स्थानीय व्यवसायी पनि पर्यटकीय पूर्वाधार सुधार गर्न सक्रिय छन् ।

पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरिँदै आएका छन्, जसमा हिमाली पर्वतारोहण मेला, सांस्कृतिक महोत्सव र स्थानीय उत्पादनको प्रदर्शनीजस्ता कार्यक्रम समावेश छन् । यस्ता गतिविधिले पर्यटकलाई आकर्षित गर्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आवतजावत गर्ने मुख्य दुई सिजन भए पनि असार र साउनमा वर्षाका कारण ट्रेकिङ मार्ग अवरुद्ध हुने समस्या रहन्छ । यसबाहेक पुस, माघ र फागुनमा हिमपातले गर्दा ट्रेकिङ मार्ग कठिन बन्छ, जसले गर्दा पर्यटकको आगमनमा कमी आउने गरेको घुन्सा क्षेत्रमा होटल सञ्चालक कान्छा शेर्पाले बताए ।

कञ्चनजङ्घा क्षेत्रको पर्यटनलाई दिगो बनाउने उद्देश्यका साथ विभिन्न योजना निर्माण भइरहेका छन् । स्थानीय प्रशासन र पर्यटन व्यवसायीको सहकार्यमा पर्यटकीय पूर्वाधार विकास गर्न पहल हुँदै आएको छ । पर्यटन सहायक शेर्पाका अनुसार नयाँ पदमार्गको विकास, सुरक्षित आवास सुविधा र मार्गनिर्देशिका तयार पार्न विशेष योजना बनाइएको छ ।

यसका साथै पर्यटकको सुविधाका लागि आधार शिविर क्षेत्रमा वाइफाइ, प्राथमिक उपचार केन्द्र र पर्यावरणमैत्री शौचालयको व्यवस्थापनमा ध्यान दिइएको छ । कञ्चनजङ्घा क्षेत्र नेपालको एक महत्त्वपूर्ण पर्यटकीय सम्पदा हो, जसले आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई आकर्षित गरिरहेको छ ।

पछिल्लो समय पर्यटकको सङ्ख्यामा भएको वृद्धिले स्थानीय व्यवसायलाई चलायमान बनाएको छभने रोजगारका अवसर पनि बढेका छन् । पछिल्लो समयमा जलवायु परिवर्तन र मौसमको अनिश्चितताले दीर्घकालीन चुनौती सामना गर्नुपर्ने देखिन्छ ।

दीपक मनाङे काठमाडौंबाट पक्राउ

काठमाडौँ । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई मंगलबार बिहान काठमाडौंको सितापाइलाबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख दीपक थापाले  मनाङे पक्राउ परेको जानकारी दिए  । अब प्रहरीले उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गर्नेछ । ज्यान मार्ने उद्योगको कसुरमा मनाङे सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनलाई ५ वर्ष कैद सजाय हुने फैसला भएको थियो ।

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट दोषी ठहर उनी गत साता सर्वोच्चबाट पनि दोषी ठहर भएका थिए । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको पाँच वर्ष कैद सजाय हुने फैसलालाई नै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको हो ।

यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका कारण फैसलापछि मनाङेले बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ । मनाङेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रेलाई तरबार हानेर हात छिनाइदिएको थियो । सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य बने भने पटक–पटक मन्त्री बनेका थिए ।