`

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू अफ्रिकी राष्ट्रको भ्रमणमा

नयाँदिल्ली ।  भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तीन अफ्रिकी राष्ट्र अल्जेरिया, मौरितानिया र मलावीको सात दिने भ्रमणका लागि आइतबार अल्जेरिया प्रस्थान गरेकी छन्।

अफ्रिकी राष्ट्रमा राष्ट्रपति मुर्मुको यो पहिलो भ्रमण हो । आफ्नो भ्रमणको क्रममा राष्ट्रपति मुर्मूले द्विपक्षीय बैठकहरू गर्ने तथा भारतीयहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ।

भारतको विदेश मन्त्रालयका अनुसार राष्ट्रपति मुर्मूले आफ्ना समकक्षी अब्देलमाद्जिद तेबुनेको निमन्त्रणामा अक्टोबर १३–१५ सम्म अल्जेरियाको भ्रमण गर्नेछिन्।

मन्त्रालयका अनुसार भ्रमणको दोस्रो चरणमा भारतीय राष्ट्रपति मुर्मूले अक्टोबर –१६ मा मौरितानियाको भ्रमण गर्नेछिन्।

भ्रमणको अन्त्येमा उनले अक्टोबर १७–१९ सम्म मलावीको भ्रमण गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।

लमजुङमा जिप दुर्घटना, २२ जना घाइते

बेंसीसहर । लमजुङको मकैडाँडामा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सारिङबाट ग १ ज ८५५१ नम्बरको जिप सदरमुकाम बेंसीसहरतर्फ आइरहेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिएका छन् ।

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’

काठमाडौं ।  धेरै नेपालीले धूमधामसाथ दसैँ मनाइरहेका बेला नेपाली युवाको एउटा समूहले भने एसियामै पहिलोपटक खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ओलम्पियाड प्रतियोगिता सम्पन्न गरेको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) को आयोजनामा सम्पन्न खगोल र खगोल भौतिक विज्ञानसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाडमा १९ देशका २१ समूहको सहभागिता थियो । युरोपमा हुने गरेको यो ओलम्पियाड एसियामा पहिलोपटक नेपालले गर्ने अवसर पाएको हो । ओलम्पियाडका लागि बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयले सहयोग गरेको आयोजक समिति नासोका अध्यक्ष सुरेश भट्टराईले बताए ।

सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि आयोजकका रुपमा राखिएको थियो । तर, ती निकायबाट सहयोग नपाएको आयोजक नासोको गुनासो छ । मन्त्रालयका कुनै पनि अधिकारी ओलम्पियाड प्रतियोगितामा उपस्थितसमेत नभएको नासोका अध्यक्ष भट्टराईले बताए।

असोज १७ गते नवरात्र सुरु भएपछि धेरै शैक्षिक संस्था बिदा भयो । विद्यार्थी घर, घरमा दसैँको रमाइलोमा रमाउन थाले । तर केही विद्यार्थी भने ‘एष्ट्रोनोमी’ र ‘एष्ट्रोफिजिक्स’सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाड सफल बनाउन दिनरात जुटे । असोज १७ देखि सुरु भएको ओलम्पियाड असोज २४ गते सम्पन्न भयो ।

ओलम्पियाडमा नेपाल, भारत, बङ्गलादेश, बुल्गेरिया, क्यानडा, चीन, कोलम्बिया, चेक रिपब्लिक, इस्टोनिया, ग्रीस, इटाली, लिथोनिया, मलेसिया, रोमानिया, श्रीलङ्का, स्वीडेन, थाइल्याण्ड, युक्रेन र युनाइटेड अरब इमिरेट्सका विद्यालय तहका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने समूहलाई पदक र प्रमाणपत्रसहित पुरस्कृत गरियो ।

खगोल तथा खगोल भौतिक ओलम्पियाड–जुनियर विधामा सहभागी विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक परीक्षा लिइएको थियो । परीक्षाको नतिजाका आधारमा आठ स्वर्ण, १३ कास्य, २१ रजत, २८ मानार्थ गरी जम्मा सत्तरी पदक विद्यार्थीलाई वितरण गरिएको थियो । दुई स्वर्ण पदक प्राप्त गर्नेमा चीन, चेकरिपब्लिक, भारत रहेका छन् । यसैगरी बुल्गेरिया र थाइल्याण्डले क्रमशः एकरएक स्वर्ण पदक प्राप्त गरे । सैद्धान्तिक परीक्षामा चेक रिपब्लिकका अलेक्स फेयव ‘बेस्ट इन थेओरी’ अन्तर्गत स्वर्ण प्राप्त गरे।

प्रयोगात्मक परीक्षामा चीनका च्याहु जङगले ‘बेस्ट इन अब्जरभेसन’ अन्तर्गत स्वर्ण पदक प्राप्त गर्नुभयो । चेक रिपब्लिकका अलेक्स फेयवले नै ‘बेस्ट इन ओवरल’ पदक पनि प्राप्त गरे। ओलम्पियाडकै एक गतिविधिका रुपमा आयोजित ‘खगोल र संस्कृति’ चित्रकला प्रतियोगितामा दश देशले पोस्टर प्रदर्शन राखेकोमा मतदानमार्फत् चेक रिपब्लिकले जीत हासिल गरेको थियो । सहभागीलाई एकै देशका दुई सदस्य नरहने गरी विभिन्न १६ समूहमा विभाजन गरी सामूहिक प्रतियोगिता गराइएको थियो ।

उक्त प्रतियोगितामा एपिमेथियस नामक टोली विजयी भयो । नेपालमा भएको ओलम्पियाडमा इटाली पहिलो पटक सहभागी भएको थियो । अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडका अध्यक्ष अनिकेत सुलेले नेपाल ऐतिहासिक, सांस्कृतिक र सर्वोच्च शिखर सगरमाथा भएको देश हुनाले सगरमाथाको उचाई जस्तै जीवनका लक्ष्य निर्धारण गर्नुपर्ने प्रेरणा विद्यार्थीलाई दिए ।

नासोका अध्यक्ष भट्टराईले ओलिप्याडले नेपालमा मात्र नभइ विश्वमै खगोल तथा खगोल भौतिक विज्ञानमा टेवा पुग्ने बताए । आइओएए जुनियर २०२४ का सहअध्यक्ष मनिषा द्वाले विसं २०७९ मा सुरु गरिएको ‘अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड–जुनियर’को नेपाल एक संस्थापक सदस्य राष्ट्र भएको बताए।

ओलम्पियाडको पहिलो संस्करण रोमानिया र दोस्रो संस्करण ग्रीसमा आयोजना भएको थियो । नासोले सन् २०१४ देखि नेपालमा राष्ट्रिय खगोल ओलम्पियाड सञ्चालन गर्दै आएको छ । ओलम्पियाडमा ‘सिनियर विधा’ मा १६ देखि २० वर्ष उमेर समूहका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहभागी हुन्छन् ।

राष्ट्रिय खगोल ओलम्पियाड ‘जुनियर विधा’ भने सन् २०१९ देखि नासोले नेपालमा सञ्चालन गर्दै आएको छ । यस विधामा कक्षा ८ देखि १० मा अध्ययनरत १६ वर्ष उमेर मुनिका विद्यार्थी सहभागी हुन पाउँछन् । नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडमा हालसम्म १८ वटा पदक प्राप्त गरेको सोसाइटीले जनाएको छ ।

विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानसम्बन्धी यो प्रतियोगितामा भाग लिन विभिन्न देशबाट १०० जना विद्यालय तहका विद्यार्थी र करिब ५० जना समूह नेताका रुपमा नेपाल आएको आयोजक समितिले जनाएको छ । प्रतियोगिता सम्पन्न भएसँगै नेपालमै अन्तर्राष्ट्रियस्तरको ओलम्पियाड सम्पन्न गर्ने १० वर्ष पुरानो सपनाले साकार रुप पाएको सोसाइटीका अध्यक्ष भट्टराईले बताए ।

विज्ञानमा मुलुकको कम चासो भइरहेका बेला यस्ता प्रतियोगिताले थप काम गर्ने वातावरण बनाउन सहयोग गर्ने विश्वास लिइएको छ । लामो समयदेखि विज्ञान पत्रकारितामा कलम चलाएका पत्रकार लक्ष्मण डङ्गोल विज्ञानमा राज्यको लगानीका साथै चासो पनि कमै भइरहेका बेला युवा, विद्यार्थीमा यसप्रतिको चासो बढाउन अन्तर्राष्ट्रिय ओलम्पियाड सफल भएको बताउँछने। करिब १५० भन्दा बढी विदेशी नेपालमा एक हप्तासम्म बसेर जाँदा नेपालको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने छ । तर, सरोकार भएका निकायले भने यस्तो अवसरलाई सदुपयोग गर्न नसकेको आयोजक समितिको निष्कर्ष छ ।

आयोगकले मुलुकका सांस्कृतिक र प्राकृतिक पर्यटकीय स्थलका बारेमा प्रचारप्रसार गरिएको जनाएको छ । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले मन्त्रालयले विज्ञानसम्बन्धी अध्ययन, अनुसन्धानका कामलाई अघि बढाउने प्रतिबद्धता जनाएकी थिइन् ।

बूढानीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख अनिता लामाले नेपाली युवा उत्साहित भएर अन्तर्राष्ट्रियस्तरको ओलम्पियाड गर्छौँ भनी लागेपछि आफूले पनि प्रेरणा दिएको बताइन । यस्ता कार्यक्रमले काम र अध्ययनका लागि विदेश जाने नेपालीलाई स्वदेशमै अवसर छ भनी आशा जगाउन सहयोग गर्ने उनको भनाइ थियो । 

यसरी मनाइयो थिमिमा कुभिण्डे जात्रा(फोटोफिचर)

भक्तपुर । दसैँको अवसरमा मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा सम्पन्न भएको छ । नेपाल भाषामा खाँः भनेर चिनिने यो जात्रा घटस्थापनाका दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखेर सुरु भएको थियो ।

एकादशीको दिन आज तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुन्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहितको संलग्नतामा जात्रा सम्पन्न भएको हो ।


बाजागाजासहित लायकूबाट ल्याइएको कुभिण्डोलाई बालकुमारी अगाडि कर्माचार्यले पूजा गरी थकाली (पमा) ले कुभिण्डो काटेका थिए । कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुखशान्ति हुने र ती टुक्राले औषधिको समेत काम गर्ने जनविश्वास रहिआएको छ ।

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजु दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगा र बोकाको बलि दिने परम्परा छ ।


नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई आज एकादशीको दिनमा बाजागाजाका साथ बिगुल फुक्दै लायकू दरबारबाट दिगु भैरव परिक्रमा गरी बालकुमारीमा पुगेर जात्रा सम्पन्न भएको हो ।

तस्बिर : रत्न श्रेष्ठ/रासस

दसैँको टीका लगाउन आउनेलाई दूध, दही र मोहीले स्वागत

चितवन । निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार हुने गरेको थियो ।

कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर मोही बनाएर पनि स्वागत गरे ।

उनले भने ‘पहिले जताततै बजारका पेय पदार्थले स्वागत गर्नेहरू अहिले दूध, दही र मोहीमा आकर्षित भएका पाइयो ।’ उनको अनुभवमा टीका थाप्न जाने सबैजसो घरमा दही, मोहीले नै स्वागत गरेका थिए ।

गीतानगरका उपेन्द्र पण्डितले यो वर्ष घरमा बुबाआमाको हातबाट टीका थाप्न आउने आधाभन्दा बढीलाई दही र मोहीले स्वागत गरे ।

उनले भने ,’बालबालिका बाहेक सबैलाई हामीले दही र मोहीले स्वागत गर्‍यौँ । उनले भने ‘बजारबाट लगेको पेय खासै खपत भएन, धेरैले दही, मोही नै रुचाए ।’

विवाह भएको पहिलो वर्ष घर, मामाघर र ससुराल टीका थाप्न जानुभएका विद्यार्थी नेता सचेत सुवेदी पनि आफू दही र मोहीको सत्कारमा परेको बताउँछन्। कृषिमा स्नातकोत्तर गरेका उनले भने ‘धेरै मानिस स्वास्थ्यप्रतिको सचेत पाइयो । दूध, दही र मोही उनीहरूको प्राथमिकतामा रहेको पाइयो ।’

सरकारले आम नागरिकलाई दुग्धजन्य पदार्थको उपभोगको बारेमा जनचेतना जगाउनु पर्ने उनको सुझाव छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले पछिल्ला दिनमा दही र मोहीको माग बढ्दै गएको बताउँछन्। उनको भनाइमा पहिले पहिले बजारको पेय पदार्थले स्वागत गर्नेहरुले अहिले दही र मोहीले स्वागत गर्ने गरेका छन् ।

जिल्लाका तीन वटा दुग्ध उत्पादक सहकारीले मोही उत्पादन गर्दै आएका छन् । भरतपुरको अन्नपूर्ण, गङ्गानगर र गौरीगञ्ज दुग्ध उत्पादक सहकारी संस्थाले मोही उत्पादन गरेर बजारमा बिक्री गर्दै आएका छन् ।

जिल्लामा एक सय १५ वटा दुग्ध उत्पादक सहकारी छन् । तीनले दैनिक तीन लाख ५० हजार लिटर दूध संकलन गरी एक लाख ५० हजार लिटर अन्यत्र बेच्दै आएका छन् । बाँकी दूध जिल्लाका डेरीबाट बिक्री हुने गरेको छ ।

भरतपुर महानगरपालिका–२२ मा रहेको श्री गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा आफूहरूले विगत ६ महिनादेखि मोही उत्पादन गर्दै आएको बताउँछन्। सुरुका दिनमा बिक्री हुँदैन कि भन्ने चिन्ता भएको भन्दै उहाँले पछिल्लो समय माग बढ्दै गएको बताउँछन् ।

विगतमा दैनिक पाँच सय लिटर उत्पादन गर्ने गरेको बताउँदै उहाँले माग बढी हुने समयमा दैनिक एक हजार लिटरसम्म उत्पादन गर्ने गरेको जानकारी दिए। वैवाहिक समारोह, धार्मिक कार्यक्रम, राजनीतिक कार्यक्रमहरूमा मोहीको माग अधिक हुने गरेको छ ।

उनले भने ‘विवाहलगायत समारोहका लागि मोहीको माग हुन गरेको छ ।’ यस वर्षको दसैँमा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी दही बिक्री भएको उनी बताउँछन्।

फूलपातीदेखि दसमीसम्म दैनिक एक हजार लिटर दही बिक्री भएको उनले जानकारी दिए । दैनिक पाँच सय लिटर हाराहारी मोही बिक्री हुने गरेको अध्यक्ष सापकोटाले बताए ।

कृषिमन्त्री अधिकारी इटाली प्रस्थान

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको उनका प्रेस संयोजक प्रवीण पोखरेलले जानकारी दिए।

मञ्चको बैठक सोमबार अर्थात् अक्टोबर १४ देखि सुरु हुनेछ । बैठक १८ अक्टोबर सम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापालगायत रहेको उनले जानकारी दिए।

नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गरिने जनाइएको छ ।

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत ‘कामधेनु गाई’

गण्डकी । गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई । ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्त्व बोकेको उक्त गुफाको गाईलाई घाँस, कुँडोलगायत केही पनि खुवाउनु पर्दैन । न त भकारो नै सोहोर्नु पर्छ । तर त्यही गाईले वार्षिक लाखौँ रुपैयाँ आम्दानी दिँदै आएको छ ।

पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा राखिएको यन्त्रजडीत गाईबाट गत आर्थिक वर्षमा मात्र १३ लाख पाँच हजार ४० आम्दानी भएको छ । गुप्तेश्वर गुफामा राखिएको यान्त्रिक गाई विगत १६ बर्षदेखि गुफाको निरन्तर आम्दानीको स्रोत बन्दै आएको हो । गाईको प्रतिमाको भित्तातर्फ दूध राखिएको छ जुन ‘पाईप’को माध्यमबाट थुनसम्म आउँछ ।

कामधेनु गाईगोठमा अवस्थित यन्त्रजडीत गाईको नजिकै रहेको सानो प्वालमा दश रुपैयाँमा खरिद गरी एउटा गुच्चा राखेपछि गाईको चारवटै थुनबाट दूध बगेर सिधै शिवलिङ्गमा पुग्ने व्यवस्था मिलाइएको छ ।

भक्तजनले गाईको गहुँतले स्नान गरेर शुद्ध भई केही तल रहेको प्राकृतिक शिवलिङ्गको दर्शन गर्ने गर्दछन् । विसं २०६४ सालमा रु एक लाख ५७ हजार एक सय ९८ लागतमा निर्माण गरिएको सो गाईले १६ वर्षमा एक करोड भन्दा बढी आम्दानी दिइसकेको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए।

सो अवधिमा करिब १५ लाख दर्शकले टिकट काटेर गाईको दर्शन र प्रविधिको अध्ययन अवलोकन गरेका छन् । उनका अनुसार गुफा अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकका साथै विद्यार्थीहरू पनि आउने गर्छन् ।

विशेषगरी धार्मिक परम्पराअनुसार साउनको सोमबार, शिवरात्रि, मङ्गलचौथी, हरिबोधनी एकादशी, ऋषितर्पणी, ऋषि पञ्चमी, बालाचतुर्दशी, नयाँ वर्ष लगायतका तिथिमा दर्शनार्थीको घुँइचो लाग्ने गर्छ ।

बङ्गलादेशमा डेङ्गु सङक्रमण उच्च

ढाका ।  बङ्गलादेशमा डेङ्गु सङ्क्रमयाबाट थप नौ जनाको मृत्यु भएको  रिपोर्ट गरिएको छ। जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो। जनवरीदेखि हाल सम्म डेङ्गु सङ्क्रमयाबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ ।

सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जनाएको छ।

डिजिएचएसका अनुसार गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ सङ्कक्रमण पुष्टि भएको छ भने यस महिनाको कुल सङ्क्रमण सख्या दश हजार ८७२ पुगेको छ।

यस वर्ष अहिलेसम्म ४१ हजार ८१० डेङ्गुका घटना दर्ता गरेको डिजिएचएसले जनाएको छ भने थप फैलावट रोक्न, बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन्।

बङ्लादेशमा सन् २०२३ मा डेङ्गु सक्रमणबाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो।

डेङ्गयु ज्वरो संक्रमित एडिसजातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। डेङ्गु लागेक बिरामीहरुमा टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखा पर्छन।

इजरायली आक्रमणले लेबनानी मस्जिद ‘पूर्ण रूपमा’ ध्वस्त

बेरुत । इजरायली हवाई आक्रमणले लेवनानको युद्धग्रस्त दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको लेबनानी आधिकारिक मिडियाले आइतबार जनाएको छ। पछिल्लो समयमा इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको छ।

स्थानीय समय अनुसार आइतबार “बिहान ३ ; ४५ बजे इजरायली लडाकुँ विमानले कफर टिबनिट गाउँको केन्द्रमा रहेको उक्त मस्जिदलाई लक्षित गरी हवाई आक्रमण गरी पूर्ण रूपमा नष्ट गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ।

कफर टिबनिटका मेयर फुआद यासिनले द्धिदेशिय सीमाबाट करिब आठ किलोमिटर टाढा रहेको उक्त गाउँका मानिसहरूले मस्जिदको विनाससँगै एकताको केन्द्र गुमाएको बताएका छन्। उनका अनुसार एक सय वर्ष पुरानो उक्त मस्जिद एउटा महत्त्वपूर्ण ठाउँ थियो जहाँ मानिसहरू विशेष अवसरहरूमा भेला भई पुजापाठ गर्ने गर्थे“।

गाजा युद्धलाई लिएर इजरायल र हिजबोल्लाहबिच सीमापार आक्रमणकोे एक वर्षको समय पूर्ण द्वन्द्वमा परिणत भयो।

लेबनानका अधिकारीहरूले इजरायलको निरन्तरको आक्रमणले लेबनानमा एक हजार २६० भन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै दश लाखभन्दा बढी मानिस विस्थापित भएको बताएका छन्।

बन्दीपुरमा पर्यटकको चहलपह

दमौली । तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार यहाँका प्रमुख पर्यटकीय क्षेत्र थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पातलेद्वार गुफा, सहिद स्मारक उद्यानलगायत १७ गन्तव्यको सूची अङ्ग्रेजी, चिनियाँ, जापानी, कोरियाली, फ्रान्सेलीलगायत सात भाषामा तयार पारेको छ ।

यो याममा यहाँ आउने अन्य देशको तुलनामा चिनियाँ पर्यटकको सङ्ख्या बढी छ । बन्दीपुर जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड्स, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड,स्वीटजरल्याण्ड, मलेसिया, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रीस र अर्जेन्टिनाका पर्यटकको रोजाइ बनेको अध्यक्ष प्रधानले बताए।

अन्नपूर्ण, माछापुछ्रे, धौलागिरिलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न पर्यटक आउने गरेका छन् ।

ह्यारिसले उठाइन् ट्रम्पको स्वास्थ्यमाथि प्रश्न

बीबीसी । अमेरिकी राष्ट्रपति पदकी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेकी छन् जसले उनको स्वास्थ्य ‘एकदम राम्रो’ र राष्ट्रपति पदका लागि उपयुक्त रहेको देखाएको छ ।

आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेपछि भूतपूर्व राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पमाथि ह्यारिसले स्वास्थ्यलाई लिएर उनी अपारदर्शी भएको आरोप लगाएकी छन् । ट्रम्पले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।

बहालवाला उपराष्ट्रपति समेत रहेकी ह्यारिसले आफ्ना ‘रिपब्लिकन प्रतिद्वन्द्वीले उनी राष्ट्रपति हुनका निम्ति स्वास्थ्यको हिसाबले उपयुक्त रहे वा नरहेको कुरा अमेरिकी जनताले थाहा पाऊन् भन्ने नचाहेको’ दाबी समेत गरेकी छन् । ट्रम्पको स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक नगरेको उनको चुनावी अभियान समूहले उनको स्वास्थ्य ‘एकदम ठीक’ रहेको भनेर चिकित्सकले जानकारी गराएको प्रतिक्रिया दिएको छ ।

अभियान समूहले रिपब्लिकन उम्मेदवार ‘अति व्यस्त तथा चुनावी प्रचारप्रसारमा सक्रिय’ रहेका बताउँदै ह्यारिससँग ‘ट्रम्पको जस्तो इच्छाशक्ति नरहेको’ दाबी गरेको छ । ह्वाइट हाउसले राष्ट्रपतिको पद सम्हाल्न उपराष्ट्रपति ह्यारिसको ‘शारीरिक र मानसिक स्वास्थ्य उपयुक्त रहेको’ भन्ने स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेपछि दुई पक्षबीच आरोपप्रत्यारोप शुरू भएको हो ।

विगत तीन वर्षदेखि ह्यारिसका फिजिसियन रहेका अमेरिकी कर्नेल डा. जोशुआ सिमोन्सका अनुसार गत अप्रिलमा हेर्दा उनको स्वास्थ्य अवस्था सामान्य देखिएको थियो ।

ह्यारिसले स्वस्थकर र सक्रिय जीवनशैली अपनाउँदै आएकी पनि सिमोन्सले बताएका थिए । ह्यारिसको स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरिएपछि उनको चुनावी अभियान समूहका प्रवक्ताले सामाजिक सञ्जालमा लेखेका छन् ‘अब तपाईँको पालो, डोनल्ड ट्रम्प।’

हाल ७८ वर्षमा रहेका ट्रम्पको उमेर र मानसिक स्वास्थ्यलाई लिएर डेमोक्र्याटहरूले निशाना बनाउँदै आएका छन् । चुनावी प्रतिस्पर्धाबाट बाहिरिनुअघि राष्ट्रपति जो बाइडनबारे रिपब्लिकनहरूले पनि सोही प्रकृतिको आलोचना गर्दै आएका थिए ।

राष्ट्रिय जनमत सर्वेक्षणहरूले ह्यारिस ट्रम्पभन्दा झिनो मत अन्तरले अगाडि रहेको देखाएका छन् । नयाँ राष्ट्रपति चयनका लागि अमेरिकामा आउँदो महिनामा निर्वाचन हुँदैछ । लगभग २४ करोड अमेरिकी यस पटकको राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन् ।

…अनि पो दसैँ आउँथ्यो

लिलाराज भट्टराई

केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यो । चचहुइइ…गर्दै पिङ मच्चाउने प्रतीक्षामा हुन्थ्यौँ । जब पिङ मच्चाउथ्यौँ, जीउ सिरिङसिरिङ भएपछि बल्ल लाग्थ्यो, अबचाहिँ दसैँ आयो ।

नयाँ लुगा लगाएर पिङ मच्चाउनुको मज्जै बेग्लै हुने । दसँैका बेला न हो वर्षदिनमा नयाँ लुगा हाल्न पाइने । ‘स्कुल ड्रेस’ नै भए पनि नयाँ नाना लगाउन पाउँदाको खुसी सम्झिँदा पनि मनै फुरुङ्ग हुन्छ । दसैँ आउन लाग्दैगर्दा बुबा कपडा लिन पसल जाँदा पछिपछि गइन्थ्यो । कपडाको ठूलो रुमालमा पोको पारेर कपडा घर भित्र्याएपछि दसँै भित्रिएझैँ लाग्थ्यो । झन् लुगा सिलाउने दाइँ मेसिन बोकेर घरमै आएर सिलाउन थालेपछि स्कुलसमेत जान मन नलाग्ने । नयाँ नानाको गन्धले दसैँ निम्त्याउँथ्यो । स–सना कुरामा ठूल्ठूलो खुसी मिल्थ्यो उस बेला ।

स्कुल लिपपोत गरेर चिटिक्क बनाएपछि दसैँको बिदा हुन्थ्यो । सरहरूसँग लाइन लागेर कमेरो माटो लिन औलतर्फ गइन्थ्यो । डल्ला बनाएर हातैमा बोकेर कमेरो र रातो माटो ल्याइन्थ्यो । समूहमा मिलेर काम गर्दाको आनन्द अर्कै । कुचोले कमेरो र रातो माटो स्कुल पोत्न सुरु गरेपछि लाथ्थ्यो यी त खुसीका रङ्ग पो रहेछन् । घरघरबाट ल्याएका ब्याट्री फुटाएर स्कुलका झ्याल ढोकामा कालो लगाएर चिटिक्क भएपछि लाग्थ्यो अब दसैँ आयो । घर लिपपोत गर्दा त झन् खुसी फक्रने । कमेरो र रातो माटोको सुगन्ध केवल सुगन्ध मात्र थिएन, त्यो चाडपर्व आगमनको सङ्केत पनि थियो ।

यसअघि नै गाउँका प्रत्येक घरबाट सहभागी भएर मूलबाटो फाँडफुँड र सरसफाइ गरेर दसैँलाई स्वागत गथ्र्यौं । घरमा बाँधेको खसीले ‘म्या’ गर्दा बुबाले दसैँ करायो हैभन्दै जिस्केको पल सम्झिदा पनि मनमा आनन्द आउँछ । रातिदेखि नै ढिकी ‘भक्य्राङ ढयाँङ’ गरेर चिउराको सुगन्ध, बुबाले एकघरी केरा किनेर ल्याई तलाको डोरीमा झुन्ड्याएपछिको उमङ्ग बेग्लै । टाढाटाढा काममा वा परदेश गएका लाहुरे दाइहरु क्यासेट घन्काउँदै घर फर्कन थालेपछि छाउँथ्यो दसैँको रौनक । हाटबजारमा भीड बढ्थ्यो, वर्षौंपछि भेटघाट भएकाहरूको भलाकुसारीपछि पो खुसी फक्रिन्थ्यो ।

नौ दिनसम्म दसँै घरमा हुने पूजापाठले ल्याउने खुसी र शान्तिको त कुरै नगरौँ । रेडियोमा घन्कने मालश्री धूनले मन प्रफुल्लित बनाउने । विजयादशमी टीकाको दिन घरमा बुबाआमाको हातबाट टीका र आशीर्वाद लिएर मान्यजनसँग टीका थाप्ने । आमैघरमा टीका लगाइसकेपछि आँगनभरि जम्मा भएर स्टिल क्यामराले एक दुई स्न्यापफोटो खिचेपछि मामाघर जाने हतारो । दक्षिणामा प्राप्त हुने नयाँ नोट गन्नुको आनन्द अर्कै । बाल्यकालका ती स्मृतिहरूले उस बेलाको दसैँलाई ताजा बनाउँछ ।

अहिलको दसैँ त के दसैँ । बढ्दो उमेर या आधुनिकताको प्रभाव भनौँ दसैँ त उहिलेकै राम्रो । अहिलेको त के दसँै । बसाइँसराइले त्यो बेला उल्लासमय हुने घरहरू अहिले खालीखाली छन् । युवा जति वैदेशिक रोजगारमा गएका कारण गाउँमा पिङ हाल्ने मान्छे पनि भेटिँदैनन् । अहिले त गाउँमा रहेका वृद्ध बुबाआमालाई पनि सहरमै बोलाएर दसैँ मनाउन थालिएको छ । पहिला दसैँ मनाउन सहर गाउँमा जान्थ्यो, अहिले गाउँ सहर आउन थालेझैँ लाग्छ । कतिपयले त यही बेला बुबाआमालाई विदेशमै बोलाउन थालेका छन् । दसैँको मुखैमा आएको बाढीपहिरोले धेरैको दसैँ निराश बनाएको छ । गाउँ फर्कन नपाएर सहरमै दसैँ मनाउनेहरूको सङ्ख्या निकै देखिन्छ । सामाजिक र सामूहिकताको भावना विस्तारै स्खलित हुँदै गएको आभाष हुन्छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मै बरु मोबाइलमा व्यस्त देखिन्छन् । पहिले घरका भित्ताहरू रङ्गिएछि दसैँ आएजस्तो हुने, अहिले त सामाजिक सञ्जालका भित्ताहरू दसैँको शुभकामनाले रङ्गिएपछि दसैँ आएजस्तो हुने । समय कति बदलियो है !

अहिलेका बालबालिकाले त नजिका आफन्तसमेत चिन्न छाडिसके । चाडबाडले भेला हुने, घुलमिल हुने, आत्मीयता आदानप्रदान गर्ने अवसर प्रदान गर्छ तर त्यो क्रम विस्तार कम हुँदै गएको महसुस हुन्छ । यस्तो अवस्थामा हामीले चाडबाडको मर्म र आनन्दलाई नयाँ पुस्तामा जस्ताको तस्तै प्रवाह गर्न सक्नुपर्छ ताकि उनीहरूले यसको अर्थ र महत्वलाई बुझ्न तथा अनुसरण गर्न सकून् ! दसैँलाई देखासिखी गरेर दशा नबनाऔँ । घाँटी हेरी हाड निलौँ । दसैँका बेला धेरै चिल्लो पिरो र मदिरा सेवन गरेर स्वास्थ्यलाई प्रतिकूल असर पार्ने काम नगरौँ । हाम्रा रितिथिति, चाडपर्वका मौलिकता संरक्षणमा सबै गम्भीर बनौँ ।

सुक्खा पहिरो अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन

धुलिखेल । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले आज बिहान ९ बजेदेखि सडक एकतर्फी खुलेको जानकारी दिए ।

सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएकामा स्थानीय तह र सडक विभागसँग समन्वय गरी जेसिभीको सहायताले पहिरो पन्छाई बाटो एकतर्फी सञ्चालन गरिएको उनले बताए । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बीच बाटोमा नै रोकिएको थिए ।

शनिबार राति १० बजेतिर पहिरोले बन्द भएको सडक सञ्चालन भएसँगै रोकिएको सवारीसाधनहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ

काँक्रेविहार । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ । यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।

उनले यहाँको स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत क्षेत्रमा राम्रो बजार पाएको जानकारी प्राप्त भएको बताए ।

“हामीले त कर्णालीकै स्याउलाई बजारीकरणका लागि सबै सरोकार भएका निकायलाई अनुरोध गरेका छौँ । यहाँका फलफूल व्यापारीलाई समेत स्थानीय स्याउको बिक्री वितरणका लागि आग्रह गरेका छौँ, जसको राम्रो प्रभाव परेको छ”, अध्यक्ष कँडलेलले भने ।

चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा हाल कर्णालीको स्याउले बजार लिएको बाँके कोहलपुरका कृष्ण ओलीले जानकारी दिए । नेपालसँग सिमाना जोडिएका भारतीय भागहरूमा समेत कर्णालीकै स्याउले बजार पाएको उनले बताए ।

वीरेन्द्रनगर सुर्खेतका व्यापारी कमान जिसीले भारतीय स्याउ प्रतिकिलो रु एक सय ५० देखि रु दुई ५० र चीनको स्याउ प्रतिकिलो रु एक सय ६० भन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ सुर्खेत र नेपालगन्जमा प्रतिकिलो रु ९० देखि एक सय २० सम्ममा पाइन थालेपछि बजार विस्तारमा सघाउ पुगेको बताए ।

दशैंमा धेरैजसोले उपहारका रूपमा कर्णालीकै स्याउ प्रयोग गरेका जाजरकोट नलगाड नगरपालिका–८ का वीरबहादुर खत्रीले बताउनुभयो । मुगु, जुम्ला तथा डोल्पाबाट स्थलमार्ग हुँदै आएको स्याउले बजार पाएको उनले जानकारी दिए ।

दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

काठमाडौँ  । दसैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन् ।

यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो ।

यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका छन् । यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्धहुँदा हवाई उडानमा चाप भएको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ । यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो ।

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका–२ ज्यामरुककोटका ७१ वर्षीय भीमबहादुर विकले दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आएका छन् ।

गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर सूचना पुर्‍याउन डाँडा उक्लिहाल्छन् । सदरमुकामसँगै जोडिएकाले यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन ।

गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सञ्चारसाधनको राम्रो पहुँच छ तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याइनभ्याइ छ ।

उनी विशेषगरी गाउँको सरसफाइका लागि प्रत्येक हप्ताको शनिबार समुदायलाई जुटाउनका लागि कटुवाल कराउँछन् । यसैगरी गाउँमा पाहुना आउने खबर र भेला, बैठकका लागि पनि समुदायलाई सूचना पुर्‍याउने जिम्मा उनकै छ ।

म्याग्दीका ६ वटै स्थानीय तहका प्रायः सबै गाउँमा अझै पनि कटुवाल प्रथा कायमै छ । सञ्चार तथा सूचना प्रविधिको पहुँच विस्तार गरी परम्परागत प्रथालाई आधुनिकीकरण गर्दै लैजानेतर्फ भने कसैको पनि ध्यान पुग्न नसकेको पत्रकार हरिकृष्ण गौतमको भनाइ छ ।

यसरी परम्परागत प्रथा जोगाउन महत्वपूर्ण भूमिका खेले पनि उनीहरूको पारिश्रमिक भने न्यून छ । बगरफाँटमा एक सय ९७ घरधुरी छन् । तीमध्ये बसाइँसराइका कारण कैयौँ घर खाली छन्, कतिपय घरमा गाउँ बाहिरबाट आएका मानिस भाडामा बसेका छन् । बसोबास गर्नेहरूबाट विकले वर्षभरको ज्याला प्रतिघर दुई पाथी अन्न मात्र पाउने गरेका छन् । यसले जीविका धान्न मुस्किल भइरहेको उनको गुनासो छ ।

‘बाबुबाजेले गर्दै आएको पेसा धान्नका लागि अरू काममा ध्यानै दिइएन । यसैलाई निरन्तरता दिन आफ्नो सम्पूर्ण समय खर्चियो । गाउँमा अन्य पेसा र विकल्प पनि भएनन् तर कटुवाल कराउने काम गरेर जीवन धान्न सकिएन’, विकले भने ।

कटुवाल दिलबहादुर दमाईको पनि यस्तै गुनासो छ । विगत २० वर्षदेखि कटुवालको काम गर्दै आएका उनले दैनिकजसो बस्ती नजिकैको डाँडामा आफ्नो कर्नाल फुक्दै चिच्याएर थरिथरिका सूचना सुनाउँछन् । दशैँको बेला त झन् व्यस्तता बढ्छ । दशैँमा गाउँघरमा बाटो सफाइ गर्नेदेखि मदिरा सेवन नगर्न, कोतघरको पूजा, वडा कार्यालयबाट आउने सूचनाहरू बस्तीसम्म पु–याउन दिलबहादुरलाई भ्याइनभ्याइ हुन्छ ।

‘सुन हो गाउँले हो, दशैँको बेलामा आफ्नो बाटोघाटो सरसफाइ गरेर बस्नुहोस् ।
कसैले रक्सी नखानुहोला, नबेच्नुहोला, रक्सी खाएर होहल्ला नगर्नुहोला ।’

एकाबिहानै यस्तै सूचना बोकेर अग्लो डाँडामा गएर कराउनु उनको काम हो । सामाजिक सुरक्षाभत्ता, पूजाआजा, विभिन्न भेला, कार्यक्रम तथा बैठक, सुख वा दुःखका कुरा घरघरमा पु¥याउ थालेको पनि दुई दशक बितिसकेको छ । उनले ज्यालामजदुरीसँगै कटुवाल पेशालाई निरन्तरता दिँदै आएको बताए । ‘सूचना हुदाँ भोकै घरबाट निस्किन्छु, पूरै गाउँ डुलेर सूचना भन्दाभन्दै जहाँ पाइन्छ त्यहीँ खान्छु’ दिलबहादुरले भने, ‘केही सूचना नभएको दिन जे पाउँछ त्यही ज्याला मजदुरीमा काम गर्छु ।’

आफ्नो पीडा कसलाई सुनाउनु ?

गाउँलेलाई सूचना र खबर सुनाउने दमाईले आफ्नो पीडा सुनाउने ठाउँ भने कतै नपाएको बताए । ‘पीडाको पहाडले मलाई थिचेको छ । एकमात्रै छोराको उपचारको क्रममा मृत्युपछि अपाङ्गता भएकी श्रीमती र दुई नातिलाई बिहान–बेलुकी ‘हातमुख जोड्ने’ खर्च जुटाउनेदेखि आफ्नो नियमित जिम्मेवारी पूरा गर्नैपर्छ । छोरोको उपचारमा लागेको ऋण अहिलेसम्म तिर्न सकेको छैन । कहिलेकाहिँ त पेटभरी खाने अन्न पनि हुँदैन’, दिलबहादुरले दुःखेसो पोखे, ‘एक्लो कमाइले श्रीमती, दुई नातिलाई पेटभरी खान समेत पुग्दैन । कटुवाल कराएबापत समुदायस्तरबाट आउने खाद्यान्न नपुगेपछि सहयोग माग्दै हिड्ने गरेको छु ।’

उनले गाउँलेका सूचना दिने कर्ममा लागेको मान्छेले आफ्नै सूचना सुनाउने ठाउँ नपाउँदा खिन्न हुने गरेको सुनाए । ‘एउटा नातिको आँखामा समस्या छ, उपचारका लागि पैसा छैन । अरूले जस्तै राम्रो लाउने र मिठो खाने चाहना राख्छन् तर आफ्नो कमाइले पुग्दैन’, दिलबहादुरले भने । कटुवाल पेसाले परिवारको गुजारा जसोतसो चले पनि नातिको शिक्षादीक्षा, उपचारमा सहयोगको खोजीमा रहेको उनको भनाइ छ ।

उनीलगायत लामो समयदेखि कटुवालको काम गर्दै आएका यहाँका सबैजसोलाई आजभोलि अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ । आफ्नो कामबापत आउने अन्नबालीको सट्टा पैसा दिएमा छोराको उपचारमा लागेको ऋण तिर्ने र नातिको उपचार गर्न सहज हुने दिलबहादुर बताउँछन् ।

बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसी दिलबहादुरको इमान्दारिता र सूचना प्रवाह गर्ने भूमिकाको तारिफ गर्छन् । ‘उहाँलाई सूचना प्रवाहमा सहज बनाउने छौँ । वडाबाट सक्ने सहयोग गरिएको छ, अझै पनि थप प्रोत्साहन गछौँ’, वडाध्यक्ष केसीले भने ।

कटुवालको सहजताका लागि हाते माइकको व्यवस्था गर्नसमेत माग गरिएको छ । ‘बेनीसहित सबै गाउँपालिकामा अझै पनि कटुवाल प्रथा कायम नै छ । त्यसैले सूचना प्रवाहमा सहजता ल्याउन प्रविधि सहयोग र यस काममा लागेका हामीहरूको जीविकोपार्जनलाई ध्यानमा राखेर आवश्यक काम गर्न हाम्रो आग्रह छ’, कटुवाल विकले भने ।

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

खजुरा । विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति(प्रतिमा) आज विसर्जन गरिँदै छ । यहाँका सहरबजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मान खोला र कर्णाली नदीमा लगेर सेलाइने गरिन्छ ।

ट्रक, ट्याक्टरलगायत सवारीसाधनमा मूर्ति राखेर लावालस्करसहित बाजागाजा बजाएर नाँचगान गर्दै मूर्ति सेलाउने गरिएको दुर्गापूजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले बताए ।

घटस्थापनाको दिनदेखि स्थापना गरिएका मूर्तिको नौ दिनसम्म विशेष पूजापाठ गरी दसैँको भोलिपल्ट अर्थात आज सेलाइने परम्परा रहेको पण्डित शिवप्रसाद पाठकले बताए । उनका अनुसार नौ दिनसम्म दुर्गा सप्तसतीको पाठ गर्ने गरिन्छ र नवमीका दिन विशेष पूर्णाहुती गरी पूजापाठ सकिन्छ ।

मूर्ति विसर्जन कार्यक्रमलाई सौहार्द, शान्तिपूर्ण बनाउन र सामाजिक सद्भावलाई ख्याल गर्दै विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढाले आज बिहान १० बजेदेखि नै मूर्ति विर्सजन हुने रुटलगायत जिल्लाभरि सुरक्षा व्यवस्थापनका लागि एक हजार प्रहरी परिचालन गरिएको जानकारी दिए ।

उनले बाँकेमा करिब छ सय दुर्गा मूर्ति विसर्जन गरिने अनुमान रहेको बताए ।

इजरायली आक्रमण कम्तीमा ३३  प्यालेस्टाइनीको मृत्यु

इजरायल । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो सैन्य कारबाहीलाई तीव्र पार्दा विगत २४ घण्टामा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

   गाजाको सिभिल डिफेन्स अथोरिटीले जारी  गरेको विज्ञप्तिमा इजरायली युद्धक विमानहरूले जबलिया क्षेत्र र यसको शिविरमा बमबारी गरेको बताएको छ ।

      स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले घर–घरमा व्यापक बमबारी सञ्चालन ग¥यो र ठूलो विस्फोट गराएको थियो ।

यहाँ बालबालिका र महिला सहित २५ प्यालेस्टिनीहरूको शव निकालेको र ९६ जना घाइते भएका चिकित्सा टोलीले सिन्ह्वालाई बताए । 

एक विश्वव्यापी चिकित्सा परोपकारी संस्था डाक्टर्स विदाउट बोर्डर्सले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायलको सैन्य कारबाहीका कारण हजारौं प्यालेस्टिनी अझै पनि जबलिया क्षेत्रमा फसेको बताइएको छ ।
   गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ४२ हजार एक सय ७५ जना पुगेका छन् । 

बाढीका कारण श्रीलङ्कामा २२ हजार भन्दाबढी विस्थापित

कोलाम्बो । श्रीलङ्का विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार बाढी, तेज हावा, रूखहरू ढल्दा हालै २२ हजार भन्दा बढी श्रीलङ्कालीहरू विस्थापित भएका छन् ।

डीएमसीले सार्वजनिक गरेको प्रतिवेदनमा अक्टोबर सातदेखि शनिबार बिहानसम्म दक्षिण एसियाली मुलुकका पाँच हजार ३४८ परिवारका २२ हजार ६४ जना विस्थापित भएको बताइएको छ ।

यसैबीच श्रीलङ्कामा पानीले भरिएको धानबारीमा डुबेर एक जनाको मृत्यु भएको र एक सय २० घरमा क्षति पुगेको डीएमसीले जनाएको छ ।

पाकिस्तानमा जनजातिहरू बीचको झडपमा ११ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बिचको झडपमा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँच जना बालबालिका र छ जना महिला रहेका छन् ।

गत महिना तल्लो कुर्रम जिल्लामा जग्गा विवादमा गोली चल्दा कम्तीमा सात जनाको मृत्यु भएको थियो ।

हाल, अधिकारीहरूले खैबर पख्तुनख्वाको तल्लो कुर्रम क्षेत्रमा भएको घटनाको लागि दुई पक्षहरू बिच युद्धविरामको लागि मध्यस्थता गर्न काम गरिरहेका छन् ।

खैबर–पख्तुनख्वाको कुर्रम क्षेत्रमा सुरक्षा बलले सात आतङ्ककारीहरूलाई गोली हानेर मारेका थिए । मारिएका आतङ्ककारीहरू सुरक्षाकर्मी र निर्दोष नागरिकहरूमाथि आक्रमणमा सक्रिय रूपमा संलग्न थिए । 

३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती’मा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौँ  । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ ।

संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आएको छ ।

दुई दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइ तयारी, खबर सङ्कलन तथा घाइते–बिरामीको व्यवस्थापनलगायतका दक्षता परीक्षणका आधारमा मूल्याङकन हुने निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले सन् २०१७ र २०१९ मा समेत त्यस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको थियो । यस वर्ष त्यस प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उपरथी दीपककुमार बानिया सम्मानित अतिथिका रुपमा सहभागी थिए ।

आज दशैँको टीकाको दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

काठमाडौं । बडादशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टीका लगाएकाहरुले दोस्रो दिन आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाइ आशीर्वाद लिने गर्दछन् ।

मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न आफन्तकोमा जाने गर्दछन् । कतिपय स्थानमा विजयादशमीको दिनमात्र टीका लगाउने चलन भए पनि कतिपय ठाउँमा कोजाग्रत पूर्णिमासम्मै टीका लगाउने गरिन्छ ।

देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका

दमौली (तनहुँ) । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए ।

बन्दीपुरस्थित होटल हिमालय दरबारमा बसेका उनीहरुलाई होटल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए । होटलका सञ्चालक वैश गुरुङले दसैैँको टीका र जमरा लगाएपछि पर्यटकले खुसी व्यक्त गर्दै यस चाडको बारेमा सोधपुछ गरेको बताए ।

उनले भने, “नेपालीको रीतिरिवाज र कलासंस्कृतिबारे विदेशी पर्यटक उत्सुक भएको पायौ । दसैँको बारेमा सोधपुछ गरेपछि हामीले यस पर्वको बारेमा जानकारी गरायौ ।”

केही दिनदेखि बन्दीपुर भ्रमणमा रहेका विदेशी पर्यटकलाई दसैँ टीका लगाएर बिदाइ गरेको उनको भनाइ छ । दसैँ सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको गुरुङले बताए ।

उनले भने, “अब बन्दीपुरमा पर्यटकको चहलपहल हुने समय हो । विदेशी पर्यटकको आगमन बढ्दो अवस्थामा छ ।”

काभा यु–२० भलिबलमा नेपाल उज्बेकिस्तासँग पराजित

काठमाडौं । काभा यु–२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित भएको छ । शनिबार भएको फाइनल खेलमा उज्बेकिस्तानसँग ३–१ सेटमा पराजित भएको हो ।

नेपालले पहिलो सेट २७–२५ ले जितेको थियो भने त्यसपछि उज्बेकिस्तानले दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो सेट २५–२० ले जितेको थियो । यसअघि लिग चरणमा पहिलो र दोस्रो स्थानमा रहेर नेपाल उज्वेकिस्तान र नेपाल फाइनल खेलेका हुन् ।

नेपाल लिगचरणको खेलमा पनि उज्वेकिस्तानसँग ३–१ ले पराजित भएको थियो । शुक्रबारको खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । तुर्कमेनिस्तानसँग समान अङ्क भए पनि सेटको जितका आधारमा नेपाल फाइनलमा पुगेको हो ।

राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान(फोटोफिचर)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको महान् चाड विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेका छन्।

दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अङ्गका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरिसकेपछि इच्छुक सर्वसाधारणलाई पनि टीका लगाउन सुरु गरेको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्न सयौँ मानिस लाममा बसेको जनाइएको थियो ।

विजयादशमीका दिन राष्ट्रको अभिभावकका रुपमा राष्ट्राध्यक्षबाट हजारौँ नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन् । राजतन्त्रकालमा राजाले निरन्तरता दिएको यो परम्परालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका राष्ट्रपतिहरुले पनि निरन्तरता दिँदै आएका छन् ।

तस्बिर : किरणराज विष्ट/रासस

करेन्ट लागेर हेटौंडामा दुई बालिकाको मृत्यु

बागमती । करेन्ट लागेर शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको मृत्यु भएको छ । 

चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।

उक्त पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ निवासी सात वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

सँगै हिँडिरहेका दुवै बालिकाले अचानक जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए । बेहोस भएका दुवै बालिकालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । मृतक दुवै नाबालिका रहेकाले नाम थर गोप्य राखिएको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘नाभाल्नीलाई जेलमा नै आफ्नो मृत्यु हुन्छ भन्ने थाहा थियो’

न्युयोर्क । अमेरिकी राष्ट्रपति भ्लादिमिर पुटिनका तत्कालिन प्रमुख राजनीतिक प्रतिद्वन्द्वी रहेका रूसी विद्रोही एलेक्सी नाभाल्नीले आफू जेलमा नै मर्नुपर्छ भन्ने बुझेको उनको मृत्युपछि सार्वजनिक जेल डायरीमा उल्लेख गरेको भेटिएको छ। 

‘द न्यु योर्कर’ले शुक्रबार प्रकाशित गरेको पुस्तकका केही अंशमा नाभाल्नीको जेल डायरी र त्यसअघिका लेखहरू समावेश गरिएको छ।

२२ मार्च २०२२ मा उनले लेखेका थिए, “म मेरो बाँकी जीवन जेलमा बिताउनेछु र यहीँ मर्नेछु । बिदाइ गर्ने कोही हुनेछैन । सबै वर्षगाँठहरू म बिना मनाइनेछ। म मेरा नातिनातिनालाई कहिल्यै देख्ने छैन।”

नाभाल्नीलाई आर्कटिकको एक पेनल कोलोनीमा ‘अतिवाद’ को आरोपमा १९ वर्षको जेल सजाय सुनाइएको थियो ।
फेब्रुअरी १६ मा ४७ वर्षको उमेरमा भएको उहाँको मृत्युको व्यापक निन्दा भएको थियो र धेरैले उनको मृत्युका लागि पुटिनलाई दोषी भएको बताएका छन् । 

सन् २०२० मा नाभाल्नीलाई विषाक्त पदार्थ सेवन गराई हत्या गर्ने प्रयास भएको थियो । बिष आक्रमणबाट गम्भीर स्वास्थ्य समस्या आएपछि उहाँको जर्मनीमा महिनौ लामो उपचार भएको थियो । उनलाई उपचारपछि रूस फर्कने क्रममा जनवरी २०२१ मा पक्राउ गरिएको थियो ।

जनवरी १७, २०२२ मा उनले  लेखेका छन्, “हामीले डराउनुपर्ने एउटा मात्र कुरा के हो भने हामी आफ्नो मातृभूमि झूट, चोर र पाखण्डीहरूको गिरोहले लुट्नका लागि समर्पण गर्नेछौँ।”

पुस्तकमा डायरीका अंशहरूले कैदको एक्लोपन र प्रशासनको हास्यास्पद अनुसन्धानलाई प्रस्तुत गरेको छ । 
उदाहरणका लागि, जुलाई १, २०२२ मा नाभाल्नीले आफ्नो सामान्य दिनको रूपरेखा प्रस्तुत गर्दै लेखेका छन्, बिहान ६ः०० बजे उठ्ने, ६ः२० मा ब्रेकफास्ट गर्ने र ६ः४० मा काम सुरु गर्ने मेरो दैनिकी हो।

उनले लेखेको डायरीको अंशमा पुटिनको प्रशासनलाई व्यङ्ग्य गर्दै भनिएको छ, “कामको सिलसिलामा तपाईं घुँडाभन्दा होचो स्टुलमा सिलाई मेसिनमा सात घण्टा बस्नु र काम पछि, पुटिनको चित्रमुनि काठको बेन्चमा केही घण्टा बस्नुलाई ‘अनुशासनात्मक गतिविधि’ भनिन्छ।” 

‘प्याट्रियट’ शीर्षकको यो पुस्तक अमेरिकी प्रकाशक नोफले सार्वजनिक गर्नेछ। न्यु योर्करका सम्पादक डेभिड रेम्निकले लेखेका छन्,  “नाभाल्नीको जेल डायरी पढ्न कठिन छ।”

जनवरी १७, २०२४ मा पत्रिकामा प्रकाशित अन्तिम अंशमा नाभाल्नीले आफ्ना सहकर्मी कैदीहरू र जेल गार्डहरूले सोधेको प्रश्नको जवाफ दिएका छन्, उनी किन रूस फर्के?

“म आफ्नो देश छोड्न वा विश्वासघात गर्न चाहन्नँ। यदि तपाईंको विश्वासको कुनै अर्थ छ भने, तपाईं उनीहरूको विपक्षमा खडा हुन र आवश्यक भएमा बलिदान दिन तयार हुनुपर्छ,” उनले डायरीमा लेखेका छन् ।

बोइङले १० प्रतिशत कर्मचारी कटौती गर्ने

सान फ्रान्सिस्को । बोइङले आगामी केही महिनाभित्र १० प्रतिशत कर्मचारी हटाउने जनाएको छ। एक महिना लामो हडतालका कारण बोइङको उत्पादनमा प्रभाव परेको कम्पनीले जनाएको छ।

बोइङका अनुसार रोजगारी कटौतीले कम्पनीका सबै तहका करिब १७ हजार कामदारलाई असर पार्नेछ। कम्पनीले २९ वटा जेटका लागि हालको माग पूरा गरेपछि सन् २०२७ मा ७६७ मोडेलको (वाइडबडी मालवाहक) जहाजको उत्पादन बन्द गर्ने भएको छ।

कम्पनीले ७७७ एक्सको उत्पादनलाई बजारमा ल्याउने प्रक्रियालाई सन् २०२६ सम्म सार्ने बताएको छ।प्रमाणीकरणको वर्षौंको ढिलाइ र हालैको एक त्रुटिपूर्ण अंश भेटिएपछि बोइङको नयाँ ७७७ मोडेलले यस वर्षको शुरूमा परीक्षण उडान रोकेको थियो।

बोइङका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्गले कर्मचारीलाई पठाएको पत्रमा कम्पनीले ‘हाम्रो वित्तीय वास्तविकतासँग मेल खाने गरी आफ्नो कार्यबलको स्तर पुनः तय गर्नुपरेको’ बताइएको छ।

“हामीले सामना गरिरहेको अवस्थाबारे स्पष्ट र यथार्थवादी हुन आवश्यक छ। यसले पुनरुत्थानको मार्गमा महत्त्वपूर्ण सफलता मिल्नेछ। हाम्रा स्रोतको प्रदर्शन र नवप्रवर्तनमा ध्यान केन्द्रित गर्न आवश्यक छ,” उनले भने।

आइभोरीकोस्टमा धुमपानका कारण प्रतिदिन ६ हजारको मृत्यु

आबिदजान। धुम्रपानका कारण आइभोरी कोस्टमा वर्षेनी छ हजारभन्दा बढीको मृत्यु हुने गरेको त्यहाँको प्रमुख वकिलहरूको छाता संगठनले जनाएको छ।

आइभोरी कोस्टका ‘महिला लयर्स एसोसिएसन’का उपमहासचिव एन्डोसिन टोमोउ डे टुआलीले बुधबार राजनीतिक राजधानी यामुसौक्रोमा एशोसिएशनले सुरु गरेको धुम्रपान विरोधी अभियानका क्रममा उक्त तथ्यांक सार्वजनिक गरेका छन्।

सङ्गठनले आइभोरी कोस्टमा सुर्तीजन्य पदार्थको सेवन तीव्र गतिमा बढिरहेको भन्दै यसलाई ई-चुरोटलगायत सबै प्रकारका धुम्रपानको जोखिमबारे जनचेतना जगाउन र अकालमा हुने यस्ता मृत्युलाई रोक्न आह्वान गरेको छ।

सुर्तीविरूद्धको राष्ट्रिय कार्यक्रमका उपसंयोजक ओमर कौलिबालीले भने, “सक्रिय र निष्क्रिय धूम्रपान दुवैले क्यान्सर, कार्डियोभास्कुलर र श्वासप्रश्वाससम्बन्धी रोगजस्ता गम्भीर रोगहरू निम्त्याउँछ। गर्भावस्थाको समयमा धुम्रपान गर्दा भ्रुणमा विकृतिहरू हुन्छन्।”

उहाँले ‘युवाहरूलाई जहिल्यै पनि धुम्रपान गर्नबाट रोक्न’ प्रयास गर्नुपर्ने बताए।

सन् २०१२ मा सार्वजनिक स्थलमा धुम्रपानमा प्रतिबन्ध र सन् २०१९ मा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुन लागू भए तापनि आइभोरियालीमाझ धुम्रपान निकै लोकप्रिय छ।

ब्राजिलमा डढेलोका कारण दुई करोड २० लाख हेक्टर वन क्षेत्र प्रभावित

ब्राजिलको वन क्षेत्र डढेलोबाट प्रभावित भएको र यस वर्षको पहिलो नौ महिनामा दुई करोड २३ लाख ८० हजार हेक्टर जमिन नष्ट भएको अनुगमन सञ्जाल म्यापबायोमासले शुक्रबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।

डढेलोका कारण सेप्टेम्बर महिनामा मात्रै एक करोड छ लाख ५० हजार हेक्टर जमिन जलेर नष्ट भएको प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण अमेरिकी देश बाजिलका उत्तरी क्षेत्रका माटो ग्रोसो, पारा र टोकान्टिन डढेलोका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र मानिन्छन् ।

ब्राजिलको अमेजन क्षेत्र डढेलोबाट सबैभन्दा बढी प्रभावित भएको छ र यहाँको एक करोड १३ लाख हेक्टर जमिन डढेलोले जलेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालबाट पूर्णरुपमा बाहिरियो मनसुन

काठमाडौँ । यस वर्षको मनसुन शनिबारदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन आजदेखि पूर्णरूपमा बहिर्गमन भएको हो । 

आज अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि आज बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो ।

यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिकरूपमा मनसुन बाहिरिएको थियो ।

आज भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो । यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन सुरु भएकामा छ दिनपछि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती

नवलपुर ।  आज बडादसैँको टीकाको दिन । गाउँलेहरु हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला यहाँको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगन तेर्सो आउने बाटो हेर्दै बितिरहेको छ ।

स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत साउन २३ गते साँझ घरबाट निस्किएपछि अहिलेसम्म फर्किएका छैनन् । छोरा बेपत्ता भएपछि गुरुङ दम्पतीको घर सुनसान छ । विगत तीन वर्षदेखि मिर्गौलाको डायलासिस गराइरहेकी उत्तमकी ५० वर्षीया आमा राजकुमारी गुरुङ छोराको चिन्ताले झनै थलिएकी छिन् । ‘घरबाट केही नभनी निस्किएको छोराको अवस्था थाहा छैन’, गहभरि आँसु पार्दै राजकुमारीले भनिन्, ‘कहाँ गएको हो, आफन्त गाउँलेहरु मिलेर धेरै ठाउँमा खोज्नुभयो । तर छोराको बारेमा केही थाहा पाउन सकिएन ।’

जेठा छोरा बेपत्ता भएपछि दसैँ खल्लो भएको छ। दसैँ मनाउने उत्साह नभएको उनले बताइन्। ‘हिँड्ने बेलामा मोबाइल यहीँ छोडेर हिँडेको रैछ’, उनले भनिन्, ‘गाउँमा कतै गयो होला भनेर सोचेका थियौँ। एक दिन, दुई दिन गर्दै यत्रो दिन बित्यो छोरा घर फर्किएन।’ छोरा जहाँ जस्तोसुकै अवस्थामा भए पनि चाँडो घर फर्किन उनले बिन्ती गरिन्।

उत्तमका ५८ वर्षीय बाबु नन्दे गुरुङलाई छोराले किन घर छाडेर हिँड्यो भन्ने पनि थाहा छैन। ‘हामी बाउछोरा भएर तरकारीखेती, कुखुरापालन तथा बाख्रा व्यावसायिक रुपमा पाल्दै आएका थियौँ’, उनले भने, ‘दिनभरि सँगै काम गरेका थियौँ, त्यस्तो नराम्रो केही भएको पनि थिएन, बेलुकी घरबाट बाहिर निस्केको छोरा अझै फर्किएन ।’ छोराको खोजी गर्न धेरै ठाउँ पुगेको र प्रहरी, संघसंस्थासँग गुहार माग्दासमेत नभेटिएको गुरुङको भनाइ छ ।

नन्देका बाबुछोरा नै वैदेशिक रोजगारका लागि पाँच वर्ष दुबईमा बसेर स्वदेश फर्किएपछि व्यावसायिक पुशपालन गर्दै आएका थिए । पत्नी बिरामी आएपछि वैदेशिक रोजगारी छोडेर दुवै जना फर्किएका थिए ।

‘घरको हरेक कामकाजमा सघाउँदै आएको जेठो छोरो बेपत्ता भएपछि कुन खुसीले दसैँ मनाउनु खै’, मलीन मुद्रामा नन्देले भने, ‘अझै पनि छोरा आउँछ कि भनेर बाटो हेर्दैमा दिनरात कटाउने गरेका छौँ ।’ छोरा घर फर्किएमा सबै खुसी फिर्ता आउने र चाडपर्व रमाइलो हुने आशा गुरुङ दम्पतीको मनमा अझै छ ।

भक्तपुरमा ब्रम्हायणी जात्राको रौनक(फोटोफिचर)

भक्तपुर । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रम्हायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा सुरु भएको छ । यो जात्राका लागि रातिदेखि नै हजारौं दर्शनार्थीको घुइँचो लागेको छ ।

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वास अनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ ।

मन्दिरमा नवमीका दिन साँझदेखि नै हजारौँ दर्शनार्थीको घुइँचो लागेको थियो । शुक्रबार साँझ नवदुर्गा मन्दिरबाट महिषासुर दैत्यको प्रतिक खःमेय अर्थात् राँगोलाई जाँड, रक्सी खुवाएर मत्ताएर अबिर दलेर नवदुर्गा देवता घरबाट हजारौँको सङ्ख्यामा दर्शनार्थीले लखेट्दै दत्तात्रय, च्यामासिंहबाट ब्रम्हायणी मन्दिरमा पुर्याएर राति बध गरिएको थियो ।

राँगोलाई महिषासुर दैत्यको रुपमा लखेट्दै बध गर्ने परम्परा सयौँ वर्षदेखि भक्तपुरमा चल्दै आएको भक्तपुरका संस्कृतकर्मी कमलनाथ जोशीले जानकारी दिए ।

खःमेयको बधपछि पनि रातभर यस मन्दिरमा हजारौँ दर्शनार्थीको भीडमा जात्रा मनाइएको थियो । विजयादशमीको दिन ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् ।

मन्दिरमा पुजा सामग्रीसहित जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलीसमेत दिने गरिन्छ।
आजका दिन व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ दीप (दियो) बालेर घरदेखि मन्दिरसम्म जाने र पूजा गर्ने चलन छ ।

बालकदेखि बयष्क पुरुषहरु शरीरमा बत्ति बालेर घरबाट मन्दिरसम्म पुग्छन् । कतिपय भने सडकमा सुतेर हात जोड्दै घरबाट मन्दिरसम्म पुग्ने गर्छन् ।

शरीरमा दीप बालेर र हात जोड्दै उनीहरु घरबाट मन्दिरसम्म पुग्छन् । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । मन्दिरमा आज दिनभरी नै भव्य मेला लाग्छ ।

तस्बिरः रमेश गिरी/रासस

दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन् ।

बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रूपमा मनाउँदै आएको बताएका छन् ।

“नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो । दसैँ हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व पनि हो । यस पर्वले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने दिएको छ”, सन्देशमा भनिएको छ ।

सभापति देउवाले बडादसैँको पुनित अवसरमा कांग्रेस र आफ्नो तर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

यस्तै, दसैँको पूर्वसन्ध्यामा बाढी, पहिरोको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको उल्लेख गर्दै उनले हजारौँ नागरिक घरवारविहीन हुन पुगेको र मुलुकमा अर्बौंका राष्ट्रिय पूर्वाधार नष्ट भएको स्मरण गरेका छन् ।

“दसैँमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठिन अवस्था सिर्जना भएको छ”, शुभकामना सन्देशमा उल्लेख छ,“हजारौँ नागरिकका करोडौँका जग्गाजमिन र भित्राउने बेला भएको अन्नबाली सखाप भएका छन् । यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।”

बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । बैतडीका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको छ । यहाँका भगवती मन्दिरमा पशुबलिसहित जात्रा सम्पन्न भएको हो ।

घटस्थापनादेखि महाअष्टमीसम्म यहाँका भगवती मन्दिरमा करिब एक हजार पशुबलि चढाइएको जनाएको छ । जिल्लाकै प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा लागेको अष्टमी मेलामा मात्रै पाँच सय १२ पशुको बलि दिइएको छ ।

दशरथचन्द नगरपालिका–२ स्थित निङ्गलाशैनी भगवति मन्दिरमा तीन सय १७ राँगा र एक सय ९५ बोकाको बलि दिइएको निङ्गलाशैनी मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज बोहराले जानकारी दिए ।

पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा ३८ राँगा र १२ बोकाको बलि दिइएको छ । मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा घटस्थापनादेखि आजसम्म दुई सय २० पशुको बलि दिइएको छ । जसमा एक सय राँगा र एक सय २० बोकाको बलि दिइएको मन्दिर व्यवस्थापन समितका अध्यक्ष नरेश नायकले जानकारी दिए ।


सुर्नया गाउँपालिका–५ स्थित फल्ङासैनी मन्दिरमा २१ वटा पशुको बलि दिइएको छ । बिहीबार राति १४ राँगा र सात बोकाको बलि दिइएको सो गाउँपालिकाका वडा नं ५ का वडाध्यक्ष केशवसिंह बिष्टले जानकारी दिए ।

डिलासैनी गाउँपालिका–५ को कफलासैनी भगवती मन्दिरमा ३० वटा राँगा र ३५ वटा बोकाको गरी ६५ पशुको बलि दिइएको वडा नं ५ का वडा अध्यक्ष यज्ञ भट्टले जानकारी दिए ।

डिलासैनी–६ को निङ्गलाशैनी भगवती मन्दिरमा २१ राँगा र दुई बोका गरी २३ पशुको बलि दिइएको मेला व्यवस्थापन समितिका सदस्य आँसु मालले बताउनुभयो । पुर्चौडीका विभिन्न भगवती मन्दिरमा गरेर १२ राँगा र ४२ बोकाको बलि चढाइएको छ ।

डिलासैनी–१ को दुर्गाभवानी मन्दिरमा नवरात्रिभर १८ बोकाको बलि दिइएको स्थानीय शिक्षक धर्मराज भट्टले जानकारी दिए । यस्तै दोगडाकेदार गाउँपालिका ३ सिल्लमा रहेको रणशैनी भगवती मन्दिरमा २६ राँगा र ३२ बोकाको बलि दिइएको रणशैनी भगवती मेला व्यवस्थापन समिति सदस्य जनक चन्दले जानकारी दिए। यहाँका मन्दिरमा लाग्ने जात्रामा छिमेकी राष्ट्र भारतका समेत दर्शनार्थी आउने गरेका छन् ।

भगवतीका मन्दिरमा सम्पन्न जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए ।

पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर

कास्की  । जीवनको उत्तरार्धमा कास्कीको पोखरा–६ बैदामका ८६ वर्षीय बुद्धिबहादुर नेपाली परम्परागत संस्कतिको संरक्षण गर्न पिङ निर्माण समितिको संयोजक बनेर यतिबेला पिङ निर्माणमा जुटेका छन् । उनले फेवाताल किनारमा २०१५ सालदेखि निरन्तर ४० वर्षसम्म पिङ निर्माण गरेका थिए ।

बुद्धिबहादुरकै नेतृत्वमा यतिबेला पोखराको फेवाताल किनारमा पिङ राखेर स्वदेशी तथा विदेशी पर्यटकलाई दसैँको मनोरञ्जन प्रदान गरिएको छ । केही दशकयता उक्त स्थापनमा रोकिएको पिङ निर्माणलाई उहाँ संयोजक बनेर यस वर्ष पिङ निर्माण गरिएको हो ।

विसं २०१५ वर्षदेखि बुद्धिबहादुर नेपाली, अक्कलबहादुर भुजेल र बाबुलाल श्रेष्ठ मिलेर पर्यटकीय स्थल फेवातालको बाराही घाट नजिकैको चौरमा चम्रेली, रिङ्गटे, लठ्ठे र जाँचे पिङ राख्नु हुन्थ्यो । विभिन्न कारणले केही दशकदेखि रोकिएको उक्त पिङ यस वर्ष फेरी निर्माण गरिएको छ । त्यतिबेला पिङ राख्ने तीनजनामध्ये हाल बुद्धिबहादुर मात्र जीवित छन् । उनीहरुले निरन्तर पिङ राखेर बैदामवासीलाई मनोरञ्जन प्रदान गर्दै आएका थिए । तर फेवालात किनारमा पिङ राख्ने काम २० वर्षदेखि बन्द हुँदै आएको थियो ।

बन्द भएको कामलाई निरन्तरता दिन बुद्धिबहादुरको संयोजकत्वमा पिङ निर्माण समिति गठन गरी यस वर्ष बाराही घाटमा पिङ राखिएका छन् । परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उनले आफ्नै घरमा भएका पिङ सामग्री झिकेर ल्याई पिङ राखेका हुन् । “पिङका सामग्री मेरो घरमा बीस वर्षदेखि त्यसै थन्किएर बसेका थिए । यस वर्ष प्रयोगमा आए,” उनले भने । यस वर्ष पिङ निर्माणमा वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पनि चासो देखाउनुभएको बुद्धिबहादुरले बताए ।

गाउँमा पिङ निर्माण भएपछि केटाकेटी खुसी हुनाका साथै दसैँ आएको अनुभूति हुन्थ्यो, पिङ खेल्नकै लागि एक घण्टासमेत पालो कुरियो त्यही सम्झनामा केटाकेटीहरुलाई खुसी दिनका लागि आफू यो उमेरमा पनि पिङ निर्माण समितिको संयोजक भएर काम गरेको बुद्धिबहादुरले सुनाए ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले परम्परागत संस्कृतिको जगेर्ना गर्न उक्त स्थानमा विभिन्न प्रकारका पिङ राखिएको बताए । बाराही घाटको उक्त चौरमा धेरै वर्षदेखि पिङ राखिँदै आइएको र केही दशकदेखि रोकिएकाले यस वर्षदेखि निरन्तरता दिइएको बताए ।

स्थानीयवासी भरत पहारीले पिङ निर्माणसँगै सानो उमेर छँदा मनभित्र आएको खुसीको अनुभूति स्मरण भएको बताए । अहिले बजारमा जतासुुकै यस्ता पिङ बाह्रै सञ्चालन हुँदा केटाकेटी उमेर समूहलाई पनि दसैँको पिङको महत्व कम हुँदै गएको उनको भनाइ छ । कास्कीका गाउँहरुमा यस्ता पिङ राख्ने काम केही मात्रामा भए पनि सहरी क्षेत्रमा भने ह्वात्तै घटेको पहारी बताउँछन् ।

नेपाल काभा यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३–० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । आजको खेलमा नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२१ र अन्तिम सेट २५–२० अङ्कले जितेको हो ।

जितसँगै नेपालले पाँच खेलबाट १० अङ्क जोडेको छ । यसअघि नेपालले श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र किर्गिस्तानसँग ३–२ सेटमा हार बेहोरेको थियो ।

तुर्कमिनेस्तानले पाँच खेलबाट समान १० अङ्क नै जोडेको छ । उसले माल्दिभ्स र किर्गिस्तानलाई समान ३–० तथा श्रीलङ्कालाई ३–१ को सेटमा पराजित गरेको थियो भने तुर्कमिनेस्तान उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । शनिबार नेपाल र उज्वेकिस्तानबीच फाइनल खेल हुनेछ ।

अवरुद्ध बीपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा

काभ्रे । असोज ११ र १२ गतेको अविरल वर्षाको बाढी पहिरोले क्षतिग्रस्त भई अवरुद्ध बीपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ। केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुने गरी सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

बाढीपहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तहहरू, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा शुक्रबारदेखि सञ्चालन गर्न सफल भएको हो।

कार्यालयले शुक्रबार बिहानबाट उक्त राजमार्गमा यातायातका साधन सञ्चालनमा ल्याइएको हो। कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पछिल्लो पटक राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको रोशी गाउँपालिका–९ मंगलटारस्थित बोक्सीकुनामा डाइभर्सन बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी यातायात सञ्चालनमा ल्याइएको बताए।

उनका अनुसार बाढी पहिरोले राजमार्गको काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब दुई सय मिटर सडक पनि अस्थायी रूपमा एकतर्फी खुलाइएको छ। बाढी पहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमाथ्ल नेपालथोकसम्म क्षति पुर्‍याएपछि उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

राजमार्ग खुलाउन चौकीडाँडा र नेपालथोक दुवैतिरबाट निर्माण शुरू गरिएको कार्यालयले जनाएको छ। “राजमार्गको सडक, पुल र कल्भर्ट बगेको स्थानमा हाललाई सडक सञ्चालनका लागि अस्थायी संरचना निर्माण गरिएको हो”, उनले भने।

धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बहावलाई सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ। रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकको १४ स्थानमा करिब आठ किलोमिटर क्षतिग्रस्त बनाएको थियो।

यसमध्ये राजमार्गअन्तर्गतको दाप्चा खोलामा एक सय मिटर, चौकीडाँडामा दुई सय, कटुञ्जे घुमाउनेमा पाँच सय, लास्कोट बेँसीमा दुई सय, चार सय बेँसीमा पाँच सय, गिम्दीबेँसीमा तीन सय, खार्पाचोकबेँसीमा तीन सय र नार्केमा आठ सय मिटर सडक क्षतिग्रस्त भएको थियो।

यस्तै, पिन्थलीबेँसीमा चार सय, दाउन्नेमा तीन सय, मंगलटार बोक्सीकुनामा छ सय, चिउरीबासमा दुई सय, कालढुङ्गामा एक किलोमिटर, डालाबेँसीमा आठ सय, पिप्लको दुई स्थानमा गरी सात सय, बर्खेखोला तीन सय, चालिसेमा चार सय र माम्तीमा आठ सय मिटर सडक पूर्ण रूपमा क्षति भएको थियो।

बाढी पहिरोले उक्त राजमार्गमा सडकसम्पर्क टुटेपछि रोशी गाउँपालिकाको विपद् पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवं पूर्वी तराईबाट आएका यात्रु अलपत्र भएपछि भोलिपल्टैदेखि हेलिकप्टरमार्फत उद्धार थालिएको थियो।

राजमार्गको कुल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ। क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानमा भएको क्षतिको मूल्यांकन गर्दा दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रमुख योगेशले बताए।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो। खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

राष्ट्रपति पौडेलद्वारा उपत्यकाका शक्तिपीठमा पूजाअर्चना(फोटोफिचर)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण  गरेका  छन् । उनीसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरे ।

उक्त अवसरमा राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ । यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् । बडादसैँका सन्दर्भमा आज काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ ।

तस्बिर : नवीन पौडेल/रासस

दसैं मान्न १३ लाखले छाडे उपत्यका

काठमाडौँ । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या शुक्रबारसम्मको हो ।

१८ लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए ।

“हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ”, उनले भने, “तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।” अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।