`

कांग्रेस एक्लै चुनाव लडेमात्र बलियो पार्टी बन्छ: डा कोइराला

Nepal One HD २३ मंसिर २०८० १२:०४
प्रमुख खबर

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताएका छन । चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको ३३ औँ वार्षिक साधारणसभामा उनले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाझ जानुपर्ने बताएका हुन् । “देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो । कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन । कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ”, डा कोइरालाले भने । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चितवनको महत्वपूर्ण भूमिका रहेको बताए ।

“केही समयदेखि चितवन प्रजातान्त्रिक आन्दोलनभन्दा अलग बाटोबाट हिँडिरहेको छ । यो कांग्रेसकै केन्द्रीय नेतृत्वका कारण भएको हो । यसको नतिजा चितवनमा कांग्रेसको सङ्गठन कमजोर हुँदै गएको छ । यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्छ”, कोइरालाले भने । यहाँका क्षेत्र, पालिका, वडामात्र नभई टोलमा समेत व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी सङ्गठन कमजोर हुँदै गएको उनको भनाइ थियो ।

डा कोइरालाले कांग्रेस एक्लै चुनाव लडेत्रमात्र बलियो पार्टी बन्ने बताए । “जबसम्म हामी एक्लै चुनाव लड्न सक्दैन तबसम्म पार्टी झन्झन् कमजोर हुँदै जान्छौँ”, उनले भने । नेता कोइरालाले देशको आर्थिकस्थिति विदेशीसँग ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले स्वदेशमा अध्ययन र काम गर्ने वातावरण नभएकाले गत वर्षमात्र प्लस टु पढेर एक लाख २७ हजार विद्यार्थी विदेश गएका भन्दै उक्त युवाशक्तिलाई स्वदेशमा रोक्नका लागि सरकारले ठोस कार्यक्रम अगाडि सार्नुपर्ने बताए । कुनै पनि देशलाई समृद्ध बनाउन कृषि उत्पादन बढाउन जरुरी रहेको कोइरालाको भनाइ थियो । देशका ठूला भ्रष्टाचारमा राजनीतिक नेता, कर्मचारी र व्यापारी जोडिएको भन्दै भ्रष्टाचार अन्त्य नगरेसम्म देशको विकास नहुने उनले बताए । महाधिवेशन भएको दुई वर्ष बित्न लाग्दासम्म पार्टीको भ्रातृ संस्था तथा विभागलाई पूर्णता दिन नसक्नु पार्टी नेतृत्वको कमजोरी भएको नेता कोइरालाले बताए । चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमका पूर्वअध्यक्ष विष्णु पौडेलले चितवनबाट काठमाडौँ आएर बसेका प्रजातन्त्रवादीहरू सङ्गठित हुनका लागि उक्त सङ्गम स्थापना गरिएको बताए ।


प्रतिक्रिया