`

आङ्देम्बेले भने- तिजलाई महिला सम्मान र समान अधिकारको पर्व मनाऔँ

Nepal One HD २९ भदौ २०८३ ७:५३
नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हरितालिका तिजलाई परम्परा र उत्सवमा मात्र सीमित नराखी महिला सम्मान, समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्यायको सन्देश दिने अवसरका रूपमा ग्रहण गर्नुपर्ने बताएका छन्।

हरितालिका तिजको अवसरमा साेमबार शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले नेपाली समाजमा महिलाको भूमिका घरपरिवारमा मात्र सीमित नरहेको उल्लेख गरेका छन्। राष्ट्र निर्माण, राजनीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि तथा सामाजिक रूपान्तरणका हरेक क्षेत्रमा नेपाली महिलाको योगदान महत्वपूर्ण रहेको उनले बताएका छन्।

‘त्यसैले तिजलाई परम्परा र उत्सवका रूपमा मात्र नभई महिला सम्मान, समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्यायको सन्देश दिने अवसरका रूपमा पनि ग्रहण गर्न आवश्यक छ,’ उनले भने ।
आङ्देम्बेले महिलामाथि हुने हिंसा, विभेद, असमानता र अन्यायको अन्त्य गर्दै समान अवसर र सम्मानजनक जीवनको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन्। उनले यसका लागि राज्य र समाज दुवैको साझा दायित्व रहेको बताएका छन्।

उनले हरितालिका तिज नेपालीको मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै यसले आपसी प्रेम, पारिवारिक एकता, सद्भाव र आत्मीयताको सन्देश प्रवाह गर्दै आएको बताएका छन्।

‘महिलामाथि हुने हिंसा, विभेद, असमानता र अन्यायको अन्त्य गर्दै समान अवसर र सम्मानजनक जीवनको सुनिश्चितता गर्नु राज्य र समाज दुवैको साझा दायित्व हो,’ आङ्देम्बेले भनेका छन्।

उनले तिजको अवसरले नेपाली समाजमा आपसी सद्भाव अझ मजबुत बनाउँदै समाजलाई न्यायपूर्ण, समतामूलक, सभ्य र समृद्ध बनाउन नयाँ ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

साथै, उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दु नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *