`

डेङ्गु सङ्क्रमण घट्दै

काठमाडौँ । घट्दो तापक्रम र डेङ्गु नियन्त्रणका लाागि गरिएका विभिन्न अभियानले डेङ्गु सङ्क्रमण घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको बताए ।

उनले भने, “डेङ्गु नियन्त्रणका लागि पालिकादेखि खोज र नष्ट अभियान सञ्चालन भएका छन् । तापक्रम घट्नु पनि यसको कारण हो । प्राकृतिक रुपमै चिसोमा लामखुट्टेले अण्डा उत्पादन गर्ने प्रक्रिया कम हुन्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समयअघि डेङ्गु नियन्त्रणका लागि देशव्यापी रुपमा लामखुट्टेको बास स्थानको खोजी र नष्ट अभियान सुरु गरेको थियो ।

मन्त्रालयले हरेक शुक्रबार १० बजेर १० मिनेटमा मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आम नागरिकलाई सहभागी हुन आह्वान गरेको थियो । सरकारी तथा गैरसरकारी संस्था तथा नागरिकस्तरमा यो अभियान सञ्चालन भइरहेको छ ।

दाहालले विगतका वर्षको भन्दा अहिले सङ्क्रमण दर घटेको बताए । उनले भने, “त्यस्ता खालका अभियानले पनि घट्न मद्दत गरेको छ । डेङ्गु विश्वव्यापी खतराको रुपमा देखिएको छ । अरु देशको अनुभव हेर्नु भयो भने सङ्क्रमण र अस्पताल भर्ना हुनेको दर पनि बढ्दो छ । हामीले अझै धेरै गर्नुपर्नेछ तर पनि हाम्रो प्रयास र मेहनतले गर्दा सङ्क्रमणलाई घटाएका छौँ ।”

ईडिसिडीले उपलब्ध गराएको नोभेम्बर ८ सम्मको तथ्याङ्कअनुसार हाल सबैभन्दा बढी कास्कीमा सात हजार दुई सय ८६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । त्यसैगरी काठमाडौँमा चार हजार आठ सय तीन, तनहुँमा दुई हजार तीन सय ७३ , पर्वतमा एक हजार सात सय ४९, ललितपुरमा एक हजार दुई सय ४१, बाग्लुङमा एक हजार दुई सय, चितवनमा एक हजार एक सय ७५, भक्तपुरमा एक हजार ३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या भने हाल १२ छ भने ७६ जिल्लामा सङ्क्रमण फैलिएको छ । प्रत्येक वर्षको जुनदेखि अगस्टसम्मको समयलाई सामान्यतया डेङ्गुले महामारीको रूप लिन सक्ने समय मानिन्छ ।

नोभेम्बर ५ को तथ्याङ्क तुलना गर्ने हो भने समष्टिगत रुपमा चार दिनमा देशभर एक हजार दुई सय ४९ मा डेङ्गु सङ्क्रमण देखिन्छ । जुन अघिल्लो हप्ताको तथ्याङ्क हेर्दा कम हो ।

प्रमुख डा दाहालले भने, “चार हप्तामा डेङ्गु सङ्क्रमण दुर्य हजार पाँच सयबाट तल आएको छ । यसको ट्रेन्ड एक महिनायता बिस्तारै घट्दो क्रममा छ ।” विसं २०८० को पुस मसान्तसम्म देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकोमा २० जनाको मृत्यु भएको थियो ।

डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले यसबाट बच्न सकिन्छ । 

इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु

वासिङ्टन । गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भूभागको उत्तरमा दुई घरमा इजरायली आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको जनाएको छ ।

उत्तरी गाजाको जबालियाको एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिकासहित कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका नागरिक सुरक्षा निकायले जनाएको छ ।

गत अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजाको जबालियालगायत क्षेत्रमा हमास लडाकूसमूहलाई पुनः सङ्गठित हुनबाट रोक्न चाहेको भन्दै हवाई तथा स्थलगत आक्रमण गरिरहेको छ ।

गाजा शहरको साबरा क्षेत्रमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य अझै बेपत्ता छन् ।

“अझै पनि धेरै सर्वसाधारण भग्नावशेषमुनि पुरिएका छन्,” प्यालेष्टिनी सुरक्षा निकायले भनेको छ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा एक हजार २०६ जनाको मृत्यु भएको हमासले गरेको आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो।

इजरायलको जवाफी कारबाहीमा गाजामा ४३ हजार ५५२ जनाको मृत्यु भएको मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गाजा युद्ध जारी छ र यो क्रमशः लेवनानतर्फ विस्तार भएको देखिन्छ । 

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

वासिङ्टन । अमेरिकी लडाकू विमानले यमनी हुथी समुहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो ।

पेन्टागनले एएफपीलाई उपलब्ध गराएको जानकारीअनुसार यी सुविधाहरूमा ‘रेड सी’ र एडेनको खाडीमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा यात्रा गर्ने सैन्य र नागरिक जहाजहरूलाई लक्षित गर्न प्रयोग गरिने विभिन्न हतियारहरू थिए।

हुथीद्वारा सञ्चालित अल मसिराह टेलिभिजन नेटवर्कले राजधानी सानाको दक्षिणी अल सबिन जिल्लालाई लक्षित गरी तीन अमेरिकी र बेलायती आक्रमण भएको पुष्टि गरेको छ ।

“प्रत्यक्षदर्शीहरूले राजधानी सानाका विभिन्न भागमा विस्फोटका साथै तीव्र गतिमा भएका उडानको आवाज सुनेको बताएका छन्,” अल मसिराहले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

संयुक्त राज्य अमेरिका र बेलायतले जनवरीदेखि यमनको हुथी समूहले रेड सी र एडेनको खाडीमा विद्रोहीहरूले गरेको आक्रमणको जवाफमा पटक–पटक आक्रमण गर्दै आएका छन्।

विद्रोहीहरूले विश्वव्यापी रूपमा महत्वपूर्ण जलमार्गमा सामुद्रिक यातायातअवरुद्ध गरेको र ती आक्रमण इजरायलको स्वामित्व भएका वा यससँग जोडिएका जहाजहरूलाई लक्षित गरी भएका जनाएका छन् ।

हुथीले गाजा युद्धका बेला प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले आक्रमण गरेका बताइएको छ।

यी आक्रमणहरूले विश्व व्यापारको १२ प्रतिशत हिस्सा ओगट्ने ‘रेड सी’ मार्गलाई गम्भीर रूपमा अवरुद्ध पारेको छ।

करिब एक वर्षको अवधिमा १०० भन्दा बढी हुथी आक्रमणमा चार नाविक मारिएका छन् भने दुई जहाज डुबेका छन् । त्यस्तै एउटा जहाज र यसका चालक दलका सदस्यलाई गत नोभेम्बरमा अपहरण गरी हिरासतमा राखिएको छ ।

हुथी विद्रोही नेता अब्दुल मलिक अल हुथीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई समर्थन गरेको भन्दै आलोचना गरेको तीन दिनपछि शनिबारको आक्रमण भएको हो ।

ट्रम्पले मध्यस्थता गरेको अरब मुलुक र इजरायलबीच भएको सामान्यीकरण सम्झौताले मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न नसकेको र उहाँको दोस्रो कार्यकालमा हुने मध्यस्थता पनि फेरि असफल हुने हुथी अधिकारीले बताएका छन् ।

बाइडेन र ट्रम्पबीच ह्वाइट हाउसमा बुधबार भेटवार्ता हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले चार वर्षअघिको चुनावमा आफूले पराजित गरेको रिपब्लिकन पार्टी र यसका नेता डोनाल्ड ट्रम्पलाई व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएपछि दुई नेताबीच बुधबार ह्वाइट हाउसमा भेटवार्ता हुनेभएको छ।

सन् २०२० को चुनावमा हार अस्वीकार गरेका ट्रम्पले नोभेम्बर ५ मा भएको मतदानबाट अमेरिकी राष्ट्रपति पदमा उल्लेखनीय बहुमतसहित पुनरागमन गर्नुभएपछि राष्ट्रपति बाइडेनले व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।

निवर्तमान र भावी राष्ट्रपतिहरूबीच यस प्रकारको भेटघाटलाई परम्परागत मानिन्छ तर जनवरी ६, २०२१ को क्यापिटल दङ्गामा परिणत भएको अप्रमाणित चुनावी धाँधलीको दाबी गर्दै ट्रम्पले तत्कालिन समयमा राष्ट्रपति निर्वाचित बाइडेनलाई व्यवस्थित सत्ता हस्तान्तरण र भेटवार्ताका लागि निमन्त्रणा गरेका थिएनन्।

त्यस्तै ट्रम्पले आफ्ना आलोचक निक्की हेली र माइक पोम्पेओलाई आफ्नो मन्त्रीमण्डलमा समावेश नगर्ने बताएका छन् ।

नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारीमा रहेका ट्रम्पले उनीहरूले पहिले गरेको कामका लागि धन्यवाद दिँदै अबको मन्त्रीमण्डलमा भने समावेश नगर्ने बताएका हुन् ।

साउथ क्यारलाइनाकी पूर्व गर्भनर हेली यस वर्षको सुरुवातमा रिपब्लिकन पार्टीका राष्ट्रपति पदका दावेदारहरूमध्ये ट्रम्पको सबैभन्दा बलियो प्रतिद्वन्द्वी थिइन् । उनले ट्रम्पको आलोचना गर्दै ‘क्रेजी’ भनेको कुरा समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमा चर्चा पाएको थियो ।

माइक पोम्पेओ ट्रम्प पहिलोपटक राष्ट्रपति बन्दा विदेशमन्त्री थिए । पोम्पेओमाथि पर्दा पछाडि बसेर विशेष समूहहरूको स्वार्थका लागि काम गर्ने प्रतिनिधि भएको आरोप लाग्ने गरेको छ ।

ट्रम्पनिकट सहयोगीहरूले निक्की र माइकलाई ट्रम्पविरुद्ध काम गरेको आरोप लगाउँदै उनीहरुले ट्रम्पको ‘अमेरिका फर्स्ट’ भन्ने एजेन्डालाई कमजोर पार्न सक्ने बताउँदै आएका छन् । त्यसैले ट्रम्प उनीहरूलाई मन्त्रीमण्डलमा नसमेट्ने निष्कर्षमा पुगेका हुन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भेटेरिनरी अध्ययनतर्फ थपियो ५० कोटा

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा स्नातक तह अध्ययनका लागि ५० कोटा थप गरिएको छ ।

सो सङ्कायमा ५० जनाको कोटा रहेकामा अब यही शैक्षिक सत्रदेखि एक सय विद्यार्थीले अध्ययन गर्न पाउने भएका छन् । सङ्कायका डीन प्रा डा होमबहादुर बस्नेतले नेपाल भेटेरिनरी काउन्सिलबाट थप ५० सिटका लागि अस्थायी मान्यता प्राप्त गरी विद्यार्थी भर्नाका लागि सूचना प्रकाशन गरेको जानकारी दिए ।

विश्वविद्यालयले यही कात्तिक १३ गते सूचना प्रकाशित गरी आगामी मङ्सिर १३ गतेसम्म योग्यता पुगेका विद्यार्थीबाट आवेदन माग गरेको छ ।

साविकको ५० कोटामध्ये योग्यताक्रम (मेरिट)का आधारमा २०, प्रादेशिक सात, स्थानीय दुई, छात्रा दुई, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्ग, द्वन्द्वपीडित र सहिद परिवार र कर्मचारी कोटामा एक/एक जनालाई पूर्ण तथा आंशिक सहुलियतसहित बाँकी १४ काटाको हकमा पूर्ण शुल्क लिएर भर्ना गर्ने व्यवस्था विश्वविद्यालयले गरेको छ ।

विश्वविद्यालय विकास कोष कोटाअन्तर्गत अध्ययन गर्ने १४ विद्यार्थीले पाँच वर्षको ६ लाख बुझाउनुपर्छ । अहिले थप गरिएका ५० कोटामा अध्ययन गर्ने विद्यार्थीले भने १२ लाख शुल्क किस्ताबन्दीमा बुझाउनुपर्ने प्रावधान रहेको डीन बस्नेतले जानकारी दिए ।

साविक ५० कोटाअन्तर्गतका विद्यार्थी भर्ना गरेपछि मात्रै थपिएको ५० कोटामा भर्ना गरिने छ । सोही सङ्कायले मत्स्य विज्ञानका २१ सिटमा विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको छ । मत्स्य विज्ञान अध्ययन गर्ने विद्यार्थीले रु.तीन लाख १० हजार शुल्क बुझाउनुपर्ने विश्वविद्यालयले जनाएको छ ।

जापानमा मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई विराटनगरबाट काठमाडौं ल्याइँदैछ । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए ।

तर उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी भने अझै अनुसन्धानको दायराबाहिरै थिए । एमालेले उनलाई शनिबार पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको छ । जापान भ्रमणका क्रममा मन्त्रालयकै परिचयपत्र बनाएर मानव तस्करीमा संलग्न भएको पुष्टि भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि उनलाई कारबाही गर्न सरकारकाथि दबाब परेको थियो । कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारको अनुमतिबिनै अधिकारी जापान उडेका थिए । उनले आफ्नो भ्रमण टोलीको सदस्य बनाउन युवाहरूलाई मन्त्रालयको नक्कली परिचयत्र दिएका थिए ।

उनले खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटालाई जापान लैजान खोजेका थिए । नक्कली कागजात बनाएर जापान जान खोज्ने तीनजना र उनीहरूलाई जापान जाने व्यवस्था मिलाएका तीनजना अहिले काठमाडौं प्रहरीको हिरासतमा छन् ।

उनीहरूलाई जापान जाने बन्दोबस्तीमा संलग्न जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तीन जना युवाले आफूहरू जापान जान लागेको पूर्वसूचना पूर्वमन्त्री अधिकारीलाई रहेको बयान दिएका छन् । उनीहरूले जनही १० देखि १३ लाख रुपैयाँ बुझाएर जापान जान खोजेको बताएका छन् ।

ट्रम्पले निक्की हेली र माइक पोम्पेओलाई आफ्नो प्रशासनमा जिम्मेवारी नदिने

बीबीसी । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले आफूले निक्की हेली वा माइक पोम्पोओलाई आफ्नो प्रशासनमा जिम्मेवारी नदिने बताएका छन् ।

उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध स्पष्ट जित हासिल गरेपछि उनी अहिले आफ्नो भावी मन्त्रिपरिषद्लाई स्वरुप दिने प्रयास गरिरहेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘म विगतमा उनीहरूसँग काम गर्दा प्रसन्न भएँ र त्यसको प्रशंसा गर्छु र उनीहरूलाई हाम्रो देशको सेवा गरेकोमा धन्यवाद दिन चाहन्छु ।’

ट्रम्पका नजिकका सहयोगीरूले हेली र पोम्पेओलाई ’डिप स्टेट’ अर्थात् पर्दा पछाडि बसेर विशेष समूहहरूको स्वार्थ रक्षाका लागि काम गर्ने गोप्य सरकारी संयन्त्रको प्रतिनिधि भएको आरोप लगाउने गर्छन् ।

दुवैले ट्रम्पको ‘अमेरिका पहिलो’ नारालाई अवमूल्यन गर्ने उनीहरूको तर्क छ । जनवरी २० मा पदभार ग्रहण गर्ने तयारी गरिरहेका ट्रम्पले पदबाट बाहिरिने राष्ट्रपति जो बाइडनलाई आगामी दिनमा भेटनेछन् ।

यसैवर्षको चुनावी प्राइमेरीमा ट्रम्पलाई रिपब्लिकन दलको राष्ट्रपति उम्मेदवार पदमा चुनौती दिनेमा हेली पनि एक थिइन् । प्रइमेरीमा पार्टीका मतदाताहरूले ह्वाइट हाउसका लागि आफ्नो दलको उम्मेदवार तय गरेका थिए ।

उक्त प्रतिस्पर्धामा साउथ क्यारलाइनाकी पूर्व गर्भनर हेलीले ट्रम्पको चर्को आलोचना गरेकी थिइन्। एउटा बिन्दुमा उनले उनलाई ‘मानसिक रूपमा अस्थिर’ रहेको आरोप लगाएकी थिइन् । तर उक्त प्रतिस्पर्धा आफ्नो पक्षमा पार्न ट्रम्प सफल भए।

ट्रम्पको पहिलो कार्यकालमा सन् २०१७ देखि २०२१ सम्म राष्ट्रसङ्घको स्थायी प्रतिनिधि रहेकी हेलीले अन्ततः ट्रम्पलाई अनुमोदन गरेकी थिइन् । तर उनले आफ्नो अभियानको अन्तिम चरणमा सहयोग गर्न हेलीलाई निम्तो भने दिएनन् ।

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक हजार ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने एक लाख ६६ हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि भने एक हजार नौ सय ६० रुपैयाँ निर्धारण भएको छ ।

‘पूर्णबहादुरको सारङ्गी’ ले उपन्यास ‘सङ्ग्रामपुर’ को कथा चोरी गरेको आरोप

काठमाडौं । नेपाली चलचित्र बजारमा इतिहास गरिरहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’लाई एक उपन्यासको कथा चोरेको आरोप लागेको छ । उपन्यास ‘सङ्ग्रामपुर’ का लेखक डा. शिवशंकर बस्यालले फिल्मको मूल कथा आफ्नो उपन्यास ‘सङ्ग्रामपुर’सँग मिलेको दाबी गरेका हुन् । उनले भनेका छन्, ‘कुनै लोभ लालच प्रपञ्चले मैले यसो भनिरहेको छैन । एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ्ग मिल्दा बोल्ने नैतिक दायित्व मेरो पनि हो ! म अब नबोलौला, तर इतिहासमा यो कोलाहाल रहिरहनेछ । मन जितिरहेको यो चलचित्रले अरु मान्छेहरुको मन जितिरहोस् । मेरो यही शुभकामना !’

सङ्ग्रामपुर उपन्यासका लेखक डा. शिवशंकर बस्याल यस्तो लेख्छन्: 
पूर्णबहादुरको सारङ्गी र सङ्ग्रामपुर उपन्यास ।
बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो। पहिले ट्रेलरहरू आइपुग्दाखेरि कहीँ न कहीँ परिचित परिवेश जस्तै लागिरहेको थियो । यसैबीचमा संग्रामपुर उपन्यास पढेका एकजना भाइले चलचित्र हेरेपछि यसको कथा सङ्रामपुर उपन्यासभित्र रहेको कथासँग मिलेको कुरा बताए । यसले मलाई केही कौतुहल बनायो । त्यसपछि म बिरामी अवस्थामै हल पुगें । पूर्णबहादुरको सारङ्गीलाई एकपटक सङ्ग्रामपुर उपन्याससँग जुधाएँ । चलचित्रको मूल कथाको स्वरूपमा संग्रामपुर उपन्यासका मूल मिलेका मूल प्रसङ्ग मात्र यी पाएँ ।

१. पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूलपात्र हुन् । जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर ।

२. पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रुपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ ।

३. छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रुपमानसँग मिल्दा छन्।

४.  आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समिरले निरन्तर सोधिरहने प्रसङ्ग मिल्दो छ ।

५ . जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन्, समिर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन् ।

६. पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समिर जस्तै टप विद्यार्थी हुनु ।

७. त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समिरकै शैलीमा दौडिदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।

८ . संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।

९ . बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समिरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।

१०.  रुपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु ।
यी यी त कथाका मूल प्रसङ्गहरू हुन् । यी बाहेक सूक्ष्म ढङ्गले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइन्छ ।

पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ्ग, आफ्नो तिब्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छायाचित्रसँग मिल्छन् ।

केही प्रसङ्गहरू बिल्कुल विपरीत रुपमा प्रयोग गरिएका छन् । पुर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व छ , सङ्ग्रामपुर उपन्यासमा रूपमान भरिया । सङ्ग्रामपुर उपन्यासमा बाबु छोराको प्रेमसहित समिर सहरबाट फर्केपछि क्रान्तिकारी काममा लाग्छ। पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ ।

माथिका मूल बुँदाहरू नै पूर्णबहादुरको सारङ्गीको मूल कथा हो । मैले यसलाई साहित्यिक रूप मात्र प्रस्तुत गरें । यो भन्दा अरु कथामा नौलो भेटिन । तसर्थ यो संयोग होइन, यो नियोजित हो । एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्ति विरोधी कार्यमा लगाउने प्रपञ्च । कुनै लोभ लालच प्रपञ्चले मैले यसो भनिरहेको छैन। एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ्ग मिल्दा बोल्ने नैतिक दायित्व मेरो पनि हो ! म अब नबोलौला, तर इतिहासमा यो कोलाहाल रहिरहनेछ । मन जितिरहेको यो चलचित्रले अरु मान्छेहरुको मन जितिरहोस् । मेरो यही शुभकामना !

बाढीले बगर बनायो गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त

पाटन । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो ।

जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट ६  अर्ब बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए । उक्त रकम बराबरको क्षति सार्वजनिक र निजी संरचनामा भएको हो ।

‘त्यहाँ पर खुवा कम्पनी थियो, त्यहीँ वैतर्णी मन्दिर थियोे,१०८ शिवलिङ्ग थिए, हवन कुण्ड, पक्की भवन थियो। संस्कृत पढाउने उद्देश्यले निर्माणाधीन पक्की भवनमा ठूलो क्षति भयो,’ वडा कार्यालयबाट औँलाले देखाउँदै अध्यक्ष पराजुलीले भने ।

निरन्तरको झरिले पहिरो मात्र खसेन धामीखोलामा थुप्रिएको बालुवा, ढुङ्गा, माटो, रुखसहित बाढी गाउँबस्ती पसेपछि अकल्पनीय क्षति भएको हो ।

बाढीपीडित स्थानीय प्रेम श्रेष्ठले भने, ‘मेरो र भाइ उत्तमको एउटा दुईतले पक्की भवन थियो, अर्को कच्ची दुवै बगे । वन, प्रहरी कार्यालय र सवारीसाधन सबै बगे । बाढीपहिरोमा परेर गाउँका तीन जनाको मृत्यु भयो । उनीहरूका घर भएका स्थान बगरमा परिणत भयो ।’

विसं २०५३ देखि विद्युत् उत्पादन गरिरहेको यहाँको साना जलविद्युत्गृहमा आंशिक क्षति भएको छभने बाढीले प्रहरीका दुईवटा आवासीय टहराका साथै हिलसाइड माध्यमिक विद्यालयको भवनमा पनि क्षति भएको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए ।

खानेपानीका अधिकांश ट्याङ्की र पाइप नष्ट भएका छन् । दुई हजार तीन सय घरमध्ये ७५ प्रतिशतलाई खानेपानीको व्यवस्था गर्न हम्मेहम्मे परेको छ । हालसम्म बाढीले बगाएका सडकको मर्मतसम्भार नहुँदा मूलसडकमा पुग्न कठिनाइ भएको अध्यक्ष केसीले बताए ।

यसैबीच, दैवीप्रकोप पीडितहरूका लागि प्रदेश सरकारले  २० लाख दिएको छभने सङ्घले क्षतिको आधारमा गाउँपालिकालाई ‘क’ वर्गमा वर्गीकरण गरी एक करोड प्रदान गरेको छ ।

बिस्थापितहरुको पुनर्वासका साथै नासिएका मासिएका भौतिक संरचनाको पुनःनिर्माणका लागि बहुवर्षीय योजनाअनुसार काम गर्न सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरिने जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले बताए ।

‘विस्थापितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गर्न आधा रोपनी जग्गा स्थानीय तहले सिफारिस गरिसकेको छ, अब जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषद्बाट निर्णय हुनेमा हामी आशावादी छौँ’, उनले भने ।

सांसदलाई होइन, विज्ञलाई मन्त्री बनाउने प्रणाली आवश्यक छः प्रचण्ड

हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन् ।

आइतबार मकवनपुरको थाहा नगरपालिकामा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारको एकसय दिनको काम र जनतामा बढेको आक्रोशले यसको पुष्टि गरेको बताए । उनले सरकारले संविधान संशोधन गरेर प्राप्त उपलब्धिलाई उल्टाउने तयारीमा लागेको भन्दै त्यसो हुन नदिने बताए ।

भ्रष्टाचार प्रणालीमै रहेको भन्दै प्रचण्डले चुनावी प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड दिए। उनले सांसद हुनुका लागि निकै ठूलो धनराशी खर्च गर्नुपर्ने, सांसद भएपछि मन्त्री बन्नैपर्ने र खर्च उठाउनैपर्ने मान्यताका कारण सुशासन कायम हुन नसकेको तर्क गरे ।

उनले आफ्नो पार्टी अहिले सबैभन्दा सहज स्थितिमा रहेको र जनतामा गएर समीक्षा गर्ने अवसर पाएको बताए । प्रचण्डले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने आशंका गरे ।

विगतमा केपी ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै प्रचण्डले अब सम्झौता गर्न सक्ने आशंका गरे । उनले भने, ‘एमसीसीभन्दा अझ गम्भीर प्रकृतिको अर्को चिज छ एसपीपी । त्यो एसपीपीलाई पनि अहिलेका प्रधानमन्त्रीजीले अघिल्लोपटक नै सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकन मिडियाहरुमा आइसकेको छ र अमेरिकन सरकारले त्यसलाई आधिकारिक रुपले भनी पनि सकेको छ । यो गम्भीर चिन्ताको विषय छ । त्यसमा अब सम्झौतै गर्नेतिर जाने हो कि भन्ने स्थिति छ ।’

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित भएको छ । सिटीले खेलेको पछिल्ला चार खेलमा लगातार पराजयको सामना गर्नु परेको हो ।

शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ अल्बिओनभसँग २–१ गोलको हार व्यहोर्न पुग्यो । सिटीले सुरुआती अग्रता लिए पनि दोस्रो हाफमा अग्रता जोगाउन असफल भएको थियो ।

सिटीका लागि पहिलो गोल २३औं मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले गरेका थिए । तर ब्राइटनले दोस्रो हाफमा कमब्याक गर्न सफल भयो । जोआओ पेड्रोले ७८औं मिनेटमा बराबरी गोल गरेका थिए ।

यसैगरी म्याट ओरिलिले ८३ औं मिनेटमा गोल गर्दै खेल ब्राइटनको पक्षमा ल्याए । पेप ग्वार्डियोलाको कोचिङ करियरमा यो उनको पहिलो पटक लगातार चार खेलमा पराजय भएको हो । जसले सिटीलाई शीर्ष स्थानको दौडमा पछि पारेको छ ।

ब्राइटनसँगको पराजयले म्यानचेस्टर सिटीलाई ११ खेलमा २३ अङ्कसहित दोस्रो स्थानमा राखेको छ । शीर्ष स्थानको लिभरपुलले एस्टन भिल्लालाई हराउँदै सिटीलाई पाँच अङ्कले पछि पारेको छ । ब्राइटन भने १९ अङ्कसहित चौथो स्थानमा पुगेको छ ।

फुलहमले लन्डनका प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसलाई २–० ले हराउँदै तालिकामा सातौं स्थानमा चढेको छ । बन्टफोर्डले बर्नमाउथलाई ३–२ ले हराउँदै शीर्ष १० भित्र आफ्नो स्थान सुरक्षित गरेको छ ।

वुल्भ्सले पनि उत्कृष्ट प्रदर्शन गर्दै साउथह्याम्प्टनलाई २–० ले हराउँदै तालिकाको तल्लो स्थानबाट बाहिरिएको छ । पाब्लो साराबियाले दोस्रो मिनेटमै गोल गर्दै वुल्भ्सका लागि प्रिमियर लिगमा सबैभन्दा छिटो गोल गरेका छन् । यसैगरी, वेस्ट ह्याम युनाइटेड र एभर्टनबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।

धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति

बागलुङ । गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ । औषधालयमा हाल बहिरंग सेवा मात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरंग सेवा थप गर्ने गरी बजेट विनियोजन भएको हो ।

धवलागिरि आयुर्वेद औषधालयलाई स्तरोन्नति गरी २५ शय्याको बनाउन गण्डकी प्रदेश सरकारले रु. एक करोड ३६ लाख बजेट व्यवस्थापन गरिसकेको छ । पछिल्लो समय आयुर्वेद औषधालयप्रति बिरामीको आकर्षण बढ्न थालेपछि गण्डकी सरकारले चालु आर्थिक वर्षमा सेवा सञ्चालन गर्ने गरी औषधालय स्तरोन्नति गर्न बजेट विनियोजन गरेको हो ।


अहिले रहेको औषधालयको भवनलाई मर्मतसम्भार गरी सेवा सञ्चालनका लागि तत्कालै रु. एक करोड ३६ लाख पठाउने तयारी भएको र आगामी वर्ष नीति तथा कार्यक्रममार्फत बजेट थप हुने गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए ।

मन्त्री पाठकले चालु आवमा सेवा सञ्चालन गर्ने गरी धवलागिरि आयुर्वेद औषधालयको काम थालिएको बताउँदै २५ शय्यमा स्तर वृद्धि गरिएको अस्पतालले नागरिकको आयुर्वेदसम्बन्धी भरोसालाई थप वृद्धि गर्ने जानकारी दिए । “तत्कालै अस्पतालका लागि थप जनशक्ति, पूर्वाधार व्यवस्थापन, मर्मतसम्भार, औजार तथा उपकरण, औषधि निर्माण र खरिदका लागि बजेट व्यवस्थापन गरिएको हो”, पाठकले भने, “आगमी आवमा औषधालयमा दरबन्दी थप्ने र पूर्वाधार निर्माणका लागि थप बजेट व्यवस्थापन हुन्छ ।”

यही कात्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकले चालु आवमा धवलागिरि आयुर्वेद औषधालय र कास्कीको गण्डकी आयुर्वेद औषधालय २५ शय्यामा स्तर वृद्धि गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री पाठकले बताए । उक्त निर्णयपछि जनशक्ति व्यवस्थापन र पूर्वाधारसहित सामग्री व्यवस्थापनको काम मन्त्रालयले थालिसकेको छ ।

होमियोपेथिक, आयुर्वेद र प्राकृतिक चिकित्सा गरी तीनै क्षेत्रलाई महत्वलाई प्राथमिकतामा राखेर उपचार गर्ने तयारीमा धवलागिरि आयुर्वेद औषधालय रहेको छ । अहिले भइरहेको अस्पताल भवनलाई नयाँ व्यवस्थापन गरी सेवा सञ्चालनको तयारी थालिएको औषधालयका प्रमुख डा. शरद पन्थीले जानकारी दिए । अस्पतालमा अहिले तीन डाक्टर कार्यरत रहेको भन्दै केही जनशक्ति थप हुनासाथ सेवा सुरु गर्ने तयारी रहेको पन्थीले जानकारी दिए ।

अहिले भवनको तल्लो तलालाई अन्तरंग सेवाका लागि प्रयोग गर्न मिल्ने बनाउने योजना औषधालयको छ । आयुर्वेद चिकित्साप्रति नागरिकको आकर्षण बढिरहेको बताउँदै पन्थीले गण्डकी प्रदेशको निर्णयानुसार अस्पतालको स्तर वृद्धिका लागि तयारी थालिएको छ । अस्पताल स्तर वृद्धिपछि भौतिक संरचना भने बिस्तारै वृद्धि गर्नुपर्ने पन्थीको भनाइ छ ।

उपनिर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार(सूचीसहित)

काठमाडौं । नेकपा एमालेले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको सचिवाल बैठकले जिल्ला र प्रदेश कमिटीले सिफारिस गरेका उम्मेदवारको नामलाई अनुमोदन गरेको हो ।

निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा राजनीतिक दलसँग सहकार्य हुनसक्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले किर्तिपुर नगरपालिकाको प्रमुखका डा सुरेन्द्र मानन्धर, मोरङ्गको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वास, दोलखाका गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङगेली शेर्पा, रुकुम पूर्वपुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष केशकुमारी तुलाचन उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सुनिता बोहरा, गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष जान शाही, बाजुराको स्वामीकात्तिक खापर गाउँपालिकाका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए । निर्णय हुन बाँकी उम्मेदवारको प्रदेश कमिटीलाई अख्तियारी दिने निर्णयसमेत गरिएको उनले बताए ।

अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड : समूहगतमा नेपाली र व्यक्तिगत स्पर्धामा चिनियाँ खेलाडी च्याम्पियन

कास्की। नेपाल र मित्रराष्ट्र चीनका खेलाडीकाबीच पोखरामा आज सम्पन्न तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौडमा ‘समूहगत स्पर्धा’ मा नेपाली धावक ‘च्याम्पियन’ भएका छन्। यसैगरी ‘व्यक्तिगत स्पर्धा’को महिला तथा पुरुष दुवैतर्फ चिनियाँ धावक विजेता भएका सफल भए।

समूगत स्पर्धामा नेपालका सुशीलकुमार शाही, सिर्जना पौडल र श्रीकाश राई सम्मिलित टोलीले रनिङ, साइक्लिङ र रोइङसहितको निर्धारित ५० किमी दूरी ४ घण्टा २० मिनेट १४ सेकेण्डमा पार गरी उपाधि जितेको हो।

नेपाली सेनाका करन रावत, नरेन्द्र सिंह रावत र निर्मला राई सम्मिलित टिमले ४ घण्टा २२ मिनेट २९ सेकेण्डमा दौड पूरा गरी उपविजेता बने। यसैगरी सशस्त्र प्रहरी बलका लक्ष्मण मल्ल, निरज भट्ट र पुष्पा भण्डारीको टोलीले ४ घण्टा २३ मिनेट आठ सेकेण्डमा दौड पूरा गरी तृतीय भएको छ।

प्रतियोगिताको समूगत स्पर्धातर्फका बिजेताले रु चार लाख ५८ हजार चार सय, उपविजेताले रु तीन लाख ४३ हजार आठ सय र तृतीयले रु दुई लाख २९ हजार दुई सय पुरस्कार पाए। यसैगरी ‘व्यक्तिगत स्पर्धा’ मा पुरुषतर्फ चीनका धावक एङ ज्याङ जेनले निर्धारित ५० किमी दौड ३ घण्टा ४४ मिनेट १२ सेकेण्डमा पार गरी विजेता भए। नेपाली धावक कुलबहादुर बस्नेतले तीन घण्टा ४८ मिनेट दुई सेकेण्डमा दूरी पार गरी द्वितीय भए। नेपालकै होमलाल श्रेष्ठले ३ घण्टा ५३ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरी तृतीय बने।

महिलातर्फ चीनका झेङ वाङ रोङले ४ घण्टा १४ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी उपाधि जिते। नेपाली धाविका जुम्लाका कल्पना बुढा उपविजेता बने। उनले निर्धारित दूरी ४ घण्टा ५० मिनेटमा पार गरिन्। नेपाल प्रहरीका राम माया बुढाले ५ घण्टा आठ मिनेट १८ सेकेण्डमा दौड पूरा गरी तृतीय भइन्।

‘व्यक्तिगत स्पर्धा’ दौडतर्फको पुरुष तथा महिला दुवैतर्फको विजेताले रु एक लाख ५२ हजार आठ सय, उपविजेताहरूले रु एक लाख १४ हजार छ सय र तृतीय हुने दुवै तर्फकाले रु ७६ हजार चार सयका साथमा मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गरे। नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र काठमाडौंस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजना तथा हिमालयन टुरिजम फोरमको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा टिम इभेन्टतर्फ १९ र चीनतर्फका चार समूह तथा व्यक्तिगततर्फ नेपाली महिला तथा पुरुष ८७ चीन तर्फका २९ जनाले प्रतिस्पर्धा गरेको हिमालय टुरिजम फोरमका मिडिया संयोजक इन्जिरियन प्रतीकराज पहारीले जानकारी दिए।

_

रास्वपाले दोस्रो चरणको आन्दोलनलाई सशक्त बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साथै साझा राष्ट्रिय मुद्धाहरुमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनमा साथ दिन आमनेपाली जनतालाई आह्वान गर्ने निर्णय गरेको हो ।

बैठकले गत माघमा प्रधानमन्त्रीलाई बुझाएको ‘सहकारी र लघुवित्त संस्थाहरुको समस्या समाधानका नीतिगत उपाय र योजना’ विषयक प्रतिवेदनका सिफारिसहरुलाई आधार मान्दै सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितहरुको सरोकार सम्बन्धी तृणमूल अभियानलाई गति दिन १ महिनाभित्र रास्वपाका सम्बन्धित पालिका संरचनाहरुले आआफ्नो क्षेत्रमा सहकारी नियमनको अवस्था यकीन गरी कार्ययोजना बनाएर पीडितहरुको सरोकार बमोजिम बचत रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमहरुको अगुवाई गर्ने निर्णय पनि गरेको छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाउँछौंः प्रचण्ड

हेटौँडा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताएका छन् ।

मकवानपुरको थाहा नगरपालिकामा शनिबार आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै नआउने भन्दै व्यवस्था परिवर्तनको सुरुवाती दिनदेखि नै आफूहरूले उक्त मुद्दा उठाउँदै आएको बताए ।

आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको र दोस्रो पटकमा उज्यालो नेपालको अवधारणा अनुरूप विद्युतभार कटौती हटाएको अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।

उनले भने, ‘मैले पहिलोपटक प्रधानमन्त्री हुँदा ऋण मिनाह गरेँ, नेपालको पूर्व–पश्चिम जोड्न मध्यपहाडी लोकमार्गको काम अगाडि बढाएँ, म अझै थाकेको छैन, तेसैले अझ परिवर्तनको लहर ल्याएर नै छाड्नेछु ।’

उनले मकवानपुर तथा थाहा नगरका केही विकास योजनालाई प्रभावकारी बनाइने उल्लेख गर्दै धेरै योजना माओवादीकै पहलमा अघि बढिरहेको बताए ।

उनले थानकोन–चित्लाङ–चन्द्रागिरी सडक गणेशमान राजमार्ग स्तरोन्नतिसहित कालोपत्रे गर्ने, फोदगाउँ वस्ती बचाउ कार्यक्रममा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

माओवादी केन्द्रको पहलकदमीमा बागमती सरकारको लगानीमा कबर्ड हल सम्पन्न हुने चरणमा रहेको र शीतभण्डार स्थानीय सरकारको विशेष पहलमा निर्माण भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दामगाडे महादेववेशी सडक ९८ करोडको लगानीमा निर्माण भइरहेको, एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत कञ्छाल कलेचानी सडकसहित १० करोडको प्याकेज सञ्चालनमा रहेको र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय थाहाको चित्लाङमा स्थापना भएको बताए ।

एमालेद्वारा उपनिर्वाचनमा सिफारिस उम्मेदवारको नाम अनुमोदन

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सिफारिस उम्मेदवारको नाम अनुमोदन गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले एमालेको तर्फबाट सिफारिस भई आएका उम्मेदवारको नाम अनुमोदन गरेको र सिङ्गो पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति परिचालन हुन आह्वान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले बदलिँदो भूराजनीति र अन्तर्राष्ट्रिय कुटनीतिमा विकसित घटनाक्रमहरूबारे छलफल गर्दै एमालेले भारत र चीन दुवै छिमेकी देशहरूप्रति असल, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रीत परराष्ट्र सम्बन्ध कायम गरेर अघि बढ्नु अहिलेको आवश्यकता भएको निष्कर्ष निकालेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले दुई छिमेकीसँगको सन्तुलित सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएको बताए ।

उनले भने, ‘अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिलाई नियालेर हामीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमाथि आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ । बैठकले प्रधानमन्त्रीको चीन भ्रमण अधिकतम राष्ट्रिय हितमा उपयोग गर्नका लागि समेत सरकारलाई आग्रह गरिएको छ ।’

त्यस्तै बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा गरेको छ ।

पाँच किलोमिटर दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी प्रथम

लेखनाथ (कास्की) । पोखरामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय क्रस कन्ट्री प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दूरीको विद्यार्थी दौड (महिला÷पुरुष) मा पुरुषतर्फ बादल कार्की र महिलातर्फ नारायणी भण्डारी प्रथम भएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ कृष्ण परियार र रमेश बुढाले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् । महिलातर्फ स्वीकृति कार्की र जुही राई तेस्रो भएका छन् । यो दौड फेवा किनाराको बाराही घाटबाट सुरु भई गौरीघाट, सहिदचोक, राष्ट्र बैंक चोक हुँदै ड्यामसाइटबाट पुनः राष्ट्र बैंक चोक हुँदै बाराहीघाट पुगेर सम्पन्न भएको थियो ।

विद्यार्थी दौडमा शीर्ष छ/छ (महिला र पुरुष) खेलाडीलाई नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रथम हुनेले ३० हजार, दोस्रोले २५ र तेस्रोले २० हजार राशि पुरस्कार प्राप्त गर्नेछन् । चौँथोदेखि छैँठौँ हुने खेलाडीले १०/१० हजार पाउनेछन् । प्रतियोगितामा पाँच सयभन्दा बढी विद्यार्थी सहभागी थिए ।

हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति

काठमाडौँ । हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति गरेको छ । शनिबार बसेको प्राधिकरण, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरुका प्रतिनिधिको बैठकमा यस्तो सहमति भएको हो ।

सहमति अनुसार एयरलाइन्स कम्पनीहरुले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रुपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गरिदिएको छ ।

त्यस्तै, एयरलाइन्स हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता बमोजिमको शर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरि हवाई भाडादर कायम गर्ने सहमति समेत भएको छ । बैठकले हवाइ टिकटको मूल्यसूची तोक्ने र सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमामात्रै गर्ने समेत निर्णय भएको छ ।

गाजा युद्धमा मृत्यु भएका मध्ये ७० प्रतिशत महिला तथा बालबालिका

जेनेभा । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले इजरायल र गाजामा सन् २०२३ अक्टोबर ७ बाट बाहिर आएको डरलाग्दो वास्तविकताको विवरण दिने एक प्रतिवेदन प्रकाशित गरेको छ । प्रतिवेदनका अनुसार हालसम्म मृत्युमध्ये झण्डै ७० प्रतिशत बालबालिका र महिलाहरू रहेका छन् ।

यसमध्ये करिब ८० प्रतिशतको मृत्यु आवासीय भवनमा भएको थियो, जसमा ४४ प्रतिशत बालबालिका र २६ प्रतिशत महिला थिए ।

संयुक्त राष्ट्र मानव अधिकारका लागि उच्चायुक्त भोल्कर टर्कले भने,’मेरो कार्यालयले आज मानिसहरूका लागि प्रकट भएको डरलाग्दो विवरणको प्रतिवेदन प्रकाशित गरिरहेको छ ।अक्टोबर ७, सन २०२३ देखि जघन्य अपराधहरू हुने खतराबारे मैले बारम्बार चेतावनी दिएको छु । अन्तर्राष्ट्रिय कानूनले यी गम्भीर उल्लङ्घनको लागि न्याय दिनै पर्छ ।’

हमासले गत वर्ष अक्टोबर ७ मा इजरायलमा ठूलो आतङ्कवादी आक्रमण गरेको थियो । उक्त आक्रमणमा एक हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएका र २५० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएका थिए । तिनीहरूमध्ये लगभग १०० जना भन्दा बढी अझै पनि बन्धक छन् ।

जवाफमा, इजरायलले गाजामा हमास एकाइहरूलाई निशाना बनाउँदै कडा जवाफी आक्रमण सुरु गर्यो । यद्यपि, इजरायली कारबाहीहरूले गाजामा ४५ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको जनाइएको छ ।

इराकी प्रधानमन्त्री सुदानीद्वारा ट्रम्पलाई मध्यपूर्वको युद्ध अन्त्यका लागि काम गर्न आग्रह

इराक । इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ता गर्दै मध्यपूर्वमा युद्ध अन्त्यका लागि काम गर्ने आग्रह गरेका छन् ।

गाजा र लेबनानमा इजरायलको युद्धको बीचमा, सुदानीलाई इरान समर्थित राजनीतिक गुटहरूको बहुमतले प्रधानमन्त्री नियुक्त गरेको थियो ।

फोन वार्तामा इराकी प्रधानमन्त्री –सुदानीले ट्रम्पको अभियानको बयान गर्दै मध्यपूर्वमा युद्ध अन्त्य गर्ने बारे छलफल भएको प्रधानमन्त्री सुदानीको कार्यालयबाट शुक्रबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिका अनुसार दुवै पक्ष उक्त लक्ष्य हासिल गर्नका लागि समन्वय गर्न सहमत भएका छन् ।

इस्लामिक स्टेट समूहसँग लड्न सहयोग गर्न गठन गरिएको अमेरिकी नेतृत्वको गठबन्धनको हिस्साका रूपमा इराकमा करिब दुई हजार ५०० अमेरिकी सेना तैनाथ गरेको गरेको जनाइएको छ ।

बगदादले वर्षौंदेखि वासिङ्टनलाई आफ्ना बाँकी गठबन्धन सेनाहरू फिर्ता लिनको लागि स्पष्ट समय सीमा प्रदान गर्न आह्वान गर्दै आएको छ ।

अमेरिका र इराकले सेप्टेम्बरको अन्त्यमा अन्तर्राष्ट्रिय गठबन्धनले एक वर्ष भित्र इराकमा एक दशक लामो सैन्य मिसन समाप्त गर्ने घोषणा गरेका छन् ।

यद्देपी संयुक्त विज्ञप्ति र अमेरिकी अधिकारीहरूले कुनै पनि अमेरिकी सेना इराकमा रहने तथा रहेको उल्लेख गरेका छैनन् ।

सन् २०२० जनवरीमा भएको अमेरिकी ड्रोन हमलामा कुद्स फोर्सका प्रमुख र विदेशमा इराकको सैन्य कारबाहीका वास्तुकार इरानी जनरल कासिम सुलेमानीको मृत्यु भए पछि ट्रम्पको पहिलो कार्यकालमा दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो । मुहान्दिसको हत्याको अनुसन्धान पछि इराकी न्यायपालिकाले सन् २०२१ जनवरीमा ट्रम्पको गिरफ्तारीका लागि पक्राउ पुर्जीसमेत जारी गरेको थियो ।

भारी वर्षाका कारण जापानमा आपतकालीन चेतावनी जारी

टोकियो । जापानी मौसम विज्ञान विभागले कागोसिमा र ओकिनावामा भारी वर्षाको कारण देखाउँदै शनिबार आपतकालीन चेतावनी जारी गरेको छ। जसमा बाढी पहिरोलगायतका जोखिमको सम्भावना उल्लेख गर्दै अधिकतम सावधानी अपनाउन आह्वान गरिएको छ।

विभागअनुसार प्रतिकूल मौसमले कागोसिमाको योरोन सहर ओकिनावा प्रान्तमा अस्थिर वायुमण्डलीय अवस्था सिर्जना गर्दा भारी वर्षा भएको हो।

योरोनमा, २४– घन्टामा ५९४ मिमी वर्षा भएको छ, जुन सन् १९७८ मा डाटा सङ्कलन सुरु भए देखिको सबैभन्दा बढी हो।

ओकिनावाको हिगाशी गाउँमा २४ घण्टामा ४४२ मिमीको वर्षा रेकर्ड भएको जनाउँदै स्थानीय अधिकारीहरूले बाढी प्रभावित क्षेत्रमा पहिरोको जोखिम रहेको रिपोर्ट गरेका छन् भने साँझसम्म गम्भीर वर्षा हुने अनुमान गरिएको छ।

यस क्षेत्रकाका बासिन्दाहरूलाई सम्भावित बाढी–पहिरो र नदीको बढ्दो स्तरका लागि सतर्क रहन सूचित गरिएको छ।

चितवनमा गैँडाको आक्रमणबाट पथप्रदर्शक घाइते

चितवन । सदावाहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैँडाको आक्रमणबाट घाइते भएका छन्  ।

गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ का २८ वर्षीय माझी घाइते भएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार माझीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

कोशीका विवादित पूर्वमन्त्री अधिकारी एमालेको कुनै पनि तहमा नरहने गरी निलम्बन

विराटनगर । नेकपा एमालेले जापान भ्रमण विवादमा परेपछि राजीनामा दिएका कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई सङ्गठित सदस्यबाट निलम्बन गरेको छ ।

शनिबार बसेको नेकपा एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई आरोपको अन्तिम निरूपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको हो ।

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा एमालेको सङ्गठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी दिए ।

उनले अधिकारीले पदीय मर्यादाविपरीत जापानको भ्रमण गरेपछि पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा दिएका थिए । उनीमाथि मानव तस्करीको गम्भीर आरोप लागेको छ ।

नेपाल युएईसँग १३ रनले पराजित

काठमाडौँ ।  युएईमा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा शनिबार भएको खेलमा घरेलु टोली युएईले नेपाललाई १३ रनले हराएको हो । 

युएईले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय नौ रन मात्रै बनाउन सक्यो । 

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ४३ बलमा ५ चौकाको मद्दतले सर्वाधिक ४८ रन बनाएकी हुन् । साना प्रवीण र सोनी पाख्रिनले समान १९/१९ रन बनाए । ज्योत्स्निका मरासिनीले ११, सावित्री धामीले ७ र एलिशाकुमारी यादवले तीन रन बनाइन् । यो खेलमा नेपालले अतिरिक्त तीन रन पाएको छ । युएईका लागि इन्धुजा नन्दकुमार, लावन्या केनी र मेहक ठाकुरले समान १÷१ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो । युएईका लागि रिनिथा रञ्जितले सर्वाधिक ४८ रन बनाइन् । उनले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाएकी हुन् । 

यस्तै लावन्या केनीले २०, इन्धुजा नन्दकुमारले १२, समाइरा धरनिधर्कले ८, अल मसीरा जहाँगीरले ६ रनको योगदान दिए । ऋषिता राजित र अवनी सुनिल पाटिलले समान ९/९ रन बनाए । युएइले अतिरिक्त १० रन प्राप्त गरेको हो । 

नेपालका लागि रिया शर्माले सर्वाधिक तीन विकेट लिइन् । पूजा महतो, कृश्मा गुरुङ र सीमा केसीले समान १÷१ विकेट लिए । एसिया छनोटमा नेपालको यो पहिलो हार हो । यसअघि नेपालले दुई खेल जितेको थियो । पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।

नेपालले आइतबार थाइल्याण्डसँग चौँथो खेल खेल्नेछ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।

भैरहवाबाट एकै दिन तीन अन्तर्राष्ट्रिय उडान

भैरहवा ।  नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन विमानले उडान भरिरहेका छन् । 

विमानस्थल सुरु भएदेखि नै उडान सुरु गरेको जजीरा एयरलाइन्सले स्थगित गरेको उडान आजदेखि फेरी सुरु गरेको छ । शनिबार एक सय ७१ यात्रु लिएर आएको जजीरा एक बालकसहित एक सय ६८ यात्रु लिएर उडेको छ भने फ्लाई दुबई र नेपाल एयरलाइन्स पनि आजैदेखि उडान सुरु गर्दैछन् । यससँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको सङ्ख्या चार पुगेको छ । 

जजीरा एयर सातामा तीन दिन उडान गर्दैछ । मङ्गलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुबेतका लागि उड्ने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । यस्तै फ्लाई दुबईले दैनिक उडान गर्ने र अपराह्न पौने २ बजे भैरहवा आउने तथा यसको एक घण्टापछि दुबई फिर्ता जाने उनले बताए । 

नेपाल एयरलाइन्सले सातामा तीन पटक काठमाडौँ–भैरहवा–दुबई उडान गर्नेछ । तिवारीका अनुसार आइतबार, सोमबार र बुधबार नेपाल एयरलाइन्स काठमाडौँबाट बिहान १० बजे उडान गरी भैरहवा आउने र यहाँबाट दुबई जानेछ । 

तिवारीका अनुसार कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि भैरहवाबाट उडान गर्ने विषयमा छलफल भइरहेको छ । उनले अहिले भैरहवा विमानस्थल १८ घण्टा सञ्चालन भइरहेको र एक घण्टामा विमानस्थलमा दुई अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्नसक्ने क्षमता रहेको बताए ।

“दैनिक ३६ वटासम्म विमान भैरहवाबाट हामी सञ्चालन गर्न सक्ने अवस्थामा छौँ”, तिवारीले भने, “अध्यागमनलगायत अन्य जनशक्ति अहिले पूरा छ, आवश्यकताअनुसार यसलाई थप परिमार्जन पनि गर्न सकिन्छ ।” 

भैरहवा तथा यस आसपासका यात्रुहरु भैरहवामै अवतरण गर्न पाउँदा हर्षित भएका छन् । देवदह नगरपालिकाका तिजन रानाले पहिलो पटक भैरहवामै अवतरण गर्न पाउदा खुसी भएको बताए ।

“हामी भैरहवा विमानस्थल सञ्चालनको एकदमै पर्खाइमा थियौँ, सञ्चालन हुने वित्तिकै पहिलो उडानबाट भैरहवा आएका छौँ”, उनले भने, “वर्षमा दुई पटक नेपाल आइन्छ, अब काठमाडौँ नै धाउनुपर्ने बाध्यता हुँदैन ।”

सोही विमानमार्फत भैरहवा आइपुगेका कुवेतका राजदूत घनश्याम लम्सालले पहिलो उडानबाट आउन पाउँदा खुशी भएको बताए । यसले नेपाल र कुवेतबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै त्यहाँका नेपाली नागरिकलाई आवतजावतमा सहज पुर्याउने बताए । राजदूत लम्सालले विमानस्थल नियमित सञ्चालनमा सबैलाई सहयोग गर्न आग्रह गरे ।

विमानस्थल सञ्चालनमा आएसँगै यात्रुहरुले यसलाई भने अब निरन्तरता दिनुपर्ने उनको भनाइ छ । व्यवस्थापन चुस्त राख्नुपर्ने, सार्वजनिक यातायातका साधन लगायतको विषयमा ध्यान दिन उनले सुझाव दिए ।

जीपी कोइराला स्वासप्रश्वास केन्द्रमा ‘डायलासीस मेसिन’ तत्काल जडान गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

डुम्रे (तनहुँ) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जीपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासीस मेसिन’ जडान गरी  मिर्गौला उपचार सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरापालिका–५ बेलचौतरास्थित केन्द्रको  शनिबार निरीक्षण गर्दै उनले मेसिन खरीद गर्न मन्त्रालयले  प्राथमिकता दिने जानकारी दिए ।

उनले भने, ‘मेसिन जडान गरी मिर्गौलाको डायलासिस सेवा प्रवाह गर्नुहोस्, मेसिनका सबै प्रबन्ध मन्त्रालयले गर्नेछ ।’ छिमेकी जिल्लावासीले सेवा लिने अस्पतालमा यस सेवा अत्यावश्यक भएकाले तुरुन्तै सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । 

उपचार केन्द्रलाई तीन सय शैय्यामा विस्तार गर्न लागि आवश्यक पूर्वाधारको निम्ति पहल भइरहेको र अब छिट्टै टुङ्गो लाग्ने उनले जानकारी गराए । केन्द्रका निर्देशक डा रामकुमार श्रेष्ठले डायलासिस सेवा प्रवाहका लागि स्थानको निर्माण भइरहेको बताए ।

उनले भने, ‘पूर्वाधार तयार भइरहेको छ, छिट्टै उपचार केन्द्रबाट डाइलासिसको सेवा प्रवाह गर्ने तयारी भएको छ, कर्मचारी छनौट गरी तालिममा पठाएका छौं, पूर्वाधारका साथै कर्मचारी समेत तयार गरिरहेका छौँ ।’

उपचार केन्द्रबाट छिट्टै डायलासिसको सेवा प्रवाह गर्ने तयारी भएको छ । यस अस्पतालमा डायलासिस सेवा प्रवाह हुन थालेपछि तनहुँका साथै कास्की, स्याङ्जा, नवलपुर, पाल्पा जिल्लावासी लाभान्वित हुनेछन् ।

केराखेतीबाट वार्षिक आठ लाख आम्दानी

धरान (सुनसरी) ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्ट विसं २०७७ देखि कृषि पेसामा लागेका छन् ।
व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका उनले अहिले केरा बिक्रीबाट वार्षिक  आठ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए ।

उनले भने, ‘१७ वर्ष नेपाल प्रहरीको सेवापछि घर फर्किए, अरु व्यापार व्यवसायबाट खासै कमाइ नहुने देखिएपछि कृषि पेसामा लागेको हुँ, डेढ बिघा क्षेत्रफलमा केराखेती सुरु गरेर अहिले वार्षिक रुपमा आठ लाख बढी आम्दानी हुन्छ, मासिक ८०, ९० घरीसम्म केरा बिक्री हुने गरेको छ ।’

केरा बिक्रीका लागि धेरैजसो चक्रघटी, कालाबन्जर, चतरा लगायतका स्थानीय बजार तथा इटहरी, धरान, गाइघाटसम्म पनि पठाउने गरेको लैजाने गरेको उनी बताउँछन् । एक घरी केरा  ४०० देखि ६०० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए ।

सुरुमा धान, मकै, कोदोको खेती गर्ने उहाँ पछिल्लो समय केराखेती तिर आकर्षित भएको विष्टले बताए । अहिले उनले भएको सबै आप्mनो जग्गामा केरा, खर्बुजा, भुइँकटहर, दाल, बोडी, सयपत्री फुल र तोरी लगाएका छन् ।

उनले भने, ‘कृषि पेसामा सुरुमा केहि दुःख गर्नुपरे पनि पछि आरामले कमाइ गर्न सकिन्छ, कृषि पेसा भनेको आफैँ मालिक आफैँ कर्मचारी हो, घरमा कहिलेकाही घर खर्च तार्न खाँचो हुँदा अरुसँग ऋण माग्न जानुपर्दैन, तीन/चार घरी केरा बजार लगेर बेच्दा घर खर्च मज्जाले टार्न सकिन्छ ।’ उनले अहिले मालभोक, चिनियाँ चम्पा र कृष्णभोग गरी तीन किसिमका केरा लगाएका छन् ।

सुनसरीमा हाल पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘सुनसरीमा केराखेतीको उत्पादन राम्रै छ, तर गत असोजमा आएको बाढीले ३८ दशमलव २५ हेक्टरभन्दा बढी केराखेती नष्ट गर्दा  ३७ लाख बढीको क्षति भएको छ ।’

पछिल्लो समय केराखेतीबाट राम्रो आम्दानीसँगै उत्पादन राम्रो हुन थालेपछि यहाँका किसानले धेरै जसो केराखेती गर्न थालेको सूचना अधिकृत श्रेष्ठको भनाइ छ । कृषि ज्ञान केन्द्रका अनुसार अहिले सुनसरीमा झप्री, मालभोक, मुङ्गे, मर्चे चिनियाँ चम्पा, कृष्णभोग, हाइब्रिड प्रजातिका केरा अत्यधिक उत्पादन हुने गरेको छ ।

नुवाकोटको विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन

त्रिशूली । विदुर नगरपालिका–८ स्थित भैरूम माध्यमिक विद्यालयमा अतिरिक्त समयमा चिनियाँ भाषा र आइटीसम्बन्धी कक्षा सञ्चालन गरिएको छ । यहाँ अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई चिनियाँ भाषा र सूचना प्रविधि (आइटी) सम्बन्धी ज्ञान दिने उद्देश्यले कक्षा सञ्चालनमा ल्याइएको हो ।

चिनियाँ दूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी बिहानी समयमा अतिरिक्त कक्षा सञ्चालन गर्न थालिएको जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर तामाङले जानकारी दिए । समन्वय समितिले कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गरिरहेको उनले बताए ।

यहाँ पहिलो पटक नमुनाका रूपमा चिनियाँ दूतावासको सहयोगमा भाषा र कम्प्युटर शिक्षाका कक्षा सञ्चालनमा ल्याइएको हो । यो कार्यक्रम सफल भएमा क्रमशः अन्य विद्यालयमा पनि विस्तार गर्ने योजना रहेको दूतावास कार्यालयले जनाएको छ ।

“नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा वा शुल्क तिरेर चीन जाने गरेका छन् । सोसम्बन्धी प्रारम्भिक शिक्षा दिन सुरु गरेका छौँ । यसले विद्यार्थीलाई भाषा र कम्युटर अध्ययनसम्बन्धी जानकारी दिने भएकाले यो कक्षा प्रभावकारी हुने विश्वास लिएका छौँ”, जिल्ला समन्वय समितिका उपप्रमुख तामाङले भने ।

चीन सरकारले सान्दोङ फोरेन ट्रेड भोकेसनल कलेजमार्फत विश्वका एक सय बढी देशमा भाषा र प्रविधिसम्बन्धी कक्षा सञ्चालन गरिरहेकाले साही क्रममा पहिलो पटक नुवाकोटमा कक्षा सञ्चालनमा ल्याइएको दूतावासले जनाएको छ ।

कलेजले तयार गरेको पाठ्यक्रम र सोही पाठ्यक्रममा आधारित कक्षा सञ्चालन गर्न आवश्यक जनशक्ति सोही कलेजबाट आएका छन् । विद्यार्थीलाई अतिरिक्त कक्षासहित दिवा खाजा, आवश्यक शैक्षिक सामग्री पनि निःशुल्क उपलब्ध गराइएको छ ।

यहाँ कक्षा व्यवस्थापन तथा सहजीकरण ‘ओभरसिज ट्रेडिङ सेन्टर इन नेपाल’ नामक संस्थामार्फत भइरहेको विदुर–८ का वडाध्यक्ष कमल श्रेष्ठले जानकारी दिए । अहिले भाषा र प्रविधि कक्षा वडाभित्रका कक्षा ११ र १२ का विद्यार्थीलाई प्राथमिकता दिएर सञ्चालन गरिएको जनाउँदै रिक्त कोटामा मागअनुसार अन्य युवालाई पनि सहभागी गराइने उहाँले बताउनुभयो । विद्यार्थी छनोट, भर्ना तथा कक्षा व्यवस्थापन वडा कार्यालयमार्फत कक्षा भइरहेको छ ।

यसैबीच, चीन सरकारको सहयोगमा नुवाकोटको साततले दरबार पुनःनिर्माण भइरहेको छ भने यहाँको शिक्षा, स्वास्थ्य, कृषि, सहरीकरणलगायत क्षेत्रमा चिनियाँ दूतावासमार्फत सहयोगका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।