`

बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार

तनहुँ । पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्र्यटकका लागि स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथामिकता दिएसँगैै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न सहज पनि भएको छ ।

तोरी, कोदो, फापर, पिँडालु, साग, मुसुरोलगायत बाली लगाएर आयआर्जन वृद्धि तथा बालीको संरक्षणका लागि गाउँपालिकाले अनुदानका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । यी उत्पादन बन्दीपुर आउने आन्तरिक तथा बाह्य पर्यटकले रुचाएकाले तिनको प्रवद्र्धनमा लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । स्थानीय किसानको आयआर्जन वृद्धि गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।

अनुदान कार्यक्रमअन्तर्गत यसवर्ष पनि किसानको ५० प्रतिशत लागत सहभागितामा बीउमा अनुदान, मेसिनरी सहयोग, प्राविधिक ज्ञान तथा बिक्रीको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए । तोरीको लागि तीन लाख, मुसुरोलाई दुई लाख ५० हजार, कोदोलाई छ लाख र ज्योत्ने, पिस्ने, पेल्ने मेसिनरी औँजारको लागि दश लाख अनुदान प्रदान गर्न पालिकाले रकम विनियोजन गरेको छ ।

तोरीखेती गरेको स्थानमा मौरीपालन गरी दोहोरो आम्दानी गर्न सकिने भएकोले मौरी पालनको लागि छ लाख विनियोजन गरिएको अध्यक्ष थापाले जानकारी दिए । अध्यक्ष थापाले भने,“मिलको अभाव भएकोले कोदो र तोरी किसानले लगाउन छाडेकाले मेसिनरीमा अनुदानको व्यवस्था गरेका छौँ, यसले जमिन बाँझो हुने क्रम रोक्न र रैथानै बाली संरक्षण हुने देखेर कार्यक्रम सञ्चालन गरेका हौँं” ।

सहकारी, किसान समूहलाई कार्यक्रममा सहभागी हुन सूचित गरिएको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रमबाट तोरी, मुसुरो र कोदोमा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले गरेको अध्यक्ष थापाले बताए । यहाँका जैविक उत्पादन बेच्न बन्दीपुरमा कोसेली घर नै सञ्चालन भएको छ ।

आर्थिक दवाब र चन्दाले तीसँग कुनै न कुनै दलको फेरो समाएर वैतरणी तर्नेबाहेक अरू उपाय के छ ? 

नारायण गाउँले ।
भाटभटेनीका संचालक मीनबहादुर गुरुङमाथि झन्डै एक अर्ब रुपियाँ भ्याट छली गरेको भनेर सरकारी आरोप र मुद्दा थियो । नक्कली बिल बनाएर भाटभटेनीले ठूलो राजश्व छली गरेकोमा उनलाई सरकारी निकायबाट दोषी करार गरिएको थियो ।

तर अचम्म भयो । उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उल्टो प्रवल जनसेवाश्री भनिने विभूषण पो पाए । सुको साइनो नभएका नेताका पत्नी, साला, ससुरा लगायतले समेत पाउँदै आएको त्यस्तो विभूषण र पदक राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान दिएका गुरुङले पाउँदैमा आकाश खस्ने त थिएन तर सरकार नै वादी हुने मुद्दा र अभियोग रहेका व्यवसायीलाई सरकारले नै मानपदवीले सुशोभित गर्नु कानुनी राज्यको मजाकजस्तै थियो । यो उनको योगदानभन्दा पनि पार्टी र नेतालाई दिएको दानको मूल्याङ्कन थियो भन्ने स्पष्ट देखिन्थ्यो । दलहरू कति निर्लज्ज छन् भने प्रहरीले हत्या अभियोगमा पक्राउ पूर्जी जारी गरेका र फरार रहेका हालका एमाले सांसद लक्ष्मी कोइरीलाई समेत जनसेवाश्री पदक सिफारिस गरिएको थियो । व्यापक विरोधपछि उनको नाम फिर्ता भएको हो ।

गुरुङलाई बालुवाटार जग्गाप्रकरणमा ओली सरकारले नै गठन गरेको सरकारी छानबिन समितिले दोषी ठहर गर्दै कारवाही सिफारिश गरेको थियो । राजनैतिक पहुँच र सम्बन्ध त उनले भ्याटछली मुद्दा किनारा नलाग्दै उच्च विभूषण पाएबाट प्रष्ट हुन्थ्यो । सायद त्यही पहुँचले गर्दा बालुवाटारको जग्गाप्रकरणमा भूमाफियासँग मिलेर सबैभन्दा धेरै जग्गा कारोबार गर्नेमा उनी पनि रहेछन् । एमालेका नेता विष्णु पौडेल र शोभाकान्त ढकालसँग उनको नजिकको सम्बन्ध रहेको देखिन्छ । पौडेलले समेत जग्गा प्राप्ति गरेका थिए भने अर्का एमाले नेता शोभाकान्त ढकाल त मुख्य भूमाफिया नै रहेको सरकारी अनुसन्धान समितिले तोकेर निष्कर्ष निकालेको थियो ।

सरकारी कागजपत्र कीर्ते गर्नेदेखि व्यक्तिका नाममा जग्गा नआउञ्जेलको आर्थिक लगानी पनि गुरुङ्कको रहेको अनुसन्धानले देखाएको थियो । विशेष अदालतले त उनलाई दोषी किटान गरेर फैसला गरिसकेको छ ।
एउटा राजश्व र सरकारी जग्गा अपचलनजस्तो गम्भीर आरोप लागेका व्यवसायीसँग कम्युनिस्ट नाम राखेको पार्टीले ‘दानवीर’ भन्दै गरेको सहकार्य पक्कै खेदजनक छ । माथिका आरोप कुनै पत्रपत्रिका या विपक्षी दलले लगाएको नभई सरकारी र न्यायिक निकायबाटै पुष्टि भएका आरोप हुन् । यो घटना सुशासन र पारदर्शितामाथि माझी औंला ठड्याएजस्तै हो ।

एमाले कोटाबाट सांसदसम्मै भएका व्यक्ति समेत सर्वोच्च अदालतमा न्यायाधीश छन् । सरकार आफैं मुद्दाको वादी छ । यस्तो दान या योगदानले मुद्दाको फैसलामा कति असर पर्ला, भगवान् जानून् !

यसको अर्को पक्ष पनि हेरम् ।
मन्त्रिपरिषदको निर्णयबाट बालुवाटारको हिनामिना भएको जग्गा सरकारी स्वामित्वमा ल्याउने निर्णय भएसँगै सबै जग्गा स्वतः ‘फिर्ता’ भए । तर विष्णु पौडेलले ‘फिर्ता’ गरेको हुनाले छानबिन र कारबाही गर्न नपर्ने तर अरूलाई मुद्दा चल्ने जस्तो लाजलाग्दो निर्णय भयो । फिर्ता लाई ढाल बनाएर विष्णु पौडेललाई बचाउने भए जसले फिर्ता नगर्ने भनेर अड्डी कस्थे तिनलाई पो कारबाही गर्न पर्थ्यो । जसले प्रतिवाद गरेनन्, या जो फिर्ता गर्न राजी थिए तिनलाई किन मुद्दा ? एउटा फिर्तालाई पुरस्कार र अर्को फिर्तालाई जेल ? यस्तो पनि कानुन हुन्छ ? राजनैतिक आड़मा भएको त्यस्तो ठूलो घोटालामा नेता पौडेलले सफाइ पाउने र अझ अर्थमन्त्री बन्ने तर व्यवसायी गुरुङले भने मुद्दा खेपिरहने र अझ थप जग्गा पार्टीलाई दिइरहन पर्ने, यस्तो पनि हुन्छ ?

व्यवसायीले निरन्तर चन्दा र यस्तो दान दिन नपर्ने हुन्थ्यो भने तिनले खुसीसाथ राजश्व तिर्थे । नेपालमा सड़क, रेल र अन्य पूर्वाधारको अवस्थाले गर्दा व्यवसाय आफैंमा महँगो छ । त्यसमाथि आर्थिक दवाब र चन्दाले गर्दा तीसँग कुनै न कुनै दलको फेरो समाएर वैतरणी तर्नेबाहेक अरू उपाय के छ र ? पत्रिकाले समेत दान नपाए अनेक फुर्को जोडेर काण्ड बाहिर ल्याउने देश न हो हाम्रो ।

गुरुङको सबै आय राजश्व ठगी या जग्गा ठगी पक्कै होइन । उनले नेपालको रिटेल व्यवसायलाई नयाँ उचाइ दिएका छन् । हजारौँलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी दिएका छन् । अनेक उद्योग र व्यवसायलाई प्लेटफर्म दिएका छन् । हाम्रा चूसक नेताभन्दा उनको योगदान देशका लागि धेरै छ । स्वच्छ रूपमा व्यवसाय गर्न पाउने माहोल भए पक्कै उनले अमुक पार्टीलाई करोडौको जग्गा दिनभन्दा राज्यकोषमा कर तिर्न सहज मान्ने थिए । चन्दा र घूस नदिई एउटा फाइल पनि अघि बढ्दैन, यो तितो हो तर सत्य हो ।

यत्ति बुझ्न गाह्रो छैन, रहरले गरेको दान पक्कै होइन यो । यो प्रथम नजरमैं अनैतिक र अस्वच्छ देखिने दानको विरोध गर्नु र यस्तो कार्यलाई निरुत्साहन गर्नु देशमात्रै होइन, गुरुङ जस्ता व्यवसायीको समेत हितमा हुन्छ । छली गरे पनि, ठगी गरे पनि, उद्योगी र व्यवसायीहरूले नै तिरेको करले देश धिकिरधिकिर धानिएको हो । आर्थिक गतिविधि शून्य हुन नपाएको हो र केही युवा देशमा रोकिएको हो । पार्टी र नेताले त चुसेका मात्रै छन् ।

तर दुर्भाग्य, हाम्रो आक्रमणको तारोचाहिँ व्यवसायी मात्रै हुन्छ । हामी आफैं यस्तो समाज निर्माण गर्न योगदान गर्छौं जहाँ दलको पुच्छर नभई सिन्को पनि हल्लिन्न । गाउँको मन्दिर या खानेपानी समिति छान्न पनि ओली र देउवाको आदेश कुर्छौं हामी । अनि एउटा व्यवसायीचाहिँ कसरी तटस्थ होस् अनि टिकोस् र ! यो महाजालोबाट उद्योगव्यवसायीलाई मात्रै निकाल्न सकिए पनि देशको भलो हुन्थ्यो । मीनबहादुरहरूलाई दानवीर नबनी व्यवसाय गर्ने वातावरण बनाउन सकिए या दानवीर बनेर मात्रै अदालतसम्मको ग्यारेन्टी पाइने अवस्था भत्काउन सकिए देश बन्थ्यो । एउटा भिक्टिम या घटनालाई मात्रै गाली गरेर त के नै हासिल होला र ! धेरै भए जग्गा फिर्ता होला, क्यास आउला ।

गाजामा अनिकाल निम्तने राष्ट्रसंघको चेतावनी

अमेरिकाले इजरायललाई गाजा क्षेत्रमा सहयोग वितरण सुधार गर्न चेतावनी दिएको एक दिनपछि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सी (युएनआरडब्लुए) का प्रमुख फिलिप लाजारिनीले गाजामा अनिकालको जोखिमको चेतावनी दिएका छन् ।

उनले बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा आगामी जाडो र गाजाको जनसङ्ख्याको कमजोर प्रतिरोधात्मक प्रणालीतर्फ सङ्केत गर्दै भने, “आज वास्तविक जोखिम छ… हामी एउटा यस्तो अवस्थामा प्रवेश गर्छौं जहाँ अनिकाल वा गम्भीर कुपोषण दुर्भाग्यवश फेरि एक सम्भावना हुनेछ ।”

गत वर्ष अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक आक्रमणले गाजाको विशाल क्षेत्रहरू तहसनहस भएका छन् । इजरायलले घेरिएको प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा कारबाहीलाई तीव्र पारेको छ । त्यहाँ संयुक्त राष्ट्रसङ्घले लाखौँ मानिसहरू फसेको चेतावनी दिएको छ ।

“यो एक प्रकारको बाँझो भूमि बनेको छ, यो लगभग बस्न योग्य छैन”, लाजारिनीले गाजाको मानवीय स्थितिको भयावह चित्रण गर्दै भने ।

उनले गाजामा सहायता वितरणको सम्बन्धमा विगत दुईदेखि तीन हप्तामा मङ्गलबारबाहेक उत्तरतर्फ कुनै पनि राहत सवारी साधन प्रवेश नगरेको जानकारी दिए ।

“दक्षिणमा राहत सवारी साधनहरूको प्रवेशमा ठूलो गिरावट आएको छ । त्यहाँ २० लाख मानिसका लागि औसतमा ५० देखि ६० मात्र राहत सवारी साधन छन्”, उनले भने ।

लाजिरानीले प्रवेश गर्न सफल भएका राहत सवारी साधनहरू ‘कानून र व्यवस्थाको पूर्ण भङ्ग भएका कारण’ लुटपाटको शिकार भएको जानकारी दिए । यद्यपि उनले राहत सवारी साधन तथा खाद्यान्नलाई प्रवेश गर्न दिइएको अवस्थामा गाजामा भोकमरीको सङ्कट टार्न सकिने बताए ।

एयरबसले आफ्नो अन्तरिक्ष विभागमा २५ सयसम्म रोजगारी कटौती गर्ने

एयरबसले आफ्नो सङ्घर्षरत उपग्रह विभागमा दुई हजार पाँच सयसम्म रोजगारी कटौती गर्ने योजना बनाएको छ । यो युरोपेली एयरोस्पेस उद्योगका लागि समस्याको पछिल्लो सङ्केत हो।

व्यवस्थापन र श्रमिक सङ्घहरू बीचको वार्तासँग नजिकको स्रोतका अनुसार विमान निर्माण कम्पनीले कर्मचारी प्रतिनिधिहरूलाई सूचित गर्न थालेको छ । यसले आफ्नो सम्पूर्ण रक्षा र अन्तरिक्ष विभागलाई प्रभावित गर्नेछ ।

एयरबस र त्यहाँका मुख्य फ्रान्सेली श्रमिक सङ्घहरूले कर्मचारी प्रतिनिधिहरूसँग दिउँसोको बैठकअघि टिप्पणी गर्न अस्वीकार गरेका छन् । रोजगारी कटौतीको विवरण तत्काल थाहा हुन नसकेको नाम उल्लेख नगरी स्रोतले भनेको छ ।

विभागमा ३५ हजार कर्मचारी कार्यरत छन् र गत वर्ष एयरबसको ६५ अर्ब ४० करोड अरब युरोको आम्दानीमध्ये लगभग दुई अर्ब युरो (दुई अर्ब २० करोड डलर डलर) यसैबाट आएको थियो ।

एयरबसको खुद मुनाफा वर्षको पहिलो छ महिनामा ४६ प्रतिशतले घटेर ८२ करोड ५० लाख युरो पुगेको छ । यो यसको अन्तरिक्ष व्यवसायमा ९८ करोड ९० लाख युरोको सम्पत्तिको अनुमानित मूल्यमा कमीका कारण तल तानिएको हो ।

“अर्धवार्षिक वित्तीय प्रदर्शनले मुख्यतया हाम्रो अन्तरिक्ष व्यवसायमा महत्त्वपूर्ण शुल्कहरू प्रतिबिम्बित गर्दछ”, एयरबसका प्रमुख कार्यकारी अधिकृत गुइलौम फौरीले जुलाईमा नतिजाहरू घोषणा गर्दा भनेका थिए, “हामी यी समस्याहरूको मूल कारणहरूलाई सम्बोधन गर्दैछौँ ।”

कम्पनीले २०२३ मा समान विभागमा ६० करोड युरोको शुल्क लिइसकेको थियो । युरोपेली कम्पनी एयरबस दूरसञ्चार उपग्रहहरूका लागि विश्व नेता हो तर यसले मागमा गिरावटको सामना गरिरहेकाले उद्योगका अन्य खेलाडीहरूलाई पनि प्रभावित गरेको छ ।

फ्रान्सको थालेसले यस वर्षको सुरुमा आफ्नो अन्तरिक्ष विभागमा एक हजार तीन सय पद पुनः तोकेको थियो ।

दूरसञ्चार र नेभिगेसन उपग्रहहरू सबै अर्डरअनुसार बनाइन्छन् । यसले एयरबसको प्रमुख व्यावसायिक विमान व्यवसायमा जस्तै स्केलको अर्थव्यवस्थाबाट फाइदा लिने सम्भावना हटाउँछ ।

विभागले स्पेसएक्स र यसको स्टारलिङ्क कम तह कक्षाका उपग्रहहरूको तारामण्डलबाट बढ्दो प्रतिस्पर्धाको पनि सामना गरिरहेको छ ।

विश्वविद्यालयको आगामी प्रमुख बन्न अक्सफोर्डद्वारा ३८ उम्मेदवारको घोषणा

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बुधबार आफ्नो अर्को चान्सलर बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा रहेको बताएको छ ।

तथापि हाल जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ती प्रतिस्पर्धीमा परेका छैनन् । उनको पार्टीले खानका लागि आवेदन दिएको बताएको थियो । 

उम्मेदवारहरूले हङकङका पूर्वगभर्नर क्रिस प्याटनको उत्तराधिकारी बन्न प्रतिस्पर्धा गरिरहेका छन् । प्याटन २१ वर्षपछि जुनमा बिदा भएका थिए । यो औपचारिक पद सन् १२२४ देखि लगातार पूर्ति हुँदै आएको छ ।

प्याटनको स्थान लिन उच्च–प्रोफाइल नामहरूमा कन्जर्भेटिभ पार्टीका पूर्वनेता एवं विदेश सचिव विलियम हेग, लेबर पार्टीका पूर्व युरोपेली सङ्घ व्यापार आयुक्त पिटर म्यान्डेलसन र पूर्व महान्यायाधिवक्ता डोमिनिक ग्रिभ समावेश छन् ।

आठ सय वर्षमा पहिलो पटक यो पद धारण गर्ने महिला बन्ने आशा गर्दै स्कटिश वपकल एलिश एन्जियोलिनीले गरेका छन् । उनले सन् २०२१ मा लन्डनका एक प्रहरी अधिकारीद्वारा ३३ वर्षीया मार्केटिङ कार्यकारी सारा एभरार्डको बलात्कार, अपहरण र हत्याको उच्च–प्रोफाइल जाँच नेतृत्व गरेका थिए ।

एन्जियोलिनी हाल सेन्ट ह्युज कलेज, अक्सफोर्डकी प्रिन्सिपल हुनुहुन्छ । यहाँका पूर्वविद्यार्थीहरूमा बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसा मे र म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकी रहेकी छन् ।

अर्का अक्सफोर्ड प्रिन्सिपल सोमरभिल कलेजकी जान रोयल पनि दौडमा छिन् । उनी पूर्व लेबर नेता नील किनकका पूर्व सल्लाहकार र हाउस अफ लर्ड्सकी नेत्री थिए ।

अगस्टमा इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका लन्डनस्थित प्रवक्ताले पूर्वप्रधानमन्त्रीले आफ्नो आवेदन पेश गर्न चाहने निर्देशन दिएको बताएका थिए ।

सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहेका खानले भ्रष्टाचारदेखि हिंसा भड्काउनेसम्मका विभिन्न आरोपमा एक वर्षभन्दा बढी जेलमा बिताएका छन् । यसलाई उनले राजनीतिक प्रेरित र उनलाई सत्ताबाट टाढा राख्न डिजाइन गरिएको बताएका छन् ।

उनले सन् १९७५ मा दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रको अध्ययन गरेर अक्सफोर्डबाट स्नातक गरेका थिए । त्यसपछि राजनीतिमा प्रवेश गर्नुअघि उत्कृष्ट करियरमा पाकिस्तानको क्रिकेट टोलीको कप्तानी गरेका थिए ।

विश्वविद्यालयले आवेदनहरूलाई बेलायती कर प्राधिकरणद्वारा ‘उपयुक्त र उचित व्यक्ति’ नठानिएका आवेदकहरूलाई अयोग्य ठहर्याउने आफ्नो ‘चार बहिष्करण मापदण्ड’ मा विचार गरिएको बताएको छ ।

दुई चरणको मतदानपछि, नयाँ चान्सलरको घोषणा नोभेम्बर २५ को सातामा गरिनेछ । चान्सलर विश्वविद्यालयको नाममात्रको प्रमुख हो र उसले केही प्रमुख समारोहको अध्यक्षता गर्छ । उसले वकालत, सल्लाहकार र कोष सङ्कलन कार्य पनि गर्छ ।

विश्वविद्यालयले आफ्नो नियम संशोधन गरेपछि आगामी चान्सलर १० वर्षभन्दा बढी नहुने निश्चित अवधिका लागि पदमा रहनेछ ।

उत्तर कोरियाको उल्लङ्घनको अनुगमन गर्न नयाँ प्रतिबन्ध अनुगमन टोली

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानसहित ११ देशले उत्तर कोरियाको प्रतिबन्ध उल्लङ्घनको अनुगमन गर्न नयाँ संयुक्त संयन्त्र सुरु गर्ने सोलको विदेश मन्त्रालयले बताएको छ ।

यो निर्णय रूसले मार्चमा उत्तर कोरियामाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्रसङ्घका विशेषज्ञहरूको प्यानलको नवीकरणमा भिटो लगाएपछि आएको हो । भिटोले उत्तरको प्रतिबन्धित आणविक र हतियार कार्यक्रमहरूका लागि लगाइएको प्रतिबन्धको आधिकारिक निरीक्षणलाई प्रभावकारी रूपमा समाप्त गरेको छ ।

रूसको भिटोको व्यापक आलोचना गरिएको थियो । संयुक्त राज्य अमेरिकाले यसलाई उत्तर कोरियासँगको ‘आफ्नै मिलेमतोमा प्यानलको रिपोर्टिङलाई दबाउने स्वार्थी प्रयास’ भनेको थियो ।

त्यसयता सोल र अन्य देशले प्रतिबन्ध अनुगमन जारी राख्न विभिन्न विधि लागू गर्न काम गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूतले अनुगमन गतिविधिहरूको निरन्तरता सुनिश्चित गर्न ‘केही रचनात्मक तरिका’ र ‘नयाँ दृष्टिकोणबाट सोच्ने काम’ खोजिरहेको बताए ।

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानका साथै अन्य आठ देश – फ्रान्स, बेलायत, जर्मनी, इटाली, नेदरल्यान्ड्स, क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्ड – बहुपक्षीय प्रतिबन्ध अनुगमन टोली (एमएसएमटी) मा सहभागी हुनेछन् ।

“एमएसएमटी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न र विश्वव्यापी अप्रसार शासनको रक्षा गर्न र (उत्तर कोरियाको) सामूहिक विनाशका हतियार र ब्यालिस्टिक मिसाइल कार्यक्रमहरूबाट उत्पन्न हुने खतरालाई सम्बोधन गर्न हाम्रो प्रतिबद्धतासँग जोडिएको छ”, देशहरूले एक संयुक्त वक्तव्यमा भनेका छन्, “एमएसएमटीले संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको प्रतिबन्धात्मक उपायहरूको उल्लङ्घनको अनुगमन र रिपोर्ट गर्नेछ ।”

“हाम्रो प्राथमिकता अघिल्लो व्यवस्था जारी राख्नु थियो”, अमेरिकी उपविदेशमन्त्री कर्ट क्याम्पबेलले बुधबार सोलमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने, “त्यो मार्ग रूसी अडानले रोकिएको थियो, त्यसैले यो हामीले अपनाएको दृष्टिकोण हो, साझा उद्देश्यले प्रेरित राष्ट्रहरूको यो समूहसँग वास्तवमै पहिले गरिएका केही काम र रिपोर्टिङलाई पार गर्ने क्षमता छ ।”

दक्षिण कोरियाका प्रथम उपविदेशमन्त्री किम हङ–क्युनले उत्तरले विभिन्न क्षेत्रमा संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घन गरिरहेको बताए ।

“उल्लङ्घनहरूमा आणविक मिसाइल उक्साहट, रूससँग गैरकानूनी हतियार सम्झौता, ह्याकिङमार्फत कोषको साइबर चोरी र समुद्रमा गैरकानूनी जहाज–देखि–जहाज स्थानान्तरण समावेश थियो”, उनले भने ।

मस्कोले सन् २०२२ फेब्रुरीमा युक्रेनमा आक्रमण गरेयता ऐतिहासिक सहयोगी रूस र उत्तर कोरिया अझै नजिक आएका छन् ।

प्योङयाङले किएभविरुद्ध प्रयोग गर्न मस्कोलाई हतियार पठाइरहेको छ सोलले दाबी गरेको छ । त्यस्तै युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले हालै उत्तरले रूसको सेनामा सैनिकहरू पठाएको आरोप लगाएका छन् । 
प्योङयाङले रूससँग कुनै पनि प्रतिबन्ध–विरोधी हतियार व्यापारलाई अस्वीकार गरेको छ ।

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा १४० भन्दा बढीको मृत्यु

नाइजेरिया । उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४० भन्दा बढी मानिसको मृत्यु भएको छ ।  उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो ।

नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोल बहुमूल्य पदार्थ बनेको बेला यो पछिल्लो दुर्घटाना भएको हो । 

प्रहरीका अनुसार इन्धन ट्याङ्करले अर्को सवारी साधनलाई बचाउन खोज्दा मङ्गलबार जिगावा राज्यको माजिया शहरमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रहरी प्रवक्ता लवान शिइसु आदमका अनुसार, दुर्घटना पछि स्थानीय बासिन्दाहरू ट्याङ्कर वरिपरि भेला भएर सडक र नालीमा चुहिएको इन्धन सङ्कलन गर्दै थिए ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (एनइएमए) का प्रवक्ता नुरा अब्दुल्लाहले एक सय ४० भन्दा बढी मानिस’ लाई सामूहिक चिहानमा गाडिएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताए ।

यसअघि प्रहरीले कम्तीमा ९४ जनाको मृत्यु भएको र ५० जना घाइते भएको बताएको थियो ।

नाइजेरियाली सांसदहरूले सिनेटमा एक मिनेट मौन धारण गरेका छन् ।

बुधबार एक वक्तव्यमा नाइजेरियाका उपराष्ट्रपति काशिम शेट्टिमाले सुरक्षा समीक्षाको आह्वान गरे र सङ्घीय सरकारले प्रभावितहरूलाई सहयोग गर्न स्रोतहरू पठाइरहेको बताए ।

इन्धन ट्याङ्कर विस्फोटहरू अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियामा सामान्य हुन् । यहाँ सडकहरू राम्रोसँग मर्मतसम्भार नगरिएको हुन सक्छ र बासिन्दाहरूले प्रायः दुर्घटनापछि इन्धन चोरी गर्ने प्रयास गर्छन् ।

राष्ट्रपति बोला अहमद टिनुबुले गत वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ, र प्रायः अभाव हुने गर्छ ।

गत साता सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्य वृद्धि गरेपछि निराशा अझै बढेको छ ।

प्रहरी नागरिकको भरोसायोग्य सङ्गठनका रूपमा स्थापित छः प्रहरी महानिरीक्षक कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राष्ट्र र नागरिकले सामना गरेका विषम परिस्थितिमा देखाएको समर्पणभाव र उच्च व्यावसायिकता प्रदर्शनबाट प्रहरी नागरिकको सेवा र सुरक्षाको भरोसायोग्य सङ्गठनका रूपमा स्थापित भएको बताएका छन् । 


६९औँ प्रहरी दिवसका अवसरमा बुधबास प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कार्यसम्पादन र सेवा प्रवाहको विश्वसनीयता, गुणस्तरियता र जिम्मेवारीप्रतिको समर्पणलाई निरन्तर परिस्कृत गर्दै लगिएको बताए ।


महानिरीक्षक कुँवरले सङ्गठित अपराधका रूपमा रहेका लागुऔषध कारोबार, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसुर, अवैध हातहतियार र बहुमूल्य सामग्रीको ओसरपसार तथा आर्थिक अपराधलाई निर्ममताका साथ कानुनी दायरमा ल्याउन प्रहरीले आफ्नो क्षमतालाई विस्तार गरी अन्तर्राष्ट्रिय प्रहरी निकायसँगको समवन्यलाई तीव्रता दिएको बताए  ।


        बदलिँदो सामाजिक परिवेशसँगै सिर्जित नवीनतम् चुनौतीलाई उच्च मनोबलका साथ निस्तेज पारिएको उल्लेख गर्दै उनले पछिल्ला एक वर्षमा उल्लेखनीय र अपत्यारिला उपलब्धि हासिल भएका बताए ।


‘बहुचर्चित तथा जघन्य अपराधको सफल अनुसन्धान, विपद्जन्य घटनाको उद्धार, लागुऔषध, आत्महत्या, लैङ्गिक हिंसा र सवारी दुर्घटना न्यूनीकरणलगायत सामाजिक विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गरिएको छ’, प्रहरी महानिरीक्षक कुँवरले भने ।


        उनले पछिल्लो एक वर्षको अवधिमा प्रहरी सङ्गठनको आधुनिकीकरण, सुदृढीकरण र संस्थागत विकासका लागि विभिन्न निकायसँग साझेदारी भएको स्पष्ट पारे । महानिरीक्षक कुँवरले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गरी नागरिकको जीउधन र व्यक्तिगत स्वतन्त्रताको संरक्षण गर्दै प्रहरीलाई विश्वसनीय र प्रभावकारी सङ्गठनका रूपमा रूपान्तरणका लागि कटीबद्ध रहन निर्देशन दिए ।


        सो समारोहमा प्रमुख अतिथि एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्तबहादुर बस्नेतलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले ‘प्रहरी दर्पण २०८१’ लोकार्पण गरेका थिए । पुरस्कृत व्यक्तित्व बस्नेतले प्रहरी फौज स्थापनाको मर्मअनुसार काम गर्न सिङ्गो सङ्गठन प्रतिबद्ध हुनुपर्ने बताए ।


उत्कृष्ट प्रहरी अधिकृत र कर्मचारी पुरस्कृत


        समारोहमा प्रधानमन्त्री ओलीले ‘पूर्ण शान्ति पुरस्कार’ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक पवनकुमार भट्टराई, ‘मोलीलाल सर्वोत्कृष्ट अनुसन्धान पुरस्कार’ केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक सूर्यभक्त श्रेष्ठ र ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ गण्डकी प्रदेश प्रहरी, विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी जवान अब्दुल अन्सारीलाई प्रदान गरे ।


        समारोहमा प्रहरी व्याटन–२०८१ अन्तर्गत उत्कृष्ट हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई प्रदान गरिएको थियो । यस्तै प्रधानमन्त्री ओलीले ‘मोलीलाल–कला–मिथिला अमर प्रहरी छात्रवृत्ति’ अनजयकुमार साह र आशिका लामा, ‘अच्युत–मीना अमर प्रहरी परिवार पुरस्कार’ अंशु थारु र दिकेश कार्की, ‘अच्युत–मीना अमर प्रहरी परिवार छात्रवृत्ति’ नवीना साउँद र अनिल साउँदलाई प्रदान गरे ।


      समारोहमा प्रहरीको ऐतिहासिक विकासक्रम झल्काउने मार्चपास तथा उपत्यकासहित सातवटै प्रदेश प्रहरी कार्यालयका तर्फबाट सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

धुलिखेल । सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ । 

रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो ।

सडक डिभिजन भक्तपुरले बुधबार सार्वजनिक सूचना जारी गरी भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेकाले जुनसुकै समयमा उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना हुँदा बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल–भकुण्डेबेसी–वर्षेखोला सडकखण्ड बन्द रहने जनाएको हो ।

उक्त सडकखण्ड सञ्चालनमा आएसँगै अहिले बिपी राजमार्ग भएर काठमाडौँ भित्रिने सवारीसाधनको चाप बढेको छ ।

संसदको विशेष अधिवेशन बोलाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ । बुधबार कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गरी राष्ट्रिय जीवनका तमाम समसामयिक विषयहरुबारे तत्काल छलफल गर्न आवश्यक देखिएकाले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन अपील गरेका हुन् ।

उनले दुई तिहाइको सरकार कामचलाउ जस्तो भएकोसमेत दाबी गरेका छन् ।

‘मुटुमा ढुङ्गा’ राखेर विदेश जान लागेका आमाहरु

मधु शाही, काठमाडौँ । दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन् । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, ‘घर चलाउन, घरै छाड्नुपर्‍यो ।’ घरको आर्थिक स्थिति सुधार्न विदेसिन लागेको उनको भनाइ थियो ।

कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमान्‌को कमाइले परिवार चलाउन सकेनन् । छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भयो । उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोचेको होइन तर लगानी गर्ने आँट नभएपछि विदेसिन बाध्य भएको बताइन् । ‘सन्तान छाडेर विदेसिने कुन आमालाई खुसी मिल्छ होला र’, उनले भनिन्, ‘मुटुमा ढुङ्गा राखेर जान लागेकी छु । राम्रै कम्पनी परे त ठिकै हो । नभए के गर्ने थाहा छैन ।’

गिरीसँगै कामदारका रुपमा विदेश जान आठ महिला तयार थिए । ती सबै आमाहरु थिए । त्यही लहरमा भेटिएकी झापाकै ३४ वर्षीया सरस्वती तामाङको अनुहार मलिन देखिन्थ्यो । आफ्नै नाम भन्न लजाउने तामाङले समुन्द्रपारिको मुलुकमा कसरी काम गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफ छोटोमा दिइन्, ‘जे त होला ।’ तामाङले ५ कक्षासम्म मात्रै पढेकी छन् । सानैमा बिहे भयो । १० वर्षकी छोरी छोडेर विदेसिनु कुनै महत्वाकांक्षा नरहेको उनको भनाइ छ । ‘यो मेरो बाध्यता हो’, उनी भन्छिन्, ‘छोरी हुर्किंदै छे, उसलाई मेरो जरुरी पर्छ तर गरिबीले विदेसिने बनायो ।’

तामाङका श्रीमान् सवारी चालक छन् । सुकुम्बासी बस्तीमा बस्ने उनीहरुको जग्गा जमिन छैन । घर चलाउन श्रीमान्‌लाई विदेश पठाउने तयारी गरे पनि स्वास्थ्य परीक्षण गर्दा छातिमा दाग देखिएपछि उनले आफैँ विदेसिने निधो गरेकी हुन् । ‘नेपालको कमाइले पुग्दैन । महँगी छ । त्यसैले विदेसिनुको विकल्प देखिनँ’, उनले भनिन् ।

स्याङ्जाकी धनु घले दुई छोराछोरीकी आमा हुन् । श्रीमान्‌ले काम नगर्ने, जाँड रक्सी खाएर कुटपिट गर्ने गरेपछि उनले ‘फुटपाथ’मा साग बेचेर जीविकोपार्जन गर्दै आएकी थिइन् । छोराछोरी पढाउन र हुर्काउन गाह्रो भयो । श्रीमान्‌लाई फकाएर मलेसिया पठाइन् । विदेश गएका श्रीमान्‌ले खर्च पठाउने आशामा पाँच वर्ष बित्यो तर श्रीमान्‌ले न त पैसा पठाए न त फोन सम्पर्क नै । हातमुख जोर्न मुस्किल भएपछि ४२ वर्षीया घलेले छोराछोरीलाई छात्रवासमा राखेर दुबई जान लागेको बताइन् । ‘विदेश गएको श्रीमान्‌ले एक सुको पठाएन, वास्तै गरेन’, उनले भनिन्, ‘छोराछोरी पाल्ने कोही नभएपछि उनीहरुकै भविष्यका लागि विदसिन लागेकी हुँ ।’

वैदेशिक रोजगार विभागको सन् २०२२ को तथ्यांकमा वैदेशिक रोजगारमा जाने महिलाको उमेर समूहमा २४ देखि ३४ वर्षका ५२ दशमलव तीन प्रतिशत, १८ देखि २४ उमेरका ३२ दशमलव तीन प्रतिशत र ३५ देखि ४४ वर्ष उमेरका १४ दशमलव छ प्रतिशत र ४५ देखि माथिका शून्य दशमलव आठ प्रतिशत उल्लेख छ ।

विभागकाअनुसार बर्सेनि ६० हजार हाराहारीको संख्यामा महिला वैदेशिक रोजगारीमा जाने गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ४९ हजार महिला वैदेशिक रोजगारीमा गएका थिए । आर्थिक वर्ष २०७९/०८० मा ७२ हजार महिला श्रम गर्न विदेश गए । आर्थिक वर्ष २०८०/८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको संख्या वृद्धि भई ८० हजार पुगेको छ ।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालले तुलनात्मक रुपमा पुरुषभन्दा महिला कमै विदेश जाने गरेको देखिए पनि पछिल्लो तथ्यांकले रोजगारका लागि विदेश जानेक्रम बढ्दो अवस्थामा रहेको बताए । उनका अनुसार खाडी मुलुक जाने महिलाको संख्यामा क्रमशः वृद्धि भइरहेको छ । ‘अधिकांश महिला साउदी, मलेसिया, कुबेत, कतार, यूएइलगायत खाडी मुलुकमा रोजगारका लागि जानुहुन्छ’, प्रवक्ता ढकालले भने, ‘त्यसमा पनि श्रम स्वीकृति नलिइ लुकेर जानेहरुको तथ्यांक पाउन मुस्किल छ ।’

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले वैदेशिक रोजगारमा आमा जान बाध्य हुँदा परिवारमा नकारात्मक असर परेको बताउँछिन् । आयोगले एक वर्षअघि गरेको तथ्यांकको विश्लेषण गर्दै उनले भनिन्, ‘आमा नहुँदा घर परिवार लथालिंग भएको छ ।’ राज्यले स्वदेशमै रोजगारीको सुनिश्चितता नगर्दा नागरिककले सास्ती खेप्नुपरेको उनको भनाइ छ ।

पौरखी नेपालका पूर्वअध्यक्ष मञ्जु गुरुङका अनुसार आमाहरु परिवार पाल्न विदेसिनुमा सामाजिक, आर्थिक, राजनीतिक पक्षहरु मुख्य छन् । संस्थाले विदेश जानुअघि परामर्श दिने, सकेसम्म स्वदेशमै बस्न उत्साहित गर्ने र नभएमा विदेश जाँदा अपनाउनुपर्ने सचेतताबारे परामर्श दिँदै आएको उनले बताइन् । बितेका १५ वर्षमा पाँच हजारभन्दा बढी वैदेशिक रोजगारीमा अलपत्र महिलाको उद्धार गरिएको उनले जानकारी दिइन् । ‘नेपाली समाजमा महिलाले थुप्रै विभेद सहन बाध्य छन्’, उनी भन्छिन्, ‘जसले गर्दा घर छोडेर कमाउन विदेसिएका छन् ।’ आमाहरुलाई स्वदेशमै टिकाउन राज्यले उद्यमशील निती ल्याउन जरुरी रहेको उनको सुझाव छ ।

वर्तमान संविधान र लोकतान्त्रिक प्रणालीमा ‘कम्प्रोमाइज’ हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार परिवर्तन हुन्छ भन्ने भ्रममा नपर्न सबैमा आग्रह गरेका छन् ।

६९ औँ प्रहरी दिवसका अवसरमा बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निश्चित अवधिपछि वर्तमान सरकार आफैँ फेरिने स्पष्ट पारे ।


  “अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने सुनिन्छि, दसैँपछि तुरुन्त परिवर्तन हुन्छ रे, कुन दसैँ भनेको ? ८४ सालको दसैँपछिको चुनावमा ? ठिकै हो । त्यसभन्दा यता मैले एक वर्ष नौ महिनापछि शेरबहादुर देउवालाई हस्तान्तरण गर्छु । त्यसबेला आफैँ फेरिन्छ यो सरकार”, प्रधानमन्त्री ओलीले भने, “त्यसपछि देउवाजीले नेतृत्व गर्नुहुन्छ, उहाँको नेतृत्वमा २०८४ सालमा निर्वाचन हुन्छ । चुनावपछि जो आउँछ त्यसले सरकार बनाउँछ । यस कुरामा सबै ढुक्क रहन म आग्रह गर्न चाहन्छु ।”


        प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक इतिहासमा ठूलो योगदान गरेका नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता पार्टीले मिलेर बनेको लगभग दुई तिहाइको सरकार ‘खरानीको डल्लो’ नभएको टिप्पणी गरे ।


‘वर्तमान संविधान र लोकतान्त्रिक प्रणालीमा ‘कम्प्रोमाइज’ हुँदैन’


प्रधानमन्त्री ओलीले जनप्रतिनिधिमार्फत निर्माण गरिएको वर्तमान संविधान र जनताको सङ्घर्षको बलमा स्थापित लोकतान्त्रिक प्रणालीमा कुनै ‘कम्प्रोमाइज’ नहुने स्पष्ट पारे । उनले नेपाली जनतामा सार्वभौमसत्तानिहीत रहेको यस प्रणालीको रक्षा गर्नु  सम्पूर्ण नेपालीको कर्तव्य भएको बताए ।


        “पूर्वज र अग्रजले यो देशको निर्माण र समृद्ध बनाउने सन्दर्भमा धेरै बलिदान र कष्ट व्यहोर्नुभएको छ । आजको स्वतन्त्रतायुक्त समाज यत्तिकै आइलागेको होइन, यो बडो मेहनतका साथ आएको हो”, प्रधानमन्त्री ओलीले भने, “जनतामा सार्वभौमसत्ता रहेको र जनता शक्तिको स्रोत रहेको संविधान र यसबाट निर्दिष्ट अहिलेको लोकतान्त्रिक प्रणालीको रक्षा गरिनेछ ।”


        अलोकतान्त्रिक विधिबाट परिवर्तन गर्छु भन्नु अराजनीतिक विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “धेरै कुरामा ‘कम्प्रोमाइज’ हुन सक्दछ, तर प्रणालीको कुरामा कुनै सम्झौता हुँदैन । लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ, चुनावमा जाऔँ, एउटा सरकार मन परेन भने चुनावका माध्यमबाट अर्को सरकार गठन गर्न सकिन्छ ।”


‘कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ’


        प्रधानमन्त्री ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका साथ पारित गरिने स्पष्ट पारे । उनले प्रहरी ऐन संशोधन गर्ने विधेयक मन्त्रिपरिषद्ले पारित गरिसकेको संशोधित कानुन संसदबाट पारित भएपछि प्रहरीमा नयाँ दिनको उदय हुने उल्लेख गरे । उक्त विधेयकलाई हाल आवश्यक सुझावका लागि लोकसेवा आयोगमा पठाइएको छ ।


        नेपाल प्रहरीलाई आफूले जेलमा रहँदा, सांसद–मन्त्री हुँदादेखि नै नजिकबाट चिनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस सङ्गठनलाई अपराध अनुसन्धानमा तालिम र अत्याधुनिक साधनको उपब्धता गराउने विषयमा सरकारकोे ध्यान गएको बताए ।


        देशविदेशमा खटिएर शान्ति सुरक्षामा रहेका सबै प्रहरीलाई दिवसका शुभकामना दिँदै प्रधानमन्त्री ओलीले समाजमा प्रहरीले शान्ति सुव्यवस्था कायम गर्न खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको बताए ।

गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन सभापति देउवाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ‘जय नेपाल फाउण्डेसन’ जस्ता संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।

आफ्नै निवास बुढानिलकण्ठमा बुधबार जय नेपाल फाउण्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले चेतनाको वाहक भएर लोकतान्त्रिक पद्धती र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जनअधिकारको रक्षाका निम्ति फाउण्डेशनले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन फाउण्डेसनलाई आग्रह गरे ।

विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै जय नेपाल अन्तराष्ट्रिय फाउण्डेसन समेत स्थापना भएकामा खुसी व्यक्त गर्दै सभापति देउवाले नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए ।

स्मारिका सार्वजनिक कार्यक्रममा फाउण्डेसनका अध्यक्ष बद्री अर्यालले संस्थाका गतिविधि,उद्देश्य र अभियानबारे सभापति देउवालाई जानकारी गराएका थिए ।

जय नेपाल सन्देशका प्रधान सम्पादक प्रा.डा धनेश्वर नेपाल र फाउण्डेसनका संस्थापक सदस्य सचिव एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख विजयराज अधिकारीले स्मारिकामा समेटिएका विषयवस्तु र विचारहरूबारे सभापति देउवालाई संक्षिप्त जानकारी गराएका थिए ।

स्रोत नखुलेको आठ लाख नगदसहित महोत्तरीमा एकजना पक्राउ

जलेश्वर । महोत्तरीको जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा बुधबार दिउँसो प्रहरीले स्रोत नखुलेको  आठ लाख पाँच हजार पाँच सय नगदसहित एक जनालाई पक्राऊ गरेको छ ।

पक्राऊ पर्नेमा सम्सी गाउँपालिका–७ बस्ने २८ वर्षीय रामस्नेही साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारले बताए।

बीआर ३० एएफ ३८७६ भारतीय नम्बरको मोटरसाईकलमा चढेर मनरासिश्वा नगरपालिका–२ स्थित भोल्ही चोक जाँदै गरेका साहलाई प्रहरी टोलीले शंका लागि चेक जाँच गर्दा निजले लुकाएर बोकेको अवस्थामा स्रोत नखुलेको उक्त नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

साहले शरीरका विभिन्न भागमा लुकाएर बोकेको अवस्थामा स्रोत नखुलेको  एक हजार दरका नोट आठ सय एक थान र पाँच सयका नोट नौ थान बरामद गरेको हो ।

पक्राऊ परेका साह र उनी सवार मोटरसाईकलसहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरी सङ्गठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदैछः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडी बढाएको बताएका छन् ।

६९औँ प्रहरी दिवसका अवसरमा बुधबार आयोजित समारोहमा गृहमन्त्री लेखकले उक्त विधेयकले कानुनी मान्यता प्राप्त गरेपश्चात नेपाल प्रहरीको वृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास र संगठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयामहरू पहिचान हुनेविश्वास व्यक्त गरे ।

नेपाल प्रहरी एउटा जीवन्त संगठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि नेपाल प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताए ।

राष्ट्रसेवामा नेपाल प्रहरीका पदचापहरूले बाटो नबिराउने र कहीँ कतै नसुस्ताउनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

गृह प्रशासनको पुरानो र लामो अनुभवी संस्था नेपाल प्रहरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले यस सङ्गठनको भूमिका र कार्यशैलीले नेपालको आन्तरिक सुरक्षा मजबुत बनाएको बताए।

मुलुकमा आइपरेका जुनसुकै विषम परिस्थिति एवं विपत्तिमा उद्धार तथा व्यवस्थापन तथा हालै गएको बाढी पहिरोबाट प्रभावितको खोज तथा उद्धार र राहत व्यवस्थापनमा नेपाल प्रहरी सदैव अग्रभागमा खटिएको गृहमन्त्री लेखकले उल्लेख गरे।

मुलुकका सामु विभिन्न चुनौतीरहेको गृहमन्त्री लेखकले बताए। अन्तर्राष्ट्रिय आतंकवाद, साइबर अपराध, प्राकृतिक प्रकोपको जोखिम, सीमापार र बहुक्षेत्रीय अपराधको सञ्जालको नियन्त्रण र अनुसन्धान, मुद्रा निर्मलीकरण र प्रविधिको दुरुपयोग गरी गरिने आर्थिक अपराध जस्ता विविध सुरक्षाका चुनौतीको उचित सम्बोधन गर्नुपर्ने अवस्था रहको उनको भनाइ थियो ।

गृहमन्त्री लेखकले प्राकृतिक घटनाक्रमको सम्बोधन र व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता रहेको उल्लेख गर्दै आत्महत्या न्यूनीकरण, सडक दुर्घटना तथा लागूऔषध दुर्व्यसनमा कमी ल्याउन तत्काल विभिन्न प्रभावकारी नीति तथा कार्यक्रमको आवश्यकता रहेको बताए। यी सबै समस्या सम्बोधन गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याउने हरेक रचनात्मक कार्यक्रमलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न गृह मन्त्रालय सदैव सकारात्मक रहेको उनको भनाइ थियो ।

पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेका हौँ : एमाले

काठमाडौँ । पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी खेदजनक भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जनाएको छ ।

एमालले उक्त विषयलाई लिएर भएका छलफल, बहस र टीकाटिप्पणीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू अत्यन्त खेदजनक छन्, ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लाञ्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ ।”

पार्टीले एक व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क प्रदान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गर्नुभएको जनाएको छ ।

विसं २०८१ असोज २४ गतेको सचिवालयको ३८औँ बैठकले संस्थागत रुपमा स्वीकार गरी उनलाई सहयोगका निम्ति धन्यवाद दिई यही असोज २५ गते औपचारिक रुपमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्षस्थ नेताहरूको उपस्थितिमा  केन्द्रीय कार्यालयको शिलान्याससमेत गरिसक्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

जग्गादाता गुरुङ विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैङ्क लिमिटेडमा कार्यरत रहँदा बैङ्किङ क्षेत्रमा पार्टीसम्बद्ध कर्मचारीको केन्द्रीय कार्यसमिति सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामीप्यतामा रहेको तथ्य जगजाहेर भएको एमालेले जनाएको छ ।

“अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौँ, यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन”, विज्ञप्तिमा भनिएको छ, “उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूका बारेमा उहाँ आफैँले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही छैन ।”

लोकतान्त्रिक मुलुकहरूमा पनि आमरुपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा रहेकाले तथ्यमा आधारित भएर गरिएका आलोचना र सुझावहरू पार्टीका लागि ग्राह्य हुने जनाएको छ ।

“विगत नौ वर्षदेखि अस्तव्यस्त केन्द्रीय कार्यालयको स्थायित्वका लागि घरजग्गा खोज्ने क्रममा रहेका थियौँ”, विज्ञप्तिमा भनिएको छ, “यसै सिलसिलामा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक (८–९ वैशाख २०८१, गोदावरी ललितपुर) बाट पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरूलाई सहयोगका लागि सिङ्गो बैठकबाट आह्वान गरेका थियौँ ।”

त्यसयता सम्पन्न केन्द्रीय कमिटीलगायत विभिन्न तहका बैठकद्वारा सहयोगका लागि आह्वान भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कमिटीसमेत गठन भएको व्यहोरा सार्वजनिक भएको एमालले जनाएको छ ।

विसं २०७२ मा आएको भूकम्पबाट काठमाडौँ महानगरपालिका–१४ बल्खुमा अवस्थित पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यालयविहीन भएको र त्यसबीचमा भाडामा धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान, थापाथली हाइट हुँदै ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयलाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्दै आएको छ ।

त्रिपालमुनि बस्न बाध्य छन् काभ्रेका बाढीपहिरो प्रभावित परिवार

धुलिखेल । तल बागमती खोला गड्गडाएर बगिरहेको छ । माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन् । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६, चनौटेको तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा माथिको लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् ।

बाढीले सबै बस्ती बगाएपछि चनौटेका फूलबहादुर रुम्बा लामा परिवारसहित माथि डाँडामा रहेको भूकम्पको भग्नावशेष भएको ठाउँमा त्रिपालको आश्रय लिएर कष्टकर जीवन बिताइरहेका छन् । खोलाले बगाएको आफ्नो चनौटे बस्ती हेर्दै अचेल दिनरात काटाउने गरेको १८ दिन भएको उनले बताए । ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीले घरखेत सबै बगाएपछि अहिले बस्तीमाथिको लुइचे पाखामा त्रिपालमुनि बस्दै आएका छन् । चनौटेमा रहेको आठ घरसहित, आपसापको खेतबारी सबै बगाएपछि सो डाँडामा उनीसँगै अरु ६ परिवार एउटै त्रिपालमा आश्रय लिएर बस्दै आएका छन् ।

‘११ असोज राति बागमती खोलामा आएको बाढीले घर र खेतबारी सबै बगाएपछि हामी बिचल्लीमा छौँ,’ फूलबहादुरले भने, ‘खोलाले बस्तीसँगै हाम्रो पहिचानसमेत बगाएको छ ।’ बाह्र जनाको परिवार रहेको उनको सात जनाको नागरिकतालगायत सबै आवश्यक कागजात बाढीले बगाएको छ । बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँको बस्ती नै विस्थापित भएको छ । गाउँपालिकाले तत्काल आश्रय स्थलका लागि त्रिपाल, खाद्यान्न र ओढ्न कम्बललगायत सामग्री उपलब्ध गराएपछि त्यसैको सहारामा दिन बिताउँदै आएको उनीहरूको भनाइ छ । पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका भक्तबहादुर सिङतान, बुद्धबहादुर, प्रकाश, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको बाढी पसेको चनौटे बस्ती हेर्दै खुला आकाशमुनि त्रिपालमुनि आश्रय लिएरहेका छन् ।

गाउँले जीवन, सम्पत्तिका नाममा रहेको त्यही सानो घर, नजिकै वस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, उन्न उब्जाउ गर्ने बारी र खेत बगाएपछि चनौटेको बस्ती नै विस्थापित भएको छ । बालबालिकासमेत बिचल्लीमा छन् । बाढीबाट विस्थापित ती परिवार अहिले माथि रहेको लुइचे पाखामा एउटै त्रिपालको अस्थायी बासस्थानमा गुजारा चलाउँदै आएका छन् । खानीखोला गाउँपालिका–६ का राजन अधिकारीले सो ठाउँका विद्यालय जाने २६ बालबालिका अभिभावकसँगै त्रिपालमुनि बस्दै आएको बताए ।

‘नौ बालबालिका त एउटै त्रिपालमुनि बसेका छन्,’ उनले भने । खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बागमती खोलामा आएको बाढीबाट खानीखोलाका दुईवटा बस्ती पूर्ण रूपमा बगाएको बताए । त्यससँगै बाढीपहिरोले बगाएका कारण कतिपय परिवारको त पालिकाले वितरण गरेको त्रिपाल टाँग्ने जमिनसमेत छैन । अध्यक्ष थिङका अनुसार बाढीपहिरोबाट ३० भन्दा बढी खानेपानी आयोजनाका संरचना, सडक, सिँचाइ योजना, विद्यालय, लघुजलविद्युत् आयोजनालगायत संरचना ध्वस्त भएका छन् ।

त्रिभुवन विमानस्थलबाट दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

काठमाडौँ । बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् ।

विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फुलपाती देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले हवाई यात्रा गरेका हुन् ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दसैँको सात दिन अर्थात् असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन (असोज ३० गते) सम्म आन्तरिकतर्फ दुई हजार एक सय ५९ र अन्तर्राष्ट्रियतर्फ सात सय ८१ गरी कुल दुई हजार नौ सय ४० उडान भएका छन् । यो दुईतर्फी उडानको सङ्ख्या हो ।

दसैँको दुुई दिन अर्थात् असोज २४ गते फूलपाती र असोज २६ गते (महाअष्टमी/महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका थिए ।

असोज १३ गतेदेखि असोज २८ गतेसम्म कुल चार लाख २७ हजार नौ सय ४६ जनाले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ । यसमा आन्तरिकतर्फ दुई लाख २३ हजार आठ सय ४७ र अन्तर्राष्ट्रियतर्फ दुई लाख ४० हजार ९९ यात्रुले आवत जावत गरेका छन् ।

यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ पाँच हजार एक सय आठ र अन्तर्राष्ट्रियतर्फ एक हजार सात सय ४४ गरी कुल ६ हजार आठ सय ५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्याङ्कमा उल्लेख छ ।

यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाई यात्रा गरेका थिए । यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवनमा यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ । यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ सात विमान कम्पनीले सेवा दिइरहेका छन् । दसैँको समयमा आन्तरिकमा सुगम विमानस्थलमा ठूला एयरलाइन्सका विमानले उडान भरे ।

निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स तथा श्री एयरलाइन्सले बढी उडान भरेका थिए । यि कम्पनीसँग ठूला र मझौला विमान छन् ।

बुद्ध र यतीसँग एटीआर ७० विमान र श्री एयरलाइन्सस ८० सिट क्षमताका ‘ड्यास एट’ विमान छन् । समिट एयर, तारा एयर र सीता एयरले लुक्लालगायत दुर्गम गन्तव्यमा उडान भर्ने गरेका छन । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा मात्र दुई विमानले दुर्गम क्षेत्रमा उडान भर्दै आएको छ ।

प्रधानमन्त्रीसँग जापानी राजदूतको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा दुई देशबीचको परम्परागत सम्बन्ध, दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी भेटका बाढी, पहिरोबाट प्रभावित विपी राजमार्ग पुनः निर्माणमा जापानबाट हुन सक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर । बडादसैँको अन्तिम दिन बुधबार कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा मन्दिर जानुभई नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका छन्। सो अवसरमा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।

राष्ट्रपति पौडेललाई नवदुर्गा मन्दिरका मूल नाइके सूर्यमान वनमाला, मूल पुजारी रमेश कर्माचार्यलगायत सहायक नाइकेहरुले नवदुर्गाको प्रसाद प्रदान गरेका थिए। राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन समेत गरेका थिए ।

राष्ट्रपतिले नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरा र पञ्चरङ्गी धागो प्रसादस्वरुप ग्रहण गरेका थिए। नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपतिले दक्षिणासमेत प्रदान गरे ।

त्यसैगरी, राष्ट्रपतिलाई तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूल, माला तथा प्रसाद प्रदान गरेका थिए । राजा हरिसिंह देव र रानी देवलदेवीले सिम्रणगढबाट ल्याएको मूल भक्तपुर तलेजुको प्रसाद र एकान्त कुमारीको प्रसाद राष्ट्रपति पौडेललाई प्रदान गरेको जोशीले बताए ।

राष्ट्रपतिलाई प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खिमा वली, राष्ट्रिय अनुसन्धान भक्तपुरका प्रमख टेकराज तिमिल्सिना, नागरिक अभियन्ता, सुरक्षा निकायका प्रमुखहरुलगायतले स्वागत गरेका थिए ।

मल्लकालदेखि राजा, महाराजाहरुले नवदुर्गाको पूजा, अर्चना गर्दै आए पनि बीचमा यो परम्परा खण्डित भएको बताइन्छ । २०४५ सालमा भूकम्प आएपछि दैवीप्रकोपको घटनाले देश र जनताको हित एवं कल्याणका निमित्त तत्कालीन राजाहरुले राष्ट्रप्रमुखको हैसियतमा र गणतन्त्र आएपछि राष्ट्रपतिले यो पूजाअर्चनालाई निरन्तरता दिन थालेको नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाले जानकारी दिए ।

नवदुर्गाअन्तर्गत ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।

तस्बिरः रमेश गिरी/रासस

हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

जेरुसेलम ।  इजरायलले हिजबुल्लाहका एक वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको दाबी गरेको छ । इजरायली रक्षा बलले हिजबुल्लाहको युनिट १२७ लाई नष्ट गर्ने बताएको केही घण्टापछि युएभी कमान्डरको मृत्यु भएको हो । युएभी एकाईले हिजबुल्लाह समूहको मानवरहित विमानको अनुगमन गर्दछ ।

मृतक हिजबुल्लाह कमान्डरलाई खादर अल–अबेद बाहजाका रूपमा पहिचान गरिएको थियो, जसले लिटानी नदीको उत्तरमा हिजबुल्लाहको एरियल युनिटको गतिविधि हेर्ने जिम्मेवारी तोकिएको थियो ।

इजरायलद्वारा दिइएको जानकारीमा बाहजाको हत्या कहाँ र कहिले भएको थियो भन्नेबारे स्पष्ट उल्लेख गरिएको छैन ।

‘बाहजाको कमान्डमा इजरायली नागरिक र सेना विरुद्धको हवाई आक्रमण यूएभी, निगरानी विमान र विस्फोटक विमानको प्रयोग गरेर गरिएको सेनाले जनाएको छ ।

इजरायली सैन्य अधिकारीहरूले आइतबार राति मध्य बिन्यामिन क्षेत्रमा रहेको सेनाको आधारको भोजन कक्षमा ड्रोन प्रहार गर्दा चार सैनिक मारिनुका साथै करिब ६० जना घाइते भएको बताएका छन् ।

सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि, इरान समर्थित हिजबुल्लाहले उत्तरी इजरायली समुदायहरूमा दैनिक रकेट फायर र ड्रोन प्रक्षेपण गर्न थालेको थियो ।

सेप्टेम्बर २९ मा सरकारले जारी गरेको तथ्यांकअनुसार उत्तरी इजरायलका ६८ हजारभन्दा बढी बासिन्दाहरू विस्थापित भएका छन् । हिजबुल्लाह नेताहरूले इजरायलीलाई उनीहरूको घर फर्कनबाट रोक्न आक्रमणहरू जारी राख्ने बारम्बार बताउँदै आएका छन् ।

सन् २००६ को दोस्रो लेबनान युद्धको अन्त्य गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव १७०१ अनुसार हिजबुल्लाह समूहलाई लिटानी नदीको दक्षिण वा दक्षिणी लेबनानमा उसका गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ ।

नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक बिक्री

सियोल । साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली हान कङले लेखेका विभिन्न पुस्तकका १० लाख प्रतिभन्दा बढी पुस्तक एक हप्ताभित्रै स्थानीय स्तरमा बिक्री भएको कोरियाली पुस्तक बिक्रेताले बुधबार जनाएको छ ।

लघु कथाकार र उपन्यासकार हानको म्यान बुकर पुरस्कार विजेता ‘द भेजिटेरियन’ का लागि उनी विदेशमा परिचित छन् । उनको ‘द भेजिटेरियन’ अङ्ग्रेजीमा अनुवाद गरिएको पहिलो उपन्यास हो ।

नोबेल पुरस्कार जित्ने पहिलो एसियाली महिला लेखिका समेत बनेकी ५३ वर्षीया लेखिकालाई ‘ऐतिहासिक आघातको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने गहन काव्यात्मक गद्यका लागि’ छनोट गरिएको स्वीडिश एकेडेमीले गत साता जनाएको थियो ।

हानले नोबेल पुरस्कार जितेको घोषणापछि दक्षिण कोरियामा उनका कृति र उनको लेखन शैलीबारे सनसनी मच्चिएको छ ।

नोबेल पुरस्कार घोषणापछि प्रमुख पुस्तक पसल र प्रकाशन गृहहरूको वेबसाइटहरूमा उनका कृतिहरूको माग ह्वात्तै बढेको थियो । दशौं हजार मानिसहरूले उनका कृतिको माग गर्न थालेपछि बजारमा उनका कृतिहरूको अभाव देखिएको छ ।

गत बिहीबारको नोबेल घोषणापछि बुधबार बिहानसम्म ई–बुकसहित कम्तीमा १० लाख ६० हजार प्रति बिक्री भइसकेको तीन प्रमुख पुस्तक पसल तथा अनलाइन खुद्रा बिक्रेता क्योबो, अलादिन र येस २४ ले एएफपीलाई बताएका छन् ।

क्योबोका प्रवक्ता किम ह्युन जुङले एएफपीसँग भने, ‘हानका पुस्तकहरू अत्यधिक बिक्री भइरहेको अनुभव भएको छ । यो अवस्था हामीले यसअघि कहिल्यै देखेका थिएनौं ।’

अनलाइन पुस्तक पसल अलादिनका अनुसार हानले नोबेल पुरस्कार विजयपछि गत वर्षको अब्टुबर १५ सम्मको तुलनामा उनका पुस्तकको बिक्रीमा एक हजार २०० गुणाले वृद्धि भएको छ, साथै, समग्र दक्षिण कोरियाली साहित्यको बिक्रीमा नाटकीय रूपमा वृद्धि भएको छ ।

उनलाई सहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणासँगै कोरियाली साहित्यको समग्र बिक्री अघिल्लो वर्षको तुलनामा १२ गुणाले वृद्धि भएको छ ।

हालसालै हानले पढेको उल्लेख गरेका जुडिथ शालान्स्कीको ’इन्भेन्ट्री अफ लस’ र ज्याँ ज्याक रुसोको ‘एटलस डे बोटानिक एलेनटेरियल’ नामक दुई पुस्तकको बिक्री पनि बढेको अलादिनले बताएको छ ।

क्योबो बुक सेन्टरले आफूसँग यकिन तथ्यांक नभए पनि हानका पुस्तकहरू अन्य नोबेल पुरस्कार विजेताहरूको तुलनामा नाटकीय रूपमा बढी बिक्री भएको जनाएको छ।

क्योबोका कर्मचारीले एएफपीसँग भने, ‘हामी केही समयदेखि प्रकाशन उद्योगमा छौं, तर यो सम्पूर्ण अवस्था हामीमध्ये केहीलाई पनि असाध्यै अवास्तविक लाग्छ ।’ दक्षिण कोरियालीहरू यो समाचारले अति हर्षित भएका छन् ।

हानले उच्च शिक्षा हाँसिल गरेको सियोलको योन्सेई विश्वविद्यालयमा हानको प्रसंशा गर्दै ब्यानरहरू टाँगिएका छन् । ब्यानरमा हानले नोबेल पुरस्कार जितेकोमा खुशी व्यक्त गर्दै लेखिएको छ, ‘साहित्यमा नोबेल पुरस्कार जितेकोमा पूर्व छात्र हान काङलाई बधाई छ, योन्सेई विश्वविद्यालय उनलाई आफ्नो पूर्व विद्यार्थी भनेर चिनाउन पाउँदा गोरवान्यित बनेको छ ।’

उनको गृहनगर ग्वाङ्जुमा सन् १९८० मा एउटा नरसंहार भएको थियो जसले हानको प्रशंसित उपन्यास ’ह्युमन एक्ट्स’लेख्न उनलाई प्रेरित गरेको थियो ।

हानका पुस्तकहरूको माग पूरा गर्न केही छापाखानाहरूले सप्ताहन्तमा पूर्ण क्षमतामा सञ्चालन गरिरहेको स्थानीय रिपोर्टहरूले जनाएका छन् ।

‘सन् २००६ मा कम्पनीमा आबद्ध भएदेखि म यति धेरै व्यस्त कहिल्यै भएको थिइनँ’, अलादिनका एक कर्मचारीले एएफपीसँग भने, ‘यो सबै धेरै खुशीको कुरा भएको छ ।’ 

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर फेरि अस्पताल भर्ना

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका सहयोगीले बुधबार एएफपीलाई जानकारी दिएका छन् ।

दुई पटक प्रधानमन्त्री भइसकेका महाथिरलाई ‘लगातार खोकी’ लागेपछि अन्तिम पटक जुलाईमा अस्पताल भर्ना गरिएको थियो । उनका सहयोगीका अनुसार उनलाई मङ्गलबार साँझ नेसनल हार्ट इन्स्टिच्युटमा भर्ना गरिएको छ ।

सुफी युसोफले भनिन्, “अस्पतालले महाथिरलाई ‘लोअर रेस्पिरेटरी ट्रैक्ट इन्फेक्सन’ को समस्या देखिएको जानकारी गराएको छ।”

उनले भनिन्, “उहाँको उपचार केही दिन चल्ने अपेक्षा गरिएको छ ।” महाथिर जुलाइदेखि ९९ वर्ष लागेका थिए । हालैका वर्षहरूमा उनको मुटुमा लगातार समस्या देखिएपछि बाइपास सर्जरी पनि गरिएको थियो।

यस वर्षको सुरुमा करिब तीन महिना अस्पतालमा बिताएका उनले जुलाईमा पनि अस्पताल भर्ना भई उपचार गराएका थिए ।

सन् १९८१ देखि सन् २००३ सम्म मलेसियाको राष्ट्रिय नेता (प्रधानमन्त्री) को जिम्मेवारी सम्हाल्ने महाथिर चौथो व्यक्ति थिए । उनले सन् २०१८ देखि २०२० सम्म ९२ वर्षको उमेरमा दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

धौलागिरि आरोहणका क्रममा मृत्यु भएका पाँच रसियन आरोहीको शव काठमाडौँ पठाइयो

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव संकलन गरेर आज काठमाडौँ लगिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरूको शव भेटिएको थियो ।

रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित टे«कका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । इटली आधार शिविरबाट शवलाई काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पतालमा पठाएको प्रनाउ श्रेष्ठले बताए ।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण संकलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो ।उद्धारकर्ता हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् ।

आइ एम टे«किङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोहीहरू धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुईजनाले सफल आरोहण गरेका थिए । सातजना पर्वतारोहीहरूले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।

राष्ट्रियसभा अध्यक्ष र स्विस नेशनल काउन्सिलका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विट्जरल्यान्डको नेशनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरबीच भेटवार्ता भएको छ ।

अन्तरव्यवस्थापिका सङ्घको महासभामा भाग लिन जेनेभा पुगेका अध्यक्ष दाहाल र स्विस नेशनल काउन्सिलका अध्यक्ष एरिकबीच भएको भेटमा उनीहरूबीच द्विपक्षीय र आर्थिक सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा, बहुपक्षीय सहयोगबारे छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यस अवसरमा नेपालको शान्ति प्रक्रियामा स्विस सरकारबाट भएको सहयोगको स्मरण गर्दै उनीहरूबीच विचार–विमर्श भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियामा स्विस सरकारले महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै नेपाली जनताका तर्फबाट धन्यवाद व्यक्त गरे।

संयुक्त राष्ट्रसङ्घ, आइपियूलगायत बहुपक्षीय मञ्चमा दुई देशका साझा धारणा, सहयोग र सहकार्यको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा स्विट्जरल्यान्डसँग काम गर्न नेपाल सधैँ तयार रहेको बताए।

प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्विट्जरल्यान्ड विश्वकै सफल उदाहरण भएको चर्चा गर्दै उनले भने, ‘सङ्घीय गणतन्त्रका रुपमा भर्खरै अभ्यास गरिरहेको नेपाल स्विट्जरल्यान्डका असल अभ्यास बुझ्न र सिक्न प्रयासरत छ । हामी लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक संस्थालाई जनस्तरसम्म सुदृढ गर्न प्रयास गरिरहेका छौँ ।’

राज्यको शासकीय संरचनामा सीमान्तकृत वर्गको सहभागिता गराउन समावेशी सिद्धान्त लागू गरिरहेको उल्लेख गर्दै उनले सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत तथा स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको बताए।

‘शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी हामी दिगो शान्ति, स्थायित्व र विकासको लक्ष्यतर्फ अघि बढेका छौँ,’ अध्यक्ष दाहालले भने, ‘नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिन स्विस सरकारको महत्वपूर्ण सहयोग हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ ।’

सङ्घीय संसद्ले नेपाल–स्विट्जरल्यान्ड संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै अध्यक्ष दाहालले मैत्री समूहले दुई देशका संसदीय अनुभव, अभ्यास, सहकार्य र आपसी सहयोगका लागि संवादको ढोका खोलेको बताए।

स्विट्जरल्यान्ड नेपालको एक प्रमुख विकास साझेदार भएको बताउँदै उनले भने, ‘स्विस सरकारले प्रदान गर्दै आएको विकास सहयोगमा नेपाललाई प्राथमिकतामा राखी निरन्तरता दिएकामा स्विस जनता र सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । स्विस विकास सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।’

स्विस नेशनल काउन्सिलका अध्यक्ष एरिकले नेपाल र स्विट्जरल्यान्डबीचको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै आइपियूको महासभाका सन्दर्भमा नेपाली समकक्षीलाई स्विजरल्यान्डमा भेट्दा आफूलाई खुसी लागेको बताएको संसद् सचिवालयले जनाएको छ ।

नेपालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कानुन पारित गरेकामा बधाई दिँदै अध्यक्ष नसबाउमरले कानुन कार्यान्वयनमा लैजानका निम्ति आफूहरु आवश्यक सहयोग गर्न तयार रहेको बताए।

‘शान्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक कानुन पारित गरेकामा बधाई दिन चाहन्छु,’ उनले भने, ‘कानुन कार्यान्वयनका क्रममा आवश्यक सहयोगका लागि हामी तयार छौँ ।’

नेपालले नयाँ संविधानमार्फत सङ्घीय शासन प्रणाली अवलम्बन गरेकामा खुसी व्यक्त गर्दै उनले सङ्घीयताको कार्यान्वयनमा पनि स्विस सरकारको सहयोग हुने बताए।

नेपाल पर्यटकीय दृष्टिकोणले निकै सम्भावनायुक्त देश भएको चर्चा गर्दै अध्यक्ष नसबाउमरले नेपालको पर्यटन प्रवद्र्धन र हवाई सेवाको गुणस्तर एवं विकासमा स्विस सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

विपद्पछिको पुनःनिर्माणको काम छिट्टै अघि बढ्छः  प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाइने बताएका छन् ।

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे बुत्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत तथा अस्थायी आवास र पुल निर्माणबारे निर्णय गरिने जानकारी गराए ।

उनले बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडक अवरुद्ध भएकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले सीमित बजेटका बावजुद सकभर मागेरभन्दा आफ्नै बलबुतामा पुनः निर्माण र पुनःव्यवस्थापनका कामहरु गर्नुपर्नेमा जोड दिए । 

सो अवसरमा प्रतिनिधिमण्डलले  खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एक मात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुुई वर्ष नपुुग्दै बाढीले बगाएपछिको जिल्लाको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएको थियो । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलसमेत सहभागी रहेको भेटघाट कार्यक्रममा सांसदहरु रामकुमार राई, सरस्वती बजिमय, कोशी प्रदेश सांसदहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायत उपस्थित हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’

डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो ।

बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीका लागि छुटेको पवनदूत यातायातको ना८ख १०७८ नम्बरको बस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ । पुर्चौंडी–३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको पनि घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिए।

दुर्घटनामा अन्य ११ जना पनि घाइते छन् । बस सडकबाट झन्डै तीन सय मिटर खसेर पोखरा–बेलापुर सडकमा परेको छ । दुर्घटनाका कारण भने खुल्न सकेको छैन । दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशङ्कामा प्रहरीले खोजी जारी राखेको छ । स्थानीय सर्वसाधारण र प्रहरी खोजतलास जारी राखेका छन् । दुर्घटनाग्रस्त बस क्षतविक्षत भएको छ ।

काठमाडौंको गोकर्णेश्वरमा एक व्यक्तिको हत्या अभियोगमा तीनजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वरमा एकजनाको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले पाँचथर स्थायी घर भएर कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भइ कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराईलाई पक्राउ गरेको हो ।

मंगलबार दिउँसो नयाँ बस्तीस्थित लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेत घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका ४३ वर्षीय होमबहादुर फौजामगर अचेत अवस्थामा फेला परेका थिए ।

लगत्तै प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले उनलाई उद्दार गरेर उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल पुर्याएको थियो । तर, चिकित्सकहरुले उपचारका क्रममा उनलाई मृत घोषित गरेका थिए । अनुसन्धानका क्रममा मगरलाई विभिन्न व्यक्तिहरुले कुटपिट गरेको खुलेको थियो ।

काठमाडौंमा सवारी दुर्घटना गराई भागेपछि…

काठमाडौँ । सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ । उनको साथबाट बा३च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाडौँ का प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

यही असोज २६ गते साँझ काठमाडौँ महानगरपालिका–३२ तीनकुने गैरीगाउँ सडकमा सवारी दुर्घटना गरी सर्लाहीको कविलासी नगरपालिका–२ स्थायी घर भएका ५२ वर्षीय विनय रामलाई घाइते पारी सोही सवारी चालकले काठमाडौँ मेडिकल कलेज पुर्याई फरार भएका प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा यही असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

धौलागिरिमा ज्यान गुमाएका रुसी आरोहीको शव सङ्कलनको काम सुरु

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ । 
सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका ती पर्वतारोहीको शव उठाउन थालिएको हो । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव उठाउन थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । 


सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँचजना शेर्पाहरुको टोल शव उठाउन खटिएका छन् । घटनास्थलबाट इटाली आधार शिविरमा बुधबार बिहान ११ बजेसम्म एउटा शव झारेका र अन्य शव सङ्कलन गरेर आधार शिविरमा ल्याउने तयारी भएको प्रनाउ श्रेष्ठले बताए ।  


आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।


प्रहरीका अनुसार रसियन अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।


हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ताहरु हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् । 


आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४  रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुईजनाले सफल आरोहण गरेका थिए । सातजना पर्वतरोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । 


यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।

जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता अपनाउन आग्रह

टोकियो । जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पङ्क्षीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फेला परेको भन्दै जोखिम न्यूनिकरणका लागि राष्ट्रव्यापीरूपमा चेतावनी जारी गरिएको छ ।

जापानको वातावरण मन्त्रालयले होक्काइदोमा दुई फरकफरक स्थानमा भाइरस फेला परेपछि यो निर्णय गरिएको जनाएको छ । मन्त्रालयका अनुसार, सेप्टेम्बर ३० मा ओटोब नगरमा एउटा मृत बाजमा र अक्टोबर ८ मा बेतसुकाई नगरमा जङ्गली हाँसको समूहमा भाइरस फेला परेको थियो ।

अधिकारीहरूले देशभरका जङ्गली चराहरूको कडा निगरानी गर्न आह्वान गरिरहेका छन्। बर्डफ्लुले सामान्यतया सङ्क्रमित पङ्क्षीसँग अत्यधिक सम्पर्कमा नआएसम्म मानिसमा खतरा उत्पन्न नगर्ने भए तापनि मृत चरा नछुन र चराको शङ्कास्पद मृत्युबारे कुनै पनि जानकारी स्थानीय अधिकारीलाई दिन सर्वसाधारणलाई आग्रह गरिएको मन्त्रालयले निर्देशन दिएको छ।

जापानका विभिन्न क्षेत्रहरूमा बर्डफ्लु भाइरसको सङ्क्रमण धेरै पटक पत्ता लागेको रिपोर्टपछि, मन्त्रालयले राष्ट्रव्यापी सतर्कतालाई उच्चतम तहमा पुर्याएको छ । प्रशासनले भाइरसको फैलावटमा निगरानी र अनुसन्धानलाई तीव्र पार्ने प्रतिवद्धता जनाएको छ ।

इजरायलले गाजा जाने सहायता रोके सैन्य सहयोग कटौती गर्ने अमेरिकी चेतावनी

बीबीसी । संयुक्त राज्य अमेरिकाले ३० दिनभित्र गाजामा मानवीय सहायता थप सहज नगरे इजरायललाई दिइँदै आएको सैन्य सहयोग कटौती गर्ने लिखित चेतावनी दिएको छ ।

उक्त पत्रलाई अमेरिकाले आफ्नो साझेदार राष्ट्रलाई दिएको सबै कडा लिखित चेतावनी मानिएको छ । इजरायली सैन्य कारबाहीमा परी उत्तर गाजामा धेरै सर्वसाधारणको मृत्यु भएको विवरण आएपछि आइतवार वाशिङ्टनले त्यस्तो पत्र पठाएको सार्वजनिक भएको हो ।

उक्त क्षेत्रका मानिसहरूको अवस्था खराब बन्दै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै अमेरिकाले गत महिना उत्तरी र दक्षिणी गाजामा मानवीय सहायताका लागि गरिएको झन्डै ९० प्रतिशत गतिविधिमा इजरायली पक्षबाट अवरोध भएको जनाएको छ । इजरायलले अमेरिकाले पठाएको पत्रको समीक्षा गरिरहेको बताएको छ ।

इजरायलले यसअघि हमासका कार्यकर्तालाई लक्ष्य गरिएको र मानवीय सहायताका सामानलाई नरोकेको दाबी गर्दै आएको थियो । सोमबार गाजा प्रवेशको व्यवस्थापन गर्दै आएको इजरायली सेना निकाय ‘कोगट’ले विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का ३० वटा लरीहरू इरेज नाकाबाट उत्तरी गाजामा प्रवेश गरेको जनाएको छ ।

सहायता सामग्रीको आपूर्तिमा ३० दिनभित्रै तत्कालै चरणबद्ध ठोस कदम चाल्न र त्यसो नभएको अवस्थामा अमेरिकी नीतिमा नकारात्मक प्रभाव पर्ने अमेरिकाले औँल्याएको छ। पत्रमा अमेरिकी सहायता सामग्रीमा अवरोध पुर्याउने देशलाई अमेरिकी कानुनले सैन्य सहयोग गर्न रोक लगाएकोबारे जानकारी गराइएको छ ।

पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव हुने

भोजपुर । स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ ।

हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले तीस लाख रुपैयाँ बजेट विनियोजन गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचोस्थल माइबेँनीबाट एक हजार आठ सय ६५ मिटर उचाइ रहेको सङखाम जोरआहाल हुँदै घोडेटार बजारसम्म २६ किलोमिटर दौड प्रतियोगिता हुनेछ ।

कृषिका साथै मारुनी, स्यामुना सिली, लाखे, हुर्रा, डम्फु नाच र वाद्यवादन यन्त्रको प्रदर्शनी हुने जानकारी अध्यक्ष राईले दिए ।

बागलुङको ताराखोलामा बाबुले गरे भीरमा फालेर ६ वर्षीय छोराको हत्या

ढोरपाटन । बागलुङको ताराखोला गाउँपालिकाका केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।

बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव बरामद गरेको थियो ।

राष्ट्रियसभा अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जाबीच के विषयमा भयो कुराकानी ?

काठमाडौँ । अन्तर-व्यवस्थापिका संघको महासभामा सहभागी हुने सिलसिलामा जेनेभा रहेका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरूबीच पारस्परिक सम्बन्ध, आपसी हित र साझा चासोका साथै भविष्यमा हनसक्ने सहकार्यबारे छलफल भएको जेनेभास्थित संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्रराष्ट्रिय संगठनहरूका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

अध्यक्ष दाहालले नेपाल र थाइल्याण्डबीचको कूटनीतिकसम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा गर्दै लुम्बिनी, गौतम बुद्ध र बौद्ध धर्मले नेपाल र थाइल्याण्डका जनताबीच बलियो सम्बन्धसेतुका रूपमा काम गरेको बताए । थाई पर्यटकका लागि भगवान् बुद्धको जन्मस्थल लुम्बिनी महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीय गन्तव्यका बनेको बताए ।

दुवै देशका नागरिक बर्सेनि पर्यटकका रूपमा आउने जाने गरिरहेको भन्दै उनले उच्च शिक्षा, बौद्ध धर्मसम्बन्धी अध्ययन, लगानी, व्यापार, पर्यटनलगायत माध्यमबाट नेपाल-थाइल्याण्डबीच जनस्तरको सम्बन्ध प्रगाढ बनेको अध्यक्ष दाहालले उल्लेख गरे ।

आफूहरुले नेपाल-थाइल्याण्ड संसदीय मैत्री समूह गठन गरेको बताउँदै अध्यक्ष दाहालले मैत्री समूहमार्फत् दुई देशका संसद्ले संसदीय अभ्यास, कानुन निर्माण, अनुभव आदानप्रदान गरी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

साझा सरोकार र आपसी हितका विषयमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशले सहकार्य गर्दै आएका उनले बताए ।

अध्यक्ष सुरसज्जाले बहुसङ्ख्यक थाई जनताले बौद्ध धर्म मान्ने भएकाले बुद्ध जन्मभूमि नेपाललाई उनीहरूले आफ्नो जीवनकालमा एकपटक भ्रमण गर्नुपर्ने स्थलका रूपमा राखेका भएको बताए ।

नेपालको पर्यटन क्षेत्रमा थाइल्याण्डबाट भएको लगानीले रोजगारीका अवसर सृजनामा योगदान पुगको विश्वास उनले व्यक्त गरे । थाई पर्यटकका लागि लुम्बिनी महत्वपूर्ण पर्यटकीयस्थल भएकाले लुम्बिनी अन्तर्रराष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन भएमा उनीहरुलाई अझ सहज अध्यक्ष सुरसज्जाले बताए ।

भेटवार्तामा संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्रराष्ट्रिय संगठनहरूका लागि नेपालका स्थायी प्रनिनिधि रामप्रसाद सुवेदीका साथै प्रतिनिधिमण्डलका अन्य सदस्य पनि सहभागी थिए ।

सहयोग नपाएको सुनसरीका बाढीपीडितको गुनासो

सुनसरी । हालैको अविरल वर्षाका कारण भोक्राहा नरसिंह गाउँपालिका–३ की ५० वर्षीया परमिला खत्वेको घरमा पाँच फिटसम्म पानी जमेको थियो।

वर्षासँगै बाढी घरमा पसेपछि अन्नपात भेलमा बग्योभने ओढ्नेओछ्याउने पनि लगातारको झरीले हप्तौँसम्म अख्रन पाएनन्।
विपद्का बेला कसैले सहयोग नगरेको र तीन दिनसम्म भोकै बस्नुपरेको पीडा गहभरि आँसु पारेर उनले सुनाए।

सोही स्थानकी कुमारी खत्वेको अवस्था पनि उस्तै रह्यो। सहायता सामग्री वितरणमा पालिकाले विभेद गरेकामा उनि क्रुद्ध हुनुहुन्छ। स्थानीय सरकारबाट सहयोग नपाउने परमिला र कुमारी खत्वे भोक्राहा नरसिंह गाउँपालिकाका प्रतिनिधि पात्र हुनुहुन्छ। नरसिंह गाउँपालिकाका अधिकांश बाढीपीडितले राज्यबाट सहायता नपाएको गुनासो गरेका छन्।

राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले बाढीपीडितलाई प्रतिपरिवार रु १५ हजारका दरले वितरण गरेको भए पनि वास्तविक पीडितले उक्त रकम नपाएको भोक्राहा नरसिंह गाउँपालिका ७ का धीरेन्द्र कामैतले बताए। नदिएको भोक्राहा नरसिंह गाउँपालिका– ७ का धीरेन्द्र कामैतले बताए।

बाढीबाट पीडित नभएकालाई सहयोग गरेको भोक्राहा नरसिंह गाउँपालिका–७ का अर्का पीडित चमरु मण्डलले गुनासो गरे। पहुँचका आधारमा सहायता रकम वितरण गरिएको उनको दाबी छ।

यसैबीच, बाढीपीडितले राज्यका कुनै निकायबाट सहयोग नपाएपछि भोक्राहा नरसिंह गाउँपालिका–३ नम्बर वडा कार्यालयमा सोमबार विरोधप्रदर्शन गरेका थिए। साथै उनीहरूले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय ताराचन मण्डलले बताए।

वडाध्यक्ष धीरेन्द्रकुमार यादवले आन्दोलनमा उत्रेकालाई लाभग्राहीको नाम शुक्रबारसम्ममा उपलब्ध गराउने र वार्ताको माध्यमबाट समस्या समाधान गर्ने बताए।

बाढीबाट भोक्राहा नरसिंह गाउँपालिकामा एक हजार दुई सय ९३ घर प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

मीनबहादुरजीले अब कालो चस्मा खोल्ने कि ?

सुरेश आचार्य
हालै निधन भएका भारतका रतन टाटाबाट सिक्नुपर्थ्यो– भाटभटेनीका ‘सरगना’ मीनबहादुर गुरूङले । जुनबेला देशका हजारौ जनता बाढीले आक्रान्त भएका छन्, त्यस्तो बेलामा उनीहरूलाई राहत नदिई एमालेको पार्टी अफिस बनाउन करौडौ रूपैयाँ चन्दा दिनु लिनु उनको र सत्तासिन एमालेकै ‘महाभूल’ हो । मीनबहादुरजी आफ्नो बचाउको लागि दान दिन विवश भए होलान्, तर सत्तासिन सरकारको नेतृत्व गर्ने दल एमाले कसरी चुक्न पुग्यो ? अहिले मीनबहादुरजी विरूद्ध २ वटा संगीन प्रकृतिका सरकारवादी मुद्दा चलिरहेको रहेछ ।

सरकारबादी मुद्दा चलिरहेका व्यक्तिसँग सरकारको नेतृत्व गर्ने दलले यति ‘भारी रकम’ चन्दा लिएपछि, अब मुद्दा चलाउने प्रहरी वा अख्तियारले मुद्दा फिर्ता लिए भइगयो नि ! मुद्दा फिर्ता नलिए पनि अदालतले अब एमाले सरकारमा रहुन्जेल मीनबहादुर विरूद्ध कुन ताकतले विपरित फैसला गर्ने ? डा. भगवान कोइरालाको नेतृत्वमा बाल अस्पताल निर्माणका लागि गत वैशाख २८ मा ४१ करोड रूपैयाँ मीनबहादुरजीले चन्दा दिंदा सबैले उहाँलाई सच्चा दानबीर नै मानेका थिए । तर, कालो चस्मा भित्रको ‘राज’ ५ महिना नपुग्दै छर्लंग भयो ।

एमाले बाहेक अरू दललाई पनि चन्दाः
एमालेलाई चन्दा दिएको आलोचनाबाट बच्न ‘मैले अरू दलहरूलाई पनि चन्दा दिएको छु, म एमाले नै हुँ’ भनेर मीनबहादुरले अर्को गल्ती दोहोर्याउनु भएकोमा, म चाहिँ झनै स्तब्ध भएँ । अब उहाँले एमालेबाहेक कुन कुन दललाई कहिले के कति चन्दा दिनुभयो, त्यो जनसमक्ष सार्वजनिक गर्नुपर्छ । प्रत्येक राजनीतिक दललाई भ्रष्ट बनाउने काम मीनबहादुरबाट कसरी र किन भयो, नेपाली जनता जान्न चाहन्छन् ।

कमसेकम विश्वकै सबैभन्दा ठूला दानबीर रतन टाटा, जसले १०३ अर्ब अमेरिकी डलर मानवीय हितमा दान दिए पनि कुनै राजनीतिक दललाई कहिले कुनै दान दिएको देखिंदैन ! बील गेट्सले वा वारेन बफेटले पनि राजनीतिक दलहरूलाई दान दिएका छैनन् । मीनबहादुरजीले त्रिवि शिक्षण अस्पतालमा ७५ बेडको आँखा वार्ड बनाइदिँदा र बाल अस्पताललाई ४१ करोड रपैयाँ चन्दा दिँदा उनलाई गरिएको ‘वाहीवाही’, एमालेको हेडक्वार्टर बनाउन १ अर्ब रूपैयाँको जग्गा दिएर थप ८० करोड रूपैयाँको १४ तल्ले बिल्डिंग बनाइदिने कुरा चर्चामा आएसँगै मीनबहादुर गुरूङजीले कमाएको सम्पूर्ण “साख“ एकाएक गुम्न गएको छ ।

१४० करोड जनसंख्या भएको भारतमा रतन टाटा त्यसै महान बनिरहेका होइनन् । मृत्युपछि त झन्झन् महामानव बनेका छन् । उनलाई मरोपराणान्त भारत सरकारले ‘भारत रत्न’ मानपदवी दिनुपर्छ भन्ने अहिले भारतभर जनअभियान नै चलेको छ । जनताको मनमा त रतन टाटा, भारत रत्न बनि नै सकेका छन् । मीनबहादुरजीले अब कालो चस्मा खोल्ने कि ?

पेट्रोलियम पदार्थको मूल्य बृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले मंगलबार मध्यराति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो ।

चर्कियो पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको विवाद

काठमाडौं । पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच विवाद चर्किएको छ । विवादबारे कोषले पशुपति धर्मशालामा समितिलाई मोहियानी हक पाउने कुनै प्रमाण नभएको दाबी गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी समितिलाई मोहियानी हक पाउने कुनै आधार र प्रमाण नभएको कोषले स्पष्ट पारेको हो । मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशालामा मोहियानी हकका लागि दावी गरेपछि कोषले कोषले यसबारेमा आम जनसमुदायमा यथार्थ जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन गरेको हो ।

नौ रोपनी भन्दा बढी जग्गामासेवा समितिले भोगचलन गर्नका लागि गिद्दे नजर लगाएको कोषले आरोप लगाएको छ । पत्रकार सम्मेलनमा कोषका पदाधिकारीहरुले पत्रिकामा विज्ञापन प्रकाशित गर्ने र शक्तिकेन्द्रमा धाएर मोही कायम हुन नसक्ने दावी समेत गरेका छन् ।

काठमाडौं जिल्ला अदालतले केही दिनअघि मात्रै कोष र समितिबीचको गौशाला धर्मशाला सञ्चानसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०८० साल साउन १७ गते मारवाडी सेवा समितिसँग भएको सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको रिटमा अदालतले दावी नपुग्ने फैसला गरेको थियो ।

तर, उनीहरूले धर्मशाला खाली गर्न मानेका छैनन् । मारवाडीसँग भएको सम्झौता रद्ध भएपछि महानगर र पशुपति क्षेत्र विकास कोषबीच गौशाला धर्मशाला सञ्चालन गर्नेबारे सम्झौता भएको छ ।

बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाडौं । आगामी कात्तिक २ र ३ गते देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइने भएको छ ।

राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयले जनाएको छ ।

साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।