आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिए प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका केही स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।