लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण अभियान रोकिदैँन :प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण अभियान नरोकिने स्पष्ट पार्नुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट लोकतन्त्रको सर्वोच्चता स्थापित भएको भन्दै शुद्धीकरण अब नरोकिने स्पष्ट पार्नुभयो । उहाले ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको जानकारी दिनुभयो ।
उहाले वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको लडाईमा संसद र जनताको अझ धेरै समर्थन चाहिएको बताउनुभयो । उहाले पछिल्लो समय अहिले सबैजसो आर्थिक सूचकहरू सकारात्मक रहेको दावी गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले मलको हाहाकार हरेक वर्ष हुने गरेकोमा यस बर्ष साढे अठहत्तर हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चित भएको र मलको हाहाकार नहुने बताउनुभयो । आगामी आर्थिक वर्षका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न रु. ३० अर्ब रकम विनियोजन गरिएको उहाले जानकारी दिनुभयो । आफु सरकारमा आएपछि भौतिक पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको उल्लेख गर्नुभयो ।
उहाले दीगो विकासका लक्ष्यका सूचकहरूको पुनरावलोकन गरिएको र विकासम्बन्धी बेग्लै कानुन निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र अब भावनात्मक आधारले मात्रै सुदृढ नहुने भन्दै त्यसलाई तथ्यात्मक आधार चाहिलने बताउनुभयो । बीस वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोज्न लागेकाले सुशासनको प्रत्याभूति गर्दै लोकतन्त्रको शुद्धीकरणका लागि सिँगो संसद एक ठाउँमा उभिने विश्वास व्यक्त गर्नुभयो ।
उहाले वर्तमान सरकारले सामाजिक न्याय¸ सुशासन र समृद्धिलाई सर्वोपरि लक्ष्यका रूपमा लिएको र संस्थागत तथा प्रक्रियागत सुधारका कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । समावेशी सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, भ्रष्टाचार नियन्त्रण र राज्यको सबै तहमा सुशासनको प्रवर्द्धनमा सरकार निरन्तर सक्रिय रहने उहाको भनाइ छ ।