एमालेले गरेको राम्रा कामबाट अरु दल आत्तिए– अध्यक्ष ओली
धनुषा– नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले गरेको राम्रा कामका कारण अरु दलहरु अतालिएको बताएका छन् ।
आज जनकपुरमा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेका कामबाट आफ्नो भविष्य अन्धकार देख्नेहरु अतालिएको दावी गरेका हुन् ।
यसअघिको एमाले सरकारले मुलुकको बिकास र जनताका लागि असाधारण काम गरेको उनले दावी गरे । हुलाकी राजमार्गको काम गरेको र हजारौं पुल निर्माण गरेको भन्दै अध्यक्ष ओलीले तराईमा सिचाइको पहुँच पुराउन सुनकोशी मरिन डाइभर्सन ल्याएर बारा, रौटहट, धनुषा लगाएतका १ लाख ८५ हजार बिगाहा जमिनमा सिचाइको व्यवस्था गरेको र एमाले सरकारमा गएपछि तराईको सिचाइको समस्या सदाका लागि अन्त्य गर्ने दावी गरे । एमाले सरकारले नै रेल किनेर सञ्चालनमा ल्याएको पनि उनले सो अवसरमा बताए ।
एमाले अध्यक्ष ओलीले २०८४ मा नेकपा एमालेको एकल बहुमत एकमात्र अभियान रहेको बताए । उनले सहमतीमा अधिवेशन सम्पन्न गरि एकताको उदाहरण प्रस्तुत गर्न र २०८४ मिशन सफल गर्ने योग्य नेतृत्व छान्न निर्देशन दिए ।
