सरकार मानव बेचबिखन नियन्त्रणमा पूर्ण सक्रिय रहेको छः मन्त्री आचार्य


काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकार मानव बेचबिखन नियन्त्रणमा सक्रिय रहेको बताउनुभएको छ ।
बुधवार मानव बेचबिखन बिरुद्धको सत्रौँ राष्ट्रिय दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले सरकार मानव बेचबिखन नियन्त्रणमा पूर्ण रुपले सक्रिय रहेको बताउनुभएको हो । उहाँले मानव बेचबिखन नियन्त्रणका लागि सम्बन्धित सरोकारवालाहरुसँग हातेमालो गरेर काम गर्न पनि सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले सामुहिक प्रयासबाट मात्रै मानव बेचबिखनको समस्या समाधान हुने बताउनु भयो । सरकारले यस सन्दर्भमा विभिन्न गतिविधिहरु गर्दै आइरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो – ‘अन्तर्राष्ट्रिय प्रतिवद्धता बमोजिम नयाँ कानूनहरुको निर्माण र संशोधन, सरकारी तथा गैरसरकारी निकायहरुबाट मानव बेचबिखन तथा ओसार–पसार बिरुद्ध सम्पादन भएका कार्यहरुको प्रगति समावेश गरी राष्ट्रिय प्रतिवेदन प्रकाशन समेत गर्दै आएको छ । तथापी भारतसँगको खुला सीमाना, गरिबी, नागरिकको न्युन सचेतना स्तर, मानव बेचबिखनको बदलिँदो प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोग, वैदेशिक रोजगारको बढ्दो प्रवृत्ति जस्तो कारणले मानव बेचबिखनका समस्याहरु अपेक्षित रुपमा समाधान हुन सकेका छैनन् । यस दिवसको अवसरमा नेपाल सरकार मानव बेचबिखन नियन्त्रणमा पूर्ण सक्रिय रहेको र यसको नियन्त्रणको लागि यससँग सम्बन्धित सम्पूर्ण सरोकारवालासँग हातेमालो गरी कार्य गर्न प्रतिवद्ध रहेको कुरा जायर गर्न चाहन्छु । सबैको सामुहिक प्रयासबाट मात्रै मानव बेचबिखनको समस्या समाधान हुने हुँदा हामी सबैमा यस दिवसले मानव बेचबिखनको नियन्त्रण र रोकथामको लागि प्रतिवद्ध हुँदै थप ऊर्जाशील भइ कार्य गर्ने प्रेरणा प्रदान गरोस् र नेपाल मानव बेचबिखन नियन्त्रणको उदाहरणीय मुलुक बन्न सकोस् ।’
उहाँले भारतसँगको खुला सीमाना, गरिबी, नागरिकको न्युन सचेतना स्तर र मानव बेचबिखनको बदलिँदो प्रवृत्तिका कारण समस्याहरुको समाधान अपेक्षित रुपमा भने हुन नसकेको बताउनु भयो । मन्त्री आचार्यले सामाजिक सञ्जालको दुरुपयोग र वैदेशिक रोजगारको बढ्दो प्रवृत्तिका कारणपनि समस्याहरु देखा परिरहेका उल्लेख गर्नुभयो ।