इन्द्रजात्रा अवलोकनका लागि २० देशका नगरप्रमुखलाई आमन्त्रण


काठमाडौ– काठमाडौँ महानगरपालिकाले काठमाडौँको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका २० जना बिदेशी पाहुनालाई जात्रा हेर्न आमन्त्रण गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी महानगरले भगिनी सम्बन्ध भएका चीन, अमेरिका, जापान लगाएत देशका बिभिन्न नगरका २० जना नगर प्रमुखहरु इन्द्रजात्रा अवलोकनका लागि आउने निश्चित भइसकेको जानकार िदिएको हो ।
त्यस्तै महानगरले २२ जना स्वदेशी पाहुनाहरु पनि अवलोकनका लागि आउने जानकारी दिएको छ । जात्रामा राष्ट्र प्रमुखबाट श्रीगणेश, श्रीभैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । जात्राका लागि शान्ति सुरक्षा, सरसफाई, सम्पदाहरुको मर्मत सम्भार, रंगरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत भइरहेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।
उनले २०७६ सालबाट भगिनी सम्बन्ध भएका नगरबाट पाहुनालाई आमन्त्रण गर्न थालिएको बताए । पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो दिइसकेको र जात्रालाई भव्यरुपमा सम्पन्न गर्ने गरि तयारी भइरहेको बताइन् ।
उनले बिभिन्न माग राख्दै सामाजिक अभियन्ताले गरिरहेको आन्दोलनप्रति ध्यानाकर्षण भइरहेको भन्दै छलफल गर्न महानगरको ढोका खुल्ला रहेको जानकारी दिईन् । मंगलबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि विधिवत रुपमा प्रारम्भ हुने इन्द्रजात्रा असोज ११ गते बिहीबार रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनाइँदै छ । इन्द्रजात्रा लिच्छवीकालीन राजा गुणकामदेवका पालादेखि चलिआएको मानिन्छ ।