`

रुपन्देही प्रहरीले पनि रवि लामिछानेमाथि संगठित अपराधमा अनुसन्धान गर्ने

बुटवल । सहकारी ठगीको अभियोगमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले पनि प्रहरीलाई अनुमति दिएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना तथा ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसँगै उनका साझेदार छविलाल बन्जाडे र गोर्खा मिडियाका तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछानेसहित १२ जनालाई अदालतले प्रहरीलाई पक्राउ अनुमति दिएको हो ।

सहकारीको रकम हिनामिना प्रकरणमा छानविन गर्न गठित सुर्य थापा नेतृत्वको संसदीय समितिको प्रतिवेदनका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले संगठित अपराधमा पक्राउ गर्न अनुमति मागेपछि जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको हो ।

सुप्रिम सहकारीका अध्यक्ष समेत रहेका ओम गुरुङ सहितलाई पक्राउ गरेर अनुसंन्धान गर्दा रवि लामिछाने गृहमन्त्री थिए । त्यसबेलासमेत रवि लामिछानेले रकम लगेको भन्दै अनुसन्धान गर्न दवाव परेपनि प्रहरीले उनको नाम हटाएको थियो ।

लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनमा समेत सुप्रिम सहकारीबाट लामिछानेले २ करोड हाराहारी रकम लगेको र गोर्खा मिडियामा २ करोड ५० लाख रुपैया लगेको उल्लेख गरेको छ ।

अदालतको पक्राउ अनुमतिसँगै लामिछानेलाई रुपन्देही ल्याएर अनुसन्धान गरिने भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले मुद्धाको नियमित अनुसन्धान प्रक्रिया अन्तरगत अनुमति लिएको बताए।

श्रीलंकाविरुद्ध नेपाल पहिलो हाफमै चार शून्यले अगाडि

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४–० को फराकिलो अग्रता लिएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले सुरुवातदेखि नै श्रीलंकालाई दबाबमा राख्दै लगातार प्रहार गर्यो । खेलको सातौं मिनेटमा सविता राना मगरले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । त्यसको चार मिनेटपछि सावित्रा भण्डारी सम्बाले दोस्रो गोल थपिन् ।

१३ औं मिनेटमा रेखा पौडेलले श्रीलंकाको पोस्टमा तेस्रो गोल थप्दै नेपाललाई ३–० को अवस्थामा पुर्याइन्। खेलको ३५ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० को अग्रता दिलाइन् ।

आजको खेलमा नेपालले चार खेलाडी परिवर्तन गर्दै सुरुवाती ११ मा कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, सावित्रा भण्डारी, अमिषा कार्की र अमृता जैसीलाई मौका दिएको छ।

दाङमा राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु

दाङ । दाङको लमहीस्थित राप्ती नदीको रैनियापुर घाटमा नुहाउने क्रममा तीन बालिकाको नदीमा बगेर मृत्यु भएको छ । बिहीबार दिउँसो राप्ती नदीको रैनियापुर घाटमा नुहाउने क्रममा एकसाथ तीन बालिका बगेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन् ।

उनका अनुसार लमही नगरपालिका वडा नम्बर–२ रैनियापुर निवासी सीताराम चौधरीकी छोरी झरना चौधरी, सोही स्थानका सन्तराम चौधरीकी छोरी निशा चौधरी र गढवा घर भइ लमही बस्दै आएका श्रीकान्त चौधरीकी छोरी कृष्टि चौधरीको मृत्यु भएको हो ।

मृतक तीनैजना बालिकाको उमेर १२ वर्ष रहेको छ । बालिकाहरूको उद्दार गरी उपचारका लागि लमही अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका भुसालले बताए ।

यस्ता छन् शिक्षामन्त्री भट्टराईका सय दिनका ४३ उपलब्धि

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सय दिनमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरु सार्वजनिक गरेकी छन् ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले उपलब्धिहरु सार्वजनिक गरेकी हुन् । मन्त्री भट्टराईले ४३ बुँदामा आफ्ना उपलब्धिहरु सार्वजनिक गरेकी छन् । मन्त्री भट्टराईले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निशुल्क बनाउने सरकारका सोचलाई पूरा गर्न कार्ययोजना बनाइ कार्यान्वयनको चरणमा रहेको बताइन् ।

अनिवार्य तथा निशुल्क शिक्षाको तीनै तहका सरकारको जिम्मेवारी सहितको कार्यान्वयन कार्ययोजना तयार भएको उनले बताइन् ।

मन्त्री भट्टराईले विद्यालय तहको परीक्षा तथा मूल्याङ्कन प्रणालीमा सुधार कार्ययोजना तयार भएको, उच्च शिक्षा विधेयकको मस्यौदा तयार गरि कानून आयोगमा पठाएको जानकारी दिइन् ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदको पाठ्यक्रम सुधारको खाका तयार भएको र त्यसअनुसार पाठ्यक्रम सुधारको काम पनि सुरु भइसकेको उनले बताइन् ।

उनले शिक्षा समितिमा रहेको विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्तासंग छलफल गरिसकेको र अव उपसमिति बनाएर निरन्तर छलफल गरेर टुङ्गोमा पुराइने उल्लेख गरिन् ।

यस्ता छन् मन्त्रालयबाट भएका प्रमुख उपलब्धि-

१. स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा रहेको ।
२. अनिवार्य तथा निःशुल्क शिक्षाको तिने तहका सरकारको जिम्मेवारी सहितको कार्यान्वयन कार्ययोजना तयार भएको ।
३. माध्यामिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको सोच अनुरूप कार्यान्वयन कार्ययोजना तयार गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको ।
४. विद्यालय तहको परीक्षा तथा मूल्यांकन प्रणालीमा सुधारको कार्ययोजना तयार भएको ।
५. ख्वप विश्वविद्यालयको विधेयकको मस्यौदा तयार गरी नेपाल सरकार मन्त्रिपरिषद्मा पठाइएको ।
६. उच्च शिक्षा विधेयकको मस्यौदा तयार गरी नेपाल कानुन आयोगमा पठाइएको।
७. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम विधेयकको मस्यौदा अर्थ मन्त्रालयको सहमतीका लागि पठाइएको।
८. ९२४ ओटा शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरुको नवीकरण गरिएको उक्त संस्थाहरुको आवश्यकताअनुसार आकस्मिक निरीक्षण अनुगमन गर्ने र नवीकरण पत्र दिदा स्वीकृति पत्र, राजस्व समेतका कागजातको परीक्षण गर्ने निर्णय गरिएको ।
९ .रेडियोधर्मी पदार्थ तथा विकीरण सुरक्षा सम्बन्धमा मापदण्ड कार्यान्वयनका लागि ६ ओटा स्वास्थ्य संस्थाको अनुगमन सम्पन्न भएको।
१०. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पाठ्यक्रम सुधारको खाका तयार भएको।
११. विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैशिक संस्थाहरूबाट सञ्चालित उच्च शिक्षाका कार्यक्रमहरू व्यवस्थित गर्ने कार्ययोजना निर्माण भएको।
१२. सीटीईभीटीका आङ्गिक शिक्षालयहरूबाट सरकारी अस्पतालसँग सम्झौता गरी मधेश, लुम्बिनी र कर्णाली प्रदेशमा फार्मेसी र नर्सिङको कक्षा संचालन गर्ने गरी निर्णय भएको।
१३. संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र साझेदारीका लागि सातै प्रदेशका सामाजिक विकास मन्त्री, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ सम्मिलित विषयगत समितिका तीनओटा बैठक सम्पन्न गरिएको ।
१४. मौजुदा विद्यालय शिक्षक दरबन्दीको पुनरावलोकन गरी अपुग दरवन्दीको विश्लेषण साथ प्रस्ताव गर्न कार्यदल गठन गरिएको।
१५. शिक्षकसँग पाठ्यक्रम विकास केन्द्र कार्यक्रम सञ्चालन निर्देशिका, २०८१ स्वीकृत गरी कार्यान्वयनमा रहेको।
१६. प्राविधिक धार कक्षा (९–१२) मा अध्यापन गराउने शिक्षकहरूको विषयगत योग्यता निर्धारण गरिएको।
१७. विदेशी विधविद्यालयहरुबाट सम्बन्धन लिई नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गरेका शैक्षिक सस्थाहरूलाई नियमन र व्यवस्थित गर्न गठित कार्यदलको प्रतिवेदन प्राप्त भएको ।
१८. मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५०. ५० सिट निर्धारण गरी एमबीबीएस कार्यक्रम सुरु गरिएको।
१९. मागको आधारमा २८८४ जनाको सिप परीक्षण सम्पन्न भएको।
२०. विज्ञान, प्रविधि तथा नवप्रवर्तनका लागि ओपन डाटा प्लेटफर्मको अवधारणा पत्र तयार भएको।
२१. विद्यालय तहको पाठ्यक्रम परिमार्जन कार्य थालनी भएको।
२२. राष्ट्रिय परीक्षा बोर्डको पुन संरचना मार्फत समग्र परीक्षा प्रणालीमा सुधारका लागि सुझाव पेस गर्न कार्यदल गठन गरिएको।
२३. प्रारम्भिक बाल कक्षाको समयावधि र निजी बिधालयद्वारा लिने गरेको शुल्कलाई व्यवस्थित गर्न सुझाव कार्यदल गठन भएको।
२४. पुस्तक नीतिको मस्यौदा स्वीकृतिको चरणमा रहेको।
२५. १२ ओटा राष्ट्रिय सिप प्रमाणिका/राष्ट्रिय दक्षता प्रमाणिका निर्माण कार्य सम्पन्न भएको।
२६. विद्यार्थीका लागि खुला तथा अनलाइन सिकाइको अवसर अभिवृद्धि गर्न दूर शिक्षा तथा खुला सिकाइ र सूचना प्रविधिको प्रयोगसँग सम्बन्धित सिकाइ चौतारीलाई व्यवस्थित गरी गरिएको।
२७. सबै स्थानीय तहले एक वर्षभित्र स्थानीय तहको शिक्षा योजना तर्जुमा गर्नका लागि प्रशिक्षक प्रशीक्षण कार्यक्रम सञ्चालन गरिएको।
२८. मातृभाषामा शिक्षासम्बन्धी मापदण्डको मस्यौदा तयार पारिएको।
२९. दृष्टिविहीन बालबालिकालाई निःशुल्क पाठ्यपुस्तकको व्यवस्था, बाल विकास केन्द्रका सहजकर्ताका लागि बुटक्याम्प तालिम सञ्चालन, मेगा किचन संचालन र बालबालिकाका लागि अनलाइन तथा श्रव्यदृश्य सामग्री विकासका लागि कार्यविधिका मस्यौदा तयार पारिएको।
३०. विद्यालय व्यवस्थापन समिति मार्फत विद्यालय पुनर्निर्माण कार्यविधि २०८१ स्वीकृत भई जिल्लागत कोटा निर्धारण गरी रकम पठाउने चरणमा रहेको।
३१. विद्यालयको भौतिक पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० लाई विनियोजन ऐन, २०८१ बमोजिम परिमार्जन गरिएको।
३२. प्राविधिक तथा व्यावसायिक शिक्षाको पाठ्यक्रम सुधारसम्बन्धी अध्ययन कार्यदलबाट प्रतिवेदन प्राप्त भई कार्यान्वयनको चरणमा रहेको।
३३. विश्वविद्यालयहरूको व्यबस्थापन, गुणस्तर र भौतिक सुधारका लागि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र सम्पूर्ण विश्वविद्यालयसँग छलफल गरी सुधारको कार्य सुरु गरिएको, सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारण गरिएको।
३४. असोज ११/१२ को वर्षाबाट प्रभावित विद्यालयहरूको क्षतिको विवरण संकलन गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइबाट कात्तिक ५ गतेभित्र र प्रदेश शिक्षा विकास निर्देशनालयबाट सो सम्बन्धमा दुत सर्वेक्षण गरी कात्तिक मसान्तभित्र प्रतिवेदन पेस गर्ने गरी निर्णय गरिएको।
३५. विपद् व्यवस्थापनका लागि प्रत्येक प्रदेशका शिक्षा हेर्ने मन्त्रालयमा विनियोजित रु २ करोड र प्रत्येक पालिकामा विनियोजित ४–६ लाखसम्मको बजेटबाट तत्कालीन रूपमा विद्यालयको सरसफाइ र वैकल्पिक सिकाइ व्यवस्थालगायतका काम तुरुन्त प्रारम्भ गर्ने गरी योजना बनाइएको।
३६. श्रमबजारको मागका आधारमा प्राविधिक शिक्षालयको नक्साङ्कनका लागि काम अधि बढाइएको।
३७. मुगु जिल्ला साक्षर जिल्ला घोषणा भई साक्षर घोषणा हुने जिल्लाको संख्या ६५ पुगेको।
३८. जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित विद्यालयको पुर्ननिर्माणको लागि प्रक्रिया अघि बढाइएको।
३९. सीटीईभीटीका सम्बन्धमा प्राप्त गुनासाको तत्काल सम्बोधन गर्नका लागि संयन्त्र तयार गरिएको।
४०. पाठ्यक्रम विकास केन्द्रबाट प्रदान गरिने समकक्षता प्रमाणपत्र अनलाइन आवेदन पेस गरेपश्चात् लाग्ने १५ दिनको अवधिलाई घटाएर पाँच दिनभित्रै प्रदान गरिने व्यवस्था गरिएको।
४१. चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फाराम भरेका र नतिजामा नन ग्रेडेडमा परेका विद्यार्थीले फारम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता गरिएको।
४२. त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रत्रपत्रहरू तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा तयार गर्ने निर्णय गरेको।
४३. कक्षा १० उत्तीर्ण गरेका विद्यार्थी मध्ये २५०० जनालाई औद्योगिक प्रशिक्षार्थी तालिम प्रदान गर्न प्रवेश परीक्षा सञ्चालनका लागि सूचना प्रकाशन गरिएको।

निङ्गलाशैनी क्रिकेट क्लब पाटन प्रिमियर लिगको ‘सुपर सिक्स’मा

बैतडी । निङ्गलाशैनी क्रिकेट क्लब पाटन प्रिमियर लिग (पिपिएल–४) चौथो संस्करणको सुपर सिक्समा प्रवेश गरेको छ । यहाँको पाटनमा जारी प्रिमियर लिगको बिहीबार भएको खेलमा नागार्जुन युवा क्लब सप्रालीलाई ६४ रनले हराउँदै निङ्गलाशैनी सुपर सिक्समा प्रवेश गरेको हो ।

जितका लागि पाएको २४३ रनको विशाल लक्ष्य पछ्याएको नागार्जुन १८ ओभरमा १७८ रनमा समेटियो । नागार्जुनका अनुराग चन्दले सर्वाधिक ४५ रनको योगदान गरेपनि जितका लागि सम्भव भएन । निङगलाशैनीका गजेन्द्र बोहराले तीन, खडक बोहरा र विरेन्द्र चन्दले दुई–दुई विकेट हात पारे ।

खडक म्यान अफ द म्याच चुनिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए । टस हारेर ब्याटिङको निम्ता पाएको निङ्गलाशैनीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २४२ रन बनायो । जसमा दीपक बोहराले अविजित ७८, खडक बोहराले ६३ रनको योगदान दिए ।

नागार्जुनका धिरज ठगुन्ना, गोविन्द नाथ, अम्मर चन्द र कृष्ण भाटले एक–एक विकेट हात पारे । पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोली सहभागी छन् । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र, द्वितीय पुरस्कार ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबका अध्यक्ष किरण चन्दले जानकारी दिए ।

यसैगरी म्यान अफ द सिरिज बापत् १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । 

फ्रान्सद्वारा लेबनानलाई दश करोड युरो सहयोगको घोषणा

पेरिस । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले बिहीबार फ्रान्सले लेबनानलाई दश करोड युरो सहयोग गर्ने बताएका छन् । पेरिसले लेवनानलाई वित्तीय सहयोग गर्ने लक्ष्यका साथ आयोजना गरेको सहायता सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताए । युद्धको सकेसम्म चाँडो अन्त्य हुनुपर्ने र लेबनानमा युद्धविराम हुनुपर्नेसमेत उनले बताए ।

यसै सन्दर्भमा लेबनानी सरकारका प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई एक साथ समर्थन गर्न तथा तत्काल युद्धविराम लागू गर्न आह्वान गरेका छन् ।

फ्रान्सले लेबनानका लागि आधा अर्ब यूरो जुटाउने लक्ष्य राखेको छ जुन संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक अपिलभन्दा दश करोड बढी हो ।

म्याक्रोनले आर्थिक योगदानको साथै, पेरिसले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव –१७०१ अनुरूप लेवलानलाई गुमेको भुमि फिर्ता गर्न सेनालाई सहयोग गर्ने बताएका छन् ।

म्याक्रोनले हमासको सन् २०२३ अक्टोबर–७ को आक्रमणको एक वर्ष पछि इजरायलले सेप्टेम्बरको अन्त्यमा दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाह विरुद्ध स्थलगत आक्रमण सुरु गरेको भन्दै अन्धाधुन्ध आक्रमण रोक्नु पर्ने बताएका छन् ।

जर्मनीले पनि बिहीबार मानवीय सहायता अपिलमा लेवनानलाई ९६ मिलियन युरो योगदान गर्ने जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सहभागीहरूलाई “लेबनानी सशस्त्र सेनासहित (लेबनानका) सरकारी संस्थाहरू प्रति समर्थन र बलियो बनाउन आह्वान गरे ।

फ्रान्सले कूटनीति, मानवीय सहायता र लेबनानको आन्तरिक रक्षा राजनीतिलगायतका मामलामा चासो व्यक्त गर्दै अमेरिकालाई स्थायी युद्धविरामका लागि वार्ता गर्न २१ दिने अस्थायी युद्धविरामको वातावरण तय गर्न दबाब दिएको छ ।

मर्यादित भएर चाडपर्व मनाउन काठमाडौँ प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बिहीबार सूचना जारी गरी चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेका हुन् ।

जिप्रका काठमाडौँले कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने/खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरणलगायत कार्य नगर्न/नगराउन पनि अनुरोध गरेको छ ।

“कानुनले निषेध गरेका गतिविधि गरे÷गराएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ”, सूचनामा भनिएको छ । तिहार तथा छठलगायत पर्व मर्यादित भएर मनाउन जिप्रका काठमाडौँले सबैलाई आग्रह गरेको छ । सूचनामा उल्लेखित कुराको बर्खिलाप हुने गरी कोहीकसैले कुनै गतिविधि गरेमा प्रहरीलाई खबर गर्नसमेत स्थानीयलाई अनुरोध गरेको छ ।

कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी

पर्वत  । कुश्मा नगरपालिका–८ चुवाकी देवीकुमारी क्षेत्रीले व्यावसायिक कृषि फार्म सञ्चालन गरेर वार्षिक १२ लाख बढी आम्दानी गर्दै आएकी छिन्। सुन्दरेखोला कृषि तथा पशुपालन फार्म सञ्चालन गरेकी क्षेत्रीले माछा, कुखुरा, बाख्रा तथा हाँसपालन गर्दै आएकी हुन् ।

दश रोपनी क्षेत्रफलमा पाँचवटा पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछा पालन गर्दै आएकी क्षेत्रीले वार्षिक १५ हजार किलोग्राम भन्दाबढी माछा बिक्री गर्ने गरेको बताइन् । माछाका साथै उनको फार्ममा गाईभैँसीसहित, स्थानीय जातका कुखुरा, बाख्रा तथा हाँस पनि छन् । दैनिक ३० देखि ४० लिटर दूध बिक्री गर्दै आएको उनले बताइन् ।

२५ लाख लगानी गरेर सात वर्षदेखि सञ्चालनमा आएको उक्त फार्मबाट सबै खर्च कटाएर वार्षिक १२ लाखसम्म आम्दानी हुने गरेकको क्षेत्रीले जानकारी दिइन् ।

फार्ममा उत्पादित माछा, दूध, बाख्रा तथा बोका, कुखुरा, हाँस बिक्री गर्न बजार जानु नपर्ने भन्दै मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड नजिकै फार्म भएकाले ग्राहक/व्यावसायी घरमा आएर खरिद गर्ने गरेका उनले बताइन् ।

“सुरुमा लगानी धेरै गरेँ, व्यवसाय सङ्कटमा पर्छ कि भन्ने लागेको थियो, पछि उत्पादित सबै वस्तु सहज रुपमा घरबाटै बिक्री हुन थालेपछि लगानी र व्यवसाय थप गर्दै गएकी हुँ”, क्षेत्रीले भनिन् । कृषिबाट भएको आम्दानीले दुई छोरालाई शिक्षाका लागि अमेरिका पठाएको बताउँदै उनले श्रीमान् पनि रोजगारीको सिलसिलामा विदेश नै रहेको जानकारी दिइन् ।

क्षेत्रीले फार्ममा तीन जनालाई रोजगारी दिएको जानकारी दिइन् । “पहिलेदेखि आफ्नै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्ने योजना थियो”, उनले भनिन्, “यसअघि व्यावसायिक बङ्गुरपालनसमेत गरेँ, त्यसअभि स्थानीय मदिरा उत्पादन गरेकी थिएँ । पछि कृषि क्षेत्रमा आवद्ध भएकी हुँ ।”

आम्दानीका लागि महिलालाई पुरुषको सहयोग चाहिन्छ भन्ने कुरालाई चुनौती दिँदै आफू सफल महिला उद्यमी बनेको क्षेत्रीको भनाइ छ । अधिकांश समय फार्ममा व्यस्त देखिने क्षेत्री राजनीतिमासमेत सक्रिय छिन् । नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशको महिला विभाग प्रमुखसमेत रहेकी क्षेत्री, महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा पनि काम गर्दै आएकी छिन् ।

“पार्टीको कार्यक्रम परेमा अन्य जिल्लामा समेत जाने गरेकी छु । कार्यक्रम नपर्दा फार्मको रेखदेखमा समय बिताउछु”, उनले भनिन् ।

आँट, समयको व्यवस्थापन र मेहनतका साथ आफ्नो कामलाई निरन्तरता दिने हो भने सफल भइने क्षेत्रीको बुझाइ छ । कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलगायत संस्थाबाट प्राविधिक तथा अन्य तालिम र सहयोग प्राप्त गरेको उनले जानकारी दिइन् ।

स्वदेशमा रहेर व्यावसायिक रुपमा कृषि पेसा गर्नेहरुलाई तीनै तहका सरकारले अनुदान, बजारीकरण र प्राविधिक सहयोग, तालिमलगायत व्यवस्थापन गरेका युवा पुस्ताको बढ्दो विदेश पलायन रोक्न सकिने क्षेत्रीले विश्वास व्यक्त गरिन् ।

विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको छः राष्ट्रपति सी

कजान । चिनियाँ राष्ट्रपति सी जिङपिङले ब्रिक्सका नेताहरूलाई विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको र यसका सदस्यलाई स्थिर शक्ति बन्न आग्रह गरेका छन् ।

रूसी शहर कजानमा बिहीबार आयोजित ब्रिक्स शिखर सम्मेलनको अन्तिम दिनमा बोल्दै राष्ट्रपति सीले मस्कोले आशा गरेको फोरमले पश्चिम विरुद्ध राष्ट्रहरूको संयुक्त मोर्चा बनाउन मद्दत गर्ने बताए ।

सम्मेलनमा सहभागी भएका नेताहरूलाई सम्बोधन गर्दै सीले भने,“विश्वव्यापी दक्षिणको आधुनिकतातर्फको साझा यात्रा विश्व इतिहासको एउटा प्रमुख घटना हो । हामी यस समयमा शान्तिका लागि स्थिर शक्ति बन्नुपर्छ, विश्वव्यापी सुरक्षा प्रशासनलाई बलियो बनाउनुपर्छ र हालको समस्याको लक्षण र मूल कारण दुवैलाई सम्बोधन गर्ने समाधान खोज्नुपर्छ ।”

“विश्वले अझै पनि यसको शान्तिपूर्ण विकासका लागि गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ”, उनले भने ।

उनले गाजामा युद्धविराम र लेबनानमा थप द्वन्द्व रोक्न पनि आह्वान गरेका छन् ।

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीको विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध

ढाका । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको निकट विद्यार्थी सङ्गठन ‘बङ्गलादेश छात्र लिग’लाई बङ्गलादेशको अन्तरिम सरकारले बुधबार प्रतिबन्ध लगाएको छ ।

सरकारले “आतङ्कवाद विरोधी ऐन, २००९” को धारा १८ को उप–धारा (१) मा प्रदान गरिएको शक्ति अन्तर्गत बङ्गलादेश अवामी लिगको भ्रातृ सङ्गठन बङ्गलादेश छात्र लिगलाई प्रतिबन्ध लगाएको बङ्गलादेशको गृह मन्त्रालयले एक आधिकारिक आदेशमा जनाएको छ।

यसअघि मङ्गलबार पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्न नेतृत्वको समूह ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामासहित पाँच बुँदा मागको घोषणा गरेको थियो।

मागहरूमा अवामी लिगको विद्यार्थी सङ्गठन बङ्गलादेश छात्र लिगमाथि प्रतिबन्ध लगाउने पनि समावेश थियो ।

“बङ्गलादेशको स्वतन्त्रतापछि विभिन्न समयमा, विशेष गरी पछिल्लो १५ वर्षको तानाशाही शासनकालमा, बङ्गलादेश अवामी लिगको भ्रातृ सङ्गठन ’बङ्गलादेश छात्र लिग’ हत्या, यातना, साझा कोठामा उत्पीडन, छात्रावास, बलात्कार र यौन उत्पीडनलगायतका विभिन्न सार्वजनिक सुरक्षा सम्बन्धी गतिविधिहरूमा संलग्न रहेको छ”, बङ्गलादेशको गृह मन्त्रालयले जारी गरेको आदेशमा भनिएको छ ।

“यस सम्बन्धमा दस्तावेजी जानकारी देशका सबै प्रमुख मिडियामा प्रकाशित गरिएको छ र केही आतङ्कवादी घटनामा सङ्गठनका नेता एवं कार्यकर्ताहरू फौजदारी अदालतमा पनि प्रमाणित भएका छन्”, बुधबार साँझ जारी गरिएको आदेशमा भनिएको छ ।

स्तन क्यान्सर प्रभावितलाई आत्मबल बढाउन सुझाव

चितवन । स्तन क्यान्सर प्रभावितहरूले आत्मविश्वास बढाउनुका साथै परिवारको माया, आत्मियता र स्याहार पाउन सके रोगलाई जित्न सकिने सरोकार भएकाले बताएका छन् ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा स्तन क्यान्सर सचेतना महिना (अक्टोबर) को अवसरमा आज आयोजित ‘स्तन क्यान्सर विजेता जमघाट तथा अन्तरक्रिया कार्यक्रम’ का सहभागीले श्रीमान् र परिवारको हौसला तथा स्वयंको आत्मविश्वासले रोगलाई परास्त गर्न सकिने धारणा राखेका हुन् ।

कार्यक्रममा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले आफू पनि स्तन क्यान्सर प्रभावित रहेको बताउँदै सहभागीलाई आफ्नो अनुभव सुनाइन् ।

उनले सुरुआतमा स्तन वरपर पोलेको जस्तो भएर विभिन्न ठाउँमा परीक्षण गराउँदासमेत रोग पहिचान हुन नसकेको बताउँदै भनिन्,‘नेपालमा पहिचान हुन नसकेपछि दिल्ली गएँ, त्यहाँ पनि पहिलोपटक पहिचान हुन सकेन, १० दिनपछि पुनः परीक्षण गर्दा स्तन क्यान्सर पहिचान भयो ।’

उच्च मनोबलका साथ उपचारमा लाग्नुपर्नेमा जोड दिँदै सभापति रावलले परिवारको साथ, सही उपचार र सकारात्मक उर्जाका माध्यमबाट स्तन क्यान्सरलाई परास्त गर्न सकिने धारणा राखिन् ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति डा विजयराज न्यौपानेले स्तन क्यान्सर विजेताहरूलाई सचेतनाका लागि सद्भावना दूत बनिदिन आग्रह गरे । क्यान्सर विजेताले आफ्नो अनुभव सुनाउँदै सचेतना फैल्याएमा प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले नेपालमा क्यान्सरको अवस्था र उपचार विधिका बारेमा जानकारी गराए । उनले बाह्य र भित्री कारणबाट क्यान्सर हुने जनाउँदै ८० देखि ९० प्रतिशत बाह्य कारणबाट हुने क्यान्सरबाट भने बच्न सकिने बताए ।

स्वस्थ खानपान, नियमित व्यायाम र सक्रिय जीवनशैली जिउँन सके क्यान्सरबाट धेरै मात्रामा बच्न सकिने डा पौडेलले बताए । विश्वमा सबैभन्दा बढी एसियामा क्यान्सर रोगी रहेका तथ्याङ्क प्रस्तुत गर्दै उनले नेपालमा बर्सेनि २२ हजार आठ जनामा क्यान्सर पहिचान हुने र तीमध्ये १४ हजार सात सय चार जनाको मृत्यु हुने गरेको जानकारी दिए ।

अस्पतालको शल्यक्रिया विभागका प्रमुख डा विश्वराम पौडेलले स्तन क्यान्सर प्रभावितलाई बलियो आत्मविश्वासका साथ परिवारको माया दिएर हौसला प्रदान गर्नुपर्नेमा जोड दिए । दश वर्ष अघिसम्म क्यान्सर लागेमा मृत्यु हुन्छ भन्ने मानसिकता आमनागरिकमा रहेको चर्चा गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ प्रविधि आएसँगै उपचार सहज हुँदै गएको बताए ।

अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख डा अस्मिता रानाले पाठेघरको मुखको क्यान्सरलाई जितेर स्तन क्यान्सर अगाडि आएको चर्चा गर्दै पुरुष चिकित्सकलाई देखाउन लजाउने समस्या अझै महिलामा रहेकाले पनि समस्या सृजना गरिरहेको बताइन् ।

स्तन क्यान्सर विजेता निता श्रेष्ठले आत्मविश्वास र उच्च मनोबलसहित स्वस्थ जीवनशैली अपनाउँदा क्यान्सरलाई हराउन सकिने अनुभव सुनाइन् । स्तन क्यान्सर विजेता पञ्चु लामाले आफूले क्यान्सर जितेर २० वर्षदेखि स्वस्थ जीवन बिताइरहेको जानकारी दिइन् सकारात्मक सोच र सक्रिय दैनिकीले रोगसँग लड्ने ऊर्जा दिने उनको अनुभव छ ।

साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध भुटानको १३ गोल

काठमाडौं । भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार दशरथ रंगशालमा भएको खेलमा माल्दिभ्सलाई १३ शून्यले पराजित गर्दै भुटान सेमिफाइनलमा पुगेको हो ।

भुटानको फराकिलो जितमा देकी लाजोमले डबल ह्याट्रिक गरेकी थिइन् । जितपछि समूह बी मा भुटान ३ खेलबाट ७ अंक जोडेर सेमिफाइनलमा पुगेको हो ।

अब आजै हुने घरेलु टोली नेपाल र श्रीलंकाबीचको खेलबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । दुई खेलबाट नेपालको ४ अंक छ भने श्रीलंकाको ३ अंक छ ।

१८ अंकले घट्यो नेप्से

काठमाडौं । बिहीबार पनि शेयर बजार नेप्से ओरालो लागेको छ । बिहीबार नेप्से १८ दशमलव २५ अङ्कले घटेर दुई हजार ६ सय २७ दशमलव १४ विन्दुमा झरेको छ ।

आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल एसबीआई बैंकको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय १७ वटा कम्पनीका एक करोड २२ लाख कित्ता शेयर ५ अर्ब ४१ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– १ स्थित नाकाबाट स्थानीयवासी दैनिक सयौँको सङ्ख्यामा भारतीय बजार जान्छन् । दैनिक उपभोग्य वस्तु खरिद तथा उता रहेका आफन्तकहाँ जाने यहाँका स्थानीयको मुख्य बाटो यही हो । यही नाकामा पर्ने खाँडो–जीता नदीमा पुल नहुँदा पैदलयात्रीलाई आवतजावतमा समस्या हुने गरेको छ ।

अन्य समयमा नदीमा कम पानी भएकाले जसोतसो ओहोरदोहोर गरिए पनि वर्षायामको बेला जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको तिलाठी कोइलाडी गाउँपालिका–१ का दिपेन्द्र यादवले बताए ।

“हाम्रो दिदिबहिनी भारत बिहे गरेर गएका छन्, उताका पनि यहाँ आएका छन्, साउन भदौमा बाढीले आवतजावत गर्नै सकिन्न”, उनले भने, “तिलाठी, बेल्ही, सकरपुरा, विरपुर, लोखरमलगायत दर्जनौँ ठाउँका मान्छेले यही बाटोहुँदै हिँड्नुपर्छ, अर्को बाटो जाँदा १५/२० किमी घुमेर जानुपर्छ, पुल नहुँदा धेरै समस्या छ ।”

राजविराज भन्सार कार्यालय अगाडि चार दशकदेखि चचरी (बाँसको पुल)बाट आवतजावत गरिन्थ्यो । पुल व्यक्तिगत लगानीमा बेल्हीका छेदी राय र उनीपछि छोरा रामचन्द्र रायले बनाउँदै आएको थियो । नजिकका गाउँलेबाट पुल प्रयोग गरेबापत बर्सेनि धान, चामल, गहुँ लिने र टाढाका व्यक्तिले पुलपार गर्दा न्यूनतम शुल्क लिने गरिन्थ्यो ।

विसं २०७८ जेठमा चचरी बनाउन लाग्दा भारतीय सुरक्षाकर्मीले रोकेपछि चचरी पनि छैन् । “चचरी हुँदा त्यति समस्या थिएन् वर्षायाममा साइकल मोटरसाइकल तार्न सकिन्थ्यो”, स्थानीयवासी बैजु साहले भने ।

भारतीय बजारबाट यस नाकाहुँदै आउने मालबाहक गाडी वर्षायाममा रोकिन्छन् । बाढीले विगत तीन दशकदेखि कटान हुँदा समस्या भएको तिलाठी कोइलाडी गाउँपालिका– १ का वडाध्यक्ष दिनेश्वर मिश्रको भनाइ छ । उनले यहाँ सङ्घीय सरकारले पुल निर्माण गर्नुपर्ने बताए । 

उनले मितेरी पुलको अत्यन्तै आवश्यकता रहेको बताए । “दुई देशबीचको मात्र सम्बन्ध छैन् यहाँ त परिवार–परिवार, व्यक्ति–व्यक्तिको सम्बन्ध छ, त्यसलाई थप मजबुत बनाउन पनि यी समस्या समाधान हुनुपर्छ”, उनले भने । मालबाहक गाडी र अन्य गाडीको सहज आवतजावत नहुँदा भन्सार कार्यालयको राजस्व सङकलनमा प्रत्यक्ष असर पर्ने गरेको भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकास भगतले जानकारी दिए । 

भ्रष्टाचारमा जोडिएका सत्तापक्षका नेता जोगाउने काममा सरकार लागिपरेको माओवादीको आरोप

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार सत्तापक्षका नेता जोगाउने काममा लागिपरेको आरोप लगाएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माओवादी उपाध्यक्ष अग्नि सापकोटाले विपक्षी दलका नेताहरूलाई छानीछानी मुद्दा लगाउने र सत्तापक्षका नेता जोगाउने काममा सरकार लागिपरेको आरोप लगाएका हुन् ।

उनले सहकारी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेल लगायतकाहरूलाई संरक्षण गरेर विपक्षीप्रति प्रतिशोध साँधिरहेको आरोप लगाए ।

उनले भने, ‘प्रचण्ड नेतृत्वको सरकारले देशको कानूनभन्दा माथि कोही छैनन् भन्ने सन्देश दिएको थियो । अहिलेको सरकार त विपक्षी दलका नेताहरूलाई छानीछानी मुद्दा लगाउने र आफ्नै नेताहरू जोगाउने काम गरिहरेको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका ऋषिकेश पोखरेललगायतहरूलाई संरक्षण गरेर खुला रूपमा राखेको छ ।’

उनले सुशासन र भ्रष्टाचारका नाममा तत्कालिन सरकारले थालेको काम छोडेर ओली नेतृत्वको सरकार ठीक विपरीत दिशामा गइरहेको उल्लेख गरे ।

रविलाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत, कास्कीका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन थुनामा राख्न अनुमति दिएको  जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो । सभापति लामिछानेलाई यसअघि असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो ।

लामिछानेविरुद्ध अदालतले दोस्रो पटक म्याद थपेर अनुसन्धान गर्ने अनुमति प्रहरीलाई दिएको हो । रवि गोर्खा मिडियामा प्रबन्ध निर्देशक थिए भने पूर्वडीआईजी जोशी उपाध्यक्ष थिए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा जोशी र लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दा अघि बढाइएको छ ।

९० वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय डडेल्धुराका तारादत्त भट्ट

डडेल्धुरा । सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ। तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रुपमा सक्रिय छन्। यो उमेरमा उहाँले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै आएका छन्।

उनले ४० रोपनी जग्गामा तरकारीखेती गरेका छन्। तरकारीबाटै वार्षिक रु १० लाख आम्दानी लिने गरेको उनले बताए। विगत ३० वर्षदेखि भट्टले खसीबाख्रा र भैँसीपालन गर्दै आएका छन्।

हाल उनको गोठमा ५० वटा खसीबाख्रा छन्। तीन वटा उन्नत जातका भैँसी छन्। घरका भित्ताभरी माहुरीका आधुनिक तथा परम्परागत घार छन्। आँगनको कुनामा खरायोका खोर छन्।

कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उनी बताउँछन्। “सानैदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ। जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन”, उनी भन्छन्, “यही काम गर्दागर्दै मर्न परोस अरु मलाई केही चाहिएन।”

खेती र पशुपालनबाटै आर्थिक रुपमा सम्पन्न उहाँले गाउँघरका छिमेकीलाई सङ्कट पर्दा सरसापटी दिने गर्छन्। उनको जाँगर देख्ने जोकोहीले प्रेरणा लिने गरेको स्थानीय दुर्गा भट्टले बताए।

उनले व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेदेखि हालसम्म सरकारी अनुदान लिएका छैनन्। तर माहुरीका लागि भने केही अनुदान पाए सहज हुने र हौसला मिल्ने आशामा छन्।

भट्टको अनुभवमा पछिल्लो समयमा हावापानीमा देखिएको परिवर्तनले धेरै असर गरेको छ। बजारमा पाइने नयाँ बीउ, मल, विषादीले पनि असर गरेको उनको अनुभव छ। पहिले–पहिले पाँच किलोसम्मको काउली उत्पादन हुने उनको बारीमा आजभोलि त्यत्रो काउली फल्दैन। पहिलेको परिमाणमा भैँसीले दिने दूध नै घटेको उनी बताउँछन्।

“कतै पछिल्लो समयमा आएका यी विकासे घाँसले दूधको उत्पादन घटाएको त होइन ?”, उनले भने। देशमै व्यावसायिक कृषि गर्न सके केही हदसम्म रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ। आफ्नै देशमा पसिना बगाउन सके सोहीअनुसार फल प्राप्त गर्न सकिने उनको सुझाव छ।

नेपाल विश्वव्यापी शान्ति स्थापनाका लागि रचनात्मक भूमिका खेल्न तयार छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, गरिबी र सुरक्षा चुनौतीलगायत विश्वव्यापी चुनौती समाधानका लागि सामूहिक र बहुपक्षीय प्रयास आवश्यक रहेको बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घ स्थापना दिवसका अवसरमा  बिहीबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल विश्वव्यापी शान्ति, स्थिरता र दिगो विकासलाई अगाडि बढाउन रचनात्मक भूमिका खेल्न तयार रहेको छ भने ।

शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र गैरहस्तक्षेप नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण सिद्धान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालले ‘सबैसँग मित्रता’को भावना अघि सारिरहेको स्पष्ट पारे ।

संयुक्त राष्ट्र बडापत्रप्रति नेपालको प्रतिबद्धता दोहो¥याउँदै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति, समानता, सहयोग र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि नेपालले दशकौँदेखि निरन्तर पैरवी गर्दै आएको स्मरण गरे ।

राष्ट्र सङ्घीय शान्ति मिसन, अन्तर्राष्ट्रिय सन्धि र निशस्त्रीकरण प्रयासमा नेपालको योगदानले विश्वव्यापी शान्ति र सद्भावप्रतिको समर्पणलाई झल्काएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रतिकूलताका बाबजुद पनि द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा खटिइएका शान्ति सैनिकको भूमिका प्रशंसनीय रहेको बताए ।

राष्ट्र सङ्घको आह्वानमा नेपालले शान्ति सैनिक पठाउन थालेको इतिहास गर्व गर्न लायक रहेको जनाउँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय शान्ति अभियानले विभिन्न चुनौती सामना गरिरहेको बताए ।

शान्ति सैनिकहरु हिंसात्मक समूह र बदलिँदो सुरक्षा अवस्थाबाट जोखिममा रहेका उल्लेख गर्दै उनले जटिल बन्दै गएका द्वन्द्व व्यवस्थापन र समाधानका लागि मजबुद अन्तर्राष्ट्रिय समर्थन र ऐक्यबद्धता आवश्यक भएको बताए ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी समुदायले सामना गरिरहेको वातावरणीय चुनौती सम्बोधन गर्न तथा मानवजातिको साझा खतराविरुद्ध सामूहिक रूपमा लड्ने बेला आएको बताए । संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाले जलवायु परितर्वन, जैविक विविधताको हानी र वातावरणीय ह्रासबाट आइपर्ने चुनौतीलाई स्पष्टसँग किटान गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ती चुनौती समाधान गर्न दृढ प्रतिबद्धता र सामूहिक प्रयासको खाँचो औँल्याए ।

नेपालजस्ता देशहरूले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गरेका भए पनि जलवायु सङ्कटबाट प्रभावित हुन पुगेको बताउँदै प्रधानमन्त्री ओलीले वातावरणीय प्रभाव अन्त्यका लागि विश्वव्यापी साझेदारी गर्न नेपाल तयार रहेको स्पष्ट पारे । नेपाल संयुक्त राष्ट्र सङ्घका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको दोहोर्याउँदै प्रधानमन्त्रीले शान्ति, सुरक्षा, दिगो विकास र वातावरण संरक्षणको विश्वव्यापी प्रयासलाई अनवरतरुपमा समर्थन गरिरहने बताए ।

प्रधान सेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकले सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको बताए । उनले विश्वव्यापी शान्ति प्रवद्र्धन, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धनमा संयुक्त राष्ट्र सङ्घले नेतृत्वदायी भूमिका स्मरणीय रहेको छ भने ।

नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र सङ्घको सदस्य बनेको र हालसम्म राष्ट्र सङ्घको बडापत्रप्रति प्रतिबद्ध मुलुकका रुपमा रहेको स्पष्ट पार्दै प्रधान सेनापति सिग्देलले विभिन्न शान्ति मिसनमा शान्ति सैनिक पठाउने मुलुकका रुपमा नेपाल पहिलो रहेको जानकारी दिए ।

समारोहमा द्वन्द्वग्रस्त मुलुकका ११ वटा मिसनमा तैनाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्मिलित फौजले मार्च पास गरेको थियो । सो अवसरमा मारुनी, मघौटा, झ्याउरे र हुड्केली नाच तथा नेवारी समुदायको सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

नेपाली सेनाका खेलाडीले तेक्वान्दो खेल प्रस्तुत गरेको सो समारोहमा तीन वटै सुरक्षा सङ्गठनका तर्फबाट संयुक्त ब्याण्ड तथा नेपाली सेनाको हेलिकप्टरमार्फत ‘यु एन डे–२०२४’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । समारोहमा मन्त्रीगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

छ दशक पुरानो नेपाल–संयुक्त राष्ट्र सङ्घ सहकार्य

विश्वभर शान्ति, एकता, मैत्री र मेलमिलाप प्रवद्र्धन गर्ने उद्देश्यले सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्र सङ्घको स्थापना भएको हो । अन्तर्राष्ट्रिय श्रम, खाद्य तथा कृषि, विश्व स्वास्थ्य, हुलाक, नागरिक उड्डयन, जलवायु, बौद्धिक सम्पत्ति, सामुद्रीक, कृषि विकास कोष, औद्योगिक विकास र पर्यटन सङ्गठनलगायत उक्त विश्व संस्थाका १५ वटा विशिष्टिकृत निकायमार्फत श्रम, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलवायुका क्षेत्रमा मुलुकलाई सहयोेग प्राप्त हुँदै आएको छ ।

नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्र सङ्घले विशेष सहजीकरण गरेको थियो । सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य भएको नेपालले त्यसको तीन वर्षपछि शान्ति सैनिक परिचालन गर्न थालेको हो । मुलुकले शान्ति सेनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मी परिचालन गर्दै आएका छ । राष्ट्रसङ्घीय शान्ति सेनामा सैनिक परिचालन गर्ने मुलुकको सूचीमा नेपाल प्रथम स्थानमा छ । राष्ट्रसङ्घको आह्वानमा हाल विश्वका एक सय २० राष्ट्रबाट ९७ हजार शान्ति कार्यरत छन् ।

राष्ट्रसङ्घको छातामुनि विश्वका विभिन्न मुलुकमा स्थापना भएका ११ शान्ति मिसनमा छ सय ५१ महिलासहित पाँच हजार नौ सय १८ नेपाली शान्ति सैनिक परिचालन भएका छन् । शान्ति सेनामा महिला परिचालन गर्ने मुलुकको सूचीमा पनि नेपाल शीर्षस्थानमा छ । शान्ति मिसनमा सशस्त्र प्रहरी बलबाट एक सय ९५ र नेपाल प्रहरीका २८ जना कार्यरत छन् ।

नेपाली सेनाका अनुसार हालसम्म ४४ मिसनमा एक लाख ५३ हजार छ सय ५४ नेपाली शान्ति सैनिकले आफ्नो सौर्य प्रदर्शन गरेका छन् ।

सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवक्षक परिचालन गरेर विश्वशान्ति स्थापनाका निम्ति स्थापना भएको राष्ट्रसङ्घसँग सहकार्य सुरु गरेको नेपालले सन् १९७४ मा नेपाली सेनाको पुरानो गोरख गणलाई इजिप्टमा परिचालन गरेको थियो । हालसम्म ७३ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६९ जना घाइते भएका छन् । 

युरोपमा मुस्लिम विरोधी भेदभावमा तीव्र वृद्धि भएको ईयूको भनाई

भियना । इजरायल विरुद्ध हमासको आक्रमणले युरोपमा मुस्लिम विरोधी घृणामा तीव्र वृद्धि भएको उल्लेख गर्दै युरोपका मुस्लिमहरूले अझ बढी जातिवाद र भेदभावको सामना गरिरहेको युरोपेली सङ्घ (ईयू)को अधिकार एजेन्सीले जनाएको छ ।

‘युरोपियन युनियन एजेन्सी फर फन्डामेन्टल राइट्स (एफआरए)’का अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि गाजामा प्रतिशोधात्मक आक्रमण सुरु भएपछि धेरै ईयू राष्ट्रहरूले मुस्लिम विरोधी कार्यहरूमा वृद्धि भएको जनाएका छन् ।

“हमासको आक्रमणपछि मुस्लिम विरोधी घृणा र यहूदी विरोधी भावना बढेको कुरा प्रकाशमा ल्याउने थुप्रै युरोपेली सङ्घका देशबाट आएका रिपोर्टबारे हामी सचेत छौं”, एफआरएका प्रवक्ता निकोल रोमेनले भने ।

युरोपेली सङ्घमा लगभग दुई मध्ये एक मुस्लिमले आफ्नो दैनिक जीवनमा जातिवाद र भेदभावको सामना गर्छन्, जुन सन् २०१६ मा एफआरए सर्वेक्षणको अन्तिम संस्करणमा फेला परेको ३९ प्रतिशतबाट तीव्र वृद्धि हो ।

भेदभावको सबैभन्दा बढी दर अस्ट्रिया, जर्मनी र फिनल्यान्डमा रेकर्ड गरिएको छ ।

“हामीले युरोपमा मुस्लिम समुदाय विरुद्ध जातिवाद र भेदभावमा चिन्ताजनक वृद्धि देखिरहेका छौं”, एफआरएका निर्देशक सिर्पा राउटिओले भने ।

“यो मध्यपूर्वमा द्वन्द्वले उत्प्रेरित भएको हो र महाद्वीपभरी देखिएको अमानवीय मुस्लिम विरोधी प्रदर्शनले स्थिति अझ खराब बनाएको छ”, राउटिओले भने ।

अक्टोबर सन् २०२१ को अक्टोबर देखि सन् २०२२ को अक्टोबरसम्म १३ वटा युरोपेली देशका ९ हजार ६ सय भन्दा बढी मुस्लिमहरुको सर्वेक्षण गरिएको थियो ।

मुस्लिम महिला, पुरुष र बालबालिकाहरू धर्मका कारण मात्र नभई छालाको रङ र जातीय वा आप्रवासी पृष्ठभूमिका कारण पनि हिंसामा परेको एफआरएले उल्लेख गरेको छ ।

पुटिनले दुई वर्षपछि राष्ट्रसङ्घका महासचिवसँग भेट गर्दै

कजान । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुई वर्षभन्दा बढी समयमा पहिलोपटक संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेरेससँग भेट गर्ने भएको छ ।

रुसी सहर कजानमा आयोजित ब्रिक्स सम्मेलनको अन्तिम दिन दुई पक्षबीच भेटवार्ता हुनेभएको हो । क्रेमलिनका अनुसार उनीहरुले युक्रेन द्वन्द्वका साथै मध्यपूर्वमा बढ्दो सङ्कटबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।

गुटेरेसले युक्रेनविरुद्ध मस्कोको सैन्य आक्रमणको बारम्बार आलोचना गर्दै यसले विश्वका लागि खतरनाक उदाहरण स्थापित गरेको बताउदै आएको छ ।

गुटेरेस सन् २०२२ मा कियभलाई आफ्नो बन्दरगाहबाट सुरक्षित रूपमा अन्न निर्यात गर्न अनुमति दिने सम्झौताको मध्यस्थतामा मद्दत गर्दै दुई देशबीचको शान्ति प्रयासमा संलग्न भएको थियो । त्यसबेलादेखि दुई पक्षबीच थोरै मात्र प्रत्यक्ष कूटनीतिक सम्पर्क भएको छ ।

युक्रेनले पुटिनलाई भेट्ने संयुक्त राष्ट्रसङ्घका प्रमुखको निर्णयको कडा आलोचना गरेको छ ।

पुटिनले युक्रेनलाई युद्धविरामको पूर्व शर्तको रूपमा यसको दक्षिण र पूर्वमा आत्मसमर्पण गर्न माग गरेको छ जसलाई कियभले अनावश्यक शर्तको रुपमा अस्विकार गरेको छ ।

गुटेरेसले कजानमा पुटिनलाई भेट्ने र सम्मेलनलाई सम्बोधन गर्ने योजना रहेको संयुक्त राष्ट्रले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता फरहान हकले गुटेरेसले “युक्रेनमा युद्धमा आफ्नो चिरपरिचित स्थितिलाई पुनः पुष्टि गर्ने“ बैठकको उदेश्य रहेको बताए ।

गुटेरेसले मस्कोले युक्रेनी क्षेत्रको विलयको योजनाले गरिरहेको आक्रमणको आलोचना गर्दै यस्ता गतिविधीको संसारमा कुनै स्थान नभएको बताएको छ ।

त्यसैगरी, ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्व नेताहरूले युक्रेन द्वन्द्व अन्त्य गर्न आह्वान गरेका छन् । 

उत्तर कोरियाले अक्टोबरमा तीन हजार सेना रूस पठाएको अमेरिकाको दाबी

वासिङ्टनडीसी । उत्तर कोरियाले कम्तिमा तीन हजार उत्तर कोरियाली सेना अक्टोबरमा रूसमा पठाएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार उनीहरू युक्रेन विरुद्धको लडाइँमा सहभागी हुने अत्यधिक सम्भावना रहेको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार जोन किर्बीले बुधबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उत्तर कोरियाली सैनिकहरू युक्रेनसँग लड्न रुस जाँदैगरेको सार्वजनिक सुचना पाएको बताएका छन् ।

सेना उत्तर कोरियाको वोनसनबाट रूसको भ्लाडिभोस्टोकसम्म जहाज मार्फत गएको बताउदै हाल उनीहरु रूसी सैन्य प्रशिक्षणमा रहेको बताएका छन् । प्रशिक्षण पछि सैनिकहरूले युक्रेनी सेनाविरुद्ध लडाइँमा संलग्न हुन सक्ने चिन्ता उनले व्यक्त गरेका छन् ।

किर्बीले अमेरिकाले युक्रेनी सरकारलाई उनीहरूको अवस्था बारेमा जानकारी दिएको बताउदै उत्तर कोरियाले मस्को र किभबिचको द्वन्द्वमा प्रवेश गरेमा युद्धमा रूस कायरतालाई उजागर गर्ने उल्लेख गरेका छन्।

युक्रेनविरुद्धको युद्धमा रुसले हरेक दिन असाधारण हताहत भोगिरहेको बताउदै किर्बीले अझै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावको विपरित युक्रेनसँग द्वन्द्व जारी राख्न चाहेको बताएका छन् ।

ह्वाइट हाउसका वरिष्ठ अधिकारीले युद्धका लागि युक्रेनलाई अमेरिकी सहयोगको बारेमा कुरा गर्दै अमेरिका युक्रेनलाई थप युद्व सामाग्रीहरू प्रदान गर्ने तयारीमा रहेको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई सहयोग गर्न कटिबद्ध रहेकोसमेत जानकारी दिएका छन् ।

युक्रेनका लागि अमेरिकी समर्थनको पुष्टि गर्दै उनले आगामी दिनमा अमेरिकाले युक्रेन विरुद्ध रुसको युद्धका समर्थकलाई लक्षित गरी महत्वपूर्ण प्रतिबन्धको घोषणा गर्ने जनाएका छन् । 

सुन्दरीजलमा प्रशोधन क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै

काठमाडौँ । मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेको मध्य प्रशोधन क्षमताभन्दा बढी भएको पानी वागमती नदीमा पठाउन थालिएको छ ।

अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडाँैमा आइरहेको भए पनि करिव १८ करोड लिटर पानी प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण गरिन थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी प्रमुख रत्न लामिछानेले जानकारी दिए ।

उनले भने, “मेलम्चीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी आइरहेको छ, १८ करोड लिटर पानी प्रशोधन गरी पठाउन थालिएको छ, प्रशोधन क्षमताभन्दा बढी रहेको बाँकी पानी वागमती नदीमा छाडिएको छ ।”

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी वागमती नदीमा पठाइएका कारण अहिले वागमती नदीको बहाव पनि बढ्दै गइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

मेलम्चीबाट आएको बढी पानी वागमती नदीमा पठाइएका कारण फोहर देखिँदै आएको नदी क्रमिक रुपमा सङ्लो हुँदै जान थालेको लामिछानेले बताए।

जलवायु अनुकूलनलाई प्राथमिकतामा राखी विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछः प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा बिहीबार नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले त्यसका लागि नेपालले सकारात्मक भूमिका खेल्न प्रतिबद्ध रहेको दोहोर्याए । 

“जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घको नेतृत्वले हामीलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्गनिर्देशन गर्नेमा हामी विश्वस्त छौँ । नेपालजस्ता मुलुकका लागि राष्ट्रसङ्घको मार्गनिर्देशनले राष्ट्रका अस्तित्व जोगाउन सहयोग पुर्याउने छ”, प्रधानमन्त्री ओलीले भने, “विश्वभरको अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसङ्घका सिद्धान्त र प्रतिबद्धताप्रति अडिग छ । शान्ति, सुरक्षा, दिगो विकास र वातावरण संरक्षण तथा प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्नेछौँ ।”

नेपालको परराष्ट्र नीतिको एक अङ्गका रूपमा रहेको शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताका लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्त पालना भइरहेको अवगत गराउँदै उनले दुई ठूला छिमेकीबीचमा रहेको नेपालले ‘सबैसँग मित्रता र कसैसँग पनि शत्रुता नराख्ने’को नीति कायम राखेको उल्लेख गरे । 

विपी राजमार्ग पुनर्निर्माणका लागि जाइकाको निर्णय कुर्दै डिभिजन सडक

राजकुमार पराजुली, काभ्रे ।  गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गका विभिन्न सडकखण्डको पुनःनिर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को निर्णयको पर्खाइमा बसेको छ । कार्यालयले केही दिनमै जाइकाको निर्णय आउने भएकाले निर्णय आएलगत्तै पुनःनिर्माणको काम थालिने जनाएको छ । 


विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा रहेको छ । बाढीपहिरोले अबरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ देखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाएको छ । 


केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गरेका थिए । 


‘जाइकाको ‘रेस्पोन्स’को पर्खाइमा छौँ, एक–दुई दिनमा निर्णय आएपछि निर्माण थालिनेछ’, कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने, ‘पुनःनिर्माणका ढिला गर्ने पक्षमा छैनौँ, तत्कालै निर्माण थाल्नेगरी सरोकारवाला निकायसँग छलफल पनि सुरु भइसकेको छ ।’


योगेशका अनुसार प्रधानमन्त्री ओलीसँग राजमार्ग पुनःनिर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक/दुई दिनमै थप छलफल गर्ने योजना तय गरिएको छ ।


बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तह, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा असोज २५ गतेबाट सञ्चालन गर्न सफल भइएको हो । 


पछिल्लो पटक राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारस्थित बोक्सीकुनामा ‘डाइभर्सन’ बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी सञ्चालनमा ल्याइएको योगेशले बताए ।


उनका अनुसार बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब २०० मिटर सडक पनि अस्थायी रुपमा एकतर्फी खुलाइएको थियो । 


बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमाथ्ल नेपालथोकसम्म क्षति पुर्याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।


‘राजमार्गको सडक, पुल र कल्भर्ट बगेको स्थानमा हाललाई सडक सञ्चालनार्थ अस्थायी संरचना निर्माण गरिएको हो’, योगेशले भने ।


उनका अनुसार धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बहाबलाई सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ । 


कार्यालयका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकखण्डको १४ स्थानमा करिब आठ किलोमिटर सडक क्षतिग्रस्त गराएको थियो ।


राजमार्गको कुल १६० किलोमिटरमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौँथो खण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किलोमिटर गरी ८४ किलोमिटर सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको कार्यालयले जनाएको छ । 


जाइकाद्वारा निर्मित उक्त राजमार्ग सडक निर्माण गर्दा प्रति किलोमिटर  ३५ करोड लागत थियो । उक्त रकम हालको हिसाबमा  ५० करोडभन्दा माथि पर्नेछ । क्षति पुगेको करिब दुई किलोमिटर सडक र अन्य स्थानमा भएको क्षतिको मूल्याङ्कन गर्दा दुई अर्बभन्दा माथिको क्षति गराएको प्रारम्भिक अनुमान गरिएको योगेशले बताए ।


जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।


तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतका उक्त राजमार्ग निर्माण भएको हो ।

नेपाल एयरलाइन्समा देखिएका समस्याको दीर्घकालीन समाधान गर्नेछौँः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गर्दै विद्यमान समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकार गठन भएको एकसय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिबारे जानकारी दिन बिहीबार  आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल एयरलाइन्समा देखिएका समस्याहरु समाधान गर्दै भरपर्दो सेवा प्रवाह गरिने उल्लेख गरे ।

मन्त्री पाण्डेले भने, “नेपाल एयरलाइन्समा रहेका विद्यमान समस्या पहिचान गरी दीर्घकालीन समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको छ । नेपाल नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवं विश्लेषण गरी सुरक्षित, भरपर्दाे तथा विश्वसनीय बनाउन समिति गठन गरेर काम अघि बढाइसकेका छौँ ।”

मन्त्री पाण्डेले  नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना तथा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गर्न मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने बताउँदै सोका मन्त्रिपरिषदमा ती विधेयक पेस गरिएको जानकारी दिए । 

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहन सहितको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको पनि बताए ।

“गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यही कात्तिक २४ गतेदेखि जजिरा एअरवेयजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्ने गरी कार्यतालिका स्वीकृत गरिएको छ”, मन्त्री पाण्डेले भने, “आन्तरिक वायुसेवाले व्यहोर्नुपर्ने यात्रुको दायित्व तथा बिमालाई समयानुकूल वृद्धि गर्न हवाई सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रकिृया अघि बढाइएको छ ।”

यस अवधिमा मन्त्रालयले यातायात सेवा अवरूद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुलाई अतिरिक्त शुल्क नलाग्ने गरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाएको जनाएको छ । 

अवरुद्ध सडक सञ्जाल सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले स्वीकृत हवाई भाडादरको अधिकतम सीमाको टिकट बिक्री नगर्ने गरी व्यवस्था मिलाइएको मन्त्री पाण्डेले जानकारी दिए । नेपाल र फ्रान्सबीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा सम्झौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको उल्लेख गर्दै उनले नेपाल र इन्डोनेसियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

मन्त्रालयले यस अवधिमा सौर्य एअरलाइन्सको वायुयान दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गरेको र प्रारम्भिक प्रतिवेदनबाट प्राप्त सुझाव कार्यान्वयनका लागि निर्देशनसमेत दिएको जनाएको छ । 

मन्त्री पाण्डेले भने, “यस अवधिमा पर्यटन विधेयक, सङ्घीय संसद्मा दर्ता गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएको छ । क्यासिनो नियमावली, पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ संशोधन गर्न मन्त्रिपरिषद्मा पेस गरिएको छ ।” 

नेपालका पाँच हजार आठसयदेखि छ हजार पाँचसयसम्म उचाइका थप ५७ हिमाल आरोहणका लागि खुला गरिएको मन्त्री पाण्डेले जानकारी दिँदै पर्यटन विभागका सेवाअन्तर्गत पर्वतारोहण र होटल व्यवस्थापनलाई अनलाइन प्रणालीमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको उल्लेख गरे ।

यस अवधिमा ‘ग्रेट हिमालयन ट्रेल’को थप पाँच किलोमिटर पदमार्ग निर्माण् सम्पन्न गरिएको, हिमाल आरोहण र पदयात्राको क्रममा विपद्मा रहेका करिब दुई सय पर्यटकलाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रतिलिपि अधिकार विधेयक, २०८१ मस्यौदा तर्जुमा गरी सुझावका लागि नीति अनुसन्धान प्रतिष्ठानमा पेस गरिएको, पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको, सङ्घीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको मन्त्री पाण्डेले बताए । 

मन्त्रालयले यस अवधिमा ललितपुरको गुईत टोलको चैत्यबाट हराएर अमेरिकामा पुगेको ध्यानी बुद्धको मूर्ति प्रमाणसहित नेपाल फर्काउन कूटनीतिक प्रक्रिया अघि बढाइएको जनाउँदै शङ्कर कीर्ति महाविहार, भगवान वहाल ठमेलबाट चोरी भएको पद्मपाणी लोकेश्वरको मूर्ति सोही स्थानमा पुनःस्थापना गरिएको मन्त्री पाण्डेले जानकारी दिए ।

पोखरामा रास्वपाका सांसदले प्रदर्शन गर्न अरुलाई उक्साउनु गैरकानुनी कार्य होः एमाले

काठमाडौं । नेकपा एमालेले सडक आन्दोलनका क्रममा पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

बिहीबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी रास्वपाका नेताहरुको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनले रास्वपाले राष्ट्रसेवकलाई कर्तव्य पालनमा अवरोध पुर्याएको भन्दै त्यो कसुर हुने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रसेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जनाभन्दा बढीको भेला गर्नु आफैँमा कसुर हो । यस्तो कसुरमा संघीय संससदको सदस्य उपस्थिति उन र यस्तो कसुर गर्न अरुलाई उक्साउनु पूर्णत गैरकानुनी कार्य हो ।’

नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह

वासिङ्टन डिसी (अमेरिका) । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपामला प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् ।

बुधबार विभिन्न फोरममा सहभागी हुनुका साथै पदाधिकारीहरुसँगको भेटघाटका क्रममा उनले नेपालमा हाल लगानीमैत्री वातावरण रहेको तथा वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनहरुमा पनि संशोधन भएकाले लगानीका लागि यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले आवश्यक समन्वय गर्ने पनि उनीहरुलाई आस्वस्त पारे ।

अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाकुरीसँग उनले बुधबार गरेको भेटवार्तामा अध्यक्ष ढकालले निगमले नेपालको निजी क्षेत्रलाई कसरी सबलीकरण गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

भेटका क्रममा विश्वमा कोरोना महामारी र रुस युक्रेन युद्धपछि देखिएको आर्थिक मन्दीको अवस्था तथा यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव एवं नेपालको अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी भएको बताए ।

भेटपछि राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै अध्यक्ष ढकालले भेटको अवसरमा निगमका कार्यकारी निर्देशकसँग नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यका विषयमा पनि छलफल भएको जानकारी दिए । नेपालका यी क्षेत्रमा लगानीका लागि आफूले विश्व समुदायलाई आग्रह गरेको उनको भनाइ थियो ।

भेटमा आइएफसीका अधिकारी र महासङ्घका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । त्यसैगरी अध्यक्ष ढकालले बुधबार नै ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका कार्यकारी निर्देशक समिर अभयङकर र इन्भेस्टमेन्ट निर्देशकसँग पनि भेटवार्ता गरेका थिए ।

भेटका क्रममा पनि उनले नेपालको पर्यटन जलविद्युत् तथा पूर्वाधार निर्माणमा कसरी लगानी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए ।

अध्यक्ष ढकालले उनीसँग नेपालमा लगानीका प्रसस्त सम्भावना रहेकाले पर्यटन, जलविद्युत्, सूचना प्रविधि एवं ‘हस्पिटालिटी’ का विविध क्षेत्रमा लगानी गर्न आग्रह पनि गरेका थिए । उनले नेपालमा लगानी सम्मेलन सम्पन्न भएपछि नयाँ नयाँ क्षेत्रमा लगानीका लागि वैदेशिक लगानीकर्ता आकर्षित भएका पनि सो अवसरमा जानकारी दिएका थिए ।

मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा

महोत्तरी । दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशकाका हटियामा जताततै माटाका भाँडा देखिन्छन् । सामान राख्ने तौला, दही जमाउने छ्याँची, पानी राख्ने घडा, बत्ती बाल्ने दियो, छ्याँची छोप्ने ढकन, र कलशका रूपमा प्रयोग हुने अम्खोरा र छठ पर्व लगत्तै सुरु हुने सामाचकेवा तथा त्यसबेला खेलिने हात्ती र खेलौनासहितका माटाका भाँडा हाटका आकर्षण बनेका छन् ।

मिथिला परम्परामा माटाका भाँडावर्तन शुद्ध हुने विश्वास तथा प्रयोग गरिने प्रचलनले यी पर्वमा बस्तीपिच्छेका बजारमा उत्साहपूर्वक क्रयविक्रय जारी छ । अन्य पर्वका बेला प्रायः नदेखिने कुम्भकारहरू पनि छैटका बेला नयाँ उमङ्गका साथ बजारमा भेटिन्छन् । उनीहरूका हात साँझबिहान निरन्तर चक्रमा व्यस्त छन् । कतिपय ग्राहकले पेस्की दिएर भाँडा बनाइ दिन माग गरेका छन् । यस्ता ग्राहकको फर्माइस र बजारमा भाँडाको माग बढेपछि अहिले कुम्हाललाई दोमट माटो खोजेर ल्याउने, धुल्याउने, मुछ्ने र थरिथरिका भाँडा बनाउन चक्र घुमाउन भ्याइनभ्याइ छ ।

“कि करु हजुर, अखैन सिजन अई, फेरु दिवाली, छठके बाद त हमरासबके खोजबाला कोई नई रहत, ताहीद्वारे आन सब काम छोइडक बर्तन बन्बमे लागल छी”(के गरौं हजुर, अहिले यी भाँडाको बेला छ, दीपावली/छठपछि हामीलाई खोज्ने कोही हुँदैनन्, त्यसैले अहिले अरु सबै काम छाडेर भाँडा बनाउन जुटेका छौं) औरही नगरपालिका–४ श्रीपुर कविलाशाका ५० वर्षीय सुरेश पण्डित कुम्हाल भन्छन् ।

केही दशकअघिसम्म दैनिक प्रयोजनमा प्रयोग हुने माटाका भाँडा अब यहाँका भान्सामा देखिन छाडेका छन् । माटाका भाँडामा राखिएका सामग्री शुद्ध रहने विश्वास कायमै रहेपनि यी सानो ठक्करमै वा झरेर प्याट्टै फुट्ने भएपछि आम उपभोक्ताले अब दैनिक प्रयोजनका धातु र प्लाष्टिकका भाँडा प्रयोग गर्न थालेका छन् । अन्यबेला खासै प्रयोगमा आउन छाडे पनि दीपावली र छठमा यिनै भाँडा प्रयोग गर्नपर्ने धार्मिक मान्यता र विश्वासले अहिले यस भेगका सबै हाट र बस्तीबस्तीमा माटाका भाँडाका छुट्टै बजार जमेका हुन् ।

वैदिक परम्परा, धार्मिक मान्यता र पवित्रताको भावले गर्दा दीपावली र छठमा माटाका भाँडाको प्रयोगले निरन्तरता पाउँदै आएको मिथिलाका संस्कृतिविद्को धारणा छ । पर्वअनुष्ठानका सबै विधिका सामान राख्न नयाँ भाँडा प्रयोग गरिनुपर्ने स्थापित परम्पराले अहिले माटाका भाँडाको माग हुने गरेको संंस्कृतिविद् एवं साहित्यकार जलेश्वर नगरपालिकाको बखरी बस्तीका बासिन्दा ८५ वर्षीय महेश्वर राय बताउँछन् ।

हाल पर्वविशेषमा बिक्री हुने भाँडाकै आर्जनबाट आफ्नो चाडपर्व धान्नसँगै वर्षभरिको नगद खर्चको जोहो गरिन पर्ने हुँदा सपरिवार यसै काममा जोतिनु परेको भङ्गाहा–५ भूचक्रपुरका सीताराम पण्डित कुम्हाल बताउँछन् । ‘‘पहिले हाम्रो गुजाराको पेसा नै यही थियो, अबभने दैनिक आवश्यकतामा प्लाष्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएका छौँ” उनी भन्छन्, “वर्षभरिको गुजारा नै त हैन, थोरथार नगद खर्चको जोहो र चाडपर्वको खर्च भने अहिलेको मेहनतले धान्छ ।”

दीपावली र छठ पर्वका अवसरमा महोत्तरीका १५ वटा स्थानीयतहका बजारमा पछिल्ला तीन वर्षको खरिदबिक्री सालाखाला ५० लाख सेरोफेरोको कारोबार हुने गरेको महोत्तरीका उद्योग वाणिज्य सङ्घका पदाधिकारी बताउँछन् । विगतका आठ गाविस समेटेर बनेको जिल्लाको सबैभन्दा बढी भूगोल र जनसङ्ख्या ओगटेको बर्दिबास नगरक्षेत्रमा १५ लाख हाराहारीमा माटाका भाँडाको कारोबार भएको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काको भनाइ छ।

वरदान बन्दै त्रिविको अनलाइन कक्षा

काठमाडौँ । कीर्तिपुरको एक विद्यालयमा अध्यापन गरिरहेका राजकुमार प्याकुरेल शिक्षा शास्त्र सङ्कायअन्तर्गत समाज शास्त्र (एमएसएसइडी) को अनलाइन कक्षा लिइरहेका छन् । थप शैक्षिक उपाधि चाहिएपछि भौतिक रुपमा कक्षामा उपस्थित हुन नसकेपछि उनी अहिले अनलाइन कक्षामा जोडिएर अध्ययन गरिरहेका छन् ।

कक्षामा भौतिक रुपमा उपस्थित हुन नसक्ने आफूजस्ता धेरैलाई त्रिभुवन विश्वविद्यालयले सुरु गरेको अनलाइन कक्षा निकै उपयोगी रहेको उनी बताउछन् । “टाढाबाट पनि पढ्न मिल्ने, दिउँसो आफू अरु काममा व्यस्त हुने हामी जस्तालाई यो कक्षा बरदान सवित भएको छ”, उनी भन्छन् । आफूहरु अनलाइन कक्षाको पहिलो समूह भएकाले पाठ्यपुस्तक हात नपरे पनि आफूले खोजर पढ्ने बानीको विकास भएको उनको भनाइ छ ।

अर्का विद्यार्थी ज्ञानु पहाडी अन्य पेसामा रहेका विद्यार्थीलाई काम नछोडी शैक्षिक उपाधि दिलाउन अनलाइन कक्षा राम्रो विकल्प भएको बताउछिन् । इन्टरनेट र उपयोगी मोबाइल फोन नहुँदा भने यो चुनौतीपूर्ण हुन जाने पनि उनको धारणा छ । कुनै दिन अनलाइनका कक्षा लिन नभ्याइएमा डिजिटल रेकर्ड हेरेर उक्त छुटेको कक्षा लिन सकिने उनी बताउछिन् । “हामीले विभिन्न स्रोतबाट अध्ययन सामग्री खोज्छौंँ र शिक्षकलाई देखाउँछौँ । उनबाट यससम्बन्धी मार्गदर्शन पाएपछि त्यसै अनुसार सच्च्याउँछौँ” उनले भनिन् ।

समयसमयमा हुने बन्द हड्ताल, परीक्षा केन्द्र तोकिने, क्याम्पसको आन्तरिक विवाद आदि अनेकौँ कारणले नियमित कक्षा नहुने, भएकै कक्षामा पनि विद्यार्थीको उपस्थित न्यून रहने गरेको छ । शिक्षकको अनुपस्थितिका कारण पनि कयौँ दिनसम्म कक्षा नहुने समस्या अनलाइन कक्षाले समाधान दिएको छ । भौतिक कक्षामा भन्दा अनलाइन कक्षामा हाजिर हुर्नुपर्ने, दिइएका गृहकार्य गर्नै पर्ने, तोकिएकै दिन बुझाउनै पर्ने र शिक्षक–विद्यार्थीका सबै गतिविधि श्रव्यदृश्य रेकर्ड हुने कारण सही अर्थको पठनपाठन हुने सम्बन्धित शिक्षक विद्यार्थी बताउँछन् ।

त्रिविमा अनलाइन कक्षाको सुरुआत कोभिड– १९ का कारण सन् २०२० को सुरुतिर अर्थात् बन्दाबन्दी हुनुभन्दा एक महिनअघि भएको हो । त्यतिबेला देशमा कतै पनि अनलाइन कक्षाबारे सोचाइ नै रहेको थिएन । त्यसबेला दूर शिक्षासम्बन्धी एक प्रयोगका रुपमा त्रिविको शिक्षा शास्त्र सङ्कायले एमएड तहको कार्यक्रम इन्टरनेट प्रविधिको माध्यमबाट सञ्चालन गर्ने तयारी गरिरहेको थियो । त्यसको केही महिनापछि नै बन्दाबन्दी भएकाले भौतिक उपस्थितिमा अध्ययन अध्यापन सम्भव भएन । त्यसपछि त अनलाइन कक्षा नै अनिवार्य विकल्प बन्न पुगेको थियो । विश्वविद्यालयदेखि विद्यालय तहसम्म अनलाइन कक्षाबाटै पठनपाठन हुन थाल्यो ।

घरै बसेर विश्वविद्यालयको उपाधि
पछिल्ला केही वर्षयता विश्वविद्यालयका विद्यार्थीहरुमा भर्ना हुने दिन क्याम्पस जाने र त्यसपछि एकैपटक जाँच दिने प्रवृत्ति बढ्दै गएको छ । आफ्नै बाध्यता वा क्याम्पसका कारण विद्यार्थीलाई भर्ना भएपछि कक्षा लिनुुपर्छ भन्ने सोच विस्तारै हराउँदै जाँदा पछिल्लो समय विद्यार्थीको उपस्थिति पातलिँदै गएको छ । कतिपय विद्यार्थीमा पढ्नभन्दा अरु उद्देश्यले भर्ना हुने प्रवृत्ति नभएको होइन । त्यसैले कक्षामा देखिने सङ्ख्याभन्दा परीक्षा दिने बेलामा विद्यार्थीको सङ्ख्या उल्लेखनीय रूपमा बढी हुन्थ्यो ।

समेष्टर प्रणाली लागू भएपछि त्यो समस्या त समाधान भयो तर ८० प्रतिशत हाजिरी अनिवार्य, आन्तरिक मूल्याङ्कनको अङ्कभार नै ४० प्रतिशत गरिएका कारण विद्यार्थी सङ्ख्या नै घट्दै गयो । कक्षामै उपस्थित भएर पढ्न धेरै विद्यार्थीलाई समस्या रहेछ भन्ने देखियो । त्यसैले घर वा कार्यस्थलमै रहेर पनि विश्वविद्यालयका कक्षा लिन सकिने विकल्पको रुपमा अनलाइन कक्षाप्रति आकर्षण बढेको हुनसक्ने विश्वविद्यालयको शिक्षा शास्त्र सङ्कायअन्तर्गत राजनीतिक शास्त्र विभागका पूर्वप्रमुख केशवराज पौडेल बताउछन् ।

अनलाइनमा पढाउँदा हरेक कक्षाको डिजिटल रेकर्ड हुने भएकाले शिक्षकले पढाएको कुरा र विद्यार्थीले त्यस कक्षामा गरेको अन्तक्रिर्यासमेतको अभिलेख बस्छ । “विद्यार्थी र शिक्षक कसैले पनि ढाट्न सक्ने अवस्था रहँदैन”, उनले भने । यसका साथै विद्यार्थीले दिइएका गृहकार्य तत्काल बुझाउनु पर्ने र शिक्षकले त्यसमाथि गरेको मूल्याङ्कन पनि डिजिटलमै राख्नुपर्ने भएकाले अन्यथा नहुने हुँदा यसको प्रभावकारिता रहेको उहाँको भनाइ छ । कक्षामा विद्यार्थीको उपस्थिति, उसको सक्रिय सहभागिता, आन्तरिक मूल्याङ्कन र दिइएका अङ्कबारे कसैले प्रश्न उठाएमा वा उजुरी परेमा समेत श्रब्यदृष्यसहितको प्रमाण पेश गर्न सकिने उनी बताउछन् ।

काम गर्दै डिग्री खोज्नेहरुका लागि उपयोगी
अनलाइन कक्षा एउटा एनरोइड मोबाइल वा ल्यापटप कम्प्युटरको माध्यमबाट इन्टरनेट पुगेको देशको जुनसुकै कुनाबाट पनि लिन सकिन्छ । काम वा अन्य कारणले आफू बसेको स्थान छोडेर विश्वविद्यालयका कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीका लागि निकै प्रभावकारी रहेको प्राध्यापक पौडेलको भनाइ छ । “खासगरी आफ्नो शैक्षिक योग्यता बढाउन चाहने तथा कक्षामा उपस्थित हुन नसक्नेलाई यसले उपयुक्त विकल्प दिन्छ”, उनले भने ।

विगतमा जागिरेहरुले काम गर्दै पढ्दा कतिपय अवस्थामा कक्षा लिएको र कार्यालयमा हाजिर गरेको दिन एउटै परेर समस्या सिर्जना हुने र अख्तियारमा उजुरी समेत लाग्ने गरेको समेत उनले उल्लेख गरे । “तर यसमा अनलाइन कक्षा भनेरै शैक्षिक उपाधि दिइने हुँदा कर्मचारीले कार्यालय समयमा पढ्न गएको वा कक्षा नलिई शैक्षिक उपाधि लिएको भन्ने दोष रहँदैन”, उनले थपे । विद्यार्थीले घरमा, यात्रामा वा कुनै पनि ठाउँमा कक्षा लिन सक्दछन् ।

घरपायक परीक्षा केन्द्र
भौतिक कक्षामा जस्तो पढेका क्याम्पसका लागि तोकिएकै केन्द्रमा पुग्नुपर्ने बाध्यता पनि यसमा विद्यार्थीलाई छैन । नयाँ कार्यविधिअनुसार विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँको स्नातकोत्तर तह अध्ययन हुने क्याम्पसमा गएर यसको प्रवेश परीक्षा दिन पाउँछन् । देशभर एक सय आठ स्थानमा रहेका क्याम्पसमध्ये कुनै पनि क्याम्पसबाट उक्त परीक्षा दिन सकिन्छ । शुरुमा भर्ना हुन भने विद्यार्थीले विभागसँग समन्वय गर्नुपर्छ । भर्नापछि प्रत्येक समेष्टरको शुरुमा र अन्तिम परीक्षाअघि गरी दुईपटक प्रत्यक्ष उपस्थितिको कक्षा सञ्चालन गरिन्छ । यसबाट शिक्षक–विद्यार्थीबीच राम्रोसँग अन्तक्रिया हुनेछ ।

कक्षाका लागि शुरुमा माइक्रोसफ्ट एप्लिकेशनबारे विद्यार्थीलाई जानकारी दिइन्छ । त्यसपछि उनीहरुलाई कक्षामा कसरी बस्ने, आएका डिजिटल पाठ्यसामग्रीलाई कसरी लिने र गृहकार्य सम्बन्धित शिक्षकलाई कसरी बुझउने भन्ने पनि सिकाइन्छ । साथै विद्यार्थीले आफूले दिएको उत्तर र त्यसबापत शिक्षकले दिएको अङ्क तत्कालै हेर्न र थप छलफल गन पाउँछ । अनलाइन कक्षा पढने त्रिविका विद्यार्थीलाई अहिले माइक्रोसफ्टले एक टेराबाइट स्थान उपलब्ध गराएको छ । इन्टरनेटकै माध्यमबाट विद्यार्थीले त्रिविको केन्द्रीय पुस्तकालय, भारतको दिल्ली विश्वविद्यालय, जवाहरलाल नेहरु विश्वविद्यालयलगायत थुपै देशका विश्वविद्यालयका दुई लाखभन्दा बढी डिजिटल स्रोतको प्रयोग गर्न सक्नेछन् ।

अनलाइन कक्षाको सुविधाका कारण शिक्षा शास्त्र, राजनीति शास्त्र, अङ्ग्रेजी, नेपाली, समाजशास्त्रअन्तर्गतका १५ वटा विषय विभागहरुले अनलाइन कक्षा शुरु गरेका छन् । सबैतिर गरी हाल तीन सय जनाभन्दा बढी विद्यार्थी अनलाइन कक्षामा जोडिएका छन् । यसको प्रभावकारिता देखेर विज्ञान जस्ता प्रयोगशाला आवश्यक भएका विषयबाहेक त्रिविका अन्य संस्थान र सङ्कायले पनि अनलाइन कक्षा सुरु गर्न खोजेको प्राध्यापक पौडेलले जानकारी दिए ।
शिक्षा शास्त्र सङ्काय प्रमुख प्राध्यापक डा शम्भु खतिवडाका अनुसार गत वर्ष शिक्षाशास्त्र सङ्कायकै अङ्ग्रेजी र गणित कार्यक्रममा अनलाइन माध्यमबाट भर्ना लिन शुरु गरिएको हो । स्नातकोत्तर तहको सामाजिक अध्ययनमा भने प्रत्यक्ष भर्ना मात्र लिइएको थियो । राजनीतिक सङ्कायले बल गरेरै अनलाइन चलाउँदा विद्यार्थी सङ्ख्या पाँचबाट बढेर ५५ पुग्यो । अहिले त्रिविमा सामाजिक अध्ययनको तेस्रो वर्ष चलिरहेको छ । पहिलो वर्षमा एक सय २०, दोस्रोमा एक सय ३५ र तेस्रा वर्षमा ६० जना भर्ना भएर परीक्षा समेत दिइसकेका छन् ।

भौतिक व्यवस्थापन मुख्य चुनौती
प्रविधिकै सहयोगमा चलाउनु पर्ने हुँदा अनलाइन कक्षा सञ्चालन त्यति सजिलो भने छैन । विद्यार्थी र शिक्षक दुवैसँग अनलाइन कक्षाका लागि उपयुक्त हुने स्मार्टफोन वा ल्यापटपसँगै भरपर्दो इन्टरनेट अनिवार्य हुन्छ । पढाउन सर्वाधिक सहज हुने स्मार्टबोर्ड नै चाहिने हो तर ती सबै कुरा सबै ठाउँमा सहज हुँदैन, शिक्षकको व्यक्तिगत ल्यापटप प्रयोग गरेर यो सबै गरिरहेका छौं”, प्राध्यापक पौडेल भन्छन् ।

प्रत्यक्ष कक्षा लिनका लागि त्रिविले नियुक्त गरेका शिक्षक र प्राध्यापकहरुलाई अनलाइन कक्षाका लागि अनुकूल हुने गरी आवश्यक तालिम दिनुपर्ने हुन्छ । अनलाइन कक्षाको अर्थ इन्टरनेटमार्फत जोडिनु मात्र नभई कक्षालाई कसरी सहज ढङ्गले सञ्चालन गर्ने, विद्यार्थीलाई गृहकार्य र पाठ्यसामग्री कसरी दिने आदि विषयमा पनि व्यावसायिक तालिम दिनुपर्ने हुन्छ । “कक्षालाई बढीभन्दा बढी अन्तक्रिर्यात्मक बनाउन शिक्षकलाई प्रविधिसँग पूर्ण अभ्यस्त बनाउनैपर्छ”, डा खतिवडा बताउछन् । प्रविधिमा अभ्यस्त भएका शिक्षकले प्रभावकारी कक्षा लिएको तर अभ्यस्त नभएका कतिपय शिक्षकलाई प्रस्तुतीकरणमा समस्या रहेको उनको भनाइ छ । त्रिविको नियमित बजेटबाट अनलाइन कक्षाका सबै आवश्यकता पूरा गर्न सम्भव नभएको डा खतिवडा बताउछन् ।

भक्तपुर अस्पतालले पायो बागमती प्रदेशको उत्कृष्ट पुरस्कार

भक्तपुर । बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ ।

बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेको अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले जानकारी दिइन् । समीक्षा बैठक बुधबार समापन भएको हो ।

भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने डा गौतमले जानकारी दिइन् ।

मीनभवनमा निर्माणाधीन घरको छतबाट लडेर मजदुरको मृत्यु

काठमाडौँ । काठमाडौंको आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर निजको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो ।

विपद् व्यवस्थापनका लागि विश्व बैंकले नेपाललाई १५ करोड डलर सहुलियतपूर्ण ऋण दिने

काठमाडौं । विश्व बैंकद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपी ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी भएका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा बिहीबार बैंकको केन्द्रीय कार्यालयमा अर्थसचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

बजेटरी सहायताको रूपमा उपयोग हुने उक्त रकम विपद् पुनर्स्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ । अर्थमन्त्री पौडेल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको ५५औँ वार्षिक बैठकका सिलसिलामा दक्षिण एसिया क्षेत्रका गभर्नरहरूको संयुक्त बैठकमा सहभागी भएका थिए ।

आजै पौडेलसँग विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरूसँग अलग–अलग भेटवार्ता भएको छ । उक्त भेटवार्ताको क्रममा विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष श्री मार्टिन रेजर र कार्यकारी निर्देशक वेम्पी सपुत्रसँग बहुपक्षीय सहायता परिचालनका विविध विषयमा छलफल भएको छ ।

त्यसैगरी, एसियाली विकास बैंकका उपाध्यक्ष यिङमिन याङसँग पनि आजै पौडेलले विश्व बैंक मुख्यालयमा भेट गरे । एसियाली विकास बैंक नेपालको मुख्य विकास साझेदारको भूमिकामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार एवम् सामाजिक विकासको क्षेत्रमा थप सहायता परिचालन गर्न आग्रह गरेका थिए ।

पौडेलसँग आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीको पनि भेटवार्ता भएको छ । भेटका क्रममा निगमले नेपालमा निजी क्षेत्रको विकासमा लगानी बढाउँदै लगेकोमा पौडेलले खुसी व्यक्त गरे ।

आगामी दिनमा निगमका गतिविधिमा प्रभावकारीता ल्याउन र थप विस्तार गर्न आग्रह गर्दै सरकारको तर्फबाट निजी क्षेत्रको विकासमा अनुकूल वातावरण बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसका २ र जनता समाजबादी पार्टीका एक गरी ३ जना मन्त्रीले शपथ लिएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टीबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्री नियुक्त गरेका थिए ।

तीनैजना मन्त्रीले बिहीबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट शपथ लिएका हुन् । तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा तीनजना मन्त्री थपिएसँगै मन्त्रिमण्डल ११ सदस्यीय भएको छ । मन्त्रीमण्डलमा एमालेबाट मुख्यमन्त्रीसहित ५ र कांग्रेसबाट ५ जना मन्त्री पुगेका छन् । युवा तथा खेलकुद मन्त्रालय मुख्यमन्त्री आचार्यले नै सम्हालेका छन् ।

पारदर्शी तरिकाबाट लिएको कार्यालय भवन निर्माणको सहयोगलाई बहसको विषय नबनाऔंः महासचिव पोखरेल

-शंकर पोखरेल
महाविपत्तिमा भएको क्षतिको पुनर्निर्माणमा सहयोग प्राप्तगर्ने र सहयोग गर्ने प्रचलन पुरानै हो । महाविपत्ति पछिको राहत, उद्धार र पुननिर्माणमा राज्यले समेत नागरिक र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिने गरेको तथ्यसँग नेपालीजन जानकार छ । नेकपा(एमाले) नयाँ पार्टी कार्यालय बनाउनका लागि रहेको होइन । पुराना पार्टी कार्यालय महाभूकम्पका कारणले क्षतिग्रस्त भएकोले पुनर्निर्माण गर्न लागेको हो ।

आजभन्दा १० वर्ष पहिलेको विनाशकारी भूकम्पमा भएको भौतिक क्षतिको पुनर्निर्माणको नेतृत्व नेकपा(एमाले) आफैंले सरकारमा रहँदा गरेको थियो । पहिले जनताका घर पुनर्निर्माण गर्ने, त्यसपछि सरकारी भवन र सम्पदाको पुनर्निर्माण गर्ने नीति लिएको थियो । यी सबै काम सकिएपछि मात्र पार्टी कार्यालय भवन पुनर्निर्माण गर्न खोजेको हो । त्यो पनि बाढी र डुवानका कारणले भाडामा रहेको पार्टी कार्यालयमा ठूलो क्षति बेहोर्नु परेको अवस्थामा आफ्नै कार्यालय भवन बनाउन खोजेको हो ।

राजनीतिक दलहरु पनि समाजिक संस्था भएका कारणले त्यसको पुनर्निर्माणमा राज्य र नागरिक स्तरवाट सहयोग प्राप्तगर्ने स्वभाविक हक रहन्छ नै । कतिपय राजनीतिक दलहरुले सुरुमै चन्दा र दानबाट पार्टी भवन निर्माण गरेको दृष्टान्त छ । यस्तो अवस्थामा नेकपा(एमाले) पारदर्शी तरिकावाट लिएको कार्यालय भवन निर्माणको सहयोगलाई अन्यथा रुपमा चित्रण गर्ने र बहसको विषय वनाउने कुरा उचित होइन ।

नेकपा(एमाले) कार्यकर्तावाट सहयोग संकलनको अभियान नचालाएको होइन । बल्खुस्थित जमिनमा खोला किनारमा संरचना निर्माणको नयाँ मापदण्ड जारी भएका कारणले सम्भव भएन । पार्टी पंक्ति भित्रवाट सहयोग पर्याप्त संकलन हुन नसकेको र पुरानो जमिनमा पार्टी कार्यालय भवन निर्माण हुने अवस्था नदेखिएपछि दानमा जमिन लिने संस्थागत निर्णय गरिएको थियो ।

यस्तो अवस्थामा नेकपा(एमाले) विनाशकारी भूकम्पमा भएको क्षतिग्रस्त भवनको पुनर्निर्माणका लागि पार्टीका शुभेच्छुकले सहयोग गर्ने चाहना समेत राखेकोले सहयोग लिएको हो । यस्तो सहयोग लिनु स्वभाविक हो । अन्यथा ठान्न मिल्दैन ।

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता

वासिङ्टन डिसी । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिब) का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ ।

भेटवार्तामा एसियाली विकास बैंकको वर्तमान पुँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उपप्रधानमन्त्री पौडेलले नेपालको विकास–निर्मााणका परियोजनामा बैंकले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई बैंकले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकामा उनले आभार व्यक्त गरे । उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रिया बारेमा मन्त्री पौडेललाई जानकारी दिएको उक्त राजदूतावासले जनाएको छ ।

त्यसैगरी, उपप्रधानमन्त्री पौडेलले विश्व बैंकका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग पनि भेटवार्ता गरेका छन् । निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैंकको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिएको बताइएको छ ।

उपप्रधानमन्त्री पौडेलले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटवार्ता गरे ।

अन्तरदेशीय पाइपलाइनबाट डेढ महिनाभित्र पेट्रोल पनि आयात हुने

वीरगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ ।

मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ ।

अमलेखगञ्जस्थित निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा भएसँगै परीक्षणको काम पारम्भ भएको जानकारी दिए ।

‘दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबै काम पूरा भएको छ’, उनले भने, ‘गत असोज १७ गते पाइपलाइपबाट परीक्षणका लागि पाँच हजार पाँच सय किलोमिटर पेट्रोल ल्याएर जडान भएका उपकरणको प्रभावकारिताको परीक्षण गरिरहेका छौँ । सम्भवतः डेढ महिनाभित्रमा परीक्षण पूरा गरेर डिजेलजस्तै पेट्रोल पनि व्यावसायिक रुपमा पाइपलाइनबाटै ल्याइनेछ ।’

परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुईवटा पेट्रोलका ट्याङ्कीलगायत पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् ।

‘निगमले दोस्रो चरणको परियोजनाअन्तर्गत निर्माण गरेका उपकरण तथा पूर्वाधारको प्राविधिक जाँचको कामलाई तीव्रता दिइरहेको छ । दोस्रो चरणअन्तर्गत जडान भएका पेट्रोलका ट्याङ्की, मोटर, पम्प, पाइपलाइन, स्वचालित पेट्रोल भर्ने स्टेशनलगायत प्राविधिक पक्षको पनि परीक्षण भइरहेको छ ।’ कार्यालय प्रमुख आचार्यले भने ।

निगमकाअनुसार पेट्रोल पाइप लाइनबाट ल्याएसँगै ढुवानी खर्चको लागत प्रतिलिटर तीन रुपैयाँका दरले एक अर्ब जोगिने छ ।

‘हाल पेट्रोल र मट्टितेल भारतको बरौनीबाट ट्याङ्करमा ढुवानी गर्दै आएको छ’, उनले भने, ‘पाइपलाइनबाट पेट्रोल ल्याउँदा ढुवानी खर्च र वातावरण प्रदूषण दुवै जोगिनेछ ।’ डिजेल भने पाइप लाइनबाटै आयात भइरहेको छ ।

निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, ‘फायरफाइटिङ सिस्टम’को स्तरोन्नति, ‘आयल वाटर स्प्रे’, ‘पिएमससिसी रुम’लगायत पूर्वाधार निर्माण भएको छ । अमलेखगञ्जमा निगम र भारतीय पक्षले विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएको थियो ।

निगमले दोस्रो परियोजना कार्यान्वयनका लागि एक अर्ब ५४ करोड भारु खर्चिएर चार हजार एक सय किलोलिटर क्षमताको पेट्रोलको ट्याङ्क, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति र २४ वटा पूर्णरूपमा स्वचालित पेट्रोल भर्ने स्टेसन निर्माणको काम अघि सारेको थियो ।

इन्डियन आयल कर्पाेरेसन लिमिटेडले पनि ६० करोड भारु खर्चिएर चार हजार एक सय किलोलिटर क्षमताको ट्याङ्क, दुई सय ५० किलोलिटर क्षमताको दुईवटा ट्रान्समिक्स ट्याङक, तीन हजार किलोलिटर क्षमताको दुईवटा फायरवाटर ट्याङ्क निर्माणको जिम्मेवारी लिएको थियो ।

सन् २०१५ मा पाइप लाइन विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरेर दुई अर्ब ७५ करोड भारु लाग्ने अनुमान गरिएको थियो । सो योजनाअनुसार पहिलो चरणमा भारतीय पक्षले दुई अर्ब भारु र दोस्रो चरणमा नेपालको तर्फबाट ७५ करोड भारु खर्च गर्ने योजनो थियो ।

पहिलो चरणको पूर्वाधार निर्माणमा योजनामा भारतको तर्फबाट दुई अर्ब भारु खर्च भए पनि दोस्रो चरणको काम तत्कालै सुरु हुन सकेन । दोस्रो चरणको पाइप लाइन विस्तारको लागत बढेर भारु एक अर्ब ५४ करोड पुगेको छ । पहिलो चरणको काम सम्पन्न भई विसं २०७६ भदौ २५ गतेदेखि पाइप लाइनबाट डिजेल आयात भइरहेको निगमले छ ।

भारतलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

बंगलादेश र भारतबीचको खेलमा सबै गोल पहिलो हाफमा भएका थिए । बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गर्दा अफिला खान्दाकरले एक गोल गरिन् ।

भारतकी बाला देवीले गरेको गोल सान्त्वनामा परिणत भयो । बंगलादेशले १८औं मिनेटमा अग्रता लिएको थियो । जब कप्तान सविना खातुनको कर्नरमा भारतीय गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै अफिदा खान्दाकरले गोल गर्दै अग्रता दिलाइन् ।

२९औं मिनेटमा बंगलादेशका लागि ऋतु पूर्णा चक्माले गरेको क्रसमा तोहुरा खातुनले गोल गर्दै अग्रता दोब्बर पारिन् । ४३औं मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश ३–० ले अघि बढेको थियो ।

४४ औं मिनेटमा भारतकी बाला देवीले गोल गर्दै अन्तर कम गरिन् । तर, दोस्रो हाफमा थप गोल नभएपछि अन्ततः बंगलादेश ३–१ को जीतका साथ समूह विजेता बन्न सफल भयो । यसैबीच, नेपाल रहेको समूह बीको खेल बिहीबार हुने छ । नेपालले बिहीबार श्रीलंकासँग खेल्दा भुटान र माल्दिभ्स आमनेसामने हुने छन् ।

बसको ठक्करबाट झापामा हजुरबुवा र नातिनीको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिए ।

उनकाअनुसार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीचौकी केरखाले बस चालक विशाल ठटाललाई तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ । घटनापछि स्थानीयवासीले राजमार्गमा यातायात अवरुद्ध गरेका छन् ।

सिद्धार्थ प्रिमियम इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख जम्मा

काठमाडौं । सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बुधबार इन्स्योरेन्सका प्रतिनिधिहरुले ५१ लाखको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड ७१ लाख बराबर रकम जम्मा भइसकेको छ । कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् ।

यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ । सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ ।

विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ ।

आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनौटका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर ४ देखि १४ सम्म युएईमा हुने आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनौटका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

बुधबार घोषणा गरिएको टोलीको कप्तानी पुजा महतोले गर्नेछिन् भने सोनी पाख्रिन उप–कप्तानको भूमिकामा रहनेछिन् । छनौट प्रतियोगितामा नेपालसँगै आयोजक युएई, कुवेत र थाइल्याण्ड सहभागी हुनेछन्। नेपाली टोलीले बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। यो प्रतियोगिता आईसीसी महिला टी–२० विश्वकपका लागि प्रमुख छनौट अवसर हो । छनौट प्रतियोगिता नोभेम्बर ४ देखि १४ सम्म युएईमा हुनेछ ।


नेपाली टोली:

पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), एलिसा कुमारी यादव (विकेटकिपर), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, मनिषा उपाध्याय, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक