`

डा. ओम फाउन्डेसनद्वारा महोत्तरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । डा.ओम फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिकास्थित धमौरामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिक्षा तथा समाजसेवी स्व तेजनारायण सिंहको दोस्रो वार्षिक पूण्यतिथिको सन्दर्भमा फाउन्डेसनले शिविर सञ्चालन गरेको हो ।

विशेषज्ञ चिकित्सक, चिकित्सा शास्त्र अध्ययन गरिरहेका विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूको समूहले बलवा नगरपालिकाको ग्रामीण भेगका न्यून आय भएका तथा सीमान्तकृत समुदायका मानिसको मुटुरोग, मधुमेह, उच्च रक्तचाप, कोलस्टोरेललगायतका जाँच गर्नुका साथै अन्य स्वास्थ्य समस्याका बारेमा आवश्यक परामर्श दिएको थियो ।

शिविरमा इको, इसिजी, सुगर जाँच गरी एक महिनासम्मका लागि निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो । शिविरमा स्थानीयवासीलाई खानपान, स्वास्थ्यसम्बन्धी सचेतना गराइएको फाउन्डेशनले जनाएको छ । बुधबार सम्पन्न शिविरमा तीन सय बढीले निशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा आएका ४० वर्ष उमेर समूहका महिलाहरुमा मधुमेहको समस्या देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले बताए । उनले भने,‘‘उहाँहरूमा मोटोपना थिएन, पारिवारिक पृष्ठभूमिमा पनि मधुमेह थिएन, सामान्य खानपान र स्वस्थ जीवनशैली अपनाएका थिए । तथापि, समस्या देखियो ।’’

शिक्षा तथा समाजसेवी स्वर्गीय तेजनारायण सिंहले आफ्नो जन्मस्थान धमौराको शिक्षा, कृषिको विकास तथा न्यून आय भएका तथा सीमान्तकृत समुदायको आयआर्जन बढाउन विभिन्न क्रियाकलाप गरेका थिए ।

उनले २०२७ सालमा आफ्नै जमिनमा विद्यालय स्थापना गरी दुई दशक बढ़ी व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेका थिए । उक्त विद्यालय हाल जनता राष्ट्रिय उच्च माविका रूपमा सञ्चालनमा छ । सो विद्यालयमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । 

सिंहले साना किसानहरूको आयआर्जन बढाउन नगदेबाली तथा आधुनिक खेती गर्न किसानलाई सहजीकरण गरेका थिए । स्वर्गीय पिता तेजनारायणबाट प्रेरित भएर मुटुरोग विशेषज्ञ डा. अनिलले सन् २०२३ मा स्थापना गरेको उक्त फाउन्डेसनले स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणका निम्ति कार्य गर्दै आएको छ । 

उनले बुबा स्वर्गीय तेज नारायण सिंहसँगको सामिप्यता, आमाबुबाप्रतिको समर्पणभाव, पारिवारिक सम्बन्धका बारेमा लेखेको पुस्तक जीवन्त सम्बन्ध ३० हजार बढी प्रति बिक्री भएको छ । सो पुस्तकको बिक्रीबाट प्राप्त रकम फाउन्डेसनमार्फत् स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणका क्षेत्रमा खर्च गर्दै आएका छन् । 

अमेरिका र चीनबीच ‘सहकार्य हुनुपर्ने’ चिनियाँ राष्ट्रपति सीको भनाइ

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा बताएका छन् ।

हालका वर्षहरूमा व्यापारदेखि ताइवानबारे दुई देशका अडानका कारण दुई देशबीचको सम्बन्धमा समस्या उत्पन्न भएको छ ।

‘अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि ट्रम्पलाई पठाएको पहिलो सन्देशमा सीले भने, ‘चीन र संयुक्त राज्य अमेरिकाले सहयोगबाट फाइदा उठाउँछन् र मुठभेडबाट पीडित हुन्छन् भन्ने कुरा इतिहासले देखाएको छ । स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्ध दुवै देशको साझा हितमा छ र यो अन्तर्राष्ट्रिय समुदायको अपेक्षा अनुरूप छ।’

उनले वासिङ्टन र बेइजिङलाई ‘संवाद र सञ्चारलाई मजबुत बनाउन’ र ‘मतभेदको उचित व्यवस्थापन’ गर्न आग्रह गरे । उनले भने, ‘नयाँ युगमा दुवै देश र विश्वलाई फाइदा पुर्याउन विश्वका प्रमुख अर्थतन्त्र चीन र अमेरिकाले ‘सही बाटो’ खोज्नुपर्छ।’

चिनियाँ उपराष्ट्रपति हान झेङले पनि अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्सलाई सन्देश पठाउँदै बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रचार अभियानका क्रममा रिपब्लिकन नेता ट्रम्प र उनकी डेमोक्र्याटिक प्रतिद्वन्द्वी तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस दुवैले बेइजिङसँग कडा कदम चाल्ने नारा दिएका थिए ।

ट्रम्पले अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा ६० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । स्टिमसन सेन्टरका सिनियर फेलो युन सुनले एएफपीसँग भने, ‘नवनिर्वाचित राष्ट्रपतिले अमेरिका र चीनबीचको व्यापारमा केही हदसम्म सन्तुलन मिलाउने लक्ष्य राख्नुभएको छ ।’

उनले भने, ‘सम्झौता गर्नुअघि ‘अधिकतम दबाब’ दिने उहाँको कलालाई ध्यानमा राख्दै, म आशा गर्दछु कि उहाँले विदेशी र खासगरी चिनियाँ सामानमा कर वृद्धि गर्नुहुनेछ ।’

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले बिहीबार ट्रम्पलाई राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिँदै ‘दुवै पक्षले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै हितका लागि सहकार्य’का सिद्धान्तलाई कायम राख्ने विह्वास व्यक्त गरेका थिए ।

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं । चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार बेलुकी सात बजेर पाँच मिनेटमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।

यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज गरिएको छ । उक्त सबस्टेसनमा २२०र१३२ केभी, १६० एमभीएका दुईवटा बैंक गरी ३२० एमभीए र १३२/३३ केभीतर्फ, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्महरू रहेका छन् । आयोजना अन्तर्गतकै त्रिशूली थ्री बी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो ।

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ ।

अनुमानित लागत तीन अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू) को अनुदान रहेको छ । आयोजनामा युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण रहेको छ ।

नेपाल विद्युत प्राधिकरण उच्च भोल्टेज ग्रीड विभागका निर्देशक थर्क बहादुर थापाले प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेकाले त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् जुनसुकैवेला जोड्न सकिने बताए ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा तत्काल चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडिने छ ।

रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । दसैं र तिहारको सार्वजनिक विदामासमेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको थियो ।

२८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था रहेकामा जडान सम्पन्न गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको थियो । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरिएको छ । हेलिकोप्टरबाटसमेत निर्माण सामाग्री ढुवानी गरी टावर निर्माण गरिएको थियो ।

भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गागिट्टी, बालुवा, टावरका सामान, पानीलगायतका निर्माण सामाग्री मानिस या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो,वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध,कोभिड–१९,निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले प्रतिकूल मौसमजस्ता कारणले आयोजनाको निर्माण प्रभावित भएको प्राधिकरणले जानकारी दिएको छ ।

उत्तरगया गाउँपालिका–१ तिरुबाट सोही वडाको सिरुचेतसम्म एक हजार २३५ मिटर लम्बाइमा तार तानिएको छ । मैलुङखोलामाथि पर्ने उक्त खण्ड (मैलुङ क्रसिङ)मा ड्रोनको प्रयोग गरी तार तानिएको थियो ।

प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । कोरियन कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम ब्यहोर्नेछ ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो ।

नेपाल कुवेतविरुद्व ब्याटिङमा

काठमाडौँ । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने भएको छ । 


संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा जारी आजको खेलमा नेपालले टस जितेर कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।


बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । बुधबारको खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।


कुवेत र युएईबीच भएको पहिलो खेलमा युएईले एक सय छ रनको अन्तरले कुवेतलाई हराएको थियो । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

ह्यारिसले दिइन् ट्रम्पलाई बधाई, सत्ता हस्तान्तरणमा सघाउने वाचा

बीबीसी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बाइडन प्रशासन र डोनल्ड ट्रम्पबीच शान्तिपूर्ण ढङ्गले सत्ता हस्तान्तरण गर्न आफूले सघाउने बताएकी छन् ।

वाशिङ्टन डीसीमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले चुनावको परिणामलाई स्वीकार गरे पनि ’चुनावी अभियानलाई बल दिएको लडाइँप्रति हार नमान्ने’ बताइन् ।

उनले आफूले सबै मानिसहरूको स्वतन्त्रता, अवसर, सम्मान र समानताको लागि लडिरहने पनि धारणा राखेकी थिइन् । यसअघि बुधबार ह्यारिस र राष्ट्रपति बाइडेनले राष्ट्रपति–निर्वाचित डोनल्ड ट्रम्पलाई टेलिफोन गरेर निर्णायक जितका लागि बधाई दिएका थिए ।

ट्रम्पको अभियानले संयुक्त राज्य अमेरिकालाई एकताबद्ध बनाउनुको महत्त्वबारे ह्यारिससँग पूर्व राष्ट्रपति सहमत रहेको जनाएको छ । चुनावमा पराजित भएपछि उपराष्ट्रपति ह्यारिसले वाशिङ्टनस्थित आफू अध्ययन गरेको हाउअर्ड विश्वविद्यालयमा एउटा भावपूर्ण सम्बोधन गरेकी थिइन् ।

उनले समर्थकहरूलाई अमेरिकाको ’उज्ज्वल भविष्यका लागि लड्न नछाड्न’ अनुरोध गरेकी थिइन्। उनको अभियानकातर्फबाट समर्थकहरूलाई पठाइएको इमेलमा पनि त्यसमा जोड दिइएको छ । चुनावको परिणाम आफूहरूले चाहेको जस्तो नआएको उल्लेख गरेकी उनले भनिन्, ‘जबसम्म हामीले हार मान्दैनौँ र लडाइ जारी राख्नेछौँ, अमेरिकाप्रतिको आशाको ज्योति सधैँ उज्यालो बल्नेछ। म यो चुनावमा हार स्वीकार गर्छु तर यो अभियानलाई बल दिएको लडाईँमा हार मान्दिनँ।’

पूर्वराष्ट्रपति बराक ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामाले राष्ट्रपति–निर्वाचित डोनल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शुभकामना दिएका छन् ।

ओबामा दम्पतीले आफूहरूले कमला ह्यारिस र उनका उपराष्ट्रपति उम्मेदवार टिम वाल्जप्रति निक्कै गर्व महसुस गरेको पनि उल्लेख गरेका छन्। ती दुईले उल्लेखनीय अभियान चलाएको उनीहरुको भनाई छ ।

ओबामाले महामारी र त्यसपछिको मूल्यवृद्धिले संसारभर यथास्थितिका विरुद्धमा चुनौती खडा गरेको भन्दै अमेरिका पनि त्यसबाट अछुतो नदेखिएको उल्लेख गरे । ती समस्याहरू समाधान गर्न सकिने उल्लेख गर्दै ओबामाले त्यसका लागि एक अर्काको कुरा सुन्नुपर्ने र आधारभूत संवैधानिक सिद्धान्त र लोकतान्त्रिक मान्यताहरू पालना गर्नुपर्ने टिप्पणी गरेका छन्।

तोलामा चार हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा चार हजार रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुन तोलाको एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कार्यभार सम्हाल्न काठमाडौं आइपुगे इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी

काठमाडौँ । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौँ आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नायब शिष्टाचार महापाल लेखनाथ गौतम तथा काठमाडौंस्थित इजरायली दूतावासका कार्यवाहक राजदूत जनान बेबरले स्वागत गरे ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कार्यकालमा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

ट्रम्पको जितले नेपाललाई असर गर्छ ?

डा. युवराज संग्रौला ।
डोनाल्ड ट्रम्पको राष्ट्रपति निर्वाचनलाई लिएर अन्तर्राष्ट्रिय रंङ्गमन्च तरंङ्गित छ । गाजा र युक्रेनमा युद्ध रोकिने छ भन्ने अड्कलहरु गुन्जिरहेका छन्, मूलधार संचारमाध्यम र सामाजिक सञ्जाल दुवैमा । के हुन्छ भन्न सकिन्न तर अमेरिकी जनता ट्रम्पको जित भन्दा डेमोक्रेटिक पार्टीको बहुलठ्ठी शासनप्रति चिन्तित देखिन्छन्, र अमेरिकामा एकातिर कर्पोरेटिष्ट राज्य (निगमवादी पुँजीवाद) र अर्कोतिर ‘डिप स्टेट’ को चंगुल भित्र कठ्यांग्रिने खतरा प्रकट रहेको अनुमान विश्वका धेरै विज्ञको अनुमान छ । यो निर्वाचनले विश्वमा युद्धको खतरा र तनावलाई अझ तेल हाल्नेछ र नेपाल जस्ता देशलाई अझै मुस्किलका दिन आउने छन् । नेपालको दृष्टिकोणबाट हेरौं ।

१. ट्रम्पका आँखा इरानमाथि छन् । उनी इरानलाई नष्ट गर्न चाहन्छन् । गाजामा युद्ध रोक्न इरान ध्वस्त हुनुपर्छ भन्ने मान्यता उनी राख्छन् । नेतान्याहुँ पनि यही चाहन्छ । इरानको आणविक केन्द्र उनीहरुको आक्रमणको बिन्दु हो । त्यसो भयो भने गल्फमा ठूलो संकट सिर्जना हुनेछ । गल्फबाट नेपाल आउने रेमिट्यान्सको श्रोत सुक्न सक्छ । यस्तो कुरामा नीति छलफल गर्ने संस्कार नेपालको राजनीतिमा छैन ।

२. गैरकानुनी ढंगबाट अमेरिका छिरेका नेपालीले दुर्दशा खप्नुपर्ने कुरा टड्कारो छ ।

३. चीनमाथिको ट्यारिफ बढ्ने घोषणा उनले गरेका छन् र उनको अमेरिका फस्ट नीतिले बहुध्रुबीय विश्वको उन्नयनमा चुनौती सिर्जना हुनेछ र अबको समय समग्र दक्षिण र पश्चिमका बीचको शितयुद्ध चर्किने स्पष्ट छ । यी सबै चुनौतीका सामुन्नेमा नेपालले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिको पुनःब्याख्या गर्ने बेला आएको छ । नेपाली राज्यले आफ्नो स्वनिर्णयको क्षमता सुदृढ गर्नुको विकल्प छैन र तेसो गर्न नेपालके आफ्नो अर्थतन्त्रलाई स्वनिर्भर बनाउनुको पनि विकल्प छैन । तर वर्तमान राजनीति नेतृत्वबाट यो मिसन सम्भव देखिंदैन । अतः देशका बौद्धिकले देशका बारेमा नसोच्ने हो भने हाम्रा दुःखका दिन हाम्रो आगत हुनेछ ।

तस्बिरमा नेपालपिक हिमाल

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लोनाक क्षेत्रबाट देखिएको कञ्चनजङ्घा हिमालको नजिकै रहेको नेपालपिक हिमालको दृश्य ।

तस्बिरः दिलकुमार लिम्बू/रासस

व्यावसायिक कोदोखेतीतर्फ आकर्षित हुँदै बराहक्षेत्रका किसान

धरान ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदोखेतीप्रति आकर्षित भएका छन् । यहाँका किसानले हाल धान र मकै लगाउने खेतबारीमा चारैतिर कोदो लगाएका छन् ।

स्थानीय अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा जग्गामा बर्सेनि कोदो रोप्ने गरेको बताए । अरु कृषिबालीको तुलनामा कोदोखेती लगाउन सहज र उत्पादन पनि राम्रो हुने भएको आफू यसतर्फ आकर्षित भएको उनको भनाइ छ । ‘विगत १७ वर्षदेखि कोदोखेती गर्दै आएको थिएँ । पछिल्लो समय यसैबाट घर खर्च पुग्ने गरी यही खेती गरिरहेको छु । व्यावसायिक रूपमा उत्पादन सुरु गरेपछि सन्तोषजनक आम्दानी भइरहेको छ’, विश्वकर्माले भने ।

उनले कोदोको बहुउपयोगिताका कारण पनि किसानहरू यसतर्फ आकर्षित भइरहेको सुनाए । विश्वकर्माका अनुसार कोदोबाट कतिपय किसानले घरेलु मदिरा, तोङ्बा बनाएर बिक्री गरेर लाखौँ आम्दानी गरिरहेका र त्यो नगर्नेहरूले पनि पारिवारिक उपभोग तथा बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् ।

अर्का किसान शान्ता घिमिरेले पनि मकै र धान खेतीमा जोड दिन छोडेर आफू पनि कोदो खेतीमा लागेको सुनाइन् । उनले भनिन्, ‘धान र मकैमा जत्ति दुःख गरिन्छ, त्यसअनुसार उत्पादन हुँदैन । रोग, किरा लागेर कहिलेकाही मेहनत त्यसै खेर जान्छ तर कोदोमा खासै त्यस्तो हुँदैन । पछिल्लो समय रोग लागेको छैन, उत्पादन राम्रो भएको छ । त्यसैले आम्दानी राम्रै हुने गरेको छ । एक कठ्ठा जग्गामा एक सय २० किलोग्रामभन्दा बढी उत्पादन हुने गरेको छ । बिक्रीका लागि समस्या पनि हुँदैन । स्थानीय बजारलगायत इनरुवा, इटहरी, धरानमा बिक्रीका लागि पठाउने गरेकी छु ।’

किसान नारायण विक पनि १६ कठ्ठा जग्गामा कोदोखेती गर्दै आएका छन् । उनी मकै, धानलगायत खेती लगाउन छोडेर यस खेतीतर्फ लागेको पाँच वर्षभन्दा बढी भयो । ‘कोदोखेती गरेर पछुताउनुपरेको छैन । राम्रो आम्दानी भइरहेको छ । कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा, तोङ्बा बनाएर बिक्री गर्दै आएको छु’, विश्वकर्माले भने, ‘कोदो बिक्रीका लागि इनरुवा, इटहरी, धरान जाने गरेको छु । प्रतिकेजी ७० देखि एक सयमा बिक्री हुन्छ । तोङ्बा बनाएर एक सय ५० मा एक तोङ्बा बिक्री हुन्छ भने कोदोको रक्सी एक बोतलको दुई सयमा घरैबाट बिक्री हुन्छ । त्यसैले कोदो उत्पादन गर्न सक्यो भने राम्रो आम्दानी हुन्छ ।’ उनी कोदोखेती गर्ने किसानलाई स्थानीय तथा प्रदेश सरकारले आर्थिक अनुदान र प्रोत्साहन गर्नसके थप सहज हुने बताउँछन् । कम्तीमा बीउ मात्रै उपलब्ध गराए पनि किसानलाई सहयोग पुग्ने विश्वकर्माको भनाइ छ ।

हाल बराहक्षेत्र-६ मा मात्र १५ परिवारभन्दा बढी कोदोखेती गर्ने किसान रहेका छन् । स्थानीय अर्जुन विष्टले कोदोखेतीतर्फ राम्रो प्रगति भएको सुनाए । सुनसरीमा हाल चार सय ५८ हेक्टर क्षेत्रफलमा कोदोखेती हुदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या समग्रमा घट्नै गएको र त्यसले मूल्य वृद्धि हुँदा हाल यसमा लागेका किसानले राम्रो आम्दानी गरेको छ । ‘कोदोमा धुसिजन्य रोग लागेन भने सुनसरीमा कोदोको उत्पादन राम्रो हुने गरेको छ । पछिल्लो समय कोदोबाट विशेष गरी घरेलु मदिरा, तोङ्बा र पिठो बनाएर प्याकेजिङ गरेर बिक्री गर्ने गरेकाले राम्रो आम्दानी भइरहेको हो’, सूचना अधिकारी श्रेष्ठले भने ।

धरान उपमहानगरपालिकाका वडा नं ४, ५, ६ र २० र बराहक्षेत्र नगरपालिकाका वडा नं १, ६ र ५ लगायतका ठाउँहरूमा बढी कोदोखेती हुने गरेको छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, भिटामिन बी, टिप्टोफेन, एन्टिअक्सिडेन्टलगायतका थुप्रै तत्व पाइनाका साथै कोदोको पिठोको प्रयोगले मुटुसम्बन्धी रोग नियन्त्रणसँगै पेटलाई स्वास्थ्य बनाउने भएकाले यसलाई राम्रो बाली मानिन्छ ।

यस्तो छ ‘ह्रस्व दीर्घ’को ट्रेलर

काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको प्रेम सम्बन्धमा आउने उतार–चढाव नै फिल्मको कथावस्तु हो ।

देवधाममा राज गरेका बसेका महामन्थ (प्रदीप रावत)की छोरी नारायणी (नीता)सँग हरि (हरिहर)को प्रेम अंकुराएको छ । तर, हरिहरको गरिमा शर्मासँग पनि प्रेम बसेको खुलेपछि उत्पन्न परिस्थितिलाई ट्रेलरमा चित्रण गरिएको छ ।

हरिहर रोमान्टिक र एक्सन अवतारमा प्रस्तुत छन् । अभिनेत्री विपना थापाले हरिहरकी आमाको भूमिका निभाएकी छन् । साउथ अभिनेता ब्रह्मानन्दम नीताको मामाको भूमिकामा देखिएका छन् भने ‘पुष्पा’ भिलेन सुनिल बर्मा नकारात्मक भूमिकामा प्रस्तुत छन् ।

साउथका कलाकारहरु अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा, आदर्श मिश्र लगायतलाई पनि ट्रेलरमा स्थान दिइएको छ । नीता फिल्म्सले निर्माण गरेको यो फिल्म कात्तिक ३० गते नेपाल र भारतमा समेत रिलिज हुँदैछ ।

छठका लागि झकिझकाउ कमलपोखरी(फोटोफिचर)

काठमाडौं । छठ पर्वको रौनक यतिबेला काठमाडौं उपत्यकामा पनि बढेको छ । काठमाडौँ उपत्यकाकाभित्रका विभिन्न नदी यतिबेला झिलीमिली पारिएका छन् ।

छठ पर्व मनाउन महानगरपालिकाले नदी सफाइ र पालको व्यवस्था गरेको छ । यस वर्ष काठमाडौँ महानगर क्षेत्रभित्र ८ स्थानमा छठ पर्व मनाउने व्यवस्था मिलाइएको छ । महानगरले गौरीघाट, कोटेश्वर दोभान, कमलपोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब, र भुवनेश्वरी मन्दिरमा छठ मनाउने व्यवस्था मिलाएको छ ।

सूर्यसँग मानवसहित प्राणी जगतको सम्बन्धमा आधारित सांस्कृतिक पर्व छठका लागि काठमाडौँ महानगरपालिका वडा नम्बर १ मा रहेको कमलपोखरी श्रद्धालुहरुको उपासनाका लागि तयार गरिएको छ । बत्तीको उचित व्यवस्थापन गरेर आकर्षक बनाइएको छ । छठ पूजाका लागि यसरी सिंगारिएको छ कमलपोखरी

तस्बिरः काठमाडौं महानगरपालिका

प्रधानमन्त्रीको चीन भ्रमण तयारीको नेतृत्व आरजुले गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीको संयोजनको जिम्मा परराष्ट्रमन्त्री डा. आरजु राणालाई दिइएको छ ।

मंगलबार बसेको कांग्रेस एमालेको दुई दलीय राजनीतिक संयन्त्रको बैठकले प्रधानमन्त्रीको चीन भ्रमणको तयारीको संयोजनको जिम्मेवारी परराष्ट्रमन्त्री राणालाई दिइएको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने । दुई नेताको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजिकरण गर्ने ।’

चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७–२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका छन् ।

उपनिर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा खटायो केन्द्रीय नेता

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा समन्वय गर्न र पार्टीका उम्मेदवारलाई विजयी बनाउन नेताहरुलाई जिम्मेवारी तोकेको छ ।

बुधबार महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले उप–निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी तोकेको हो ।

कांग्रेसले बागमती प्रदेशमा महालक्ष्मी उपाध्याय ‘डिना’, कोशी प्रदेशमा भीष्मराज आङ्दम्बे, मधेश प्रदेशमा महेन्द्र यादव, कर्णाली प्रदेश एवं गण्डकी प्रदेशमा जीवन परियार, अन्तर पार्टी समन्वय गर्न डा. प्रकाशशरण महत, सुदूरपश्चिम प्रदेशमा एनपी. साउद, लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वयमा पुष्पा भुसाल, प्रचार प्रसार संयोजनमा मीन विश्वकर्मा, स्थानीय तह समन्वयमा मधु आचार्य र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी तोकेको छ ।

बैठकले उप–निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन सम्पूर्ण एकता, सालिनता र सकृयताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ ।

सरकारलाई सघाउन कांग्रेस-एमालेले बनाए आठ सदस्यीय संयन्त्र

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले सरकारलाई सफल बनाउन आठ सदस्यीय संयन्त्र बनाएका छन् । दुई दलका तर्फबाट चार–चारजना सदस्य रहने गरी दुई दलले संयन्त्र बनाएका हुन् ।

संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा रहेका छन् ।

त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सरकारका कामलाई प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि संयन्त्र निर्माण गरेको जानकारी दिए । यस्तो संयन्त्र केन्द्र, प्रदेश र जिल्लासम्म बन्नेछ ।

सरकार निर्माणका बेला भएको संविधान संशोधनलगायत सात बुँदे सहमति कार्यान्वयन र सरकारको साझा न्यनुतम कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यानवयनमा लैजान भूमिका खेल्ने नेताहरुको भनाइ छ ।

विश्वकपको एसिया छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगतामा सुखद सुरुवात गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद सुरुवात गरेको हो ।

नेपालले प्रस्तुत गरेको एक सय तीन रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि रचनाकुमारी चौधरी एक्लैले चार विकेट लिइन् भने कप्तान पूजा महतो र रिया शर्माले समान दुई/दुई विकेट लिए । त्यसैगरी करिश्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय दुई रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि पूजा महतोले सर्वाधिक ३५ रनको योगदान दिइन् । उनले ४० बलमा तीन चौका र एक छक्काको मद्दतले ३५ रन जोडेकी हुन् । यसैगरी सीमाना केसी र सोनी पाख्रिनले समान १९/१९ रन बनाए ।

थाइल्यान्डका लागि चारुकन साइमाले दुई तथा सुनिसा बोङ्कोडफोंगम्पाईले एक विकेट लिइन् । यही कात्तिक २९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । नेपालले भोलि आफ्नो दोस्रो खेल कुवेतसँग खेल्नेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

कतारको संविधान संशोधन परियोजना जनमत सङ्ग्रहबाट स्वीकृत

दोहा । कतारको संविधान संशोधन परियोजना राष्ट्रिय जनमतसंग्रहबाट स्वीकृत भएको सरकारी समाचार एजेन्सी क्युएनएले बुधबार जनाएको छ ।

आन्तरिक मन्त्री तथा जनमत संग्रह समितिका अध्यक्ष शेख खलिफा बिन हमद बिन खलिफा अल थानीको नेतृत्वको जनमत सङ्ग्रह समितिले सन् २०२४ का लागि देशको स्थायी संविधान संशोधनको मस्यौदामा जनमत सङ्ग्रहको परिणाम स्वीकृत गर्ने घोषणा गरेको हो । थानीले जारी गरेको विज्ञप्तिअनुसार कतारको संविधानको संशोधनको परियोजनाले कुल वैध मतको ९०.६ प्रतिशत लोकप्रिय स्वीकृति पाएको छ ।

यसअघि गत अक्टोबर २९ मा कतारका अमिर शेख तमिम बिन हमद अल–थानीले १८ वर्ष वा सोभन्दा माथिका सबै नागरिकलाई जनमत सङ्ग्रहमा सहभागी हुन आह्वान गर्दै आदेश जारी गरेका थिए ।

कतारी समाजका विभिन्न वर्गहरूबिच एकताको समावेश गरेको यस राष्ट्रिय कार्यक्रममा प्राप्त सफलताहरूको कदर गर्दै जनमतसङ्ग्रह समितिले बुद्धिमान् नेतृत्व र उदार कतारी जनतालाई धन्यवाद दिएको छ ।

क्युएनएको अघिल्लो रिपोर्टका अनुसार पछिल्लो संवैधानिक संशोधनले कतारको आन्तरिक र विदेश नीति ढाँचामा महत्वपूर्ण अद्यावधिक प्रस्तुत गरेको छ जसमा विधायी सीटहरूका लागि सीमित मतदान समाप्त गर्ने कि नगर्ने भन्ने उल्लेख छ । 

इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन राष्ट्रसङ्घ समक्ष इजिप्ट र टर्कीको माग

कायरो । इजिप्ट र टर्कीको नेतृत्व तथा दर्जनौं देशहरूको समर्थनमा संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायलमाथि हतियार प्रतिवन्धको आवाह्न गरिएको छ । पछिल्लो समयमा लेबनानमा हेजबुल्लाहविरुद्धको चरम युद्ध भइरहेको अवस्थामा यस्तो आह्वान आएको हो ।

इजिप्टको विदेश मन्त्रालयले  जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मानवीय कानूनको निरन्तर उल्लङ्घन रोक्न इजरायललाई दबाब दिने अन्तर्राष्ट्रिय प्रयासको एक हिस्साको रूपमा यस्तो आह्वानमा सामेल भएको जनाएको छ ।

आर्यान्वयनले प्यालेस्टिनीविरुद्धको ‘इजरायली दमन रोक्ने र नागरिकहरूको सुरक्षा गर्ने लक्ष्य राखेको’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अङ्काराले इजरायललाई हतियार आपूर्ति रोक्न आह्वान गर्दै ५२ देशहरूले हस्ताक्षर गरेको पत्र पेस गरेपछि राष्ट्रसङ्घका लागि इजरायली राजदूत ड्यानी डेननले सोमबार टर्कीलाई ‘यड्यन्त्र’ गरेको आरोप लगाएका छन् ।

इजिप्ट सन् १९९७ मा इजरायलसँग शान्ति सन्धिमा हस्ताक्षर गर्ने पहिलो अरब देश थियो भने सन् १९९४ हस्ताक्षर गर्दै शान्ति सन्धिमा सहमति जनाउने जोर्डन दोस्रो अरब मुलुक बनेको थियो ।

७२ अर्बका पाँचवटा आयोजनाको तयारी ‘फास्ट ट्र्याक’मा गरिने

काठमाडौँ । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब बराबरका पाँचवटा आयोजनाको तयारी ‘फास्ट ट्रयाक’मा गरिने भएको छ ।

अर्थ मन्त्रालयमा मंगलबार बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो ।

यसैगरी तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशिलताका लागि डिजिटल सेवा रुपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्र्याकमा गर्ने निर्णय भएको छ ।

विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्व तयारी गर्नेछन्, भने आवशयकता अनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ ।

बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुङ्गो लगाइ पूर्व तयारीका काम सक्ने निर्णय भएको छ । तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्ताव पेस गरिने योजना छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाको पूर्व तयारीमा विशेष ध्यान दिन र आयोजनाहरु स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न निर्देशन दिए । उनले नेपालले आफ्नो आवश्यकता अनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने बताए ।

बैठकमा अर्थ मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि र सम्बद्ध पदाधिकारीको उपस्थिति थियो ।

आशामै बित्यो रोशीका बाढीपीडितको एक महिना

पेमा लामा, धुलिखेल । अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका–१२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आएकी छन्। ‍भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही गरिदिन्छ कि भन्ने आशामा बस्दै दिनगन्ती गरेको एक महिना पनि बढी भयो।

राज्यले बासस्थान बनाइदिने भन्ने कुराले मनमा आशा पालेर बसेका बाढी, पहिरोपीडितको एक महिना त्यतिकै बितेको छ। अहिलेसम्म उचित व्यवस्थापनसमेत नगरेको उनको गुनासो छ।

पाँच रोपनी जग्गामा लहलह झुलेको धान सबै सखाप हुनेगरी नजिकै रहेको घरबारसँगै बाढीले बगाएपछि अहिले उनीहरु छिमेकीको घरमा रात बिताउँदै आएका छन्। ‘बाढीले ल्याएर थुपारेको ढुङ्गा, दाउरा र काठ पन्छाएर भए पनि अन्न फलाउने खेत त बनाउनै पर्‍यो’, यत्रतत्र छरिएका काठ र दाउरा टिप्दै उनले भनिन्, ‘आफ्नो भएको जग्गा नै यही हो, अरू विकल्प केही छैन।’

खाद्यान्न चाहिँ अलिअलि पाइरहेको र केही दिनअगाडि जस्तापाता बाँडेकाले लिएर राखेको उनले सुनाइन्। सरकारले छिट्टै बास बस्ने ठाउँको उचित व्यवस्थापन गरिदिए बाढीले बगाएर खोलासँगै धमिलिएको मन केही भए पनि सफा हुने उनी बताउँछिन्।

बाढीले ढलाएको घर हेर्दै खोलाको बगरमाथि त्रिपालमा सुकाएको धान सफा गरिरहेकी माथिल्लो रोशी बजारका मनकुमारी तामाङले खाने र बस्ने स्थानको सुनिश्चितताको आशामा दिन बितिरहेको बताइन्। पनौतीमा कोठा लिएर बस्दै आएका उनीहरु बस्ने घर नै नभएपछि त्यहीको नजिक रहेको जस्ताको सानो टहरामा धान भित्र्याउने सुरसारमा छन्।

‘सधैँ त कोठा लिएर बस्न सकिँदैन’, उनले भनिन्, ‘अब कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको छ।’ खेती किसानी गरेर जीविको चलाउँदै आएकि र परिवारको आम्दानीका रुपमा रहेको फर्निचरसमेत घरसँगै बाढीले बगाएपछि एक महिनादेखि कष्टकर जीवन बिताइरहेको उनले सुनाइन्।

अर्का स्थानीय बासिन्दा मैना तामाङले घर ढलेको पीरसँगै खल्लो गरी बिताएको दसैँ, तिहार सकिए पनि घरबार र खाने कमाउने कुनै टुङ्गो नभएको सुनाइन्। सोही ठाउँका नवराज गुरुङ गाउँका युवाहरुलाई ज्यालामा लगाएर बाढीले थुपारेको गेग्रानहरु पन्छाउन थालेका छन्। यसअघि खोलाको बाढी र काम गर्ने मान्छे पनि नपाएको अवस्था रहेकामा विस्तारै पुरिएको बासस्थान व्यवस्थित गर्न थालेको उनले बताए।

दुईतले घर बगाएपछि बिचल्लीमा रहेको शङ्कर तामाङ छिमेकीको घरमा बस्दै आएका छन्। बस्ने घर बनाउन पैसा नै नभएको र खाने अन्नपात सङ्घसंस्थाले वितरण गरेकाबाट चलाइरहेको उनी राज्यले सुरक्षित बस्ने ठाउँको व्यवस्थापन गरिदिने आशामा रहेको बताउँछन्।

सोही गाउँका रवीन्द्र नगरकोटीले बाढी, पहिरो गएको एक महिना बितिसक्दा पनि के कस्तो समस्या छ र खाने बस्नेको अवस्था के कस्तो छ भनेर स्थानीय सरकार एकपटक पनि सोध्न नआएको गुनासो गरे। सबै चीज बगाएपछि बालबालिकाको पढ्ने ठाउँ र बस्ने स्थानको सुनिश्चित नहुँदा समस्यामा परेको उनको भनाइ छ ।

स्थानीय राजेन्द्र केसीले व्यक्तिको घरबारी र खेत सबै बगाएपछि बिचल्लीमा परेका नागरिकलाई सुरक्षित ठाउँमा आवासको व्यवस्थापन गर्न अपरिहार्य रहेको बताए। ‘विपद्पछि उद्धार र राहतसँगै बाटोघाटो त बन्यो, तर उहाँहरुलाई त्यसले खासै छोएको छैन’, उनले भने, ‘सुरक्षित तरिकाले बस्ने आवास छैन, कमाई खाने ठाउँ छैन। राज्यले यहीको भूगोललाई छनोट गरेर एकीकृत रुपमा बस्ने आवासको व्यवस्थापन गर्न आवश्यक छ। बस्ने घर नै नहुँदा बालेको बिजुली, पुर्‍याएको मोटरबाटो र खानेपानी कसरी उपभोग गर्ने?’

पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसी यहाँका नागरिकका लागि बगरमा बाढीको र डाँडापाखामा पहिरोको डर भएकाले व्यवस्थित एवं एकीकृत बस्ती विकासतर्फ सरकारको ध्यान जानुपर्ने बताउँछन्। बासस्थानका लागि उचित ठाउँको अभाव भएको कारण तिहारपछि जनप्रतिनिधिको बैठक बसेर आवास व्यवस्थापनका लागि आवश्यक कदम चाल्ने उनले बताए। यस पटकको बाढीपहिरोबाट यस वडामा पाँचजनाको मृत्यु भएको र तीन सयभन्दा बढी घरमा पूर्ण क्षति भएको छ।

त्यस्तै, ७० भन्दा बढी गाईभैँसी, पाँच हजारभन्दा बढी कुखुरा र दुई सयभन्दा बढी खसीबोका पुरिएको छ। अझै विवरणहरु सङ्कलन भइरहेको र सडक, विद्युत्, खानेपानीलगायत कामलाई व्यवस्थित गर्दै अगाडि बढिरहेको वडा कार्यालयले जनाएको छ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पहिलो आवश्यकता आवास भएकाले त्यसको आवश्यक व्यवस्थापन गर्ने कार्यमा जोड दिइएको बताए। उनले भने, ‘बस्ने ठाउँको व्यवस्थापन गर्न सकेको अवस्थामा बस्तुभाउ पालेर पुनः जीवनयापनलाई बिस्तारै पुरानै लयमा फर्काउन सकिनेछ।’ उनले यस खालको विपद् फेरि पनि सहन नपरोस् भन्नका लागि पनि राज्यले सुरक्षित रुपमा बसोबासको व्यवस्थापन गर्न सङ्घीय सरकारबाट नै सहयोग आवश्यक रहेकामा जोड दिए।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तत्कालका लागि खाद्यान्नलगायत आवश्यक व्यवस्थापनका लागि विभिन्न सङ्घसंस्थाहरुले वितरण गर्ने नगद सहयोगमा वितरणमा पाँच जनासम्मको परिवार भएकालाई रु १५ हजार र त्यसभन्दा बढी भएको परिवारलाई रु २० हजारका दरले एकरुपता हुने गरेर वितरण गर्ने निर्णय भएको जनाए।

बासस्थान निर्माण गर्ने विषयमा जोखिमयुक्त बस्तीको भौगोलिक अवस्था अध्ययनका लागि राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ।

विपद्पछिको एक महिनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), गृहमन्त्री रमेश लेखक, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतले बाढीपहिरो प्रभावित क्षेत्र पनौती–१२ रोशी बजार क्षेत्र कलाँती भूमिडाँडाको स्थलगत निरीक्षण गरिसकेका छन्।

इजरायलको राजदूतमा पण्डित नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्रा धनप्रसाद पण्डितलाई नियुक्त गरेका छन् ।

नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । 

ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित

बीबीसी । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

ट्रम्पले कम्तीमा २ सय ७७ इलेक्टोरल मत पाउने निश्चित भएको हो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ मतमध्ये कम्तीमा २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ ।

ट्रम्पलाई विश्वभरका नेताहरुको बधाई

बीबीसी । विश्वका नेताहरूले डोनल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति बन्ने निश्चित भएकोमा बधाई दिन थालेका छन् । मतपरिणामको प्रक्षेपणका आधारमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प पुनः राष्ट्रपति निर्वाचित हुने देखिएको छ ।

त्यसलाई उनले ‘ऐतिहासिक चुनावी जित’ भनेका छन् । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले डोनल्ड ट्रम्पलाई बधाई दिँदै भनेका छन्, ‘आगामी वर्षहरूमा म तपाईँसँग काम गर्न तयार रहेको छु।’ स्टार्मरले ‘सबैभन्दा नजिकको साझेदारका रूपमा’ स्वतन्त्रता र लोकतन्त्रका ‘साझा मूल्य’ रक्षाका लागि ट्रम्पसँग ’काँधमा काँध’ मिलाएर खडा हुने विश्वास व्यक्त गरेका छन् ।

उनले आगामी वर्षहरूमा सुरक्षा, नवप्रवर्तन, प्रविधिलगायतको विकास र सुरक्षाका विषयमा बेलायत र अमेरिकाको ‘विशेष सम्बन्ध’ थप विस्तार हुने ठानेको जनाएका छन् । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले पनि ट्रम्पलाई बधाई दिएका छन् ।

उनले भनेका छन्, ‘तपाईँको ऐतिहासिक पुनरागमनका लागि बधाई ! ह्वाइट हाउसमा तपाईँको फिर्तीले अमेरिकाका लागि नयाँ सुरुवात र इजरेल तथा अमेरिकाबीचको महान् साझेदारीको शक्तिशाली पुनः प्रतिबद्धतालाई दर्शाउँछ।’

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफूले अमेरिका–युक्रेन साझेदारीको ‘दरिलो युग’को पर्खाइमा रहेको बताउँदै रुसविरुद्धको युद्धमा लगातारको अमेरिकी सहयोगका लागि आशावादी रहेको जनाएका छन् ।

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले युरोपको हितको रक्षा गर्दै ट्रम्पसँग “सम्मान र महत्वाकांक्षा“का साथ काम गर्न तयार रहेको बताएका छन् ।

हङ्गेरीका दक्षिणपन्थी राष्ट्रपति भिक्टर ओर्बानले ‘विश्वका लागि अति आवश्यक विजय’ भनेका छन् । ताजा विवरणअनुसार डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल कलेज मत मात्र नभई कुल मत वा कुल लोकप्रिय मतमा पनि जित्ने प्रक्षेपण गरिएको छ ।

सन् २०१६ मा उनले पहिलोपल्ट राष्ट्रपति निर्वाचन जित्दा लोकप्रिय मतमा भने हिलरी क्लिन्टन अगाडि थिइन् । पछिल्लो आँकडामा ट्रम्पले ६ करोड ९० लाखभन्दा धेरै मत पाएका छन् भने कमला ह्यारिसले ६ करोड ३७ लाखभन्दा धेरै मत पाएकी छन्। मतगणना अझै जारी छ।

ह्वाइट हाउसमा फर्किएपछि उनले इतिहासमै सबभन्दा धेरै आप्रवासीलाई देशनिकाला गर्ने, वैदेशिक व्यापारमा थप शुल्कहरू लगाउने अनि युक्रेन र मध्यपूर्वका युद्ध अन्त्य गर्ने वाचा गरेका छन्।

नेपालले थाइल्याण्डबिरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत अहिले नेपालले थाइलैन्डबिरुद्ध ब्याटिङ गरिरहेको छ । थाइल्याण्डले टस जितेर फिल्डिङ राजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो ।  

आजदेखि सुरु छनोटको खेलमा नेपालले आजै थाइल्यान्डको सामना गर्दैछ । युएईको अजमानस्थित द सेभेन डिस्ट्रिक्ट स्टेडियममा नेपाल र थाइल्यान्डबीचको खेल नेपाली समयनुसार दिउँसो ३ः१५ मा हुनेछ । 

युनाइटेड अरब इमिरेट्स (युएई) मा आजदेखि सुरु भएको उक्त प्रतियोगिता यही कात्तिक २८ गतेसम्म चल्ने छ । प्रतियोगितामा नेपालसहित युएई, कुवेत र थाइल्यान्ड सहभागी छन् । 

प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन् । नेपालले आफ्नो दोस्रो खेल यही कात्तिक २२ गते कुवेतसँग खेल्ने छ । प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ । 

एसिया छनोट खेलिरहेको नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), ज्योत्सिन्का मरासिनी, कृश्मा गुरुङ, सावित्री धामी, साना प्रवीण, कुसुम गोदार, सीमा केसी, एलिसाकुमारी यादव, मनिषाकुमारी उपाध्याय, रिया शर्मा, स्नेहा महरा, रचनाकुमारी चौधरी र तृष्णा विश्वकर्मा रहेका छन् ।

लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिमलाई यु-१९ राष्ट्रिय क्रिकेटको उपाधि

काठमाडौं । नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । लुम्बिनी प्रदेशलाई आठ रनले हराउँदै सुदूर च्याम्पियन बनेको हो ।

बुधबार सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा विकेट गुमाउँदै ११९ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि कप्तान आकाश त्रिपठीले ४४ बलमा २२ रन बनाए। विजय कोहर १९, सन्तोष यादव १२ रन बनाउँदा समीर अली मुस्लिमले १८ रन बनाए ।

यस्तै, शिव कुँवर २० रनमा अविजित रहे पनि लुम्बिनीको हार टार्न सकेनन् । सुदूरपश्चिमको जितमा हेमन्त धामीले चार विकेट लिए। सचिन भट्ट दुई र नरेन साउद दुई विकेट लिए।

अशोक धामीको नामा एक रह्यो । त्यसअघि विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ३७.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।

सुदूरपश्चिमाका लागि अभिषेक थापाले २९, नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४ र दीपक रोकायाले ११ रन बनाए । लुम्बिनीका लागि सन्तोष यादवले १० ओभरमा दुई मेडनसहित २८ रन खर्चिएर पाँच विकेट लिए।

यसैगरी रमेश कुर्मीले तीन र शिव कुँवरले एक विकेट हात पारे । समूह चरणबाट लुम्बिनी शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन्।

रौतहटमा जङ्गली हात्तीले गर्‍यो धान र केराखेती नष्ट

चन्द्रपर  ।  रौतहटका गाउँमा जङ्गली हात्ती पस्न थालेपछी स्थानीय त्रसित भएका छन् । जङ्गली हात्ती गाउँ छिरेपछि अहिले जिल्लाको गुजरा, वृन्दावन र चन्द्रपुर नगरपालिकाका स्थानीय त्रसित बनेका हुन् ।

हात्तीले भित्र्याउने बेलाको धान नष्ट गर्न थालेपछी किसान चिन्तित छन् । गत आइतबार मात्रै रौतहटको गुजरा नगरपालिका–२ को चोचा, मैरालगायत गाउँमा हात्तीले भित्र्याउने बेला भएको धानबाली नष्ट गरेको थियो ।

करिब पाँच बिघाभन्दा बढी खेतमा लगाइएको धानबाली हात्तीले नष्ट गरेको गुजरा–२ का वडाध्यक्ष अशोककुमार चौधरीले जानकारी दिए । हात्तीले लक्ष्मी चौधरी, रामविश्वास चौधरी, जगदीश माझी, खहेरु साहलगायत स्थानीयको धान नष्ट गरेको उनले बताए।

केहीदिनअघि मात्रै चन्द्रपुर नगरपालिका–२ वनटोलमा जङ्गली हात्ती पसेर धान तथा उखुबाली नष्ट गरेको थियो । बिहानै धानबारीमा हात्ती देखेपछि स्थानीय त्रसित भएका थिए । हात्तीले वनटोलको धान तथा उखुबाली पूर्ण रुपमा नष्ट गरेको स्थानीय बाबुराम घिसिङले जानकारी दिए।

चन्द्रपुर–३ गैँडाटारमा हात्तीले केराखेतीमा क्षति गरेको छ । गाछी टोलमा दर्जनौँ हात्ती केरा बारीमा प्रवेश गरी क्षति पुर्‍याएको स्थानीय गोपाल फुँयालले जानकारी दिए। सो गाउँको एक बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेती हात्तीले नष्ट गरेको उनले बताए।

त्यसैगरी वृन्दावन नगरपालिका–१ बलेरी क्षेत्रमा पनि जङ्गली हात्तीको आतंकले स्थानीय त्रसित बनेका छन् । साँझ पर्ने बित्तिकै सधैँ गाउँ आउने जङ्गली हात्तीको समूहले किसानको धानबालीमा क्षति पुर्याउन थालेपछी स्थानीय चिन्तित बनेका हुन् ।

स्थानीय सुरेन्द्र पटेलका अनुसार श्री भगवान् ठाकुर, ठाकुर राउतसहित दर्जनौँ किसानका खेतमा लगाइएको धान हात्तीले नष्ट गरेको छ । उक्त गाउँका बासिन्दा हात्तीका कारण रातभरि जाग्राम बस्न बाध्य छन् ।

गत साता मात्रै फतुवा विजयपुर–११ बुटुवा राँगीमा हात्तीको आक्रमणबाट पातलीमाया तामाङको ज्यान गएको थियो । गत शुक्रबार बिहानै फतुवा विजयपुर–११ राँगीमा बस्ने ७० वर्षीया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा तामाङको ज्यान गएको थियो । जङ्गली हात्तीले एक्कासि घरमाथि आक्रमण गर्दा मृतकका श्रीमान् भागेर ज्यान बचाउन सफल भएका थिए ।

धान पाक्ने बेला भएपछि पर्सा राष्ट्रिय निकुन्जबाट बर्सेनि हात्ती रौतहटको गैँडाटार, जुडिबेला, पौराई, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जङ्गलसहिया गाउँ, वृन्दावनको बलरी, फतुवा विजयपुर नपाको राँगी बुटुवालगायत गाउँमा पस्ने गर्दछन् । हात्तीले खासगरी उखु, धान, केराखेतीमा क्षति पुर्‍याउँदै आएका छन् । गतवर्ष मात्रै हात्तीको आक्रमणबाट चन्द्रपुरमा घाँसदाउँरा गर्न गएका दुईजना महिलाले ज्यान गुमाएका थिए । हात्ती आतङ्कले गर्दा यहाँका नागरिक घाँसदाउँरा गर्न जङ्गल जानसमेत छाडेका छन् ।

हात्तीले क्षति पुर्‍याएकाको परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने निर्णय गरेको छ । डिभिजन वन कार्यालयमा हात्तीले क्षति पुर्‍याएका पीडितपरिवारले राहतका लागि निवेदन दिएका छन् ।

हालसम्म करिब २० जनाले राहतका लागि निवेदन दिएको डिभिजन वन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए। हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्किाएका, बाली क्षति भएकाको यकिन विवरण संकलन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको उनले उल्लेख गरे ।

कानुन अनुसार पीडित परिवारलाई क्षतिपूर्ति दिइने भन्दै क्षतिको विवरण संकलन भइरहेको साहले जानकारी दिए। हात्तीको आक्रमणबाट बच्न जङ्गलको छेउछाउमा बस्ने स्थानीयलाई डिभिजन वन कार्यालयले सचेत गराउँदै आएको बताउँदै उनले सर्वसाधारण आफैँ पनि सचेत र चनाखो भएर बस्नुपर्नेमा जोड दिए।

नेप्सेमा पाँच अर्ब २२ करोडको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । बुधबार नेप्से एक दशमलव ८८ अङ्कले घटेर दुई हजार ६ सय ७५ दशमलव ५१ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, जलविद्युत्, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ ।

बजार सामान्य घटेको दिन नारायणी विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बलेफी हाइड्रोपावर र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार चार अर्ब २० करोडको शेयर कारोबार भएकोमा बुधबार एक करोड १६ लाख कित्ता शेयर पाँच अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन् ।

काठमाडौं उपत्यकामा यसरी गरिँदैछ छठघाट निर्माण(फोटोफिचर)

काठमाडौँ । तिहार सकिएलगत्तै काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।

छठ पूजाका लागि काठमाडौँका नदी किनार झिलिमिल बत्तीसहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ ।

गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ । उक्त क्षेत्रमा पाँच सय ६७ छठघाट अर्थात् पूजा कक्ष निर्माण गर्न लागिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य चन्द्रकान्त झाले जानकारी दिए ।

उनले भने, ‘हामीले पाँच सय ६७ छठ घाट निर्माण गरेका छौँ, आज बिहानसम्म पाँच सय ५० वटा स्टल बुक भइसकेका छन् ।’

पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा हुने छठका लागि पशुपति क्षेत्र विकास कोषले तीन लाख उपलब्ध गराउने भएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका कोषाध्यक्ष धीरेन्द्रकुमार गुप्ताले बताए ।

यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ । कमलपोखरीमा २६० वटा टेन्ट बनाएको समितिले जनाएको छ । छठका लागि काठमाडौँका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा रहेका नदीहरुको सरसफाइ गरिएको छ ।

तस्बिरः नवीन पौडेल/रासस

टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता

काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । मंगलबार नेपालमा आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको हो ।

दर्ता भएसँगै अब टिकटकले कानूनी वैधानिकता पाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले बताए । सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो ।

टिकटक  नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ ।