`

बिपी राजमार्ग पहिरोले पुनःअवरुद्ध

धुलिखेल । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो खसेको छ । सडकमाथिबाट सुक्खा पहिरो खसेसँगै वैकल्पिक बाटो पनि अवरुद्ध भएको छ ।

रोशी खोलाको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएरपछि सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीवार राति उक्त सडकमा ‘ट्र्याक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर घलेका अनुसार पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौँतर्फ आइरहको बस र टाटा सुमो पुरिएका थिए । यद्यपि मानवीय क्षति भएको छैन । अवरुद्ध सडक सञ्चालनको प्रयास जारी छ ।

सडक डिभिजन कार्यालयका कर्मचारी चन्द्रबहादुर लामाले अहिले पनि पहिरो झर्ने क्रम नरोकिएकोले तत्काल सडक खुल्ने सम्भावना नरहेको बताए।

राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा आज नौ जना कन्याको विधिपूर्वक पूजा गरेका छन् ।

राष्ट्रपति भवनमा उनीहरूले कन्याहरूको पूजा गरेका हुन् ।

नवरात्रमा दुर्गादेवीका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि महागौरी र सिद्धिदात्रीको पूजार्चनासँगै ती देवीका प्रतीक मानेर राष्ट्रपति दम्पतीले नौ कन्याको पूजा गरेका हुन् ।

झापामा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

झापा । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । बिहीबार राति चारआली–चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

बाबु त्रिलोचन भण्डारीले चलाएको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकलको पछाडि बसेका आलोकलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा पुर्याउना साथ चिकित्सकले मृत घोषित गरेको प्रवक्ता चन्दले बताए । 

दुर्घटनामा प्रदेश १–०१–०१४ प ९९३ नंको मोटरसाइकल पछाडि सवार भद्रपुर–१० का २४ वर्षीय विपान्सु राउतको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

उनको अवस्था सामान्य छ । मे८प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर–८ का २५ वर्षीय सञ्जिव गिरीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेका छ । उनको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन् । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो । 

क्लबका अध्यक्ष लक्ष्मी काफ्ले बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्मलाई सामूहिक रूपमा मनोरञ्जन दिने मात्रै नभइ संस्कृतिसँगको सामिप्यता र हाम्रो परम्परागत धरोहरप्रति गर्व गर्न प्रेरित गर्ने उद्देश्यले क्लबले पिङ हालेको बताउँछन् ।

“लिङ्गेपिङ नेपाली पर्व संस्कृति र समाजको अभिन्न अङ्ग हो । दसैँका बेला यसको विशेष महत्व रहन्छ । पिङमा झुल्दा आउने आनन्दको अनुभूति मात्र होइन, पिङले व्यक्तिहरूलाई सांस्कृतिक र आध्यात्मिक अर्थ पनि दिन्छ । यो पर्वको समयमा बनाइने पिङले दसैँलाई मात्र होइन, तिहार र अन्य पर्वलाई पनि जीवन्त बनाउने गरेको छ”, उनले भने ।

क्लबका सचिव दिनेश खवासले नयाँ पुस्तालाई परम्परागत खेलको महत्व बुझाउन तथा स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न पिङ हालिएको बताए । “क्लबले लिङ्गेपिङ निर्माण गरेर दसैँको मौलिकता र सौन्दर्यलाई जोगाउने प्रयास गरेको छ । यसले स्थानीय समुदायलाई सङ्गठित गर्ने र मनोरञ्जन प्रदान गर्न पनि सघाउ पुर्याउने अपेक्षा गरेका छौँ । परम्परागत संस्कृतिको स्मरणका लागि हरेक वर्ष क्लबले यस्तो गर्दै आएको छ”, उनले भने ।

यस वर्ष पनि विधिपूर्वक पूजापाठ गरेर पिङको सुरुआत गरिएको क्लबका अभ्यक्ष काफ्लेले बताए । 

सूचना प्रविधिको विकाससँगै आममानिसहरू आधुनिक खेल, टेक्नोलोजी र सहरीकरणको प्रभावमा चुर्लुम्म छन् । यसकै प्रभावले होला गाउँघरमा समेत परम्परागत पिङ निर्माणको चलन कम हुँदै गएको छभने सहरी क्षेत्रमा त झन् यस्ता पिङ देख्न पाउनु दुर्लभ बन्दै गएको छ । स्थानीय विवश लिम्बू आधुनिक जीवनशैली र व्यस्तताले नयाँ पुस्ता आफ्नो परम्परागत खेलप्रति कम आकर्षित हुँदै गइरहेको बताउँछन् ।

“लिङ्गेपिङको रौनक र मज्जाले दसैँलाई अझ विशेष बनाउँछ । दसैँको बेला लिङ्गेपिङमा झुल्न पाउँदा मानिसले आफ्ना बाल्यकालका याद ताजा गर्छन् । वर्षभरि छुटिएकाहरू एकैठाउँमा जम्मा भएर आनन्द लिन्छन्, सामिप्यता बढाउँछन् ।  पिङले समुदायमा आपसी प्रेम, सद्भाव र सहयोगको भावना फैलाउँछ । लिङ्गेपिङले दसैँको मौलिकता झल्काउने मात्र होइन, परिवार र समाजलाई एकजुट बनाउने अवसर पनि प्रदान गर्छ तर पछिल्लो समय यो परम्परा विस्तारै हराउँदै गएको छ”, उनको भनाइ छ । 

वीरेन्द्र युवा क्लबले यस पिङ निर्माण गरेर दसैँलाई अझै उल्लासमय बनाउने प्रयास गरेको क्लबका अध्यक्ष काफ्लेले बताए । समाजमा रहेका पुराना संस्कार, परम्परा र खेलको जगेर्ना तथा स्थानीय खेलको प्रवर्द्धन गर्नु मुख्य उद्देश्य रहेको सचिव खवासको भनाइ छ । 

अधुरै रह्यो सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका- ६ कसरौलको स्याली नदी तटीय क्षेत्रमा ६२ वर्षीय हरजित लुहारले झुपडी बनाएर बस्दै आएको अढाइ दशक भयो । मुक्त हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत लुहारले घर मर्मतका लागि पहिलो किस्ताको रकमसमेत बुझेका छन् तर उनले सुरक्षित आवास बनाउन सकेका छैनन् । स्थानीय बासिन्दाले अवरोध गर्दा लामो समयदेखि सुरक्षित आवास बनाउने सपना अधुरै रहेको लुहारको गुनासो छ । ‘झुपडी बनाएर बस्दै आएको २३ वर्ष पुगेको छ । झुपडीकै आसपासका क्षेत्रमा गैरदलित परिवारहरुले नदीसम्मै पुग्नेगरी खेती लगाउने गरेका छन् तर मैले घर निर्माण गर्न खोज्दा गौचरन, पानीघाट भनेर विरोध हुने गरेको छ । इँटा खरिद गरेको पनि वर्षौं भइसक्यो, अब त त्यो पनि काम नलाग्ने अवस्थामा परिणत हुँदैछ,’ उनले भने ।

मुक्त हलिया परिवारका लुहारले ‘ख’ वर्गको परिचयपत्र पाएका छन्। जग्गा भएका तर घर नभएका मुक्त हलिया परिवारलाई पुनःस्थापन कार्यक्रमअन्तर्गत घर मर्मतका लागि रु एक लाख ५० हजार रकम सरकारले उपलब्ध गराउँदै आएको छ ।

सोही कार्यक्रमअन्तर्गत लुहार परिवारले पहिलो किस्ताको रु ८७ हजार पाँच सय रकम बुझेको छ । दोस्रो किस्ताको रु ३७ हजार पाँच सय रकम बुझ्न बाँकी छ ।

गौरचन र पानीघाट त्यस क्षेत्रमा रहेको छैन । जग्गा हड्प्ने मनसायले घर निर्माण गर्न खोज्दा अवरोध हुने गरेको लुहार परिवारको बुझाइ छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्र तारापुरबाट विसं २०५९ मा विस्थापनमा परेपछि लुहार परिवारसँगै त्यस क्षेत्रमा अन्य १५ मुक्त हलिया परिवार झुपडी बनाएर बस्दै आएका छन् । लुहार परिवारको खर्च आरन चलाएर आएको कमाई बाट चल्ने गरेको छ ।

हरजितका दुई छोरामध्ये जेठो छोरा जहानसहित भारततर्फ लागेका छन् । कान्छा छोराले भारतमै मजदुुरी गरेर केही रकम आमाबुवाका लागि पठाउने गरेका छन् । त्यही पठाएको रकम र ज्येष्ठ नागरिक भत्ताको रकमले लुहार परिवारले अन्न, लुगाफाटो र औषधोपचार गर्छन् । दमका बिरामी लुहार आफ्नै जीवनकालमा सुरक्षित आवासमा बस्ने सपना बुनेको धेरै भइसक्दा पनि पूरा नहुँदा खिन्न छन् । ‘वर्षात्का बेला सर्प, विच्छीलगायत विषालु किरा झुपडीभित्रै पस्छन्, वर्षात्को पानी तप्पतप्प चुहिन्छ,’ उनले पीडा पोख्दै भन्छन्,’उत्तरतर्फबाट खेतको पानी भरिएर आँगनभरि हुन्छ, नदी उर्लेका बेला आँगनमै पुग्छ । भागेर जाने सुरक्षित ठाउँ छैन, बस्नका लागि अर्को विकल्प नहुँदा उच्च जोखिम मोलेर यस क्षेत्रमा बस्नुपरेको छ । सुरक्षित आवास भए त ठूलो राहत हुन्थ्यो । विजयादशमी पनि त्यही घरमा मनाउँथ्यौँ तर स्थानीयले बनाउन दिँदैनन् । निकै पीडा सँगालेर बस्नुपरेको छ ।’

यो परिवारको एउटै माग छ, पुनःस्थापन कार्यक्रमअन्तर्गत पाएको रकमबाट सुरक्षित आवास बनाउन दिनुपर्‍यो कि हाम्रो आवासको हक उपलब्ध गराइ दिनुपर्‍यो । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा सञ्चालित ब्रिज परियोजनाअन्तर्गत मुक्त हलिया परिवारलाई संगठित गर्ने र समाजिक न्यायका लागि सशक्त पार्ने कार्य पनि हुँदै आएको छ ।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहार मुक्त हलिया परिवारले वर्षौंदेखि चलनभोग गर्दै आएको जग्गामा सुरक्षित आवास बनाउन दिनुपर्ने बताउँछन् । ‘मुक्त हलिया परिवार जुन ठाउँमा बस्दै आएका छन्, त्यसै ठाउँमा नापनक्सागरी जग्गाधनी पुर्जा दिने र घर निर्माणका लागि कार्यक्रमको मापदण्डअनुरूपको रकम दिने व्यवस्था हलिया पुनःस्थापन कार्यविधिमा स्पष्टसँग उल्लेख गरिएको छ,’ उनी भन्छन्,’पहिलो चरणमा के-कारणले अवरोध भएको हो, त्यसबारे खोजीनीति गर्छौं । त्यो पत्ता लागेपछि दुवै पक्षलाई राखेर छलफल गराउने प्रयास गर्छौं, त्यो नभए कानुनी उपचारका लागि अदालतको ढोका ढकढक्याउछौं ।’

संविधानमै नेपाली नागरिकलाई सुक्षित आवासको हकको व्यवस्था रहेको चर्चा गर्दै अध्यक्ष लुहार विनाकारण बस्दै आएको जग्गामा घर निर्माण गर्न नदिने कार्य न्यायोचित नरहेको धारणा राख्छन् ।

मुक्त हलिया पुनःस्थापना गर्ने जिम्मा नगरपालिकाको भएकाले यसलाई चासोका साथ हेरिनुपर्ने उनको भनाइ छ । वडाध्यक्ष दानसिंह ऐर मुक्त हलिया परिवारको पुनःस्थापन गराउनका लागि सक्दो पहल गर्ने बताउँछन् । ‘गुनासो आएको छ के कति कारणले समस्या उत्पन्न भएको हो, त्यस विषयमा बुझेर आवश्यक सहजीकरण गर्छौं,’ उनले भने ।

सुनसरीको गलैँचा उद्योगमा आगलागी करोडौँको क्षति

धरान (सुनसरी) । सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट रु ८० करोडभन्दा बढीको क्षति भएको छ।

धरानका व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आएको दुहबी नगरपालिका–३ कदमगाछी चोकदेखि पूर्वमा रहेको हनुमन्ते गलैचा उद्योगमा बुधबार राति ८ः३० बजेदेखि भीषण आगलागी भएको थियो।

उक्त आगो भने अहिलेसम्म पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए। उनले भने, उद्योग सञ्चालनका क्रममा विद्युत् सर्ट भइ आगलागी भएको हो, आगो ठूलो भागमा भित्रभित्र फैलिएको कारण नियन्त्रण गर्न गाह्रो भएकोछ।’

आगलागीबाट एक बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवन र मेसिन र गोदाममा राखेका गलैँचा, सिरक, डस्ना, चकटी, म्याट्रेस, कार्पेट, सवारी साधनलगायतका सामग्री सबै जलेर नष्ट भएको सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार उद्योगको गोदाममा राखेको रु ४० करोडको सामग्री र मेसिन र भौतिक संरचना गरी ८० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ। पूर्णरुपमा अझ क्षतिको विवरण आइसकेको छैन।

आगलागी सुरु भएसँगै विराटनगर, इटहरी, धरान, दुहबी, इनरुवा, झुम्कालगायत स्थानबाट १२ वटा दमकल र सुरक्षाकर्मी स्थानीयलगायतले आगो नियन्त्रण प्रयास गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता तिमल्सिनाले बताए।

काठमाडौं उपत्यकाबाट बाहिरिए आठ लाख यात्रु 

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ । 


महासङ्घका अध्यक्ष विजय स्वारले यस वर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएका जानकारी दिए ।


“सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,”उनले भने, “उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दसँै मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन् ।”


उनकाअनुसार शुक्रबारसम्म दसैँका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्याङ्क आउन बाँकी छ । “आज कति यात्रु बाहिरिनुभएको छ, साँझसम्म यो क्रम जारी रहन्छ, शुक्रबार पनि बाहिरिन्छन्,” स्वारले भने । 


काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दसँैमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सजगताका साथ राजमार्गहरुमा ‘चेक’ भइरहेको जानकारी दिए ।

पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित

 रामपुर । पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हुँदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन सकेको छैन ।

उनले तीन रोपनी जग्गामा लगाएको सावित्री जातको धानमा यस्तो समस्या देखिएको छ । हर्दिनाथ जातको धानमा भने समस्या नदेखिएको उनले गुनासो गरिन् । गत भदौको तेस्रो हप्ताबाट धानबालीमा समस्या देखिएको किसान पङ्गेनीले बताइन् ।

‘पहिला धानको बोट राम्रै थियो, भदौको तेस्रो हप्तापछि एक्कासी धानमा समस्या देखियो, चार÷पाँच दिनमा बोट पूरै रातै हुने र सुक्न थाल्यो, बोट सुक्न थालेपछि दुईपटकसम्म विषादी छरे तर काम लागेन, अहिले धान पहेँलिएर पुरै सुकेको छ, पसाउन सकेनँ’, उनले भनिन् । उनले हरेक वर्ष तीन रोपनी जग्गाबाट १६ मुरी धान उत्पादन लिँदै आएकी थिइन् ।

यसवर्ष पनि धेरै धान स्याहार्ने तयारीमा थिइन् । तर धान नै नपसाएपछि उनी चिन्तित छिन् । लामो समयदेखि कृषि गर्दै आएकी निरमायाले यस्तो समस्या पहिलो पटक देखापरेको बताउँछिन् । ‘धान उत्पादन गरेर घरखर्चका लागि बिक्रीसमेत गर्ने गर्थे, यसपटक पनि समयमा नै वर्षा भयो, बोट राम्रो थियो, राम्रो धान फल्ने भयो भनेर खुसी भएको थिएँ, तर धानमा रोग लागेर पसाउनै सकेन’, उनले भने, ‘खनजोत, बीउ खरिद, गोडमेल गर्दा धेरै खर्च लागेको छ, सबै लगानी माटोमा विलिन भयो।’

विजयपुर कृषि सहकारी संस्थाको समन्वयमा रामपुरमा धानको बीज वृद्धि कार्यक्रम चलिरहेको छ । बीज वृद्धिका लागि लगाइएका धानमा समस्या देखिएको छ । धानबालीमा भुरुरर उड्ने भुसुना जस्तो किरा पातमा छपक्कै बसेर पात चुसेर खाने, अनि बोट पहेँलिँदै जाने समस्या देखिएको विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश रेग्मी बताउँछन् ।

केही ठाउँमा मल, विषादी प्रयोग गरेपछि नियन्त्रणमा आएको छ भने केही ठाउँमा मल, विषादी राखे पनि नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए । हर्दिनाथ जातको धानमा खासै समस्या छैन, सावित्री जातको धानमा लगभग सबैमा समस्या देखिएको अध्यक्ष रेग्मीले जानकारी दिए ।

उनका अनुसार यस वर्ष धानमा समस्या देखिकाले उत्पादन घट्ने भएको छ । सहकारीले सावित्री र हर्दिनाथ जातको करिब १५ हेक्टर क्षेत्रफलमा सात मेट्रिकटन बीउ उत्पादन गर्नेगरी धान लगाएको छ ।

जिल्लामा सबैभन्दा धेरै रामपुर नगरपालिकामा धानबालीमा समस्या देखिएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले बताए । विशेषगरी रामपुरको वडा नं ५ र ६ मा धानमा रोगको समस्या बढी छ । रामपुरसँगै जिल्लाको माथागढी, तिनाउलगायत अन्य स्थानमा प्रकोप देखिएको र उपचारपश्चात् क्रमिक रूपमा सुधार भएको उनले बताए ।

‘पहेँलो देखिएका धानबालीमा अहिले समस्या बढेको छैन, कृषि शाखाको समन्वयमा कृषि ज्ञानकेन्द्रले कृषकलाई विषादी वितरण गरेको छ, समस्या देखिएका स्थानमा कृषि प्राविधिकले अवलोकन गरी विषादी राख्न सुझाव दिइएको छ’, उनले भने ।

धानबालीमा देखिएको सेतो पुतली जस्तो देखिने किराले पात चुसेर खाने, बोट नै सुक्ने समस्या देखिएको हो । जिल्लाको अन्य स्थानमा कम समस्या देखिए पनि रामपुर नगरपालिकामा भने जोखिम धेरै देखिएको छ । धान पसाउने समयमा पहेँलो हुने र सुक्ने समस्या देखिएकाले उत्पादन घट्ने चिन्ता बढेको कृषकको गुनासो छ ।

रामपुर नगरपालिकाभित्र करिब एक हजार सात सय हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । करिब छ सय हेक्टरमा यस वर्ष धानबालीमा समस्या देखिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरे बताउँछन् । समस्या देखिएका कृषकका खेतबारीमा पुगेर स्थलगत अवलोकन गरी विषादी वितरण गरिएको उनले बताए ।

बिरौटामा दूध सङ्कलन केन्द्र

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध संकलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले संकलन केन्द्र स्थापना गरेको हो ।

सहकारीका कोषाध्यक्ष युवराज बरुवालले करिब सात लाखको लगानीमा डीपफ्रीज, चिलिङ र मील्क एनालाइजर मेसिन खरिद गरी संकलन केन्द्र सञ्चालन गरेको जानकारी दिए । ‘हिमालयन चिज उद्योग कोरोना महामारीका कारण बन्द भएपछि घाराका किसानले उत्पादन गरेको दूधले बजार पाउन सकेको थिएन,’ उनले भने, ‘गाउँका किसानबाट दूध संकलन गरेर पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङ, दाना, घोडेपानीमा लगेर बेच्ने व्यवस्था मिलाएका छौँ ।’

३५ किसानले दैनिक एक सय ४० लिटरका दरले संकलन केन्द्रमा दूध ल्याउने गरेका छन् । व्यावसायिकरुपमा गाईभैँसीपालन गरेका किसानको समयको बचत र बजारको सुनिश्चित भएको छ । बजारमा बिक्री नभएको दूध प्रशोधन गरेर चिज उत्पादन गर्ने तयारी गरेको सहकारीका अध्यक्ष विमल बरुवालले बताए ।

‘बचत तथा ऋणको मात्र कारोबार गर्दै आएकामा अब दूध संकलन र बिक्री वितरण गर्न थालेका छौँ,’ उनले भने । विसं २०६६ मा स्थापना भएको सहकारी नियमितरुपमा सञ्चालनमा छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले दूध, तरकारी, फलफुल, आलु दूवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको जानकारी दिए ।

किन कमजोर बन्दैछन् नेपालीका हाड ?

काठमाडौँ । ‘हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भर्‍याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन् । न खानपिन गतिलो, न खेतीपातीका काम र नत शारीरिक अभ्यास नै । कसरी बलियो होस् त हड्डी ?”

पाकापुरानाहरुबाट यस्तै यस्तै सुन्न पाइन्छ अहिले । उनीहरु उहिले र अहिलेको खानपान, रहनसहन, उठबस, कामविशेष तथा बानी व्यहोराको तुलना गर्ने गर्छन् । उनीहरुका भोगाइमा अहिलेको पुस्ताको शारीरिक तन्दुरुस्ती पहिलेजस्तो छैन । ‘टेबल वर्क’ धेरै छ तर शारीरिक अभ्यास न्यून । हिँडाइ त झन् छँदैछैन, एक किलोमिटरलाई पनि गाडी चढ्छन् । त्यसैले यो पुस्ताको स्वास्थ्य पनि बलियो छैन ।

घाँसका भारीसित लड्दा होस् या रुखबाट भूइँमा खस्दा समेत हातखुट्टा नभाँचिने अनुभव उनीहरु सुनाउँछन् । घाँस दाउरा र लेकबेँसी धेरै हुने र हिँड्ने बाटो पनि खेतबारीका कान्लाबाट उक्लिने र ओर्लिने खालको हुने । त्यसैले शारीरिक अभ्यास प्रशस्तमात्रामा पुग्ने उनीहरुको अनुभव छ । अनि खानपानका अनुभव पनि निकै रोचक । एउटा लैनौ भैँसीको घिउ र दूध एक्लैले खाने रे । त्यसकारण हड्डी बलियो बन्ने र सानातिना चोटले केही असर नगर्ने उनीहरुको अनुभव छ ।

नेपालका हाडजोर्नीसम्बन्धी विशेषज्ञ चिकित्सक कैलाश भण्डारी पाकापुस्ताका यी अनुभवप्रति सहमत छन् । के नेपालीका हाड पाकापुस्ताहरुका यस्तै अनुभवजस्तै कमजोर हुँदै गएका हुन् ? डा भण्डारी केही हदसम्म कारण यिनै हुन् भन्छन्। अहिले सानातिनै चोटपटकमा पनि हाड भाँचिने गरेका छन्, एउटै हात या खुट्टा पटकपटक भाँचिएर अस्पताल ल्याउने बिरामी धेरै भेटिन्छन्। ‘हिस्ट्र टेकिङ’ गर्दा उहाँहरु सामान्य रुपमा लडेको मात्र बताउनुहुन्छ तर हड्डीमा क्षति धेरै पुगेको हुन्छ ।

हड्डीको यसप्रकारको रुग्णतामा डा भण्डारीले दिने कारण पनि उस्तै छ, खानपान, आहारविहार र अहिलेको खानाको शुद्धतामा ह्रास । उनी भन्छन्, ‘खानपान त उही हो, धेरैको जङ्कफुड (बजारमा पाइने तयारी खाना) नै हुन्छ र शारीरिक अभ्यास छैन । खाना बनाउन, शारीरिक अभ्यास गर्न या हिँड्नै पनि मानिस चाहँदैन, सौखिन बन्दै गएको छ । उसको ‘टेबल वर्क’ बढी छ अनि शारीरिक सक्रियता कम । तर उही खानेकुरामा पनि पहिले र अहिले पाउने प्रोटिन या अन्य खनिजहरुको प्रचुरता फरक पर्दै गएको छ । शुद्धतामा ह्रास आइरहेको छ।’

उही खानेकुरामा पनि पहिले र अहिले पाइने प्रोटिनको शुद्धतामा किन फरक ? यसको कारण विषादिको प्रयोग, माटोमा प्रयोग गरिने आधुनिक अर्थात् रासायनिक मलको प्रयोग हो । यसले खानामा पाइने प्रोटिनको शुद्धतामा फरक पर्दै गएको उनको तर्क छ । त्यसैगरी ‘आउटडोर एक्टिभिटीज’ कम हुँदै जाँदा आवश्यक शारीरिक अभ्यास नपाएर तथा हड्डी खुम्चिएर रहने या जाम हुने अवस्था समेत देखिएको डा भण्डारीको भनाइ छ ।

अहिलेका बालबालिकालाई घरमै होस् या विद्यालयमा खेल्ने खेलमैदानको उपलब्धता नै नभएको उनको भनाइ छ । ‘हेर्नुहोस् न बालबालिकालाई खेल्न न विद्यालयमा खेल मैदान छन् र नत घरमै । विद्यालय पनि प्रायः बाटोका नजिक या सँघुरा जमिनमा बनेका छन् जहाँ खेल्नका लागि जमिन नै छैन । घरको त झन् कुरै भएन, चार आना भएपछि घर बनाउने घडेरी पुगिहाल्यो, केटाकेटीलाई खेल्ने मैदानका बारेका कसले सोचिदिने ? यसरी शहरका बालबालिका साँघुरोमै खुम्चिएर बस्नुपर्दा तिनका हाडले शारीरिक तन्दुरुस्ती बन्न पाएका छैनन्’, डा. भण्डारीको भनाइ छ ।

उनका अनुसार अल्छी तथा सौखिन दिनचर्या, हाडलाई आवश्यकपर्ने भिटामिन ‘डी’ को उपलब्धताको कमी र सूर्यको किरणको पहुँचबाट टाढा रहेको मानिसको दैनिकी पनि हाड कमजोर बन्दै जानाका अरु केही कारण हुन्। हाम्रो शरीरमा भिटामिन डीको मात्रा विश्वस्वास्थ्य सङ्गठनले तोकेको मात्राभन्दा कम रहेको उनी बताउँछन् ।

जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर डा भण्डारी विशेषगरी अहिलेको बालिबालिकाको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्छन् । उनी भन्छन्, ‘बालबालिकाको स्वास्थ्य अवस्था देखेर चिन्ता लाग्छ । उनीहरुका हातखुट्टा त खुर्सानीको बोटजस्तै बन्दै गएका छन्, अलिकति बल गर्यो कि पिटिक्क भाँचिने । कारण त तिनै हुन् खानपान र आहारविहार । कारण धेरै होलान् दिनप्रतिदिन कमजोर बन्दै गएको देख्छु उनीहरुको हड्डी।’

उनको अनुभवमा अहिलेको पुस्ता एक तला पनि भर्‍याङ चढ्न अल्छी मान्छ, लिफ्ट छ भने त्यसैबाट जान्छ । अरु पनि यस्तै हो कि पसिना निकालेर काम गर्न चाहँदैन । बजारको खानाको उपभोगमा बृद्धि, रक्सी तथा अन्य मादक पदार्थहरुको सेवनले पनि हाडको क्षयीकरणमा योगदान थप्दै गएको देखिएको छ भने विस्तारै न्युट्रेसनमा भएको कमीले हाडको कमजोरीलाई थप बलियो बनाउँदै लगेको छ । शरीरमा लाग्ने चोटपटक र त्यसको समयमै उपचारको कमी, बाथरोगलगायत विभिन्न रोग तथा जेनेटिक त यो समस्याका रैथाने कारण छँदैछन्।

यो अवस्थाको निराकरणका उपायहरु सुझाउँदा डा भण्डारी सबैभन्दा आवश्यक क्याल्सियम, खनिज र प्रोटिनको उपलब्धतालाई देख्न्छन्। नियमित शारीरिक अभ्यास, स्वस्थ खाना र योगा हड्डी बलियो बनाउने अरु उपाय हुन् । यी आनीबानीले हाड मात्र बलियो बनाउने नभएर अन्य शरीरिक स्वास्थ्यमा पनि लाभ पुर्‍याउँछ । सुगर होस् या अरु रोग बढ्न नदिन पनि यो व्यायामले सघाउ पुर्‍याउनेछ ।

मानिसका हाड बलियो बनाउन उनले नियमित शारीरिक व्यायाम, स्वस्थकर खानेकुरा र हाडमा लाग्ने चोटपटकको समयमै उपचार गर्नुपर्ने विषयलाई राष्ट्रिय अभियानकै रुपमा नागरिकमा लैजानुपर्ने र शरीरमा हाडजोर्नीको महत्व र यससम्बन्धी रोगका बारेमा विद्यालयस्तरदेखि नै पाठ्यक्रममा राख्नुपर्ने उनको सुझाव छ । हाडसम्बन्धी रोगले शरीरका अरु अङ्गलाई पनि क्षति गर्ने तथा शारीरिक अपाङ्गतासमेत हुनसक्ने भएकाले यसको संवेदनशीलताको प्रचार अझ बढी आवश्यक रहेको उनको भनाई छ ।

‘हाडजोर्नीको उपचार जटिल नहुँदै र तुरुन्तै गर्न पायो भने पक्षाघात हुनबाट जोगाउन सकिन्छ । मेरुदण्डको चोटपटक झनै संवेदनशील विषय हो । उपचार ढिला हुँदा कतिपय त जीवनभर नै उपचार गराइरहनुपर्ने, अपाङ्गता हुने आदि हुन्छ । परिवार पाल्नुपर्ने सदस्य नै यस्तो भइदियो भने त झन् त्यो व्यक्तिमात्र नभएर परिवारले नै दुःख पाउने भयो नि । यस विषयमा नागरिक पनि सजग हुनु जरुरी छ,’ डा. भण्डारी भन्छन्।

नेपालमा पहिलेको तुलनामा हाडजोर्नीसम्बन्धी रोगको उपचार सहज र सरल बन्दै गएको र अहिले जनशक्ति पनि थपिँदै गएका उनले सुनाए । उनले भने, ‘पहिले हाडजोर्नीसम्बन्धी रोगको उपचार निकै नै जटिल हो। जनशक्तिको अभाव त छँदै थियो, अनुसन्धान र सर्जरीका लागि उपकरणहरुको अभाव झन् बढी थियो । पहिले अर्थोको उपचारमा काठमाडौँ बाहिर पनि हामी जानुपर्दथ्यो, तर अहिले त्यस्तो छैन’, डा. भण्डारीले सुनाए ।

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन ४९ उद्योगलाई प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको विद्युत उपभोग गरेका ४९ उद्योगलाई आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम तिर्न आग्रह गरेको छ ।

प्राधिकरणले सूचना जारी गरी कात्तिक ८ गतेभित्र महसुल बुझाउन आग्रह गरेको हो । प्राधकरणले तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनीसमेत दिएको छ ।

ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेलगत्तै प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई आग्रह गरेको हो ।

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

नयाँदिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । गएराति मुम्बईस्थित एक अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो ।

टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले वक्तव्य जारी गर्दै रतन टाटाको निधन भएको पुष्टि गरेका भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । उनको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री लगायतले दुःख व्यक्त गरेका छन् । भारतमा उद्योगी रतन टाटा निकै लोकप्रिय थिए ।

राष्ट्रपति द्रौपदी मुर्मूले उनको निधनले भारतले कर्पोरेटको विकासलाई देशको विकाससँग जोड्ने तथा उत्कृष्टतालाई नैतिकतासँग जोड्ने एक आइकन गुमाएको टिप्पणी गरेकी छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले टाटा एक भिजनकारी बिजनेस लिडर भएको टिप्पणी गरेका छन् ।

पाकिस्तानमा प्रदुषणका कारण भाइरसजन्य रोगमा वृद्धि

पाकिस्तान । खराव धुवाँ अपर्याप्त सरसफाई, अस्वच्छ अवस्था र फोहोर व्यवस्थापन प्रणालीको असफलताका कारण पाकिस्तान डेङ्गु, मलेरिया र चिकनगुन्या जस्ता भाइरसजन्य रोगका केसहरुमा निरन्तर वृद्धि भइरहेको छ भने कराँचीका बासिन्दाहरूको स्वास्थ्यमा गम्भीर असर पारेको छ ।

सिन्ध स्वास्थ्य विभागले सेप्टेम्बरमा मात्रै उक्त प्रान्तका एक हजार ५०० भन्दा बढी मानिस डेङ्गु भाइरसबाट प्रभावित भएको तथ्याङ्क सार्वजनिक गरेको डन पत्रिकाले जनाएको छ ।

पाकिस्तान मेडिकल एसोसिएसनका पूर्व महासचिव डा. कैसर सज्जादले विगत १०–१५ वर्षमा भाइरसजन्य रोगको सङ्ख्या बढेको बताए । समाधानका लागि कराँचीमा सरसफाई र स्वच्छताको सन्दर्भमा गरिब सहर बनेको डर व्यक्त गर्दै उहाँले फोहोर व्यवस्थापन गर्न प्रभावकारी प्रणाली नभएसम्म अवस्था बिग्रने उल्लेख गरेका छन् ।

उनले डेङ्गु, मलेरिया र चिकनगुन्याका सन्दर्भमा सहरको स्वच्छताको अभावले पनि राइनोभाइरस, राइनोफ्यारिन्जाइटिस र टाइफाइडको वृद्धि भएको बताए ।

स्थानीय प्रशासनले रोग नियन्त्रणको ‘व्यापक’ प्रयासको दाबी गरेपनि, नगरपालिका र स्वास्थ्य अधिकारीहरूले लिएको दृष्टिकोण यसको प्रभावकारिताको कमीका कारण प्रश्न उठेको डनले जनाएको छ ।

सन् २०१६ मा सहरमा प्रारम्भिक चिकनगुन्याको प्रकोप हुँदा सङ्क्रामक रोगहरूबारे स्वास्थ्य मन्त्रालयका सल्लाहकार महामारी विज्ञान र निगरानी विशेषज्ञ डा राणा जावेद असगरले धुम्रपान रणनीतिको आलोचना गर्दै यसले न्यूनतम प्रभाव पारेको उल्लेख गरेका थिए ।

एउटै प्रकारको लामखुट्टेले डेङ्गु, जिका भाइरस र चिकनगुन्या फैलाउने भन्दै एक पटक यस्तो प्रकोप सुरु भएपछि सहजै नियन्त्रण गर्न नसकिने भएकाले प्रकोप सुरु हुनुभन्दा केही समयअघि नै सुरु गर्नुपर्ने उनले बताए ।

इयूले युक्रेनलाई ३५ अर्ब युरो ऋण दिने

किएभ । युरोपेली सङ्घ (इयू) ले युक्रेनलाई यस वर्षको अन्त्यसम्ममा ३५ अर्ब युरो नयाँ ऋण प्राप्त गर्ने तयारी गरेको युक्रेनफर्म समाचार एजेन्सीले इयूका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै जानकारी गराएको छ ।

युरोपेली आयोगका कार्यकारी उपाध्यक्ष मारोस सेफकोभिकले ईयू सदस्य राष्ट्र र युरोपेली संसदले ऋणका लागि आवश्यक विधायी प्रक्रियाहरूलाई चाँडै अन्तिम रूप दिने अपेक्षा गरिएको छ ।

‘ईयू युक्रेन र यसका जनताका लागि आवश्यक हुँदासम्म आफ्नो समर्थनमा अडिग रहने सेफकोभिकले बताएका छन् ।

गत महिना युरोपेली सङ्घले घोषणा गरेको ऋणको उद्देश्य युक्रेनलाई रूससँग चलिरहेको द्वन्द्वको बीचमा तत्काल आर्थिक आवश्यकताहरू पूरा गर्न मद्दत गर्नु रहेको जनाइएको छ ।

यो गत जूनमा जी–७ देशहरूले गरेको ५० अर्ब डलरको प्रतिबद्धताको हिस्सा हो र यसलाई फ्रिज गरिएको रूसी सम्पत्तिबाट ब्याज प्रयोग गरेर वित्त पोषण गरिनेछ ।

काश्मिरमा अपहरणपछि एक भारतीय सैनिकको हत्या

श्रीनगर । भारत प्रशाशित काश्मिरमा निर्वाचनको परिणाम सार्वजनिक भएको केही घण्टापछि एक सैनिकलाई सन्दिग्ध लडाकूले अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

भारत प्रशासित काश्मिरमा एक दशकपछि पहिलो पटक भएको विधान सभा निर्वाचनको परिणाम सार्वजनिक भएको केही घण्टापछि प्रहरीले एक सैनिकलाई सन्दिग्ध लडाकूले अपहरण गरी हत्या गरेको जनाएको छ ।

सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै मुस्लिम बाहुल्य रहेको काश्मिर भारत र पाकिस्तानबीच विभाजित छ।

अनन्तनाग जिल्लामा मङ्गलबार साँझ दुई सैनिकको अपहरण भएको प्रहरी अधिकारीले एएफपीलाई जानकारी दिएका छन् ।

“एक जना सैनिक भाग्न सफल भए। उनलाई दुई वटा गोली लागेको छ र उनको उपचार भइरहेको छ,” नाम नबताउने शर्तमा ती अधिकारीले भने।

सैनिकद्वयको अपहरणपछि उनीहरूको खोजी सुरु गरिएको र केही घण्टापछि अर्थात् बुधबार बिहान अर्का एक सैनिकको शव जङ्गलमा फेला परेको थियो ।

सन् १९८९ यता दशौँ हजार सर्वसाधारण, सैनिक र विद्रोही मारिएको सशस्त्र विद्रोहसँग जुधिरहेका काश्मिरमा कम्तीमा पाँच लाख भारतीय सेना तैनाथ छन् ।

भारतले पाकिस्तानमाथि विद्रोहीलाई सहयोग र हतियार उपलब्ध गराएको आरोप लगाउँदै आएको छ। आणविक शक्ति सम्पन्न यी छिमेकीले सन् १९४७ देखि यस क्षेत्रको नियन्त्रणका लागि कैयौँ पटक लडाँइ गरेका छन् ।

ब्याजदर यथावत राख्ने भारतीय केन्द्रीय बैङ्कको निर्णय

मुम्बई । भारतको केन्द्रीय बैङ्कले बुधबार ब्याज दरलाई स्थिर राख्ने निर्णय सार्वजनिक गरेको छ । विश्वको पाँचौं ठूलो अर्थव्यवस्थामा वृद्धि मध्यम रहेको अवस्थामा बैङ्कले भविष्यमा ब्याजदर कटौतीको लागि ढोका खुला छोडेको छ ।

भारतीय रिजर्भ बैङ्क अफ इन्डिया (आरबीआई) ले भनेको छ, “ब्याजदरमा महत्त्वपूर्ण मानिने ‘रिपो रेट’ अर्थात् केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कबाट ऋणमा तिर्ने अल्पकालीन ब्याजमा लगातार दशौं बैठकमा पनि ६.५ प्रतिशतमा अपरिवर्तित रहनेछ।”

केन्द्रीय बैङ्कका गभर्नर शक्तिकान्त दासले मुद्रास्फीतिलाई आफ्नो लक्ष्यसँग जोड्न बैङ्क ‘स्पष्ट रूपमा केन्द्रित’ रहने र अझै पनि वृद्धिलाई समर्थन गर्ने बताएको छ ।

उनले भने, “धेरै प्रयासका साथ मुद्रास्फीतिको दरलाई स्थिरमा ल्याइएको छ।” “हामीले ब्याजदर वृद्धि गर्दा धेरै होसियार हुनुपर्छ किनकि मुद्रास्फीति दर फेरि एक्कासी उच्च हुन सक्छ,” दासले भने ।

अमेरिकी फेडरल रिजर्भसहित विश्वका प्रमुख केन्द्रीय बैङ्कहरूले मुद्रास्फीतिमा कमी आएसँगै विश्वव्यापी सहजता चक्र सुरु गरेका छन्, जसले गत महिना चार वर्षमा पहिलो पटक ब्याजदर घटाएको थियो।

भारतको खुद्रा मुद्रास्फीति अगस्टमा ३.६५ प्रतिशतमा कायम भएको थियो, जुन जुलाईमा रेकर्ड गरिएको ३।५४ प्रतिशतको तुलनामा केही बढी हो।

मध्यपूर्वमा जारी द्वन्द्वले भविष्यमा उल्टो जोखिम निम्त्याउन सक्ने विश्लेषकहरूको बुझाइ छ । आरबीआईको मौद्रिक नीति समितिले भने आफ्नो नीतिगत अडानलाई पहिलेको स्थितिबाट ‘तटस्थ’ मा परिवर्तन गर्ने घोषणा गरेको छ। यसले भविष्यमा दर कटौतीको आधार तयार गरेको छ।

भारतीय केन्द्रीय बैङ्कको यो निर्णय आर्थिक वृद्धिमा सुस्तताको प्रारम्भिक सङ्केतपछि आएको हो ।

मार्चदेखि जुनसम्मको त्रैमासिकमा भारतको आर्थिक वृद्धि दर ६.७ प्रतिशत रहेको छ भने सरकारी खर्चमा कमी र केही आर्थिक सूचकहरूले शहरी उपभोक्ताको भावनामा सुस्तता देखाएका छन् ।

तथ्याङ्कले भारतलाई विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको प्रमुख अर्थतन्त्रको सूचीमा राखेको छ, तर यो पाँच त्रैमासिकमा वृद्धि दरमा सामान्य सुस्तता देखिएको छ । यो वृद्धि दर केन्द्रीय बैङ्कको ७.१ प्रतिशतको अनुमानभन्दा कम हो ।

अन्तर्राष्ट्रिय मुद्राले सन् २०२४/२५ मा भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आरबीआईले मे २०२२ देखि फेब्रुअरी २०२३ को बीचमा २.५ प्रतिशत बिन्दुले ब्याजदर वृद्धि गरेको थियो ।

बेकर, जम्पर र हसाबिसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

स्वीडेन । अमेरिकी वैज्ञानिकद्वय डेभिड बेकर र जोन जम्पर तथा बेलायती डेमिस हसाबिसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्रोटिनको संरचनाको पूर्वानुमान गर्ने कामका लागि रसायनशास्त्री बेकर, जम्पर र हसाबिसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो ।

बेकरलाई ‘कम्प्युटेशनल प्रोटिन डिजाइनका लागि’ आधा पुरस्कार दिइएको थियो भने हसाबिस र जम्परलाई ‘प्रोटिन स्ट्रक्चर प्रिडिक्सनका लागि’ पुरस्कार दिइएको थियो ।

संयुक्त राज्य अमेरिकामा कार्यरत तीन वैज्ञानिक मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभला गत वर्ष यो विधामा पुरस्कृत भएका थिए। उनीहरूले न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्याएका थिए।

उनीहरूले ‘क्वान्टम डट’ भनिने सूक्ष्म कण विकास गरेका हुन्। ती कणका विशिष्ट गुणहरू हुन्छन् र तिनले अहिले टेलिभिजनको स्क्रीन र एलईडी बत्तीबाट आफ्नो प्रकाश फैलाउँछन्। तिनले रासायनिक प्रतिक्रियामा उत्प्रेरकको काम गर्छन्। अनि शल्यक्रिया गर्दा तिनको स्पष्ट प्रकाशले ट्यूमरका कोषलाई देखिनेगरी उज्यालो पारिदिन सक्छ। सौर्य प्यानलमा पनि तिनको प्रयोग हुन्छ।

यस वर्ष चिकित्साशास्त्रतर्फको पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले ‘माइक्रोआरएनए’को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि पाउने भएका छन्।

त्यसैगरी, भौतिक शास्त्रतर्फको पुरस्कार आर्टिफिशल इन्टेलिजन्स (एआई)सम्बन्धी अनुसन्धानका लागि अमेरिकी वैज्ञानिक जोन जे हप्फील्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री ई हिन्टनले पाउने भएका छन्।

अब बिहीवार साहित्य, शुक्रवार शान्ति र आगामी साता सोमवार अर्थशास्त्रतर्फको पुरस्कार विजेताको नाम घोषणा हुनेछ।

हामी प्रहरी र सरकारले देश चलाएको भन्ने भ्रममा रहेछौं : मेयर साह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले देश मारवाडी सेवा समाजले चलाएको टिप्पणी गरेका छन् ।

पशुपति धर्मशालामा बुधबार मारवाडी सेवा समाज र महानगर प्रहरीबीच भएको झडप बारे टिप्पणी गर्दै मेयर साहले पशुपति विकास कोषको अनुमतिमा महानगरले धर्मशालाको संरक्षण गर्दै अशक्तहरूलाई निः शुल्क खाना र औषधि उपचार गर्न प्रयोग गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

उनले यसबाट हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेको पुष्टि भएको बताएका छन् । उनले भनेका छन्, ‘नाजायज सम्बन्धबाट सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हडपेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ । अनि कोषले महानगरलाइ धर्मशाला तथा अशक्तहरुलाई निःशुल्क खाना र औषधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ । अनि हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेर्छौं ।’

बुधबार महानगर प्रहरीले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेपछि मारवाडी समुदायले प्रतिवाद गरेको थियो । त्यसक्रममा मारवाडी सेवा समिति र काठमाडौं महानगर प्रहरीहरुबीच धकेलाधकेल भएको थियो ।

सरकारले कुलमान घिसिङलाई सोध्यो १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको हो । मन्त्रालयले डेडिकेटेड फिडर/ट्रंक लाइनसम्बन्धी प्राधिकरणले उठाउन बाँकी रहेको महसुलसम्बन्धमा सञ्चालक समितिमा पेस भएका विभिन्न प्रतिवेदन एवं महसुलका सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरू मागेको छ ।

त्यस्तै, प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखको रूपमा गत ५ वर्षदेखि कार्यरतहरूको पद र योग्यता खुलेको विवरण पनि माग गरिएको छ । मन्त्रालयले विगत चार वर्षमा प्राधिकरणबाट भए गरेका सबै काम, सहमति सम्झौता, कर्मचारी र वित्तीय विवरण घिसिङसँग मागेको छ ।

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले  ५१ लाख हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सङ्घका अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो ।

अध्यक्ष डा केसीले हालैको बाढीपहिरो र डुबानको खबरले आफूहरू दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी गराए।

उनले ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको गुनासो गरे।

प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकामा सङ्घलाई धन्यवाद दिँदै एक पटकको नेपाली सधैँको नेपाली हुने भए पनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न नमिल्ने स्पष्ट गर्दै दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यक पर्ने बताए।

उनले सङ्घको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैरआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उल्लेख गर्दै कामका लागि विदेश गएकालाई एनआरएनएको परिभाषामा नराख्न आग्रह गरे। उनले सङ्घलाई राजनीतिक आधारमा नभइ सबै गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा अघि बढाउन सुझाव दिए।

यसैगरी आजै विद्युत् उत्पादन कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यबाट कम्पनी र त्यहाँका कर्मचारीसमेतबाट रु ६ लाख ४६ हजार पाँच सय तथा नेपाल इन्स्युरेन्स कम्पनी, भारतबाट  १० लाख कोषमा हस्तान्तरण भएको छ ।

स्पेसएक्सद्वारा क्षुद्रग्रह विक्षेपनबारे अध्ययन गर्न ‘हेरा मिसन’ प्रक्षेपण

लस एन्जलस । स्पेसएक्सले अन्तरग्रह स्थानान्तरण कक्षमा युरोपेली अन्तरिक्ष विभाग (ईएसए) को ‘हेरा मिसन’ प्रक्षेपण गरेको छ ।

फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट पूर्वी समय बिहान १०ः५२ मा अन्तरिक्ष यान प्रक्षेपण गरिएको थियो ।

हेरा एक ग्रह रक्षा मिसन हो जसले नासाको ’डबल एस्टेरोइड रिडायरेक्शन टेस्ट (डाट)’ मिसनको अन्तरिक्ष यानले डिमोर्फोस नामक क्षुद्रग्रहमा गरेको प्रभावबारे अध्ययन गर्नेछ ।

हेराले क्षुद्रग्रहको भौतिक एवं सौर्यमण्डलको निर्माण र विकास प्रक्रियाहरूबारे बुझ्न मद्दत गर्नको लागि भविष्यका क्षुद्रग्रह विक्षेपन मिशन र विज्ञानका लागि बहुमूल्य तथ्याङ्क प्रदान गर्नेछ ।

क्षुद्रग्रहको वरिपरि स्वायत्त नेभिगेसनदेखि न्यून गुरुत्वाकर्षण निकटता अपरेसनहरूमा नयाँ प्रविधिहरू प्रदर्शन गर्दै, हेरा बाइनरी एस्टेरोइड प्रणाली र युरोपको फ्ल्यागशिप प्लानेटरी डिफेन्डरसँग भेट्ने मानवजातिको यो पहिलो अनुसन्धान हुने ईएसएले जनाएको छ ।

बिपी राजमार्गको चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण

काभ्रे । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ सीमास्थल चौकीडाँडामा रोशी खोलाको बाढीले दुई सय मिटर सडक बगाएपछि अवरुद्ध सडक एकतर्फी सञ्चालन हुनेगरी निर्माण गरिएको छ ।

रोशी खोलाको बहावलाई सोझ्याएर खोला किनारमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरी निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको हो ।

पाँच दिनको अवधिमा उक्त स्थानमा एकतर्फी सवारीसाधन सञ्चालन हुनेगरी स्थायी सडक निर्माण गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।

उनका अनुसार आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी पाँच दिनमा सोमबारदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको उनले बताए ।

‘रोशी खोलादेखि करिब २० देखि ५० मिटरसम्म उचाइमा अवस्थित उक्त स्थानको सडक तलसम्म नै कटान भएको थियो । हिजोदेखि चौकीडाँडामा एकतर्फी सडक सञ्चालनमा ल्याएका छौँ’, कार्यालय प्रमुख योगेशले भने । खोलाको बहाव नघट्दा ‘क्रस–डाइभर्ट’ गर्न सजिलो र छिटो तरिका अपनाउन नसकिएको उनले बताए ।

अविरल वर्षाका क्रममा यही असोज १२ गते शनिबार उक्त स्थानमा सडकसम्पर्क टुटेपछि रोशी गाउँपालिकाका विपद्पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवं पूर्वी तराईबाट आएका यात्रु अलपत्र परेका थिए । त्यसको भोलिपल्टदेखि हेलिकप्टरमार्फत उद्धार थालिएको थियो ।

विभिन्न स्थानमा बाढीले सडक अवरुद्ध बनाएपछि उक्त राजमार्गमा रोकिएका सवारीसाधन सञ्चालन गर्न काभ्रेपलाञ्चोकको भकुण्डेबेसी र सिन्धुलीको नेपालथोकबाट तेमालको सडक मर्मत गरी दुई दिनअघि सञ्चालनमा ल्याइएको थियो ।

‘कार्यालयले उक्त राजमार्ग सञ्चालनार्थ काभ्रेतर्फबाट चार मेसिन प्रयोग गरेको थियो भने सिन्धुलीको नेपालथोकबाट काभ्रेपलाञ्चोकतर्फ पाँच डोजरलगायत मेसिन प्रयोग गरेको थियो । जनकपुरबाट आएका पाँच मेसिनबाट मङ्गलटार र नार्केसम्म बाटो मर्मत गरेर केही सवारीसाधनलाई नेपालथोक हुँदै सिन्धुलीतर्फ नै फर्काएको थियो’, कार्यालय प्रमुख योगेशले भने ।

योगेशका अनुसार भकुण्डेदेखि नेपालथोकसम्मको सडक केकति क्षति भयो भन्ने यकीन तथ्याङ्क नआए पनि २९ मिलोमिटरको यस दूरीमा करिब दुई किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त रहेको अनुमान छ ।

यस्तै राजमार्गको कूल एक सय ६० किमीमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकका विभिन्न स्थानमा बढी क्षति पुर्याएको कार्यालयले जनाएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले राजमार्ग सडक निर्माण गर्दा प्रति किमी  ३५ करोड लागत थियो । उक्त रकम हालको हिसाबमा  ५० करोडभन्दा माथि पर्नेछ । क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानमा भएको क्षतिको मूल्याङ्कन गर्दा  दुई अर्बभन्दा माथिको क्षति भएको  प्रारम्भिक अनुमान गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बिपी राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डको १४ स्थानमा करिब एक हजार नौ सय मिटर सडक अवरुद्ध भएको थियो । अवरुद्ध राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड भने असोज १४ गतेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो ।

विभिन्न खण्डमा विभाजन गरी निर्माण भएको सडक विसं २०७२ असार १८ गते औपचारिक रुपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

पाकिस्तानको राजदूतमा रिता धिताल नियुक्त

काठमाडौं । पाकिस्तानका लागि नेपालको राजदूतमा रिता धिताल नियुक्त भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार धिताललाई राजदूत नियुक्त गरेका हुन् ।

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत सिफारिस गरेको थियो । संसदीय सुनुवाइबाट उनको नाम अनुमोदन भएको थियो ।

एआईसम्बन्धी आविष्कारका लागि दुई जना वैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

बीबीसी । यसवर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिशल इन्टेलिजन्स (एआई)सम्बन्धी अनुसन्धानका लागि दुई वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन् ।

अमेरिकी वैज्ञानिक जोन जे हप्फील्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री ई हिन्टनलाई ‘आर्टिफिशल न्यूरल नेटवर्कमार्फत् मशीन लर्निङलाई सक्षम बनाउन आधारभूत खोज तथा आविष्कार गरेकोमा’ उक्त पुरस्कार दिने निर्णय गरिएको गरिएको हो भौतिक शास्त्रतर्फ अहिलेसम्म २२४ जनाले नोबेल पुरस्कार पाएका छन् ।

हप्फील्ड संयुक्त राज्य अमेरिकको प्रिन्स्टन यूनिभर्सिटीमा र हिन्टन क्यानडास्थित यूनिभर्सटी अफ टोरन्टोमा प्राध्यापन गर्छन् ।

उनीहरूले १.१ करोड स्वीडिश क्रोनर (८.१० लाख पाउन्ड) नगद पुरस्कार र पदक पाउने छन् । यसअघि पुरस्कार समितिले सोमवार चिकित्साशास्त्रतर्फको पुरस्कार घोषणा गरेको थियो।

अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले ‘माइक्रोआरएनए’ (microRNA)को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि उक्त पुरस्कार पाएका हुन् । नोबेल पुरस्कार समितिका अनुसार बुधबार रसायनशास्त्र, बिहीबार साहित्य, शुक्रबार शान्ति अनि आगामी सोमबार अर्थशास्त्रतर्फ पुरस्कार विजेताको नाम घोषणा हुनेछ ।

‘मशीन लर्निङ’ भनिने विधि एआईको महत्त्वपूर्ण अङ्ग हो। यसले कम्प्युटरलाई सूचना उत्पादन गर्न सक्ने बनाउँछ । अहिले हामीले प्रयोग गर्ने अनेकौँ प्रविधिमा, इन्टरनेट सर्चदेखि फोनमा तस्बिर सम्पादन गर्नेसम्म, यसको प्रयोग भएको हुन्छ ।

रोयल स्वीडिश अक्याडमी अफ साइअन्सेसले यी दुई वैज्ञानिकले गरेको अनुसन्धानको महत्त्वपूर्ण प्रयोगको सूची दिएको छ। त्यसमा जलवायु मोडलिङमा सुधार, सौर्य सेलको विकास र मेडिकल इमेजहरूको विश्लेषण पनि परेका छन्।

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

चौतारा । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने  तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो ।

सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन् । उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताए ।

सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री मंगलबार सदरमुकाम चौतारा आइपुगेका थिए ।

गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्याएको क्षतिबारे छलफल भएको थियो । 

उनीहरु सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात सिन्धुपाल्चोकको भोटेकोशी  क्षेत्रको अवलोकन गरेर चौतारा आइपुगेका हुन् । 

मन्त्रीहरुले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयवासीसँग छलफल गरेका थिए ।

सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिएका छन् । उनले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिए ।

  सिन्धुपाल्चोकमा बर्सेनि प्राकृतिक विपद्ले क्षति पुर्याउने गरेको छ । यसपटक मात्रै १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छ ।

धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

म्याग्दी ।  धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको छ । हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहको शव मंगलबार भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो । 

आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरुको हेलिकप्टरबाट खोजी गरिएको थियो । शव ल्याउने तयारी भइरहेको छ । आरोहण समूहका एकजनालाई उद्धार गरी काठमाडौँं पठाइएको छ ।

साफ महिला च्याम्पियनशिप फुटलबको तयारी पूरा

काठमाडौँ ।  नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा हुने  प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भूटान र बङ्गलादेश सहभागी हुने एन्फाले जनाएको छ ।

प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा २७ खेलाडी रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

उनले प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको बताए । प्रतियोगिताको अनुमानित बजेट चार करोड ६० लाख आठ सय रुपैयाँ रहेको आयोजकको भनाइ छ ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ ।  

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिषद बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै भने, “कतै धेरै क्षति भएको छभने कतै थोरै । क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ ।”  

मन्त्री गुरुङले सङ्कटग्रस्त ४९ स्थानीय तहको सङ्ख्या बढ्नसक्ने  जानकारी दिँदै क्षतिको पूर्ण विवरण गृह मन्त्रालयले केही दिनमै सरकारलाई उपलब्ध गराउने बताए । 

मन्त्रिपरिषद्को निर्णयअनुसार थाइल्यान्डको बैङ्ककमा आगामी कात्तिक ६ देखि ८ गतेसम्म आयोजना हुने ‘ट्रान्सफर्मिङ केयरः बिल्डिङ अलाइन्स, इम्पावरिङ वुमन, रिसेपिङ इकोनोमिक्स’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीलाई सहभागी हुन स्वीकृत प्रदान गरिएको छ । 

मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत विभिन्न आयोजनाका लागि दुई सय ६६ राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । आगामी  कात्तिक १ देखि ३ गतेसम्म रसियामा आयोजना हुने ‘एक्स एक्स आइआई इन्टरनेसनल स्र्पोटस फोरम रसिया–कन्ट्री अफ स्पोर्टस’ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सहभागी हुने र आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्न स्वीकृत दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

हुलाक सेवा विभाग र अन्तर्गतका निकायहरुको सङ्गठन संरचना र दरबन्दी स्र्वीकृत गर्ने, दूरसञ्चार (दशौँ संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, २०८१ कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने ‘वल्र्ड अर्बान फोरम–१२’ सम्मेलनमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सहभागी हुन अनुमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

यसैगरी यही असोज २७ मा जर्मनीको बर्लिनमा हुने ‘कम्युनिटी हेल्थ डेलिभरी पार्टनरशिप इभेन्ट ड्युरिङ द वल्र्ड हेल्थ समिट–२०२४’मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई सहभागी हुन अनुमति दिने, शेयर तथा ऋण लगानी नीति, २०८१ र बीउबिजन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय भएको छ ।

खनालको अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा विज्ञ सम्मिलित  पाँच सदस्यीय आयोग गठन गरेको हो ।

आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा रामप्रसाद ज्ञवाली, अर्थविद् डा विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा कल्पना खनाल छन् । आयोगले आवश्यकताअनुसार निजी क्षेत्रलगायत अर्थतन्त्रका विविध पक्षहरुसँग परामर्श गर्नेछ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोगले सबै पक्षसँग परामर्श र छलफल गरी नेपालको अर्थतन्त्रलाई गतिशील बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझाव दिने विश्वास व्यक्त गरे ।

अर्थ मन्त्रालयले एक सय दिनमा पूरा गर्ने कामको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरिने बुँदा पनि समावेश थियो । सोही अनुसार उक्त आयोग गठन भएको हो । आयोगले कार्यविधि भने आफैँ तय गर्ने अर्थ मन्त्रालयले जनाएको छ । 

राष्ट्रपतिद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।

उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मंगलबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए ।

२७ अंकले घट्यो नेप्से

काठमाडौं । मंगलबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से २७.२९ अंकले घटेर २६६३.३२ अंकमा अडिएको छ । तीनसय कम्पनीको एक करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ रुपैयाँमा कारोबार भयो ।

आज म्याचुअल फन्डबाहेक सबै समूहका उपसूचक घटेको छ। बजार दोहोरो अंकले घटे पनि मिड सोलु हाइड्रोको सेयरमा सकरात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको २७ करोड १७ लाख बराबरको सेयर कारोबार भयो।

ललितपुर खोकनाको सिकाली जात्रा, तस्बिरमा

काठमाडौं । दसैँको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि परम्परागत रूपमा यहाँ दसैँ भने मनाइँदैन ।

स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्र लगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरबितर पारेको कथाको आधारमा गरिने जात्रामा मङ्गलबार बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो ।

सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका हुन् । मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ ।

तस्बिर: रत्न श्रेष्ठ/रासस

क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेनाको सक्रियता

काठमाडौँ । नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान थालेको छ ।  यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न छ हजार सकल दर्जा  खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी  दिए । 

जल तथा मौसम विज्ञान विभागको अनुमानसँगै सेनाले १४ हजार जनशक्ति विपद् प्रतिकार्यमा खटाउन तयार गरेको थियो । विपद् प्रभावित जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरसँगै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, रामेछाप र पाँचथरमा तत्काल खोज तथा उद्धारमा जुटेको उनले जानकारी दिए । 

बिपी राजमार्ग, अरनिको राजमार्ग, मध्यपहाडी लोकमार्ग, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलगायत राजमार्ग तथा ग्रामीण सडक, दुई जिल्ला जोड्ने पक्की पुल निर्माण गरी यातायात सञ्चालन गर्न सेनाका प्राविधिकसहितका जनशक्ति खटिएका छन् । 

‘मुख्य जिम्मेवारीका रुपमा खुर्कोटस्थित सुनकोसी नदीमा ‘बेलीब्रिज’ राख्ने तथा रोशी खोला करिडोरअन्तर्गत बिपी राजमार्गको ठाउँठाउँमा क्षतिग्रस्त सडकको विस्तृत अध्ययनका लागि सेनाका प्राविधिकले सडक विभागको टोलीलाई सहयोग पुर्याएको छ’, सहायक रथी केसीले भने । सेनाकै पहलमा कान्ति राजपथका पहिरो पन्छाएर सोमबार साँझदेखि यातायात सञ्चालनमा आइसकेको छ ।  

‘पहिलो चरणमा खोज, उद्धार र राहतका काम सम्पन्न भएसँगै प्राथमिकता निर्धारण गरी पुनःनिर्माण र पुनःस्थापनामा सङ्गठनले जनशक्ति खटाइरहेको छ’, प्रवक्ता केसीले भने । 

सेनाभित्र विपद् व्यवस्थापनका लागि सहायक रथीको नेतृत्वमा विपद् व्यवस्थापन निर्देशनालय र मातहत काठमाडौँको सुन्दरीजल र चितवनमा गरी दुई वटा गण क्रियाशील छन् । 

यसवर्षको बाढीपहिरोबाट भएको क्षति र प्रतिकार्यमा देखिएका कमिकमजोरीबाट पाठ सिक्दै विपद् पूर्वतयारी र प्रतिकार्यलाई थप प्रभावकारी तुल्याउन नयाँ रणनीति आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।

श्रमिकका समस्या समाधानका लागि सामूहिक प्रयास जरुरीः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार श्रमिकको हकहितको रक्षा गर्दै असल औद्योगिक श्रम सम्बन्धमार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न क्रियाशील रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको २६औँ क्षेत्रीय परिषद्को मंगलबार उद्घाटन गर्दै उनले समयानुकूल श्रमिकको न्यूनतम पारिश्रमिक समायोजन गर्ने नीति कार्यान्वयन हुँदै आएको बताए ।

कार्यस्थलमा भोग्नुपर्ने समस्या नयाँ रुपमा प्रकट भएको बताउँदै उपप्रधानमन्त्री पौडेलले श्रमिकका समस्या विश्वभर एकै किसिमका भएकाले समाधानका लागि सामूहिक प्रयास जरुरी छ भने ।

नेपालको संविधानले कानुनबमोजिम ट्रेडयुनियन खोल्न पाउने, सामूहिक सौदाबाजी गर्न पाउनेलगायत अधिकार स्थापित गरेको र रोजगारीको हकलाई मौलिक हकमा समावेश गरेको उल्लेख गर्दै उनले श्रमिकलाई रोजगारीको हक, सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सरकार संवेदनशील रहेको बताए ।

अर्थमन्त्रीले श्रम शक्तिलाई दक्ष र व्यावसायिक बनाउन सरकार लागिपरेको भन्दै मर्यादित श्रमसम्बन्ध कायम गरेर औद्योगिक वातावरण बनाउन सरकार क्रियाशील रहेको बताए।

वर्तमान सरकार श्रमिक र उद्यमीबीच सुमधुर सम्बन्ध कायम गर्दै औद्योगिक वातावरण बनाउन प्रतिबद्ध रहेको उनले बताए । सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिका रूपमा आत्मसात् अर्थमन्त्रीले बताए ।

श्रम शक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको उनले बताए । अर्थमन्त्री पौडेलले भने, ‘श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिका रूपमा आत्मसात् गरेको छ । श्रम शक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमा नै रोजगारी सिर्जना अभिवृद्धि गर्ने नीति सरकारको छ ।’

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले जलवायु परिवर्तनका कारण देशले ठूलो जनधनको क्षति व्यहोर्नु परेको वास्तविकता सुनाउँदै हरेक दिन काम गरेर आफ्नो र परिवारको भरणपोषण गर्नुपर्ने श्रमिक वर्गका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

दुई दिवसीय सो परिषद्मा नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल टे«ड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन महासङ्घका प्रतिनिधिका अवाला एसिया –प्रशान्त क्षेत्रका ट्रेड युनियन आन्दोलनका अभियन्ता तथा सहभागी छन् ।

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग

काठमाडौँ । हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले दुई करोडको चेक हस्तान्तरण गरे ।

यसैगरी, नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुँवरले पाँच लाख ५५ हजार ५५५ को चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिन्  ।

बोलिभियादेखि इन्डोनेसियासम्म तीव्र गतिमा वनविनाश जारी

पेरिस । सन् २०३० सम्ममा वनविनाश अन्त्य गर्ने प्रतिबद्धताहरूभन्दा धेरै बढी दरमा गत वर्ष वन विनाश जारी रहेको मङ्गलबार प्रकाशित एउटा प्रमुख अध्ययनमा उल्लेख छ ।


दुई दर्जन अनुसन्धान संस्था, गैरसरकारी संस्था र वकालत समूहहरूका अनुसार सन् २०२३ मा करिब आयरल्यान्डको आकारको वन नष्ट भयो र यसमा ६३ लाख ७० हजार हेक्टर रुख काटिए वा जलाइए । 


संसारलाई दशकको अन्त्यसम्म वनविनाश अन्त्य गर्ने मार्गमा राख्न सन् २०२१ मा एक सय ४० भन्दा बढी नेताहरूले गरेको प्रतिबद्धतामा यो ‘उल्लेखनीय रूपमा बढी’ थियो । 


वनहरू विश्वका ८० प्रतिशत स्थलीय वनस्पति र जनावर प्रजातिहरूको घर हुन् र जल चक्रलाई नियमन गर्न तथा विश्व तापक्रमका लागि जिम्मेबार प्रमुख हरितगृह ग्यास कार्बनडाइअक्साइड सोस्नका लागि महत्त्वपूर्ण हुन् ।


“विश्वव्यापी रूपमा दशकको प्रारम्भदेखि वनविनाश सुधारिएको छैन, बरु बिग्रिएको छ”, क्लाइमेट फोकसका जैविक विविधता र भूमि उपयोग परामर्शदाता तथा ‘वन घोषणा मूल्याङ्कन’ प्रतिवेदनका प्रमुख लेखक इभान पाल्मेगियानीले भने, “हामी वनविनाश अन्त्य गर्ने महत्त्वपूर्ण विश्वव्यापी सममसीमाबाट मात्र छ वर्ष टाढा छौँ र वनहरू अझै चिन्ताजनक दरमा काटिँदै, क्षीण हुँदै र जलाइँदैछन् ।”


सन् २०२३ मा ३७ लाख हेक्टर उष्णकटिबन्धीय प्राथमिक वन– विशेषगरी कार्बन समृद्ध र पारिस्थितिकीय रूपमा जैविक विविधायुक्त वातावरण– नष्ट भयो । यो सन् २०३० को लक्ष्य पूरा गर्न उल्लेखनीय रूपमा घट्नुपर्ने थियो । 


– सोया र निकेल – 


उच्च जोखिमयुक्त क्षेत्रहरूमा अनुसन्धानकर्ताहरूले बोलिभिया र इन्डोनेसियामा पछाडि फर्कन सङ्केत गरेका छन् । 


प्रतिवेदनले बोलिभियामा वनविनाशमा ‘चिन्ताजनक वृद्धि’ भएको बताएको छ । यहाँ सन् २०१५ र सन् २०२३ को बीचमा वनविनाश तीन सय ५१ प्रतिशतले बढेको छ । 


‘वनविनाश प्रवृत्तिले कम हुने कुनै सङ्केत’ नदेखाएको प्रतिवेदनमा उल्लेख छ । त्यहाँ वनहरू कृषि विशेषगरी सोयाका साथै गाईवस्तु र चिनीका लागि पनि फडानी गरिएको छ । 


इन्डोनेसियामा वनविनाश सन् २०२० देखि सन् २०२२ को बीचमा घटेको भए पनि गत वर्षदेखि तीव्र रूपमा बढ्न थालेको छ । 


कपडाका लागि भिस्कोस र विद्युतीय सवारी साधनका बेट्री र नवीकरणीय ऊर्जा प्रविधिका लागि निकेल उत्खननमा वृद्धिजस्ता आंशिकरूपमा प्राय पर्यावरणमैत्री मानिने सामग्रीहरूको मागका कारण यहाँ वनविनाश बढेको हो । 


ब्राजिलबाट राम्रो समाचार आएको छ । ब्राजिल अझै पनि विश्वमा सबैभन्दा बढी वनविनाश भएको मुलुक हो तर यसले महत्त्वपूर्ण प्रगति गरेको छ । अमेजनमा स्थिति उल्लेखनीय रूपमा सुधारिएको छ । 


मुलुकले राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले लागु गर्नुभएको संरक्षणात्मक उपायहरूबाट फाइदा लिएको छ । यद्यपि अमेजनको तल रहेको महत्त्वपूर्ण उष्णकटिबन्धीय घाँसेमैदान सेराडोमा वनविनाश बढेको छ । 

– वन क्षयीकरण –

काठ काट्ने, सडक निर्माण र आगलागीले भूमि पूर्ण रूपमा नष्ट नभई क्षति पुर्याउने भन्दै प्रतिवेदनले वन क्षयीकरणको भूमिकामाथि पनि प्रकाश पारेको छ । 


सन् २०२२ मा अन्तिम पटक आँकडा उपलब्ध भएको वर्ष जर्मनीको दोब्बर आकारको वन क्षेत्र क्षय भएको थियो । 


क्लाइमेट फोकसका वरिष्ठ परामर्शदाता तथा प्रतिवेदनका सह–लेखिका एरिन म्याट्सनले ‘बलियो नीति र बलियो कार्यान्वयन आवश्यक रहेको’ बताइन् । “विश्वव्यापी वन संरक्षण लक्ष्य पूरा गर्न हामीले वन संरक्षणलाई राजनीतिक र आर्थिक लहडहरूबाट अछूतो बनाउनुपर्छ”, उनले भनिन् ।


उक्त प्रतिवेदन गैरसरकारी संस्थाहरूको विरोधका बाबजुद आफ्नो वनविनाश विरोधी कानून लागू हुन एक वर्ष (सन् २०२५ को अन्त्यसम्म) स्थगन गर्ने युरोपेली आयोगको गत साता प्रस्तावलाई दृष्टिगत गरी आएको छ ।

रुस र चीनद्वारा प्रशान्त महासागरमा संयुक्त नौसैनिक गस्ती

मस्को । रुसी र चिनियाँ नौसेनाका जहाजहरूले प्रशान्त महासागरको उत्तरपूर्वी भागमा संयुक्त गस्ती गरेको रुसी सेनाले मङ्गलबार बताएको छ । जहाजहरूले पनडुब्बी विरोधी रणनीतिको अभ्यास गर्न ‘युद्धाभ्यास गरेर अघि बढेको’ बताइएको छ ।

दुई मुलुकले संयुक्त सैन्य अभ्यास गरेपछि यो गस्ती गरिएको हो । दुवै मित्र राष्ट्रबीच घनिष्ठ सम्बन्ध कायम हुँदा नाटोले बेइजिङलाई मस्कोको युक्रेन युद्धको ‘समर्थक’ भनेको छ ।

सेप्टेम्बरको प्रारम्भमा दुवै पक्षले संयुक्त समुद्री गस्तीमा भाग लिने र चीनले रुसको ‘ओसन–२०२४’ रणनीतिक अभ्यासमा भाग लिने चीनले बताएको थियो ।

जुलाईमा दुवै मुलुकले दक्षिणी चीनको ग्वाङ्डोङ प्रान्तको झानजियाङ सहर वरपरको जल र हवाई क्षेत्रमा संयुक्त अभ्यास गरेका थिए ।

रुस र चीनले हालैका वर्षहरूमा सैन्य र आर्थिक सहयोग बढाएका छन् । दुवैले ‘पश्चिमी प्रभुत्व’ विरुद्ध खासगरी विश्व मामिलामा अमेरिकी प्रभुत्व भनेर बुझ्ने कुराको विरोध गरिरहेका छन् ।

दुवै मुलुकले मस्कोले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गर्नु केही समयअघि ‘सीमाहीन’ साझेदारीको घोषणा गरेका थिए । 

तनहुँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

दमौली । तनहुँको भानु नगरपालिका–१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४० वर्षीय पञ्चबहादुर बोटेलाई मंगलबार पक्राउ गरेको हो ।

सोमबार राति पत्नीको हत्या गरी फरार भएको आरोप लागेका बोटेलाई मंगलबार गोरखाको पालुङटार नगरपालिका–७ बिरुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पञ्चबहादुरले श्रीमतीको घाँटी डोरीले कसेर हत्या गरेको आशङ्कामा प्रहरीले खोजतलास गरेको थियो । पञ्चबहादुरले छिमेकी बुहारीलाई आफ्नो श्रीमतीको मृत्यु भयो भनी घरको साँचो फालेर भागेको प्रहरीले जनाएको छ ।

छिमेकीले प्रहरीलाई खबर गरी ढोका खोलेर हेर्दा पूर्णमायाको शव भेटिएको थियो । मृतकको घाँटीमा निलडाम रहेको र नजिकै डोरी भेटिएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

दसैँमा पनि मानव अधिकार आयोग खुला रहने

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दसैँ अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ ।

आयोगले आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमाझैँ यस वर्ष पनि बिदाका दिनमा कार्यालय खुला राख्ने आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।

आयोगले यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ ।

एक साताभित्र अवरुद्ध बीपी राजमार्ग संचालनमा आउँछः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एक साताभित्र अवरुद्ध बीपी राजमार्गमा सवारीसाधन चलाउने व्यवस्था हुने बताएका छन् ।

मंगलबार बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले अतिभारी बर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताएका हुन् ।

उनले भने,‘बीपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्सनसहित सवारी चलाउने व्यवस्था हुन्छ । यहाँका अवरुद्ध भित्री सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठुलो भूमिका देखिएको छ ।’

विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागिपरेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

विपद्को समस्या सबै मिलेर समाधानमा जुट्नुपर्नेमा जोड उनको थियो । सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको केही क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोली बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरिरहेका छन् ।