दशैंलगत्तै रानजीतिक समिकरण बदलिन्छ : नेता बस्नेत
काठमाडौ– नेकपा एमालेका नेता महेश बस्नेतले दशैं लगत्तै नेपालको राजनीतिले नयाँ कोर्ष लिने बताएका छन् । आज नेपाल वान एच डीसंग कुराकानीका क्रममा उनले दशैं लगत्तै नेपालको राजनीति नयाँ ढंगबाट अघि बढ्ने दावी गरेका हुन् । दशैं लगत्तै राजनीतिमा नयाँ समिकरण बन्न सक्ने भन्दै उनले कोशीको राजनीतिले यसलाई संकेत गरेको बताए । नेपाली कांग्रेस र एमालेबीच राजनीतिक समिकरण बन्ने उनले बताए ।
वर्तमान सरकार असफल भइसकेकोले यसको विकल्प खोज्नुपर्ने कांग्रेसलाई समेत महसुस भइसकेकोले दशैं लगत्तै नयाँ समिकरण विकास भई नयाँ सरकार गठनमा अघि बढ्ने उनको भनाइ छ । कोशीमा कांग्रेस र एमालेबीचको सहकार्य आकष्मिक नभई व्यापाक छलफलबाट अघि बढेको भन्दै उनले कांग्रेसका धेरै इमन्दार नेता पार्टीभित्र विद्रोह गरी एमालेसंग सहकार्य गर्न आउने दावी गरे । कोशीमा कांग्रेसका सांसद केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्नुअघि पार्टी अध्यक्ष के.पी.शर्मा ओली र कांग्रेसका शेखर कोइरालाबीच धेरैपटक छलफल भएको उनले बताए । कोशीलाई मध्यवधी निर्वाचनमा जानकाट बचाउन आवश्यक ठानी एमालेले कार्कीलाई अघि बढाउन सहमत भएको नेता बस्नेतले स्पष्ट पारे ।
पछिल्लो समय पहिचानबादी वा अन्य कुनै नाममा एमालेमाथि प्रहार भईरहेकोले पार्टीले त्यसको प्रतिकार गर्ने उनले बताए ।
एक पक्षले अर्को पक्षलाई निषेध गर्ने अवस्था आउनु शुभ संकेत नभएको बताउँदै नेता बस्नेतले यस प्रवृत्तिलाई रोक्न सरकारले ढिलाई गर्न नहुने बताए । उनले हालै मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि भएको दुव्र्यवहारमा युवा संघको हात नरहेको स्पष्ट पारे । दुर्गा प्रसाईसंग आफ्नो कुनै दुष्मनी नरहेको भन्दै नेता बस्नेतले प्रसाँईको अराजक गतिविधि नै घटनाको कारण रहेको बताए । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि अराजक गतिविधिमा प्रसाँइ लागेको उनको आरोप छ । प्रसाँईलाई उत्तेजित अभिव्यक्ति नदिन पनि उनले सुझाए ।
