एमालेविरुद्ध बाह्य शक्ति समेत लागेको छ : अध्यक्ष ओली
सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्न सक्ने भन्दै अव दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका हुन् ।
अध्यक्ष ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास भएको र कमजोर बनाउने षडयन्त्र भएपनि लोकप्रिय पार्टी बन्न सफल भएको धारण राखे । उनले एमाले सरकारले गरेका कामबाट तर्सेर बिभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाइएको जिकिर गरे ।
एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरु कुनै बैकल्पिक शक्ति नरहेको स्पष्ट भएको उनको भनाइ छ । उनले एमालेले नाकाबन्दीको सामनादेखि उत्तर दक्षिण सडक लगाएतका बिकासका काम गरको भन्दै तर्सिनुपर्ने, डराउनुपर्ने र अल्मलिनुपर्ने अवस्था नरहेको उल्लेख गरे ।
