`

अब बीपी राजमार्गमा २४ सै घण्टा सवारीसाधन चलाउन पाइने

काभ्रे । बीपी राजमार्गमा अब २४सै घण्टा सवारीसाधन चलाउन पाइने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गरी बुधबारदेखि २४सै घण्टा धुलिखेल–भकुण्डेबेसी सडकखण्डमा सवारीसाधन चलाउन पाइने जनाएको हो ।

यसअघि बाढीपहिरोका कारण बीपी राजमार्गमा असोज ३० गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको थियो । अहिले बीपी राजमार्गमा ट्रयाक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको छ ।

आगामी शनिबार भक्तपुर जिल्लाकै ठूलो राशीको ‘हाफकोर्ट’ बास्केटवल प्रतियोगिता हुने

भक्तपुर । कार्तिक १० गते भक्तपुर जिल्लाकै ठूलो राशीको ‘हाफकोर्ट’ बास्केटवल प्रतियोगिता हुने भएको छ । दशैं अघिनै प्रतियोगिता गर्ने भनिएपनि बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिका कारण देशनै शोकमा परेकाले स्थगित गरिएको थियो ।

प्रतियोगितामा भक्तपुर र काभ्रे जिल्लाका प्रतियोगिहरुले सहभागिता जनाउन पाउने आयोजक विकास संरक्षण तथा प्रवद्र्धन समिति गुण्डूले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेतालाई ५० हजार, उपविजेतालाई २० हजार र उत्कृष्ट खेलाडीलाई पाँच हजार पुरस्कार रहेको समितिका संयोजक दिनेश थापाले जानकारी दिए।

शनिबार बिहान ७ बजे हुने प्रतियोगिता शुरु हुने उनले बताए । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य महेश बस्नेत र बासुदेव थापाले संयुक्त रुपमा पार्किङसहितको सुविधा सम्पन्न प्रतियोगिता हुने खेलमैदान उद्घाटन गरिने भएको छ ।

समापन कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा तथा विशेष अतिथि जिल्ला समन्वय प्रमुख इश्वर बहादुर थापा रहने संयोजक थापाले बताए ।

एमाले नेता बस्नेत भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको सांसद भएको समयमा ‘सांसद विकास कोष र नगरपालिकाको सहकार्य’मा ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सुन्दर तथा मनोरम प्राकृतिक वातावरणसहितको उक्त बास्केटवल खेलमैदान हाल व्यवस्थापकीय कार्य सम्पन्न गरी उद्घाटन गर्न लागिएको हो ।

उक्त स्थानमा नेता बस्नेतको ड्रिम प्रोजेक्टको रुपमा फुटसल मैदान, पार्क, पर्यटन प्रवद्र्धनात्मक कार्य तथा अन्य विभिन्न कार्यहरु समेत निर्माण सम्पन्न भइसकेका छन् ।

बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित

जेनेभा  । उत्तरमा तीव्र बमबारी र बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियानको अन्तिम चरण स्थगित गर्न बाध्य भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बुधबार बताएको छ ।

घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रको मध्य र दक्षिणी भागहरूमा पहिले नै सम्पन्न भइसकेको खोप अभियानअन्तर्गत दोस्रो चरणको खोप बुधबार गाजा पट्टीको उत्तरमा सुरु हुने अपेक्षा गरिएको थियो ।

तर डब्ल्यूएचओले उत्तरी गाजामा १ लाख १९ हजार २७९ बालबालिकालाई खोप लगाउने अभियान स्थगित गर्न बाध्य भएको बताएको छ ।

इजरायलले यस महिना हमास लडाकुलाई पुनः समूहबद्ध हुनबाट रोक्ने वाचा गर्दै उत्तरी गाजामा भयानक हवाई र भूमि आक्रमण सुरु गरेको हो ।

“बढ्दो हिंसा, तीव्र बमबारी, सामूहिक विस्थापन आदेश, र उत्तरी गाजाको अधिकांश भागमा सुनिश्चित मानवीय विरामको अभावका कारण यो खोप अभियान स्थगित गरिएको थियो”, डब्लुएचओले भन्यो ।

“नागरिक पूर्वाधारमा चलिरहेको आक्रमणले उत्तरी गाजामा जनताको सुरक्षा र आवागमनलाई खतरामा पार्दै आएको छ, जसले परिवारहरूलाई आफ्ना बच्चाहरूलाई खोपका लागि सुरक्षित रूपमा ल्याउन साथै स्वास्थ्य कार्यकर्ताहरू सञ्चालन गर्न असम्भव बनाएको छ”, यसले बताएको छ ।

गाजा पट्टीमा २५ वर्षमा पोलियोको पहिलो घटना पुष्टि गरेपछि खोप अभियान सुरु भएको हो । 

सरकारको सय दिनः दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

काठमाडौँ । वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा दुई सय उद्योगका लागि करिब ३४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरिएको छ ।

सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा सुधारका सङ्केत देखापरेको बताए । 

प्रधानमन्त्री ओलीले निजी क्षेत्रकै मागबमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगको गठनले व्यवसायीमा आत्मविश्वास पलाउँदै गएको बताए ।

उनले भने, “अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को कार्य अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि गिरेको शेयरबजार प्राकृतिक विपत्तिको प्रतिकूलताका बीचमा पनि प्रगतिकै लयमा छ ।”

नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र भण्डारण क्षमता अभिवृद्धिका लागि भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म तथा अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार र टर्मिनल भवन निर्माण कार्य अगाडि बढाउन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच सम्झौता सम्पन्न भएको प्रधानमन्त्री ओलीले बताए ।

वस्तु, सेवा र प्रक्रियाको गुणस्तरलाई सुनिश्चित गर्न, मापदण्डको आवश्यकतालाई ध्यानमा राख्दै नेपाल एक्रिडिटेसन सेन्टर सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे ।

यस संस्थाले मुलुकभरका विभिन्न क्षेत्रका गुणस्तर निर्धारण गर्ने संस्थाको कार्यक्षमता, पारदर्शिता र प्रमाणिकताको मापन गर्ने जिम्मेवारी बहन गर्ने छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म सङ्घीय सरकारी खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही प्रतिशतले वृद्धि भई करिब ३२९ अर्ब रुपैयाँ पुगेको प्रधानमन्त्री ओलीले जानकारी दिए । कुल राजस्व परिचालन १३ दशमलव ३ प्रतिशतले वृद्धि भई करिब २४८ अर्ब रुपैयाँ पुगेको उनले बताए ।

सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा ४३ करोड विनियोजन 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा  ४३ करोड विनियोजन गरिएको जानकारी दिएका छन् ।

वर्तमान सरकारको एक सय दिनको उपलब्धि बुधबार सार्वजनिक गर्दै उनले विपद्बाट प्रभावित परिवारलाई तत्काल उद्धार, राहत, अत्यावश्यक भौतिक पूर्वाधार र सेवाको सञ्चालनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताए । 

“वर्तमान सरकार बनेको केही दिनअघि सिमलतालस्थित त्रिशूली नदीमा बस खस्दा तीर्थयात्री बेपत्ता भएको दुःखद घटनाबाट शोकमा थियौँ । त्यसको केही दिनपछि सौर्य विमान दुर्घटना, नुवाकोटमा हेलिकप्टर दुर्घटना र भारतीय पर्यटक बस दुर्घटना भयो,” प्रधानमन्त्री ओलीले भने, “मुलुक गत असोज १० गतेदेखि १३ गतेसम्म अकल्पनीय बाढी पहिरोको चपेटामा पर्यो । यसै अवधिमा देशभर सात हजार एक सय ३५ वटा विभिन्न प्रकारका विपद्जन्य दुर्घटना भए । प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गर्यो । कृषिबाली, पशुचौपाया एवं सडक, पुल, खानेपानी, सञ्चार, विद्यालय, विद्युत्लगायत भौतिक संरचनामा ठूलो नोक्सानी पुग्यो ।”

पीडित परिवारको राहत, घाइतेको उद्धार र निःशुल्क उपचार, मृतकको परिवारलाई आर्थिक सहयोग र प्रभावित नागरिकको सुरक्षित पुनःस्थापनामा सरकार केन्द्रित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

“बाढी पहिरोका कारण मृत्यु भएका तीन सय ९१ जनाका परिवारले दुई लाखका दरले राहत रकम पाएका छन् । बाढी पहिरोबाट प्रभावित दुई हजार पाँच सय ५५ परिवारलाई  चार करोड ५० लाख तत्काल प्रदान गरिएको छ,” प्रधानमन्त्री ओलीले भने, “प्रारम्भिक क्षतिको आकलन गरी अस्थायी बासस्थानको प्रबन्ध गर्ने कामलाई प्राथमिकतामा राख्यौँ । हामी अहिले बाढीपहिरोले क्षति पुर्याएका भौतिक संरचनाको निर्माणका कार्ययोजनासहित काम गरिरहेका छौँ । सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाको खानेपानी, विद्युत्, सडक, सञ्चारलगायत अत्यावश्यक सेवा पन्ध्र दिनभित्र सञ्चालनमा ल्याउन जिल्ला विपद् व्यवस्थापन कोषमार्फत रकम उपलब्ध गराइसकेका छौँ ।”

शेयर बजारमा २० अंकको गिरावट

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । बुधबार नेप्से २० दशमलव ४१ अङ्कले घटेर दुई हजार ६ सय ४५ दशमलव ३९ अङ्कमा झरेको छ । आज फाइनान्स र व्यापारबाहेक सबै समूह घटेको छ ।

आज माहुली लघुवित्त र हिमालयन बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले घट्यो । समग्रमा बजार घटेको दिन आज आइसीएफसी फाइनान्सको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । समृद्धी फाइनान्सको शेयर पनि नौ प्रतिशत भन्दा धेरैले बढ्यो ।

नेप्से घटेको दिन आज कारोबार रकम भने बढेको छ । हिजो चार अर्ब १७ करोड रुपैयाँमा कारोबार भएकोमा आज तीन सय २४ वटा कम्पनीको एक करोड ५७ लाख कित्ता शेयर ६ अर्ब २७ करोड रुपैयाँमा कारोबार भएको छ ।

जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौँः प्रधानमन्त्री ओली(सम्बोधनको पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने बताएका छन् ।

बुधबार सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र ‘सुटिङ’ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए ।

‘भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ । ‘भ्रष्टाचारी समातियो’ भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्धति बसाल्ने हाम्रो प्राथमिकता छ’, उनले भने, ‘भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकाङ्क्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको हामीले देखिरहेका छौँ ।’

सरकार गठनको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको पूर्ण पाठ:

प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,
गएको असार ३१ गतेको दिन, जब मैले पदको शपथ लिँदै थिएँ,  तपाईंहरूको नाममा शपथ लिएको थिएँ । किनभने यो सरकार तपाईंहरूको आशा, तपाईंहरूको सपना, र तपाईंहरूको विश्वासले बनेको हो ।

त्यो दिन मैले तपाईं नाममा शपथ लिनुकोे दुईवटा कारण छन् ।

पहिलो, तपाईंकै विश्वास र भरोसाका कारण यो सरकार बनेको हो ।

दोस्रो, यो सरकार तपाईंकै लागि बनेको हो ।

आज हामीले सत्ता सम्हालेको एक सय दिन पूरा भएको छ । तर म यहाँ तपाईंहरूलाई तथ्याङ्कको लामो सूची सुनाउँदै छैन । किनकि अङ्कहरू आफैँमा के हुन् र ? वास्तवमै महत्वपूर्ण कुरा भनेको ती अङ्कहरूले छोएका जीवन, हल्का बनाएका पीडा, र देखाएका सुन्दर भविष्य हुन् ।

प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,
गएको साउन ६ गते मैले संसद्मा विश्वासको मत लिँदै गर्दा यो सरकारका पाँचवटा प्राथमिकता प्रस्तुत गरेको थिएँ ।

‘थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने’ कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको थियो ।

पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालयअन्तर्गत के–के काम थालेका छौँ र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोक्यौँ । र, त्यसैको आधारमा प्रधानमन्त्री र मन्त्रीहरूका बीच कार्यसम्पादन सम्झौता गर्यौं । सबै मन्त्रालयले पहिलो, एक सय दिन, दोस्रो सय दिन र बाँकी अन्य दिनभित्र गर्ने कामहरूको सूची बनाए । पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको सङ्ख्या २७४ वटा पुग्यो। तीमध्ये १८५ वटा कामहरू सम्पन्न भएका छन् । अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गथ्र्यो ।

प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,
जब म नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै थिएँ, त्यसको केही दिन अघिदेखि नै हामी त्रिशूली नदीको सिमलतालमा तीर्थयात्री बोकेको बस यात्रुसहित बेपत्ता भएको दुःखद घटनाबाट शोकमा थियौँ । त्यसको केही दिनपछि सौर्य विमान दुर्घटना, नुवाकोटमा हेलिकप्टर दुर्घटना र भारतीय पर्यटक बस दुर्घटना भयो । गएको असोज १० देखि १३ गते अकल्पनीय बाढी पहिरोको चपेटामा मुलुक पर्यो। यसै अवधिमा देशभर सात हजार १३५ वटा विभिन्न प्रकारका विपद्जन्य दुर्घटना भए । प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गर्यो । कृषिबाली, पशुचौपाया एवम् सडक, पुल, खानेपानी, सञ्चार, विद्यालय, विद्युतलगायतका भौतिक संरचनामा ठूलो नोक्सानी पुग्यो ।

विपत्तिबाट प्रभावित नागरिकहरूको परिवारहरूलाई तत्काल उद्धार, राहत, अत्यावश्यक भौतिक पूर्वाधार र सेवाको सञ्चालनलाई प्राथमिकतामा राखेर हामीले काम अघि बढायौँ । पीडितपरिवारको राहत, घाइतेहरूको उद्धार र निःशुल्क उपचार, मृतकको परिवारलाई आर्थिक सहयोग र प्रभावित नागरिकको सुरक्षित पुनस्र्थापनमा सरकारलाई केन्द्रित गर्यौं । बाढीपहिरोका कारण मृत्यु भएका ३९१ जनाको परिवारले दुई लाखका दरले राहत पाएका छन् । बाढीपहिरोबाट प्रभावित दुई हजार ५५५ परिवारलाई चार करोड ५० लाख रुपैयाँ तत्काल राहत प्रदान गरिएको छ । सङ्कटग्रस्त क्षेत्रका ७१ वटा स्थानीय तहमा ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रारम्भिक क्षतिको आकलन गरी अस्थायी बासस्थानको प्रबन्ध गर्ने कामलाई प्राथमिकतामा राख्यौँ । हामी अहिले बाढीपहिरोले क्षति पुर्याएका भौतिक संरचनाहरूको निर्माणका कार्ययोजनासहित काम गरिरहेका छौँ । सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाको खानेपानी, विद्युत्, सडक, सञ्चारलगायत अत्यावश्यक सेवा पन्ध्र दिनभित्र सञ्चालनमा ल्याउन जिल्ला विपद् व्यवस्थापन कोषमार्फत  रकम उपलब्ध गराइसकेका छौँ ।

यही बीचमा नेपालीहरूको महान् पर्व बडादसैँ आयो । ठाउँ–ठाउँमा बाटाहरू भत्किएका थिए, सडकहरू पहिरोले पुरिएका थिए, र पुलहरू बाढीले बगाएका थिए । राजधानी आउने/जाने सबै बाटा बन्द थिए । प्राकृतिक प्रकोपका कारण चारैतिर एक किसिमको अत्यासलाग्दो अवस्था सिर्जना भएको थियो, जसले जनतामा त्रास छाएको थियो । पहिले त मानिसहरू डराएका थिए—सडक नबन्दा वा जोखिमका कारण कतै घर फर्कन नपाउने हो कि भन्ने डर थियो । तर, सरकारले ती चुनौतीपूर्ण परिस्थितिहरूलाई कुशलतापूर्वक सम्हाल्यो । परिणामस्वरूप, राजधानी आउने बाटाहरू चालु अवस्थामा पुर्याए, अब बन्दै बन्दै भनिएको बिपी राजमार्ग हुँदै सवारी साधन चल्न सुरु गरे । यस वषर्को दसैँमा पनि काठमाडौँ छोडेर घर फर्कनेको सङ्ख्या अघिल्लो वर्ष जस्तै करिब आठ लाख १४ हजार २४६ पुग्यो । दसैँमा एक लाख ११ हजार १५४ सवारी साधन काठमाडौँ उपत्यकाबाट बाहिरिए ।

प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,
एक वर्षअघि जाजरकोट, पश्चिम रुकुम, बझाङ, बाजुरा र डोटीमा भूकम्पले गहिरो चोट पुर्याएको थियो । ती स्थानहरूको पुनर्निर्माण कार्य त सुरु नै भइसक्नुपर्ने थियो । तर स्रोत व्यवस्थापनका लागि गर्नैपर्ने क्षतिको विस्तृत आकलन (डिडिए) समेत भएको रहेनछ, अस्थायी वासको लागि दिइने २५ हजार राहतमै पुनर्निर्माण कार्य अल्झिएको रहेछ  ।

हामीले यस समस्यालाई समेत सम्बोधन गर्नेगरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट क्षतिको विस्तृत आकलन पूरा गर्दै, ती ठाउँमा स्थायी निजी आवास पुनर्निर्माणको काम अघि बढाउन आवश्यक बजेट १५ दिनभित्र उपलब्ध गराउने निर्णय गरिसकेका छौँ । हाम्रो उद्देश्य पीडित जनताको जीवनमा स्थिरता र सुरक्षा फिर्ता ल्याउनु हो ।

अब, एक वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएका घरहरू र यस वर्षको बाढी र पहिरोले पीडित नागरिकहरूको आवास पुनर्निर्माण सँगसँगै अघि बढ्नेछ ।

प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,
प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धीमा त बनायो, तर सरकार सम्हालिँदै अघि बढ्यो ।

लामो समयदेखि ३५ जिल्लाका ३० लाखभन्दा बढी किसान दूधको भुक्तानी नपाएर कठिनाइमा थिए । बितेको एक सय दिनमा, लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएका छन् । उनीहरूले पाउने रकम भुक्तानीका लागि सरकारले ६० करोड रुपैयाँ निकासा गरेको थियो ।

त्यसैगरी, करिब ७५ हजार उखु किसान, जसले वर्षौंदेखि आफ्नो पसिनाको मूल्य पाउन सकेका थिएनन्, उनीहरूले पनि आफ्नो अनुदान बापतको भुक्तानी पाइसकेका छन् ।

कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौँ कृषकले पनि अब राहतको श्वास फेरेका छन् । बितेको एक सय दिनमा, तिनीहरूको बीमाबापतको भुक्तानी गर्न ८० करोड रुपैयाँ बीमा प्राधिकरणको खातामा पठाइएको छ । हिउँदे बालीका लागि चाहिने रासायनिक मलको बन्दोबस्त गरिसकिएको छ ।

हामीले संसद्मा भनेका थियौँ—निर्माण सम्पन्न गरेर भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीहरूलाई समयमै भुक्तानी दिनेछौँ। निर्माण व्यवसायीहरूले पाउनुपर्नेमध्ये सङ्घीय मन्त्रालयहरूबाट ६ अर्ब ७५ करोड रुपैयाँ यस अवधिमा भुक्तानी पाइसकेका छन् ।

प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,
संसद्बाट विश्वासको मत लिने बेला प्रस्तुत गरेको अर्काे प्राथमिकता थियो– उद्यमशीलताको प्रवद्र्धन ।

काम गर्ने युवाहरूलाई देशमा केही अवसर छैन, विदेश नै भासिनुपर्छ भन्ने समाजमा जबर्जस्त भाष्य छ । उद्योग मन्त्रालयले १६५ जना युवालाई खुला आवेदनको माध्यमबाट विनाधितो २५ लाख रुपैयाँ सम्मको ‘स्टार्टअप’ कर्जा प्रवाह गरेका थियो । ती युवाहरूले आफ्नो व्यवसाय सञ्चालन गरेर कर्जाको सावा÷ब्याजको किस्ता भुक्तानी समेत सुरु गरेका छन् ।

यस वर्ष पाँच हजार १५८ जना उद्यमीले स्टार्टअप कर्जाका लागि प्रस्ताव पेस गरेका छन् । प्राप्त प्रस्तावहरूमध्येबाट स्टार्टअप उद्यमी छनोट गरी पुस मसान्तभित्र कर्जा प्रवाह गर्ने तयारी गरिएको छ ।

प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,
संसद्बाट विश्वासको मत लिँदैगर्दा मैले भनेको थिएँ– ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीउपर कानुनी कारबाही अघि बढाउँछौँ । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौँ ।’

आज यहाँ उभिएर म यो भन्ने ठाउँमा आइपुगेको छु– सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याएको छ । सहकारी ठगी गर्ने व्यक्तिहरूमाथि कानुनी कारवाही सुरु भएको छ । हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५७५ भन्दा बढी त जेलमै छन् । सहकारी ठगहरूलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदैछ ।

भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र ‘सुटिङ’ गरेर देखाउने विषय बन्नु हुँदैन । यसले सुशासनको प्रणालीका रूपमा गति लिनुपर्छ । भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ । ‘भ्रष्टाचारी समातियो’ भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्धति बसाल्ने हाम्रो प्राथमिकता छ ।

भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकाङ्क्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरू सक्रिय रहेको हामीले देखिरहेका छौँ ।

सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अघि बढाएकाले भ्रष्टहरूको मोर्चा बन्नु बेग्लै कुरा हो । तर, म प्रतिबद्धता दोहोर्याउन चाहन्छु– राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता गर्दैन ।

हामी सरकारमा आउँदा अर्थतन्त्र डावाडोल थियो । आज त्यसमा सुधारका सङ्केतहरू देखापरेका छन् । निजी क्षेत्रकै मागबमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगहरूको गठनले व्यवसायीहरूमा आत्मविश्वास पलाउँदै गएको छ । परिणमस्वरुप, एक सय दिनको अवधिमा २०० वटा उद्योगमा करिब ३४ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को कार्य अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि गिरेको शेयरबजार प्राकृतिक विपत्तिको प्रतिकूलताका बीचमा पनि प्रगतिकै लयमा छ ।

नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र भण्डारण क्षमता अभिवृद्धिका लागि भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म र अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार तथा टर्मिनल भवन निर्माण कार्य अगाडि बढाउन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच सम्झौता सम्पन्न भएको छ ।

वस्तु, सेवा र प्रक्रियाको गुणस्तरलाई सुनिश्चित गर्न, मापदण्डको आवश्यकतालाई ध्यानमा राख्दै नेपाल एक्रिडिटेसन सेन्टर सञ्चालनमा ल्याइएको छ । यस संस्थाले मुलुकभरका विभिन्न क्षेत्रका गुणस्तर निर्धारण गर्ने संस्थाहरूको कार्यक्षमता, पारदर्शिता, र प्रमाणिकताको मापन गर्ने जिम्मेवारी बहन गर्नेछ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म सङ्घीय सरकारी खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही प्रतिशतले वृद्धि भई करिब ३२९ अर्ब रुपैयाँ पुगेको छ  । कुल राजस्व परिचालन १३ दशमलव तीन प्रतिशतले वृद्धि भई करिब २४८ अर्ब रुपैयाँ पुगेको छ ।

प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,
अभाव र गरिबीको जीवन बाँचिरहेका नागरिकहरूको सेवा, हाम्रो तेस्रो प्राथमिकता थियो । यसका लागि हामीले आर्थिक अभावमा जलनको उपचार गर्न नसक्ने नागरिकहरूका लागि सातवटै प्रदेशमा निःशुल्क उपचारको व्यवस्था गरेका छौँ । कोशी प्रदेशको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशको नारायणी अस्पताल, बागमती प्रदेशको कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमार्फत उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकको जलन उपचार निःशुल्क गर्ने व्यवस्था गरिएको छ ।

यसअघि तीनवटा प्रदेशमा मात्रै उपलब्ध रहेको क्यान्सर उपचार सेवा सातै प्रदेशमा विस्तार गरेका छौँ । देशभरका १९ वटा सङ्घीय अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरी १८ सङ्घीय अस्पतालहरूमा सहज उपचार सेवा प्राप्तिका लागि टोकन प्रणाली लागू गरिएको छ ।

दिदीबहिनी तथा दाजुभाइहरू,
सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती र प्रशासनिक काममा हुने झन्झट र नागरिक सेवालाई मध्यनजर गरी हामीले केही कामको थालनी गरेका छौँ । अब सवारी चालकले ‘ट्रायल पास’ गर्नासाथ नागरिक एपमा नै लाइसेन्स पाउनेछन् ।

सवारी नियम उल्लङ्घनको जरिवाना तिर्दा अब जहाँ नियम उल्लङ्घन भएको हो, सोही स्थानमा जरिवाना भुक्तानी गर्न सकिने सजिलो व्यवस्था सरकारले गरेको छ ।

कुनै पनि सरकारी सेवा लिन कार्यालय धाउनु नपर्ने, कर्मचारी भेट्नु नपर्ने र घरमै बसेर सबै सेवा लिन सक्ने व्यवस्था गर्दैछौँ । यसले सेवा प्रवाहमा हुँदै आएको झन्झट अन्त्य हुने र सुशासन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।

सरकारी कार्यालयमा कामका फाइलहरू अड्काउने, कामको समयावधि लम्याउने र यसबाट सेवाग्राहीले दुःख पाउने स्थितिबाट मुक्त गर्न क्युआर कोडमार्फत फाइल ‘मुभमेन्ट ट्र्याकिङ’ गर्ने प्रणाली परीक्षणका रूपमा सुरुआत गरेका छौँ । अब तपाईंले सरकारी अफिसमा हुने तपाईंको आफ्नो कामको जानकारी मोबाइलबाटै पाउनु हुनेछ ।

लगानीकर्ताको भौतिक उपस्थितविना कुल पुँजी ५० करोड रुपैयाँसम्मको विदेशी लगानी स्वचालित प्रणालीबाट तुरुन्त स्वीकृतिको प्रमाणपत्र प्राप्त गर्न सक्नेगरी उद्योग विभागमा स्वचालित मार्ग कार्यान्वयनमा आएको छ ।

नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम लागू भएका ५८ नापी कार्यालयमा अनलाइनमार्फत सेवा ‘ट्र्याकिङ’ प्रणाली लागू भएको छ ।

नेपालभरका २६७ वटा मालपोत कार्यालयमा ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त नागरिकले लाइनमा नबसी सेवा प्राप्त गर्नेगरी व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूको परिवारलाई यसअघि दिने गरिएको क्षतिपूर्ति रकम रु सात लाखबाट रु १० लाख पुर्याइएको छ । बिरामी उपचार खर्च पाएर मृत्यु भएकाहरूले क्षतिपूर्ति नपाउने यसअघिको व्यवस्थाको सट्टा उनीहरूको परिवारलाई पनि रु १० लाख उपलब्ध गराउने व्यवस्था गरिएको छ । विदेशमा रोजगारी अनुमतिपत्र नभएकाहरू र यस वर्षको सेप्टेम्बरभित्र विदेशमा रहेकाहरूले नेपाली नियोगमा आवदेन दिएमा उनीहरूलाई ‘वर्क परमिट’ उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,
देशभित्र बनेका भौतिक पूर्वाधारको अधिकतम प्रयोग गर्ने र त्यसबाट लाभ लिने यो सरकारको घोषित नीति हो । त्यसैले राम्ररी सञ्चालनमा नआएका अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग बढाउन यस सरकारले ठोस कदम चालेको छ । भैरहवा र पोखरामा फ्लाइट आकर्षित गर्न  भैरहवा र पोखराको लागि हवाई इन्धनको मूल्यमा प्रतिलिटर शून्य दशमलव ३७ डलर कम गरी अन्तर्राष्ट्रिय उडानको प्रबन्ध गर्न सफल भयौँ ।

अब आउँदो कात्तिक २४ गतेदेखि दुबईदेखि भैरहवासम्म र काठमाडौँ हुँदै भैरहवादेखि दुबईको उडान सुरु हुनेछ । फ्लाई दुबईले हप्ताको सातै दिन दुबई र भैरहवा एवम् काठमाडौँ हुँदै भैरहवा र दुबईबीच उडान भर्नेछ । जजिरा एयरवेजले हप्ताको तीन दिन भैरहवा र कुवेत एवम् कुवेत र भैरहवाबीच सिधा उडान भर्ने कार्यतालिका स्वीकृत भएको  छ ।

क्रिकेट मैदान भएको तर आवश्यक पूर्वाधार नभएको गुनासोलाई सम्बोधन गर्न सरकार गठन भए लगत्तै हामीले तीन सय दिनभित्र कीर्तिपुरको क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने, स्कोर बोर्ड राख्ने र राति पनि खेल्न मिल्नेगरी रङ्गशाला बनाउने निर्णय गरेका थियौँ । कीर्तिपुर क्रिकेट रङ्गशालामा फ्लड लाइट जडान र प्यारापिट निर्माण गर्न सहरी विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच समझदारी भई काम सुरु भएको छ ।

नेपालले आफूलाई चाहिनेभन्दा बढी उत्पादन गरे पनि विद्युत् ऊर्जा बिक्री गर्नसक्ने सम्भावनामाथि निकै प्रश्न उठ्ने गरेको छ। तर, गत एकसय दिनको अवधिमा बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यातका लागि त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको छ ।

प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,
अग्रज पुस्तादेखि आजको पुस्तासम्मको लामो सङ्घर्षले संविधानसभामार्फत हाम्रो संविधान जन्मियो, जसले देशलाई नयाँ दिशामा अग्रसर ग¥यो । सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरे पनि विगतका वर्षहरूमा यो दिवस सरकारी औपचारिकतामा सीमित सरकारी कार्यक्रमजस्तो मात्र रहँदै आएको थियो ।

यस वर्ष भने, सरकारको प्रयासले पहिलोपटक नागरिकस्तरमा व्यापक जनसहभागितासहित संविधान दिवसलाई एक उत्सवमय र उल्लासपूर्ण रूपमा मनाइएको छ । समाजका हरेक तप्का, वर्ग, क्षेत्र, पेसा र व्यवसायबाट सहभागी भएको खुसी यहाँ म तपाईंहरूसँग बाँड्न चाहन्छु । यस वर्षको संविधान दिवसमा पहिलोपटक ‘नेसनल डे कन्सर्ट’ आयोजना गरियो, जहाँ विभिन्न विधाका कलाकार, नवयुवाहरू र सबै पेसाका प्रतिनिधिहरूले एकसाथ भेला भई संविधान दिवसमा खुसी साट्ने मौका पाए । यसरी, राष्ट्रिय दिवसलाई हामीले जनताको उत्सवका रूपमा परिणत गर्यौँ ।

प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,
पछिल्ला एक सय दिनमा महत्वपूर्ण प्रगति हासिल भएका छन् । ‘फास्टट्र्याक’को मकवानपुरको धेद्रे सुरुङ ‘ब्रेक थ्रू’भएको छ । नागढुङ्गा मुख्य सुरुङको लाइनिङ पनि सफलतापूर्वक सम्पन्न भएको छ । रुपन्देहीको सिद्धबाबा सुरुङमा उल्लेखनीय प्रगति भएको छ, जहाँ ३९६.८५ मिटर सुरुङ खन्ने काम मात्र एक सय दिनभित्र पूरा भयो, र अहिलेसम्म ६४७ मिटर सुरुङ खनिएको छ ।

सडक निर्माण र मर्मतका क्षेत्रमा पनि ठूला उपलब्धिहरू हासिल भएका छन् । बितेको सय दिनमा चार हजार ३८ किलोमिटर सडक मर्मत गरिएको छ, र ३२.५ किलोमिटर सडक कालोपत्र गरिएको छ, जसले यातायातलाई थप सहज र सुरक्षित बनाएको छ ।

ऊर्जा उत्पादनको क्षेत्रमा, माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा दुईवटा टरबाइनसहित मेकानिकल पार्ट्सको मर्मत–सम्भार गरी ३० मेगावाट विद्युत् उत्पादन सुरु भएको छ। साथै, चिलिमे हब जिआईएस सबस्टेसन र त्रिशूली हब हाइब्रिड जिआइएस सबस्टेसन पनि सञ्चालनमा आएको छ, जसले देशको विद्युत् प्रणालीलाई थप सुदृढ बनाएको छ ।

विषय त सानै होला तर खास ठाउँका लागि महत्वपूर्ण छ । देशभरका ७५३ पालिकामध्ये, सैपाल गाउँपालिका एकमात्र यस्तो स्थानीय तह थियो, जहाँ वित्तीय संस्थाको पहुँच थिएन । प्राविधिक रूपमा असम्भव मानिएको उक्त गाउँपालिकामा, जब वाणिज्य बैङ्कको शाखा स्थापना भयो, करिब ५०० घरधुरीका तीन हजार जनाले यसबाट प्रत्यक्ष लाभ पाउने अवसर प्राप्त गरेका छन् ।

त्यस्तै, हुम्ला जिल्ला एकमात्र यस्तो जिल्ला थियो, जहाँ ‘फाइबर टू द होम’ (एफटिटिएच) सेवा अझै पुगेको थिएन । तर, गत भदौदेखि यो सेवा पनि सञ्चालनमा आएपछि, अब ७७ वटै जिल्लामा यस सुविधाको पहुँच पु¥याइएको छ, जसले दूरदराजका क्षेत्रहरूमा ‘डिजिटल कनेक्टिभिटी’को नयाँ युगको सुरुआत गरेको छ ।

प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,
कानुन वा नीति÷निर्माणको प्रगतिले सर्वसाधरणलाई प्रत्यक्ष त केही असर नगर्ला तर तिनै नीतिहरू शासन र प्रशासनको आधारशिला हुन् । ती विना राज्य चल्नै सक्दैनन् । यस अवधिमा, विभिन्न मन्त्रालयसँग सम्बन्धित चार दर्जनभन्दा बढी ऐन, नियम, र कार्यविधिहरूमा सहमति प्रदान गरिएको छ ।

यस अवधिमा १७ वर्षअघि देखि थालनी भएको शान्तिप्रक्रियाका बाँकी कामलाई अन्तिम निष्कर्षमा पुर्याउन हामी सफल भएका छौँ । त्यस सिलसिलामा ‘सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत र प्रमाणीकरण भएको छ । आयोग गठनका लागि सिफारिस समिति बनेको छ र त्यसले आयोग गठनको प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि द्वन्द्व खेपेको हाम्रो समाजका लागि यो सुखद सन्देश हो ।

प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,
यस सरकारमा तपाईंहरूले विश्वाससाथ चुनेका संसद्का प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) छन् । मैले सरकारको नेतृत्व गरेको छु । यी दुवै दल लोकतन्त्रका लागि लामो सङ्घर्ष र योगदान गरेका तथा लामो इतिहास भएका दल हुन् । यी प्रतिस्पर्धी दल हुन्, तर राजनीतिक स्थिरता, विकास, सुशासन दुवै दलका साझा प्रतिबद्धता छन् । यी प्रतिबद्धता पूरा गर्न बिग्रिएको स्थितिलाई सही ठाउँमा ल्याउनुपर्छ । अफवाह, झुठ, स्टन्ट र अराजकताले बिथोलेको सामाजिक जीवनलाई यथार्थमा आधारित, शान्त र सुसंस्कृत बनाउनुपर्छ ।

हामीले हाम्रो छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा अडिँदै पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढाएका छौँ । हामी स्पष्टतः सुमधुर र उपलब्धिपूर्ण छिमेक सम्बन्ध, शान्तिपूर्ण, न्यायोचित र जिम्मेवार अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास गर्छौं । विश्वका कतिपय भूभागमा भएका हिंसा र तनावबाट हामी चिन्तित छौँ, वार्ताको माध्यमबाट ती सबै तनावहरूको शान्तिपूर्ण समाधान चाहन्छौँ । सबैले संयमतापूर्वक शान्ति स्थापनामा लाग्न जरुरी ठान्छौँ ।

म यहाँ एउटा तथ्य उल्लेख गर्न चाहन्छु– सरकारले १०० दिन पूरा गरेपछि होइन, सरकार बनेकै दिनदेखि विरोध सुरु गरियो । यसको कारण थियो– देशमा साम्प्रदायिक विद्वेष खडा गर्ने, अराजनीतिक बोली र व्यवहारबाट हाम्रो सभ्यता र संस्कृतिमाथि हमला गर्ने, चलिरहेका उद्योगहरू बन्द गराउने, पुँजी पलायन गराउँदै देशको अर्थतन्त्र र वाणिज्य क्षेत्रलाई तहसनहस पार्ने र नयाँ उद्योग स्थापना हुन नदिने ।

अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर हाम्रो राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको छ । तर नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । सरकारले लोकतन्त्रलाई सुदृढ गर्न बनेको संविधानको रक्षा गर्ने छ । साम्प्रदायिक विद्वेष र घृणा होइन, सामाजिक न्याय र समानतामा आधारित सामाजिक सद्भावको बाटोबाट राष्ट्रिय एकता कायम गर्ने हाम्रो नीति दृढताका साथ कार्यान्वयन गर्ने छ । हाम्रा सुन्दर, शिष्ट र समृद्ध  सामाजिक–सांस्कृतिक मूल्यहरूलाई कमजोर पार्ने प्रयत्नलाई असफल बनाउनेछ ।

सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो । कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ ।

हामीलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिन्छ । अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ‘ब्यूरोक्रेसी’ले निर्वाह गर्नुपर्छ । कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ– बारम्बार सरकार फेरबदलका घटनाहरूले ब्यूरोक्रेसी नै अल्मलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशङ्का गर्छन् ।

त्यसरी सुनाइएका कुराहरूलाई मैले खण्डन गर्ने गरेको छु– कर्मचारीले नै काम गर्ने हो । ब्यूरोक्रेसीको नेतृत्व गरेका मुख्य सचिव र सचिवज्यूहरू यहीँ हुनुहुन्छ ।

उहाँहरू पनि मेरो भनाइसँग पक्कै सहमत हुनुहुन्छ– राजनीतिक नेतृत्वले नीति र प्राथमिकता अघि सार्छ, कर्मचारी प्रशासनले त्यसलाई कार्यान्वयन गर्छ ।

सीमित स्रोतसाधन, विरासतमा प्राप्त भएको बिग्रँदो आर्थिक अवस्था र अचानक आइपरेको प्राकृतिक विपद्का बाबजुद सरकारले नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनलाई शीघ्र, प्रभावकारी, नतिजामुखी र नागरिकमैत्री बनाउँदै कार्यान्वयन गरिरहेको छ ।

प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,
हामीलाई राम्ररी थाहा छ—यो सरकारप्रति तपाईंहरूको अपेक्षा उच्च छ । तपाईंको अपेक्षालाई पूरा गर्नु सरकारको दायित्व हो । तर यहाँनेर हाम्रो काम र अपेक्षाबीच सन्तुलन चाहिएको छ । हाम्रो सङ्कल्प असीमित भए पनि हामीसँग भएको स्रोतसाधन सीमित छ ।

नागरिकको अपेक्षा मात्रै बढाए पुग्ने तर कामको जिम्मेवारी लिनु नपर्ने पक्षले समाजमा असन्तुष्टिको माहौल खडा गर्न खोजेको छ । मिलेर सामना गर्नुपर्ने राष्ट्रिय सङ्कटबाट पनि राजनीतिक लाभ खोजिरहेको छ । तपाईंहरूले यस कुरामा विचार पुर्याउनुपर्ने र हामीले आफ्नो कामको रफ्तार बढाउनुपर्ने छ ।

सय दिन सकियो, अर्को सय दिन र बाँकी अवधिमा गर्ने कामका योजनाहरू आजबाट सुरु हुन्छन् । बितेका एक सय दिनमा हामीले विपत्तिका बीच पनि गरेका केही नवीन थालनी स्थिरता, सुशासन र विकासको लक्ष्यतर्फका पाइला हुन् ।

प्रिय दिदीबहिनी तथा दाजुभाइहरू,
आउनूस्, हाम्रो साझा लक्ष्य समृद्ध नेपाल सुखी नेपालीतर्फ हाम्रो पाइला अघि बढाऔँ ।
धन्यवाद ।
७ कात्तिक २०८१

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारबाही हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको बताएका छन् । वर्तमान सरकार जनताको विश्वासले गठन भएको उनले उल्लेख गरे । 

आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि सरकारले पूरा गथ्र्यो ।’

उनले थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्रीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने स्पष्ट पारे । सर्वसाधारणले सहकारीमा
जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारबाही सुरु गरेको उनले बताए ।

उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए ।

उनले भने, ‘भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ । ‘भ्रष्टाचारी समातियो’ भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्दति बसाल्ने हाम्रो प्राथमिकता छ । हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारवाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन् । सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र होइन, वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ।’

उनले थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।
‘पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालयअन्तर्गत के–के काम थालेका छौँ र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोक्यौँ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसैको आधारमा प्रधानमन्त्री र मन्त्रीहरूका बीच कार्यसम्पादन सम्झौता गर्यौँ, पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको सङ्ख्या दुई सय ७४ वटा पुग्यो । तीमध्ये एक सय ८५ वटा काम सम्पन्न भएका छन् ।’

रास्वपालाई उत्तेजित र उच्छृङ्खल गतिविधि नगर्न कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभाग प्रमु मीन विश्वकर्माले बुधबार विज्ञप्ति जारी गरी अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरुलाई आतङ्कित तथा त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने गतिविधि भैरहेकोप्रति आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सहकारी ठगी प्रकरणमा केही दिन अघि अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरुलाई आतङ्कित र त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने गतिविधि भैरहेकोले यस्ता अनुचित क्रियाकलापप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । राज्यका वैधानिक निकायबाट भैरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई वाधा पु¥याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल् पुर्याउने गतिविधि प्रति नेपाली कांग्रेस गम्भीर आपत्ति व्यक्त गर्दै भत्र्सना गर्दछ ।’


विज्ञप्तिमा विधिको शासन भनेको कानूनका दृष्टिमा सबै नागरिक बराबरी भएका उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘कानून सबैका लागि समान हुन्छ र हुनुपर्छ । विधिको शासन भनेको कानूनका दृष्टिमा सबै नागरिक बराबरी हुनु हो । मुलुकका केही सहकारी संस्थामा रकम जम्मा गर्ने बचतकर्ताको बचत हिनामिना भएको, उक्त रकम बचतकर्ताले फिर्ता नपाएको र उक्त रकमहरु कानून विपरीत सहकारी संचालकहरुले निजी कम्पनीमा समेत दिई अपचलन गरेको भन्ने व्यापक गुनासो आएको र केही सहकारीको रकम अपचलन गरेको भनी गोर्खा मिडिया कम्पनीका संचालकहरु— जीबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध विभिन्न निकायमा उजुर परेता पनि छानविन प्रकृया अगाडि नबढेको हुँदा प्रतिनिधि सभाका सांसदहरुले गृहमन्त्री स्वयं संलग्न रहेकोले प्रहरी प्रशासनले समयमा छानविन गर्न नसकिरहेको अवस्थामा प्रतिनिधि सभाबाट छानविनका लागि सहकारी छानविन संसदीय विशेष समिति गठन भयो । उक्त समितिले विस्तृत अध्ययन पश्चात दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएकोले वर्तमान मन्त्रिपरिषद्ले निर्णय गरी उक्त प्रतिवेदन कार्यान्वयनको प्रकृयामा रहेको व्यहोरा सबैमा अवगत नै छ । प्रतिवेदनले कार्वाहीका लागि सिफारिश गरेका संलग्न विभिन्न आरोपित व्यक्तिहरुलाई सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरिनै रहेको छ ।’

भक्तपुरमा तिहारका लागि माटोका भाँडा बनाउन भ्याइनभ्याइ(फोटोफिचर)

भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरमा माटोको पाला बनाउन कुमाले समुदायलाई भ्याइनभ्याइ भएको छ । दीपावलीको समय आएपछि भक्तपुर र मध्यपुरथिमिका प्रजापति समुदाय तथा माटाका भाँडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन् ।

उपत्यका तथा बाहिरका बासिन्दाहरुका लागि भक्तपुरमा बनाइएको पाला निकै परिचित छ । यसको मौलिक परिचयका कारण उपत्यका बाहिर काभ्रे, सिन्धुपाल्चोक, पोखरा, धरान लगायत विभिन्न अन्य जिल्लाबाट समेत भक्तपुरसम्म पाला किन्न आउने गरेका छन् ।


तस्बिरः हरिराम भेटुवाल, चन्द्रकला क्षेत्री/रासस

पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित

पोखरा । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।

सामान्यतया अक्टोबर नोभेम्बर पर्यटकीय याम मानिन्छ । विगत वर्षहरूमा ९०-९५ प्रतिशत होटल ‘अकुपेन्सी’ हुने यो समयमा अहिले पुग–नपुग ४०-४५ प्रतिशतमा सीमित हुँदा व्यवसायीमा निराशा छाएको हो । पोखरा होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड महामारीपछि पर्यटन क्षेत्रमा आएको सुस्तताले अहिलेसम्म असर गरिरहेको बताए।

‘कोभिड अगाडिको जस्तो अवस्था पर्यटन क्षेत्रमा अझै आउन सकेका छैन, कोभिड पछाडिका केही वर्षमा ७०-८० प्रतिशत अकुपेन्सी हुने होटलहरू अहिले भने आधाआधीमा सिमित छन्’, उनले भने, ‘कोभिडले धेरै मुलुकको आर्थिक स्थिति कमजोर बनायो, पर्यटकहरु कम खर्च गर्न बाध्य भए, योसँगै आन्तरिक पर्यटकले पनि खर्च गर्ने क्षमता कम भयो, यसको असर सिङ्गो पर्यटन क्षेत्रले लामो समयदेखि भोगिरहेको छ ।’

सुवेदीले अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै पर्यटन क्षेत्रमा लगानी बढेको तर सोही अनुपातमा विदेशी पर्यटकको आगमन बढ्न नसकेको बताए ।

उनले भने, ‘होटल बढे कोठाको क्षमता बढ्यो, तर बाह्य पर्यटकको आगमन बढेन, आन्तरिक र सीमित पर्यटकले ठूलो लगानीलाई धान्न सकेन, त्यसैले व्यवसायीमा चिन्ता थपिएको छ ।’

योसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडान हुन नसक्नु र महँगो टिकट दरले पनि विदेशी पर्यटक आगमनमा बाधा पुर्याइरहेको उनको भनाइ छ । होटल माउन्ट कैलाशका सञ्चालक नरेश भट्टराईले यो याममा पाहुना राख्न महिना दिन अघिदेखि नै कोठा ‘बुक’ हुने गरेको स्मरण गरे।

‘यो याममा निकै गाह्रो हुन्थ्यो, साथीभाइको फोन त्यस्तै आउँथ्यो, तर अहिले ३०-३५ प्रतिशत अकुपेन्सीमा होटल चलाउनु परेको छ’, भट्टराईले भने, ‘कहिले कोभिड, कहिले जहाज दुर्घटना, कहिले सडक दुर्घटना, बाढीपहिरोलगायत विविध कारणको यस क्षेत्रलाई निरन्तर असर पुर्याएको छ ।’

उनले पोखरालाई सुरक्षित गन्तव्य बनाउन पूर्वाधार र विश्वसनीय व्यवस्थापनको सुधार आवश्यकता रहेको बताए। सडक, होटल र अन्य पूर्वाधार सुधार गरी सुरक्षित तथा सहज यात्रा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘मौसम खुल्दै गएको छ, फेवातालको छेउछाउबाट हिमालका सुन्दर दृश्य अवलोकन गर्न र साहसिक गतिविधिमा रमाउने उत्तम समय हो, तर रमाउने पर्यटक नै पर्याप्त छैनन् ।’

टिका रिसोर्टका सञ्चालक एवं नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् गण्डकीका उपाध्यक्ष सङ्गीता पौडेलले विविध कारणले पर्यटन क्षेत्र सुस्ताउँदै गएको र पछिल्ला वर्षहरूमा अपेक्षित चहलपहल बढ्न नसक्दा व्यवसायी तथा स्थानीय अर्थतन्त्रमा समेत ठूलो असर पारेको बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पर्यटकीय राजधानी घोषणालगायतले व्यवसायीलाई उत्साह थपे पनि सोचेअनुरुप गतिविधि हुन नसक्दा यो याममा पनि व्यवसायी सुस्ताएर बस्नु परेको बताए।

वायुसेवा प्रदायक कम्पनीसँगको सहकार्यमा टिकट दर सस्तो बनाउनुपर्ने, अन्तर्राष्ट्रिय प्रचार, डिजिटल मार्केटिङमार्फत पोखरालाई साहसिक र सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विश्वभर प्रचार गर्न सके पोखराको पर्यटनले छिट्टै गति लिने उनको विश्वास छ ।

सरकार र निजी क्षेत्रबीच समन्वय कमजोर हुँदा पोखराले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी गन्तव्यका रूपमा आफूलाई स्थापित गर्न नसकेको र पर्यटकको आगमन घटेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले बताए ।

‘यो पर्यटकीय मौसममा समेत पोखराको पर्यटनमा अपेक्षित रूपमा सुधार हुन सकेको छैन, विशेषगरी पदयात्रा गतिविधिमा पर्यटकको सङ्ख्यामा ठूलो गिरावट आएको छ, पदमार्गहरु मोटरेबल बाटोले विस्थापित भए’, उनले भने। उनले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग संरक्षण व्यवस्थापन, प्रचारप्रसारमा सरकारको पर्याप्त चासो नपुगेको र निजी क्षेत्रको पहलले मात्र सम्भव नभएको उनको भनाइ छ ।

उनले बाह्य र आन्तरिक पर्यटक पदयात्राका लागि आए मात्र पोखराको पर्यटनले गति लिने र होटल तथा लजमा अकुपेन्सी दर बढ्ने बताए। पोखराको पर्यटनलाई पुनर्जीवित गर्न आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न विशेष प्याकेज तयार गर्नुपर्ने उनको भनाइ छ ।

पोखरा महानगरले पर्यटनको दिगो विकास र अन्तर्राष्ट्रियस्तरमा यसको प्रचारलाई प्राथमिकतामा राख्दै विशेष योजना अघि सारेको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए। आचार्यले भने, ‘पोखरा भिजिट इयर २०२५’ लाई लक्षित गरी नीति तथा कार्यक्रम निर्माण गरिएको छ, जसले दिगो योजना, अन्तर्राष्ट्रिय प्रचार र आन्तरिक पर्यटन प्रवद्र्धनलाई समेटनेछ ।’

उनले पोखरालाई बैठक, प्रोत्साहन भ्रमण, सम्मेलन र प्रदर्शनीका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न लागिएको जानकारी दिए।

यसै क्रममा तीन ठूला अन्तर्राष्ट्रिय कार्यक्रम पोखरामा आयोजना हुने तयारी भइरहेको र पर्यटन सधैँ चलायमान तथा सक्रिय रहोस् भन्ने लक्ष्यका साथ महानगरले विशेष गृहकार्य गरिरहेको उनको भनाइ छ ।

मुग्लिन–पोखरा राजमार्गको निर्माण कार्य सन् २०२५ डिसेम्बरसम्म पूरा हुने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सोही अवधिपछि सुनिश्चित हुने उनको विश्वास छ ।

उनका अनुसार स्थानीय कला, संस्कृति, ग्रामीण जीवनको अनुभव र हरित पर्यटन अवधारणामा आधारित वातावरणमैत्री कार्यक्रमलाई लागू गदै पर्यटकलाई नयाँ अनुभव प्रदान गर्ने योजना बनाइएको छ ।

लेकसाइड, ड्यामसाइड र पोखरा आसपासमा गरेर एक हजार दुई सय बढी पर्यटकीय स्तरका होटल छन् । त्यसमा ४० हजार पाहुना राख्ने क्षमता छ ।

पर्यटन क्षेत्रमा छ खर्ब बढी लगानी र होटलमा मात्र पाँच खर्ब लगानी रहेको होटल सङ्घका अध्यक्ष सुवेदीको दाबी छ ।

प्रत्यक्ष १५ हजार व्यक्तिले रोजगार पाएको पर्यटन क्षेत्रमा पर्यटकको आगमनको सुस्तताले धेरैलाई असर गरेकाले सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यबाट मात्रै यी चुनौती समाधान गर्न तथा पोखरालाई फेरि आकर्षक र सुरक्षित गन्तव्यका रूपमा स्थापित गर्ने व्यवसायीको विश्वास छ ।

इजरायली आदेशपछि लेबनानको टायर सहरका नागरिकको भागभाग

लेबनान । इजरायली सेनाले हजारौं विस्थापितको वासस्थान रहेको टायर सहरको ठूलो भाग खाली गर्ने चेतावनीसहितको निकासी आदेश जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार उक्त स्थानबाट भागेका छन् ।

टायरको विपद् व्यवस्थापन एकाईका प्रमुख मोर्ताडा महन्नाले यहाँको “अवस्था निकै खराब भएकाले तिव्र गतिमा मानिसहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको बताए ।

व्यवस्थापन एकाईका मिडिया अफिसर बिलाल काशमारले धेरैजना सहरबाट भागेर उपनगरतिर गएका बताए । उनका अनुसार हाल सम्पूर्ण टायर सहर खाली भएको छ ।

कयौँ पीडाहरुको सामना गरि बसेका केही परिवारहरूले पटक–पटकको इजरायली धम्की र निकासी आदेशका कारण ज्यान बचाउन आफ्नो घर छोड्न थालेको लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

इजरायली सेनाले लेबनानी लडाकु समूह हिजबुल्लाहलाई लक्षित गरी सैन्य कारबाही गर्नु अघि टायरका बासिन्दाहरूलाई उक्त स्थान छोड्न आह्वान गरेपछि मानिसहरू तुरुन्तै भाग्न थालेको जनाएको छ ।

सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समा टायरको प्रभावित क्षेत्रको नक्सा सहितको फोटो पोस्ट गर्दै तुरुन्तै प्रभावित क्षेत्रबाट बाहिर निस्कि जीवन खतराबाट जोगाउन आह्वान गरेका छन् ।

राष्ट्रसङ्घ समर्थित सैन्य मिसनको बावजुद हाइटीमा हिंसा अझै तीव्र : राष्ट्रसङ्घ

राष्ट्रसङ्घ । संघर्षरत क्यारिबियन देशको प्रहरीलाई समर्थन गर्न बहुराष्ट्रिय सैन्य बल तैनाथ गरिएको भएतापनि हाइटीमा गिरोह हिंसा बढिरहेको संयुक्त राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले बताएका छन् ।

हाइटीका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि मारिया इसाबेल साल्भाडोरले सुरक्षा परिषद्मा भने, “हाइटीको सुरक्षा अवस्था अत्यन्त नाजुक छ, हिंसा तीव्र रुपमा फैलिरहेका छन् ।”

मध्य सहर पोर्ट सोन्डेमा भएको गिरोहको आक्रमणमा ११५ जना सर्वसाधारण मारिएको र दर्जनौँ घाइते भएको केही हप्तापछि उहाँको यस्तो अभिव्यक्ति आएको हो ।

साल्भाडोरले उक्त भयानक र क्रूर घटनालाई उद्धृत गर्दै राजधानी पोर्ट–आउ–प्रिन्समा भएको अन्य आक्रमणको श्रृङ्खला साथै महिला र युवती विरुद्ध बढ्दो यौन हिंसाबारे पनि उल्लेख गरे ।

“हाइटीमा मानवीय अवस्था भयावह छ“, उनले भने, “देशभर आपराधिक गिरोह गतिविधिले फैलाएको आतङ्क र त्रासले हाइटीवासीले पीडा भोग्नुपरेको छ ।”

गर्मीको समयमा तैनाथ हुन थालेको हाइटी प्रहरीलाई सहयोग गर्न संयुक्त राष्ट्र समर्थित बहुराष्ट्रिय सैन्य मिसनको उपस्थितिका बावजुद हिंसा तीव्र भइरहेको छ ।

हाइटी प्रहरीले राजधानीका धेरै जिल्लामा गिरोह विरोधी अभियानहरू सुरु गरेको तर अझै पनि कर्मचारीलगायत अन्य स्रोतको अभावका कारण यी क्षेत्रमा नियन्त्रण कायम राख्न चुनौतीहरूको सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले हालैको एक प्रतिवेदनमा बताएका थिए ।

संयुक्त राष्ट्रसङ्घ विशेष गरी गिरोहको सिकार हुने बालबालिकाहरुका बारेमा चिन्तित छ ।

संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी (युनिसेफ) की प्रमुख क्याथरिन रसेलले सशस्त्र समूहका ३० देखि ५० प्रतिशत सदस्य बालबालिका रहेको अनुमान गरेका छन् ।

स्वास्थ्य सेवामा सुधारको सन्देश

–डा बच्चुकैलाश कैनी
स्वास्थ्य सेवा हरेक नागरिकको व्यक्तिगत, सामाजिक, आर्थिक र समग्र विकाससँग जोडिएको हुनाले आम जनताका लागि प्रत्यक्ष चासोको विषय हो । नागरिकका लागि स्वास्थ्य सेवा प्रदान गर्न बन्ने नीति, नियम, योजना र  कार्यक्रमका बारेमा धेरै नै टिप्पणी पनि हुन्छ । सकारात्मक र नकारात्मक दुवै किसिमका प्रतिक्रिया र टीकाटिप्पणीले पाठ सिकाउँछ र सुधार कार्यक्रमलाई सही रुपमा कार्यान्वयन गर्न मद्दत गर्छ ।

देशका हरेक कुनामा रहेका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ र सुपथ रुपमा प्रदान गर्नु हरेक सरकारको दायित्व हो । समग्र स्वास्थ्य सेवाको लागि अल्पकालीन र दीर्घकालीन रणनीति, योजना र कार्यक्रम बनाउने, आवश्यक स्रोत र साधनको व्यवस्था गर्ने, सरकारी, निजी र गैरसरकारी सेवा प्रदायकहरुको नियमन र अनुगमन गर्ने र सबैको लागि सबै प्रकारका स्तरीय स्वास्थ्य सेवा देशभित्र उपलब्ध गराउने व्यवस्था मिलाउनु पनि सरकारको मुख्य कामअन्तर्गत पर्छ । यसका साथै जनस्वास्थ्य प्रवद्र्धन र रोग रोकथाम गर्ने दायित्व पनि सरकारको हो ।

जब नयाँ सरकार बन्छ र नयाँ स्वास्थ्यमन्त्रीको पदबहाली हुन्छ, तब स्वास्थ्य सेवामा गर्नुपर्ने र स्वास्थ्य मन्त्रालयले गर्ने सुधारको निकै लामो सूची सार्वजनिक हुन्छ । यस्ता सूचीहरु हतारमा तयार हुने र सम्बन्धित सबै पक्षसँग आवश्यक एवं पर्याप्त परामर्श र छलफल नहुने हुनाले स्वास्थ्य सेवा सुधारको लागि गर्नुपर्ने सबै कामको लागि कार्यदिशा, कार्ययोजना, स्रोत र साधनको व्यवस्था, आवश्यक रकमको विनियोजन, विभाग र विभागीय प्रमुखहरुको कार्यविभाजन आदि काम गर्दा निकै नै कमीकमजोरीहरु रहेको आभास हुन्छ । स्वास्थ्य सेवा सुधारका योजनाहरु अपूरो, अधुरो र कमजोर हुन्छन् । जब सुधार कार्यक्रमको सुरुआत नै अधुरो र कमजोर हुन्छ, त्यसको कार्यान्वयन र अन्तिम परिणाम पनि स्वाभाविक रुपमा अपूरो र कमजोर नै हुन्छ ।

हरेक सुधारको पहिलो र महत्वपूर्ण सर्त सेवाप्रदायक निकाय, पेसाकर्मी र हरेक सरोकारवाला निकाय र व्यक्तिहरुलाई सुधारको कार्ययोजनामा सहभागी गराउनु हो । स्वाभाविक छ, स्वास्थ्य सेवा स्वास्थ्यकर्मीहरुले प्रदान गर्छन् । उनीहरुको संलग्नता, उत्साहपूर्ण सहभागिता र सहयोगबिना कुनै पनि कार्यक्रम सफल हुँदैन र सुधार कार्यक्रमले अपेक्षित उद्देश्य पूरा हुन सक्दैन । त्यसैले, कुनै दीर्घकालीन कार्यक्रम तय  गर्नुपूर्व सम्बन्धित पक्ष, निकाय, व्यक्ति र सेवा प्रदान गर्ने पेसाकर्मीहरूसँग परामर्श गर्नु जरुरी हुन्छ । यसका लागि समय लाग्न सक्छ तर परामर्शका लागि लाग्ने समयले राम्रो र उचित प्रतिफल दिन्छ ।

केही आशा र महत्वाकाङ्क्षा बोकेर देशको स्वास्थ्य क्षेत्रको नेतृत्व सम्हाल्नुभएका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हालसालै सार्वजनिक गर्नुभएको आफ्नो एक सय दिनमा भएका मुख्य कामको सूची हेर्दा सङ्घीय तहमा धेरै नै सुधारका कामहरुले सुरुआत गरेको देखिन्छ । सुरुआतमै घोषणा गरेको बीमा पाँच लाख पुर्याउन सकिने विषय कार्यान्वयनमा जाने हो भने देशको स्वास्थ्यमा आम नागरिकको पहुँच वृद्धिका लागि महत्वपूर्ण प्रभाव पार्नेछ । उहाँले घोषणा मात्र नगरी स्रोत बढाउन सकिने व्यावहारिक मार्ग पनि देखाउनुभएको छ । प्रधानमन्त्रीले समेत चासो राखेको यो विषयमा मन्त्रीको निर्णयसँगै प्रधानमन्त्रीको समेत इच्छाशक्ति र समर्थन रहने हो भने देशको स्वास्थ्य सेवामा निकै महत्वपूर्ण दूरगामी निर्णय यो बन्नेछ ।

देशमा जटिल समस्याका रुपमा देखिन थालेको क्यान्सर रोगको उपचार सातै प्रदेशमा थाल्ने निर्णय सामान्य मात्र होइन, सङ्घीय देशका प्रदेश तहमा स्वास्थ्य सेवाको विस्तार अनि आम नागरिकको स्वास्थ्य समस्या सम्बोधन गर्ने दूरगामी सकारात्मक सुरुआत मान्न सकिन्छ । यही समयमा सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले मुटु उपचार सेवा सातै प्रदेशमा विस्तार गर्नेगरी गरेको निर्णयले अर्को दूरगामी प्रभाव पार्नेछ । केही सहरमा मात्र सीमित विशेषज्ञ उपचार प्रदेशका केन्द्रमा रहेका सरकारी अस्पतालमा पु¥याउन सक्ने हो भने त्यसले देशको स्वास्थ्य क्षेत्रको रुपान्तरण र आम नागरिकको पहुँचका लागि महत्वपूर्ण कोसेढुङ्गाको काम गर्नेछ ।

देशमा विपन्न भएकै कारण जलनमा परेर ज्यान गुमाउने र अङ्गभङ्ग हुने समस्या बढिरहेका बेला मन्त्री पौडेलले गरेको निःशुल्क उपचारको निर्णय पनि आम स्वास्थ्यमा पहुँच हुन नसक्नेका लागि महत्वपूर्ण निर्णय मान्न सकिन्छ । प्राविधिक क्षेत्रका नभए पनि दृढ इच्छाशक्ति र केही गर्छु भन्नेले थोरै समयमै पनि केही आशा देखाउन सक्छ भन्ने उदाहरण एक सय दिनभित्र मन्त्री पौडेलले सार्वजनिक गर्नुभएको निर्णयले प्रमाणित गरेको छ ।

देशमा चिकित्सकीय क्षेत्रमा एमबिबबएस माथिका चिकित्सकका लागि अध्ययन गराउन सक्ने कोटा जम्मा वार्षिक एक सय १३ छ । यसले बढ्दो स्वास्थ्य आवश्यकता पूरा गर्न सक्दैन । यस्तोमा चिकित्सक गोविन्द केसीसमेतले लामो समयदेखि उठाउँदै आएको विशेषज्ञ चिकित्सकको सङ्ख्या बढाउने माग सम्बोधन गर्नेगरी मन्त्री पौडेलले न्याम्समार्फत गर्नुभएको चार सय चिकित्सक अध्ययन गराउन सक्नेगरी शिक्षक दरबन्दी स्वीकृत गर्ने निर्णय देशमा अभाव भएको दक्ष चिकित्सकीय जनशक्ति स्वदेशमै न्यून शुल्कमा अध्यापन गर्न निकै महत्वपूर्ण हुनसक्ने अपेक्षा स्वास्थ्य क्षेत्रका विज्ञहरुले गरेका छन् ।

चिकित्सा शिक्षा महङ्गो भएको अवस्थामा उपत्यका बाहिर सरकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत ५०/५० चिकित्सक अध्यापन सुरु गर्नुले चिकित्सक केसीले लामो समयदेखि उठाउँदै आएको अर्को प्रमुख माग सम्बोधन मात्र गरेको छैन, आर्थिक अभाव हुनेलाई स्वदेशमै चिकित्सा अध्ययनका लागि निकै ठूलो अवसर दिलाएको छ । यसले ती संस्थामा अभाव भएको चिकित्सक समस्यालाई समेत विद्यार्थी चिकित्सकमार्फत भए पनि केही राहतसमेत दिने र आम नागरिकलाई स्वास्थ्य सेवामा समेत सहज हुने अपेक्षा गर्न सकिन्छ ।

अस्पतालमा भीड व्यवस्थापनका लागि थालिएको अनलाइन प्रणालीले केही हदसम्म पहिलेभन्दा सुधार गरेको महसुस भए पनि यसको कुशल व्यवस्थापनमा अस्पतालका नेतृत्वकर्ता स्वास्थ्य जनशक्तिले केही बढी मेहनत गर्नुपर्ने देखिन्छ । आम नागरिकले लाइन अझै घटेको छैन भनेर सामाजिक सञ्जालमा व्यक्त गरेका प्रतिक्रियाले उनीहरुमा यसप्रति आशा भए पनि नतिजा सोचेजस्तो नआएकामा असन्तोष देखिन्छ । त्यसलाई सम्बोधन गर्न धेरैले बुझ्न सक्ने गरी प्रणालीबारे प्रचारप्रसार अनि गुनासो सम्बोधनमा तदारुकता देखाउन जरुरी छ । निर्णय गरेर मात्र हुँदैन व्यावहारिक कार्यान्वयन मुख्य विषय हो ।

सङ्घीय अस्पतालमा दुई सिफ्टमा ओपिडी सेवा सुरु, लामो समयदेखि सम्बोधन हुन नसकेको चिकित्सकहरुको समायोजनमा देखिएका समस्या सम्बोधन गर्न मन्त्रीले गर्नुभएको निर्णयले धेरै चिकित्सकलाई राहत दिएको महसुस गर्न सकिन्छ । तर यससँगै चिकित्सक अभाव पूर्ति गर्न अझ ठोस कदम स्वास्थ्यमन्त्रीले चाल्नुपर्ने आवश्यकता छ । यसका लागि अन्य मन्त्रालयसँगसमेत समन्वय गरेर स्रोतको व्यवस्थापन गर्न लाग्नुपर्ने आवश्यकता देखिन्छ । वीर अस्पताल तथा देशमा हालसम्म व्यावहारिक रुपमा सञ्चालन हुन नसकेको श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्या निर्माणका लागि छिमेकी भारतसँग समझदारीको काम अघि बढ्नु वास्तवमै महत्वपूर्ण छन् ।

अस्पतालको स्तरोन्नति प्रस्तावलगायतका कार्य सङ्घीय अस्पताल केन्द्रित देखिन्छन् । केही नीतिगत र अन्य तहगत सुधारका कामहरु पनि छन् । अब यस्तै सुधारको कार्यक्रमहरु स्वास्थ्य क्षेत्रको हरेक तह, विषयगत क्षेत्र र सेवा प्रदायकहरुमा तत्काल तय गर्ने र सुधारको प्रत्याभूति हरेक जनताले महसुस गर्नेगरी लागू गर्नुपर्ने देखिन्छ ।

स्वास्थ्य सेवाहरूलाई सामान्यतया स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवाको स्तर र बिरामीलाई गर्नुपर्ने हेरचाहको जटिलताको आधारमा विभिन्न श्रेणी वा स्तरहरूमा वर्गीकृत गरिन्छ । जस्तै प्राथमिक वा सामुदायिक, विशिष्ट, अतिविशिष्ट स्वास्थ्य सेवा आदि । यी हरेक तह वा स्तरहरुको बीच समन्वय, सहकार्य र सहयोग भएन भने स्वास्थ्य सेवाको सम्बन्ध छुट्छ वा टुट्छ । साथै, यीमध्ये कुनै तह वा श्रेणी कमजोर भयो भने पनि स्वास्थ्य सेवाको पहुँच धेरैको लागि असम्भव जस्तै हुन्छ । नेपालको स्वास्थ्य सेवामा देखिएको एउटा प्रमुख समस्या यो पनि हो । यो समाधान गर्नका लागि हरेक तह र श्रेणी समेटेर समस्त स्वास्थ्य सेवाको एकीकृत विकास र सुधार गर्न सक्ने योजना बनाई लागू गर्नुपर्ने देखिन्छ ।

नेपालको स्वास्थ्य सेवामा सेवाको माग र आपूर्तिबीच खाडल छ । स्वास्थ्य सेवामा सरकारी वा सार्वजनिक स्रोत र साधनको उपलब्धता कमी छभने माग निकै बढी छ । माग र आपूर्तिबीचको खाडल पुर्न सामुदायिक, गैरसरकारी र निजी क्षेत्रको कस्तो र कतिसम्मको भूमिका रहेको छ वा रहनुपर्ने  हो, त्यसको लेखाजोखा पनि छैन । यस्तो अस्पष्ट अवस्थामा बन्ने रणनीति, नियम, योजना र कार्यक्रमहरुले अहिलेको स्वास्थ्य सेवामा देखिएका समस्या समाधान गर्न सक्दैन । यो समस्या समाधान गर्न अहिले हामी कहाँ छौँ, अर्को वर्ष वा एक निश्चित अवधिमा कहाँ र कसरी पुग्ने हो, त्यसको निक्र्यौल गर्न वस्तुगत तथ्याङ्कसहित तथ्यगत आधार तयार गर्नुपर्ने हुन्छ । यसैको आधारमा बन्ने योजना र कार्यक्रमले मात्रै स्वास्थ्य क्षेत्रमा सरकारले तोकेको उद्देश्य पूरा हुन सक्छ ।

समस्या र चुनौतीको खातमाथि बसेको स्वास्थ्य मन्त्रालयले हिजोको आजै वा निकट भविष्यमा स्वास्थ्य सेवामा उल्लेख्य सुधार गर्न सक्दैन । यसका लागि सबै सरोकारवालासँग परामर्श गरेर स्वास्थ्य क्षेत्रको सुधारका लागि दीर्घकालीन नीति र कार्यक्रम बनाउनु जरुरी हुन्छ । यस्ता नीति र कार्यक्रमहरु पहिले पनि नबनेका हैनन्, तर राजनीतिक अस्थिरताका कारण स्वास्थ्यमन्त्रीले पूरै पाँच वर्ष वा संसद्को अवधिभर नरहने तथा मन्त्रीकै पनि दृढ इच्छाशक्ति नहुँदा विगतमा सरकारका नीति र कार्यक्रमहरु बीचैमा अलपत्र गर्ने गरेका छन् । नयाँ आउने स्वास्थ्यमन्त्री वा उसको दलको आ–आफ्नै प्राथमिकता र कार्यक्रम हुने हुनाले पहिलेको मन्त्रीका प्राथमिकता, राम्रा नीति र कार्यक्रमहरुलाई निरन्तरता दिने प्रचलन पनि छैन ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा स्रोत र साधनको कमी, स्वास्थ्य कार्यक्रमहरुको कमजोर कार्यान्वयन, फितलो मूल्याङ्कन र अनुगमन पद्धति, कर्मचारीमा जवाफदेहिता र जिम्मेवारीपनको कमी, पदीय दायित्वमा राम्राभन्दा हाम्राहरुको हालीमुहाली आदि कारणले पनि स्वास्थ्य सेवामा भनेजस्तो सुधार हुन सकेको छैन । यी कमजोरीहरु हटाउन सबै दलको राजनीतिक प्रतिबद्धताले मात्रै पुग्दैन, हरेक तह र क्षेत्रमा व्यापक सुधार र रूपान्तरण गर्नुपर्ने देखिन्छ ।

विगतको तथ्याङ्क हेर्दा मातृ एवं बाल स्वास्थ्यको क्षेत्रमा नेपालमा भएका सुधार र उपलब्धिको अन्तर्राष्ट्रिय क्षेत्रबाट खुलेरै तारिफ भएको छ । यस्तै, काम अब कुनै एक क्षेत्रमा मात्रै हैन, समग्र स्वास्थ्य क्षेत्रको आमूल रुपान्तरण गर्न वर्तमान सरकार, स्वास्थ्य मन्त्रालय र मन्त्रीको भूमिका महत्वपूर्ण हुन्छ ।  स्वास्थ्य क्षेत्रमा भएका कमी कमजोरी र सुधार गर्नुपर्ने कामहरुबारे स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई जानकारी नै छ । तर ती कमी कमजोरीहरुलाई कसरी सुधार गर्ने र त्यसको लागि स्रोत र साधनको व्यवस्था कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हो । यो काम मन्त्रालयका उच्च पदाधिकारीहरुको दीर्घकालीन सोच, प्रतिबद्धता र कुशल नेतृत्वले मात्रै सम्भव छ ।

जहाँ समस्या हुन्छ, त्यहाँ समस्याको समाधान पनि हुन्छ । समस्याको समाधान स्वचालित वा यन्त्रवत रुपमा आफैँ हुने हैन । आ–आफ्नो क्षेत्रमा भएका समस्याहरुको पहिचान गरी समाधान गर्न पद्धति, प्रणाली र संयन्त्रको व्यवस्था गरिएको हुन्छ । यसैका लागि सरकार, नीतिनियम, विभिन्न संरचना, निकायहरु, नागरिक समाज आदि हुन्छन् । नेपालको संविधान २०७२ ले व्यवस्था गरेबमोजिम स्वास्थ्यसम्बन्धी जनताको मौलिक हक र अधिकार सुनिश्चित गर्न, सर्वसुलभ र सुपथ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन राजनीतिक दल, नेता, सरकारी निकाय र संयन्त्रले अहिले नै आ–आफ्नो ठाउँबाट उचित कदम राख्ने हो भने नेपालको स्वास्थ्य क्षेत्रमा व्यापक सुधार र रुपान्तरण गर्न सम्भव छ ।

(लेखक बेलायतमा स्वास्थ्य सेवा व्यवस्थापनको क्षेत्रमा परामर्शदाता  र विश्वविद्यालयमा प्राध्यापकका रुपमा कार्यरत हुनुहुन्छ)

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ हिउँ चितुवा

काठमाडौँ । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका छन् । एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा बुधबार आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो ।

उक्त प्रतिवेदनअनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका पाइएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागले बुधबार आयोजना गरेको कार्यक्रममा सन् २०२४ अप्रिल ४ देखि जुन २ तारिखसम्म कञ्चनजङ्घा संरक्षण क्षेत्रमा गरिएको हिउँ चितुवा सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । सो प्रतिवेदनअनुसार कम्तीमा नौ र बढीमा २४ को सङ्ख्यामा हिउँ चितुवा रहेको जनाइएको छ ।

विभागले वैज्ञानिक एवं विश्वसनीय अध्ययन विधिको प्रयोग गरी हिउँ चितुवाको राष्ट्रिय सर्वेक्षण गर्ने उद्देश्यले क्यामरा ट्याप गरी विभिन्न हिमाली संरक्षित क्षेत्र तथा वन क्षेत्रमा गणना थालनी गरिएको थियो ।

करिब २०३५ वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको उपयुक्त बासस्थान मानिने भएकाले सोह क्षेत्रभित्र १६ वर्ग किमीका ग्रिडमा स्वचालित क्यामरा ६० दिनसम्म राखेर फोटो खिची विश्लेषण विधिमार्फत गणना गरिएको हो ।

यसैबीच, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कम्प्युटरको ‘बटन’ थिचेर उक्त प्रतिवेदन सार्वजनिक गर्दै हिउँ चितुवाको संरक्षणका लागि सरकारसँगै स्थानीय समुदाय र सरोकार भएका निकायले हातेमालो गर्नुपर्नेमा जोड दिएको छ । उनले हिउँ चितुवाको संरक्षण र सङ्ख्या वृद्धिका लागि आगामी दिनमा संरक्षण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

मन्त्री ठकुरीले भने, “चोरी निकासी नियन्त्रणमा कानुन संशोधन वा परिमार्जन गर्नुपरे पनि मन्त्रालय तयार छ । हिउँ चितुवाको संरक्षणमा स्थानीय जनतामा चेतना अभिवृद्धि गरी अभियानमा परिचालन गर्नु आवश्यक छ ।” उनले नेपालको पहिचानसँग जोडिएको हिउँ चितुवाको ठूलो महत्व रहेकाले यसको संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।

कार्यक्रममा वन राज्यमन्त्री रुपा विकले हिउँ चितुवा संरक्षणमा देखिएका चुनौती सामना गर्न सरकारसँगै दातृ तथा सहयोगी निकाय र सरोकार भएकाको सहयोग र समन्वय आवश्यक हुने बताइन् । उनले कठिन भूगोलमा पाइने हिउँ चितुवा हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीको स्वच्छताको प्रतीक भएकाले यसको संरक्षणमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

वन सचिव डा दीपककुमार खरालले विश्वमा नेपालको पहिचानसँग जोडिएको हिउँ चितुवाको संरक्षणमा देखिएका चुनौती समाधान गर्न स्थानीय, सुरक्षा निकाय र सहयोगी संस्थाले गरेको सहयोगको प्रशंसा गरे । निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले हिउँ चितुवा संरक्षणमा भएका उपलब्धि र प्रयासका बारेमा जानकारी गराउँदै सरोकार भएका निकायसँग समन्वय गरी काम गरिरहेको बताए ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक शिव वाग्लेले उच्च हिमाली क्षेत्रमा मात्र पाइने हिउँ चितुवा नेपालको हिमाली क्षेत्रमा पाइनु सफलताको विषय रहेको बताउँदै यसले नेपाललाई विश्व समुदायमा चिनाएको उल्लेख गरे ।

यसअघि डोल्पा क्षेत्रमा हिउँ चितुवा गणनाको नजिता सार्वजनिक गरिएको थियो । डोल्पामा ९० हिउँ चितुवा रहेको पाइएको छ । दिवसका अवसरमा आजै डोल्पा राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्व (वन क्षेत्र)को हिउँ चितुवा अध्ययन प्रतिवेदन लोकापर्ण गर्नाका साथै डोल्पा राष्ट्रिय निकुञ्जभित्र खिचिएका जङ्गली याकको फोटो फ्रेम अनावरण गरिएको छ ।

विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।

यस वर्ष यो दिवसको नारा ‘भविष्यका पुस्ताका लागि हिउँ चितुवाको बासस्थानको सुरक्षा’ रहेको छ । यस विषयले हिउँ चितुवाको प्राकृतिक बासस्थानको सुरक्षा र हिमाली पारिस्थितिकीय प्रणालीको स्वास्थ्य सुनिश्चित गर्नलाई महत्व दिएको छ ।

हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्सा मानिन्छ । हिउँ चितुवा नेपालमा करिब तीन सयदेखि पाँच सय र विश्वमा करिब चार हजारदेखि छ हजार पाँच सयको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्दछ ।

हिउँ चितुवा नेपालको समग्र रुपमा बढी संरक्षित क्षेत्रले ओगटेको हिमाली एवं उच्च पहाडी प्राकृतिक बासस्थानको खाद्य शृङ्खलामा सबैभन्दा माथि रहनाका साथै स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचकका रुपमा रहेको छ ।

निकुञ्ज विभागले डोल्पा क्षेत्र (शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र बाहिरको वन क्षेत्र), हुम्ला जिल्लाको वन क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, गौरीशङ्कर संरक्षण क्षेत्रमा विभिन्न निकाय एवं अनुसन्धानकार्ताबाट विभिन्न विधिमार्फत हिउँ चितुवा सर्वेक्षण भइसकेकाले थप ठाउँहरुको नतिजालाई संयोजन गरी राष्ट्रियस्तरको तथ्याङ्क तयार गर्ने योजना रहेको जनाएको छ । 

शुक्लाफाँटा निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला

कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो ।

गत असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति पुगेका कारण यस वर्ष ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।

‘अन्य वर्षको भन्दा यस पटक ढिलो गरी हामीले जङ्गल सफारी खुला गरेका छौँ’, उनले भने, ‘निकुञ्जभित्र पर्यटक पथमा रहेका सबै पुल र बाटोमा बाढीले क्षति गरेको र मर्मतका लागि समय लागेका कारण ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गर्एिको हो ।’ उनले बाढीले सडक र काठेपुलहरु बाढी क्षति गरेको बताए ।

‘अहिले पनि सहायक बाटाहरुमा ग्राभेललगायत काम गर्न बाँकी छ’, संरक्षण अधिकृत ऐरले भने, ‘निकुञ्ज कार्यालयले पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको छ ।’

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रख्यात छ । निकुञ्जको विशाल घाँसेमैदानमा दुई हजार बढी बाह्रसिङ्गाको झुण्ड देख्न पाइन्छ । त्यसैगरी, निकुञ्ज पाटेबाघका लागि पनि प्रख्यात छ । निकुञ्जले गरेको पछिल्लो गणनाअनुसार यहाँ बाघको संख्या ४४ पुगेको छ ।

त्यसैगरी, गैँडालगायत दुर्लभ वन्यजन्तुका लागि पनि निकुञ्ज प्रसिद्ध छ । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिका लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन्भने २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातिका पुतली, २०१३ को गणनाअनुसार ८०–९० वटा नीलगाई र चार सय ४९ प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन् । स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजातिहरू रहेका छन् । जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपिड खरायो, बँदेल आदि रहेका छन् । निकुञ्ज प्रशासनका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा तीन हजार ६७ पर्यटकले अवलोकन गरेका छन । यसमा विदेशीको संख्या दुई सय ५० मात्रै छ ।

बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शन

ढाका । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् ।

यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्यालीमा राष्ट्रपतिको राजीनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो ।

राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बङ्ग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरु सेनाले ब्यारिकेड लगाएर रोकेको छ ।

प्रदर्शनकारीहरूले बङ्गभवन बाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाउन थालेका छन् ।
“राष्ट्रपति हसिनाको अधिनायकवादी सरकारका सहयोगी हुन् । उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ”, एकजना प्रदर्शनकारीले भने ।

मोहम्मद साहाबुद्दिन बङ्गलादेशका १६औँ राष्ट्रपति हुन् । उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए ।

भेदभाव विरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ मा लेखिएको संविधान खारेज गर्न माग गर्दै सन् २०२४ को सन्दर्भमा नयाँ संविधान लेख्न आह्वान गरेको छ ।

त्यसैगरी विद्यार्थीहरूले अवामी लिगको विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।

प्रदर्शनकारीहरुले सन् २०१८ र २०२४ मा शेख हसिनाको नेतृत्वमा भएको चुनावलाई अवैध घोषणा गर्नुपर्ने र यी चुनावमा विजयी भएका सांसदहरूलाई अयोग्य ठहर गर्नुपर्ने माग गरेका छन् । उनीहरूले जुलाई–अगस्ट विद्रोहको स्फूर्तिलाई ध्यानमा राख्दै गणतन्त्रको घोषणा गर्न आह्वान गरेका छन् ।

सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै जुलाईमा बङ्गलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रूप लिएको हो ।

बढ्दो विरोधको पृष्ठभूमिमा, शेख हसिनाले ५ अगस्टमा प्रधानमन्त्रीको रूपमा राजीनामा दिएपछि बङ्गलादेशमा अन्तरिम सरकारको स्थापना भयो ।

हसिनाको राजीनामापछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

नस्रल्लाहका उत्तराधिकारी हाशेम सफीद्दिनको मृत्यु भएको इजरायलको दाबी

तेल अवीव । इजरायली सेना (आइडिएफ) ले यस महिनाको सुरुमा बेरुतमा भएको इजरायली हवाई आक्रमणमा हेजबुल्लाहका अधिकारी हाशेम सफीद्दिनको मृत्यु भएको दाबी गरेको छ ।

हिज्बुल्लाहको कार्यकारी परिषद्का प्रमुख तथा हसन नस्राल्लाहको उत्तराधिकारीसमेत मानिएका सफीद्दिनको सेप्टेम्बरकै आक्रमणमा मृत्यु भएको द टाइम्स अफ इजरायलले जनाएको छ । आइडिएफका अनुसार हाशेम हसन नस्रल्लाहका भाइ थिए ।

इजरायली सेनाका अनुसार अक्टोबर–४ मा भएको आक्रमणमा हिजबुल्लाहको गुप्तचर मुख्यालयका कमान्डर हुसेन अली हाजिमासँगै सफीद्दिनको मृत्यु भएको थियो ।

सेनाले लेबनान आक्रमणले बेरुतमा रहेको हेजबुल्लाहको भूमिगत गुप्तचर मुख्यालयलाई लक्षित गरेको जनाएको छ ।

आक्रमणको समयमा शीर्ष कमाण्डरसहित हिजबुल्लाहको गुप्तचर डिभिजनका २५ जनाभन्दा बढी सदस्यहरू मुख्यालयमा रहेको आईडीएफलाई उदृत गर्दै द टाइम्स अफ इजरायलले जनाएको छ ।

आक्रमण पछि सफीद्दिन सम्पर्क विहिन रहेको उल्लेख गर्दै आइडिएफले बुधबार सफीद्दिनको मृत्युको पुष्टि गरेको हो यद्देपी हिजबुल्लाहले भने अहिलेसम्म उनको मृत्युको पुष्टि गर्ने कुनै तथ्य जारी गरेको छैन ।

सामाजिक सञ्जाल एक्समामार्फत आईडीएफले हिजबुल्लाह कार्यकारी परिषद्का प्रमुख हाशेम सफीद्दीन र हेजबुल्लाहको गुप्तचर मुख्यालयका कमान्डर अली हुसेन हाजिमाको दहिहमा हिजबुल्लाहको मुख्यालयमा गरेको आक्रमणमा मृत्यु भएको जनाएको छ ।

हाशेम हेजबुल्लाहका पूर्व नेता हसन नस्रल्लाहका भाई तथा हिजबुल्लाहका प्रमुख निर्णय कर्ता थिए । नस्रल्लाहको अनुपस्थितीमा हाशेमले हिजजबुल्लाहको महासचिवको रूपमा काम गरेका थिए ।

यस अघि सेप्टेम्बर –२८ मा आइडिएफले बेरुतमा इजरायली सेनाले गरेको आक्रमणमा हसन नस्रल्लाहको हत्या भएको पुष्टि गरेको थियो ।

सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्छः उद्योगमन्त्री भण्डारी

कञ्चनपुर ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्ने बताएका छन् ।

दोधारा चाँदनीस्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको बुधबार निरीक्षण गर्दै उनले मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको जग्गा सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेकाले अबको केही महिनाभित्रै निर्माणको काम सुरु गरिने बताए ।

‘मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ, अन्य प्रक्रिया सुरु गरेर छिट्टै निर्माणको काम थालनी हुनेछ,’ मन्त्री भण्डारीले भने, ‘छिमेकी मुलुक भारतको आर्थिक र प्राविधिक सहयोगमा चाँडै सम्पन्न गर्ने गरी सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’ उनले भारत सरकारले पनि चाँडो सम्पन्न गर्ने गरी चासो राखेकाले छिट्टै निर्माण सम्पन्न हुने बताए ।

‘सरकारले बझाङसँग जोडिएको ताक्लाकोट नाका र दार्चुलासँग जोडिएको तिङ्कर नाका खोल्ने तयारी गरेको छ,’ उनले भने, ‘यी नाका खुल्ने बित्तिकै सुदूरपश्चिम मात्रै नभई सिङ्गो देशले आर्थिक फड्को मार्नेछ ।’ उनले नाका सञ्चालनमा आए मुलुकको सबैभन्दा छोटो नाका बन्ने बताए ।

सुक्खा बन्दरगाह निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय भएपछि बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

उनका अनुसार सुक्खा बन्दरगाह निर्माण हुने जमिनको सट्टाभर्ना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई दिनुपर्ने हुन्छ ।

‘उक्त जग्गा सट्टाभर्ना वा सो जग्गा बराबरको मूल्य हामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई दिनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसपछि निकुञ्ज कार्यालयले रुख कटानको आदेश दिन्छ ।’

उनका अनुसार बन्दरगाह निर्माण हुने मायापुरी सामुदायिक वनमा एक हजार ७०२ रुख काटिने छन्  । ‘हामीले प्रक्रिया अघि बढाइसकेका छौँ, शतप्रतिशत निर्माण हुनेमा ढुक्क छौँ,’ मन्त्री भण्डारीले भने, ‘डीपीआरअनुसार करिब ६ अर्ब लागतमा बन्दरगाह बन्नेछ ।’

बन्दरगाहमा दुई गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनल लगायतका पूर्वाधार निर्माण हुने उनले बताए ।

अदालतलाई प्रभावित पार्नेखालका गतिविधि नगर्न रास्वपालाई सत्ता गठबन्धनको सुझाव

काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सडकमा भिड जम्मा गरेर छानबिन प्रभावित पार्ने प्रयास नगर्न आग्रह गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अदालतको प्रक्रियामा गएको विषयलाई प्रभावित पार्न खोज्नु उचित नभएको निष्कर्ष निकालेको हो ।

बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले अदालतलाई प्रभावित पार्नेखालको गतिविधि स्वीकार्य नहुने बताए ।

उनले भने, ‘यो लोकतान्त्रिक दृष्टिकोणले पनि उचित कुरा होइन। फौजदारी अभियोगमा छानबिन चलिरहेको बेलामा सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित होइन।’

बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मतरुपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको बैठकमा जानकारी गराएका थिए ।

उनले फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने हिसाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको बताएका थिए ।

बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने विषयमासमेत छलफल भएको छ ।

सरकारको हालसम्मको काम, आगामी योजनालगायत विषयमा यही कात्तिक ९ गते अर्काे बैठक बस्ने तय भएको महासचिव पोखरेलले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरु एक ढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए । लोकतान्त्रिक पद्धति, मूूल्य र मान्यताप्रति आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने उनले बताए ।

‘हामी लोकतन्त्रका लागि लडेका हौँ । हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ । अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन । जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन आजीवन लागेका छौँ । हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन । यसमा हामी स्पष्ट छौँ’, प्रधानमन्त्री ओलीले भने ।

बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री लखेक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सीके राउतलगायत सहभागी थिए।

पर्वतको तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण

पर्वत । ग्रामीण क्षेत्रका गर्भवतीलाई सुरक्षित रूपमा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले मोदी गाउँपालिका–६ तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा ९९ लाख १९ हजार नौ सय ५३ को लागतमा भवन निर्माण भएको मोदी गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्माले बताए ।

उक्त भवनवाट सेवा सुरु भएपछि आठवटै वडाका साथै कास्कीको अन्नपूर्ण गाउँपालिकाका गर्भवती सुरक्षित प्रसूति सेवाका लागि सदरमुकाम कुश्मा र पोखराका अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । प्रसूतिगृहमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकसहित जनशक्ति व्यवस्थापन गरिने जानकारी उनले दिए ।

गाउँपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा पनि दिँदै आएको छ । पर्वतमा यो बाहेक ३८ वटा बर्थिङ सेण्टर सञ्चालनमा छन् । गत आर्थिक वर्षमा यी सेण्टरबाट पाँच सय ५१ जनाले सुरक्षित प्रसूति सेवा लिएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका ९२ वटा स्वास्थ्य संस्थामध्ये २७ वटा भाडाका भवनमा छन् । आफ्नै भवन भएका ६५ वटा स्वास्थ्य संस्था पनि पर्याप्त भौतिक पूर्वाधार, जनशक्ति, खानेपानी नभएकोस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माको गुनासो छ । 

रास्वपालाई विश्वप्रकाशको प्रश्नः कारबाही प्रक्रिया शुरुभएपछि राजनैतिक प्रतिशोध भन्नू संसदकै अपमान होइन र?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै दुई चार जना सहकारी ठग जेल पर्ने भए भनेर रुवाबासी नगर्न आग्रह गरेका छन् ।

बुधबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले प्रहरी अनुसन्धानलाई सघाउन रास्वपालाई आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘काँग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं । अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं । स्पष्ट हौं– दोषीलाई काबाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता हो ।’

महामन्त्री शर्माले रास्वपाको प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम फैलाएको बताएका छन् । उनले भनेका छन्, ‘अन्धभक्तहरुले न पार्टी सुधार्न सक्छन् न देश बनाउन एक मित्रको अभिव्यक्ति सम्झन्छु । निस्चयनै लोभ र डरले जब कसैको ईमानदार विवेक ध्वस्त बनाउँछ, तब उसले उत्तेजना भर्न र भ्रम छर्न मात्र सक्छ । मेसिनबाट मान्छेमा फर्किँदासम्म समाजले उसलाई चिनिसकेको र समयले छोडिसकेको हुन्छ । रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ–प्रचलित कानुन बमोजिम कारबाही गर्न । तर प्रक्रिया शुरुभएपछि–राजनैतिक प्रतिशोध भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ? प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम–प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ?’

राष्ट्रपति महिला उत्थान कार्यक्रमः गर्भवती तथा सुत्केरीका लागि वरदान

कर्णाली ।  दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सुरु भएदेखि कर्णालीका धेरै गर्भवती तथा सुत्केरीको ज्यान जोगिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला सशक्तीकरण परियोजना राष्ट्रपति महिला उत्थान समन्वय एकाइमार्फत कर्णालीका गर्भवती तथा सुत्केरीको सेवा हुँदै आएको छ।

कर्णाली अधिकांश क्षेत्रमा सुविधासम्पन्न अस्पताल नभएका कारण यो कार्यक्रममार्फत हेलिकोप्टरबाट निःशुल्क उद्धार गरेर सुविधासम्पन्न अस्पताल पुर्याएर सुत्केरीको उपचार तथा गर्भवतीलाई सुत्करी गराउँदा यहाँका धेरैको ज्यान जोगिएको छ। यो कार्यक्रममार्फत १८ जिल्लाबाट पूर्ण र २९ जिल्लामा आशिंक रूपमा सेवा प्रवाह हुँदै आएको छ।

आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको कार्यक्रम प्रश्रव समस्या न्यूनीकरण गरी मातृशिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ सुरु गरिएको थियो। उक्त आवमा २६ महिलाको उद्धार गरिएको थियो। आव २०७६/७७ मा ८७, २०७७/७८ मा एक सय तीन, २०७८/७९ मा एक सय ६९ र २०७९/८० मा एक सय ६७, २०८०/८१ मा एक सय ६१ जना गरी हालसम्म सात सय १३ जनाको राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट निःशुल्क हवाई उद्धार सेवा प्रदान गरिएको एकाइले जनाएको छ।

कार्यविधिबमोजिम तोकिएका क्षेत्रमा गरिएको पूर्ण रूपमा १८ जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दाचुर्लामा तथा आंशिक २९ जिल्लामा सञ्चालित छन्।

कर्णाली प्रदेशमा आव २०८०/८१ मा कर्णालीबाट मात्र ३९ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको तथ्याङ्कमा उल्लेख छ। जाजरकोटबाट सात जनाको अघिल्लो आवमा हवाई उद्धार गरिएको छ।

डोल्पाबाट १२, हुम्लाबाट छ, रुकुमपश्चिमा तीन, दैलेखबाट तीन, कालिकोटबाट पाँच जनाको हवाई उद्धार गरिएको मन्त्रालयको हवाई उद्धार सम्पर्क व्यक्ति इन्दिरा आचार्यले जानकारी दिइन्।

उनले आव २०८१/८२ को पहिलो तीन महिनामा ४८ जना सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको जानकारी दिइन्। हालसम्म सात सय ६१ जनाको उद्धार गरिएको उनले बताइन्।

कर्णालीका रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्लाबाट उद्धार गरिएका अधिकांश सुत्केरी तथा गर्भवतीको प्रदेश अस्पताल र नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भएको छ। कर्णालीका ३१ पालिकामा मात्र आधारभूत अस्पताल छन्। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार १० जिल्लाका ३१ पालिकामा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन्।

प्रदेशमा २५ वटा नगरपालिका, ५४ वटा गाउँपालिका छन्। कुल ७९ स्थानीय तहका जम्मा सात सय १८ वडा छन्। अठचालिस पालिकामा अझै आधारभूत अस्पताल निर्माण हुनसकेको छैन। प्रदेश सरकारले सडकसँग जोडिएका १२ स्थानमा रणनीतिक अस्पताल निर्माण गर्ने योजना रहेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जानकारी दिए।

जुम्लामा कर्णाली स्वास्थ्य प्रतिष्ठानमा ५० शय्याको अस्पताल, सुर्खेतको मेहलकुनामा ५० शय्याको अस्पताल र प्रदेश अस्पताल छन्। अन्य जिल्लाका सदरमुकाममा १५ शय्याका अस्पताल छन्। 

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका श्रीधन घर्ती

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन् । लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा मौरीपालन थालेको १६ वर्ष पूरा भयो ।

हाल उनको फार्ममा एक सय ५० मौरीसहितका घार छन् । उनले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन् । मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लागेका उनको घरबाटै मह बिक्री हुने गरेको छ । वार्षिक  १६ लाखको कारोबार गरिरहेका पौरखी घर्तीले रु सात लाख बचत हुने बताए । एक किलो मह रु पाँच सयमा बिक्री गर्दै आएको उनले सुनाए ।

वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताइन् । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको उनी बताउछन् ।

मौरीपालन व्यावसायिक रूपमा सुरु गरेदेखि अहिलेसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको अनुभव छ । बुढ्यौलीमा अन्य पेसा गर्न नसकिरहेको अवस्थामा मौरीपालन व्यवसाय निकै सहज भएको उनी बताउछन् । यस व्यवसायमा अलि बढी अध्ययनशील हुन आवश्यक रहेको छ, चरनका लागि घोराही उपमहानरपालिकाको माथिल्लो भेगतिर लैजाने गरेको उनले बताए ।

कृषि एम्बुलेन्सले किसानलाई राहत

मुग्लिन (चितवन)- इच्छाकामना गाउँपालिका–२ हपनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ ।

इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ । सोही कृषि एम्बुलेन्सका कारण किसानलाई उत्पादित कृषि सामग्री बजारसम्म लैजान सहज भएको चेपाङले बताए । उनका अनुसार थोरै मात्रामा सागसब्जी लिन गाडी आउन नमान्ने हुँदा त्यत्तिकै खेर जाने गरेकामा अहिले भने दुई मुठा सागले पनि बजार पाउने गरेको छ ।

कृषि एम्बुलेन्सले टोलटोलमा पुगेर थोरैथोरै उत्पादन पनि बजारसम्म लैजाने र भाडादर पनि अन्य गाडीको भन्दा सस्तो भएको उनको भनाइ छ। कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि यहाँका किसानलाई राहत मिलेको कृषि एम्बुलेन्स चालक स्थानीय दीपक प्रजाले बताए। उनले किसानको घरटोलमा नै पुगेर सागसब्जी सङ्कलन गरी बजारसम्म लैजाने गरेको बताए।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले गत दुई आर्थिक वर्षमा ७५ प्रतिशत अनुदानमा कृषि समूहको साझेदारीमा तीनवटा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

गाउँघरमा उत्पादन भएका ताजा सागसब्जी बजारसम्म पुर्याउने काम कृषि एम्बुलेन्सले गरेको छ । वडा नम्बर १ को हात्तीवाङ, २ को हपनी र वडा नम्बर ७ को दाहाखानी क्षेत्रबाट ती कृषि एम्बुलेन्स सञ्चालन भइरहेको छ । वडा नम्बर १ र २ बाट चल्ने कृषि एम्बुलेन्स फिस्लिङ केन्द्रित छन् भने ७ नम्बरबाट चल्ने कृषि एम्बुलेन्स भरतपुर र मुग्लिन बजार केन्द्रित छ । कृषिजन्य उत्पादन बजार पुर्याउन मात्र नभई यहाँका स्थानीयले सस्तो भाडादरमा आवातजावत गर्न पाएका छन् ।

कृषि एम्बुलेन्स सञ्चालनसँगै इच्छाकामना गाउँपालिकाले उत्पादन वृद्धि गर्न किसानलक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । किसानलाई आवश्यक बीउबिजन, मल अनुदानका साथै तालिम दिने गरिएको छ । गाउँपालिकाले बाँझो जमिनमा व्यावसायिक खेती गर्ने किसानलाई बीउ, मलमा अनुदान कार्यक्रम सञ्चालन गरेको छभने बाख्रापालक किसानलाई खोर सुधारका लागि अनुदान पनि दिँदै आएको छ ।

पोखरामा सहकारी पीडितलाई रास्वपाका नेता कार्यकर्ताले धम्क्याएको आरोप

पोखरा । पोखराको सूर्यदर्शन सहकारीपीडितले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले घरघर पुगेर आफूहरूलाई धम्क्याउने गरेको आरोप लगाएका छन् ।

सूर्यदर्शन सहकारीपीडित संघर्ष तथा तदर्थ समिति र सहकारीपीडित संघ कास्कीले बुधबार विज्ञप्ति जारी गरी रास्वपा नेता तथा कार्यकर्ताले आफूहरुलाई घरघरमा आएर धम्क्याउने गरेको आरोप लगाएका हुन् ।

अहिले पोखराका चोकचोकमा गरिएका आन्दोलन सहकारीपीडितविरुद्ध भएको जिकिर उनीहरुले गरेका छन् । पीडितहरूले आफ्ना पक्षमा उभिन र बिहीबार पोखराको मुस्ताङचोकमा आयोजना हुने विरोध कार्यक्रममा सहभागी हुन नागरिक समाज र राजनीतिक पार्टीसँग अनुरोध पनि गरेका छन् ।

सहकारी ठगी प्रकरण अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई यही कात्तिक ३ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएर उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । लामिछाने पक्राउको विरोधमा रास्वपाले अहिले दिनहुँ पोखरामा सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ ।

सरकार नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन् ।

बुधबार बिहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले सरकारका काममा सत्तारुढ दलकै नेताहरु सन्तुष्ट नरहेको बताएका हुन् ।

उनले भने, ‘विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन् । यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ ।’

उद्योगहरुको बक्यौता महसुस उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उनको भनाइ थियो ।

सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरुले ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै उनले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताए ।

अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको बिरोधमा सडकबाट समेत आवाज उठाउने तयारी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न थालिएको जानकारी दिए ।

उनले पार्टीको पक्षमा देशब्यापी राम्रो माहोल बन्दै गएको उल्लेख गर्दै बुद्धिजीवी संगठनलाई पनि सोहीअनुसार आफ्नो भूमिका बढाउन आग्रह गरे ।

खेलकुद क्षेत्रको विकासका लागि भगीरथ प्रयास

काठमाडौँ। युवा तथा खेलकुद क्षेत्रको विकासका लागि पाँचवटा नीतिगत तथा कानुनी सुधारका प्रयास प्रारम्भ भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा नीति, २०८१ को मस्यौदा तयार गरी त्यसमा रायसँगै प्रस्तावित कार्यक्रममा सहमति दिन अर्थ मन्त्रालयसमक्ष अनुरोध गरेको छ ।

वर्तमान सरकारको एक सय दिनको उपलब्धिमा मन्त्रालयले राष्ट्रिय खेलकुद नीतिको मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा पठाएको विषयलाई समावेश गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को संशोधन मस्यौदा तयार भए तापनि त्यस सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयकोसहमति लिन भने बाँकी रहेको जनाइएको छ ।

यसअवधिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका तथा खर्चको आधार, २०८१ को मस्यौदामा मन्त्रालयको तर्फबाट पुनरावलोकन गरी अन्य प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद् पठाइएको उक्त मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा निर्माण हुने मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन तयारीलाई पनि खेलकुद मन्त्रालयले प्रगति विवरणमा समावेश गरेको छ ।

सरकारको कामको समीक्षा गर्न सत्तारुढ दलको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । आज बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारको एकसय दिनको समीक्षा, आगामी कार्ययोजना, समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले सय दिनमा गरेका कामहरुको विवरण आज सार्वजनिक गर्ने तयारी गरेका छन् । सोही तयारीबारे गठबन्धन दलहरुसँग छलफल गर्न लागेका हुन् ।

स्कूले विद्यार्थीसँग सेलिब्रेटीको अन्तरक्रिया

काठमाडौँ । पर्दामा देखेका सेलिव्रेटीलाई आफ्नै कक्षा कोठामा भेटेपछि सामुदायिक विद्यालयका विद्यार्थीहरु रमाएका छन् । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुमा सिकाइप्रति रुचि जगाउन कार्तिक ४ गतेदेखि सुरु गरेको ‘फेस्टिभल क्याम्प’अन्तर्गत प्रभावशाली व्यक्तित्वसँगको साक्षात्कार कक्षाअन्तर्गत मंगलबार पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पद्मकन्या विद्याश्रम डिल्लीबजारमा, चलचित्र निर्माता तथा अभिनेता दीपकराज गिरीले कोटेश्वरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा र गायक वाङ्देन शेर्पाले बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा गएर उत्प्रेरणात्मक कक्षा सञ्चालन गरे ।

कक्षामा उनीहरुले आफू अहिलेको ठाउँमा पुग्दा प्राप्त गरेका सफलता र उतारचढावका कथा सुनाए । कुनै ठाउँमा पुग्नका लागि तय गरिने यात्राको सहजताका लागि त्यसको तयारीले भूमिका खेल्छ । कुनै व्यक्तिको पेशागत यात्राको तयारी विद्यालय शिक्षा हो । अहिलेको अवसरलाई राम्ररी उपयोग गर्नुहोला । उनीहरुको सुझाव छ ।

‘सफल हुन लक्ष्य बनाउनु पर्ने, अनुशासन र लगनशीलतामा दृढ हुनु पर्ने, जीवनमा जुनसुकै पेशा अबलम्बन गरे पनि शिक्षा महत्वपूर्ण छ । यसलाई नछोड्नु होला ।’ उनीहरुले आफूलाई अरुसँग तुलना नगर्न आफूले आफ्नै लक्ष्यमा ध्यान दिन सुझाउँदै भने, ‘कक्षाहरुमा कहिले राम्रो नतिजा आउँछ । त्यो क्रमशः सुधार हुँदै जान्छ । यसमा चिन्ता लिनु हुँदैन । आफू के गर्दैछु, भविष्य कुन क्षेत्रमा राम्रो हुन्छ । त्यसमा आत्मविश्वाश जगाउनु पर्छ ।’

उनीहरुलाई विद्यार्थीहरुले, तपाईँको एसइइमा कति ग्रेड आएको थियो ?, कहिले फेल पनि हुनुभयो ?, सबैभन्दा राम्रो अङ्क कुन कक्षामा ल्याउनुभएको थियो ?, पढ्न मन नलागेर कहिले कक्षा छोड्ने सोच बनाउनुभएको थियो ? कला क्षेत्रका चुनौती कस्तो छन् ?, यहाँका सम्भावना के के हुन् ?, सेलिब्रेटी हुँदा मनमा आउने भाव कस्ता हुन्छन्? सेलिव्रेटीहरुलाई त नकारात्मक टिप्पणी पनि आउँछन्, कसरी सामना गर्नुहुन्छ? जस्ता प्रश्नहरु सोधेका थिए । विद्यार्थीहरुका प्रश्नहरुलाई उनीहरुले सहज रुपमा ग्रहण गरेर जवाफ दिएका थिए ।

म अभिनेता बन्ने कुरा त झन् पत्याएनन्ः दीपकराज गिरी

पढ्ने बेला मलाई गणित असाध्यै गाह्रो लाग्थ्यो । गणित नपढ्दा पनि हुनु नि जस्तो लाग्थ्यो । तर पनि नपढी सुखै थिएन । पढ्न त पढेँ । जतिञ्जेल गणित पढ्नु पथ्र्यो । त्यतिञ्जेल नै मलाई गाह्रो नै लाग्यो । त्यो बेलामा के पढेपछि कुन पेशा अपनाउन सकिन्छ भन्ने कुनै चेत थिएन । सोच थिएन । पढेको बेला लक्ष्य बनाउनै पाइएन ।

अरुले भनेका कुराले भन्दा जीवनमा सफल हुन आफ्नो मनले भनेका कुरा महत्वपूर्ण हुन्छन् । मेरै सन्दर्भमा कुरा गर्नुपर्दा मैले चलचित्र बनाउँछु भन्दा धेरै पत्याएका थिएनन् । म अभिनेता बन्ने कुरा त झन पत्याएनन् । कसैले रुपको कुरा गरे । कसैले उचाइको कुरा गरे । कसैले अनुहारको कुरा गरे । कसैले चालढाल मिल्दैन भने । यति सबै कुरा सुनेर पनि मैले आफ्नो लक्ष्यलाई छोडिन । निरन्तरता दिएँ । यही कारण अहिले नेपाली चलचित्र क्षेत्रमा स्थापित ठाउँ बनाउन सकेको छु ।
विद्यार्थी भाइबहिनीहरुलाई मेरो सुझाव चाहिँ तपाइँको सफलताले तपाईँको दृढता र कामप्रतिको निरन्तरताले प्रदान गर्ने भएकोले यसप्रति दृढताका साथ लाग्नू । तपाईँले सोचेको ठाउँमा एकदिन अवश्य पुग्नुहुनेछ ।

जीवन कहाँबाट कसरी मोडिन्छ थाहा हुन्नः श्रृङ्खला खतिवडा

सिकेको कुरामा टिक्न सक्नुपर्छ । टाढाबाट हेर्दा कुनै काम ठूलो देखिन्छ । नजिक पुग्दा त्यो सानो हुन्छ । अध्ययन त्यस्तै हो । एउटा तहलाई ठूलो देख्दा देख्दै त्यो सानो भएर अर्को ठूलो ठाउँ देखिन्छ । यसमा आत्तिनु हुँदैन । म सामान्य विद्यार्थी थिएँ । कक्षा ९ तिर हुँदा पाइलट बन्छु भन्ने लागेको थियो । धेरैले तँ राम्री छेस पाइलट होइन, एयर होस्टेज बन भन्थे । यसबेला पाइलटभन्दा माथिल्लो ठाउँमा पुग्नुपर्छ भन्ने लागेको थियो । तर त्यो ठाउँ कुन हो थाहा थिएन । कक्षा १० सम्म पनि भविष्यमा के बन्छु सोचेकी थिएन ।

मिस नेपालको प्रतिस्पर्धामा जानु अघि मैले पुल्चोक क्याम्पसबाट स्नातक तहको अध्ययन गरेकी हुँ । त्यहाँको इन्ट्रान्स परीक्षामा चौथो लिष्टमा नाम निस्किएको थियो । स्नातक उपाधि लिँदा पहिलो हुन सकेँ । यो मिहनेतको फल हो ।
मिस नेपालको प्रतिस्पर्धामा जानु अघि मैले मोडलिङ् गरेकी थिएन । राम्ररी फोटो सुट पनि गरेकी थिइन । तर क्याम्पसमा प्राप्त गरेको नतिजाले म मिस युनिभर्स हुन्छु भन्ने सोच आयो । म मिस नेपाल बन्नका लागि होइन, मिस युनिभर्स बन्नका लागि प्रतिस्पर्धामा गएकोले मिस नेपालको प्रतिस्पर्धामा सजिलै स्थान हासिल गर्न सकेकी हुँ । यसो भन्नुको अर्थ, ठूलो लक्ष्य लिँदा त्यससँग सम्बन्धित धेरै उपलब्धिहरु त लक्ष्य नबनाइ पनि प्राप्त हुन सक्छन् । यसकारण जीवन कहाँबाट कसरी मोडिन्छ थाहा हुन्न । तयारी भने गरिरहनु पर्छ ।

सकेसम्म मनले जे बन्न रुचाएको छ, त्यही पढ्नुः वाङ्देन शेर्पा

प्रयत्न (इफोर्ट), डेडिकेसन (समर्पण) र प्रतिवद्धता (कमिटमेन्ट) यी ३ वटा अस्त्र जुनसुकै पेशामा पनि चाहिन्छ । व्यक्तिलाई पेशामा मर्यादित बनाउने साधन यिनै हुन् । धेरै मानिसहरु सपनाको देश भनेर अमेरिका जान्छन् । म त्यही अमेरिकामा इञ्जिनियरिङ् अध्ययन गरेर फर्केको हुँ । यहाँ आएर पनि कमाइ राम्रो थियो । यससँगै गायन क्षेत्रमा काम गर्ने इच्छा पूरा गर्दै अभ्यास गर्न थालेँ । यहाँ पनि मेरा लागि राम्रो छ ।

तपाईँलाई अध्ययन चाहिन्छ । सकेसम्म मनले जे बन्न रुचाएको छ । त्यही पढ्नु । कहिलेकाहीँ जीवनको कुनै मोडमा अध्ययन गरेकोभन्दा अर्कै पेशाबाट पनि स्थापित हुन सकिन्छ । यसका लागि आफूलाई तयार राख्नुपर्छ ।
सामुदायिक विद्यालयको शैक्षिक नतिजा सुधारका लागि विद्यार्थीहरुमा सिकाइप्रति अभिरुचि जगाउन आवश्यक रहेकोले महानगरपालिकाले १६ वटा विद्यालयमा २ हजारभन्दा धेरै विद्यार्थी सहभागी गराएर ‘फेस्टिभल क्याम्प’ सञ्चालन गरिरहेको छ ।

क्याम्पमा सञ्चालन हुने विविध क्रियाकलापमध्ये ‘प्रभावशाली व्यक्तित्वसँग साक्षात्कार’ कार्यक्रम एउटा हो । यस कार्यक्रममा कला, साहित्य, संगीतसहित सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आउनु भएका चर्चित व्यक्तित्वले प्रेरणादायी कक्षा सञ्चालन गर्नुहुनेछ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बाहिरी संसारमा पुग्ने यो महत्वपूर्ण अवसर हो ।

लुम्बिनी लायन्सको नयाँ क्रिकेट प्रतिभा खोज अभियान, सुपरस्टार बन्ने मौका

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटरहरूका लागि सुपर स्टार बन्ने सुनौलो अवसर ल्याएको छ ।

घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप लुम्बिनी लायन्सले आगामी एनपीएलको लागि ट्यालेन्ट हन्ट आयोजना गर्दैछ । जसबाट ४ उदीयमान खेलाडीहरूलाई आफ्नो टिममा समावेश गराउन लागेको हो ।

यसरी छनोट भएका ४ खेलाडीहरू मध्य एक जनाले ‘सुपरस्टार’ को उपाधि सहित नगद १ लाख प्राप्त गर्नेछन् । साथै एनपीएलमा अन्य खेलाडीहरुसँग खेल्ने अवसर पनि पाउनेछन् ।

बाँकी ३ खेलाडीहरूले ‘स्टार’ को उपाधि प्राप्त गर्नेछन् जसले लायन्स क्लबको विशेष प्रशिक्षणहरुमा सहभागी हुने अमूल्य अनुभव प्राप्त गर्नेछन् ।

विज्ञ प्रशिक्षकहरूको मार्गदर्शन र निरिक्षणमा युवा क्रिकेटरहरुको सिप निखार्दै उनीहरुलाई व्यावसायिक क्रिकेट क्लबको हिस्सा बन्ने अवसर प्रदान गर्न ट्यालेन्ट हन्टको सुरुवात गरिएको क्लबले जनाएको छ ।

यस अवसरले युवा खेलाडीहरूलाई अनुभवी क्रिकेट खेलाडी र प्रशिक्षकहरूसँग प्रशिक्षण गर्ने अवसर प्रदान गर्दै भविष्यमा उत्कृष्ट क्रिकेटर बन्न तयार बनाउने विश्वास क्लबले लिएको छ ।

लुम्बिनी लायन्सका मालिक इश्वर जिसिले यो अभियान अन्तर्गत लुम्बिनी प्रदेशका विभिन्न कुनाबाट क्रिकेटका उदीयमान तारा खोज्न कोसिस रहेको बताए ।

यस सुनौलो अवसरमा सहभागिहुन चाहने इच्छुक युवा क्रिकेटरहरूले निश्चित आवेदन प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । लुम्बिनी लायन्सको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिएको ट्यालेन्ट हन्टको पोस्टमा रहेको रजिस्ट्रेसन लिङ्कमा क्लिक गरेर आवेदन प्रक्रियाको बारेमा विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।

क्लबको कोचिङ प्यानलले सहभागीहरूले पठाएका भिडियोहरूको मूल्याङ्कन गरेपछि छनोट प्रक्रिया शुरु हुनेछ ।
जसको आधारमा खेलाडीहरूको सीपको स्तरको आँकलन गरिनेछ । यस मूल्याङ्कनको आधारमा छनोट गरिएका खेलाडीहरूको सूचि तयार गरी उनीहरूलाई व्यक्तिगत रूपमा ट्रायलमा सहभागी हुन अवर पाउनेछन् ।

कार्तिक १८, २०८१ भित्र आवेदन बुझाउनुपर्नेछ । सर्टलिस्टमा परेकाहरूको नाम कार्तिक २० गते घोषणा गरिनेछ भने ट्रायलको मिति र स्थान पनि तोकिनेछ ।

तारे होटल र रिसोर्टमा प्लास्टिकजन्य बोटल प्रयोगमा निषेध

काठमाडौं । तारे होटल र रिसोर्टहरूमा अबदेखि प्लास्टिकजन्य बोटल प्रयोग गर्न नपाइने भएको छ । पर्यटन विभागले चारतारे, पाँचतारे र पाँचतारे डिलक्स तथा डिलक्स र लक्जरी रिसोर्टमा प्लास्टिकजन्य बोटल प्रयोग गर्न प्रतिबन्ध लगाएको हो ।

विभागले यही कात्तिक ५ गते परिपत्रमार्फत ती होटल र रिसोर्टहरूले अब काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेस्टुराँमा पिउने पानीको व्यवस्था मिलाउनुपर्ने जानकारी गराएको छ ।

काठमाडौंमा अवतरण गरेको भिस्तारा एयरको विमानमा बम राखेको हल्ला चलेपछि सेनाले जाँच गर्दै

काठमाडौँ । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाली सेनाले त्यससम्बन्धी अनुसन्धान गरिरहेको छ ।

भारतको नयाँदिल्लीबाट काठमाडौँस्थित विमानस्थलमा अवतरण गरेको भिस्ताराको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले खोजी कार्य जारी राखेको हो ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि नेपाली सेनाको विस्पोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी गरिरहेको छ । यात्रुललाई सुरक्षित गरेर खानतलासी भइरहेको र अहिलेसम्म कुनै त्यस्तो वस्तु फेला नपरेको उनले बताए ।

भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान भइरहेको जनाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बम भएको हल्ला भएपछि भिस्ताराको विमानको खानतलासी भइरहेको र अहिलेसम्म कुनैपनि शङ्कास्पद वस्तु फेला नपरेको जानकारी दिए ।

उनका अनुसार अहिले विमानका यात्रुको ‘ह्याण्ड ब्यागेज’ चेक भइसकेको छ । लगेज र कार्गोको चेक गरिनेछ । अहिले काठमाडौँ विमानस्थलको उडान–अवतरण भने नरोकिएको सूचना अधिकारी भूलले बताए ।

उनले भने, ‘काठमाडौँ विमानस्थलको उडान नियमित रुपमै सञ्चालन भइरहेको छ, बमको हल्ला रहेको भिस्ताराको विमान नजिक अन्य विमानलाई पार्किङ गर्न दिइएको छैन ।’

यसअघि पनि भारतीय कम्पनीका विमानहरूमा बम रहेको हल्ला चलेका घटनाहरू आइरहेका थिए । भारतबाट अमेरिका, क्यानडा तथा लन्डन उडेका विमानहरूमा बम रहेको हल्ला चल्न थालेको एक हप्ताभन्दा धेरै भएको छ । विमानमा श्रृंखला रुपमा बम राखेको अफबाह फैलाउन थालेपछि कडा कानुन बनाउने तयारी गरेको छ ।

औषधिको मूल्य र गुणस्तर अध्ययन गर्न मन्त्री पौडेलले बनाए समिति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधिको मूल्य र गुणस्तर अध्ययन गर्न समिति गठन गरेका छन् । मन्त्री पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णयबाट अर्थविद् डा पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेका हुन् ।

समितिको सदस्यमा स्वास्थ्यविद् डा अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डा देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा र एकजना नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि हुनेछन् । यसैगरी, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल समितिको सदस्य–सचिव छन् ।

समितिलाई औषधिको उपभोक्तालाई उचित मूल्यमा उपलब्ध हुने गरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव दिन कार्यादेश दिइएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार समितिले औषधिको मूल्य सम्बन्धित विषयवस्तुबारे अभ्यास पुनरावलोकनसमेत गरेर गुणस्तर पहिचान गरी सुझाव सिफारिस गर्नेछ ।

एकसय दिनमा सामान्य प्रशासनमन्त्रीका २५ उपलब्धि

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले एकसय दिनमा मन्त्रालयबाट भएका उपलब्धिहरु सार्वजनिक गरेका छन् ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री गुप्ताले उपलब्धि सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा उनले मन्त्रालय अन्तरगत संघीय निजामती सेवालाई व्यवस्थापन गर्न अनेको विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात राज्य व्यवस्था समितिमा दफावार छलफल सुरु भएको बताए ।

उनले आफूले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउँदै सुशासनमा बढी जोड दिइरहेको बताए । प्रगति विवरणमा मन्त्रालयले संघीय निजामती सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन बनेको संघीय निजामती विधेयक संसदबाट पारित गराउन मन्त्रालयको सम्पूर्ण ध्यान केन्द्रित गरेको उल्लेख छ ।

उक्त विधेयक हाल संघीय संसदमा प्रस्तुत भएर प्रारम्भिक छलफलपछि राज्य व्यवस्था समितिमा दफावार छलफल भइरहेको छ । आगामी संसद अधिवेशनबाट स्वीकृत गराउने गरी समिति र विभिन्न राजनीतिक दलहरूसँग समेत छलफल भइरहेको मन्त्री गुप्ताले बताए ।

यस्ता छन् उपलब्धि

१. संघीय निजामति सेवालाई व्यवस्थापन गर्न अनेको विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात राज्य व्यवस्था समितिमा दफावार छलफल सुरु गरिएको । प्रस्तुत विधेयक आउने अधिवेशनबाट स्वीकृत हुने गरी छलफललाई तिव्रता दिन समिति तथा राजनीतिक दलसँगको औपचारिक अनौपचारिक संवादलाई अगाडि बढाइएको छ ।

२. स्थानीय तहलाई थप सबल एवम् क्रियाशिल बनाउने गरी कार्यविस्तृतिकरण प्रतिवेदनमा भएको थप व्याख्या सहितको परिमार्जनका विषय समटेर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन विधेयक मस्यौदामा अर्थ मन्त्रालयको राय सुझाव प्राप्त गरि संशोधन सहमतिको लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाइएको छ ।

संशोधनमाः अस्पष्ट भएका विषय, वडाको संख्या, सीमाना र केन्द्र हेरफेर, राजस्व अधिकारको थप स्पष्ठता, कार्यपालिका बैठकको कार्यविधि, जिल्ला समन्वय समितिको उपनिर्वाचन, प्रमुख/अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षको रिक्ततामा कार्यसम्पादन, स्थानीय तहमा पदाधिकारीको वैदेशिक भ्रमण, स्थानीय तहको व्यवस्थापन परीक्षण, वडा अध्यक्षको रिक्ततामा कार्यवाहक वडा अध्यक्ष हुने व्यवस्था मुख्य रूपमा समेटिएको छ ।

३. संविधान र स्थानीय सरकार सचालन ऐन, २०७४ ले जिल्ला समन्वय समितिलाई दिएको भूमिकालाई चप प्रभावकारी बनाउने गरी ५५ बटा जिल्ला समन्वय समितिमा प्राविधिक जनशक्ति (इन्जिनियर) को व्यवस्था गरिएको ।

४. स्थानीय तहको सिकाइ तथा असल अभ्यासको आदान प्रदान तथा उपलब्धीलाई एकीकृत गर्ने उद्देश्य सहित सबै स्थानीय तहको सहभागितमा हुने समिक्षात्मक कार्यशाला बागमती प्रदेशमा सम्पन्न गरिएको छ ।

५. स्थानीय तहको सबल र दूर्बल पक्षहरुको पहिचान, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन र गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने गरी स्थानीय तहको वित्तीय जोखिम, संस्थागत क्षमता विकास र आर्थिक विकास क्षेत्र समावेश गरी एकीकृत मुल्याङ्कन कार्यविधिको ढाँचा तयार गरिएको छ ।

६. सार्वजनिक सेवालाई प्रभावकारी तुल्याउदै प्रशासकिय संगठनहरुका संरचनालाई कार्यबोझका आधारमा समयसापेक्ष परिवर्तन गर्ने सन्दर्भमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय र अन्तर्गतका दुतावास, नियोगहरु, शहरी विकास मन्त्रालय र अन्तर्गतका निकायहरु, हुलाक कार्यालयहरु तथा कारागार कार्यालय नुवाकोट समेतको संगठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न गरी नेपाल सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत भएको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट समग्रमा २१० दरबन्दी कटौति गरिएको छ ।

७. व्यवस्थापन तहमा जनशक्ति कमि हुन नदिने गरी राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका ४१५ पदमा पदपूर्तिको लागि लोकसेवा आयोगमा माग गरिएको छ।

८. उच्च व्यवस्थापन तहमा नेतृत्व विकास गर्न सहयोग पुन्याउने गरी २५ जना राजपत्राङ्गित प्रथम श्रेणीका कर्मचारीलाई तालिम प्रदान गरिएकोछ ।

९. निजामती सेवा भित्र राम्रो कार्यसम्पादन भएका ४० जना कर्मचारीलाई उत्कृष्ठ निजामती पुरस्कार तथा निजामती पुरस्कार प्रदान गरिएकोछ।

१०. स्थानीय तहमा आर्थिक अनुशासन, बजेट तथा कार्यक्रम प्रणालीमा सुधारमा सहयोग गर्ने गरी १८ वटा स्थानीय तहको मध्यकालिन खर्च संरचना तर्जुमामा सहजीकरण एवं पृष्ठपोषण प्रदान गरिएको छ ।

११. सङ्घीयता कार्यान्वयनको सन्दर्भमा मार्गचित्र पहिचान हुने गरी ३ वटा सङ्घीयता सम्बन्धी संवाद श्रृङ्खला सञ्चालन गरिएको छ।

१२. स्थानीय तहमा लामो समय देखि रहेको वडाको केन्द्र तथा सीमाना हेरफेरलाई सहज तरिकाले सहजीकरण गर्ने गरी कार्यविधिको मस्यौदा तयार भएको छ ।

१३. नेपालमा रहेको कुपोषणलाई अन्त्य गर्न स्थानीयस्तरमा रहेर सहयोग गर्ने पोषण स्वयं सेवकको ४ वटा अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

१४. तहको विकास व्यवस्थापनमा सहयोग र सहजीकरण गर्ने गरी १३ वटा स्थानीय तहमा जग्गा प्राप्ति र ७ वटा स्थानीय तहलाई सरकारी जग्गा उपयोग तथा लिजमा उपलब्ध गराउन गरी म.प.मा प्रस्ताव पेश गरिएको र सम्बन्धित मालपोत कार्यालयमा सिफारिस गरिएको छ।

१५. विपद् व्यवस्थापनमा स्थानीय तहलाई सहयोग र सहजीकरण गर्ने गरी समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन प्लेटफर्मको दुईवटा बैठक सम्पन्न भएको छ।

१६. स्थानीय सेवा प्रवाह, योजना तथा बजेट निर्माण, स्थानीय समस्या समाधानमा सहयोग पुग्ने गरी ४ वटा स्थानीय तहको सहजीकरण गरिएको छ।

१७. चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमना जोडिएका जिल्लाका स्थानीय तहमा पूर्वाधार निर्माण तथा बस्तुगत सहायता गर्ने गरी हिमाली क्षेत्र आयोजना सहायता कार्यक्रम (एचयवभअत ब्ष्म तय ल्भउब)ि सञ्चालनको कार्यविधि तयार गरिएको छ।

१८. भारत सरकारको सहयोगमा सञ्चालित हुने उच्च प्रभावयुक्त सामुदायिक पूर्वाधार विकास कार्यक्रमको १२ वटा परियोजना सञ्चालन गर्न त्रिपक्षीय समझदारी गरिएको छ।

१९. सार्वजनिक निकायबाट भएको सेवा प्रवाहको मुल्याङ्कन गरी समग्र सरकारी निकायको कार्यपद्धति सुधार गर्ने उद्देश्य ३ वटा संघीय निकायको सेवाग्राही सन्तुष्टि सवेक्षण सम्पन्न गरिएको छ ।

२०. साविकमा रहेका बादी विकास समिति, दलित विकास समिति, पिछडा वर्ग विकास उत्थान समितिलाई खारेज गरी दलित, आदिवासी जनजाती तथा पिछडा वर्गलाई समेट्ने र तिनीहरुको सर्वाङ्गिण विकासका लागि प्राधिकरण गठन गर्ने नेपाल सरकारको नीतिगत प्रतिवद्धता बमोजिमको कार्य अगाडि बढाउन प्राधिकरण गठनको अवधारण निर्माण गरिएको छ ।

२१. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट सरकारी एवं सार्वजनिक निकायका ६६४ जना अधिकृत कर्मचारीलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

२२. संघ, प्रदेश तथा स्थानीय तहका सहायकस्तरका २९० जना कर्मचारीहरुका लागि
३० कार्यदिनको ९ वटा सेवाकालिन प्रशिक्षण कार्यक्रमबाट सम्पन्न गरिएको छ।

२३. निजामति कर्मचारी अस्पतालबाट क्यानसर रोग उपचारको थालनी गरिएको छ।

२४. राष्ट्रिय किताबखाना निजामतिको सेवालाई थप सहज र प्रभावकारी बनाउने गरी अनलाइन सेवाको विस्तार र पुराना श्रेस्तालाई डिजिटल प्रति बनाइएको छ । निजामती कर्मचामरीको विद्युतिय अभिलेख सुरक्षीत गर्ने काम भएको छ ।

२५. प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका स्थानीय तहमा वरिष्ठ कर्मचारीलाई मात्र निमित्त दिने व्यवस्था गरिएको छ । हाल रिक्त २३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गर्न नयाँ नियुक्त हुने अधिकृतस्तर कर्मचारीलाई पहिलो पदस्थापन स्थानीय तहमा हुने नीतिगत व्यवस्था गरिएको छ ।

एकवर्षमा तीन जिल्लामा १८ किलोमिटर सडक कालोपत्र

बागमती ।  सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र गरेको छ। सो अवधिमा छ वटा पुल निर्माण भएका छन्।

मकवानपुर, बारा र पर्सामा रणनीतिक सडकमध्ये १६ किलोमिटर सडक कालोपत्र गरिएको कार्यालयका सूचना अधिकारी इन्जिनियर रमेश पाण्डेले जानकारी दिए। उनकाअनुसार सो आवमा बारामा ११, पर्सामा छ र मकवानपुरमा एक किमि सडक कालोपत्र भएका छन्।

निर्माणाधीन १२ वटा पुलमध्ये छ वटा निर्माण सम्पन्न भएका छन्। बाँकी छ वटा पुल चालु आवमा सम्पन्न हुने गरी निर्माण भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

डिभिजन कार्यालयका सूचना अधिकारी पाण्डेका अनुसार निर्माणाधीन पुलमध्ये पर्सामा तीन, बारामा दुई र मकवानपुरमा एक छन्। चालु आवमा सञ्चालित ४८ सडक पूर्वाधारका योजनामध्ये तीन महिनामा २४ वटाको योजना सम्झौता भइसकेको र १६ वटा सम्झौता प्रक्रियामा रहेको उनले जानकारी दिए।

सडक पूर्वाधारका योजना सञ्चालन गरिएपनि बजेट अभावका कारण समस्या भइरहेको कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए। ‘योजना आइसकेको छ, तर बजेट आइपुगेको छैन’, अधिकारीले भने, ‘जसका कारण अधिकांश योजना रोकिएका छन्।’ 

दसैँपछि घोडेपानी र पुनहिलमा ओइरिए पर्यटक

गलेश्वर  । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ।

हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोडेपानीका होटल व्यवसायीहरुले बताएका छन्।

दसैँको समयमा घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएपछि घोडेपानी तथा पुनहिलमा पर्यटकको आगमन बढेको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताइन्।

उनका अनुसार तिहार र छठ पर्वका अवसरमा घोडेपानी घुम्न आउने आन्तरिक पर्यटकलाई यहाँका सबै होटल तथा लजले खाजा, खाना र आवासमा १० प्रतिशतसम्म छुट दिएका छन्।

म्याग्दीको सदरमुकाम बेनीबाट सवारी साधनमार्फत दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक घोडेपानी आएका छन् भने कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाडा, पर्वतको भुक देउराली हुँदै पैदलयात्रा गरेर आउने पर्यटकहरुको सङ्ख्या पनि उल्लेख्य रहेको होटल व्यवसायीहरुले बताएका छन्।

दसैँपछि धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको होटल सञ्चालक विरेन पुनले बताए। पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको दूरीमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ।

धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प (एबिसी)बाट फर्कने तथा पोखराबाट घोरेपानी आएर घान्द्रुक र एबिसीतिर जाने गरेका होटल व्यवसायी पुनले जानकारी दिए।

विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायी उत्साहित भएको उनको भनाइ छ। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ। घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ।

समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा रहेका २६ सानाठूला सुविधायुक्त होटलमा दैनिक एक हजार दुई सयजना पाहुना बास बस्ने क्षमता रहेको छ। प्याकेजमा प्रतिव्यक्ति रु एक हजार पाँच सयदेखि रु पाँच हजारसम्मका सुविधायुक्त कोठामा बास बस्न सकिन्छ।

हिमाल, पहाडी भूूगोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो। समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा परिचित छ।

म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्न पछिल्लो समय सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार शुल्क लिने गरिएको छ।

घोडेपानी पुगेका धेरै पर्यटक हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्वारका रूपमा चिनिएको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोडके, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनी बजारलगायत विभिन्न धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणमा पर्यटक पुग्ने गर्छन्।

रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी

राष्ट्रसङ्घ । उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसङ्घका लागि उत्तरकोरीयाली प्रतिनिधि किम सङले सियोलको दाबी “आधारहीन “ भएको दाबी गरेका छन् ।

सियोलको जासुसी एजेन्सीले शुक्रबार प्योङयाङले रूसलाई सहयोग गर्ने सेना तैनाथ गरेको तथा एक हजार ५०० सेना रूसमा प्रशिक्षण गराइरहेको जनाएको थियो ।

उनले रुससँगको सैन्य सहयोगको आधारहीन विषयमा आफ्नो प्रतिनिधिमण्डलले प्रतिक्रीया दिन आवश्यक महसुस नगरेको संयुक्त राष्ट्रसङ्घीय महासभा समितिको बैठकमा बताए ।

सियोलको दाबी “उत्तर कोरियाको छवि बिगार्ने तथा सार्वभौम राज्यहरू बिचको मैत्रीपूर्ण र सहयोगी सम्बन्धलाई कमजोर पार्ने उद्देश्यले गरिएकोसमेत उनले बैठकमा उल्लेख गरेका छन् ।

विश्वयुद्धपछि उत्तर कोरियाको स्थापना भएदेखि नै प्योङयाङ र मस्को सहयोगी रहँदै आएको र सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अझ नजिक भई लामो समय देखि किम जोङ–अनले रूसमा हतियार पठाउँदै आएको दाबी सियोल र वासिङ्टनले गर्दै आएका छन् ।

उत्तर कोरियाले भने उक्त सैन्य तैनाती बारे कुनै टिप्पणी गरेको छैन भने रूसले पनि सेना तैनाथ भएको पुष्टि गरेको छैन ।

यद्देपी नेटो र अमेरिकाले पनि सेना तैनातीको पुष्टि गरेका छेन्न, तर दुवैले यसलाई लामो समयदेखि चलिरहेको युक्रेन द्वन्द्वमा सम्भावित खतरा वृद्धिको रूपमा लिएका छन् ।

उत्तर कोरियाले सेना पठाउने तयारी गरिरहेको रिपोर्टहरू आफुले देखेको सुरक्षा परिषदलाई बताउदै यो विषय सत्य भएमा यसले चिन्ताजनक स्थितीको सङकेत गर्ने संयुक्त राष्ट्रसङघका लागि अमेरिकी दूत रोबर्ट वुडले बताए ।
सेनालाई तत्काल फिर्ता बोलाउन आग्रह गर्दै दक्षिण कोरियाली सरकारले उत्तर कोरियाको निन्दासमेत गरेको छ ।

उत्तर कोरियाले युक्रेनमा रुसको अवैध आक्रमणका लागि सेना पठाउनु आफ्नो देशका लागि मात्र नभई अन्तर्राष्ट्रिय समुदायका लागिसमेत सुरक्षा खतरा भएको हो सुरक्षा परिषद्ले जनाएको छ ।

दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले सरकारी स्रोतलाई उद्धृत गर्दै सियोलले युक्रेनमा तैनाथ उत्तर कोरियाली सेनाको निगरानी गर्न कर्मचारीहको टोली पठाउने तयारी गरिरहेको जनाएको छ । योन्हापले रूस समर्थक टेलिग्राममा युक्रेनी भूमिमा रूसी र उत्तर कोरियाली झण्डा देखाउँदै फोटो पोस्ट गरेकोसमेत रिपोर्ट गरेको छ ।

भारतद्वारा प्यालेस्टाइनमा पहिलो चरणको मानवीय सहायता प्रदान

नयाँदिल्ली । मध्यपूर्वमा चलिरहेको द्वन्द्वका बीच भारतले प्यालेस्टाइनका जनताका लागि मानवीय सहायता प्रदान गर्ने महत्त्वपूर्ण कदम चालेको छ ।

सहायताको प्रारम्भिक चरणमा ३० टन आवश्यक वस्तु रहेका छन् जसमा औषधि, शल्य चिकित्सा आपूर्ति, दन्त उत्पादन, सामान्य चिकित्सा वस्तु, र उच्च–ऊर्जा बिस्कुटहरू समावेश छन् । यो सहायता सामग्री प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र राहत र कार्य विभाग (युएनआरडब्लुए) मार्फत वितरण गरिनेछ ।

सामाजिक सञ्जाल एक्समार्फत विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयस्वालले बताए, “भारतले युएनआरडब्लुएमार्फत प्यालेस्टाइनी जनताका लागि मानवीय सहायता पठाएको छ ।”

“३० टन औषधि र खाद्यान्न सामग्रीसहितको पहिलो सहायता आज प्यालेस्टाइनतर्फ प्रस्थान गरेको छ । कन्साइनमेन्टमा आवश्यक औषधि र शल्य चिकित्सा आपूर्ति, दन्त उत्पादन, सामान्य चिकित्सा वस्तुहरू र उच्च–ऊर्जा बिस्कुट समावेश छ”, उहाँले एक्समा भने ।

केही दिनअघि विश्व खाद्य कार्यक्रमले उत्तरी गाजाका लागि डब्ल्यूएफपीको आपूर्ति घट्दै गएको चेतावनी जारी गरेको थियो।

गत अक्टोबर १२ मा एक्समा डब्लुएफपीले लेखेको छ, “उत्तरी गाजामा बढ्दो हिंसाले खाद्य सुरक्षामा विनाशकारी प्रभाव पारेको छ । अक्टोबर १ देखि उत्तरमा कुनै खाद्यान्न सहायता प्रवेश गरेको छैन ।”

यसअघि अक्टोबर २० मा, संयुक्त राष्ट्र सङ्घले बन्धकहरूको रिहाइ, प्यालेस्टिनीहरूको विस्थापनको अन्त्य र मानवीय सहायताको निर्बाध वितरणको तत्काल आवश्यकतालाई जोड दिँदै गाजामा युद्धको अन्त्यका लागि आफ्नो आह्वानलाई नवीकरण गरेको थियो ।

मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्नेसल्यान्डले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घले गहिरो चिन्ता व्यक्त गर्दै भनेको छ, “गाजामा दुःस्वप्न तीव्र हुँदै गइरहेको छ । निरन्तर इजरायली आक्रमण र बढ्दो मानवीय सङ्कटको बिचमा उत्तरी पट्टीमा भयावह दृश्यहरू देखा पर्दैछन्। “

गाजा बन्धकको रिहाईमा सहयोग गर्नेलाई आर्थिक पुरस्कार प्रदान गर्ने इजरायली उद्यमीहरुको प्रस्ताव

जेरुसेलम । एक वर्ष लामो गाजा युद्ध युद्धविराम सम्झौतामा पुग्ने घट्दो सम्भावनाबाट निराश भएका केही इजरायली उद्यमीहरूले बन्धक रिहा गर्नेलाई आर्थिक पुरस्कार प्रदान गर्ने फरक मार्ग खोजेका छन् ।

सोडा स्ट्रिमका पूर्व सिइओ डेनियल बिर्नबामले सोमबार एएफपीलाई सामाजिक सञ्जाल एक्समा गाजाबाट जीवित इजरायली बन्धकलाई उद्धार गर्ने जो कोहीलाई एक लाख डलर नगद वा बिटक्वाइन दिने घोषणा गरेपछि करिब १०० वटा फोनकलहरू प्राप्त भएको बताएको छ ।

इजरायलमा आधारित सोडा कम्पनीका पूर्व अध्यक्षले आफ्नो प्रस्ताव बुधवार मध्यरात सम्म मान्य रहेको बताएको छ ।

बिर्नबामले अधिकांश कलहरू ठट्टा वा धम्की भएपनि त्यसमध्ये १० देखि २० वैध हुन सक्ने र थप प्रमाणिकरणका लागि इजरायली अधिकारीहरूलाई हस्तान्तरण गरिएको जानकारी दिएको छ ।

यति धेरै बन्धकहरुकाबीच हमाससँग सम्बद्ध नभएका केही नागरिकसँग बन्दीहरूको जानकारी हुनुसक्ने बिर्नबामले बताए ।

अक्टोबर ७ ,२०२३ मा हमासले गरेको इजरायली आक्रमणमा २५१ जनालाई बन्धक बनाइएका थिए । तीमध्ये ९७ जना अझै पनि गाजामा बन्दी रहेको इजरायली अधिकारीहरूले बताएका छन् ।

इजरायलको प्रतिशोधात्मक अभियानले अहिलेसम्म गाजामा कम्तिमा ४२ हजार ६०३ व्यक्तिको ज्यान लिएको छ, जसमध्ये अधिकांश आमनागरिक रहेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्याकले जनाएको छ । “म सबैलाई फिर्ता पाउने आशा गरिरहेको छैन तर यदि हामीले एउटा मात्र बन्धक फिर्ता पायौँ भने म खुसी हुनेछु”, बिर्नबामले बताए ।

उनले यस विषयमा इजरायली सरकारबाट अनुमति नलिएको बताए । “मलाई लाग्छ वित्तीय पुरस्कारको तत्व निजी क्षेत्रबाट आउनुपर्छ, हेरौँ यसले काम गर्छ कि गर्दैन। हामीले अहिलेसम्म जे गर्यौ त्यसले केही काम गरिरहेको छैन ”, उनले भने ।

बिर्नबामको पहलको बारेमा सुनेपछि इजरायली–अमेरिकी घरजग्गा विकासकर्ता डेभिड हेगरले पनि यसका पैसा जुटाउन थालेको बताए ।

उनले आइतबार इजरायली ‘च्यानल १२’ लाई बताएअनुसार हालसम्म आफ्ना साथीहरुको सहयोगबाट लगभग ४ लाख डलर जम्मा गरिसकेको छ र अन्य व्यापारीलाई पनि योगदान गर्न आह्वान गरेको छ ।