गिरिबन्धु टी स्टेटको जग्गा अनुसन्धान गरे हुन्छ : अध्यक्ष ओली
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए सरकारले अनुसन्धान गर्नसक्ने बताउनुभएकाे छ ।
बुधवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।
उहाँले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताउनुभयाे।
उहाँले सरकार लचिलो भएर सदन खुलाएकोमा धन्यवाद दिनुभयाे। अध्यक्ष ओलीले अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको र निष्पक्ष छानबिन हुने बताउनुभयाे।
उहाँले भन्नुभयाे, ‘म सरकारलाई, सत्तापक्षलाई धन्यवाद भन्छु कि उहाँहरु लचिलो भएर आज सदन खुलाउन तयार हुनुभयो । हामी पहिल्यैदेखि सदन खुलाउने, चलाउने पक्षमा हो । तर यो सुन तस्करीको काण्ड जुन भइरहेको छ, यो सधैँका लागि रोकियोस्, यसको राम्रो छानबिन होस्, निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने हो । यसमा सरकारले मञ्जुर गरेको थिएन, त्यसकारण तनाव भएको हो । गिरिबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन् । बिना कानून पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानून बनाइदिएका छौँ । जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ ।’
अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन समिति बनेर समितिले सधैँका लागि यस्ता तस्करीहरु रोक्ने गरी अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने बताउनुभयाे।
