`

नेम्वाङको निधनले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा क्षति

Nepal One HD २८ भदौ २०८० १५:४७
राजनीति

काठमाडौँ- नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले संविधानसभाका अध्यक्ष एवं सो पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा ठूलो पीडा र क्षति पुगेको जनाएको छ ।

आयोगका अध्यक्ष केशव बडालले जारी गर्नुभएको शोक वक्तव्यमा नेम्वाङ राष्ट्रिय राजनीतिमा सहमतिका एक सूत्रधार रहुनुभएको उल्लेख छ । संविधान निर्माणका अगुवा नेम्वाङ सरल, मृदुभाषी, शालीन र राष्ट्रिय सहमतिका सर्जक वरिष्ठ राजनीतिज्ञ र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गर्नुभएका व्यक्तित्व भएकाले उहाँले विभिन्न राजनीतिक दल र पक्षहरूसँग समन्वयका लागि देखाउनुभएको विशिष्ट क्षमताको स्मरण गरिएको छ ।

“अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न नेम्वाङले धेरैपटक अविस्मरणीय भूमिका खेल्नुभाएको थियो”, वक्तव्यमा भनिएको छ, “नेपालको सामाजिक आर्थिक रुपान्तरणको अभियानमा अविचलित रूपमा उभिनुभएका नेम्वाङको असामयिक देहावसानले उहाँको परिवार, पार्टीका र देशलाई क्षति पुगेका छ । उहाँले राष्ट्र र जनताको हितमा पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँका असल गुणहरूबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्प गर्दछौं ।’’


प्रतिक्रिया