`

सर्लाहीमा बाढीले दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

Nepal One HD २४ साउन २०८० ८:०९
प्रमुख खबर

मलङ्गवा । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ ।

सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मङ्गलबार बाँके खोलामा शव फेला परेको हो ।

त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो । लगत्तै उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका पनि चिकित्सकले मृत घोषणा गरे । बागमतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ ।

यसैबीच बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मङ्लगबार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए । प्रहरीले बाढीमा फसेकामध्ये ७२ जनाको उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए ।


प्रतिक्रिया