`

चाडवाडका बेला दर्शकको रोजाइमा नेपाली चलचित्र

काठमाडौँ । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् । 

विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ र तिहारमा उच्च रहेको चलचित्र वितरक करण श्रेष्ठले जानकारी  दिए । “फिल्म हलमा नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढेको छ । गत दसैँ हलहरुमा नेपाली चलचित्रमय बन्यो, तिहारमा पनि उस्तै देखिएको छ”, उनले भने । 

दसैँ लक्षित प्रदर्शन गरिएका ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’ ले बक्सअफिसमा राम्रो व्यापार गर्यो । चलचित्र ‘ज्वाइँ साब’ ले पनि दर्शकको साथ पायो । तिहार लक्षित प्रदर्शन गरिएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले पनि राम्रो व्यापार गरिरहेको छ । यस चलचित्रमा पहिलोपटक शीर्ष भूमिकामा देखिएका अभिनेता विजय बराल दर्शकबाट प्राप्त मायाले दङ्ग छन् ।

‘दर्शकहरुले माया गर्नुभएको छ । यो मेरा लागि नौलो अनुभव हो । मलाई विश्वास गर्ने निर्माण समूह र साथ दिनुहुने दर्शक प्रति कृतज्ञ छु’, अभिनेता बरालले भने ।   

चलचित्र भवनसँगै ओटीटीमा समेत नयाँ चलचित्र प्रदर्शन गरियो । हलबाट उतारेर निर्देशक निश्चल बस्नेतले चलचित्र ‘मेघौली फ्रम बेहुली’ लाई ओटीटीमा ल्याए । यसले नेपाली निर्मातालाई आम्दानीको नयाँ स्रोत थपेको चलचित्रकर्मीको भनाइ छ ।  

चलचित्र ‘महापुरूष’ तिहार लक्षित गरी युट्युबमा सार्वजनिक गरिएको छ । यसअघि ओटीटीमा सार्वजनिक भएको यस चलचित्रलाई दर्शककै अनुरोधमा युट्युबमा ल्याइएको निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले जानकारी दिए । उनले भने, “चलचित्र भवन र ओटीटीपछि हामीले युट्युबमा सार्वजनिक गरेका हौँ ।”

दसैँ तिहारमा चलचित्र भवनमा अन्य समयको तुलनामा राम्रो व्यापार हुनुका साथै घरमै चलचित्र हेर्ने दर्शकको सङख्या वृद्धि भएको छ । त्यसैले यो समयमा चलचित्रलाई दर्शकसम्म पु¥याउन निर्माता उत्साहित देखिने गरेका छन् ।

प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट शुभसाइतमा टीका ग्रहण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बहिनीहरुबाट भाइटीका लगाएका प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत  आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो  ।

उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।

प्रारम्भ भएका परियोजना क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट थाइ एयर एसियाले आजदेखि ब्याङ्कक–भैरहवा उडान प्रारम्भ गरेको सन्दर्भमा प्रधानमन्त्रीले उक्त आशयको अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा एयर एसियाको विमानलाई पानीको फोहराले स्वागत गरिएको भिडियो शेयर गर्दै उनले भनेका छन्,“भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सुरु भएको छ । थालेका कामहरूलाई क्रमैसँग सम्पन्न गर्नेतर्फ हामीले ध्यान दिइरहेका छौँ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी शनिबारदेखि उक्त वायुसेवाले हरेक साता सोमबार र बिहीबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्नेछ ।

थाई एसिया एयरको भैरहवा–बैङ्कक उडान सुरु

भैरहवा (रुपन्देही) । थाई एसिया एयरलाइन्स बैङ्कक–भैरहवा–बैङ्कक उडान आजदेखि सुरु गरेको छ । आइतबार बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

‘सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो’, विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने, ‘अब २३ कात्तिकदेखि सातामा दुईपटक नियमित उडानको तालिका रहेको छ ।’

थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए । थाई एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुनःउडान काठमाडाँैमा सुरु गर्न अनुमति पाएलगत्तै उडान सुरु भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम भएको थिएन ।

भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुआती भाडादर रु १२ हजार रहेको जनाइएको छ । एयर एसियाको यो विमान बिहान ७ः४० बजे बैङ्कक प्रस्थान गरिसकेको छ ।

‘ग्रामीण क्षेत्रमा पनि लोप हुँदै मखमली फूल’

म्याग्दी । जिल्लाका ग्रामीण क्षेत्रमा पनि मखमली फूल लोप हुन थालेपछि तिहारमा मालाको अभाव देखिएको छ । भाइटीकामा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला दाजुभाइलाई लगाइदिने चलन भएपनि मखमली फूल लोप हुँदै गएपछि माला अभाव भएको हो ।

शनिबार साँझ बेनी नगरपालिका–२ ज्यामरुककोट माइतमा आएर आज भाइटीकाका दिन आफ्ना दाजुभाइलाई लगाइदिने सयपत्रीको माला उन्दै गरेकी प्रतिभालाई मखमली फूलको अभाव खड्किएको छ । माइतीको आँगनमा दाजुभाइ र बुबाआमासँग गफिँदै माला उनिरहेकी उनको मन भने प्रशन्न छैन, यसको कारण भने मखमली फूलको अभाव हो ।

‘कति खोजेँ कहीँ पनि पाउन सकिनँ मैले मखमली फूल’, उनले भनिन्, ‘तिहारमा दाजुभाइलाई मखमली फूलझैँ नओइलाउने हुनु भनेर माला लगाउन पाए हुने हो । मखमलीको माला नै नभएपछि मन हर्षित छैन । कति खोजे पनि भेटिएन ।’

भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई लगाइदिने मालामा अनिवार्यजस्तै बनेको मखमली फूल म्याग्दीका ग्रामीण भेगहरूबाट लोप हुँदै गइरहेको छ । ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ प्रसिद्ध लोकगायक नारायण रायमाझीले गाएको यो गीतका शब्दमा तिहारको बेला प्रदेशबाट दाजुभाइ घरमा नआउँदाका पीडा समेटिएको छ । अहिलेका दिदीबहिनीलाई मालाका लागि मखमली फूल नपाइँदा निराश बनाएको छ ।

दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइन्छ । यही फूलको माला लगाइदिएर दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गर्दछन् ।

केही वर्षअघिसम्म गाउँघरमा प्रशस्तै पाइने मखमली फूल हिजोआज लोप हुँदै गएको छ । मखमली फूल पाइन छाडेपछि भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई थुङ्गे र सयपत्री फूल तथा स्थानीय मौसमी फूलको माला लगाइदिन थालेका छन् ।

नेपालीहरूका लागि तिहारको महत्व र मौलिकतासँग जोडिएको मखमली फूल हराउँदै जानुमा तापक्रम वृद्धिका कारण माटोमा अम्लियपन बढ्नु र अनुकूलन हुनेगरी यसको संरक्षण नगरिनु रहेको जानकारहरू बताउँछन् । पछिल्ला तीन वर्षयता म्याग्दीको ग्रामीण भेगबाट मखमली फूल लोप हुँदै गएको भन्दै यसको संरक्षणमा अभाव देखिएको बेनीको न्युरोडमा पूजा तथा शृङ्गार पसल सञ्चालक टीकाराम आचार्यले बताए ।

‘संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर हुन्छ । मखमलीले नेपालीको सांस्कृतिक महत्व बोकेको छ । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फुल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ । दाजुभाइलाई यही फूल झै कहिल्यै नओइलाउनु भन्ने कामनासहित माला लगाइदिने परम्परा छ’, आचार्यले भने ।

अहिले सस्ता र कृत्रिम फूलका मालाले बजारका पसल भरिएका छन् । मखमली फूलसँगै गाउँघरमा फुल्ने सुपारी, गरधौली, लालुपातेलगायत फूल पनि देखिन छाडेका आचार्यले बताए । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फुले पनि देखाउनका लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको विमला सुवेदीले बताइन् ।

नझर्ने, नओइलाउने र वर्षौँसम्म रहिरहने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्ने उनले भने ।

उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान

काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह वल्र्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतार बिहान ८ बजे इजिप्टको कायरो प्रस्थान गरेका हुन् ।

उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा बिदाइ गरेका थिए ।

विश्वका एक सय ५० भन्दा बढी देशको सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी छन् । अन्य देशबाट सहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् भने नेपालबाट सिंहको उपस्थिति रहने मन्त्रालयले जनाएको छ ।

सहरी विकासका बारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले तीनवटा सत्रलाई सम्बोधन गर्नेछन् । त्यसक्रममा उनले नेपालले बस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्नेगरी कसरी सहरीकरण र बस्ती विकास गर्न सकिन्छ भन्ने विषयलाई उपप्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउनेछन् ।

त्यस्तै सहरीकरणका लागि चुनौती बनिरहेको खानेपानी, सरसफाइ र सहरी पूर्वाधारको व्यवस्थापनको विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

यही नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा वल्र्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ । वल्र्ड अर्बान फोरम सहरी विकासको क्षेत्रमा महत्त्वपूर्ण मानिन्छ । उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, सहरी विकास मन्त्रालयका अधिकारीहरू पनि कायरो प्रस्थान गर्नुभएको छ । उहाँ कार्यक्रममा सहभागी भएर शनिबार बिहान स्वदेश फर्कनेछन् ।

तिहारको बिदामा पनि रोकिएन तनहुँ जलविद्युत् आयोजनाको काम

तनहुँ । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई तिहारमा पनि निरन्तरता दिएको हो ।

आयोजना निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले आज पनि कामलाई निरन्तरता दिइएको आयोजना कार्यालयले जनाएको छ । दिउँसो र राति गरी दुई ‘सिफ्ट’मा निर्माण भइरहेको छ ।

चरण–१ मा बाँध निर्माणका लागि जग हाल्ने कार्य धमाधम भइरहेको छभने चरण–२ मा मुख्य सुरुङको ‘क्रङ्क्रिट लाइनिङ’ र विद्युतगृहको काम भइरहेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिए । उनका अनुसार दुई चरणमा दुई सय जना जनशक्ति परिचालन गरी काम भइरहेको छ । यसअघि दसैँमा आयोजनाको काम निरन्तर गरिएको थियो ।

सिफ्टमा आलोपालो मिलाएर तिहारलगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई तिहार मनाउन बिदा दिइएको बताउँदै अधिकांश कामदारले भने काम गरिरहेका आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । “आयोजनाको तीन चरणमध्ये अहिले दुईवटा चरणमा निरन्तर काम सञ्चालन भइरहेको छ”, उनले भने, “निर्धारित समयमा निर्माण सम्पन्न गर्न चाडपर्वमा पनि काम रोकेका छैनौँ ।”

चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालिले गरिरहेको छ । चरण–२ अन्तर्गत पावरहाउसतर्फको काम तीव्र रूपमा भइरहेको प्रमुख भण्डारीले बताए । उनका अनुसार सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम भइरहेका छन् ।

चरण–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युत्गृहमा रहने उपकरण जडानलगायत कार्य भइरहेका छन् । आयोजनाको समग्र मूल्याङ्कन गर्दा हालसम्म ६२ प्रतिशत काम पूरा भएको भण्डारीले जानकारी दिए ।

पुँजी संरचना तथा वित्तीय व्यवस्थापनका लागि प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी ५० करोड ५० लाख अमेरिकी डलर रहेको आयोजना कार्यालयले जनाएको छ ।

एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोेर्नेगरी वित्तीय व्यवस्थापन गरिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतामा बदेनोच निर्वाचित

लण्डन । बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट जुलाईमा भएको आम निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि राजीनामा दिएका ऋषि सुनकको स्थानमा शनिबार ‘एन्टी–वोक’ उम्मेदवार केमी बदेनोच चयन भएकी छन् ।

जात, लिङ्ग र एलजिबिटी अधिकारको इन्कारजस्ता सामाजिक असमानताहरूको व्यापक जागरूकतालाई सन्दर्भित गर्न सन् २०१० पछि ‘एन्टी वोक’ अभियानको प्रयोग गरिन थालिएको थियो।

पूर्व अध्यागमनमन्त्री रोबर्ट जेनरिकसँगको प्रतिस्पर्धामा ४४ वर्षीय बदेनोचले ५७ प्रतिशत मत प्राप्त गरेकी थिइन् ।
पार्टी नेता निर्वाचित भएपछि उनले भनिन्, “पार्टीको नेता बन्नु ठूलो सम्मानको कुरा हो, तर हाम्रो अगाडि उभिएको काम कठिन छ।”

“हामीले गल्ती गरेको तथ्यप्रति हामी इमानदार हुनुपर्छ र मानकहरू थप खस्किने अवस्थामा देखिएका छन्,” उनले भनिन् ।

उनले भनिन्, “यो व्यवसायमा जाने समय हो, नवीकरण गर्ने समय हो ।

१४ वर्ष सत्तामा रहेर गत जुलाईमा सत्ताबाट हटेको विभाजित र कमजोर पार्टीलाई पुनः एकताबद्ध गर्ने चुनौतीपूर्ण कार्य अहिले जुझारु पूर्वमन्त्रीसमक्ष आएको छ ।

ब्रेक्जिटका प्रमुख निगेल फराजको नेतृत्वमा रहेको दक्षिणपन्थी रिफर्म यूके पार्टीलाई समर्थन को प्रवाहलाई रोक्दै उनले जनताको विश्वास पुनः प्राप्त गर्ने रणनीति बनाउनुपर्छ।

नाइजेरियाली आमाबाबुको कोखबाट लन्डनमा जन्मिएकी र लागोसमा हुर्केकी बदेनोचले आफ्नो पार्टी लैङ्गिक पहिचानजस्ता सामाजिक मुद्दाहरूमा उदार बन्दै गएको आरोप लगाउँदै रूढिवादी मूल्यमान्यतामा फर्कन आह्वान गरेकी छन् ।

अमित शाहले शिख पृथकतावादीहमाथि आक्रमण गर्न अनुमति दिएको क्यानडाको दावी

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वासपात्र तथा भाजपा नेता अमित शाहलाई ओटावाले क्यानडाको भूमिमा क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ ।

गृहमन्त्रीका रूपमा देशको आन्तरिक सुरक्षा बलको रेखदेख गर्ने शाहको बचाउ गर्दै नयाँ दिल्लीले शनिबार उक्त आरोपलाई ‘बेतुकको आधारहीन’ दावी भएको बताएको छ ।

भाजपामा मोदीपछिको दोस्रो शक्तिशाली व्यक्ति ६० वर्षीय शाहले दशकौँसम्म पार्टीमा एक वफादार नेताका रूपमा सेवा गरेका छन् । यद्यपि, भाजपा र उनका आलोचकहरूले शाहले कुनै समय शृङ्खलाबद्ध हत्याको योजना बनाएको आरोप पनि लगाउने गरेका छन् ।

मोदी र शाहबीचकोस्थायी साझेदारीले उनीहरूको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को हिन्दू–राष्ट्रवादी विश्वदृष्टिकोणलाई बलियो बनाएको छ।

मोदीलाई भाजपाको पछाडि जनतालाई परिचालन गर्ने चामत्कारिक अग्रनेता मानिन्छ भने शाहलाई अधीनस्थहरूलाई लाइनमा राख्ने प्रवर्तनकर्ताको रूपमा हेरिन्छ।

“पार्टीमा अहिले नरेन्द्र मोदी र २० वर्षभन्दा बढी समयदेखि मोदीको विश्वासपात्र (दाहिने हात) अमित शाहको पनि पूर्ण प्रभुत्व छ,” राजनीतिशास्त्री तथा भारतका विज्ञ क्रिस्टोफ जाफरलोटले भनेका छन् ।

दुवै जनाले आफ्नो राजनीतिक जीवन पश्चिमी राज्य गुजरातको सबैभन्दा ठूलो शहर अहमदाबादबाट सुरु गरेका थिए । गुजरातमा मोदीले आफूभन्दा १४ वर्ष कान्छा शाहलाई पार्टीमा आफ्नो अभिन्न अङ्गका रूपमा लिएका थिए ।

सन् २००२ मा स्वतन्त्र भारतको इतिहासमा सबैभन्दा खराब धार्मिक हिंसाको चपेटामा परेको बेला मोदी गुजरातका मुख्यमन्त्री थिए भने शाह सांसद थिए ।

उक्त बर्ष दर्जनौँ हिन्दू तीर्थयात्रीको ज्यान जाने गरी रेलगाडीमा आगलागी भएको घटनापछि भड्केको धार्मिक हिंसामा कम्तीमा एक हजार मानिसको मृत्यु भएको थियो। झडपमा मृत्यु हुनेमा अधिकांश मुश्लिम धर्मावलम्बी रहेका थिए भने यसका लागि भारतीय यिनै दुई नेता जिम्मेवार रहेको उहाँहरूका आलोचकले दावी गर्ने गरेका छन् ।

मोदीमाथि अशान्ति मच्चाउन मद्दत गरेको र प्रहरी हस्तक्षेपको आदेश दिन असफल भएको आरोप लगाइएको थियो तर उनले उक्त आरोप निराधार रहेको भन्दै खण्डन गरेका थिए ।

सोही आरोपका कारण उनलाई वर्षौंसम्म संयुक्त राज्य अमेरिका र बेलायतमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो।

तर भाजपाले त्यस वर्षको गुजरात चुनावमा भारी मतान्तरले जितेको थियो । मोदीले शाहलाई राज्यको शक्तिशाली गृह मन्त्रालयमा नियुक्त गरेका थिए ।

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

भेरीगङ्गा । सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् । अरु बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याइ नभ्याइ छ । उनले तिहारमा मात्रै रु पाँच लाखको फूलहरु बेच्ने लक्ष्य राखेका छन् । भाइटीका आउन एक दिनअघिसम्म समीरले करिब रु तीन लाख ५० हजारको कारोबार गरिसकेका छन् । सुर्खेतमा फूल प्रति किलोग्राम रु चार सयमा बिक्री हुने गरेको छ ।

तिहार र छठ पर्वसम्म ५ लाख बराबरको फूल बेच्ने लक्ष्य लिएको समिर बताउँछन् । ‘अहिले फुलको मुल्य पनि राम्रै छ, तिहारमा मात्रै रु पाँच लाखको बेच्ने मेरो लक्ष्य छ, त्यसको नजिकै छु’ उनी भन्छन् ।

२४ वर्षीय समीर मध्यपश्चिम विश्वविद्यालयमा बाली विज्ञान पढ्दै छन् । आफूले पढेर आर्जन गरेको ज्ञानको प्रयोग गर्दै सुर्खेत सदरमुकामदेखि पूर्वीक्षेत्रमा पर्ने भेरीगंगा नगरपालिका— ११ मा आठ रोपनी जमिनमा उनले विभिन्न प्रजातिका फूल लगाएर मनग्य आम्दानी लिइरहेका छन् ।

वार्षिक आम्दानी  आठ लाखसम्म हुने गरेको समीरले सुनाए । उनले धेरैजसो सयपत्री फूल उत्पादन गरिरहेका छन् । ‘अरु समयमा विभिन्न कार्यक्रम, सभा र पूजाआजाको लागि बिक्री हुन्छ भने तिहारको बेलामा सबैभन्दा धेरै बिक्री गर्छु, जसले स्वरोजगार त बनाएको छ नै, किताबी ज्ञान व्यवहारमा प्रयोग भइरहेको छ,’ समीरको भनाइ छ ।

उनले यो व्यवसाय सुरु गरेको दुई वर्ष भयो । गत वर्ष रु सात लाख रकम आम्दानी गरेर हौसिएका समीर यसवर्ष रु दश लाख आम्दानीमा आशावादी छन् । ‘गतवर्ष २० क्विन्टलभन्दा धेरै जिल्ला बाहिर निर्यात गरेको थिए, यसवर्ष पहिलोभन्दा बढी उत्पादन हुन्छ, किनकि ६ रोपनी जग्गाबाट बढाएर ८ रोपनीमा खेती विस्तार गरेको छु,’ उनले भने ।

समीरले वायो ग्रीन एग्रो प्रालि नामक फर्म दर्ता गरेर त्यहीमार्फत कारोबार गरिरहेका छन् । कारोबार राम्रै भएपनि बजारमा सस्तोमा पाइने प्लाष्टिकजन्य फूलका कारण आफूजस्ता व्यवसायीहरू मारमा परेको उनको दुःखेसो छ । त्यसैले सरकारले बाहिरबाट आउने यस्ता फूलमा रोक लगाउनुपर्ने समीरको माग छ ।

उनी भन्छन्,’हाम्रो लागि धेरै अवसरहरू नेपालमै छन् तर अलिकति मेहेनत गर्नुपर्छ, कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने छैन तर यसमा सरकारले पनि प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नेदेखि युवालाई ज्ञान र सीप दिन लाग्नुपर्छ ।’

भेरीगङ्गा नगरपालिकाले भने स्वदेशी फूललाई प्रोत्साहन गर्न बाहिरबाट आउने फूलमा कडाइ गरेको जनाएको छ ।

मधेस-पहाडको कथा र सौन्दर्यमा ‘केटी हराएको सूचना’

काठमाडौँ । वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’लगायत निर्देशन गरेर परिचित निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका छन्। झन्डै ३२ वर्षपछि चलचित्रकर्ममा फर्किएका निर्देशक गौचनले पहाडी समुदायको केटा र मधेसी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताए।

‘म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थेँ। किनकि पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आएका छन्। जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु’, उनले भने।

निर्देशक गौचनले सामाजिक सञ्जालबाट भेटिएका दुई पात्रबीच यात्रामा निस्किँदा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेको बताए। उनले चलचित्रका अधिकांश दृश्य अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठमै केन्द्रित रहेको बताए।

‘चलचित्रमा दुई पात्रको फरक भूगोल र मनोविज्ञानलाई देखाउन खोजेको हुँ, त्यही भएर अधिकांश दृश्यमा उहाँहरू नै हुनुहुन्छ। यो हाम्रो अहिलेको समयको कथा हो, जहाँ समाजभन्दा बढी सामाजिक सञ्जालमा रमाउने प्रचलन बढिरहेको छ। चलचित्रले हामीलाई आफूभित्रको खुसी खोज्न प्रेरित गर्छ’, निर्देशक गौचनले भने।

चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा छन्। अभिनेता हुसेनले यसपटक आफूले शून्यतामा रहेर अभिनय गरेको बताए।

उनले भने, ‘हामीलाई काम गर्ने प्रस्ताव आउँदा भूमिकाबारे भनिन्छ, त्यसलाई निर्देशक र लेखकको सहयोगमा तयार गरिन्छ। म आफैँ तराईको भएकाले आफ्नो पात्रलाई तयार गरेको थिएँ तर निर्देशक गौचनले मलाई ‘न्युट्रल’ बस्न सुझाव दिनुभयो। त्यसकारण यो रामको पात्र एकदमै सरल र जीवन्त देखिएको छ। यो मेरो लागि नयाँ अनुभव पनि हो।’

अभिनेत्री श्रेष्ठले यस चलचित्रमा गरिएको काम आफ्नो लागि अहिलेसम्म कै उत्कृष्ट रहेको बताइन्।

‘मेरो पात्र निर्माणसँगै छायाङ्कनमा पाएको स्पष्टता र सरलता अहिलेसम्मकै उत्कृष्ट अनुभव रह्यो। यो हामीले नजरअन्दाज गरिरहेको एउटा विषय हो’, उनले भनिन्।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गरेका छन्।

विश्वकप लिग–२ क्रिकेटमा अमेरिकासँग नेपाल पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो ।

अमेरिकाले दिएको दुई सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४४ रनमा समेटियो । नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडेका हुन् ।

नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले २९ रन जोडे । त्यसपछि कुशल मल्लले ५४ बलमा एक चौका र एक छक्कासहित ३३ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल एक, गुल्सन झा १२ तथा आरिफ शेख २१ रन बनाउँदै आउट भए ।

त्यसपछि सोमपाल कामीले २७ बलमा चार चौका र दुई छक्कासहित ४६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा एक चौका र एक छक्कासहित ३१ रन बनाए । करण केसीले पाँच तथा सन्दीप लामिछानेले दुई रन बनाए ।

अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक चार विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्लीले समान दुई/दुई तथा जसदीप सिंह र हरमित सिंहले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८१ रनको योगफल बनाएको थियो ।

अमेरिकाका लागि साइतेजा मकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ८७ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिएका हुन् । त्यस्तै कप्तान मोनाङ्क पटेलले ८१ बलमा पाँच चौका र एक छक्कासहित ६७ रन जोडे । ओपनर शयान जहानजिगर १० र आरोन जोन्स २६ रनमा आउट भए । हरमित सिंहले ४४ बलमा तीन चौका र तीन छक्कासहित ५९ रनको योगदान गरे ।

नेपालका गुल्सन झाले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए । त्यस्तै कुशल भुर्तेलले एक विकेट झारे । नेपालल लिग–२ मा ११ खेलमा दुईमा जित र आठमा हारसहित पाँच अ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ ।

त्यस्तै अमेरिका १२ खेलमा आठमा जितसहित १६ अङ्कका साथ शीर्षस्थानमा छ । क्यानडा १२ खेलमा १६ अङ्कका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । अब नेपालले भोलि स्कटल्याण्डसँग खेल्नेछ ।

भक्तपुरमा यसरी गरियो सामूहिक म्हः पूजा(फोटोफिचर)

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि– ७ नगदेशमा सामूहिक म्हः पूजा गरिएको छ । शनिबार ज्यापू महागुथी नेपा,उपकार साकोस र नृत्यनाथ बासुरी खलद्वारा सामूहिक म्हः पूजा गरिएको हो ।

सामूहिक म्हः पूजालाई अब हरेक वर्ष निरन्तरता दिने पनि आयोजकले बताएको छ । म्हः पूजापछि सुकुल भोजको आयोजना गरिएको थियो । म्हः पूजा गर्दा सुख प्राप्त हुने मान्यता रहेको छ ।

तस्बिर : चन्द्रकला क्षेत्री/रासस

पाकिस्तानको लाहोरमा डब्लूएचओको सीमाभन्दा ४० गुणा बढी प्रदूषण

लाहोर  । पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले स्वीकार गरेको भन्दा करिब ४० गुणा बढी भएको आइक्यू एयरको तथ्याङ्कले देखाएको छ ।

डब्लूएचओले अस्वास्थ्यकर मानेको २४ घण्टाको अवधिमा घातक पीएम २.५ प्रदूषकको स्तर ६१० पुगेको छ। प्रदूषकहरूको दायरा मापन गर्ने वायु गुणस्तर सूचकाङ्कले प्रदुषकहरूका दायरा १०६७ मा पुगेको जनाएको छ ।

लाहोरका वरिष्ठ वातावरण संरक्षण अधिकारी जहाँगीर अनवरले एएफपीसँग भन्नुभयो, “हामी कहिल्यै पनि एक हजारको दायरा भन्दा माथि पुगेका थिएनौँ।”निम्न स्तरको डिजेल धुवाँ, मौसमी कृषि जलनबाट निस्कने धुवाँ र जाडोको चिसोपनले गर्दा लाहोरलाई केही दिनदेखि धुवाँधुलो, कुहिरो र प्रदूषकको मिश्रणले ढाकेको छ।

प्रान्तीय वातावरण संरक्षण निकायले बुधबार शहरका चार ‘हट स्पट’मा नयाँ प्रतिबन्धको घोषणा गरेको छ ।मुख्य प्रदुषकको श्रोतका रूपमा लिइने ‘टू स्ट्रोक’ इन्जिनबाट चल्ने टुक–टुक, फिल्टर बिना बारबेक्यू सेवा चलाउने रेस्टुरेन्टहरू प्रतिबन्धित भएका छन्।

सरकारी कार्यालय र निजी कम्पनीका आधाभन्दा बढी कर्मचारी सोमबारदेखि घरबाटै काम गर्ने भएका छन् । निर्माण कार्य रोकिएको छ र सडक किनारामा खुला आकासमा पकाइने स्ट्रिट फुड किनबेचलाई राति ८ बजेपछि बन्द गर्नुपर्नेछ।

इरान र इरानका सहयोगीमाथि आक्रमणको बदला लिने खमेनीको प्रतिवद्धता

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले इजरायल र यसको सहयोगी अमेरिकाले तेहरान (इरानको राजधानी) र यसका समर्थक समूहलाई लक्ष्य गरी शनिबार गरेको आक्रमणको बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

खामेनीले तेहरानमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै अमेरिका र जियोनिस्ट शासन दुवैले इरान, इरानी समर्थकविरुद्ध गरेका क्रियाकलापको जवाफी प्रतिक्रिया पाउने बताएका हुन्।

तेहरान समर्थित सशस्त्र समूहमा यमनको हुथी विद्रोही, लेबनानको हेजबुल्लाह आन्दोलन र प्यालेस्टिनी इस्लामवादी समूह हमासलगायत समावेश छन्।

गत सेप्टेम्बर २३ मा इजरायलले द्वन्द्व बढाउनुअघि सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि हेजबुल्लाह र इजरायलले लगभग एक वर्षसम्म सीमापार हमला गरे।

खामेनीले आफ्नो भाषणमा लडाँइमा मारिएका सैनिकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै इजरायलको सामना गर्ने उनीहरूको प्रयास नबिर्सिने बताएका छन्।

अमेरिकाले शुक्रबार मध्य पूर्वमा अतिरिक्त सैन्य सम्पत्तिहरू तैनाथ गर्ने घोषणा गरेको छ। जसमा ब्यालिस्टिक मिसाइल रक्षा र लामो दूरीको बी-५२ लडाकु विमानहरू समावेश छन्।

खामेनीले इरानले “सैन्य, हतियार वा राजनीतिक कार्यको सन्दर्भमा इरानी राष्ट्रलाई तयार पार्न गर्नुपर्ने सबै क्रियाकलाप गरिरहेको बताएका छन्।

यसैगरी रिभोलुसनरी गार्डका प्रवक्ता अली मोहम्मद नैनीले पनि इरानले इजरायललाई “निर्णायक“ जवाफ दिने बताएको फार्स समाचार एजेन्सीले जनाएको छ।

देउसी भैलोबाट ३२ लाख सङ्कलन

म्याग्दी । म्याग्दीको मालिका-७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा रु. ३२ लाख ४४ हजार संकलन भएको छ । तीन दिनको अवधिमा सो रकम संकलन भएको हो ।

विद्यालय स्थापना गर्न किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासीले स्वस्फूर्तरुपमा उक्त रकम सहयोग गरेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले जानकारी दिए ।

उनका अनुसार अक्षयकोष स्थापना गर्न बिम गाउँका सात टोलका बासिन्दाले न्यूनतम रु. २९ हजारदेखि अधिकतम रु. १३ लाख १९ हजारसम्म दान गरेका छन् ।

यही कात्तिक १४ गतेदेखि १६ गतेसम्म गाउँमा सञ्चालन गरिएको देउसी भैलोमा मालिका-७ बिमको तल्लोगाउँ टोलबाट रु. १३ लाख सहयोग प्राप्त भएको छ ।

त्यसैगरी बिमबाङ टोलबाट रु. ११ लाख, डाँडागाउँ टोलबाट रु. पाँच लाख, ढुनोट टोलबाट रु. एक लाख ७७ हजार, नौमाने टोलबाट रु. ४३ हजार, अर्कला टोलबाट रु. ३० हजार र इल्पु टोलबाट रु. दुई हजार सहयोग जुटेको हो । आज देउसी भैलो कार्यक्रम समापन गरिएको छ ।

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरेनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने भेटिए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य गर्बुजाले बताए ।

स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो

स्पेन ।। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताएका छन् ।

भ्यालेन्सिया र वरपरका क्षेत्रमा गरी बाढीका कारण २११ जनाको मृत्यु भएको पुष्टि भएसँगै प्रधानमन्त्री साञ्चेजले थप सेना र प्रहरीलाई बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पठाउने घोषणा गरेका हुन् । दशकौँ यताकै सबै भन्दा घातक यस प्रकारको विपत्तिका कारण पानीमा डुबेका शहरहरू र भत्किएका पूर्वाधारहरूबाट जीवित व्यक्तिहरू भेट्टाउने आशा क्षीण भएको छ ।

सान्चेजले एक टेलिभिजन सम्बोधनमा यो विपत्ति युरोपमा यस शताब्दीको दोस्रो सबै भन्दा घातक बाढी भएको र राहत कार्यका लागि सुरक्षा बलमा ठूलो वृद्धि भएको घोषणा गरेका छन् । भ्यालेन्सिया क्षेत्रका नेताले थप पाँच हजार सैनिकका लागि गरेको अनुरोधलाई सरकारले स्वीकार गरेको र थप सैनिक र प्रहरी तैनाथ गर्ने जानकारी दिएको सान्चेजले बताएका छन् ।

उनले भने, “केही दिनदेखि खाद्यान्न, पानी र बिजुलीबाट वञ्चित भएका ध्वस्त शहर र गाउँहरूमा सुव्यवस्था पुनर्स्थापित गर्नु र सहायता वितरण गर्नु प्राथमिकताको विषय हो।” अधिकारीहरू बाढी आउनु भन्दा पहिले चेतावनी प्रणालीको पर्याप्तताको कारण आलोचनामा परेका छन् भने केही पीडित बासिन्दाहरूले विपत्तिको प्रतिक्रिया धेरै ढिलो भएको गुनासो गरेका छन् ।

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह

–वासुदेव पौडेल
गण्डकी । लामो समयको प्रतिक्षापछि अन्ततः हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ । लामो समयदेखि चासो र चर्चामा उक्त नाका गत बुधबारदेखि सञ्चालनमा ल्याइएको हो ।

कार्यालय उद्घाटनका लागि गृहमन्त्री रमेश लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सुरक्षा निकायका नेतृत्वसहित कोरला पुगेका थिए । सोही दिन मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नं १ छोसेरस्थित नेचुङमा नवनिर्मित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवन पनि उद्घाटन गरियो ।

सो अवसरमा मन्त्री लेखकले वर्तमान सरकार गठन भएको १०८ दिनमा कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गर्न सकिएको बताए । सरकारले सय दिन समयवधिमा नै कार्यालयको उद्घाटन गर्ने तयारी गरेको थियो । मन्त्री लेखकले यस नाकाबाट यस अघि दुुई देशका नागरिक मात्र प्रवेश पत्रका आधारमा आवतजावत गर्नुुपर्ने बाध्यता अन्त्य हुँदै यस नाकाबाट चीन र चीनबाट नेपाल आवतजावत गर्नका लागि भिसा सेवा प्रारम्भ भएको बताए ।

अध्यागमन कार्यालय सञ्चालन सरकारको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले आगामी दिनमा यसको सहज सञ्चालनका लागि पूर्वाधार विकासका साथै सेवा विस्तारमा जोड दिइने विश्वास दिलाए ।

कोरला नाका मुस्ताङका लागि मात्रै नभई गण्डकी प्रदेशकै ‘लाइफ लाइन’ भएको उल्लेख गर्दै मन्त्री लेखकले यस नाकालाई नेपालकै महत्वपूर्ण नाकाका रुपमा विकास गरिने बताए । नेपाल र चीनबीच व्यापार, पर्यटन, धार्मिक पर्यटन लगायतको गन्तव्यका रुपमा यसको विकास हुने उनले विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नाकाको सुव्यवस्थित सञ्चालनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । नाकालाई नै लक्षित गरी पोखरा हुँदै म्याग्दी भएर आउने सडक खण्डको स्तरोन्नति तथा विकासका कुरालाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ छ । नाका गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण बन्ने उनले विश्वास व्यक्त गरे ।

कोरला नाका सञ्चालनमा ल्याउनुपर्ने विषय उठीरहेका अवस्थामा गण्डकी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा अध्यागमन कार्यालय सञ्चालनका लागि ५० लाख रुपैयाँ बजेट बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कोरलामा छ कोठे ‘एसवाई प्यानल’ को भवन निर्माण गरिएको हो ।

नेपालतर्फ पूर्वाधार निर्माण कार्य अघि नबढे पनि चीनले भने आफ्नोतर्फ पूर्वाधार निर्माणका धेरै काम सम्पन्न गरिसकेको छ । चीनले कोरला नाकामा आफ्नोतर्फबाट धेरै अत्याधुनिक किसिमका संरचना निर्माण गरिसकेका अवस्थामा नेपालले गरेको अध्यागमन कार्यालयको उद्घाटन लगायतका कामलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।

कोरला नाकामा अध्यागमन कार्यालय देख्दा सामान्य भए पनि यहाँबाट सबै किसिमका सुविधा प्राप्त हुुने जनाइएको छ। मन्त्री लेखकले सामान्य भवनसहितको संरचना निर्माण भए पनि यहाँबाट अध्यागमन कार्यालयबाट पाउने सबै किसिमका सुविधा उपलब्ध हुने बताउँदै अनलाइन प्रणालीबाट सेवा प्रवाह हुने जानकारी गराए ।

गृहमन्त्री लेखकले लोमान्थाङ गाउँपालिका वडा नं १ छोसेर स्थित नेचुङमा नवनिर्मित २ तलाको ५५ कोठे वातावरणमैत्री प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) भवन पनि उद्घाटन गरेका थिए ।

सीमा सुरक्षाका साथै सीमाक्षेत्रमा हुने अवाञ्छित गतिविधि, सम्भावित अपराध तथा चोरी शिकारी र स्थानीय नागरिकको सुरक्षार्थ खट्नका लागि सहयोग पुुगोस् भन्ने उद्देश्यका साथ उक्त भवन निर्माण गरिएको हो । अध्यागमन कार्यालय सञ्चालनसँगै यहाँका स्थानीयवासी भने उत्साहित भएका छन् ।

अध्यागमन कार्यालय शुभारम्भ हुनुले जिल्लावासीमा उत्साह थपेको नेपाल पत्रकार महासङ्घ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली बताए । कार्यालय सञ्चालनसँगै यसको प्रभावकारी व्यवस्थापन हुने मुस्ताङवासीको विश्वास रहेको उनको भनाइ छ ।

मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म पास लिएर व्यापार गर्नका लागि नियमित रूपमा आवतजावत गर्दै आएका छन् । हाल पास लिएका व्यक्ति बिहान ९.०० बजे चीनतर्फ छिरेपछि दिउँसो ३.०० बजे मात्र फर्कनु पर्छ ।

नाका क्षेत्रको समग्र भौतिक पूर्वाधार विकासका लागि भन्सार, अध्यागमनलगायत सुख्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टको भौतिक पूर्वाधार निर्माण गर्न एक हजार रोपनी जग्गा सरकारका नाममा लालपुर्जा बनिसकेको छ ।

नाकामा पूर्वाधार निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का लागि एक करोड रुपैयाँ विनियोजन भई दुई वर्ष अघिनै काम अघि बढाइएको थियो ।

उक्त स्थानमा भौगर्भिक परीक्षण तथा माटो परीक्षणलगायत कार्य भैसकेको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताए । बीओपी र अध्यागमन कार्यालय उद्घाटनका अवसरमा गृहमन्त्री लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दामोहरकुण्ड पुगी त्यहाँको स्थलगत अवलोकन गरे ।

हिन्दुहरूको महत्त्वपूर्ण तीर्थस्थलका रुपमा रहेको दामोदर कुण्ड क्षेत्रको प्रवर्द्धन र विकासलाई लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले प्राथमिकतामा राखेको छ । गाउँपालिकाले दामेदर कुण्ड क्षेत्रमा धर्मशाला निर्माण गरिसकेको गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए ।

उक्त क्षेत्रमा टेलिफोन सुविधा गम्भीर समस्या रहेको बताउँदै उनले विद्युत् सेवा पनि नपुगेको बताए । मुस्ताङको याराघारा भन्ने स्थानबाट पदयात्रीहरू तीन दिनको पदयात्रामार्फत दामोदरकुण्ड पुग्न सक्ने बताउँदै उनले उक्त मार्गस्थित पाच्र्या खोलामा पुल राख्नु आवश्यक रहेको बताए ।

अध्यक्ष  नेपाल नेतृत्वको प्रतिनिधिमण्डल भेनेजुयला प्रस्थान

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल शनिबार भेनेजुयला प्रस्थान गरेका छन् । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए । उनलाई बिदाई गर्न पार्टी नेता तथा कार्यकर्ता त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए ।

अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ । 

हङकङ सिक्सेसः नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । नेपाल हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको छ ।

शनिबार दिउँसो भएको खेलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल ८३ रनमा अलआउट भयो । हारसँगै नेपालको यात्रा क्वार्टरफाइनलमा समाप्त भएको छ ।

नेपालका लागि राशिद खानले अर्धशतक बनाए पनि जितको लागि पर्याप्त हुन सकेन । उनले १८ बलमा १ चौका र ८ छक्का प्रहार गर्दै ५५ जोडे । अन्य खेलाडी श्रीलंकाका तीव्र गतिका बलरसामू टिक्न सकेनन् ।

नारायण जोशीले १३ रन बनाए । विवेक यादवले ५ र लोकेश बमले २ रन बनाए । कप्तान सन्दीप जोरा डकआउट भए । प्रतिश जिसी पनि डकआउट भए ।

श्रीलंकाका लागि लाहिरु समाराकून र थारिन्दु रथनायकेले २÷२ तथा धनन्जय लक्ष र लिहुरु मधुशंकाले १/१ विकेट लिए । पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरै ६ ओभर खेलेर २ विकेटको क्षतिमा १२३ रन बनायो ।

श्रीलंकाका लागि सन्दुन विराक्कोडीले ५० र कप्तान लिहुरु मधुशंकाले अविजित ३१ रन बनाए । नेपालका लागि प्रतिश जिसी र नारायण जोशीले १÷१ विकेट लिए । यसअघि नेपालले इंग्ल्याण्ड र अष्ट्रेलियालाई पराजित गरेको थियो ।

लेबनानबाट इजरायलमा भएको आक्रमणबाट १९ घाइते

जेरुसेलम । इजरायली सेनाले लेबनानबाट मध्य इजरायलतर्फ तीन प्रक्षेपण गरिएको बताएको छ । इजरायलको शारोन क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा १९ जना घाइते भएका प्रहरीले  जानकारी दिएको छ।

इजरायली प्रहरीले १९मध्ये चार जनाको ‘मध्यम अवस्था’ रहेको र सबैलाई उपचारका लागि अस्पताल लगिएको थप जानकारी दिएको छ ।

इजरायलको मागेन डेभिड अडोम (एमडिए) आपत्कालीन चिकित्सा सेवाले यसअघि केन्द्रीय शहर तिरामा भएको आक्रमणमा ‘छर्राले घाइते भएका २० वर्षीय एक पुरुष’ सहित केही व्यत्ति घाइते भएको जनाएको थियो।

इजरायली विदेश मन्त्रालयले सामाजिक सञ्जालमा पोस्ट गरेका भिडियोहरूमा एउटा भवनबाट सडकमा आगो र धुवाँ फैलिएको र आपत्कालीन टोलीहरू घटनास्थलमा जम्मा भएको देखाइएको छ।

“यो इजरायलको अरब शहर तिरामा हिजबुल्लाहको रकेट प्रत्यक्ष आक्रमणको परिणाम हो, आक्रमणमा १९ नागरिक घाइते भएका छन्”, मन्त्रालयले पोस्टमा भनेको छ, “हिजबुल्लाह समाप्त नभएसम्म हामी विश्राम गर्न सक्दैनौँ र गर्ने छैनौँ ।”

इजरायली सेनाले टेलिग्राममा लेबनानबाट दागिएका तीन प्रक्षेपणमध्ये केही रोकेको जनाएको छ।

मुख्यतया तल अभिवबाट २५ किलोमिटर उत्तरपूर्वमा रहेको अरब बाहुल्य शहर तिरा कब्जा गरिएको पश्चिम किनारको सीमा नजिक अवस्थित छ।

गाजा पट्टीमा भइरहेको युद्ध लेबनानसम्म फैलिएको छ । यहाँ इजरायलले प्यालेस्टिनी समूह हमासको सहयोगी हिजबुल्लाहविरुद्ध हवाई आक्रमण गरिरहेको छ।

इजरायली तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७मा हमासले इजरायलमा गरेको घातक आक्रमणपछि हिजबुल्लाहसँगको सीमापार गोलीबारी आदानप्रदान सुरु भएयता इजरायली पक्षमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।

बिहीबार लेबनानबाट गरिएको रकेट आक्रमणमा उत्तरी इजरायलको मेतुलामा चार थाई किसानसहित सात जनाको मृत्यु भएको थियो ।

एएफपीले सङ्कलन गरेको इजरायली आधिकारिक तथ्याङ्कअनुसार हमासको अक्टोबरको आक्रमणमा धेरैजसो नागरिक गरी एक हजार दुई सय छ जनाको मृत्यु भएको थियो।

इजरायलको जवाफी कारबाहीमा गाजामा ४३ हजार दुई सय ५९ प्यालेस्टिनीको मृत्यु भएको छ, । तीमध्ये धेरैजसो नागरिक छन् । यो तथ्याङ्क हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयको हो र यसलाई संयुक्त राष्ट्रसङ्घले विश्वसनीय मानेको छ।

भारी वर्षाका कारण जापानमा २ लाख मानिस प्रभावित

टोकियो । उष्णकटिबन्धीय आँधीको अवशेष देशभर फैलिएको बेला पहिरो र बाढीको चेतावनी दिँदै अधिकारीहरूले पश्चिमी जापानका करिब दुई लाख मानिसलाई शनिबार स्थानान्तरण गर्न आग्रह गरेका छन्।

जापान मौसम विज्ञान एजेन्सीले न्यानो, आर्द्र हावा… ले पश्चिमी जापानमा गर्जनसहितको भारी वर्षा गराइरहेको छ बताएकोछ । एजेन्सीले यसको आंशिक कारण कोङ–रे हो भनेको छ । यो आँधीबाट उष्णकटिबन्धीय न्यून चापीय प्रणालीमा स्तरवृद्धि भएको थियो।


मात्सुयामा शहरका एक अधिकारीका अनुसार ‘शहरले उच्चतम स्तरको चेतावनी जारी गर्दै यसका १० जिल्लाका एक लाख ८९ हजार पाँच सय ५२ बासिन्दालाई स्थानान्तरण गर्न र तत्काल सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।’


स्थानान्तरण अनिवार्य नभए पनि जापानको उच्चतम स्तरको चेतावनी सामान्यतया कुनै प्रकारको विपत्ति पहिले नै घटिसकेको अत्यन्त सम्भावना हुँदा जारी गरिन्छ।


मौसमविद्हरूले शनिबार पश्चिमी जापान र आइतबार पूर्वी जापानमा पहिरो र बाढीले प्रभाव पार्न सक्ने चेतावनी दिएका छन् ।


वर्षाका कारण टोक्यो र दक्षिणी फुकुओका क्षेत्रबीचको शिनकानसेन बुलेट रेल बिहान छोटो समयका लागि रोकिएको थियो र पछि ढिला तालिकामा पुनः सञ्चालन भएको थियो ।


कोङ–रे बिहीबार ताइवानमा ठोक्किएको थियो । यो दशकौँयताकै ताइवानमा आएको सबैभन्दा ठूलो आँधीमध्ये एक थियो। यसले कम्तीमा दुई जनाको ज्यान लियो र दशौँ हजार घरधुरीमा बिजुली आपूर्ति अवरुद्ध पार्यो।


वैज्ञानिकहरूका अनुसार मानव–प्रेरित जलवायु परिवर्तनले भारी वर्षाले पार्ने जोखिमलाई बढाइरहेको छ ।

बाढीपहिरो पीडितलाई ‘फूल र बत्तीको झिलिमिली’ लागेन

काभ्रे । तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमङ्गको पर्वका रूपमा लिने गरिन्छ । समाजमा सबैसँगको सद्भाव र मनोरञ्जनको पर्वका रूपमा लिने गरेको तिहारलाई सबैले उत्सव र मनोरञ्जनका रूपमा मनाइरहेका छन् ।

काभ्रेपलाञ्चोकका अधिकांश परिवारले भने यस वर्षको तिहारलाई हर्षका रूपमा मनाउन पाएका छैनन् । गत असोजको १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोले घरबार सबै बगाएपछि यहाँका अधिकांशको घरआँगनमा फूल र बत्तीको झिलिमिली नभई मनभरि पीडा मात्र छाएको छ ।

मनभरि पीडा बोकेर तिहार मनाउन नसकिएको पनौती नगरपालिका–१२ माथिल्लो राशी बजारका भवानी केसीले बताइन्। यसअघि घर नजिकै रहेको खोल्सामा कलकल बगिरहेको खोल्साको पानी अनि वरिपरि हरियाली वातावरणमा सुन्दर रहेको बस्तीमा एक्कासी गएको बाढीपहिरोले घरखेत सबै बगाएपछि बगर बीचमा ढलिरहेको घर देख्दा पीडाले मनमा सताइरहने उनले बताइन् ।

घरआँगनमा तिहारको लागि रोपेको सयपत्री फूलको बगैँचासहित घर अहिले बाढीले खण्डहर बनाएको बगरमा परिणत भएको छ । “यहाँ बस्ने ठाउँ छैन, खेती गरेको धान बगाएर थोरै बाँकी थियो, त्यही जोगाउन भनेर आएकी हुँ”, भवानीले भनिन्, “अहिले बनेपामा कोठा लिएर बस्दै आएका छौँ ।”

राजेन्द्र श्रेष्ठले भित्र्याइसकेको धान र मकै सबै बगाएपछि कोठा लिएर बस्नु परेको बताए । “बस्ने बाँस, खाने गाँस र पिउने पानी छैन”, उनले भने, “दसैँ पनि अर्काको घरमा बितायौँ, तिहार पनि त्यसै हुने भयो ।” वडा कार्यालयले पीडितको विवरण सङ्कलन गरेर लगेको भन्दै उनले यथाशीघ्र बासस्थानको व्यवस्थापन हुने विश्वास व्यक्त गरे ।

घरगोठ दुवै बगाएपछि पनौतीमा डेरा गरी बस्दै आएकी पनौती–१२ पचारेका सुमिना श्रेष्ठले वडा र नगरबाट केही राहत पाइएको बताउँदै उक्त राहत चाडपर्व मनाउन पर्याप्त नभएको उल्लेख गरिन्। बाढीले भएको जग्गाजमिन सबै बगाएको भन्दै राज्यले जग्गाको नाप, नक्सा छुट्याएर दिएमा आफ्नै टहरा बनाएर बस्ने उनले बताइन् ।

शिरखोलका अमरबहादुर केसीको बाढीले बगाएर घर र शौचालयको भाग थोरै मात्रै बाँकी रहेको देखाउँदै पाक्दै गरेको धान भित्र्याउन नपाउँदै करिब नौ मुरी धान फल्ने खेतसहित बगाएको बताए ।

रोशी बजारका शङ्कर तामाङ भने खर्च जुटाएर बाढीले बगाएको घर निर्माण गर्न खोलाबाट ढुङ्गा ओसार्ने काममा व्यस्त छन् । ढुङ्गा माटोले बनेको आफ्नो दुई तले घर खोलाले बगाएर बगर बनाएपछि अहिले उनी घर निर्माणमा व्यस्त भएका छन् । घर नै नभएपछि चाडपर्व खुसीले मनाउने अवस्था नरहेको उनले बताए ।

“घर बनाउन पैसा छैन, छ जनाको परिवारको जीविकोपार्जन गर्नु छ । दूध बेचेर आम्दानी गर्ने भैँसी बाढीले बगायो । अहिले ज्यालामजदूरी गरी अरूको घरमा बस्न बाध्य छौँ”, तामाङले भने।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले सुरक्षित रूपमा बसोबासको व्यवस्थापन गर्न आवश्यक रहेकाले त्यसका लागि सङ्घीय सरकारले सहयोग नगरी सम्भव नभएका आवश्यक सहयोगका लागि पहल गरिरहेको बताए ।

जिल्लाको विकट डाँडापारिस्थित बागमती खोलाको बाढीले सबै बगाएपछि खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्तीका बासिन्दा बगाएको बस्तीमाथि त्रिपालको आश्रय लिएर बस्दै आएका छन् ।

अस्थायी बासस्थान निर्माणका लागि क्षतिको विवरण आवश्यक पर्ने भएकाले प्रहरी विवरण सङ्कलन गरिरहेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए। क्षतिको सम्पूर्ण विवरण सङ्कलन भएपछि राहत र पुनः स्थापना प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

रोशी गाउँपालिकाको नार्के र कालढुङ्गामा पनि रोशी खोलामा गएको बाढीले बस्ती बगाएपछि यहाँका नागरिकलाई पनि चाडपर्वको रौनकले छाएको छैन, कसैलाई पनि ‘फूल र बत्तिको झिलिमिली’ लागेको छैन । जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोले घर बगाएर बिचल्लीमा परेका परिवारले सुरक्षित बासस्थानको अभावमा खुसीले चाडपर्व मनाउन पाएका छैनन् ।

१९ भारतीयसहित चार सय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

बीबीसी । युक्रेनविरुद्ध जारी युद्धमा रुसलाई सघाउ पुर्याएको आरोपमा अमेरिकाले १९ वटा भारतीय कम्पनीसहित विभिन्न देशका करिब ४०० कम्पनी एवं व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले एउटा वक्तव्य जारी गर्दै उसका विदेश मन्त्रालय, अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयले ती व्यक्ति तथा कम्पनीहरूमाथि अक्टोबर ३० देखि प्रतिबन्ध लगाइएको जनाएको हो । अमेरिकी भूमिमा एकजना शिख नेता गुरपतवन्त सिंह पन्नूको हत्या षड्यन्त्रमा एक भारतीय नागरिकको भूमिकालाई लिएर वाशिङ्गटन र दिल्लीबीच तनाव सिर्जना भएकै बेला पछिल्लो प्रतिबन्धको खबर आएको छ ।

प्रतिबन्धमा पर्नेमा भारतका साथै चीन, मलेशिया, थाईल्यान्ड, टर्की र संयुक्त अरब एमिरेट्सलगायत देशका छन् । अमेरिकाका अनुसार प्रतिबन्ध लगाइएका कम्पनीहरूले युक्रेनविरुद्धको लडाइँमा रुसले प्रयोग गर्ने विभिन्न सामग्री उपलब्ध गराउँदै आएका छन् । त्यसमा माइक्रो इलेक्ट्रोनिक्स र कम्प्युटर न्यूमेरीकल कन्ट्रोल लगायतका सामान छन् ।

ती सामानको पहिचान अमेरिकी वाणिज्य मन्त्रालयको उद्योग तथा सुरक्षा ब्यूरोका साथै बेलायत, जापान र युरोपेली सङ्घले गरेको बताइएको छ । अमेरिकाले भारतीय कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको चाहिँ यो पहिलो पटक होइन । यसअघि रुसी सेनालाई सघाएको आरोपमा सन् २०२३ को नोभेम्बरमा अमेरिकाले एउटा भारतीय कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धमा पर्नेमा भारतका एसेन्ड एभिएशन इन्डिया प्रालि, मास्क ट्रान्स, टीएसएमडी ग्लोबल प्रालि र फुट्रवो कम्पनी लगायतका समावेश छन् । एसेन्ड एभिएशन इन्डिया प्रालिले सन् २०२३ को मार्चदेखि सन् २०२४ को मार्चसम्म रुसी कम्पनीहरूलाई ७०० खेप सामान पठाएको अमेरिकाले जनाएको छ ।

अमेरिकाका अनुसार मास्क ट्रान्स कम्पनीले सन् २०२३ को एप्रिलदेखि सन् २०२४ को अप्रिलसम्म करिब साढे दुई करोड भारु बराबरका उड्डयनसम्बन्धी सामान पठाएको पाइएको छ ।

अमेरिकी प्रतिबन्धमा पर्ने भारतीय नागरिकहरूमा विवेककुमार मिश्रा र सुधीर कुमार छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार विवेककुमार मिश्रा र सुधीर कुमार एसेन्ड एभिएशनका सहनिर्देशक एवं आंशिक शेयरधनी हुन् ।

एसेन्ड एभिएशनको वेबसाइटमा उल्लेख गरिएअनुसार उक्त कम्पनी दिल्लीमा रहेको छ र अन्तर्राष्ट्रिय स्तरमा त्यसले हवाई उद्योगका स्पेअर पार्ट्सका साथै लुब्रिकेन्ट आपूर्ति गर्ने गर्छ ।

ओली सरकारले एकसय दिनमा राम्रो काम गरेको देउवाको दाबी

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले एकसय दिनमा राम्रो काम गरेको बताएका छन् ।

शनिबार भक्तपुरमा शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

सरकारको आलोचना हुनु स्वाभाविक रहेको भन्दै उनले आलोचनालाई पनि गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने बताए ।

उनले भने, ‘सय दिन बल्ल पुगेको छ ओलीजीको प्रधानमन्त्री कार्यकालको । यहाँ मात्र होइन जहाँ पनि सय दिनको कामको सम्बन्धमा आलोचना सबै हुन्छ । हामी सरकार भएको कारण मैले उहाँलाई भनेको होइन साच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ । अझै यस्तै राम्रो काम गर्नुहुने छ ।’

सभापति देउवाले यो देश ठूला दुई देशको बीचमा रहेकाले प्रधानमन्त्री ओली सबै कुरा ध्यानमा राखेर हरेक क्रियाकलापहरू गर्न सक्षम हुने बताए ।

भारतलाई आर्थिक वर्ष २०३० सम्म ६.५ प्रतिशत जिभिए वृद्धि कायम राख्न वार्षिक एक करोड नयाँ रोजगारी आवश्यक

नयाँदिल्ली । भारतलाई आर्थिक वर्ष २०२५ देखि वित्तीय वर्ष २०३० सम्म वार्षिक औसत ६.५ प्रतिशत जिभिए (कूल मूल्य वृद्धि) वृद्धि कायम राख्न वार्षिक करिब एक करोड नयाँ रोजगारी आवश्यक पर्ने गोल्डम्यान स्याक्सको प्रतिवेदनले जनाएको छ ।

किफायती आवास विकासलाई प्रोत्साहन दिनाले रियल इस्टेट क्षेत्रलाई उत्प्रेरित गर्न सक्दा यसले निर्माण क्षेत्रमा ८० प्रतिशतभन्दा बढी श्रमशक्तिलाई रोजगारी दिन्छ । यसले विभिन्न सीप स्तरमा रोजगारी सृजनामा महत्त्वपूर्ण वृद्धि गर्नेछ ।


टियर–२ र टियर–३ शहरहरूमा आइटी हब र साना शहरहरूमा ग्लोबल क्यापाबिलिटी सेन्टर (जिसिसी) स्थापना गर्नाले टियर–१ शहरी केन्द्रहरूमा दबाब कम गर्नेछ र कम सेवा पुगेका क्षेत्रहरूमा रोजगारीका अवसरहरू बढाउनेछ ।

टेक्सटाइल, खाद्य प्रशोधन र फर्निचर जस्ता श्रम–प्रधान उत्पादन क्षेत्रहरूतर्फ वित्तीय प्रोत्साहन सार्नाले न्यूनदेखि मध्यम सीप भएका कामदारहरूका लागि रोजगारी सृजनामा सहयोग पुग्न सक्छ ।

सरकारको उत्पादन–सम्बद्ध प्रोत्साहन (पिएलआई) योजनाहरूले मुख्यतया पूँजी–प्रधान उद्योगहरूलाई फाइदा पुर्‍याएको भए पनि टेक्सटाइल, जुत्ता, खेलौना र छालाका सामानहरू सहित श्रम–प्रधान क्षेत्रहरूतर्फ उत्साहजनक स्थानान्तरण भएको गोल्डम्यान स्याक्सले बताएको छ ।

उत्पादन क्षेत्रका करिब ६७ प्रतिशत रोजगारीहरू श्रम–प्रधान क्षेत्रहरूमा रहेकाले यो दृष्टिकोणले भारतको उत्पादन क्षेत्रलाई व्यापक रोजगारीका लक्ष्यहरूलाई जोड्ने लक्ष्य राख्छ ।

विगत दुई दशकमा भारतले लगभग १९ करोड ६० लाख रोजगारी थपेको छ । त्यसमध्ये दुई–तिहाइ पछिल्लो दशकमा सृजना भएका थिए । कृषिबाट निर्माण र सेवा क्षेत्रमा कामदारहरू स्थानान्तरण भएसँगै महत्त्वपूर्ण परिवर्तनहरू भएका छन् ।

निर्माण क्षेत्र भारतमा रोजगारीको प्रमुख चालक रहेको छ । यसले कूल रोजगारीको लगभग १३ प्रतिशत ओगटेको छ । रियल इस्टेट र पूर्वाधारमा लगानीले रोजगारी सृजना गर्नुका साथै न्यूनदेखि मध्यम आय भएका घरपरिवारको आयस्तरमा सकारात्मक प्रभाव पारेको छ ।

त्यस्तै कूल रोजगारीको करिब ३४ प्रतिशत योगदान दिने सेवा क्षेत्र उल्लेख्य रूपमा विस्तार भएको छ । खुद्रा विक्रेताहरूका लागि अनलाइन प्लेटफर्ममा स्थानान्तरण भएसँगै इन्भेन्टरी व्यवस्थापन, प्याकेजिङ र डेलिभरी सेवा जस्ता क्षेत्रमा नयाँ भूमिकाहरू सृजना भएकाले विशेषगरी खुद्रा व्यापार क्षेत्रले डिजिटल रूपान्तरणबाट फाइदा लिएको छ ।

भारतको श्रमशक्ति सहभागिता दर (एलएफपिआर) आर्थिक वर्ष २०१८ को ५० प्रतिशतबाट आर्थिक वर्ष २०२४ मा ६० प्रतिशत पुगेको छ । यो मुख्यतया ग्रामीण क्षेत्रमा महिला सहभागिताले गर्दा भएको हो ।

यो वृद्धिमा योगदान पुर्‍याउने कारकहरूमा सुधारिएको मापन अभ्यासहरू, महिलाहरूलाई लक्षित गरेर ऋण योजनाहरूमार्फत बढेको वित्तीय समावेशीकरण र साना तथा लघु उद्यमहरूमा विस्तारित अवसरहरू समावेश छन् ।

ट्रम्प र ह्यारिस स्विङ स्टेट मतका लागि लड्दै गर्दा वयानबाजीमा भिड्दै

अमेरिका । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र निर्वाचन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले शुक्रबार महत्त्वपूर्ण राज्यहरूमा एक–अर्कामाथि आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

उनीहरू अस्थिर राष्ट्रपतीय दौडको अन्तिम दिनहरूमा एक नाटकीय स्प्लिट–स्क्रिन छविका रूपमा रहेको विस्कन्सिनको सबैभन्दा ठूलो शहरमा प्रतिस्पर्धी र्यालीहरूका लागि भेला भए ।

निर्वाचन हुने दिन नोभेम्बर ५ अघि राजनीतिक ताप उच्च विन्दुमा पुग्दै गर्दा ट्रम्पले ह्यारिसका एक उच्च–प्रोफाइल रिपब्लिकन समर्थकलाई लक्षित गरेको हिंसात्मक वाक प्रहारको आलोचनाको सामना गरे । यसका लागि ह्यारिसले उनको आक्रामक आक्रमणको आलोचना गरे ।

मङ्गलबारको मतदानअघि सात करोडभन्दा बढी अमेरिकीले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० को कूल मतको ४५ प्रतिशत हो । जनमत सर्वेक्षणले ट्रम्प र ह्यारिस बराबरीमा दौडिरहेको देखाउँछ । सात स्विङ स्टेटमा कसले जित्छ त्यसमा विजय निर्भर गर्छ ।

दुवैले पूरा दिन अभियान कार्यक्रमहरू गरे । ह्यारिसले विस्कन्सिनमा र्यालीहरू र युनियन हलको भ्रमण गरिन् भने ट्रम्पले छिमेकी महत्त्वपूर्ण राज्य मिशिगनमा मत माग्न प्रचार गरे ।

“हामीले विगत चार वर्षदेखि लड्दै आएका सबै कुरा अब आउने चार दिनमा निर्भर गर्छ”, ट्रम्पले मिशिगनस्थित वारेनमा समर्थकहरूलाई भने ।

शुक्रबार पछि प्रतिद्वन्द्वीहरूले मिल्भौकीमा केही माइल टाढा र्याली गरे । यहाँ ट्रम्पले गर्जिँदै भने, “म तपाईंहरूको पैसा चाहन्न, म तपाईंहरूको मत चाहन्छु ।”

पूर्वराष्ट्रपति ट्रम्पले उही स्थानलाई सम्बोधन गरिरहनुभएको थियो जहाँ उनले गर्मीयाममा रिपब्लिकन पार्टीको मनोनयन जितेका थिए र पेन्सिल्भेनियामा हत्या प्रयासबाट बचेको केही दिनपछि विजयी स्वीकृति भाषण दिएका थिए ।

राष्ट्रपति जो बाइडेनले आफ्नो घट्दो मानसिक क्षमताको चिन्ताका बीच प्रतिस्पर्धा छोडेपछि जुलाईमा मात्र चुनावी दौडमा प्रवेश गरेकी ह्यारिस उच्च–ऊर्जा कार्यक्रमहरूको शृङ्ंखलामा पछिल्लो पटक स्टार र्यापर कार्डी बीसँग मञ्चमा सामेल भइन् ।

अमेरिकाकी सम्भावित पहिलो महिला राष्ट्रपतिका बारेमा बोल्दै कार्डी बीले भीडलाई सोधे, “के हामी इतिहास बनाउन तयार छौँ ?”

यसअघि ह्यारिसले आफ्ना एक प्रमुख रिपब्लिकन आलोचकको बारेमा छलफल गर्दा ‘हिंसात्मक वाक प्रहार’ प्रयोग गरेकामा ट्रम्पको भत्सर्ना गरे ।

ट्रम्पले ‘पूर्वप्रतिनिधि लिज चेनीमाथि राइफल तान्नुपर्ने सुझाव दिनुभएको छ”, ह्यारिसले विस्कन्सिनस्थित मयाडिसनमा पत्रकारहरूलाई भने, “यो अयोग्य हुनैपर्छ । जो कोही… जसले त्यस्तो हिंसात्मक वाक प्रहार प्रयोग गर्छ, स्पष्ट रूपमा राष्ट्रपति बन्न अयोग्य र अनुपयुक्त छ ।”

राष्ट्रपति पौडेलबाट गाई पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले आज गाई पूजा गरेका छन् । कात्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने परम्परा रहेको छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिए । 


श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ । तिहार अर्थात् यमपञ्चकअन्तर्गत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।

सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्छ : प्रधानमन्त्री ओली

पाटन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन्। नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा नेपाल भाषा मंका खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा शनिबार पाटन मङ्गलबजारमा आयोजित’न्हूदँ नेपाल संवत् ११४५’ को सांस्कृतिक कार्यक्रममा उनले नेपाल संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘नेपाल मण्डलको संस्कृति संसारको मौलिक संस्कृति हो, ऋणमोचन गरिदिएको अवसरमा चलेको यो संवत् हाम्रो आफ्नो मौलिक संवत् हो, नेवार सभ्यता र संस्कृति महत्वपूर्ण छ, हाम्रा सबै भाषा संस्कृतिलाई हामीले बचाउनुपर्छ।’

आफू २०२७ सालमा काठमाडौँ आएपछि यहाँकै स्थानीय बासिन्दा भएको छु भन्दै उनले यहाँको भाषा, संस्कृति प्रति प्रेम रहेको बताए।

‘मैले नेवारी परिवारमा विवाह गरेँ, तर मलाई नेवारी बोल्न आएन, तर मलाई नेपाल भाषा बोल्न नआएपछि यसभाषा प्रति मेरो प्रेम छ, नेपालका सबै भाषा, संस्कृति बचाउनुपर्छ’, उनले भने।

माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्ययक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्दै यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। उनले हाम्रो परम्परालाई ऐतिहासिक रुपमा कायम गर्नुपर्नेमा जोड दिए।

सांसद प्रेमबहादुर महर्जनले नेपाल भाषालाई विद्यालय तहमा पठनपाठनमा नेपाल भाषालाई देशैभर ऐच्छिक भाषाका रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै यसका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्।

बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री प्रेमभक्त महर्जन नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रभावकारी बनाउन तिनै तहका सरकारले समन्वयमा काम गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा तण्डुकार समाजका अध्यक्ष शिवराम तण्डुकार राष्ट्रिय विभूति शङ्खधर शाखाले नेपाल मण्डलका विपन्न जनताको ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको उल्लेख गरे।

विसं २०५६ मङ्सिर २ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति मान्यता दिएको थियो। त्यस्तै, पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिँदै सरकारी कामकाजमा प्रयोगमा ल्याउने निर्णय गरी कार्यान्वयनमा ल्याएको हो। नेपाल संवत्का अवसरमा आज देशैभर विभिन्न कार्यक्रम गरी उत्सव र हर्षोल्लास मनाइँदैछ।

बरहथवा बजारको किराना पसलमा आगलागी

सर्लाही । सर्लाहीको बरहथवा बजारको एक किराना पसलमा आगलागी भएको छ । बरहथवा नगरपालिका–७ स्थित किसुन दासको घरमा नरेश साहद्वारा सञ्चालित किराना पसलमा गए राति आगलागी भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

उनले आगलागीबाट विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा समेत क्षति पुगेको बताए ।

आगलागीबाट के कति क्षति भयो भन्ने आँकल भइरहेको बताइएको छ । किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको प्रनाउ थापाले जानकारी दिए ।

गएराति सुरु भएको आगलागी आज बिहान मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी, स्थानीय र हरिवन नगरपालिकाको बारुणयन्त्रका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन ।

यसैबीच धनकौल गाउँपालिका–४ मा लक्ष्मीपूजा गरिएको मैनबत्तीबाट आगलागी हुँदा स्थानीय जितु रायको काठले बनेको जलेर क्षति पुगेको छ । आगलागीबाट कोठाभित्र रहेको दराज, टिभी, कपडा, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।