`

सिनवारको मृत्यु भएपनि हमास जिवित रहेको खमेनीको भनाई

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको बताएका छन् ।

सिनवारको मृत्यु पीडादायी भएता पनि सिनवारको शहादतसँगै हमासको अन्त्य नहुने खामेनीले बताए । उनले विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी इस्लामवादी आन्दोलन र हमास अझै जीवित रहने बताएका हुन् ।

खमेनीले सिनवारको बारेमा उल्लेख गर्दै भने, ‘सिनवार प्रतिरोध र सङ्घर्षको चम्किलो व्यक्तित्व हुन्, जो क्रूर र आक्रामक शत्रु विरुद्ध अटुट दृढ संकल्पका साथ उभिन्थे।’

सन् २०२३ अक्टोबर–७ को आक्रमणको मुख्य नाइकेको रुपमा सिनवारलाइ चित्रित गर्दै सिनवारको मृत्युले युद्ध भड्कीएको भए नि निरन्तर अघि बढ्ने बताए ।

उनले सन् २०२३ अक्टोबर–७ बाट सुरु भएको युद्धमा सिनवार यस क्षेत्रको इतिहासमा उच्च विरासतको साथ उल्लेख्य योगदान गरी सम्मान र गर्वका साथ शहीद भएको बताए ।

इरानले आफ्नो कट्टर शत्रु इजरायललाई मान्यता नदिने बताउदै सन् १९७९ को इस्लामिक क्रान्तिपछि प्यालेस्टिनी उद्देश्यका लागि आफ्नो समर्थनलाई आफ्नो विदेश नीतिको आधार बनाएकोसमेत उनले उल्लेख गरे ।

लामो समयदेखि छायाँमा रहेका सिनवारले गत जुलाईमा इरानी राजधानी तेहरानमा हमासका नेता इस्माइल हानियाहको हत्यापछि हमासको प्रमुखको पदभार ग्रहण गरेको स्रोतले जनाएको छ ।

इरानले सिनवारको हत्याको दोष इजरायललाई लगाइएको छ यद्दपी इजरायलले भने हालसम्म घटनाको जिम्मेवारी लिएको छैन ।

रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाद्वारा पोखरामा प्रदर्शन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेताकार्यकर्ताहरूले पोखरामा विरोध प्रदर्शन गरेका छन् ।

शनिबार बिहानैदेखि पोखरामा भेला भई रास्वपाका नेता कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे, मानव तस्करहरुलाई कारबाही गर, दलाल माफियाहरू होसियार’ लगायतका प्लेकार्ड र नारा लगाई विरोध गरेका थिए ।

रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याएको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

गुन्डुका महिलालाई मखमली फूलको माला उन्न भ्याईनभ्याई

तिहार पर्व नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका वडा न ७ गुन्डुका महिला मखमली फूलको माला उन्दै ।

तस्बिरः चन्द्रकला क्षेत्री/रासस

के रविलाई पक्राउ गर्नु गलत हो ?

नारायण गाउँले ।
कुनै मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्ने भनेको अन्तिम विकल्प हुनुपर्ने हो । हत्या, बलात्कार, कुटपिट या अन्य गम्भीर हिंसात्मक अपराधमा प्रहरीले आरोपितलाई पक्रेर अनुसन्धान गर्ने गर्छ । खासगरी पक्राउ नगर्दा आरोपित भाग्न सक्ने; समाज, पीडि़त र नागरिक जीवनमा गम्भीर खतरा उत्पन्न हुने या अपराधका प्रमाण नष्ट गर्न सक्ने अवस्थामा आरोपितलाई पक्राउ गरिन्छ । सभ्य देशमा प्रहरीले पक्राउ गरेका अधिकांश केसको अन्तिम फैसला हुँदा आरोपी दोषी साबित हुन्छ । भन्नुको अर्थ पर्याप्त आधार र पूर्वकार्यपछि मात्रै पक्राउको विकल्प प्रयोग हुन्छ ।

नेपालमा पक्राउलाई अन्तिम त छोडौं, अझ पहिलो विकल्प बनाइएको छ । आरोप लाग्नेबित्तिकै पहिलो काम पक्राउ हुने गर्छ । पक्राउ गर्दा मानवअधिकार हननमात्रै नभई व्यक्तिको सामाजिक र मनोवैज्ञानिक क्षति पनि ठूलो हुने भएकाले अन्य विकल्प उपलब्ध भएसम्म पक्राउ गर्नुहुन्न भन्ने हाम्रा कानुननिर्माता र अभियोजकहरूलाई थाहा छैन । दुर्भाग्य, रवि लामिछाने स्वयं गृहमन्त्री हुँदासमेत यस्तो कार्यले प्रश्रय पायो ।

रास्वपाका सांसदसमेत रहेको सहकारी छानबिन समितिले कारबाही सिफारिश गरेपछि रविमाथि प्रहरीले थप छानबिन र कारबाही अगाडि बढाउनु स्वाभाविक हो । कि यो मुद्दा नै ढिसमिस भनेर घोषणा गर्न पर्यो, कि केही गर्न पर्यो । सयौं पीडि़त पनि छन् ।

तर, कारबाही भन्नेबित्तिकै पक्राउ भन्ने किन होला ? छानबिन समितिले अनुसन्धान सकेकै छ । प्रहरीको अनुसन्धान पनि भएकै छ । भनिएका प्रमाण सार्वजनिक नै छन् । कुनै कुरा अस्पष्ट भए या थप सोधपुछका लागि रवि तयार रहेको बताएकै थिए । प्रहरीले बोलाउन पनि सक्थ्यो । उनको हालको व्यक्तित्व र जिम्मेदारी हेर्दा तत्काल भागेर जाने सम्भावना पनि छैन । आन्तरिक रूपमा नाकामा रोक्ने सर्कुलर गर्न सकिन्थ्यो । उनी प्रमाण नष्ट गर्ने ठाउँमा पनि थिएनन् । सत्ता पक्षका सांसद पनि होइनन् उनी । फेरि यस प्रकरणमा सोधपुछ गर्न बाँकी के होला र ? पत्रपत्रिकादेखि फेसबुक कतबतगक सम्म र संसदीय बहसदेखि समितिका रिपोर्टसम्म सबै कुरा छर्लङ्ग देखिन्छ । सोझै अदालतमा मुद्दा दर्ता गर्ने र बरु छिटो छरितो यसको निरूपण गर्नेतिर लागेको भए के हुन्थ्यो होला र ?

सरकारले असल या बदनियत राखेर गर्न सक्ने भनेको एक दुई हप्ता हिरासतमा राख्ने हो । न्यायिक निरूपण त अदालतले नै गर्ने होला । बयान लिनैका लागि थुन्ने अभ्यास हट्न जरूरी छ । चितवनमा एउटा बालिकाले आत्महत्या गर्दा घरमा सुतिरहेका वृद्ध शिक्षक बलात्कार र हत्याको निराधार आरोपमा दुई महिना थुनिएको याद होला । ती नेता नभएकाले हाम्रो टाउको दुखेन । तर दुई महिना त्यस्तो गम्भीर आरोपमा थुनिँदा र आफनो पक्षमा बोलिदिने कोही नहुँदा कस्तो नारकीय अनुभव भयो होला ? त्यसको क्षतिपूर्ति के होला ?

कैलाश शिरोहियालाई समेत म सघाउन तयार छु भन्दा भन्दै पक्रिनु जरूरी थिएन । न भाग्ने डर थियो, न रवि गृहमन्त्री भएको अवस्थामा प्रमाण नष्ट गर्ने हैसियत थियो । गलत समाचारका लागि पक्रेको भए पनि अर्को कुरो । नागरिकतामा कीर्ते भएको भए गृह मन्त्रालयले रद्द गर्न सक्थ्यो, अदालत जाने काम त शिरोहियाको हुन्थ्यो । एउटै नम्बर त मन्त्रालयकै कमजोरीले धेरै नागरिकको जुधेको छ । उनको बुबाले अङ्गीकृत नागरिकता पाएका थिए । वर्तमान कानुनले पनि छोरालाई फेरि अङ्गीकृत नागरिकता दिन मिल्दैन । पाउने वंशज नै हो । उनको भएको नागरिकता खारेज भए पनि अनागरिक बनाउन मिल्दैन, नेपाली नागरिकको सन्तान र यहीँ जन्मे हुर्केको व्यक्तिलाई एउटा न एउटा नागरिकता त दिनै पर्यो । रविलाई पनि त खारेज भएको नागरिकता फेरि दिइएको थियो । फेरि दिनलाई अहिलेको कानुन चाहियो । त्यसले दिनेबित्तिकै त्यो वंशज नै हुन्छ । फेरि अङ्गीकृतले नपाउने तर वंशजले मात्रै पाउने कुनै सुखसुविधा या नियुक्ति भोगेको भए पनि अपचलन भन्न हुन्थ्यो । यस्तो विषयमा दुःख दिने, ईगो शान्त गर्ने र राज्यको साधनस्रोत दुरुपयोग गर्नेबाहेक पक्राउबाट के हासिल हुन्थ्यो र ? भएन पनि । यस्ता उदाहरण कति छन् कति जहाँ पक्राउ गर्नुपर्ने कुनै कारण हुँदैन । तर नागरिकले बर्सौंदेखि दुःख पाइरहेछन् । कति सजिलै भन्छौं हामी, निर्दोष भए छुटिहाल्छ नि, केको चिन्ता भनेर । तर निर्दोष भएर छुट्दासम्म उसले बेहोर्ने क्षतिबारे हामी सोच्दैनौं ।

अब रविलाई पक्रेर गर्ने के होला ? बयान लिने त होला, गोजी या शरीरबाट नयाँ प्रमाण पक्कै नआउला । बयानका लागि त उनी उपलब्ध नै थिए । माहोल उत्तेजित बनाउने, राज्यको ध्यान र साधनस्रोत एक दुई हप्तालाई निरुत्पादक क्षेत्रमा डाइभर्ट गर्नुभन्दा छन् भनिएका प्रमाणसहित अदालतमा मुद्दा दर्ता गर्ने, आवश्यक परे खाता रोक्का गर्ने र पीडि़तहरूको क्षतिपूर्तिलाई मुख्य उद्देश्य बनाएर छिटो र छरितो न्यायसम्पादनमा जोड़ दिएको भए राम्रो हुन्थ्यो । बढ़ीमा एकहप्तामा उनी बाहिर आउँछन् नै । त्यतिन्जेल यो मुद्दामा उनलाई नपक्रेर बर्बाद हुने र पक्रेर फाइदा हुने पक्ष के के होलान् ?
यो मुद्दा न्यायिक निरूपणको विषय बनिसकेकाले यसको फैसला व्यक्ति या फेसबुकले गर्ने नभई अदालतले नै गर्ने हो । सबै नागरिक समान भएकाले कसैको छिटो अनि कसैको ढिलो न्याय होस् भन्न त मिल्दैन तर रवि प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि र लाखौं नागरिकको भावना जोडिएको व्यक्तिमात्रै नभई सहकारी पीडि़त नागरिकको सर्वश्व समेत जोडिएको विषय भएकाले छिटोभन्दा छिटो यसको निरूपण होस् र दोषीले सजाय पाऊन् र निर्दोषले न्याय पाऊन् भन्ने कामना छ !

गाजास्थित शरणार्थी शिविरमा इजरायली हमलामा कम्तिमा ३३ जनाको मृत्यु

बीबीसी । इजरायलले गरेको एउटा हवाई हमलामा परी उत्तरी गाजास्थित एउटा शरणार्थी शिविरमा रहेका कम्तीमा ३३ जना मारिएका छन् ।

गाजा स्ट्रिपस्थित हमास प्रशासनले जनाएअनुसार मारिनेमा २१ जना महिला छन् । जबिलामा गरिएको हमलाबारे इजरायलको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । बाक्लो जनघनत्व रहेको सो क्षेत्रलाई केही सातादेखि इजरायली फौजहरूले घेराबन्दी गरिरहेका छन् ।

यसैसाता इजरायली हमलामा हमासका प्रमुख याह्या सिन्वार मारिएपछि एकथरीले युद्ध रोकिन सक्ने आशा गरेका थिए। तर सो समूहका उपनेताले हमास अझ सशक्त भएर निस्कने बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायलले हिज्बुल्लाहसँग लडाइँ गरिरहेको लेबननमा ‘युद्धविरामको दिशामा काम गर्ने’ सम्भावना रहे पनि ‘गाजामा गाह्रो रहेको’ बताएका छन् । जर्मनीको राजधानी बर्लिनमा जर्मन, फ्रेन्च र ब्रिटिश नेताहरूसँग भेटवार्ता गरेर फर्कने क्रममा बाइडनले यो अभिव्यक्ति दिएका हुन् ।

गाजामा हमास सरकारद्वारा सञ्चालित सञ्चारमाध्यमका अनुसार इजरेलले शुक्रवार गरेको हवाई हमलामा ८५ जनाभन्दा बढी घाइते भएकामा केही गम्भीर छन् मानिसहरू भग्नावशेषमा पुरिएकाले मृतकको सङ्ख्या ५० पुग्न सक्ने उसले जनाएको छ।

उत्तर कोरियाले रुसमा ‘ठूलो स्तरमा’ सैन्य तैनाथी पठाइरहेको सोलको गुप्तचर निकायको भनाइ

उत्तर कोरियाले युक्रेनमा मस्कोको युद्धलाई सहयोग गर्न ‘ठूलो स्तरमा’ सैन्य तैनाथी पठाउने निर्णय गरेको सोलको गुप्तचर निकायले शुक्रबार बताएको छ । निकायका अनुसार एक हजार पाँच सय विशेष बलले पहिले नै रुसको सुदूर पूर्वमा प्रशिक्षण लिइरहेको उल्लेख गरेको छ । 


पहिलो तैनाथी देखाउने विस्तृत उपग्रह तस्बिरहरू सार्वजनिक गर्दै राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) ले उत्तर कोरियाले रुसलाई मद्दत गर्न हजारौँ सैनिक पठाउने निर्णय गरेको जनाएको छ । 


दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले शुक्रबार आपत्कालीन सुरक्षा बैठक बोलाए । सोलले  प्योङयाङको कदमलाई ‘हाम्रो देशका लागि मात्र नभई अन्तर्राष्ट्रिय समुदायका लागि पनि एक महत्त्वपूर्ण सुरक्षा खतरा’ भनेर आलोचना गरेको राष्ट्रपति कार्यालयले बतायो ।


“एनआइएसले अक्टोबर ८ देखि १३ सम्म उत्तर कोरियाले रुसी नौसेनाको परिवहन जहाजमार्फत आफ्नो विशेष बलहरूलाई रुसमा ओसारेको पत्ता लगाएको छ, यसले युक्रेनमा रुसको युद्धमा उत्तर कोरियाको सैन्य सहभागिताको सुरुवात पुष्टि गर्दछ”, एनआइएसले भनेको छ । 


एनआईएसका अनुसार धेरै रुसी ल्यान्डिङ जहाज र फ्रिगेटहरूले पहिलो दस्ताका सैनिकहरूको ढुवानी पहिले नै पूरा गरिसकेका छन्, तिनीहरू हाल रुसको सुदूर पूर्वका सैन्य अड्डाहरूमा तैनाथ छन् ।


“विशेष बलका सैनिकहरू जलवायु अनुकूलन तालिम पूरा गरेपछि (युक्रेन द्वन्द्वको) अग्रपङ्क्तिमा तैनाथ हुने अपेक्षा गरिएको छ”, एनआइएसले भन्यो । सैनिकहरूलाई रुसी सैन्य वर्दी र रुसी निर्मित हतियारहरू दिइएको छ ।


“यो उत्तर कोरियाली सैनिकहरूलाई रुसी सैनिकहरू जस्तै देखाएर उनीहरू उत्तर कोरियाली सैनिक हुन् भन्ने तथ्यलाई लुकाउने प्रयास हो जस्तो देखिन्छ” एनआइएसले भन्यो ।


एनआइएसका अनुसार छिट्टै थप सैनिकहरू पठाइने सम्भावना छ र उत्तरले करिब १२ हजार सैनिक पठाउन सक्ने अनुमान गरिएको छ । “छिट्टै दोस्रो यातायात अपरेशन हुने अपेक्षा गरिएको छ”, यसले भन्यो ।


– तोपगोला, क्षेप्यास्त्र –


प्योङयाङ र मस्को दोस्रो विश्वयुद्धपछि उत्तर कोरियाको स्थापना भएदेखि नै सहयोगी रहेका छन् र रुसको सन् २०२२ को युक्रेन आक्रमणपछि झन् नजिक भएका छन् । उत्तर कोरियाली नेता किम जोङ उनले युक्रेनमा प्रयोगका लागि हतियार पठाइरहेको सोल र वासिङ्टनले लामो समयदेखि दाबी गर्दै आएका छन् ।


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुनमा प्योङयाङको दुर्लभ भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा दुई देशले पारस्परिक रक्षा सन्धिमा हस्ताक्षर गरेका थिए । यसले थप हतियार हस्तान्तरणको अटकलबाजी बढाएको छ र सन्धिले दुवै देशमा संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरूको उल्लङ्घन गर्दछ । 


उत्तरले ‘गत अगस्टदेखि रुसलाई १३ हजारभन्दा बढी कन्टेनर बराबरको तोपगोला, क्षेप्यास्त्र, ट्याङ्क विरोधी रकेट र अन्य घातक हतियारहरू’ प्रदान गरेको एनआइएसले शुक्रबार बताएको छ ।


युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार खुफिया रिपोर्टहरूलाई उद्धृत गर्दै उत्तर कोरियाले किएभ विरुद्धको लडाइँमा रुसलाई समर्थन गर्न १० हजार सैनिकलाई प्रशिक्षण दिइरहेको बताएका थिए ।


धेरै युवा रुसीहरू अनिवार्य सैन्य सेवाबाट बच्ने प्रयास गरिरहेकाले आफ्नो ठूलो क्षतिको भर्पाइ गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली सैनिकहरूमा भर परिरहनुभएको उनले बताए ।


यसै महिनाको प्रारम्भमा डोनेट्स्क नजिकै रुसी कब्जा गरेको क्षेत्रमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा छ उत्तर कोरियाली सैन्य अधिकारी मारिएको युक्रेनी सञ्चारमाध्यमहरूले बताएका थिए ।


सोलका रक्षामन्त्री किम योङ–ह्युनले त्यस बेला सांसदहरूलाई रिपोर्ट ‘अत्यन्त सम्भावित’ सत्य थियो भनेका थिए ।


विशेषज्ञहरूका अनुसार रुसलाई गोलाबारुद आपूर्ति गर्नेदेखि सैनिकहरू पठाउनेतर्फ जानु तार्किक अर्को चरण थियो । 


“रुसलाई धेरै गोलाबारुद र क्षेप्यास्त्र आपूर्ति गरेको उत्तर कोरियाका लागि विभिन्न हतियारहरू कसरी सम्हाल्ने र वास्तविक युद्धको अनुभव प्राप्त गर्ने सिक्नु महत्त्वपूर्ण छ”, सोलको इन्स्टिच्युट फर फार इस्टर्न स्टडिजका प्रोफेसर लिम इउल–चुलले भने, “यो उत्तर कोरियाली सैनिकहरू पठाउनुको पछाडिको प्रेरक कारक उनीहरूलाई विविध अनुभवहरू र युद्धकालीन तालिम प्रदान गर्न पनि हुन सक्छ ।”

साफ च्याम्पियनसिपमा नेपाल र भुटान गोलरहित बराबरीमा

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै रोकिएको छ  । शुक्रबार साँझ भएको समूह ‘बी’को खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोलको लागि अवसर सिर्जना गरेपनि गोल गर्न असफल भएका हुन् । घरेलु समर्थकमाझ आक्रामक रुपमा मैदान उत्रिएको नेपालको लागि भुटानकी गोलरक्षक संगीता मोन्गेर बाधक बनिन् ।

यससँगै भुटानले नेपाल विरुद्ध ऐतिहासिक बराबरी खेलेको छ । यसअघिको पाँच खेलमा फराकिलो हार बेहोर्दै आएको भुटानले आज उत्कृष्ट डिफेन्सको नमुना देखाउँदै नेपालसँग अंक खोसेको हो । बराबरीसँगै दुवै टोलीले एक/एक अंक जोडेका छन् ।

सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीको अनुमतिमा प्रहरीले लामिछानेलाई शुक्रबार साँझ पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नुअघि पार्टी कार्यकर्तालाई सम्बोधन गर्दैै लामिछानेले अदातलमाथि आफूको विश्वास रहेको बताए । उनले आफूले कुनै गल्ती नगरेको र न्यायको परीक्षा दिन जाने बताएका थिए । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीवी राई) सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका प्रवन्ध निर्देशक थिए ।

लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई संगठित अपराधमा पनि अनुसन्धान गर्नका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ ।

रवि लामिछानेलाई पक्राउ गर्न रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनले भने, “हामी कानुनी राज्यको सम्मान गर्छौँ । हामी सहजरूपमा गिरफ्तारी दिन्छौँ, प्रतिकार गर्दैनौँ ।”

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ पुर्जी जारी भएपछि रविको प्रतिक्रियाः ‘सरकार मर्‍यो’

काठमाडौं । आफूविरुद्ध पक्राउ पुजी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारविरुद्ध आक्रोश पोखेका छन् । प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमति लिएपछि लामिछानेले सामाजिक संजालमार्फत सरकारविरुद्ध आक्रोश पोखेका हुन् ।

उनले भनेका छन्, ‘सरकार मर्यो, हामीलाई जुठो पर्‍यो । तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ?’

यस्तो छ रविको भनाई

सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !!
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने?

तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने? यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।

ठिक छ,म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु ।
नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्‍याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।

अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर मलाई न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।

रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । शुक्रबार जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले रविमाथि कारवाही सिफारिस गरेको थियो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । जोशीले पनि बयानमा यसमा रवि दोषी भएको बताएका छन् ।

उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका प्रवन्ध निर्देशक थिए ।

‘हाँडीगाउँको जात्रा’(फोटोफिचर)

काठमाडौँ महानगरपालिका–५ स्थित हाडिगाउँमा शुक्रबार ब्रह्मा, विष्णु र महेश्वर भगवान्को खट घुमाइने हाँडीगाउँको जात्रा । यहाँ दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँको हाँडीगाउँमा यो जात्रा मनाइँदै आएको छ । हाँडीगाउँको जात्राले छुट्टै मौलिकता र विशेष पहिचान बोकेको छ । काहीँँ नभएको जात्रा हाँडीगाउँमा भन्ने पनि गरिन्छ।

तस्बिरः हरिराम भेटुवाल/रासस

बाढीपहिरो प्रभावितलाई राहत वितरण र पुनःनिर्माणमा जुट्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई राहत वितरण र पुनःनिर्माणमा जुट्न आह्वान गरेका छन् ।

गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढीपहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको विपद्को घटनाका रुपमा लिँदै उनले राहत वितरण र पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकमा परिषद्का अध्यक्ष ओलीले विपद् प्रभावितलाई उद्धार, राहत र पुनःनिर्माणका लागि गम्भीरताका साथ काम भइरहेको जानकारी दिए ।

‘अहिलेको परिस्थितिमा के गर्नु पर्छ र के गर्न सकिन्छ ? तीनै तहका सरकारबाट समन्वयतात्मकरुपमा काम गर्नुपर्नेछ ‘, उनले भने, ‘कसरी जनतालाई छिटोभन्दा छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जानुपर्छ । सहयोगको प्रवृत्ति बढाएर विपत्तिको मिलेर सामना गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले दसैँ अगावै सम्पूर्ण प्रयास गरेर अवरुद्ध सडक खुलाइएकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिए ।

अर्थ मन्त्रालयको तीन महिनाको प्रगतिः अर्थतन्त्रमा सुधारदेखि ‘कन्ट्री क्रेडिट रेटिङ’सम्मका प्रगति

काठमाडौं । अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनामा भएका महत्वपूर्ण काम कारबाहीको विवरण सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्घीय संसद्मा विधेयक पेससम्म उल्लेख छ ।

अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौती रहेपनि पहिलेको तुलनामा सुधार आइरहेको बताए। प्रवक्ता भट्टराईले तीन महिनामा निजी क्षेत्रको आत्मविश्वास बढेको, गत वर्षको यसै अवधिको तुलनामा पुँजीगत खर्च र राजस्व सङ्कलन बढेको, ब्याजदर कम भएको, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धि भएको, पुँजी बजार चलायमान भएको, विदेशी मुद्रा सञ्चिति बढेको, रेमिट्यान्स वृद्धि भएको जानकारी दिए । पुँजीगत खर्च गत वर्षको यसै अवधिको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको छ भने राजस्व सङ्कलन गत वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी विदेशी मुद्राको सञ्चिति हालसम्मको उच्च २१ खर्ब ५२ अर्ब रहेको छ । विप्रेषण १५ प्रतिशतले वृद्धि भएको छ भने ब्याजदर घटेर औसत छ दशमलव १५ प्रतिशत कायम भएको छ ।

अर्थ मन्त्रालयले बजेट कार्यान्वयन गर्न ७३ बुँदे मार्गदर्शन जारी गरी बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाएको जनाइएको छ । बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउन बजेट कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ ।

यसबाट हालसम्मको चालु, पुँजीगत तथा समग्र खर्चमा उल्लेख्य सुधार ल्याउन सहयोग पुगेको विवरणमा उल्लेख छ । मुलुकको समग्र अर्थतन्त्रसुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरी अध्ययन कार्य प्रारम्भ गरिएको जनाइएको छ ।

त्यस्तै राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गरिएको छ । अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को कार्य अगाडि बढाइ प्रतिवेदन प्राप्त गर्ने चरणमा छ ।

यसैगरी, नयाँ बीमा नियमावली, २०८१ तर्जुमा गरी मन्त्रिपरिषद्मा पेस भएकोे छ । साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबारसम्बन्धी नियमावली, २०८१ मन्त्रिपरिषद्मा पेस गरिएको छ । आन्तरिक राजस्व परिचालन रणनीति,२०८१ स्वीकृत गरी कार्यान्वयनमा आइसकेको छ ।

मन्त्रालयले भन्सार मूल्याङ्कनलाई यथार्थ कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गरिएको छ । भन्सार महसुल नियमावली, २०८१ तर्जुमा गरी मन्त्रिपरिषद्मा पेस भएको छ ।

यसबाट भन्सार प्रक्रिया थप सरलीकृत हुने अर्थमन्त्रालयले जनाएको छ । त्यस्तै, यस अवधिमा सार्वजनिक संस्थानमा ऋण तथा लगानीसम्बन्धी नीति तर्जुमा गरी मन्त्रिपरिषद्मा पेस भएको छ ।

आन्तरिक ऋण निष्काशन तथा व्यवस्थापन कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ को संशोधन विधेयक सङ्घीय संसद्मा पेस गरिएको छ ।

तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेहिकल स्क्यानर मेसिनको प्रयोग सुरु गरिएको छ भने वीरगञ्ज भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र नेपालगञ्ज भन्सार कार्यालयमा ल्याब मोड्युल सुरु गरिएको विवरणमा उल्लेख छ ।

भन्सार प्रज्ञापनपत्रको मुख्यमुख्य चरणको जानकारी निकासी तथा पैठारीकर्तालाई ईमेलमार्फत जानकारी गराउने प्रणाली सुरु भएको छ ।

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण कार्य भएको, आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन,२०८१ तर्जुमा गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएको जनाइएको छ ।

हस्तान्तरण मूल्यसम्बन्धी निर्देशिका, २०८१ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको अर्थ मन्त्रालयले जनाएको छ वार्षिक २५ करोडभन्दा बढीको कारोबार गर्ने चार सयभन्दा बढी करदाताको कारोबारलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गरिएको छ ।

अन्तःशुल्क चुहावट नियन्त्रणका लागि मदिरा, वियर, चुरोट, सुर्तीजन्य वस्तु, इनर्जी ड्रिङ्क्स र जुसको व्यावसायिक उत्पादन गर्ने एक सय भन्दा बढी उद्योग प्रतिष्ठानको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको छ ।

बहुवर्षीय ठेक्का प्रक्रियालाई थप व्यवस्थित र कार्यान्वयन योग्य बनाउन पहल गरिएको छ । योजनाको प्राथमिकीकरण गरी बजेट विनियोजन तथा कार्यन्वयनलाई थप प्रभावकारी बनाउने कार्य भएको छ । दोस्रो वित्तीय क्षेत्र रणनीति निर्माणको कार्य प्रारम्भ भएको छ ।

साथै विवरणमा विकास सहायतासम्बन्धी नयाँ नीति तर्जुमाको कार्य भइरहेको, नयाँ बजेट तर्जुमा दिग्दर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको, वर्तमान सरकार गठन भएको दुई महिनापछि विश्व बैंक, एसियाली विकास बैंक, आइएमएफलगायतले नेपालको अर्थतन्त्र सुधारोउन्मुख भएको प्रतिक्रिया दिएको समेत उल्लेख छ ।

महिला साफ च्याम्पियनसिपमा श्रीलङ्काद्वारा माल्दिभ्स पराजित

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समूह बी अन्तर्गतको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गर्यो। श्रीलङ्काका लागि इमिशा अनुराधिनीले १८औँ मिनेटमा गरेको गोल नै श्रीलङ्का जितका लागि पर्याप्त भयो । जितसँगै श्रीलङ्काले तीन अङ्क बटुलेको छ ।

सोही समूहमा रहेको नेपालले आज साँझ भुटानको सामना गर्दैछ ।

अमेरिकाले दियो सन्दीप लामिछानेलाई भिसा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानले अमेरिकाको भिसा पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आइसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिका, नेपाल र स्कटल्यान्डबीच हुने त्रिकोणात्मक शृंखला खेल्न जान सन्दीपले भिसा प्राप्त गरेको जानकारी दिएको छ ।

अमेरिकी दूतावासबाट भिसा पाएसँगै सन्दीप शुक्रबार बेलुका अमेरिका प्रस्थान गर्ने भएका छन्।

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौँ । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई विश्वसनीय बनाउन नयाँ छनोट समिति गठन गर्न माग गरेको छ ।

समितिका संयोजक राजुप्रसाद चापागाईले जारी गरेको  विज्ञप्तिमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउनुपर्ने र छनोट प्रक्रियामा विगतमा गरिएको गम्भीर गल्ती नदोहोर्याउन माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणकालीन न्याय प्रक्रियाको गाम्भीर्य अनुरूप स्वतन्त्र व्यक्ति सम्मिलित नयाँ छनोट समिति गठन गरेर पदाधिकारी छनोट प्रक्रियालाई सबै पीडितलगायतका सबै सरोकारवालाले स्वामित्व लिने गरी अगाडि बढाउन नेपाल सरकारसमक्ष समिति जोडदार माग गर्दछ ।’

अब गठन हुने छनोट समितिले खुला, पारदर्शी, परामर्शयुक्त, र सहभागितामूलक (सार्वजनिक सुनुवाइसहित) छनोट विधि तथा प्रक्रिया अपनाएर पदाधिकारी छनोट गरी सङ्क्रमणकालीन न्याय प्रक्रियाको बाँकी अभिभारा वैधरूपमा सम्पन्न गर्ने मार्ग प्रशस्त गर्नुपर्नेमा निगरानी समितिको जोड छ ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ पारित हुनु पूर्वगठित पदाधिकारी छनोट समितिको वैधता र विश्वसनीयतामा प्रश्न उठेको छ,’ विज्ञप्तिमा भनिएको छ,’समितिको नेतृत्व विगतमा पनि परीक्षण भइसकेको यथार्थताका आधारमा छनोट प्रक्रियालाई वैध र विश्वसनीय बनाउन नयाँ छनोट समिति गठन गर्नु उपयुक्त भन्ने धारणामा जवाफदेहिता निगरानी समिति अडिग छ ।’

समितिले संक्रमणकालीन न्यायसम्बन्धी आयोग यथाशक्य चाँडो गठन गर्नतर्फ तीनदलले देखाएको अग्रसरता सकारात्मक भएको समेत उल्लेख गरेको छ ।

पदाधिकारी छनोट प्रक्रियामा विगतका गम्भीर गल्ती दोहोरिन नदिई यसको विश्वसनीयता र वैधता सुनिश्चित गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको जनाएको छ ।

‘विगतमा आयोग वैधताको संकटतर्फ धकेलिएका र निष्प्रभावी बनेको यथार्थबाट पाठ सिक्न सरकार, दल तथा जिम्मेवार नेतालाई निगरानी समिति आग्रह गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणकालीन न्याय प्रक्रियालाई दिगो र परिणाममुखी बनाउन तेस्रो संशोधनले निम्त्याएका वा सम्बोधन हुन नसकेका ऐनका गम्भीर त्रुटि (परिभाषा, सजाय कटौती, हदम्यादलगायत) न्यायिक पुनरावलोकन वा विधायिकी संशोधनको माध्यमबाट सच्याइनुपर्ने आवश्यकतामा पनि निगरानी समितिले पुनःजोड दिन्छ ।’

पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना

 भोजपुर । भोजपुरको खार्ताम्छामा रहेको छाँगे झरना जिल्लाकै अग्लो झरनामा पर्छ । एक सय ३९ मिटर अग्लो यो झरना हेर्न पछिल्लो समय पर्यटकको उपस्थिति देखिन थालेको छ ।

स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झरना हेर्न आन्तरिक पर्यटक पुग्न थालेपछि आम्दानीको राम्रो स्रोत समेत बन्न सक्ने स्थानीयको भनाइ छ ।

यहाँ भदौ र वैशाखको पूर्णिमा गरी दुई पटक मेला लाग्छ । मेला बाहेक अन्य समयमा पनि झरना हेर्न तथा त्यहाँ रहेको धामको दर्शन गर्न मानिसहर पुग्ने थालेका छन् । थप प्रचारप्रचार हुनसके यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने स्थानीय बताउँछन् ।

झरनाको विकासका लागि षडानन्द नगरपालिका तथा कोशी प्रदेश सरकारको लगानीमा त्यहाँ पुग्नका लागि सिँढी बनाएर बाटो निर्माण गरिरहेको छ । झरना स्थलमा खानेपानीको व्यवस्थासँगै पानी आउँदा बस्नका लागि फलैचासमेत निर्माण गरिएको छ ।

छाँगे धाममा दर्शन गरेमा मनोकामना पूरा हुने रोगव्यादी निको हुने जनविश्वास रहेको स्थानीयबासी इन्द्रप्रसाद धमलाले बताए । ‘झरना प्राकृतिकरुपमा निकै सुन्दर छ’, उनले भने, ‘यहाँ दर्शन गरेर मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासले मानिस आउने गरेका छन् । यहाँ पुग्न भौगोलिक रुपमा विकट नै छ । यसको संरक्षण गर्दै प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटनको विकास गर्न सकिन्छ । यसको विकासमा राज्यले ध्यान दिन आवश्यक छ।’

झरनासम्म पुग्ने पर्यटकलाई लक्षित गरेर संरचना निर्माण गर्दै सडक तथा पैदलमार्ग व्यवस्थित गर्न सके पर्यटकलाई आउन सहज हुने उनले बताए । प्रकृतिले सुन्दर उपहार दिएको भएपनि यसबाट लाभ लिन नसेकेको भनाइ छ ।

सबै धर्मको आस्थाको केन्द्र रहेकाले यसको विकासमा विषेश ध्यान दिनुपर्ने स्थानीय देवचन्द्र राईले बताए । ‘ओझेलमा परेका यस्ता ठाउँको खोजीमा राज्यले ध्यान दिन आवश्यक छ’ उनले भने, ‘जिल्लाकै सबैभन्दा अग्लो झरना कसैको नजरमा पर्न सकेको छैन।’

छाँगे झरनालाई विकास तथा विस्तार गरेर यहाँको आम्दानीको स्रोतको रुपमा स्थापित गराउने उद्देश्यले षडानन्द नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार गरी केन्द्र तथा प्रदेश सरकारबाट बजेट माग गर्ने तयारी गरिरहेको नगर प्रमुख सुरेन्द्रकुमार उदासले बताए ।

सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले शुक्रबार  एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ।


नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले जनाएको छ ।


बैंकले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह गरिएको छ । सो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने व्योहोरा सूचनामा उल्लेख छ ।

मध्यपूर्वमा बढ्दो तनावले सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि

हङकङ । व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि एसियाली बजारमा शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि पुगेको छ।

इजरायलले हमासका प्रमुख याह्या सिनवारको हत्या गरेको बताएपछि मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका बीच ब्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको रूपमा कारोबार गर्दा यसको मागमा आएको वृद्धिले सुनको भाउ ह्वात्तै बढेको हो ।

एसियाली बजारमा शुक्रबार सुनको प्रारम्भिक मूल्य दुई हजार ७०४.८९ अमेरिकी डलरको सर्वकालिक उच्च बिन्दुमा पुगेको थियो। बिहीबार सुनको मूल्य प्रति आउन्स दुई हजार ६८८.८३ डलर कायम भएको थियो ।

इजरायलले गाजामा हमास र हालै दक्षिणी लेबनानमा हिजबुल्लाहसँग लडिरहेको बेला मध्यपूर्वको सङ्कटलाई लिएर सुन बजार प्रभावित भएको हो ।

केन्द्रीय बैङ्कहरूले ब्याजदर घटाउने उपाय अपनाउँदा यस वर्षको सुरुदेखि नै सुनको मूल्यमा ३० प्रतिशतको हाराहारीमा वृद्धि हुनपुगेको थियो । मूल्यमा देखिएको निरन्तरको वृद्धिले गर्दा सुन लगानीकर्ताका लागि थप आकर्षक सम्पत्ति बनेको छ ।

युक्रेनमा लामो समयदेखि चलिरहेको युद्धका बारेमा चिन्ताले व्यापारीहरूमा सुरक्षित लगानीको चाहना बढ्नुलाई स्वभाविक मानिएको छ ।

पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला राई प्रथम

सिन्धुपाल्चोक । ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम भएकी छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट सुरु भएको प्रतियोगितामा उनले २८ किलोमिटरको दूरी दुई घण्टा २८ मिनेटमा पूरा गरेकी थिइन् ।

दुई घण्टा ४९ मा ओखलढुङ्गाकी लाक्पा निङ्मा शेर्पा र दुई घण्टा ५८ मा सिन्धुपाल्चोक हेलम्बुकी नितु तामाङले दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरेकी थिइन् ।

यसअघि २०७६ सालमा सम्पन्न सोही रुटको पाँचपोखरी दौडमा महिलातर्फ मञ्जु रावतले दुई घण्टा ५२ मिनेटमा पार गरेकी थिइन् ।

शुक्रबार सम्पन्न दौडमा प्रथम र दोस्रो हुने दुवैले सो समय भन्दा अगाडि नै दौड पूरा गरेका छन् । महिलाको क्षमता विकासका लागि यो ट्रेल रेस आयोजना गरिएको आयोजक विश्व समावेशी साहसी संस्थाकी माया गुरुङले बताइन् ।

प्रतियोगितामा सिन्धुपाल्चोक मेलम्चीकी अस्मिता भुजेलले तीन घण्टा ११ मिनेटमा र रोल्पाकी आश्मा विकले तीन घण्टा १८ मिनेटमा पार गर्दै क्रमश: चौथो र पाँचौं स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम, दोस्रो , तेस्रो, चौँथो र पाँचौँ हुनेले सिल्ड, मेडल र प्रमाणपत्रसहित नगद क्रमशः ५० हजार,२५ हजार,१५ हजार,१० हजार र पाँच हजार प्राप्त गरेका छन् । विजेतालाई उपसभामुख इन्दिरा रानाले पुरस्कार प्रदान गरिन् ।

स्वास्थ्यमन्त्री पौडेलले डा. केसीलाई भने-तपाईंले उठाएका माग पूरा गर्न प्रक्रिया अघि बढाएका छौँ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डा. गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन् ।

विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै यसपाली आफू मन्त्रालयमा आउनासाथ केसीले राखेका मागसँगे थप सुधारका कामहरु अघि बढेको बताएका हुन् ।

उनले भने, ‘हामीले सार्वजनिक गरेको १४ बुँदे योजना तथा प्राथमिकतामा स्वास्थ्य क्षेत्र सुधारका धेरै विषय समेटिएका थिए। तीमध्ये केही कार्यान्वयन भैसकेका छन्, बाँकी पनि कार्यान्वयनकै चरणमा छन् । त्यसमा यहाँले उठाएका विषय पनि समेटिएका छन्।’

मन्त्री पौडेलले विशेषज्ञ चिकित्सकको संख्या बढाउन सरकारी मेडिकल कलेजमा संख्या थप गर्ने गरी काम अघि बढेको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटसमेत एमबीबीएस चिकित्सक अध्ययन थाल्ने गरी निर्णय कार्यान्वयनमा गएको जानकारी दिए ।

उपत्यकाबाहिर दक्ष चिकित्सा जनशक्ति तथा स्तरीय अस्पतालका विषयमा चिकित्सक केसीले उठाएकै मागसँग मिल्ने गरी हालै आफ्नै अध्यक्षताको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले थप पोस्ट ग्रयाजुएट चिकित्सक उत्पादन गर्न मिल्ने गरी चिकित्सक दरबन्दी स्वीकृत गरेको जानकारी दिए ।

तत्काल चिकित्सक दरबन्दी थप्न नसकिए पनि भएकै चिकित्सकबाट अधिक सेवा दिने गरी दुई सिफ्टमा सघीय अस्पतालमा सेवा थालिएको भन्दै मन्त्री पौडेलले यसले सरकारी चिकित्सकले बाहिर काम गर्नुपर्ने समस्या कम गर्न सक्ने बताए । चिकित्सक केसीले आफू विगतका प्रतिबद्धता पूरा हुनेमा आशावादी रहेको भन्दै दक्ष चिकित्सक पलायन रोक्नका लागि आग्रह गरेका थिए ।

मन्त्री पौडेलले चिकित्सककै सुविधा र सेवा वृद्धि गर्नेगरी व्यवस्था गर्न थालेको भन्दै यसमा आफ्नो अधिकतम प्रयास रहने बताए । स्वास्थ्य सेवाका चिकित्सकको सेवा र समस्या सम्बोधन गर्नका लागि स्वास्थ्य सेवा ऐन ल्याउने तयारीसमेत आफूले गरिरहेको मन्त्री पौडेलले बताए।

इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा हमास प्रमुख सिनवारको मृत्यु भएको पुष्टि

तेल अभिभ । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पुष्टि गरेका छन् ।

प्रधानमन्त्री नेतन्याहूले आफ्ना सहयोगीलाई हमास प्रमुखको मृत्युबारे इजरायली बन्धकका परिवारलाई जानकारी दिन पनि निर्देशन दिएका छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले हमास प्रमुखको मृत्यु ‘न्यायिक’ भएको बताएका छन् । “हमासले इजरायलका लागि निम्त्याएको खतरालाई निर्मूल पार्नुपर्छ,” अर्को महिना हुने अमेरिकी राष्ट्रपतीय चुनावका लागि डेमाक्र्याटिक उम्मेदवार ह्यारिसले भनिन्, “परिणामस्वरुप विश्वले सुरक्षित महशुस गर्न सक्नेछ र पीडितका परिवारले राहत महसुस गर्नेछन्।”

इजरायली रक्षा बल (आईडीएफ) ले गाजामा आफ्नो कारबाहीका क्रममा तीन जना हमास लडाकू मारिएको पुष्टि गरेको थियो । इजरायली आक्रमणमा मृत्यु भएका तीन लडाकूमध्ये एक हमासका प्रमुख याह्या सिनवार भएको बताइएको छ ।

आईडीएफले एक्समा एक पोस्ट शेयर गर्दै लेखेको छ, “गाजामा आईडीएफ अपरेसनको क्रममा तीन जना मारिएका थिए । आईडीएफ र आईएसएले आतंकवादीमध्ये एक याह्या सिनवार भएको सम्भावनाको वैज्ञानिक पुष्टि गर्न आवश्यक जाँच भइरहेको छ ।”

मङ्गलबार आईडीएफ र शिन बेट सुरक्षा निकायले अक्टोबर ७ मा भएको आक्रमणमा सहभागी हमासका तीन ‘आतङ्ककारी’ हालैका दिनमा भएका हवाई आक्रमणमा मारिएको जनाएको छ ।

इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का उच्च पदस्थ नेता हसन नसरल्लाहको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो ।

यसअघि हमासका अर्का वरिष्ठ नेता इस्माइल हनियाको इरानमा मृत्यु भएको थियो । तेहरान र हमासले हनियाको मृत्यु भएको घटनामा आक्रमणको आरोप इजरायलमाथि लगाए पनि इजरायलले न त यो आरोप स्वीकारेको छ न त अस्वीकार नै गरेको छ ।

हालै आईडीएफले गाजामा हमास सरकारका प्रमुख राउही मुश्ताहा र हमासको राजनीतिक ब्युरोमा सुरक्षा जिम्मेवारीे सम्हालेका समेह अल सिराजसहित हमासका उच्च पदस्थ अधिकारीहरूको मृत्यु भएको जनाएको थियो ।

टाइम्स अफ इजरायलका अनुसार मङ्गलबार आइडीएफले जाबालियामा भएको हवाई आक्रमण र भिडन्तमा हमासका करिब २० जना लडाकू मारिएको जनाएको छ ।

इजरायली सेनाका अनुसार युद्धका क्रममा सेनाले एउटा हतियार डिपो र अन्य हतियार पनि फेला पारी नष्ट गरेको छ ।

सेनाले भनेको छ, “यो अभियान आवश्यक भएसम्म जारी रहनेछ र योजनाबद्ध रूपमा आक्रमण र त्यस क्षेत्रमा रहेका आतङ्कवादी संरचनालाई पूर्ण रूपमा नष्ट गरिनेछ।”

सोमबार आइडीएफले उत्तरी गाजाका बेइट हनौन, जबालिया र बेइट लहियाका प्यालेस्टिनीहरूलाई गाजाको दक्षिणमा रहेको इजरायलद्वारा निर्दिष्ट मानवीय क्षेत्रमा स्थानान्तरण गर्न आदेश दिएको टाइम्स अफ इजरायलले जनाएको छ।

जर्मन चान्सलर स्कोल्ज र एर्दोगानबीच आप्रवासी समस्याबारे छलफल हुने

इस्तानबुल । जर्मन चान्सलर ओलाफ स्कोल्ज मध्यपूर्वको बढ्दो सङ्कट र आप्रवासनबारे रेसेप तैयप एर्दोगानसँग वार्तागर्न शनिबार टर्कीको भ्रमण गर्ने भएका छन् ।

पदभार ग्रहण गरेको केही महिनापछि सन् २०२२ को मार्चमा अन्तिम पटक टर्कीको भ्रमण गरेका स्कोल्जले इस्तानबुलमा राष्ट्रपति एर्दोगानलाई भेट्नेछन् ।

गत साता जर्मन अधिकारीहरूले युक्रेन युद्ध, मध्यपूर्वको द्वन्द्व र आप्रवासनलाई भ्रमणको मुख्य केन्द्रबिन्दु बनाउने बताएका थिए ।

युरोपको सबैभन्दा धेरै प्रवासी रहेको जर्मनीसँग टर्कीको सम्बन्ध संवेदनशील छ र बर्लिनले एर्दोगानको नेतृत्वमा रहेको मानवअधिकार र लोकतन्त्रको अवस्थाबारे चिन्ता व्यक्त गरेको छ ।

गाजामा इजरायल–हमास युद्ध सुरु भएपछि सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

एर्दोगान लामो समयदेखि गाजामा इजरायलको एक वर्ष लामो सैन्य अभियान र लेबनानमा इजरायलको घातक धक्काको कडा आलोचक रहँदै आएका छन् । एर्दोगानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई नाजी जर्मनीका एडोल्फ हिटलरसँग तुलना गर्दै आएका छन् ।

बर्लिन इजरायलको बलियो समर्थक हो र जर्मनीले संयमको लागि आह्वान गर्दै इजरायली आत्मरक्षाको अधिकारको रक्षा गरेको छ ।

एर्दोगानले गत वर्ष जर्मनीको भ्रमण गर्दा स्कोल्जसँग द्वन्द्वलाई लिएर कडा धारणा राखेका थिए ।

अमेरिकी थिङ्क ट्याङ्क जर्मन मार्शल फन्डका ओज्गुर अनलुहिसारसिक्लीलेसँग भने, “स्कोल्जको एजेन्डाको प्रमुख विषय शरणार्थी व्यवस्थापन र सहयोग हुने सम्भावना छ किनभने युरोपभरि शरणार्थी विरोधी भावना बढिरहेको छ।”

शरण खोज्नेहरूले शृङ्खलाबद्ध हिंसात्मक अपराध र आक्रमणहरू गरेपछि स्कोल्जको सरकार यस मुद्दालाई लिएर चर्को दबाबमा परेको छ।

गत महिना बर्लिनले टर्कीका असफल शरणार्थीलाई देश निकाला गर्ने योजनालाई अघि बढाउने योजनामा अङ्कारासँग सम्झौता गरेको थियो ।

इस्तानबुलको ओजिगिन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डेनिज सर्टले भने, “आप्रवासन एक यस्तो विषय हुन सक्छ जहाँ दुवै राज्यहरू ‘एउटै विन्दुमा हुनेछन्।”

उनले भने, “दुवैले आफ्नो सीमाभित्र सुव्यवस्था कायम गर्ने अधिकार र दायित्व आफूहरूको रहेको र अनियमित आप्रवासी सुरक्षा खतरा भएको तर्क गर्नेछन् ।”

दाङमा टिपर दुर्घटनामा चालकको मृत्यु

घोराही (दाङ) । दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनामा गढवा गाउँपालिका–७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घट्नास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।

घोराहीबाट तापातर्फ जाँदै गरेकोे रा १ ख १८५७ नम्बरको टिप्पर जुम्लेपानीमा सडकदेखि करिब ८० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रवि पक्राउ पर्ने सूचना पाएको छुः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका छन् ।

शुक्रबार विपक्षी दलहरुको बैठकमा अध्यक्ष प्रचण्डले रास्वपाका सभापति लामिछानेलाई पक्राउ गर्न लागिएकोबारे आफूले सूचना पाएको बताएका हुन् । विपक्षी दलको बैठकमा अध्यक्ष प्रचण्डले बिहीबारको तीन दलको बैठकबाट रवि पक्राउ पर्ने सूचना पाएको उल्लेख गरेका हुन् ।

बिहीबार कांग्रेस, एमाले र माओवादीबीच शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन छिटो काम अघि बढाउने विषयमा छलफल भएको थियो ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गल्ती नगरिकन गरेकै हो भन्ने खालको गतिविधि गरेर समस्या सिर्जना गरे त्यो राम्रो नहुने बताए । उनले भने, ‘गल्ती गरेको हो भने अनुसन्धान हुनुपर्छ । तर, गल्ती नगरिकन समस्या सृजना गर्ने काम गर्नु हुन्न।’

माओवादी नेता शक्ति बस्नेतले राजनीतिक आग्रह–पूर्वाग्रका संकेत देखिनु राम्रो नहुने भन्दै कानूनी प्रक्रियाबाट अघि बढ्न कसैले अवरोध नगर्ने बताए ।

सरकार जनताप्रति उत्तरदायी नभएको विपक्षी दलहरूको निष्कर्ष

काठमाडौं । विपक्षी दलहरूको बैठकले सरकार जनताप्रति उत्तरदायी नभएको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा शुक्रबार बिहान बसेको विपक्षी दलहरूको बैठकले सरकार विपद्मा उदासीन भएको र जनताप्रति उत्तरदायी नभएको निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सरकारले पार्टीगत र निहित स्वार्थमा मात्रै ध्यान दिएको बैठकले निष्कर्ष निकालेको जानकारी दिए । बस्नेतले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने बैठकमा सहमति भएको बताए ।

उनले भने, ‘सरकार विपदको पूर्वतयारीदेखि उद्धार, पुननिर्माणमासमेत उदासिन छ। जनताप्रति जवाफदेहीता छैन। सरकारका प्राथमिकता जनताका जनसरोकारका विषयहरूलाई सम्बोधन गर्ने र समाधान गर्नेतिर केन्द्रित नभएर सरकारले पार्टीगत स्वार्थलाई प्राथमिकतामा राखेको ठहर गर्दै समीक्षा भएको छ । यो सबै परिस्थितिलाई ध्यान दिएर तत्काल प्रतिपक्ष दलहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने समझदारी भएको छ।’

उनले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए । बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, उपमहासचिव शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी थिए ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँ

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य शुक्रबारको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । 


महासङ्घका अनसार सुनको मूल्य शुक्रबार प्रतितोला  दुई हजार रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला  एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि भने  एक लाख ६४ हजार चार सय निर्धारण भएको छ । 


यस्तै, चाँदीको मूल्य तोलामा  ३०  रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला  एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने  एक हजार नौ सय ८० रुपैयाँ निर्धारण भएको छ ।

चितवनमा रगत अभाव

चितवन । चितवन जिल्लामा रगत अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो ।

नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरेको छ ।

यहाँ दैनिक दुई सय युनिट रगतको माग हुने गरेको भए पनि अहिले रगत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको सोसाइटीको चिवन शाखाका सभापति हरिप्रसाद पौडेलले बताए ।

चितवनमा रगत अभाव हुन नदिन कास्की, नवलपरासी, मकवानपुर, बारा, पर्सा, रौतहट सर्लाहीलगायत जिल्लाबाट रगत ल्याउने गरिएको भए पनि ती जिल्लामा समेत रगतको अभाव भएको उनले बताए ।

रगत अभावका कारण नियमित शल्यक्रियामा समेत समस्या हुने गरेको छ ।

धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण

काभ्रेपलाञ्चोक। पहिलो स्वस्थ सहरको घोषित धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति आकर्षण बढेको छ ।

हालसम्म जिल्लाको कुल जनसङ्ख्याको ५० दशमलव ८३ प्रतिशतले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

जिल्लामा तीन लाख ६४ हजार ३९ नागरिक छन् । यसमध्ये १ लाख ८५ हजार ७० जनाले स्वास्थ्य बीमा गरेको बोर्डले जनाएको हो ।

बोर्डको जिल्ला संयोजक मुना निरौलाका अनुसार १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै धुलिखेल नगरपालिकाका नागरिकले स्वास्थ्य बीमा गरेका छन् । उक्त नगरका ३३ हजार ७ सय २६ जनसङ्ख्यामध्ये ३२ हजार ४ सय ११ जनाले स्वास्थ्य बीमा गराएका हुन् ।

विश्व स्वास्थ्य सङ्गठनद्वारा ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषित धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूका अनुसार सङ्गठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको उक्त घोषणा गरिएको हो । “ सबै नगरवासीको स्वास्थ्य बीमा गराउने लक्ष्य छ, त्यो चालु आर्थिक वर्षमा पूरा गर्नेछौँ”, ब्याञ्जूले भने ।

जिल्लाका बिमितले धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी, सुन्थान र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, बनेपास्थित रेयूकाइ एईको मासुनागा आँखा अस्पतालबाट सेवा लिन सक्नेछन् । सरकारले नेपाली नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सामाजिक स्वास्थ्य बीमाको आधारमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।

प्रचण्डको आह्वानमा बानेश्वरमा विपक्षी दलका शीर्ष नेताहरुको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक बसिरहेको छ । संसद भवन नयाँबानेश्वरमा विपक्षी दलहरूको बैठक संसद भवन नयाँ बानेश्वरस्थित विपक्षी दलहरुको बैठक बसिरहेको हो ।

बैठकमा माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादी, लोसपा र आम जनता पार्टीका नेताहरु सहभागी भएका छन् । बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, उपमहासचिव शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी छन् ।

बैठक समसामाजिक राजनीतिक विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

इनरुवा । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको क्षति भएको छ ।

धरान उपमहानगरपालिकामा १३ करोड पाँच लाख र दुहबी नगरपालिकामा रु एक करोड २० लाख र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए।

इनरुवामा दुई बिघामा गरिएको सागसब्जी तथा केराखेतीमा पनि क्षति भएको छ ।

ह्यारिस र ट्रम्पमध्ये कसको अग्रता ?

बीबीसी । संयुक्त राज्य अमेरिकामा आगामी नोभेम्बर ५ मा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । यो निर्वाचनमा सुरुमा सन् २०२० मा झैँ जो बाइडन र डोनल्ड ट्रम्प उम्मेदवार बनेका थिए। तर गत जुलाई महिनामा बाइडनले आफू उम्मेदवार नबन्ने घोषणा गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई अगाडि सारे ।

के अमेरिकाले प्रथम महिला राष्ट्रप्रमुख पाउला त ? कि पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पुनः सत्तामा फर्किएलान् ? अमेरिकी राजनीतिमा यो अहिले चासोको मुख्य विषय बनेको छ । कमला ह्यारिस गत जुलाई महिनाको अन्त्यतिर प्रतिस्पर्धामा आएदेखि नै राष्ट्रव्यापी सर्वेक्षणहरूका औसत मानमा उनलाई डोनल्ड ट्रम्पभन्दा केही अगाडि देख्न थालियो । उनले निरन्तर आफ्नो अग्रता कायम राखेकी छन् ।

निर्वाचन अभियान थालेपछि सुरुका केही साताहरूमा उनीप्रति समर्थन बढेको देखियो। अगस्ट महिनाको अन्तिमसम्म आइपुग्दा उनले झन्डै चार प्रतिशतको अग्रता कायम गरिन् ।

तर सेप्टेम्बरको पूर्वार्धदेखि दुई उम्मेदवारहरूप्रति समर्थन व्यक्त गर्ने मतदाताको सङ्ख्या तुलनात्मक रूपमा स्थिर छ। सेप्टेम्बर १० मा ह्यारिस र ट्रम्पबीच भएको बहसपछि पनि त्यसमा ठूलो परिवर्तन देखिएको छैन। टेलिभिजनबाट प्रत्यक्ष प्रसारित उक्त बहस सात करोड मानिसले हेरेका थिए । विगत केही सातामा प्रतिस्पर्धामा कति थोरै परिवर्तन भएको छ भन्ने कुरा तलको चित्रले देखाउँछ।

यस्ता सर्वेक्षणहरूले उम्मेदवारको लोकप्रियताको झल्को दिने भए पनि तिनकै आधारमा निर्वाचनको परिणाम यस्तै हुन्न भन्न चाहिँ सकिँदैन । किनभने संयुक्त राज्य अमेरिकामा ‘इलेक्टोरल कलेज’ भनिने ‘निर्वाचक मण्डल’मा आधारित प्रणालीले निर्वाचनको परिणामको छिनोफानो गर्छ। त्यसअन्तर्गत राज्यहरूलाई त्यहाँको जनसङ्ख्याका आधारमा निश्चित सङ्ख्यामा मतभार अर्थात् ‘इलेक्टोरल कलेज मत’ दिइएको हुन्छ । देशभरिका सबै राज्यसँग कुल ५३८ इलेक्टोरल कलेज मत हुन्छ। निर्वाचन जित्न २७० मतभार पाउनैपर्छ ।

सर्वसाधारण मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मत दिन्छन्, राष्ट्रिय स्तरमा हैन । दुई राज्यमा बाहेक अन्यत्र सर्वाधिक मत ल्याउने उम्मेदवारले उक्त राज्यका लागि तोकिएको सबै मतभार अर्थात् इलेक्टोरल कलेज मत हात पार्ने प्रावधान छ । अमेरिकामा ५० राज्य छन् ।

अधिकांश राज्यले प्रत्येक निर्वाचनमा प्रायः एउटै पार्टीलाई मत दिन्छन्। केही राज्यमा मात्र दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ । ती राज्यले नै समग्र निर्वाचनको परिणाम तलमाथि पारिदिन्छन्। ती राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ (सङ्ग्रामभूमि राज्य) अथवा ‘स्विङ स्टेट’ भन्ने गरिन्छ । यो निर्वाचनमा सातवटा राज्यमा दुई उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ। मतसर्वेक्षणहरूमा ती राज्यमा कुनै पनि उम्मेदवारले स्पष्ट र निर्णायक अग्रता कायम गरेको देखिँदैन ।

कमला ह्यारिस प्रतिस्पर्धामा आएदेखिको प्रवृत्ति हेर्दा राज्यहरूमा देखा परेका भिन्नताबारे बुझ्न सकिन्छ। तर राष्ट्रिय मतसर्वेक्षणभन्दा राज्यस्तरीय सर्वेक्षणको सङ्ख्या कम भएकाले हामीसँग पर्याप्त तथ्याङ्क उपलब्ध छैन। अनि प्रत्येक सर्वेक्षणमा केही त्रुटि हुने सम्भावना पनि हुन्छ।

अर्थात् सर्वेक्षणले देखाउने सङ्ख्या वास्तविक सङ्ख्याभन्दा केही धेरै वा केही थोरै हुन सक्छ । अगस्ट महिनादेखि एरिजोना, जोर्जा र नोर्थ क्यारलाइनामा एकै उम्मेदवारको अग्रता छैन। ती तीन राज्यमा केही सातादेखि ट्रम्प झिनो मतले अगाडि देखिएका छन् । नभाडा राज्यमा पनि अगाडि हुने उम्मेदवार एकै छैनन्। त्यहाँ अहिले ह्यारिसलाई ट्रम्पभन्दा केही अगाडि देखिन्छ ।

मिशिगन, पेन्सिल्भेनिआ र विस्कन्सिनमा अगस्ट महिनादेखि ह्यारिस अगाडि छिन्। कहिलेकाहीँ उनी ट्रम्पभन्दा दुई वा तीन प्रतिशतले अगाडि हुन्छिन्। तर केही दिनदेखि प्रतिस्पर्धा बढेको देखिन्छ । सन् २०१६ मा ट्रम्प विजयी हुनुअघि यी तीनवटै राज्यलाई डेमोक्र्याटिक पार्टीको गढ मानिन्थ्यो। सन् २०२० मा जो बाइडनले ती राज्यमा आफ्नो पार्टीको प्रभाव पुनः स्थापित गरे। यसपालि ह्यारिसले ती राज्यलाई आफ्नो पक्षमा पार्न सकिन् भने उनलाई चुनाव जित्न सजिलो हुने छ ।

उम्मेदवार नबन्ने घोषणा गर्नुअघि सातवटा ‘स्विङ स्टेट’ मा जो बाइडन आफ्ना प्रतिस्पर्धी ट्रम्पभन्दा औसतमा पाँच प्रतिशतले पछाडि रहेको मतसर्वेक्षणहरूले देखाएका थिए। तर उनको ठाउँमा ह्यारिस उम्मेदवार बनेपछि डेमोक्र्याटिक पार्टीका पक्षमा समर्थन बढेको देख्न थालियो ।

पेन्सिल्भेनिआ राज्यमा बाइडन ४.५ प्रतिशतले पछाडि थिए। सात राज्यमध्ये सर्वाधिक इलेक्टोरल कलेज मत (१९) भएकाले दुवै उम्मेदवारका लागि पेन्सिल्भेनिआ महत्त्वपूर्ण छ । सो राज्यमा निर्वाचन जित्ने उम्मेदवारलाई परिणाम आफ्नो पक्षमा पार्न आवश्यक २७० मतभार पुर्याउन सहज हुन्छ ।

कडा प्रतिस्पर्धा हुने सात राज्यमा कमला ह्यारिस र डोनल्ड ट्रम्प अहिले दुई प्रतिशत मतले मात्र अगाडिपछाडि भएको देखिन्छ। यस्तो परिस्थितिमा निर्वाचनको परिणाम कसको पक्षमा जान्छ भन्न सकिँदैन । सन् २०१६ र २०२० मा सर्वेक्षणहरूले ट्रम्पको पक्षमा जाने समर्थनलाई कम आकलन गरेका थिए।

सर्वेक्षण कम्पनीहरू अहिले त्यस्तो त्रुटि सच्च्याउने प्रयासमा छन्। उनीहरू आफूले प्रस्तुत गर्ने परिणाममा मतदान गर्ने जनसङ्ख्याको संरचना प्रतिबिम्बित गराउन खोज्दै छन् । त्यस्तो परिमार्जन गर्न त्यति सजिलो छैन। त्यसैले सर्वेक्षकहरूले नोभेम्बर ५ मा मतदान गर्न को जान्छ भन्ने जस्ता पक्षहरूको विवेचना गर्न आफ्नो ज्ञान र विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।

टी–२० आईमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौं । पहिलो टी–२० आई खेलमा नेपालले घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । नेपालले घरेलु टोली अमेरिकालाई १७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । यस्तै आन्द्रेस गौसले ३० रन बनाए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । यस्तै रिजन ढकाल, करन केसी र गुल्सन झाले समान एक विकेट लिए । त्यसअघि डल्लासमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६४ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए ।

यस्तै दीपन्द्रसिंह ऐरीले २८, अनिल साह र आशिफ शेखले समान २७ रन बनाए । अमेरिकाका हर्मित सिंह, सौरभ नेत्रावलकर र जसदीप सिंहले समान दुई विकेट लिए ।

जितसँगै नेपालले तीन खेलको टी–२० शृङ्खलामा १–० को अग्रता बनाएको छ । अब नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल आइतबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा

काठमाडौँ । दक्षिण अफ्रिका आइसीसी टी–२० महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ । दुबई इन्टरनेशल क्रिकेट मैदानमा बिहीबार राति भएको पहिलो सेमिफाइनल खेलमा ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई आठ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो ।

जितका लागि एक सय ३५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । दक्षिण अफ्रिकाको जितमा एनेक बोशले अविजित ७४ रन बनाइन् ।

यस्तै लौरा वोल्भार्डले अविजित ४२ र ताजमिन ब्रिट्सले १५ रन जोडिन् । बलिङमा अस्ट्रेलियाकी अन्नाबेल सदरल्यान्डले दुई विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो ।

अस्ट्रेलियाको लागि बेथ मुनीले सर्वाधिक ४४ रन बनाइन् । एलेस पेरीले ३१, तहलिया म्याकग्राथले २७ र फोबे लिचफिल्डले १६ रन जोडिन् ।

बलिङमा दक्षिण अफ्रिकाकी अयाबोंगा खाकाले दुई विकेट लिइन् । ननकुलुलेको मलाबाले र मरिजान कापले एक एक विकेट झारिन् ।

फाइनलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्ड र वेस्ट इन्डिजबिचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल आज राति हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।

यस्तो छ कोसी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम

विराटनगर । कोसी प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । कोसी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले गत असोज ६ गते नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्नका लागि ६ सदस्यीय कार्यदल गठन गरेको थियो । 

कार्यदलले एमाले र कांग्रेसको सहकार्यमा आगामी २०८४ सालसम्म निरन्तर औचित्यपूर्ण, प्रभावकारी र इमानदारीपूर्वक जनचाहानालाई सम्बोधन गर्न प्रदेश सरकार सञ्चालनका लागि दृढ सङ्कल्प एवं प्रतिबद्धता व्यक्त गर्दै दुवै दलका तर्फबाट न्यूनतम साझा कार्यक्रम तयार गरिएको जनाएको छ । 

कार्यदलले १५ बुँदे नीतिभित्र रहेर पाँचवटा प्राथमिकताको क्षेत्र निर्धारण गरेर कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण गरेको छ । सो अवसरमा नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री उद्धव थापासमेत उपस्थित थिए । 

मुख्यमन्त्री कार्कीले न्यूनतम साझा कार्यक्रम ग्रहण गर्दै चाँडै मन्त्रिपरिषद् बैठक बसी कार्यान्वयनमा लगिने बताए । उनले दुई राजनीतिक दलबीच सत्ता समिकरण मुलुकको राजनीति अस्थिरता, अन्योलता हटाउँदै आर्थिक समस्यालगायत अन्य समस्या हल हँुदै जाने विचार राखे । उनले चुनावी घोषणापत्र, दुई पार्टीका घोषित कार्यक्रम र प्रदेश सरकारलाई थप प्रभावकारी ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

कांग्रेस ससंदीय दलका नेता थापाले प्रदेशमा पारदर्शीता, सुशासन, रोजगारी र जनताका आकाङ्क्षा पूरा गर्न साझा कार्यक्रमले सहयोग पुर्याउने बताए । सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रमअन्तर्गत सुशासन, पारदर्शिता र जवाफदेहिताअन्तर्गत प्रदेश सरकारको सेवाको सञ्चालनलाई थप उत्तरदायी र जवाफदेही बनाउन नवीनतम प्रविधिसहितको सेवा प्रणाली विकास गरिने, प्रदेशको सार्वजनिक सेवामा जनप्रतिनिधि र सर्वसाधारण नागरिकको निगरानीको पहुँच पुग्ने किसिमको विधि अवलम्बन गरिने, प्रदेश सरकारले हालै सञ्चालनमा ल्याएको ‘हेल्लो सीएम’ कार्यक्रमलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउँदै लगिनेलगायत कुरा समटिएको छ । 

आर्थिक विकासअन्तर्गत परियोजना बैंक थप व्यवस्थित गर्दै बैंकको प्रणालीमा प्रविष्ट भएका कार्यक्रम तथा आयोजनालाई प्राथमिकीकरणगरी कार्यन्वयनमा लगिने, सरकारी, निजी र सहकारी क्षेत्रले प्रदेशको पूर्वाधार तथा आर्थिक र सामाजिक विकासमा ठोस एवं सार्थक योगदान दिन सकोस् भन्ने उद्देश्यले चालु आवमा लगानी सम्मेलनको आयोजना गर्ने र सम्मेलन पछि लगानी मैत्री वातावरण तयार गर्ने कार्यलाई निरन्तरता दिइने गरी आयोजना गरिने, स्वदेशी तथा विदेशी लगानीकर्तालाई प्रदेशका विभिन्न आयोजनाका लागि सहकार्य गर्ने वातावरण निर्माण गरिनेलगायत कार्यक्रम समेटिएको छ । 

कार्यदलमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, नेकपा(एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी, प्रदेश सांसद गोपाल तामाङ र तिलचन पाठक रहेका थिए ।

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको मूल्य बिहीबार तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ६२ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा परिवर्तन भएको छैन । चाँदी आजका लागि भने प्रतितोला एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

गौशाला धर्मशाला विवाद समाधानका लागि पर्यटनमन्त्रीद्वारा परिषद् बैठक आह्वान

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन् । साथै उनले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिएका छन् ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका छन् । साथै उनले यही कात्तिक ४ गते परिषद् बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आह्वान गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेपछि विवाद भएको हो । यसअघि धर्मशाला सञ्चालन गर्ने आएको मारवाडी सेवा समिति कोषको उक्त निर्णयको विरोधमा उत्रिएको छ ।

वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

पर्सा । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलको आयात बढेको छ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०/ ८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन्।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पाङग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए।

चालु आवको भदौ मसान्तसम्ममा रु दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्य पर्ने १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएका छन्।

गत आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए।

आव २०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार छ सय २७ वटा मोटरसाइकल(मोपेडसहित)को पार्टपुर्जा आयात भएका थिए। चालु आर्थिक वर्षको सोही अवधिमा रु ३४ करोड १७ लाख २२ हजार मूल्य पर्ने १६ लाख ६१ हजार पाँच सय ३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपुर्जाहरू आयात भएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड दाखिला

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम असोज ३० गतेसम्मको हो ।

कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले रु ५१ लाख तथा राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन् ।

यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन् ।