तीन महिनापनि टिकेन कालोपत्रे


भोजपुर– कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि भोजपुरबासी आक्रोशित भएका छन् । सडक भत्किएर आवतजावतमा समस्या भएपछि उनीहरुले आक्रोस पोखेका हुन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो । छोटो समयमा सडक भत्किएपछि निर्माणको काम गुणस्तरहिन भएको स्थानीयबासीको आरोप छ । उनीहरुले गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कारबाहीको मागसमेत गरेका छन् ।
कालोपत्र भएको सडक भत्किएर आवतजावतमा समस्या भएपछि प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङसहित सरोकारवाला पक्षले स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा सडक मापदण्डअनुसार निर्माण भएको नपाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । छोटो समयमा सडक भत्किएर, खाल्डाखुल्डी परेकाले निर्माणका क्रममा लापरबाही देखिएको उनको भनाइ छ । “स्थानीयको गुनासो बढेपछि हामीले स्थलगत अनुगमन गरेका छौँ”, प्रजिअ घिमिरेले भने, “सडक कालोपत्रे भएको छोटो समयमा नै भत्किएको अवस्था छ, सडक तोकिएको मापदण्डअनुसार बनेको छैन, सडकको अवस्थाका बारेमा मैले सडक हेर्ने कार्यालयलाई जानकारी गराएको छु ।”
सडकलाई गुणस्तरिय तवरबाट निर्माण गर्न पटक÷पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ । सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको भोजपुर नगरपालिका–५ बोखिमका वडासदस्य निरकुमार फुँयालले बताए ।
सडक ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ झापाअन्तर्गत नेपाल सरकारको भ्याटसहित करिब साढे १० करोड रुपैयाँ लागतमा निर्माण भएको कार्यान्वयन एकाइका कामु आयोजना व्यवस्थापक विरबहादुर रावलले जानकारी दिए ।
यो सडक विग्रिएको खण्डमा एक वर्षसम्म ठेकेदारले मर्मत गर्नुपर्ने उनको भनाइ छ ।