`

शिशु जन्माउन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार

Nepal One HD १८ असोज २०८० १३:३०
जीवनशैली/स्वास्थ्य

सिमिकोट – हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

व्यथा लागेर थला पर्नुभएकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे) लाई हेलिकोप्टरबाट उद्धार गरेर कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहिबार बिहान पुर्‍याइएको सोही गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख हङ्सबहादुर महताराले बताउनुभयो । आमा र बच्चाको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो । पाण्डेको गर्भमा रहेको शिशुको यसै महिनाको २० गतेका लागि समय तोकिएको थियो ।

व्यथा लागेपछि श्रीनगर स्वास्थ्यचौकीमा भर्ना हुनुभएकी उहाँको जटिलस्थिति (ब्रिज प्रिजेन्टेसन) भएकाले बुधबार नै रिफर गरिए पनि यातायातको साधनको अभाबमा बिहीबार बिहान मात्र सुर्खेत पुर्‍याइएको उहाँको भनाइ थियोे ।

पाण्डेको उद्धारका लागि प्रयोग भएको नेपाली सेनाको हेलिकोप्टर खर्च सङ्घीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धारकार्यक्रमबाट ब्यहोरिने भएको छ।


प्रतिक्रिया