स्वास्थ्यकर्मीहरुको दरबन्दी थप गर्नुपर्ने अवस्था छः स्वास्थ्यसचिव पोखरेल


काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सचिव पोखरेलले अस्पतालहरुमा स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताउनुभएको हो । उहाँले स्वास्थ्यकर्मीको अपर्याप्तताका कारण सेवा प्रवाहमा समस्या हुने गरेको भन्दै सेवा प्रवाहलाई सहज बनाउन दरबन्दी थप गर्नु आवश्यक रहेको बताउनु भयो । हाल मन्त्रालय अन्तर्गत ११ औँ तहका नर्स ११ जना, ९ औँ र १० औँ तहका नर्स ४३ जना, ७ औँ ८ औँ तहका नर्सहरु १५८ जना त्यस्तै चौथो, पाँचौं र छैठौँ तहका नर्स ११ हजार १२६ जनाको दरबन्दी रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै चौथो, पाँचौं र छैठौँ तहको पारामेडिक्स १७ हजार ६४१ जनाको दरबन्दी रहेको उहाँले बताउनु भयो ।
उहाँले अहिले चौथो, पाँचौ र छैटाँै तहको नर्स २१ हजार २३४ जना आवश्यक रहेको बताउनु भयो । त्यसैगरी चिकित्सक ६ हजार ३२३ जना र पारामेडिक्स १० हजार ४७९ जना आवश्यक रहेकोले सोही अनुरुप दरबन्दी थप गर्नुपर्ने बताउनु भयो । मन्त्रालयले यसको लागि दरबन्दी थपको प्रश्ताव समेत गरिसकेको उल्लेख गर्दै उहाँले प्रश्तावित दरबन्दीको लागि करिब ७ अर्ब ५९ करोड रुपैयाँ थप रकम चाहिने भएकाले सो रकम अर्थ मन्त्रालयले दायित्व लिनुपर्ने बताउन ुभयो । उहाँले अस्पतालहरुमा भीड बढ्दै जाने तर दरबन्दी बढाउन नसक्ने हो भने आगामी दिनहरु डरलाग्दो हुने बताउनु भयो ।
उहाँले राज्यको छात्रवृत्तिमा पढेकाहरुलाई पोष्टिङ गर्दा पर्ने आर्थिक दायित्व पनि अर्थमन्त्रालयले लिनुपर्ने बताउनु भयो । उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सेवा, सुविधाको पनि वृद्धि हुनुपर्ने बताउनु भयो ।
त्यसैगरी, बैठकमा बोल्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले जनशक्ति उत्पादनको नाममा न्युनतम स्तर नभएको जनशक्ति उत्पादन गर्नु घातक हुने बताउनु भयो । उहाँले गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँघरमा औषधि प्रयोगको अवस्था भयावह भएको भन्दै मेडिकल शिक्षा दिनुपर्ने आवश्यकता रहेको औँल्याउनु भयो ।
उहाँले भन्नुभयो – ‘जनशक्ति उत्पादन गर्नु स्वास्थ्यको लागि ठूलो उपलब्धि हो भनेर न्युनतम स्तर नभएको जनशक्ति उत्पादन गर्नु त्यो भन्दा धेरै गुणा घातक हुनसक्छ । यो कुरामा ध्यान दिनुपर्छ । समाज गलत शिक्षाको कारण बिग्रिन्छ । गाउँघरमा कुनै एउटा डाक्टरले लेख्न हिच्किचाउने एन्टिबायोटिक्स स्वास्थ्यको कुनै मान्छेले लेखिदिन्छ ।औषधि प्रयोगको सम्बन्धमा भयावह स्थिति देखिँदैछ । प्राकृतिक चिकित्साको कुरामा पनि जोड दिनुपर्छ ।’
उहाँले आगामी दिनमा प्राकृतिक चिकित्सामा पनि जोड दिनुपर्ने बताउनु भयो ।