`

सेनाले भन्यो-लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए ।

प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए ।

‘शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ’, सैनिक प्रवक्ता केसीले भने । हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन् ।

शेयर बजार ३१ अङ्कले बढ्यो

काठमाण्डौं । दशैं बिदापछिको पहिलो दिन मंगलबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । मंगलबार नेप्से ३१ दशमलव ४८ अङ्कले बढेर दुई हजार ६ सय ९९ दशमलव ६६ विन्दुमा झरेको छ ।

उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, बीमा, व्यापार, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ । आज जानकी फाइनान्स र मिथिला लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको बढेको छ ।

यस्तै मल्टिपर्पाेज फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज तीन सय सात वटा कम्पनीका ६४ लाख १७ हजार कित्ता शेयर तीन अर्ब ६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै गुडविल फाइनान्सको १८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

मन्थलीमा रोकिए लुक्ला हिँडेका एक हजार भन्दाबढी पर्यटक

मन्थली (रामेछाप) । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् ।

रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के जान थालेका छन् ।

नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहका अनुसार समिट, तारा र सीता एयरलाइन्समार्फत लुक्ला जाने तयारीमा रहेका विदेशी पर्यटक रोकिएका हुन् ।

मन्थलीबाट पर्यटकीय याममा दैनिक ५५ देखि ६० उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिए । पर्यटकहरु शरद ऋतुका बेला सगरमाथा आधार शिविर पदयात्राका लागि जाने गर्दछन् ।

बाटो नहुँदा घट्यो घोडेपानीमा पर्यटक आगमन

म्याग्दी । पहिरोले बाटो बगाएपछि पर्यटकीयस्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ । वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा यो वर्ष पर्यटकको आगमन ठप्पप्रायः भएको छ ।

घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गतअन्नपूर्ण–५ घोप्टेखर्कमा गत साउनमा पहिराले भत्काएको सडक मर्मत नहुँदा पर्यटक आगमन घटेको हो । पर्यटक आगमनको याम प्रारम्भ भइसक्दा पनि सडक मर्मत नहुँदा घोडेपानीका होटल व्यवसायी चिन्तित भएका छन् ।

“विगतका वर्षमा दशै लगत्तै छुट्टी मनाउन बस चढेर आउने आन्तरिक पर्यटकले घोडेपानीका होटलहरु भरिभराउ हुन्थ्ये,” उनले भने “कास्कीबाट पदयात्रा गरेर आउने पर्यटक मात्रै छन् । घोडेपानी पर्यटकीय याममा पनि सुनसान छ ।”


घोप्टेखर्कमा १० मिटर सडक भत्किएपछि मोटरसाइकल बाहेक अन्य सवारी साधन ठप्प छन् । अठार किलोमिटर लामो पोखरेबगर–चित्रे सडक खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालयले ३० करोडको लागतमा कालोपत्र गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पुर्‍याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने वैकल्पिक सडक मर्मत गरेको बताए ।

लुलीया र हल्लेखर्कको घुम्तिमा सडक भासिएको ठाउँमा हलुका सवारी साधन सञ्चालन हुनेगरी स्थानीय स्रोतबाट मर्मत गरिएको वडाध्यक्ष खड्काले बताए ।

सुगमले ल्याए ‘सबैको हुन खोजेर’

काठमाडौं । गायक सुगम पोखरेलको नयाँ गीत ‘सबैको हुन खोजेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत सुगम स्वयंका हुन् भने संगीत संयोजन शिवम रसाइलीले गरेका छन् ।

सुगमलाई कलाकारहरू सुनिता शेरचन, ममता प्रसाईं र जेबिशा दाहालले साथ दिएका छन्। गीतको म्युजिक भिडिओ अल्टिमेट सिजापति ब्यानरमा बनेको हो ।

संसदको आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित हुन्छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सङ्घीय संसदको आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन् ।

६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित श्रद्धाञ्जलि कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले प्रहरी सङ्गठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए ।

‘गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सेवाको विशिष्टिकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समाविष्ट गरिएको छ,’ उनले भने, ‘गृह मन्त्रालयले यसलाई छिटोभन्दा छिटो प्रतिनिधिसभा समक्ष पेस गर्ने लक्ष्य राखेको छ । प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरेपछि नेपाल प्रहरीको वृहत्तर हित र वर्षौँदेखिका हाम्रा अपेक्षा पूरा हुने विश्वास लिएको छु ।’

कार्यक्रममा गृहमन्त्री लेखकले कर्तव्यपालनका क्रममा मृत्युवरण गरेका र घाइते प्रहरी कर्मचारीको योगदानको उच्च मूल्याङ्कन गरिने बताए ।

‘वर्तमान सरकार गठन भएलगत्तै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई पूर्णता दिइएको छ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता भएका व्यक्तिको छानबिनसम्बन्धी कानुन बनेको छ,’उनले भने, ‘यसले द्वन्द्वको बेलामा मुत्युवरण गर्ने सुरक्षा निकायका व्यक्तिको परिवारलाई पनि पीडित सरह परिपूरण दिने व्यवस्था गरिएको छ । द्वन्द्वका बेला घाइते तथा अपाङ्ग हुनुभएका सुरक्षा निकायका व्यक्तिलाई पीडित सरह व्यवहार गरिने व्यवस्था गरिएको छ ।’

सुरक्षा निकायको कमी कमजोरीले सरकारले आलोचना व्यहोर्नुपर्ने भएकाले थप सतर्कताका साथ काम गर्न गृहमन्त्री लेखकले निर्देशन दिए ।

राज्यको नागरिकसँग सम्पर्क सुत्र नै प्रहरी भएकाले नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतिका लागि आफ्नो भूमिका सदैव सहयोगी रहने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाए ।

मुलुकभर महिला तथा बालबालिकामाथि हुने हिंसा, कसूरजन्य कार्य, भेद्भाव छुवाछुतलगायतका आपराधिक कार्यमा संलग्नलाई शून्य सहनशीलताको नीति लिएर कानुनको दायरामा ल्याउन गृहमन्त्री लेखकले प्रहरीलाई निर्देशन दिए ।

अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

काठमाडौँ । अन्तर व्यवस्थापिका सङ्घको १४९औँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहेका राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घका अध्यक्ष डा तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।
भेटमा नेपालको सङ्घीय संसद र अन्तर व्यवस्थापिका सङ्घसँगको आपसी सहकार्य, सहयोग आदानप्रदान, लोकतन्त्रको सुदृढीकरणका लागि संसदीय भूमिकालगायत विषयमा छलफल भएको थियो । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरुका लागि नेपालको स्थायी नियोगले जनाएको छ । 

अध्यक्ष दाहालले आइपियूका विभिन्न सभा तथा कार्यक्रमहरुले लोकतन्त्र, मानवअधिकार, लैङ्गिक समानता, युवा सशक्तीकरण, दिगो विकासलगायत विषयमा संवाद, सहकार्य र असल अभ्यासहरुको आदानप्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए ।

अध्यक्ष दाहालले संसदीय अभ्यासलाई अझ परिस्कृत तुल्याउन तथा लोकतान्त्रिक संस्थाहरुलाई सुदृढ बनाउन अन्तर व्यवस्थापिका सङ्घसँग नेपालले घनिभूत सहकार्य गर्न चाहेको बताए ।

आइपियूसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिएको बताउँदै उनले यसको सचिवालयमा नेपालको पनि सहभागिता आवश्यक भएको विचार व्यक्त गरे । साथै उनले त्यसनिम्ति गृहकार्य गर्न अनुरोध पनि गरे ।

संविधानसभाबाट जारी संविधानमार्फत नेपालले महिला, अल्पसङ्ख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको जानकारी दिँदै अध्यक्ष दाहालले सङ्घीय संसद्मा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधिका रुपमा सहभागी रहेको बताए ।

अध्यक्ष अक्सनले नेपाल विगतदेखि नै आइपियूमा सक्रिय सहभागी भएकामा त्यसको सराहना गर्दै नेपालको सङ्घीय संसद्मा ३३ प्रतिशत महिलाको सहभागिताको प्रशंसा गरे । साथै उनले आइपियू सचिवालयमा नेपाललाई समावेश गर्न आफू सकारात्मक रहेको बताए । सङ्घको बैठक आगामी कात्तिक १ गते समापन हुनेछ । 

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान

वासिङ्टन । आइएमएफले धेरै देशका लागि वित्तीय अवस्था ‘अपेक्षाभन्दा खराब’ हुनसक्ने चेतावनी दिँदै मङ्गलबार विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष एक सय ट्रिलियन डलर पुग्नसक्ने चेतावनी दिएको छ।

वित्तीय नीतिसम्बन्धी पछिल्लो प्रतिवेदनमा आइएमएफले यस वर्ष विश्वव्यापी सार्वजनिक ऋण कुल ग्राहयस्थ उत्पादन (जीडीपी)को ९३ प्रतिशत र सन् २०३० सम्ममा जीडीपीको १०० प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ। यो तथ्याङ्क कोभिड–१९ महामारी आउनुभन्दा पहिलेको तुलनामा १० प्रतिशतले बढी हो।

विश्वव्यापी सार्वजनिक ऋण उच्च भएको आइएमएफको ‘फिस्कल अफेयर्स डिपार्टमेन्ट’का उपनिर्देशक एरा डाब्ला–नोरिसले प्रतिवेदन प्रकाशन हुनुअघि पत्रकार समक्ष बताएकी हुन्।

ऋणको बोझ अपेक्षाभन्दा बढी हुने धेरै कारण भएको बताउँदै उनले जलवायु परिवर्तन, अत्यधिक आशावादी ऋण अनुमान तथा ठूलो मात्रामा अज्ञात ऋणको सम्भावना जस्ता सवाललाई सम्बोधन गर्न हालको खर्च सन्तुलित नरहेको उल्लेख गरेकी छिन्। त्यसैले सन्तुलन कायम गरी ऋणको बोझ घटाउन देशहरूले आफ्नो वित्तीय व्यवस्थापनलाई मजबुत गराउनुपर्ने समय आएको उनले बताएकी छिन्।

आइएमएफको प्रतिवेदनले ऋण अनुमानको जोखिम मूल्याङ्कन गर्न नयाँ ‘ऋण–मा–जोखिम’ दृष्टिकोण प्रस्तुत गरेको छ। प्रतिवेदनमा खराब अवस्थामा, विश्वव्यापी सार्वजनिक ऋण सन् २०२६ सम्ममा जीडीपीको ११५ प्रतिशतमा पुग्न सक्ने अनुमान गरिएको छ। यो तथ्याङ्क कोषको आधारभूत अनुमान भन्दा लगभग २० प्रतिशत बढी हो।

प्रतिवेदनले ‘विश्वव्यापी कारकहरूले देशहरूमा सरकारी उधारो लागतमा बढ्दो उतारचढाव निम्त्याउने जनाउँदै ऋणको उच्च स्तरले अरूका लागि सार्वभौम उत्पादन र ऋण जोखिमको अस्थिरता बढाउने चेतावनी दिएको छ।

अर्थव्यवस्थामा मध्यम मुद्रास्फीति र ब्याज दर कटौतीको अर्थ देशले आफ्नो वित्तीय व्यवस्थापन पुनर्निर्माण गर्ने उपयुक्त समय भएको आईएमएफले जनाएको छ।

विश्वव्यापी सार्वजनिक ऋण नियन्त्रणमा ल्याउन वित्तीय समायोजनको आकार जीडीपीको औसतमा ३–४.५ प्रतिशतको बीचमा रहन आवश्यक रहेको आईएमएफले जनाएको छ। जुन विगतका समायोजनहरूको आकारभन्दा लगभग दोब्बर हो।

रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र हस्तान्तरण गरेको आरोपमा इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध

लक्सेम्बर्ग । युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्ससहितका संस्थाहरूविरुद्ध प्रतिबन्ध लगाएको छ ।

युरोपेली आयोगका विदेशमन्त्रीले इरान एयरलगायत सात संस्था र उपरक्षामन्त्री सैयद हम्जेह घलान्डारी र रिभोलुसनरी गार्ड्स कुद्स फोर्सका वरिष्ठ अधिकारीहरूसहित सात जना व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ ।

प्रमुख युरोपेली शक्तिहरू बेलायत, फ्रान्स र जर्मनीले गत महिना रुसमा इरानी क्षेप्यास्त्र हस्तान्तरणलाई लिएर यस्तै प्रतिबन्ध जारी गरेका थिए ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले सम्पूर्ण ब्लकले अपनाएको प्रतिबन्धलाई स्वागत गर्दै भनिन्, ‘युक्रेनविरुद्ध रुसको आक्रामक युद्धलाई इरानी शासनको समर्थन अस्वीकार्य छ र यो बन्द हुनुपर्छ ।’

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले प्रतिबन्धलाई ‘अन्यायपूर्ण र अन्तर्राष्ट्रिय कानूनविपरीत’ भन्दै अस्वीकार गरेका छन् । उनले रुसलगायत अन्य देशसँग रक्षा र सैन्य सहयोग गर्ने इरानको अपरिहार्य अधिकारलाई पनि जोड दिएको इरानको आधिकारिक समाचार एजेन्सी इरनाले जनाएको छ ।

इरानको कट्टर प्रतिद्वन्द्वी इजरायलले पनि आयोगको यस कदमको प्रशंसा गरेको छ ।

त्यसैगरी प्रतिबन्धले रकेट र मिसाइल प्रक्षेपण गर्न प्रयोग हुने प्रणोदक उत्पादनमा संलग्न दुई कम्पनीलाई पनि लक्षित गरेको छ ।

इरानले भने युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र हस्तान्तरण गरेको पश्चिमी आरोपलाई अस्वीकार गरेको छ । 

लेबननबाट शान्ति सैनिक नहटाउने राष्ट्रङ्घको अडान

बीबीसी । संयुक्त राष्ट्रङ्घले दक्षिणी लेबननमा रहेका उसका शान्ति स्थापक सैनिकहरू हाल ती रहेका कुनै पनि स्थानबाट अन्यत्र नहट्ने बताएको छ । उनले इजरायलले शान्ति सनिक हटाउन गरेको आह्वानको अवज्ञा गरेको छ ।

संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यका प्रमुख जँपीएर लाक्र्वाले न्यू योर्कमा पत्रकारहरूसँग कुरा गर्दै लेबननमा युनिफिल सैन्यलाई तिनको हालकै स्थानमा कायमै राख्ने निर्णयलाई सुरक्षा परिषद र उक्त सैन्यमा आफ्ना सैनिकहरू पठाउने सदस्य राष्ट्रहरूको पूर्ण समर्थन रहेको बताएका छन् ।

आइतबार इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्र सङ्घलाई दक्षिणी लेबननबाट आफ्ना शान्ति स्थापक सैन्यलाई हटाउन चेतावनी दिएका थिए। तर संयुक्त राष्ट्र सङ्घ शान्ति सैनिकहरूलाई तिनीहरू कायम रहेका स्थानबाट अन्यत्र नलैजाने निर्णयमा दृढ देखिएको छ ।

राष्ट्र सङ्घको शान्ति सेनाका प्रमुखले भनेका छन्, ’नीलो हेलमेट’का नामले पनि चिनिने शान्ति सेना तिनीहरू हाल रहेकै स्थानमा बसिरहन जरुरी छ। तिनीहरूलाई संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदले दिएको कार्यादेश, म्यान्डेट, पालना गर्न त्यहाँका गैरसैनिक जनताहरूलाई सहायता पुर्याउन पनि आवश्यक रहेको उनको भनाइ छ ।

इजरायलले त्यस क्षेत्रमा सुरुङ्हरू बनाउन र सी नजिकै रकेट र क्षेप्यास्त्रहरू राख्ने कार्यबाट हिज्बुल्लाहलाई रोक्न संयुक्त राष्ट्र सङ्घ असफल भएको तर्क गरेको छ। जुन १८ वर्ष अगाडिको युद्ध रोक्न भएको सम्झौताको उलङ्घन भएको पनि उसको भनाइ छ ।

संयुक्त राष्ट्र सङ्घले आफूहरूको म्यान्डेट द्वन्द्वका पक्षहरूलाई सहयोग गर्नु मात्र रहेको र उक्त सम्झौता लागु गर्ने काम आफूहरूको नभएको बताएको छ।

‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु

डा शेरबहादुर पुन

 बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु । अनि फर्कदा सार्बजनिक गाडीमा/बसमा फर्कने गर्दछु । केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि टाउको/जीउ असाध्य दुखेको, खानामा अरुचि भएको भन्दै कुरा गर्दै थिए । अर्कोले भन्दै थियो सायद डेङ्गु पो हो कि ? भोलि चिकित्सकसँग परामर्श गरेर रगतको जाँच गराउनु पर्ला भन्दै बिरामीले भन्दै थिए । त्यस्तै अस्ति बिहानै कोठाको झ्यालबाहिर दुई व्यक्ति (सायद बिहानी हिँडाइमा थिए) ज्वरो अनि जीउ दुखेको भन्दै डेङ्गु लागेको शङ्का गर्दै थिए । यसबाट हाल समुदायमा डेङ्गु फैलिएको देखिन्छ । 

डेङ्गु सुरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेङ्गु लक्षणहरुका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरु लक्षण बाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् । कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ । डेङ्गुका लक्षणहरुका बारेमा धेरै सुनेको र व्यापक प्रचार भएको पनि देखिन्छ तर जटिलता निम्त्याउन सक्ने सङ्केतहरुका बारेमा भने कमैलाई थाहा भएको देखिन्छ । सन् २०२२ मा अधिकांश डेङ्गुबाट मृत्यु भएकाहरु भर्ना हुँदा नै जटिल डेङ्गु लिएर आएका तथ्याङ्क देखिन्छ तर हामीले विगतमा देखिएका कमीकमजोरीबाट सिकेर आगामी दिनहरुमा डेङ्गुको मृत्युदरलाई घटाउने कोसिस गर्नुपर्दछ । यसर्थ डेङ्गु मृत्युदर वा जटिलता घटाउने एक मुख्य उपायमध्ये ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतहरुका बारेमा थाहा पाउनु पनि आवश्यक छ ।

अधिकांश डेङ्गु सङ्क्रमितमा सुरुमा ‘फेब्राइल फेज’ देखिने गर्दछ । यसमा मुख्यतयाः टाउको दुख्ने, जीउ दुख्ने, जोर्नी वा मांसपेशीका दुख्ने र खाना खान पटक्कै मन नलाग्ने हुन्छ । त्यस्तै, ज्वरो आउने, आँखाको गेडी दुख्ने वा खस्लाजस्तो हुने, शरीरमा स–साना राता बिमिराहरु देखिने, पखाला लाग्नेजस्ता समस्या पनि देखिने गर्दछ । कतिपयलाई खोकी पनि लागेको देखिन्छ । तर खोकी डेङ्गुको कारणले हो वा फ्लू भाइरसले गर्दा हो भनेर छुट्याउने गरेको भने देखिँदैन । वास्तवमा हाल फ्लूको सिजन पनि हो भने कोभिडको सङ्क्रमण पनि सँगसँगै देखिएको छ । ‘फेब्राइल फेज’ औसतमा झन्डै आठदेखि १० दिनमा देखिने गर्दछ । ज्वरो घटेको २४ देखि ४८ घण्टा बिरामीमा ‘जटिल डेङ्गु’ देखिने सक्ने सम्भावना प्रबल रहन्छ ।

‘जटिल डेङ्गु’का पूर्वसङ्केतहरु के के हुन् त ?

तारन्तार बान्ता हुनु,

असाध्य पेट दुख्नु,

नाक वा गिजाबाट रगत बग्नु, 

बेचैनी हुनु वा अत्यन्त कमजोर हुनु आदि ।

माथि उल्लिखित लक्षण वा सङ्केतहरु घरमा सङ्क्रमित भएर बसिरहेको बेला देखिन वा थाहा पाउन सकिन्छ । तसर्थ, यस्ता सङ्केतहरु देखिए तुरुन्त स्वस्थ केन्द्र वा अस्पतालमा जानुपर्दछ । अस्पतालमा जाँच गर्दा थप सङ्केतहरु देखिने गर्दछ । परीक्षणबाट कलेजो आकार बढेको वा सुन्निएको तथा छाती वा पेटमा पानी भए÷नभएको थाहा हुन्छ । रगतको जाँच गर्दा प्लेटेलेट्स तीव्र गतिमा घट्नु र हेमाटोकृत बढेको देखन्छ । डेङ्गुको सङ्क्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । डेङ्गु लागेपछि रगतमा प्लेटलेट्सको सङ्ख्या तीव्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधिका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।

सन् २०२२ सालमा काठमाडौँमा देखिएको डेङ्गु प्रकोपले सबैभन्दा धेरै मानिसको ज्यान लिएको थियो । यो प्रकोपलाई कोभिड–१९ को घातक लहरहरुभन्दा खासै फरक महसुस नगरे वा तुलना गरिएको थियो । काठमाडौँका लागि सन् २०१९ पछिको दोस्रो ठूलो प्रकोप (धेरैलाई अस्पताल आउनुपर्ने बाध्यता गराएको कारण) थियो । अनि नेपालको इतिहासमा नै ‘घातक डेङ्गु’ वर्षका रुपमा मैले सन् २०२२ लाई लिएको थिएँ । यसमा विशेषतः ज्येष्ठ नागरिक अनि दीर्घरोगीहरु जस्तै उच्चरक्त चाप, मधुमेह र श्वास–प्रश्वासको सङ्क्रमण भएका व्यक्तिहरु बढी डेङ्गुको जटिलताबाट मृत्यु भएका थिए । मनसुनको समयमा डेङ्गु सँगसँगै देखिने अरू सङ्क्रामक रोगहरुले डेङ्गु लक्षणलाई थप जटिल बनाउन सहयोगी भूमिका खेल्ने विभिन्न अध्ययनहरुको नतिजाले देखाएको छ । 

नेपालमा डेङ्गु सँगसँगै चिकुनगुनिया भाइरस, स्क्रब टाइफस, फ्लूजस्ता थप सङ्क्रमणहरु फैलने गर्दछ । यसर्थ, ज्येष्ठ नागरिक, सह–सङ्क्रमित वा उच्च रक्तचाप, मधुमेह र श्वास–प्रश्वास (दीर्घ वा हालै सङ्क्रमित भएको अवस्था) समस्या भएका व्यक्तिहरूले ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतलाई कुर्नै वा देखिनु नै पर्छ भन्ने छैन  । यस्तो अवस्थामा चिकित्सकको निरन्तर सम्पर्कमा रही आफ्नो स्वास्थ अवस्थाका बारेमा जानकारी लिनु अति बुद्धिमानी हुनेछ । डेङ्गुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं सङ्क्रमण निकै घातक हुन सक्छ ।                

दसैँ अगाडि डेङ्गुले गति लिँदै गइरहेको अवस्था थियो । दसैँलगत्तै अस्पतालमा जाँदा डेङ्गु पुष्टि भएका बिरामीहरुको सङ्ख्या अझ बढ्दै गइरहेको पाइएको छ । यसबाट दिनमा नै दर्जनौँ डेङ्गु भाइरस पुष्टि हुने क्रमले निरन्तरता पाइरहेको अवस्था देखिन्छ । हुन त काठमाडौँ मात्र नभई देशका विभिन्न ठाउँहरुमा डेङ्गुले व्यापक प्रभाव पारेको जानकारीहरु आउने क्रम जारी छ । डेङ्गुको यो रफ्तारमा सम्भवतः तत्काल रोकिने सम्भावाना अत्यन्त न्यून देखिन्छ । 

चाखलाग्दो कुरा के छभने अधिकांश डेङ्गु सङ्क्रमितहरु लक्षण लिएर घरघरमा बसिरहेको वा कार्यक्षेत्रमा निरन्तर खटिरहेका देखिन्छन् । अझ भनौँ धेरै मानिस ‘वाकिङ डेङ्गु’को अवस्थामा रहेको देखिन्छ । ‘वाकिङ डेङ्गु’ भन्नाले डेङ्गु सङ्क्रमित भई निरन्तर आफ्नो दैनिकीलाई निरन्तरता दिइरहेको अवस्थालाई भन्न खोजेको हो । चाडपर्वमा मान्छेहरु यसको लक्षणलाई नजरअन्दाज गर्दै आउजाउ, भेटघाट गरिरहेका छन् । किनभने डेङ्गुको सामान्य लक्षण आम समस्यासँग मिल्दोजुल्दो हुन्छ । यस्तो अवस्थामा मान्छेहरु सामान्य समस्या ठानेर आफूखुसी औषधिसमेत खाँदै हिँड्डुल गरिरहेका हुन्छन् । जब समस्या जटिल बन्दैन, तबसम्म उनीहरु अस्पताल पुग्दैनन् ।

अधिकांशलाई डेङ्गुको लक्षण देखिएको ८–१० दिनमा स्वास्थ्यमा सुधारोन्मुख देखिन्छ भने केहीमा डेङ्गुले जटिल अवस्था सिर्जना गर्न सक्दछ । तसर्थ ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतहरु सङ्क्रमितले थाहा पाउन अति आवश्यक देखिन्छ र सो देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्न सक्छन् । हाल डेङ्गु सङ्क्रमणको लहर रोक्न विभिन्न कारणले गर्दा  चुनौती रहेको भए तापनि ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतलाई ध्यान दिनसक्ने हो भने डेङ्गुबाट हुनसक्ने मृत्युदरलाई उल्लेखनीय सङ्ख्यामा कम गर्न सकिन्छ । हालसम्म रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा सामाजिक सञ्जालहरुमा डेङ्गु के हो, कसरी सर्छ र यसका लक्षणहरुका बारेमा जानकारीहरु दिने गरेको देखिए तापनि अबको प्रचारप्रसार तथा जानकारीहरु ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतका बारेमा केन्द्रित हुनुपर्ने देखिन्छ । यसबाट डेङ्गुबाट हुने मृत्युदरलाई उल्लेखनीय रुपमा कम गर्न सकिनेछ । यो नै अहिलेको प्रमुख आवश्यकता र सघन माग पनि हो ।

(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ)

हिजबुल्लाहमाथि दया नगर्ने प्रधानमन्त्री नेतान्याहूको प्रतिज्ञा

बेरुत । इजरायली सेनाले मङ्गलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानको आधिकारिक सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहप्रति कुनै दया नगर्ने वाचा गरेपछि दुई समुहबीच द्वन्द्व चर्किएको हो ।

प्रधानमन्त्रीको प्रतिज्ञा इरान समर्थित लेबनानी समूहले इजरायली आधारमा गरेको ड्रोन हमलामा चार सैनिक मारिएको एक दिनपछि आएको हो ।

“हामी बेरुतसहित लेबनानका सबै भागमा हिजबुल्लाहमाथि आक्रमण गर्न जारी राख्नेछौँ“, हाइफाको दक्षिणमा बिन्यामिना नजिकैको आधारको भ्रमणका क्रममा नेतान्याहूले भने ।

हिजबुल्लाहले मङ्गलबार रब त्लातिन गाउँको बाहिरी भागमा हस्तक्षेप गर्न खोजिरहेका इजरायली सेनासँग झडप भएको जानकारी गराएको छ ।

इजरायलले गत महिना सीमापार भूमि सेना पठाउनु अघि लेबनानमा आफ्नो बम आक्रमण बढाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार युद्धमा कम्तिमा एक हजार ३१५ जनाको मृत्यु भएको छ ।
लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले रिपोर्ट गरेअनुसार इजरायलले मङ्गलबार बिहान पूर्वी बेका उपत्यकामा हवाई आक्रमणलाई तीव्र गरेको हो ।

रेड क्रसको अन्तर्राष्ट्रिय समितिका क्षेत्रीय निर्देशक, निकोलस भोन आर्क्सले सोमबार एम्बुलेन्स र अन्य स्वास्थ्य सुविधाहरू र कर्मचारीहरूको सुरक्षाका लागि आग्रह गर्दै उनीहरूमाथि भएको आक्रमणलाई “चिन्ताजनक“ विषय रहेको बताए ।

इजरायली आक्रमणले हिजबुल्लाहको गढ साथै लेबनानका अन्य भाग लक्षित आक्रमण सुरु गरेको छ, जसमा उत्तरी इसाई बहुल गाउँ पनि समावेश छ जहाँ सोमबार कम्तिमा २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दक्षिणी सीमावर्ती सहर मर्जायुनका नागरिक सुरक्षा प्रमुख अनिस अबलाले उद्धारकर्ताहरू “थकित“ भएको बताए । “निरन्तर आक्रमणले हाम्रा उद्धार अभियानहरू झन् झन् कठिन हुँदै गइरहेका छन्“, उनले भने ।

लेबनानको स्वास्थ्य मन्त्रालयले गत हप्ता मध्य बेरुतमा भएको इजरायली आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको जानकारी दिएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको गत हप्ताको प्रमाणित तथ्याङ्कअनुसार लेबनानको युद्धले कम्तीमा छ लाख ९० हजार मानिस विस्थापित भएका छन् ।

पुबुदु दासानायके जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले सामाजिक संजालमार्फत् पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्वमुख्य प्रशिक्षक समेत हुन् । उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए । जनकपुरको मार्की खेलाडी आसिफ शेख छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । एनपिएलमा ८ फेन्चाइज टोली सहभागी छन् ।

खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी

गलेश्वर । पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका– २ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगैँचाले मनोहर छ ।

करिब एक सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ । यहाँ बसोबास गर्ने प्रत्येक परिवारले पाखोबारी, खरबारी र अन्न उत्पादन हुने जग्गामा व्यावसायिक रुपमा केराखेती गरेका स्थानीय कृषक नारायण सापकोटा बताउँछन् । गाउँभर केराखेती गरिएको छ । केरा बिक्री गरेर वार्षिक रु दुई करोड बढी रकम भित्रिने गरेको उनी बताउँछन् ।

विसं २०५७ मा खबरामा पहिलोपटक केराखेतीको थालिएको स्थानीय जगत् घिमिरे बताउँछन् । पोखराबाट हजारी जातको केराका तीनवटा बिरुवा ल्याएर खबरामा लगाएसँगै व्यावसायिक रूपमा केराखेती प्रारम्भ भएको हो ।

उनले भने, “खबरामा केरा खेतीको सुरुवात भएको २७ वर्ष भयो । तीनवटा केराका बिरुवा लगाएर सुरु भएको केराखेती अहिले पाँच सय रोपनी भन्दा बढी जग्गामा फैलिएको छ । गाउँको नाम नै परिवर्तन भएर ‘खबरा’ बाट ‘केरा गाउँ’ भनेर चिनिन थालेको छ ।”

खबराका तेजेन्द्रबहादुर कार्कीले २३ रोपनी बाँझो जमिनमा केराखेती गरेका छन् । वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने अभियानमा लागेका कृषक कार्कीले भिरालो र खोल्साखोल्सीको झाडी फँडानी गरी धमाधम केरा लगाउँछन् । कृषक कार्कीले केरा बिक्री गरेर वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको बताए ।

“भिरालो जमिनमा मल, जल नअडिने, बाली लगाउन समस्या भएर बारीहरू बाँझै छाड्ने गरेका थियौँ तर, केही वर्षयता सोही जमिनलाई उपयोग गरेर केराखेती सुरु गरेपछि अहिले गाउँ नै केराखेतीले भरिएको छ । केराको हरियालीले गाउँ आकर्षक देखिएको छ भने स्थानीयको आम्दानीको मुख्य स्रोत पनि केराखेती नै बनेको छ” कृषक कार्कीले भने ।

स्थानीय यामबहादुर घिमिरे, जगत् घिमिरे, प्रेम कुँवर, चन्द्रबहादुर कार्की, शोभित शर्मा, तेजेन्द्र कार्कीलगायत २० जना कृषकले व्यावसायिक रूपमा केराखेती गरेका छन् । केरा खेती फस्टाउँदै मुख्य आम्दानीको स्रोत बन्न थालेपछि स्थानीय अन्य अन्नबालीलाई विस्तार घटाउँदै केराखेतीमै केन्द्रित हुन थालेको कृषक कार्कीको भनाइ छ । “बाँझो जमिनमा केरा नलगाएको घर नै छैन,” अर्का कृषक जगत्बहादुर घिमिरेले भने ।

खबराका किसानले केरा बिक्री गरेर वार्षिक रूपमा न्यूनतम रु ३० हजारदेखि रु १० लाखम्म आम्दानी गर्दै आएका बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए ।

अनुकूल हावापानी, उपयुक्त वातावरण, बजारको सुविधा र पर्याप्त आम्दानी हुने भएकाले व्यावसायिक केराखेतीतर्फ यहाँका किसानहरुको आकर्षण बढेको उनी बताउँछन् । खबरामा बाइस नङ्ग्रे, मालढुङ्गे, ध्रुसे, चिनीलगायत प्रजातिका केराखेती हुने गरेको छ ।

पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार

बाँके । बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे)मा दसैँ मनाउन आएका आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

वर्षायाममा सुनसान रहेका बाँकेको यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिए । “अहिले दसैँ मनाउन बाहिरबाट आएका पाहुनाको चहलपहल बढी हुने गरेको छ”, उनले भने, “दसैँ मनाउन कोहलपुर, नेपालगञ्जलगायत गाउँघरमा आएका आफन्तजन यहाँ घुम्न आउने गर्नुभएको छ ।”

थारू र मुगाली समुदायद्वारा सञ्चालित ‘गाभर भ्याली होमस्टे’मा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । वर्षात्मा सुनसान हुन पुगेको उक्त घरबासमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको अध्यक्ष चौधरीले बताए । बाहिरी जिल्लाका साथसाथै दसैँ मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको उनले बताए ।

आन्तरिक पर्यटकलाई लक्षित गरी मिनी गाभरमा भर्खरै सञ्चालनमा आएको बिसौनी ग्रिनरी रिसोर्ट पनि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । प्राकृतिक सुन्दरता र आकर्षक पूर्वाधारकाले दसैँको माहोलमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्दो रहेको महाप्रबन्धक केशव चालिसेले बताए ।

उनका अनुसार मिनी गाभरमा रहेका होमस्टेमा बाँके र बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढी मात्रामा पाहुना घुम्न आउने गरेका छन् । मुलुकका अन्य जिल्लाबाट आउने पाहुनाको सङ्ख्या पनि बढ्दो छ ।

छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ । “यतिबेला बाहिरी जिल्लासँगै नेपालगञ्जलगायत बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहेका छन्”, बिसौनीका महाप्रबन्धक चालिसेले भने, “दसैँ पर्व मान्न गृह जिल्ला बाँके आएका व्यक्ति समय मिलाएर यहाँ आउने गर्नुभएको छ ।”

दसैँ मनाउन गाउँ फर्केका आन्तरिक पर्यटक होमस्टेमा घुम्न आउने गरेको राप्ती सोनारी-८ स्थित नयाँगाउँ घरबासका अध्यक्ष मंगल थारूले बताए । बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले घरबासको आनन्द लिन आफूकहाँ आउने गरेको उनले बताए । उनले भने, “दसैँमा घुम्न आएका पाहुनालाई लोकल कुखुरा, ढिक्री, घोंगीलगायत स्थानीय प्रांगारिक परिकारले स्वागत सत्कार गर्ने गरिएको छ ।”

लेबनानमा शान्ति सैनिकविरुद्ध इजरायली आक्रमणको नेपालद्वारा कडा निन्दा

काठमाडौं । नेपालले लेबनानमा इजरायलले राष्ट्रसंघका शान्ति सैनिकविरुद्ध गरेको आक्रमणको कडा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी इजरायली आक्रमणको निन्दा गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दछ र द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ । यस्ता कार्य तुरुन्त रोकिनुपर्छ र उचित छानबिन हुनुपर्छ ।’

राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना आइतबार जबर्जस्ती प्रवेश गरेका थिए । इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिकसमेत घाइते भएका थिए । इजरायलले लेबनानमा हिजबुल्लाहलक्षित हमला गरिरहेको छ । लेबननमा १० हजार शान्ति सैनिक लेबनानमा तैनाथ छन् ।

Nepal strongly condemns recent attacks on the UNIFIL peacekeepers & urges parties of the conflict to guarantee their safety & security.
Such actions must stop immediately & should be adequately investigated.
A joint statement by 34 UNIFIL-contributing countries👇 pic.twitter.com/zxAUFjUD8B

— MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 15, 2024

१३ हजार आँखाका बिरामीको निःशुल्क परीक्षण

इनरुवा । सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ । अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका आँखाका बिरामीलाई निःशुल्क उपचार गरेको अस्पतालका अध्यक्ष डा विजय गौतमले जानकारी दिए ।

अस्पतालले कोसी प्रदेशका सुनसरी, मोरङ, उदयपुर, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा र मधेस प्रदेशका सप्तरीमा शिविरको आयोजना गरेर निःशुल्क आँखाका रोगीको निःशुल्क उपचार गरेको उनले बताए ।

अस्पतालले विभिन्न ठाउँमा आयोजना गरेको शिविरमा न्यून आय भएका र वृद्धवृद्धा भएका १३ हजार पाँच सय ४१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको डा गौतमले बताए ।

अस्पतालले आर्थिक वर्ष २०७९/८० मा एक सय ६३ ठाउँमा आयोजना गरेको शिविरमा आएका वृद्धवृद्धा र न्यून आय भएका बिरामीको उपचार गरेको उनले जानकारी दिए ।

शिविरमा मोतियाबिन्दु देखिएका चार सय ३७ जनाको निःशुल्क शल्यक्रियासमेत गरिएको उनले जानकारी  दिए । अस्पतालले सोही अवधिमा कोसी प्रदेशका ५० विद्यालयमा  निःशुल्क आँखा परीक्षण गरेको उनको भनाइ छ ।

सोही अवधिमा विभिन्न विद्यालयमा गरिएको परीक्षणका क्रममा आठ सय १७ जना विद्यार्थीको आँखामा समस्या देखिएकाले उपचार गरिएको दृष्टि विज्ञ राकेश थापाले बताए ।

अस्पतालले विभिन्न स्थानमा निःशुल्क शिविरको आयोजना गर्दै आएको छ । आँखाको समस्यालाई अन्त्य गर्न आँखाको निःशुल्क उपचार गरेको उनले जानकारी दिए ।

सिसापाङमामा नेपालको झण्डा फहराउँदा…

सिबी अधिकारी, काठमाडौं । चीनको तिब्बतमा रहेको विश्वको १४औँ अग्लो हिमाल सिशापाङ्माको चुचुरोमा पहिला पुग्ने भन्ने देशीय प्रतिस्पर्धामा नेपालकी कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पाले बाजी मारिन्।

उनले नेपालको राष्ट्रिय झण्डा चीनको सबैभन्दा अग्लो चुचुरोमा फहराइन्। ‘धेरै विदेशीलाई पछि पारेर पहिलो नेपाली महिलाको कीर्तिमान बनाउँदा एकदमै खुशी छु’, पर्वतारोही दावा याङ्जुम शेर्पाले भनिन्, ‘चीन, रसिया, ताइवान, अमेरिका, बेलायतलगायतका धेरै आरोहीसँग प्रतिस्पर्धा गरेर महिला आरोहीले उनीहरुभन्दा चाँडो आफ्नो मुलुकको झण्डा फहराउन पाउँदा छुट्टै खुशी र गौरबको अनुभूति हुदो रहेछ।’

शेर्पाले आफ्नै प्रयासमा उक्त इतिहास रचेकी हुन्। ‘जे जस्तो भएपनि चीनमा गएर देशको झण्डा फैलाउन पाउँदा निकै खुशी लागेको छ’, उनले भनिन्, ‘विदेश गएपछि मात्रै नेपालको महत्व थाहा हुन्छ। युरोप अमेरिकामा भन्दा सिशापाङ्मा आरोहण गरेर नेपालको झण्डा फहराउन पाउँदा बढी भावनात्मक भइँदो रहेछ।’

अदम्य साहस र मेहनतले मानिसलाई सफलताको शिखर चढाउँछ। शेर्पाको अनवरत प्रयासले सिशापाङ्माको शिखर मात्रै पुर्‍याएन। एक पटक विश्वभरको ध्यान उहाँतर्फ केन्द्रित भएको छ। करिब २० दिनको अथक सङ्घर्षमय शिखर आरोहणले दावा याङ्जुम सिशापाङमाको सफल आरोहण गरेर विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन्।

दोलखाको रोल्वालिङकी ३३ वर्षीया दावाले यही असोज १६ गते बुधवार बिहान ५ बजे तिब्बतस्थित विश्वको १४ औँं अग्लो (८०२७ मिटर) अग्लो सिसपाङ्मा हिमालको सफल आरोहण गरेर यो कीर्तिमान आफ्नो पोल्टामा पारिन्।

सर्वोच्च शिखर सगरमाथाको चार पटक सफल आरोहण गरिसकेकी दावाले नयाँ कीर्तिमान कायम गरेकी हुन्। आरोही शेर्पाले अब पनि ‘क्लाइम्बिङ गाइड’लाई नै निरन्तरता दिने बताइन्। ‘जानेको यही क्षेत्र (माउन्टेन गाइड) नै हो, पहिलाभन्दा बढी अनुभव भएको छ, बाँकी जीवन यही क्षेत्रमै सक्रिय रहने योजना छ। भविष्यमा आफ्नो कामलाई अझ प्रभावकारी बनाउने योजना छ।’

दावा याङ्जुम पछिल्लो समय पछाडि परेका महिलाहरुलाई पर्वतारोहण क्षेत्रमा तालिम दिलाउने, जलवायु परिवर्तनको असरले पुर्‍याएको क्षतिबारे विश्वभर नेपालको पक्षमा आवाज उठाउने लगायतका अभियानमा संलग्न छिन्। उनी सन् २०१८ देखि विश्वप्रसिद्ध क्लोदिङ ब्रान्ड नर्थफेस र २०२१ देखि रोल्याक्स घडी ब्रान्डको दूतका रुपमा पनि आबद्ध छिन्।

विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने स्पेनकी एडुर्न पासावान विश्वकै पहिलो महिला हुन्। उनले १४ वर्षअघि यो रेकर्ड हात पारेकी थिइन्।

दावा याङजुम अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स प्राप्त गर्ने एसियाकै पहिलो महिलासमेत हुन्।

हाल जम्मा ८१ जना माउन्टेन गाइडहरू रहेकोमा याङजुमबाहेक बाँकी सबै पुरुष गाइड रहेका छन्। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शन सङ्घले माउन्टेन गाइडलाई प्रमाणीकरण गर्दै आइरहेको छ। उनको नाममा मकालु हिमालमा २० घण्टामा स्पिड क्लाइम्बिङ (महिला) को र्कीतिमान पनि छ। दावा याङ्जुमले कुमार खड्ग विक्रम साहसिक पुरस्कार, तेन्जिङ हिलारी अवार्डलगायतका धेरै पुरस्कार पाइसकेकाछन्।

महिला आरोहणलाई प्रोत्साहन गर्न दावाको आरोहणले योगदान पुग्ने यस क्षेत्रका विज्ञहरुको विश्वास छ। नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले कीर्तिमानी आरोही दावा याङजुमको सफलताले महिला पर्वतारोहीलाई प्रोत्साहन गर्ने बताइन्।

‘पर्वतारोहणमा कायम भएका नयाँ कीर्तिमानले नेपालको पर्यटन विश्वबजारमा प्रवर्द्धनमा मद्दत पुग्नुका साथै बढीभन्दा बढी आरोहीलाई हिमाल आरोहणमा आकर्षण गर्न पनि प्रोत्साहन मिल्छ’, उनले भनिन्। सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले आरोहणको पछिल्लो कीर्तिमानले नेपाल गन्तव्यको प्रवद्र्धनका साथै आरोहीलाई थप आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘नेपाली आरोहीको विश्वकीर्तिमानले पर्वतारोहणमा सकारात्मक प्रभाव पर्छ, यसले गर्दा पर्वतारोहणमा आरोहीको चासो बढ्ने र हामीले पनि गर्न सकिने रहेछ भनेर मनोबल बढ्नेछ, नेपालको पर्यटन प्रवद्र्धनका साथै स्वदेश तथा विदेशमा आरोहणको चासो बढाउछ। युवापुस्तालाई आरोहणमा आकर्षण गर्न पनि मद्दत पुग्नेछ।’

निमा रिञ्जी शेपाको नयाँ कीर्तिमान

कान्छा आरोही निमा रिञ्जी शेर्पाले हिमाल आरोहणमा नयाँ विश्व कीर्तिमान बनाएका हुन्। १८ वर्षीय शेर्पाले आठ हजार मिटरभन्दा माथिका सबै हिमाल आरोहण गर्ने विश्वकै कान्छो आरोही बनेका हुन्।

शेर्पाले सिसापाङ्मा हिमालको सफल आरोहण गरेसँगै विश्वमै सबैभन्दा कान्छो आरोही बन्न सफल भएकी हुन्। रिञ्जी शेर्पाले असोज १६ गते बिहान सिसापाङ्मा हिमालको सफल आरोहण गरेका थिए। शेर्पाले ‘ह्यासट्याग शेर्पा पावर’ प्रोजेक्ट परियोजनामार्फत आठ हजार मिटरमाथिका १४ वटा हिमाल चढ्ने परिकल्पना गरेका थिए।

कीर्तिमानी आरोहीलाई विमानस्थलमा भव्य स्वागत

तिब्बतको सिसापाङ हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेर काठमाडौँ फर्किएका कीर्तिमानी आरोहीलाई सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको यो। चीनको सिसापाङ हिमाल आरोहण गरेर स्वदेश फर्किएका पर्वतारोहीलाई नेपाल पर्वतारोहण सङघ (एनएमए) को नेतृत्वमा विमानस्थलमा विशेष स्वागत गरिएको हो।

स्वागत कार्यक्रममा पर्वतारोहण सङ्घसहित नेपाल नेसनल माउन्टेन गाइड एसोसियसन, मगर सङ्घ, गुरुङ सङ्घ, शेर्पा टुरिजम इन्टेप्रेनर एसोसियसन अफ नेपाल, सेभेन समिति ट्रेक, एलिट एक्पेड, इमाजिन नेपाल, यम्बु थामिचा किदुगलगायतका सङ्घसंस्थाका पदाधिकारी र सदस्य सहभागी थिए।

यसैबीच कीर्तिमानी आरोहीलाई नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत तथा सम्मान गरे। कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मी, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पा, पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति थियो।

सिसापाङमा आरोहण गरेर विश्वकै कान्छो आरोही बन्न सफल १८ वर्षीय निमा रिञ्जी शेर्पा, विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बन्न सफल दावा याङ्जुम शेर्पा, विश्वका आठ हजारभन्दा अग्ला १४ वटा हिमालहरु ५०औँ पटक आरोहण गर्न सफल तथा बिना अक्सिजन विश्वका आठ हजारभन्दा अग्ला १४ वटा हिमालहरु छोटो समयमा आरोहण गर्ने निर्मल पुर्जालाई स्वागत गरिएको छ।

त्यस्तै विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरु सफल आरोहण गर्ने पहिलो आरोही बन्न सफल तेजन गुरुङ, सोलुखुम्बुको थामेबाट १४ वटा शिखरहरु चुम्ने पहिलो आरोही बन्न सफल पासाङ टेन्डी शेर्पा, विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु सफलतापूर्वक आरोहण गर्न सफल मिङ तेम्बा शेर्पासहित नौ जना नेपाली पर्वतारोहीहरुलाई आज स्वागत गरिएको थियो।

मनसुन बाहिरिएसँगै चिसो बढ्दै, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ ।


गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ । “काठमाडौँमा चिसो निरन्तर रुपमा बढिरहेको छ”, मौसमविद अधिकारीले भने, “पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।”


महाशाखाको विवरणमा आइतबार काठमाडौँको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सिय पुगेको थियो । सोमबार १६ डिग्रिसेल्सियस छ ।


काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको उनको भनाइ छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । 


लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । 


आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

जनकपुरको दसैँ बजारमा तीन करोडको कारोबार

जनकपुरधाम ।  दसैँका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्ता बजारमा यस वर्ष तीन करोडको कारोबार भएको छ । गत वर्ष करिब सात/आठ करोडको कारोबार भएको बजारमा यसवर्ष व्यापार घटेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताए ।

सङ्घका वरिष्ठ उपाध्यक्ष मनोज साहकाअनुसार यस वर्ष सस्ता बजारको व्यापारमा गिरावट आएको छ । करिब १० वर्षदेखि स्टल राख्दै आएका शुलभ किचेन सेन्टरका सञ्चालक गङ्गाराम साहले यो वर्ष ५० प्रतिशत पनि व्यापार नभएको र खर्चसमेत नउठेको गुनासो गरे ।

करिब २० वर्षदेखि स्टल राखेर व्यापार गर्दै आएका ६० वर्षीय बलराम साहले भने, ‘यसपालि स्टाफ खर्च पनि उठेन र योभन्दा राम्रो व्यापार हाम्रो काउन्टरमै थियो ।’

उनले बजारको व्यवस्थापनमा कमजोरी रहेको गुनासो गरे । दैनिक उपभोग्य वस्तु बिक्रीवितरण हुने सस्ता बजार जनकपुर–दसैँ मेलाको मुख्य आकर्षण हो । यो मेलामा मुख्यतया साबुन, सर्फ, अगरबत्ती, चियापत्ती, चाउचाउ, भुजिया, प्लास्टिकका भाँडावर्तन, जुत्ताचप्पल र लत्ताकपडा किन्ने ग्राहकको घुइँचो लाग्ने गर्छ ।

घटस्थापनादेखि दशमीसम्म बजार सञ्चालन गरिए पनि मुख्य आकर्षण पञ्चमीदेखि अष्टमीसम्म रहने गरेको सङ्घकी महिला उपाध्यक्ष रिङ्कु शाहले बताइन् । जनकपुर उद्योग वाणिज्य सङ्घको पहलमा विगत ४८ वर्षदेखि जनकपुरमा दसैँ बजार लाग्दै आएको छ ।

सम्भावित विपद्‍बारे संसदमा बोलिरह्यौँ

काठमाडौं ।  नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि दोहोरो परेका र छरिएका योजनाका लागि विनियोजित बजेट एकीकृत गरेर स्रोतको व्यवस्थापन गर्न सुझाव दिएका छन्।

उनले भने, ‘अनावश्यक दोहोरो, तेहोरो परेका र कार्यान्वयनमा जान नसक्ने योजनाका लागि हालिएको सबै बजेट कटौती गर्नुपर्छ र एकै ठाउँमा केन्द्रीकृत गर्नुपर्छ।’

विपद्को अवस्थामा नागरिकलाई म एक्लो छैन, साथमा सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्नेमा जोड दिँदै पूर्वमन्त्री बाँस्कोटाले भने, ‘नेपालमा घोषणा गरिएका काम हुन्छ है भन्ने सन्देश नागरिक र अन्तर्राष्ट्रिय समुदायलाई दिनुपर्छ। घोषणा गर्ने, काम नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । बजेट थुप्रिने, केही नगर्ने र अलमलमा पर्ने कुरा हुनु भएन।’

यस पटकको बाढीपहिरोबाट ठूलो जनधनको क्षति हुनुमा मानवीय क्रियाकलाप नै बढी जिम्मेवार रहेको औँल्याउँदै नेता बाँस्कोटाले जथाभावी अतिक्रमण गरेर खोलाकै छेउ र पानीको मुहानमै खानी चलाउने कुरा सम्पूर्ण हिसाबले रोकिनुपर्ने बताए। ‘यसमा कसैको दबाब र प्रभावमा पर्नु हुँदैन। नागरिकको रक्षा पहिलो सर्त हुनुपर्छ’, उनले भने।

(यही असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण सबैभन्दा बढी प्रभावित काभ्रेपलाञ्चोक जिल्लामा भएको क्षति, राहत उद्धार र पुनःनिर्माणसम्बन्धी विषयमा केन्द्रित रहेर पूर्वसञ्चारमन्त्री बाँस्कोटासँग राससले गरेको कुराकानीको सम्पादित अंश)

विपद्को अवस्थाभन्दा तीन महिनाअघि सरकारले के गर्यो भनी अहिले प्रश्न गर्नुपर्ने बेला छ। यसै साल पनि अरनिको राजमार्ग, बनेपाबाट पूर्व जाने बिपी राजमार्ग, पनौती–रोशी खण्डको माथिल्लो भागको खानी र पानीका विषय मैले बारम्बार सदनमा आवाज उठाएँ। संसद्‍मै निरन्तर आवाज उठाउने मध्ये म एक हुँ। तर सरकारले आगो लागेपछि कुवा खन्ने काम गर्‍यो।

बाढीपहिरो आउँछ कि आउँदैन, सरकारलाई थाहा छ कि छैन? छ। आको पनि छ, आउँछ भन्ने पनि थाहा छ। समाधान के हो भन्ने थाहा भए पनि पूर्वतयारी गरेन। सांसदहरूले सदनमा उठाइरहेको गम्भीर मुद्दामा कुनै पूर्व सतर्कता अपनाइएन। सांसदले सदनमा सार्वजनिक खपतका लागि बोल्छन्, तिनका कुरा सुन्नु पर्दैन भन्ने सरकारको दृष्टिकोण रह्यो। तथापि, घटनापछिको उद्धारमा सरकार र नागरिक राम्रोसँगै लागेको पाइयो।

बीपी राजमार्गलगायत ५० भन्दा बढी प्रमुख राजमार्ग क्षतिग्रस्त भए। राज्यलाई यो थाहा छ कि नेपालमा हिउँदमा चिसो तथा कहिलेकाहीँ हिमपहिरोको सिकार पनि हुन्छ। फागुन–चैतमा आगलागीका घटना व्यापक बढ्छ, गत वर्ष जङ्गल पनि सिद्धियो। यति ठूलो डढेलो लाग्यो, यसमा सरकारले के गर्यो। एकातिर वातावरण संरक्षण गर्न आवाज उठाउने, तर काम चै केही नगर्ने कुरालाई सन्तोषजनक रुपमा लिन सकिन्न।

बाढीपहिरो, आगलागी, आँधीहुरी तथा हिमपात र हिमपहिरोले ल्याउने जोखिम जुनसकुै शासन व्यवस्थामा पनि पटकपटक भोगेकै विषय हो। नागरिकप्रति जवाफदेही सरकार भएका बेलामा यस्तो हुनु हुँदैनथ्यो। अहिले यति बलियो गठबन्धनको सरकार बनेको छ। योभन्दा बलियो गठबन्धन सरकार सायदै बन्ला वा नबन्ला। तर केही यस्ता मुद्दा छन्, जसप्रति राजनीतिले असर गर्नु मिल्दैन।

अब पहिलो प्राथमिकता भनेको क्षतिग्रस्त सडकहरु खुलाउने र ‘कनेक्टिभिटी’ जोड्ने, विद्युत् र सञ्चार सेवा पुनः सञ्चालन गर्ने, खानेपानी समस्या तत्काल समाधान गर्ने हुनुपर्छ। उद्धार र राहतको काम लगभग सकिएको छ। यसमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद भन्नुपर्छ। सबैभन्दा पहिलो समस्याका रुपमा बाटो रहेको छ। दोस्रो समस्या खानेपानी, विद्युत् र सञ्चार तत्काल सञ्चालन गर्नुपर्छ। मुख्यकुरा बस्ती हो। पहाडी भूभागमा भीर पहरामा पनि बसोबास छ। त्यहाँ हरहमेसा पहिरोको त्रास भइरहन्छ।

जुन बस्ती असुरक्षित हुन् भनेर गोरखा भूकम्पका बेला पहिचान भएका थिए, ती बस्तीका निम्ति कार्यक्रम आए पनि कार्यान्वयन भएनन्। अब पुनः स्थापना कसरी हुन्छ? भन्ने प्रमुख मुद्दा हो। काभ्रेकै पनि कुरा गर्ने हो भने यकिन तथ्याङ्क आउन बाँकी छ। त्यो तथ्याङ्क आइसकेपछि एक हजार पाँच सयदेखि दुई हजार परिवार सुरक्षित स्थान बस्तीमा सार्नुपर्छ। ‘जहाँको चपरी, त्यहाँको दुवाली’ हुनुपर्छ। मेरै नगरपालिका मण्डनदेउपुर, भुम्लु गाउँपालिका र पनौती नगरपालिकाका केही बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने देखिन्छ।

सार्वजनिक र पर्ती जग्गा, सरकारी वन वा सामुदायिक वन जहाँ बस्ती निर्माण सुरक्षित हुन्छ, त्यो ठाउँमा बस्ती बसाल्न तत्कालै कार्ययोजना बनाउनुपर्छ। सरकारले चाहेको अवस्थामा काम गर्न सक्छ। त्यसका लागि बजेट के गरी प्रबन्ध गर्ने त? भन्दा दोहोरिएका बजेट कटौटी गर्नुपर्छ।

सरकारले सक्छ भने अनावश्यक दोहोरो, तेहोरो परेका र कार्यान्वयनमा जान नसक्ने योजनाका लागि हालिएको सबै बजेट कटौती गर्नुपर्छ र एकै ठाउँमा केन्द्रीकृत गर्नुपर्छ। बस्ती पुनःस्थापना जति सम्भव छ, सरकारले जमिन दिनुपर्छ। बस्न नमिल्ने बस्ती सार्नुपर्यो। त्यो बस्तीमा सरलीकृत ढङ्गले एकीकृत बस्ती बनाउने योजना हुनुपर्यो।

विपद्का बेला नागरिकलाई म एक्लो छैन, मेरो साथमा सरकार छ भन्ने अनुभूति दिलाउनु सक्नुपर्छ। नेपालमा घोषणा गरिएका काम हुन्छ है भन्ने सन्देश आम नागरिक र अन्तर्राष्ट्रिय समुदायलाई दिनुपर्छ। घोषणा गर्ने काम केही पनि नगर्ने कुराका कुनै अर्थ छैन।

बजेट थुप्रिने, केही नगर्ने र अलमलमा पर्ने कुरा हुनुभएन। यसका लागि सरोकारवाला मन्त्रालयको एकीकृत योजना चाहिन्छ। हरेकका अलग–अलग होइनन्, एकीकृत योजना हुनुपर्छ ताकि खर्च पनि कटौती होस्। किनभने भूकम्पका बेलामा पुनःनिर्माण प्राधिकरण गठन भएको थियो। अहिले पनि स्थायी जस्तै निकाय चाहिने भयो ।

‘डुप्लिकेसन’ नहुने गरी काम गर्नुपर्छ। जहाँ बस्ती ठूलै छ, त्यहाँ चलाउन पर्दैन। त्यो ठाउँमा रहेको तथ्याङ्क यकिन हुनुपर्यो।

खानी र पानी एकै ठाउँमा चल्दैन। एकै ठाउँमा खानी र पानी चलाउने कुराले नै नदीको सतह माथि आउने, यसबाट दायाँबायाँको बस्ती र खेतीपाती सबै हान्दोरहेछ। अर्को कृषि क्षेत्रमा पनि ठूलो क्षति भएको छ। कृषि मन्त्रालय पनि उदासीन बस्न मिल्दैन। चौपायाहरु पनि मरेका छन्भने खेतीपानी पनि ध्वस्त भएका छन्। प्रभावित किसानलाई राहत दिन सरकारले युद्धस्तरमा काम गर्नुपर्छ।

यो काम आउँदो वैशाख/जेठसम्म सक्नेगरी योजना र बजेट व्यवस्था गर्नुपर्छ। समस्याहरुको यकिन गर्ने, समस्या समाधान हुने नीति लिने, योजना बनाउने र कार्यान्वयन प्रक्रियामा एकीकृत ढङ्गले काम गर्नुपर्छ।

सरकारको हिसाबले रु १६/१७ अर्बको क्षति भएको छ। गोरखा भूकम्पको तुलनामा यो केही पनि होइन, तर यसको तीन गुणा बढीसम्म क्षति भएको मेरो अनुमान छ। प्रभावित नागरिकले आफैँले संरचना निर्माण गर्छ भने त्यसमा सरकारले सहुलियत ऋण उपलब्ध गराउनुपर्छ। त्यसका लागि आवश्यक परे जमिनसमेत दिनुपर्छ।

पहाडी भेकमा छरिएका बस्ती समस्या हुन्। यसलाई केन्द्रीकृत गर्नुपर्छ। कानुनमा संशोधन जरुरी छ। नजिकको समथर जग्गामा बस्ती र भिरालो जग्गामा खेती गर्ने व्यवस्था मिलाउनुपर्छ। विपद्बाट निरन्तर हुने क्षति न्यूनीकरणका लागि भविष्यसम्मको योजना चाहिन्छ।

‘हाइवे’हरुमा नजिकैबाट अर्को परिपथ सडकहरु बनाउनुपर्छ भन्दा पनि सरकारले आवश्यक ध्यान दिएन। यदि त्यो भएको भए मुख्य राजमार्गहरु रोकिँदैनथे। यसमा सरकारको आवश्यक ध्यान पुगेन।

जथाभावी अतिक्रमण गरेर खोलाकै छेउ र पानीको मुहानमै खानी चलाउने कुरा सम्पूर्ण हिसाबले रोक्नुपर्छ। कसैको दबाब र प्रभावमा पर्नुहुँदैन। नागरिकको रक्षा पहिलो सर्त बन्नुपर्छ। 

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीलाई

बीबीसी । अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

उनीहरूलाई कुनै देशहरू किन धनी र कुनै देशहरू किन गरिब छन् भन्ने विषयमा गरेको कामका लागि पुरस्कार प्रदान गर्न लागिएको हो । ‘संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति’ ती अर्थशास्त्रीहरूलाई पुरस्कृत गर्न लागिएको समितिले जनाएको छ ।

यी अर्थशास्त्रीहरूले विशेषगरी युरोपेली उपनिवेशको प्रभावमा केन्द्रित भएर अध्ययन गरेका छन्। त्यसले अपेक्षाकृत धनी देशहरूलाई गरिब बनाउने खालको प्रणाली विकास गरेको देखाएको छ ।

यस विधामा अहिलेसम्म ५६ पटक पुरस्कार दिइएकोमा ९६ जना पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा तीन जना महिला छन् । सन् १९६९ देखि यस विधामा पुरस्कार दिन थालिएको हो।

ताइवान वरपर चीनको सैन्य अभ्यास

बीबीसी । चीनले टापुराष्ट्र ताइवान वरपर सैन्य अभ्यास गरिरहेको छ। त्यसमा उसका स्थल, जल र वायुसेनाले सहभागिता जनाइरहेका छन् । चीनले आफ्नो सैन्य अभ्यासलाई उक्त स्वशासित टापुको ‘स्वतन्त्रता’ खोज्नेविरुद्धको ‘कडा चेतावनी’ भनेको छ ।

चीनले ताइवानलाई घेरेर सुरु गरेको सैन्य अभ्यासलाई ताइवानका राष्ट्रपति विलियम लाईले गत साता गरेको एउटा भाषणको प्रतिक्रियाका रूपमा हेरिएको छ ।

उक्त भाषणमा उनले ताइवानलाई चीनमा गाभ्ने कार्यको प्रतिरोध गर्ने वाचा गरेका थिए । ताइवानको रक्षा मन्त्रालयले चीनको सैन्य अभ्यासलाई ‘तर्कसङ्गत नभएको र उत्तेजक व्यवहार’ भनेको छ । उसले सैन्य अभ्यासको निन्दा गर्दै आफ्नो रक्षा गर्न आफूहरू तयार रहेको बताएको छ ।

समुद्री तटहरूमा सैन्य अभ्यास भइरहेको भए पनि हवाई तथा सामुद्रिक यातायात सञ्चालनको अवस्था “सामान्य रहेको“ ताइवानको यातायात मन्त्रालयले जनाएको छ । ताइवानको मुख्य सहयोगी देश अमेरिकाले उक्त सैन्य अभ्यासको निगरानी गरिरहेको जनाएको छ ।

चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्छ र अन्ततः बेइजिङको नियन्त्रणमा ल्याउन सकिने ठान्छ। तर छुट्टै शासनव्यवस्था भएको ताइवानले आफूलाई मुख्यभूमि चीनभन्दा पृथक् ठान्छ ।

यसै वर्षको सुरुमा लाइले ताइवानको राष्ट्रपतिका रूपमा शपथग्रहण गरेका थिए। त्यस बेला पनि चीनले ताइवानको वरिपरि सैन्य अभ्यास गरेको थियो। चिनियाँ सेनाले आफ्नो अभ्यासलाई ‘पृथकतावादी शक्तिहरूको व्यापक प्रतिरोधक’ र ‘सार्वभौमसत्ता रक्षाका लागि राष्ट्रिय एकता कायम राख्ने वैध तथा आवश्यक कार्य’ भनेको छ।

दसैँ, तिहारको बिदाको अवसरमा घुमौँ लुम्बिनी

लुम्बिनी। दसैं तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएका स्थलहरु पनि उपयुक्त हुन सक्छन् । त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकहरुले दसैं तिहार, छठलगायतका पर्वमा बुद्धशिक्षा ग्रहण गरी लुम्बिनी भ्रमणमा बिताउन सकिन्छ ।

शान्ति, करुणा र सत्मार्गको प्रतीकका रुपमा बुद्धलाई विश्व समुदायले स्वीकार गरेको छ ।लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा। हरिध्वज राई तराईमा अहिले चर्को गर्मी सकिएर भरखरै शीतल मौसम भित्रिएको अवस्थामा लुम्बिनी भ्रमणका लागि यो मौसम उपयुक्त रहेको बताउँछन्। बुद्ध जन्मस्थल लुम्बिनीमा बर्सेनि लाखौँको सङ्ख्यामा तीर्थालु, पर्यटक तथा अध्येताहरुका लागि लुम्बिनी महत्वपूर्ण तीर्थस्थल हो ।

ई पू ६२३ मा यहाँको सुन्दर र पवित्र बगैँचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म भएको थियो । यो महत्वपूर्ण पावनभूमि संसारभरिका बौद्धमार्गी तथा शान्तिप्रेमीबीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । बुद्ध धर्मप्रति आस्था राख्नेहरुका लागि बुद्ध जन्मस्थल यसै पनि पवित्रस्थल हो ।

भगवान गौतम बुद्धले जन्म लिएको यही स्थानमा अहिले सुन्दर कलात्मक शैलीको मायादेवी मन्दिर रहेको छ । लुम्बिनीमा मायादेवी मन्दिरलगायत, शान्तिदीप, विश्वशान्ति स्तुपलगायत दर्जन बढी गुम्बा र विहार घुम्नैपर्ने क्षेत्र हुन् ।

मायादेवी मन्दिरभित्र राखिएको मायादेवीको मूर्तिलाई जन्ममूर्ति पनि भन्ने गरिन्छ । चाँैथो शताब्दीमा निर्मित यो मूर्तिले बुद्धको जन्म दृश्यलाई देखाएको छ । मायादेवीले गौतम बुद्धलाई जन्म दिँदा सहाराका लागि दाँहिने हातले रुखको हाँगा समातेको र देब्रेपट्टी उनकी बहिनी प्रजापती र देवगणहरु भगवानको स्वागतका लागि तयारी अवस्थामा देखिएका छन् ।

मायादेवी मन्दिरभित्र गौतमबुद्ध जन्मेपछिको पहिलो पाइला छ । यस मन्दिरको अवलोकन गर्न र गौतमबुद्धको जन्मका बारेमा जानकारीका लागि पनि हरेक वर्ष लाखौँको सङ्ख्यामा बौद्ध तीर्थालु, अध्येता र पर्यटकहरु लुम्बिनी भ्रमणमा आउने गर्छन् ।मन्दिर परिसरमा उत्तर दिशातर्फ रहेको शान्तिदीप २४ घन्टा नै बलिरहन्छ । शान्तिदीप पानी पर्दासमेत ननिभ्ने हुँदा धेरैलाई अनौठो लाग्दछ ।

दीपसँगै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटकहरु डुङ्गा चढेर रमाउने गर्छन् । लुम्बिनी गुरुयोजनाअन्तर्गत लुम्बिनीलाई सौन्दर्य दिनका लागि करिब एक किलोमिटरसम्म बनाइएको नहरमा डुङ्गा चल्ने गर्दछ ।

जापानी प्राध्यापक केन्जो टाँगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजनाले तीन वर्गमाइल क्षेत्र ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक एक वर्गमाइल क्षेत्र विभाजन गरी गुरुयोजनाअनुसार लुम्बिनी क्षेत्रको निर्माण कार्य भइरहेको छ । गुरुयोजनाअनुसार तीनवटा क्षेत्र पवित्र उद्यान क्षेत्र, बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँको रुपमा विभाजन गरी विभिन्न देशले आकर्षक स्तुप बनाएका छन् ।

लुम्बिनीको दक्षिण भागमा रहेको पवित्र उद्यान क्षेत्रको मुख्यरुपमा आध्यत्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसा झल्किने वातावरणको सिर्जना गर्नुका साथै संसारभरि नै भगवान गौतम बुद्धका सन्देश प्रतिबिम्वित गर्नु हो ।

यस्तै बिहार क्षेत्रअन्तर्गत लुम्बिनी क्षेत्रको पूर्वी बिहार क्षेत्रमा १३ वटा प्लट थेरवादीहरुका लागि र पश्चिम क्षेत्रमा २९ वटा महायानी बौद्धमार्गीका लागि छुट्याइएका छन् । यस क्षेत्रमा विभिन्न देशका बौद्ध कला, संस्कृति झल्कने आकर्षक तथा कलात्मक बिहार निर्माण गरिएका छन् । लुम्बिनी पुग्ने हरेक पर्यटक ती स्तुपहरुमा नपुगे लुम्बिनी भ्रमण अधुरै रहन्छ ।

यस्तै गुरुयोजनाको उत्तरी क्षेत्र नयाँ लुम्बिनी ग्रामको रुपमा विकास भइरहेको छ । यात्रु तथा पर्यटकहरुका लागि यस क्षेत्रमा होटल तथा रेष्टुरेन्टलगायतका सुविधा यस क्षेत्रमा निर्माण भएका छन् । यस क्षेत्रमा दुर्लभ पक्षी सारस संरक्षण केन्द्र पनि स्थापना गरिएको छ ।

जापानको धार्मिक सङ्गठनद्वारा स्थापित विश्व शान्ति स्तुप र लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयसमेत यसै क्षेत्रमा रहेका छन् ।लुम्बिनी विश्वभरका लाखौँ मानिसहरूको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्य रुपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रुपमा विकसित हुँदै गइरहेको छ ।

पर्यटकहरुलाई राम्रोसँग गाइड गर्न सक्ने हो भने पर्यटकको बसाई अवधि समेत बढ्ने लुम्बिनी होटल व्यवसायी सङ्घका अध्यक्ष गोविन्द ज्ञवाली बताउनुहुन्छ । लुम्बिनीसँगै सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको स्थान तिलौराकोट, देव दह र रामग्रामसमेत घुम्न सकिन्छ ।

तिलौराकोट ः लुम्बिनीबाट तिलौराकोट जानका लागि सार्वजनिक यातायातको व्यवस्था छ । कपिलवस्तु पुगेपछि बुद्धसँग सम्बन्धित तिलौराकोटसँगै गोटिहवा, सग्रहवा, निग्लिहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ । बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्मका अनुयायी तिलौराकोट पुग्छन् ।

विश्व प्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रुपमा चिनिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीबाट कपिलबस्तु सदरमुकाम तौलिहवा हुँदै जाँदा करिब २८ किलोमिटरको दूरीमा तिलौराकोट रहेको छ ।

कपिलवस्तु सदरमुकाम तौलिहवादेखि उत्तर बाणगङ्गा नदीको किनारमा अवस्थित तिलौराकोटमा ई।पू। एघारौं शताब्दीदेखि सन् दोस्रो शताब्दीसम्मका पुरातात्विक भग्नावशेषहरुका साथै प्राचीन दरवारको पूर्वी तथा पश्चिमी द्वार अवलोकन गर्न सकिन्छ । यहाँ पटकपटक विश्व प्रसिद्ध पुरातत्वविद्हरुले उत्खनन् गर्दा तीन हजार वर्षअघिका संरचना फेला परेका थिए ।

कुदानः कपिलवस्तुको तौलिहवाबाट तीन किमीको दूरीमा पर्ने कुदान प्राचीन निग्रोधराको नामले चिनिन्छ । यस स्थलमा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि प्राचीन कपिलवस्तुको राजा एवं बुद्धले आफ्ना पिता शुद्धोधन, रानी प्रजापती गौमती, श्रीमती तथा राजकुमारी यशोधरा र छोरा राहुललाई पहिलो भेट गरेको स्थल हो । यहाँ पुरातात्विक एंव धार्मिक महत्वको यस स्थानमा हाल तीनवटा स्तुप, एक पोखरी र एउटा इनार रहेका छन् । बुद्धसँगै आएका तीन सय भिक्षुले यस बगैंचामा रहेको पोखरीमा नुहाएको र आफ्नो साथमा आएर भिक्षुलाई बुद्धले उपदेश दिनुभएको थियो भन्ने जनविश्वास रहेको छ ।

निग्लिहवा: कपिलवस्तुको तौलिहवाबाट आठ किलोमिटर र तिलौराकोटबाट तीन किमीको यात्रापछि निग्लिहवा पुगिन्छ । यसलाई शाक्यमुनि बुद्ध पूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रुपमा लिइन्छ । यहाँ सम्राट अशोकले ई।पू २४९ मा शिला निर्माण गरेका थिए । अहिले उक्त स्तम्भ ढलेको छ ।

गोटिहवा: क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा लुम्बिनीबाट करिब ३१ किमी दूरीको यात्रापछि पुगिन्छ । क्रकुछन्दले बुद्धत्व प्राप्ति गरेको तथा बुद्धत्व प्राप्ति गरेपश्चात् पहिलोपटक बुबासँग भेट भएको पवित्र स्थलको रुपमा गोटिहवालाई लिइन्छ । इ.पू.को तेस्रो शताब्दीमा सम्राट अशोकले यस पवित्र स्थलमा आई आफैँले शीलास्तम्भ गाडी यहाँको स्तुप निर्माण गरेका थिए । शाक्यमुनि बुद्धको जीवनको अन्त्यतिर शाला राज्यका राजा बिरुढकले प्राचीन कपिलवस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरेको स्थानको रुपमा सगरहवालाई चिनिन्छ । लुम्बु सागरको नामले

चिनिन्छ । यस स्थलमा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि प्राचीन कपिलवस्तुको राजा एवं बुद्धले आफ्ना पिता शुद्धोधन, रानी प्रजापती गौमती, श्रीमती तथा राजकुमारी यशोधरा र छोरा राहुललाई पहिलो भेट गरेको स्थल हो । यहाँ पुरातात्विक एंव धार्मिक महत्वको यस स्थानमा हाल तीनवटा स्तुप, एक पोखरी र एउटा इनार रहेका छन् । बुद्धसँगै आएका तीन सय भिक्षुले यस बगैंचामा रहेको पोखरीमा नुहाएको र आफ्नो साथमा आएर भिक्षुलाई बुद्धले उपदेश दिनुभएको थियो भन्ने जनविश्वास रहेको छ ।

निग्लिहवाःकपिलवस्तुको तौलिहवाबाट आठ किलोमिटर र तिलौराकोटबाट तीन किमीको यात्रापछि निग्लिहवा पुगिन्छ । यसलाई शाक्यमुनि बुद्ध पूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रुपमा लिइन्छ । यहाँ सम्राट अशोकले ई।पू २४९ मा शिला निर्माण गरेका थिए । अहिले उक्त स्तम्भ ढलेको छ ।

गोटिहवाः क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा लुम्बिनीबाट करिब ३१ किमी दूरीको यात्रापछि पुगिन्छ । क्रकुछन्दले बुद्धत्व प्राप्ति गरेको तथा बुद्धत्व प्राप्ति गरेपश्चात् पहिलोपटक बुबासँग भेट भएको पवित्र स्थलको रुपमा गोटिहवालाई लिइन्छ । इ।पू।को तेस्रो शताब्दीमा सम्राट अशोकले यस पवित्र स्थलमा आई आफैँले शीलास्तम्भ गाडी यहाँको स्तुप निर्माण गरेका थिए ।
जगदीशपुर तालः मानव निर्मित सबैभन्दा ठूलो जलासय जगदीशपुर ताल हो । यो तिलौराकोटदेखि १० किलोमिटर उत्तरमा रहेको छ ।

मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द हुने

भरतपुर ।  मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ। मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो।

मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ। यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो । आज एक दिन भने केबलकार सञ्चालन गरिएको छ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो।

केबलकारको प्रवेशद्वार ‘बटम स्टेशन’ भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा छ।

भूइँबाट उठेका गायक दुर्गेश थापा

गण्डकी । आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुगेका छन् । गत तीजको छेकोमा उनीद्वारा अभिनित गीत ‘झुम्का हरायो…’को म्यूजिक भिडियो सार्वजनिक समारोहमा गायक थापाले दिएको अभिव्यक्ति त्यसकै सार थियो । त्योबेला थापाले भनेका थिए, “अबदेखि उट्पट्याङ खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछु ।”

उहाँले उक्त अभिव्यक्तिलाई तीजका अवसरमा अष्ट्रेलियामा भएको साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा पनि दोहोर्याएका थिए । भिन्न गायन शैलीका कारण आफू चर्चित हुँदाहुँदै पनि कतिपय गीत विवादमा परिरहेको पृष्ठभूमिमा उहाँले गरेको आत्मसमीक्षाले उहाँको कलाकारितालाई के नयाँ मोड दिनसक्छ ? “उमेर, अनुभव, सङ्गत आदिले आफू नयाँ चरणमा आइपुगेको अनुभूति भएको छ”, ३७ वर्षीय थापाले भने, “सुरुवात र सङ्घर्षकालमा भन्दा अझ परिमार्जित र परिपक्क ढङ्गले दर्शक÷स्रोतमाझ आउन खोजिरहेको छु ।”

आठार वर्षको सिर्जनकर्ममा मिठानमिठा क्षणहरु गुजारेका उनी सङ्घर्षको भट्टीबाट खारिएर आएका प्रतिभा हुन् । युवा र किशोरपुस्तामाझ बढी लोकप्रिय थापाले डान्सबारदेखि चलचित्रसम्मको अनुभव बटुलेका छन् । २०६३ तिर गृहथलो बागलुङको गलकोट नगरपालिका–७ मल्मदेखि काठमाडौँ पुग्दा उनीसँग केबल एउटा सपना थियो, मोडल बन्ने । समयक्रममा उनी अभिनय हुँदै गायनतिर डोरिए । 

गायक तथा सर्जक बसन्त थापाको साथ लागेर पहिलो पटकट राजधानी छिरेका उनको अपरिचित सहरमा सङ्घर्ष सुरु भयो । “अग्रज कलाकार, मेरो आदरणीय दाइ बसन्त थापासँग म पहिलो पटक काठमाडौँ गएको हुँ, कलाकारितामा मलाई तातेताते गराउनुभएको उहाँले नै हो”, थापाले भने, “एउटा अभिभावकसँगै कला क्षेत्रको गुरुका रुपमा म उहाँलाई आदर गर्छु ।” बुबा भारतीय सेनाबाट निवृत्त भएकाले परिवारको पनि चाहना भर्ती होस् अथवा कतै जागिर गरोस् भन्ने थियो । थापाले त्यसका लागि प्रयास नगरेका पनि होइनन् ।

विद्यालय तहको पढाइ सकेर उनी भारतीय सेनामा भर्ती हुने सोचले बनारस पुगे । त्योबेला माइलाबुबा पनि भारतीय सेनामा कार्यरत रहेकाले भर्ती हुन सजिलो हुने ठानेर उनी केही वर्ष बनारसमै बसे । केही समयपछि लाहूरेको सपना त्यागेर उनी घर फर्किए । घरमा आएपछि अरु कुरा नसोची उनी काठमाडौँ हानिए । गलकोट, मल्ममै जन्मिएका गायक विष्णु खत्री, बसन्त थापालगायतबाट सानैदेखि प्रभावित उनले काठमाडौँमा भूइँदेखि सङ्घर्ष सुरु गर्नुपर्यो । कहिले चलचित्रमा कोरस नाचे त कहिले डान्सबारमा । नृत्य र अभिनय प्रशिक्षणका अलवा उहाँ विस्तारै अनुभवले पनि खारिँदै जान थाले ।

विसं २०६५ मा गायक बिमल डाँगीको दसैँ गीतको म्यूजिक भिडियोमा थापाले पहिलो नृत्य र अभिनय गरेका थिए । “गाउँको असली दुर्गे त्यो भिडियोमा देख्न सकिन्छ, उहिलेको त्यो दुर्गे अहिले दुर्गेश भइसक्यो”, ठट्यौली शैलीमा उनले भने । गाउँमा छँदा बालापनका साथीले दुर्गे भनेर बोलाउने गरेको उनले सम्झिए । नृत्य र अभिनयबाट अघि बढेका थापाले पछि गायनमा पनि हात हाले । पूर्णकला बिसीसँग मिलेर थापाले पहिलो लोकदोहोरी गीत ‘अँधेरीमा जुन लाएको हो…’ गाए । 

त्यसअघि उनले ‘आफू हाँसे संसार हसाउँछ…’, ‘नघाम लाउनी, न पानी पर्नी…’लगायत गीतमा शब्द र सङ्गीत भरिसकेका थिए । त्योबेला आफूले सिर्जना गरेका केही गीत गाउन चाहँदा पनि स्वर चल्दैन भनेर गाउन नपाएको गुनासो गरे । अभिनय र गायनलाई सँगसँगै डोर्याएका थापाले हालसम्म ४५ गीतमा स्वर दिएका छन् भने १५ सयबढी म्यूजिक भिडियोमा अभिनय गरेका छन् । उनी म्युजिक भिडियोमा अहिले पनि चल्तीको मोडल हुन् । रामचन्द्र काफ्लेको स्वरमा रहेको ‘माया लाएर के भो…’ गीतको म्यूजिक भिडियोबाट थापा मोडलका रुपमा बढी चिनिन थालेका हुन् । 

थापाले आधुनिक, लोकदोहोरी, पपलगायत गीतका म्युजिक भिडियोमा अभिनय गरेका छन् । ‘डाँडै बिसौनी…’, ‘जूनले मात्र देख्छ…’, ‘हाँस्न सिकायौ..’लगायत उनीद्वारा अभिनित चर्चित लोकदाहोरी गीत हुन् । पछिल्लो समय थापाले नायिका प्रियङ्का कार्की र गरिमा शर्मासँग मिलेर तीज गीत ‘झुम्का हरायो…’मा नृत्य तथा अभिनय गरेका थिए । 

“सङ्गीत क्षेत्रमा यति छिट्टै स्थापित हुन्छु जस्तो लागेको थिएन, तर सङ्घर्ष गर्दै जाँदा सम्भव हुँदो रहेछ”, गायक थापाले भने, “यसको श्रेय म मेरो अभिभावक र दर्शक÷श्रोतालाई दिन चाहन्छु ।” काठमाडौँ जस्तो सपनाको सहरमा उनलाई अनेक अवरोध पनि नआएका होइनन् । तर उनले बाधाहरु सजिलै छेके, रोके र पहिल्याए आफ्नो सत्मार्ग । सुरुवातीकालमा रेष्टुराँ र बारमा नृत्यकारको रुपमा काम गरेका उनी अहिले अभिनय र सङ्गीतमा सिद्धहस्त बनेका छन् ।

काठमाडौँको ठमेल र दरबारमार्गका डान्सबारमा नाचेका ती दिनको सम्झनाले अझ यो क्षेत्रमा राम्रो गर्न प्रेरित गर्ने उनले बताए । डान्सबारमा काम गर्दागर्दै अभिनयमा छिर्ने र चलचित्रमा काम गर्ने सोख पलाएपछि आफूले नियमित नृत्य र अभिनय प्रशिक्षण लिन थालेको थापाले सुनाए ।

“मेरो अभिनयको यात्रामा ‘जुनले मात्र देख्छ…’ बोलको गीतले राम्रो मोड दिएको हो, उक्त गीतबाट धेरै दर्शकको माया र सद्भाव पाउन सकेँ’, उनले भने, “त्यसपछि ममा झन् अभिनयमै प्रतिबद्ध भएर लाग्ने सोंच आयो, मलाई आफूभित्रको म भेटाए झैँ लाग्यो ।”गायनमा पनि उनको भिन्न पहिचान छ । पाँच वर्षअघि थापाले गाएको तीज गीत ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा…’ त्योबेला चर्चित बनेको थियो । जुन गीतको म्यूजिक भिडियोलाई हालसम्म झण्डै दुई करोड पटक हेरिएको÷सुनिएको छ । 

उक्त गीतलाई सातौँ संस्करणसम्म निरन्तरता दिएका थापाले यसै वर्षदेखि उक्त गीतको सिलसिलालाई अन्त्य गर्ने घोषणा गरेका थिए । थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिएका छन् । पहिलोपटक दीपक÷दीपाको चलचित्र ‘छ माया छपक्कै..’मा प्रोमोशनल गीत गाएका थापाले आगामी कात्तिकमा प्रदर्शन हुने चलचित्र ‘ह्रस्वदीर्घ’मा गाएको ‘उठेर नाचिस्यो…’ गीत अहिले युट्युबमा चर्चित छ । सदीक्षा कट्टेलसँगको युगल गायन रहेको उक्त गीतमा शब्द र सङ्गीत पनि थापाकै रहेको छ । 

प्रदर्शनका क्रममा रहेको ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन…’ गीतको सङ्गीत र शब्द पनि उनले रचना गरेका हुन् । उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएका छन् । गायकभन्दा बढी स्टेज परफरमरका रुपमा आफूलाई चिनाउन चाहाने थापाले गीत गायकै आधारमा प्रतिबन्धसमेत झेल्नुपर्यो । केही वर्षअघिको तीज गीतमा प्रयोग भएको शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले उनलाई कार्यक्रमहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

तिहारका बेला थापाले सार्वजनिक गरेको ‘हेप्पी तिहार…’ बोलको गीत पनि आलोचित भएपछि विवादित अंश सम्पादन गरेर पुनः युट्युबमा अपलोड गर्नुपरेको थियो । “निश्चित उमेर समूहलाई लक्षित गरेर गाउँदा कतिपय गीत समाजलाई पाच्य नहुँदो रहेछ, स्रोता÷दर्शकको आलोचना र सुझावले मलाई नयाँ ढङ्गले अघि बढ्न प्रेरणा दिएको छ”, उनले भने । चलचित्र ‘द ब्रोकन हर्ट’मा अभिनय गरेका थापाले चलचित्र अभिनयको क्षेत्रलाई भने सोचेजसरी अगाडि बढाउन सकेका छैनन् ।
अभिनय सँगसँगै गायनमा लागेपछि उनले साङ्गीतिक यात्राका क्रममा देशदेशावर घुम्ने अवसर पाएका छन् । अष्ट्रेलियादेखि जापान र हङ्कङदेखि इराकसम्मका सहरमा थापाले आफ्नो साङ्गीतिक प्रस्तुति दिइसकेका छन् । देशभित्रका मेला÷महोत्सवमा पनि उनलाई भ्याइनभ्याइ हुने गरेको छ । उनलाई युट्युबबाट पनि राम्रो कमाइ हुन्छ । ‘दुर्गेश थापा’ नामको युट्युबमा सस्क्राइबरको सङ्ख्या दस लाखबढी पुगेको छ । ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड’, ‘ज्योति अवार्ड’लगायत दर्जनौँ अवार्ड तथा पुरस्कारबाट थापा सम्मानित भएका छन् ।

बीपी राजमार्गमा अब रुटको गाडी चलाउन पाइने

काठमाडौँ । बीपी राजमार्गमा ठूला सवारीसधानसमेत चल्ने भएका छन् । वर्षासँगैको पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्रयाक खुलाएर केही दिन अघिदेखि साना सवारीसाधन चल्न दिइएकोमा सोमबारदेखि ठूला सवारीसाधन चलाउन लागिएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार भइसक्ने र त्यसपछि सो सडकमा सञ्चालन अनुमति प्राप्त गरेका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने डिभिजनले जनाएको छ ।

भरतपुर अस्पतालमा अन्य समयमा भन्दा दसैँको अवधिमा प्रसूति सेवा लिने धेरै

चितवन। भरतपुर अस्पतालमा दसैँको टीकाको दिनमा १५ जनाले प्रसूति सेवा लिएका छन्। २४ घण्टाका अवधिमा १० जनाले सामान्य र पाँच जनाले शल्यक्रिया मार्फत् शिशु जन्माएका हुन्।

वडादसैँंको समयमा बर्थिङ सेन्टर, हेल्थपोष्टमा चिकित्सकको अभाव हुने हुँदा यहाँको सरकारी भरतपुर अस्पतालमा प्रसूति सेवाका बिरामीको चाप बढ्ने गर्दछ। कतिपय निजी साना अस्पतालमा दसैंँको बेलामा आकस्मिक सेवासमेत दिन कठिन हुने गर्दछ।

चाप बढ्ने भएपछि भरतपुर अस्पतालले त्यसको तयारी गरेको थियो। अस्पतालको प्रसूति विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल चिकित्सकलाई पालो मिलाएर तयारी अवस्थामा राखिएकाले प्रसूति सेवा दिन सहज भएको बताउँछन्। उनले भने, ‘चितवनसहित छिमेकी जिल्लाबाट समेत दसैँको समयमा अन्य समयको भन्दा बढी प्रसूति सेवा लिन आउँछन्।’

उनका अनुसार गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), मकवानपुर, धादिङ्लगायतका जिल्लाबाट यहाँ प्रसूति सेवा लिन बिरामी आउने गर्दछन्। भरतपुर अस्पतालको प्रसूति विभागमा दैनिक ३० देखि ३५ जनाले प्रसूति सेवा लिने गर्दछन्। तीमध्ये आधाको शल्यक्रिया गर्नुपर्ने हुन्छ।

हेल्थपोष्टलगायत साना अस्पतालमा सामान्य प्रसूति हुन नसक्ने भएपछि यहाँ रिफर भएर आउने भएकाले शल्यक्रिया गर्नुपर्नेको संख्या धेरै हुने गरेको प्रा.डा. पौडेल बताउँछन्।

अस्पतालमा १३ जना विशेषज्ञ चिकित्सक, चार जना आवासीय चिकित्सक र पाँच जना तालिम प्राप्त मेडिकल अधिकृत रहेका छन्। सँगै ३२ जना तालिमप्राप्त नर्सिङ् स्टाफ रहेको उनले बताए। प्रसूतिका लागि दक्ष समूह रहेको भन्दै पोखरेलले दसैँंको समयमासमेत सेवा नरोकेको बताए।

अस्पतालले वर्षमा १२ हजार हाराहारीलाई प्रसूति सेवा दिने गरेको छ। पछिल्ला वर्षमा संख्या घट्दै गएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पौडेलले दसैँको समयमा अस्पतालको आकस्मिक सेवासहित प्रसूति सेवा सञ्चालन गरिएको बताए। आकस्मिक रुपमा गर्नुपर्ने प्रसूतिलगायत अन्य शल्यक्रिया नरोकिएको उनको भनाइ छ।

भरतपुर अस्पताल प्रसूति सेवामा अब्बल मानिन्छ। प्रसूति गराउनेका लागि पहिलो प्राथमिकतामा भरतपुर अस्पताल पर्दछ। निजी अस्पतालमा भन्दा प्रसूति गराउन भरतपुर अस्पतालमा सुरक्षित मान्ने गरिन्छ। यहाँ २० शय्याको बाल सघन उपचार (एनआईसियू) कक्षसमेत रहेको छ।

सरकारीमा प्रसूति गराउँदा राम्रो सेवा र कम खर्च हुने भएपछि अन्य समयमा पनि आकर्षण बढी हुने गर्दछ।

गत साउनदेखि हालसम्म दुई हजार बढीमा डेङ्गु संंक्रमण

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार दुई सय ४३ जनामा डेङ्गुको संक्रमण देखिएको छ। गत साउनयता ६ हजार तीन सय ४७ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गुको संक्रमण देखिएको हो।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार संक्रमितमध्ये चितवनका एक हजार ६९२ जना र जिल्ला बाहिरका पाँच सय ५१ जना रहेका छन्। जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा सात सय ३० जनामा डेङ्गुको संक्रमण पुष्टि भएको कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलले जानकारी दिए।

सबैभन्दा कम माडी नगरपालिकामा १८ जनामा डेङ्गु देखिएको छ। उनका अनुसार इच्छाकामना गाउँपालिकामा चार सय ४७ जना, रत्ननगर नगरपालिकामा तीन सय १९ जना, खैरहनी नगरपालिकामा ८७ जना, कालिका नगरपालिकामा ४८ जना र राप्ती नगरपालिकामा ४३ जनामा डेङ्गुको संक्रमण देखिएको हो।

जिल्लामा डेङ्गुको संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ। जिल्लामा गत आर्थिक वर्षमा एक हजार आठ सय ३१ जनामा डेङ्गुको संक्रमण देखिएको थियो। उनका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो। वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरि भदौ, असोजमा डेङ्गु संक्रमण देखिने गर्दछ।

एमालेको गौरव जोगाउने हो भने व्यापारीको सहयोग लिएर पार्टी कार्यालय निर्माण गर्ने गलत निर्णय सच्याउनैपर्छः विन्दा पाण्डे

काठमाडौं । नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले व्यापारीको सहयोग लिएर पार्टी कार्यालय बनाउने कदमको विरोध गरेकी छन् ।

सोमबार सामाजिक संजालमार्फत पाण्डेले पार्टीको यो निर्णयले साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरेको उल्लेख गरेकी छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि भाटभटेनी सुपरस्टोरका संचालक मीनबहादुर गुरुङले दिएको १० रोपनी १४ आना जग्गामा भवन निर्माणका लागि सिलान्यास गरेका थिए ।

उनले भनेकी छन्, ‘साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ । समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ । समयमै सोचौँ ।’

दिवाखाजा कार्यक्रमले बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्य

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८, पारिफाँटास्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । बीचमै विद्याय छाड्ने विद्यार्थीको सङख्या शून्य छ । विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्न सहयोग पुर्‍याएको हो ।

आर्थिक रूपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढने गरेका छन् । दैनिक मजदुरी गरी जीविका चलाउने परिवारले विगतमा आफूसँगै बालबालिकालाई पनि काम गर्ने क्षेत्रमा लैजादा पढाइ प्रभावित हुँदै आएको थियो ।

‘कक्षा दोहर्‍याउने, बीचमै विद्यालय छाड्ने र कक्षामा नियमति विद्यार्थी नआउने समस्या विगतमा थियो’ विद्यालयका दिवा खाजा व्यवस्थापन गर्दै आएका श्रोत शिक्षक डवलबहादुर ठगुन्नाले भने, ‘दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाइएपछि बालबालिका नियमित विद्यालय आउन थालेका छन् ।’

उनका अनुसार नगरको शिक्षा शाखाबाट बालकक्षादेखि ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खुवाउनका लागि प्रति विद्यार्थी १५ रुपैयाँका दरले विद्यालयमा रकम निकासा पठाइने गरेको छ । त्यसै रकमबाट विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरिएको ठगुन्नाले बताए । ‘कुन बार कस्तो खाने कुरा खुवाउने भन्ने बारे ‘मेनु’नै बनाएका छौँ’ उनले भने, ‘त्यसै अनुरुप विद्यार्थीलाई पौष्टिक आहार प्रदान गर्ने स्थानीय उत्पादनमा आधारित खाजा बनाएर विद्यार्थीलाई वितरण गरिन्छ ।’

विद्यालयमा अध्ययनरत तीन सय १० जना विद्यार्थीलाई आइतबार खिर, सोमबार दालभात, मङगलबार फ्राइ गरिएको चना, बुधबार अण्डा राखिएको राइस फ्राई, बिहीबार खिचडी र शुक्रबार फलफूल खुवाइने गरिन्छ । खाजा खुवाउने र भान्सा सरसफाइको कार्यका लागि एक जना भान्सेको पनि व्यवस्था गरिएको छ ।

विद्यालयमै खाजा पाइन्छ भनेर विद्यार्थी नियमित विद्यालय आउने र दिनभर कक्षामा बस्ने गरेको विद्यालयका शिक्षक अमरबहादुर महराले बताए । खाजा कार्यक्रमको रकमबाट खाना बनाउन आवश्यक हुने भाँडाकुडा खरिद संगै भान्सेको मासिक तलव सात हजार व्यहोरिँदै आएको छ ।

यो सँगै खाजा कार्यक्रमको केही रकम बचत गरी विद्यालयका लागि आवश्यक दुई थान ल्यापटप खरिद गरिएका छन् । गर्मी मौसममा विद्यालयमा आउने अभिभावक, शिक्षक, विद्यार्थी लगायतलाई चिसो पिउने पानीका लागि र भान्साको सागपात, फलफूल लगायतका अन्य खाद्यन्न राख्नका लागि सोही कार्यक्रमबाट रकम बचत गरी एक थान रेफ्रिजेनेटर (फ्रीज) खरिद गरी सञ्चालमा ल्याइएको छ ।

दिवा खाजाको खर्च आम्दानीको विवरण हरेक तीन/तीन महिनामा शिक्षक स्टाप बैठक बसेर अनुमोदन गरी आवश्यक राय सुझावहरूलाई कार्यान्वयनमा लैजाने गरिन्छ । दिवा खाजाका लागि विद्यालयले वार्षिक योजना बनाई कार्यान्वयनमा गर्दै आएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले बताए ।

इजरायलले गाजाको एक विद्यालयमा गरेको आक्रमणमा कम्तिमा १५ जनाको मृत्यु

बीबीसी । इजरायलले गाजाको एक विद्यालयमा गरेको आक्रमणमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । इजरायल–प्यालेस्टाइन युद्धमा विस्थापित भएका प्यालेस्टिनीहरूले आश्रय बनाएको विद्यालयमा इजरायलले आक्रमण गरेको हो ।

गाजामा हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीले ठूलो गोलीबारी भएको जनाएको छ । सिभिल डिफेन्सका प्रवक्ताले अल मुफ्ती विद्यालयमा आक्रमण भएको जनाएको छ ।

त्यस्तै, हिजबुल्लाहले पनि इजरायलको एक सैन्य आधार शिविरमा ड्रोन आक्रमण गरेको छ । उत्तरी इजरायलको सैन्य आधार शिविरमा भएको उक्त आक्रमणमा परी चार जना सैनिकको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।

इजरायली डिफेन्स फोर्सेज (आईडीएफ) ले आक्रमण भएको पुष्टि गरेको छ । आईडीएफले यो आक्रमण उत्तरी इजरायलको एक नगरभन्दा ३३ किलोमिटरको दुरीमा रहेको सैन्य आधार शिविरमा भएको जनाएको छ ।

दक्षिणी लेबननबाट तत्काल शान्ति सेना फिर्ता गर्न राष्ट्रसङ्घलाई इजरायली प्रधानमन्त्रीको आग्रह

बीबीसी । इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्रसङ्घलाई दक्षिणी लेबननमा रहेको शान्ति सेना ’तत्काल’ त्यहाँबाट फिर्ता गर्न आग्रह गरेका छन् ।

नेतन्याहूले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसलाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् । लेबननमा खटिएको संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (यूनिफिल)ले यो साता दक्षिणी लेबननमा आफ्नो पाँचौं शान्ति सैनिक घाइते भएको जनाएको थियो ।

उनले भने, ‘महासचिव महोदय, यूनिफिललाई क्षतिको मार्गबाट तत्काल हटाउनुहोस् ।’ यस महिनाको सुरुमा इजरायली विदेशमन्त्री इसरेल काट्जले इजरायलमा इरानले आक्रमण गरेलगत्तै गुटेरसलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गरेका थिए ।

हिजबुल्लाहले सीमानजिकैको एउटा गाउँमा आफ्ना लडाकुहरू अत्यन्तै निकटको दूरीबाट इजरायली सेनासँग लडिरहेको जनाएको छ । इजरायली डिफेन्स फोर्सेस (आईडीएफ)ले पनि लडाइँमा आफ्ना दुई सैनिक गम्भीर घाइते भएको जनाएको छ ।

दक्षिण लेबननमा लडाइँ चर्किँदै गर्दा लेबननी अधिकारीहरूले इजरायलले आफ्नो लक्षित क्षेत्रलाई फराकिलो बनाएको जनाएका छन् । आईडीएफका अनुसार उसले विगत २४ घण्टामा मात्रै हिजबुल्लाहका झण्डै २०० ठेगानामा आक्रमण गरेको छ ।

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते

दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् ।

“खार्तूमको अल–सौक अल–मार्काजी (केन्द्रीय बजार) मा लडाकु विमानहरूले बमबारी गर्दा उक्त घटना भएको हो,” स्थानीय स्वयंसेवी दक्षिण खार्तूम आपतकालीन समूहले विज्ञप्तिमा उल्लेख गरेको छ ।

“घाईतेहरूलाई उपचारका लागि बसाइर, एलराजी र अलराकी अस्पतालमा सारिएको छ । घाईते मध्ये केहीको अवस्था गम्भीर छ,” विज्ञप्तिमा भनिएको छ ।

हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन् । सैन्य स्रोत र साक्षीहरूका अनुसार, सुडानी सशस्त्र बल (एसएएफ) ले राजधानी खार्तुममा सेप्टेम्बर २६ मा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) विरुद्ध महत्त्वपूर्ण आक्रमण सुरु गरेको थियो ।

संयुक्त राष्ट्र सङ्घ समन्वय कार्यालयले सुडान सन् २०२३ अप्रिल १५ देखि एसएएफ र आरएसएफ बीचको हिंसात्मक द्वन्द्वमा फसेको जनाएको छ । यसको परिणामस्वरूप यहाँ लगभग २० हजार जनाको मृत्यु भएका र हजारौं जना घाइते भएका छन् ।

इजरायली आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको मृत्यु

इजरायली सेनाले उत्तरी र मध्य गाजा पट्टीमा गरेको आक्रमणमा कम्तिमा १८ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
इजरायलले मध्य गाजामा रहेको बुरेइज शरणार्थी शिविर र देइर अल–बालाहको बाहिरी भागलाई निशाना बनाएको प्यालेस्टिनी सुरक्षा अधिकारीहरूले सिन्ह्वालाई बताए ।

गोलाबारीमा सात जनाको ज्यान गएको र देइर अल–बालाहको अल–अक्सा अस्पतालमा लगिएको मेडिकल स्रोतले बताएको छ ।

साथै, इजरायली गोलाबारीले नुसेरात शरणार्थी शिविरमा रहेको आवासीय घरमा आक्रमण गर्दा एकै परिवारका आठ सदस्यको मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ ।

यसैबीच, गाजाको सिभिल डिफेन्स अथोरिटीले आफ्नो टोलीले जबलियाको फालुजा क्षेत्रमा घरहरूमा फसेका तीनवटा शव र अन्य सात जनालाई बाहिर निकालेको बताएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आइतवार आफ्नो सेनाले गाजा स्ट्रिपमा विगत २४ घण्टामा करिब ४० वटा लक्ष्यमा आक्रमण गरेको र दर्जनौं आतङ्ककारीलाई मारेको बताइएको छ ।

श्रीलङ्कामा क्यान्सरका कारण एकवर्षमा १९ हजारको मृत्यु

गत वर्ष श्रीलङ्कामा ३३ हजार भन्दा बढी नयाँ क्यान्सर रोगीहरू पत्ता लागेका श्रीलङ्का स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव पालिथा महिपालाले गत वर्ष पनि क्यान्सरका कारण श्रीलङ्कामा १९ हजार जनाको मृत्यु भएको जाकारी दिए । यहाँ पुरुषहरूमा मुखको क्यान्सर र महिलाहरूमा स्तन क्यान्सर सामान्य रहेका छन् ।

महिपालका अनुसार श्रीलङ्कामा क्यान्सरका कारण हुने मृत्युको प्रमुख कारण स्तन, मुख, फोक्सो र कोलोरेक्टल क्यान्सर हो ।

भाइरल ज्वरो तथा डेङ्गुका विरामीको चाप बढेपछि दमौली अस्पतालको भुइँमा राखेर बिरामीको उपचार गरिँदै

तनहुँ। तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ । विरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ ।

पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका विरामी उपचारका लागि आउने गरेका छन् ।

पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।

‘विरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बरामीलाई भर्ना गरेर राख्न सकिएको छैन । विशेष गरेर डेंगुका विरामीको चाप अनपेक्षितरूपमा बढेको छ’, उनले भने ।

स्पतालको स्तरोउन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिए पनि सुनुवाई नहुँदा समस्या भोग्नुपरेको अध्यक्ष वाग्लेले बताए । शय्याको अभावले डायलायसिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारसँग अनुमति मागिएको छ ।

व्यास–१,२, ३, ४ र ५ मा डेंगुका विरामीको सङ्ख्या दिनप्रतिदिन बढीरहेको छ । अस्पताल आएका विरामीमध्ये साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा हालसम्म दुई सय ९७ जनामा डेंगुको सङ्क्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले जानकारी दिए ।

दमौली अस्पतालमा तनहुँका अतिरिक्त लमजुङको मध्यनेपाल, गोरखाको पालुङटार नगरपालिका र कास्कीको रुपा गाउँपालिकाबाट विरामी उपचारका लागि आउने गरेका छन् ।

झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

बनियानी । झापामा आइतबार छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर–७ मा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलले सोही स्थानमा विपरित दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर–७ का ५० वर्षीय विगेन राजवंशीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

उक्त दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ का २० वर्षीय अभिषेक लिम्बू र मोटसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन् । घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

यस्तै कमल–४ अमलडाँगीस्थित पूर्व–पश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा शिवसताक्षी–८ का वर्ष ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही स्थानका २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोहणका क्रममा ज्यान गुमाएका पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । 

सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच  पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

“हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो,” उनले भने, “मौसमको खराबी र प्रतिकुल भूगोलका कारण शव सङ्कलन गरेर घट्नास्थलबाट ल्याउने प्रयास सफल भएको छैन ।”

बुधबार, बिहिबार र शुक्रबार शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको थियो । शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान सकेनन् । सम्बद्ध ट्रेकिङ कम्पनीले अनुकुुल मौसम भएमा सोमबार शव ल्याउन हेलिहप्टरमा उद्धार टोली पठाउने जानकारी आएको प्रनाउ श्रेष्ठले बताए । 

आधार शिविरमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनिहरु सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कबिहिन भएका थिए । प्रहरीका अनुसार रुसी नागरिक  अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो । 

‘आइ एम टे«कीङ एण्ड एक्सपीडिसन’मार्फत रुसका १४ पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ पर्वतरोही बिचमै आरोहण रद्द गरेर फर्किएका थिए । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रुसका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।

थारु बस्तीमा ‘सखिया नाच’को रौनक

बाँके ।  बाँके जिल्लाका थारु समुदाय अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ। दसैँ अघि सुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँबस्तीको रौनक बढाएको हो।

दसैँको टीकाको दिनसम्म केटाकेटी मिलेर उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुबाको व्यवस्था गरिएको हुन्छ। गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुन्छन्।

थारु गाउँमा दसैँ सुरु भएसँगै सखिया नाचको रौनक सुरु हुने टिटिहिरीयाका थारु अगुवा केवलसिंह थारुले बताए। दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दसैँभरी नाचिने उनले सुनाए।

उनका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन्। जति धेरै मादल बज्यो त्यति रौनक आउँछ। १५ देखि २० जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो चोलिया र रातै रङको रिबन लगाउने गर्छन्।

सखिया नाचमा विशेषतः थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देवतालाई गीतको माध्यमबाट प्रार्थना गरी शान्ति एवम् सुरक्षाको कामना गर्ने चलन रहेको थारु अगुवा एकराज चौधरीले बताए।

उनका अनुसार थारु पहिरनमा सजिएर नाच्ने युवतीहरुले फेफी, बुलाकी, मगौरी, झुम्का, बिजुलीवाला, कनसेहरी, ऐरम, मङ्गौरी, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना, कुकरलगौतीजस्ता थारु संस्कृति झल्किने गहना र गोन्या, चोल्या, फरियाजस्ता पहिरन तथा सात रङले सजिएको मञ्जीरा लगाएर नाच्ने गर्दछन्। 

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा १६ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र शिया मुस्लिम समुदाय बीच लामो समयदेखि लडाइँमा संलग्न छन् । कुर्रममा दुई सम्प्रदायका बिचको रक्तपातपूर्ण भिडन्तले वर्षौंदेखि सयौँको ज्यान लिएको छ ।

सुन्नीहरूको एउटा समूह शनिबार अर्धसैनिकहरूको सुरक्षामा यात्रा गरिरहेको अवस्थामा आक्रमणमा परेको कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् । अधिकारीका अनुसार उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको थियो भने प्रहरीको जवाफी कायर्वाहीमा दुई जना आक्रमणकारीको मृत्यु भएको थियो ।

जुलाई देखि सेप्टेम्बरसम्ममा भएका झडपहरूमा दर्जनौँ मानिसहरूको मृत्यु भएको छ भने आदिवासी परिषद्ले युद्धविराम बोलाएपछि मात्र अवस्था केहि शान्त भएको जनाइएको छ ।

अधिकारीहरूले नयाँ युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरिरहेका छन् । यद्यपि उक्त समुदायहरूले परम्परागत आदिवासी नियमहरु अबलम्बन गर्ने भएकाले दुर्गम क्षेत्रहरूमा पुनः हिंसात्मक घटनाहरु हुन सक्ने जनाइएको छ ।

सुन्नी मुस्लिम समुदायको बाहुल्यता भएको पाकिस्तानमा सिया समुदायले लामो समयदेखि भेदभाव र हिंसाको सामना गर्दै आएको छ ।