कीर्तिपुर अस्पताल पुगेर स्वास्थ्यमन्त्री बस्नेतले भने– ‘उर्लाबारी घटनाका घाइतेको उपचारमा कमी हुन दिइँदैन’


काठमाडौ– स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी घटनाका घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने बताएका छन् । बिहीबार कीर्तिपुर अस्पताल पुगेर उर्लाबारी आगलागीबाट घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिदै स्वास्थ्यमन्त्री बस्नेतले गम्भीर घाइतेहरुलाई काठमाडौं ल्याएर उपचार भइरहेको भन्दै घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने बताएका हुन् ।
उपचाररत २५ जना विरामीहरुको राम्रोसंग उपचार भइरहेको र विदेशबाट पनि डाक्टरहरुलाई झिकाएर उपचार गर्ने जानकारी आफुले पाएको उनले बताए । मन्त्री बस्नेतले आर्थिक अभावका कारण विरामीको उपचारमा कमी हुन नदिने र अस्पतालको खर्च मन्त्रालयले बेहोर्ने स्पष्ट पारे ।
त्यस्तै अस्पतालका जलन उपचार विभाग प्रमुख डाक्टर किरण नकर्मीले २५ जना मध्ये ९ जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । उनले शुक्रबारबाट गम्भीर घाइतेहरुको शल्यक्रिया सुरु हुने बताए । गत कात्तिक २६ गते मोरङको उर्लाबारीको बरगाछीस्थित एक स्थानीयको घरमा आगलागी हुँदा निभाउन गएका ३० भन्दा बढि घाइते भएका थिए । घाइतेमध्ये गम्भीर प्रकृतिको विरामीलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।