सरकारकै कारण संसदको गतिविधि प्रभावकारी हुन सकेन : पौडेल
काठमाडौ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारका कारण संसदको गतिविधि प्रभावकारी हुन नसेकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकमा उपाध्यक्ष पौडेलले सरकारका कारण संसद्को चालु अधिवेशन प्रभावकारी नभएको र सदन प्रभावकारी हुन्छ भन्ने डर सरकारमा हाबी भएको आरोप लगाए । उनले सदनमा सांसदहरूले उठाएको आवाजको जवाफ सरकारले दिन नचाहेको जिकिर गरे ।
उपाध्यक्ष पौडेलले सम्वाद सहमति र सहकार्य राम्रो कुरा भएपनि प्रतिपक्षीका जायज आवाजहरुलाई दमन गरेर सरकारले सम्वाद सहमति र सहकार्यको खिल्ली उडाएको धारणा राखे । जनयुद्धलाई राष्ट्रिय दिवस मानेर चलेको सत्ता गठबन्धन अहिलेसम्मको सुन्दर गठबन्धन भन्दै उनले कटाक्ष गरेका थिए । उपाध्यक्ष पौडेलले सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भन्ने लाग्छ भने सदनमा प्रस्तुत गरेर पारित गर्न चूनौति दिए ।
उनले फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै त्यस दिनलाई उत्सवको रुपमा मनाउन नसकिने स्पष्ट पारे ।
उनले अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्न सरोकारवालाहरूलाई सहभागी गराएर महासम्मेलन गर्नुपर्नेमा जोड दिए ।
