`

ट्रम्पको दाबी : चीन र रुसले अमेरिकाको जासुसी गर्छन्, हामी उनीहरूभन्दा माहिर छौँ

Nepal One HD १७ कार्तिक २०८३ १५:३६
विश्व

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले अमेरिकामाथि जासुसी गरिरहेको स्वीकार गर्दै आफूहरूले पनि ती देशको निगरानी गरिरहेको र त्यसमा अझै सक्षम रहेको दाबी गरेका छन् ।

आइतबार आयोवामा रिपब्लिकन उम्मेदवारहरूको चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले चीन र रुसको गुप्तचर गतिविधिबारे टिप्पणी गरेका हुन् ।

‘उनीहरूले हाम्रो जासुसी गरिरहेका छन्, तर हामी पनि उनीहरूको जासुसी गर्छौं र अझ राम्रोसँग गर्छौं,’ ट्रम्पले भने ।

अमेरिकी सैन्य प्रतिष्ठान र कर्मचारीलाई लक्षित गरी चीनले गुप्तचर गतिविधि सञ्चालन गरेको आरोपमा अनुसन्धान भइरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार चिनियाँ नागरिक लिरेन ‘रायन’ लाइ र युएन्स चेनलाई चिनियाँ सरकारको एजेन्टका रूपमा काम गर्ने षड्यन्त्र गरेको अभियोगमा अक्टोबर ३० मा जनही ३० महिनाको जेल सजाय सुनाइएको थियो ।

उनीहरूले चीनको राज्य सुरक्षा मन्त्रालयको निर्देशनमा अमेरिकी सेनाभित्र गुप्तचर स्रोत भर्ती गर्ने र संवेदनशील सूचना उपलब्ध गराउने व्यक्तिलाई गोप्य रकम दिने प्रयास गरेका थिए ।

अदालतका कागजातअनुसार सन् २०२२ जनवरीमा क्यालिफोर्नियाको लिभरमोरमा गोप्य रूपमा करिब १० हजार अमेरिकी डलर भुक्तानीको व्यवस्था मिलाइएको थियो । उनीहरूले अमेरिकी सैन्य प्रतिष्ठान, नौसेनाका कर्मचारी र सैनिक भर्ती केन्द्रका तस्बिर तथा सम्भावित गुप्तचर लक्ष्यका व्यक्तिगत विवरणसमेत सङ्कलन गरेका थिए ।

अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले सन् २०२५ जुन २७ मा दुवैलाई पक्राउ गरेको थियो ।

चीन र रुसको गुप्तचर गतिविधिबारे ट्रम्पको टिप्पणीसँगै अमेरिका र प्रतिस्पर्धी शक्तिबीचको जासुसी तथा प्रतिजासुसी गतिविधि फेरि चर्चामा आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *