`

सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान

सिड्नी । अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ।

अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो।

युनिभर्सिटी अफ क्विन्सल्याण्डका हब्तामु बिजुआयेहुको नेतृत्वमा अनुसन्धानकर्ताहरूले १८५ देशका ३६ प्रकारका क्यान्सरका बिरामी र मृत्युदरको विश्लेषण गरी सन् २०५० को संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या पूर्वानुमानमा यो दर लागू गरेर भविष्यका क्यान्सरका बिरामी र मृत्युको प्रक्षेपण गरेका थिए।

सन् २०२२ मा दुई करोड क्यान्सर भएकामा सन् २०५० मा तीन करोड ५३ लाख पुग्ने अनुमान गरिएको छ।

संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्क (एचडीआई) मा कम वरियता भएका देशहरूमा सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्यु दर तीन गुणाले बढ्ने अनुमान गरिएको छ।

सन् २०५० मा फोक्सोको क्यान्सर यस रोगका कारण हुने मृत्युको प्रमुख कारण रहने अनुमान गरिएको छ, जुन सन् २०२२ मा १८.७ प्रतिशत रहेको थियो।

सन् २०२२ देखि २०५० को बीचमा महिलाको तुलनामा पुरुषमा क्यान्सरका बिरामी र मृत्यु हुनेको सङ्ख्या केही बढी हुने अध्ययनले देखाएको छ। 

इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त

तेल अभीभ, इजरायल । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गरेका छन् ।

टाइम्स अफ इजरायलका अनुसार लिकुड पार्टीका ग्यालेन्टको स्थानमा विदेश मन्त्री इजरायल काट्जलाई ल्याइने भएको छ । काट्जको स्थानमा गिदोन सारलाई विदेशमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ ।

टाइम्स अफ इजरायलले प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै नेतान्याहूले ग्यालन्टलाई रक्षा मन्त्रीको रूपमा पत्र प्राप्त भएको ४८ घण्टाभित्र पद समाप्त हुने जानकारी दिएको जनाएको छ ।

युद्धको सुरुवाती समयमा विश्वाससहितका कामहरु भएको भएपनि पछिल्लो समयमा विश्वसनियता घट्दै गएको जनाउदै नेतन्याहूले बर्खास्तको विज्ञप्ति जारी गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।

रक्षामन्त्रीसँगको विश्वासको सङ्कटले सैन्य अभियानलाई उचित मार्गदर्शन र सक्षम बनाउन नसकिने बताउँदै नेतान्याहूले यस्तो निर्णय गरेको बताएका छन् ।

बर्खास्त भएपछि, ग्यालन्टले इजरायलको सुरक्षाका लागि सक्रिय रहने वाचा गर्दै सामाजिक सञ्जाल एक्सको पोस्टमा इजरायलको सुरक्षा सधैं आफ्नो जीवनको लक्ष्य हुने र यसका लागि सधैँ लागिरहने बताएका छन् ।

ग्यालन्टले ‘हमासद्वारा अपहरण गरिएका इजरायली ‘छोरा–छोरी’लाई फिर्ता ल्याउने नैतिक प्रतिबद्धतामा पनि जोड दिएका छन् । उनीहरू जीवित रहँदै सकेसम्म चाँडो उद्धार गर्नुपर्ने जनाउदै उनले विज्ञप्ति जारी गरेका छन् ।

बन्धकहरूलाई फिर्ता ल्याउन सम्भव रहेको बताउँदै उनले त्यसको लागि उचित सम्झौता आवश्यक रहेको बताएका छन् । मृत्यु भइसकेका बन्धकहरूलाई फिर्ता ल्याउन नसके पनि बाँकी बन्धकका लागि आवश्यक पहल गर्न जरूरी रहेको ग्यालान्टले उल्लेख गरेका छन् ।

टाइम्स अफ इजरायलका अनुसार दर्जनौँ दक्षिणी इजरायली समुदायमा भएका आक्रमणमा ज्यान गुमाएका करिब एक हजार २०० मानिसको साथै २५१ जनालाई बन्धक बनाएको अक्टोबर–७ हमास आक्रमणको सरकारी अनुसन्धानका लागि पनि उनले आह्वान गरेका छन् । 

जाडो बढेसँगै डेङ्गी सङ्क्रमण घट्दै

काठमाडौँ । नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताए ।


सरकारले डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । उनका अनुसार अहिले नेपालमा ४२औँ हप्ताबाट डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेङ्गी सङ्क्रमणको ४५औँ हप्ता चलिरहेको छ ।  


डा दाहालले ४२औँ हप्तामा मात्रै दुई हजार पाँच सय ८२, ४३ औँ हप्तामा दुई हजार दुई सय चार, ४४ औँ हप्तामा एक हजार ७१ र ४५औँ हप्ता चलिरहँदा ५५ जनामा मात्र सङ्क्रमण देखिएको जानकारी दिए । “जाडो बढेसँगै डेङ्गी सङ्क्रमण घटिरहेको छ”, उनले भने, “४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन् । सङ्क्रमण घटेपनि सावधानी अपनाउनुपर्छ ।” 


अहिलेसम्म २९ हजार एक सय ५८ मा सङ्क्रमण भएको भन्दै १२ जनाको निधन भएको किटजन्य रोग शाखाका प्रमुख डा दाहालले जानकारी दिए । उनका अनुसार डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ । 


सबैभन्दा बढी कास्कीमा सात हजार दुई हजार २४ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ । 


उपत्यकामा छ हजारभन्दा बढीमा सङ्क्रमण


उपत्यकामा छ हजार छ सय १२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । काठमाडौँमा चार हजार पाँच सय ९५, भक्तपुरमा आठ सय ३१ र ललितपुरमा एक हजार एक सय ८६ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।

यो अमेरिकी जनताको शानदार विजय होः डोनल्ड ट्रम्प

अमेरिका । फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने’ बताएका छन् ।

‘अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,’ उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनःस्थापित भएकोतर्फ सङ्केत गर्दै भने । उनले सीमा व्यवस्थापन गर्ने र देशलाई एकीकृत गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गरे ।

सम्बोधनका क्रममा उनले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यसहित सम्पूर्ण शुभेच्छुक मतदाताहरूलाई धन्यवाद दिएका छन् । उनले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गरेका छन् ।

मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन्।

समाचार तयार पार्दासम्म ट्रम्पले ६ करोड ८८ लाख ७७ हजार २९३ मत प्राप्त गरेका छन् भने ह्यारिसले छ करोड ३६ लाख १३ हजार ९५१ मत प्राप्त गरेकी छन् ।

नेपाली समय अनुसार बुधबार मध्यान्नसम्ममा रिपब्लिकन नेता ट्रम्पले मङ्गलबार खसेको कुल मतको ५१.१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् भने डेमोक्र्याटिक पाटीका तर्फबाट उम्मेदवार भएकी उपराष्ट्रपति कमला ह्यारिसले ४७.२ प्रतिशत मत प्राप्त गरेकी छन् ।

रिपब्लिकन नेता ट्रम्पले २६६ इलेक्टोरल मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी ह्यारिसले २१९ इलेक्टोरल मत प्राप्त गरेकी छन् । यसरी हेर्दा ट्रम्पलाई राष्ट्रपति पदमा जितको लागि दुई इलेक्टोरल सङ्ख्या २७० मा पुग्न अब मात्र चार इलेक्टोरल मतको आवश्यक हुनेछ ।

अमेरिकी समाचार संस्था फक्स न्यूजले ट्रम्प निर्वाचित भएको घोषणा गरेको छ । फक्स न्यूजले ट्रम्पलाई २७० भन्दा माथि थप केही सीट प्राप्त हुने जनाएको छ ।

गजुरीमा दुईवटा बस आपसमा ठोक्किँदा १३ जना घाइते

मलेखु (धादिङ) । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।

काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् ।

घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए । दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।
तीब्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ ।

‘आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बनेका छन् । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन् ।

आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय घिमिरे साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन् । ‘जहाँ भए पनि काम नगरी सुःख पाइदैन,’ उनले भने, ‘विचौलियालाई लाखौँ पैसा दिएर आफैँलाई बेचेर विदेशमा पुगेर अर्काको नोकर बन्नुभन्दा आफ्नै खेतबारीमा नङ्ग्रा खियाउँदा सन्तुष्टि मिल्दो रहेछ ।’

पाँच हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गरेका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारीहरू लटरम्मै झुलिरहेका छन् । काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मूला, साग, धनियाँदेखि लिएर काँक्रा र तितेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर घिमिरेले एक याममा ४ लाखभन्दा बढी कमाइ हुने बताए ।

अमृता कृषि फार्म सञ्चालन गरेका घिमिरेले आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । उनले गोलभेडा, काउली, बन्दा, आलु, साग, मौसमी तरकारी र बेमौसमी तरकारीको उत्पादन गरेर बेनी बजारमा बिक्री गर्दै आएका छन् ।

घिमिरेको कृषि फार्ममा श्रीमती र छोराले पनि साथ दिएका छन् । छोरालाई उच्च शिक्षा पढाउन र घरब्यवहार चलाउन तरकारी खेतिले सहज भएको उनले बताए । कृषि ज्ञान केन्द्रले हाइटेक प्रविधिको टनेल स्थापना गर्न सहयोग गरेको छ । केन्द्रका प्रमुख सञ्जीवी बाँस्तोला चन्द्रबहादुर मिहिनेती, परिश्रमी, संघर्षशील र सफल अगुवा कृषकको पहिचान बनाउन सफल भएको बताउँछन् ।

कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले दिए पदबाट राजीनामा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको भन्दै विवादमा परेपछि मन्त्री अधिकारीले बुधबार राजीनामा दिएका हुन् ।

उनले बुधबार बिहान मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले मन्त्री अधिकारीले राजीनामा बुझाएको जानकारी दिए ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रिपरिषद्को स्वीकृति नलिई जापान भ्रमणमा गएका थिए । मन्त्री अधिकारी कात्तिक १३ गते टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा भाग लिन जापान गएका थिए ।

रविलाई हिरासत बाहिर रहेर अनुसन्धान गर्न सकिने कानुनी प्रबन्धको कार्यान्वयन गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गरेको छ ।

बुधबार पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गरी पार्टी सभापति लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा पार्टी सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको छ । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै पार्टी सभापति लामिछानेको हिरासत बसाई लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ हिरासत बाहिर रहेर पनि अनुसन्धान गर्न सकिने कानुनी प्रबन्धको कार्यान्वयनका लागि पनि सम्बद्ध सबैको ध्यानाकर्षण गराउँछौं ।’


त्यस्तै रास्वपामा मंगलबार पोखरामा भएको प्रहरी धरपकडप्रति पनि आपत्ति जनाएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई मंगलबार थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

पार्टी सभापति पक्राउ परेपछि रास्वपाका नेताहरुले प्रधानमन्त्री, गृहमन्त्रीलगायतसँग भेट गरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गर्दै आएका छन् ।

तर प्रधानमन्त्रीले रवि पक्राउ संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा भएकाले त्यसमा सरकारले केही गर्न नसक्ने जवाफ दिएका छन् । तर रास्वपाले रवि पक्राउलाई राजनीतिक प्रतिशोधको विषय बताउँदै दैनिकजसो विरोध प्रदर्शन गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनः ह्यारिसलाई पछि पार्दै ट्रम्पको अग्रता कायमै

वासिङ्टन । अमेरिकी राष्ट्रपतिका लागि मङ्गलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहेकी उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म उपराष्ट्रपति ह्यारिसले क्यालिफोर्निया, न्यूयोर्कलगायत १४ वटा राज्यमा बहुमत ल्याउने सुनिश्चित भएको छ भने नेता ट्रम्पले टेक्सास, ओहायो, नर्थ क्यारोलाइना र अन्य भरपर्दो रिपब्लिकन झुकाव भएका राज्यसहित २३ राज्यमा जित हासिल गर्ने देखिएको छ ।

अहिलेसम्म ट्रम्पले २४३ र ह्यारिसले १९४ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति पदमा जीतको लागि जादुई इलेक्टोरल सङ्ख्या २७० रहेको छ।

पर्यवेक्षकहरूले ह्वाइट हाउसका लागि भएको निर्वाचनमा यस पहिले नै प्रक्षेपण गरिए अनुसार दुबै उम्मेदवारको झण्डै बराबर मत रहेको अनुमान गरिएका केही राज्य निर्णायक हुनेछन् ।

एपी, सीएनएन, फक्स न्यूज, एमएसएनबीसी/एनबीसी न्यूज, एबीसी र सीबीएसलगायत अमेरिकी मिडियाको अनुमानको आधारमा प्रत्येक उम्मेदवारले जितेका राज्यहरूको सूची र इलेक्टोरल मतहरूको सम्बन्धित सङ्ख्या निम्नानुसार छ।

डेमोक्र्याटिक नेता ह्यारिस पाएका कूल १९४ इलेक्टोरल मतमध्ये क्यालिफोर्नियामा ५४, कोलोराडोमा १०, कनेक्टिकटमा सात, डेलावेयरमा तीन, कोलम्बियामा तीन, हवाईमा चार, इलिनोइसमा, १९, मेरिल्याण्डमा १०, म्यासाचुसेट्समा ११ र न्यू मेक्सिकोमा पाँच, न्यूयोर्कमा २८, ओरेगनमा आठ, रोएड आइल्याण्डमा चार, भर्मोन्टमा तीन, भर्जिनियामा १३, वासिङ्टनमा १२ रहेका छन् ।

त्यसैगरी, ट्रम्पले पाएका कूल २४३ इलेक्टोरल मतमध्ये अलबामामा नौ, अर्कान्ससमा छ, फ्लोरिडामा ३०, आइडाहामो चार, इन्डियानामा ११, आयोवामा छ, कन्सासमा छ, केन्टकीमा आठ, लुसियानामा छ, मिसिसिपीमा छ, मिसौरीमा १०, मोन्टानामा चार, नर्थ क्यारोलिनामा १६, नर्थ डकोटामा तीन, ओहायोमा १७, ओक्लाहोमा सात, साउथ क्यारोलिनामा नौ, साउथ डकोटामा तीन, टेनिसीमा ११ टेक्सासमा ४०, यूटामा छ, वेस्ट भर्जीनियामा चार, वायोमिङमा तीन रहेका छन् ।

पहिलेसिनेटमा नियन्त्रण गर्ने संघारमा रिपब्लिकन

बीबीसी । ओहायो राज्यका वर्तमान सिनेटर शेरड ब्राउन पराजित भएपछि अब सिनेटमा डेमोक्र्याटिक पार्टीले आफ्नो नियन्त्रण बनाइराख्ने सम्भावना झिनो बन्दै गएको छ । उक्त पार्टीले दुई सीट गुमाइसकेको छ भने मन्टानामा पनि जोन टेस्टर जोखिममा परेका छन्।

अन्यत्र डेमोक्र्याटहरूले नजिते अब सिनेटको नियन्त्रण रिपब्लिकनको हातमा पुग्ने छ । यतिखेर डेमोक्र्याट उम्मेदवारले सिनेट सदस्य जित्ने अन्य ठाउँ खासै देखिँदैन । फ्लोरिडा र टेक्ससमा रिपब्लिकन उम्मेदवारले जितिसके। नेब्रास्कामा ६९ प्रतिशत मतगणना भइसक्दा रिपब्लिकन उम्मेदवार डेब फिशर स्वतन्त्र उम्मेदवार ड्यान अस्बोर्नभन्दा थोरैले अगाडि छन् ।

अस्बोर्नले जिते पनि सिनेटमा उनी डेमोक्र्याटहरूको पक्षमा लाग्छन् भन्न सकिँदैन । यदि डोनल्ड ट्रम्प राष्ट्रपति अनि जेडी भान्स उपराष्ट्रपतिमा निर्वाचित भए भने जेडी भान्सले सिनेटमा ‘टाइ–ब्रेकिङ’ अर्थात् निर्णायक भोट हाल्न पाउने हुनाले नेब्रास्कामा जेसुकै भएपनि त्यसले महत्त्व राख्ने छैन । यो रात रिपब्लिकनहरूका लागि हर्षको रात हुने जस्तो देखिँदै छ ।

ताजा विवरणहरूका अनुसार डोनल्ड ट्रम्पले महत्त्वपूर्ण स्विङ स्टेट नोर्थ क्यारोलाइनामा जित हासिल गर्दै १६ इलेक्टोरल कलेज मत पाएका छन् । ट्रम्प अभियानको निम्ति यो सुखद समाचार हो किनभने यसले उनलाई आवश्यक न्यूनतम २७० इलेक्टोरल कलेज भोट पाउने मार्ग थप प्रशस्त गर्छ ।

तर कडा प्रतिस्पर्धा हुने ठानिएका राज्यमध्ये अधिकांशमा नतिजा यस्तै हुन्छ भन्न सकिने स्थिति छैन। ती सात राज्यको परिणामले उम्मेदवारलाई ह्वाइट हाउस पुग्ने बाटो खोलिदिन्छ ।

‘रस्ट बेल्ट स्टेट’ भनिने विस्कन्सिन, पेन्सिल्भेनिआ र मिशिगन तीनवटै राज्यमा जितिन् भने कमला ह्यारिसले अझै पनि बाजी मार्न सक्छिन् । रिपब्लिकनहरूका निम्ति नोर्थ क्यारलाइनाको जित ठूलो हो तर उक्त राज्यमा विगतका चुनावी नतिजाहरूसँग भने यो प्रवृत्ति मेल खान्छ। सन् २०१६ र सन् २०२० मा पनि यहाँ ट्रम्पले जितेका थिए। यो राज्य जित्ने पछिल्लो डेमोक्र्याटिक उम्मेदवार भनेको सन् २००८ मा बराक ओबामा हुन्।

पोखरामा विशिष्टीकृत अस्पताल निर्माण गर्न जग्गा अभाव

गण्डकी । प्रदेश गौरवको आयोजनामा समेटिएको क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणका लागि गण्डकी प्रदेश सरकारले सङ्घीय सरकारसँग जग्गा माग गरेको छ ।

प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेर कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको दुई सय रोपनी जग्गा प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गरिएको जानकारी दिए ।

प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा उक्त विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेपनि जग्गा व्यवस्थापनको जटिलतालगायत कारणले कार्यान्वयन हुन सकेको छैन । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा पनि उक्त योजना समेटिँदै आएको स्वास्थ्यमन्त्री पाठकले बताए ।

‘प्रधानमन्त्रीसमक्ष जग्गाव्यवस्थापनलगायत विभिन्न १२ मागहरु मन्त्रालयकातर्फबाट पेस गरिएको छ, प्रधानमन्त्रीले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ’, उनले भने । 

मन्त्री पाठकले जग्गा अभावकै कारण विशिष्टीकृत अस्पताल निर्माणमा बिलम्ब भइरहेको बताए । उनले प्रदेशमा एकीकृत सेवासहितको मातृशिशु, महिला तथा बाल अस्पताल स्थापनाका लागि पनि पहल भइरहेको जानकारी दिए ।

जटिल रोगको उपचार सेवाका लागि सर्वसाधारण काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यका लागि पोखरामा सुविधासम्पन्न विशिष्टीकृत अस्पतालको जरुरी रहेको उनको भनाइ छ । मन्त्री पाठकले अन्तरङ्ग सेवासहित २५ शय्याको गण्डकी आयुर्वेद अस्पताल र धवलागिरि आयुर्वेद अस्पतालको स्तरवृद्धिका लागि आवश्यक बजेटको प्रबन्ध गरिदिन सङ्घ सरकारसँग माग गरिएको बताए । 

प्रदेश सरकारले प्राकृतिक चिकित्सा, आयुर्वेद उपचार पद्धति र मेडिकल विज्ञानसमेत सेवालाई एकै ठाउँबाट प्रवाह हुने गरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनाको लक्ष्य लिएको उनले बताए ।

उक्त केन्द्रका लागि राष्ट्रिय खेलकुद परिषद्को नाममा पोखरा रङ्गशाला परिसरमा रहेको पाँच रोपनी सात आना जग्गा प्राप्तिका लागिसमेत सहजीकरण गरिदिन प्रधानमन्त्रीसमक्ष माग राखिएको मन्त्री पाठकको भनाइ छ । 

गण्डकी प्रदेश सरकार र स्थानीय तहअन्तर्गत सञ्चालित अस्पताल र स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणदेखि स्वास्थ्य सेवाको गुणस्तर वृद्धिका लागि आवश्यक स्रोतसाधनको व्यवस्थाका लागि सङ्घ सरकारसँग माग गरिएको उनले बताए । 

स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर मन्त्रालयले काम सुरु गरेको मन्त्री पाठकको भनाइ छ ।  स्वास्थ्य  क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उनले बताए । 

मन्त्रालयको कार्ययोजनाअन्तर्गत कानूनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास तथा विस्तार, सेवा प्रवाह तथा गुणस्तरको सुनिश्चितता, सूचना व्यवस्थापन, जनस्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य, सर्ने तथा नसर्ने रोगको व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।  ‘नागरिकलाई सर्वसुलभ र गुणस्तीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य मन्त्रालय प्रतिबद्ध छ’ मन्त्री पाठकले भने । 

चितवनमा स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको अक्षयकोष स्थापना

चितवन । चितवनको भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाई संरक्षण गर्न एक करोड एक लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।

केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिननाथबाट गौ संरक्षण सुरु भएको भन्दै उनले त्यसलाई निरन्तरता दिइएको बताए ।

अक्षयकोषका लागि ११ हजार एक सय रुपैयाँको आजीवन सदस्य र एक लाख एक हजार रुपैयाँको संरक्षक सदस्य बनाइएको छ । ४५ जना संरक्षक सदस्य र ३२५ जना आजीवन सदस्य छन् ।

विसं २०७४ बाट कोष स्थापना गरी रकम संकलन गर्न थालिएको हो । कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा १८ लाख रुपैयाँभन्दा बढी संकलन भएको गौ संरक्षण केन्द्रका संयोजक ढकालले जानकारी दिए ।

गौ संरक्षण केन्द्रले २५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो । केन्द्रका पूर्वसंयोजक टंकनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताए ।

दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन् । योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेका हुन् । केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ ।

काठमाडौँ महानगरपालिकाले आठ स्थानमा छठ मनाउन व्यवस्थापन गर्दै

काठमाडौं । यसवर्ष काठमाडौँ महानगर क्षेत्रभित्रका आठ स्थानमा छठ पर्व मनाउने तयारी गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगर क्षेत्रभित्रका आठ स्थानमा छठ मनाउने व्यवस्था मिलाइएको मिलाइएको जानकारी दिएका छन् ।

महानगरले गौरीघाट, कोटेश्वर दोभान, कमलपोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब, र भुवनेश्वरी मन्दिरमा छठ मनाउने व्यवस्था मिलाएको मेयर साहले जानकारी दिए ।

यी स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएको उनले बताए ।

युईएफए च्याम्पियन्स लिगमा रियल मड्रिड पराजित

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा साविक विजेता रियल मड्रिड पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल मड्रिड इटालियन क्लब एसी मिलानसँग ३–१ गोलले पराजित भएको हो ।

हारसँगै जारी प्रतियोगितमा चार खेलबाट दुई हारसँगै १७औँ स्थानमा छ। यता, एसी मिलन भने समान खेलबाट समान अंकसहित १८औँ स्थानमा छ।

यस्तै गएराति नै भएको अर्को खेलमा स्पोर्टि सिपीले म्यानचेस्टर सिटीलाई ४–१ गोलले हराएको हो । स्पोर्टीलाई जित दिलाउन भिक्टोर ग्योकेरेसले ह्याट्रिक पूरा गर्दा माक्सिमिलानो अरौजोले एक गोल गरे ।

सिटीको लागि फिल फोडेनले एक गोल गरे । जितसँगै स्पोर्टि ४ खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ७ अंक जोडेको सिटी छैटौं स्थानमा रहेको छ ।

साढे पाँच किलो सुनसहित त्रिभुवन विमानस्थलबाट तीन विदेशी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित तीन विदेशी नागरिक पक्राउ परेका छन् ।

चिनियाँ नागरिक जियानझोङ तथा म्यानमारका सातनाइनटुङ र इन ङोन फू मंगलबार साँझ सुनसहित पक्राउ परेका हुन् ।

उनीहरु एयर अरेबियाको उडानबाट काठमाडौं आएका थिए । उनीहरु भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ परेका हुन् ।

उनीहरुलाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

पोखराको मित्र मिलन सहकारीका उपाध्यक्ष पक्राउ

पोखरा । प्रहरीले पोखराको मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले लम्लासलाई मंगलबार पक्राउ गरेको हो ।

यो सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार/शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै छन् ।

मित्रमिलन सहकारी ठगीमै जोडिएका राष्ट्रिय सहकारी बैंक लिमिटेडका कास्कीका पूर्व व्यवस्थापक सन्तोष घिमिरे पनि पुर्पक्षकै लागि थुनामै छन् ।

यो सहकारी ठगीमा ३१ करोड बिगोसहित कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले छानबिनको क्रममा यस सहकारीको २६ करोडभन्दा बढी रुपैयाँ हिनामिना भएको तथ्य फेला परेको थियो।

ज्यान मार्ने उद्योगमा सांसद दीपक मनाङे दोषी ठहर

काठमाडौँ । गण्डकी प्रदेशका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो ।

यसअघि उनलाई उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गरेको थियो । उच्चको फैसलाविरुद्ध मनाङे सर्वोच्च पुगेका थिए । उच्च अदालतले मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो ।

सर्वोच्चले उच्चको फैसला सदर गरेको छ । उनी मनाङ प्रदेश सभा–२ बाट २०७४ र २०७९ स्वन्त्रबाट निर्वाचित भएका थिए भने पटक पटक मन्त्री बनेका थिए ।

प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुल्यो, डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने निर्णयविरुद्धको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध दायर भएको रिट खारेज गरिदिएको छ ।

मंगलबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश महेश शर्मा पौडेलको इजलासले रिट खारेज गरिदिएको हो । प्राधिकरणको निर्णयविरुद्ध हिमाल आइरन एन्ड स्टिलले रिट दायर गरेको थियो । यससँगै प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुलेको छ ।

डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने प्राधिकरणको निर्णयविरुद्ध हिमाल आइरन एन्ट स्टिलले २०७५ फागुन ९ गते सर्वोच्चमा रिट दर्ता गरेको थियो ।

सो उद्योगले १३ करोड ६५ लाख एकहजार ९०२ रुपैयाँ बक्यौता तिर्न बाँकी छ । मुलुकमा दैनिक १८ घण्टा लोडसेडिङ भइरहँदा प्राधिकरणबाट विशेष सुविधा पाएर विद्युत खपत गरेका ४९ वटा उद्योगबाट ६ अर्ब रुपैयाँ भन्दाबढी बक्यौता उठाउन बाँकी छ।

हसिनाको शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी नागरिक अझै बेपत्ता

ढाका ।  अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब २०० जना बङ्लादेशीहरू अझै बेपत्ता रहेको जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले बताएका छन्।

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा भएको प्रदर्शन पछि हसिना हेलिकप्टर मार्फत छिमेकी देश भारत भागेकी थिइन्।

हसिना सरकारमाथि मानव अधिकार हननको आरोप तथा सयौंको गैरकानुनी अपहरण र बेपत्ता भएको आरोप लगाइएको थियो।

हाल कार्यवाहक सरकारले गठन गरेको अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको तर अझै धेरैको विवरण नआएको जनाएको छ।

आयोगका अध्यक्ष मोइनुल इस्लाम चौधरीले सरकार र न्यायपालिकामा संस्थागत विच्छेदले पनि हसिनाको नेतृत्वमा दण्डहीनताको वातावरण फस्टाएको बताए।

उनीहरूले कानून प्रवर्तन एजेन्सीलाई सार्वजनिक हितमा नभइ आफ्नै एजेन्डा र राजनीतिक हितका लागि प्रयोग गरेको उनको दाबी छ।

आयोग नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारका लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने प्रयासको हिस्साको रूपमा स्थापना गरेको थियो।

लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी

न्यूयोर्क । मानवीय मामिला समन्वयका लागि राष्ट्र सङ्घीय कार्यालय (ओसिएचए) ले लेबनानको मानवीय अवस्था बढ्दो वैमनस्यताको बीचमा बिग्रदै गएको जनाएको छ ।

यस क्षेत्रको स्वास्थ्य सेवाले निरन्तर आक्रमणको सामना गरिरहेको र कर्मचारी तथा स्रोत अभावले लेबनानको नाजुक स्वास्थ्य पूर्वाधारमा थप तनाव आइरहेको संयुक्त राष्ट्रका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।

उनले दक्षिणी लेबनानको बिन्ट जेबिल जिल्लाको टेबिन सरकारी अस्पताल नजिकै इजरायली हवाई आक्रमणले अस्पतालमा क्षति पुर्‍याउदा, दर्जनौं मानिस घाइते हुनुका साथै अस्पतालमा क्षति पुर्‍याएको जनाएका छन्।

सन् २०२३ अक्टोबर देखि लेबनानमा भएका स्वास्थ्य केन्द्र लक्षित ६० वटा आक्रमणमा ११० जना स्वास्थ्य सेवाकर्मीको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

उनले लेबनानमा संयुक्त राष्ट्रसङ्घका सैन्यलगायतका सुविधाहरू अझै पनि आक्रमणबाट प्रभावित रहेको पुष्टि गर्दै राष्ट्रसङ्घको शान्ति सेनाहरूको रक्षा गर्न सबै पक्षहरूलाई आह्वान गरेका छन् ।

सन् २०२३ अक्टोबर देखि लेबनान इजरायली आक्रमणको सिकार भएको छ, तर सेप्टेम्बर २०२४ को अन्त्य देखि, इजरायलले आक्रमणको गति बढाउदा हजारौं लेबनानीहरूले मृत्युवरण गरेको स्रोतले जनाएको छ ।

एक सय ६२ सडक मानवको उद्धार

बागलुङ । २३ दिन दिनअघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान मंगलबार बागलुङ आइपुगेको छ ।

आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, उद्धार अभियानका सहयोगकर्ता आनीछोयङ्ग डोल्मा सहितको ५० सदस्यीय समूहले हालसम्म एक सय ६२ सडक मानवको उद्धार गरेको जनाएको छ ।

समूहले एक सय २१ पुरुष, ३६ महिलाका साथै चार जना बालिका र एक जना बालकको उद्धार गरेको हो ।
अभियानकै क्रममा हाल गण्डकी प्रदेशमा उद्धार अभियान जारी रहेको अध्यक्ष अधिकारीले बताए । ‘पोखरामा दुई बालिकाको उद्धार गरेका छौं’, उनले भने ।

यसैबीच, कार्यक्रममा बागलुङका स्थानीय तीर्थप्रसाद श्रेष्ठले निर्माणाधीन मानव सेवा आश्रमको भवन निर्माणका निम्ति एउटा कोठा बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । धौलागिरिका चार जिल्ला कार्यक्षेत्र भएको बागलुङ शाखामा ६३ जना सहयोगापेक्षी आश्रित छन् । हाल मानव सेवा आश्रमको भवन बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन छ ।

चाडपर्वमा कोही सडकपेटीमा बस्न नपरोस् भन्ने उद्देश्यले मेची–महाकाली राष्ट्रिय उद्धार अभियान प्रारम्भ भएको हो । अभियानको खर्च गायिका आनीछोयङ्ग डोल्माले व्यहोरेकी हुन् । मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा ५० जना यात्री छन् । केन्द्रले सातवटै प्रदेशका १९ जिल्लामा २५ वटा शाखामार्फत सेवा गर्दै आएका छ ।

पृथ्वीराजमार्गको ६३ किलोमिटर कालोपत्र सम्पन्न

तनहुँ। मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ। आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र पाँच किमी दुई लेनको सडकमा कालोपत्र गरिएको हो।

तिहारको समयमा पनि काम भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। ‘यस खण्डको हालसम्म ६८ प्रतिशत कार्य प्रगति भएको छ,’ उनले भने, ‘चाडवाड सकियो अब निर्माणले झन् गति लिन्छ।’

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ को दमौली बजार र व्यास–५ को चापाघाट जोड्ने मादी नदी पुलको निर्माणको भौतिक प्रगति ४५ प्रतिशत पुगेको उनले जानकारी दिए। तीन सय १५ मिटर लामो यस पुल ‘आर्क डिजाइन’को चार लेनको हुनेछ। आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल डिजाइन गरिएको छ।

पर्यटक पनि आकर्षित गर्ने भनी कलात्मक निर्माण गर्न लागिएको ठेकेदार कम्पनीका साइट इन्चार्ज दिनेश श्रेष्ठले जानकारी दिए। पुलको सातवटा ‘फाउन्डेसन’ निर्माण गरिएको छ। हाल पानीमुनि पाइलिङ, पाइल क्याप र पिलरको काम पूरा गरी पानीमाथि ‘सुपर स्ट्रक्चर’ निर्माण भइरहेको छ।

हाल रहेको दुई लेनको पुलबाट करिब ५० मिटर उत्तरतर्फ नयाँ पुल निर्माण भइरहेको र पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार नेपालमै पहिलोपटक चार लेनको पुल निर्माण भइरहेको र तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ।

निर्माणाधीन सोही पुल नजिक दुई लेनको तीन सय ७० मिटर लामो पुलबाट हाल सवारी आवतजावत भइरहेका छन्। कूल ८१ किलोमिटर लम्बाइ रहेको मुग्लिन–पोखरा सडकको विस्तार विसं २०७८ वैशाखदेखि सुरु भएको हो। हाल उक्त राजमार्ग दुई लेनको छ।

पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन–जामुने) को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुन–पोखरा) को लम्बाइ ३९.५५ किलोमिटर छ।

आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको सङ्ख्या वृद्धि

दाङ । रोल्पा सिउलीबाङका ७१ वर्षीया सरुमा विक तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा भेटिइन् । पेट दुख्ने, खान मन नलाग्ने समस्याले चिकित्सालय आएकी उनले धेरै ठाउँमा उपचार गर्दा पनि ठिक नभएपछि यहाँ उपचार गर्न आएको बताइन् ।

उनका श्रीमान् जीतबहादुर पेट दुख्ने समस्या हुँदा यही चिकित्सालय आएका थिए । “यहाँ राम्रो उपचार हुन्छ, भन्ने सुनेर आएको हुँ”, उनले भनिन्, “हामी जस्ता गरिबले सहजै उपचार पाउने अस्पताल रहेछ, यहाँ आएर उपचार गरेपछि मात्र थाहा भयो” ।

चिकित्सालय परिसरमै भेटिएका घोराही उपमहानगरपालिका-९ कर्मटुवाका ७६ वर्षीय तिलकबहादुर खत्री हातखुट्टा दुख्ने, चिलाउने समस्या लिएर आएको बताए ।

“२५ रुपैयाँमा दर्ता गरेर उपचार गर्न पाइने रहेछ । उपचार पनि राम्रो रहेछ, मेरो समस्या कम भयो, त्यसैले डाक्टरले १५ दिनमा बोलाउनुभएको थियो र आएको हुँ,” उनले भने । २३ प्रकारका अ‍ैषधि निःशुल्क पाएको र सस्तो भएको उनले बताए ।

चिकित्सालयमा अन्तरंग, बहिरङग, कायाचिकित्सा, स्त्री/प्रसूति, ज्येष्ठ नागरिक सेवा, सुरक्षित मातृत्व, छ महिनासम्मका आमालाई औषधि, पञ्चकर्मसम्बन्धी सेवा, पूर्वकर्म, सेरापोक योगा, प्रोमोटिम योगा, सर्जरी, मलद्वार, पायल्स, फिस्टुलाको उपचार गरिने चिकित्सालयका सूचना अधिकारी वसन्तबहादुर केसीले जानकारी दिए । अस्पतालमा आउने बिरामीलाई भर्ना गर्नुपर्ने अवस्था आएमा न्यून शुल्कमा भर्ना गरिने उनले बताए ।

विभिन्न प्रकारका ‘थेरापी’ गरेर आयुर्वेदिक औषधिको प्रयोग गरी उपचार गरिने र उपचार पछि बिरामी निको हुनेक्रम बढेको उनको भनाइ छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख एवं निर्देशक डा. सन्तोषकुमार ठाकुरले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बताए । चिकित्सालयमा क्षारसूत्र, पञ्चकर्म, अग्नि कर्मलगायतका सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको उनले बताए ।

चिकित्सालयका अनुसार दाङसहित रोल्पा, सल्यान, रुकुम, डोल्पा, प्यूठान, सुर्खेत, नेपालगञ्ज लगायतका ठाउँबाट उपचारका लागि यहाँ बिरामी आउने गरेका छन् । प्रमुख ठाकुरले भने, “अन्य ठाउँमा उपचार गर्दा निको नभएका बिरामी यहाँ आएर उपचार गरी निको भएका थुप्रै उदाहरण छन् ।”

उनका अनुसार नेपालकै शय्यायुक्त आयुर्वेद चिकित्सालय अन्तर्गत बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय दोस्रो ठूलो हो । अस्पतालमा शल्यक्रियाका लागि आवश्यक सुविधा छ । यस चिकित्सालय विशेषगरी पायल्स र फिस्टुलाको उपचार केन्द्र बनेको उनले बताए । अझै पनि चिकित्सालयमा भौतिक पूर्वाधारको अभाव छ । ओपिडी र इन्डोर एउटै भवनमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रमुख ठाकुरले बताए ।

यस चिकित्सालयलाई ५० शय्यामा स्तरोन्नति गर्न सके अझै राम्रो हुने उनको भनाइ छ । विसं २०४८ मा स्थापना भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयलाई हाल प्रादेशिक आयुर्वेद चिकित्सालयको रूपमा विकास गरिएको हो ।

चिकित्सालयका अनुसार पाँच वर्षयता बर्सेनी यहाँ उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा २४ हजार चार सय २१, आव २०७८/७९ मा ५० हजार ९६ र आव २०७९/८० मा ७१ हजार दुई सय २३ बिरामीले यहाँबाट उपचार सेवा लिएका थिए । गत आव २०८०/८१ मा उक्त सङ्ख्या वृद्धि भइ एक लाख नौ हजार आठ सय ५२ पुगेको छ ।

प्रमुख सूचना आयुक्तमा आचार्य सिफारिस

काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा. सुरेशप्रसाद आचार्य सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेको अध्यक्षतामा सोमबार बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा उनलाई सिफारिस गरेको हो । 


यसैगरी, समितिले प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र पूर्वसचिव दुर्गा भण्डारीलाई सूचना आयुक्तमा सिफारिस गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।


प्रतिनिधिसभाका सभामुख अध्यक्ष र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल पत्रकार महासङ्घका अध्यक्ष सदस्य रहने तीन सदस्यीय सिफारिस समितिले प्रमुख सूचना आयुक्त र आयुक्त सिफारिस गर्ने प्रावधान छ । प्रमुख आयुक्तमा १५ जना र आयुक्तमा २९ जनाले आवेदन गरेका थिए ।

प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । सोमबारदेखि प्रधानमन्त्री ओली अस्वस्थ भएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले प्रधानमन्त्रीलाई ज्वरो आएको र रगत परीक्षणका लागि पठाइएको जानकारी दिए ।

ज्वरो आएसँग प्रधानमन्त्री सरकारी निवासमा आराम गरिरहेका छन् । बिरामी परेपछि प्रधानमन्त्री ओलीको मंगलबारका लागि तय भएका सबै भेटघाट पनि बन्द गरिएको छ।

रविलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ । मंगलबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो । लामछिानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएको थियो ।

उनलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । त्यसपछि दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

शेयर बजारमा गिरावट

काठमाडौँ । दीपावलीको सार्वजनिक बिदापछि मंगलबार खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७७ दशमलव ४० मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ अङ्कले ओरालो लागेर चार सय ७७ दशमलव ९९ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य उकालो लाग्दा छ उपसमूहको भने ओरालो लागेको छ । कूल ९७ लाख १३ हजार सात सय ३० कित्ता शेयर रु चार अर्ब २० करोड ५५ लाख पाँच हजार दुई सय ३७ मा कारोबार भएको छ ।

नेप्सेका अनुसार, सुपर माई हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त नौ दशमलव ९५, युनाइटेड मोदी हाइड्रोपावर नौ दशमलव ५१, गुराँस लघुवित्त नौ दशमलव ३२ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले आठ दशमलव ७५ प्रतिशतले कमाएका छन् ।

त्यसैगरी, मिड सोलु हाइड्रोपावर १०, अप्पर स्याङ्गे हाइड्रोपावर आठ दशमलव ९४, सामलिङ पावर कम्पनी छ दशमलव ४९, एक्सेल डेभलपमेन्ट बैङ्क पाँच दशमलव ९७ र एनआइसी एसिया फ्लेक्सी फन्डका लगानीकर्ताले पाँच दशमलव ९१ प्रतिशतले गुमाएका छन् ।

नवलपरासीमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा मंगलबार दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ । 

गैँडाको आक्रमणबाट गम्भीर घाइते हुनु भएका बोटेलाई स्थानीले उपचारका लागि अस्पताल भर्ना गरेका थिए । निजको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए । 

गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु, धेरै घाइते

गाजा । गाजा सहरको पूर्वमा रहेको तुफाहमा मंगलबार भएको इजरायली हमलामा चार जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन् ।

हमलाबाट सेनाले उत्तरी गाजा पट्टीको जबालिया शिविरको पश्चिममा आवासीय भवनहरूसमेत क्षतिग्रस्त बनाएको चिकित्सा स्रोतहरूले बताएका छन् । हमलामा, खान युनिसको पूर्वमा रहेका घरहरुमामा सेनाले बम प्रहार गरेपछि धेरै प्यालेस्टिनीहरू घाइते भएको स्रोतहरूले रिपोर्ट गरे।

गत अक्टोबर देखि गाजा पट्टीमा सुरु भएको इजरायली आक्रमणको परिणामस्वरूप अहिलेसम्म ४३ हजार ३७४ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ भने एक लाख दुई हजार २६१ जना घाइते भएका छन् । हजारौँ पीडितहरू भग्नावशेषमुनि बेपत्ता छन् भने कयौँ पहुँचविहीन सडकमा छरिएका छन् ।

त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण

मोरङ । नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषदमा शिक्षा तथा सञ्चार राज्यमन्त्रीका रुपमा राष्ट्रको सेवा गरेका स्वर्गीय राधाप्रसाद घिमिरेको विराटनगर–२ स्थित निवासमा रहेको सन् १८८३ मा निर्मित मुद्रणयन्त्र मंगलबार त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागलाई  हस्तान्तरण गरिएको छ । 

विभागका प्रमुख कुन्दन आर्यालयलाई स्वर्गीय घिमिरेकी कान्छीबुहारी दुर्गा घिमिरेले उक्त यन्त्र हस्तान्तारण गरेकी हुन् । पूर्वराज्यमन्त्री घिमिरेले २०१५ को आम निर्वाचनमा पर्चा, ‘पोस्टर’ छाप्न भारतको कोलकाताबाट खरिद गरी विराटनगरको रङ्गेली रोडमा पायोनियर प्रिन्टिङ प्रेस २०१४ स्थापना गरेको वरिष्ठ पत्रकार मोहन भण्डारीले बताए ।

त्यस अवसरमा आमसञ्चार विभाग प्रमुख अर्यालले यन्त्रका माध्यमबाट छापाखानाको इतिहासबारे ज्ञान प्राप्त गर्न विद्यार्थी तथा शोधकर्तालाई सहयोग पुग्ने बताए ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले उक्त यन्त्र छापा पत्रकारिताको जीवन्त इतिहास झल्काएको बताए । 

मावअधिकारीकर्मी सुशील प्याकुरेल, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, प्राध्यापक कृष्ण पोखरेल, महेन्द्र मोरङ क्याम्पसका प्रमुख रामअवतार शरण, दिनेश श्रेष्ठलगायतले मुलुकको प्रमुख व्यापारिक केन्द्रमध्येको एक विराटनगरमा छापाखानाको विकासक्रमका साथै जटिल समयमा पर्चा, समाचारलगायत पाठ्यसामग्री छापेर छापा पत्रकारिताको विकासमा योगदान गरेको चर्चा गरे ।

राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य एवं न्यू सृष्टी दैनिकका प्रधान सम्पादक शङ्कर खरेलको पहलमा उक्त मुद्रणयन्त्र विश्वविद्यालयले प्राप्त गरेको आमसञ्चार विभागका  प्रमुख अर्यालले सोही अवसरमा जानकारी दिए ।