कार्कीलाई मुख्यमन्त्री नियुक्तीको माग राख्दै कांग्रेस–एमालेका सांसद प्रदेश प्रमुख खापुङकोमा
विराटनगर– कांग्रेसका सांसद केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरू प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालय पुगेका छन् । कार्कीले कांग्रेसका ८ र एमालेका ३९ सांसदको हस्ताक्षरसहित हिजो मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । विहीबार नै माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङवोले पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको साथ लिएर मुख्यमन्त्रीमा दावी गरेका थिए ।
आङवोले एमालेसंग मिलेका ८ जना कांग्रेस सांसदको समेत हस्ताक्षर बुझाएपछि उनीहरुले आपत्ति जनाएका थिए । प्रदेश प्रमुख खापुङ्गले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न दिएको समय आज साँझ ५ बजे सकिएको छ । कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै हस्ताक्षरमा सहभागी सबै सांसद प्रदेश प्रमुख खापुङकोमा छन् ।
