`

जतिसुकै शक्तिशाली होस्, गल्ती गर्नेले सजाय भोग्नुैपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका हुन् ।

शनिबार सामाजिक संजालमार्फत महामन्त्री थापाले कुनै प्रकारको पूर्वाग्रह नराखी कानुन विपरीत कार्य गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने बताएका हुन् । उनले भनेका छन्, ‘कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्छ’ कानुनी शासनको मान्यता यही हो । कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्छ।’

उनले सहकारी प्रकरण होस् कि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गरेका छन् ।

उनले भने, ‘सहकारी प्रकरण होस् कि जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् की टाढाको होस्, नयाँ होस् कि पुरानो होस्, भिडको होस् कि टाकुराको होस्, एक्लो होस् कि शक्तिशाली होस् कानुन सबैको लागि बराबर हुनुपर्छ। गल्ती गर्नेले सजाय भोग्नुपर्छ। सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ।’

उनले कुनै पनि व्यक्तिलाई राज्यले विशेष ढंगले हेर्न नपाइने बताएका छन् । उनले भनेका छन्, ‘कुनै पनि व्यक्तिलाई राज्यले क्भभिअतष्खभ ढङ्गले हेर्न पाइँदैन। यो विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो। म यो मान्यतामा अटल विश्वास गर्छु। त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन । आज गणेशमान सिंहको जन्म जयन्ती, हामीले गणेशमान सिंहबाट सिकेको पनि यही हो। उहाँका अटल विश्वास,आदर्श र निष्ठाको स्मरण सहित हार्दिक श्रद्धा सुमन !’

मेची भन्सारमा १० वर्षमा ६६ करोडको सामग्री बरामद

झापा । मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको  ६६ करोड १३ लाख आठ हजार आठ सय २५ बराबरको मालवस्तु बरामद गरेको छ। उक्त मूल्य बराबर मालवस्तु आव २०७१/७२ देखि आव २०८०/८१ सम्मको बरामद भएको हो ।

भन्सार कार्यालयका अनुसार चोरी पैठारी हुने मुख्य मालवस्तुमा रेडिमेड कपडाअन्तर्गत सारी, कुर्ती थान कपडासमेत गरी भाडा वर्तन, किराना सामग्री, मोबाइल, सुर्ती/खैनी रहेका छन् । निकासीतर्फ गाई, बाछा, बाख्रा, सुपारी रहेका छन्।

यसरी बिल बिजक नभएका निकासी पैठारी भएका मालवस्तु नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयले बरामद गरेको कार्यालयका नायब सुब्बा किशोर आचार्यले बताए।

‘यसरी चोरी निकासी र पैठारी भएको मालवस्तुसँग सम्बन्धित गत एक दशकको समयमा पाँच हजार एक सय ८३ वटा भन्सार कार्यालयमा मुद्दा दर्ता भएका छन्’, उनले भने।

प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालकाअनुसार तिहारको समयमा भन्सारबाट प्लास्टिकका माला तथा फूल ल्याउन पूर्ण रुपमा प्रतिबन्ध लगाए पनि बजारमा सबैतिर उपलब्ध थिए।

‘भन्सारबाट एउटा प्लास्टिकको माला पनि नआउँदा बजारमा कहाँबाट त्यति ठूलो परिणाममा माला आयो यो सबै अवैध रुपमा पैठारी भएको हो’, उनले भने। भारतसँगको खुला सीमाका कारण दैनिक रुपमा मालवस्तु अवैध रुपमा निकासी पैठारी हुने गरेको प्रमुख भन्सार अधिकृत चुडालको भनाइ छ। 

स्वास्थ्य बीमालाई व्यवस्थित गराइने

गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन् ।

पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको शनिबार उद्‌घाटन गर्दै उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए।

स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनु आवश्यक भएको बताउँदै उनले स्रोतको सुनिश्चितताका लागि आम्दानीका आधारमा विमा कोषमा योगदान जस्ता विषयलाई अघि बढाउनुपर्ने बताए।

स्रोतको सुनिश्चितताका विभिन्न वैज्ञानिक आधारसमेत प्रस्तुत गर्दै आफूले बिमाको रकम रु पाँच लाख पुर्‍याउनुपर्ने विषयलाई प्रस्ताव गरेको मन्त्री पौडेलले बताए। देशको बजेटको चार प्रतिशत रकम मात्रै स्वास्थ्य क्षेत्रमा लगानी भएको बताउँदै उनले राज्यले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै उक्त रकम १० प्रतिशतको हाराहारीमा पुर्‍याउनु आवश्यक भएको बताए।

आफू आमसर्वसाधारणले प्राप्त गरेका सुविधालाई कटाउने पक्षमा नभइ त्यसलाई सुरक्षित कसरी गराउनेतर्फ लागेको उनले स्पष्ट पारे।

सरकारले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार, जलन रोगको निःशुल्क उपचार जस्ता विषयलाई अघि सारेको जनाउँदै उनले आम सर्वसाधारणको स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउने कुरामा सरकार निरन्तर लागिरहेको बताए।

पोखरामा वृद्धाश्रममा सञ्चालित जेरियाट्रिक स्वास्थ्य कक्षमा आवश्यक स्वास्थ्य उपकरण एवम् औषधीका लागि सहयोग गर्ने उनले विश्वास व्यक्त गरे। पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले वृद्धाश्रम सञ्चालन भएयता निरन्तर रुपमा असहाय ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गरिएको बताए।

ज्येष्ठ नागरिकहरूमा समस्याका रुपमा देखिने विस्मृतिजन्य रोगको उपचारका लागि जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको उनले जानकारी दिए। वृद्धाश्रमका उपाध्यक्ष एवम् जेष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य केशव लम्सालले २०५३ सालमा स्याउलाले छाएको छाप्रोमा तीन जना ज्येष्ठ नागरिकलाई राखेर सुरु गरिएको वृद्धाश्रम हाल सुविधा सम्पन्न भवनमा सञ्चालन भएको जानकारी गराए।

उनका अनुसार वृद्धाश्रममा हाल ५३ जना असहाय ज्येष्ठ नागरिक आश्रय लिँदै आएका छन् । वृद्धाश्रमको व्यवस्थापनमा दुई जना स्वास्थ्यकर्मीका साथै नौ विस्तारा, थेरापी मेसिन एवं औषधि उपलब्ध जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको उनले जानकारी दिए। वृद्धाश्रममा १०६ वर्षीय नन्दु दाहाललगायत ज्येष्ठ नागरिक बस्दै आएका छन् ।

कार्यक्रममा वृद्धाश्रममा अक्षयकोष स्थापनार्थ सहयोगका साथै ज्येष्ठ नागरिकका क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सीता बास्तोला, नरबहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।

पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् ।

क्वेटा रेलवे स्टेसनमा विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको भन्दै मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरी महानिरीक्षक मोअज्जम जाह अन्सारीले जानकारी दिए ।

अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानिय समय अनुसार बिहान ८ः४५ बजे रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ ।

पछिल्लो समयमा आतङ्वादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विस्पोटका घटनाहरु बढाउदै आएको जनाइएको छ ।

गत अगस्टमा भएका दर्जनौँ आक्रमणको जिम्मेवारी बीएलएले लिएको थियो जसले कम्तीमा ३९ जनाको ज्यान लिएको थियो ।

लेबनानमा इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० घाइते

बेरुत । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएको लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आक्रमणमा दुई इजरायली लडाकु विमानहरूले मध्य टायरका दुई भवनहरूमा आक्रमण गरेका थिए । यसले ठूलो आगो निम्त्यायो र नजिकैको अपार्टमेन्टहरूलाई ठूलो क्षति पुर्यायो ।

राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले एम्बुलेन्सहरूले घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा पुर्याएको जनाएको छ ।
मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गर्दै अस्पतालहरूले रक्तदानको लागि तत्काल आह्वान गरे ।

सिभिल डिफेन्स अफ द इस्लामिक मेसेज स्काउट्सले भग्नावशेषबाट बाँचेका तीन जनाको उद्धार गरेको र अरूलाई खोज्ने प्रयास जारी रहेको बताएको छ । सेप्टेम्बर २३ देखि, इजरायली सेनाले लेबनानमा हवाई आक्रमणहरू सुरु गरेको छ ।

लेबनानमा इजरायली हवाई आक्रमणले सन् २०२३ अक्टोबर ८ देखि तीन हजार ११७ व्यक्तिको मृत्यु र १३ हजार ११८ जना घाइते भएका छन् । 

झापामा सात करोडको सौर्य विद्युत् उत्पादन

झापा । सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा  सात करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ ।

शिवसताक्षी नगरपालिका–४ बुलुचोकमा उक्त कम्पनीको सौर्य विद्युत् परियोजना सञ्चालनमा रहेको छ । गत वर्षको माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त परियोजनाको उद्घाटन गरेका थिए ।

कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले गत वर्षको माघ १० गतेदेखि विद्युत् उत्पादन सुरु गरेको बताए । गत माघ १० गतेदेखि यस वर्षको कात्तिक २० गतेसम्मको अवधिमा परियोजनाले एक करोड १९ लाख सात हजार सात सय ८१ युनिट विद्युत् उत्पादन गरेको उनले जानकारी दिए ।

परियोजनाबाट उत्पादित विद्युत् नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिने गरेको छ । परियोजनाको १० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ ।

हिउँदभन्दा वर्खे अवधिमा चर्को घाम लाग्ने भएकाले सौर्य विद्युत् बढी मात्रामा उत्पादन हुने गरेको छ । “हिउँदमा अधिकतम् दैनिक ५९ हजार युनिटसम्म उत्पादन भएको छ”, कम्पनीका प्रबन्ध सञ्चालक भट्टराईले भने, “तर, वर्खाको चर्को घाम लागेका बेला दैनिक एक लाखभन्दा बढी युनिट विद्युत् उत्पादन हुने गर्दछ ।”

प्राधिकरणले विद्युत् खरिद सम्झौता बमोजिम कम्पनीबाट उत्पादित विद्युत्प्रति युनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दै आएको छ । शिवसताक्षी–४ बुलुचोकमा कम्पनीले खरिद गरेको २२ बिघा जग्गामा परियोजना रहेको छ । त्यहाँ सूर्यको प्रकाशबाट आउने किरणलाई संश्लेषण गर्नका लागि ठूलो क्षेत्रफलमा सौर्य प्यानल राखिएका छन् ।

प्रबन्ध सञ्चालक भट्टराईका अनुसार परियोजनामा ८७ करोड लगानी भएको छ । त्यसमा माछापुच्छ्रे बैंक र हिमालयन बैंकले  ६२ करोड ऋण लगानी गरेका छन् । जनस्तरबाट पूँजी सङ्कलन गरी स्थापना गरिएको झापा इनर्जी लिमिटेडमा विद्युत् उत्पादन गर्ने एकमात्र परियोजना हो । यसमा आठ सय सर्वसाधारणको  ५० हजारदेखि  ५० लाखसम्म शेयर लगानी रहेको छ । 

परियोजनामा दुई इञ्जिनियरसहित १२ जनाले स्थायी रोजगारी प्राप्त गरेका छन् । विद्युत् उत्पादन प्रणाली स्वचालित भए पनि परियोजनास्थलको रेखदेख र आवश्यक मर्मत सम्भारका लागि कर्मचारी दिनरात खटिने गरेको भट्टराईले बताए । 

पोखरामा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा १२ सय सहभागी

पोखरा । तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौड प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा भएको प्रतियोगिताको शनिबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत चेन सङले शुभारम्भ गरे ।

प्रतियोगितामा ६४ चिनियाँ धावकसहित १२ सय भन्दाबढी धावक सहभागी भएका हिमालय टुरिजम फोरमका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए । प्रतियोगितामा भाग लिन चीनको कुनमिङबाट धावकसहित १ सय २० सदस्यीय टोली लिएर सिचुवान एयरलाइन्सको जहाज पोखरा आएको थियो ।

खुला समूहगत दौड, महिला तथा पुरुष च्यालेन्ज इन्डिभिजुअल दौड, छात्र/छात्रा विद्यार्थी दौड र ह्याप्पी रन समूह गरी चार विधामा प्रतिष्पर्धा सुरु भएको हो । कूल ५० किलोमिटरको पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर राष्ट्र बैंक चोक, ड्याम साइड, छोरेपाटन, फुस्रेखोला, रामदी, मट्टीखान, देउराली, फेदीखोला, दमगडे स्कूल, साल्मेडाँडा, रामकोट, कुुविण्डे, उल्लेरी, थाप्ले, टाइगर हिल, काब्रे, पुम्दीभुम्दी, तालपारी, द बीच रेष्टुरेण्ट हुँदै पुनःबाराहीघाट आएर पूरा हुनेछ ।

उनका अनुुसार प्रतियोगिताको टिम समूहमा ५० किमी, च्यालेञ्ज व्यक्तिगत समूहमा ५० किमी, विद्यार्थी दौडमा पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुनेछ । टिम समूहका विजेताले चार लाख ५८ हजार, उपविजेताले तीन लाख ४३ हजार तथा तेस्रो हुनेले दुुई लाख २९ हजार दुई सय पुरस्कार पाउनेछन् ।

त्यस्तै चौथो र पाँचौँ स्थान प्राप्त गर्नेले क्रमशः एक लाख ५२ हजार आठ सय र ९५ हजार पाँच सय पुरस्कार प्राप्त गर्ने गरिने पहारीले जानकारी दिए । च्यालेन्ज व्यक्तिगततर्फ विजेता महिला र पुरुषले समान एक लाख ५२ हजार आठ सय पाउनेछन् भने उपविजेताले एक लाख १४ हजार पाउने छन् ।

त्यस्तै तेस्रो स्थान प्राप्त गर्नेले ७६ हजार चार सय पाउनेछन् । प्रतियोगितामा चौथोदेखि सातौँ स्थान प्राप्त गर्ने महिला तथा पुरुषलाई ३८ हजार दुई सय प्रदान गरिनेछ भने आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीलाई १९ हजार एक सय नगद प्रदान गरिनेछ ।

विद्यार्थीतर्फको प्रतिस्पर्धामा विजेताले ३० हजार जित्ने छन् भने उपविजेताले २५ हजार र तेस्रो स्थान प्राप्त गर्नेले २० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा चौथोदेखि छैठौँ स्थान प्राप्त गर्नेका लागि १०/१० हजार प्रदान गरिनेछ ।

ह्याप्पी रन समूहमा दौड पूरा गर्ने सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिने छ । यी सबै विधाका प्रतियागिताको पुरस्कारका लागि १९ लाख ३८ हजार एक सय पुरस्कार रहेको पहारीले जानकारी दिए ।

खेलकुदका माध्यमबाट दुुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनका प्रतियोगिता आयोजना गरिएको हो ।

देश विकासका लागि सरकार र राजनीतिक दलबीच सहकार्य हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासका लागि सरकार र राजनीतिक दलहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
     
गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा  उनले सुशासन र आर्थिक विकासका माध्यमबाट सरकार र राजनीति दलप्रति नागरिकको विश्वास बढाउनुपर्ने बताए ।
     
“मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत आलोक हो”, उनले भने, “लोकतन्त्रको यही आलोकलाई मानेर हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु हुँदैन ।”
     
मुलुकभित्रै आफ्नो भाग्य र भविष्य सुनिश्चित छ भन्ने युवाको सपना साकार पार्ने, उनीहरुका चाहना यही व्यवस्थामा पूरा गर्न सम्भव छ भनेर जनतालाई विश्वास दिलाउन सक्नु नै अहिलेको आवश्यकता भएको राष्ट्रपतिले बताए ।


“मुलुकबाट विसङ्गति हटाउन जरुरी छ,  अवसरबाट वञ्चित, गरीब र पिछडिएका जनताको आवाज सुनेर उनीहरुका समस्या सम्बोधन गर्न सरकारले नीति एवं कार्यक्रम तर्जुमा गरी तीनलाई कार्यान्वयन गर्नुपर्छ”, राष्ट्रपति पौडेलले भने ।
     
विश्वेश्वरप्रसाद कोइरालाले गणेशमान सिंहकाबारेमा भन्ने गरेको कुरा स्मरण गर्दै उनले भने, “गणेशमानजी साहसी र सङ्घर्षशील मात्र हुनुहुन्नथ्यो, उहाँ भविष्य द्रष्टा पनि हुनुहुन्थ्यो । उहाँले भनेका अधिकांश कुरा सत्य सावित हुन्थे ।” नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा गणेशमान सिंहको योगदानलाई नेपाली जनताले कहिल्यै नबिर्सने उनले बताए ।


“लोकतान्त्रिक सिद्धान्त, मूल्यमान्यता र निष्ठालाई आफ्नो जीवनशैली मान्नु हुने गणेशमानजीले  यसको मूल्यमा कहिल्यै सौदाबाजी गर्नुभएन, उहाँको त्यही सद्गुण नै लोकतन्त्रप्रेमीहरूका लागि आज पनि उत्तिकै प्रेरणापुञ्ज हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने ।


लोकतान्त्रिक आन्दोलनका शिखरपुरुष गणेशमान सिंहले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्यमान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रका लागि हितकर हुन नसक्ने उनले बताए ।


कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानको समीक्षा गरी आवश्यकताका आधारमा संशोधन गर्न सकिने बताए । “संविधानका सबै पक्षको वस्तुनिष्ठ समीक्षा गरी आवश्यकता र नागरिक आकाङ्क्षाअनुसार संविधान संशोधन गर्न सकिन्छ”, उनले भने ।


प्रतिष्ठान अध्यक्ष भीमसेन दास प्रधानले असल राजनीतिज्ञ तथा नेताको पहिचान क्रान्तिका क्रममा नभई जिम्मेवारी पाउँदा देखिने चर्चा गर्दै गणेशमान सिंह विभिन्न राजनीतिक आन्दोलनको कुशल नेतृत्वकर्ता रहेको बताए । 


नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले नेताको चरित्र कस्तो हुनुपर्छ भनेर गणेशमान सिंहबाट सिक्नुपर्ने बताए ।


त्यसअवसरमा लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र स्वतन्त्रताका पक्षमा योगदान गरेबापत प्राध्यापक कपिल श्रेष्ठलाई ‘जनआन्दोलन स्वर्णपदक’बाट सम्मान गरिएको थियो । 

‘कर्णाली याक्स’को जर्सी सार्वजनिक

काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको एनपिएल फ्रेन्चाइज टिम कर्णाली याक्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गरेको हो ।

जर्सीमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने हिमाली भूभाग, रारा र से–फोक्सुन्डोको तालरूपी निलो रंग तथा कर्णालीमा पाइने याकको प्रतिक छ । मार्की खेलाडी सोमपाल कामी र ‘फेस अफ कर्णाली याक्स’ कलाकार स्वस्तिमा खड्काले नेपाल प्रिमियर लिगको लागि जर्सी प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा पूर्वउप–प्रधानमन्त्री पूर्णबहादुर खड्का, कर्णाली याक्सका मालिक जनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, क्यान प्रवक्ता छुम्बी लामा, टिम प्रशिक्षक ज्ञानेन्द्र मल्लसँगै कर्णाली याक्समा आवद्ध खेलाडीको सहभागिता थियो । प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ ।

‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पछ्याउँदा

काठमाडौं । लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैन । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ । नेपाल भूगोलमा सानो भए पनि पनि विश्वमा यसको अलग्गै पहिचान बनाउने मुख्य तीन आयाम भूगोल, प्रकृति र संस्कृति नै हो ।

कुनै पनि राष्ट्रको संस्कृति भनेको त्यस देशको सम्पत्ति हो । त्यसमा पनि लोकसंस्कृतिले जनताका धड्कनलाई बोक्ने हुँदा लोकसमुदायका आँशुहाँसो, सुखदुःख, मिलनबिछोड, जीवनयापनका अनेक उकालीओराली, लोकपरिवेश, लोकमान्यता र लोकविश्वासको प्रतिनिधित्व गर्छ ।

हाम्रा पहिचान बनेका संस्कृति, वेशभूषा, परम्परा र रीतिरिवाजलाई लोकभाकाका माध्यमबाट जीवन्त राख्ने अनेक लोकभाकामध्ये ठाडो भाकाको आफ्नै वैशिष्ट्य छ । लोकसंस्कृतिको मुहान नै मान्ने गरिएको गण्डकी क्षेत्र, त्यसमा पनि लमजुङ जिल्लामा बढी गाइने यस गीतको महिमा मुलुकमा मात्र सीमित नरहेर विश्वका कुनाकुनामा फैलिँदो छ । यसको लय नेपाली गीतसङ्गीतका स्रोता र पारखीका हृदयमा अमिट छाप छाड्न सफल भएको छ ।

ठाडो भाकामा सामान्य लोकगीतभन्दा केही फरक शैली र मौलिकपन छ । यसमा गीत गाउने पुरुष उभिएर अर्थात् ठाडै भएर गाउने भएकाले यसलाई ठाडो भाका भनिएको हुनसक्छ । सामान्यतः यसमा महिला नाच्दैनन्, तिनले बसेरै गाउँछन् । ठाडो भाकामा एउटा समूह नेताले पहिला चरणमा अघिल्लो फेद भन्ने र दोस्रो चरणमा अन्त्यानुप्रास मिलाउँदै उही समूह नेताले पछिल्लो टुक्का भनी समूहले छोप्ने गरिन्छ ।

अघिल्लाका तुलनामा पछिल्लो चरणको टुक्का लामो हुन्छ । पश्चिमा संस्कृति र सूचना प्रविधिको बढ्दो प्रभावसँगै पछिल्लो समय ठाडो भाका पनि अन्य लोकसंस्कृतिसँगै ओझेलमा पर्दै गएको छ । यसरी ओझेलमा परेको अमूल्य सम्पदालाई संरक्षण गर्दै यसको ऐतिहासिक पक्षदेखि अहिलेको अवस्थासम्मको विषयवस्तुलाई गहन ढङ्गबाट खोजी लमजुङ दुराडाँडा निवासी लालबहादुर भुजेलले पुस्तकका रूपमा ल्याएर भावी पुस्तालाई ठूलो गुन लगाएका छन् ।

भुजेलको ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पुस्तकले ठाडो भाकाका बारेमा जान्न, बुझ्न मात्र होइन, थप अध्ययन अनुसन्धान गर्नेहरूका लागि पनि बाटो नै खोलिदिएको छ । पुस्तक पढेपछि ठाडो भाकामा जो कोहीले पनि आफूलाई घुलन गराएरै छाड्छ । ठाडो भाकामा केटा पक्ष र केटी पक्षबीच तत्कालै ठाडै सवालजवाफ नगरी अनुनयविनय पारामा घुमाएर शालीन ढङ्गले उत्तर दिइन्छ ।

आफ्नो गीतिधारबाट गाउँदा, भट्टयाउँदा अर्को पक्षको इज्जत, आमोद एवं मान–मर्यादा–प्रतिष्ठामा आघात नपरोस् भन्ने हेतुले शिष्टता र नैतिकताको खुबै ख्याल गरिन्छ । लेखकले भने जस्तै यसमा छेडछाड गर्ने, होच्याउने, हुर्मत लिने, रिस–रागले नाङ्गेझार पार्ने मनसुवा भए पनि आफू तलै परी नम्र र सहिष्णुता अवलम्बन गरेर सुसंस्कारयुक्त र अनुशासित ढङ्गले व्यङ्ग्य गरी छेड हानिन्छ ।

यसमा तितो, टर्रो, छाडा, अश्लील र उच्छृङ्खल शब्दहरूको प्रयोग स्वीकाययोग्य हुँदैन, तिखो व्यङ्ग्यवाण प्रहार गर्ने सन्दर्भमा स्थानीय रैथाने बोलीचालीका भाषामा कूटनीतिक पाराले व्यवहार गरिन्छ । अरूलाई पेच पर्ने गरी कटु शब्दको प्रयोग गर्नु अव्यावहारिक र कुसंस्कारयुक्त ठानिन्छ ।

मौलिक संस्कृतिका प्रतिपादक एवं प्रवद्र्धक देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङले सुरुमा यस भाकाको श्रीगणेश गरेका थिए। यसमा बौद्धसिं गुरुङ र उहाँका उत्तराधिकारीका रूपमा मोतीलाल गुरुङले ठूलो योगदान गरे । मोतीलालका शिष्यका रूपमा पञ्चसुब्बाले लमजुङ र कास्कीमा यसलाई विस्तार गरे ।

सुरुमा ठाडो भाका केटाकेटाबीच गाउने गरिन्थ्यो, यसो गर्दा रौनक नभएपछि महिलाले पनि गाउन थाले र यसप्रति जनमानसको आकर्षण बढ्दै गयो । विसं २००७ अगाडि, शास्त्रीय सङ्गीतको पाश्चात्य र पूर्वीय जगत्मा ठूलो बाहुल्य थियो भने विसं १९७० का दशकदेखि २०३० का दशकसम्म गण्डकी प्रदेशको भूभागमा ठाडो भाकाले बजार पिटेको राष्ट्रकवि माधव घिमिरेले पुस्तकका भूमिकामा लेखेका छन् ।

कृतिमा शुभकामना मन्तव्य भनिए पनि ठाडो भाकाका सम्बन्धमा घिमिरेबाहेक वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, संस्कृतिविद् डा जगमान गुरुङका अमूल्य विचार पनि पठनीय मात्र छैनन्, नेपाली लोकसाहित्य र लोकसंस्कृतिका बारेमा पाइने थुप्रै जानकारीले यसको गरिमालाई अझ उजिल्याएको छ ।

राष्ट्रकवि घिमिरेले आफ्नो भूमिका लेखनका क्रममा गण्डकी भेगमा कुनै बेला ठाडो भाका गायकगायिकालाई मात्र लोकदोहोरीका कलाकार ठानिने गरेकामा पछि यो सांस्कृतिक सम्पदा स्वदेशमा मात्रै नभएर विदेशमा समेत नेपालीको हृदयको ढुकढुकी साबित भएको प्रसङ्ग उल्लेख गरेका छन् ।

ठाडो भाकालाई दोहोरी गीतको जननी मानिन्थ्यो र गायकगायिका र ठाडोभाकाका पारखीहरू गाएर, नाचेर, सुनेर र हेरेर कहिल्यै नथाक्ने प्रसङ्ग उल्लेख गर्दै डा गुरुङले ठाडो भाका लोकसांस्कृतिक अलौकिक धरोहर, आफ्नै व्याकरण भएको विनयशील, शिष्ट विधा भएर पनि विलयका सङ्घारमा पुगेको भनी चिन्ता व्यक्त गरेका छन् ।

संस्कृतिविद् जोशीले आफू लमजुङमा औद्योगिक सर्वेक्षणका काममा खटिएर जाँदा ठाडो भाकासँग परिचित हुन पाएको र जनस्तरबाट औधि रुचाइएको लोकगीतका रूपमा पाएको उल्लेख गरेका छन् ।

२५४ पृष्ठको प्रस्तुत अनुसन्धानात्मक ग्रन्थमा भुजेलले नेपाली लोकगीतका क्षेत्रमा चर्चा बटुलेको ठाडो भाकाका बारेमा छ अध्यायमा विस्तृत र गहन अध्ययन गरेका छन् । पहिलो अध्यायमा गण्डकी क्षेत्रको परिचयदेखि ठाडो भाकाको उत्पत्ति, विकासक्रममा विशिष्ट योगदान पु¥याएका बौद्धसिं, मोतीलाल, बखतबहादुर गुरुङ, पञ्चसुब्बा, देउबहादुर दुरा, मनिराम दुरा, आफली घर्तिनीदेखि भेडीखर्के साइँला भनिने दीर्घराज अधिकारीसम्मको व्यक्तित्व र उनीहरूले ठाडो भाकामा पु¥याएको योगदानको चर्चा छ ।

दोस्रो अध्यायमा विभिन्न भेगमा गाइएका फरक शैलीमा ठाडो भाकाको चर्चा छ भने यसको पृष्ठभूमि र परिभाषा केलाइएको छ । तेस्रो अध्यायमा विभिन्न शीर्षकका ठाडो भाका छ, जसमा जनजीवनका अनेक पक्षदेखि सामाजिक कुरीति चिर्न गरिएका प्रयत्न र जीवनका सुखदुःखको लय छ ।

सो अध्यायमा लेखकले भूकम्प र बाढीपहिरो, जुजु धौ, वैदेशिक रोजगारी, मानव बेचबिखन, खेलकुद, छुवाछुत प्रथा, अपाङ्गता, भ्रष्टाचार, नारी, आभूषण, ज्येष्ठ नागरिक, भौगोलिक अवस्था, कृषि तथा पशुपालन, पर्यटन व्यवसाय, प्रौढ शिक्षालगायत विषयवस्तुमा विभिन्न समूहले गाएका ठाडो भाकाका गीतलाई जस्ताको तस्तै उतारिएको छ ।

चौथो अध्यायमा पहिलो अध्यायमा सामान्य चर्चा गरिएका ठाडो भाकाका स्रष्टाहरूको पूर्ण परिचय र नालीबेलीको विवरण छ भने पाँचौंँ अध्यायमा ठाडो भाकाका रचनाहरूको विभिन्न कोणबाट विश्लेषण गरिएको छ । यसमा ठाडो भाकाका हस्ती मानिएका देउबहादुर र पञ्चसुब्बा तथा अन्य स्रष्टाका ठाडो भाका गीतको समीक्षात्मक विश्लेषण दिन खोजिएको छ । छैटौँ अध्यायमा ठाडो भाका कसरी जगेर्ना गर्न सकिन्छ र यसको महत्त्व के छ भनेर प्रकाश पारिएको छ ।

चार परिशिष्ट समेटिएको पुस्तकमा पहिलामा ठाडो भाकाको रानो भेडीखर्के साइँलासित शीर्षक दिएर लिइएको अन्तर्वार्ताको मूल अंश प्रस्तुत गरिएको छ भने परिशिष्ट–२ मा दुराडाँडाको अन्तर्य शीर्षक दिइएको छ । यसमा दुराडाँडाको परिचय, राजनीतिक सीमाङ्कन र जातीय स्थितिदेखि लिएर लमजुङको चर्चित हलो क्रान्तिसम्मको चर्चा गरिएको छ ।

परिशिष्ट–३ मा नेपालको पुरानो र ऐतिहासिक साहित्यिक पत्रिका ‘शारदा’ को २००४ माघमा प्रकाशित सत्यमोहन जोशीको पञ्चसुब्बा शीर्षकको लेख समाविष्ट गरिएको छ । परिशिष्ट–४ मा केही सुन्दर तस्बिरसमेत समावेश गरिएको छ । लेखक भुजेलले यस ग्रन्थमा ठाडो भाकाका गायनका सन्दर्भमा गेयात्मक शैलीमा बङ्ग्याइएका शब्दहरूको टिपोट गर्नुभएको छ भने विशेष गरी ठाडो भाकामा गाइने मौलिक शब्दहरूको अर्थसमेत उल्लेख गरेका छन् ।

ठाडो भाकाको लोक सांस्कृतिक इतिहासजस्तो गहन अनुसन्धानात्मक ग्रन्थ प्रकाशन गरी लेखक भुजेलले नेपाली लोकसाहित्य, लोकसंस्कृति र ठाडो भाकाको प्रवद्र्धनमा इँटा थपेर गुन लगाउने काम गरेका छन् । ठाडो भाकामा अन्तर्निहित भाषिक संरचनादेखि यसले समेटेको ग्रामीण जनजीवनका अनेक विषयवस्तु पनि केलाइएको छ ।

जे होस् खोजमूलक अनुसन्धान र साधना हेर्दा बिदावारिधि उपाधिका लागि तयार पारेजस्तो देखिने कृतिले नेपाली लोकगीत र ठाडो भाकाको जगेर्नामा ठूलै योगदान दिनेमा कसैको भिन्न मत रहने छैन । लेखकले ठाडो भाकाको ऐतिहासिक सन्दर्भ खोतल्दै यसको महत्त्वका बारेमा पाठकलाई चित्त बुझ्ने गरी मिहिन ढङ्गमा चर्चा गरेका छन् ।

लेखक भुजेलको यो प्रयास प्रशंसनीय र स्तुत्य छ । यस कृति चाहिँ लोकसाहित्य र संस्कृतिप्रेमीका लागि पठनीय र सङ्ग्रहणीयसमेत छ । नेपाली लोकगीत र लोकसंस्कृतिका अध्येता लेखकका साँघुटारमा केही रात (नियात्रासङ्ग्रह), पराकाष्ठा (हाइकुसङ्ग्रह), अकर्मण्यता (ताङ्कासङ्ग्रह), परिवेश (कवितासङ्ग्रह), भुन्टे खरायो (बाल–कवितासङ्ग्रह), चट्पटे र पानीपुरी (बाल–कवितासङ्ग्रह) कृति प्रकाशित छन् ।

मन्त्री र सभामुख पैसा खाएर सिफारिस गर्छन्, मन्त्री त आफैं मान्छे बोकेर उड्छन्, कसलाई पत्याउनु ?

नारायण गाउँले ।
धन्न काठमाडौंका दूतावासहरूले अझै भिसा दिन्छन् । हाम्रो कागजपत्रमाथि विश्वास त तिनलाई के हुँदो हो र ? रातो पासपोर्ट पैसा तिरेर अर्कैले प्रयोग गर्छ, मन्त्री नै मान्छे ओसारपसार गर्छन्, मन्त्रालय नै नेपाली नागरिकलाई भुटानी शरणार्थी भनेर नक्कली कागज बनाउँछ, पैसा खाएर मन्त्रालयको कर्मचारी भन्ने कागज बन्छ, उपसभामुखले चिन्दै नचिनेको र असम्बन्धित व्यक्तिलाई सँगै जाने भन्दै भिसा मिलाउन चिठी लेख्छन् ।

हामी त ल सही गलत चिनौंला । हाम्रो पार्टीको भए बेकसूर र अर्को पार्टीको भए चोर भन्ने हामीलाई सजिलै थाहा होला । तर सोच्नुस् त, दूतावासका कर्मचारीले कसरी चिन्ने ? पासपोर्ट नै नक्कली बन्छ । बैंकले नक्कली डिपोजिट भौचर दिन्छ । सिङ्गो दल र राज्य नै कीर्ते काममा लागेका छन् । नेपाल सरकारको छाप लागेको डकुमेन्ट फेक हुन्छ । मन्त्री र सभामुख पैसा खाएर सिफारिश गर्छन् । मन्त्री त आफैं मान्छे बोकेर उड्छन् !

कसलाई पत्याउनु ? केलाई विश्वास गर्नु ? कुन शैक्षिक प्रमाणपत्र सही हो भन्नु ? कुन कागजको भरोसा गर्नु ? फोन गरेर सोधे पनि त्यो सोध्ने ठाउँमा नक्कली मान्छे अघि नै तैयार हुन्छ । इमेल खोलेर जवाफ दिन एउटा भरिया पहिल्यै बसेको हुन्छ ।
हाम्रो पासपोर्टको भ्यालु तल भयो भनेर के गुनासो गर्नु ! धन्न चल्दै छ भनेर खुशी हुनपर्ने छ । धन्न फाट्टफुट्ट भिसा लाग्दै छ ।
देश नै कीर्ते, ठग, नक्कली, लोभी, भ्रष्ट, फटाहा जस्तो पो बन्यो । देशबाहिर पनि चालीस पचास लाख नेपाली छन् । हिँडडुल गरिरहन पर्छ । आत्मसम्मान भन्ने वस्तु घरमैं छोडेर हिँड्न पर्ने पो बनाए !

जजिरा एयरले थाल्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान

भैरहवा । जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुनः उडान शुरू गरेको छ । डेढ वर्षको अन्तरालमा जजिराले पुनः भैरहवा–कुवेत उडान शुरू गरेको हो ।

विमानस्थल उद्घाटनलगतै उडान शुरू गरेको एयरलाइन्सले विभिन्न कारण देखाउँदै एक वर्षअघि रोकेको थियो । विमानस्थलका प्रवक्ता दीपक बज्रचार्यले शनिबार बिहान जजिरा भैरहवा अवतरण भएको जानकारी दिए ।

जजिराले हाप्ताको तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने छ । शनिबारदेखि फ्लाई दुबईले पनि भैरहवाबाट नियमति उडान गर्दै छ । त्यस्तै नेपाल एयरलाइन्सको पनि काठमाडौं, भैरहवा हुँदै दुबई जाने उडान तालिका छ ।

कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’

डा. शोभाकर पराजुली
भर्खरै दोस्रो जनआन्दोलन सकिएको थियो । देश एउटा ऐतिहासिक परिवर्तनको मोडबाट अघि बढ्दै थियो । दश वर्षको सशस्त्र लडाइँ सकेर नेकपा (माओवादी) राजनीतिको मूलबाटोमा आएको थियो । र त्यसका एउटा मुख्य शूत्रधार नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । त्यही बेला कोइराला निवासको एउटा बत्ती निभ्यो । अर्थात् २०६३ साल माघ १४ गते नोना कोइराला यो धरतीबाट बिदा भएर जानुभयो । त्यो बेला गिरिजाप्रसादले कार्यकर्तासँग भन्नुभएको थियो ‘कोइराला निवासको बत्ती निभ्यो ।’

नेपाली कांग्रेस आफैँमा एउटा यस्तो राजनीतिक पार्टी हो, जसले राजनीतिक समावेशीतालाई गर्भदेखि नै बोकिल्यायो । अर्थात् महिला अधिकार वा भनौँ प्रतिनिधित्वलाई नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै प्रमुखता दिँदै आएको छ । नेपाली कांग्रेसभित्र त्यस्ता धेरै महिलाहरूले योगदान गरेका छन् तर बिरलैको नाम पार्टी पङ्क्तिमा आउँछ । नयाँ पुस्ताले त कतिपय नामहरू ‘गुगल’ गर्दा पनि नभेट्ने अवस्था छ । कांग्रेसभित्र आफू जलेर राष्ट्र, राजनीति, जनता, प्रजातन्त्र अनि पार्टी र कार्यकर्ता माझ उज्यालो छरेका त्यस्ता धेरै नारी पात्रमध्ये नोना कोइराला अग्रपङ्तिमा हुनुहुन्छ । उहाँलाई समकालीन कांग्रेस नेता, कार्यकर्ताहरूले ‘नोना आमा’ भनेर पनि चिन्दछन् ।

यद्यपि, नेपाली कांग्रेसभित्र ‘दाइ–दिदी’ अनि ‘भाउजु’ कल्चर एउटा परम्परा जस्तै मानिन्छ । तर नोना कोइराला त्यस्तो सम्मानीत नारी पात्र हुनुहुन्छ, जसलाई नेपाली कांग्रेसका आम कार्यकर्ताले ‘आमा’ भनेर सम्बोधन गर्थे । यसबाट पनि प्रस्ट हुन्छ, उहाँ कोइराला परिवारले मात्रै होइन, सिङ्गो पार्टी जीवनकै एउटा उज्यालो बत्ती हुनुहुन्थ्यो ।

नोना आमाको जन्म १८८५ कात्तिक २४ गते भारतको रामनगरमा भएको थियो । नेपालमा राणाविरुद्ध लडिरहेको कोइराला परिवारका एक स्तम्भ कृष्णप्रसाद कोइराला सारा परिवारसहित भारतमा निर्वासित जीवन बिताइरहनु भएको थियो । भारतमै बसेर कोइराला परिवारले नेपालमा क्रान्ति हाँकिरहेको थियो । त्यो बेला राणाको अत्याचारका बीच पनि केशव कोइराला भने नेपालमै रहनुभएको थियो । त्यो बेला भारतमा पनि अङ्ग्रेज विरोधी आन्दोलन चलिरहेको थियो ।

पञ्चायतको समयमा समेत उहाँले प्रजातन्त्र स्थापना तथा सामाजिक न्यायका लागि साहसिक कार्य गर्नुभयो । उहाँमा सबैलाई मिलाएर अघि बढ्न सक्ने विशिष्ट क्षमता थियो । नोनाको राजनीतिक जीवनको सुरूवात २००३ सालको मजदूर आन्दोलनदेखि भएको हो । त्यतिबेला उनले मजदुर आन्दोलनका घाइतेहरूलाई औषधि उपचार र भोजन व्यवस्थापनको जिम्मा उहाँले नै लिनु भएको थियो । निरकुङ्श राणा शासनविरुद्ध २००७ सालमा कांग्रेसले सञ्चालन गरेको सशस्त्रमुक्ति आन्दोलनमा पनि उहाँले हतियार व्यवस्थापन, सरसफाइ र वितरणको जिम्मेवारी लिनुभएको थियो । यहाँसम्मकी कतिपय हतियार त उहाँले आफ्नो शरीरमा लुकाएर मुक्ति सेनासमक्ष पुर्याउने गर्नुभएको आन्दोलनका होमिएका धेरैलाई थाहा छ ।

त्यही क्रममा भारतमा रहनुभएका कृष्णप्रसाद कोइराला उतै जेल पर्नुभयो । त्यही बेला २००० असार २५ गते नोना र केशव कोइरालाबीच विवाह भयो । त्यसपछि उहाँ कोइराला परिवारभित्र एक अभिभावकजस्तै बनेर आफ्नो पारिवारिक, सामाजिक र राजनीतिक अभिभारा निभाइरहनुभयो । सारा परिवार भारतमै निर्वासन भएका बेला नेपालमा परिवारको खेतिपातीदेखि घरबार धान्ने र पार्टी अनि कार्यकर्ता परिचालन र व्यवस्थापनको जिम्मेवारी नोना–केशवकै काँधमा थियो । त्यही बेला २००३ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुटमिलमा भएको आन्दोलनमा पनि नोना कोइरालको अद्वीतीय भूमिका रह्यो ।

कोइराला परिवार आफैँमा एउटा अलग्गै राजनीतिक र सामाजिक संस्कारले भरिएको परिवार हो । त्यसमा पनि नोना आमा पनि एउटा शिक्षित र राजनीतिक चेतनाले भरिएको परिवारबाटै आउनुभएको थियो । त्यसबाट पनि उहाँमा राजनीतिक र सामाजिक चेतना थियो । यसले गर्दा उहाँलाई राजनीतिक र पारिवारिक व्यवस्थापनमा अझ निपुण हुनुभयो । क्रान्तिकै बेला बिपी कोइरालाले एकपटक केशव र नोना आमालाई सम्बोधन गरेर लेख्नुभएको चिठी अहिले पनि उत्तिकै महत्वपूर्ण छ । बिपीले त्यो चिठीमा केशव र नोनाले घरबार अनि खेतीपाती धानिदिएकै कारण आफूहरूलाई प्रवासमा सजिलो भएको र नेपालमा पनि कार्यकर्ता परिचालनमा बाधा नआएको भन्दै उहाँहरूप्रति आभार व्यक्त गर्नुभएको थियो ।

कोइराला परिवारमा मात्रै नभएर ‘नोना आमा’ समकालीन राजनीतिक नेता तथा कार्यकर्ताका लागि अभिभावक नै बनेर उभिनुभयो । कोइराला परिवारको राजनीतिक विरासतमा नोना कोइरालाको अभिभावकीय र नेतृत्वदायी भूमिका अनि क्षमता सिङ्गो नेपाली राजनीतिकै लागि प्रेरणाको अजर स्रोत पनि हो ।

कांग्रेसमात्रै कोइराला निवास अनि कोइराला परिवार हरेक राजनीतिक दलका कार्यकर्ताका लागि सधैँ खुल्ला हुन्थ्यो । र स्वागतका लागि रातदिन तम्तयार हुन्थ्यो । त्यो सबै नोनाकै योगदान र तत्परताले मात्रै सम्भव थियो । उहाँले कांग्रेस मात्रै होइन, जुनसुकै राजनीतिक दलका कार्यकर्ताका लागि कोइराला निवास सधैंँ खुल्ला गरिदिनुभयो । यसले गर्दा नेपालमा हरेक राजनीतिक कार्यकर्ताका लागि कोइराला निवास र कोइराला परिवार आफैँमा एक उदार अनि खुल्ला संसार जस्तै भएको थियो । परिवारमा मात्रै नभएर सिङ्गो नेपाली कांग्रेस पार्टी पङ्तिमा उहाँको निर्णायक र अभिभावकीय भूमिका रहन्थ्यो ।

कोइराला परिवारमा हरेक दिन बिहानअर्थात् दिनको पहिलो प्रहरमै हुने बसाई राजनीतिक नै हुन्थ्यो । त्यो भनेको दिनभरिको कार्ययोजना र कार्यदिशा तय गरिन्थ्यो । त्यो सबको चाँजोपाँजो मिलाउने जिम्मेवारी नोनाकै काँधमै थियो । एक प्रकारले परिवारका सदस्यबीच भएको राजनीतिक जिम्मेवारीको बाँडफाँटमा उहाँले यसरी महत्वपूर्ण भूमिका पाउनुभएको थियो । त्यसलाई अन्तिम समयसम्म उत्तिकै सफलताका साथ निर्वाह गर्नुभयो ।

नोना आमाको त्यो ‘मर्निङ मिटिङ’लाई गिरिजाप्रसाद कोइराला हुँदै सुशील कोइरालासम्मले अन्तिम समयसम्मै निरन्तरता दिनुभयो । ‘मर्निङ मिटिङ’ एक प्रकारले कोइराला परिवारभित्रको आफ्नै मौलिक राजनीतिक संस्कार बनिसकेको थियो । त्यसले सिङ्गो पार्टीलाई नै ऊर्जाशील बनाउँथ्यो । अब कोइराला परिवारको राजनीतिक विरासत थाम्ने जिम्मेवारी डा शेखर कोइरालाको काँधमा छ । डा शेखर केशव–नोनाका कान्छा छोरा हुनुहुन्छ । यो बेला नेपाली कांग्रेसलाई पुनर्जीवन दिनका लागि फेरि एकपटक आम कार्यकर्ताको आशा र भरोसको केन्द्र कोइराला परिवार हुन पुगेको छ ।

हरेक व्यक्तिको निजी जीवनमा ‘आमा’ नै पहिलो पाठशाला हुन्छिन् । नोना कोइराला मात्रै एक गृहणीका रुपमा समित रहनुभएन । उहाँले त तत्कालीन सिङ्गो राजनीति र प्रजातन्त्रको लडाईंमा होमिएका आम नेपालीलाई आफ्नै सन्तान जसरी ममता र अभिभावकत्वको छहारीमा राख्नुभयो । उहाँले सिकाएर जानु भएको बाटोमा अब डा शेखरका पाइलाहरू अगाडि बढ्न सके र त्यसलाई निरन्तरता दिन सके नेपाली कांग्रेसको त्यो राजनीतिक संस्कारको निरन्तरता आगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत हुनसक्छ ।

उहाँले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउनुभएको थियो ।

राजनीतिमा ३३ प्रतिशत महिलाको स्थान रहनुपर्ने माग उहाँले नै उठान गर्नुभएको थियो । जसको परिणाम आज नेपाली महिलाहरूले राजनीति या सामाजिक क्षेत्रमा जुन अवसर प्राप्त गरेका छन् त्यसको मुख्य श्रेय उहाँलाई नै जान्छ । प्रजातन्त्र स्थापनाका लागि महिलालाई जागृत र गोलबद्ध बनाउने कार्यमा उहाँको भूमिका अविस्मरणीय छ । प्रजातन्त्र प्राप्तिपछि उहाँसमेतको अगुवाइमा विराटनगरमा नारी जागृति नामक संस्थाको स्थापना भयो । यही संस्थाबाट नारीहरूलाई पढ्न लेख्न र सामाजिक रुपले अगाडि बढाउने अभियानमा उहाँले धेरै काम गर्नुभएको थियो । आज त्यो संस्था आदर्श बालिका विद्यालयमा परिणत भएको छ ।

(लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ)

‘तेल भिसा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । फिल्म ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रेलरमा नेपालमा रहेका आमाबुबा र विदेशमा रहेका छोराबुहारीको कथा देखाइएको छ ।

नेपालमा रहेकी आमा छोरा र गर्भवती बुहारीलाई भेट्न अमेरिका पुग्छिन्। त्यहाँ उनी अप्रत्याशित कानुनी झमेलामा परेको ट्रेलरमा देखाइएको छ । वृद्ध विपिनको जोडीका रूपमा अभिनेत्री पूजा चन्द छिन्।

जवान विपिनको जोडीमा अभिनेत्री वर्षा राउतको अभिनय छ। फिल्ममा ऋचा घिमिरे, बुद्धि तामाङ, फ्रान्सेस शर्मन, ज्याक बेल, सुचित्रा उप्रेती लगायत कलाकारहरूले पनि शीर्ष भूमिकामा अभिनय गरेका छन् ।

ऋचा घिमिरेको प्रस्तुति रहेको ’तेल भिसा’ मा शंकर घिमिरेको लेखन तथा निर्देशन छ । फिल्म मंसिर ७ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ।

इन्डो–प्यासिफिक कमान्डका डेपुटी कमान्डर जोशुआ काठमाडौंमा

काठमाडौं । अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डका डेपुटी कमान्डर लेफ्टिनेन्ट जनरल जोशुआ एम रड नेपाल आएका छन् । रड नेतृत्वको टोली शुक्रबार काठमाडौं आएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

नेपालमा रहँदा लेफ्टिनेन्ट जनरल रडले २४९ औँ युएस मरिन कर्पस् बल कार्यक्रममा अतिथिको रूपमा भाग लिनेछन् । त्यस्तै भ्रमणका क्रममा उनले नेपाल सरकारका अधिकारीहरू र नेपाली सेनासँग भेट गर्ने कार्यक्रम रहेको दूतावासले

कक्षा ११ र १२ को परीक्षा उत्तीर्ण गर्न नसकेका विद्यार्थीले मौका परीक्षा दिन पाउने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिस. २०५६ सालदेखि कक्षा ११ र १२ का विभिन्न विषयमा अनुत्तीर्ण भई बसेका विद्यार्थीहरुका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

बोर्डले ५६ सालदेखि हालसम्म फेल भएका विद्यार्थीहरुलाई पुनः परीक्षा दिन पाउने व्यवस्था गरेको हो । बोर्डले अङ्कन प्रणालीमा अनुत्तीर्ण वा अनुपस्थित र अक्षराङ्कन प्रणाली (ग्रेडिङ सिस्टम)मा तोकिएको ग्रेड ल्याउन नसकेका विद्यार्थीहरुले यही मंसिर २७ गतेभित्र आवेदन फाराम भर्न पाउने व्यवस्था गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यु–१९ एसिया कपको खेल तालिका सार्वजनिक

काठमाडौं । एसीसी यु–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको हो ।

यस्तै नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशसँग र अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तान खेल्नेछ । युएईमा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन् ।

प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए ।

गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मंसिर २३ गते हुनेछ ।

हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रिस्तरीय छलफल

काठमाडौँ । अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडावृद्धि भएको विषयमा अन्तरमन्त्रालय छलफल भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीसँग छलफल गरेका हुन् ।

हवाई भाडावृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मर्कामा परेकोलगायतका विषयमा पर्यटनमन्त्री पाण्डेले परराष्ट्रमन्त्री, श्रम तथा रोजगारमन्त्रीसहित  वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिसँग हवाई भाडावृद्धिबारे छलफल गरेका छन् ।

त्यसअवसरमा वैदेशिक रोजगारीमा जानेका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

छलफलका क्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले हवाईभाडा वृद्धि नियन्त्रणका लागि आफूले पहल गर्ने बताए । उनले अन्तरमन्त्रालय बैठक बसेर समस्या समाधान गर्ने उल्लेख गर्दै तत्काललाई यात्रुहरुलाई मध्यनजर गर्दै दिल्लीबाट उडान भर्नका लागि दूतावासमार्फत पहलका लागि अनुरोध गरिने जानकारी गराएका थिए ।

श्रम तथा रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले यस अघि भारतको  नयाँ दिल्लीबाट नेपालीहरु श्रमगन्तव्यमा जाने गरेको भए पनि म्यानपावर व्यवसायीहरुकै आग्रहमा मानव तस्करी बढेको गुनासोपछि रोक लगाएको बताए ।

मन्त्री भण्डारीले भैरहवा र पोखरा विमानस्थलबाट हवाई उडान भर्न आग्रह गरे । हवाई टिकटमा भएको मूल्यवृद्धिका कारण नेपाल आउने पर्यटक समेत मर्कामा परेको भन्दै मन्त्री भण्डारीले सिन्डिकेट र कार्टेलिङ भएको भए त्यसलाई रोक्नुपर्नेमा जोड दिए ।

पर्यटनमन्त्री पाण्डेले हाल त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तारका लागि विमानस्थलमा रातिको समयमा हुने उडान समय घटाएको विषयलाई लिएर हवाई टिकटमा वृद्धि भएको हुनसक्ने उल्लेख गरे ।

उनले  भने, “धावनमार्गको विस्तारको सूचना बाहिरिएसँगै विमान कम्पनीहरुले उडान कटौती गर्ने योजना बनाइसक्नुभएको थियो । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘फ्लाइट डाइभर्ट’ गर्न थालिएको छ ।”

छलफलका क्रममा विमानस्थलको ट्याक्सी वे विस्तारका लागि रातिको समय विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीले कार्टेलिङ गरेको हुनसक्ने उल्लेख गर्दै वैदैशिक रोजगारसँग सम्बद्ध व्यवसायीहरुले यस विषयमा सरकारले आवश्यक निर्णय गर्नुपर्नेमा जोड दिएका थिए ।

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएनका अध्यक्ष दीपक थापाले नेपालबाट अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वभाविक रुपमा वृद्धि भइरहेको र यसमा विमान कम्पनी र केही ट्राभल एजेन्सीहरुको हात रहेको दाबी गरे ।

सहरीकरणमा देखिएका चुनौती सम्बोधन गर्न राष्ट्रसङ्घसँग सहकार्य गरिने

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकका प्रमुख सहरी चुनौती सम्बोधन गर्न ‘यूनाइटेड नेसन्स ह्युमन सेटलमेन्ट प्रोग्राम’ (यूएन–ह्याबिटेट) सँग सहकार्य गरिने बताएका छन् ।

इजिप्टको कायरोमा जारी ‘वल्र्ड अर्बान फोरम’को कार्यक्रममा आज यूएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधि काजुको इसिगाकी र नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि हाना सिङ्गर ह्याम्डीसँग मन्त्री सिंहले द्विपक्षीय बैठक गरेका थिए ।

बैठकमा उनले नेपालले सामना गरिरहेको प्रमुख सहरी चुनौतीलाई सम्बोधन गर्न सहकार्य आवश्यक रहेकामा जोड दिएको उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा इसिगाकीले तथ्य र तथ्याङ्कमा आधारित योजनामा यूएन ह्याबिटेटको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी नेपालका लागि आवासीय प्रतिनिधि ह्याम्डीले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन रहने जानकारी गराए ।

मन्त्री सिंहको सचिवालयका अनुसार दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्न र सहरी योजनालाई मुख्य प्रवाहमा ल्याउने जटिल सहरी चुनौतीको सामना गर्न यूएन ह्याबिटेटको भूमिकामासमेत आवासीय प्रतिनिधि ह्याम्डीले जोड दिए । विश्व फोरममा नेपालका तर्फबाट उपप्रधानमन्त्री सिंहले तीन वटा सत्रमा सम्बोधन गरेका थिए ।

उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गरेका थिए । नेपाल जस्ता विकासोन्मुख देशले कम कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनको प्रत्यक्ष असर धेरै देखिएकाले अन्तर्राष्ट्रियस्तरको जलवायु वित्तमा सजिलो पहुँच र प्राविधिक सहयोगमार्फत मात्र जलवायु न्याय हुने कुरा विश्व समुदाय समक्ष जोडदार रुपमा उठाएको मन्त्री सिंहको सचिवालयले जनाएको छ ।

इजिप्टको कायरोमा नोभेम्बर ४ बाट सुरु भएको फोरम आज समापन हुँदैछ । उपप्रधान सिंह भोलि शनिबार स्वदेश फर्किने कार्यतालिका छ ।

रानिमत्तामा गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु, २५ जना घाइते

भेरीगङ्गा (सुर्खेत) । सुर्खेत–दैलेख सिमानामा पर्ने रानिमत्तामा फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइते २५ जनाको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

‘चार जनाको दुर्घटनास्थलमा मृत्यु भएको छ, घाइते २५ जनालाई उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएका छौँ, घाइतेमध्ये केहीको अवस्था गम्भीर छ, दुर्घटना कसरी भयो, अनुसन्धान गरिरहेका छौँ’, उनले भने ।

गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेकाले आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रनाउ विश्वकर्माले बताए । गाडीमा २९ जना यात्री सवार थिए ।

निर्माणाधीन सबस्टेसन सम्पन्न भएपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने

काठमाडौं। धारापानी र खुदी सबस्टेसन निर्माणपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना कार्यालयले जनाएको छ।

आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ भने लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन अन्तिम चरणमा पुगेको हो।

दुवै स्थानका सबस्टेसन निर्माण निर्धारित समयमा सम्पन्न भएमा लमजुङ र मनाङको विद्युत् आपूर्ति सहज हुनुका साथै भरपर्दो र गुणस्तरीय सेवा प्रवाह हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ। खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी अन्तिम चरणको काम भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ। धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायत सिभिल संरचनाको निर्माण तीव्र गतिमा भइरहेको छ।

धारापानी र खुदी सबस्टेसनमा क्रमशः एक सय ३० एमभिए र एक सय ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर रहने छन्। दुवै सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका आवश्यक व्यवस्था गरिएको छ। निर्माण सम्पन्न भई सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति सुरु भएपछि लमजुङ र मनाङको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने जनाइएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमनमार्फत सबस्टेसन तथा प्रसारण लाइन निर्माणको प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायत विषयमा आयोजना व्यवस्थापन, निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी जनशक्ति थपेर प्रसारण लाइन तथा सबस्टेसन तोकिएको समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरे। उनले धारापानी क्षेत्रका स्थानीयसँग छलफल गरी सबस्टेसन तथा प्रसारण लाइन निर्माणमा आवश्यक सहयोग गर्न अनुरोध गरे।

‘मर्स्याङ्दी करिडोर प्रसारण लाइनमा जोड्ने गरी सम्झौता गरिएका जलविद्युत् आयोजनाको निर्माण सुरु भइसकेको छ, त्यसैले यो लाइन जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्नुपर्ने छ, समयतालिका, कामको गुणस्तरलगायतलाई विशेष ध्यान दिएर निर्माणलाई तीव्रता दिनुपर्ने छ’, घिसिङले भने।

भौगोलिक विकटतालाई चिर्दै मनाङमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको भन्दै उनले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको समस्या रहेकाले यसलाई सुधार्न निर्धारित समयमा नै प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए।

सबस्टेसन निर्माणस्थल वरपरका स्थानीय बासिन्दाले राखेका जायज माग पूरा गर्न आयोजना सधैँ तयार रहेको बताउँदै कार्यकारी निर्देशक घिसिङले पर्यटकीयस्थल मनाङको विद्युत् आपूर्ति सुधारका लागि योजनाबद्ध रूपमा निर्माण कम्पनीले काम अघि बढाइसकेको उल्लेख गरे।

उनका अनुसार मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो। प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने उहाँले जानकारी दिए।

आयोजनाअन्तर्गत चितवनको भरतपुरबाट मनाङको धारापानीसम्मको एक सय १४ किलोमिटर डबल सर्किट प्रसारण लाइनलाई तीन चरणमा विभाजन गरी निर्माण अगाडि बढाइएको छ। पहिलो चरणअन्तर्गत उदीपुरबाट तनहुँको मार्कीचोक हुँदै नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६८ किमी प्रसारण लाइन निर्माणाधीन छ। यसखण्डमा पर्ने एक सय ९९ टावरमध्ये एक सय २५ वटाको जग हालिएको छ भने ६५ टावर निर्माण गरिएका छन् । बाँकी स्थानमा काम भइरहेको आयोजना कार्यालयले जनाएको छ।

दोस्रो चरणअन्तर्गत लमजुङको उदीपुर र चितवनको भरतपुरमा २२० केभीका सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन्। तेस्रो चरणअन्तर्गत धारापानी–खुदी–उदीपुर ४६ किमी प्रसारण लाइन र धारापानी तथा खुदी सबस्टेसन निर्माणाधीन छन्। खुदी–उदीपुरअन्तर्गत करिब १६ किमी खण्डमा १७ टावरको जग हालिएको छ भने आठ वटा निर्माण गरिएको छ।

उक्त खण्डअन्तर्गत बेसीँसहर नगरपालिका–८ का केही स्थानीयले प्रसारण लाइनको मार्ग परिवर्तन गर्नुपर्ने वा लाइन नसार्ने भए मार्गधिकारमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने माग राखी दुई वर्षदेखि निर्माण अवरोध गर्दै आएका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलाई खुदी–उदीपुर खण्डमा देखिएको समस्या समाधान गर्न आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गरे। ‘दुई वर्षदेखि काममा अवरोध भइरहेकाले स्थानीयका जायज माग पूरा गर्ने प्रधिकरणको प्रतिबद्धतासहित स्थानीयसँग छलफल गरी सहजीकरण गरेर सहयोग गरिदिन अनुरोध गर्दछौँ’, उनले प्रजिअ गुरुङसँग भने।

निर्माणमा देखिएको अवरोध हटाउन स्थानीय प्रशासनकातर्फबाट सहजीकरण तथा समन्वय भइरहेको उल्लेख गर्दै प्रजिअ गुरुङले राष्ट्रिय प्राथमिकता प्राप्त प्रसारण लाइन निर्माणमा स्थानीयले पनि आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिए।

संघीय सरकार तथा प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (इआइबी) को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको समग्र अनुमानित लागत करिब  १६ अर्ब रहेको प्राधिकरणले जनाएको छ।

युक्रेनी अपार्टमेन्टमा भएको रूसी आक्रमणमा परी २५ जना घाइते

युक्रेन । युक्रेनी सहर खार्किभको एउटा अपार्टमेन्टमा भएको रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा २५ जना घाइते भएका छन् ।

मेयर टेरेखोभले टेलिग्राममा जनाए अनुसार १२ तले आवासीय भवनमा भएको रूसी आक्रमणले पहिलो र तेस्रो तलालाई आंशिक रूपमा क्षतिग्रस्त बनाएको र यसबाट कम्तीमा २५ जना घाइते भएका खार्किभका मेयर इगोर टेरेखोभले शुक्रबार बताएका छन् ।

आक्रमणमा फसेकाहरूको उद्धार कार्य जारी रहेको तथा घाइतेको सङ्ख्या अझै बढ्न सक्ने जनाउँदै हालसम्म २५ जना घाइतेको पुष्टि भएको जनाएका छन् ।

युक्रेनी राष्ट्रपतिको चिफ अफ स्टाफ एन्ड्री यरमाकले रूसले जानाजानी अपार्टमेन्टमा प्रहार गरेको आरोप लगाउँदै रूसीहरूले साना तथा ठूला मिसाइलले किएभमा आक्रमण गरिरहेको जनाएका छन् ।

किएभको सैन्य कार्यालयले राजधानीमा क्षेप्यास्त्र आक्रमणलाई विफल पार्न मिसाइल प्रतिरोधी प्रणालीको प्रयोग भइरहेको जनाएको छ ।

यस क्षेत्रका गभर्नर ओलेग किपरले ड्रोनले देशको दक्षिणमा रहेको ओडेसा र यसको उपनगरहरूमा पनि प्रहार भएको र आक्रमणबाट कम्तिमा दुई जना घाइते भएको बताए ।

युक्रेनी अधिकारीहरूका अनुसार बिहीबार किएभलाई लक्षित गरी गरिएको अर्को रूसी ड्रोन आक्रमणले दुई जना घाइते हुनुका साथै भवनहरू क्षतिग्रस्त भएका थिए भने धेरै जिल्लाहरूमा आगो लागेको थियो ।

रूसले सन् २०२४ फेब्रुअरीदेखि नै ड्रोन र मिसाइलले युक्रेनको राजधानीलाई लक्षित गरी आक्रमण गरेको छ ।

पछिल्लो समयमा युक्रेनी अधिकारीहरूले रूसी हवाई आक्रमणहरू रोक्नका लागि आफ्ना सहयोगीहरूबाट हवाई रक्षा प्रणालीलगायतका सहयोगको अपेक्षा गरिरेका छन् ।

चीनले रुग्ण उद्योगका लागि थप सहयोग स्वीकृत गर्ने

बेइजिङ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार तनाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर अधिकारीहरूले महत्वपूर्ण बैठक टुङ्ग्याउँदा चीनले शुक्रबार आर्थिक रूपमा रूग्ण उद्योग, वित्तीय संस्था तथा फर्मका लागि ठूलो समर्थन प्याकेज सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

अर्थशास्त्रीहरूले बेइजिङले सयौं अर्ब डलरको सहयोग स्वीकृत गर्ने अनुमान गरेका छन्, जसमा ऋणग्रस्त स्थानीय सरकारका साथै बैङ्कहरूका लागि नगदमा ध्यान केन्द्रित गरिएको छ। यसै साता बेइजिङमा चिनियाँ कानुन बनाउने सर्वोच्च निकायको बैठकका लागि भेला भएका नीति निर्माताहरूले अमेरिकी मतदानमाथि नजर राखेका थिए।

ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा चिनियाँ सामानमा कर वृद्धि गर्ने वाचा गरेको र राष्ट्रपतीय निर्वाचनमा उनको विजय भएको सन्दर्भमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र भनिने चीन अमेरिकासँगको कारोबारमा थप सङ्कट आउनसक्ने आँकलनहरू गरिएका छन् । चीनमा लामो समयदेखि घरजग्गा तथा आवासीय कारोबारमा सङ्कट देखिनुका साथै र दैनिक उपभोगसम्बन्धी सामानको कारोबारमा सुस्तता आएको छ ।

पर्यवेक्षकहरूका अनुसार बेइजिङले अर्थव्यवस्थाका लागि लामो समयदेखि प्रतिक्षा गरिएको ‘बाजुका स्टिमुलस’ को साथ यो सङ्कटलाई कम गर्न प्रयास गर्न सक्छ । यद्यपि, सावधानीको विवरण आउन अझै समय लाग्न सक्छ। आईएनजीमा ग्रेटर चाइनाका प्रमुख अर्थशास्त्री लिन सोङले भने, “नीति निर्माताहरूलाई ट्रम्पको सम्भावित जीतलाई सम्बोधन गर्ने मौका दिनका लागि अक्टोबरको अन्त्यमा तय गरिएको बैठक पछि सारिएको थियो।”

“हाम्रो विचारमा ट्रम्पको जितसँगै नीतिगत समर्थन प्याकेजको सम्भावना केही हदसम्म बढ्नेछ,” उनले भने। युनाइटेड ओभरसिज बैङ्क ९युओबी० का हियान वेल्थ म्यानेजमेन्टका प्रमुख सूचना अधिकारी क्वी वाङले भने, “ट्रम्पको जीत चीनका लागि नराम्रो होइन किनभने यसले बेइजिङलाई ठूलो प्रोत्साहनका लागि ‘दबाब’ दिन सक्छ।

सरकारी सञ्चारमाध्यमले यसै हप्ता अधिकारीहरूले स्थानीय सरकारको ऋणको सीमा बढाउने विधेयकको पुनरावलोकन गरेको जनाएका थिए। गत महिना घोषणा गरिएको यो कदमले अधिकारीहरूलाई विकासको लागि घरजग्गा बजारलाई लामो समयको मन्दीबाट बाहिर निकाल्ने उद्देश्यल अप्रयुक्त भूमिको अधिग्रहणको लागि थप उधारो लिन अनुमति दिनेछ । बेइजिङले सेप्टेम्बरमा आर्थिक गतिविधिलाई बढावा दिने उद्देश्यले ब्याजदर कटौती र केही घर खरीद प्रतिबन्धहरूलाई खुकुलो पार्न धेरै उपायहरूको थालनी गरेको जनाएको थियो तर विश्लेषकहरूले अहिलेसम्म विस्तृत विवरणको अभावमा भएको बताएका छन्।“ट्रम्पको पुनः निर्वाचनले अझ बढी तात्कालिकताको आवश्यकता प्रदान गर्दछ”, विशेषज्ञहरू भन्छन्, “यद्यपि अधिकारीहरूले थप सरकारी ऋणको थुप्रोबाट बच्ने प्रयास गर्दा अझै सावधानी कायम हुन सक्छ।”

नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री ग्यारी एनजीले भने, “कुनै पनि सम्भावित प्रोत्साहन रकमको आकार ठूलो हुन सक्छ, तर दबाब पनि त्यस्तै छ। बजारले चाहेको आर्थिक वृद्धि अझै पनि प्राप्त गर्न सक्दैन।”

चीनका प्रधानमन्त्री ली कियाङले चीनले सन् २०२४ का लागि पाँच प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेमा आफू ‘पूर्ण विश्वस्त’ रहेको बताएका छन् । बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देशको निर्यात गत महिना दुई वर्ष भन्दा बढीको सबैभन्दा तीव्र गतिमा बढेको देखाएको छ।

यद्यपि, ‘पिनपोइन्ट एसेट म्यानेजमेन्ट’का अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झिवेई झाङले भने, “हामी चीनको अर्थतन्त्रलाई थेग्न निर्यातमा मात्रै निर्भर गर्न सक्दैनौँ । आर्थिक वृद्धिको आधारस्तम्भको रूपमा वित्तीय नीति अर्को वर्ष अझ सक्रिय हुनेछ भन्ने मेरो विश्वास छ।”

पाकापुस्ताकै भरमा ‘मारुनी नाच’

स्वर्गद्वारी । प्यूठान नगरपालिका–६ माझकोट फुकेथुमका ७७ वर्षीय मारुनी नाचका गुरुमुखे खगे पुन वृद्धावस्थामा पनि युवा जस्तै जोसिलो पारामा मारुनी देखाउँछन् । उनको मारुनीमा विधिपूर्वक गाउने मोह युवापूस्ताको जस्तै छ । गाउँका युवालाई साथमा लिएर माझकोटसहित प्यूठानका सरायँ मेलाहरूमा मारुनी देखाउन पुन अहिले पनि पुग्छन् ।

पुनले आफूले जान्ने भएदेखि बाबुबाजेका साथमा मारुनी देखाउन थालेको बताए । गाउँमा अहिले फुर्केथुम मारुनी नाच तथा भैलो समूह गठन गरेर गुरुमुखेको रूपमा मारुनी प्रदर्शन गरिन्छ । पूजाआजा, गाउँमा देउसी भैलोसँगै, जिल्लामा हुने सरायँ मेला, भाइटिकाको दिन हुने पुरभुरे (जेठो छोरो जन्मिदा मगर समुदायमा तिहारमा गरिने छैँठीको प्रकार), छैँठी, आमन्त्रण गरिएका देवालीहरूमा मारुनी प्रदर्शन गर्ने गरेको पुनले जानकारी दिए ।

‘मारुनी पछिल्लो समय सङ्कटमा पर्दै गएको छ, युवापुस्ता वैदेशिक रोजगारी, पेसा व्यवसाय तथा शिक्षाको सिलसिलामा गाउँ बाहिर तथा विदेश जाने गरेकाले गाउन र नाच्न रहर गर्ने युवा भेटिँदैन’, पुनले भने, ‘केहीलाई साथमा लिएर सिकाउने गरेका छौँ तर उनीहरू पनि कति बेला बिदेसिने हुन् ठेगान छैन ।’

गाउँबाट टाढाटाढा नाच देखाउन जान यातायात, आभूषणको पर्याप्त व्यवस्था भए पनि युवा शक्ति नहुँदा समस्या भएको उनको भनाइ छ । पहिला आमा, दिदीबहिनीका सारी, चोलोलगायत वेशभूषा, गरगहना लगाएर नाच्ने गरिएको उनले अनुभव सुनाए ।

प्यूठान–६ माझकोट निवासी शिक्षकसमेत रहेका मादले पोषण पुनले सिङ्गारु (महिला वेष), पूरसुङ्गे (पुरुष) एक/एक र मादले दुई गरी चार जनाले नृत्य गर्ने बताए । माझकोटमा दसैँको अष्टमीमा बृद्धिकोटमा समुद्र बाँध्ने (मारुनी सुरुको प्रथम चरणमा देवदेवीको नाम पुकारी नाच्दै मारुनी सुरु गरिने), दसैँको पूर्णिमामा प्यूठान–७ बखडी, डल्लेमा मौलो मान्नका लागि ल्याइने, तिहारमा देउसीभैलो, पूजा, पुरभुरे, देवालीमा मारुनी प्रदशर्नी गर्न लगेर पुस मसान्तभित्र मारुनी विसर्जन गर्ने प्रचलन रहेको पुनले जानकारी दिए ।

उनका अनुसार मारुनीमा कृष्ण चरित्र, रामायण, महाभारत, मायाप्रेमका कथा, नारीहरूको वेदना, खुसियाली, बालापन, समय अनुसारका गीत (भाले बास्ने, घाम झल्कने, दिउँसो, साँझ, राति, मध्यराति, बिहानी समय), सन्यासीका कुरालाई मारुनीको तालमा गाइन्छ ।

‘सबै गीतहरू गाउने हो भने एक महिना लाग्छ, लिपिबद्ध छैनन्, सम्झीसम्झी गाउनु पर्छ । युवापुस्तामा सिक्ने समय र चाहना नै छैन’, पुनले भने, ‘खर्चिलो, बढी समय लाग्ने हुँदा नयाँ पुस्ताले चासो दिँदैनन् । परम्पराले अहिलेसम्म निरन्तरता पाउनुको कारण पुरानै पुस्ता नै हो ।’

मारुनीमा सोरठी, झुमरा, चुड्का, बाटाताललगायत फरकफरक तालका नृत्य प्रस्तुत हुन्छन् । पुनका अनुसार मारुनी विसर्जन गरेपछि मादल, खाँकर, मुजुरा, बाँसुरी एक वर्ष बजाउन मिल्दैन ।

‘गीत निकाल्ने मारुनीको मुख्यलाई प्यूठानमा गुरमुखे भनिन्छ । ‘मारुनी’ नृत्यको मुख्य पात्र हुन् । मारुनी मादलेको तालसँगै अगाडि–पछाडि घुमेर नाच्छन् । वेशभूषामा सजिएर एक पटक मारुनी बनिसकेपछि नाचको पूरा अवधिसम्म बदलिन पाउँदैनन् । एउटा गीत पूरा नहुँदासम्म नाचिरहनुपर्छ’, उनले भने ।

पहिला पूजा, न्वरान, छैँठी, देवाली, मेलामा अनिवार्यजसो मारुनी नाचिने गरेकामा पछिल्ला वर्षहरूमा युवापुस्ताको मोह नहुँदा कमै मात्रामा देखाइने गरिएको मादले पुनले बताए । ठूला सांस्कृतिक कार्यक्रम, महोत्सवमा संस्कृति जोगाउन पनि मारुनी नाच्ने गरिएको उनको भनाइ छ ।

समूहमा नाच्ने व्यक्तिले गुनियो, चोली, पटुका, गरगहना, घलेक, घाँगर, घाँगरी, मुजेत्रो लगाउने चलन रहेको मारुनीका जानकार लीला पुनको भनाइ छ। उनका अनुसार मगर संस्कृति संरक्षण मञ्च गठन गरी विसं २०७८ देखि मारुनी नाच प्रदर्शनी गरेकी उनले युवापुस्ताले चासो नदिँदा यस वर्ष मारुनी देखाउन नसकिएन ।

‘तिहारको लक्ष्मी पूजाका दिनदेखि सुरु गरेर माघी पर्वलाई बिदा गर्दै मारुनी विसर्जन गर्ने चलन थियो । अहिले लामो समयसम्म खट्ने युवा भेटिएनन्’, पुनले भनिन्, ‘गत वर्ष नाचेका मारुनी यस वर्ष शारीरिक समस्याका कारण नाच्न सक्नुभएन ।’

पहिला मारुनीका सबै विधि देखाउने गरेकामा अहिले समुदायमा सिक्ने व्यक्ति नहुँदा कहिलेकाहीँ मेला, महोत्सव तथा विविध कार्यक्रममा मात्रै सीमित बनेको उनले बताइन् । परम्परागत संस्कृति संरक्षणमा सरोकार भएका निकायले ध्यान नदिँदा जिल्लाका अधिकांश स्थानमा मारुनी नाच लोप हुँदै गएको जानकारहरू बताउँछन् ।

पाथीभरामा केबलकार शिलान्यास गर्न खोज्दा झडप(फोटोफिचर)

ताप्लेजुङ । पूर्वको प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा दुई पक्षीबीच झडप भएको छ ।

शुक्रबार दिउँसो तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन लगायत शिलान्यास गर्न पुगेका थिए ।

तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन नदिने समूहले ढुंगा हान्न थालेपछि झडप भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निर्माणका लागि आवश्यक पर्ने डोजरलगायतका उपकरण लैजान अवरोध भएपछि मजदुरहरु प्रतिकारमा उत्रिएका थिए ।

मजदुरहरु प्रतिकारमा उत्रिएपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै लामो समयदेखि पहिचान पक्षधरहरु आन्दोलित हुँदै आएका छन् ।

पहिचान पक्षधरहरुले पाथीभरालाई मुकुम्लुङका नाममा आस्थाका साथ मान्दै आएका छन् । केवलकार निर्माण भए प्रकृति नष्ट हुने बताउँदै आएका छन् ।

तस्बिरः हेमराज निरौला

झुम्का कारागारबाट १२ वर्षअघि सुरूङ्ग खनी फरार भएका अभियुक्त पक्राउ

सुनसरी । १२ वर्षअघि सुनसरीको झुम्का कारागारबाट सुरूङ्ग खनी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

२०६९ कात्तिक २३ गते झुम्का कारागारबाट सुरूङ्ग खनी फरार भएका विनायककुमार यादवलाई छठ मनाउने क्रममा प्रहरीले गएराति कोशी गाउँपालिकाको पथरचट्टानबाट फक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक राउण्ड गोली समेत चलाएको थियो । प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले पक्राउको क्रममा प्रतिवादी भाग्न खोजेकाले उनलाई नियन्त्रणमा लिन घुँडामुनी गोली फायर गर्नुपरेको बताए ।

यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट दोषी ठहर भएका थिए। अदालतको फैसला बमोजिम २० वर्ष ८ महिना १४ दिनको सजाय कैद भुक्तानका क्रममा झुम्का कारागारमा रहँदा उनी सुरूङ खनेर भागेका थिए । त्यतिबेला भागेका १२ मध्ये प्रहरीले हालसम्म सात जनालाई पक्राउ गरेको छ ।

उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक भोलि बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ । बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले
जानकारी दिए ।

‘हामी आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछौँ । उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढङ्गबाट छलफल गर्छौँ ।’सह–महामन्त्री बुर्लाकोटीले भने,’बैठकमा पार्टीको रानीतिक, साङ्गठनिकलगायत समसामयिक विषयमा छलफल हुनेछ ।’

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयको नाम अनुमोदन

काठमाडौं । सर्वाेच्च अदालतको प्रस्तावित न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

न्याय परिषद्ले उनीहरूको नाम सिफारिस गरेपछि शुक्रबार संसदीय समितिमा सुनुवाइ भएको थियो । समितिले दुवैको नाम सर्वसम्मत अनुमोदन गरेको हो । संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपति शम्सेर जबराले सर्वसम्मतिले निरौला र पाण्डेयको नाम अनुमोदन गरिएको जानकारी दिए ।

त्यसअघि बैठकमा निरौला र पाण्डेयले कार्ययोजना र अवधारणा प्रस्तुत गरेका थिए । बैठकमा उनीहरुले स्वतन्त्र, निष्पक्ष एवं सक्षम न्यायपालिकाको मूल्य मान्यतालाई आत्मसात् गर्दै सविधान, कानुन र न्यायका मान्य सिद्धान्तसमेतका आधारमा न्यायिक सम्पादन गर्ने प्रतिबद्धता जनाएका थिए ।

न्याय परिषद्को असोज ११ गतेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत दाङ तुलसीपुर इजलासका मुख्य न्यायाधीश पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

हिमाल हेर्दै घरबासमा रमाउदै विदशी पर्यटक

गलकोट (बागलुङ) । पछिल्लो सयम चर्चामा रहेको घरबास हो बागलुङ भकुण्डेको अतिथि सत्कार घरबास–घरबासमा पछिल्लो समय स्वदेशी मात्रै नभएर विदेशी पर्यटकसमेत आउने गरेका छन् । प्रकृतिकरुपमा विधिकिरणका कारण भकुण्डेले विदेशी पर्यटकलाई मोहनी लगाएको छ । घरबासमा पुगेका विदेशी पर्यटकले अर्गानिक खानाका परिकारसँगै हिमाल हेर्न पाउने भएपछि भकुण्डे पुग्ने जो कोही पर्यटकले घरबासको प्रशंसा गरेकै हुन्छन् ।

केही पर्यटक हेलिकप्टरमार्फत घरबासमा आएका छन् । तर पाँच वर्षदेखि नियमित रुपमा भकुण्डे आइरहने विदेशी पर्यटक भने विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छन् । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा अहिले युकेका पाँच जना र अमेरिकाका एक गरी छ जना विदेशी पर्यटक पुगेका छन् ।

उनीहरुले यहाँबाट देखिने हिमालले मोहनी प्रतिक्रिया दिएका छन् । बुधबार मात्रै पर्यटन व्यवसायी महादेव शर्माको नेतृत्वमा भकुण्डे पुगेका छ विदेशी पर्यटक तीन दिन घरबासमै बस्नेछन् । उनीहरुको पहिलो रोजाइ हिमालको दृश्य परेको छ । बिहान उठ्नासाथ आँखै अघिका हिमाल देख्दै अर्गानिक साग, सिस्नु, कोदो र भट्टको परिकार खाँदा छुट्टै आनन्द आएको युकेदेखि भकुण्डे घुम्न आएका म्यागीले प्रतिक्रिया दिए ।

“आफूले भकुण्डेको तस्बिर र भिडियो देखेकै कारण यहाँ आएको थिएँ, पुराना घर स्वच्छ हरियाली वातावरणमा बसेर हिमाल हेर्दा निकै आनन्द लाग्यो” म्यागीले भने, “यस ठाउँमा आउने जो कोहीले यो रमाइलो पल बिर्सन सकिदैन होला ।”विदेशी पाहुनाले घरबास सञ्चालकसँगै कोदो टिप्ने, साग केलाउने र अन्य घरायसी काममासमेत सघाउने गरेका छन् । घरबासमा विदेशी पर्यटकको आठाँै समूह लिएर आएको पर्यटन व्यवसायी महादेव शर्माले बताए ।

शर्माले भेगन समूहमा आबद्ध विश्वका पर्यटक एक पटक भकुण्डे आउने चाहना व्यक्त गरेको बताए । उनले यहाँबाट देखिने हिमाल, सनराईज र सनसेट, हरियाली वातावरण र सिस्नो, ढिँडो र गुन्द्रुक लगायतको परिकारले पाहुनालाई मोहनी लगाउने गरेको जानकारी दिए ।

शर्माकै पहलमा भकुण्डेमा पाँच वर्ष अघिमात्रै विदेशी पर्यटक भित्रिएका थिए । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) रोजाइमा पर्नुको काराण यहाँको आतिथ्यता, कला संस्कृति र प्राकृतिक मनोरमको दृश्य रहेको अनुभव शर्माले सुनाए ।

उनले भकुण्डे आएको पाहुँनालाई आगमी वर्षदेखि मुस्ताङसमेत लैजानेगरी समय थप गर्ने बताए । भकुण्डे जिल्ला सदरमुकामदेखि तीन घण्टाको पैदलमार्फत पुग्न सकिन्छ । अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले पछिल्लो समय स्वदेशी पर्यटक मात्रै नभएर अमेरिका, युके, क्यानडा, जापान, चीन र कोरियाबाट विदेशी पर्यटक आउने गरेको बताए ।

उनीहरुले आफ्नो घरको आगनबाट देखिने धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशङ्खलाले मोहनी लगाउने गरेको बताउने गरेको थापाको भनाइ छ । “संस्थागत रुपमा महादेशव शर्माको पहलमा यहाँ विदेशी आउन थाल्नुभयो,अन्य सङ्घ संस्थाबाट आउनुभएका विदेशी पर्यटकलाईसमेत भकुण्डे घुमाउन ल्याउनुहुन्छ, अहिले घरबासमा स्वदेशी र विदेशी पर्यटक दुबैको आकर्षण छ, यहाँ अर्गानिक खानाको परिकार र प्राकृतिक दृश्य नै पहिलो रोजाइ हो” घरबास सञ्चालक थापाले भने,“भेगनमा आबद्ध पर्यटकले हामीलाई खान बनाउनेदेखि खेतबारीको काममा समेत सघाउन खोज्नुहुन्छ, उनीहरुले यहाँको कामको विषयमा जान्न खोज्नुहुन्छ, गाउँमा बसेर विदेशी पर्यटकलाई घरबासको माध्यमबाट स्वागत सत्कार गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।”

नेपालको खेतीपाती र कला–संस्कृतिका विषयमा बाह्य पर्यटकलाई चासो हुने भएकाले उनीहरूले परीक्षण गर्ने र खेतीपातीको विषयमा जानकारी दिनसमेत कोदोबारीमा पुग्ने गरेको पाइन्छ ।

मासु तथा मासुजन्य पदार्थ उपभोग नगर्ने भेगनमा आबद्ध विदेशी पर्यटकले त्यहाँको समुदाय र विद्यालयलाई समेत विभिन्न सहयोग गदै समेत आएका छन् । बाह्य पर्यटकको मुख्य रोजाइमा हिमशङ्खला, खानपान र कला–संस्कृति नै रहेको थापाले बताए । घरबासमा एक रातमा ८० जना पर्यटक बस्ने व्यवस्था छ ।

घरबास सञ्चालकले गाउँमै उत्पादित आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो र गुन्द्रुकको स्वाद लिन पाइन्छ । २०७३ सालमा स्थापना भएको जिल्लाकै पहिलो अतिथि सत्कार घरबासमा मगर समुदायका १५ घर समावेश गरिएका छन् । घरबास सञ्चालनमा आएसँगै यहाँका स्थानीयहरु खेतीपातीको कामसँगै आयआर्जनमा जोडिएका हुन् । भुकण्डेको शिरमा रहेको मुलाबारी भ्यूटावर, मध्यभागमा रहेको बराह ताल पर्यटक लोभ्याउने अतिरिक्त माध्यमसमेत रहेका छन् ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा सुरु गरिएको हो । यसका लागि आवश्यकपर्ने उपकरण एक करोड ५० लाख रुपैयाँमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा सुरु गरिएको हो ।

उनका अनुसार एक जना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो । तालिमप्राप्त जनशक्ति र उपकरण आएसँगै सेवा सुरु गरिएको उनले जानकारी दिए । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार यसअघि यो परीक्षण धेरै भारत पठाउने गरिन्थ्यो ।

केही नमूना काठमाडौं जाने गर्दथ्यो । नतिजा आउन १५ दिनभन्दा बढी समय लाग्ने गरेकोमा अहिले पाँच दिनमा नतिजा आउने गरेको उनले जानकारी दिए । बाहिर पठाउँदा ३० हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेकोमा यहाँ परीक्षण हुँदा १२ हजार रुपैयाँ मात्रै लाग्ने गर्दछ । अस्पतालमा रक्त क्यान्सरका बिरामी धेरै नै हुने भएकाले बिरामीलाई सहज भएको छ ।

उनले भने ‘छिटो रोग पहिचान गर्न पनि सहज भएको छ ।’ कार्यकारी निर्देशक डा पौडेलले अस्पतालका सेवा विस्तार गर्ने कार्यमा आफू लागिरहेको बताए । अस्पतालमा थन्किएर बसेको सिटी स्क्यान मर्मत गरेर सञ्चालनमा ल्याइएको छ,भने लामो समयदेखि रोकिएको मेमोग्राम सेवा छिट्टै सञ्चालनमा ल्याइदै छ ।