`

अमेरिकी आक्रमणबाट इरानका आणविक केन्द्र ध्वस्त भएका सिआईएका निर्देशकको दाबी

Nepal One HD १२ असार २०८२ ८:५४
विश्व

बीबीसी । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआईए) का निर्देशक जोन र्याटक्लिफले अमेरिकी आक्रमणबाट इरानका आणविक स्थलहरु ध्वस्त भएको दाबी गरेका छन् ।

उनका अनुसार अमेरिकी हवाई आक्रमणले ती केन्द्रहरूलाई वर्षौं पछाडि धकेलेको छ । उनको यो अभिव्यक्ति अमेरिकी रक्षा गुप्तचर निकायको प्रारम्भिक मूल्याङ्कनसँग फरक देखिएको छ ।

लिक भएको मूल्याङ्कनले अमेरिकी आक्रमणपछि पनि इरानको आणविक कार्यक्रमका मूल संरचनाहरू सुरक्षित रहेको उल्लेख गरेको थियो । मूल्याङ्कन सार्वजनिक भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प त्यसप्रति आक्रोशित भएका थिए ।

राष्ट्रपति ट्रम्पले बुधबार सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई ‘झुटा समाचार’ भन्दै ती विवरणहरूलाई पूर्ण रूपमा तोडमोड गरिएको आरोप लगाएका थिए । सिआईए प्रमुख र्याटक्लिफले भने, ‘एक ऐतिहासिक रूपमा विश्वसनीय स्रोतबाट प्राप्त गुप्त सूचनाका आधारमा इरानका केही मुख्य आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त भएका छन्, र ती केन्द्रहरूलाई पुनर्निर्माण गर्न वर्षौं लाग्नेछ ।’

ट्रम्पले हेगमा भएको नेटो शिखर सम्मेलनमा बोल्दै आक्रमणलाई ‘अत्यन्तै कठोर र पूर्ण विनाश’ भएको बताएका छन् ।

उनले अर्को हप्ताको वार्तामा इरानलाई आणविक कार्यक्रम परित्याग गर्न बाध्य पार्ने आफ्नो योजना रहेको पनि उल्लेख गरेका छन् । तर इरानले कुनै वार्ता स्वीकार गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *