एनसेलको शेयर खरिदबिक्री अध्ययन गर्न पाँच सदस्यीय समिति गठन
काठमाडौं । सरकारले एनसेलको शेयर खरिदबिक्री अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
समितिका सदस्यमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् । समितिलाई एनसेलको शेयर खरिद बिक्री प्रकरण अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको छ ।
एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार पाँच करोड डलरमा एनसेलकै स्थानीय साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको खबर बाहिरिएको थियो । तर यसबारे एनसेलले नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणसँग कुनै अनुमति नलिएको पाइएको छ ।
यसपछि सरकारले यस प्रकरणको छानबिनका लागि समिति बनाएको हो । संसदको लेखा समितिले बुधबार एनसेलको शेयर बिक्री रोक्न निर्देशन दिइसकेको छ ।
