`

उच्च स्तरीय छानविन समितिको माग गर्दै एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

Nepal One HD २४ साउन २०८० १३:३१
प्रमुख खबर

काठमाडौँ / उच्चस्तरीय समिति गठनको माग गर्दै बुधबार पनि प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले सदन अवरुद्ध गरेको हो । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु उठेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्नका लागि समय दिनुभएको थियो ।

थापाले बोल्न सुरु गरेपनि सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाएका थिए । सत्तापक्षका सांसदहरुले विरोध गर्दा थापाले सुन तस्करी काण्डको २२ दिन बित्दा पनि सत्ता पक्षले छानबिनका लागि कुनै मनसाय नदेखाएको बताउनुभयो । उहाले तस्करीको संरक्षण गर्ने गरि सदनमा गृहमन्त्रीको जवाफ आएको तर्क गर्नुभयो ।

थापाले बोल्दै गर्दा समय सकिएको जनाउदै सभामुखले माइक बन्द गरेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गरेका थिए ।

सुन तस्करी प्रकरणमा छलफल भइरहेको सदनलाई चलाउन सभामुखले आग्रह गरेपनि एमाले सांसदहरुले नारावाजी गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगीत गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ ।


प्रतिक्रिया