चेपाङलाई विकासको मूलधारमा ल्याउन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री जम्कट्टेल

राजनीति

मलेखु (धादिङ) २२ भदौ -बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चेपाङ समुदायलाई विकासको मूलधारमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।नेपालका सिमान्तकृत चेपाङ जातिको राष्ट्रिय पर्व न्वागीको अवसरमा धादिङको गजुरी गाउँपालिका–५ च्याङ्लीमा आज आयोजित कार्यक्रममा उहाँले चेपाङलाई अन्य समुदाय सरह विकासको मूलधारमा पुर्याउन कार्यदल बनाएर अघि बढ्ने बताउनुभयो ।
“चेपाङ समुदायको विकासका लागि सङ्घीय सरकारसँग पनि समन्वय गरिरहेका छौँ । चेपाङ समुदायको चेपाङ चिउरी र चमेरो सर्किट बनाउनुपर्छ । यो समुदायको विकासका लागि भनेर बजेट छुट्याएका छौँ”, उहाँले भन्नुभयो ।
विशेष संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र संविधानमा व्यवस्था भएको कारण सङ्घीय सरकारले पनि निर्णय गर्नुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो, “चेपाङ समुदायको विकासमा हामी सदैब सँगै छौँ ।” आदमघाट बैकुण्ठ मनोहरी सडकलाई वैकल्पिक राजमार्गको रुपमा विकास गर्न निर्माण कार्य भइरहेको मुख्यमन्त्री जम्मकट्टेल जानकारी दिनुभयो ।
कार्यक्रममा सांसद रामनाथ अधिकारीले महाभारत श्रृखलाको कुना कन्दरामा बसोबास गर्ने चेपाङसहित अन्य जातजातिको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपालका सिमान्तकृत चेपाङ समुदायले न्वागी पर्व शुक्रबार धुमधामका साथ मनाएका छन् । कार्यक्रममा चेपाङ समुदायको रितिरिवाज र संस्कृति झल्काउने झाँकीहरू प्रस्तुत गरिएको थियो । देशभरका चेपाङ धादिङमा जम्मा भएर यो पर्व मनाएका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ८४ हजार तीन सय ६४ चेपाङ छन् । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट