`

गोविन्द केसीको निरन्तरको अनसन र तहसनहस नेपालको मेडिकल क्षेत्र

Nepal One HD २४ साउन २०८० १९:००
प्रमुख खबर

दुर्गा प्रसाईं
डा. गोविन्द केसीको अनशनले स्वदेशी विद्यार्थी, कलेज र अर्थतन्त्र नै धरापमा पार्छ भन्दा मलाई पहिले कसैले विश्वास गरेन । गोविन्द केसीको मनगढन्ते भावनाका पछि लाग्दा अहिले देशको मेडिकल शिक्षा तहसनहस भएको छ । चिकित्सा शिक्षाका विभिन्न तह र विषय अध्यापन गराउने कलेजहरु धमाधम बन्द हुन थालेको छ ।

हजारौं नर्स विदेश पलायन बाध्य भएका छन् भने देशका सयौं नर्सिंग कलेज बन्द हुँदा नर्सिंग अध्ययन गर्न चाहने नेपाली चेलिबेटी भारतका असुरक्षित शहर र होस्टलमा बसेर पढ्न बाध्य भएका छन् । नर्सिंग पढ्न बाध्यमात्र भएका होइनन् । उनीहरुबाट लाखौं रुपैयाँ विदेश गइरहेको छ । स्वदेशी जनशक्ति र कलेजहरुलाई विश्वास नगर्ने, कलेजमा सिण्डिकेट लगाउन र आफु अनुकुलका मान्छेलाई सम्बन्धन नै नदिने गरेर एकातिर स्वदेशी उद्योगीहरुको अरबौं रुपैयाँ डुबेको छ भने विदेशका कलेजहरुले नेपाली पैसा लगिरहेका छन् । यी सबका विरुद्ध बोल्दा गोविन्द केसीलाई चित्त बुझ्दैन । गोविन्द केसीका निकटस्थहरुले उद्योग गर्ने, व्यापार गर्ने, जनशक्ति उत्पादन गर्ने, रोजगारी सिर्जना गर्ने र कर तिर्ने उद्यमीलाई माफिया देख्छन् । हो म त्यहि माफिया दुर्गा प्रसाईं हो । स्वदेशी अर्थतन्त्र डामाडोल बनाएर विदेशी कलेज र त्यहाँ पठाउने दलालहरुका पक्षमा काम गर्ने गोविन्द केसी र तीनका समर्थकका विरुद्ध म अन्तिम सास छँदासम्म लड्नेछु ।

हालसम्म ३० हजार डाक्टरमध्ये झण्डै १० हजारजना विदेश पलायन भैसकेको अनुमान छ । हजारौंका संख्यामा नर्स तथा पारामेडिक्सहरु पनि सके युरोप, अमेरिका नसकेपनि दुबई कतारमा गएर श्रम बेचिरहेका छन् ।

हजारौंको संख्यामा प्रत्येक वर्ष एमबीबीएस पढ्न, एमडी गर्न तथा नर्सिंग पढ्न विदेशिएका विद्यार्थीहरुको कुनै लेखाजोखा छैन । तर, नेपालमा कलेज चलाउन दिइएको छैन । सबै प्राविधिक र जनशक्तिको मापदण्ड पुगेका कलेजहरुलाई पनि विभिन्न बहानामा सम्बन्धन दिइएको छैन । सम्बन्धन पाइसकेका कलेजहरु पनि धमाधम बन्द भैरहेका छन् । यसतर्फ राज्यले ध्यान दिएको छैन ।

अर्बौं पैसा मेडिकल शिक्षाका नाममा बाहिरिनुले देशको अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ भने हजारौंको रोजगारी गुमेको छ । राज्यले पाउने करपनि त्यतिकै मात्रामा गुमेको छ । हो मेडिकल कलेज वा चिकित्सा शिक्षा अध्यापन गराउने कलेजहरुले गुणस्तरमा कन्जुस्याईं गर्नुहुँदैन । त्यसलाई नियमन गर्न बलियो गरि संरचना निर्माण गरेहुन्छ । तर, यहाँ त कलेज नै खुल्न नदिने अलोकतान्त्रिक अभ्याँस भएको छ । व्यवसाय गर्न पाउने नागरिकको मौलिक हक खोसिएको छ । यो सबै आवाज उठाउँदा माफिया भइन्छ भने म माफिया नै हो । स्वदेशी अर्थतन्त्र र पुँजीको वृद्धि नगरि कुनैपनि मुलुक विकास भएका छैनन् । तर, हाम्रो देशमा त गुणस्तरका नाममा केही सीमित कलेजहरुलको मनोमानी र सिण्डिकेटलाई प्रवद्र्धन गरिएको छ । गोविन्द केसीको आवरणमा गरिएका यी सबै गतिविधिहरुले कालान्तरमा नेपालको स्वास्थ्य सेवा प्रणालीलाई नै ध्वंस बनाउने पक्का छ ।

आजपनि देशमा आवश्यक्ता अनुसार चिकित्सक, नर्स र पारामेडिक्सको उपलब्धता छैन । जानसांख्यिक अनुपातलाई हेर्ने हो भने विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गर्नपनि नेपाललाई तत्काल सम्भव छैन । भएका चिकित्सक, नर्सलाई पनि विदेश पठाउने र नयाँ उत्पादन हुने जनशक्तिलाई पनि रोकेपछि विस्तारै देशकै आवश्यक्ता पुरा गर्नपनि जनशक्ति अभाव हुने देखिन्छ । ३० वर्षअघिको अनुपातमा आजपनि सरकारी चिकित्सक रहेका छन् । उनीहरुको दरवन्दी वृद्धि गर्नुपर्ने समय छ । सरकारले करारमा डाक्टर माग्दा समेत डाक्टर नपाउने अवस्था आइसकेको छ ।

डा. केसीको अनशनपछि बनाइएको चिकित्सा शिक्षा ऐन र चिकित्सा शिक्षा आयोग भ्रष्टाचार गर्ने अर्को अखडा बनेको छ । सरकार र मन्त्रीका बफादार मान्छे नियुक्त गर्ने र व्यवसायीहरुलाई ब्ल्याकमेलिंग गर्ने माध्यमका रुपमा चिकित्सा शिक्षा आयोगले काम गरिरहेको छ ।

एकातिर बैंकको दादागिरी, अर्कोतर्फ पैसाजति विद्यार्थी मार्फत र विदेशी व्यापारीका मार्फत विदेशमा गएको छ । खर्बौंका अर्थतन्त्रमा आज ठूलो संकुचन आएको छ । बजारका ६० प्रतिशत साना मझौला र ठूला व्यवसाय डुब्ने अवस्थामा छ । सटरहरु सबै खाली हुन थालिसके । महंगी र मन्दीका मारमा जनता सास्ती भोगिरहेका छन् । तर, राज्य भने काम गर्न खोज्नेलाई रोक्ने र युवालाई विदेश निर्यात गर्ने धन्दामा लागेको छ । यसका खुलेर विरोध गर्नुपर्छ । हामी सबैले विरोध गर्नुपर्छ । यति भन्दा माफिया भइन्छ भने हो म माफिया हो । यो देशको हितका निम्ति अहोरात्र खटिने माफिया दुर्गा प्रसाईं ।

म प्रश्न गर्न चाहान्छु यो देशका सबै बुद्धिजीवीलाई, के डा. केसीका सबै माग ठिक छन् ? देशमा मेडिकल कलेज नै खोल्न पाइँदैन भन्नु कहाँसम्मको जायज कुरा हो ? उनको ढिपीका अगाडी समग्र राज्य नै आत्मसमर्पण गर्नुपर्ने हो ? गोविन्द केसी बाहेक यो देशमा मेडिकल शिक्षाका बारेमा अरु कसैलाई थाहा नै छैन त ? म प्रश्न गर्न चाहान्छु यहाँका कथित मूलधारका मिडियालाई । गोविन्द केसीलाई उचालेर महामानव बनाउन उद्दत मिडियाहरु आज केसीका कारण बन्द भएका सयौं मेडिकल कलेज र पलायन भएका हजारौं विद्यार्थी र जनशक्तिका बारेमा किन लेख्दैनन् ? दुर्गा प्रसाईंलाई माफिया भन्ने ठूलाबडा मिडियाले हजारौं विद्यार्थीलाई विदेशी कलेजमा निर्यात गर्ने कन्सल्टेन्सीहरुलाई र नो अब्जेक्सन लेटर दिने सरकारलाई मानव तस्कर किन भन्दैन ? यसको जवाफ हामीले खोज्नुपर्छ । मूलधारका मिडिया भनिएकाले आफ्ना स्वार्थमा जे लेख्यो त्यही धारणा बनाउने जनताले पनि बुझ्नुपर्छ । अहिले नबुझे ढिला हुन्छ । यहि अनुपातमा विद्यार्थी र स्वास्थ्यकर्मी पलायन हुँदै जाने हो र स्वदेशी कलेजहरुलाई अंकुश लगाउँदै जाने हो भने हाम्रो जरो नाप्ने स्वास्थ्यकर्मी पनि देशमा बाँकी रहँदेनन । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।


प्रतिक्रिया