`

बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन

ढोरपाटन (बागलुङ) । बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो।

किसानले आलुखेतीतर्फ चासो देखाउन थालेपछि कृषि ज्ञान केन्द्रले लगानी गर्दै आएको छ। बागलुङको तमानखोला, ताराखोला, निसीखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिकालगायत क्षेत्र आलु उत्पादनका लागि उपयुक्त रहेको हुँदा किसानलाई प्रोत्साहनसमेत गर्न थालिएको हो।

गत वर्ष ज्ञान केन्द्रले नयाँ क्षेत्र विस्तारका लागि दुई करोड ६० लाख लगानी गरेको र चालु आर्थिक वर्ष एक करोड ५९ लाख लगानी गर्न थालेको हो। गत वर्ष गण्डकी प्रदेश सरकारले खायन आलुखेतीका लागि तीन करोड ६० लाख विनियोजन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए।

गत वर्ष ज्ञान केन्द्रले एक सय ३६ हेक्टर नयाँ क्षेत्रमा आलु लगाएको र यस वर्ष थप क्षेत्र विस्तार गर्ने उनको भनाइ छ। बर्खे र हिउँदे गरी दुई याममा आलु उत्पादन हुने जिल्लामा बर्सेनि करोडौँ भित्रिने गरेको छ। प्रमुख सिलवालका अनुसार यस वर्ष आलु तीन हजार सात सय हेक्टरमा लगाइएको थियो।

गत वर्षको तुलनामा बढी क्षेत्रफलमा आलु लगाए पनि उत्पादनमा ह्रास आउँदा ५६ हजार दुई सय ४० मेट्रिकटन मात्र आलु उत्पादन भएको प्रमुख सिलवाल बताउछन्। उनले चैत र वैशाख महिनामा लामो खडेरी पर्दा उत्पादनमा ह्रास आएको उनको भनाइ छ। गत वर्ष प्रतिहेक्टर १६ दशमलव पाँच टन आलु उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर १५ दशमलव दुई मेट्रिकटन मात्रै उत्पादन भएको सिवालले जानकारी दिए।

उनले भने, ‘पछिल्लो समय बागलुङका किसानले आलुखेतीप्रति निकै चासो दिनुभएको छ, प्रदेश सरकारले पनि बर्सेनि बजेट विनयोजन गर्दै आएको छ, पहिले पुरानो शैलीमा खेती गर्ने किसानले अहिले आधुनिक प्रविधिको प्रयोग गर्दै जानुभएको छ, ज्ञान केन्द्रले अहिले किसानलाई तालिम, आवश्यक बीउ, यन्त्र उपकरण र प्राविधिक सहयोग गर्दै गएको छ।’

बागलुङका किसानले उत्पादन गर्ने आलु बागलुङ, बुटवल, चितवनलगायत सहरमा पुग्ने गरेका छन्। किसानले हिउँदे आलु प्रतिकिलो ४० र बर्खे आलु प्रतिकिलो ५० मा बिक्री गर्दै आएका छन्। लामो समयको खडेरीका कारण अघिल्लो वर्षको तुलनामा झन्डै १५ प्रतिशत कम आलु उत्पादन भएको ढोरपाटन–९ का किसान झकेन्द्र विकले बताए। गत वर्ष करिब चार लाखको आलु बिक्री गरेकामा यस वर्ष दुई लाख ८० हजारको मात्रै बिक्री गरेको उनको भनाइ छ।

‘किसानका लागि कृषि ज्ञान केन्द्रले राम्रो सहयोग गरेको छ, आलुको बीउ दियो, सिँचाइका लागि पाइप उपलब्ध गराइयो, अरू यन्त्र पनि दियो, पहिले सामान्य तरिकाले आलुखेती गर्थ्यौँ, अहिले प्राविधिकले भनेअनुसार गर्छौं’, विकले भने, ‘यस वर्ष सुरुमा बोट रामै थियो, उत्पादन चाहिँ कम भयो।’

२५ अंकले बढ्यो नेप्से

काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार नेप्से मंगलबार भने दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से २५.८८ विन्दुले बढेर २६६५.८१ अंकमा आइपुगेको छ ।

३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर ४ अर्ब १७ करोड १६ लाख ६५ हजार ६१९ रुपैयाँमा कारोबार भएको छ । सबै समूहका उपसूचक बढेका छन्। १७ करोड ३२ लाखभन्दा कारोबारसहित गुडविल फाइनान्स अग्रस्थानमा आएको छ ।

यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र हिमालयन रिइन्सुरेन्स परेका छन्। आइतबार ४७.४४ अंकले घटेको बजार सोमबार ५७.९९ अंकले घटेको थियो ।

वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै

वीरगञ्ज । वीरगञ्जको नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदान स्तरोन्नति सुरु गरिएको छ। वर्षौदेखि मर्मतसम्भार र संरक्षण अभावमा रहेको मैदानको स्तरोन्नति थालिएको हो।

नेपाल क्रिकेट सङ्घले आगामी डिसेम्बरदेखि जनवरीसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा दुई दिवसीय एलिट कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेसँगै वीरगञ्जको क्रिकेट मैदान पिच तथा स्तरोन्नतिको काम अघि बढाइएको हो।

एलिट कपमा मधेश प्रदेश, बागमती, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्। पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले सम्भावित एलिट कपलाई लक्षित गरेर वीरगञ्ज क्रिकेट मैदानको स्तरोन्नति थालिएको जानकारी दिए।

‘वीरगञ्ज क्रिकेट मैदान लामो समयदेखि अलपत्र हुँदै आइरहेको थियो। एलिट कपको पूर्वसन्ध्यामा कम्तीमा क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको ‘पिच’ निर्माण थालनी गरेका छौँ,’ उनले भने, ‘‘मङ्सिरको दोस्रो सातासम्म क्रिकेट मैदानको पिच र अन्य संरचना निर्माण हुन्छ।’

नेपाल क्रिकेट सङ्घमा आवद्ध बङ्गलादेशका क्युरेटर एमडी अब्दुल अल मनुको नेतृत्वमा क्रिकेट मैदानमा पिच तयार पार्ने काम भइरहेको छ। ‘मैदानमा १८ इन्चको गहिरो बनाएर पिच निर्माण भइरहेको छ,’ उनले भने, ‘अहिलेसम्म पिचको फाउण्डेसन तयार भइसकेको छ। यो मैदानमा अन्तर्राष्ट्रियस्तरकै पिच बन्ने छ।’

क्रिकेट सङ्घका जिल्ला अध्यक्ष सिंहले पिच तयारसहित स्तरोन्नति गर्न मजदूरको ज्यालाबाहेक रु आठ लाख रुपैयाँ खर्च हुने जानकारी दिए। मैदान चार बिघा १८ कठ्ठा १५ धुर क्षेत्रफलमा फैलिएको छ।

अध्यक्ष सिंहले क्रिकेट मैदान मुआब्जा विवाद र बजेट अभावका कारण संरक्षण गर्न नसकिएको गुनासो गरे। ‘चार कठ्ठा जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन नसक्दा क्रिकेट मैदान संरक्षण र रेखदेख गर्न सकिरहेका छैनौँ,’ उनले भने, ‘मुआब्जाका लागि आर्थिक स्रोत र आवश्यक प्रक्रिया अघि बढाउन जरुरी छ।’

मधेश प्रदेश क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले मधेश क्रिकेटको उर्वरभूमि भए पनि पूर्वाधार कमजोर रहेको बताए उनले राज्यले मधेश प्रदेशमा क्रिकेटको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए। 

विचाराधीन सबै विधेयक आगामी अधिवेशनमा पेस गर्न समिति सभापतिहरुलाई सभामुखको निर्देशन

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिएका छन् । सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा सभामुखले यस्तो निर्देशन दिएका हुन् ।


बैठकमा सभामुख घिमिरेले ‘कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ’ भनेर चासो देखाएका उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए ।


बैठकमा समिति सभापतिहरुले संसद् अधिवेशन अन्त्य भएसँगै बैठक बस्न नसकेको जानकारी सभामुखलाई दिएका थिए । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति खानले भने, ‘हामी समितिका सभापतिहरु अधिकांश सांसद गृह जिल्ला गएकाले बैठक बस्न कोरमसमेत नपुगेको कुरा सभामुखसँग राख्यौँ ।’


सभामुख  घिमिरेले आज बिहान ११ः३० बजे दफावार छलफलका लागि विधेयक रहेका समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गरेका हुन् । संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाएका थिए ।


बैठकमा एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको थियो । एमालेका मुख्य सचेतक बर्तौलाले सभामुखले विशेषगरी संसदीय समितिको बैठक राख्नका लागि निर्देशन दिएको जानकारी दिए ।

रुपन्देहीमा छविलाल जोशीसँग बयान लिइँदै गर्दा बाहिर सहकारी पीडितको प्रदर्शन

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइरहँदा बाहिर सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले मंगलबार अदालतअगाडि विरोध प्रदर्शन गरेका हुन् । सुप्रिमपीडित संघर्ष समितिमार्फत विरोध प्रदर्शन गरिएको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान भइरहेको छ । उनीहरूले सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष जीबीलाई राजनीतिक संरक्षणमा भगाइएको आरोपसमेत लगाएका छन् ।

त्यस्तै उनीहरूले रवि लामिछाने, छविलाल जोशी र जीबी राईलाई राजनीतिक संरक्षण भएको समेत आरोप लगाएका छन् । ६ असोजमा पक्राउ परेका जोशीलाई सोमबार बयनका लागि पोखराबाट रुपन्देही ल्याइएको हो ।

सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिजबाट यातायातका साधन संचालन

मन्थली । रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको बेलिब्रिज निर्माण सकिएर मंगलबारदेखि संचालनमा आएको छ ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, ऊर्जा जलस्रोत तथा सिचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले बेलिब्रिज पुलको उद्घाटन गरेका छन् ।

रामेछापको मन्थली नगरपालिकाले बेलिब्रिज निर्माणमा सहयोग गरेको भन्दै नेपाली सेनालाई एक कार्यक्रमको आयोजना गरी धन्यवाद व्यक्त गरेको छ । बेलिब्रिज उद्घाटन भएसँगै सवारीसाधन चल्न थालेका रामेछापका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पुल सुनकोसी नदीमा आएको बाढीले रामेछाप पटीको भाग बगाएको थियो । बाढीले खुर्कोटको पुल बगाउँदा रामेछाप आवतजावत गर्न वैकल्पिक सडक दोलखा हुँदै र सित्खा पुल पार गरेर कष्टकर यात्रा गर्नुपरेको थियो ।

बेलिब्रिज पुल एकतर्फी सञ्चालन हुनेछ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को बेतिनी जोड्ने करिब १८ करोडको लागतमा १० वर्षअघि बनेको सुनकोशीको १०० मिटर लम्बाइ रहेको पुल बाढीले ५१ मिटर बगाएको थियो ।

रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्येपहाडी राजमार्गका लागि सुनकोसी नदीको पुलले सहज पार्दै आएको छ ।

टिनका टहराबाट मुक्तभए वेदकोटका मुक्तकमैया

वेदकोट । कञ्चनपुरको वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ । त्यतिबेला उनलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो।

नदीको छेउमै रहेको त्यो बस्तीमा बाढी पस्थ्यो । होचो भूभाग हुनाले डुबानका कारण जमिनमा उब्जाउ पनि हुँदैनथ्यो । आशापुरमा मुक्तकमैया बस्ती हो । विसं। २०५७ सालमा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई त्यहाँ जग्गा उपलब्ध गराएको थियो ।

हाल मुक्तकमैया बस्ती आशापुरको मुहार फेरिएको छ । ‘वर्षा याममा बाढी पसेर कटान र डुबान हुन्थ्यो । जमिनमा उब्जाउ नै नभएर दैनिक हातमुख जोर्न समस्या थियो,’ डगौँराले भने, ‘पछि नदी किनारमा तटबन्ध निर्माण भयो। जमिनमा माटो भरेपछि उब्जाउ पनि हुन थालेको हो ।’

हाल मुक्त कमैया शिविरका टिनका टहरा पक्की घरमा परिणत भएका छन् यहाँ मुक्तकमैयाको परिवार पनि बढेर २२ परिवार पुगेको छ । आशापुरको मुहार मात्रै होइन् मुक्तकमैयाको जीवनस्तरमा पनि सुधार भएको छ । यहाँका अधिकांश स्थानीय डकर्मी छन् । कोही वैदेशिक रोजगारीमा छन्भने केही सागसब्जी फलाएर मनग्गे आर्जन गर्न सफल भएका छन् ।

‘कमैया बस्दा दुःख थियो । दिन र रातमा काम गरेपछि दुईछाक खान पाइन्थ्यो, छोराछोरीलाई विद्यालय पढाउने कुरा कल्पना मात्र थियो,’ स्थानीय जानकी चौधरीले भने, ‘कमैया मुक्त भएपछि सुरुमा केहीवर्ष अफ्ट्यारो भयो । हाल क्षमताअनुसारको काम आफैँ गरेर जीवन चलाइरहेका छौँ ।’

उनका अनुसार कमैया बसेका घरमा महिलाले खेतीपाती, गाईवस्तु चराउनेलगायत घरका सबै काम गर्नुपथ्र्यो । पुरुषहरुलाई खनजोत गर्ने, दाउरा चिर्नेलगायत कामबाट फुर्सद हुँदैनथ्यो ।

कमैया मुक्तपछि सागसब्जी खेती गर्न थाल्नु भएकी जानकीको परिवारका लागि तरकारी खेती आम्दानीको गतिलो स्रोत बनेको छ ।

‘कमैया मुक्तिपछि सागसब्जी खेतीको तालिम लियौँ । खेती छोडेका छैनौँ । यसबाट हुने आम्दानीले घरखर्च चलिरहेको छ,’ उनी भन्छन्, ‘डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको छ ।’

कमैया मुक्तिपछि सरकारले एक परिवारलाई पाँच कठ्ठा जमिन उपलब्ध गराएको थियो । जानकीले आधा बिगाह जमिन अधियाँमा लिएर धान,गहुँ खेती गर्छन्। आफ्नै नौँ कठ्ठा जमिनमा काक्रा, फर्सी, लौका, घिरौला, बोडीलगायत सागसब्जी खेती गरेका छन्। च्याउखेती पनि गर्ने गरेको जानकीको भनाइ छ । मानबहादुर डगौराले पनि दश कठ्ठा जमिन भाडामा लिएर तरकारी खेती गरेका छन् ।

बारीमा उत्पादित तरकारी महेन्द्रनगरस्थित सब्जीमण्डीमा बिक्री गरेर उनले घरखर्च चलाउँदै आएका छन् । ‘अटो रिक्सामा तरकारी सब्जीमण्डीमा बेच्न लैजान्छौँ । सिँचाईँ हुँदा राम्रो उब्जाउ हुन्छ,’ मानबहादुर भन्छन्, ‘थोरै सिँचाईको असहजता छ । नहर लाग्दैन । बोरिङको पानीले सिँचाइ गर्नुपर्छ ।’

सागसब्जीबाट आर्जन भएको रकमले आशापुरमा मानबहादुर पक्की घर निर्माण गरेका छन् । आशापुरकै विक्रम डगौरा कमैया मुक्त भएपछि तीन पटक विदेश पनि गए। श्रीमती र छोरा बिरामी भएपछि स्वदेश फर्किएका विक्रम हाल गाउँमै सागसब्जी खेती गरिरहेका छन् ।

‘नौ वर्ष विदेशमा मजदुरी काम गरियो । त्यहाँबाट फर्किएपछि गाउँमै तरकारी खेती गरे । अहिले राम्रो आम्दानी भइरहेको छ,’ उनले भने, ‘स्वदेशमै मिहेनत गरेर विदेशको जस्तै कमाइ भइरहेको छ ।’

स्थानीय बलबहादुर डगौरा मिस्त्री काम गर्छन्। अब्बल मिस्त्री गनिने उनलाई काम गर्न भ्याईनभ्याई छ । कमैया मुक्ति घोषणापछि विभिन्न सङ्घसंस्थाले सीपमूलक तालिम दिएका थिए ।

त्यहीँ क्रममा मिस्त्रीको तालिम लिएको बलबहादुर बताउँछन्। ‘सुरुमा घर बनाउने ठाउँमा मजदुरी गरे । काम गर्दै जाँदा मिस्त्री भइयो,’ उनले भने, ‘मिस्त्री भएपछि परिवार पाल्न सहज भएको छ ।’

रूसमा सेना पठाउने उत्तर कोरियाली तयारीप्रति सियोल र नेटो चिन्तित

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले उत्तर कोरियाले रूसमा सेना पठाउन गरेको तयारी बारे चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण कोरियाको समाचार एजेन्सीका अनुसार प्योङयाङ र मस्को बिचको सैन्य सहयोग बारे संयुक्त प्रतिक्रियासहित छलफल गर्न नेटो महासचिव मार्क रुट र युन बीच फोन वार्ता भएको थियो ।

युक्रेनमा रूसको सैन्य कारबाही तथा रूस र उत्तर कोरियाबिचको मामला इन्डो–प्यासिफिक क्षेत्र र एटलान्टिक क्षेत्रको सुरक्षासँग जोडिएको पुनः एकपटक पुष्टि हुने युनले वार्तामा बताएका छन् ।

जसले अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पारी कोरियाली प्रायद्वीप र विश्वव्यापी शान्ति खतरामा पार्नेसमेत उहाँले उल्लेख गरेका छन् ।

नेटो र यसका सदस्य राष्ट्रहरूसँगको सहकार्यमा यसको प्रतिक्रिया खोज्ने आशा व्यक्त गर्दै युनले दक्षिण कोरियाले प्योङयाङ र मस्कोबीचको सैन्य सहयोगकोविरुद्ध सक्रिय रहि ‘चरणबद्ध उपायहरू’ अवलम्बन गर्ने बताए ।

वार्ताका क्रममा रुटले उत्तर कोरियाले रूसमा सेना पठाउँने निश्चित गरेको ‘गम्भीर चिन्ता’ व्यक्त गर्दै, यो निर्णयले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसङघीय सुरक्षा परिषद्का प्रस्तावहरूको खुल्लमखुल्ला उल्लङ्घन गरेको बताए ।

उनले रूस र उत्तर कोरियाबिचको सैन्य सहयोगको जवाफ दिन दक्षिण कोरियालाई सक्रिय रूपमा सहयोग गर्न नेटो तयार रहेको कुरामा जोड दिँदै दक्षिण कोरिया, युक्रेन र नेटोबीच रक्षा सहयोग र सुरक्षा संवादलाई सुदृढ पार्ने आशा व्यक्त गरेका छन् ।

दुवै पक्षले प्रविधिको प्रयोगसहित रुस र उत्तर कोरियाबिचको सहकार्यको घटनाक्रमलाई नजिकबाट निगरानी गर्न र संयुक्त प्रतिक्रिया गर्न सहमत भएका छन् ।

दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसले शुक्रबार उत्तर कोरियाले युद्धमा रूसलाई सहयोग गर्न करिब १२ हजार सेना पठाउने निर्णय गरेको तथा एह हजार ५०० सय सेना रुसको सुदूर पूर्वमा पठाएको जनाएको थियो ।

अफगानिस्तानमा वम विस्फोट हुँदा तीनजनाको मृत्यु

काबुल । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्फोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् ।

प्रान्तको कारा बाग जिल्लामा बालबालिकाहरू आलुको खेतमा काम गर्दै गर्दा दुर्घटना भएको विज्ञप्तिमा जनाइएको छ । विस्फोट हुँदा तीनजना बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ ।

अफगानिस्तानमा सन् २०२४ को पहिलो छ महिनामा बारुति सुरुङ र विस्फोटक अवशेषको विस्पोटमा कुल २९२ जनाको ज्यान गएको थियो । जसमध्ये अधिकांश बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा अफगानिस्तान विश्वको सबैभन्दा खतरनाक बारुतिसुरुङ युक्त देशहरू मध्ये एक एक बनेको छ जहाँ पटक–पटकको विस्फोटले अधिकाशं बालबालिकासहित दर्जनौँ मानिसहरू आकस्मिक रुपमा मृत्यु तथा अपाङगताको सिकार हुन बाध्य छन् ।

कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्

सुर्खेत  । स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन्। प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन्। जम्मा ७९ स्थानीय तहमा सात सय १८ वडा छन्। आठ स्थानीय तह रहेको डोल्पामा एक सय १५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्य चौकी छन्। यहाँका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुन सकेको छैन।

मुगुमा एक जिल्ला अस्पताल छ, भने २४ वटा स्वास्थ्य चौकी छन्। यहाकाँ चार स्थानीय तहमा कुनैमा आधारभूत अस्पताल निर्माण हुनसकेका छैनन्। हुम्लामा २६ वटा स्वास्थ्य चौकी छन् भने एउटा जिल्ला अस्पताल छ। यहाँ सात स्थानीय तह छन्।

जुम्लामा स्वास्थ्य चौकीको संख्या २९ छ। प्राथमिक स्वास्थ्य केन्द्र एउटा छ। यहाँ जिल्ला अस्पताल छैन। सङ्घीय सरकार मतहातको कर्णाली स्वास्थ्य प्रतिष्ठान सञ्चालनमा छ। जसले कर्णालीमा स्वास्थ्य उपचार सहज बनाएको छ। यहाँ आठ स्थानीय तह छन्।

कालिकोटमा २७ स्वास्थ्यचौकी र जिल्ला अस्पताल एक रहेको छ। नौ स्थानीय तहमध्ये पाँच वटामा प्राथमिक अस्पताल छन्। दैलेखमा प्राथमिक अस्पतालको संख्या चार रहेको छ भने स्वास्थ्य चौकीको संख्या ५५ छ। यहाँ ११ वटा स्थानीय तहमा चार वटा प्राथमिक अस्पताल छन्। जाजरकोटका सात स्थानीय तहमा तीन प्राथमिक अस्पताल र ३० वटा स्वास्थ्य चौकी रहेको स्वास्थ्य सेवा निर्देशनायलका सूचना अधिकारी नवराज कँडेलले जानकारी दिए।

रुकुम पश्चिममा सामान्य अस्पतालको संख्या एक रहेकोमा आधारभूत अस्पतालको संख्या चार रहेको छ। एक जिल्ला अस्पताल छ। निजी अस्पतालको संख्या चार छ। यहाँ छ स्थानीय तह छन्। १० स्थानीय तह रहेको सल्यानमा प्राथमिक अस्पतालको संख्या दुई र स्वास्थ्य चौकीको संख्या ४४ छ।

सुर्खेतमा एक कोभिड अस्पताल छ। एक सेकेण्डरी अस्पताल, एक जनरल, एक प्राथमिक, ४७ स्वास्थ्य चौकी र चार निजी अस्पताल छन्। तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र छन्। सुर्खेतमा नौ स्थानीय तह छन्।

२१ प्राथमिक अस्पताल रहेको कर्णालीमा तीन सय ३० वटा स्वास्थ्य चौकी छन्। सात जिल्ला अस्पताल र ११ प्राथमिक स्वास्थ्य केन्द्र छन्। ४८ स्थानीय तहमा अझै आधारभूत अस्पताल निर्माण हुनसकेका छैनन्। भौगोलिक विकटताका कारण कर्णालीमा अझै सबै पालिकामा आधारभूत तह अस्पताल निर्माण हुन नसकेको जनाइएको छ। जसका कारण सर्वसाधारणले स्वास्थ्य उपचारको सहज सेवा प्राप्त गर्न सकेका छैनन्।

कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकारले विभिन्न योजना अघि सारेको छ । सरकारले नसर्ने रोग, कलिलै उमेरमा आमा हुने समस्या र घरमा सुत्केरी हुने दर घटाउने योजना अगाडि सारेको छ । पछिल्लो समय रक्तचाप, मधुमेह, क्यान्सरजस्ता नसर्ने रोगका साथै मानसिक रोगको समस्या बढ्दो छ ।

गाउँबस्तीमा मानसिक रोग र नसर्ने रोग बढ्दै गएकाले आगामी दिनमा यी रोग निदानका लागि बजेट र कार्यक्रमसहित योजना सञ्चालन गरिने स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यस्तै २० वर्ष नपुग्दै आमा हुने प्रवृत्तिले स्वास्थ्य समस्या जटिल बन्दै जाँदा बालविवाह न्यूनीकरणलगायतका कार्यक्रमलाई पनि समन्वयका साथ प्रदेशभरका सबै स्थानीय तहसँग सहकार्य गर्ने योजना रहेको निर्देशनालयले जनाएको छ ।

कर्णालीमा स्वास्थ्य संस्थामा सुत्केरी हुने दर घटेको छ । गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना गरिए पनि मापदण्डअनुसारका नभएकाले घरमै सुत्केरी हुने दर केही बढेकाले बर्थिङ सेन्टरलाई मापदण्डअनुसार बनाउने र दक्षजनशक्ति पूर्ति गर्ने योजना रहेको निर्देशनालयका निर्देशक डा रविन खड्काले बतृ । विगतका तुलनामा कर्णालीमा आठ प्रतिशतले घरमा सुत्केरी हुने दर बढेको हो ।

कर्णालीका बालबालिकाका अभिभावक रोजगारका लागि भारततिर जाने हुँदा बालालिकाले पूर्ण खोप लगाउन छुट्ने समस्या बढ्दै गएकाले पूर्ण खोप लगाउन पहल थालिने जनाइएको छ । स्वास्थ्य निर्देशक डा खड्काले प्रदेश पूर्ण खोपयुक्त भइसक्दा पनि बालबालिका खोप लगाउनबाट छुटेकाले उनीहरूलाई खोप लगाउन स्थानीय तहलाई आवश्यक समन्वय गरी काम गर्ने निर्णय गरिएको जानकारी दिए।

पाल्पामा भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक खेल हुँदै

रामपुर । पाल्पामा खेलकुदका क्रियाकलाप बढ्दै गएका छन् । खेलकुदमा खेलाडीको मनोबल बढाउन प्रतिस्पर्धात्मक रुपमा विभिन्न खेल सञ्चालन भइरहेका छन् ।

मण्डली स्पोर्टस क्लब पूूर्वखोला–१ सिलुवाको आयोजनामा पाल्पामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक रुपमा खेल हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक हुनेगरी खुल्ला क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोेगिता सञ्चालन हुने भएपछि खेलप्रेमीमा उत्साह बढेको छ ।

यही कात्तिक २१ देखि २४ गतेसम्म आठौँ मण्डली कप २०८१ सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीको सहभागिता रहनेछ । क्लबमार्फत जुनसुकै स्थानका खेलाडी पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने अवसर रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा विभागीय टोलीबाहेक अन्य जुनसुकै क्लबले पनि प्रतिस्पर्धा गर्न पाउने र विभागीय क्लबका खेलाडी पनि अन्य क्लबमार्फत प्रतियोगितामा सहभागी हुन पाउनेछन् । पुरुषतर्फ ६ वटा क्लब र महिलातर्फ ४ वटा क्लबको सहभागिता रहने क्लबका अध्यक्ष एवम् भलिबलका राष्ट्रिय रेफ्री अनन्तप्रसाद श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगितामा १४ वटा खेल हुनेछन् ।

पुरुष भलिबल प्रतियोगितातर्फ प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय पुरस्कार १ लाख, तृतीय पुरस्कार ७० हजार र सान्त्वना पुरस्कार ३५ हजार रहेको क्लबका सचिव कृष्णप्रसाद पँगेनीले बताए । यस्तै, महिलातर्फ प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार, तृतीय पुरस्कार १० हजार र सान्त्वना पुरस्कार ५ हजार रहेको छ ।

विविध कार्यक्रमका साथ जङ्गी अड्डामा बिहीबार राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै

काठमाडौं । विश्वभर शान्ति, एकता, मैत्री र मेलमिलाप प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ वार्षिकोत्सव पर्सि बिहीबार विविध कार्यक्रमका साथ जङ्गी अड्डामा मनाइँदै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च पास, झाँकी प्रदर्शन, तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको प्रस्तुति रहनेछ ।


जङ्गी अड्डामा आयोजना हुने राष्ट्रसङ्घ स्थापना दिवस कार्यक्रमले शान्ति, समानता र सहकार्यका लागि एकजुट हुने सन्देश प्रवाह गर्ने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए।

अन्तर्राष्ट्रिय श्रम, खाद्य तथा कृषि, विश्व स्वास्थ्य, हुलाक, नागरिक उड्डयन, जलवायु, बौद्धिक सम्पत्ति, सामुद्रिक, कृषि विकास कोष, औद्योगिक विकास र पर्यटन सङ्गठनलगायत उक्त विश्व संस्थाका १५ वटा विशिष्टीकृत निकायमार्फत श्रम, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलवायुका क्षेत्रमा मुलुकलाई सहयोग प्राप्त हुँदै आएको छ ।


सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य भएको नेपालले त्यसको तीन वर्षपछि शान्ति सैनिक परिचालन गर्न थालेको हो । मुलुकले शान्ति सेनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मी परिचालन गर्दै आएका छ । राष्ट्रसङ्घीय शान्ति सेनामा सैनिक परिचालन गर्ने मुलुकको सूचीमा नेपाल प्रथम स्थानमा छ ।

राष्ट्रसङ्घको आह्वानमा हाल विश्वका एक सय २० राष्ट्रबाट ९७ हजार शान्ति कार्यरत छन् ।

राष्ट्रसङ्घको छाता मुनि विश्वका विभिन्न मुलुकमा स्थापना भएका ११ शान्ति मिसनमा छ सय ५१ महिलासहित पाँच हजार नौ सय १८ नेपाली शान्ति सैनिक परिचालन भएछन् । शान्ति सेनामा महिला परिचालन गर्ने मुलुकको सूचीमा पनि नेपाल शीर्षस्थानमा छ । शान्ति मिसनमा सशस्त्र प्रहरी बलबाट एक सय ९५ र नेपाल प्रहरीका २८ जना कार्यरत छन् ।

द्वन्द्वबाट जटिल, जोखिम र चुनौतीपूर्ण बनेको परिवेशमा पूर्ण निष्ठा र व्यावसायिकताका साथ काम गरेर नेपाली शान्ति सेनाले देशको गरिमा बढाएको छ । नेपाली सेनाका अनुसार हालसम्म ४४ मिसनमा एक लाख ५३ हजार छ सय ५४ नेपाली शान्ति सैनिक आफ्नो सौर्य प्रदर्शन गरेका छन् ।

सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक परिचालन गरेर विश्वशान्ति स्थापनाका निम्ति स्थापना भएको राष्ट्रसङ्घसँग सहकार्य सुरु गरेको नेपालले सन् १९७४ मा नेपाली सेनाको पुरानो गोरख गणलाई इजिप्टमा परिचालन गरेको थियो । हालसम्म ७३ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६९ जना घाइते भएका छन् ।

शान्ति सेनाका पूर्वफोर्स कमाण्डर ईश्वर हमाल नेपाली सैनिक व्यावसायिक तथा चुनौतिपूर्ण परिस्थितिमा पनि निर्भिकतापूर्वक निर्देशन कार्यन्वयन गर्ने भएकाले सबै फोर्स कमाण्डरले नेपालीलाई रुचाउने गरेका बताउँछन् । मिलनसार र उत्कृष्ट ढङ्गबाट जिम्मेवारी पूरा गरेकै करण राष्ट्र सङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिकको पहिलो रोजाइमा नेपाली सेना पर्दै आएको उनको विश्लेषण छ ।

राष्ट्रसङ्घबाट माग भएमा १० हजार सैनिक परिचालन गर्न नेपाल तयार रहेको सरकारले बताउँदै आएको छभने नेपालको योगदानलाई कदर गर्दै सिरियास्थित शान्ति मिसनको फोर्स कमाण्डरको जिम्मेवारी बलाधिकृत रथी निर्मल थापाले सम्हाल्ने अवसर प्राप्त भएको छ । यसअघि कृष्णनरसिंह थापा, भिक्ट्री राणा, बालानन्द शर्मा, पवनजङ्ग थापा, पूर्णचन्द्र थापाले फोर्स कमाण्डरको जिम्मेवारी सम्हालेका थिए ।

नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने

चितवन । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको काली खोलाको पुल दशैंअगाडि नै सञ्चालनमा आएको हो भने नाम्चे र तुइनखोला पुल कात्तिक मसान्तसम्ममा सञ्चालनमा आउनेगरी काम भइरहेको छ । ती दुवै पुलको कालोपत्रको अन्तिम काम र रङ्गरोगनका काम मात्र बाँकी छ ।

आचार्यले भने, “दशैंमा कामदार घर गएकाले केही ढिला भयो, यो महिनाको मसान्तसम्ममा काम सकिन्छ ।” पहरो काटेर निर्माण भइरहेको खहरे खोलाको पुलमा पहुँच सडकका लागि धेरै तलबाट पर्खाल लगाउनुपर्ने भएकाले थप दुई महिना लाग्ने उनले बताए ।

पुस मसान्तसम्ममा यो सडकका १९ वटै पुल नयाँ निर्माण सम्पन्न हुने आचार्यको भनाइ छ । यस सडकमा १९ वटा पुल छन् । त्यसमध्ये विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि चार नयाँ पुल निर्माण गरिएको थियो ।

विश्व बैङ्कको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलसमेत ११ मिटर फराकिला बनाइएको छ ।

पुल निर्माण अनक कन्स्ट्रक्सनले गरेको हो । विसं २०७६ को चैतमा रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो ।

तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो । यो सडक राजधानी छिर्ने र बाहिरिने मुख्य सडक हो ।

विगतका वर्षमा पहिरोका कारण वर्षायाममा धेरै सास्ती व्यहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिलो भएसँगै केही सहज हुँदै आएको छ । यही क्रममा पहिरो रोक्नका लागि कामसमेत गरिएको छ ।

‘केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक भएको छ। यस टिजरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ । टिजरले पनि प्रेम, द्वन्द्व, र रहस्यलाई विशेष रूपमा समेटेको छ ।

कात्तिक ३० गतेदेखि रिलिज हुने फिल्मले रहस्य र प्रेमको कथामार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।

https://www.youtube.com/watch?v=F5a7T3RTlDU

दसैँ–तिहारलाई कोसेली कर्णालीको स्याउ

राँझा (बाँके) । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ ।

आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ ।

नेपालगन्जको धम्बोझीमा कर्णालीको स्याउ किन्दै गरेका बाँकेको खजुराका युवा व्यवसायी शतिश निरौलाले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद तथा मान्यजनकहाँ जाँदा कोसेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको बताए ।

“सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगन्जबाट अन्यत्र जाँदा दसैँ–तिहारमा कोसेलीका रुपमा लैजाने सहज भएको छ”, उनले भने, “विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तोसमेत भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ ।”

नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगर निवासी मङ्गलीमाया श्रेष्ठले यस वर्षको दसैँमा कर्णालीको स्याउ कोसेलीका रुपमा १५ किलो खपत गरेको बताए । घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दसैँको टीका, जमरा र आशीर्वाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउ नै बोकेर जाने गरेको उनको भनाइ छ ।

नेपालगन्जको धम्बोझीमा तिहारलाई लक्षित गरेर अहिले पनि कर्णालीको स्याउ किनबेच गर्नेको भीडभाड हुने गरेको छ । नेपालगन्जको धम्बोझी चोकमा कर्णालीकै महिलाहरुले असोजको पहिलो हप्तादेखि नै स्याउको बिक्री–वितरण गर्दै आएको छ ।

जुम्लाको सिँजा गाउँपालिकाबाट नेपालगन्जमा स्याउ बिक्री गर्न आएकी शीतली रोकायले दैनिक २५ देखि ३० किलोसम्म स्याउ बिक्री गर्ने गरेको बताए । अन्य बेलाभन्दा दसैँ–तिहारको बेला स्याउ धेरै बिक्री हुने गरेको उनको भनाइ छ ।

नेपालगन्जका अन्य फलफूल पसलमा समेत उपभोक्ताले कर्णालीकै स्याउ किन्ने गरेका छन् । नेपालगन्जको त्रिवेणी मोडस्थित पुरानो फलफूल पसल महाराजा फ्रुटका सञ्चालक कमल सुनारले यो वर्ष कर्णालीको स्याउले भारतीय र चाइनिज स्याउलाई जितेको बताए ।

उनले आफ्नो पसलमा आउने उपभोक्ताले कर्णालीको स्याउ नै खोज्ने गरेको बताए । यो दसैँमा कर्णालीको स्याउ अन्य समयको तुलनामा तीन गुणा बढी बिक्री भएको छ । बाहिरबाट आउने स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिलो र सस्तोसमेत भएकाले उपभोक्ताको रोजाइमा परेको सुनारले उल्लेख गरे ।

कर्णाली स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको आयात घटेको छ । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको ‘अग्र्यानिक’ स्याउ ठूलो मात्रामा नेपालगन्जमा भित्रिएको छ ।

भारतीय स्याउ प्रतिकिलो एक सय ५० देखि दुई सय ५० र चीनको स्याउ प्रतिकिलो एक सय ६० भन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको अग्र्यानिक स्याउ बाँकेमा प्रतिकिलो ९० देखि एक सय २० सम्ममा पाइन थालेपछि यो वर्षको दसैँ–तिहारमा उपभोक्तालाईको रोजाइमा परेको स्थानीय व्यवसायी रमजान कबडियाले बताए ।

उनका अनुसार अहिले जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ । भारतीय स्याउ महँगो र चीनको स्याउ त्यति स्वादिलो नभएकाले कर्णालीको स्याउको माग अत्यधिक बढेको छ । कबडियाले सीमापारिबाट आउने भारतीय नागरिकले समेत कोसेलीका रुपमा कर्णालीको स्याउ किनेर लैजाने गरेको बताए । 

परराष्ट्रमन्त्रीका सय दिनः कूटनीतिक सक्रियता, सम्बन्ध विस्तारमा जोड

-एकराज पाठक
 प्रायः परराष्ट्रमन्त्रीको क्षमता र योग्यताको मापन उसको ‘इङ्गेजमेन्ट’ अर्थात द्विपक्षीय या बहुपक्षीय भेटवार्ता र राष्ट्रिय ‘एजेन्डा’सहितका अन्तर्राष्ट्रिय भ्रमणहरुमा गर्ने गरिन्छ । यसलाई कुनै पनि देशको परराष्ट्रमन्त्रीको कूटनीतिक सक्रियता पनि भनिन्छ । धेरै वैदेशिक भ्रमण र ती भ्रमणका क्रममा आफ्ना राष्ट्रिय हित र चासोका मुद्दाहरुमा वार्तालाप गरी आफ्ना पक्षमा कूटनीतिक कौशलता प्रदर्शन गर्नु नै परराष्ट्रमन्त्रीको क्षमता हो ।   


यो कसीबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको सय दिनको मूल्याङ्कन गर्दा उहाँ सफल देखिनुहुन्छ । उहाँले नेपालको परराष्ट्रमन्त्रीका हैसियतले गत भदौ पहिलो साता छिमेकी मुलुक भारतबाट विदेश भ्रमण गर्नुभएको थियो । त्यसलगत्तै उहाँ विश्वका अन्य देशहरुसम्म पुगेर आफ्नो कूटनीतिक क्षमता र योग्यताको राम्रोसँग प्रदर्शन गर्नुभएको छ । उहाँले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा उपस्थितिमार्फत नेपालको कूटनीतिक दायरा विस्तार गर्नाका साथै राष्ट्रिय हित र हाम्रा चासोका मुद्दाहरू प्रमुखताका साथ उठाउँदै आउनुभएको छ ।   


मन्त्री डा राणा भदौ २ गते छिमेकी राष्ट्र भारत जानुभयो र नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल गरी नेपालका एजेन्डाहरु राख्नुभयो । त्यसपछि क्यानाडामा सम्पन्न विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी भई विश्वका १५ देशका विदेशमन्त्रीसँग द्विपक्षीय र बहुपक्षीय वार्ता गर्नुभयो । त्यसलगत्तै संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा उपस्थिति जनाउँदै नेपालका एजेन्डा राख्नुभयो भने कतारको दोहामा एसिडीको तेस्रो बैठकमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्नाका साथै विभिन्न देशका मन्त्रीहरुसँग द्विपक्षीय वार्ता गर्नुभयो ।      


भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा उहाँ भारत जानुभएको थियो । परराष्ट्रमन्त्री नियुक्त भएपछि यो नै उहाँको पहिलो भ्रमण थियो । यो भ्रमण दुई देशबीचको औपचारिक अर्थात् परम्परागत भ्रमणमा मात्र सीमित रहेन, उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशङ्करसँग नेपालको राष्ट्रिय हित र चासोका एजेण्डासहित वार्ता पनि गर्नुभएको थियो । ती भेटमा नेपाल–भारतबीच विविध विषयमा सहकार्यमा जोड दिइएकाले दुई देशबीचको आपसी सहयोगमा आगामी दिनमा अभिवृद्धि हुने अपेक्षा पनि गरिएको छ । 


उहाँको भारत भ्रमणलाई भारत सरकारले दिएको उच्च प्राथमिकताको त्यस समय निकै चर्चा पनि भएको थियो । प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेटवार्तामा आफू र भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताका बारेमा छलफल गरेको र यो उच्चस्तरीय भेटवार्ताले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको पनि मन्त्री डा राणाले बताउनुभएको थियो । 


यस भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशङ्करले भारतले नेपालबाट एक हजार मेगावाट विद्युत् आयात गर्न लागेकामा खुसी व्यक्त गर्नुभएको थियो । नयाँदिल्लीमा परराष्ट्रमन्त्री डा राणासँग द्विपक्षीय भेटवार्तापछि सोही दिन नै मन्त्री जयशङ्करले भारतले नेपालबाट करिब एक हजार मेगावाट बिजुली आयात गर्ने भएकोमा खुसी लागेको बताउनुभएको थियो । यही भ्रमणकै क्रममा भारतले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप दुई सय ५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको थियो । अन्तरदेशीय व्यापार हेतु भारतीय प्राधिकरणले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप दुई सय ५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति दिएको थियो । नयाँ निर्णयसँगै भारतले दिएको कुल स्वीकृत परिमाण अब नौ सय ४१ मेगावाट पुगेको छ । नेपालको ऊर्जा कूटनीतिको एक महत्वपूर्ण कडीका रुपमा लिइने यस सहमतिबाट भारतले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् आयातका लागि गरेको सहमतिको सुरुआत पनि भएको थियो ।  


मन्त्री डा राणा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन गएका बेला न्युयोर्कमा विविध कार्यक्रम र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति दर्शाउँदै नेपालको कूटनीतिक दायरा विस्तार गर्ने र आफ्ना धारणाहरु राख्ने अवसरका रुपमा सक्रिय रहनुभयो । महासभाका दौरानमा उहाँले संयुक्त राष्ट्रसङ्घको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालको राष्ट्रिय हित, हाम्रा चासोका मुद्दाहरू र जलवायु परिवर्तनजन्य समस्यामा नेपाल परिरहेको विषयलाई विश्वका नेताहरु र विश्व मञ्चमा प्रमुखताका साथ उठाउनुभएको थियो ।  


महासभाकै क्रममा असंलग्न राष्ट्रहरुको सङ्गठन, नामको मन्त्रिस्तरीय बैठकलाई सम्बोधनका क्रममा नेपाली युवा विपिन जोशीको रिहाइका लागि उहाँले विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो । यसका लागि सहगोग गरिदिन विश्व समुदायसँग उहाँले गरेको आग्रहले त्यहाँ उपस्थित विश्वका नेताहरुको ध्यानाकर्षण भएको थियो । त्यसै क्रममा जी७७ समूह र चीनका अतिरिक्त विश्वका अतिकम विकसित देशहरुको संस्था एलडिसीको अध्यक्षका हैसियतले सो संस्थामा आबद्ध नेताहरुलाई गर्नुभएको सम्बोधनले पनि नेपालको कूटनीतिक क्षमतालाई थप अभिवृद्धि गर्न सहयोग गरेको थियो । 


यी बैठकहरुमा मन्त्री डा राणाले महामारी, जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपत्जन्य विनाश, आर्थिक सङ्कटलगायत समस्या झेल्नुपरिरहेको अवस्थाका साथै नेपाल र नेपालजस्तै तेस्रो विश्वका देशहरुका साझा समस्याहरुको उजागर गरी ती देशलाई आवश्यक आर्थिक सहायताको कुरा राख्दा ती मञ्चहरु आबद्ध देशले उहाँको प्रशंसा गरेका थिए । यी महत्वपूर्ण बैठकहरुमा नेपालको कूटनीतिक सम्बन्धको दायरा विस्तार गर्ने, नेपालको आफ्नो चासो र हितका विषयहरु अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरिरहेका समस्याहरु विश्व समुदायलाई सुनाउने र नेपाललाई आवश्यक सहयोगका लागि अपिल गर्ने काम उहाँले गर्नुभएको थियो । 


त्यसैगरी, नेपालमा शान्ति प्रक्रिया, महिला सशक्तीकरण एवं प्रजनन अधिकारका क्षेत्रमा भएका प्रगतिहरुका बारेमा पनि उहाँले ती फोरमहरुमा जानकारी दिनुभएको थियो । मन्त्री डा राणाले यसपटक अतिकमविकसित मुलुकहरूका तर्फबाट जी२० का विदेशमन्त्रीहरुको बैठकलाई पनि सम्बोधन गर्ने अवसर प्राप्त गर्नुभएको थियो । यी मुलुकहरूलाई सहयोग अभिवृद्धि गर्न प्रमुख अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूमा अतिकम विकसित मुलुकको प्रतिनिधित्व बढाउन उहाँले राखेको प्रस्तावको विश्वका नेताहरुले प्रशंसा गरेका थिए । 


त्यसैगरी, नेपालले भूपरिवेष्टित विकासशील देशहरूको मन्त्रिस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने अवसर प्राप्त गरेको थियो र सो बैठकमा यी देशको विकास चुनौतीहरू सामना गर्न वैदेशिक सहयोग, वैदेशिक लगानी, वैदेशिक व्यापार प्रवद्र्धनसम्बन्धी सहयोग तथा पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय साझेदारी हुनुपर्ने विषयमा उहाँले दिनुभएको जोडको ती देशका नेताहरुले निकै प्रशंसा गरेका थिए । त्यस क्रममा मन्त्री डा राणाले इन्डोनेसिया र सर्बियाका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपाल र ती देशबीच कूटनीतिक र विशेष (अफिसियल) राहदानी वाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर पनि गर्नुभएको थियो ।


यसैबीच, नेपाल र अमेरिकाबीच पनि पहिलोपटक दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेटिभ मेकानिजम) स्थापना गर्नेसम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र संयुक्तराज्य अमेरिकाका तर्फबाट राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री जोन बासले वासिङटन डिसीमा हस्ताक्षर गर्नुभएको हो । यो सम्झौता नेपाल र अमेरिकाबीचको सम्बन्धमा एक मत्वपूर्ण उपलब्धि भएको र यसबाट दुई देशबीच व्यापार, लगानी, पर्यटन, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा आपसी सहयोग र समन्वयका साथ अघि बढ्न थप मार्ग प्रसस्त गर्ने नेपाल र अमेरिकी पक्षले जनाएका छन् ।  


यसअघि मन्त्री डा राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुनुभएको थियो । विश्वका १५ देशका विदेशमन्त्री सहभागी रहेको सो मञ्च नेपालका लागि पनि एक महत्वपूर्ण कूटनीतिक अवसर थियो । जहाँ उहाँले नेपालको अवस्था, नेपालमा महिला अधिकारको अवस्था र महिला नेतृत्वले भोगेका समस्याहरुका साथै मिथ्या सूचनाले महिलामाथि पारेको प्रभावजस्ता विषयमा नेपालका तर्फबाट धारणा राख्नुभएको थियो । सो मञ्चका क्रममा ‘साइडलाइन’मा भएका भेटघाटहरु पनि महत्वपूर्ण रहेका थिए । 


कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनका क्रममा पनि मन्त्री डा राणाले ‘साइडलाइन’ भेटवार्ता तथा बैठकहरुमा विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवम् मन्त्रीहरुसँग नेपालको हितमा कुराकानी गर्नुभयो । सो सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरुको सहभागिता रहेको थियो । एकै समयजस्तो परेका टोरन्टो बैठक, राष्ट्रसङ्घीय महासभा र एसिडी बैठकका क्रममा भएका विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता र बैठकहरुका साथै ती मञ्चमा नेपालका तर्फबाट राखेका धारणाहरुमा नेपाल स्पष्ट रुपमा सुनिने र देखिनेगरी उपस्थित भएको थियो । यसले नेपालको कूटनीतिक दायराको विस्तार गरी यसको क्षमता विकासमा महत्वपूर्ण सहयोग पुगेको महसुस गरिएको छ ।


लामो समयसम्म परराष्ट्र मन्त्रालयमा सङ्गठनात्मक व्यवस्थापन सर्वेक्षण (ओएनएम) हुन नसक्दा कर्मचारी अभावमा विदेशस्थित नेपाली मिसनहरुमा कामको चाप धान्न नसक्ने अवस्था रहेको गुनासो पहिलेदेखि नै आइरहेको थियो । लाखौँ नेपाली रहेका कतिपय खाडी देशका नेपाली मिसनमा पनि थोरै कर्मचारी रहेकाले पासपोर्ट, कन्सुलरलगायतका सेवा प्राप्त गर्न कठिन भइरहेको अवस्था रहेको छ । त्यस्तै नेपालले पछिल्लो समय आर्थिक कूटनीतिका माध्यमबाट नेपालमा लगानी भित्र्यानका लागि गर्नुपर्ने क्रियालापकहरुलाई जनशक्ति अभावका कारण प्रभावकारी बनाउन सकेको छैन । यी सबै समस्या समाधानका लागि मन्त्री डा राणाको अग्रसरतामा मन्त्रालयको ओएनएमगरी दरबन्दी थप्ने काम पनि यही अवधिमा सम्पन्न भएको छ ।


त्यसैगरी, आर्थिक कूटनीतिका माध्यमबाट नेपालमा लगानी भित्र्याउन तथा नेपाली उत्पादनलाई विदेश निर्यात गर्न सकिने प्रयोजनका लागि परराष्ट्रमात्र नभएर सम्बद्ध अर्थ, उद्योग, ऊर्जालगायतका मन्त्रालयहरुसँगको समन्वयमा एक संयन्त्र निर्माण गर्ने विषयमा पनि मन्त्री डा राणाले आवश्यक परामर्श अघि बढाउनुभएको छ । त्यसैगरी, कतिपय नेपालीहरु रहेका देशहरुबाट उनीहरुलाई तत्कालै उद्धार गर्नुपर्ने अवस्था आयो भने पनि यससम्बन्धी एक मापदण्ड निर्माणको काम पनि भएको छ । जस्तो कि केही समयअघि बङ्गलादेशबाट नेपाली विद्यार्थी उद्धार गर्नुपर्ने अवस्था आयो भने मध्यपूर्वी देशहरुमा बढ्दो तनावका कारण त्यहाँ रहेका नेपालीहरुको अवस्थाप्रति मन्त्रालय अद्यावधिक रहेको छ । भोलि यस्तो अवस्था अन्यत्र पनि आउनसक्छ भन्ने मान्यतालाई ध्यानमा राखेर त्यसको पूर्वतयारीस्वरुप एकस्तरीय मापदण्ड निर्माणमा मन्त्रालय जुटेको छ ।


(पाठक परराष्ट्रमन्त्री डा आरजु राणा देउवाका प्रेस सल्लाहकार हुनुहुन्छ)            

हाइटीमा विद्रोहीको आक्रमणमा दुई जनाको मृत्यु , पाँच हजार विस्थापित

पोर्ट–आउ–प्रिन्स । हाइटीका गिरोहहरूले राजधानी पोर्ट –आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिलासहित दुई महिलाको मृत्यु हुनुका साथै पाँच हजार मानिस विस्थापित भएका नागरिक सुरक्षा विभागले जनाएको छ ।

लामो समयदेखि गिरोह हिंसाबाट ग्रस्त रहेको हाइटीमा हालैका महिनामा हिंसा तीव्र हुँदै गइरहेको छ जसले देशको मानवीय, सुरक्षा र राजनीतिक सङ्कटलाई अझ बढाएको छ ।

दक्षिणी सोलिनो जिल्लामा “भिभ अन्सानम“ (लिभिङ टुगेदर) गठबन्धनभित्रका गिरोहले गरेको आक्रमणमा ती दुई महिलाको मृत्यु भएको हो ।

“उनीहरूलाई उनीहरूको घरभित्रै मारिएको थियो”, नागरिक सुरक्षा प्रतिवेदनले जनाएको छ । प्रतिवेदनमा जलेका घर र सवारीसाधनको पनि वर्णन गरिएको छ ।

यस महिनाको सुरुदेखि नै पोर्ट–आउ–प्रिन्सका धेरै जिल्लालाई गिरोहहरूले लक्षित गर्दै आएका छन्, र सोमबार दिउँसो सोलिनोमा आक्रमण भएको हो ।

गिरोहले ल ‘एस्टेरमा रहेको विद्यालयमा पनि आक्रमण गरेका छन् । उक्त आक्रमणमा एक अभिभावकको हत्या हुनुका साथै विद्यालयका थुप्रै बालबालिका घाइते भएका छन् ।

अक्टोबरको सुरुमा पोन्ट–सोन्डे सहरमा भएको गिरोहको आक्रमणमा कम्तीमा एक सय ९ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए ।

हाइटीमा शक्तिशाली गिरोहहरूले पोर्ट–अ–प्रिन्स र देशका मुख्य सडकहरूको ८० प्रतिशत नियन्त्रण लिएका छन् ।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले सेप्टेम्बरको अन्त्यमा उद्धृत गरेको तथ्याङ्कअनुसार जनवरीदेखि हाइटीमा भएको गिरोह हिंसाका कारण कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु भएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन(आइओएम) का अनुसार हिंसाले निम्त्याएको मानवीय भयका कारण ७ लाखभन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य भएका छन् ।

‘रारा रिसोर्ट’को निर्माण प्रक्रिया अघि बढ्यो

काठमाडौँ । रारा होल्डिङ्स रिसोर्ट प्रालिले मुगुको छाँयानाथ रारा नगरपालिका-९ मुर्माटपमा बनाउन लागेको रारा रिसोर्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) स्वीकृति गरेको छ ।

काठमाडौँमा भएको तेस्रो नेपाल लगानी सम्मेलनमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स प्रालिबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

विभागले १९ भवनमा ६२ कोठा र ९८ शय्या क्षमता रहने रारा रिसोर्टको निर्माण तथा सञ्चालन गर्ने प्रयोजनार्थ वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम पेस गरेको प्रारम्भिक वातावरणीय अध्ययन आइइईको प्रतिवेदन स्वीकृत गरेको जनाएको छ । विभागले आइइई अनुमति दिएसँगै रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको हो ।

विभागले वातावरणीय अध्ययन स्वमूल्याङ्कन छ/छ महिनामा पेस गर्नुपर्ने उल्लेख गरेको छ । मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा रु ७० करोड लगानी हुनेछ ।

रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली ढाँचामा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङ्स प्रालिका अभिषेकविक्रम शाहले बताए । शाहका अनुसार अब छिट्टै नै रिसोर्टको औपचारिक शिलान्यास गर्दै निर्माणलाई तीव्रता दिइने जानकारी दिए।

पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई पुरस्कार !

खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्रै उत्पादन हुने बदामखेती प्रवर्द्धनका लागि नगरपालिकाले प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम ल्याएपछि किसान उत्साहित भएका छन् ।

परम्परागत बाली प्रवर्द्धनका लागि नगरसभाबाटै पारित गरिएको नीति तथा कार्यक्रमअन्तर्गत बदामखेती गर्ने किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गर्न नगरपालिकाले १५ दिने सूचनासमेत जारी गरेको छ ।

नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख भएअनुसार पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी पाँच सयका दरले दुई हजार पाँच सय तथा त्योभन्दा बढी फलाउनेलाई थप रु तीन सयका दरले प्रोत्साहन रकम दिने जनाइएको छ ।

नगरपालिकाको अधिकांश भागमा उत्पादन हुने बदामखेलीलाई प्रवर्द्धन गर्दै ब्राण्डिङ गरेर बिक्री गर्ने योजनासहित किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख विमला राईले बताइन् ।

‘बदाम बिक्रीबाट नगरपालिकाका किसानले अहिले पनि राम्रो आम्दानी गरिरहेका छन् । किसानले उत्पादन गरेका बदामलाई आगामी दिनमा ब्राण्डिङ गर्ने योजना छ’, उनले भनिन्, ‘हाम्रो नगरपालिकामा बदाम र गहत उत्पादनको प्रचुर सम्भावना छ । हामीले आर्थिक वर्ष २०८०/८१ मा नगरसभाबाटै पारित गरेर गहत र बदामखेती प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम ल्याएका थियौं । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना छ । बदाम र गहतलाई हाम्रो नगरपालिकाको विशेष उत्पादन बनाएर निर्यात गर्दै आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य लिएका छौं ।’

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाको वडा नं ८ धितुङ, वडा नं ५ दुर्छिम वडा नं २ डिकुवामा सबैभन्दा बढी बदामखेती लगाउने गरिएको छ । वडा नं १ बाहुनीडाँडा, वडा नं ३ च्यास्मिटार, वडा नं ७ महादेवस्थान, वडा नं ११ राजापानीलगायत ठाउँमा पनि आंशिक मात्रामा बदामखेती लगाउने गरिएको छ ।

मध्यपहाडी लोकमार्गले छोएको यो नगरपालिकाको वडा नं ८ धितुङमा सबैभन्दा बढी बदामखेती लगाउने गरिएको छ । धितुङका धेरैजसो घरमा वार्षिक २०–२२ मुरी बदाम भित्रिने गरेको धितुङका वडाध्यक्ष टेकराज राईले बताए ।

एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा यस वर्ष सात सय मुरीभन्दा बढी बदाम उत्पादन हुने अनुमान गरिएको नगरपालिकाका कृषि शाखाले जनाएको छ । नगरपालिकाका कृषि शाखाको तथ्याङ्कानुसार करिब दुई सय घरपरिवार किसानले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्दै आएका छन् ।

नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजलाई प्रवद्र्धन तथा बजारीकरण गर्दै नगरवासीको आयआर्जनमा वृद्धि गर्न हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्र सञ्चालन गरिएको छ ।

आयातित कृषि उपजलाई निषेध गर्दै स्थानीय कृषि उपज प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको रु ३८ लाख ३८ हजार आठ सय ३१ लगानीमा कृषि सङ्कलन केन्द्र स्थापना गरिएको नगर प्रवक्ता एव वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

हलेसी क्षेत्रका किसानले उत्पादन गरेका अधिकांश बदाम स्थानीय तथा बाहिरबाट आएका ठेकेदारले खरिद गरेर जिल्लाकै त्रिधार्मिकस्थल हलेसी बजार, दिक्तेल, रभुँवाघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला, बराहपोखरी मेला, दिक्तेल बजार, छिमेकी जिल्ला ओखलढुङ्गालगायतमा बिक्री गर्न लैजाने गरेका छन् । जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा मात्र लामो समयअघिदेखि बदामखेती हुँदै आएको छ ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आसपासका क्षेत्रमा उत्पादित बदाम कोसेलीका रुपमा पनि प्रयोग हुने गरेको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीका रूपमा बदाम लैजाने गरेका हुन् ।

अन्नबाली कम उत्दान हुने हलेसीमा उत्पादित बदाम किसानको घरबाटै प्रतिपाथी रु दुई सय ७० देखि रु तीन सय सम्ममा बिक्री भइरहेको जनाइएको छ । किसानबाट खरिद गरिएको बदाम त्रिधार्मिकस्थल हलेसी तथा आसपासका बजारमा रु तीन सय ५० देखि रु चार सयसम्ममा बिक्री हुने गरेको नगर प्रवक्ता गिरीले जानकारी दिए ।

जापानी नागरिक कोतोबुकीनाकाले २०७४ सालमा वडा नं ५ दुर्छिममा स्थापना गरेको बिपना इनकर्पोरेसन नामको पिनट्स बटर उत्पादक उद्योगमा पनि बदाम खपत हुने गरेको छ । तर सो पिनट्स बटर उत्पादक उद्योगले लोकल (स्थानीय जात)का बदाममात्र खपत गर्ने गरेको किसानले बताएका छन् ।

सरकारविरुद्ध माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारीसभा गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते शनिबार काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।

सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय सङ्गठनका इञ्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएका हुन् । उनले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन समेत दिएका छन् ।

माओवादी केन्द्रले विपद व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताको कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ ।

यदि सहमति भएछ भने कुनै ज्ञापनपत्र, रोइकराई, हारगुहार र गालीगलौजले त्यो रोकिनेवाला छैन

विष्णु रिजाल ।
राजनीतिमा कतिपय कुरा हेर्दैमा ‘रमाइला’ लाग्छन् । हिजो पाँच विपक्षी दलकातर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको ज्ञापनपत्रका दुईवटा बुँदा पढ्दा रमाइलो लाग्यो ।

पहिलो, बर्षौंदेखि कालोसूचीका विवादास्पद व्यापारीको घरमा बस्ने, अनेक व्यापारीसँग कारोबारमा जोडिने र आफ्नो बैबाहिक बर्षगाँठसमेत व्यापारीकै घरमा मनाउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल स्वयंले कत्ति पनि अप्ठेरो नमानी पहिलो नम्बरमै हस्ताक्षर गरेर नेकपा (एमाले) ले खुल्ला र पारदर्शी रुपमा आफ्ना शुभेच्छुक व्यवसायीबाट जग्गा प्राप्त गरेको कुरालाई ‘गैरकानुनी’ र ‘सुशासनको उपहास’ देख्नुभएछ । हिम्मत भए त्यो ज्ञापनपत्र बुझाउन जानुभन्दा पहिला खुमलटारस्थित आफूले हकभोग गरिरहेको, शारदाप्रसाद अधिकारीको भनिएको घर छाडेको भए हुन्थ्यो नि !
दोस्रो, आफ्नै पहलमा अध्यादेश ल्याएर तीन वर्षअघि नेकपा (एमाले) विभाजन गर्ने र त्यही अध्यादेशबाट लाभ प्राप्त गरेका पार्टीले चाहिँ अध्यादेश ल्याएर वर्तमान सरकारले ‘सरकार टिकाउन’ र ‘दुई दलीय तानाशाही लाद्न खोजेको’ आरोप लगाउनु पनि अर्को रोचक पक्ष छ ।

अध्यादेश आउँछ/आउँदैन, थाहा छैन । तर, यदि आएछ भने पनि कम्तीमा तीनवर्षअघि अध्यादेश ल्याउन निर्णायक भूमिका खेल्ने नेकपा (माओवादी केन्द्र) र अध्यादेशका भरमा जन्मिएको नेकपा (एकीकृत समाजवादी) ले चाहिँ नैतिक रुपमा पनि त्यससको विरोध गर्न मिल्दैन, मिल्दै मिल्दैन । ढुक्क भए हुन्छ, सत्ता साझेदार दलबीच सहमति नभई कुनै निर्णय हुँदैन । यदि सहमति भएछ भने कुनै ज्ञापनपत्र, रोइकराई, हारगुहार र गालीगलौजले त्यो रोकिनेवाला छैन ।

स्रोत नखुलेको २० लाख ५० हजार भारुसहित कपिलवस्तुमा दुईजना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित लिंक गेटमा सोमबार राति स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपाल आएको यूपी ५५ ए ६६६३ नम्बरको भाडाको गाडी खानतलासी गर्दा महाराष्ट्रको राइगढ जिल्ला मुम्बईसिटी बस्ने ३३ वर्षका सलमान कुरेसियाको झोलाबाट ८ लाख र यूपी ४२ डिटी ५७२१ नम्बरको भाडाको गाडीमा आएका सोही ठाउँ बस्ने ३९ वर्षका उमेश सखाराम खंडागलेको झोलाबाट १२ लाख ५० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

दुवै जनालाई नियन्त्रणमा लिई रकमसहित आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उनले बताए ।

रविलाई कसैको दबाब नभई अनुसन्धान गर्ने निकायबाट पक्राउ गरिएको होः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढीपहिरो र डुुबानका घटनापछिको राहत र पुनःस्थापनामा आपसमा मिलेर प्रभावकारी रुपमा काम गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार साँझ पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा मागपत्र र सुझाव प्रस्तुत हुनु संवाद एवं छलफल हुनु सकारात्मक प्रक्रिया भएको बताए ।

उनले विपक्षी दललाई ध्यानाकर्षणपत्रका लागि धन्यवाद दिँदै राहत र पुनःस्थापनाका लागि सरकारले आफ्नो तर्फबाट प्रभावकारी काम गर्दै आएको स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीले मनसुनजन्य विपद्को घटनामा घाइते भएकाको निःशुल्क उपचार भइरहेको, बेपत्ता भएकाको खोजी कार्य जारी रहेको, बेलिब्रिजसमेत मगाएर राजमार्ग सञ्चालनमा ल्याइएको जानकारी दिँदै यस्ता विषयमा राजनीति नगरी मिलेर जान दलहरूलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गर्दै पूूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरुपमा पक्राउ गरिएको स्पष्ट गरे ।

“मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनुु दिनुु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो”, प्रधानमन्त्री ओलीले भने, “मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन । अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्ट बाजी गर्नु छैन । साथीहरुले पनि त्यसो गर्नु राम्रो होइन ।”

राजनीति दलसम्बन्धी अध्यादेशका सम्बन्धमा दलहरूले उठाएको प्रश्नबारे प्रधानमन्त्री ओलीले भने, “विगतमा नेकपा (एमाले) लाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरूलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन ।”

ज्ञापनपत्र बुुझाउने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी थिए ।

विपक्षी दलले प्रधानमन्त्री ओलीलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । विपक्षी पाँच दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर पाँच दलले १३ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

विपक्षी दलहरूले असोज ११ र १२ को अविरल वर्षाबाट राष्ट्रव्यापी क्षति भएका स्थानहरूको पहिचान गरी राहत र पुनर्स्थापनाका कार्यहरू तत्काल सुरु गर्न आग्रह गरेका छन् । उनीहरूले यसमा प्रतिपक्षी दलहरू र सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरूलाई पनि सामेल गराउन माग गरेका छन् ।

यस्तै उनीहरुले जाजरकोट र बझाङ केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित जिल्लाहरूमा निजी अवासहरु, सरकारी कार्यालयहरु तथा विद्यालय भवनहरूको पुनर्निर्माण तथा पुनर्स्थापनाको काम तत्काल अगाडि बढाउन माग गरेका छन् ।

सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदनले दिएको सुझाव अनुसार सहकारी पीडितको रकम फिर्ता हुने विषयको सुनिश्चितता गर्न पनि विपक्षी दलहरूको माग रहेको छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरण लगायतका सार्वजनिक संस्थानहरू, विश्वविद्यालय र कर्मचारीतन्त्रमा भइरहेको राजनीतिक हस्तक्षेपका साथै स्थानीय तह र सुरक्षा निकायहरूमा बिना मापदण्ड अनावश्यक कर्मचारी सरुवाहरू बन्द गर्न उनीहरुले माग गरेका छन् ।

एमालेको जग्गा दान स्वीकार गर्ने निर्णयले सुशासनको अपव्याख्या गर्योः ट्रान्सपरेन्सी

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले अदालतबाट दोषी ठहर र मुद्दा चलिरहेको व्यक्तिबाट सरकारको नेतृत्व गरिरहेको पार्टीले जग्गा दान लिँदा भ्रष्टाचारको पक्षपोषण हुने ठहर गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सोमबार विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा अदालतबाट दोषी ठहर भएका र मुद्दा चलिरहेका व्यक्तिबाट जग्गा दान लिनेजस्ता कार्यबाट अलग रहन पनि राजनीतिक दलहरूलाई आग्रह गरेको हो ।

विज्ञप्तिमा एमालेले केन्द्रीय कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा लिएको र सोही जग्गामा दाताबाटै भवन निर्माण गरेर सोसमेत दान लिने कुराप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाल सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा दान गरिएको र सो जग्गामा दाताकै तर्फबाट भवन निर्माण समेत दानको रूपमा गरिदिने भन्ने समाचारतर्फ ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । दान प्रदान गर्ने व्यक्ति नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको र निजमाथि सोही प्रकृतिका थप विभिन्न मुद्दा न्यायिक प्रक्रियामा नै रहेको सर्वविदितै छ ।’

एमालेले केन्द्रीय कार्यालय रहने जग्गा र त्यहाँ बन्ने भवन अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यवसायी मीनबहादुर गुरुङबाट लिएको हो । त्यसरी दान लिँदा मुद्दामा प्रभाव पर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलको भनाइ छ ।

पशुपति धर्मशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाबारे अध्ययन गर्न समिति गठन गरेको छ ।

सोमबार मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो । समितिमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन मन्त्रालयका उपसचिव, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव र पर्यटन मन्त्रालयका उपसचिव सदस्य छन् ।

समितिले धर्मशालाबारे अध्ययन गरी ३० दिनभित्र पर्यटनमन्त्रीलाई प्रतिवेदन बुझाउने जिम्मा पाएको छ । समितिले धर्मशालाको स्थापनादेखिको अवस्थाको अध्ययन गर्ने, आय व्ययको विवरण, लेखा परीक्षणको अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा धर्मशालाबाट प्रवाह भएको सेवाको प्रकृति तथा अवस्थाको अध्ययन गर्ने कार्यादेश पाएको छ ।

यसैगरी, अदालतबाट विभिन्न समयमा भएका आदेश तथा फैसलाको कार्यान्वयनको अवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको प्रतिवेदन र विभिन्न समयमा गठन भएका समितिका प्रतिवेदन र मन्त्रालय तथा पशुपति क्षेत्र विकास कोष परिषद्का निर्णय तथा निर्देशन कार्यान्वयनको अवस्थाको अध्ययन गर्ने र गौशाला धर्मशाला रहेको जग्गाको स्वामित्वको अवस्थाबारे अध्ययन गर्ने कार्यादेश समितिलाई छ ।

साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध नेपालको ११ गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई हराएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल ११–० गोलअन्तरले विजयी भएको हो ।

नेपाललाई पराकिलो जित दिलाउने क्रममा रेखा पौडेल एक्लैले माल्दिभ्सको पोस्टमा पाँच गोल गरिन् । उनले दुई गोल पहिलो हाफमा गरेकी थिइन् भने तीन गोल दोस्रो हाफमा गरिन् ।

यस्तै नेपाललाई सुरुवाती अग्रता दिलाएकी प्रिति राईले पनि ह्याट्रिक पूरा गरिन् । उनले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा २ गोल गरिन् ।

यस्तै नेपालका लागि सविता रानामगर, अमिशा कार्की र अनिता केसीले एक एक गोल गरे । जितपछि नेपालको दुई खेलबाट ४ अंक भएको छ । पहिलो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको थियो । सोमबारै भुटानले श्रीलंकालाई पराजित गरेको छ ।

त्रिविले अब स्नातक तहका प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुबै भाषामा सोध्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने निर्णय गरेको छ ।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रश्नपत्र अंग्रेजी र नेपाली भाषामा सोध्ने निर्णय भएको जानकारी दिएकी हुन् ।

उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको उनले बताइन् ।

हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिनेछ ।

न्यायपालिका सुधार पहिलो प्राथमिकताः प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको सुधारमा मुख्य ध्यान दिने बताएका छन् ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनियुक्त प्रधानन्यायाधीश राउतलाई सोमबार ‘बधाई तथा शुभकामना’ कार्यक्रममा प्रधानन्यायाधीश राउतले न्यायालयको सुधारमा पूर्ण ध्यान दिने बताए ।

“न्यायपालिकाको सुधारका क्रम रोकिने छैन, मेरो पहिलो प्राथमिकता न्यायापालिकाको सुधार हुनेछ”, प्रधानन्यायाधीश राउतले भने, “न्यायपालिकालाई पारदर्शी र जवाफदेही बनाउन सदा प्रतिबद्ध छु, त्यो मेरो संवैधानिक जिम्मेवारी र दायित्व हो, म निष्ठापूर्वक काम गर्नेछु ।”

न्यायालयप्रति जनताको जनआस्था र विश्वास फर्काउने प्रयत्न गर्ने र तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन प्रतिवेदनको प्रावधान कार्यान्वयन हुन बाँकी रहेका विषयमा पनि कार्यान्वयनका लागि आफूले ध्यान दिने स्पष्ट पारे ।

प्रधान न्यायाधीश राउतले नागरिककको अभिव्यक्ति स्वतन्त्रताप्रति सचेत रही समग्र देश, जनता र संविधानको कार्यान्वयन गर्न इमान्दारपूर्वक काम गर्ने बताए । उहाँले सर्वोच्च अदालतमा चार न्यायाधीश पद रिक्त रहेकाप्रति उनले भने, “न्यायाधीश बिना न्यायालय चल्न सक्दैन, त्यो प्राथमिकतामा रहनुपर्ने विषय हो, त्यो छिट्टै हुनेछ ।”

छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूवडीआईजी एवम् गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई रूपन्देही पठाइएको छ ।

उनलाई सोमबार बुटवल पठाइएको हो । बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि जोशीलाई पोखराबाट बुटवल लगिएको हो । जोशीलाई प्रहरीले असोज ६ गते काठमाडौंमा पक्राउ गरेर कास्की लगेको थियो । गोरखा मिडियामा उनी जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार हुन् ।

बयान सकिएपछि जोशीलाई फेरि पोखरा नै फिर्ता ल्याइने प्रहरीले जनाएको छ । एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।

पेन्टागनका प्रमुख ऐक्यबद्धता भ्रमणमा किएभमा

किएभ  । अमेरिकी रक्षामन्त्री लोयड अस्टिन युक्रेनको रूससँगको युद्धमा समर्थन जनाउन सोमबार बिहान किएभ पुगेका छन् । अमेरिकी निर्वाचनको केही हप्ताअघि भएको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा मित्रराष्ट्रहरूलाई लामो दूरीका हतियारको प्रयोगमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरिरहेका बेला अस्टिनको भ्रमण भएको हो ।

यदि अर्को महिना हुने अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भए अमेरिकी सैन्य समर्थन घट्ने सम्भावना रहेको र यसका लागि युक्रेनले यही प्रशासनसँग मिलेर केही रणनीतिक निर्णय लिन आतुर देखिन्छ ।

‘म रक्षामन्त्रीका रूपमा चौथो पटक युक्रेनको भ्रमण गरेको छु,’ अस्टिनले एक्समा रेलवे स्टेसनमा आफ्नो तस्बिर पोस्ट गर्दै लेखेका छन् ।

उनले आफ्नो अघोषित भ्रमणले अन्तर्राष्ट्रिय समुदायसँगै संयुक्त राज्य अमेरिका पनि युक्रेनको पक्षमा खरोरूपमा उभिएको देखाएको बताए।

अमेरिकी रक्षा मन्त्रालयले अस्टिनले युक्रेनी नेतृत्वसँग भेटघाट गर्ने र युद्धभूमिमा रूसी आक्रमणबाट बच्न युक्रेनलाई आवश्यक सुरक्षा सहयोग उपलब्ध गराउने अमेरिकी प्रतिबद्धतालाई जोड दिने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनसहित जर्मनी, फ्रान्स र बेलायतका नेताहरूले युक्रेनलाई समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै रुसको निरन्तर आक्रमणको निन्दा गरेका छन् ।

दिल्लीको वायु गुणस्तर खराब स्तरमा

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा सोमबारको वायु गुणस्तर सूचकांक (एक्यूआई) ३४९ मा झरेको छ । चिसो मौसम, पूराना गाडीहरूबाट निस्केको धुवाँ र धुलोका कारण राजधानीको वायु प्रदुषणलाई ढाकेका वायुको गुणस्तरमा वर्गीकृत भएको छ । धुलो धुवाँले राजधानीलाई ढाकेको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार राजधानीको शकुरपुर र वरपरका क्षेत्रमा प्रदूषणको तह ‘अति खराब’ अर्थात् एक्यूआई ३४६ रेकर्ड गरिएको थियो ।

इन्डिया गेट नजिकैका वरपरका क्षेत्रहरूमा एक्यूआईको तह ३०९ रेकर्ड गरिएको छ भने सफदरजङ्गमा ३०७ रेकर्ड गरिएको छ । यो तहले वायुको खराब गुणस्तरलाई चिन्ह्ति गर्छ ।

यसैबीच, भारतका नदीहरूमा प्रदूषणको स्तर बढ्दै जाँदा यमुना नदीमा विषाक्त फोम तैरिरहेको देखिएको जनाइएको छ ।

वातावरणविद् विमलेन्दु के झाले यस घटनालाई दिल्लीको वातावरण मैन्त्री शासनको पूर्ण उपहासको रुपमा व्याख्या गरेका छन् । उनले प्रदूषण दिल्लीबाटै भएको उल्लेख गरेका छन् ।

यसअघि एएनआईसँग कुरा गर्दै इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरको कोटक स्कुल अफ सस्टेनेबिलिटीका डिन प्रोफेसर सच्चिदानन्द त्रिपाठीले ‘यमुना नदीमा विषाक्तताको प्रभाव खतरनाक रहेको बताएका थिए । उनका अनुसार साबुन, डिटर्जेन्ट र अन्य प्रदूषकहरूबाट नदीमा बग्ने फोहोर पानीमा ठूलो मात्रामा मिसिनाले बारम्बार यस्ता घटना हुने गर्छन् ।

सप्तरीको हनुमाननगरमा २७ वर्षदखि खानेपानी आयोजना अधुरै

राजविराज । हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्षअघि निर्माण सुरु गएको खानेपानी आयोजना निर्माण अधुरै छ ।

स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित तत्कालीन हनुमाननगर गाउँ विकास समितिको पहलमा स्थानीय स्वास्थ्य चौकी परिसरमा २०५४ सालमा योजना निर्माण सुरु गरिएको थियो । योजनाको करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

स्थानीय अमन यादवले २७ वर्ष भइसक्दा पनि एउटा आयोजना निर्माण गर्न नसक्नु लाजमर्दो विषय भएको राससलाई बताए । उनले स्थानीय सरकार र निर्माण कम्पनीले तत्काल योजनाका बाँकी काम सम्पन्न गर्न आग्रह गरे ।

‘देशमा थुप्रै परिवर्तन भए तर एउटा योजना निर्माण सुरु भएको २७ वर्षसम्म पनि बन्दैन भने योभन्दा लाजमर्दो कुरा के होला ? यदि आयोजना निर्माण भएमा यस क्षेत्रका दश हजारभन्दा बढी जनता लभान्वित हुने थिए । यसर्थ स्थानीय तह र सरोकारवाला मिलेर तत्काल काम अगाडि बढाउन पहल गर्नुपर्छ’, यादवले भने ।

स्थानीय बेचन खड्गाले नगरपालिकाले यसप्रति चासो नदिएकाले सङ्घीयता कार्यान्वयनपछि पनि काम अगाडि नबढ्नु दुःखद भएको बताए ।

नेपाली कांग्रेसका मधेस प्रदेश सचिवसमेत रहेका खड्गाले भने, ‘नगरपालिकालाई यहाँ शुद्ध खानेपानीका लागि योजनाको काम अगाडि बढाउन आग्रह गर्दा पनि हालसम्म काम सुरु भएको छैन । यसअघि नेतृत्वमा भएका जनप्रतिनिधि र निर्माण कम्पनीले पनि चासो देखाएनन् । त्यसै कारण नगरवासी २६/२७ वर्षदेखि शुद्ध खानेपानीबाट वञ्चित छौँ’, उनले भने ।

स्थानीय राजेन्द्र मिश्रले योजनाको ७५ प्रतिशत काम भएको भनिए पनि राजनीतिक खिचातानीकै कारण थप काम अगाडि बढ्न नसकेको बताए ।

‘पानी ट्याङ्की निर्माण भइसकेको छ तर पाइपलाइन बिछ्याउने काम हुनसकेको छैन । जसकारण नगरवासी आर्सेनिकयुक्त ट्युबेल तथा चापाकलको पानी खान बाध्य छौँ’, उनले भने ।

करिब तीन करोडको लागतमा निर्माण थालिएको योजना पहिलो किस्तामा केही काम भएर १०/१५ वर्षदेखि राजनीतिक खिचातानीका कारण उपभोक्ता समिति नै गठन हुन सकेन ।

तत्कालीन खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेका मोहम्मद सकिल अली हालै मधेस प्रदेशसभा सदस्य हुन् । स्थानीय उनलाई पनि अधुरो काम अगाडि बढाउन पहिलकदमीका लागि आग्रह गरिरहेका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले धेरै दबाबका बीच २८ लाखमा काम गर्ने गरी बोलपत्र आह्वान गरी केही काम भए पनि पुनः अवरुद्ध भयो ।

दोस्रोपटक २०७४ सालमा बोलपत्र अह्वान गरिएकामा शान्ति निर्माण सेवा फर्सेठले ठेक्का पाएर केही काम गरे पनि १३ लाख भुक्तानी नपाएको भन्दै उसले पनि काम अगाडि बढाएको छैन । थप कामका लागि म्याद नथपिएका कारण समस्या भएको निर्माण कम्पनीका सञ्चालक नारायण यादवले बताए ।

‘ पाँच लाखको पाइप, सिमेन्ट तथा एक हजार थान बाँसलगायत समान त्यही अलपत्र अवस्थामा राखिएको छ । हामीले समयमा भुक्तानी पाएनौँ, म्याद पनि थपिन । त्यसैकारण नपाएपछि आफूहरू काम गर्न असमर्थ भएको हो’, उनले भने ।

साफ महिला च्याम्पियनसिपमा भूटानद्वारा श्रीलङ्का पराजित

काठमाडौँ । श्रीलङ्कालाई हराउँदै भूटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अङ्कतालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा भूटानले श्रीलङ्कालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै भूटानले दुई खेलबाट चार अङ्क जोडेको छ । पहिलो खेलमा भूटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो ।

आज खेल सुरुआती सातौं मिनेटमा भूटानकी डेकी ल्जोहामले गोल गर्दै पहिलो अग्रता दिलाइन । त्यस्तै खेलको २३औं मिनेटमा श्रीलङ्काकी  कप्तान थुशानी मधुशिकाले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याइन ।

त्यसपछि खेलको ३२औँ मिनेटमा भूटानकी दोर्जी एडेनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाइन । खेलको ७६औँ मिनेटमा डेकीले व्यक्तिगत दोस्रो गोल गर्दै भूटानलाई ३–१ को अग्रता दिलाइन् । डेकीले गोल गरे लगत्तै नामग्याल डेमाले गोल गर्दै भूटानलाई ४–१ गोलको जित दिलाइन ।

समूह ‘बी’मा रहेको नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।

नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन

काठमाडौँ । सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । 
मन्त्रिपरिषद्को यही कात्तिक २ गतेको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो । 


नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न समितिको गठन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 


समितिको सदस्यहरुमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ क्याप्टेन रिवाजप्रसाद प्रधान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सहसचिव रहेका छन् ।


    मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानले मुलुकको हवाई उड्डयन क्षेत्रको समग्र सुधार गर्न, उड्डन सुरक्षाको अभिवृद्धि गर्दै नेपाली आकाश सुरक्षित रहेको सन्देश दिन के कस्ता काम गर्नुपर्छ भनेर सुझाव दिन  उच्चस्तरीय समिति गठन गरिएको बताए । 


उनका अनुसार समितिका पदाधिकारीलाई पर्यटन मन्त्रालयले सोमबार नियुक्तिपत्रसहित जिम्मेवारी प्रदान गरेको छ । छिट्टै कार्य प्रारम्भ गर्नेगरी पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले समितिलाई जिम्मेवारी प्रदान गरेका हुन् ।


प्रवक्ता लामिछानेले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका लागि पुराना सम्पूर्ण सुझाव र सिफारिसलाई एकमुष्ट कार्यान्वयनका लागि सिफारिस गर्ने समितिलाई जिम्मेवारी रहेको उल्लेख गरे । 

ग्लोबल आइएमई बैंकद्वारा सौर्य विद्युत परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंकले प्राइम पावर लिमिटेडले प्रवर्द्धन गर्ने सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने भएको छ ।

कर्जा लगानीसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले  हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्नेछ । 

त्यसअवसरमा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत् खरिदका साथै चनौटास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत् जोड्नका निमित्त नेपाल विद्युत् प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी दिए ।

यस परियोजनामा संलग्न लगानीकर्ता समुहद्वारा विभिन्न पाँच सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कूल जडित क्षमताको आयोजनामा समेत लगानी छ । 

नेपालमा सञ्चालित सौर्य परियोजनामध्य उक्त परियोजना सौर्य ऊर्जाअन्तर्गत विद्युत् क्षेत्रको सबैभन्दा ठूलो क्षमताको परियोजना हो । बैंकले नविकरणीय र हरित उर्जा उत्पादन, प्रशारण तथा वितरणमा आफ्नो लगानी प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप सौर्य तथा जलविद्युतमा सुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ ।

कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

काठमाडौँ । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको सोमबार बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौँडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्याङ्कनका लागि विशेषज्ञसहितको अध्ययन समिति गठन गरिनेछ ।

सम्पत्ति र दायित्व मूल्याङ्कन भएपछि विज्ञसहितको सुझावका आधारमा निजीकरणको ढाँचा र प्रक्रिया पहिचान गरी नेपाल सरकार समक्ष सिफारिस गरिनेछ ।

समितिको बैठकमा दिइएको जानकारी अनुसार जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योग, विराटनगर जुट मिल, बुटवल धागो कारखाना र गोरखकाली रबर उद्योग विगत लामो समयेदेखि बन्द र रुग्ण छन् । यसैगरी उदयपुर र हेटौँडा सिमेन्ट कारखानाको कार्य सम्पादन स्तर कमजोर हुनुका साथै निरन्तर घाटामा रहेका छन् ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, सङ्घीय संसद् अर्थ समितिका सभापति सन्तोष चालिसे, प्रतिनिधिसभा सदस्य तथा निजीकरण समितिका सदस्य राजन केसी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, मन्त्रालयका सचिवलगायत सहभागी थिए ।

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झण्डै ५८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ९९ अङ्कले ओरालो लागेर दुई हजार छ सय ३९ दशमलव ९२ अङ्कमा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव १४ अङ्कले ओरालो लागेर चार सय ७६ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । 

नेप्सेका अनुसार, कूल एक करोड ३८ लाख ६३ हजार चार सय ४३ कित्ता शेयर रु पाँच अर्ब ९० करोड सात लाख ९१ हजार ४४ मूल्यमा कारोबार भएका छन् । 

विन नेपाल लघुवित्त नौ दशमलव ९८, कर्पोरेट डेभलपमेन्ट बैंक नौ दशमलव ८२, कालिका लघुवित्त पाँच दशमलव ५२, पिपल्स पावर चार दशमलव ८४ र मानुषी लघुवित्तका लगानीकर्ताले तीन दशमलव ९९ प्रतिशतले कमाएका छन् । 

यस्तै, न्यादी ग्रुप अफ पावर नौ दशमलव २०, गुडविल फाइनान्स पाँच दशमलव ६५, छ्याङदी हाइड्रोपावर चार दशमलव ७९, इस्टर्न हाइड्रोपावर चार दशमलव ७५ र गुर्खाज फाइनान्सका लगानीकर्ताले चार दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।

यस्तो छ खानेपानीमन्त्री यादवको सय दिने कार्यप्रगति विवरण

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा गरेको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्री यादवले सोमबार एक कार्यक्रममार्फत एक सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गर्दै मेलम्ची खानेपानी आयोजना सञ्चालन गरी काठमाडौँ उपत्यकामा प्रतिदिन १७ करोड लिटर पानी पथान्तरण गर्न सफल भएको बताए।

यस वर्षको ‘मनसुन’ सुरु भएपछि बन्द भएको मेलम्ची खानेपानी आयोजना सञ्चालनका क्रममा आवश्यक मर्मतसम्भारसहित विरोधमा उत्रेका स्थानीय जनतासँग निरन्तर छलफल र समन्वय गरी मेलम्चीको पानी काठमाडौँ ल्याएको उनले स्पष्ट गरेका छन् ।

मेलम्चीवासीसहित मुहान क्षेत्रका सरोकारवाला जनताका तर्फबाट विभिन्न माग राखी चरणबद्ध रुपमा आन्दोलन भइरहेको अवस्थामा विरोधमा उत्रेका स्थानीय जनतालाई विश्वासमा लिएर मेलम्चीको पानी ल्याउन सफल भएको मन्त्री यादवले बताए।

गत असोज २२ गतेदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पथान्तरण तथा वितरण कार्य सुरु भइसकेकाले अब काठमाडौँवासीले खानेपानीको समस्या झेल्नुनपर्ने मन्त्रालयले बताएको छ ।

यसैगरी, काठमाडौँको कोर क्षेत्रअन्तर्गत न्युरोड–ठमेल क्षेत्रमा बिच्छ्याइएको थप ३० किमी पाइपलाइनमा परीक्षणका रुपमा पठाएको पानी वितरण प्रणालीमा समस्या नदेखिएपछि नयाँ पाइप सञ्जालबाट आपूर्ति व्यवस्था मिलाएको तथा ठमेलसहित आसपासका क्षेत्रमा ३४ दशमलव ८९ किमी पाइपलाइनमा समेत परीक्षण कार्य पूरा गरी नियमित रूपमा पानी आपूर्ति गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा अहिलेसम्म एक हजार सात सय किमी पाइप विस्तार गरेको, सो आयोजनामार्फत दैनिक १७ हजार लिटर पानी आपूर्ति हुने गरेको तथा हाल उपत्यकामा ४७ हजार लिटर पानीको माग देखिएको स्पष्ट गरेको छ ।

खानेपानी मन्त्रालयले गत असोज १० गतेदेखिको बाढीपहिरोका कारण काठमाडौँ उपत्यकामा बिग्रेभत्केका ढलहरुको मर्मतसम्भारसहित व्यवस्थापन गरेको उल्लेख गरेको छ ।

यसैगरी, कीर्तिपुरमा ६० लाख र महाँकालचौरमा ८० लाख लिटर क्षमताको पानीपोखरी निर्माण कार्य गत असोजमा पूरा गरी त्यस क्षेत्रका जनतालाई पानी सुनिश्चित गर्ने काम भएको मन्त्रालयले जनाएको छ । योसँगै कीर्तिपुरमा ६ हजार र महाँकालचौरमा आठ हजार घनमिटर क्षमताको पानीपोखरी तयार भएको छ ।

बाढीपहिरोका कारण पानी आपूर्ति व्यवस्था बन्द भएको ललितपुर जिल्लामा खानेपानीको प्रबन्ध गर्ने क्रममा सम्बद्ध क्षेत्रका सङ्घीय तथा प्रदेश सांसद तथा स्थानीय जनप्रतिनिधिहरू समेतको सहयोगमा ललितपुरवासीलाई खानेपानीको व्यवस्था गरेको मन्त्रालयले स्पष्ट गरेको छ ।

त्यस्तै, तीन करोड ७० लाख लिटर क्षमताको धोबीघाट फोहोरपानी प्रशोधन केन्द्रलाई हालैको बाढीले नोक्सान पुर्‍याएपछि प्रशोधन कार्य रोकिएको सन्दर्भमा बीमा कम्पनीबाट क्षतिग्रस्त उपकरणको मूल्यांकन गरी क्षतिपूर्तिको व्यवस्थासहित मर्मतसम्भार तथा सञ्चालनको कामलाई द्रुतगतिमा अघि बढाउन दिएको निर्देशनअनुसार काम भइरहेको छ ।

यसैगरी, बाढीका कारण काठमाडौँ उपत्यकामा बिग्रिएका काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड (केयुकेएल) का पानी प्रशोधन केन्द्रका उपकरणहरू तत्काल मर्मत गर्नका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिई अहिले काम सुरु भइरहेको मन्त्रालयले जनाएको छ ।

ललितपुर जिल्लाको नल्लु, वासुकी, र देवकीस्थित खानेपानी मुहान क्षेत्रमा पुगेर पछिल्लो समय आएको बाढीले खानेपानीको संरचनामा पुर्‍याएको क्षतिको विवरण लिई अवरुद्ध भएको खानेपानी आपूर्ति यथासक्य छिटो सञ्चालन गर्न निर्देशन दिएबमोजिम सम्बद्ध निकायमार्फत द्रुतगतिमा काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

काभ्रेको पनौती, बनेपा र धुलिखेल नगरपालिकास्थित मन्त्रालयसम्बद्ध एकीकृत खानेपानी आयोजना, नेपाल खानेपानी संस्थान तथा खानेपानी तथा ढल व्यवस्थापन विभागको परियोजनामा पु¥याएको क्षतिको जानकारी लिई मर्मतसम्भारका लागि निर्देशन दिएअनुसार तदारुकताका साथ काम भइरहेको मन्त्रालयले स्पष्ट गरेको छ ।

मन्त्रालयको पहलमा गत महिना भेरी पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्ने क्रममा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भई संयुक्त रूपमा सर्वेक्षेणको कामसमेत सुरु भएकाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको व्यवस्था हुने भएको छ ।

सय दिनको यस अवधिमा जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण तथा परीक्षण कार्य सम्पन्न भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम रोयल्समा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन अनुबन्ध

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल) का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ ।

सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् । उनको आगमनले एनपिएलमा टोलीको प्रर्दशन उत्कृष्ट रहनेमा आफूहरु आशावादी रहेको सुदूरपश्चि रोयल्न्सले जनाएको छ ।

दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टि ट्वान्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि ट्वान्टी आईमा डेब्यु गरेका थिए ।

उनी स्कटल्याण्डको ओडिआई टोलीको पनि सदस्य हुन् । २२ ओडिआईमा उनले २ शतक र २ अर्धशतकसहित ७ सय २१ रन बनाउनु बनाएका छन् ।

सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ।

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाललाई सोसियल एक्टिभिस्ट एम्बेसडर छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ ।

सुदूरपश्चिम रोयल्सको टोलीः दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन ।