१० दिने सैन्य कारबाहीपछि हेब्रोनबाट इजरायली सेना फिर्ता
दुई इजरायली सैनिकको मृत्यु हुने गरी प्यालेस्टिनीहरूले गोली प्रहार गरेपछि सुरु गरिएको १० दिने सैन्य कारबाही अन्त्य गर्दै इजरायली सेनाले सोमबार वेस्ट बैंकको हेब्रोन सहरबाट आफ्ना फौज फिर्ता गरेको छ । इजरायली सेनाका एक अधिकारीले यसबारे जानकारी दिएका हुन् ।
इजरायलको ‘आर्मी रेडियो’ का अनुसार, गत हप्ता भएको संसदीय निर्वाचनअघि नै उक्त कारबाही अन्त्य गर्न सेनाले आग्रह गरेको थियो । तर, रक्षामन्त्री इजरायल काट्जले आइतबार राति मात्र सेना फिर्ता बोलाउने निर्णय गर्नुभएको थियो ।
अक्टोबर २३ मा सुरु भएको सैन्य कारबाहीका क्रममा प्यालेस्टिनी परिवारहरूलाई विस्थापित गरिएको थियो भने घरहरू भत्काउनुका साथै सर्वसाधारणको आवागमनमा व्यापक प्रतिबन्ध लगाइएको थियो । सेना फिर्ता भएपछि सोमबारदेखि स्थानीय बासिन्दाहरू आ–आफ्ना घर फर्कन थालेका छन् ।
इजरायली सेनाका प्रवक्ताले जारी गरेको विज्ञप्तिअनुसार, कारबाहीका क्रममा चार थान हतियार बरामद गरिएको छ । यस क्रममा दुई जना प्यालेस्टिनी आक्रमणकारीका घर भत्काइनुका साथै दर्जनौँ शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो ।
