`

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा सोमबारका लागि भने एक लाख ६५ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएकामा सोमबारका लागि भने एक हजार नौ सय ५५ रुपैयाँ निर्धारण भएको छ ।

माओवादी पदाधिकारी बैठकद्वारा उपनिर्वाचनका उम्मेदवारको नाम अनुमोदन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सिफारिस भइ आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।

सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाले उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई जिताउनका लागि एकतावद्ध भएर पहल कदमीका लागि नेता तथा कार्यकर्ताहरूलाई अपील गर्ने निर्णय गरेको बताए ।

यसैगरी उपनिर्वाचनमा जित आफ्नो पक्षमा पार्न योजना तथा कार्यक्रम बनाएको उनले बताए । बैठकले पार्टीको अघिल्लो निर्णयअनुसार आगामी मंसिरमा पालिका सम्मेलन र खबरदारी कार्यक्रम गर्ने निर्णय भएको उनको भनाइ छ । त्यस्तै बैठकले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ ।

युक्रेन र रुसद्वारा एकअर्कामाथि अहिलेसम्मकै भीषण ड्रोन हमला

बीबीसी । रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा भीषण ड्रोन हमला गरेका छन् । रुसको रक्षा मन्त्रालयले आफूले विभिन्न ६ स्थानबाट ८४ वटा युक्रेनी ड्रोनलाई निष्क्रिय तुल्याएको जनाएको छ ।

तीमध्ये कतिपय मस्कोतर्फ आइरहेका थिए र ती ड्रोनका कारण राजधानीका तीनवटा प्रमुख विमानस्थलबाट उडानहरू अन्यत्र मोड्नुपरेको थियो ।

युक्रेनको वायुसेनाका अनुसार रुसले शनिवार राति १४५ वटा ड्रोन आफ्नो देशका विभिन्न ठाउँमा पठाएको र तीमध्ये अधिकांशलाई खसालिएको थियो । अमेरिकामा राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले दुवै पक्षलाई द्वन्द्व अन्त्य गर्न दबाव दिन सक्ने अपेक्षा गरिएकै बेला यी आक्रमणहरू भएका हुन् ।

मस्कोमा हमला गर्ने युक्रेनको प्रयासलाई युद्ध सुरु भएयताकै उसको सबैभन्दा ठूलो आक्रमण भनिएको छ । एक क्षेत्रीय गभर्नरले त्यसलाई ‘भीषण’ भनेका छन् । अधिकारीहरूले अधिकांश ड्रोनहरू रामनस्कोय, कोलोम्ना र डेमडियाडोभा डिस्ट्रिक्टमा खसालिएको जनाएका छन् ।

मस्कोबाट दक्षिणपश्चिममा पर्ने रामनस्कोयमा ड्रोनलाई खसाल्दा त्यसका भग्नावशेषबाट पाँच जना घाइते भएका र चारवटा घरमा आगलागी भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। उक्त नगरबाट ३४ वटा ड्रोन खसालिएको उसको भनाइ छ ।

गत सेप्टेम्बरमा रामनस्कोयमा गरिएको एउटा ड्रोन हमलामा एक महिला घाइते भएकी थिइन्। गएको वर्षको मे महिनामा दुईवटा ड्रोनलाई मध्यमस्कोको क्रेम्लिननजिकै ध्वस्त पारिएको थियो भने मस्को सिटी बिज्नेस डिस्ट्रिक्टमा कैयौँ हमलाहरू भएका थिए ।

युक्रेनी वायुसेनाले इरानमा निर्माण भएका ६२ वटा रुसी ड्रोन खसालिदिएको र ६७ वटा “हराएका“ जनाएको छ । थप १० वटा युक्रेनी हवाई क्षेत्र छाडेर रुसतर्फ नै फर्किएका थिए र केही छिमेकी बेलारुस र मोल्डोभातर्फ गएका थिए ।

‘इन्स्टिट्यूट फर द स्टडी अफ वार’को तथ्याङ्कलाई विश्लेषण गर्दा ड्रोनहरूको यस्तो भीषण आक्रमण सन् २०२२ मार्च यता गत महिना रुसी सेनाले सबैभन्दा ठूलो भौगोलिक उपलब्धि हात पारेपछि भएको हो।

चेल्सी र आर्सनलले बराबरी खेल्दै बाँडे अंक

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले एक एक अंक बाँडेका छन् । चेल्सीको मैदान स्टामाफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको अन्तिम क्षणमा आर्सनलले महत्वपूर्ण गोल गर्ने मौका गुमाउँदा स्पष्ट ३ अंक लिन असफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

६० औं मिनेटमा आर्सनलका गेब्रियल मार्टिनेलीले गोल गर्दै अग्रता दिलाएका थिए । यसैखेलमा कप्तान मार्टिन ओडोगार्डले कमब्यायाक गरेका थिए । चोटपछि पहिलो पटक मैदान उत्रिएका उनैले दिएको पासमा मार्टिनेलीले गोल गरेका थिए ।

तर, खेलको ७० औं मिनेटमा चेल्सीका पेड्रो नेटोले बललाई २५ यार्ड टाढाबाट गोल गर्दै खेललाई बराबरीमा पु¥याए । त्यसपछि थप गोल नहुँदा दुवै टिमले अंक बाँडे ।

चेल्सी र आर्सनलको बराबरीले बराबरीले लिभरपुल शीर्ष स्थानमा मजबुत रहेको छ भने आर्सनललाई लिभरपुलसँगको दूरी कम गर्न चुनौती थपिएको छ । आर्सनलले पछिल्लो चार खेलमा जित निकाल्न नसक्दा लिग तालिकामा चौथो स्थानमा छ भने चेल्सी तेस्रो स्थानमा छ ।

दुवै टिमले समान ११ खेलबाट १९ अंक बनाएका छन् । म्यानचेस्टर सिटी २३ अंकका साथ दोस्रो स्थानमा रहँदा लिभरपुल भने २८ अंकका साथ शीर्ष स्थानमा छ ।

टुकुचाखेलाको सरसफाइमा जुट्यो महानगर(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा सोमबार महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ ।

इच्छुमतीको भद्रकाली, सिंहदरबार क्षेत्रमा सफाइ गरिएको विभागका उपनिर्देशक सानुमाया महर्जनले जानकारी दिइन् । इच्छुमतीभित्र जम्मा भएको फोहर निकालेर महानगरका सफाइ कर्मचारीले किनारमा थुपारेका छन् ।

विभागले यसअघि असारमा पनि यसरी नै इच्छुमतीलगायत नदी सफाइ गरेको थियो । छ महिना नबित्दै फेरि नदीमा जम्मा भएको बोत्तल, प्लाष्टिकलगायत नकुहिने फोहर सफाइ गरिएको हो । महानगरले सफाइसँगै फोहर गर्नेलाई समातेर कानुनी कारबाहीको दायरामा ल्याउने तयारी पनि गरेको जनाइएको छ ।

महानगरले काठमाडौँ उपत्यकामा भएर बग्ने वाग्मती, विष्णुमती, रुद्रमती, बल्खुलगायत नदीमा पनि यसरी सफाइ गर्दै आएको छ । नागरिकस्तरबाट सुरु भएको वाग्मती सफाइ महाअभियान छ सयौँ हप्तामा प्रवेश गरे पनि उपत्यकाका अन्य नदी भने सफा हुन सकेका छैनन् ।

तस्बिर : विष्णु नेपाल / रासस

पर्यटन क्षेत्रका चुनौती

राजेन्द्र बजगाईं ।
व्यापक क्षति भइसकेपछि नागरिक उड्डयनमन्त्रीको यो एक कदमको प्रयास ठिकै छ तथापि, उड़ानहरू कटौती भइसके दुवईसम्मको एकतर्फको टिकट १,४०,००० रुपैयाँसम्म पुगेको छ । नेपाल वायु सेवा निगम, प्राधिकरण, निषेधित क्षेत्र, इयू मुद्धा के हुन्छ मन्त्रीलाई प्रश्न पठाईदिनु होला । अर्थशास्त्रमा, मूल्य सीमा (प्राइस सिलिङ) भनेको सरकारद्वारा तोकिएको अधिकतम मूल्य हो, जसमा कुनै बिक्रेताले उत्पादन वा सेवाको लागि शुल्क लिन सक्छ । मूल्य सीमाको उद्देश्य आवश्यक वस्तु वा सेवाहरू उपभोक्ताहरूका लागि अझ सस्तो बनाउनु हो । मूल्य सीमा आपूर्ति र मागको सिद्धान्तमा आधारित हुन्छ । प्रभावकारी हुनका लागि, मूल्य सीमा बजार सन्तुलन मूल्यभन्दा तल सेट गर्नुपर्छ – जुन मूल्यमा उत्पादकहरूले आपूर्ति गरेको मात्रासँग उपभोक्ताहरूले खरिद गर्न चाहेको मात्रा मिल्दोजुल्दो हुन्छ ।

तर, नेपालको पर्यटन क्षेत्रमा गम्भीर चुनौतीहरू देखापरेका छन् । अन्तर्राष्ट्रिय पर्यटकहरू र स्वदेशी आगन्तुकहरू सरकारी नीतिगत कार्यहरूमा ढिलासुस्ती, असक्षमता र विशेषगरी पर्यटनमन्त्रीको तर्फबाट सहयोगको अभावको कारण प्रभावित भएका छन् । मन्त्रीलाई पर्यटन र श्रमिक क्षेत्रको सहयोगमा आवश्यक कदम चाल्न असफल भएको, अदालतको मुद्दाहरूबीच दोहोरो क्यासिनो लाइसेन्स जारी गरेको, र अदालतका फैसलाहरूको बेवास्ता गरेको आरोप लगाइएको छ। यस किसिमको निष्क्रियता र पक्षपातले पर्यटकहरूलाई अन्य गन्तव्यतर्फ मोड्न बाध्य पारेको छ, जसको कारण होटल ओक्युपेन्सीमा कमी आई नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको छ।

मन्त्रीमाथि नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का भ्रष्ट अधिकारीहरूसँग मिलेर काम गरेको आरोप पनि लागेको छ, जसले सार्वजनिक विश्वासलाई थप कमजोर बनाएको छ र पर्यटन क्षेत्रको वृद्धिमा अवरोध सिर्जना गरेको छ । पारदर्शी र समयमै नीति लागू गर्न असफल भएकाले नेपालको पर्यटन गन्तव्यको रूपमा प्रतिष्ठामा क्षति पुगेको छ र यसले आतिथ्य सेवा तथा पर्यटन उद्योगमा आर्थिक क्षति पुर्याएको छ ।

म्याग्दीको मालिकामा स्थापनाको चार दशकपछि विद्यालयको पक्की भवन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ ।

विभिन्न निकायको अनुदान सहयोगमा तीनवटा कक्षा कोठा भवन निर्माण भएको हो । श्रमदानसहित कूल  एक करोड ७७ हजार पाँच सय ३४ को लागतमा निर्माण भएका तीनवटा भवनमा आठवटा कोठा रहेका प्रधानाध्यापक मोतिराज गौतमले जानकारी दिए ।

“विसं २०३९ मा खरको टहरामा सुरु गरिएको विद्यालय करिब करिब चार दशक कच्ची भवनमा सञ्चालन भएको थियो”, विद्यालयको स्थापनाकालदेखिनै त्यहाँ कार्यरत गौतमले भने, “चार दशक पुरानो भवन जीर्ण भएर पानी चुहिन थालेको थियो । भत्कने त्रास थियो ।” जग्गा व्यवस्थापन गरी नयाँ भवन निर्माण गरेपछि सुरक्षित र सहज रुपमा पठनपाठन हुने वातावरण सिर्जना भएको प्रअ गौतमले बताए ।

तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अनुदान र श्रमदान गरी कूल ८६ लाख ९१ हजार छ सयको लागतमा दुईतले चार कोठे भवन निर्माण भएको थियो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुदान सहयोगमा दुई÷दुई कोठे एकतले भवन निर्माण भएको हो ।

कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कम्प्युटर प्रयोगशाला पनि रहेको छ । संविधानसभा सदस्य नवराज शर्मा, गण्डकी प्रदेशका पूर्वमन्त्री नरदेवी पुन र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले भवनको आइतबार उद्घाटन गरेका थिए ।

भवन उद्घाटन समारोहमा विद्यालयका संस्थापक गङ्गबहादुर पुन, देवीप्रसाद आचार्य, दलमान पुन, पुरुषोत्तम शर्मा र पतिराम सिउथानीको नाम उल्लेखित शिलालेखको पनि अनावरण गरिएको थियो । संस्थापक आचार्यलाई सम्मान समेत गरिएको छ ।

पुस्तकालय र चमेना गृहका लागि थप दुई कोठा आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिङ सापकोटाले बताए । “बस्तीमाथि खनिएको सडकबाट आउने बाढी खेलमैदानमा पसेर दुःख दिने गरेको छ”, उनले भने, “बाढी नियन्त्रण र कोठा थप गर्न गाउँपालिका, प्रदेश र सङ्घीय सरकारका निकायमा प्रस्ताव गरेका छौँ ।”

बेरुतको उत्तरमा इजरायली आक्रमणमा सात बालबालिकासहित २३ जनाको मृत्यु

बेरुत । राजधानी बेरुतको उत्तरी भेगमा रहेको अल्माट गाउँमा भएको इजरायली आक्रमणमा सात बालबालिका सहित २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एएफपिटिभीको फुटेजमा उद्धारकर्ताहरूले खाली हातले पूर्ण रूपमा ध्वस्त भएको घरको भग्नावशेषबाट कम्बलमा लपेटिएका शवहरू बाहिर निकाल्दै उत्खननकर्ताले भग्नावशेष हटाइरहेको देखाइएको छ ।

बेरुतबाट करिब ३० किलोमिटर टाढा रहेको अल्माटको शिया मुस्लिम बहुल गाउँ प्रायः इसाई क्षेत्रमा अवस्थित छ । यो दक्षिण बेरुत र दक्षिण र पूर्वी लेबनानको हिजबुल्लाहको परम्परागत गढ बाहिर छ । यहाँ इजरायलले सेप्टेम्बरको अन्त्यदेखि इरान समर्थित आन्दोलन विरुद्धको युद्धमा भारी बमबारी गरेको छ ।

“जेबिल जिल्लाको अल्माटमा इजरायली शत्रुको आक्रमणमा सात बालबालिकासहित २३ जनाको मृत्यु भएको छ, तर यो अद्यावधिक गरिएको अन्तिम सङ्ख्या भने होइन”, स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमा भनेको छ । घटनास्थलबाट शरीरका अङ्गहरू बरामद गरिएको र पहिचान भइरहेको पनि मन्त्रालयले बताएको छ ।

जेबिल जिल्लाको प्रतिनिधित्व गर्ने संसद्हरू मध्ये एक हिजबुल्लाह सांसद रायद बेरो आक्रमण स्थलमा उपस्थित भई हिजबुल्लाहका सदस्यहरू वा हतियारहरू नागरिकहरूमा समाहित भएको इजरायली दाबीलाई अस्वीकार गरे ।

“महत्त्वपूर्ण सैन्य र सुरक्षा व्यक्तित्वहरू सामान्यतया पछाडि नभई अग्रभागमा हुन्छन्”, उनले भने, “भग्नावशेषमुनि बालबालिका, वृद्ध पुरुष र महिला मात्रै छन् ।”

इजरायलले सेप्टेम्बर २३ देखि मुख्यतया लेबनानमा रहेका हिजबुल्लाहका गढहरूमा हवाई आक्रमण तीव्र पारेको थियो र एक हप्तापछि स्थल सेना पठाएको थियो ।

यो तीव्रता हमासको सन् २०२३ अक्टोबर ७ को इजरायलमाथिको आक्रमणपछि सुरु भएको गाजा युद्धमा आफ्नो मित्र हमासलाई समर्थन गर्दै हिजबुल्लाहले गरेको लगभग एक वर्षको कम–तीव्रताको सीमापार आक्रमणपछि आएको हो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सीमापार आदानप्रदान सुरु भएयता तीन हजार एक सय ३० भन्दा बढी मानिसहरू मारिएका छन् तीमध्ये धेरैजसो सेप्टेम्बर २३ यताका छन् ।

चार वटा सञ्चारमाध्यम काउन्सिलको कालोसूचीमा, ७ वटामाथि विशेष अनुगमन

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। त्यस्तै विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन गरिरहेको छ। काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो।

काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारबाही गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको हो। दसैँअघि काउन्सिलले ३ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो।

आइतबार एक साप्ताहिक, एक टेलिभिजन र २ अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय भएको प्रेस काउन्सिलले जनाएको छ। काउन्सिलले कालोसूचीमा राखेका सञ्चार माध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिस्ट्रारको कार्यालयलाई समेत दिएको छ।

कालोसूचीमा पर्ने सञ्चारमाध्यमहरुमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोशीपोष्ट डटकम, खोजतलासअनलाइन डटकम छन्। काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबरब्युरोमा समेत पठाएको छ।

त्यसैगरी आचारसंहिताकै विषयमा गम्भीर प्रश्न उठेपछि आवश्यक कारबाहीका लागि काउन्सिलले ७ वटा सञ्चार माध्यमलाई विशेष अनुगमनमा राखी छानबिन थालेको छ। त्यसमा दियोपोष्ट डटकम, मोटिभेटन्यूज डटकम, एवननेपालन्युज डटकम, अनलाइनटिभिनेपाल डटकम, राइटसञ्चार डटकम, ताजाखबर टिभि र विजीटिभी (युट्युब च्यानल) छन्।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यहरू ठाकुर बेल्वासे, लालबाबु शेष, विजयराज अधिकारी, शरदप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी, नेपाल बार एसोसिएसनका महासचिव अन्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सहभागी बैठकले यससम्बन्धी निर्णय गरेको हो। काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिमा पत्रकार महासंघ र बार एसोसिएसनको समेत प्रतिनिधित्व हुन्छ।

प्रेस काउन्सिलले विभिन्न युट्युब च्यानल, सामाजिक सञ्जालका ग्रुपसहितमा स्वअनुगमन समेत गरिरहेको जनाएको छ।

बैठकपछि सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा पत्रकारिताको मूल्य र मान्यताविपरित, गलत, समाजमा उत्तेजना, अफवाह फैलाउने, सामाजिक सद्भाव भड्काउने, अर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्न सम्बन्धित सबैलाई आग्रह समेत गरिएको छ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् बक्यौतासम्बन्धी सुझाव दिन गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

त्यस्तै बैठकले सोमबार मध्यान्ह १२ बजेभित्र उद्योगीका काटिएका लाइन जडान गर्न मन्त्रालयमार्फत विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । साथै १५ दिनभित्र बक्यौता टीओडी मिटर बमोजिम असुल गर्ने निर्णय समेत बैठकले गरेको छ ।

मेक्सिकोको बारमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोको मध्य भागमा रहेको क्वेरेटारो सहरको एक बारमा शनिबार बन्दुकधारीले आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ।

क्वेरेटारोको सार्वजनिक सुरक्षा विभागका प्रमुख जुआन लुइस फेरुस्काका अनुसार आक्रमणकारीले शहरको लस क्यान्टारिटोस बारभित्र गोली चलाएका थिए ।

उनले सामाजिक सञ्जालमा आक्रमणस्थलको एक भिडियो पोष्ट गर्दै भनेका छन्, “आपतकालिन सेवाहरू घटनास्थलमा पुगेका छन् र एउटा पिकअप ट्रकमा लामो हतियारले सुसज्जित कम्तीमा चार जना व्यक्ति आएको पुष्टि भएको छ ।

उनले भने, “आक्रमणबाट घटनास्थलमा १० जनाको मृत्यु भएको थियो भने कम्तीमा सात जना घाइते भएका थिए।”

फेरुस्काका अनुसार एक संदिग्धलाई नियन्त्रणमा लिइएको छ र आक्रमणमा प्रयोग गरिएको गाडी बेवारिसे अवस्थामा फेला परेको छ ।

क्वेरेटारोलाई बढ्दो हिंसा, यसको अधिकांश हिस्सा लागुऔषध तस्करी र गिरोहसँग जोडिएको मेक्सिकोको सुरक्षित शहरमध्ये एक मानिन्छ ।

मेक्सिकोमा सन् २००६ देखि अहिलेसम्म चार लाख ५० हजार मानिसको हत्या भएको छ । 

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल बाकु प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै आइतबार साँझ बाकु प्रस्थान गरेका हुन् ।

राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ ।

बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।

नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ । सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।

लमजुङमा जिल्लामै उत्पादित विद्युत् वितरण सुरु

लमजुङ । लमजुङमा जिल्लामै उत्पादित विद्युत् वितरण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले मर्स्याङ्दी करिडोरको उदीपुरस्थित २२०/१३२/३३ केभी सबस्टेसनबाट जिल्लामा विद्युत् वितरण सुरु गरेको हो ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनसहित जिल्लाका अन्य प्रसारण लाइनको निरीक्षणपछि उदीपुर सबस्टेसनबाट विद्युत् वितरण सम्भव रहेको जनाएसँगै आजदेखि जिल्लामै उत्पादित वितरण सुरु गरिएको वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले जानकारी दिए ।

यसअघि जिल्लामा दमौलीबाट आउने ३३ केभी प्रसारण लाइनबाट विद्युत् वितरण हुँदै आएको थियो ।

‘यहाँ उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएर पुनः लमजुङ आउन ६० किमी दुरी पार गर्नुपर्ने थियो । उदीपुरस्थित सबस्टेसनबाट वितरण भएसँगै अब दुई किमी दुरी पार गर्नुपर्ने हुन्छ । यसले करिब ५८ किमी क्षेत्रको विद्युत्मा समस्या हुँदा लमजुङमा आपूर्ति बन्द हुने समस्या अन्त्य हुनेछ ।’, केन्द्रका प्रमुख भट्टराईले भने ।

दमौलीबाट वितरण हुँदा अन्य ठाउँमा भएका समस्याले जिल्लामा विद्युत् आपूर्ति बन्द हुने गरेको थियो । अहिलेसम्म दमौलीको लाइनका कारण लमजुङमा विद्युत् आपूर्तिमा अवरोध हुन्थ्यो ।

यहाँ उत्पादित विद्युत् जडान गरेपछि विद्युत् ट्रिपिङ (झ्याप्प झ्याप्प बिजुली जाने) को समस्या धेरै हदसम्म न्यूनीकरण हुने केन्द्र प्रमुख भट्टराईले बताए ।

म्यागङमा सुन्तला टिप्न सुरु

त्रिशूली (नुवाकोट) । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको नुवाकोटको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् । सुन्तलाको मौसम सुरु भएसँगै बोटबाट प्रतिकिलो एक सयभन्दा बढी मूल्य पाएपछि किसानले सुन्तला टिप्न सुरु गरेका हुन् ।

विगतका वर्षमा मङ्सिर लागेपछि मात्रै बजारमा पुग्ने सुन्तला अहिले ठूलो एकादशी (देवीघाट) र दुप्चेश्वर महादेव मन्दिर (शिखरवेसी) मा लाग्ने जात्रालाई लक्षित गर्दै टिप्न थालिएको म्यागङ–२ बुङ्ताङका किसान छेप्पोन तामाङले बताए । उनले अहिले सुन्तलामा ग्लुकोज (गुलियोपन) पस्न थालेको भन्दै खानयोग्य भएकाले टिप्न थालिएको जानकारी दिए ।

गत वर्ष प्रतिकिलो ८० मा बिक्री भएको सुन्तला यस वर्ष ‘ग्रेडिङ’ नहुँदै एक सयभन्दा बढी पाइपछि बिक्री गर्न थालिएको तामाङले बताए । “व्यवसायीले बगैँचा नै जिम्मा लिन आएपछि बजारको समस्या भएन”, उनले भने, “गत वर्षभन्दा बढी मूल्य पाएका छौँ । यस वर्ष सुन्तलाबाट मनग्य आम्दानी हुने अपेक्षा गरेका छौँ ।”

म्यागङ–२ स्थित बुङ्ताङमा दुई दशकअघि धान फल्ने खेत र मकै, कोदो लगाउने बारी फाडेर सुन्तलाखेती विस्तार गरिएको थियो । पछिल्ला वर्षमा यहाँका किसानले जिल्लाका साथै मुलुकका अन्य जिल्लामा पनि सुन्तला पु¥याएर प्रशस्त आम्दानी लिँदै आएका सुन्तलाखेतीका अगुवा किसान गरबहादुर तामाङले बताए ।

“विसं २०६० मा सुरु गरेको सुन्तलाखेतीलाई अरु किसानले नपत्याउँदा व्यावसायिक उत्पादन चुनौतीपूर्ण बनेको थियो । पछिल्लो पाँच वर्षयता बुङ्ताङलाई ‘सुन्तला गाँउ’को नामबाट चिन्न थालिएको छ, अहिले यहाँको सुन्तला गाउँको पहिचान बनेको छ”, उनले भने ।

सुन्तला यहाँको पहिचान बन्नुका साथै उत्पादन वृद्धि भइरहेकाले गाँउपालिकाले व्यावसायिक खेतीलाई जोड दिँदै आएको उपाध्यक्ष सीता तामाङले बताइन् । उनका अनुसार म्यागङ–२ बुङ्ताङ, वडा नं ४ किम्ताङ, वडा नं ५ र ६ सामरीका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आइरहेका छन् ।

कम लगानीमा बढी आम्दानी हुने भएकाले यहाँका किसानले अहिले धान लगाउने खेतमा सुन्तलाको व्यावसायिक उत्पादन सुरु गरेका उपाध्यक्ष तामाङले बताइन् । किसानलाई गाँउपालिकाले निःशुल्क तथा सहुलियत शुल्कमा बिरुवा उपलब्ध गराउनुका साथै प्राविधिक ज्ञान, तालिम, बजारीकरणलगायत क्षत्रमा सहयोग गर्दै आएको उनले जानकारी दिइन् ।

उपाध्यक्ष तामाङका अनुसार पालिकामा क्रमशः सम्भाव्यता देखिएका अन्य क्षेत्रमा पनि सुन्तलाखेतीको विस्तार गर्ने योजना रहेको छ । एक पटकको लगानी र मुख्य मौसममा गरिने हेरचाहबाट राम्रो उत्पादन लिन सकिने भएकाले जिल्लाको म्यागङसहित आसपासका क्षेत्रमा सुन्तलाखेती विस्तार हुँदै गएको उनले उल्लेख गरिन् ।

हरेक वर्ष खेती र उत्पादन वृद्धि हुँदै गएको यहाँको सुन्तलाले जिल्लाको मागसहित काठमाडौँ, पोखरालगायत सहरको माग पनि धानिरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । 

तिहार र छठ सकिएसँगै सप्तरीका किसान धान काट्न व्यस्त

राजविराज (सप्तरी) । तिहार र छठ सकिएसँगै सप्तरीको पूर्वी भेगका किसान धान काट्न र भित्र्याउने व्यस्त हुन थालेका छन् । यो वर्ष समयमा वर्षा भएकाले उत्पादन राम्रो हुनुका साथै भित्र्याउने बेला पनि मौसमले साथ दिएपछि किसान उत्साहित छन् ।

जिल्लाको सप्तकोशी, कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिका तथा तिरहुत, महादेव र अग्निकृष्णासवरण गाउँपालिकाका किसान धान भित्र्याउन व्यस्त हुन थालेका हुन् । अग्निकृष्णासवरण–४ का किसान रमेश यादवले मौसमले साथ दिएकाले धान भित्र्याउन सहज भएको बताए । धान काटिसकेर गहुँ लगाइने भन्दै उनले पानी नपर्दै गहुँ छर्नुपर्ने भएकाले हतारमा काम भइरहेको उल्लेख गरे ।

“गाउँका अधिकांश युवा वैदेशिक रोजगारमा गएकाले गाउँघरमा धान काट्ने मजदुरको अभाव छ । वर्षभरि घर खर्च चलाउन १० कठ्ठा जग्गामा धान रोपेका छौँ । समयमा भित्र्याएर गहुँ छरेपछि अलि फुर्सद हुन्छ”, यादवले भने ।

स्थानीय सरस्वतीदेवी यादवले पनि परिवारलाई सघाउँदै छिन् । उनले खेतीपाती गर्न मेहनत आवश्यक पर्ने भन्दै सरोकार भएका निकायले किसानलाई आवश्यक अनुदान तथा प्राविधिक सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

यहाँका किसानले खेतको धान भित्र्याएपछि तोरी, आलु, तरकारी, मकै र गहुँ लगाउने गर्दछन् । धान वर्षभरिको खर्च जुटाउने मुख्य बाली भएकाले परिवारका सबे सदस्य काममा खटिएको सरस्वतीदेवीले बताइन्।

पाकेको बाली काटर मात्रै राख्दा झरेर जाने समस्या आउने भएकाले कुट्ने, झार्ने, थन्काउने काममा अग्निकृष्णासवरणको बनौली, टेङगरी, चिमटीलगायत क्षेत्रका किसान व्यस्त भएका स्थानीय मनोजकुमार यादवले बताए । “विगतका वर्षमा भन्दा यसवर्ष धान उत्पादन राम्रो छ । दुई बिघा जग्गामा धान रोपाइँ गरेको थिएँ, मनग्य उत्पादन भएपछि उत्साहित छौँ”, उनले भने ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सप्तकोशी, मोहुली, जीतालगायत खोला किनारमा रहेका अधिकांश किसानको धानखेत बगरमा परिणत भएको थियो ।

तिरहुत–३ का बुधिलाल यादवले भित्र्याउने बेला भएको धानखेत बगर बनेपछि पीडित अहिले राहत र सहयोगको पर्खाइमा रहेका बताए । यहाँस्थित चन्द्रनहरबाट समयमा सिँचाइ सुविधा नपाउँदा किसान अकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । आठ महिनादेखि नहरको पुलहरू पुनःनिर्माण भइरहेकाले सिँचाइ अभाव भउको स्थानीय बताउँछन् ।

चन्द्रनहरअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको फतेपुरबाट महादेवा गाउँपालिकाको पकरीस्थित खाँडो खोलासम्म तत्काल ३२ वटा नयाँ ‘साइफन’ पुनःनिर्माण भइरहेका छन् ।

जिल्लाको पूर्वी भेग तोपा, मन्सापुर, भगवतपुर, अकवरपुर, महादेवा, सोनरा, पकरी, कजौली, बथनाहा, इनर्वा, भारदह, चक्ला, विषहरियालगायत गाउँमा किसानले यसअघि चन्द्रनहरबाट सिँचाइ सुविधा पाउने गरेकामा अहिले महँगोमा डिजल तथा विद्युतीय प्रणालीमार्फत सिँचाइ व्यवस्था मिलाइएको महदेवा गाउँपालिकाका किसान महेन्द्रप्रसाद यादवले बताए ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले यसवर्ष समयमा रोपाइँ सकिएकाले विगतका वर्षभन्दा यसवर्ष बढी उत्पादन हुने अनुमान गरेको छ ।

उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दीर्घकालीन रूपमा समाधान गर्न प्रस्ताव गरेका छन्।

नेपाल चिनी उद्योग सङ्घका पदाधिकारीसँगको आज मन्त्रालयमा भएको छलफलका क्रममा उनले उखु किसान र चिनी उत्पादक उद्योगीका समस्या सरकारले दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने भएकाले सरोकारवालासहित एक विशेष कार्यदल बनाउन प्रस्ताव राखे।

‘उद्योग मन्त्रालयको आपूर्ति तथा उपभोक्ता हित महाशाखाका सहसचिवको नेतृत्वमा कृषि मन्त्रालय, चिनी उत्पादक उद्योगी, उखु उत्पादक किसान, चिनी आयातकर्ता र नेशनल साल्ट्र ट्रेडिङका प्रतिनिधि सम्मिलित विशेष कार्यदल बनाएर १५ दिनभित्र समस्या समाधानको निष्कर्ष निकाल्न मेरो अनुरोध छ, यो प्रक्रिया छिट्टै थाल्न म मन्त्रालयको मातहतका निकायमा निर्देश गर्छु’, मन्त्री भण्डारीले भने।

उनले जहिले पनि उखु उत्पादक किसान र चिनी उत्पादक उद्योगीले समस्या ल्याएर सरकारलाई गुहारिरहनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उखु किसानलाई खेती गर्नेतर्फ अभिप्रेरित गर्न आग्रह गरे। चिनी उद्योगीका समस्या समाधानमा सरकार सधैँ सकारात्मक मात्र नभई आवश्यक सहयोगका लागि तयार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले उद्योगीलाई उखु किसानका मर्का सम्बोधन गर्न पनि अनुरोध गरे।

नेपाल चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालसहितको टोलीले सरकारले भारतबाट चोरी निकासी भएर ल्याइने चिनी बन्द गर्नुपर्ने, उखु किसानलाई उन्नत बीउ वितरण गर्नुपर्ने लगायतका माग राखेको थियो। चिनी उद्योगबाट मङ्सिरदेखि चैतसम्मको कुल उत्पादित मोलासेसको पचास प्रतिशत सञ्चित गरी बाँकी पचास प्रतिशतसम्म निकासी गर्न दिने व्यवस्था भएकामा हाल विभिन्न आन्तरिक राजस्व कार्यालयबाट सो नियमको अपव्याख्या गरिएको भन्दै सङ्घले मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ।

स्वदेशमा समेत बिक्री गरिएको मोलासेसको परिमाण घटाई बाँकी रहेको मोलासेसको पचास प्रतिशत मात्रको अनुमति स्वीकृत गर्ने गरेकाले निकासीमा बाधा अवरोध खडा गरिएकामा सङ्घले मोलासेस निकासी गर्नुको विकल्प नभएको हुँदा त्यसको समाधानका लागि माग गरेको छ।

रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर

बागलुङ । ढोरपाटन उपत्यका नजिकै एउटा सानो बस्ती छ । बस्तीमा पुग्दा केही चिटिक्क सजिएका, केही जीर्ण बनेका घर देखिन्छन् । काठैकाठ र माटोढुङ्गाले बनेका बार्दलीसहितका अधिकांश घरमा ताला लगाइएको छ ।

एक दशक अघिसम्म ती घरमा मानिसको बसोबास थियो । अहिले भने यहाँका अधिकांश घर सुनसान छन् । दशकौँदेखि बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्दै गएपछि बस्ती रित्तो बन्दै गएको हो । विसं २०१८ मा तिब्बतबाट आएका शरणार्थी पोखरा, काठमाडौँलगायत ठूला सहरमा जान थालेपछि बस्ती रित्तिन थालेको हो ।

ढोरपाटन नगरपालिका–६ को छेन्तुङ र वडा नं ९ को स्यालपाखेमा बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्न थालेपछि यहाँ बनेका घर जीर्ण बन्दै गएका स्थानीय बताउँछन् ।

खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका शरणार्थीले अवसर खोज्दै सहर पस्न थालेपछि बस्ती रित्तो बन्दै गएको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए । पहिले स्यालपाखे र छेन्तुङ गाउँमा ठूलो सङ्ख्यामा शरणार्थी बस्ने गरेमा अहिले बसोबास गर्ने घट्दै गएका उनको भनाइ छ ।

“ढोरपाटनमा पहिले धेरै शरणार्थीको बसोबास थियो, अहिले विस्तारै बस्ती खाली हुन थालेको छ । अवसर खोज्दै बजारतिर बसाइँसराइ गनृ गलेपछि अहिले गाउँमा बुढापाका मात्र छन्”, पुनले भने, “विकासका हिसाबले ढोरपाटन पछाडि रहेकाले पनि युवा अवसर खोज्न सहर तथा विदेश फस्न थालेका हुन् ।”

नोर्जेलिङ तिब्बतीयन क्याम्प ढोरपाटनकी सचिव छिरिङ भुदीले अहिले ढोरपाटनमा करिब ४० जनाको मात्र बसोबास रहेको जानकारी दिए । आफ्नो बाउ र बाजे करिब ५३ वर्ष अघि यहाँ आएका भन्दै अहिले क्याम्पमा बुढापाका मात्र रहेका उनले उल्लेख गरे ।

राज्यबाट यहाँका शरणार्थीलाई आधारभूत सेवा उपलब्ध हुनुपर्नेमा भुदलिे जोड दिए । क्याम्पमा बस्दै आएका हुनेखानेहरू सहर झरेपछि अहिले सामान्य परिवारका शरणार्थी मात्रै यहाँ बस्ने गरेका उनले बताए । “पहिला यहाँ धेरै शरणार्थी बस्ने गरेका बुबा र हजुरबुबाले भन्नुहुन्थ्यो । अहिले घटेर ४० जना भएका छौँ”, भुदीले भने, “मानिस बसाइँ सरी जान थालेपद्धि अधिकांश घर जीर्ण बन्दै गएका छन् ।”

जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार पछिल्लो तीन वर्षमा शरणार्थी परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या पनि कम हुँदै गएको छ । आर्थिक वर्ष २०७८ /७९ मा ५६, आव २०७९/८० मा ५३ र गत आवमा ५० जनाले परिचयपत्र नवीकरण गरेका छन् ।

कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जापान मानव तस्करी गरेको आरोपमा आइतबार पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई अदालतले दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको हो ।

आइतबार बिहान विराटनगरबाट पक्राउ परेका अधिकारीलाई दिउँसो प्रहरीले काठमाडौं ल्याएको थियो । अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको छ । घटना सार्वजनिक भएपछि अधिकारीले राजीनामा दिइसकेका छन् भने पार्टीले पनि उनलाई निलम्बन गरिसकेको छ ।

कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप आइतबार दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा ज्यान गुमाएकाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका सात यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घाइतेहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको उनले बताए ।

रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालतले लामिछानेलाई अनुसन्धानका लागि १३ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन् ।

अदालतले उनीसहित गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । उनीविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले सांसद अधिकारीलाई काठमाडौं ल्याइयो

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ ।

आइतबार बिहान विराटनगरस्थित घरबाट पक्राउ परेका अधिकारीलाई दिउँसो प्रहरीले यति एयरजको जहाजबाट काठमाडौं ल्याएको हो । त्रिभुवन विमानस्थलबाट अधिकारीालई काठमाडौं प्रहरी परिसर लगिएको छ । अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुरयाउन खोजेको आरोप छ।

एमालेले शनिबार नै उनलाई निलम्बन गरिसकेको छ । अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए ।

तर जापानको अध्यागमनले अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो । यो घटना सार्वजनिक भएपछि अधिकारीले भन्दै पदबाट राजीनामा दिएका थिए ।

जापानले डिपोर्ट गरेका तीन जना प्रहरी हिरासतमा छन् भने उनीहरुको बयानका आधारमा प्रहरीले जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे पनि सोही अभियोगमा पक्राउ परेका छन् । पक्राउ परेकाहरूले आफूहरूले जापान जानका लागि १० देखि १३ लाख रूपैयाँसम्म बुझाएको बताएका छन् ।

शेयर बजारमा ६२ अंकको बृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिँदा करिब  १० अर्ब बराबरको कारोबार भएको छ । आइतबार नेप्से परिसूचक ६२ दशमलव ५४ अङ्कको वृद्धि पछि दुई हजार सात सय ३८ दशमलव ०६ को अङ्कमा कायम भएको हो ।

तीन सय २५ कम्पनीको दुई करोड २४ लाख ७४ हजार दुई सय ८१ कित्ता शेयर एक लाख छ सय ५१ पटक खरिदबिक्री हुँदा  नौ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ बराबरको कारोबार भएको छ ।

आज जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा बढी चार दशमलव २६ प्रतिशतको वृद्धि देखिएको छ । बैंकिङ एक दशमलव ६२, विकास बैंक दुई दशमलव ७१, वित्त दुई दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ९६ र लगानी समूह दुई दशमलव ५६ प्रतिशतले बढेको छ ।

जीवन बिमा दुई दशमलव १६, उत्पादन तथा प्रशोधन दुई दशमलव ३२, लघुवित्त एक दशमलव ५१, म्युचुअल फण्ड शून्य दशमलव ६२, निर्जीवन बिमा एक दशमलव ९५, व्यापार एक दशमलव १५ र अन्य समूह दुई दशमलव ५२ प्रतिशतले बढेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपरमादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सानिमा ग्रोथ फण्डको शेयर मूल्य छ दशमलव ७६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको रु ३८ करोड चार लाख ३७ हजारको शेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी प्रमोटर शेयर १० लाख ४७ हजार ३५ कित्ता शेयर किनबेच भएको छ ।

१५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा भूपेन्द्रलाई रजत

काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन् ।

ट्रेडिसनल चाइनिज मार्सल आर्टस् फेडरेसन, युएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथि उमेरसमूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा विभिन्न ३० राष्ट्रका २ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको बताइएको छ । भूपेन्द्रको यो पाँचौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन् ।

एनपिएल रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रिमियर लिग रोक्न माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

आइतबार रिटमाथि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यसले क्यानलाई राहत भएको छ ।

जोरा स्पोर्ट्स म्यानेजमेन्ट प्रालिका आमिर अख्तरले नेपाल प्रिमियर लिग नाम आफूले यसअघि नै सञ्चालन गरेको र दर्ता गरेको दाबी गर्दै सोही नाममा अर्को लिग गर्न नपाइने दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले यो प्रकरणमा कारण देखाऊ आदेश जारी गरेको छ ।

अख्तरले यसअघि नेपाल प्रिमियर लिगको नाममा क्रिकेट फ्रेन्चाइज लिग आयोजना गरेका थिए । तर, त्यसमा विवाद भएपछि उनी आफैँले अर्को संस्करण भने सो नामबाट नगरी एभरेस्ट प्रिमियर लिग नामबाट प्रतियोगिता आयोजना गरेका थिए ।

त्यतिबेला क्यान आईसीसीको निलम्बनमा रहेकाले क्यानबाहिरबाट यस किसिमका तीनवटा लिग हुने गरेका थिए । गतवर्ष क्यान आफैँले सञ्चालन गरेको नेपाल क्रिकेट लिग पनि विवादमा आएको थियो ।

त्यसपछि यो वर्ष भने क्यानले नेपाल प्रिमियर लिगको नाममा प्रतियोगिता गर्दैछ । प्रतियोगिताको धेरै काम पूरा भइसकेको छ । टिम चयनदेखि खेलाडी चयनसम्म भइसकेको छ ।

अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली र अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा २८२ (१) बमोजिम ओल र रेग्मीलाई राजदूत नियुक्त गरेका हुन् । संसदीय समितिले अनुमोदन गरेर एग्रिमो आएपछि राष्ट्रपति पोडेलले ओली र रेग्मीलाई राजदूत नियुक्त गरेका हुन् ।

नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् ।

न्याय परिषद्को सिफारिसमा संसदीय समितिबाट अनुमोदित निरौला र पाण्डेयलाई राष्ट्रपति पौडेलले आइतबार सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् । दुवै जना उच्च अदालतको न्यायाधीशबाट सर्वाेच्चको न्यायाधीश बनेका हुन् ।

धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी

कञ्चनपुर । धान बिक्री गर्न आउने किसानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले चेकमार्फत भुक्तानी गर्न थालेको छ । किसानको सहजताका लागि धान खरिद गरेसँगै भुक्तानीको व्यवस्था मिलाइएको कार्यालयका प्रमुख सुर्दशन थापाले जानकारी दिए ।

भीमदत्त नगरपालिकाको महेन्द्रनगर र शुक्लाफाँटा नगरपालिकाको झलारीमा खाद्यले धान खरिद केन्द्र सञ्चालनमा ल्याएको छ । जनशक्ति अभावमा बेदकोट नगरपालिकामा स्थापन गर्ने भनिएको खरिद केन्द्र सञ्चालनमा ल्याउन नसकिएको उनले उल्लेख गरे ।

“प्रदेश कार्यालयलाई यथाशीघ्र जनशक्ति उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेका छौँ”, प्रमुख थापाले भने, “जनशक्ति व्यवस्थापन भएसँगै एक–दुई दिनमा धान खरिद केन्द्र सञ्चालनमा ल्याउछौँ ।” उनका अनुसार सञ्चालनमा रहेका दुई वटै केन्द्रबाट हालसम्म आठ सय १२ क्वीन्टल धान खरिद गरिएको छ ।

प्रचारप्रसारको कमीले थोरै किसान मात्र धान बिक्रीका लागि केन्द्रमा पुगेकाले अहिले गाउँगाउँमा जानकारीसहित किसानलाई आवश्यकता अनुसार धान बिक्री गर्न अनुरोध गरिएको प्रमुख थापाले बताए ।

कम्पनीले प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा धान खरिद गरिरहेको छ । कम्पनीको १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको छ । गत वर्ष सोही लक्ष्य अनुसार दुई हजार नौ सय क्विन्टल धान खरिद गरिएको कम्पनीले जनाएको छ ।

धेरै वर्षपछि कम्पनीले शाखा कार्यालय बाहिर खरिद केन्द्र सञ्चालन गरी किसानलाई सहजीकरण गरेको हो । किसानबाट माटो नभएको, भुस, पराल नभएको, नभिजेको गुणस्तरीय धान कम्पनीले खरिद गरिरहेको छ ।

कम्पनीको शाखा कार्यालयले खरिद गरेको धान कुटानी गरी माग भएका क्षेत्रमा आपूर्ति गर्दै आएको छ । शाखा कार्यालयमा कार्यलय प्रमुख, सहयोगीसहित तीन जना कर्मचारी कार्यरत छन् ।

बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै

दमौली (तनहुँ) । तनहुँको दमौली निवासी ओमबहादुर गुरुङ, टेकप्रसाद गुरुङ र इन्द्रध्वज गुरुङले मारुनी बनेर पाउदुरे नाच्दै आएका छन् । व्यास नगरपालिकास्थित तमु सुधार समाजमा आबद्ध उनीहरू लामो समयदेखि पाउदुरे नाच संरक्षण अभियानमा जुटेका हुन्। समाजमा युवा नभएपछि बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै आएका हुन् ।

पाउदुरे नाचका लागि ख्यामबहादुर गुरुङ र चामबहादुर गुरुङले गुरुबाको भूमिका निभाउँदै आएको छ । त्यस्तै हिरालाल गुरुङ, ओमराज गुरुङले मादलेको भूमिका निभाउँछन् ।

युवाहरू शिक्षा, रोजगारीको सिलसिलामा गाउँ बाहिर रहेकाले बुढापाकाले सांस्कृतिक पहिचान बोकेको नाच संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नाच्दै आएका समाजका अध्यक्ष मनबहादुर गुरुङले बताए ।

उनले भने, “पाउदुरे नाच लोप हुन नदिन युवा नभएपनि बुढापाका यसको संरक्षण अभियानमा जुटेका छौँ ।” पाउदुरे गुरुङ जातिको लोपोन्मुख नृत्य भएकाले यसको संरक्षण गर्नुपर्छ भनेर आफूहरू लागिपरेको गुरुङको भनाइ छ ।

पछिल्लो पुस्तालाई पाउदुरे नाच सिकाएर यसको संरक्षण र सम्वर्द्धन अभियानमा सहभागी गराउने योजना रहेको ओमबहादुर गुरुङले बताए ।

उनले भने, “पाउदुरे नाच गुरुङ जातिको प्रसिद्ध नाच भएकाले यसको संरक्षणमा हामीहरू जुटेका छौँ । गाउँमा भएका युवालाई नाच सिकाएर पुस्ता हस्तान्तरण गरी यसको संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छौँ ।”

तमु विद्यार्थी छोंज धिंको शनिबारदेखि दमौलीमा सुरु भएको बाह्रौ महाधिवेशन उद्घाटन समारोहमा उनीहरुको समूहले पाउदुरे नाच प्रस्तुत गरेको थियो । कार्यक्रममा सहभागीले नाच आकर्षित रहेको प्रतिक्रिया दिएका थिए ।

ओमबहादुरका अनुसार पाउदुरे नाचमा बिजबारे, मारुनी, मादले, गुरुलगायत व्यक्ति आवश्यक पर्दछ । “यो नाच पुरुषले गुन्यूचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने प्रचलन छ । छेउमा नाच्ने दुई पुरुषलाई मारुनी र बीचमा नाच्नेलाई बिजबारे भनिन्छ”, उनले भने ।

नाचका क्रममा बिजबारेको भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्ने गुरुङ समुदायका अगुवा बताउँछन् । गीत गाउने मुख्य व्यक्तिलाई गुरुबा भनिन्छ । गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादलेलगायत अन्यले पनि गीतलाई छोप्दै लय मिलाउने गर्दछन् । पाउदुरे नाच्दा चारै दिशाका देवीदेवतालाई सम्झने चलन रहेको ओमबहादुरले जानकारी दिए ।

रास्वपा लक्षित देउवाको टिप्पणीः हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन् ।

धनगढी विमानस्थलमा आइतबार पत्रकारसँग संक्षिप्त कुरा गर्दै देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गरे ।

सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा देउवाले भने, ‘हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ ।’

देउवा गृह जिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन जानेक्रममा आज धनगढी आइपुगेका हुन् । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले सभापति देउवा पार्टीको जिल्ला कार्यसमिति बैठक, पालिका स्तरीय भेटघाट, उग्रतारामा लाग्ने मेला, गन्यापधुरा गाउँपालिकामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिए ।

तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रीडको बिजुली

काठमाडौं । हिमाल पारिको जिल्ला मनाङस्थित पर्यटन गन्तव्य तिलिचो तालको आधार शिविर (बेस क्याम्प) मा राष्ट्रिय प्रसारण ग्रिडको बिजुली पुगेको छ ।

मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्र सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युत् आपूर्ति सुरु गरिएको हो । बेस क्याम्पमा ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति गरिएको हो ।

बेस क्याम्पमा १० होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्ट सञ्चालनमा छन् । बेस क्याम्पमा विद्युत ग्राहक संख्या १५ छ । राष्ट्रिय प्रसारण लाइन पुग्नु पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ ।

सौर्य ऊर्जाको ब्याकअपले नधान्दा पर्यटकीय स्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गर्दै ङिस्याङ गाउँपालिका–९ का अध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताए ।

‘राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युत् प्रयोग गरी पानी उमाल्न थालिएको छ जसले ग्यास प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ,’ बेस क्याम्पमा होटलसमेत चलाइरहेका वडाध्यक्ष गुरुङले भने, ‘लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ, लाइन भरपर्दो र गुणस्तरीय बनाउन सकिए होटलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्यास प्रयोग पूर्णरूपमा कटौती गर्न सकिन्छ ।’

उनले उक्त क्षेत्रमा दाउरा महँगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्यास प्रयोग हुने गरेको बाए ।

केही दिनअघि खाङ्सार पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्र उज्यालो बनाउने अभियान अन्तर्गत तिलिचो तालको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पर्‍याइएको बताए ।

वडाध्यक्ष सहित स्थानीयसँगको छलफलमा कार्यकारी निर्देशक घिसिङले भने, ‘बेस क्याम्पमा राष्ट्रिय ग्रिड पुर्‍याउन केन्द्रित थियौं, ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत हुने मनाङ जिल्लाको समग्र विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन लाइन सुधार लगायत काम उच्च प्राथमिकतामा राखी अगाडि बढाउने छौं ।’

लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्र सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्याक्र्युस्थित ३३/११ केभी सबस्टेसन पुर्‍याइएको छ । उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेस क्याम्पमा पुर्‍याइएको हो ।

प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत् र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरेको छ ।

राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएका बेला साना जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए ।

मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत मनाङ नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भई त्यहाँबाट लाइन दिन सुरु गरेपछि मनाङको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।

धारापानी सबस्टेसनमा स्थानीय रूपमा विद्युत आपूर्तिका लागि आवश्यक संरचना व्यवस्था गरिएको छ । उक्त सबस्टेसनबाट लाइन दिन थालेपछि प्रसारण लाइन लम्बाइ घटी विद्युत् अपूर्तिमा सुधार हुनेछ । धारापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।