देशका धेरै स्थानमा बर्षा, सतर्कता अपनाउन आग्रह


काठमाडौं – शनिवार देशका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भुभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ।
अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम पानी परिरहेको छ ।
आज कोशी, मधेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। यस्तै कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित ठुलो पानी पर्ने सम्भावना रहेको छ ।
आज नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।