पोखरामा सापूको बिगबिगी, महिना दिनमै २६ जनामा संक्रमण


कास्की– पोखरा आसपासमा आँखाको रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामी बढेका छन् । महिना दिनमा २६ जनामा सापूको सङ्क्रमण भेटिएको पोखरास्थित हिमाल आँखा अस्पतालले जनाएको छ । “यस वर्षको पहिलो बिरामी पहिचान गत भदौ २४ गते भएको हो, गएको मङ्गलबारसम्ममा २६ जनामा सापू देखिएको छ”, अस्पतालका मेडिकल निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा इलिया श्रेष्ठले भनिन् । “सङ्क्रमण बिस्तारै बढ्दो क्रममा छ ।”
उनका अनुसार सो अस्पतालमा गोरखा, तनहुँ, म्याग्दी, बागलुङ, स्याङ्जालगायत ठाउँका बिरामी उपचाररत छन् । सात महिनाको शिशुमासमेत उक्त रोेगको सङ्क्रमण देखिएको डा श्रेष्ठले जानकारी दिइन् ।
“सङ्क्रमणले आँखा जटिल अवस्थामा पुगेका बिरामीको पनि हामीले उपचार गरिरहेका छौँ, कोही निको भएर घर फर्किसक्नुभएको छ”, उनले भनिन्–“बेलैमा उपचार भएमा यो रोग निको हुन्छ, नत्र दृष्टि नै गुम्ने खतरा रहन्छ ।”
वर्षायाम सकिएपछि नेपालको मध्यपहाडी क्षेत्रमा ‘सापू’को सङ्क्रमण फैलने गरेको डा श्रेष्ठले उल्लेख गरिन । विशेष गरि असोजदेखि मङ्सिरसम्म ‘सापू’ले प्रकोपको रुप लिने गरेको उनको भनाइ छ । पहिलोपटक सन् १९७५ मा पोखराको नारायणटारमा ‘सापू’ रोग भेटिएको थियो ।
नेत्ररोग विशेषज्ञ डा मदन उपाध्यायले यो रोग पत्ता लगाएका हुन् । बर्सेनि पोखरा र आसपासका क्षेत्रमा यो रोगको सङ्क्रमण बढी देखिने गरेको हिमालय आँखा अस्पतालले जनाएको छ । बत्तीमा झुम्मिने कालो धर्सा भएको सेतो पुतलीको सम्पर्कबाट ‘सापू’ रोग लाग्ने गरेको डा श्रेष्ठले बताए । “सापूको रोगको एकिन कारण अझै पत्ता लागेको छैन, सेतो पुतलीको रौँ आँखामा पुग्दा यसको सङ्क्रमण हुने गरेको छ”, उनले भने, “लक्षण देखिएको ४८ घण्टाभित्र उपचार नपाए दृष्टि नै गुम्न सक्छ, यो रोगबारे समुदायमा सचेतनाको जरुरी छ ।”
सापूको सङ्क्रण भएमा आँखा रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, आँखाको गेडी दुख्ने, दृष्टि क्षमता कमजोर हुने जस्ता लक्षण देखिन्छ । रातीमा धेरै उज्यालो बत्ती बालेर नसुत्ने, हात या कुनै माध्यमबाट सेतो पुतलीको सम्पर्कका नजाने, झुलभित्र सुत्ने गरेमा सापूको सङ्क्रमणबाट जोगिन सकिने चिकित्सकको सुझाव छ । सापूको शंकास्पद लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिएर उपचार सुरु गर्नुपर्छ ।