प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई


काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई नेपालीको नाम विश्वमा राख्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिनुभयो ।
शर्माले एक मिनटमा ८३ वस्तुको क्रम स्मरण गरेर विश्व कीर्तिमान काम गर्नुभएको हो । उहाँले त्यसको श्रेय आफ्नो ध्यान, साधना र ‘मेमोरी टेक्निक’लाई दिनुहुन्छ । थप विश्व रेकर्ड कायम गर्ने अठोट गर्नुभएका शर्माले विद्यार्थीलाई पनि स्मरण शक्ति बढाउने तालिम दिँदै आउनुभएको छ ।
स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गर्नुभएका शर्माले छिट्टै तेस्रो रेकर्ड राख्ने तयारी गर्नुभएको छ। शर्माले यसअघि सन् २०१५ मा एक मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाउनुभएको थियो ।
“यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभइं सम्पूर्ण नेपालीको भएको महसुस गर्दै आगामी दिनमा अझै वर्ल्ड रेकर्ड राखेर नेपालको नाम विश्व सामू फैलाउने योजना छ ।”