आँसु र पीडाका समाचार लेख्ने दिन गए : अध्यक्ष पोखरेल
मनहरी (मकवानपुर), २० भदौ : नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले आँसु र पीडाका समाचार लेख्ने दिन गएको बताउनुभएको छ । बुधबार पत्रकार महासङ्घ मकवानपुरद्वारा आयोजित फिचर सङ्गालो पुस्तक विमोचन गर्दै उहाँले अब सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
यसले कसैको जीवनमा हौसला, उत्प्रेरणा र उमङ्ग दिन्छ भन्दै उहाँले तीन तहको सरकारबाट पत्रकारिताको प्रवर्द्धन, विकास र प्रेरणास्वरूप नीतिगत पारदर्शिताका लागि सहयोगको अपेक्षा गर्नुभयो । सरकारको हरेक संरचना कमजोर बन्दै गइरहेको अवस्थामा पत्रकारले सरकारको संरचनालाई बलियो बनाउन भूमिका खेल्नुपर्छ भन्ने हेतुले पत्रकार सदस्य शुद्धीकरण अभियान ल्याइएको अध्यक्ष पोखरेलले बताउनुभयो ।
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई बलियो बनाउनुअघि सञ्चार जगत् आफैँ बलियो हुनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष पोखरेलले आफैँबाट कमीकमजोरी सुधार गरे पत्रकार र पत्रकारितामाथि कसैले औँला उठाउने वातावरण नहुने स्पष्ट पार्नुभयो । महासङ्घले वार्षिकरूपमा आयोजना गरेको फिचर समाचार लेखन प्रतियोगितामा प्राप्त समाचारलाई फिचर सङ्गालो पुस्तकका रूपमा प्रकाशन गरिएको हो ।
फिचर सङ्गालोमा २०८० सालमा सर्वोकृष्ट र उत्कृष्ट हुन सफल फिचर समाचार र २०७९ सालमा प्रथम, द्वितीय र उत्कृष्ट हुन सफल फिचर समाचारलाई समेटिएको छ । फिचर सङ्गालोमा २२ वटा फिचर समाचार रहेका छन् । कार्यक्रममै मकवानपुरको मनहरी गाउँपालिकाले मकवानपुर शाखालाई एक थान प्रोजेक्टर, एक सय थान प्रेस ज्याकेट र एकथान प्रिन्टर मेसिन हस्तान्तरण गरेको छ ।
नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षता भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल, हेटाँैडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने, नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश अध्यक्ष शिव देवकोटालगायतका सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
