`

सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन

काठमाडौं । सामाखुसी यातायात प्रालिले सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि थप १५ बस सञ्चालनमा ल्याएको हो ।

प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा बस सेवाको उद्‌घाटन गरे । प्रालिका अध्यक्ष प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको जानकारी दिए।

‘काठमाडौँ उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौँ,’ उनले भने । काठमाडौँको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएका उनको भनाइ थियो ।

अध्यक्ष प्रजापतिले सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिए।

सो यातायातले काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट सेवा दिँदै आएको प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिए। प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको उनले बताए ।

वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार

वीरगञ्ज ।  वीरगञ्ज भन्सार कार्यालयमा हुने राजस्व सङ्कलनमा क्रमिक सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले  २२ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षको असोजसम्म कार्यालयले रु ३८ अर्ब ८५ करोड ३१ लाख राजस्व सङ्कलन गरेकामा चालु आवको सोही अवधिमा कार्यालयले  ३९ अर्ब सात करोड ३९ लाख राजस्व सङ्कलन गरेको हो ।

यद्यपि कार्यालयले चालु आवको असोजसम्म ५२ अर्ब ९९ करोड ६३ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । हाल सङ्कलन भएको राजस्व लक्ष्यभन्दा २६ प्रतिशतले कम रहेको कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए । गत आर्थिक वर्षको पहिलो तीन महिनामा कार्यालयले ५६ अर्ब ८४ करोड ६३ लाख राजस्व सङ्कलन गर्न लक्ष्य लिएकामा ३२ प्रतिशत कम राजस्व सङ्कलन गरेको थियो ।

संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताए ।

‘राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ । तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षाैं लाग्न सक्छ । यसतर्फ हामी सचेत हुनुुपर्छ’, इन्द्रजात्राजस्ता पर्वहरुमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने ।

नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवादन तथा विशेष धूनहरु रहेको तथा यसको संरक्षणमा भइरहेका प्रयासको उनले प्रशंसा गरे ।

सो अवसरमा समितिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवतलाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउन २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषद्बाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयनका लागि निर्देशित गर्न माग गरे ।

उनले राष्ट्र बैङ्कबाट निष्कासन हुने नोटमा नेपाल संवतको पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरुमा नेपाल संवत्को नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन आग्रह गरे ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवतको प्रयोगको अवस्थाबारे अनुुगमनको व्यवस्था गर्न सुुझाव दिए । सरकारले २०६५ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

यस वर्षको नेपाल संवत् ११४५ कछलाथ्व पारु यही कात्तिक १७ गते मनाइँदैछ । उक्त दिन बिहान भक्तपुरको मध्यपुर थिमीस्थित साख्वाको प्रतिमामा माल्यार्पण र काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रम हुनेछ ।

समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा  प्रधानमन्त्री ओलीलाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा दिएको छ । सो अवसरमा पूर्वमन्त्रीहरु कृष्णगोपाल श्रेष्ठ, दिलीप महर्जन, अगुवाहरु हीतकरवीर सिंह कंसाकार, मल्ल के सुन्दर, प्रा नरेशमान बज्राचार्यलगायतको उपस्थिति थियो ।

अब सरकार गठन भएको सय दिन पूरा भएपछि बिरोधका कार्यक्रम सुरु हुन्छः प्रचण्ड

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन् ।

सोमबार प्रेस सेन्टरले जुम्लाको सिंजामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताएका हुन् ।

उनले सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको आरोप लगाए । उनले भने, ‘मैले उतिबेला नै भनेको थिएँ, सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो । सरकार गठनको तीन महिना पुग्दै छ, तपाईँहरूले सबै देखिरहनुभएको छ । मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबरजस्ती व्यक्तिमा नाममा लैजाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनि चलिहरेको छ । तिनै व्यवसायीबाट जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैंले सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् ।’

उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि बिरोधका कार्यक्रम सुरु गर्ने जानकारी पनि दिए ।

उनले भने, ‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौँ । आज मात्रै हामी बिपक्ष दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिँदै छौँ र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन् ।’

राष्ट्रिय फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा न्यौपाने नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्यौपानेलाई अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले न्यौपानेलाई अन्तरिम मुख्य प्रशिक्षकको नियुक्ति पत्र दिएका हुन् ।

त्यस्तै, एन्फाले चेतन घिमिरेलाई सहायक प्रशिक्षक र नवीन महर्जनलाई गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिएको छ । अन्तरिम मुख्य प्रशिक्षक न्यौपानेकै टिमले नोभेम्बरमा हुने ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिम पनि घोषणा गर्नेछ ।

सरकारले सय दिनको अवधिमा धेरै आशालाग्दा काम गरेको छ : संचारमन्त्री गुरुङ(अन्तरवार्ता)

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुम्लाको सिमिकोटमा फाइबर जडानदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिओआइएमएस) स्थापनालगायत तोकिएका सबै काम पूरा भएको बताएका छन् । सरकारी निकायमा वेबसाइट प्रणाली, मोबाइल एप्लिकेसनको जिम्मेवारीका साथै फोरजी–एफटिए मोबाइल कभरेज यसअवधिमा दुई प्रतिशत थप गरी ६ लाख जनता माझ पुर्याइएको जानकारी दिए । सञ्चारमन्त्री गुरुङले भने, “मोबाइल सेवालाई ९७ .२ प्रतिशत जनतामा पुर्याइएको छ, अप्टिकल फाइबर १६ हजार किलोमिटर, फिक्स्ड ब्रोडब्याण्ड सेवा ४४.३६ प्रतिशत र फोरजी(एलटिई) प्रयोग ७२ प्रतिशत जनसङ्ख्यामा विस्तार भएको छ ।”

राजनीति स्थायित्व र तीव्र आर्थिक विकास हासिल गर्ने उद्देश्यका साथ देशका प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ( एमाले) सम्मिलित वर्तमान सरकार गठन भएको सय दिन पुगेको छ । सोही सन्दर्भमा नेपाल सरकार र सञ्चार मन्त्रालयले हासिल गरेका उपलब्धिबारे सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङसँग राष्ट्रिय समाचार समिति (रासस) का आलेख शाखा प्रमुख कृष्ण अधिकारी र उपसमाचारदाता मधु शाहीले गरेको अन्तर्वार्ताको सम्पादित अंशः

–तपाइँले सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको सय दिन पुगेको छ, यस अवधिमा सम्पादन भएका कार्यलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

यो सरकार गठन भएको सय दिन पुग्दैछ । शुरुमा त मलाई मन्त्रालय बुझ्नै केही समय लाग्यो । मन्त्रालयअन्र्तगत छ वटा क्षेत्रमध्ये सञ्चार र सूचना प्रविधि मुख्य रहेको छ । सञ्चार क्षेत्रलाई व्यवस्थित गराउन काम सुरु भएको छ भने सूचना प्रविधिका समस्या पहिचान गर्ने काम भएको छ । सरकार गठनसँगै प्रधानमन्त्रीले हामी २१ जना मन्त्रीलाई कार्यसम्पादन सम्झौता गरी जिम्मेवारी दिनुभएको छ । मन्त्रिपरिषद्को कार्यविभाजन अन्र्तगत वर्ष दिनलाई पहिलो सय दिन, दोस्रो सय दिन र बाँकी एक सय ६५ दिनमा यो यो काम गर भनेर लक्ष्यसहित जिम्मेवारी दिइएको छ । पहिलो सय दिनमा मैले सम्हालेको मन्त्रालयलाई दिएको १५ वटा जिम्मेवारी थियो । सञ्चार मन्त्रालयले सय दिनमा तोकिएका १५ वटै काम सम्पन्न गरेको छ । यस अवधिमा ‘फाइवर टु द होम’ कार्यक्रमअन्र्तगत हुम्लाको सिमिकोटमा फाइबर जडान सम्पन्न भएको छ । अर्काे २० वटा सरकारी निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीओआइएमएस) स्थापनाका लागि तालिम दिने काम पनि समयमै हामीले सम्पन्न गरेका छौँ । अर्को पाँच वटा सरकारी निकायमा वेवसाइट सिस्टम, मोबाइल एप्लिकेसनलगायतको सेक्युरिटी अडिट गर्नुपर्ने जिम्मेवारी पनि पूरा भएको छ । ‘फोर जी एफटिए’ मोबाइलको पहुँच दुई प्रतिशत थप बढाएर ६ लाख जनतामा पुर्याउन सफल भएका छौँ । त्यस्तै, मोबाइल सेवालाई ९७.२ प्रतिशत जनतामा पु¥याउने भनिएकामा त्यो काम सम्पन्न भएको छ । ‘फिक्स्ड ब्रोडब्याण्ड’ सेवा १.३६ प्रतिशतले वृद्धि भई ४४.३६ प्रतिशतमा विस्तार भएको छ । अप्टिकल फाइबर (२४ कोर माथिको) थप एक हजार किमी पुर्याउने भनिएकामा हाल १६ हजार आठ सय ७२ किमी पुगेको छ । त्यस्तै, फोरजी(एलटिई) प्रयोगकर्ता दुई प्रतितशत थप गरी ७२ प्रतिशत जनसङ्ख्यामा विस्तार भएको छ ।

यसैगरी राष्ट्रिय समाचार समिति(रासस)लाई २४ सै घण्टा समाचार सेवामा विस्तार गरिएको छ भने नेवारी र मैथिली भाषामा समावेशी समाचार सेवा सुरु भएको छ । गोरखापत्रमा राना–थारु भाषामा समावेशी कार्यक्रम प्रकाशन गरी हाल ४४ वटा भाषा समावेशी कार्यक्रम प्रकाशनको व्यवस्था मिलाइएको छ भने गोर्खापत्रकै थप आठ वर्षको डिजिटल रुपान्तरण गरिएको छ । रेडियो नेपालमा १४ हजार ३३ वटा पुराना अडियो टेपको डिजिल रुपान्तरण भएको छ भने दनुवार भाषा थप गरी २५ भाषामा समावेशी कार्यक्रम प्रशारण थालनी गरिएको छ । नेपाल टेलिभिजनबाट असोज ३० गतेदेखि नेपाल भाषा थप गरी सात वटा मातृभाषामा समाचार उत्पादन तथा प्रशारण भएको छ ।

– जनतालाई सुशासन दिने सरकारको लक्ष्य हासिल गर्ने सन्दर्भमा मन्त्रालय र मातहतका निकायहरुमा के कस्ता समस्या देख्नुभयो र तिनको समाधानका उपाय के हुनसक्छ ?

सुशासनको पहिलो आधार भनेको नीति हो । नीतिमा परिमार्जन हुनुपर्ने देखेको छु । यहाँ निकै पुराना नीतिमा काम हुँदै आएको छ । पहिलो कुरा नीति स्पष्ट हुन । हाम्रा धेरै ठाउँमा नीति बनेका छैनन् र भएका नीति पनि पुराना छन् । ऐन कानुनहरु अध्यावधिक हुँदै जानुपर्छ । यहाँ पुराना कानुन धेरै छन् । सूचना प्रविधि ऐन, प्रेस काउन्सिल ऐन, दूरसञ्चार ऐनलगायतमा केही संशोधनबाहेक अरु सबै पुराना नीति र ऐन रहेका छन् । अब हामी ऐन परिवर्तन गरेर सुशासनतर्फ लैजाने अभियानमा छौँ  । यसको सुरुआत भर्खरै सार्वाजनिक सेवा प्रशारण ऐन पारित गरिएको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकृत गर्दै सुशासन र गर्न बनेको यो ऐन राजपत्रमा प्रकाशित भइसकेको छ । अब हामी यसलाई कार्यान्वयनमा ल्याउने तयारीमा छौँ ।

मुलुकको सुशासन, शान्ति सुरक्षा, हत्या हिंसा नियन्त्रण आजको सबैभन्दा ज्वलन्त प्रश्नहरु हुन् । यसलाई नियन्त्रण गर्न सामाजिक सञ्जाल नियमनसम्बन्धी ऐन मस्यौदा गरेर मन्त्रिपरिषद्मा पठाएका छौँ । छिट्टै विधेयक पास गरेर समाज र राज्यलाई सुशासनतर्फ लैजाने प्रयास गर्छौं । प्रेस काउन्सिल विधेयकलाई सुदृढ गर्नु पर्नेछ । यस सम्बन्धी बन्न लागेको मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पास भएर प्रतिनिधिसभामा आएको छ । हामी पत्रकारिता जगतलाई स्वतन्त्र र मर्यादित बनाउने प्रतिबद्ध छौँ । त्यसका लागि आमसञ्चार विधेयक तयार गरेका छौँ । दूरसञ्चार संशोधन गर्ने, चलचित्रसम्बन्धी ऐन अद्यावधिक गर्दैछौँ । यो पटक मन्त्रिपरिषद्मा मन्त्रालयसँग सम्बन्धित कम्तिमा ९/१० वटा विधेयक पुग्छ ।

– संसदबाट सार्वजनिक प्रसारण सेवा ऐन जारी भइसकेको छ, यसको कार्यान्वयनलाई कसरी हेर्नु भएको छ ?

संसदबाट पास भएको सार्वजनिक सेवा प्रशारण (पिएसबी) ऐन अब कार्यान्वनको चरणमा जाँदैछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भइसक्यो । अब यो कार्यान्वयनमा आउने चरणमा छ । त्यसको आधारमा अब हामीले नियमावली बनाउँछौँ । त्यसको कार्यकारी निर्देशक छनोट गर्न नियमावलीले रोक्दैन । हामी अब प्रमुख नियुक्ति गर्ने प्रक्रियामा जान्छौँ । एकीकृत रुपले सञ्चालक समिति बनाएर नेपाल टेलिभिजन र रेडियो नेपाललाई व्यवस्थित रुपमा लैजान्छौँ । अलिकति व्यावसायिक बनाउने र राज्यको तर्फबाट जनतालाई सेवा प्रदान गर्न बनेका यी संस्थालाई समयसापेक्ष प्रतिस्पर्धा योग्य बनाउनतर्फ लानेछौँ ।

– सामाजिक सञ्जाललाई व्यवस्थित गराउन मन्त्रालयले कसरी काम गरिरहेको छ ?

हरेक कुराको सीमा हुन्छ, लोकतन्त्रको पनि सीमा हुन्छ । हाम्रो संविधानको पनि आफ्नै सीमा छ । हरेक मान्छेले खोजिरहेको हक र स्वतन्त्रताको समेत निश्चित दायरा हुन्छ । नागरिक हक उपभोग गर्दा सबैले राज्यको संविधान, ऐन कानुन पनि मान्नुपर्ने हुन्छ । अहिले सामाजिक सञ्जाल अराजक बनेको भनिदैछ । जसले जे भने पनि भयो, जति गाली गरे पनि भयो, जे लेखे पनि भयो भन्ने छ । यो त लोकतन्त्र होइन । लोकतन्त्रको विकल्प, गणतन्त्रको विकल्प उत्तम खालको लोकतन्त्र वा गणतन्त्र नै हो । यसको विकल्प अराजकता हुन सक्दैन । आज सामाजिक सञ्जालमा जे खालको अराजकता उत्पन्न भएको छ, त्यसलाई नियमन गर्नुपर्छ । प्रयोगकर्ता, सञ्चालक र दर्ता पद्धतिलाई व्यवस्थित गर्नुपर्छ । अराजकको अन्त्य सामाजिक नियमनभित्र पर्छ । सबैले विधि र कानुन मान्नुपर्छ । सूचनाको हक सबैको अधिकार हो । स्वतन्त्रता भनेको अराजकता होइन । आलोचना स्वस्थ्य, मर्यादित र व्यवस्थित हुनुपर्छ भन्ने मान्यताका साथ सरकार अघि बढ्छ ।

आजको युग सूचना प्रविधिको हो, मुलुकले यसको अधिकतम् उपयोग गरी लाभ लिन सक्ने देख्नुहुन्छ ?

मैले यदाकदा सुनेको डिजिटल अर्थतन्त्रले हाम्रो कुल ग्रहास्थ उत्पादनको तीन प्रतिशत पुर्याउनु पर्छ भन्नेछ । सामान्यतया कुल ग्रहास्थ्य उत्पादनको स्रोत ६० खर्ब हाराहारीमा छ । त्यसको तीन प्रतिशत भनेको करिब दुई खर्ब जतिको योगदान प्रविधि क्षेत्रले दिनुपर्छ । प्रविधि उत्पादनमा के दिन्छौँ ? उद्योग, कृषि, व्यापारलगायत हरेक क्षेत्रमा प्रविधिकोे भूमिका के हुन्छ ? पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रमा के हुन्छ ? यो बुझ्न जरुरी छ । हामीले स्मार्ट सिटी बनाउने भन्छौँ । यो भनेको प्रविधिमैत्री सहर हुनु हो । शिक्षामा प्रविधि साक्षरताको विषय पनि समेटिनु पर्दछ । प्रविधिको सामान्य ज्ञान हुनुपर्छ । डिजिटल नेपालको फ्रेमवर्कमा आठ वटा सेक्टर भनेका रहेछौँ । तर, हामीले १० भन्दा बढी हुनुपर्छ भन्ने सोचेका छौँ ।
सरकारले डिजिटल नेपाल बनाउन पहिलो कार्य अन्तर्गत सात सय ५३ वटै स्थानीय तहमा सम्पूर्ण रुपमा डिजिटलाइजेसन गर्ने योजना बनाएको छ । त्यसैगरी सातै प्रदेशलाई डिजिटलाइजेसन गर्ने योजना छ । नेपाल सरकारका सबै मन्त्रालयहरु र मन्त्रालय मातहतका निकाय, आयोग र विभिन्न संस्था पनि डिजिटलमा लैजाने योजना छ । यति मात्र गर्न सकियो भने हामीले धेरै काम गरेको भन्ने हुन्छ ।

– जनताको तत्काल सूचनाको अधिकारलाई सुनिश्चित गर्न सहयोग पुगोस् भनी सरकार गठन भएको सय दिनकै अवधिमा राससले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा २४ घण्टे सेवा सुरु गरेको छ, भविष्यमा यसको उपादेयतालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

पहिलो कुरा त रासस नेपालका सबै सञ्चारमाध्यमले समाचार प्राप्त गर्ने केन्द्र हो । यहाँबाट उत्पादन भएका समाचार सबै मिडियालाई वितरण हुन्छ । रासस आफैँ पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारको ‘इपिसेन्टर’ हो नेपालको सन्दर्भमा । त्यसैले पहिला त यो संस्था आफैँमा अझै गतिशील हुनुपर्छ । रासस आफैँमा विश्वसनीय हुनुपर्छ । सबै मिडियालाई समाचार दिन सक्ने हैसियत राख्ने राससप्रति अरु मिडियाको आकर्षण बढ्दै गएको छ । सरकारको उद्देश्य पनि सूचनामा जनताको पहुँच बढीभन्दा बढी विस्तार गर्नु हो । आगामी दिनमा समयानुसार आफ्ना सेवामा सुधारसँगै कर्मचारीको व्यवस्थापन, प्रविधिमैत्री बनाउनेलगायतका विषयमा ध्यान दिनुपर्छ ।

विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकाससँगै कागजरहित कार्यसम्पादन युगमा राससलाई डिजिटलाइजेसन गर्ने मुख्य विषय हो । राससलाई प्रविधिमैत्री बनाउनुपर्छ । जनशक्तिको उत्तम र उचित व्यवस्थापन गर्नुपर्छ । सोही अनुरुप जनशक्तिको क्षमता विकास गर्नुपर्ने हुन्छ । खाली कामको घण्टा मात्रै बढाएर मात्र नभई थोरै जनशक्तिले धेरै काम गर्न सक्नेतर्फ केन्द्रित हुनुपर्छ । रासस २४ घण्टा नै सञ्चालन हुँदा हालै आएको बाढी, पहिरोको विपद्पछि उद्धार, राहतसम्बन्धी सूचना, स्थलगत रिपोर्टिङदेखि विभिन्न विज्ञहरुका विचारहरु सम्प्रेषण गरी सहहनीय कार्य भएको छ । राससको स्टुडियोलाई पनि व्यवस्थित गरी व्यावसायिक रुपमा उपयोगमा ल्याउन सकिन्छ । सङ्घीय मन्त्रालयको साथै प्रदेश सरकार र स्थानीय तहले गरेका कामको राससले नियमित समाचार बनाउनुपर्छ । राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकाय र राष्ट्र निर्माणका जिम्मेवार प्रमुखलाई बोलाएर राससमार्फत धारणा सम्प्रेषण गराउन सकिन्छ । मन्त्रालयहरुले गरेका कामको बारेमा जनताले थाहा पाउनुपर्छ । राससले अब काम गर्ने शैली पनि परिवर्तन गर्नुपर्छ । क्षमता पनि सुधार गर्नुपर्छ । राससका नीति, रणनीति र ऐन पनि संशोधन गर्नु पर्नेछ । यी सबै गर्दा रासस सबैको विश्वासको केन्द्र बन्न सक्छ । त्यसमा मन्त्रालय निरन्तर सहयोग र समर्थन रहन्छ ।

– संविधानको भावना र समावेशी चरित्रअनुसार राससले पनि अवधि, मैथिली र नेपाल भाषामा समाचार सुरु गरेको छ, यो विषयलाई कसरी हेर्नुभएको छ ?

सरकारी संस्थानले काम नगरेको भन्ने गुनासो आइरहेका बेला रासस, रेडियो नेपाल वा गोरखापत्र संस्थानलगायतका संस्थाले अहिलेको समावेशी लोकतन्त्रको भावनालाई पछ्याउन खोजेको देखिन्छ, यो आफैँमा खुसीको कुरा हो । राससमा पहिला नेपाली र अङ्ग्रेजी मात्रै समाचार सम्प्रेषण हुन्थ्यो । अहिले राससले पाँच वटा भाषामा समाचार सेवा प्रदान गर्न सक्षम भएको छ । राससका समाचार विभिन्न मिडियाले प्रकाशन÷प्रसारण गर्दैगर्दा विभिन्न जाति समुदायले हाम्रो भाषामा पनि राससले समाचार दिएको छ है भन्ने आत्मियता महशुस गर्न पाएका छन्् । यसले रासस सबैको साझा संस्थाको रुपमा विकास हुन्छ । यसबाट सम्बन्धित भाषाभाषीका समुदायले लोकतन्त्र आएको महसुस गरिरहेका हुन्छन् । त्यति मात्र होइन, यसले हाम्रो व्यवस्थालाई पनि बलियो बनाउँछ ।

हामीले विविधतापूर्ण समाजमा समावेशीताको अभ्यास गर्नैपर्छ । शान्त, समृद्ध, सुसभ्य, समाजको निर्माण गर्ने हो भने विविधतायुक्त समाजलाई समावेशी बनाउनुपर्छ । राज्यको सत्ता र स्रोतमा सबैको पहुँच पुग्नुपर्छ । प्रतिनिधित्व हुनुपर्छ । संसारमा अभ्यास भएका प्रजातन्त्रका बीचमा हाम्रो लोकतन्त्र समावेशी, उन्नत, बृहत र पूर्ण खालको छ । आजको दिनसम्म सबैभन्दा व्यवस्थित खालको लोकतन्त्र भनेको समावेशी लोकतन्त्र नै हो । हामी त्यसको अभ्यासमा छौँ । त्यसको अभ्यास राससले गरेको छ । यो विषयलाई नेपाल सरकारले पनि गर्वको महशुस गर्नुपर्छ । राससले विभिन्न भाषामा समाचार दिँदैगर्दा भूइँ मान्छे, जो छन् उनीहरुले अपनत्व महसुस गरेका छन् । यो कामलाई अझै व्यवस्थित गरेर लैजानुपर्छ ।

– संविधानको रक्षा, जनजीविकामा सुधार ल्याउने उद्देश्यसहित प्रमुख दुई राजनीतिक दलको सहकार्यमा वर्तमान सरकार गठन भएको पनि सय दिन पूरा भएको छ । तपाइँ सरकारको प्रवक्ता पनि हुनुहुन्छ, सरकारको गतिलाई कसरी हेर्नु भएको छ ?

वर्तमान सरकार गठन भएको सय दिनसम्म आइपुग्दा राम्रा र युगिन महत्वका कामहरु भएका छ । यो सरकार गठन भएपछि लामो समयदेखि थन्किएको टिआरसी विधेयक पास भयो । बृहत शान्ति सम्झौताको अपुरो एउटा महत्वपूर्ण काम सरकारले गरेको छ । यो विषय सङ्घीय लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण पाटो हो भन्ने लाग्छ । वर्तमान सरकार गठनपछि लामो समयदेखि दुग्ध किसानले पाउन नसकेको रकम प्राप्त गरेका छन् । सहकारी समस्या समाधानको बाटोमा छ । सहकारीसम्बन्धी ऐन कानुन बनाउने कार्य पनि छिट्टै पारित हुँदैछ ।

त्यसैगरी सरकारले बाढी, पहिरो, डुबानमा परेका जनतालाई तत्कालै उद्धार र राहातको व्यवस्था गरेको छ । बाढी, पहिरो र डुबानबाट प्रभावित सडकबाटो मर्मतपछि सञ्चालनमा आएको छ । बाढी, पहिरोबाट खानेपानी, विजुली र टेलिफोनमा आएको समस्या पनि समाधान भएको छ । बाढी, पहिरोबाट  १७ अर्बभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान छ । सरकारले भत्किएका संरचनाहरुको पुनःनिर्माण र पुनःस्थापना कार्य सुरु गरिसकेको र पीडितलाई केन्द्रमा राखेर निर्णयहरु गरेको छ । अझै पनि भ्रष्टाचार नियन्त्रण तथा सुशासनको क्षेत्रमा धेरै काम गर्न बाँकी छ । नेपालको कुनाकुनामा इन्टरनेट पु¥याउने हाम्रो योजना छ । नेपाललाई विश्वकै ‘आइटी हब’ को रुपमा विकास गर्ने योजना छ । त्यो गर्न सम्भव पनि छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संयुक्त राष्ट्र सङ्घीय महासभामा आफ्नो धारणा स्पष्टसँग राख्नु भएको छ । विदेश सम्बन्धलाई अझ फराकिलो बनाउने काम भएको छ । मुख्यतः देशभित्र नै राजनीतिक स्थिायित्वका लागि प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको हुँदा जनतामा ठूलो आशा र विश्वास जागृत भएको छ । यसलाई पूरा गर्न सरकार प्रतिवद्ध छ । देशको अर्थतन्त्रमा अहिले पनि समस्या छ, तर विस्तारै लयमा फर्किदै छ । सरकारले सय दिनको अवधिमा धेरै आशालाग्दा कामहरु गरेको छ । यसको ठोस परिणाम विस्तारै जनताले प्रत्यक्ष अनुभूत गर्ने नै छन् ।

शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन

काठमाडौँ । विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङ्ग्यो विश्वविद्यालयद्वारा जलवायु परिवतर्नको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङकन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ ।

जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (एडिपोर्ट जापान)अन्तर्गत नागोया साङग्यो विश्विविद्यालय र पोखरास्थित पश्चिमाञ्चल विद्यालयबीच वायुमण्डलमा फैलिएको कार्बन डाइअक्साइडको अवस्था र वातावरणसम्बन्धी साक्षरता फैलाउने कार्यक्रमको समझदारीपत्रमा सम्झौता भएको छ ।

नेपालमा पहिलो पटक सञ्चालन भएको यो कार्यक्रम ताइवान, भियतनाम, इन्डोनेसिया र जापानका विभिन्न विद्यालयमा पनि कार्यान्वयनमा रहेको छ ।

यस कार्यक्रमले विद्यार्थीलाई वातावरणसम्बन्धी ज्ञानका साथै विश्वव्यापी रूपमा मुख्य चुनौतीको रूपमा रहेको जलवायु परिवर्तनका कारण सिर्जित असर, कार्बन डाइअक्साइडमा भएको वृिद्धलगायतका विषयमा प्रयोगात्मक तरिकाबाट बुझाउन मद्दत गराउँछ । साथै, विद्यार्थीमा परिवर्तनका असर सामना गर्न र वातावरणीय साक्षरतालाई अभिवृद्धि गर्न सहयोग पुग्ने बताइएको छ ।

गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पाँच जिल्ला कास्की, रूपन्देही, भक्तपुर, ललितपुर र बर्दियामा सञ्चालन गरिएको छ । गण्डकी प्रदेशमा पश्चिमाञ्चल माध्यमिक विद्यालय, अमरसिंह मावि, गण्डकी बोर्डिङ स्कुल, बागमतीमा एसओएस हेर्मन माइनर माध्यामिक विद्यालय सानोठिमी, युनाइटेड एकेडमी र लुिम्बनीमा शङ्करनगर दुर्गादत्त माध्यामिक विद्यालय र जनता माध्यामिक विद्यालयमा यो कार्यक्रम लागू भएको छ ।

सम्झौता हस्ताक्षरपछि पश्चिमाञ्चल विद्यालयका प्राचार्य सरोज कोइरालाले नेपालमै पहिलो पटक जापान सरकारको प्रत्यक्ष सहभागितामा भएको कार्यक्रममा आफ्नो विद्यालयले सहभागी हुन पाउँदा खुसी लागेको र यसले विद्यार्थीको वातावररणप्रतिको सचेतना अझ बढ्ने मद्दत पुग्ने बताए ।

प्रयोगात्मक विधिबाट गरिने अध्ययनबाट विद्यार्थीले रुख, बिरुवा भएको ठाउँ, घना बस्तीबीचको कार्बनडाइअक्साइडको मात्रामा रहेको फरकबारे जानकारी पाउने उनको भनाइ छ ।

यसैबीच संयुक्त राष्ट्र सङ्घले विश्वका देशलाई विद्यालयमा जलवायु परिवर्तनसम्बन्धी विषयलाई अनिवार्य बनाउन आह्वान गरेअनुसार नेपालमा पनि नमूनाको रूपमा केही विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिएको नागोया साङग्यो विद्यालयमा विद्यावारीधि गरिरहेका सन्जोक पौडेलले बताए ।

अनुसन्धानको क्रममा आफूले जापानका तीनवटा प्रान्तमा वायुमण्डलमा भएको काबर्नडाईअक्साइडको मात्राको अध्ययन गरी मौसम अनुसारको हुने परिवर्तन, हावाको गतिको असर तथा जैविक वातावरणमा काबर्नडाईअक्साइडको एकाग्रताको मापन गरी मौसम विज्ञान घटनाको प्रभावमा गरिरहेको अनुसन्धान नेपालका लागि उपयोगी हुने बताए ।

उनकै पहलमा देशका विभिन्न विद्यालयमा वातावरणीय शिक्षाअन्तर्गत शून्य कार्बन स्कुलको अवधारणा पहिलो पटक रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शङ्करनगर दुगार्दत्त माद्यामिक विद्यालयमा सञ्चालन गरिएको छ ।

शून्य कार्बन स्कुलको अवधारणाको शुभारम्भ गर्दै जापानका प्राडा इतोउ मासाकाजुले कार्बन तटस्थताको सम्भावना र कठिनाइहरूको जानकारी बालबालिकाको लागि निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक चण्ड पाण्डेले जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको अवस्थामा विद्यार्थीलाई विद्यालय तहदेखि नै जिरो कार्बन अवधारणाका बारेमा जानकारी गराउनु निकै उपयोगी रहेको बताए ।

पोखरामा गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान

गण्डकी । पोखरा महानगरपालिका–३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनका लागि मुठीदान अभियान सुरु गरिएको छ ।

विद्यालय नियमित सञ्चालनका साथै आवासीय रूपमा अध्ययनरत विद्यार्थी र अध्यापनरत गुरुहरूको भोजन व्यवस्थापनलाई लक्षित गरी मुठीदान अभियान सुरु गरिएको हो ।

कक्षा ६ देखि १० सम्म सञ्चालित विद्यालयमा पूर्वको सङ्खुवासभादेखि विभिन्न जिल्लाका २९ जना विद्यार्थीका साथै विषयगत शिक्षकहरू आवासीय रूपमा यहाँ बस्दै आएका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीले जानकारी दिए।

विद्यालयको अन्य आर्थिक स्रोतहरू नभएका कारण नियमित भोजन व्यवस्थापनलगायत प्रयोजनका लागि मुठीदान अभियान सुरु गरिएको उनले बताए । विद्यालयका लागि सरकारबाट वार्षिक रूपमा प्राप्त हुने १० लाख अनुदानबाहेक अन्य कुनै आम्दानी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले राससलाई जानकारी दिए ।

विद्यालयमा शौचालय, भोजनालयजस्ता अत्यावश्यकीय पूर्वाधारको समेत अभाव रहेको अध्यक्ष रेग्मीको भनाइ छ । मुठीदान अभियान सञ्चालनका लागि राधाकृष्ण मन्दिर शान्ति आश्रम र विद्यालयको संयुक्त पहलमा अन्नपात्रहरू तयार गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य एवं आश्रमका सचिव घनश्याम खनालले जानकारी दिए। अन्नपात्रलाई मुठीदान (भण्डारी) नाम दिइएको उनले जानकारी दिए।

करिब एक पाथी क्षमताका अन्नपात्र विद्यालयमा सहयोग गर्न इच्छुक महानुभावलाई हस्तान्तरण गरिन्छ । सहयोगदाताले आफ्नो नियमित खाना व्यवस्थापनमा हुने खर्चमध्ये केही छुट्याएर राख्ने र भरिएपछि मन्दिरमा उपलब्ध गराउने गर्दछन् ।

निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा राधाकृष्ण मन्दिर स्थापना भएपछिको महत्वपूर्ण उपलब्धिका रूपमा यहाँस्थित वृद्धाश्रम र गुरुकुल संस्कृत विद्यालयलाई लिने गरिएको स्थानीयवासी बताउँछन् । मन्दिर स्थापनाको पाँच दशकपछि विसं २०७० मा स्वीकृति प्राप्त गरी २०७१ सालबाट राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनमा ल्याइएको हो । यहाँ कक्षा ६ देखि १० सम्मको अध्ययन–अध्यापन हुँदै आएको छ ।

संस्कृत माध्यमिक विद्यालयको पाठ्यक्रममा आधारित रही पठनपाठन भइरहेको सचिव खनालले जानकारी दिए। यसै क्षेत्रमा गर्ग र च्यवन ऋषिले तपस्या गरेका पौराणिक तथ्यहरूसमेत पाइएका कारण यहाँको समग्र विकासका लागि बृहत् अध्ययन–अनुसन्धान हुनु आवश्यक रहेको लेखनाथ पत्रकार मञ्चका अध्यक्ष एवं गर्ग तथा च्यवन ऋषि आश्रम खोज तथा अनुसन्धान समितिका अध्यक्ष कविराज खनाल बताउँछन्‌।

ऐतिहासिक भूमिको खोज–अनुसन्धानसँगै यहाँका राधाकृष्ण शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयलगायत धार्मिक एवम् शैक्षिक क्षेत्रका विविधतालाई समेटेर यस क्षेत्रको विकास गर्नु अपरिहार्य देखिएको अध्यक्ष खनालले बताए।

बाझो खेतमा ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

मन्थली । फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती हेर्न त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् ।

पाँच रोपनीमध्ये तीन रोपनीमा उनले ड्रागन फ्रुट मात्रै लगाएको छ भने बाँकी दुई रोपनीमा ड्रागन फ्रुटसँगै सयपत्रीको पनि खेती गरिरहेका छन् । तिहार सुरु हुने समयमा झपक्कै फूलेका सयपत्रीले त्यहाँको दृश्य मनमोहक बनाइदिएको छ ।

लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गरेका थिए । सुरुमा तीन सय बोट ड्रागन फ्रुट रोप्नु भएका उनले त्यससँगै सयपत्री फूल पनि रोपेका थिए । एउटै जग्गाबाट अहिले उहाँले दोहोरो लाभ लिएका छन् । उनले सयपत्री बाहेक विभिन्न प्रजातिका विरुवाहरु उत्पादन गर्न नर्सरीको समेत व्यवस्था गरेको सुनाए।

उनले भने, ‘लामो समयदेखि काठमाडौँमा फूलको नर्सरी सञ्चालन गरेको थिए, त्यही अनुभवका आधारमा यहाँ पनि फूल र विभिन्न विरुवाको नर्सरी सुरु गरेको हुँ ।’ आफ्नै गाउँमा केही गरौँ र स्थानीय किसानलाई सहयोग गर्नुपर्छ भन्ने सोचले आफूले यहाँ खेती सुरु गरेको उनको भनाइ छ ।

शाहीलाई नगरपालिकाबाट पनि सहयोग प्राप्त भइसकेको छ । फूल खेतीका लागि नगरपालिकाले एक लाख अनुदान उपलब्ध गराएको नगर कार्यपालिकाका सदस्य एवं वडा नं ५ का अध्यक्ष रबिन कार्कीले जानकारी दिए।

साथै प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजनाद्वारा मन्थलीमा सञ्चालित जुनार जोन कार्यक्रममार्फत कागतीका बिरुवा उत्पादनका लागि पाँच लाख अनुदान लिएको परियोजनाका कार्यालय प्रमुख थिरलाल गैरेले बताए।

आफ्नो कम्पनी भदौरे कालिका कृषि तथा पशु पंक्षी फार्मले परियोजनामार्फत अनुदान प्राप्त गरेको र यसले काम गर्न हौसला मिलेको शाहीको भनाइ छ । उनले भने, ‘मेहनत गर्ने हो भने स्वदेशमै केही गर्न सकिन्छ, सरकारले पनि सहयोग गर्छ, यसबाट कृषि क्षेत्रमै धेरै काम गर्न सकिन्छ भन्ने विश्वास जागेको छ ।’

उनले उत्पादन गरेको सयपत्री फूल सदरमुकाम मन्थलीदेखि दोलाखा, सिन्धुलीदेखि काठमाडौँसम्म जाने गरेको छ । उनले ड्रागन फ्रुट प्रतिकिलो तीन सय ५० र सयपत्री फूल प्रतिकेजी दुई सय ५० मा बिक्री सुरु गरेका छन् । यस वर्षको तिहारमा उनले सयपत्री बिक्रीबाट तीनदेखि पाँच लाखसम्म आम्दानी गर्ने योजना बनाएका छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा जापानका प्रधानमन्त्री इशिबालाई कमजोर समर्थन

टोकियो । जापानका नयाँ प्रधानमन्त्री शिगेरु इशिबाको अनुमोदन आगामी अक्टोबर २७ मा हुने आम निर्वाचनअघि घटेको एक साताको सर्वेक्षणले देखाएको छ ।

पूर्व रक्षामन्त्री इशिबाले लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को नेतामा निर्वाचित भएपछि यसै महिना पदभार ग्रहण गरेका थिए ।

इशिबाका पूर्ववर्ती फुमियो किशिदाको कार्यकालमा कोषको घोटाला र ‘युनिफिकेसन चर्च’सँग एलडीपीका सांसदहरूको सम्बन्ध र बढ्दो मूल्यवृद्धिमा मतदाताहरूको असन्तोषका कारण पार्टीको रेटिङमा गिरावट आएको थियो।

क्योदो न्यूजले शनिबार र आइतबार गरेको सर्वेक्षणले इशिबाको क्याबिनेटका लागि हालको अनुमोदन रेटिङ ४१।४ प्रतिशत रहेको देखाएको छ।

करिब एक हजार २६० मतदातामा गरिएको पछिल्लो सर्वेक्षणमा अस्वीकृति दर ४०।४ प्रतिशत रहेको क्योदोले आइतबार जनाएको छ । अक्टोबर १२ देखि १३ सम्म भएको मतदानमा ३६।७ प्रतिशतले असहमति जनाएका थिए ।

“यो चुनाव हाम्रा लागि वास्तवमै जटिल र कठिन हुनेछ,” इशिबाले गत साता चुनावी सभालाई सम्बोधन गर्दै भनेका थिए ।

उदारवादी झुकाव भएको असाही शिम्बुन पत्रिकाले सप्ताहान्तमा गरेको अर्को सर्वेक्षणमा इशिबाको क्याबिनेटलाई ३३ प्रतिशतले समर्थन गरेको पाइएको थियो।

असाहीको रिपोर्टमा भनिएको छ, “यो ४२ प्रतिशत अनुमोदन र ३१ प्रतिशत अस्वीकृति जनाइएकोे योे परिणाम सन् २०२१ मा किशिदाले प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो आम निर्वाचनअघि सामना गर्नुपरेको भन्दा पनि खराब छ ।”

एलडिपी र उसको कनिष्ठ गठबन्धन साझेदार कोमेइतोले आगामी निर्वाचनमा बहुमत गुमाउने खतरा रहेको उक्त दैनिकपत्रिकाले जनाएको छ ।

जिजी प्रेसले आफ्नो सर्वेक्षण र रिपोर्टिङले गठबन्धनले आफ्नो बहुमत कायम राख्ने सम्भावना देखाएको छ, यद्यपि एलडीपीले एक्लै बहुमत प्रप्त गर्न सक्दैन। यो सम्भावना अन्य सञ्चारमाध्यमले विगतका धेरै सर्वेक्षणहरूमा प्रतिबिम्बित गरेको भन्दा पनि खराब छ।

सन् २०१२ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेले भारी मतान्तरले जित हासिल गरेपछि कन्जरभेटिभ एलडीपी र बौद्ध धर्मावलम्बी समूह समर्थित नरमपन्थी पार्टी कोमेइतो सत्तामा छन् ।

एलडीपीलाई सन् २००९ मा अधिक बामपन्थी विपक्षीहरूले पराजित गरेका थिए।

एलडीपीका महासचिव हिरोशी मोरियामाले आइतबार सार्वजनिक प्रसारक एनएचकेद्वारा प्रसारित एक बहस कार्यक्रममा भने, “हामीले हाम्रो बहुमत गुमाएनौँ वा गुमायौँ भने पनि हामीले समान नीतिका साथ देशको विकास गर्न प्रयास गरिरहेका पार्टीहरूसँग सकारात्मक वार्ता गर्नुपर्छ।” 

म्यान्मामा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता

म्यान्मा । म्यान्माको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि ११ जनाको शब फेला पारिएको छ ।

उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा मृत शरीर पानीबाट बाहिर निकालेका छन् भने बाँकी वेपत्ता रहेको स्थानीय बासिन्दा बताउँछन् ।

दक्षिणी तानिन्थारी क्षेत्रको क्याउक कर गाउँका एकजना भिक्षुले नाम नबताउने सर्तमा भने “हामीले आइतबार राति १० वटा र सोमबार बिहान एउटा शवलाई पानीबाट बाहिर निकालेका छौँ।” भिक्षुका अनुसार डुङ्गामा अधिकांश विद्यार्थीहरू थिए उनीहरु दुई हप्ताको बिदापछि गाउँबाट म्येइक सहर फर्किरहेका थिए ।

“डुङ्गा अत्यधिक भारमा कारण डुबेको जनाइएको छ । स्थानीयहरूले मृत शरीरको पहिचान गरी दाहसंस्कार गरिसकेका छन् भने स्थानीय तथा उद्धार टोलीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

म्यान्मामा समुद्र तट र नदीहरूमा डुङ्गालाई आवतजावतका लागि यातायातको साधनको रूपमा प्रयोग गर्ने गरिन्छ । डुङ्गा दुर्घटनाका कारण म्यान्मामा असामहिक मृत्यु हुने जोखिम पछिल्लो समय बढेको देखिन्छ । समुद्रमा हुने यस्ता दुर्घटनामा पर्नेहरूको विरलै रूपमा सकुशल उद्धार हुने गरेको छ ।

मलेसियाको रिसोर्टमा भएको अपहरणमा संलग्न १७ लडाकूलाई आजीवन कारावासको सजाय

मनिला । करिब २५ वर्षअघि मलेसियामा विदेशी र फिलिपिनो नागरिकको अपहरण गरेको अभियोगमा इस्लामिक स्टेटसम्बद्ध लडाकू समूहका १७ सदस्यलाई आजीवन कारावासको सजाय सुनाइएको फिलिपिन्सको न्याय विभागले सोमबार जनाएको छ।

सन् २००० को अप्रिलमा इस्लामिक अतिवादी समूह अबु सयैफका सदस्यहरूले मलेसियाको सिपादान टापुमा रहेको एक होलिडे रिसोर्टबाट २१ जनालाई देखाएर अपहरण गरेका थिए।

मनिलाबाट करिब ९५५ किलोमिटर दक्षिणमा पर्ने जोलोको जङ्गलमा बन्धक बनाइएका ती बन्धकहरूले लाखौं डलर फिरौती नदिँदासम्म महिनौँसम्म कैद भोगेका थिए।

यसरी बन्धक बनाइएकाहरूमा फिलिपिन्स, फिनल्याण्ड, फ्रान्स, जर्मनी, लेबनान, मलेसिया र दक्षिण अफ्रिकाका नागरिक रहेका थिए ।

न्याय विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सजाय विधिको शासन कायम राख्न न्याय विभागको अटुट प्रयासको प्रतिबिम्ब हो।

गत अक्टोबर १६ मा अपहरण र फिरौतीसहित गम्भीर गैरकानुनी थुनामा राखेको अभियोगमा १७ जना अभियुक्त दोषी ठहरिएका थिए । एएफपीले प्राप्त गरेको १५७ पृष्ठ लामो निर्णयमा सबैलाई प्रत्येक अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको उल्लेख छ ।

दोषी ठहरिएका दुई जना हिलारीयन डेल रोसारियो सान्तोस तृतीय र रेडेन्डो केन डेलोसा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रतिबन्ध सूचीमा परेका छन् ।

सन् २००८ मा सान्तोस र डेलोसालाई अलकायदा र ओसामा बिन लादेनसँग ‘सम्बन्ध’ र आइएससँग सम्बन्धित लडाकू समूह अबु सयैयफ, जेमाह इस्लामियाह र राजा सोलेमान मुभमेन्टको कारबाहीमा सहभागी भएको आरोप काउन्सिलले लगाएको थियो ।

सन् २०२० मा अपहरणको घटना भएदेखि नै अपहरणकारीलाई आतङ्कवादको अभियोग लगाउन नमिल्ने र देशमा यस्तो कानुन लागू हुनुभन्दा पहिले नै को घटनाका अपहरणकारीलाई आतङ्कवादको अभियोग लगाउन नमिल्ने बताइएको छ ।

अभियुक्तहरूलाई २१ जना पीडितहरूलाई नागरिक क्षतिपूर्ति, नैतिक र अनुकरणीय क्षतिको लागि करिब पाँच हजार २२८ अमेरिकी डलर तिर्न आदेश दिइएको थियो।

सिन्वार मारिएपछि नेतृत्व चयनमा जुट्दै हमास

बीबीसी । प्यालेस्टिनी समूह हमासका दुई जना अधिकारीहरूले गत बिहीबार मारिएका आफ्ना नेता याह्या सिन्वारको उत्तराधिकारी चयन गर्नका लागि अब छिट्टै छलफल सुरु हुने बताएका छन् ।

ती अधिकारीहरूले त्यसको सबैभन्दा बलियो उम्मेदवारका रूपमा गाजाबाहिर रहेका उक्त समूहका सबैभन्दा वरिष्ठ अधिकारी एवं सिन्वारका उपनेताका रूपमा काम गरेका खलिल अल–हायालाई हेरिएको बताएका छन् ।

कतारमा बस्ने अल–हायाले हाल हमास र इजरायलबीचको युद्धविराम वार्तामा आफ्नो समूहको नेतृत्व गर्दै आएका छन् । उनीसँग गाजाको अवस्थाबारे राम्रो ज्ञान, सम्बन्ध र बुझाई छ ।

इजरायलद्वारा सबैभन्दा बढ्ता खोजिएका व्यक्तिका रूपमा रहेका सिन्वार मारिएपछि हमासको नेतृत्व गर्ने व्यक्तिको चयनका लागि हमासका नेताहरू जुट्न लागेका हुन् ।

जुलाई ३१ मा इरानको राजधानी तेहरानमा पूर्व नेता इस्माइल हानिया मारिएपछि सिन्वार हमासका नेता बनेका थिए । र उनी पनि मारिएपछि दुई महिनामै नयाँ नेता चयन गर्नुपर्ने अवस्था बनेको छ ।

एकजना वरिष्ठ हमास अधिकारीले सिन्वारलाई गत वर्षको ‘अक्टोबर ७’ हमलाको योजनाकार बताउँदै उनको नियुक्तिलाई इजरायलविरुद्ध अवज्ञाको एउटा कडा सन्देशको रूपमा प्रस्तुत गरेको बताएका थिए ।

जुलाईयता युद्धविराम सम्बन्धी वार्ता अवरुद्ध छन् र धेरैले सिन्वारको नेतृत्व कुनै युद्धविराम सम्झौताका लागि अवरोधका रूपमा रहेको विश्वास गरेका थिए । एकजना वरिष्ठ हमास अधिकारीले सिन्वार मारिएपछि पनि आफ्नो अभियानको युद्धविराम सम्झौता र बन्धक रिहाइका सर्त मान्ने अवस्था नफेरिएको बताएका छन् ।

पाकिस्तानका हुसैन तलातले कर्णाली याक्सबाट खेल्ने

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले टेष्ट राष्ट्र पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात अनुबन्ध गरेको छ ।

कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले हुसैन अनुबन्ध भएको बताएका छन् । ‘आगामी लिगको लागि कर्णाली याक्सले पाकिस्तानका अलरान्डर मोहम्मद हुसैन तलातलाई अनुबन्ध गरेको छ,’ घिमिरेले भनेका छन्, ‘तलातको आगमनले टोली थप मजबुद बन्ने विश्वास लिएका छौं ।’

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् ।

कर्णाली याक्सले पहिलो विदेशी खेलाडीको रुपमा २८ वर्षीय तलातलाई अनुबन्ध गरेको हो । उनी हालसम्म टेष्ट राष्ट्रबाट नेपाल प्रिमियर लिग (एनपिएल)मा अनुबन्ध हुने पहिलो खेलाडी बनेका छन् । उनले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन् । जसमा ३९४ रन बनाएका छन् । टी२० मात्रै १६९ खेलेका छन् । उनले सन् २०१९ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै टी २० आईमा डेब्यु गरेका थिए ।

कर्णाली याक्सले अक्सनबाट टोलीको ए श्रेणीबमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाईसमावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् । एनपिएल १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुँदैछ ।

नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने

पोखरा । पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्राएको हो । यसअघि अमेरिकाका आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गरेको थियो ।

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २४ वर्षीय बास डि लिडे नेदरल्यान्ड्सका लागि ३८ टि २० आईमा खेलेका छन् । जसमा ६९७ रन बनाउका छन् ।

बास डि लिडेलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो बनाउने योजना रहेको बताए ।

एनपिएलकै सबै भन्दा मंहगो टिम पोखराले कुशल, डि लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ ।

एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ

बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा एक जना पक्राउ

काठमाडौं । प्रहरीले बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले नुवाकोटको तादी गाउँपालिका–३ स्थायी घर भइ हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षकी सीता गोतामेलाई पक्राउ गरेको हो ।

गोतामेले आफ्नो घरमा काम गर्नका लागि भनेर राखेकी बालिकालाई मासिक २० हजार रुपैयाँ दिने भनेकोमा बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई वेश्यावृत्तिमा लगाएको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए ।

बालिकालाई वेश्यावृत्तिमा लगाएर एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको घरबाट कात्तिक २ गते चार बालिकाको उद्धार पनि गरेको थियो । ब्यूरोले उनलाई अदालतबाट म्याद लिएर मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।

एमालेलाई कस्तो पार्टी बनाउने भन्ने विषय एमालेजनलाई नै छाडिदिनुस्ः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पार्टीका बारेका चिन्ता नगर्न आलोचकहरुलाई आग्रह गरेका छन् ।

सोमबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले राजनीति गर्नेहरुलाई आआफ्नो पार्टी राम्रो बनाउनेतर्फ लाग्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरुले नेकपा(एमाले)को भविष्यकाबारेमा चिन्ता गर्दै सामाजिक संजालमा अनेकन् सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरुले आ आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुकाबारेमा चिन्ता गर्नै पर्दैन नि । नेकपा(एमाले)लाई कस्तो बनाउने नेकपा(एमाले)जनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा(एमाले)लाई राम्ररी थाहा छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा(एमाले)ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ ।’

त्यस्तै महासचिव पोखरेलले आफूहरु नेपाली जनताको आकांक्षा पुरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको बताएका छन् ।

उनले भनेका छन्, ‘जनताका बीचमा पुगेर तथा जनताको सुझाव ग्रहण गरेरनै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित छ । समृद्ध नेपाल सुखी नेपालीको नेपाली जनताको आकांक्षा पुरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ । तसर्थ, कुन पार्टी कस्तो भन्ने कुराको परिक्षण त सामाजिक संजालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा(एमाले) हरदम तयार छ ।’

स्कुले विद्यार्थीसँग स्वस्तिमाको अन्तरक्रिया

काठमाडौँ । ‘तपाईँले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वास गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईँमा लक्ष्यमा पुग्ने रुचि छ कि छैन । त्यसले चाहिँ फरक पार्छ ।’ अभिनेत्री स्वस्तिमा खड्काले सामुदायिक विद्यालयका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै भनिन्, ‘तपाईँको रुचि परिवर्तन हुन सक्छ । यो स्वभाविक हो । यसमा चिन्तित हुनु पर्दैन । आफ्ना भावनाहरु अभिभावकलाई सुनाउन चाहिँ छुटाउनु हुँदैन । नडराउनु, भित्री चाहना अनुसार लक्ष्य बनाउनु । गर्न नसक्ने केही छैन ।’

किशोरावस्थाका संवेगलाई जोड्दै उनले भनिन्, ‘आफूले सोचेको कुरा अभिभावकले नबुझेको जस्तो लाग्न सक्छ । अभिभावकले भनेका कुरा आफूलाई चित्त नबुझेको हुन सक्छ । आफूलाई यस्तो लागे पनि अभिभावकले भने सन्तानको भविष्यका बारेमा सोचिरहनु भएको हुन्छ । यो भने महसुस गर्नुपर्छ ।’

महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययरत विद्यार्थीहरुलाई अध्ययनमा रुचि बढाउन सुरु गरेको ‘फेस्टिभल क्याम्प’को उत्प्रेरणात्मक कक्षामा उनले पशुपति मित्र माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग यसरी अन्तरक्रिया गरेकी हुन् ।

अन्तरक्रियाका क्रममा विद्यार्थीहरुले उनको चलचित्र क्षेत्रमा प्रवेश गर्दाको अनुभव, काम गर्दाको अनुभव, संघर्षका कुरासँगै व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्नहरु गरेकी थिइन् ।

ती प्रश्नको जवाफमा अभिनेत्री खड्काले बाल्यकालमा मनमा आएको कुरा सुनाउँदै भनिन्, ‘सानोमा अभिनेत्री हुन मन थियो तर यो कुरा अभिभावकसँग भनिन । उच्च शिक्षामा पनि इञ्जिनियरिङ् पढेँ । गणित गाह्रो लाग्थ्यो । मिहनेत गर्दा गर्दा राम्रो अङ्क प्राप्त भयो ।’ वैवाहिक जीवनका बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘विवाह एउटा प्रक्रिया हो । आपसमा कुरा बुझ्न सक्ने भएपछि पेशा अगाडि बढाउन असजिलो हुँदैन ।’

डाक्टर बन्छु । इञ्जिनियर बन्छु । पाइलट बन्छु । भन्दा शिक्षकले, अभिभावकले पढ्ने रैछ भनेर हेर्ने दृष्टिकोण सकारात्मक बनाउने भएपछि विद्यार्थीहरुले भित्री रुचि अरु नै भए पनि भन्न चाहिँ अर्कै भन्छन् । कक्षामा अरुले के भन्छ वा सोच्छ भनेर होइन आफूभित्रको रुचिअनुसार क्षमता विकास गर्ने लक्ष्य बनाउनु पर्नेमा प्रोत्साहित गरिएको थियो ।

विद्यार्थीहरुलाई विद्यालयभित्र उपलब्ध भएबाहेकका अवसर प्रदान गर्न क्याम्पभित्र प्रभावशाली व्यक्तित्वसँग १ घण्टाको उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिएको हो ।

बाजुरामा अरिङ्गालको टोकाईबाट एकजनाको मृत्यु

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो ।

भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए ।

असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ(छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनी गम्भीर विरामी परेका थिए । उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उनलाई भारत लगिएको थियो ।

सोही घटनामा स्थानीय ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो ।

‘जोरायली बासमती धान’ डोटीको पहिचान

सुदूरपश्चिम । डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँका लागि चर्चित छ । नेपालमा अन्यत्र कतै उत्पादन नहुने परम्परागत (रैथाने) जातको ‘जोरायली बासमती’का खेतको धान काटेर भित्राउन भ्याइनभ्याई छ ।

कर्मनासा नदीको वरिपरि देखिने धानका फाँटसहितको वरिपरिको प्राकृतिक दृश्य रमणीय छ । जोरायल गाउँपालिकामा पर्ने जोरायल क्षेत्रको भूबनोट वरिपरि पहाड र बीचमा समथर भू–भाग रहेको छ । प्राकृतिक रूपमा मनोरम यो क्षेत्र समुद्र सतहदेखि अनुमानित एक हजार आठ सय मिटरको उचाइमा रहेको छ ।

अढाइ दशकदेखि सडक सञ्जाललगायत विकासका पूर्वाधार पुगेपछि सो क्षेत्रको समग्र विकासमा टेवा पुगिरहेको स्थानीयवासीको अनुभव छ ।

‘सडक नहुँदा जोरायल क्षेत्रमा मालसामान ढुवानी गर्न र आवागमन गर्न समस्या थियो”, स्थानीय मदनराज जोशीले भने, ‘अहिले सडक पूर्वाधार पुग्दा किसानले आफ्नो कृषि उपज सहज रूपमा बजारसम्म पुर्याउन पाएको मात्र नभई आवागमन गर्न निकै सहज बनेको छ ।’

कैलालीको सीमासँग जोडिएको जोरायल क्षेत्रले रैथाने जातको मासिनो बास्नादार बासमती धान उत्पादनका लागि सदियौँदेखि छुट्टै पहिचान बनाएको छ । खानामा स्वादिलो, नरम र बास्नादार हुने विशेषताका कारण ‘जोरायली बासमती’ले यो क्षेत्रको पहिचान बनाएको हो ।

बासमती चामलको माग सबैतिर हुन थालेसँगै कतिपय स्थानीय युवाहरू यसको कारोबार गरेर आम्दानी गर्न आकर्षित भइरहेका छन् ।

पछिल्ला वर्षमा यो धानको व्यावसायिक खेती सुरु भएसँगै स्थानीय किसानको आयआर्जन वृद्धि भइरहेको स्थानीय युवा भक्तराज जोशीले बताए । उनले भने, “व्यावसायिक रूपमा यसको खेती सुरु भएसँगै धान उत्पादन गर्ने किसानमात्र नभएर धानबाट चामल बनाएर कारोबार गर्दा भइरहेको आम्दानीले युवाहरू आकर्षित भएका छन् ।”

स्थानीय किसानले आफ्नो घरायसी उपभोगका लागि मात्र खेती गर्ने गरेकामा पछिल्लो दशकमा व्यावसायिक रूपमा समेत यसको खेती गर्न थालिएको छ । यो धानले खेतीयोग्य अधिकांश जग्गा ओगट्न थालेपछि मार्सी, सलौज, थापाचिनीजस्ता रैथाने जातका धानखेती गरिने क्षेत्रफल भने घट्दै गएको जनाइएको छ ।

खेतका फाँट छेउ हुँदै बग्ने कर्नासी, गोगनी, सैगडालगायत नदीको पानीले खेतका फाँट सिञ्चित गर्न सहज भइरहेको छ । अग्लो ठाउँको र पाखो जग्गामा भने सिँचाइ पुर्याउन सकिएको छैन । सिँचाइ नपुगेको जग्गामा अन्य जातका धानखेती हुने गर्छ ।

यो क्षेत्रको समथर जग्गाको नदी छेउका फाँटको हावापानीमा बासमती जातको धान उत्पादनका लागि उर्वरभूमि मानिन्छ । धनगढी, अत्तरियालगायत सहरी क्षेत्रमा बासमती चामलको भात खाने बानी परेका सौखिनहरू यसको चामल खोज्दै हिंँडेको भेटिन्छन् । टोलको कुनै घरमा यो चामलको भात पाक्दै गर्दा पूरै टोलभरी पाक्दै गरेको भातको सुगन्ध फैलिन्छ ।

तत्कालीन राजा महेन्द्रले गरेको जोरायल भ्रमणका क्रममा ‘जोरायली बासमती’ चामलको भातको प्रशंसा गरेको स्थानीय वयोबृद्धको भनाइ छ । पछिल्ला दशकमा यो धानको बीउ हराउने हो कि भन्ने चिन्ता स्थानीयमा बढेपछि गाउँपालिका र किसानको संयुक्त पहलमा यसको रैथाने बीउ संरक्षणको पहल पनि भइरहेको छ ।

रासायनिक मलको प्रयोग नगरी गोबर कम्पोष्ट मलको प्रयोगले मात्र खेती गर्दा पनि यो धानको उत्पादकत्व राम्रो हुने गरेको स्थानीय किसानको अनुभव छ । पछिल्ला वर्षमा भने यसको खेती गर्दा रासायनिक मलको पनि प्रयोग गर्न थालिएको छ ।

चाडपर्वका समयमा पकाइने मिठोमसिनो खानाको परिकारका रूपमा बासमती चालमको भातलाई लिने गरिन्छ । चाडपर्वका दिन छरछिमेकीसंँग पैंँचो मागेर भए पनि यो चामलको भात हरेकका घरमा पाक्ने गर्छ ।

मिठोमसिनो हुने भएकाले यो चामल स्थानीय बजारमा पाइने चामलभन्दा बढी मूल्यमा खरिद बिक्री हुने गरेको छ । उत्पादन क्षेत्रमा बासमती धानको थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ पर्छ ।

मिलमा कुटानी गरेको यो धानको चामल प्रतिकिलो एक सय २० रुपैयाँ पर्दा ढिकी कुटेको चामल भने प्रतिकिलो एक सय ४० रुपैयाँ पर्ने गरेको छ । धनगढीलगायतका क्षेत्रमा भने यसको चामलको मूल्य प्रतिकिलो एक सय ५० रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा गाउँपालिकाले यो धानको बीउ संरक्षण, खेती विस्तार र उत्पादित धानको बजारीकण, प्राविधिक सहयोगलगायतका काममा किसानलाई सहयोग गरिरहेको बताउँछन् । ओझाले भने, “जोरायलका किसानको मुख्य आम्दानी स्रोत यो धान देखिएको छ, यसको कारोबार थप क्षेत्रमा विस्तार गर्नसके किसानको आम्दानी बढ्ने देखिन्छ ।”

यसको माग बढेसँगै व्यापार गर्दा आम्दानी गर्न सकिने भएपछि बासमती धान दाइँ गर्ने मौसममा व्यापारीहरू धानखेतमै पुग्ने गरेका छन् । जोरायल क्षेत्रको धन्नास, बगडीगाउँ, चनकट्टे, सिलम्बाग, सुगाँल, राउतकट्टेलगायतका गाउँको एक हजारभन्दा बढी हेक्टर क्षेत्रफलको ओसिलो जग्गामा यो धानको खेती हुने गर्छ ।

मसिनो तथा बास्नादार धानको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने प्रदेश सरकारको नीतिबमोेजिम रैथाने जातका अन्नबाली, मसिनो तथा बास्नादार धान उत्पादन कार्यक्रम संरक्षण सवंर्द्धनमा सहयोग गर्दै आएको छ । यद्यपि ठूलो क्षेत्रफलमा मसिनो तथा बास्नादार धानखेतीको क्षेत्रफल अपेक्षित रूपमा बढ्न नसक्दा प्रदेशका अधिकांश जिल्लामा खपत हुने मसिनो धान बाहिरी जिल्लाबाट आपूर्ति गर्नुपर्ने अवस्था छ ।

बाहुन, क्षेत्री, दलित, ठकुरी, मगरलगायत समुदायको बसोबास रहेको यो क्षेत्रमा सडक, विद्युत्, सञ्चारलगायत विकासका आधारभूत पूर्वाधार जुटिसकेका छन् । अवसरको खोजीमा आफ्नो पुख्र्यौली थलो छाडेर वर्षौँअघि अन्यत्र बसाइँसराइ गरेका जोरायलवासी अहिले त्यहाँ भइरहेका सडकलगायत विकासका कामले पुनः आफ्नै जन्मथलोमा फर्किने हो कि भनेर सोच्न थालेका छन् ।

बाँकेको खयरभट्टीमा अझै भएन विद्युतीकरण

नेपालगञ्ज । भारतको सीमा नजिक रहेको बाँकेको दुर्गम बस्ती खयरभट्टीमा अहिले पनि विद्युतीकरण हुनसकेको छैन ।

जिल्लाको राप्तीसोनारी–४ र १ को सो गाउँमा विद्युत् जडानका लागि स्थानीयले बारम्बार आग्रह गरे पनि विद्युतीकरण नहुँदा स्थानीय विभिन्न काम गर्न सास्ती झेल्न बाध्य भएका बताएका छन् । सो क्षेत्रमा करिब चार सय ५० घरपरिवारले विद्युत्को सुविधा नपाउँदा खानेपानी र सिँचाइको अभाव झेलिरहेको स्थानीय प्रकाश नेपालीले जानकारी दिए ।

उनले पछिल्लोपटक केही घरमा धारा जडान भए पनि खानेपानीको समस्या समाधान नभएको उल्लेख गर्दै विद्युतीकरण भएपछि खोलामा बग्ने पानीको सदुपयोग गरेर खानेपानीको समस्या सधैँका लागि अन्त्य हुने विश्वास व्यक्त गरे ।

उनले काम गर्न लागेको एक वर्षमा पनि खम्बा गाड्ने र तार तान्ने काम पूरा नभएको जानकारी दिँदै नेपाल विद्युत् प्राधिकरणलाई पनि ताकेता गर्न आग्रह गरे । उक्त क्षेत्रमा विद्युतीकरणका लागि पाँच सय ६० स्टिल ट्युबलर खम्बा गाडिएको छभने केही अझै बाँकी छ ।

त्यहाँका स्थानीयको मुख्य आयस्रोत बाख्रापालन, कुखुरापालन र बनकसको डोरी बनाएर बेच्ने रहेको बताइएको छ । सो डोरी बेच्न स्थानीय भारतको बजारमा जाने गर्छन् ।

नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले त्यस क्षेत्रमा विद्युतीकरणका लागि पोल गाड्ने काम सम्पन्न भएको र केही बाँकी रहेको जानकारी दिँदै तार तान्ने काम हुन नसकेको बताए । उनले भने, “अहिले तत्कालका लागि काम स्थगन भएको छ, तिहारपछि काम सम्पन्न हुन्छ ।”

सो क्षेत्रमा १३ किलोमिटरमा विद्युत् लाइन जोड्नुपर्ने अवस्था रहेको बताइएको छ । रु तीन करोड ५० लाख हाराहारीमा सो क्षेत्रमा विद्युतीकरणका लागि ठेक्का दिइएको थियो ।

पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण गर्दै सुस्ता गाउँपालिका

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिब २० बिघा क्षेत्रफलमा ताल बनाउने भएको छ। आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए।

सुस्ता –३ र ४ नं वडाको बीचमा रहेको घोलालाई सफाइ तथा मर्मत गरी ताल निर्माण गर्न लागिएको हो। ताल निर्माणका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ खर्च गरिसकेको अधिकृत भुसालले बताए। तालको वरिपरि फुटपाथ, उद्यान, वरिपरि विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यता बनाउने उनले जानकारी दिए।

पालिकाभित्रका पर्यटकीय सम्भावनाका स्थललाई पहिचान गरी गाउँपालिकाले पर्यटन विकासका नीति अगाडि बढाएको पालिका अध्यक्ष टेकनारायण उपाध्ययले बताए। तालमा माछापालनसमेत गरिने छ।

लामो समयदेखि घोलाका रूपमा रहेकाले यसको खासै महत्त्व थिएन तर अब ताल बनेपछि पर्यटन विकास हुने उनले जानकारी दिए। ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत हुने अपेक्षा गरिएको छ। पहिलो चरणमा घोलाभित्र रहेका झाडी तथा फोहरलाई सफा गरिएको छ।

गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न स्थलको पहिचान गर्ने काम गरिरहेको छ । पर्यटन विकासमार्फत आम्दानीका स्रोत व्यवस्थापन गर्ने गाउँपालिकाको उद्देश्य छ। 

साथीको हत्या अभियोगमा सिरहामा पाँच जना पक्राउ

सिरहा । साथीको हत्या गरेको अभियोगमा प्रहरीले सिरहामा ५ जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेद रहेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए । त्यहाँ उनीहरूका अन्य साथीहरू भेट भएका थिए ।

उनीहरु सबैले नसालु पदार्थ सेवन गर्ने योजना बनाउँदै मेला स्थलभन्दा पूर्वतिरको खोलानजिक गएका थिए । त्यहाँ उनीहरूले गाँजा र लागुऔषध नाईट्राभेट ट्याबलेट सेवन गरे ।

त्यसैक्रममा कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने योजना सुनाए । अन्य साथीहरूले पनि ती महिलासँग भेट्ने इच्छा व्यक्त गरेपछि कृष्णले अस्वीकार गरेका थिए ।

त्यसपछि उनीहरुबीच विवाद बढ्यो र रिसको आवेगमा उनीहरुले हत्या योजना बनाए । पाँचैजनाले कृष्णलाई चारतैतिरबाट घेरा हालेर धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेका प्रहरीले जनाएको छ ।

महराको शव सुखीपुल नगरपालिका १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा असोज २८ गते साँझ फेला परेको थियो । त्यसपछि प्रहरीले अनुसन्धान गर्दा उनीहरु पक्राउ परेका हुन् ।

अमेरिकाविरुद्ध टी–२० श्रृंखलामा नेपालको ‘क्लिन स्वीप’

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो ।

अमेरिकाले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । आसिफ ३९ बलमा ५० रन बनाएर आउट भए ।

यस्तै कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा नटआउट रहे । अमेरिकाका जसदीप सिंह र जुआनोए ड्रेस्डेलले १/१ विकेट लिए । यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनायो ।

अमेरिकाका साइतेजा मुकामलाले ६८ तथा मिलिन्द कुमारले नटआउट ४३ रन बनाए । नेपालका सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।

अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल सुपर ओभरमा विजयी भएको थियो । टी–२० शृङ्खलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

रास्वपाको माग ‘जेनुइन’ होला तर अहिले पोखरामा पुगेर उठाइएका यी मुद्दा बार्गेनिङ जस्तो देखिन्छ

नारायण गाउँले
कुनै व्यक्ति या मुद्दामाथि संसदीय छानबिन समिति किन आवश्यक हुन्छ ? सामान्यतया गम्भीर फौजदारी आरोपमा छानबिन, अनुसन्धान र मुद्दा दर्ता गर्ने काम प्रहरी र सरकारी वकिलकै हो । सांसदहरूसँग कुनै अपराधको गहिराइसम्म पुगेर अनुसन्धान गर्ने र अभियोजन गर्ने विज्ञता, अनुभव र पेशागत दक्षता हुँदैन । सामान्यतया फौजदारी कानुन आकर्षित हुने र विद्यमान् न्यायिक प्रणालीले सम्बोधन गर्न सक्ने विषयमा छानबिन गर्नु या दोषी र निर्दोष तोक्नु तिनको कामकर्तव्य र अधिकार समेत होइन । तर, कुनै गम्भीर राष्ट्रिय मुद्दा या आरोपमा छानबिन गर्ने निकाय या सरकारी पदाधिकारी नै शङ्काको घेरामा पर्दा या प्रहरीले नियमित अनुसन्धान गर्न नसक्ने अवस्थामा ‘सरकार’ भन्दा माथि मानिने संसदले संसदीय समिति बनाएर अध्ययन, अनुसन्धान र छानबिन गर्न सक्ने उदाहरण स्थापित छ । संसदीय समितिको माग विपक्षी दलले गर्ने हो, सरकारसँग त प्रहरी र न्यायाधिवक्ता नै हुन्छन् ।

सहकारी ठगीको छानबिन गर्ने काम र कर्तव्य पनि मूलतः प्रहरीकै हो, सरकारकै हो । पीडि़तबाट जाहेरी लिने र अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने काम प्रहरीको हो । कतिपय गम्भीर आपराधिक मुद्दामा बिना जाहेरी नै पनि आफैले संज्ञान लिएर प्रहरीले कामकारवाही अघि बढाउन सक्छ । सामान्यतया प्रहरीले आफ्नो काम गरिरहेको हुन्छ ।

प्रहरीमा दृश्य अदृश्य चेन अफ कमाण्ड हुन्छ । प्रधान या गृहमन्त्रीले कुनै मुद्दा या अनुसन्धानलाई रोक्न या प्रभाव पार्न सक्छन् । नेताहरूले कुनै फाइल खोल्ने र बन्द गर्ने भन्दै वक्तव्य दिने गरेको सुन्नुभएकै छ । खासमा कुनै मन्त्री या नेताले फाइल खोल्ने र बन्द गर्ने हक राख्दैन । फाइल कुनै मन्त्रीले गोजीमा बोकेर हिँड्ने, खोलम् ? भन्दै जिस्क्याउने या मुड़ चलेको दिन खोल्ने र कारबाही गर्ने विषय होइन । त्यो काम र कर्तव्य प्रहरीको हो । प्रहरीलाई प्रलोभन या त्रासमा राखेर फाइलमाथि खेल्न भने सकिन्छ र नेपलामा यस्तो हुँदै आएको छ ।

सहकारी मुद्दामा तत्कालीन गृहमन्त्री रवि लामिछानेको नाम जोडिन पुगेपछि प्रहरी अनुसन्धान रोकियो । उनीविरुद्धको पूरक जाहेरी पनि प्रहरीले अघि बढ़ाएन । आफ्नै गृहमन्त्रीविरुद्ध प्रहरीले छानबिन गर्ने तागत पक्कै राख्दैनथ्यो । राखे पनि निष्पक्ष छानबिन हुने सम्भावना कम हुन्थ्यो । यस्तोमा दुई वटा विकल्प थिए, या त आफूविरुद्ध प्रश्न उठेपछि रवि लामिछानेले गृह मन्त्रालय छोड्ने र प्रहरीको स्वाभाविक अनुसन्धान अघि बढ्न दिने या गृह मन्त्रालयभन्दा ठूलो मानिने संसदीय छानबिन समिति बनाएर मुद्दाको गहिराइ र तथ्यापन गर्ने अनि सरकारलाई सोही अनुरूप निर्देशन दिने ।
सहकारी ठगी देशभर व्याप्त इतिहासकै सबैभन्दा ठूलो अपराध थियो । रवि लामिछानेमाथि मात्रै छानबिन गर्ने या देशभरका सबै अपराधको छानबिन संसदले गर्ने भन्ने दुबै कुरो होइन । छानबिनमा प्रभाव पार्न सक्ने व्यक्तिमाथि मात्रै संसदीय समितिले छानबिन गर्ने र अन्यमाथि नियमित प्रहरी अनुसन्धान र प्रक्रिया नै अघि बढ्ने भन्ने हो । अन्य सहकारी ठगीका मुद्दा रवि गृहमन्त्री हुँदा पनि प्रहरीले अघि बढ़ाएको थियो, पक्राउ गरेकै थियो ।

एमाले र कांग्रेसका पूर्व सांसददेखि मेयरसम्म र सयौं अन्य आरोपितहरू सहकारी ठगीमा जेल या हिरासतमा छन् । यो यति ठूलो सङ्गठित ठगी र अपराध हो कि देशभर लाखौं पीडि़त र हजारौं पीड़क छन् । सद्दे र सक्षम राज्यसंयन्त्रलाई पनि यति ठूलो ठगीमा सबैलाई न्याय दिन मुश्किल हुन्छ भने हाम्रो संयन्त्र कस्तो छ, भनिरहन परेन ।

संसदीय समितिले रवि लामिछाने लगायतका व्यक्तिलाई दोषी मानेर कारबाहीको सिफारिस गरेको थियो । धेरैले दाबी गरेजस्तो सामान्य जागीर खाएको र तलब बाँडेको आधारमा उनलाई दोषी मानिएको होइन । जीबी राईले ठगी गरेका अर्बौं रुपियाँको जिम्मेवारी पनि उनको काँधमा आएको होइन । जागीर र तलब खाने जतिलाई दोषी मानेको भए त टिभीका सबै कर्मचारी दोषी हुन्थे । उनी कम्पनीको १५% मालिक थिए । कम्पनी रजिस्ट्रारको कार्यालयमा आफै पुगेर शेयर किनेको भनेर हस्ताक्षर गरेका थिए । रवि मालिक मात्रै होइन, प्रबन्ध निर्देशक (हाकिम) पनि आफैं थिए । उनी मालिक हुनुअगाडि या छोडेपछिको हिसाब उनको जिम्मामा पर्दैन । तर मालिक भएको दिनदेखि कम्पनी छोड्दाको दिनसम्मको जिम्मेवारी त उनको पनि हुन्छ । सकारात्मक कुरा, उनले यसको जिम्मेवारी लिने भनेर फेसबुक लाइभमा समेत बोलेका थिए । हो, त्यही बीचमा कम्पनीको एकाउन्टमा आएको सहकारी रकमबारे उनलाई जिम्मेवार ठानेर कारबाही सिफारिस भएको हो । सहकारीको रकम रवि लामिछानेको निजी खातामा आएको होइन । तर उनी मालिक र प्रवन्ध निर्देशक रहेको कम्पनीको खातामा आएको हो । निजी खातामा त जीबीको पनि आएको होइन । रवि र जीबीको हस्ताक्षर चल्ने संयुक्त खातामा आएको पैसाको जिम्मेबारी जीबीको मात्रै हुने कि रविको पनि हुने भन्ने प्रश्न मुख्य न्यायिक निरूपणको प्रश्न हो । रविले तलबका रूपमा मात्रै बुझेको एक करोड बढ़ी रकम सहकारीको हो भन्ने त स्पष्ट नै छ । तलब त अन्य धेरैले पनि बुझे होलान्, तर यो तलब रविको आफ्नै स्वामित्वको र आफैं प्रबन्ध निर्देशकसमेत रहेको कम्पनीबाट बुझिएकाले पक्कै सामान्य होइन ।

रविसँग १५%, छविसँग ३५% र कम्पनीको ५०% स्वामित्व जीबी राईसँग थियो । आंशिक मालिक भए पनि कम्पनीको हर्ताकर्ता अर्कै थियो भन्ने छुट् पनि उनलाई छैन । प्रवन्ध निर्देशक पनि उनै थिए । झुक्किएर खाए होलान्, तर सहकारी पीडि़तको करोड़ बढ़ी रकम त उनको पेटमा छ नि । यसको प्रायश्चित्त उनले कसरी गर्छन् भन्ने हेर्न बाँकी छ । अब दोषी तोक्ने काम हाम्रो होइन, अदालतको हो । क्लिन चिट दिने काम पनि हाम्रो होइन, अदालतकै हो । रास्वपाले अदालत अगाडि गरिरहेको विरोध प्रदर्शन र आमसभाले उसलाई केकति फाइदा होला तर भविष्यका लागि राम्रो नजीर स्थापना गर्दैन । यसले अन्य पार्टीलाई राम्रो दृष्टान्त दिन्छ । किनकि ढिलो चाँडो पक्राउ पर्ने लाइनमा त तिनै छन् ।

रास्वपाले दाबी गरेजस्तै यो मुद्दा र पक्राउमा राजनैतिक प्रतिशोध मिसिएको होला तर यो प्रतिशोधमात्रै होला त ? उसकै सांसदसमेतले गरेको कारबाहीको सिफारिस पनि त छ नि । सिफारिस गरिएकाहरूलाई पक्राउ पुर्जी जारी भएको छ र धेरैजसो समातिएका छन् । तिनको हकमा के होला त ? के संसदीय समितिले समेत दोषी देखेको यो मुद्दामा प्रहरीले छानबिन गर्नु प्रतिशोध नै हो त ? हुनुपर्ने के होला त ?

अब धनराज गुरुङ्, भाटभटेनी काण्डबारे चर्चा गरौँ । यद्यपि कांग्रेस सरकारमै हुँदा बालकृष्ण खाँड पक्राउ परेका थिए, तर सधैँ यस्तो हुँदैन । शक्ति र सत्ताको विपक्षमा प्रहरी जान सक्दैन । प्रहरीले यी दुबै केसमा निष्पक्ष छानबिन गर्न सक्दैन । उसको क्षमता नभएको होइन कि, चेन अफ कमाण्डको सीमाका कारण ऊ अक्षम छ । हो, यस्तो केसमा विपक्षीले संसदीय छानबिन समितिको माग गर्न सक्छन् । प्रथम नजरमैं भ्रष्टाचार र आर्थिक अपचलन स्पष्ट देखिने यस्तो गम्भीर विषयमा सिंहदरबार अगाडि आन्दोलन गर्नुको बरु अर्थ हुन्थ्यो होला । जेनुइन होला तर अहिले पोखरामा पुगेर उठाइएका यी मुद्दा बार्गेनिङ जस्तो देखिन्छ ।

विवेकशील भन्ने वैकल्पिक राजनीतिको एउटा झिल्को थियो । त्यसले वास्तवमैं वैकल्पिक, सुशील र सिर्जनात्मक राजनीतिको अभ्यास सुरु गरेको थियो । नेपालको सबैभन्दा ठूलो रोग ‘नेपाल बन्द’ हटाउन उसको ठूलो योगदान थियो । त्यही झिल्को बढेर बालेन र हर्क हुँदै रास्वपासम्म विस्तार भएको विश्वासमा अलिकति शङ्का उठ्ने गरी उत्तेजनात्त्मक राजनीतिमात्रै नभए हुन्थ्यो । अहिलेलाई यत्ति ।

महिला विश्वकपको उपाधि न्युजिल्यान्डलाई

काठमाडौँ । न्युजिल्यान्डले पहिलो पटक आईसीसी महिला टी२० विश्वकप क्रिकेटको उपाधि जितेको छ। दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्यान्ड च्याम्पियन बनेको हो।

दुबईमा आइतबार भएको फाइनलमा न्युजिल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लाउरा वलभार्टले सर्वाधिक ३३ रन बनाइन्।

न्युजिल्यान्डका रोसमेरी मेइर र अमेलिया केरले समान ३-३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५८ रन बनाएको थियो। न्युजिल्यान्डका अमेलिया केरले सर्वाधिक ४३ रन बनाइन्। ब्रुकी हालिडेले ३८ तथा सुजी बेट्सले ३२ रन जोडे।

दक्षिण अफ्रिकाका नोनकुलुलेको एलाबाले २ विकेट लिइन्। न्युजिल्यान्ड यसअघि सन् २००९ मा भएको पहिलो र २०१० मा दोस्रो संस्करणको फाइनलमा पराजित भएको थियो। तेस्रो पटक फाइनल खेल्दा टोलीले उपाधि जितेको हो।

डीआईजीद्वय राणा र ह्योजु एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु एआईजीमा बढुवाका लागि सिफारिसमा परेका हुन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

शिक्षामन्त्री भट्टराईद्वारा बाढी पहिरोबाट क्षतिग्रस्त ललितपुरका विद्यालयको निरीक्षण

पाटन (ललितपुर) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढी र पहिरोबाट क्षति पुगेका ललितपुरका विद्यालयको निरीक्षण गरेकी छन् ।

आइतबार उनले बाढी र पहिरोका कारण क्षति पुगेका कोन्ज्योसोम गाउँपालिकाको ज्ञानज्योति आधारभूत विद्यालय, गोदावरी नगरपालिकाको बुद्ध माध्यमिक विद्यालय, वागेश्वरी आधारभूत विद्यालय, महालक्ष्मी नगरपालिकाको गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको निरीक्षण गरेकी हुन् ।

त्यसक्रममा मन्त्री भट्टराईले क्षतिग्रस्त विद्यालयमा आवश्यकताअनुसार तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने, अभिभावक र विद्यार्थीलाई मनोपरामर्श दिने र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताइन् ।

उनले पाठ्यपुस्तक क्षति भएका विद्यार्थीलाई स्थानीय तहमार्फत पाठ्यपुस्तक उपलब्ध गराइने र दीर्घकालीन रूपमा विपद् प्रतिरोधी जग्गामा मापदण्डअनुसारको भवन बनाउन स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाको चासो रहनुपर्नेमा जोड दिइन् ।

ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले कोन्ज्योम गाउँपालिकाको ठोठ्नेखोला क्षेत्रमा बाढीले क्षतिग्रस्त बनाएको बस्तीको स्थानान्तरणका लागि पहल गर्न अनुरोध गरे ।

निरीक्षणमा मन्त्री भट्टराईसँगै सांसद राणा र क्षेत्र नं २ का प्रेम महर्जन, बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, कोन्ज्योसोम गाउँपालिका प्रमुख कृष्णमान लामा, उपप्रमुख राजनप्रसाद घिमिरे, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखलगायत उपस्थित थिए ।

मीनबहादुरको जग्गा दान लिने निर्णयको विरोध गर्ने नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टी नीति विपरित अभिव्यक्ति दिएको भन्दै तीन नेतामाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले भने, ‘लामोसमय पार्टीको नीतिसँग असहमति राखेर आफ्नो विचार प्रकट गरिरहनुभएका पार्टीका पूर्वउपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले पार्टी निर्णयविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभएकामा के कति करणले त्यसप्रकारका गतिविधि गर्नुभएको हो भनेर सोध्ने निर्णय भएको छ ।’


उनीहरुले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा पार्टी कार्यालय बनाउने पार्टीको निर्णयको विरोध गरेका थिए ।

प्रधानमन्त्री ओलीले असोज २५ गते कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालयको भवन शिल्यानास गरेका थिए । गुरुङले एमाले पार्टी कार्यालय बनाउन १० रोपनी १४ आना जग्गा दिएका थिए ।

एमाले नेतृ विन्दा पाण्डेले व्यवसायीबाट दान लिनुलाई साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने कदम भन्दै २८ लाख मतदाताको अपमान हुने बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘साढे पाँच लाख पार्टी सदस्यकेा स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताकेा अपमान गर्ने कदम हेा येा । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीकेा सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयेाग गर्नु कर्तव्य नै हेा ।तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तेा सहयेाग लिनु र व्यापारीले दिनु दुवै ग़लत हेा । दिनेले किन र कसरी दिए उनैलाई थाहा हेाला । तर, स्विकार गर्नेले पार्टीकेा निर्णायक तहमा छलफल र निर्णय त परकेा कुरा जानकारी समेत नहुने गरी गरिएकेा येा निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ ।समय घर्की सकेकेा छैन । मनमेाहन र मदनहरुले उचेा बनाएकेा पार्टीकेा इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेकेा गैारव जेागाउने हेा भने येा ग़लत निर्णय सच्याउनै पर्छ । समयमै सोचौं ।’

त्यस्तै केन्द्रीय सदस्य तिम्सिनाले भनेकी थिइन्, ‘हामीलाई कुनै व्यापारीले बनाइदिएको ठूलो महलभन्दा मदननगरमा जति मिल्छ त्यति नै आफ्नो पसिनाले सञ्चिएको भवन प्यारो र गर्विलो हुनेछ । म नेतृत्वसमक्ष निवेदन गर्न चाहन्छु यो निर्णय फिर्ता लिइयोस् ।हामीलाई बाँचुञ्जेल एमाले भएर स्वाभिमानकासाथ उभिनेर भूमि बाँकी राखिदिनुहोस् ।’

गैरआवासीय नेपाली संघको एकता महाधिवेशन गराउन शेष घलेलाई सरकारको पत्र

काठमाडौं । परारष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउन पूर्वअध्यक्ष शेष घले र गैरआवासीय नेपाली संघको सचिवालयलाई पत्राचार गरेको छ ।

सर्वोच्च अदालतले गत चैत २१ गतेको फैसला कार्यान्वयनका लागि भन्दै परराष्ट्रले घले र संघको सचिवालयलाई आइतबार पत्र पठाएको हो । सर्वोच्चको फैसलाअनुसार मन्त्रालयले घलेलाई एकताको महाधिवेशन गराउनेसहितको कार्यादेश दिइएको छ ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले गत चैत २१ गते एनआरएनएको आधिकारिकता विवादमा फैसला गर्दै २०७८ माघ १ को बिन्दुबाट गतिविधि सुरु गरेर संघका पूर्वअध्यक्ष घलेको नेतृत्वमा ६ महिनाभित्र एकताको महाधिवेशन गर्न फैसला गरेको थियो ।

आफूहरुले गराएको महाधिवेशनलाई आधिकारिक दाबी गर्दै विभिन्न व्यक्ति र समूहले रिट दायर गरेपछि सर्वोच्चले कसैलाई पनि आधिकारिता नदिई ०७८ माघ १ को अवस्थामा संघलाई फर्काएको थियो । विवादका बीच एनआरएनएको २०७८ चैत १३ मा भएको १० औँ महाधिवेशनबाट कुल आचार्य, बद्री केसी र रबिना थापा अध्यक्ष चयन भएका थिए ।

सोही समितिलाई वैधानिकता परराष्ट्र मन्त्रालयले वैधानिकता दिएपछि उनीहरू ६–६ महिना आलोपालो नेतृत्व गर्नेगरी अध्यक्ष चयन भएका थिए ।

त्यसअघि चैत ८ मा शेष घलेको नेतृत्वमा १० औँ महाधिवेशनबाट विनोद कुँवर अध्यक्ष चयन भएका थिए। महाधिवेशन गर्दा कुँवर समूहलाई घलेले साथ दिएका थिए भने घले संयोजक भएकाले उनको नेतृत्वमा भएको महाधिवेशन वैध भएको भन्दै कुँवर समूह सर्वोच्च पुगेको थियो ।

नेपाल ट्रायथनलका अध्यक्ष श्रेष्ठलाई विशेष सम्मान

काठमाडौं । विश्व ट्रायथलनको सर्वोच्च संस्थान वर्ल्ड ट्रायथलनले आइतबार स्पेनमा भइरहेको ३८ औं महाअधिवेसन तथा वर्ल्ड ट्रायथलन च्याम्पिनयसिपको अवसरमा नेपाल ट्रायथलन र यसका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई विशेष सम्मान गरेको छ ।

वर्ल्ड ट्रायथलनका अध्यक्ष मारिसोल कासाडोले आफ्नो १६ वर्षको कार्यकाल पूरा भएको अवसरमा संघ र श्रेष्ठलाई विशेष कार्यक्रमबीच सम्मान गरेको हो ।

सम्मान हुने अन्य ट्रायथलन संघका अध्यक्षमा नेपालसँगै जापान, स्पेन, क्युवा र मोरक्को रहेका छन् । विश्व ट्रायथलनका १ सय ५४ देशमध्ये ती छ देशलाई खेलको विकासमा विशेष योगदान दिएकोमा चयन गरिएको हो ।

दक्षिण एसियाली ट्रायथलनका प्रतियोगिता लगातार नेपालमै मात्र आयोजना भइरहेको छ । सन् २०१२ देखि दक्षिण एसियाली ट्रायथलन र सन् २०१९ देखि एसिया कप ट्रायथलन नेपालमै भइरहेको छ ।

श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका पनि महासचिव हुन् र उनी लामो समयदेखि नेपाली ट्रायथलनको विकास र विस्तारमा सक्रिय रहेका छन् । यस्तै उनी दक्षिण एसियाली ट्रायथलनका अध्यक्ष तथा एसियन ट्रायथलन अध्यक्षका सिनियर सल्लाहकार समेत हुन् ।

ट्राफिक नियम उल्लंघन गर्नेलाई ‘इ–चलान’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राज्यका तर्फबाट प्रदान गरिने सम्पूर्ण सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने बताएका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा आइतबार आयोजित ‘इ–चलान’ (डिजिटल चिट) शुभारम्भ गर्दै उनले सबै नागरिकलाई सरल, सुलभ र पारदर्शी तथा झण्झटिलो र जटिलतारहित ढङ्गबाट सेवा प्रवाह गरिने बताए ।

“कोही पनि नागरिकले सरकारी सेवा सरल ढङ्गबाट प्राप्त गर्न सकून्, कुनै जटिलता, अपारदर्शीता र भ्रष्टाचार नहोस्, सेवाग्राहीले सहजै सेवा प्राप्त गर्न गरुन् भन्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको छ”, गृहमन्त्री लेखकले भने ।

वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित भएको जानकारी दिँदै उनले प्रविधिको प्रयोग गरी पूर्णसुशासनयुक्त मुलुक बनाउने बाटोमा अघि बढ्ने स्पष्ट पारे ।

गृहमन्त्री लेखकले सडक नियम उल्लङ्घन गरेको अवस्थामा डिजिटल माध्यमबाट सवारीसाधनका चालकलाई कारबाही र तत्कालै जरिवाना तीर्न सकिने व्यवस्था कार्यान्वयनमा आएसँगै ट्राफिक कारबाहीमा नयाँ आयाम थपिएको बताए । यो व्यवस्था कार्यान्वयन गर्न ट्राफिक प्रहरीको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्दै उनले भने, “आजदेखि प्रारम्भ भएको छ, अब कार्यान्वयन गर्नुपर्छ, यो प्रणालीले सबैलाई सरलता प्रदान गरोस्, सफल प्रणालीका रुपमा प्रयोग गरेर उदाहरणीय काम गर्न सकोस् ।”

बर्सेनि सडक दुर्घटनाबाट ठूलो जनधनको क्षति हुँदै आएको उल्लेख गर्दै गृहमन्त्री लेखकले सरोकारवाला सबैको साझा प्रयत्नबाट मात्रै सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ढिलै भए पनि डिजिटल सवारी चालक अनुमतिपत्र वितरण र ट्राफिक कारबाहीको क्षेत्रमा महत्वपूर्ण कामको थालनी भएको बताए ।

“सवारी चालक अनुमतिपत्र हातहाती दिन सक्नुपर्ने हो, तर अहिले पनि २२ लाख चालकलाई अनुमतिपत्र दिन सकेका छैनाँै, नियमन गर्ने प्रणालीको व्यवस्था गर्र्यौँ, यो ठूलो काम हो ।”

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सवारी चालक परिचयपत्र नपाएका नागरिकले नागरिक एपमार्फत अनुमतिपत्र देखाउन सक्ने व्यवस्था भएसँगै सवारी लाइसेन्स वितरणमा ऐतिहासिक सुरुवात भएको बताए ।

क्यूआर कोडसहितको डिजिटल लाइसेन्स ‘रिड’ गर्न र सडक नियम उल्लङ्घनमा कारबाही गर्न बागमती प्रदेश सरकारले ट्राफिक प्रहरीलाई सुरुवाती चरणमा एक सय चार मोबाइल उपलब्ध गराएको जानकारी दिँदै उनले आवश्यकताअनुसार प्रहरीलाई थप पाँच सय मोबाइल उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले न्यून साधनस्रोतको उपलब्धताकाबीच पनि ट्राफिक प्रहरीले सडक व्यवस्थापन र यात्रु सुरक्षालाई प्रभावकारी बनाउँदै आएको बताए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरत बोहराले अत्याधिक सवारीसाधनको चाप, सीमित सडक सञ्जाल, सडक नियम पालना नगर्ने प्रवृत्तिलगायतले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको बताए ।

यसरी हुन्छ ट्राफिक कारबाही

यो प्रणाली कार्यान्वयनमा आएसँगै अब सवारी चालक नागरिकले ट्राफिक नियम उल्लङ्घनको कसुरमा नागरिक एपमा भएको क्यूआर कोडसहितको चालक अनुमतिपत्र देखाएपछि ट्राफिक प्रहरीले नेपाल प्रहरीको मोबाइल एपमार्फत उक्त कोड स्क्यान गरी कारबाही गर्नेछन् । यसरी कारबाही गर्ने प्रक्रिया नै ‘इ–चलान’ हो ।

उक्त विवरण नागरिक एप र यातायात व्यवस्था विभागको सिस्टममार्फत ट्राफिक प्रहरीको सिस्टममा प्राप्त हुने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी निरीक्षक दिपेन्द्रप्रसाद साहले जानकारी दिए । ट्राफिक कारबाहीका क्रममा सवारी चालकले नागरिक एपमा भएको क्यूआर कोडसहितको सवारी अनुमतिपत्र देखाउनुपर्नेछ ।

यसपछि ट्राफिक प्रहरीले मोबाइल एपमा आफ्नो कम्प्युटर कोड लगइन गरी सवारी चालकको अनुमतिपत्र स्क्यान गर्ने र कुनै पनि काजपत्र नलिइ गन्तव्यमा पठाइदिनेछन् । सवाची चालक अनुमति पत्रको सम्पूर्ण रेकर्ड साथै कसुर, सवारी नम्बरलगायतको विवरण ‘ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम’ (टिभिआएस) मा अद्यावधिक हुनेछ ।

सवारी चालकले प्रयोग गरेको नागरिक एपमा चिट नम्बरसहितको विवरण जानेछ । चालकले उक्त पूर्जी नम्बरका आधारमा डिजिटल पेमेन्ट गरेपछि उक्त कसुरबाट मुक्त भएको जानकारी निजकै एपमा देखाउने प्रहरी निरीक्षक साहले बताए । कसुरबापतको जरिवाना नतिरेसम्म वा गम्भीर प्रकृतिका कसुर गरेका अवस्थामा सचेतना कक्षा नलिएसम्म एपमा सूचना आइरहने व्यवस्था गरिएको छ ।

रविलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

पोखरा । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र पीडितका तर्फबाट वेदबहादुर विष्टले अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।

जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी जारी गरेसँगै शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै शनिबार पोखरा ल्याइएको थियो ।

नयाँ प्रतिबन्ध अनुगमन टोली ‘गैरकानूनी’ : उत्तर कोरिया

सोल । उत्तर कोरियाका शीर्ष कूटनीतिज्ञले आइतबार संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको नयाँ प्रतिबन्ध अनुगमन टोलीलाई ‘गैरकानूनी र अवैध’ भन्दै आलोचना गरेका छन् । उनले टोलीमा संलग्न देशहरूले ‘ठूलो मूल्य’ चुकाउनु पर्ने चेतावनीसमेत दिएका छन् ।


मार्चमा रुसले उत्तर कोरियामाथि उसको प्रतिबन्धित परमाणु र हतियार कार्यक्रमका लागि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्रसङ्घका विशेषज्ञहरूको प्यानलको नवीकरणमाथि भिटो लगाएपछि यस महिनाको प्रारम्भमा ११ सदस्यीय टोलीको नाम दिइएको थियो ।


रुसी भिटोपछि दक्षिण कोरिया र यसका सहयोगीहरूले प्रतिबन्धहरूको अनुगमन गर्न विभिन्न विधिहरू लागू गर्न काम गरेका छन् । यसबाट अमेरिका र जापानसहितको नयाँ समूहको गठन भएको छ ।


“यस्तो अनुगमन प्रणाली ‘पूर्ण रूपमा गैरकानूनी र अवैध’ छ”, उत्तर कोरियाका विदेशमन्त्री चोए सोन हुईले आइतबार कोरियन सेन्ट्रल न्यूज एजेन्सीद्वारा प्रकाशित एक विज्ञप्तिमा भने, “यसको अस्तित्व आफैँमा संयुक्त राष्ट्रसङ्घको बडापत्रको खण्डन हो ।”


यो आलोचना दक्षिण कोरियाको जासुसी निकायको एक रिपोर्टपछि आएको छ । उक्त रिपोर्टमा उत्तर कोरियाले युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न ‘ठूलो स्तरमा’ सैनिक तैनाथी पठाएको र एक हजार पाँच सय विशेष बलहरू पहिले नै रुसमा प्रशिक्षण गरिरहेको बताइएको छ।प्योङयाङले किएभविरुद्ध प्रयोग गर्न मस्कोलाई हतियार पठाइरहेको पनि सोलले दाबी गरेको छ।


मन्त्री चोएले आइतबारको विज्ञप्तिमा कथित तैनाथीको बारेमा उल्लेख गरेका छैनन् । प्योङयाङले यसअघि नै रुससँग प्रतिबन्ध उल्लङ्घन गर्ने कुनै पनि हतियार व्यापारलाई अस्वीकार गरेको छ।

इजरायली हमलामा गाजामा ७३ जनाको मृत्यु, तथ्याङ्क ‘अतिरञ्जित’ भएको इजरायलको भनाइ

तेल अभिव । उत्तरी गाजाको बेइट लाहियामा भएको इजरायली आक्रमणमा ७३ जनाको मृत्यु भएको र धेरैजना भग्नावशेषमुनि पुरिएको आशङ्का गरिएको अल जजिराले जनाएको छ ।

उद्धार कार्य जारी रहँदा मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको गाजाको सरकारी मिडिया कार्यालयले जनाएको छ ।

गाजा पट्टीको उत्तरमा खाद्यान्न, पानी र औषधि जस्ता आवश्यक सेवाको पहुँच विच्छेद गरेको १६ दिने इजरायली सैन्य घेराबन्दीका कारण उत्तरी गाजाको अवस्था भयावह बनेको छ ।

यद्यपि, इजरायली रक्षा बल (आइडिएफ) ले उत्तरी गाजामा हालैका आक्रमणमा ७३ जनाको मृत्यु भएको हमासको दाबीमा शङ्का व्यक्त गरेको छ भने टाइम्स अफ इजरायलले यो तथ्याङ्क ‘अतिरञ्जित’ भएको जनाएको छ ।

लेबनानी सशस्त्र समूह हिजबुल्लाहले प्रहार गरेको रकेट आक्रमणको जवाफमा इजरायलले लेबनानको बेरुतमा उक्त समूहका लक्ष्यमा आक्रमण गरिरहेको टाइम्स अफ इजरायलले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरतिर ड्रोन प्रहार गरेपछि यो पछिल्लो आक्रमण भएको हो । सामाजिक सञ्जाल एक्समा नेतान्याहूले लेखेका छन्, “इरानको प्रोक्सी हिजबुल्लाहले आज मेरो र मेरी श्रीमतीको हत्या गर्ने प्रयास गर्नु गम्भीर गल्ती थियो । यसले मलाई वा इजरायल राज्यलाई हाम्रो भविष्य सुरक्षित गर्न हाम्रा शत्रुविरुद्ध न्यायपूर्ण युद्ध जारी राख्नबाट रोक्नेछैन ।”

नेतान्याहूले इरानलाई थप चेतावनी दिँदै भने, “जसले इजरायली नागरिकहरूलाई हानी गर्ने प्रयास गर्छ उसले भारी मूल्य चुकाउनेछ ।”

इजरायलले हमास लडाकूविरुद्ध आफ्नो कारबाही जारी राख्ने र गाजाबाट बन्धकहरू फिर्ता ल्याउने आश्वासन दिएको उनले बताए ।

कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’

राम थापा,  गण्डकी । कुनैबेला बागलुङका सन्दीप शर्मालाई घुम्नु केबल रहर थियो । घम्दाघुम्दै अहिले त्यसैलाई पेसा बनाएका छन् ।

उनी शर्मा निष्फिक्री यात्रा गर्छन्, तर खास ध्येयका साथ । यसपटकको शरद याममा पनि उनी घुमफिरमै व्यस्त छन् ।

यसपालि धवलागिरि आधार शिविरसम्म पुग्ने लक्ष्य बनाएका शर्माले आइतबार मुस्ताङको मार्फाबाट पदयात्रा सुरु गरेका छन् । चार दिनपछि धवलागिरि हिमालको फेँदमा पुग्ने उनको योजना छ । ५ हजार मिटर उचाइमाथिका फ्रेन्च र धम्पुस भञ्ज्याङ छिचोलेर आधारशिविर पुगिने उनले सुनाए ।

सोलुखुम्बुको आइल्याण्ड पिक चढिसक्नुभएका उनले धवलागिरि आधार शिविर पुग्न त्यति चुनौतीपूर्ण नहुनसक्छ । तर बदलिरहने हिमाली मौसम र त्यस क्षेत्रका भौगोलिक विकटताका कारण कुनैपनि बेला निम्तनसक्ने जोखिमबारे भने उनी सतर्क छन् ।

‘अबको एक साताभन्दा बढी समय हामी सम्पर्कविच्छेदको अवस्थामा हुन्छौँ, हिमाली भेगको यात्रा आफैंमा जोखिमपूर्ण तर रोमाञ्चक हुन्छ’, उनले सुनाए । मार्फापट्टिबाट छोटो दूरी पर्ने भएकाले आफूहरुले पदयात्रा लागि सोही मार्ग रोजेको शर्माले बताए ।

धवलागिरि आधारशिविरको पर्यटन प्रवर्द्धनहेतु तस्बिर र भिडियो सामग्री संकलनका उनी त्यसतर्फ जान लागेका छन् । शर्मासँग १० वर्षदेखि यसरी देशका कुनाकन्दरा पुगेको अनुभव छ । पूर्वको कञ्चनजङ्गादेखि पश्चिम रारासम्म, मकालुदेखि अन्नपूर्ण क्षेत्रसम्म उनी पुगेका छन् ।

घुमफिर भनेपछि हुरुक्कै हुने २९ वर्षीय शर्माले गत वर्ष पोखराको ‘डुलुवा’ समूहसँग मिलेर नेपालको पर्यटन प्रवर्द्धनमा सहकार्य गरेका छन् । ‘वि विल राइज फाउण्डेशन’ र नेपाल टेलिभजनद्वारा आयोजित भिडियो प्रतियोगिताको उपाधि डुलुवा समूहको ‘दि नर्देन वाल’ले जितेको थियो । प्रतियोगिताको ‘मोस्ट एनरजेटिक भिडियो मेकर’ अवार्ड पनि ‘डुलुवा’कै ‘मेरो गाउँ तक्सेरा’ ले जितेको थियो ।

‘दुवै प्रोजेक्टमा म आबद्ध थिएँ, फोटो/भिडियोग्राफीदेखि व्यवस्थापनसम्मको काम हामीले गरेका थियौँ’, शर्माले भने, ‘उजागर हुन नसकेका पर्यटकीयस्थलको प्रवद्र्धनका लागि उक्त प्रतियोगिताले धेरै सघायो ।’

‘डुलुवा’ समूहले बनाएको ‘दि नर्देन वाल’ अन्नपूर्ण प्रथम हिमालका पहिलो आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगले आरोहण गरेको उत्तर आधारशिविरतर्फको प्रवर्द्धनात्मक भिडियो हो । ‘मेरो गाउँ तक्सेरा’ भने पूर्वीरुकुमको जनजाति बाहुल्य गाउँ हो । शर्माले हरेक पर्यटकीय याममा नयाँनयाँ ठाउँका भ्रमण गरी तिसँग सम्बन्धित तस्बिर र भिडियो सामग्री तयार पार्दै आएका छन् ।

‘विशेष गरी ट्राभल वृत्तचित्र निर्माणका लागि म घुम्ने गर्छु, कतिपय काम सरकारी निकाय, स्थानीय तह, ट्राभल एजेन्सीहरुसँग पनि मिलेर गर्ने गरेको छु’, उनले भने, ‘फेसबुक, टिकटिक, इन्टाग्रामलगायत सामाजिक सञ्जालकामार्फत पनि देशका पर्यटकीयस्थल चिनाउने र बुझाउने गर्दै आएको छ ।’

‘डुलुवा’ समूहसँगको सहकार्यका क्रममा प्राप्त सिकाइ र सफलताले आफूलाई यस क्षेत्रमा थप सिर्जनशील बन्न प्रेरित गरेको शर्माले बताए ।

‘डुलुवा’ पोखराका पर्यटनकर्मी युवाहरुको समूह हो । सन् २००८ देखि प्याराग्लाइडिङ तथा पर्यटन व्यवसायमा आबद्ध युवाहरु मिलेर नेपाल घुम्न सुरु गरेका थिए । सोही समूहलाई सन् २०२० मा आएर ‘डुलुवा’का रुपमा नामाकरण गरिएको थियो ।

उक्त समूह अहिले देशभित्र मात्र नभएर बाहिरी मुलुकमा पनि नेपाललाई चिनाउने अभियानमा सक्रिय छ । ‘डुलुवा’का संयोजक योगेश भट्टराईले गत महिना नेपालको पर्यटन प्रवर्द्धनका लागि भारतका १४ राज्यमा पुगेर फर्किएको बताए ।

‘यसपालि विशेष गरी भारतीय धार्मिक पर्यटकलाई नेपाल भित्राउने लक्ष्यसहित त्यहाँ चार धाममध्ये तीन धामको यात्रा हामीले पूरा गर्‍यौँ’, उनले भने, ‘नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने उद्देश्यले बर्सेनि हामीले प्रवर्द्धनात्मक कार्यक्रम गदै आएको छौँ ।’

उनले आफ्नो समूहले नेपालका ७० जिल्ला घुमिसकेको जानकारी दिए । डुलुवा समूहमा ११ जनाको कार्यसमिति र २७ जना सदस्य छन् । घुमफिरका लागि ‘पहिले देश अनि विदेश’ भन्ने आदर्श वाक्य बोकेको उक्त समूहले पर्यटन प्रवर्द्धनमा युवाहरुको सक्रियता र सिर्जनाशिलतालाई आत्मसाथ गर्दै आएको छ ।

‘डुलुवा’ जस्तै घुम्दै नेपाल चिनाउने अर्को समूह हो ‘घुमन्ते’ । पर्यटनप्रेमी कञ्चन राईको सोचबाट उब्जेको ‘घुमन्ते’ पर्यटकीयस्थलको खोजी, पहिचान र प्रसारमा सक्रिय छ । युट्युबमार्फत विभिन्न ठाउँका आकर्षक भिडियो पस्कँदै आएको ‘घुमन्ते’ आफैमा यात्रीहरुको सानो समूह भएपनि यसको डिजिटल फैलावट भने धेरै परसम्म पुगेको छ ।

उक्त समूहका व्यवस्थापक तथा जनसम्पर्क प्रमुख मनिष रुचालले नेपालको पर्यटन प्रवर्द्धनका लागि आफ्नो ‘डिजिटल’ विषवस्तुमा काम गरिरहेको बताउँन् । ‘घुमन्ते’को युट्यब च्यानललाई झण्डै तीन लाख जनाले सब्सक्राइब गरेका छन् भने एउटै भिडियोलाई लाखौँपटक हेरिएको/सुनिएको छ ।

सन् २०१३ मा ‘घुमन्ते’ नाम फेसबुक पेज र वेबसाइटबाट पर्यटकीय क्षेत्रको तस्बिर र भिडियो प्रसार गर्दै आएको यो समूहले पछिल्लोपटक युट्युबलाई आफ्ना सामग्री सम्प्रेषणको मुख्य माध्यम बनाएको छ । सन् २०१६ मा पहिलोपटक युट्युबमा घुमफिरको भिडियो राखिएको व्यवस्थापक रुचालले जानकारी दिए ।

‘घुमन्ते’का निर्देशक र लेखक कञ्चन राई छन् भने अन्य सदस्यहरु फोटोग्राफी, भिडियोग्राफी, सम्पादन आदिको जिम्मेवारीमा छन् ।

‘अहिले ५/६ जना मात्र भएर यो समुहलाई अगाडि बढाइरहेका छौँ, हाम्रो पछिल्लो यात्रा पोखरा, लमजुङ हुँदै मनाङसम्मको थियो’, व्यवस्थापक रुचालले भने, ‘सगरमाथादेखि अछामको रामाराशेनसम्मका ट्राभल डकुमेन्ट्री, भ्लगलगायत सामग्री हामीले निर्माण गरेका छौँ ।’

नेपालको पर्यटनलाई देशदेशावर चिनाउनु नै ‘घुमन्ते’को मुख्य उद्देश्य रहेको उनले बताए । पर्यटन प्रवर्द्धनका काममा उक्त समूहले ट्राभल्स, एयरलाइन्स कम्पनीलगायतसँग पनि सहकार्य गर्दै आएको छ । अहिलेसम्म बढीमा ४५ दिनसम्मको यात्रा तय गरिएको व्यवस्थापक रुचालले बताए ।

‘कुनैताका विदेशी पर्यटकले घुमफिरका क्रममा खिचेका तस्बिर र भिडियोले नेपालको पर्यटनबारे बाहिरीजगतले थाहा पाउने अवस्था थियो’, उनले भने, ‘तर अहिले पर्यटन प्रवर्द्धनका लागि अनेक माध्यम र तौरतरिका छन्, हामीले त्यसैलाई अपनाउँदै आएका छौँ ।’

उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

काठमाडौँ  । सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्नेलाई जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले कस्मेटिकबाहेकको जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमार्फत निःशुल्क उपचारको व्यवस्था गरिने जनाएको हो ।

स्वास्थ्य मन्त्रालयको आँकलनअनुसार नेपालमा वार्षिक ५७ हजार व्यक्तिहरु जलनबाट प्रभावित हुने गरेका छन् । हालसम्म जलनको उपचार कीर्तिपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र सुस्मा मेमोरियल अस्पतालमा हुँदै आएको छ । वीर अस्पतालले लामो समयदेखि बन्द रहेको बर्न युनिट यही भदौदेखि सञ्चालनमा ल्याइसकेको छ ।

यस्तो छ सहरी विकासमन्त्री सिंहको एक सय दिनको प्रगति विवरण

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूले मन्त्रालय सम्हालेको एकसय दिनको काम र आगामी योजना सार्वजनिक गरेका छन्।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उनले सार्वजनिक गरेको विवरणमा एक सय दिनमा धरहरा सञ्चालनदेखि मन्त्री आवास र २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिएको उल्लेख छ ।

मन्त्रालयले उक्त अवधिमा लिइएका ११ वटामध्ये आठ लक्ष्य हासिल भइसकेको र तीन वटा योजना चालु अवस्थामा रहेको जनाएको छ ।

मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्री सिंहले मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत काम अघि बढेको बताए । ‘दमकको व्यापारिक भवन, बुटवलको सभाहल, धरहराजस्ता ठूला संरचना निर्माण भइसकेको छ, अब कसरी सञ्चालन गर्ने भन्ने विषयमा गठनादेश बनाएर मन्त्रिपरिषद्मै पठाएका छौँ’, उनले भने ।

मन्त्रालयले गत असोज ३ गतेदेखि सर्वसाधरणका लागि धरहरा परिसरमा निर्मित मुख्य संरचनामा पहुँच खुला गरेको विषयलाई पनि उपलब्धिका रुपमा प्रस्तुत गरिएको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा सात वटा स्वास्थ्य भवन निर्माण भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बु, पाँचथर, लुङरुपा आयुर्वेद औषधालय पाँचथर, डडेलधुरा उपक्षेत्रीय अस्पताल भवन, इसिबु स्वास्थ्य चौकी भवन, तेह्रथुम, मारेकहटहरे स्वास्थ्यचौकी र मूर्तिढुङ्गा स्वास्थ्यचौकी धनकुटा र थोक्लुङ स्वास्थ्यचौकी तेह्रथुमको निर्माण भइसकेको छ । जाजरकोट र रुकुमपूर्वमा भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाको भवन पुनःनिर्माण पनि सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।

ललितपुरको भैँसेपाटीमा मन्त्री आवास निर्माण सम्पन्न भई १८ जना सङ्घीयमन्त्री, राष्ट्रियसभाका उपाध्यक्ष र जवान लाइनको तीनवटै भवनमा सुरक्षाकर्मी बसिसकेको तथा बाँकी मन्त्री पनि केही दिनमा सर्ने तयारी भइरहेको उनको भनाइ छ ।

दमक व्यापारिक कम्प्लेक्स, चितवन सौराहा सभाहल निर्माण, नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय भवनको पुनःनिर्माण सम्पन्न गरी हस्तान्तरण भइसकेको छ । साथै पच्चिस वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण पनि पूरा भएको छ । मन्त्रालयका अनुसार यस अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माणको लक्ष्य लिइएकामा ४० वटा सम्पन्न भएको र १० वटा निर्माणाधिन अवस्थामा छन् ।

सचिव गेलालका अनुसार पहुँच सुधारका लागि रणनीतिक रुपमा महत्वपूर्ण मानिएको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गे पुल सञ्चालनमा आइसकेको छ ।

काठमाडौँको गोकर्णदेखि गुह्येश्वरीसम्मको छ किमी क्षेत्रमा ढल व्यवस्थापनको काम पूरा भएको छ । साथै एक महिनाभित्र गोकर्णदेखि गुह्येश्वरीसम्म ढलमुक्त बनाउने योजना रहेको सचिव गेलालले बताए ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी आयोगहरू बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस समिति पुनर्गठन गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिलाई पुनर्गठन गरी समितिलाई पूर्णता दिएको आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

बैठकले विश्व बैंकबाट उपलब्ध हुने १५० मिलियन अमेरिकी डलर (करिब २० अर्ब १२ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै विश्व बैंकवाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रश्ताव गरिएको करिव १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने बैकठले निर्णय गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

-विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रश्ताव गरिएको करिव १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने।

-विश्व बैंकबाट नेपाल डिजास्टर रेसिलेन्सी डेभलपमेण्ट पोलिसी क्रेडिट विथ क्याटास्ट्रफी ड्रडाउन अप्शनमार्फत उपलब्ध हुने १५० मिलियन अमेरिकी डलर (करिब २० अर्व १२ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने।

-विपद्जन्य घटनालाई सम्बोधन गर्नेगरी राहत तथा पुनःनिर्माण प्रयोजनार्थ नेपाल सरकारलाई अनुदान स्वरुप प्राप्त हुने मालवस्तुमा भन्सार महसुल छुट दिने।

-नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक पदमा आशिष गजुरेललाई पुनःनियुक्त गर्ने।

-२०८१ कात्तिक १८ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सातौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने।

-बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि सिफारिस गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/१२/३० को निर्णयानुसार गठित सिफारिस समिति पुनर्गठन गरी देहायबमोजिम सिफारिस समिति गठन गर्ने। सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्र—अध्यक्ष राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य
मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानूनविद्, विधि विज्ञानवेत्ता, द्वन्द्वविद् समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संलग्न व्यक्तिहरू मध्येबाट देहाय बमोजिमका सदस्यहरूः
खम्मबहादुर खाती, पूर्व महान्यायाधिवक्ता—सदस्य
डा अर्जुनकुमार कार्की, संखुवासभा—सदस्य
स्टेला तामाङ, गोरखा—सदस्य

-कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतका क्वारेन्टाइन कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने।

-हालैको बाढी पहिरोबाट प्रभावित भई नेपाल सरकारबाट विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहहरूमध्ये अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहहरूको सेवा सञ्चालन गर्ने प्रयोजनार्थ जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काललाई क्रमशः १ करोड, ७५ लाख र ५० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने।

-मुस्ताङ जिल्लाको कोरोला नाकामा अध्यागमन कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने।

-राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र नागरिक एपविच अन्तर—आवद्धता कायम गर्न स्वीकृति प्रदान गर्ने।

-भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने।

-२०८१ कात्तिक १७ देखि १९ गतेसम्म साउदी अरेबियाको राजधानी रियादमा आयोजना हुने रोड सेफ्टी एण्ड सस्टेनिबिलिटी कन्फ्रेन्स इनोभेटिङ फर टुमारो विषयक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

-मध्य मेवा जलविद्युत आयोजना निर्माणको लागि ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकामा रहेको राष्ट्रिय बनको ४.७ हेक्टर जग्गा प्रयोग गर्न दिने।

-मध्य मेवा (ढुङ्गेसाँगु १३२ के.भी. विद्युत प्रशारणलाइन आयोजना निर्माणको लागि ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा ५.०११७ हेक्टर जग्गा प्रयोग गर्न दिने।

-सिवा खोला जलविद्युत आयोजना निर्माणको लागि ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकामा रहेको राष्ट्रिय वनको ४.०५१ हेक्टर जग्गा प्रयोग गर्न दिने।

-राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ वमोजिम नेपाल सरकारको तर्फवाट कतार सरकारलाई उपहार स्वरूप चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती उपलब्ध गराउने।

-सदर चिडियाखानाको व्यवस्थापन जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने।

-संस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्रालय र अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने।

-नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवं विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न देहायबमोजिमको एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने र समितिको कार्यशर्त स्वीकृत गर्ने।

-अनिलकुमार सिन्हा, पूर्वन्यायाधीश, सर्वोच्च अदालत अध्यक्ष राजेन्द्रबहादुर सिंह, हवाई व्यवस्थापन विज्ञसदस्य भेषराज सुवेदी, हवाई सुरक्षा विज्ञ सदस्य क्या. रिवाजप्रसाद प्रधान, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ सदस्य, सहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय—सदस्यसचिव

-गृह मन्त्रालयअन्तर्गतका कारागार कार्यालयहरूको संगठन संरचना र दरवन्दी तेरिज स्वीकृत गर्ने।

-दूरसञ्चार ऐन, २०५३ को दफा ४५ को उपदफा ९३० बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणलाई आ।व। २०८१/८२ का लागि अक्षरेपि तीन अर्ब रुपैयाँ उपलब्ध गराउने।

-कोशी प्रदेशको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशको नारायणी अस्पताल, वागमती प्रदेशको कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमार्फत उपचार खर्च व्यहोर्ने नसक्ने नागरिकलाई कस्मेटिक वाहेकको जलन उपचारको व्यवस्था निःशुल्क गर्ने।

-पशुवधशाला र मासु जाँच (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।

शेयर बजारमा ४७ अंकको गिरावट

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार एक दशमलव ७२ प्रतिशत अर्थात् ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९१ दशमलव ९१ अङ्कमा झरेको छ ।

नेप्सेका अनुसार आइतबार विभिन्न कम्पनीका दुई करोड आठ लाख ६८ हजार नौ सय १९ कित्ता सेयर रु आठ अर्ब १८ करोड दुई लाख ६२ हजार पाँच सय ७२ दशमलव १२ मा कारोबार भएका छन् ।

आजको कारोबारमा म्युचुअल फण्डबाहेकका सबै उपसमूहको सूचकमा रातो देखिएको छ भने म्युचुअल फण्डको सूचक स्थिर छ । नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत, नगादी ग्रुप पावर लिमिटेडको नौ दशमलव ८९ प्रतिशत, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच दशमलव ९१ प्रतिशतले शेयर मूल्य बढेको छ । साथै इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशत,  गुडविल फाइनान्स लिमिटेडको आठ दशमलव ४१ प्रतिशत, एनआइसी एसिया ऋणपत्र २०८२/८३ को पाँच दशमलव ८३ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।