`

भारतले पञ्चेश्वर परियोजनाको ‘डिपिआर’लाई छिटो अन्तिम रुप दिने

काठमाडौँ । भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबीच मंगलबार नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरुबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडोभन्दा चाँडो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकासलगायत पारस्परिक हित र साझा चासोाका विविध विषयमा छलफल भएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

ऊर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त समितिको बैठक यथाशीघ्र गर्ने पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिन अनुरोध गर्नाका साथै टनकपुरदेखि नेपाल–भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकामा भारत सरकारप्रति कृतज्ञताज्ञापन गरे ।

प्रत्युत्तरमा मन्त्री पाटिलले पञ्चेश्वरको डिपिआरलाई शीघ्र बनाउन सकारात्मक जवाफ दिएका थिए । भेटमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागिता थियो ।

समीक्षा अधिकारीको ‘मुटु रेटियो’मा मुकुन्द भट्ट र स्मारिका ढकालको अभिनय

काठमाडौं । गायिका समीक्षा अधिकारीको आवाजमा मुटु रेटियो बोलको लोकगीत सार्वजनिक भएको छ । प्रेम सम्बन्धको मार्मिक कथा बोकेको गीतलाई प्रितम श्रेष्ठले तयार पारेका हुन् ।

गीतमा एउटी नारीले प्रेम विश्वासमा पाएको घात र त्यसपछि नेपाली समाजले गर्ने कटुतापूर्ण व्यवहार चित्रण गर्न खोजिएको श्रेष्ठले बताए। गीतमा शब्द र संगीत श्रेष्ठकै रहेको छ।

’नेपाली समाजमा महिलामाथि गरिने व्यवहार अझै फरक छ। फरक व्यवहार भयो भन्दैमा समस्याबाट भाग्नु हुँदैन। डटेर सामना गर्नुपर्छ भन्ने सन्देश गीतले दिनखोजेको छ,’ उनले भने । अमेरिका बसोबास गर्दै आएका श्रेष्ठले नेपाली गीत÷संगीतलाई अगाध प्रेम गर्दै आएका छन्।

गीतमा स्मारिका ढकाल, मुकुन्द भट्ट र रिता सिवाकोटीको मुख्य अभिनय रहेको छ।

गीतलाई प्रवीण थापाले निर्देशन गरेका छन्। गीतमा कृष्ण बाजुरालीको एरेन्ज, महेश महेराको छायांकन, अमृत चापागाईंको सम्पादन र रङ संयोजन रहेको छ। गीतको सहायक निर्देशन अमृत भट्टराईले गरेका छन्।

श्रेष्ठको शब्द रचना र शान्तिश्री परियारको स्वरमा रहेको एआइबाट गाइएको माथिमाथि माया बग्छ गीतले पनि यसअघि स्रोताको मन जितेको थियो। मायालु पनि उनको रुचाइएको गीतमा पर्छ।

सरकारी जागीरसँगै कालिजपालन

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले छ वर्षदेखि कालिजपालन गरेका छन्। पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हुन । उनी कार्यालय बाहेकका समय कालिज फार्ममा खटिएका छन । कँडेलले काभ्रेपलाञ्चोकबाट तीन पोथी र एउटा भाले कालिज लिएर कालिजपालन सुरु गरेका थिए । २४ हजार रुपैयाँमा चार कालिज ल्याएर सुरु गरेको व्यवसायमा कँडेलले हालसम्म २५ लाख रुपैयाँ बढी लगानी गरिसकेका छन्।

कालिज व्यवसाय फस्टाउँदै गएपछि हाल चल्लासमेत उत्पादन गरिररहेका छन्। रहरले सुरु गरेको कालिजपालनले व्यावसायिक रुप लिएपछि उनी दङ्ग छन। कँडेलले छ वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर कालिजपालन थालेका हुन्। सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत चल्ला उत्पादन गरिरहेको उनी बताउछन् । चल्ला उत्पादन बढ्दै जाँदा बजार पाउन भने मुस्किल पर्न थालेको उनले सुनाए ।

“केही वर्ष अघि एउटा कालिज फार्म हेर्ने अवसर मिल्यो, त्यसपछि काभ्रेबाट चार वटा कालिज ल्याएर पाल्न थालेँ, त्यतिबेला मैले व्यवसाय गरुँला भन्ने सोचेको थिइँन”, उनले भने, “पछि ती चल्ला हुर्केर दुई सय अण्डा दिए, त्यस पछि व्यावसायिक गर्नुपर्छ कि भन्ने सोच आयो । रहरैरहरमा थालेको कालिजपालन अहिले व्यवसायमा रुपान्तरण भयो ।”

कोभिड–१९को महामारीका बेला एकै पटक पाँच सय वटा कालिज मरेपछि लाखौँको नोक्सानी व्यहोर्नु प(यो । फार्म रित्तो भएपछि पुनः चल्ला ल्याउनुपरेको उनले बताए । कँडेलले उत्पादन गरेको कालिज बुर्तिबाङ, बागलुङसहित काठमाडौँसम्म पुग्ने गरेका छन् । भाले कालिजलाई रु दुई हजार पाँच सय र पोथी कालिजलाई रु एक हजार पाँच सयमा बिक्री गर्दै आएको उनी बताउछन। दसैँमा तीन सय वटा कालिज बिक्री भयो ।

हाल फार्ममा सात सय कालिज छन् । वार्षिक १२ लाखको कालिज बिक्री हुने उनले जानकारी दिए । एउटा कालिज बिक्रीका लागि तयार हुन करिब सात महिना लाग्छ । उत्पादन अनुसार बजार पाउन सकेमा अझै धेरै आम्दानी लिन सकिने उनको भनाइ छ ।

१० महिनामा भित्रिए नौ लाख ४० हजार विदेशी पर्यटक

काठमाडौँ । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा छ दशमलव चार प्रतिशतले बढी हो ।

सन् २०२३ को अक्टोबरमा एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए । कोभिड–१९ (कोरोना महामारी) पूर्व अर्थात सन् २०१९ को तुलनामा ९२ दशमलव ९६ प्रतिशतले पर्यटकको सङ्ख्यामा पुनरुत्थान भएको बोर्डले जनाएको छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३४ हजार ९६ विदेशी पर्यटक आएका थिए ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा विदेशी पर्यटक आगमन सन्तोषजनक छ । उनले भने,’समग्रमा पर्यटक आगमन सकारात्मक देखिन्छ । अक्टोबरमा आशातित पर्यटक आउन सकेनन्, किनकी महिनाको सुरुवातमै अविरल वर्षाले विपद्जन्य घटना भयो । अबको दुई महिनामा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ ।’

भारतीय र चिनियाँ घटे

बोर्डको विश्लेषणमा अगष्ट, सेप्टेम्बार र अक्टोबरमा भारतबाट आउने पर्यटक घटेका छन् । पछिल्ला दुई महिनामा चीनबाट आउने पर्यटक पनि घटे । अक्टोबरमा भारतबाट १६ हजार तीन सय १३ पर्यटक आएका छन् । गत सेप्टेम्बरमा भारतबाट २२ हजार नौ सय ८४ पर्यटक आएका थिए । यो करिब १३ प्रतिशत गिरावट हो ।

अगस्टमा २५ हजार आठ सय ३२ भारतीय पर्यटक आएका थिए । अक्टोबरमा चीनबाट आएका सात हजार सात सय ५० पर्यटकले नेपाल भ्रमण गरेका छन् । सेप्टेम्बरमा आठ हजार ४२ र अगस्टमा चीनबाट छ हजार छ सय १४ चिनियाँ पर्यटक आएका थिए । मनसुनका कारण भारतीय र चिनियाँ पर्यटक घटेको अनुमान गरिएको छ ।

अमेरिकी पर्यटक बढे

अक्टोबरमा अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या अघिल्लो महिनाको तुलनामा १२ दशमलव ८८ प्रतिशतले बढेर कूल १६ हजार २३ पुगेको छ । सेप्टेम्बरमा १० हजार ८४ अमेरिकी पर्यटक भित्रिएका थिए । बेलायतबाट आठ हजार १९ पर्यटक नेपाल भित्रिएका छन् । अष्ट्रेलियाबाट छ हजार नौ सय २९, जर्मनीबाट छ हजार १८ र फ्रान्सबाट पाँच हजार चार सय ८५ पर्यटक आएका छन । बङ्गलादेशबाट चार हजार चार सय ७६, श्रीलङ्काबाट तीन हजार एक सय १२ र इटालीबाट दुई हजार छ सय ३५ पर्यटक आएका छन् ।

मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एकसय ६७ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३ अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक आए । सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।

देशले विकास लक्ष्य हासिल गर्नेमा चिनियाँ प्रधानमन्त्री ली किआङ ‘पूर्ण विश्वस्त’

सांघाई । चिनियाँ प्रधानमन्त्री ली किआङले चीनका यस वर्ष आर्थिक लक्ष्यहरू प्राप्त गर्ने कुरामा आफू “पूर्ण रूपमा विश्वस्त“ भएको बताएका छन् ।

बेइजिङले सन् २०२४ का लागि करिब पाँच प्रतिशतको वृद्धिको लक्ष्य राखेको छ । तर महामारीको कारण तेस्रो त्रैमासिकमा सबैभन्दा कम वृद्धि हासिल गरेको छ ।

सरकारले आर्थिक गतिविधि बढाउने उद्देश्यले दर कटौती खरिद विक्री प्रतिबन्धलगायतका उपायहरूको घोषणा गरेको छ, तर विश्लेषकहरूले हाल सम्म अभावको आलोचना गरिरहेका छन् ।

पर्यवेक्षकहरूले बेइजिङमा चीनको संसदको शीर्ष निकाय नेसनल पिपुल्स कङ्ग्रेस (एनपीसी) को स्थायी समितिको आसन्न बैठकबाट प्रोत्साहनका लागि विशेष तथ्याङ्क आउन सक्ने आशा गरेका छन् ।

साङ्घाईमा एक प्रमुख अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीको उद्घाटन समारोहमा मङ्लबार बोल्दै लीले यस वर्षको लक्ष्यहरू र भविष्यमा चीनको अर्थतन्त्रको विकासमा पूर्ण रूपमा विश्वस्त रहेको बताए ।

आर्थिक दबाबको सामना गर्नुपर्दा आर्थिक समायोजनहरू बढाउने आवश्यकता बीच वित्तीय तथा मौद्रिक नीतिहरूका लागि अपेक्षाकृत र नीतिगत उपकरणहरू प्रचुर मात्रामा रहेको उनको भनाई छ ।
मङ्गलबार प्रकाशित सूचकाङ्क अनुसार अक्टोबरमा चीनको सेवा क्षेत्रमा पनि गति बढेको छ ।

यस एण्ड पी ग्लोबल र चिनियाँ व्यापार मिडिया द्वारा गणना गरिएको सेवाहरूको लागि खरीद प्रबन्धक सूचकाङ्क सेप्टेम्बरमा ५०.३ बाट ५२ मा पुगेको छ । यो आँकडा जुलाईपछिको सबैभन्दा राम्रो हो ।

सिन्ह्वाका अनुसार सोमबार सांसदहरूले ऋणहरू प्रतिस्थापन गर्न स्थानीय सरकारको ऋण सीमा बढाउने विधेयकको समीक्षा गरेका छन् ।

साङ्घाईमा वार्षिक शोकेस ट्रेड शो चाइना इन्टरनेसनल इम्पोर्ट एक्सपो (सीआईआईई) मा बोल्दै लीले विदेशी लगानीका लागि थप उद्धारता अवलम्वन गर्न चीन प्रतिबद्ध रहेको बताए ।

पुनः निर्माणपछि काबेली करिडोर प्रसारण लाइन संचालनमा

काठमाडौँ । बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ । गत असोज १२ गते माइखोलाको बाढीले काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको माई नगरपालिका–१ र ७ स्थित धोद्रेबेँसीमा चार वटा टावरमा क्षति पुर्याएको थियो ।

नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्त रुपमा पुनःनिर्माण गरी सोमबार अपरान्ह ४ः३० बाट प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् । काम सुरु गरेको १९ दिनमा सम्पन्न गरिएको निजी क्षेत्रका तर्फबाट पुनःनिर्माणमा खटिएका ऊर्जा उद्यमी मोहन कार्कीले जानकारी दिए ।

प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलामका आयोजनाले विद्युत् उत्पादन सुरु गरेका छन् । प्राधिकरण र निजी क्षेत्रले संयुक्त रुपमा पुनःनिर्माण सुरु गरेका थिए ।

प्राधिकरणले प्रसारण लाइनका पाटपुर्जा लगायतका सामग्री उपलब्ध गराएको थियो । निजी क्षेत्रका जलविद्युत् आयोजनाले श्रम लागतलगायतका खर्च बेहोरेको जनाएका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएको थियो ।

काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको गोदकबाट झापाको दमक खण्डको धोद्रेबेँसीमा ५०, ५१,५२ र ५३ नम्बर टावरलाई बाढीले क्षति पुर्याएको थियो । चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाईपूर्ण रुपमा क्षति पुर्याएको थियो । त्यहाँ नयाँ टावर बनाइएको हो । आंशिक क्षति पुगेका ५० र ५३ नम्बरका टावर मर्मत गरिएको हो ।

टेलिकमको पाइपबाट पानी बगेपछि…

चितवन ।  चितवनको भरतपुर महानगरपालिकाको कार्यालयअगाडि सडकको बीच भागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरू मुहानको खोजीमा लागेका छन् । दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुन सक्ने अनुमान गरिएको छ ।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिला न्यौपानेले नेपाल टेलिकमले विछ्याएको पाइपबाट पानी निस्किएको बताइन् । सुरुमा जमिनबाट मूल फुटेको अनुमान गरिए भए पनि खनेर हेर्दा टेलिकमको पाइपबाट पानी आएको देखिएको उनको भनाइ छ ।

‘वरपर कतै मूल फुटेर वा खानेपानीको पाइप फुटेर टेलिकमको पाइपमा छिरेको हुन सक्छ । नत्र तार हाल्न विछ्याइएको पाइपमा यत्रो पानी कसरी आयो होला,’ उनले भनिन् ।

टेलिकमको पाइपमा कहाँबाट पानी छिर्‍यो भन्ने पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको उनले जानकारी दिइन् । खानेपानी बोर्डलाई पत्राचार गरिएको र खानेपानी, टेलिकम, डिभिजन सडक र निर्माण कम्पनीका प्रतिनिधि बसेर निकास खोजी भइरहेको उनले बताइन् ।

नारायणगढदेखि गोन्द्राङसम्म ६ लेनको सडक विस्तार भइरहेको छ । सो काम इण्डो सगुन निर्माण कम्पनीले गरिरहेको छ । कम्पनीका इन्जिनियर सुनिल ढुङ्गानाले पानी निस्किनुको कारण पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको बताए । उनले भने, ‘कहाँबाट पानी छिर्‍यो, कति सडक भत्काउने, यकिन गर्न सकेका छैनौँ । सडक डिभिजनलाई भनेका छौँ ।’

भरतपुरको सवारी चाप हुने मुख्य क्षेत्रमा सडक भत्किएपछि तत्काल निर्माण गर्न भरतपुर महानगरपालिकाले डिभिजन सडक कार्यालय र निर्माण कम्पनीलाई पटक–पटक आग्रह गरेको छ । महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘हामीले दसैँ अघि नै तत्काल मर्मत गर्न अनुरोध गरेका छौँ, प्राविधिक कारणले काममा ढिलाइ भएको छ ।’

वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

जुम्ला ।  जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । विभिन्न योजना सञ्चालन गरिए पनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन् ।

आठ वर्षअघि सङ्घीय खानेपानी कार्यालय जुम्लाबाट तिला–९ ढीपुबाट खानेपानी ल्याउने पञ्चवर्षीय योजना सुरु गरिए पनि पनि उपभोक्ता समिति र कार्यालयले राम्रोसँग काम नगर्दा योजना सञ्चालन हुन सकेन । स्थानीय सरकार गठन भएपछि ५० लाखमा गाउँमा खानेपानी लिफ्टिङ योजना बनाइयो तर पानी आइपुगेन ।

यहाँका बासिन्दाले धित मरुन्जेल खानेपानी पिउन नपाएको पुस्तौँ भइसक्यो । वि.सं. २०३५ मा निर्माण गरिएका चारवटा सार्वजनिक धारा छन् । यी धारामा दैनिक ४ घण्टाका दरले पानी आउँछ । गाउँमा रहेका दुई सय ६० घरधुरी चारवटा धाराको पानीमा निर्भर छन् । कहिलेकाहीँ धारामा पानी नआउँदा एक घण्टा पैदल दूरीमा रहेको तिला नदीको पानी पिउन बाध्य छन् ।

४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदा पानीको सङ्कट झन् बढ्ने चिन्ता थपिएको छ । पानीको मूल विस्तारै सुक्न थालेको छ । मागअनुसार आपूर्ति नहुने भएकाले गाउँमा खानेपानीकै विषयमा दैनिकजसो झगडा हुने गरेको छ ।

रारागाउँ वरपर पर्याप्त उर्वर जमिन छ । तर, सिँचाइ अभावले गाउँ मरुभूमिजस्तो देखिन्छ । गाउँको तलपट्टि कर्णाली राजमार्गको छेउबाट तिला नदी बगिरहे पनि खेतमा सिँचाइका लागि कुलो नभएको स्थानीय मानसिंह रावतले गुनासो गरे । ‘घरवरिपरिका करेसाबारी बाँझै छन्, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ । उत्पादन हुने उर्वर जमिन त छ, तर सुक्खा छ,’ रावतले भने, ‘नदीको पानी खेर गइरहेको छ ।’

१४ वर्षअघि खानेपानी आयोजना निर्माण थालिए पनि बिचमै रोकिएको थियो । उक्त आयोजना किन रोकियो, कति बजेट खर्च भयो भन्नेबारे स्थानीयले थाहै पाएनन् । सो आयोजनाका लागि ल्याइएको जीआई पाइपलगायतका केही निर्माण सामग्री तिला गाउँपालिका– ८, पुरुगाउँ खोलामा अहिले पनि लथालिङ्ग छन् ।

खानेपानीको समस्या समाधानका लागि हाल गाउँपालिकाले चार करोडको योजना कार्यान्वयनमा ल्याएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोडको ठेक्का आह्वान गरेकोमा चार करोडमा निर्माण कम्पनी शिवदेउती, सुलोचना, बजु जेभीसँग तीन वर्षभित्र खानेपानी गाउँमा पुर्‍याउने गरी सम्झौता भएको छ । पहिलो चरणको काम सुरु भएको गाउँपालिका प्रविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईले जानकारी दिए ।

गाउँमा तीन वर्षभित्र खानेपानी पुर्‍याउने गरी संघीय सरकारबाट प्राप्त विशेष अनुदान अन्तर्गत राष्ट्रिय योजना आयोगबाट विनियोजन जम्मा बजेट ४ करोड ६९ लाखमध्ये गतवर्ष पचास लाख र यो वर्ष एक करोड ५० लाख क्रमागत रकम पालिकामा प्राप्त भएको हो । उक्त योजनाका लागि संयुक्त राष्ट्रसङघीय विकास कार्यक्रम (यूएनडीपी) ले ९५ लाख सहयोग गरेको हो । सो योजनामा एक करोड १० लाख पालिकाले बजेट विनियोजन गरेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।

योजना छिटो सम्पन्न गर्न अनुगमनलाई प्राथमिकतामा राखिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् । तिला–६ बाट रारा गाउँसम्म मुहानको संरचना १५ किलोमिटर लामो छ । गाउँमा खानीपानी निर्माण योजनाको काम अघि बढेपछि स्थानीयवासीमा खुसी छाएको छ ।

आत्महत्या न्यूनीकरणको मार्ग

-नेत्र सुवेदी ‘प्रयास’

जीवनउपर आफैँले रोक लगाउनु वा आफूले आफैँलाई मार्नु नै आत्महत्या हो । आत्महत्या गर्नु भनेको मानव विकास, पुस्ताको निरन्तरता र सामान्य जीवन प्रक्रियाको पनि विपरीत कार्य हो । पश्चिम अष्ट्रेलिया, स्विजरल्यान्ड र अमेरिकाका केही राज्यमा स्वेच्छिक मृत्युको सुविधा भए तापनि हाम्रो देशमा आत्महत्यालाई गैरकानुनी कार्य मानिएको छ । आत्महत्याका लागि प्रयोग भएका नदीमा हेलिने, पुलबाट हाम्फाल्ने, झुन्डिएर मर्ने, विष सेवन गरेर प्राण त्याग गर्ने जस्ता हर्कतहरुले समाजलाई असीमित पीडा दिएको हुन्छ । जब आफन्तजन वा चिनेका व्यक्ति नै आत्महत्या गर्दछन् तब यी घटनाहरु हुन नदिन के गर्न सकिन्छ भन्ने बहस पनि चल्ने गर्दछ । 


समाजशास्त्रका अगुवा व्यक्तित्व फ्रेन्च विद्वान इमाइल दुर्खिमले आफ्नो खोजमूलक पुस्तक सुसाइडः ए स्टडी इन सोसियोलजी (१८९७) मा आत्महत्याको खास कारण मनोवैज्ञानिकभन्दा पनि सामाजिक हुने र व्यक्ति रहेको समाजसँगको अन्तरक्रियामा निर्भर गर्ने बताएका छन् । उक्त पुस्तकमा उनले अहङ्कारी, परोपकारी, असामाजिक र भाग्यवादी गरेर चार किसिमका आत्महत्याको सम्बन्धमा चर्चा गरिएको छ । उनले १९औँ शताब्दीको अन्त्यतिर गरेको विश्लेषणमा सामाजिक एकता कमजोर रहेको भनेका थिए । अहिलेको नेपाली समाजलाई नियाल्दा पारिवारिक विखण्डन र सामाजिक विचलन दुवै बढेको छ भने आत्महत्याको दर पनि बढेर गएको छ । 


विश्वभर वार्षिक करिब आठ लाख मानिस आत्महत्या गर्दछन् । संयुक्त राज्य अमेरिकामा वार्षिक ४५ हजार र नेपालमा वार्षिक सात हजार व्यक्तिले जीवनलाई विश्राम दिनका लागि आत्महत्यालाई रोज्ने गरेको पाइएको छ । अभिलेखमा नआएका कतिपय मामिलाले यो आँकडालाई अझ बढाउने देखिन्छ । जीवनको कुनै न कुनै समयविन्दुमा आत्महत्याको सोच आउनेहरु त करोडौँको सङ्ख्यामा होलान् । यसरी हेर्दा आत्महत्या एक साझा सामाजिक समस्याका रुपमा रहेको छ । अमेरिकामा माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच भएको एक अध्ययनको निष्कर्षअनुसार छजना विद्यार्थीमा एकजनाले आत्महत्याको सोच राख्दछ भने ११ जनामा एकजनाले भने साँच्चै नै आत्महत्या गर्ने गरेको देखाइएको छ । 


आत्महत्याको कारण
आत्महत्याका घटनाहरुको सामाजिक पक्षलाई सर्सर्ति केलाउँदा सानोतिनो असफलतापश्चात् आमाबाबुसँग सामना गर्न नसक्नु, प्रेम सम्बन्ध टुट्नु, उमेर नपुग्दै विवाह गर्नु, प्रेम विवाह गरे पनि बिस्तारै सम्बन्धमा दरार आउनु, अभिभावकबीचको सम्बन्धमा विग्रह आई पारिवारिक वातावरणमा तिक्तता बढ्नु, नवविवाहित जोडीमध्ये कुनै वा दुवै विदेशमा गई भेटघाट लामो समयसम्म नहुनु र सम्बन्ध बिग्रनु, मादकपदार्थ सेवन गरी हिंसाजन्य क्रियाकलाप गर्दा जीवनउपर भरोसा हराउनु, आफ्नै सन्तानबाट हेलामा पर्नुजस्ता कारण देखा पर्दछन् । सामाजिक सञ्जालको स्वच्छन्द प्रयोग पनि सम्बन्धहरु बिगार्ने र अपेक्षा बढाउने कारण भएको छ । तथापि यी कुनै पनि कारण हुँदा मृत्यु नै रोज्नुपर्ने हुँदैन । जुनसुकै अवस्थामा पनि यो अमूल्य जीवन जिउनु नै उत्तम हो । बढ्दो अपेक्षाबीच अधैर्यता बढेको र स्वयम्लाई सन्तुलनमा राख्ने ऊर्जा हराउनेजस्ता कारण भने मुख्य रुपमा जिम्मेवार देखिन्छन् । 


दुर्लभ छ जीवन 
हाम्रो जीवन भनेको महासागर जस्तै हो । सागर भनेपछि यसमा फरकफरक अवस्था पटकपटक आइरहन्छन् । तथापि, सागर हुनुको पहिचान कायम हुन्छ । कहिले शक्तिशाली आँधी आउँछ टोर्नेडो चल्दछ, कहिले सामान्य तरङ्गहरु तरङ्गित भइरहेका हुन्छन् भने कहिले सागर पनि शान्त रहन्छ । हुन त जीवनमा देखापर्ने जुनसुकै समस्याको समाधान हुन्छ । जीवनबाटै बाहिर जान खोज्नु कदापि समाधान होइन । यो त भागेजस्तो हो । आत्महत्या एक दुःखद घटना त हुँदै हो तर यो यसबाहेक अपराध पनि हो । मनन गर्नुपर्ने विषय के छभने मानवीय जीवन प्राप्ति नै आफैँमा एउटा दुर्लभ घटना हो । 


सिद्धार्थ गौतमले सानो उमेरमै बिमारी, बुढो र मृत्यु भएको मानिस देख्दा पीडा भएको र कारण सोधेको प्रसङ्ग छ । उनले मानव जीवनका सम्बन्धमा भनेका छन् कि मानव जीवन भनेको पीडाहरुले भरिएको छ । पीडा र दुःखहरुको कारण हुन्छ र समाधानको उपाय पनि हुन्छ । समाधानतर्फ नलागेर मरेर अर्को जन्म लिन्छु भनेर आत्महत्या गरिहाल्यो भने पनि अर्को जन्म पनि पीडारहित त हुँदैन भन्ने मनन गर्नुपर्दछ । दुःख चिन्ताको सोचाइ नै नआउने त को होला र ? त्यस्तो सोचाइ आउँदा आफूमा देखिएका संवेगहरु लुकाउनु ठीक होइन । ती संवेगलाई आफूले अनुभूत गर्ने र लुकाउनुको सट्टा आफ्नो मिल्ने र विश्वासको साथी वा आफन्त वा परिवारजनलाई सुनाउनु उपयुक्त हो । उक्त व्यक्तिले भन्ला कि मलाई पनि यस्तो भएको थियो आत्तिनु पर्दैन । घुम्न जाउ वा योगध्यान गर वा अध्ययन गर वा यो फिल्म हेर वा खेल हेर्न जाउ वा यस्तै । आत्महत्याको सोचबाट टाढा बस्ने अर्को उपाय भनेको स्वयम्लाई प्रेम गर्नु पनि हो । आफूलाई बलियो बनाउनका लागि अन्तरआत्माले के मागेको छ के कुरामा रुचि छ, जायज माग पूरा गर्ने र राम्रा उपलब्धि भएका बखत आफूलाई पुरस्कृत गर्ने अर्थात् स्वयम्लाई बधाई ज्ञापन गर्ने पनि गर्नु पर्दछ । म भगवान्को असल आत्मा हुँ र मैले मलाई नै प्रेम गर्छु जस्ता भाव जागृत गर्नु पनि असल जीवनका लागि उपयोगी हुन्छ । 


सद्गुरुले भन्नुभए झैँ हामी हाम्रो शरीरको असली सिर्जनाकार होइनौँ । आफूले सिर्जना नगरेको हुँदा अन्त्य गर्ने अधिकार हामीलाई छैन । हामीले त दीर्घकालसम्म प्राप्त गर्नेगरी जीवनको लक्ष्य निर्धारण गर्न सक्नुपर्दछ । एकपटक विचार गरौँ न आत्महत्या गर्नेले आफूलाई सम्हाल्न नसकेर प्राण त्याग्दछ तर के थाहा ऊ संयमित भएर बाँचेको भए जीवनमा नयाँ मोड पनि आउन सक्थ्यो । समयसँगै राम्रा कुराले पर्खेको हुन सक्छ धैर्यता राख्न सक्नुपर्दछ । जीवन रह्यो मात्रै भने पनि खुसीपूर्वक जिउने र प्रगति गर्दै जाने परिवेश देखापर्न सक्छ । 


मानव मस्तिष्कमा ‘सेरोटोनिन’ नामक तत्वको कमी भयो भने तनाव बढी हुन्छ भनिन्छ । यस्तो तत्व जागृत गर्नका लागि योगध्यान साधना सहयोगी हुने देखिन्छ । यस्तो खालको ध्यानको उपादेयता थाहा भयो भने व्यक्तिले नियमित रुपमा ध्यान गर्ने सम्भावना हुन्छ । ध्यानका बखत दिमाग सजग र शरीरलाई सहज भयो भने मात्र यसको प्रभाव राम्रो पर्दछ । योगका बेला पनि मन भागिहाल्यो भने त्यसलाई समातेर पुनः योगमा लगाउनुपर्ने हुन्छ । भावनाहरु मनमा आउँदा त्यसलाई हेर्ने तर प्रतिक्रिया नजनाउने गर्नुपर्दछ । फलस्वरुप तनावमा कमी आउने, आपसी सम्बन्धहरुमा सुधार हुने र जीवन जिउन सरल हुन्छ । क्षमा माग्ने र क्षमा दिने कलाको विकासले पनि मानिसको मनको भारी हलुका हुन जान्छ । रिस, घमण्ड, इष्यारुपी संवेगको भारी बोकेर हिँड्दा त्यस्तो व्यक्तिले गर्ने व्यवहार पनि खराब हुन्छ र पछि पछुताउनुपर्ने हुन्छ । 


मनको स्वस्थता आवश्यक
चेतनशील प्राणी भएको हुँदा मानवमा संवेग उत्पन्न हुनु स्वाभाविक नै हो । मानिस मेसिन वा रोबोट हैन । चिन्तनशील प्राणी भएको हुँदा थरीथरिका संवेगहरु आइरहन्छन् तर कुन संवेगलाई कतिबेला प्रयोग गर्ने र कसरी गर्ने भनी छनोट गर्ने भने सम्बन्धित व्यक्तिले नै हो । मनमा उठ्ने विचारले व्यक्तिमा भावनाहरु तरङ्गित हुन्छन् । भावनाको किसिमअनुसार शरीरमा पनि छटपटी वा ऐँठन जस्ता असर देखा पर्दछन् भने व्यवहारमा पनि नकारात्मक असर देखापर्दछ । तर एउटा विषय के पेचिलो छभने एउटै घटनामा परेका दुई फरक व्यक्तिलाई फरक खालका भावना आउन सक्छ । कुनैमा प्रतिशोधको भावना त अर्कोमा सहयोगको भावना । मनोविश्लेषक डा करुणा कुँवरका अनुसार आत्महत्या गर्ने सोचाइ राखेका ९९ प्रतिशत व्यक्तिले आत्महत्या गर्ने अभिव्यक्ति दिन्छन् । व्यक्तिमा केही गर्न सक्छु भन्ने आशा जब कमजोर हुँदै जान्छ, तब उसले जीवन जिउनुको अर्थ देख्दैन । त्यति नै बेला उसले परिवारको सदस्य वा साथीसमक्ष खुलेर कुरा गर्नुपर्दछ र सुन्नेले सो कुरालाई गम्भीरतापूर्वक लिएर किन आत्तिएको म तिम्रो साथमा छु नि सबै ठीक भएर जान्छ भनेर उसलाई एक्लै हुने अवसर नदिएमा समस्या हटेर जान्छ । आत्महत्याको विचार पनि अरू विचार जस्तै अनित्य वा अस्थायी हुन्छ । यदि कुरा अरूलाई भन्दैन तर उसको आनीबानी हेर्दा चिन्तित छ, काममा जान पनि जाँगर गर्दैन, खाना खानसमेत मान्दैन, उसको रुचिका विषयहरुमा समेत रमाउँदैन भने मनोविद्समक्ष लगेर नियमित परामर्श लिने अवस्थाको सिर्जना गर्न सकिन्छ । 


शरीर मात्र हैन, मन पनि बिमारी हुन सक्छ भन्ने जागरण बढ्दै गएको छ । मानसिक रोग लाग्दा लाञ्छना लगाउने कि उसलाई उपचारको उचित प्रबन्ध गर्ने हामी परिवार, समाज र साथीभाइको बुझाइमा निर्भर गर्दछ । परिवारभित्रकै अभिभावक र अन्य सदस्य पनि संवेदनशील हुन जरुरी छ । परिवारले स्वीकार गरेन भने समुदायले समेत अस्वीकार गर्ने सम्भावना बढेर जान्छ । सुरक्षित यौन व्यवहारका विषयमा समेत खुला छलफल र संवाद हुन जरुरी छ । शारीरिक सुख भावनात्मक सुखभन्दा फरक अर्थ राख्दछ । अब्राहम मास्लोले आधारभूत आवश्यकता शरीरको आवश्यकतासँग सम्बन्धित रहेको र ती आवश्यकता पूरा भएपश्चात् क्रमशः मन र आत्मासँग सम्बन्धित आवश्यकता जागृत हुने बताएका छन् । यद्यपि, आफ्नो शरीर र मनमा उत्पन्न भएको संवेगउपर नियन्त्रण गर्नसक्ने, जिम्मेवारी लिनसक्ने हुनुपर्नेमा अरूमा निर्भर वा अरूलाई दोष थुपार्ने प्रवृत्ति हुँदा समस्या उत्पन्न भएको हुन्छ । असफल हुँदा के कस्तो सुधार आवश्यक छ भन्नेतर्फ त्यही असफल प्रयत्नबाट पाठ सिकेर आशावादी हुँदै अगाडि बढ्न सकिन्छ । मानवीय जीवनका भौतिक, बौद्धिक, भावनात्मक र आध्यात्मिक आयाममध्ये पछिल्ला दुई आयामहरुलाई समेत महत्व दिन सकेमा जीवन सन्तुलित बन्दछ । नियमित साधनाबाट कतिबेला मौन रहने, के कसरी अभिव्यक्ति दिने र सार्वजनिक रुपमा अभिव्यक्ति दिँदा विषयमा ख्याल गर्ने भन्ने समेत सिक्न सकिन्छ । 


संस्कार र साधना
व्यक्तिमा कहीँ जान वा कसैसँग बोल्न डराउने सानो कुरामा प्रतिक्रिया जनाउने बानी छभने बुझ्नुपर्दछ कि उक्त व्यक्तिसँग ऊर्जा कम छ । शक्ति बढाउनका लागि नयाँ ढङ्गले जिउन र साधना गर्न आवश्यक छ । प्रवचन वा सङ्गीतमार्फत ऊर्जायुक्त भावनाको तरङ्ग प्रवाह गर्दा पनि सत्सङ्गमा रहनेहरुमा ऊर्जा वृद्धि हुन्छ । त्यस्तै, प्रकृतिसँग रमाउने क्रियाकलापमा सरिक हुनु उपयुक्त हुन्छ । करेसाबारीमा काम गर्ने, खेतीपाती, पशुपालन, फलफूल खेती लगायतका विकल्पहरु पनि हामीसँग छन् । फुर्सदको समयमा कौसीखेती गरेरै पनि सहरका बासिन्दाले ताजा चीजबीज जुटाएका मात्र हुन्नन् कि आफूलाई समेत चुस्त राख्ने प्रयास गरेका हुन्छन् । वास्तवमा अल्छी गर्नु भनेको सुख पाउनु कदापि हैन र मेहनत गर्नु दुःख पनि होइन । संस्कृतमा भनिएको छ– आलस्यं हि मनुष्याणां शरीरस्थो महान् रिपुः । नास्त्युधमसमो बन्धुः कृत्वा यं नावसीरति । यसको अर्थ हुन्छ ‘आलस्य नै मनुष्यको महान् शत्रु हो । उद्यम बराबरको अरू मित्र छैन । मेहनत गरेर कसैले दुःख पाउँदैन ।’ त्यस्तै छिटोभन्दा छिटो धन कमाउने सबैलाई खुसी राख्ने र जुनसुकै माध्यमबाट भए पनि धनसम्पत्ति कमाउने इच्छा राख्नु उपयुक्त होइन । लोभ र मोहले राम्रो गर्न खोज्दा अप्ठेरोमा पार्न सक्छ । 


अर्को एउटा श्लोक छ : लोभात् क्रोधः प्रभवति लोभात् कामः प्रजायते । लोभान् मोहश्च नाशश्च लोभः  पापस्य कारणम् । यसको अर्थ हुन्छ कि ‘लोभबाट क्रोध उत्पन्न हुन्छ लोभबाट पञ्चन्द्रीय सिर्जित विषय वासना जाग्दछ र मोहले नाश हुन थाल्दछ र लोभ नै पापको कारण बन्दछ ।’ त्यसैले पनि नागरिक तहसम्म नै असल जीवन प्रणाली र साधनाको सामूहिक वातावरण सिर्जना गर्नका लागि सबैको सहयोग र सहकार्य आवश्यक पर्ने देखिन्छ । भवतु सब्ब मङ्गलम् ।

(लेखक बाग्लुङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ)

पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्याँस प्रहार

पोखरा । पोखरामा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले मंगलबार अश्रुग्याँस प्रहार गरेको छ । मंगलबार रास्वपाका नेता कार्यकर्ताले रत्नचोकहुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । पार्टी सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ता प्रदर्शन उत्रिएका छन् ।

उनीहरुले राजनीतिक पूर्वाग्रह राखेर पार्टी सभापतिलाई पक्राउ गरेको भन्दै विरोध प्रदर्शन गर्दै आएका छन् । लामिछानेलाई तेस्रो पटक म्याद थप गर्न मंगलबार कास्की जिल्ला आदालतमा उपस्थित गराइएको छ ।

इजरायलद्वारा सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालय लक्षित आक्रमण

इजरायल । इजरायली सेना (आईडीएफ)ले सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएर आक्रमण गरेको छ ।

सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट साझा गर्दै आईडीएफले भनेको छ, ‘आईडीएफल सिरियामा हिजबुल्लाहको गुप्तचर मुख्यालयसँग सम्बन्धित आतंककारी लक्ष्यहरूमा हवाई आक्रमण गरेको थियो।’

यसअघि, इजरायली सेनाहरू इरानी एजेन्टहरूसँग काम गरिरहेका आतंककारी कार्यकर्तालाई पक्राउ गर्न सिरियामा प्रवेश गरेका आइडिएफले आइतबार साँझ खुलासा गरेको थियो।

एलिट एगोज कमाण्डो युनिटका सैनिकहरूले दक्षिणी सहर सैदामा बस्ने सिरियाली नागरिक अली सुलेमान अल–आदीलाई पक्राउ गरेका छन् ।

आईडीएफका अनुसार, अल–आदीले भविष्यको आतङ्कवादी गतिविधिका लागि सीमामा रहेर इजरायली सेनाका बारेमा खुफिया जानकारी सङ्कलन गरेका थिए । आईडीएफले अल–आदवास निगरानीमा रहेको र अहिले सोधपुछका लागि इजरायलमा रहेको बताएको छ।

आईडीएफले अल–आदीको फुटेज पनि जारी गरेको छ जसमा उनले सोधपुछकर्ताहरूलाई आफूलाई इरानले कसरी भर्ती गरेको थियो भनेर बताएका छन् ।

हालैका दिनहरूमा अक्टोबर २६ मा इजरायली वायुसेनाले सैन्य आधार र हवाई रक्षा प्रणालीहरूमा आक्रमण गरेपछि इरानी अधिकारीहरूले आक्रमणको बारेमा आफ्नो बयानबाजी बढाएका छन्।

मस्कको राजनीतिक समूहले ‘स्विङ स्टेट’मा १० लाख डलर वितरण गर्न पाउने फैसला

बीबीसी । इलोन मस्कको राजनीतिक समूहले अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक हुने ठानिएका विभिन्न ‘स्विङ स्टेट’मा १० लाख डलर वितरण गर्न पाउने फैसला एक न्यायाधीशले सुनाएका छन् । मस्कको अमेरिका ’पीएसी’ले पुरस्कार दिने उक्त अभियान मङ्गलबार सम्पन्न हुनेछ ।

अन्तिम प्रापक छनोट भइसकेको अमेरिकी धनाढ्यका वकिलले सोमबार भएको एउटा सुनुवाइमा बताएका छन् । सबैलाई छक्क पार्ने गरी ती वकिलले पुरस्कार प्राप्त गर्ने व्यक्तिहरू चिट्ठाको विधिबाट नछानिएको बताए।

उनका अनुसार सबै विजेताको नाम सो समूहले नै छानेको हो । फिलाडेल्फियाका सरकारी वकिल लरेन्स क्र्यास्नरले निर्वाचनमा महत्त्वपूर्ण प्रभाव पार्ने ठानिएका ट्रम्प वा ह्यारिस ‘जोसुकैको पक्षमा पनि जान सक्ने’ राज्यहरूका एक मतदातालाई मतदानको दिनअघिसम्म प्रत्येक दिन १० लाख अमेरिकी डलर दिने बताएका थिए ।

समाचारसंस्था एपीका अनुसार पेन्सिल्भेनियाका न्यायाधीश एन्जेलो फोग्लिएटाले उक्त फैसला दिनुको कारण खुलाएका छैनन्। तर सुनुवाइ भएको केही घण्टापछि नै उक्त आदेश आएको हो ।

सोमबार अमेरिका पीएसीले एरिजोनाका जोशुआ भन्ने व्यक्तिले उक्त दिनको पुरस्कार पाएको घोषणा गरेको थियो । मस्कले सञ्चालन गरेको पीएसीले सामाजिक सञ्जाल ’एक्स’मा चुनावको दिनसम्म आफ्नो अभियानमा सहभागी हुने अमेरिकी मतदातामध्येबाट छानिएका एक व्यक्तिलाई प्रत्येक दिन १० लाख डलर पाउन छानिने बताएको थियो ।

तोलामा २८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । तिहारपछि सुनको मूल्य तोलामा २८ सय रुपैयाँ घटेको छ । तिहारअघि गत बिहीबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार १०० रुपैयाँ पुगेको थियो । मंगलबार १ लाख ६८ हजार २०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा पनि मूल्य घटेको हो । चाँदीको भाउ तिहारपछि तोलामा ६० रुपैयाँ घटेको छ । गत बिहीबार प्रतितोला २०९० रुपैयाँ रहेको चाँदी आज २०३० रुपैयाँ कायम भएको छ ।

रविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

पोखरा । सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

कास्की प्रहरीले अनुसन्धानका लागि आज तेस्रो पटक म्याद थपको अनुमति माग्न अदालतमा उपस्थित गराएको हो । अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । यसबीचमा तिहार बिदा परेका कारण उनलाई आज अदालतमा उपस्थित गराइएको हो ।

लामिछाने सहकारीको रकम अपचलन र सङ्गठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए । प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एक साथ अनुसन्धान गरिरहेको छ ।

महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन व्यस्त

महोत्तरी । महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउने काममा व्यस्त छन् । जिल्लाका चिनी उद्योगमा उखु क्रसिङको अत्तोपत्तो नभएपछि किसानले धमाधम उखु पेल्न थालेका हुन् ।

चिनी उद्योगले कहिले क्रसिङ सुरु गर्ने भन्ने तालिका नै नबन्दा अहिले घरखर्च र चाडपर्वका लागि खर्चको जोहो गर्न उखु पेल्न थालिएको किसानको भनाइ छ । अहिले जिल्लाका उखु मुख्य बाली लगाइने गौशाला, भङ्गाहा र बर्दिबास नगरक्षेत्रका बस्तीबस्तीमा किसानका घरघरै उखु पेल्ने र रस पकाएर सख्खर बनाउने व्यस्तता देखिएको छ ।

“कात्तिक हामी किसानलाई खर्चवर्चको निकै अभाव हुने बेला हो, यसैबेला दीपावली र छठजस्ता महत्त्वपूर्ण पर्व पर्छन्”, भङ्गाहा–४ का किसान रामउद्गार महतो भन्छन्, “त्यसैले आफ्नै उखु पेलेर खर्चवर्चको जोहो गर्दैछौँ ।” कात्तिकलाई यहाँका किसान ‘तेह्रौँ मास’ (तेह्रौँ महिना) भन्ने गर्छन् । आम्दानीका क्षेत्र खासै नहुने र खर्च अन्य महिनाभन्दा बढ्ने हुँदा यसलाई प्रतिकात्मक रूपमा तेह्रौँ महिना भन्ने गरिएको किसान बताउँछन् ।

अहिले दीपावली अघिदेखि उखु पेल्न थालेका किसानले छठसम्मै यस कामलाई निरन्तरता दिने गरेका छन् । दीपावली र छठ दुवैमा सख्खरको माग निकै हुने र यसबेलाको नयाँ सख्खरले राम्रो बजार भाउ पाउने गरेको बर्दिबास–७ प्रेमनगरका रामदेव महतो बताउँछन् । दीपावली र छठपर्वमा उपभोक्ताले नयाँ सख्खर मन पराउँछन् ।

अहिले सख्खर बजारमा रु एक २० प्रतिकिलो बिक्ने गरेको छ । यो चिनीको भन्दा चलनचल्तीको बजार भाउमा रु ३० प्रतिकिलो बढी हो । तर दीपावलीका सेल र छठका ठकुवा चिनीभन्दा सख्खरमा राम्रो हुने हुँदा अलिकता महँगो भए पनि उपभोक्ताको रोजाइमा सख्खर पर्ने गरेको हो । यसबाहेक सामाजिक सञ्जालमा लगातार विभिन्न रोगबाट बच्न चिनीको प्रयोग कम गर्न र त्यसको सट्टा गुलियोका लागि सख्खर प्रयोग गर्न सन्देश प्रवाह भइरहनुले पनि सख्खरको बजार बढाउन सहयोग पुर्याएको बर्दिबास–१ का सामाजिक कार्यकर्ता भोजप्रसाद (शङ्कर) फुँयाल बताउँछन् ।

जिल्लामा अहिले सात हजार बिघामा उखुखेती छ । जसमध्ये चार हजार बिघाको खुट्टी उखु (एकपटक रोपिएको उखुको दुई वर्षको बाली लिइन्छ, पहिलो वर्षको लाई ‘मुडन’ र दोस्रो वर्षको लाई ‘खुट्टी’ भनिन्छ )। अहिले किसानले दोस्रो वर्षको उखु पेलेर सख्खर बनाउँदै गरेका हुन् । मुडनमा पुस नलागी राम्ररी रस नपस्ने र खुट्टीचाहिँ कात्तिकमै तयार हुनेहुँदा किसान अहिले खुट्टी पल्न थालेका उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए ।

मधेसका रौतहटसहितका केही जिल्लाका चिनी उद्योगले क्रसिङ सुरु गरे पनि महोत्तरीमा थालिएको छ्रैन । प्रत्येक वर्षजसो हिउँद लागेपछि उखुको मूल्य निर्धारणसम्बन्धी टु्ङ्गो समयमा नलाग्दा किसान समस्यामा पर्ने गरेका छन् । कात्तिक मसान्तभित्रै सरकारले उद्योग र उखु उत्पादक किसानबीचको सहमतिबाट मूल्य निर्धारण गरिदिन पर्ने माग सुनवाइ नभएको अध्यक्ष कुशवाहाले गुनासो गरे ।

बेमौसमी वर्षाले धान बालीमा क्षतिहुँदा किसान मारमा

राँझा (बाँके) । सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्‍याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ । वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्‍याएको नेपालगञ्ज-१७ परसपुरका किसान रामसुरत बर्माले बताए ।

दुई बिघा खेतमा लगाएको मसिनो जातको धान काटेर स्याहार्ने बेला गए रातिको वर्षाले भिजाएर ठूलो क्षति भएको उनको भनाइ छ । केही दिनदेखि मौसम पूर्ण रूपमा नखुलेका बेला डराइडराई धान काटेका किसानलाई वर्षाले निराश पारेको छ ।

नेपालगञ्ज-१७ थुकैलागाउँकी किसान मायावती यादवले वर्षभरि खाने धान क्षणभरमै भिजेर नष्ट भएको बताए । उनले भने, “धान काटेको तीन दिन भयो, दीपावली मनाएर घर लैजाने भनेको पानीले रुझायो, अब धान र पराल काम नलाग्ने भयो ।”

बेमौसमी वर्षाले धान स्याहार्न नपाएका यहाँका किसानलाई चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि अर्थ विज्ञ विनोद घिमिरेले बेमौसमी वर्षाले काटेको धानमा ठूलो क्षति पुर्‍याएको बताए।

“अचानक परेको पानीले अन्य बालीमा असर नपुगे पनि काटेको धानलाई क्षति पुर्‍याएको छ, के कति क्षति भयो भन्ने तथ्याङ्क सङ्कलनमा लागेका छौँ”, उनले भने, “बाँकेमा छिटो पाक्ने धान किसानले स्याहारिसकेका छन्, ढिलो पाक्ने धान भित्र्याउने बेला क्षति पुगेको छ ।”

उनले छिटो पाक्ने धान रोपेका बाँकेका अधिकांश किसानले धान स्याहारेर गहुँ, तोरीखेतीका लागि खेत तयारी गरिरहेको जानकारी दिए । करिब ६० प्रतिशत बढी किसानले धानबाली भित्र्याइसकेको अनुमान रहेको प्रमुख घिमिरेले बताए । बाँकेमा यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएकामा बेमौमी वर्षाले धानबालीमा क्षति पुर्‍याएको छ ।

म्याग्दीमा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र

म्याग्दी । म्याग्दीमा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, सबस्टेशन, अस्पताल, खानेपानी, सेवा प्रदायक कार्यालयको भवन, मोटरेबल पुललगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ ।

स्थानीय तह, सङ्घीय, प्रदेश सरकारमार्फत सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि निर्माण पूरा नहुँदा र निरन्तरता नपाउँदा अलपत्र बनेका हुन् । अलपत्र पर्नेमा गण्डकी प्रदेश सरकारका तीन, सङ्घीय सरकारका पाँच र स्थानीय तहका चारवटा छन् ।

पाँचवटा सडक, चारवटा भवन, सबस्टेशन र खानेपानीसम्बन्धी एक-एकवटा आयोजना छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोवार प्रवर्द्धक रहेको रु सात अर्ब लागत अनुमान गरिएको राहुघाट जलविद्युत् र रु तीन अर्ब लागत अनुमान गरिएको डाँडाखेत-राहुघाट प्रसारण लाइनबाहेकका अलपत्र र अधुरा आयोजनाको लागत रु दुई अर्बभन्दा बढी छ ।

प्रशासनिक, राजनीतिक र व्यावसायिक पहुँच भएका निर्माण व्यवसायीको अटेरी, आयोजना र कार्यालय प्रमुख तथा सरोकारवालाले चासो नदिनुका साथै पर्याप्त बजेट नआउने, निर्माण व्यवसायीले उपकरण, मजदुर परिचालन र निर्माण सामग्री जुटाउन नसक्दा आयोजना अलपत्र बनेका म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

स्थानीयस्तरको विवाद समयमै सहजीकरण र समाधान नहुनु, नदीजन्य निर्माण सामग्रीको असहजता, स्वार्थ समूहको चलखेल, अनुगमन र नियमन गर्ने पर्याप्त प्राविधिक जनशक्तिको कमी पनि आयोजना अलपत्र हुनुका कारण देखिएका छन् ।

रातोढुङ्गा सबस्टेशन, बेनी-जोमसोम-कोरला, लाम्पाटा-दरवाङ, मालढुङ्गा-बेनी सडक, दाङखोलाको मोटरेबल पुल निर्माणकार्य अलपत्र बनेका छन् । बेनी अस्पताल, ताकम अस्पताल, मङ्गला अस्पताल र धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन, रत्नेचौर लिफ्ट खानेपानी र रावण पार्कलगायत आयोजना पनि अलपत्रको सूचीमा छन् ।

सम्बद्ध कार्यालयका अनुसार अलपत्र परेकामध्ये केही आयोजना तीन-चार वर्षअघि नै निर्माण सकिनुपर्ने थियो । म्याग्दी प्रदेशसभा (२) बाट निर्वाचित गण्डकी प्रदेशका पूर्वमन्त्री रेशम जुग्जालीले अलपत्र आयोजना पहिचान गरी निर्माणलाई गति दिन सम्बद्ध कार्यालय, आयोजना, प्रदेश र सङ्घीय मन्त्रालयमा ताकेता गरिएको बताए ।

“प्रत्येक आयोजनाको एक–एक अध्ययन र समस्या पहिचान गरी निर्माणलाई अघि बढाउन स्थानीय तह, प्रशासन, आयोजना, निर्माण व्यवसायीसँग समन्वय गरेका छौँ”, उनले भने, “दुई वर्षअघि हामी निर्वाचित हुँदा म्याग्दीमा रु चार अर्ब ५० करोड लागतका १९ वटा ठूला आयोजना अलपत्र रहेकामध्ये नौवटा सम्पन्न भएका छन् ।”

प्रदेश सरकारमार्फत सञ्चालित बेनी-दरवाङ सडकको सिम-रणवाङ, रत्नेचौर-बेनी, पिप्ले-भगवती सडक, छ्यारछ्यारे, अर्गला र भारवाङघाटको मोटरेबल पुल निर्माणले पूर्णता पाएका हुन् ।

सङ्घीय सरकारले सञ्चालन गरेको अधुरो अवस्थामा रहेको पोखरेबगर-चित्रे सडक, पोखरेबगरको घारखोला-मोटरेबल पुल र मल्कवाङ स्वास्थ्यचौकीको भवन निर्माणले पूर्णता पाएको छ । नागरिक, राजनीतिक, प्रशासनिक र सञ्चार क्षेत्रबाट पनि अधुरा आयोजनालाई पूर्णता दिन चौतर्फी दबाब सृजना गराउन प्रदेशसभा सदस्य जुग्जालीले आग्रह गरे ।

एकीकृत समाजवादी ‘एक पद एक व्यक्ति’ को संरचनामा जाने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ ।

सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिइएको हो ।

पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारी कार्यविभाजन गर्न लागिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको छ । कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी गरेको पार्टीले जनाएको छ ।

नेताहरूको सक्षमता, विगतका कार्यसम्पादनको मूल्याङ्कन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा साङ्गठनिक संरचनामा कार्यविभाजनका लागि गृहकार्य गरेको सचिव पाण्डेले बताए ।

अध्यक्ष नेपाल विदेश भ्रमणमा रहेकाले उनी स्वदेश फिर्ता भएपछि पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इन्चार्ज तोकिने र आवश्यकतानुसार अन्य नेताहरूको कार्यविभाजन गरिने जनाइएको छ ।

पार्टीले समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको सचिव पाण्डेयले जानकारी दिए ।

पोखरीमा कार डुब्दा बेपत्ता भएका दुईजना मृत फेला

सर्लाही । सर्लाहीमा पोखरीमा कार डुब्दा बेपत्ता भएका दुईजना मृत भेटिएका छन् । गौशाला नगरपालिका–१० का ३८ वर्षीय सुरेश महतो र सोनमा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर मृत भेटिएका हुन् ।

उनीहरूको शव प्रहरीले पोखरीबाट बाहिर निकालेको छ । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा मंगलबार बिहान डुबेको थियो । कार डुब्दा दुईजना बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका छन् ।

घटनालगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिए ।

टोलीले दुई जनाको शव फेला पारेको हो ।कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक

काभ्रे । गत असोज दोस्रो साता बाढीपहहिरोका कारण क्षतिग्रस्त भई अस्थायी रुपमा एकतर्फि सञ्चालनमा ल्याइएको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको सडकखण्डमा लगाइएको रोक कायमै राखिएको छ । 

उक्त सडकखण्डमा जोखिमका कारण गत असोज ३० गतेदेखि राति १०  घण्टा यातायात सञ्चालनमा लगाइएको रोक कायमै राखिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

सुक्खा पहिरो जान सक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालयद्वारा रोक लगाइँदै आइएको हो । सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले अस्थायी रुपमा निर्माण गरिएको सडकमा पहिरो आउन सक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको जानकारी दिए ।

करिब आठ किलोमिटर उक्त सडकखण्डका विभिन्न स्थानमा सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फि यातायात सञ्चालन हुने गरी अस्थायी सडक निर्माण गरिएको छ । 

कार्यालयले उक्त सडकखण्डमा ट्रयाक मर्मत–सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य गर्नुपरेकाले पनि साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाउँदै आएको जनाएको हो । असोज अन्तिम सातादेखि वैकल्पिक ट्रयाक निर्माण गरेर उक्त रुटमा परमिट भएका यात्रुवहाक वस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । 

पूर्वी नेपाल जोड्ने छोटो दुरिका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधान आउजाउ गर्छन् । बाढीपहिराले राजमार्गको कूल एक सय ६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किलोमिटर गरी ८४ किलोमिटर सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको कार्यालयले जनाएको छ ।

मेलिनाको ‘थानकोट भिरालो’

काठमाडौं । ‘थानकोट भिरालो’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ। मेलिना राई र श्रीधर अधिकारीको स्वरमा ‘थानकोट भिरालो’ आएको हो ।

गीतका शब्द स्वाभिमान सुवेदीले लेखेका हुन् भने संगीत गायक श्रीधर अधिकारीकै छ । संगीत विशाल निरौलालेसंयोजन गरेका छन् । भिडियोमा अर्जुन सापकोटा, जुनु एसडी, स्वाभिमान सुवेदीलगायत फिचर्ड छन् ।

विशाल घिमिरेको निर्देशन रहेको भिडियोलाई दीपक गिरीले छायांकन, अमृत चापागाईँले सम्पादन गरेका हुन् ।

नरेश श्रेष्ठ स्मृति क्रिकेटमा सुदूरपश्चिम र कर्णाली विजयी

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष यु–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् । मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई एक सय २३ रनले तथा बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गरेको हो ।   

मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ८३ रन बनायो । सुदूरका लागि सुवराज खत्रीले ४४ रन, अभिषेक थापाले ३७ र नरेन भट्टले २४ रन बनाए । बलिङतर्फ कोशीका सौजन घिमिरेले चार तथा विपिन महतोले दुई विकेट लिए । 

एक सय ८४ रनको विजयी लक्ष्य पाएको कोशीले २२ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनायो । कोशीका लागि सौजन घिमिरेले २६ तथा आशिष मगरले १३ रन बनाए । बलिङतर्फ सूदुरपश्चिमका लागि  सचिन भट्टले पाँच तथा नरेन भट्टले चार विकेट लिए । 

यस्तै अर्को खेलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभरमा सबै विकेट गुमाइ एक सय ३३ रनको योगफल बनायो । कर्णालीका लागि हीरालाल चनराले ४५, मनिस थापाले २२ रन र यूनिस ठकुरीले २१ रनको योगदान दिए । बलिङतर्फ मधेशका राजेश यादवले चार तथा अफ्रुदिन रैनले तीन विकेट लिए । 

एक सय ३४ रनको लक्ष्य पाएको मधेशले २७ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ८६ रन मात्र बनायो । मधेशका लागि मयन यादवले १५ र जितेश मण्डलले १३ रन बनाए । 

बलिङतर्फ कर्णालीका विपीन शर्माले चार तथा यूनिस ठकुरीले तीन विकेट लिए । कर्णाली दुई अङ्कका साथ अन्तिम स्थानमा तथा मधेश प्रदेश चार अङ्कका साथ पाँचौ स्थानमा छ । मङ्गलबार बैजनाथपुरको  गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्बिनी र मधेश प्रदेशबीच तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा बागमती र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति

तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले इरानमा बी-५२ बमवर्षक विमान तैनाथ गरिएपछि अमेरिकाको आलोचना गरेका छन् ।

‘यस क्षेत्रमा अमेरिकाको उपस्थिति अस्थिर भएको हाम्रो बुझाइ रहेको छ’, बाघाईले एक पत्रकार सम्मेलनमा भने, ‘यसले आफ्नो रक्षा गर्ने (इरानको) सङ्कल्पलाई रोक्न सक्दैन ।’

अमेरिकी सेनाले शनिबार मध्यपूर्वमा बी-५२ बमवर्षक विमान तैनाथ गरिने चेतावनी इरानलाई दिएको छ ।

अक्टोबर १ मा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले इरान समर्थित लडाकू नेता र रिभोल्युसनरी गार्डका कमान्डरको हत्या गरेको थियो । यसको बदलामा पुनः इजरायलले इरानविरूद्ध आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा परी कम्तीमा चार सैनिकको मृत्यु हुनुका साथै केही राडार प्रणालीमा ‘सीमित क्षति’ पुगेको अधिकारीहरूले बताएका छन् । इरानी सञ्चारमाध्यमले पनि एक जना सर्वसाधारणको मृत्यु भएको जनाएका छन् ।

बघाईले इरानको प्रतिक्रिया ‘निश्चित र निर्णायक’ हुने बताएका छन् ।

इरान समर्थित हमास र हिजबुल्लाह सशस्त्र समूहसँग इजरायल युद्धरत गाजा र लेबनानमा युद्धविरामका लागि दबाब दिन इरानले ‘सबै पहल र प्रयास’लाई समर्थन गरेको उनले बताए ।

इजरायलले अक्टोबर २६ मा इरानको प्रतिरक्षा क्षमता र क्षेप्यास्त्र उत्पादनलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो ।

सोमबार इरानका राष्ट्रपति मसुद पेजेशकियानले इरानसँग क्षेप्यास्त्र रहेको भन्दै इजरायलले हामीमाथि आक्रमण गर्ने आँट नगर्ने बताएका थिए ।

पत्रकार सम्मेलनमा बघाईले इरानले आणविक सिद्धान्त परिवर्तन नगर्ने र आणविक अस्त्रको अनुसरण नगर्ने आधिकारिक अडान यथावत रहेको बताए ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको हालैको सम्बोधनलाई उद्धृत गर्दै बघाईले इस्लामिक गणतन्त्र इरान आफ्नो रक्षाका लागि आवश्यक सबै कुराबाट सुसज्जित हुने बताएका थिए ।

जापानद्वारा रक्षा सञ्चार उपग्रहसहितको एच–थ्री रकेट प्रक्षेपण

टोकियो । जापानले सोमबार कागोशिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट आफ्नो ध्वजाबाहक नयाँ एच–थ्री रकेट प्रक्षेपण गरेको छ ।

जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित एच–थ्री रकेट सफलतापूर्वक उपग्रहबाट अलग भएको छ ।

यो उपग्रहको उद्देश्य जापानको सेल्फ डिफेन्स फोर्सलाई अन्तरीक्षबाट सूचना आदानप्रदान बढाउने हो ।

जापानको एचथ्री रकेटले एच–२ ए रकेटको सञ्चालनलाई पूर्णरूपमा प्रतिस्थापन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०२४ देखि अर्को मार्चसम्म ५० रकेटको प्रक्षेपण गरिने अपेक्षा गरिएको छ।

मार्च २०२३ मा यसको उद्घाटन प्रक्षेपणको विफलता र यस वर्ष दुई सफल मिशनपछि सोमवारको एच–थ्रीको प्रक्षेपण यो बर्ष गरिएको जापानको चौथो प्रक्षेपण हो ।

भारतमा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

देहरादून । । भारतको उत्तराखण्डमा सोमबार भएको एउटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा ३६ पुगेको छ। प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे दुर्घटना भएको हो । मार्चुला भारतको पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो ।

दुर्घटनामा थप केही व्यक्ति घाइते भएका र घाइतेमध्ये गम्भीर चोट लागेका तीन जनालाई हवाइ उद्धार गरी देहरादून लगिएको छ । सरकारी उद्धार टोलीले सार्वजनिक गरेको तस्बिरमा बसको भग्नावशेष बाक्लो झाडीमा देखिएको छ भने गाडीको अगाडिको भागमा पूर्णरूपमा क्षति भएको छ ।

उत्तरी राज्य उत्तराखण्डका एक वरिष्ठ अधिकारी दीपक रावतले भने, ‘अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरमार्फत अस्पताल लगिएको छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाका कारण आफ्ना प्रियजन गुमाएकाहरुप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयबाट जारी एक विज्ञप्तिमा मृतकका परिवारलाई दुई लाख भारतीय रूपैयाँ र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग स्वरुप दिने जनाएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडा बजार नजिकैको जङ्गलमा भएको उक्त दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइसकिएको बताएका छन् । भारतको पहाडी इलाकामा सडकको दुरावस्था, पूराना यातायातका साधन र चालकको लापर्बाहीका कारण हुने दुर्घटनाका कारण हरेक बर्ष सयौं व्यक्तिको अकालमा मृत्यु हुने गरेको छ ।

रामपुरमा एउटै फार्मबाट दुई लाखको फूल बिक्री

रामपुर (पाल्पा) ।  पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर रु दुई लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ले उक्त आम्दानी गरेको हो ।

फार्मका सञ्चालक दिलबहादुर थापाले सयपत्री फूलले राम्रो बजार पाएको र यसबाट मनग्य आय आर्जन भएपछि व्यवसायमा उत्साह थपिएको बताए । तीन दिनको अवधिमा बारीमा लगाएको सबै फूल बिक्री भएको उनले बताए ।

बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि बाहिर पठाउन नसकिएको अर्का सञ्चालक लालबहादुर थापा बताउँछन् । बारी भरि लगाइएको फूल सकिँदा पनि माग उत्तिकै आएको उनको भनाइ छ । फूलबाट पर्याप्त आम्दानी भएपछि पाँच वर्षदेखि यसको खेती गर्दैआएको थापाको भनाइ छ ।

प्रतिकिलो फूल  पाँच सय र प्रतिमाला  एक सय ५० रुपैयाँमा बिक्री भएको थापाले बताए । हरेक वर्ष तिहारमा फूलमाला माग अनुसार पुर्याउन नसकिएको उनको भनाइ छ । यस वर्ष करिब चार रोपनी जग्गामा लगाएको फूल सबै बिक्री भएको छ । स्थानीयस्तरमा नै फूलले राम्रो व्यापार पाएको छ ।

गाउँघरमा पनि विद्यालय, विभिन्न सङ्घसंस्थाको आयोजनामा लक्ष्मीपूजा तथा दीपावली मनाइने चलन पछिल्लो समय बढ्दो रहेकाले फूलमालाको खपत राम्रो हुने गर्दछ । 

भाइटीकाका दिन लगाउन मात्र नभई तिहार पर्व सुरु भएदेखि नै घर, विद्यालय तथा सङ्घसंस्थामा सजाउन, पूजाआजा गर्न सयपत्री फूल खोज्ने भएकाले हिजोआज फार्ममा फूल खरिद गर्न ग्राहक बढेका छन् । यहाँ हरेक वर्ष रु दुई लाखदेखि तीन लाख बराबरको फूलको माला बिक्री हुँदै आएको सञ्चालक थापाले बताए ।

उर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनमा सहभागिता जनाएका छन् । उनी भारतको राजधानी नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौँ गठबन्धन सम्मेलनमा सहभागी भएका हुन् ।

मन्त्री खड्का  सम्मेलनमा भाग लिन आइतबार नयाँदिल्ली प्रस्थान गरेका थिए । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्र«सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२१) को २१औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएअनुसार उक्त गठबन्धनको सातौँ सम्मेलनमा मन्त्री खड्का सहभागी भएका विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहले जानकारी दिए ।

कोप–२१ सम्मेलनमा भाग लिएका करिब एक सय २० राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवद्र्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए । उक्त सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुने महानिर्देशक सिंहले बताए । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्ष, सह–अध्यक्ष, महानिर्देशकलगायत पदसहितको नयाँ कार्यसमिति चयन गरिने छ ।

सम्मेलनले जलवायु परिवर्तन कम गर्न नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिमा पेस गरेको दोस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनमा सहयोग पुग्ने महानिर्देशक सिंहको भनाइ छ ।

सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यको लक्ष्य हासिल गर्ने नेपाल सरकारको प्रतिबद्धताअनुरुप सौर्यजस्ता स्वच्छ ऊर्जाको अधिकतम विकास एवं प्रवद्र्धनबाट स्वच्छ ऊर्जा सङ्क्रमण कार्यान्वयनमा सहयोग पुग्नेछ ।

विद्युतको माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सौर्य ऊर्जा विकासको माध्यमबाट ऊर्जा मिश्रणको सहायताले ऊर्जा सुरक्षा हासिल गर्न मद्दत पुग्ने बताइएको छ । सम्मेलनमा हरित विकास, जलवायु परिवर्तन र सौर्य ऊर्जा विकाससँग सम्बन्धित विश्वमा भएका सफल अभ्यास आदानप्रदान गरिनेछ ।

 सम्मेलनमा ऊर्जामन्त्री खड्काले भारतका ऊर्जामन्त्री एवं आइएसएका अध्यक्ष प्रल्हाद वेंकटेश जोशीसँग भेट्ने कार्यक्रमसमेत रहेको छ । भेटमा नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासका विविध विषयमा छलफल हुनेछ । आइएसएले हाल नेपालको राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइलगायतका विभिन्न सात कार्यक्रममा सहयोग गर्नेछ ।

 सम्मेलनमा मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक सिंह र मन्त्री खड्काका आर्थिक सल्लाहकार (अर्थ विज्ञ) अमित श्रेष्ठसमेत सहभागी छन् ।

५ करोड ठगीमा रेड नोटिस जारी भएकी शाक्य कम्बोडियाबाट पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा ठगीलगायत मुद्दामा रेड नोटिस जारी भएका सिन्धुपाल्चोक मान्खाकी बिनु शाक्यलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई एनसिबी कम्बोडियाको सहयोगमा पक्राउ गरी आइतबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले सिंगापुर पठाइदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार रहेको प्रहरीले जनाएको छ ।

फरार भएका शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो ।

असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो। पक्राउमध्ये सुजनलाई कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो । बिनुलाई कारबाहीका लागि प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ।

कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा सङ्कल्प यात्रा’ सञ्चालन गरिने 

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा सङ्कल्प यात्रा’ सञ्चालन गरिने भएको छ ।

यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणमा उद्यमशील बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले उद्यमशीलता नेपालको विकासका लागि अपरिहार्य रहेको जनाउँदै राजनीतिक उपलब्धिको संरक्षण युवाशक्तिको समुचित उपयोगबाट मात्र हुनसक्ने बताए ।

उनले भने, “कांग्रेसले युवा उद्यमशीलता प्रवर्द्धनमात्र होइन, देशको अवस्था बदल्ने तागत राख्नुपर्छ । कृषिप्रधान देशमा कृषिको आधुनिकीकरणमार्फत लाखौँ युवालाई स्वदेशमै रोजगार बनाउन सकिन्छ ।”

यात्राले युवालाई राजनीतिक आन्दोलनको मात्र नभएर आर्थिक विकासको पनि साझेदार बनाउने उद्देश्य लिएको जनाउँदै नेता शाहीले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको उन्मूलन, सुशासन,  युवा उद्यमशीलताको प्रवर्द्धन र राष्ट्र निर्माणको नेतृत्व गर्न पनि अभियान सार्थक हुने धारणा राखे ।

यही कात्तिक २३ गते मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर,  लालबन्दी, वीरगञ्ज,  भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मङ्सिर ४ गते महाकाली पुगेर समापन हुनेछ ।

अभियानमा खासगरी युवालाई रोजगारीको सुनिश्चितताका लागि पहलका साथै दबाब सिर्जना गर्ने, भ्रष्टाचार उन्मूलन र सुशासन पहल र खबरदारी गर्ने तथा महङ्गी र मूल्यवृद्धि नियन्त्रणको विषय प्रखर रूपमा उठाउने र समाधानको उपायसमेत देखाउने नेता शाहीले जानकारी दिए ।

सहकारीपीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही गर्न दबाब सिर्जना गर्ने सो अवसरमा वितरित  विज्ञप्तिमा उल्लेख छ ।

उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानीका लागि आवश्यक पहलसमेत सङ्कल्प यात्राले गर्ने उल्लेख गर्दै नेता शाहीले त्यसक्रममा युवाहरूलाई उद्यमशीलता, नवप्रवर्तन र कृषिमा उत्प्रेरित गरिने जानकारी दिए ।

हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व, नागरिकमैत्री सरकार  तथा नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियतका लागि  अग्रसरता लिइने पनि त्यस अवसरमा जानकारी दिइयो ।

नेपाली कांग्रेसकै नेतृत्वमा नेपालको राजनीतिलाई नैतिक, सिद्धान्त प्रेरित र मूल्य, मान्यतामा आधारित बनाउन युवा सङ्कल्प यात्राले नेपालको राजनीतिलाई स्वच्छ, स्वस्थ र नैतिक मूल्य, मान्यतामा आधारित बनाउनका लागि पहल गर्ने पनि स्पष्ट गरिएको छ ।

पार्टीका महासमिति सदस्य प्रेमीका रानाले युवा पुस्ताले नकारात्मक भाव बोकेर अरुको आलोचनामै समय खर्चने नभई समाजमा उठेका विषयवस्तुको समाधान र सफलताको सन्देश प्रवाह गर्न सक्नुपर्नेमा जोड दिइन् ।
युवानेतृ तथा कलाकार राधिका हमालले देश बनाउन र नागरिकलाई सवल तुल्याउन सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यात्रा कार्यक्रम अघि बढाइएको बताइन् ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य पशुपति पोख्रेलले शैक्षिक योग्यताअनुसारको रोजगारी नपाएर भौतारिरहेका युवालाई देश निर्माणको अभियानमा जुटौँ भन्ने विषयलाई केन्द्रबिन्दुमा राखेर अभियान सञ्चालन गर्न लागिएको बताए ।

यात्रामा नेता शाहीसहित रञ्जित कर्ण, धर्मेन्द्र नेम्वाङ, प्रेमिका राना, नरेश यादव, शेख ओकिल, मेदनी सिटौला, चन्द्रादेवी जोशी, राधिका हमाल, उदिराम खड्का, लेलिया विश्वकर्मा, सुनिल थापा, विनोद खनाललगायत ४० जना केन्द्रीय प्रतिनिधिका रूपमा सहभागी हुनेछन् ।

अर्थतन्त्र राम्रो छ, गजबको छ भन्न हुँदैनः अर्थविद अधिकारी

काठमाडौं । अर्थविद् डा.चन्द्रमणि अधिकारीले अहिले नेपालको अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा अधिकारीले नेपाल राष्ट्र बैंकको तथ्याङ्क र सरकारमा रहेका दलहरुका नेताहरुको कुरा सुन्दा अर्थतन्त्र सुध्रिएको जस्तो देखिए पनि त्यसको प्रभाव जनताको जनजीवनमा नदेखिएको बताएका हुन् ।

उनले भने, ‘अहिले हाम्रो अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको छ । सरकारका मान्छेहरुले र नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्यो भने अर्थतन्त्र गजब रहेछ भन्ने देखिन्छ । तर, आमनागरिकको दैनिकीमा गएर सोध्ने हो भने अर्थतन्त्र सुध्रिएको छैन । हिजो जति पैसाले बस्तु र सेवा प्राप्त भइरहेको थियो, त्यो प्राप्त भइरहेको छैन ।’

गत सालको तु्लनामा खाद्यन्नको बजार मूल्य दोब्बरसमेत भएको उनले बताए । खाद्यन्नको सन्दर्भमा बजार मूल्य २० प्रतिशत बढ्नु सामान्य जस्तै भएको उनले बताए ।

नेपालको अर्थतन्त्रको मुटु, कलेजो कमजोर भएर हात, पाखुरा चाहिँ बलियो भइरहेको उनले टिप्पणी गरे । उनले सरकारले अर्थतन्त्रको महत्वपूर्ण पक्षहरु चाहिँ कमजोर भइरहेको कुरा स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

उनले भने, ‘हाम्रो अर्थतन्त्र द्वन्द्वात्मक अवस्थामा छ । मुटु, कलेजो कमजोर हुँदै गएको छ, हात पाखुरा अलिकति बलियो देखिएको छ । अर्थतन्त्र राम्रो छ, गजबको छ भन्न हुँदैन ।’