`

आन्दोलनपछि बङ्गलादेशको पोशाक उद्योगलाई ४० करोड डलर घाटा

ढाका  । उद्योग नेताहरूले आइतबार भने कि मुलुकको निरङ्कुश प्रधानमन्त्रीलाई हटाएको विद्यार्थी नेतृत्वको क्रान्तिपछिको अशान्तिका कारण बङ्गलादेशको महत्त्वपूर्ण पोशाक उद्योगले ४४० करोड डलर गुमाएको उद्योग नेताहरूले आइतबार बताएका छन् । उनीहरूले अहिले स्थिति ‘स्थिर’ भएकोमा जोड दिए ।

मुलुकका तीन हजार पाँच सय पोशाक कारखानाले वार्षिक ५५ अरब डलर निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगट्छन् तर अशान्तिले यस मुख्य उद्योगमा उल्लेखनीय अवरोध पुर्यायो ।

महिनौँको घातक विरोधपछि पूर्वप्रधानमन्त्री शेख हसिना अगस्ट ५ मा हेलिकोप्टरबाट छिमेकी भारततर्फ भागिन् ।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा एक अन्तरिम सरकारले पदभार सम्हाले पनि कामदारहरूले रोजगारी र राम्रो तलबको माग गर्दै पोशाक कारखानाहरूमा विरोध जारी राखे ।

यस्ता प्रदर्शनहरू कहिलेकाहीँ हिंसामा परिणत हुन्थे । सेप्टेम्बर ३० मा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा एक पोशाक कामदारको मृत्यु भयो र २० जना घाइते भए ।

बङ्गलादेश गार्मेन्ट्स एन्ड इन्डस्ट्रियल वर्कर्स फेडेरेशनकी अध्यक्ष कल्पना अख्तरले आइतबार कारखाना मालिकहरू र सरकारको ‘दृष्टिकोणमा आमूल परिवर्तन’ हुनुपर्ने बताए ।

“कामदारहरू सडकमा उत्रिँदा मात्र तलब वृद्धिको बारेमा छलफल हुन्छ”, अख्तरले भने, “यस क्षेत्रमा स्थिरता सुनिश्चित गर्न परिवर्तनहरू आवश्यक छन्, अन्यथा, शान्त स्थिति धेरै समय नरहन सक्छ ।”

बङ्गलादेश मूल्यका आधारमा चीनपछि विश्वको दोस्रो सबैभन्दा ठूलो कपडा निर्यातकर्ता मुलुक हो र यस मुलुकले लिभाइस, जारा र एच एण्ड एम जस्ता विश्वका धेरै शीर्ष ब्रान्डहरूलाई आपूर्ति गर्छ ।

बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसनका अध्यक्ष खन्दकर रफिकुल इस्लामले भने, “एउटा चुनौतीपूर्ण अवधिबाट गुज्रिएपछि उद्योग हाल स्थिर छ ।”

शनिबार पत्रकारहरूसँग उनले अगस्टदेखिको कूल घाटा करिब ४० करोड डलर रहेको अनुमान गर्दै सुरक्षा बलहरूले उद्योगको संरक्षण जारी राख्नु आवश्यक रहेको बताए ।

“सेनाले कारखानाहरूको सुरक्षाका लागि कार्यदल गठन गरेको छ र उनीहरूले पोशाक केन्द्रहरूमा सुरक्षा सुनिश्चित गर्न नियमित गस्ती गरिरहेका छन्”, उनले भने, “खरीदकर्ताहरूले बङ्गलादेशी पोशाकमा आफ्नो विश्वास पुनः प्राप्त गरेका छन्, तर स्थिरता कायम राख्न निरन्तर कानून र व्यवस्था आवश्यक छ ।” 

६० वर्षकी ह्यारिसलाई ट्रम्पको उमेरबारे कुरा गर्न रुचि

अटलान्टा । अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति उम्मेदवार बनेका ७८ वर्षीय डोनाल्ड ट्रम्पसँगको कडा चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कमला ह्यारिस आइतबार ६० वर्ष पुग्दै छिन् ।

उमेर पनि एउटा महत्त्वपूर्ण कारक बनेको छ । वृद्ध उमेरकै कारण निर्वाचन अभियानमा राष्ट्रपति जो बाइडेनले आफ्नो क्षमताप्रतिको चिन्ताले चुनावी दौड परित्याग गरे । त्यसपछि ह्यारिसले ह्वाइट हाउसका लागि ट्रम्पको मानसिक स्वस्थतामाथि लगातार निशाना साँधेको छ ।

मतदान हुने दिनभन्दा मात्र दुई साताअघि डेमोक्रेटिक उपराष्ट्रपति र रिपब्लिकन अर्बपति कडा दौडमा छन् । सर्वेक्षणहरूले प्रभावकारी रूपमा दुवै जना बराबरीमा रहेको सङ्केत गरेका छन् ।

दुवै उम्मेदवार आइतबार फेरि पेन्सिल्भेनियामा हुनेछ । पेन्सिल्भेनियालाई नोभेम्बर ५ को परिणाम निर्णय गर्ने अपेक्षा गरिएका सात प्रमुख राज्यमध्ये जित्नै पर्ने युद्धभूमि मानिन्छ ।

ट्रम्पविरुद्धको विनाशकारी बहसले डेमोक्रेटिक पार्टीमा आफ्नो मानसिक तीक्ष्णताबारे चिन्ता उठाएपछि बाइडेनले ह्यारिसलाई उम्मेद्वारी हस्तान्तरण गरे । तर सर्वेक्षणहरूले कडा प्रतिस्पर्धा हुने देखाएकाले ट्रम्पको उमेर मतदाताहरूका लागि सम्झौताको विषय नभएको देखिएको छ ।

‘अहिले उहाँ थकानका कारण बहसहरूबाट भाग्दै हुनुहुन्छ र अन्तर्वार्ताहरू रद्द गर्दै हुनुहुन्छ’, ह्यारिसले  अटलान्टामा एक र्यालीमा ट्रम्पको भद्दा र स्क्रिप्टबाहिरका भाषणहरूप्रति व्यङ्ग्य गर्दै भने, ‘उहाँले यसलाई ‘बुनाइ’ भन्नुभएको छ, तर हामी यहाँ यसलाई बकवास भन्नेछौँ ।’

ह्यारिसले अक्टोबर १२ मा ट्रम्पको ‘उत्कष्ट स्वास्थ्य’ को वर्णन गरिएको रिपोर्टका साथ ट्रम्पलाई उक्साउने प्रयास गरेको थियो । तर पूर्वराष्ट्रपतिको अभियानले उनी पनि ‘कमान्डर–इन–चिफ हुन पूर्ण र उत्कृष्ट स्वास्थ्यमा रहेको’ उल्लेख गरेको थियो ।

ह्वाइट हाउसका लागि दोस्रो कार्यकालको प्रतिस्पर्धा गरिरहेका ट्रम्पले शनिबार पेन्सिल्भेनियामा लामो भाषण दिएर ह्यारिसका आरोपहरूको जवाफ दिएको थियो । एक दिनअघि उनले ह्यारिससँग ‘खरायोको जस्तो ऊर्जा छैन’ भनेको थियो ।

दुवै उम्मेदवारले आफ्ना प्रतिनिधिहरूसँगै आफ्ना अन्तिम अभियानका दिनहरू महत्त्वपूर्ण युद्धभूमि राज्यहरूमा बिताइरहेको छ ।

जित्नैपर्ने राज्यमा शृङ्खलाबद्ध कार्यक्रमहरू आयोजना गर्दै टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले व्यक्तिगत रूपमा पेन्सिल्भेनियामा अभियान चलाइरहेको छ ।

दक्षिणपूर्वी शहर ह्यारिसबर्गमा उनले आफ्नो सङ्गठनको याचिकामा हस्ताक्षर गरेका राज्यका मतदाताहरूलाई नोभेम्बर ५ सम्म प्रत्येक दिन अनियमित रूपमा १० लाख डलर पुरस्कार वितरण सुरु गर्ने घोषणा गरे ।

ह्यारिसले पप स्टारहरू लिज्जो र अशरलाई मतदाताहरूसँग आफ्नो मामला प्रस्तुत गर्न प्रतिनिधिका रूपमा खटाएको छ ।

लिज्जोले डेट्रोइट र्यालीमा आफ्नै हिट गीतको सन्दर्भ दिएर ‘यो बारेमा धेरै समय भयो !’ गाउँदै अमेरिका आफ्नो पहिलो महिला राष्ट्रपतिका लागि पूर्ण रूपमा तयार छ भनेपछि तालीको गडगडाहट बटुले ।

अटलान्टाका प्रमुख कलाकारहरूमध्ये एक अशरले त्यहाँका मतदाताहरूलाई भने, ‘ह्यारिसको अभियानलाई जर्जियामा अन्तिम रेखासम्म पु¥याउन म तपाईंहरूमाथि भर परिरहेको छु ।’

गाउँ खाली गर्ने चेतावनीपछि बेरुतमा इजरायली आक्रमण

बेरुत । इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो निवासमा आक्रमण गरेर आफ्नो हत्या गर्ने प्रयास गरेको इरान–समर्थित हिजबुल्लाह आन्दोलनमाथि आरोप लगाएपछि यी आक्रमण भएका हुन्।

राष्ट्रिय समाचार एजेन्सीले भनेको छ, “शत्रु (इजरायली) विमानहरूले आज बिहान हारेत ह्रेइकमा एक मस्जिद र अस्पताल नजिकै एक आवासीय भवनलाई निशाना बनाउँदै बेरुतको दक्षिणी उपनगरहरूमा दुई वटा आक्रमण गरे।”

इजरायली सेनाले यसअघि नै छिमेकमा हिजबुल्लाहसँग सम्बद्ध भनिएका भवनहरू नजिक बस्ने नागरिकहरूलाई तुरुन्तै खाली गर्न ‘जरुरी चेतावनी’ जारी गरेको थियो।

सेनाका अरबी प्रवक्ता अभिचय अद्राईले टेलिग्राममा भनेका थिए, “तपाईं हिजबुल्लाहसँग सम्बद्ध सुविधा र हितहरू नजिक हुनुहुन्छ, हिजबुल्लाहविरुद्ध आइडीएफ (इजरायली सेना) ले निकट भविष्यमा कारबाही गर्नेछ।”

केन्द्रीय शहर कैसरियामा प्रधानमन्त्रीको निवासतर्फ एउटा ड्रोन प्रक्षेपण गरिएको तर प्रधानमन्त्री नेतान्याहू र उहाँकी पत्नी घरमा नभएकाले कोही पनि घाइते नभएको नेतान्याहूको कार्यालयले शनिबार बताएको थियो।

“आज मेरो र मेरी पत्नीको हत्या गर्ने इरानको प्रतिनिधि हिजबुल्लाहको प्रयास एक गम्भीर गल्ती थियो”, तेहरान र ‘यसका प्रतिनिधिहरू’ लाई लक्षित गर्दै नेतान्याहूले वक्तव्यमा भने, “जसले इजरायलका नागरिकहरूलाई हानि पु¥याउने प्रयास गर्छ, उसले भारी मूल्य चुकाउनु पर्नेछ, यसमा इजरायलसँग गत सेप्टेम्बरदेखि युद्धमा रहेको लेबनानको हिजबुल्लाह पनि समावेश छ।”

इरानले नेतन्याहूको निवासमा भएको आक्रमणको पछाडि हिजबुल्लाहको हात रहेको बताएको छ। हिजबुल्लाहलाई इरानले हतियार तथा वित्तीय सहयोग गर्दछ।

इरानको आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार आक्रमणमा आफ्नो भूमिकाबारे सोधिएको प्रश्नको जवाफमा संयुक्त राष्ट्रसङ्घमा इरानको मिशनले भन्यो, “यो कार्य लेबनानी हिजबुल्लाहद्वारा गरिएको थियो।” हिजबुल्लाहले आक्रमणको दाबी गरेको छैन।

इजरायलले अक्टोबर १ को क्षेप्यास्त्र प्रहारका लागि आफ्नो क्षेत्रीय शत्रु इरानविरुद्ध बदला लिने प्रतिज्ञा गरेको छ। इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।

भारतीय एयरलाइन्सलाई बमको धम्कीले अराजकता बढाउँदै

नयाँदिल्ली । भारतीय एयरलाइन्सहरूद्वारा सञ्चालित उडानहरूलाई ७० भन्दा बढी झुटो बमको धम्की दिइएको र यसले यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी उडानमा ढिलाई निम्त्याएको भारतीय सञ्चारमाध्यमहरूले आइतबार बताएका छन् ।

सबै उडान सुरक्षित अवतरण भए पनि धम्कीहरूको यस शृङ्खलाले विमानहरूलाई क्यानाडा र जर्मनीमा मोड्न तथा बेलायत र सिङ्गापुरको आकाशमाथि लडाकू जेटहरूलाई विमान एस्कर्ट गर्न लगाउनुपरेको छ ।

भारत सरकार र नागरिक उड्डयन अधिकारीहरूले ‘अत्यन्त कडा कारबाही’ गरिने चेतावनी दिएका छन् । नयाँदिल्लीको नागरिक उड्डयन अधिकारीहरूले गत साता कति धम्की प्राप्त भए भन्नेबारे नखुलाए पनि टाइम्स अफ इन्डिया र न्युज१८ प्रसारकले अक्टोबर १३ देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानलाई लक्षित गरी ७० भन्दा धेरै झुटो धम्की दिइएको बताएका छन् ।

शनिबार मात्र कम्तीमा ३० वटा झुटो धम्की दिइएको थियो । उडानमा ढिलाइ र मोडाइको विश्वव्यापी प्रभाव एयरलाइन्स तािलका र लागतमा धेरै परेको छ । भारतमा कम्तीमा एक जना नाबालक पक्राउ परेका छन् । यद्यपि धम्कीहरू जारी छन् ।

बुधबार पक्राउ परेपछि भारतका नागरिक उड्डयनमन्त्री राममोहन नायडूले भने, ‘अवरोध सिर्जना गर्ने अन्य सबै जिम्मेबार व्यक्तिको पहिचान गरिनेछ र विधिवत् मुद्दा चलाइनेछ ।’

शुक्रबार र शनिबार कम्तीमा ४० उडानलाई बमको धम्की पोस्ट गरेपछि सामाजिक सञ्जाल एक्समा एक बेनामी खाता निलम्बन गरिएको द इन्डियन एक्सप्रेसको एक रिपोर्टले बताएको छ । यसमा संयुक्त राज्य अमेरिका र न्युजिल्यान्डका समेत गरी भारतीय र अन्तर्राष्ट्रिय एयरलाइन्स दुवै समावेश थिए ।

इन्डियन एक्सप्रेसका अनुसार निलम्बित खाताबाट पठाइएका समान सन्देशहरूमा लेखिएको थियो, ‘बोर्डमा बमहरू राखिएका छन्। कोही पनि जीवित बाँच्ने छैन । हतार गर्नुहोस् र विमान खाली गर्नुहोस् ।’

हालै प्रभावित उडानहरूमध्ये शनिबार सुरक्षित अवतरणपछि अमेरिकी सुरक्षा अधिकारीहरूले मुम्बईबाट न्युयोर्कको एयर इन्डिया उडानको जाँच गरेका थिए ।

प्रभावित अन्य उडानहरूमा नयाँदिल्लीबाट शिकागो जाने एयर इन्डिया विमान थियो । उक्त विमान मंगलबार क्यानाडाको सुदूर उत्तरी शहर इक्वालुइटमा आपत्कालीन अवतरण गर्न बाध्य भएको थियो । क्यानाडाको वायुसेनाले यात्रुहरूलाई उडान गराउनुपरेको थियो ।

सोही दिन सिंगापुरले एयर इन्डिया एक्सप्रेस विमानलाई एस्कर्ट गर्न लडाकू जेटहरू खटाएको थियो । बिहीबार विमानविरुद्ध धम्की दिइएपछि बेलायती आरएएफ लडाकू जेटहरूले एयर इन्डिया बोइङ ७७७–३०० लाई एस्कर्ट गरेपछि लन्डनमा सुरक्षित अवतरण भएको थियो । शुक्रबार नयाँदिल्लीबाट लन्डन जाने भिस्तारा उडान जर्मनीको फ्रेंकफर्टमा मोड्नु परेको थियो । रासस

सरकारको रवैयाविरुद्ध उत्रिन रवि लामिछानेको आह्वान

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकारको रवैयाविरुद्ध उत्रिन आह्वान गरेका छन् ।

सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार कास्की अदालमा उपस्थित गराउने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले केपी ओली नेतृत्वको सरकारकाविरुद्ध उत्रिन आमजनतालाई आह्वान गरेका हुन् । उनले ओली सरकार रहुन्जेल जनताले धेरै दुःख पाउने बताए ।

उनले भने, ‘यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ । यो सरकार नढलेसम्म, केपी ओलीको शासनसत्ता रहिरहेसम्म यस्ता अपराध भइरहन्छन् । यो सरकारबाट देश कहिल्यै बन्दैन । भ्रष्टाचारीलाई संरक्षण गरेर, सारा सहकारी ठग पार्टीभित्र पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झूट्टा मुद्दा लगाउने ? मलाई जस्तै डेढ वर्ष लगाएर ओलीलाई छानविन गर्ने हो भने सबैभन्दा भ्रष्टाचारमा उभिएको मानिस केपी ओली हो । उनी देशको प्रधानमन्त्री हुनु दुर्भाग्य छ ।’

उनले आफूलाई अदालतले न्याय दिने बताए । उनले भने, ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ ।’

सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । शुक्रबार पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध अनुसन्धान गर्न म्यादको अनुमतिका लागि अदालतमा उपस्थिति गराइएको हो ।

पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले हान्यो पानीको फोहोरा

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ । 

जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक र ग्रैहापाटन  आसपासका क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति लामिछानेलाई अदालत उपस्थित गराउने क्रममा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रर्दशन गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले सहिदचोकको पूर्वपट्टि वाईचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोक र ग्रैहापाटनको पालिखेचोकदेखि नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा आदि विरोधका कार्यक्रम गर्न निषेध गरेको थियो । अर्को आदेश जारी नभएसम्म निषेधज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा जारी आदेशमा उल्लेख छ । 

सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।  

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो । उहाँलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । 

पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको विषयमा उहाँविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

सन्तुलित परराष्ट्र नीति नै हाम्रो मार्गदर्शन

डा. शिवमाया तुम्वाहाङ्फे

हाम्रो जस्तो मिश्रित निर्वाचन प्रणाली भएका मुलुकमा कुनै एउटा दलले स्पष्ट बहुमत ल्याउनसक्ने देखिँदैन । त्यतिबेला दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार बनाउनुपर्ने हुन्छ । यसअघि संसद्मा तेस्रो राजनीतिक दलले कहिले पहिलो त कहिले दोस्रो दलको साथ लिएर सरकारको नेतृत्व गरेको थियो । 


यसपटक पहिलो र दोस्रो दलको संयुक्त सरकार गठन भएसँगै राजनीतिक स्थिरता भएको छ । जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको छ । देशका विद्यमान समस्याहरू समाधान गरेर विकास गर्ने र सुशासनको अनुभूति गराई जनतामा आशा जगाउने उद्देश्यले गठन भएको वर्तमान सरकारले राजनीतिक स्थायित्व र आर्थिक विकासलाई गति प्रदान गर्ने मूलभूत उद्देश्य लिएर अघि बढेको छ । जनताको बढ्दो निराशा आशामा परिणत भएको छ । वर्तमान सरकार गठनपछि जनताले प्रत्यक्ष अनुभूत गर्ने खालका ठोस परिवर्तन नभए पनि दीर्घकालीन परिणाम दिने काम भएका छन् ।


सरकार गठन भएको सय दिनको अवधिमा वर्षौंदेखि अड्किएको शान्ति प्रक्रियाको महत्वपूर्ण विषय बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी (टिआरसी) विधेयकलाई संसदले पारित गरेको छ । शान्ति प्रक्रियाको लामो समयदेखि सङ्कटमा परेको सङ्क्रमणकालीन न्यायसम्बन्धीको विधेयक पारित गराउन सफल र सक्षम यो सरकारले नै अब मुलुकको भाग्य र भविष्य निर्माण गर्छ भन्ने सङ्केत गरेको छ । यो विषय हाम्रो आन्तरिक मामिला मात्र नभएर विश्व समुदायकै लागि शान्ति प्रक्रियामा नेपालले गरेको उदाहरणीय कार्य पनि हो । सरकार सञ्चालनलाई प्रभावकारी र गतिशील बनाउन सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र अर्को मुख्य साझेदार नेपाली काङ्ग्रेसले आवश्यक सल्लाह सुझाव दिइरहेका छन् । यसले सरकार र पार्टी बीचको सम्बन्धलाई थप मजबुत बनाएको छ । 


नेपालीको महान चाड दशैंको मुखमा भएको प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति गरायो । मौसमविद्हरुले पूर्वसूचना दिँदादिँदै पनि आवश्यक पूर्वतयारी र सावधानी अपनाउन नसक्दा ठूलो क्षति हुन पुग्यो । यद्यपि सरकारले तत्कालै विपद प्रभावित जनताको उद्दार, राहत र पुनःस्थापनासँगै भत्किएका सडकको मर्मत एवम् बैकल्पिक व्यवस्था गरी छोटो समयमै जनजीवनलाई सामान्यीकरण गराउन सकेको छ । सरकारले ४१ वटा स्थानीय तहलाई विपद सङकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । विपदसँग सामना गर्ने राष्ट्रिय क्षमताको विकास गर्नु अति जरुरी छ । विपद् व्यवस्थापनमा सरकारको मात्रै नभएर सङ्घसंस्था र नागरिक स्तरबाट पनि उत्तिकै क्रियाशीलता हुन आवश्यक हुन्छ ।  


विदेश सम्बन्धका कुरा


वैदेशिक सम्बन्धतर्फ पनि सरकारले सय दिनको अवधिमा सकारात्मक दिशा लिएको पाइन्छ । वैदेशिक सम्बन्ध हाम्रो संविधान र कानूनले निर्देशित गरेका व्यवस्थाहरुको आधारमा विकाशित हुने कुरा हो । छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसँग रहँदै आएको परम्परागत मैत्री सम्बन्धलाई समयानुकूल गर्दै लैजाने र अन्य राष्ट्रसँग सम्बन्ध विस्तार गर्दै लैजानुपर्ने हुन्छ । नेपालले नैतिक मूल्यका आधारका साथै गौतम बुद्ध, शान्ति र सहनशीलताको देशका रुपमा आफूलाई चिनाउनुपर्छ भन्ने नै हाम्रो मान्यता हो । नेपाल सन् २०२६ सम्म विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा नेपालले साझेदारी र विदेशी दातृ निकायबाट लिइने सहयोगका ढाँचामा परिवर्तन गर्नु आवश्यक छ । दिगो विकासको २०३० एजेन्डा पूरा गर्न नेपालले गरेको प्रयास र त्यसका लागि आवश्यक सहयोग विस्तारमा जोड दिनुपर्नेछ ।         


राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताको मुद्दा विगतमा जति ओझेल परेका थिए, त्यसलाई सुधारेर एउटा सन्तुलित परराष्ट्र नीतिको सिद्धान्त अबलम्बन गर्नुपर्ने सरकारको पहिलो प्राथमिकतामा रहेको छ । परराष्ट्र नीतिअन्र्तगत दुवै छिमेकी मुलुकहरुसँग र अरु हाम्रा सहयोगी मुलुकहरुसँगको सम्बन्धलाई सन्तुलित, व्यवस्थित र मर्यादित बनाउने कामसुरु गरिसकेको देखिन्छ । पञ्चशील र असंलग्नता जस्ता सिद्वान्तका आधारमा अन्य मुलुकहरुसँगको सम्बन्ध विकसित हुँदै आएको छ । ती मुलुकसँगको सम्बन्धलाई अझ विकासित गर्नको लागि सरकारले राजदूतहरु पठाउने गर्दछ । वर्तमान सरकार गठनपछि विभिन्न मुलुकको लागि राजदूतको सिफारिस भैसकेको छ । राजदूतहरुले सम्बन्धित देशसँगको सम्बन्धलाई अझ प्रगाढ तुल्याउँदै मुलुकको हित अनुकूल सहयोगका क्षेत्रहरुमा सहजीकरण गरी दुई देशबीचको पुलको रुपमा काम गर्नु पर्ने हुन्छ । राजदूतको सफलता त्यस देशका सरकार, नागरिक समाज र प्रवुद्ध वर्गसँग गरिने अन्तक्र्रियामा समेत निर्भर रहने गर्दछ । सरकारले मलाई पनि दक्षिण कोरियाको राजदूतमा सिफारिस गरेको सन्दर्भमा मैले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गर्दै नेपालको इज्जत, गरिमालाई वृद्धि गर्न इमान्दार भएर कर्तव्य निर्वाह गर्नेछु ।


वर्तमान सरकार गठनपछि छिमेकी मुलुकसँगको सम्बन्ध अझ विस्तार भएको छ । उच्चस्तरीय भ्रमणहरुको आदानप्रदान हुने क्रम सुरु भएको छ । भर्खरै प्रधानमंत्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी भएर अन्तर्राष्ट्रिय जगतमा नेपालको परिचय अभिवृद्धि गराउन महत्वपूर्ण भूमिका खेल्नु भएको छ । यस पटक नेपालको प्रस्तुति र ‘इन्गेजमेन्ट’ विगतको भन्दा केही फरक देखिएको थियो । त्यस क्रममा विभिन्न देशका सरकार एवं राष्ट्र प्रमुखहरुसँगको भेटवार्ता तथा विभिन्न फोरमहरुमा सम्बोधन गर्ने क्रममा नेपालको सम्भावना, वर्तमान अवस्था र नेपालले विश्व समुदायमाझ राखेको अपेक्षाका बारेमा प्रस्ट रुपमा धारणा राख्नुभएको छ । 


प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको सम्बोधन तथा दुईपक्षीय भेटवार्तामा व्यक्त विश्व शान्ति, मानव–पृथ्वीको रक्षा, जलवायु न्याय, गरिबी निवारण, लोकतन्त्र र आर्थिक रुपान्तरणका यात्रामा नेपालको प्रयासबारे अवगत भएको छ । विश्वशान्ति, जलवायु परिवर्तन र विकासबारे अन्तर्राष्ट्रिय समुदायसँगका अपेक्षाबारे नेपालले स्पष्ट धारणा राखेको छ । ‘फ्युचर अफ द समिट’ र महासभामा भएको सम्बोधनमा प्रधानमन्त्रीले अल्पविकसित मुलुकका आवाजलाई प्रस्तुत गर्नुभएको छ । नेपाललाई सगरमाथाको देश वा बुद्धको देशका रुपमा मात्र नभई यहाका डाँफे, एक सिङ्गे गैँडा जस्ता विश्मा दुर्लभ बस्तुका आधारमा समेत परिचित गराउन सकिने विषयलाई उजागर गर्नु भएको छ । त्यस अवसरमा नेपालले शान्ति प्रक्रियाको विषयमा गरेको उदाहरणीय कार्यलाई विश्व समुदायले निकै प्रशंसा पनि गरेको थियो । समग्रमा हिमाली मुलुक, अल्पविकसित मुलुकले भोग्नु परेको चुनौती नेपालको नेतृत्वमा विश्वका नेतृत्वलाई सुनाउनु अर्को गर्वको विषय यो पटकको महासभा बन्यो ।  


यतिबेला मध्यएसिया, पूर्वीएसिया र अफ्रिकामा  हतियारको होडबाजी र युद्ध चलिरहेको छ । यसमा हामीले नरशंहारकारी बाटोमा नजान सम्बद्ध पक्षसँग आग्रह गर्ने हो । विश्व युद्धकालमा जस्तो हतियार र बलले नियम कानुन थोपर्ने बाटोबाट होइन, संवाद र कूटनीतिको बाटोबाट जाउँ भन्ने हाम्रो सन्देश हो । हामी द्वन्द्वरत पक्षको पक्षधरतामा नरहेर शान्तिका लागि सन्देश दिन सक्छौँ । २१ औँ शताब्दीमा हतियार र युद्धबाट जित्न खोज्ने बाटोले मानवता र पृथ्वी रहँदैन । नेपालको मौलिक शान्ति र सद्भावको सन्देशबाट अरुले पाठ सिक्न सक्छ । नेपालको सफल शान्ति प्रक्रियाको मौलिक अनुभवलाई युद्धरत मुलुकले लिन सक्छन् भन्ने कुरालाई प्रधानमन्त्रीले महासभामा सहभागी हुँदा पनि सन्देश दिनुभएको छ ।


(प्रस्तुत विचार पूर्वमन्त्री एवं दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत डा तुम्वाहाङ्फेसँग राससका आलेख प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानीमा आधारित)

म्याद थपका लागि रवि लामिछानेलाई  अदालत उपस्थित गराइयो

गण्डकी ।  सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । 

शुक्रबार पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध अनुसन्धान गर्न म्यादको अनुमतिका लागि अदालतमा उपस्थिति गराइएको हो ।

सभापति लामिछानेलाई अदालत लैजाने क्रममा रास्वपाका सासंद, नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । अदालत जानुपूर्व सभापति लामिछानेले कानुनी प्रकृयालाई सहयोग प्रतिक्रिया दिएका थिए ।

पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई)सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा उहाँमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । सभापति लामिछानेलाई काठमाडौँमा पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो ।

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यावसायिक र औद्योगिक वातावरण सिर्जना गर्न अर्थ मन्त्रालय केन्द्रित हुने बताएका छन् ।

अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताए । अर्थमन्त्री पौडेलले राजस्व संकलन र पूँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिए ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।

बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढी पहिरोबाट पुगेको क्षतिको पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराएका थिए ।

राहत र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छ: प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनर्स्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट पारेका छन्।

नेकपा (एमाले)को सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आइतबार प्रधानमन्त्रीनिवास, बालुवाटारमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला मन्त्रिपरिषद्का बैठक र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का बैठकबाट समयतालिका तोकेर राहत र पुनर्स्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउन निर्णय गरिएको जानकारी गराए।

उनले सरकारका सबै सम्बन्धित अंगले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्चाउन चाहनेहरूले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्कसाथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे।

सो अवसरमा एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडाल, एमालेका बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, पूर्वसांसद गणेश पहाडीलगायत सहभागी थिए।

मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिकको मृत्यु

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ। ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिए।

राति सकुशल सेतेका निज बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उनले बताए।

उनले भने, ‘लेक लागेर मृत्यु भएको छ भन्ने खबर आज बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो। सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ।’ उनले १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिए।

सहकारीको रकम अपचलनमा नाम जोडिएकाले रविमाथि अनुसन्धान हुनु सही होः अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नु ठिक भएको बताएको छ ।

आइतबार अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले रविमाथि अनुसन्धान हुनु सही भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ ।’

रविमाथि अनुसन्धान गर्न राष्ट्रिय जनमोर्चाले सदन तथा सडकमा निरन्तर आवाज उठाएको तर तर तत्कालीन माओवादी–एमाले गठबन्धन सरकारले उनलाई जोगाउन कानुनकै धज्जी उडाएको केसीले बताएका छन् ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 


बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) मा एक लाख २२ हजार एक सय ७१ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी परीक्षार्थीमध्ये ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्तगरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।


परीक्षामा दुई जनाको नतिजा रद्द गर्नुका साथै तीन जनाको परीक्षा स्थगित भएको थियो । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ ।

यस्तो छ ‘पूर्णबहादुरको सारंगी’ को ट्रेलर

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ । तीन दिनअघि युट्युवमा सार्वजनिक ट्रेलर चर्चासहित युट्युव ट्रेन्डिङमा छ ।

अर्गानिक कथामा फिल्म बनेको बताउँदै दर्शकहरु फिल्म हेर्न निकै उत्साहित देखिएका छन् । सारंगी रेटेर छोराको सपना र भविष्य बनाउन गर्नुपरेको संघर्ष वरिपरि ट्रेलर घुमेको छ।

फिल्ममा विजय बराल बुवा हुँदा प्रकाश सपुतले छोराको भूमिका निर्वाह गरेका छन् । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसहित मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ । फिल्म तिहारको अवसरमा कात्तिक १५ गतेबाट प्रदर्शन हुँदैछ ।

पोखराको शहीदचोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ ।

सहकारी ठगी र संगठित अपराधमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेर पोखरा लगिएको छ । उनको पक्राउ विरोधमा रास्वपाले प्रदर्शन गर्दै आएको छ ।

साथै सहकारी पीडितहरूले पनि प्रदर्शन सुरू गरेका छन्। दुई पक्षबीच झडप हुन सक्ने भएकोले रोक्न प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

प्रशासनले पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडपका कारण प्रतिकूल अवस्था सिर्जना भएर शान्ति सुरक्षा भंग हुने भन्दै आइतबार बिहान ११ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको एक लाख ६५ हजार रुपैयाँ

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ६ सयले वृद्धि भइ  एक लाख ६५ हजार रुपैयाँ कायम भएको छ । 

महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला  एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने  दुई हजार ७५ रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको छ । 

नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै नेपाल त्यस विकासबाट लाभ लिन चाहने बताए ।

प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठुला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरे ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा नेपाल सदैव स्पष्ट रहेको स्मरण गराए ।

चिनियाँ नेता छेनले आफू महासचिव जिनपिङको निर्देशनमा नेपालको भ्रमणमा आएको अवगत गराउँदै नेपालको सुख र समृद्धिमा चीनको सधैं साथ रहने स्पष्ट पारे ।

उनले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने बताए ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमालेका सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठ, विभागका सदस्यद्वय डा अञ्जान शाक्य र गोपाल खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, नेपालका लागि चिनियाँ राजदूत छेन सोङलगायत सहभागी थिए ।

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलनको लक्ष्य हासिल गर्नेतर्फ दत्तचित्त भएर लागेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा ३८ अर्ब ८८ करोड २७ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्ला तीन महिनामा राजस्व सङ्कलनमा केही वृद्धि भए पनि लक्ष्य हासिल गर्न नसकिएको बताए ।

‘साउनयता मासिक लक्ष्यअनुसार राजस्व सङ्कलनमा केही वृद्धि भइरहेको छ’, उनले भने । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने करिब तीन करोड बढी राजस्व सङ्कलन भएको छ ।

भन्सार कार्यालयले गत आव २०८०/८१ को तीन महिनाको अवधिमा भने ३८ अर्ब ८५ करोड ५० लाख ९३ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयले चालु आवको साउनमा मासिक लक्ष्यको ७२ प्रतिशत अर्थात् १२ अर्ब १६ करोड ३२ लाख राजस्व सङ्कलन गर्यो ।

दोस्रो महिना भदौमा भने मासिक लक्ष्यको ७१ प्रतिशत अर्थात् १३ अर्ब २३ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ । चालु आवको तेस्रो महिना असोजमा मासिक लक्ष्यको ७७ प्रतिशत अर्थात् १३ अर्ब ४७ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयले गत आवको साउनमा भने मासिक लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख राजस्व सङ्कलन गरेको थियो ।

गत आवको दोस्रो महिनामा मासिक लक्ष्यको ६५ दशमलव ५९ प्रतिशत अर्थात् १२ अर्ब ७१ करोड २२ लाख राजस्व उठाएको थियो । यसैगरी, गत आवको तेस्रो महिना असोजमा भने मासिक लक्ष्यको ६५ दशमलव ३५ प्रतिशत अर्थात् रु १४ अर्ब २७ करोड ४४ लाख राजस्व सङ्कलन गरेको थियो ।

जलनपीडितको निःशुल्क उपचार प्रयासमा सरकार

काठमाडौँ। सरकारले जलनपीडितको निःशुल्क उपचार प्रयास प्रारम्भ गरेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले प्रस्तुत गरेको त्यससम्बन्धी प्रस्तावलाई सकारात्मक रूपमा लिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार मन्त्री प्रदीप पौडेलद्वारा प्रस्तुत प्रस्तावलाई सरकारले स्वीकार गरेको तथा त्यससम्बन्धी निर्णय चाँडै सार्वजनिक हुने बताए।

उनले भने, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रस्तुत प्रस्तावप्रति सरकार सकरात्मक छ । जलन पीडितहरूको निःशुल्क उपचारको व्यवस्था गर्नेसम्बन्धी प्रावधान शीघ्र सार्वजनिक हुनेछ ।’

स्वास्थ्य मन्त्रालयले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा ज्वलन उपचारको निःशुल्क व्यवस्था गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत गरेको थियो ।

मुलुकमा वार्षिक ५७ हजार मानिस ज्वलनबाट प्रभावित हुने गरेका स्वास्थ्य मन्त्रालयको अनुमान छ । ज्वलनको उपचार महँगो भएकाले उपचार नपाएर धेरैले ज्यान गुमाउने गरेका छन् ।

देशमा ज्वलनकोमात्र उपचार गर्ने विशिष्टिकृत अस्पताल छैनन् । यद्यपि काठमाडौँ उपत्यका केही ठूला अस्पतालले ‘बर्न युनिट’बाट सेवा प्रवाह गर्दै आएका छन् ।

कीर्तिपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालले आगो तथा एसिडलगायत पदार्थले पोलेका बिरामीको उपचार गर्दै आएका छन् । देशको सबैभन्दा पुरानो वीर अस्पतालले पनि गत भदौदेखि बर्न युनिट सञ्चालन गरेको छ ।

पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

काठमाडौँ । पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ ।

मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना भएका थिए । मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारले जनाएको छ ।

मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गरेका थिए । मिश्रका श्रीमती र एक छोरा छन् ।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी–२० शृङ्खलाको उपाधि जितेको छ । अमेरिकको डलासमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै एक खेलअगावै उपाधि जितेको हो । 


जितसँगै नेपालले शृङ्खलामा २–० को अग्रता बनाएको छ । यसअघि भएको पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकामाथि १७ रनको जीत हासिल गरेको थियो । 


नेपालले अमेरिकालाई जीतका लागि एक सय ७१ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७० रन बनाएयो । त्यसपछि खेल सुपर ओभरमा पुगेको हो ।


सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले दुई विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सुपर ओभरमा २ विकेट लिए । त्यसपछि नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले तीन रन बनाउँदै सुपर ओभरमार्फत नेपाललाई जीत दिलाए ।


खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । 


नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाएका थिए । उनी प्लेअर अफ दि म्याचसमेत बने  । त्यस्तै अनिलकुमार शाहले २५, गुल्शन झाले १७ तथा कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गरे ।


अमेरिकाका जसदीप सिंह र नोस्थुस केन्जिगेले समान दुई/दुई विकेट लिए भने सौरभ नेत्राभाल्करले एक विकेट हात पारेका थिए । 


अमेरिकाका लागि आन्द्रे गौसले ६२ रन बनाए भने  साइटेजा मुक्कामल्लले ४७ रनको योगदान गरे । नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट हात पारे । त्यस्तै सोमपाल कामीले दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिएका  । 


नेपालले अमेरिकाविरुद्धको तेस्रो तथा अन्तिम खेल मङ्गबलार खेल्नेछ । 

रास्वपालाई अब कानुनी प्रतिरक्षाबाहेक विकल्प छैन

काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक संजालमार्फत रास्वपाका नेता कार्यकर्ता गालीगलौजमा उत्रिनु कृतघ्नताको नमुना भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गोरखा मिडिया नेटवर्कका तत्कालीन कार्यकारी निर्देशक रवि लामिछाने पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीकाविरुद्ध नारावाजी हुनु र गालीगलौज गर्नु अत्यन्त आपत्तिजनक छ । व्यक्तिगत रुपमा दुई पटक रविजीलाई गृहमन्त्री र उपप्रधानमन्त्री बनाइदिने र संसदीय छानबिन समिति बनाउँदा पनि व्यक्तिको नाम किट्नु पर्दैन भन्ने नेताविरुद्ध व्यक्तिगत तहको गालीगलौजमा उत्रिनु कृतघ्नताको नमुना हो ।’

उनले रास्वपाका नेता कार्यकर्तालाई कानुनी प्रतिरक्षाबाहेक विकल्प नभएको भन्दै व्यक्तिगत गालीगलौजले आफैं समस्यामा पर्ने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘स्मरणमै होला, रविजीलाई सहकारी ठगीमा कारवाही हुनैपर्छ भनेर संसद् अवरुद्ध गर्ने तत्कालीन प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक गृहमन्त्री हुनुहुन्छ । साथै, रविजी गृहमन्त्री हुँदा ‘कैलाश सिरोहियालाई पक्रेर जनकपुर पठाएँ, अब फलानीलाई पक्रेर ट्रकमा हालेर टिकापुर पुर्याउँछु’ भन्ने दम्भ सुन्नेहरु पनि होलान् । यी सबैका बावजुद अदालतको अनुमति लिएर मात्र अघि बढ्ने प्रहरीको कानुनसम्मत कदम (रविजीका पालामा कैलाश सिरोहियालाई जस्तो पहिले पक्रेर पछि अदालतबाट अनुमति लिएको होइन) सुझबुझपूर्ण र परिपक्व छ । अतः कानुनी प्रतिरक्षाबाहेक रास्वपाका नेता–कार्यकर्ता (विशेषगरी पूर्वकांग्रेसी) हरुले जति व्यक्तिगत गालीगलौज गर्छन्, त्यति गाह्रो मात्रै पर्दै जानेछ ।’

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा अपराह्न ४ बजेका लागि बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल हुने बताइएको छ ।

पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

गण्डकी । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका उनलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

पर्वतको महाशिलामा सात करोडका पर्यटकीय पूर्वाधार निर्माण

पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा अवस्थित एसियाकै ठूलो महाशिला (ढु्ङ्गा)मा करोडौँको लगानीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण बढ्न थालेको छ ।


सडकमार्गको पहुँचसँगै महाशिला वरिपरि आकर्षक संरचना निर्माण गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र स्थानीय गाउँपालिकाको गरी सात करोडभन्दा बढीका विभिन्न संरचना निर्माण गरिएको हो । 


सदरमुकाम कुश्माबजारबाट करिब ४० किलोमिटरको दूरीमा पर्ने महाशिलामा रहेको यो ठूलो ढुङ्गा स्थानीयस्तरमा मेहलढुङ्गाको नामले परिचित छ ।


एसियाकै ठूलो महाशिला भएकाले यसलाई अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताए ।


उनका अनुसार महाशिलामा अहिलेसम्म झण्डै  सात करोडभन्दा बढीका पूर्वाधार निर्माण भइसकेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत  चार करोड १२ लाखको लागतमा पर्यटकका लागि सुविधासम्पन्न आश्रम भवन, स्वामिनारायण गुफा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ ।


गण्डकी प्रदेश सरकारको सहयोगमा महाशिला परिसरमा  एक करोडको लागतमा एक सय आठ गौमुखी धारा, महाशिला परिक्रमा गर्ने पदमार्ग, मुख्य गुफा तथा पुरानो संरचना संरक्षणलगायत पूर्वाधार तयार गरिएको छ । 


नेपाल पर्यटन बोर्डमार्फत  ११ लाखको लागतमा ट्रष्ट भवन बनाइएको छभने गाउँपालिकाले पनि विभिन्न संरचना तथा सडक पूर्वाधारमा लगानी गरेको छ । चालु आर्थिक वर्षमा समेत सङ्घीय मन्त्रालयमार्फत डेढ करोड विनियोजन भएको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए ।


उनका अनुसार उक्त बजेटले महाशिला परिसरमा पर्खाल निर्माण तथा आश्रम भवनमा आवश्यक सामग्री खरिदलगायतमा खर्चिने भएको छ । केही वषअघिसम्म आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको महाशिलामा अहिले धार्मिक, आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउन थालेको अध्यक्ष पौडेलको भनाइ छ । 


लुुङ्खुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायत जिल्लाबाट सिधैँ पर्यटक आउने गरेको स्थानीय सरस्वती अधिकारीले बताइन् ।


अधिकारीका अनुसार यो महाशिला एकपटक हिँडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्ने किंवदन्ती छ । एकपटक घुम्दा १० मिनेटभन्दा बढी समय लाग्ने उनले बताइन् । 


‘बाबुबाजेका पालामा पुजारी बसेर पूजापाठ गरे पनि पछिल्लो समय हराउँदै गएकामा स्थानीय महाशिला गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै यसको विकास गर्न थालेका हुन् ।


अहिले यहाँ नियमित पूजापाठ हुने गर्दछ । एसियाकै सबैभन्दा ठूलो भएर पनि उचित प्रचारप्रसार हुन नसकेको यो महाशिला पछिल्लो समय निर्माण गरिएका आकर्षण्क संरचनाले पर्यटक तान्न थालेको अधिकारीले बताइन् । उनका अनुसार यहाँ हरेक एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीयालगायत चाडपर्वमा मेला लाग्ने गर्दछ । 


महाशिला गाउँपालिकाको नामकरण यही शिलाको नामबाट गरिएको हो । एक सय ३० मिटर अग्लो शिला झण्डै १० रोपनी क्षेत्रफलमा फैलिएको छ ।


शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गासमेत दान गरेका छन् । अहिले शिलाको स्वामित्वमा झण्डै २० रोपनी क्षेत्रफल रहेको अध्यक्ष पुष्पराज पौडेलले बताए । 


महाशिला गाउँपालिकाले यसको विकासका लागि ७० करोडको गुरुयोजनासमेत बनाएको छ । गुरुयोजनाअनुसार काम अघि बढाउँदै लगिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए ।


उनले सङ्घ र प्रदेश सरकारसँगको पहलमा गण्डकी प्रदेशकै आकर्षण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए । महाशिलाको दर्शन, अवलोकन र अध्ययनका लागि वार्षिक हजारौँ पर्यटक आउने गरेको उनले बताए ।

आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग शनिबार आफ्नै निवास खुमलटारमा भेटवार्ता गर्दै प्रचण्डले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाई भएको बताएका हुन् ।

नेपालको विकासका लागि देखाउँदै आएको तत्परताका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष प्रचण्डले सन् २०१९ को उनको भ्रमण ऐतिहासिक रहेको बताए ।

त्यस क्रममा धेरै समझदारी भएको उल्लेख गर्दै उनले उच्चस्तरीय भ्रमणका बेलामा भएका सबै समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा बेइजिङ ओलम्पिकको समापनमा र गतवर्ष पनि प्रधानमन्त्री हुँदा चीन भएको उल्लेख गर्दै उनले भने, ‘गत वर्ष मेरो भ्रमणमा धेरै विषयमा एमओयू भएका थिए र ऐतिहासिक महत्वको साझा विज्ञप्ति जारी गरेका थियौं । ती सबै समझदारी कार्यान्वयन गरेर जानुपर्छ भन्ने पक्षमा हामी दृढ छौं ।’

नेपालको आन्तरिक राजनीतिमा केही उतारचढाव आए पनि आफ्नो पालामा दुई देशबीच भएका समझदारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले चीन पनि यसमा प्रतिबद्ध रहने छ भन्ने आफ्नो विश्वास रहेको बताए ।

उनले चीन र नेपालबीचको भौगोलिक अवस्थित प्रतिकूल रहे पनि विज्ञान प्रविधिको उच्चतम प्रयोग गरे दुई देशीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले सिमानाकाहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने, रेलमार्ग निर्माणलाई अघि बढाउने, हवाई सेवा प्रभावकारी बनाउनेलगायत शिक्षा, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा चीन सरकारको सहयोग नेपालले चाहेको बताए ।

आफूहरुले गणतन्त्र स्थापनाका लागि थालेको जनयुद्धका बेलामा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास र माओत्सेतुङका रचनाहरुको धेरै अध्ययन गरेर नेपाली विशेषतासहितको क्रान्ति अघि बढाएको स्मरण गराउँदै उनले अब पनि नेपाली विशेषतासहितको समाजवाद स्थापनाका लागि चिनियाँ समाजवादबाट धेरै कुरा सिक्न आफ्नो पार्टी इच्छुक रहेको बताए ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर आएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्गले दुई देशबीचको मित्रता अझै बढाउनुपर्ने बताए । पहिलोपटक नेपाल भ्रमणमा आएका उनले चीन नयाँ विकासको चरणमा रहेकाले नेपालले पनि चिनियाँ विकासको लाभ लिनसक्ने बताए ।

चीनले अन्य मुलुकसँग सहअस्तित्वमा आधारित सम्बन्ध विकास गर्दै आएको उल्लेख गर्दै सेक्रेटरी छेनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तर पार्टी–पार्टीबीचको सम्बन्धलाई भने महत्व दिने बताए ।

चीनको विकासको मुख्य कारण चिनियाँ कम्युनिष्ट पार्टी भएको उल्लेख गर्दै उनले आफ्नो पार्टीका जुनसुकै नेताले पनि भ्रष्टाचार लगायतका गल्ती गर्दा कारबाही गर्ने गरेकाले चिनियाँ जनताको विश्वास बढ्दै गएको बताए ।

चाडपर्वका बेला पनि विदेशिने क्रम घटेन, असोजमा ५३ हजार बाहिरिए

काठमाडौँ । चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् ।

असोजमा १७ हजार सात सय २४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतारमा, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया गएका छन् ।

यसैगरी, असोजमा युरोपेली मुलुक रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि वृद्धि भएको छ । गत भदौमा ५७ हजार चार सय ९३ जना नेपाली रोजगारीका लागि विदेसिएका थिए ।

फ्रान्सेली विदेश मन्त्री ब्यारोट युक्रेन भ्रमणमा

किएभ । फ्रान्सेली विदेश मन्त्री जीन–नोएल ब्यारोट युक्रेनका लागि फ्रान्सको समर्थन व्यक्त गर्ने दुई दिने युक्रेन भ्रमणका लागि शनिबार किभ आइपुगेका छन् ।

फ्रान्सेली विदेश मन्त्री ब्यारोट किएभमा रहदा समकक्षी एन्ड्री सिबिगा लगायतका व्यक्तिहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

फ्रान्सको इन्टर पब्लिक रेडियोमा बोल्दै विदेश मन्त्री ब्यारोटले भ्रमणको उद्देश्य फ्रान्स कुनै पनि सङ्कटबाट पछि हट्ने छैन भन्ने प्रतिवद्धतासहित युक्रेनको जोखिममा सुरक्षा, खाद्य र ऊर्जा लगायतका विषयमा सययात्रा जनाउनु रहेको उल्लेख गरेका छन् ।

उनले यसअघि रूसद्वारा अपहरण गरिएका युक्रेनी बालबालिकाको विषयमा पनि छलफल गर्ने बताएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेन , जर्मनी, फ्रान्स र बेलायतका नेताहरूले ‘न्यायपूर्ण र स्थायी शान्ति सुरक्षित गर्ने प्रयासमा युक्रेनलाई समर्थन जारी राख्ने’ संकल्प व्यक्त गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी सहयोगीहरूलाई ‘विजय योजना’ प्रस्तुत गरेको केही दिनपछि ब्यारोटको युक्रेन भ्रमण भएको हो ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो पहललाई बढावा दिन वासिङ्टन, पेरिस, बर्लिन, रोम र लन्डनको यात्रा गरिसकेता पनि अझै पूर्ण समर्थन प्राप्त भइसकेको छैन ।

इजरायलद्वारा गाजास्थित इन्डोनेसियाली अस्पतालमा आक्रमण

इजरायल । इजरायली सेनाले शनिबार उत्तरी सहर बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

“इजरायलले अस्पताललाई पूर्ण रूपमा घेरी बिजुली लगायतका सेवाहरु अवरुद्ध गरी अस्पतालका भवनहरुलाई निशाना बनाइ आक्रमण गरेको स्वास्थ्य सेवा निर्देशक मारवान सुल्तानले बताएका छन् । उनका अनुसार आक्रमणका कारण उक्त क्षेत्रका “चिकित्सा कर्मचारी तथा बिरामीहरू गम्भीर जोखिममा रहेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलले अस्पतालका भवनहरुमा लक्षित गरी गरिएको आक्रमणमा “मेडिकल स्टाफका अतिरिक्त ४० जना भन्दा बढी बिरामी घाइते भएका जनाएको छ । अस्पताल क्षेत्रमा भएको खतरनाक आक्रमणले बिरामी तथा स्वास्थ्य कर्मचारीहरूमा ठूलो त्रास निम्त्याएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस महिनाको सुरुमा उत्तरी गाजामा नयाँ आक्रमण सुरु गरेको इजरायलले पुन ; समूहबद्ध भएका हमास लडाकुलाई लक्षित गरेको जनाइएको छ ।

गाजाको नागरिक सुरक्षा एजेन्सीले यस अघि नजिकैको जबालियामा भएको इजरायली हमलामा ३३ जनाको मृत्यु भएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला एजेन्सीले “उत्तरी गाजामा सर्वसाधारणले सामना गरिरहेको डरलाग्दो र खतरनाक अवस्थाबारे चेतावनी जारी गर्दै यहाँका बासिन्दाहरु निरन्तरको आक्रमणका कारण पिडादयी अवस्थाको बीचमा बाँच्न बाध्य रहेको शुक्रबार जनाएकोछ ।

नेतन्याहूको निवासलाई निशाना बनाइ लेबनानबाट ड्रोन हमला

इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

विज्ञप्तिमा नेतन्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको उल्लेख गरिएको छ ।

टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य दुई ड्रोनहरू इजरायलको हवाई सुरक्षाद्वारा खसालिएको थियो ।

इजरायल र हमास बीच चलिरहेको द्वन्द्वको बीचमा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार गाजाका जनतालाई सम्बोधन गर्दै भने, ‘यदि हमासले हतियार छोड्न र बन्धकहरूलाई फिर्ता गर्न सहमत भएमा युद्ध भोलि समाप्त हुन सक्छ ।’

इजरायलले हमास प्रमुख र अक्टोबर ७ मा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिन्वारको हत्या भएको पुष्टि गरेको केही घण्टापछि उनले यस्तो टिप्पणी गरेका हुन् । इजरायली रक्षा बलले बिहीबार सिन्वार र अन्य दुई आतंककारी इजरायलले मारेको खुलासा गरेको छ । 

नेतान्याहुले हमासले हाल गाजामा १०१ जनालाई बन्धक बनाएको खुलासा गर्नु भएको छ जसमा इजरायलसहित २३ वटा विभिन्न देशका नागरिकहरु रहेका छन् ।

माओवादी पार्टीहरुको एकतालाई चाँडै टुंगोमा पुर्याउँछौंः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाँडै टुंगोमा पुर्याउने बताएका छन् ।

माओवादी केन्द्रले चितवनको भरतपुर–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताएका हुन् ।

आफूहरु शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भएपनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने बिषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो विन्दु आएको बताए ।

प्रचण्डले आम जनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने बताए । उनले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनेलगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र यौद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरु बनाएर अघि बढ्ने बताए ।

उनले न्यौपाने जनयुद्धको क्रममा बेपत्ता हुने सबैभन्दा माथिल्लो तहको नेता भएको उल्लेख गर्दै आफूसित अत्यन्त निकट रहेर काम गरेको र निरन्तर नेतृत्व विकासमा जोड दिने गरेको बताए ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए ६४ साल दोहोरिने बताए । जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्दै उनले त्यसका लागि क्रान्तिकारीहरुको एकता आवश्यक रहेको बताए ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको उल्लेख गर्दै अब जनाजीविकाको सवाललाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताए । उनले माओवादी आन्दोलनलाई एकताबद्व गरेर समाजवादी क्रान्तिलाई अगाडि बढाउनुपर्ने बताए ।

सभामुख घिमिरेलाई रास्वपा सभापति लामिछाने पक्राउको जानकारी

काठमाडौँ । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा शनिबार जारी सूचनामा उल्लेख छ ।

चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा जनाइएको छ ।

नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ’ भनी उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि शुक्रबार काठमाडौँबाट पक्राउ गरेको थियो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई सघाउँछौंः उपसभापति अर्याल

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरु विश्वस्त रहेको बताएका छन् ।

रास्वस्पाले शनिबार पोखरामा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा उनले निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका हुन् ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपा सहकारी पीडितका पक्षमा रहेको र दोषीलाई दिन नहुनेमा जोड दिए ।

सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा सङ्गठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान गर्न लामिछानेलाई शुक्रबार पक्राउ गरी पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

सवारी लाइसेन्सका लागि अब ट्रायल पास गरेपछि कार्ड आवश्यक छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने भएकाले अब कार्ड आवश्यक नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुनेछ । सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ। यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ।’

प्रधानमन्त्री ओलीले नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुनेछ । नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको छ । कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौं । राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ ।’

कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ घाइते

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।  


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जिप दुर्घटना उक्त हताहति भएको हो । 


अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ । घाइतेलाई  नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्याइएको छ । क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन ।

सुडानमा ३० लाख भन्दा बढी मानिसहरु हैजाको जोखिममा

खार्तुम । संयुक्त राष्टसङ्घीय बाल कोष (युनिसेफ) ले सुडानमा ३० लाखभन्दा बढी मानिसहरु हैजाको जोखिममा रहेको जनाएको छ ।

युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करिव ३० लाख मानिसहरु हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्समार्फत जनाएको हो ।

युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ ।

द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पतालहरु बन्द रहेको तथा अग्रपङ्क्तीमा रहेर स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य अधिकारीलाई महिनौँ देखि तलव भुक्तानी नगरिएको यसनिसेफले जनाएको छ ।

आन्तरिक द्वन्द्व सुरु भएदेखि हैजा, मलेरिया, र डेङ्गुु ज्वरोजस्ता महामारी रोगहरू फैलिदा सयौँको मृत्यु भएको छ ।

सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रिदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो ।

नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता

–राजु सिलवाल
पुरुष तथा महिलाहरुको क्रिकेटमा आफ्नो बेग्लै पहिचान बनाउन सफल नेपालले नेत्रहीनहरुको क्रिकेटमा पनि सशक्त उपस्थिति जनाउँदै आइरहेको छ । आगामी मंसिर ७ गतेदेखि १८ गतेसम्म पाकिस्तानमा आयोजना हुने चौंथो टि ट्वान्टी नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपालले तयारी गरिरहेको छ । पुरुषहरुको उक्त विश्वकपमा नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुको अन्तिम छनोट यही कात्तिक ४ गते र ५ गते काठमाडौंँमा हुनेभएको छ । छनोट भएका खेलाडीहरुलाई आगामी तिहारपछि बन्द प्रशिक्षणमा राखिने जानकारी नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले दिएका छन् । यसअघि गत असारमा पहिलो चरणको छनोटअन्तर्गत १९ जना खेलाडीहरु छनोट गरिएको थियो । तत्कालीन माओवादी द्वन्दका बेला २०६० सालमा आँखाको ज्योति गुमाउन पुगेका नेपाली सेनाका प्रमुख सेनानी घिमिरेकै सक्रियतामा नेपालमा २०६३ सालमा नेत्रहीनहरुको क्रिकेटको सुरुआत भएको थियो । 


उनले नेत्रहीन क्रिकेट खेलाडी, कप्तान, प्रशिक्षक, अम्पायर तथा नेत्रहीन क्रिकेट सङ्घ नेपालको अध्यक्ष समेत भूमिका निर्वाह गरेर नेत्रहीन क्रिकेटलाई स्थापित गर्न योगदान दिएका छन् । नेत्रहीन क्रिकेटका पाकिस्तानी प्रशिक्षकले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा ३३ जना प्रशिक्षण दिएर नेपालमा नेत्रहीनको क्रिकेटको सुरुवात गरेका थिए । अहिले नेपालमा स्थानीयस्तरदेखि अन्तराष्ट्रिय तहसम्मकै प्रशिक्षकहरु कार्यरत रहेका छन् । यो खेल विभिन्न जिल्लामा विस्तार हुने क्रम जारी रहेको छ । विभिन्न जिल्लामा रहेका दृष्ट्रिविहीनहरुलाई प्रोत्साहनका लागि विभिन्न तहको प्रतियोगिता आयोजना गर्ने गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने गरेको पारा तथा विशेष खेलकुदमा नेत्रहीन क्रिकेटलाई पनि प्रतियोगिताको रुपमा समावेश गर्ने गरिएको छ ।  


नेत्रहीनहरुको क्रिकेटमा विश्वका विभिन्न ११ देशको सहभागिता रहेकामा नेपालको हालको स्थान छैठौं, सातौं हुनु मुलुकका लागि उपलब्धिमूलक नै मान्नु पर्दछ । यी वाहेक अन्य देशका स्कूल कलेजहरुमा पनि नेत्रहीन क्रिकेट खेल्ने गरिएको छ । तर यसको संस्थागत विकास भने हुन सकेको छैन् । नेपाली नेत्रहीन क्रिकेट टिमले सन् २००८ मा पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेलेर आफ्नो अन्तर्राष्ट्रिय सहभागिताको सुरुवात गरेको थियो । त्यतिखेरै नेपाली टिमले पाकिस्तानमा नौ वटा मैत्रीपूर्ण खेल खेलेको थियो । 


नेपालले सन् २०१२ मा भारतको बेङ्गलोरमा भएको नेत्रहीनहरुको विश्वकपमा भाग लिएर विश्वकपमा सहभागिता प्रारम्भ गरेको थियो । त्यसबखत नेपालले पहिलोपटक बङ्गलादेशको टिमलाई पराजित गर्न सफल भएको थियो । भारतको केरलामा सन् २०१६ मा भएको एशियाली नेत्रहीन क्रिकेट प्रतियोगितामा पनि नेपालले आफ्नो सहभागिता जनाएको थियो । यसअघि सन् २०२१ मा भारतमा आयोजना भएको तेस्रो टि ट्वान्टी विश्वकपमा कोरोनाले आक्रान्त पारेको अवस्थामा पनि नेपालले भाग लिएको थियो । त्यतिखेर भारतले उपाधि जितेको थियो । 

नेपालबाटै महिला क्रिकेट सुरु

यहाँ उल्लेखनीय पक्ष के छ भने धेरै सङ्ख्यामा दृष्ट्रिविहीन महिलाहरुलाई क्रिकेटमा समाहित गर्ने मुलुकमा नेपाल अग्रपङ्तिमा पर्दछ । नेत्रहीन महिलाहरुको क्रिकेटको सुरुआत नेपालले नै गरेको थियो । वेलायतमा समेत नेपाली प्रशिक्षककै सहयोगमा नेत्रहीन महिला क्रिकेट सुरु गरिएको थियो । सन् २००९ मै नेपाली महिला टिमले काठमाडौंमा आयोजित मैत्रीपूर्ण खेलमा बेलायतलाई पराजीत गरेको थियो । त्यतिखेर नेपाल सरकारले महिला टिमलाई राष्ट्रिय सम्मान प्रदान गरेको थियो । अब  सन् २०२५ मा भारतमा आयोजना हुने नेत्रहीन महिलाहरुको विश्वकपमा नेपालको पनि सहभागिता रहने लक्ष्य राखिएको छ ।  

मैदानको अभाव 

शारिरीक रुपले सक्षम क्रिकेट खेलाडीहरुको लागि नेपालका विभिन्न स्थानमा क्रिकेट मैदान उपलब्ध भए पनि नेत्रहीन खेलाडीहरुका लागि क्रिकेट मैदानको व्यवस्था हुन सकेको छैन । चाहे अभ्यास गर्दा होस् अथवा कुनै प्रतियोगिता आयोजना गर्नुपर्दा मैदानका लागि नेपाल क्रिकेट सङ्घलगायतलाई गुहार्नु पर्ने अवस्था आउने गरेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदान नेपाल क्रिकेट सङ्घले प्रयोग गरिरहेको छ । सोही सङ्घले प्रयोग गर्ने गरेको मूलपानी क्रिकेट मैदानका लागि पनि सरकारले लगानी गरेको छ । त्यस्ता मैदान नेत्रहीनहरुलाई पनि सहज रुपमा उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित निकायले प्राथमिकता दिनु पर्दछ ।


राष्ट्रिय खेलकुद परिषदको स्वामित्वमा नेपालभर हजारौंं रोपनी जमिन रहेका छन् । कयौं जमिन अतिक्रमणमा परिसकेका छन् । नेत्रहीन क्रिकेट खेलाडीहरुका लागि छुट्टै क्रिकेट मैदानका लागि सरकारले बजेट विनियोजन गर्नु पर्दछ भनेर पटकपटक आवाज उठ्ने गरेको पनि छ । नेत्रहीन क्रिकेट सङ्घ नेपालका पदाधिकारीहरुले नेत्रहीन क्रिकेट र अपाङ्गता खेलकुदका बारेमा बेलाबखत सरकारको ध्यानाकर्षण गर्दै आइरहेका छन् । पछिल्लो पटक युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग सङ्घका पदाधिकारीहरुले छलफल गरेका थिए । 

दृष्टिविहीनहरुले कसरी खेल्छन् ?

दृष्ट्रिविहिन क्रिकेट खेलाडीहरुले आवाजको प्रयोग गरेर क्रिकेट खेल्ने गर्दछन् । नेत्रहीनहरुले क्रिकेट खेल्दा प्रयोग गर्ने हार्ड प्लाष्टिकको बलभित्र रहेका साइकलका बल बेरिङको माध्यमबाट बल बज्ने गर्दछ । त्यही आवाज सुनेको आधारमा आवाजलाई पछ्याउंँदै ब्याटिङ गर्नेले ब्याटिङ गर्दछ भने बलिङ र फिल्डिङ गर्नेले पनि त्यसैलाई पछ्याएर क्रिकेट खेल्ने गरेका छन् । 

सबै नेत्रहीन खेलाडीले देख्छन् कि देख्दैनन् ?

दृष्ट्रिविहीन क्रिकेट खेल्ने सबै खेलाडी पुर्ण दृष्ट्रिविहीन हुँदैनन् । वल्ड ब्लाइण्ड युनियनले मान्यता दिएको वैधानिक दृष्ट्रिविहीनअन्तर्गत क्रिकेटमा तीन प्रकारका खेलाडीहरुले खेल्ने गर्दछन् । जस्तै बी वान जसले पूर्ण रुपमा देख्दैन । बि टु जसले पाँच मिटरसम्म कुनै वस्तु हल्लिएको अनुभव गर्ने तर नदेख्ने तथा ठम्याउन नसक्ने, बि थ्री क्याटगोरीमा २० मिटर दूरीसम्म कुनै वस्तु हल्लिएको तथा चलिरहेको अनुभव गर्दछन् । एक टिममा चार जना बि वान, तीन जना बि टु तथा चार जना बि थ्री क्षमता भएका खेलाडीलाई खेलाउने गरिन्छ । पूर्ण दृष्ट्रिविहिन तथा कम देख्ने क्षमता खेलाडीहरुको समग्रता नेत्रहिन क्रिकेट मानिएको छ । 


सन् १९२२ मा अष्ट्रेलियाबाट नेत्रहीनहरुको क्रिकेटको सुरुवात भएको थियो । तर १०० वर्ष पुगिसकेको अवस्थामा पनि विश्वमा यो खेललाई अझ ब्यापक बनाउन सकिएको छैन । नेपाली नेत्रहीन खेलाडीहरुले अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको अवस्थामा महत्वपूर्ण पदकहरु भित्र्याएर मुलुकको छवि अझ उच्च बनाउन नेत्रहीन क्रिकेट पनि महत्वपूर्ण माध्यम बन्न सक्दछ । तर यसका लागि शारिरिक रुपमा सक्षम क्रिकेट खेलाडीहरुलाई नेत्रहीन क्रिकेट खेलाडीहरुलाई पनि यथोचित सुविधा, यस खेलका लागि सरकारको उच्च प्राथमिकता तथा यथोचित लगानी भने अत्यावश्यक भैसकेको महसुस गरिएको छ ।


(लेखक खलकुद पत्रकारिताका जानकार हुनुहुन्छ । )

पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक

घोडेपानी (म्याग्दी) । अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने पुनहिल–घोडेपानीमा छ महिनामा ११ हजार ६०६ पर्यटकले भ्रमण गरेका छन् । यद्यपि यो गत वर्षको भन्दा कम भएको घोडेपानीस्थित पर्यटक प्रहरी चौकीले जनाएको छ ।

उक्त चौकीका अनुसार गत वर्ष सोही अवधिमा १२ हजार छ सयभन्दा बढी विदेशी पर्यटक उक्त क्षेत्रमा आएका थिए । यो वर्ष ५७ देशका पर्यटक भ्रमणमा आएका छन् ।

पर्यटक आगमनको याम आरम्भ भएकाले कात्तिकमा पर्यटक बढ्ने घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुलीठकुरी पुनले बताए । आन्तरिक पर्यटकका निम्ति १० प्रतिशत छुटको व्यवस्था त्यहाँका होटलले गरेका छन् । पर्यटकको आगमनबाट आफूहरू उत्साहित भएको उनले बताए ।

कोरोना महामारीअघि वार्षिक ७० हजार पर्यटक आउने घोडेपानीमा २०८० मा ३१ हजार र २०७९ मा २६ हजार विदेशी पर्यटक आएका चौकीको अभिलेखमा उल्लेख छ

अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् ।

बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण

नेपालगञ्ज । बाँकेमा यस वर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । अनुकूल मौसम रसमयमा रोपाइँ भएकाले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले बताएको हो ।

केन्द्र प्रमुख विनोद घिमिरेले किसानको मौसम अनुकूल भएकाले धानको उत्पादन बढेको तर यसलाई मापन गर्न ‘क्रस कटिङ’को विधिअनुसार तथ्याङ्क आउनुपर्ने बताए ।

उनले दसैँअघि नै त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताए । ‘हामी फिल्डमा पुग्दा किसान उत्साहित देखिनुहुन्छ, धानको उत्पादन पनि राम्रो भएको देखिएको छ,’ उनले भने ।

जिल्लाको ३४ हजार पाँच सय दुई हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रले जनाएको छ । यसवर्ष प्रति हेक्टर कम्तीमा ४.३ मेट्रिकटन धान उत्पादन हुने उनको अनुमान छ ।

जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ वैजापुर निवासी हरेराम चौधरीले गतवर्ष भन्दा यसवर्ष १५ प्रतिशत धानको उत्पादन बढ्ने बताए । उनले समयमा नै पानी परेको र समयमा रोपाइँ भएकाले धानको उत्पादन बढ्ने तर्क गरे ।

नवलपरासीको कोल्हुवामा सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित राइनो गोल्ड कप सुरु

मध्यविन्दु (नवलपरासी) । दुर्लभ एकसिङ्गे गैँडासंरक्षणका लागि जनचेतना जगाउने ध्येयले नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को कोल्हुवामा सातौँ अन्तरराष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सञ्चालन हुँदैछ ।

मध्यविन्दु नगरपालिका–२ कोल्हुवास्थित राइनो रङ्गशालामा आयोजना हुने प्रतियोगितामा ‘ए’ डिभिजनका तीन वटासहित भारतीय टिमका १२ क्लब सहभागी हुनेछन् ।

खेलकुदका माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या–पर्यटनको वृद्धि गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेलगायतका उद्देश्यले प्रतियोगिता आयोजना गरिएको राइनो क्लबका अध्यक्ष दोमन भण्डारीले बताए ।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्ने प्रतियोगिताको उद्घाटन खेलमा हनामी क्लब र देशभक्त फुटबल क्लब भिड्ने छन् ।

भारतको मणिपुरबाट फुटबल क्लब आमन्त्रित रूपमा खेलमा सहभागी हुने राइनो क्लबका अध्यक्ष भण्डारीले जानकारी दिए ।

यही कात्तिक १४ गतेसम्म हुने प्रतियोगिताको विजेताले उपाधिसहित आठ लाख पुरस्कार हात पार्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको अध्यक्ष भण्डारीले बताए । प्रतियोगिता विसं २०७०देखि सञ्चालन हुँदै आएको छ ।