विद्यालय शिक्षासम्बन्धी विधेयक परिमार्जनमा कांग्रेसले पहलकदमी लिने


काठमाडौ– नेपाली कांग्रेस संसदीय दलले विद्यालय शिक्षासम्बन्धी विधेयकका सन्दर्भमा सरोकारवालाको गुनासोलाई संशोधन प्रस्तावमार्फत अघि बढाउने भएको छ । मंगलबार र बुधबार संसद भवन नयाँ बानेश्वरमा विद्यालय शिक्षासम्बन्धी विधेयक बारेमा सरोकारवालासंग छलफल गर्दै कांग्रेसले विधेयकलाई आवश्यकता अनुसार परिमार्जन गर्न पहलकदमी लिने जनाएको हो । शैक्षिक पेशालाई मर्यादित, सुरक्षित र शिक्षकहरुको हक अधिकारलाई कानूनमार्फत प्रत्याभूत गर्न गम्भीर हुनुपर्ने छलफलको निष्कर्ष रहेको सांसद अर्जुन नरसिंह केसीले बताए ।
कानून बनाउदा सरोकारवालाहरुसंग बृहत छलफल गर्नुपर्ने र प्राप्त सुझावका आधारमा अन्तिम रुप दिन सरकार गम्भीर हुनुपर्ने उनले बताए । छलफल पछि कांग्रेस उपसभापति समेत रहनुभएका कानूनमन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय, शिक्षा लगाएत धेरै विधेयकहरु छलफलका क्रममा रहेको भन्दै महत्वपूर्ण विधेयकहरुलाई टुङ्गो लगाएर मात्रै अधिवेशन अन्त्य गर्न चाहेको बताए । यस्तै, मुख्य सचेतक रमेश लेखकले छलफलमा आएका बिचारहरुमाथि छलफल गरेर विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने बताए ।
मुख्य सचेतक लेखकले लामो समयदेखि संसद अवरोध हुँदा महत्वपूर्ण विधेयकहरु अघि बढ्न नसकेको र सानो सानो कुरामा संसद अवरुद्ध हुनु संसदीय अभ्यासको खराव कुरा रहेको धारणा राखे । विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग ६ बुँदे सहमति भएको थियो । तर आफुहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरु भने अहिले पनि आन्दोलनमै छन् । विधेयकमाथि शिक्षकहरुको आपत्ती रहेपछि कांग्रेसले सरोकारवालासंग छलफल गरेको हो ।